प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt योएल १:१-३:२१
  • योएल

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • योएल
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
पवित्र बाइबल नयाँ संसार अनुवाद
योएल

योएल

१ पथुएलका छोरा योएलकहाँ* आएको यहोवाको वचन:

 २ “ए नाइकेहरू हो, सुन!

ए देशका* बासिन्दाहरू हो, ध्यान दिएर सुन!

के तिमीहरूको पालामा यस्तो कुरा कहिल्यै भएको छ?

अथवा तिमीहरूका पुर्खाहरूको समयमा कहिल्यै भएको थियो?+

 ३ यसबारे आफ्ना छोराहरूलाई बताओ

अनि तिमीहरूका छोराहरूले तिनीहरूका छोराहरूलाई बताऊन्‌

अनि तिनीहरूका छोराहरूले पछिका पुस्तालाई बताऊन्‌।

 ४ जे कुरा खन्चुवा सलहले बाँकी छोडेको थियो, त्यो बथाने सलहले खाइदियो;+

जे बथाने सलहले बाँकी छोडेको थियो, त्यो पखेटा नभएको सलहले खाइदियो;

जे पखेटा नभएको सलहले बाँकी छोडेको थियो, त्यो भोका सलहले खाइदियो।+

 ५ ए जँड्‌याहाहरू हो, जाग+ र रोओ!

ए मतवालाहरू हो, डाँको छोडेर रोओ!

किनकि तिमीहरूको मुखबाट नयाँ मद्य खोसिएको छ।+

 ६ किनकि मेरो भूमिविरुद्ध एउटा जाति खडा भएको छ, जो शक्‍तिशाली र असङ्‌ख्य छ।+

त्यसका दाँत सिंहका दाँतजस्तै छन्‌+ र त्यसका बङ्‌गारा सिंहका बङ्‌गाराजस्तै छन्‌।

 ७ त्यसले मेरो अङ्‌गुरको बोटलाई लुछलाछ पारिदिएको छ अनि मेरो अन्जिरको रूखलाई ठुटो बनाइदिएको छ,

त्यसले तिनीहरूलाई नाङ्‌गो पारिदिएको छ अनि लछारपछार गरिदिएको छ

अनि हाँगाहरू सेतै पारेर छोडिदिएको छ।

 ८ जसरी एउटी कन्या* आफ्नो दुलहाको* मृत्युमा भाङ्‌ग्रा ओढी डाँको छोडेर रुन्छे,

त्यसरी नै तिमीहरू पनि डाँको छोडेर रोओ।

 ९ यहोवाको भवनमा अन्‍नभेटी+ र मद्यभेटी*+ चढाउन बन्द भएको छ;

यहोवाको सेवा गर्ने पुजारीहरू शोक गर्दै छन्‌।

१० खेत उजाड पारिएको छ, जमिनले शोक गर्दै छ+

किनकि अन्‍न नष्ट भएको छ, नयाँ मद्य सुकेर गएको छ र तेल रित्तिएको छ।+

११ किसानहरू उदास भएका छन्‌, अङ्‌गुर बगानमा काम गर्नेहरू डाँको छोडेर रुन्छन्‌

किनकि गहुँ र जौ नाश भएको छ;

खेतको बाली नष्ट भएको छ।

१२ अङ्‌गुरको लहरा सुकिसकेको छ,

अन्जिरको रूख ओइलाइसकेको छ।

अनार, खजुर र स्याउको रूख

अनि बगानका सबै रूख सुकिसकेका छन्‌;+

हो, मानिसहरूको हर्ष लाजमा परिणत भएको छ।

१३ ए पुजारीहरू हो, भाङ्‌ग्रा ओढ र विलाप गर;*

ए वेदीमा सेवा गर्नेहरू हो,+ डाँको छोडेर रोओ।

ए मेरा परमेश्‍वरका सेवकहरू हो, आओ र भाङ्‌ग्रा ओढेर रात बिताओ

किनकि तिमीहरूका परमेश्‍वरको भवनमा अन्‍नभेटी+ र मद्यभेटी+ चढाउन बन्द गरिएको छ।

१४ उपवासको घोषणा गर; पवित्र सभा बोलाओ।+

नाइकेहरूलाई अनि देशका सबै बासिन्दालाई भेला गराओ,

यहोवा तिमीहरूका परमेश्‍वरको भवनमा+ भेला गराओ अनि मदतको लागि यहोवालाई पुकार।

१५ हाय! त्यो दिन आउँदै छ।

यहोवाको दिन नजिकै छ,+

त्यस दिन सर्वशक्‍तिमान्‌ले विनाश ल्याउनुहुनेछ।

१६ हाम्रो आँखाकै अगाडिबाट खानेकुरा खोसिएको छैन र?

अनि हाम्रा परमेश्‍वरको भवनबाट रमाहट र हर्ष हराएको छैन र?

१७ तिनीहरूले साबेलले खनेर हेर्दा बिउ* सुकिसकेको हुन्छ।

भण्डारहरू रित्तिएका छन्‌।

भकारीहरू भत्काइएका छन्‌ किनकि अन्‍न सुकेर गएको छ।

१८ वस्तुभाउले समेत सुस्केरा हालिरहेका छन्‌!

चर्ने ठाउँ कतै नपाएर गाईवस्तु भौँतारिरहेका छन्‌!

अनि भेडाको बगालले सास्ती खेपिरहेको छ।

१९ हे यहोवा, म तपाईँलाई पुकार्छु;+

किनकि आगोले एकलासे चरनमा डढेलो लगाइदिएको छ

अनि ज्वालाले बगानका सबै रूखलाई भस्म पारिदिएको छ।

२० जङ्‌गली जनावरहरूले समेत तपाईँलाई गुहार्छन्‌

किनकि खोलाको पानी सुकेको छ

अनि आगोले एकलासे चरनमा डढेलो लगाइदिएको छ।”

२ “सियोनमा सिङ फुक!+

युद्ध हुन लागेको छ भनेर मेरो पवित्र डाँडामा घोषणा गर।

देशका* सबै बासिन्दा थरथर काँपून्‌

किनकि यहोवाको दिन आउँदै छ!+ त्यो नजिकै छ!

 २ त्यो दिन कालो बादल र अन्धकारको दिन हुनेछ,+

बाक्लो बादल र घोर अन्धकारको दिन,+

पहाडहरूमा बिहानीको किरण छरिएझैँ।

एउटा यस्तो जाति छ, जुन असङ्‌ख्य र शक्‍तिशाली छ,+

त्योजस्तो जाति अहिलेसम्म कहिल्यै देखा परेको छैन।

अनि पुस्तौँपुस्तासम्म त्योजस्तो जाति

फेरि कहिल्यै देखा पर्नेछैन।

 ३ त्यसको अघिअघि आगोले सबै कुरा नाश गरिदिन्छ

अनि त्यसको पछिपछि आगोको ज्वालाले सबै कुरा भस्म पारिदिन्छ।+

त्यसको अघिल्तिरको भूमि अदनको बगैँचाजस्तै छ+

त्यसको पछिल्तिरको भूमिचाहिँ मरुभूमिजस्तै छ,

त्यसबाट कोही उम्कन सक्दैन।

 ४ तिनीहरू घोडाजस्तै देखिन्छन्‌,

तिनीहरू युद्धका घोडाहरूजस्तै दौडन्छन्‌।+

 ५ तिनीहरू पहाडका टाकुराहरूमा दौडँदा रथ कुदेझैँ आवाज आउँछ,+

दन्केको आगोमा ठोसा पटपटी पड्‌कँदै बलेझैँ सुनिन्छ।

तिनीहरू लडाइँ गर्न दल-दल बनाएर तैनाथ भएको शक्‍तिशाली जातिजस्तै छन्‌।+

 ६ तिनीहरूको कारण जातिजातिका मानिसहरूलाई छटपटी हुन्छ,

सबैको अनुहारमा त्रास छाउँछ।

 ७ तिनीहरू योद्धाजस्तै जाइलाग्छन्‌।

सिपाहीले जस्तै पर्खाल नाघ्छन्‌,

तिनीहरू प्रत्येक आफ्नै पङ्‌क्‍तिमा हिँड्‌छन्‌,

तिनीहरू आफ्नो बाटोबाट यताउता लाग्दैनन्‌।

 ८ तिनीहरू आपसमा घचेटाघचेट गर्दैनन्‌;

तिनीहरू प्रत्येक आफ्नै पङ्‌क्‍तिमा हिँड्‌छन्‌।

हतियारको प्रहारले कोही ढल्यो भने पनि

बाँकी रहेकाहरू आफ्नो पङ्‌क्‍ति नबिगारी अघि बढ्‌छन्‌।

 ९ तिनीहरू सहरमा कुदेर पस्छन्‌ र पर्खाल माथिमाथि दौडेर जान्छन्‌।

तिनीहरू घरमाथि चढ्‌छन्‌ र चोरजस्तै झ्यालबाट भित्र पस्छन्‌।

१० तिनीहरूको अगाडि जमिन हल्लिन्छ र आकाश थरथराउँछ।

सूर्य र चन्द्रमा अँध्यारो भएका छन्‌+

अनि ताराहरूको चमक हराएको छ।

११ यहोवा आफ्नो सेनासामु ठूलो स्वरले बोल्नुहुनेछ+ किनकि उहाँको सेना असङ्‌ख्य छ।+

उहाँको वचन पूरा गर्नेहरू शक्‍तिशाली छन्‌;

किनकि यहोवाको दिन महान्‌ र भयानक छ।+

त्यो दिन को टिक्न सक्छ?”+

१२ “तैपनि,” यहोवा घोषणा गर्नुहुन्छ, “तिमीहरू सारा हृदयले मकहाँ फर्केर आओ।+

तिमीहरू उपवास बस्दै+ र रोइकराइ गर्दै मकहाँ फर्क।

१३ आफ्नो लुगा होइन+ तर हृदय च्यात+

अनि यहोवा तिमीहरूका परमेश्‍वरकहाँ फर्क

किनकि उहाँ दयालु र कृपालु हुनुहुन्छ अनि उहाँ हतपती रिसाउनुहुन्‍न+ र अटल प्रेमले* भरिपूर्ण हुनुहुन्छ+

अनि उहाँले विनाश ल्याउने कुरामा पुनर्विचार गर्नुहुनेछ।*

१४ उहाँले आफ्नो निर्णयबारे फेरि विचार गर्नुहुन्छ कि?*+

अनि तिमीहरूलाई आशिष्‌ दिनुहुन्छ कि, कसले जान्दछ र?

तिमीहरूका परमेश्‍वर यहोवालाई तिमीहरूले फेरि अन्‍नभेटी र मद्यभेटी चढाउन सक्छौ कि?

१५ सियोनमा सिङ फुक!

उपवासको घोषणा गर; पवित्र सभा बोलाओ।+

१६ मानिसहरूलाई भेला गर, समुदायलाई पवित्र तुल्याओ।+

वृद्ध पुरुषहरूलाई* भेला गर; केटाकेटी र दूधे बालकहरूलाई बटुल।+

दुलहा आफ्नो भित्री कोठाबाट बाहिर निस्कोस्‌ अनि दुलही पनि आफ्नो कोठाबाट निस्कोस्‌।

१७ यहोवाको सेवा गर्ने पुजारीहरू वेदी र दलानको बीचमा+ आऊन्‌

अनि रुँदै यसो भनून्‌:

‘हे यहोवा, आफ्ना मानिसहरूमाथि दया गर्नुहोस्‌।

तपाईँका मानिसहरूलाई* हाँसोको पात्र बन्‍न नदिनुहोस्‌।

राष्ट्रहरूलाई तिनीहरूमाथि हैकम जमाउन नदिनुहोस्‌।

मानिसहरूले यसो भन्‍ने मौका नपाऊन्‌, “खोइ तिनीहरूको परमेश्‍वर?”’+

१८ तब यहोवा आफ्नो भूमिको लागि जुरमुरिनुहुनेछ

अनि आफ्ना मानिसहरूलाई करुणा देखाउनुहुनेछ।+

१९ यहोवाले आफ्ना मानिसहरूलाई यसो भनेर जवाफ दिनुहुनेछ:

‘हेर, म तिमीहरूलाई अन्‍न, नयाँ मद्य र तेल दिनेछु

अनि तिमीहरू तृप्त हुनेछौ।+

म तिमीहरूलाई फेरि कहिल्यै जातिजातिको बीचमा बदनाम हुन दिनेछैनँ।+

२० उत्तरबाट आउनेलाई म तिमीदेखि टाढा भगाइदिनेछु,

म उसलाई सुक्खा र उजाड भूमिमा तितरबितर पारिदिनेछु।

उसको अघिल्तिरको सेना पूर्वको समुद्रतिर* हुनेछ

र उसको पछिल्तिरको सेना पश्‍चिमको समुद्रतिर* हुनेछ।

उसको गन्ध माथिमाथि उठ्‌नेछ;

उसको दुर्गन्ध मास्तिर फैलिरहनेछ+

किनकि परमेश्‍वरले महान्‌ कामहरू गर्नुहुनेछ।’

२१ ए भूमि, नडराऊ।

खुसी मनाऊ र रमाहट गर किनकि यहोवाले महान्‌ काम गर्नुहुनेछ।

२२ ए जमिनका जनावरहरू हो, तिमीहरू नडराओ

किनकि एकलासे चरनहरू हरिया हुनेछन्‌+

अनि रूखहरूले फल फलाउनेछन्‌।+

अन्जिरको रूख र अङ्‌गुरको बोटले प्रशस्त फल दिनेछन्‌।+

२३ ए सियोनका छोराहरू हो, खुसी होओ र यहोवा तिमीहरूका परमेश्‍वरलाई सम्झेर रमाओ।+

किनकि उहाँले तिमीहरूलाई शरद्‌ ऋतुमा प्रशस्त झरी दिनुहुनेछ,

उहाँले तिमीहरूको लागि पानी बर्साउनुहुनेछ,

पहिले जस्तै उहाँले तिमीहरूको लागि शरद्‌ ऋतुमा र वसन्त ऋतुमा पानी बर्साउनुहुनेछ।+

२४ तिमीहरूका खलाहरू अन्‍नले भरिनेछन्‌

अनि तिमीहरूका कोलहरूबाट नयाँ मद्य र तेल भरिएर पोखिनेछन्‌।+

२५ मैले पठाएको विशाल सेनाले+

—बथाने सलह, पखेटा नभएका सलह, भोका सलह र खन्चुवा सलहले जति वर्षसम्म नोक्सानी गरेको थियो,

त्यसको म क्षतिपूर्ति गरिदिनेछु।

२६ तिमीहरू खाएर तृप्त हुनेछौ+

अनि आफ्ना परमेश्‍वर यहोवाको नामको प्रशंसा गर्नेछौ,+

जसले तिमीहरूको निम्ति आश्‍चर्यजनक कामहरू गर्नुभएको छ;

मेरा मानिसहरू फेरि कहिल्यै लाजमा पर्नेछैनन्‌।+

२७ तब तिमीहरूले जान्‍नेछौ, म इस्राएलको माझमा छु+

अनि म यहोवा तिमीहरूका परमेश्‍वर हुँ,+ मबाहेक अरू कुनै ईश्‍वर छैन!

मेरा मानिसहरू फेरि कहिल्यै लज्जित हुनेछैनन्‌।

२८ तब म सबै मानिसमाथि आफ्नो पवित्र शक्‍ति खन्याउनेछु,+

तिमीहरूका छोराहरू र तिमीहरूका छोरीहरूले भविष्यवाणी गर्नेछन्‌,

तिमीहरूका बूढापाकाहरूले विशेष सपना देख्नेछन्‌

अनि तिमीहरूका ठिटाहरूले दर्शन* देख्नेछन्‌।+

२९ अनि ती दिनहरूमा मेरा दासहरू र मेरा दासीहरूमाथि समेत

म आफ्नो पवित्र शक्‍ति खन्याउनेछु।

३० म आकाश र पृथ्वीमा आश्‍चर्यजनक कामहरू* देखाउनेछु:

रगत, आगो र धुवाँको मुस्लो।+

३१ यहोवाको महान्‌ र भयानक दिन आउनुअघि+

सूर्य अन्धकारमा र चन्द्रमा रगतमा परिणत हुनेछ।+

३२ अनि हरेक जसले यहोवाको नाम पुकार्छ, उसले उद्धार पाउनेछ+

किनकि यहोवाले भन्‍नुभएझैँ सियोन डाँडामा र यरुसलेममा उम्केर बाँच्नेहरू हुनेछन्‌;+

ती मानिसहरू, जसलाई यहोवाले बोलाउनुहुन्छ।”

३ “किनकि हेर! ती दिनमा र ती समयमा

जब म यहुदा र यरुसलेमबाट कैद गरेर लगिएकाहरूलाई फर्काएर ल्याउनेछु,+

 २ तब सबै राष्ट्रका मानिसलाई पनि जम्मा गर्नेछु

अनि तिनीहरूलाई यहोसापात* बेँसीमा ल्याउनेछु।

मेरो जाति र मेरो सम्पत्ति इस्राएलको खातिर

म तिनीहरूसित त्यहाँ मुद्दा लड्‌नेछु।+

किनकि तिनीहरूले मेरो जातिलाई राष्ट्रहरूमाझ तितरबितर पारिदिए

र तिनीहरूले मेरो भूमि आपसमा भागबन्डा गरे।+

 ३ तिनीहरूले मेरो जातिको लागि गोला हाले;+

अनि तिनीहरूले वेश्‍याहरूलाई ज्यालास्वरूप केटाहरू दिए

र रक्सीको लागि केटीहरूलाई बेचे।

 ४ हे टायर र सिदोन अनि हे पलिस्तियाका सबै इलाका हो,

तिमीहरूले मसित यस्तो व्यवहार गर्ने हिम्मत कसरी गर्न सक्यौ?

के तिमीहरू मैले गरेको कुनै कामको बदला लिँदै छौ?

यदि तिमीहरू बदला लिँदै छौ भने

चाँडै म त्यो तिमीहरूकै थाप्लोमा खन्याइदिनेछु।+

 ५ किनकि तिमीहरूले मेरो सुनचाँदी लियौ+

अनि मेरो अनमोल खजाना तिमीहरूका मन्दिरहरूमा लग्यौ।

 ६ अनि तिमीहरूले यहुदा र यरुसलेमका मानिसहरूलाई उनीहरूको इलाकाबाट टाढा पठाउन

उनीहरूलाई ग्रीकहरूको हातमा बेच्यौ।+

 ७ म उनीहरूलाई तिमीहरूले बेचेका ठाउँहरूबाट फिर्ता ल्याउनेछु+

अनि तिमीहरूको कामको प्रतिफल तिमीहरूकै थाप्लोमा खन्याइदिनेछु।

 ८ म तिमीहरूका छोराछोरीलाई यहुदाका मानिसहरूको हातमा बेचिदिनेछु;+

उनीहरूले तिमीहरूका छोराछोरीलाई टाढाको देश सेबाका मानिसहरूको हातमा बेचिदिनेछन्‌;

किनकि यहोवा स्वयम्‌ले यो कुरा भन्‍नुभएको हो।

 ९ राष्ट्रहरूमाझ यस्तो घोषणा गर:+

‘युद्धको लागि तयारी गर! शूरवीरहरूलाई सुऱ्‍याऊ!

सिपाहीहरू सबै अघि बढून्‌ र आक्रमण गरून्‌!+

१० हलोको फालीलाई पिटेर तरबार बनाऊ र हँसियालाई भाला बनाऊ।

अनि कमजोरहरूले यसो भनून्‌: “म शक्‍तिशाली छु।”

११ ए वरपरका राष्ट्रहरू हो! आओ र जम्मा होओ अनि मदत गर।’”+

हे यहोवा, आफ्ना शक्‍तिशाली योद्धाहरूलाई त्यहाँ ल्याउनुहोस्‌।

१२ “राष्ट्र-राष्ट्रका मानिसहरू जुरमुरिऊन्‌ र तिनीहरू यहोसापात बेँसीमा आऊन्‌

किनकि म त्यहाँ बसेर वरपरका सबै राष्ट्रको इन्साफ गर्नेछु।+

१३ बाली पाकिसकेको छ, हँसिया लगाऊ।

आएर कुल्च किनकि कोल भरिएको छ।+

घ्याम्पाहरू भरिएर पोखिएका छन्‌ किनकि दुष्टता असाध्यै बढेको छ।

१४ फैसलाको बेँसीमा हुलका हुल मानिस जम्मा भएका छन्‌

किनकि फैसलाको बेँसीमा यहोवाको दिन नजिकै छ।+

१५ सूर्य र चन्द्रमा अँध्यारो हुनेछ

अनि ताराहरूको चमक हराउनेछ।

१६ अनि यहोवा सियोनबाट गर्जनुहुनेछ,

यरुसलेमबाट उहाँ ठूलो स्वरले कराउनुहुनेछ।

अनि स्वर्ग र पृथ्वी डगमगाउनेछ

तर यहोवा आफ्ना मानिसहरूको शरणस्थान बन्‍नुहुनेछ,+

इस्राएलीहरूको गढ बन्‍नुहुनेछ।

१७ अनि म यहोवा नै तिमीहरूका परमेश्‍वर हुँ र म आफ्नो पवित्र डाँडा सियोनमा बास गर्छु भनेर तिमीहरूले जान्‍नेछौ+

यरुसलेम पवित्र ठाउँ हुनेछ+

अनि अपरिचित मानिसहरू* कहिल्यै त्यहाँबाट भएर जानेछैनन्‌।+

१८ त्यस दिनमा पहाडहरूबाट नयाँ मद्य तपतप चुहिनेछ+

डाँडाहरूबाट दूधको खोला बग्नेछ

अनि यहुदाका सबै नदीमा पानी बग्नेछ

यहोवाको भवनबाट मूल फुट्‌नेछ+

अनि ‘बबुलको रूखको बेँसी’-लाई* भिजाउनेछ।

१९ तर मिश्र* उजाड हुनेछ+

अनि एदोमचाहिँ मरुभूमि।+

किनकि तिनीहरूले यहुदाका मानिसहरूमाथि अत्याचार गरे+

र उनीहरूको भूमिमा निर्दोषहरूको रगत बगाए।+

२० तर यहुदा सदासर्वदाको लागि आबाद हुनेछ

अनि यरुसलेममा पुस्तौँपुस्तासम्म मानिसहरू रहनेछन्‌।+

२१ उनीहरूमाथि लागेको रगतको दोष म मेटाइदिनेछु+

अनि सियोनमा यहोवा बास गर्नुहुनेछ।”+

यसको अर्थ हो, “यहोवा नै परमेश्‍वर हुनुहुन्छ।”

वा “पृथ्वीका।”

वा “युवती।”

वा “पति।”

शब्दावली हेर्नुहोस्‌।

वा “छाती पिट।”

वा सम्भवतः “सुकेको अन्जिर।”

वा “पृथ्वीका।”

शब्दावली हेर्नुहोस्‌।

वा “पछुतो मान्‍नुहुनेछ।”

वा “उहाँले पछुतो मान्‍नुहुन्छ कि?”

वा “नाइकेहरूलाई।”

शा., “उत्तराधिकारलाई।”

अर्थात्‌, मृतसागरतिर।

अर्थात्‌, भूमध्यसागरतिर।

शब्दावली हेर्नुहोस्‌।

वा “चिन्हहरू।”

यसको अर्थ हो, “यहोवा न्यायकर्ता हुनुहुन्छ।”

वा “विदेशीहरू।”

वा “वादीलाई।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

वा “इजिप्ट।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने