प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt मलाकि १:१-४:६
  • मलाकि

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मलाकि
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
पवित्र बाइबल नयाँ संसार अनुवाद
मलाकि

मलाकि

१ एउटा घोषणा:

मलाकिमार्फत* इस्राएललाई यहोवाको वचन:

२ यहोवा भन्‍नुहुन्छ, “मैले तिमीहरूलाई प्रेम गरेको छु।”+

तर तिमीहरू भन्छौ: “तपाईँले हामीलाई कसरी प्रेम गर्नुभएको छ?”

यहोवा घोषणा गर्नुहुन्छ, “के एसाव याकुबको दाइ थिएन र?+ तर मैले याकुबलाई प्रेम गरेँ ३ अनि एसावलाई भने घृणा गरेँ।+ मैले उसका पहाडहरूलाई उजाड पारिदिएँ+ र उसको पुर्ख्यौली जमिनलाई स्यालहरू बस्ने ठाउँ बनाइदिएँ।”+

४ “एदोमले* यसो भनेको छ, ‘हामी चकनाचुर भएका छौँ तर हामी फर्कनेछौँ र भत्केका कुराहरूलाई फेरि बनाउनेछौँ।’ तर सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ, ‘तिनीहरूले बनाउनेछन्‌ तर म भत्काइदिनेछु। अनि तिनीहरू “दुष्टहरूको इलाका” र “यहोवा परमेश्‍वरले कहिल्यै नमेटिने सराप दिनुभएको जाति” भनेर चिनिनेछन्‌।+ ५ यो तिमीहरूले आफ्नै आँखाले देख्नेछौ र यसो भन्‍नेछौ: “इस्राएलमा यहोवाको महिमा होस्‌।”’”

६ “उहाँको नामको अपमान गर्ने पुजारीहरूलाई सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ, ‘छोराले आफ्नो बुबाको आदर गर्छ+ र दासले आफ्नो मालिकको आदर गर्छ। म बुबा हुँ भने+ मेरो आदर गरेको खोइ?+ म मालिक हुँ भने मेरो डर* मानेको खोइ?’+

“‘तर तिमीहरू भन्छौ: “हामीले कसरी तपाईँको नामको अपमान गरेका छौँ र?”’

७ “‘मेरो वेदीमा दूषित खाना* चढाएर।’

“‘अनि तिमीहरू भन्छौ: “हामीले तपाईँलाई कसरी दूषित बनाएका छौँ र?”’

“‘“यहोवाको टेबुल+ घिनलाग्दो छ” भनेर। ८ तिमीहरू अन्धो पशु बलि चढाउन ल्याउँछौ अनि भन्छौ: “यसमा कुनै खोट छैन।” लङ्‌गडो वा रोगी पशु ल्याउँछौ अनि भन्छौ: “यसमा कुनै खोट छैन।”’”+

“त्यस्तो पशु तिमीहरूका राज्यपाललाई एक चोटि दिई हेर त। के तिनी तिमीहरूसँग खुसी हुनेछन्‌ वा तिमीहरूलाई निगाह देखाउनेछन्‌?” सेनाहरूका यहोवा भन्‍नुहुन्छ।

९ “अब, परमेश्‍वरलाई बिन्ती गरेर उहाँलाई मनाई हेर। उहाँले तिमीहरूको हातबाट त्यस्ता भेटीहरू ग्रहण गरेर तिमीहरूमाथि अनुग्रह देखाउनुहोला र?” सेनाहरूका यहोवा भन्‍नुहुन्छ।

१० “अनि तिमीहरूमध्ये को ढोका* बन्द गर्न राजी छौ?+ किनकि तिमीहरू त दाम नलिई मेरो वेदीमा आगोसमेत बाल्दैनौ।+ म तिमीहरूसित पटक्कै खुसी छैनँ। अनि तिमीहरूले चढाएको भेटीदेखि म प्रसन्‍न छैनँ।”+

११ “पूर्वदेखि पश्‍चिमसम्म* जातिजातिमाझ मेरो नाम महान्‌ हुनेछ।+ सबै ठाउँमा मानिसहरूले मेरो नाम लिएर निष्खोट भेटीहरू चढाउनेछन्‌ अनि माथिसम्म धुवाँ उठ्‌नेगरि तिनीहरूले बलि चढाउनेछन्‌। किनकि जातिजातिमाझ मेरो नाम महान्‌ हुनेछ,”+ सेनाहरूका यहोवा भन्‍नुहुन्छ।

१२ “तर तिमीहरूले यसो भनेर यसको* अपमान गरिरहेका छौ,+ ‘यहोवाको टेबुल दूषित छ अनि यसमा भएका फल, खानेकुरा घिनलाग्दा छन्‌।’+ १३ अनि तिमीहरू नाकको पोरा फुलाउँदै खिसी गर्छौ र यसो भन्छौ, ‘उफ! कत्ति थकाइलाग्दो!’” सेनाहरूका यहोवा भन्‍नुहुन्छ। “अनि तिमीहरू चोरेको, लङ्‌गडो र रोगी पशुहरू ल्याउँछौ। हो, तिमीहरू त्यस्ता पशुहरू भेटी चढाउन ल्याउँछौ! के म ती ग्रहण गरूँ?”+ यहोवा भन्‍नुहुन्छ।

१४ “आफ्नो बगालमा खोटरहित पशु* हुँदाहुँदै आफ्नो भाकल पूरा गर्न खोट भएको पशु यहोवालाई चढाउने धूर्त मानिस श्रापित होस्‌। किनकि म महान्‌ राजा हुँ+ र जातिजातिमाझ मेरो नामले आश्‍चर्य र भय जगाउनेछ,”+ सेनाहरूका यहोवा भन्‍नुहुन्छ।

२ “अब हे पुजारीहरू हो, यो आज्ञा तिमीहरूको लागि हो।+ २ यदि तिमीहरूले मेरा आज्ञाहरू पालन गरेनौ र मेरो नामको महिमा गर्नमा मन लगाएनौ भने,” सेनाहरूका यहोवा भन्‍नुहुन्छ, “म तिमीहरूमाथि सराप पठाउनेछु+ अनि तिमीहरूले पाएका आशिष्‌हरूलाई सरापमा परिणत गरिदिनेछु।+ हो, मैले आशिष्‌लाई सरापमा परिणत गरिदिएको छु किनकि तिमीहरूले मेरा आज्ञाहरूमा मन लगाएनौ।”

३ “हेर! तिमीहरूले छरेको बिउलाई म तिमीहरूकै कारण नाश गरिदिनेछु।*+ अनि म तिमीहरूको अनुहारमा गोबर फ्याँकिदिनेछु, हो, तिमीहरूले चाडको बेला बलि चढाएका जनावरहरूको गोबर। अनि तिमीहरूलाई त्यससँगसँगै उठाएर लगिनेछ।* ४ त्यसपछि लेविसित मैले गरेको करार कायम रहिरहोस्‌ भनेर मैले नै तिमीहरूलाई यो आज्ञा दिएको हुँ भनी तिमीहरूले थाह पाउनेछौ,”+ सेनाहरूका यहोवा भन्‍नुहुन्छ।

५ “मैले तिनीसित गरेको करारले गर्दा तिनले जीवन र शान्ति पाए। तिनले मेरो डर मानून्‌* भनेर मैले तिनलाई यो आशिष्‌ दिएँ। तिनले मेरो डर माने र मेरो नामको आदर गरे। ६ तिनको मुखमा सत्यको व्यवस्था* थियो+ र तिनको ओठमा कुनै छल पाइएन। तिनी मसित शान्तिमा रहे र मसित इमानदार भई हिँडे+ अनि तिनले थुप्रैलाई गलत बाटोबाट फर्काए। ७ पुजारीको ओठले ज्ञानको रक्षा गर्नुपर्छ अनि मानिसहरूले तिनको मुखबाट व्यवस्थाका कुराहरू* सिक्नुपर्छ+ किनकि तिनी सेनाहरूका यहोवाका सन्देशवाहक हुन्‌।

८ “तर तिमीहरू आफै भने सही मार्गबाट तर्किएका छौ। तिमीहरूले गर्दा धेरै जना व्यवस्था पालन गर्नबाट चुकेका छन्‌।*+ लेविसित मैले गरेको करारलाई तिमीहरूले तोडेका छौ,”+ सेनाहरूका यहोवा भन्‍नुहुन्छ। ९ “त्यसकारण म तिमीहरूलाई सबै मानिसको नजरमा नीच र तुच्छ तुल्याइदिनेछु किनकि तिमीहरू मेरो मार्गबाट तर्कियौ अनि व्यवस्था लागू गर्दा पक्षपात गऱ्‍यौ।”+

१० “हामी सबैका बुबा एउटै हुनुहुन्‍न र?+ हामीलाई बनाउनुहुने परमेश्‍वर एउटै हुनुहुन्‍न र? त्यसोभए हामी किन एकअर्कालाई छल गरेर+ हाम्रा पुर्खाहरूले गरेको करार तोडिरहेका छौँ? ११ यहुदाले छल गरेको छ अनि इस्राएल र यरुसलेममा एउटा घिनलाग्दो काम गरिएको छ; यहुदाले यहोवा परमेश्‍वरको अपमान गरेको छ, जसले पवित्र कुरालाई* प्रेम गर्नुहुन्छ।+ अनि उसले पराई देवताको छोरीलाई आफ्नी दुलही बनाएर ल्याएको छ।+ १२ त्यसो गर्नेजति सबैलाई यहोवा परमेश्‍वरले याकुबको पालबाट निकालिदिनुहुनेछ, चाहे त्यो जोसुकै होस्‌। उसले सेनाहरूका यहोवाको लागि भेटी चढाउने गरेकै भए पनि ऊ निकालिनेछ।”+

१३ “अनि तिमीहरूले गरेको अर्को एउटा कामले गर्दा पनि यहोवाको वेदी आँसु, रोदन र सुस्केराले भरिएको छ; यही कारणले गर्दा उहाँले तिमीहरूको भेटीलाई वास्ता गर्न छोड्‌नुभएको छ र तिमीहरूले चढाएको कुनै पनि कुरा उहाँ ग्रहण गर्नुहुन्‍न।+ १४ अनि तिमीहरू भन्छौ, ‘हामीले त्यस्तो के गऱ्‍यौँ र?’ तिमीहरूले बैँसमा बिहे गरेको आफ्नी पत्नीलाई विश्‍वासघात गऱ्‍यौ र यहोवा परमेश्‍वर यसको साक्षी हुनुहुन्छ। तिमीहरूले आफ्नी सहयोगी, आफ्नी पत्नीलाई धोका दियौ, जससित तिमीहरूले करार गरेका थियौ।*+ १५ तर केहीले भने त्यसो गरेनन्‌ किनकि तिनीहरूमा अझै परमेश्‍वरको पवित्र शक्‍ति थियो। अनि तिनीहरू केको पर्खाइमा थिए? तिनीहरू परमेश्‍वरको सन्तानको पर्खाइमा थिए। त्यसैले तिमीहरू आफ्नो मनलाई बरालिन नदेओ र आफूले बैँसमा बिहे गरेको पत्नीलाई धोका नदेओ। १६ किनकि म सम्बन्धविच्छेदलाई घृणा गर्छु,”*+ इस्राएलका परमेश्‍वर यहोवा भन्‍नुहुन्छ, “अनि हिंसा गर्नेलाई* पनि घृणा गर्छु,” सेनाहरूका यहोवा भन्‍नुहुन्छ। “आफ्नो मनलाई बरालिन नदेओ अनि तिमीहरूले धोका नदेओ।+

१७ “तिमीहरूले बोलेको सुनेर यहोवा परमेश्‍वर वाक्कै हुनुभएको छ।+ तर तिमीहरू भन्छौ, ‘हामीले कसरी उहाँलाई वाक्कै पाऱ्‍यौँ र?’ तिमीहरूले यसो भन्यौ, ‘दुष्ट काम गर्ने सबै जना यहोवा परमेश्‍वरको दृष्टिमा असल छन्‌ अनि तिनीहरूलाई देखेर उहाँ खुसी हुनुहुन्छ।’+ अनि यसो पनि भन्यौ, ‘न्यायका परमेश्‍वर खोइ कहाँ छन्‌?’”

३ “हेर! म मेरो दूतलाई पठाउँदै छु अनि तिनले मेरो अघिअघि बाटो तयार पार्नेछन्‌।+ अनि साँचो प्रभु, जसलाई तिमीहरूले खोजिरहेका छौ, तिनी अचानक मन्दिरमा आउनेछन्‌+ र करारका दूत पनि आउनेछन्‌, जसको तिमीहरूले खुसीसाथ प्रतीक्षा गरिरहेका छौ। हेर! तिनी पक्कै आउनेछन्‌,” सेनाहरूका यहोवा भन्‍नुहुन्छ।

२ “तर तिनी आउने दिनमा को टिक्न सक्छ अनि तिनी देखा पर्दा को उभिन सक्छ? किनकि तिनी धातु खार्ने आगोजस्तै र धोबीको साबुनजस्तै+ हुनेछन्‌। ३ चाँदी खार्ने र शुद्ध पार्ने मानिसले जस्तै तिनले लेविका सन्तानलाई शुद्ध पार्नेछन्‌;+ तिनले तिनीहरूलाई सुन र चाँदीलाई जस्तै खार्नेछन्‌ र तिनीहरू यहोवाको लागि यस्ता मानिसहरू बन्‍नेछन्‌, जसले साँचो मनले भेटी चढाउँछन्‌। ४ अनि पहिलेपहिले जस्तै, प्राचीन समयमा जस्तै यहुदा र यरुसलेमको भेटी देखेर यहोवा परमेश्‍वर प्रसन्‍न हुनुहुनेछ।+

५ “न्याय गर्न म तिमीहरूको नजिक आउनेछु र तान्त्रिकहरू,+ व्यभिचार* गर्नेहरू, झूटो शपथ खानेहरू+ अनि ज्यालादारी कामदार, विधवा र अनाथलाई* ठग्नेहरू+ अनि विदेशीलाई मदत गर्न इन्कार गर्नेहरूविरुद्ध*+ म चाँडै सजाय सुनाउनेछु। यिनीहरूले मेरो डर पटक्कै मानेका छैनन्‌,” सेनाहरूका यहोवा भन्‍नुहुन्छ।

६ “किनकि म यहोवा हुँ, म कहिल्यै परिवर्तन हुन्‍नँ।+ अनि तिमीहरू याकुबका सन्तान हौ, त्यसैले तिमीहरूको अस्तित्व अहिलेसम्म मेटिएको छैन। ७ तिमीहरूका पुर्खाहरूको समयदेखि तिमीहरूले मेरा नीतिनियम तोड्‌दै आएका छौ, ती पालन गरेका छैनौ।+ मकहाँ फर्क र म तिमीहरूकहाँ फर्कनेछु,”+ सेनाहरूका यहोवा भन्‍नुहुन्छ।

तर तिमीहरू भन्छौ: “हामी कसरी तपाईँकहाँ फर्कने?”

८ “के मानिसले परमेश्‍वरलाई लुट्‌न सक्छ? तर तिमीहरूले मलाई लुटिरहेका छौ।”

अनि तिमीहरू भन्छौ: “हामीले तपाईँलाई कसरी लुट्यौँ र?

“दशांश* र अनुदान नदिएर। ९ तिमीहरू श्रापित नै हौ* किनकि तिमीहरू मलाई लुट्‌दै छौ, हो, पूरै राष्ट्रले मलाई लुट्‌दै छ। १० सबै दशांश भण्डारमा ल्याओ+ र मेरो घरमा भोजन होस्‌।+ मलाई जाँचेर हेर,” सेनाहरूका यहोवा भन्‍नुहुन्छ, “म आकाशका पानीका बाँधहरू खोलेर+ तिमीहरूलाई कुनै कुराको कमी नै नहुनेगरि आशिष्‌ बर्साउँछु कि बर्साउँदिनँ, हेर।”+

११ “सखाप पार्नेहरूलाई* म तिमीहरूको खातिर हप्काउनेछु अनि तिनीहरूले तिमीहरूको जमिनको उब्जनी खतम पार्नेछैनन्‌ र तिमीहरूका अङ्‌गुरका बोटहरू रित्तो हुनेछैनन्‌,”+ सेनाहरूका यहोवा भन्‍नुहुन्छ।

१२ “सबै राष्ट्रले तिमीहरूलाई आनन्दित भन्‍नेछन्‌+ किनकि तिमीहरूको देश खुसीको कारण बन्‍नेछ,” सेनाहरूका यहोवा भन्‍नुहुन्छ।

१३ यहोवा परमेश्‍वर भन्‍नुहुन्छ, “तिमीहरूले मविरुद्ध कडा शब्दहरू बोलेका छौ।”

तर तिमीहरू भन्छौ: “हामीले तपाईँविरुद्ध के कुरा गरेका छौँ र?”+

१४ “तिमीहरू भन्छौ, ‘परमेश्‍वरको सेवा गरेर केही फाइदा छैन।+ सेनाहरूका यहोवाको आज्ञा पालन गरेर अनि उहाँ समक्ष आफ्नो पापको लागि दुःखी भएर हामीलाई के फाइदा भएको छ र? १५ बरु हामी त अहङ्‌कारी मानिसहरू आनन्दित भएको देख्छौँ। अनि दुष्ट काम गर्नेहरू सफल भएका छन्‌।+ तिनीहरू परमेश्‍वरको परीक्षा गर्ने आँट गर्छन्‌ र सजाय नपाई उम्कन्छन्‌।’”

१६ तब यहोवा परमेश्‍वरको भय मान्‍नेहरूले आपसमा कुरा गरे, प्रत्येकले आफ्नो साथीसित कुरा गरे अनि यहोवा परमेश्‍वरले तिनीहरूको कुरा ध्यान दिएर सुनिरहनुभयो। यहोवा परमेश्‍वरको भय मान्‍नेहरू र उहाँको नामबारे सोच्नेहरूका* लागि+ उहाँको सामुन्‍ने सम्झनाको एउटा पुस्तक लेखियो।+

१७ सेनाहरूका यहोवा भन्‍नुहुन्छ, “अनि त्यस दिन म तिनीहरूलाई आफ्नो विशेष* सम्पत्ति बनाउनेछु+ र तिनीहरू मेरा हुनेछन्‌।+ अनि जसरी बुबाले आफ्नो आज्ञाकारी छोरामाथि टिठाउँछ, त्यसरी नै म तिनीहरूमाथि टिठाउनेछु।+ १८ तिमीहरूले फेरि धर्मी र दुष्ट मानिसबीच अनि परमेश्‍वरको सेवा गर्ने र नगर्ने मानिसबीचको भिन्‍नता देख्नेछौ।”+

४ “हेर! आगोको भट्टीझैँ दन्कँदै त्यो दिन आउँदै छ।+ त्यो दिन अहङ्‌कारीहरू र दुष्ट काम गर्नेहरू सबै ठोसाजस्तै हुनेछन्‌। आउँदै गरेको त्यस दिनले तिनीहरूलाई निश्‍चय नै भस्म पार्नेछ, हाँगा र जरा केही बाँकी रहनेछैन,” सेनाहरूका यहोवा भन्‍नुहुन्छ। २ “तर मेरो नामको आदर गर्ने* तिमीहरूमाथि धार्मिकताको* सूर्य उदाउनेछ र त्यसका किरणहरूले* तिमीहरूलाई निको पार्नेछ र मोटाघाटा बाछाहरूजस्तै तिमीहरू बुर्लुकबुर्लुक उफ्रनेछौ।”

३ “तिमीहरूले दुष्टहरूलाई खुट्टाले कुल्चनेछौ किनकि मैले कदम चाल्ने दिनमा तिमीहरूका लागि तिनीहरू पैतालामुनिको धुलोसरह हुनेछन्‌,” सेनाहरूका यहोवा भन्‍नुहुन्छ।

४ “मेरो सेवक मोसाको व्यवस्थाको सम्झना गर, ती नीतिनियम र ऐनकानुन, जुन सारा इस्राएलको लागि मैले होरेबमा दिएको थिएँ।+

५ “हेर! यहोवाको महान्‌ र आश्‍चर्यलाग्दो दिन आउनुअघि+ म तिमीहरूकहाँ भविष्यवक्‍ता एलियालाई पठाउँदै छु।+ ६ अनि तिनले बुबाहरूको मन छोराहरूतर्फ+ र छोराहरूको मन बुबाहरूतर्फ फर्काइदिनेछन्‌। नत्र त म आएर पृथ्वीलाई प्रहार गर्नेछु र सर्वनाश गर्नेछु।”

(हिब्रू-अरामी धर्मशास्त्र यहीँ समाप्त हुन्छ र यसपछि ख्रिष्टियन ग्रीक धर्मशास्त्र सुरु हुन्छ)

यसको अर्थ हो, “मेरो सन्देशवाहक।”

एसावको अर्को नाम। शब्दावलीमा “एदोम” हेर्नुहोस्‌।

वा “आदर।”

शा., “रोटी।”

यसले मन्दिरभित्र उपासनासम्बन्धी काम गर्दा ढोका बन्द गर्नुपर्ने जिम्मेवारीलाई जनाएको हुनुपर्छ।

वा “सूर्योदयदेखि सूर्यास्तसम्म।”

वा सम्भवतः “मेरो।”

शा., “भाले पशु।”

शा., “हप्काउनेछु।”

अर्थात्‌, बलि चढाएका जनावरहरूको गोबर थुपारिने ठाउँमा लगिनेछ।

वा “आदर गरून्‌, श्रद्धा गरून्‌।”

वा “निर्देशन।”

वा “निर्देशनहरू।”

वा सम्भवतः “तिमीहरूले दिएको निर्देशनले गर्दा धेरै जना चुकेका छन्‌।”

वा सम्भवतः “पवित्र स्थानलाई।”

वा “जो कानुनअनुसार तिम्री पत्नी हुन्‌।”

शा., “उहाँ सम्बन्धविच्छेदलाई घृणा गर्नुहुन्छ।”

वा “हिंसाले आफ्नो वस्त्र ढाक्नेलाई।”

शब्दावली हेर्नुहोस्‌।

वा “बुबा गुमाएको बच्चा।”

वा “विदेशीहरूको अधिकार हनन गर्नेहरूविरुद्ध।”

वा “दस भागको एक भाग।” शब्दावलीमा “दशांश” हेर्नुहोस्‌।

वा सम्भवतः “तिमीहरू मलाई सराप्दै छौ।”

यसले किरा-फट्याङ्‌ग्राको महामारीलाई जनाएको हुन सक्छ।

वा सम्भवतः “उहाँको नामलाई अनमोल ठान्‍नेहरूका।”

वा “अनमोल।”

शा., “भय मान्‍ने।”

शब्दावली हेर्नुहोस्‌।

शा., “पखेटाहरूले।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने