प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt नहुम १:१-३:१९
  • नहुम

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नहुम
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
पवित्र बाइबल नयाँ संसार अनुवाद
नहुम

नहुम

१ निनवेविरुद्ध+ घोषणा: एल्कोसवासी नहुमको* दर्शन* भएको पुस्तक:

 २ यहोवा आफ्नो बाहेक अरूको उपासना गरिएको नसहने+ र बदला लिने परमेश्‍वर हुनुहुन्छ;

यहोवा बदला लिनुहुन्छ र उहाँ रिस प्रकट गर्न तयार हुनुहुन्छ।+

यहोवा आफ्ना शत्रुहरूसित बदला लिनुहुन्छ;

उहाँ आफ्ना शत्रुहरूको निम्ति रिस साँचेर राख्नुहुन्छ।

 ३ यहोवा हतपती नरिसाउने+ र अत्यन्तै शक्‍तिशाली+ परमेश्‍वर हुनुहुन्छ

तर यहोवा कुनै पनि हालतमा दोषीलाई सजाय नदिई पछि हट्‌नुहुन्‍न।+

उहाँ हिँड्‌नुहुँदा विनाशकारी बतास र आँधी चल्छ

अनि बादलचाहिँ उहाँको पाउको धुलो हो।+

 ४ उहाँ समुद्रलाई हप्काउनुहुन्छ+ र त्यसलाई सुकाइदिनुहुन्छ;

उहाँ सबै नदीलाई सुकाइदिनुहुन्छ।+

बासान र कर्मेल उजाड हुन्छन्‌+

अनि लेबनानका फूलहरू ओइलाउँछन्‌।

 ५ उहाँले गर्दा पहाडहरू काँप्छन्‌

अनि डाँडाहरू पग्लिन्छन्‌।+

उहाँको सामुन्‍ने पृथ्वी काँप्छ

अनि जमिन र त्यसमा बस्ने सबै थरथराउँछन्‌।+

 ६ उहाँको क्रोधको अगाडि को खडा रहन सक्छ?+

उहाँको बल्दो रिसको अगाडि को टिक्न सक्छ?+

उहाँको रिस आगोजस्तै खनिनेछ

अनि उहाँले गर्दा चट्टानहरू चकनाचुर हुनेछन्‌।

 ७ यहोवा असल हुनुहुन्छ,+ विपद्‌को दिनमा उहाँ गढ हुनुहुन्छ।+

उहाँमा शरण लिनेहरूलाई उहाँ चिन्‍नुहुन्छ।*+

 ८ उर्लँदो बाढी ल्याएर उहाँले त्यस ठाउँलाई* सर्वनाश गर्नुहुनेछ।

अनि उहाँका शत्रुहरूलाई अन्धकारले पछ्याउनेछ।

 ९ यहोवाविरुद्ध तिमीहरू षड्‌यन्त्र रच्न सक्छौ र?

उहाँले सर्वनाश ल्याउनुहुनेछ।

विपत्ति दोस्रो चोटि आउनेछैन।+

१० तिनीहरू काँडाजस्तै आपसमा जेलिएका छन्‌,

तिनीहरू रक्सीले* मात्तिएकाहरूजस्ता भएका छन्‌

तर सुकिसकेका ठोसालाई जस्तै तिनीहरूलाई भस्म पारिनेछ।

११ यहोवाविरुद्ध षड्‌यन्त्र रच्ने एक जना तिमीहरूबाट निस्कनेछ,

जसले व्यर्थको सल्लाह दिनेछ।

१२ यहोवा यसो भन्‍नुहुन्छ:

“तिनीहरू शक्‍तिशाली र अनगिन्ती भए तापनि

तिनीहरू सबै काटिनेछन्‌ र तिनीहरूको अन्त हुनेछ।*

मैले तिमीहरूमाथि* विपत्ति ल्याएँ तर अब त्यसो गर्नेछैनँ।

१३ म तिमीहरूको गर्दनमा तिनीहरूले राखेको जुवा भाँचिदिनेछु,

तिमीहरूको बन्धनलाई+ म दुई टुक्रा पारिदिनेछु।

१४ तेरो* बारेमा यहोवाले यस्तो आज्ञा दिनुभएको छ,

‘तेरो वंश थाम्ने कोही रहनेछैन।

तेरा ईश्‍वरहरूको मन्दिरबाट कुँदिएका मूर्तिहरू र धातुका मूर्तिहरूलाई* म नष्ट गरिदिनेछु।

म तेरो लागि चिहान बनाउनेछु किनकि तँ घृणित छस्‌।’

१५ हेर! सुसमाचार घोषणा गर्ने अनि शान्तिको घोषणा गर्ने मानिस डाँडाहरू हुँदो आइरहेको छ।+

हे यहुदा, तिम्रा चाडहरू मनाऊ+ र तिम्रा भाकलहरू पूरा गर

किनकि निकम्मा मानिस फेरि कहिल्यै तिम्रो बाटो भएर जानेछैन।

त्यसको अस्तित्व मेटिनेछ।”

२ तिमीहरूलाई* तितरबितर पार्ने तिमीहरूविरुद्ध आएको छ।+

आफ्ना किल्लाहरूको सुरक्षा गर।

बाटोमा नजर राख।

कम्मर कस र भएभरको बल लगाउन तयार होओ।

 २ यहोवाले याकुबको गौरव पुनर्स्थापित गर्नुहुनेछ

अनि इस्राएलको गौरव पनि पुनर्स्थापित गर्नुहुनेछ।

किनकि विनाशकारीहरूले उनीहरूको विनाश गरिदिएका छन्‌;+

उनीहरूका हाँगाहरूलाई नाश गरिदिएका छन्‌।

 ३ उसका वीर पुरुषहरूका ढालहरू रातो रङ्‌गले रङ्‌गाइएका छन्‌;

उसका योद्धाहरूले गाढा रातो रङ्‌गको वस्त्र पहिरिएका छन्‌।

उसले लडाइँको तयारी गरेको दिनमा

युद्धको रथमा जडान गरिएको फलाम आगोजस्तै चम्किन्छ।

अनि उसका योद्धाहरूले धुपीको काठको भाला नचाउँछन्‌।

 ४ युद्धका रथहरू सडकमा वेगसित दौडन्छन्‌।

तिनीहरू सहरको चोकमा यताउता कुद्‌छन्‌।

तिनीहरू बलिरहेको राँकोजस्तै र बिजुलीजस्तै चम्कन्छन्‌।

 ५ उसले* आफ्ना भारदारहरूलाई बोलाउनेछ।

उनीहरू अघि बढ्‌दै गर्दा ठेस खानेछन्‌;

उनीहरू त्यसको पर्खालतिर दौडेर जानेछन्‌

अनि छेकबार लगाउनेछन्‌।

 ६ नदीहरूका ढोकाहरू खोलिनेछन्‌

अनि महल ढल्नेछ।*

 ७ यो कुरा निश्‍चय गरिएको छ: त्यस स्त्रीको भन्डाफोर हुनेछ,

त्यसलाई लगिनेछ अनि त्यसका दासीहरूले शोक गर्नेछन्‌;

छाती पिटेर शोक गर्दा तिनीहरूको आवाज ढुकुरको जस्तै सुनिनेछ।

 ८ निनवे+ सुरुदेखि नै पानीको तालजस्तै थियो

तर अहिले तिनीहरू भागिरहेका छन्‌।

“पर्ख! पर्ख!” भन्दा पनि

कसैले फर्केर हेर्दैन।+

 ९ चाँदी लुट! सुन लुट!

त्यहाँ खजानाको कुनै कमी छैन।

त्यहाँ हरप्रकारको बहुमूल्य थोकको भण्डार छ।

१० त्यो सहर खाली भएको छ! सुनसान र उजाड भएको छ!+

तिनीहरूको मन डरले पग्लन्छ, तिनीहरूका घुँडाहरू लगलग काम्छन्‌, तिनीहरूको कम्मर थरथर काँप्छ;

तिनीहरूको अनुहारको रङ्‌ग फुङ्‌ग उडेको छ।

११ सिंहको ओडार कहाँ छ,+ जहाँ जवान सिंहहरू आहार खान्छन्‌,

जहाँबाट सिंह आफ्ना डमरुहरूको अघिअघि निस्कन्छ

अनि जहाँ तिनीहरूलाई तर्साउने कोही हुँदैन?

१२ सिंहले आफ्ना डमरुहरूको लागि प्रशस्त सिकार फहराउँथ्यो

अनि आफ्ना सिंहनीहरूको लागि सिकारको घाँटी अँठ्‌याउँथ्यो।

त्यसले आफ्नो गुफाभित्र प्रशस्त सिकार राख्थ्यो

अनि फहराइएको जनावरले ओडार भर्थ्यो।

१३ सेनाहरूका यहोवा यस्तो घोषणा गर्नुहुन्छ, “हेर्‌! म तेरो विरुद्धमा छु,+

म तेरा युद्धका रथहरू जलाएर धुवाँमा उडाइदिनेछु+

अनि तरबारले तेरा जवान सिंहहरूलाई खाइदिनेछ।

म पृथ्वीबाट तेरो सिकारको नामोनिसान मेटिदिनेछु

अनि तेरा दूतहरूको स्वर फेरि कहिल्यै सुनिनेछैन।”+

३ धिक्कार छ! रक्‍तपातले भरिएको त्यस सहरलाई!

त्यो छल र लुटले भरिएको छ।

त्यसले सिकार गर्न कहिल्यै छोड्‌दैन!

 २ कोर्राको स्वाँटस्वाँट आवाज र पाङ्‌ग्राको घडघड आवाज

अनि वेगले कुदिरहेका घोडाहरूको आवाज र रथको गडगडाहट सुनिन्छ।

 ३ घोडचढीहरू आइरहेका छन्‌, तरबार टल्किरहेको छ र भाला चमचम चम्किरहेको छ,

काटिएका मानिसहरूको थुप्रो छ र लासहरूको गन्ती नै छैन;

जताततै लास नै लास देखिन्छ।

तिनीहरू जहाँ गए पनि लासमा अल्झिन्छन्‌।

 ४ यी सबै त्यस वेश्‍याको वेश्‍यावृत्तिले गर्दा भएको हो।

सुन्दर र आकर्षक त्यो स्त्री टुनामुना गर्न खप्पिस छे।

त्यसले राष्ट्रहरूलाई आफ्नो वेश्‍यावृत्तिले र परिवारहरूलाई टुनामुनाले पासोमा पार्छे।

 ५ सेनाहरूका यहोवा घोषणा गर्नुहुन्छ, “हेर्‌! म तेरो* विरुद्धमा छु।+

म तेरो जामा तेरो अनुहारसम्म उठाइदिनेछु

अनि राष्ट्रहरूले तेरो नग्नता देख्नेछन्‌;

राज्यहरूले तेरो बेइज्जती देख्नेछन्‌।

 ६ अनि म तँमाथि डुङडुङती गन्हाउने फोहोर फ्याँक्नेछु;

तँलाई घृणित तुल्याउनेछु;

तँ मानिसहरूको अगाडि तमासा हुनेछेस्‌।+

 ७ तँलाई देख्ने सबै तँबाट भाग्नेछन्‌+ र यसो भन्‍नेछन्‌,

‘निनवे ध्वस्त भएको छ!

त्यसको लागि कसले बिलौना गर्ला र?’

तँलाई सान्त्वना दिनेहरू म कहाँ भेट्टाऊँ?

 ८ तँ नाइलका नहरहरूको+ छेउमा भएको नो-आमोनभन्दा*+ असल छेस्‌ र?

त्यसको चारैतिर पानी थियो;

त्यसको सम्पत्ति समुद्र थियो र समुद्रले त्यसको रक्षा गर्थ्यो।

 ९ इथियोपिया र मिश्र* त्यसको अथाह शक्‍तिको स्रोत थियो।

अनि पत+ र लिबिया त्यसका* सहायक थिए।+

१० तर त्यो पनि निर्वासित भई;

त्यसलाई कैदी बनाएर लगियो।+

त्यसका सन्तानलाई चोक-चोकमा पछारी-पछारी मारियो।

त्यसका इज्जतदार मानिसहरूमाथि गोला हालियो

अनि त्यसका सबै ठूलाबडा मानिसलाई साङ्‌लाले बाँधियो।

११ अनि तँ पिएर मात्तिने पनि छेस्‌;+

तँ लुक्नेछेस्‌,

शत्रुबाट बच्न शरण खोज्नेछेस्‌।

१२ तेरा सबै किल्ला अन्जिरका त्यस्ता रूखहरूजस्तै छन्‌, जसमा पहिलो फल पाकेको छ;

ती रूखहरूलाई हल्लाइयो भने खाने मानिसहरूको मुखैमा ती फलहरू पर्छन्‌।

१३ हेर्‌! तेरा सिपाहीहरू स्त्रीहरूजस्ता छन्‌।

तेरो भूमिका ढोकाहरू तेरा शत्रुहरूका लागि खुला रहनेछन्‌।

तेरा ढोकाहरूका गजबारहरूलाई आगोले भस्म गर्नेछ।

१४ पानी भर्‌ र घेराबन्दीको लागि तयार हो!+

तेरा किल्लाहरू बलिया बना।

हिलोमा जा र माटोलाई कुल्चीमिल्ची गर्‌

अनि इँटा बनाउने साँचो उठा।

१५ त्यहाँ पनि तँलाई आगोले भस्म गर्नेछ।

तरबारले तँलाई काट्‌नेछ।+

सलहको बच्चाले जस्तै त्यसले तँलाई सखाप पार्नेछ।+

सलहको बच्चाजस्तै तेरा योद्धाहरूको सङ्‌ख्या बढा!

हो! आफूलाई सलहजस्तै अनगिन्ती बना!

१६ तैँले तेरा व्यापारीहरूको सङ्‌ख्या आकाशका ताराहरूभन्दा धेरै बढाइस्‌।

सलहको बच्चाले आफ्नो खोल छोड्‌छ र उडेर जान्छ।

१७ तेरा पहरेदारहरू सलहजस्ता छन्‌

अनि तेरा अधिकारीहरू सलहको बथानजस्ता छन्‌।

तिनीहरू जाडो हुँदा ढुङ्‌गाका चेपहरूमा लुक्छन्‌

तर घाम लागेपछि उडेर जान्छन्‌

अनि तिनीहरू कहाँ गए, कसैलाई पत्तो हुँदैन।

१८ ए अस्सेरियाका राजा, तेरा गोठालाहरू निद्राले लट्ठिएका छन्‌;

तेरा प्रतिष्ठित मानिसहरू आ-आफ्नै घरमा रहन्छन्‌।

तेरा मानिसहरू डाँडाकाँडामा तितरबितर भएका छन्‌;

तिनीहरूलाई जम्मा गर्ने त्यहाँ कोही छैन।+

१९ तैँले भोग्ने विपत्‌बाट तैँले राहत पाउनेछैनस्‌,

तेरो घाउ कहिल्यै निको हुनेछैन।

तेरो बारेमा सुन्‍ने सबैले ताली बजाउनेछन्‌+

किनकि तेरो हातबाट निरन्तर अत्याचार नभोग्ने को छ र?”+

यसको अर्थ हो, “सान्त्वना दिने।”

शब्दावली हेर्नुहोस्‌।

वा “ख्याल राख्नुहुन्छ।”

अर्थात्‌, निनवेलाई।

वा “गहुँबाट बनेको बियरले।”

वा सम्भवतः “र तिनीहरू त्यहाँबाट भएर जानेछन्‌।”

अर्थात्‌, यहुदामाथि।

अर्थात्‌, अस्सेरियाको।

वा “धातु पगालेर बनाइएका मूर्तिहरूलाई।”

अर्थात्‌, निनवेलाई।

यसले अस्सेरियाको राजालाई जनाएको हुन सक्छ।

वा “गल्नेछ।”

अर्थात्‌, निनवेको।

अर्थात्‌, थेबेसभन्दा।

वा “इजिप्ट।”

शा., “तेरा।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने