प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt लुका १:१-२४:५३
  • लुकाको सुसमाचार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • लुकाको सुसमाचार
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
पवित्र बाइबल नयाँ संसार अनुवाद
लुकाको सुसमाचार

लुकाको सुसमाचार

१ हामी जुन घटनाहरूमा विश्‍वास गर्छौँ, ती सम्पूर्ण घटनाको विवरण सङ्‌कलन गर्ने र लेख्ने प्रयास धेरै जनाले गरेका छन्‌+ २ अनि प्रत्यक्षदर्शीहरूले+ र सुसमाचार सुनाउने सेवकहरूले सुरुदेखि नै हामीलाई ती सुनाएका पनि हुन्‌।+ ३ हे महामहिम थियोफिलस,+ सुरुदेखिका सबै घटना ठीक-ठीक पत्ता लगाएको हुनाले तपाईँका लागि ती घटनाहरू क्रमैअनुसार लेखिदिने निर्णय मैले पनि गरेँ ४ ताकि मौखिक रूपमा तपाईँलाई सिकाइएका कुराहरू भरपर्दा छन्‌ भनेर तपाईँलाई राम्ररी थाह होस्‌।+

५ यहुदियाका राजा हेरोदको*+ पालामा जकरिया नाम गरेका एक जना पुजारी थिए। तिनी अबियाह दलका थिए+ र तिनकी पत्नी हारुन वंशकी थिइन्‌ र उनको नाम इलिसिबा थियो। ६ तिनीहरू दुवै जना परमेश्‍वरको नजरमा धर्मी थिए। तिनीहरू यहोवा* परमेश्‍वरका सबै आज्ञा र नियम पालन गर्दै निर्दोष जीवन बिताउँथे। ७ तर तिनीहरूको बालबच्चा थिएन। इलिसिबा बाँझी थिइन्‌ र तिनीहरू दुवैको उमेर ढल्किसकेको थियो।

८ जब जकरिया आफ्नो दलको पालोअनुसार+ परमेश्‍वरसामु पुजारीको काम गर्दै थिए, ९ तब पुजारीहरूको चलनअनुसार धूप चढाउने+ तिनको पालो पऱ्‍यो र तिनी यहोवा* परमेश्‍वरको मन्दिरभित्र पसे।+ १० धूप चढाउने बेलामा मानिसहरूको भीड बाहिर प्रार्थना गरिरहेको थियो। ११ तब यहोवा* परमेश्‍वरको स्वर्गदूत तिनीकहाँ देखा परे। ती स्वर्गदूत धूप चढाउने वेदीको दाहिनेतिर उभिरहेका थिए। १२ यो देखेर जकरिया अत्तालिए र असाध्यै डराए। १३ तर ती स्वर्गदूतले तिनलाई भने: “नडराऊ जकरिया किनभने तिम्रो उत्कट बिन्तीको सुनुवाइ भएको छ। तिम्री पत्नी इलिसिबाले तिमीबाट एउटा छोरो जन्माउनेछिन्‌ अनि तिमीले उसको नाम युहन्‍ना राख्नू।+ १४ तिमी खुसी र अति प्रसन्‍न हुनेछौ अनि उसको जन्म भएकोमा धेरै जना रमाउनेछन्‌+ १५ किनकि ऊ यहोवा* परमेश्‍वरको नजरमा महान्‌ हुनेछ।+ तर उसले दाखमद्य* वा अरू कुनै मद्य पटक्कै पिउनु हुँदैन।+ ऊ आमाको गर्भैदेखि पवित्र शक्‍तिले भरिपूर्ण हुनेछ।+ १६ अनि उसले इस्राएलका सन्तानमध्ये धेरै जनालाई तिनीहरूका परमेश्‍वर यहोवातर्फ* फर्काउनेछ।+ १७ साथै बुबाहरूको हृदय छोराछोरीतर्फ फर्काउन+ र अनाज्ञाकारीहरूलाई धर्मी मानिसहरूको बुद्धि दिन ऊ एलियाको जोस* र शक्‍तिका साथ+ उहाँको अघिअघि जानेछ। यसरी उसले यहोवा* परमेश्‍वरको निम्ति योग्य मानिसहरू तयार पार्नेछ।”+

१८ जकरियाले स्वर्गदूतलाई सोधे: “यो कुरा अवश्‍य हुन्छ भनेर म कसरी पत्याऊँ? किनकि म बूढो भइसकेँ अनि मेरी पत्नीको उमेर पनि ढल्किसक्यो।” १९ स्वर्गदूतले तिनलाई जवाफ दिए: “म परमेश्‍वरसामु हाजिर भइरहने+ गब्रिएल हुँ।+ तिमीसित कुरा गर्न र तिमीलाई यो सुसमाचार सुनाउन मलाई पठाइएको हो। २० अब हेर, यी कुरा पूरा नहोउन्जेल तिमी गुँगो हुनेछौ र बोल्न सक्नेछैनौ किनकि मैले भनेको कुरा तिमीले पत्याएनौ, जुन तोकिएको समयमा पूरा हुनेछ।” २१ त्यतिन्जेल मानिसहरूचाहिँ बाहिर जकरियालाई पर्खिरहेका थिए तर तिनले मन्दिरबाट निस्कन निकै ढिलो गरेकोमा उनीहरूले अचम्म माने। २२ जब तिनी बाहिर निस्के, तब बोल्नै सकेनन्‌। त्यसैले तिनले भर्खरै मन्दिरमा कुनै अलौकिक घटना* देखेछन्‌ भनेर उनीहरूले अड्‌कल काटे। तिनले उनीहरूसित इसारा गरेर कुरा गर्न थाले र तिनी गुँगो नै रहिरहे। २३ जब मन्दिरमा सेवा गर्ने तिनको पालो सिद्धियो, तब तिनी आफ्नो घर फर्किए।

२४ केही दिनपछि तिनकी पत्नी इलिसिबा गर्भवती भइन्‌ र पाँच महिनासम्म घरबाहिर निस्किनन्‌। उनी भन्थिन्‌: २५ “यहोवा* परमेश्‍वरले अहिले मलाई कृपा देखाउनुभएको छ। मानिसहरूको बीचबाट मेरो अपमान हटाइदिन उहाँले ममाथि ध्यान दिनुभएको छ।”+

२६ उनी गर्भवती भएको छैटौँ महिनामा परमेश्‍वरले गब्रिएल+ स्वर्गदूतलाई गालिलको नासरत भन्‍ने सहरमा २७ एक जना कन्याकहाँ+ पठाउनुभयो। तिनको नाम मरियम थियो र दाउदको घरानाको युसुफ नाम गरेको मानिससित तिनको मगनी भएको थियो।+ २८ तिनीकहाँ पुगेपछि गब्रिएलले यसो भने: “हे परमेश्‍वरको निगाह-पात्र, तिमीलाई मेरो अभिवादन! यहोवा* परमेश्‍वर तिमीसित हुनुहुन्छ।” २९ तर यो सुनेर तिनी साह्रै अत्तालिइन्‌ र यो कस्तो खालको अभिवादन होला भनेर सोच्न थालिन्‌। ३० त्यसैले ती स्वर्गदूतले तिनलाई भने: “नडराऊ मरियम किनकि तिमीले परमेश्‍वरको निगाह पाएकी छ्यौ। ३१ हेर, तिमी गर्भवती हुनेछ्यौ र एउटा छोरा जन्माउनेछ्यौ+ अनि तिमीले उहाँको नाम येसु राख्नू।+ ३२ उहाँ महान्‌ हुनुहुनेछ+ र सर्वोच्च परमेश्‍वरका छोरा कहलाइनुहुनेछ+ अनि यहोवा परमेश्‍वरले उहाँलाई उहाँको पुर्खा दाउदको सिंहासन दिनुहुनेछ।+ ३३ उहाँले राजाको रूपमा याकुबको घरानामाथि सधैँभरि शासन गर्नुहुनेछ र उहाँको राज्यको अन्त कहिल्यै हुनेछैन।”+

३४ तर मरियमले स्वर्गदूतलाई सोधिन्‌: “यो कसरी हुन सक्छ? किनकि म त कुमारी नै छु।”+ ३५ स्वर्गदूतले तिनलाई जवाफ दिए: “पवित्र शक्‍ति तिमीमाथि आउनेछ+ र सर्वोच्च परमेश्‍वरको सामर्थ्य तिमीमाथि बास गर्नेछ। त्यसैले जो जन्मिनुहुनेछ, उहाँ परमेश्‍वरको छोरा+ अनि पवित्र+ कहलाइनुहुनेछ। ३६ हेर, बाँझी कहलिएकी तिम्री नातेदार इलिसिबा पनि बुढेसकालमा गर्भवती भएकी छिन्‌ र उनको कोखमा एउटा छोरो छ। उनी अहिले छैटौँ महिनामा छिन्‌। ३७ किनकि आफूले भनेको कुनै पनि कुरा पूरा गर्न परमेश्‍वरको लागि असम्भव हुँदैन।”+ ३८ तब मरियमले यसो भनिन्‌: “हेर्नुहोस्‌, म यहोवा* परमेश्‍वरकी दासी हुँ! तपाईँले भन्‍नुभएअनुसारै मलाई होस्‌।” त्यसपछि स्वर्गदूत तिनीबाट बिदा भए।

३९ तब मरियम तयार भइन्‌ र पहाडी भूभागमा पर्ने यहुदाको एउटा सहरमा हतार-हतार गइन्‌। ४० तिनी जकरियाको घरभित्र पसिन्‌ र इलिसिबालाई अभिवादन गरिन्‌। ४१ जब इलिसिबाले मरियमको अभिवादन सुनिन्‌, तब उनको गर्भमा भएको शिशु उफ्रियो अनि इलिसिबा पवित्र शक्‍तिले भरिइन्‌ ४२ र उनले ठूलो स्वरमा यसो भनिन्‌: “स्त्रीहरूमध्ये तिमी धन्यकी हौ अनि तिम्रो गर्भको फल धन्यको हो! ४३ मेरा प्रभुकी आमा मकहाँ आउनु मेरो लागि कत्ति ठूलो सम्मान! ४४ किनकि हेर, तिम्रो अभिवादनको आवाज मेरो कानमा पर्नेबित्तिकै मेरो गर्भमा भएको शिशु खुसीले गद्‌गद भएर उफ्रियो। ४५ तिमीले आफूलाई बताइएको कुरामा विश्‍वास गऱ्‍यौ, त्यसैले पनि तिमी आनन्दित हौ किनकि यहोवा* परमेश्‍वरले तिमीलाई भन्‍नुभएका एक-एक कुरा पूरा हुनेछन्‌।”

४६ अनि मरियमले भनिन्‌: “म* यहोवाको* गुणगान गाउँछु+ ४७ अनि मेरा उद्धारक,+ मेरा परमेश्‍वरमा अति आनन्दित नभई बस्न सक्दिनँ ४८ किनकि उहाँले आफ्नी दासीको दरिद्रतालाई ध्यान दिनुभएको छ।+ हेर, अबउसो सबै पुस्ताले मलाई आनन्दित भन्‍नेछन्‌+ ४९ किनकि शक्‍तिशाली परमेश्‍वरले मेरो निम्ति ठूलठूला कामहरू गर्नुभएको छ र उहाँको नाम पवित्र छ+ ५० अनि उहाँसित डराउनेहरूमाथि उहाँको कृपा पुस्तौँपुस्तासम्म रहिरहन्छ।+ ५१ उहाँले आफ्नो बाहुलीले पराक्रमी कामहरू गर्नुभएको छ। उहाँले अहङ्‌कारी मनसाय भएकाहरूलाई तितरबितर पार्नुभएको छ।+ ५२ उहाँले शासकहरूलाई सिंहासनबाट हटाउनुभएको छ+ र दीन अवस्थामा भएकाहरूलाई उच्च पार्नुभएको छ।+ ५३ उहाँले भोकाहरूलाई असल-असल थोकले तृप्त पार्नुभएको छ+ र धनसम्पत्ति भएकाहरूलाई रित्तो हात फर्काउनुभएको छ। ५४ उहाँ आफ्नो सेवक इस्राएललाई सहायता गर्न आउनुभएको छ र यसरी उहाँले आफ्नो प्रतिज्ञा सम्झेको कुरा देखाउनुभएको छ।+ ५५ उहाँले अब्राहाम र तिनको सन्तानलाई+ सधैँभरि कृपा देखाउनेछु भनी हाम्रा पुर्खाहरूसित प्रतिज्ञा गर्नुभएको थियो।” ५६ मरियम लगभग तीन महिना इलिसिबासित बसेर आफ्नो घर फर्किन्‌।

५७ तब इलिसिबा सुत्केरी हुने बेला आयो र उनले एउटा छोरो जन्माइन्‌। ५८ जब उनका छिमेकी र नातेदारहरूले यहोवा* परमेश्‍वरले उनलाई कृपा देखाउनुभयो भनी सुने, तब तिनीहरू उनीसँगै रमाए।+ ५९ अनि आठौँ दिनमा तिनीहरू त्यस सानो बालकको खतना* गर्न आए।+ तिनीहरूले उसको नाम पनि बुबाको जस्तै जकरिया राख्न आँटेका थिए। ६० तर उसकी आमाले भनिन्‌: “अहँ, हुँदैन! उसको नाम युहन्‍ना राख्नुपर्छ।” ६१ यो सुनेर तिनीहरूले उनलाई भने: “तिम्रो नातागोतामा कसैको पनि यस्तो नाम छैन।” ६२ अनि तिनीहरूले उसको बुबालाई त्यस बालकको नाम के राख्ने भनी इसारा गरेर सोधे। ६३ तब तिनले एउटा काठको पाटी मागे र यस्तो लेखे: “उसको नाम युहन्‍ना हो।”+ यो देखेर तिनीहरू सबै जना छक्क परे। ६४ उत्तिखेरै तिनको मुख खुल्यो र बोली फुट्‌यो अनि तिनी परमेश्‍वरको प्रशंसा गर्दै बोल्न थाले।+ ६५ अनि छरछिमेकमा बस्ने सबैमा डर छायो र यहुदियाको पहाडी भूभागमा जताततै यही विषयबारे चर्चा हुन थाल्यो। ६६ यस विषयबारे सुन्‍नेजति सबैले यो कुरा आफ्नो हृदयमा राखे र यसो भने: “ठूलो भएपछि यो बालक कस्तो हुने होला?” किनकि ऊमाथि यहोवा* परमेश्‍वरको हात थियो भनेर प्रस्टै देखिन्थ्यो।

६७ तब उसको बुबा जकरिया पवित्र शक्‍तिले भरिए अनि तिनले यस्तो भविष्यवाणी गरे: ६८ “इस्राएलका परमेश्‍वर यहोवाको* प्रशंसा होस्‌+ किनकि उहाँले आफ्ना प्रजालाई ध्यान दिनुभएको छ र तिनीहरूलाई छुटकारा दिनुभएको छ।+ ६९ अनि उहाँले आफ्नो सेवक दाउदको घरानामा+ हाम्रो लागि एक जना पराक्रमी उद्धारक* खडा गर्नुभएको छ,+ ७० जस्तो कि प्राचीन समयका आफ्ना पवित्र भविष्यवक्‍ताहरूको मुखद्वारा उहाँ बोल्नुभएको थियो।+ ७१ उहाँले भन्‍नुभएको थियो कि हाम्रा शत्रुहरूबाट र हामीलाई घृणा गर्नेहरू सबैको हातबाट उहाँले हाम्रो उद्धार गर्नुहुनेछ,+ ७२ हाम्रा पुर्खाहरूको खातिर हामीलाई कृपा देखाउनुहुनेछ र आफ्नो त्यो पवित्र करार सम्झनुहुनेछ,+ ७३ जुन करार उहाँले हाम्रा पुर्खा अब्राहामसित खानुभएको शपथ+ थियो। ७४ यसै शपथअनुसार उहाँले हामीलाई शत्रुहरूको हातबाट छुटाउनुहुनेछ र निडर भई उहाँलाई पवित्र सेवा चढाउने सुअवसर दिनुहुनेछ ७५ ताकि हामी आफ्नो जीवनभर वफादार रहन अनि उहाँको धार्मिक स्तरबमोजिम चल्न सकौँ। ७६ तर हे सानो बालक, तिमीचाहिँ सर्वोच्च परमेश्‍वरका भविष्यवक्‍ता कहलाइनेछौ किनकि यहोवा* परमेश्‍वरको अघिअघि गएर तिमीले उहाँको बाटो तयार पार्नेछौ,+ ७७ उहाँले आफ्ना मानिसहरूलाई तिनीहरूको पापको क्षमा दिएर उद्धार गर्नुहुनेछ भन्‍ने ज्ञान दिनेछौ।+ ७८ हाम्रा परमेश्‍वरको कोमल करुणाको कारण उहाँले त्यसो गर्नुहुनेछ। माथिबाट आउने यो करुणा बिहानीको उज्यालोजस्तै हुनेछ, ७९ जसले अन्धकारमा र मृत्युको छायामा बसिरहेकाहरूलाई ज्योति दिनेछ+ अनि हाम्रो पाइलालाई शान्तिको बाटोमा डोऱ्‍याउनेछ।”

८० त्यो सानो बालक हुर्कँदै र परिपक्व हुँदै गयो। अनि इस्राएलका मानिसहरूसामु खुलेआम देखा नपरुन्जेल ऊ मरुभूमिमै बसिरह्‍यो।

२ ती दिनमा सिजर* अगस्तसले सबैले आ-आफ्नो नाम दर्ता गर्नू भनी आफ्नो साम्राज्यभरि* उर्दी जारी गरे। २ (यो पहिलो दर्ता सिरियाको राज्यपाल क्युरिनियसको पालामा भएको थियो।) ३ त्यसैले नाम दर्ता गराउन सबै मानिस आ-आफ्नो सहर गए। ४ युसुफ+ दाउदकै घराना अनि वंशका थिए। त्यसैले तिनी पनि गालिलको नासरत सहरबाट निस्केर यहुदियामा पर्ने बेतलेहेम+ भनिने दाउदको सहरमा गए। ५ तिनी मरियमसित नाम दर्ता गराउन गए। त्यतिखेर तिनीहरूको विवाह भइसकेको थियो+ र मरियम सुत्केरी हुने बेला नजिकै आइसकेको थियो।+ ६ तिनीहरू त्यहीँ छँदा उनको बच्चा जन्मिने बेला भयो। ७ अनि उनले एउटा छोरो, आफ्नो पहिलो सन्तानलाई जन्म दिइन्‌।+ उनले उसलाई कपडाले बेरेर डुँडमा राखिन्‌+ किनकि तिनीहरूले पौवामा बास पाउन सकेनन्‌।

८ त्यतिखेर त्यही इलाकामा गोठालाहरू बाहिर चौरमा बसेर राती आफ्नो बगालको हेरचाह गरिरहेका थिए। ९ तब अचानक यहोवा* परमेश्‍वरका स्वर्गदूत तिनीहरूकहाँ देखा परे अनि तिनीहरूको चारैतिर यहोवा* परमेश्‍वरको महिमा चम्कियो। यो देखेर तिनीहरू असाध्यै डराए। १० तर स्वर्गदूतले तिनीहरूलाई यसो भने: “नडराओ किनकि हेर म सबै मानिसलाई असाध्यै आनन्दित बनाउने सुसमाचार तिमीहरूलाई सुनाउँदै छु। ११ किनकि दाउदको सहरमा+ आज तिमीहरूका उद्धारक,+ ख्रिष्ट प्रभुको+ जन्म भएको छ। १२ अनि तिमीहरूले उहाँलाई यसरी चिन्‍नेछौ: तिमीहरूले एउटा शिशुलाई कपडाले बेरेर डुँडमा राखिएको भेट्टाउनेछौ।” १३ तब स्वर्गबाट आएको एउटा ठूलो पल्टन+ ती स्वर्गदूतसँगै अचानक देखा पऱ्‍यो अनि उनीहरूले यसो भन्दै परमेश्‍वरको प्रशंसा गर्न थाले: १४ “स्वर्गमा परमेश्‍वरको महिमा होस्‌ अनि पृथ्वीमा उहाँको निगाह पाएका मानिसहरूलाई शान्ति।”

१५ स्वर्गदूतहरू तिनीहरूलाई छोडेर स्वर्गतिर गइसकेपछि ती गोठालाहरूले आपसमा यसो भन्‍न थाले: “आओ, हामी तुरुन्तै बेतलेहेम जाऔँ अनि यहोवा* परमेश्‍वरले हामीलाई भन्‍नुभएबमोजिम त्यहाँ के-के भएछ, गएर हेरौँ।” १६ तिनीहरू हतारिँदै गए र मरियमका साथै युसुफलाई भेट्टाए अनि शिशुचाहिँ डुँडमा सुतिरहनुभएको पाए। १७ शिशुलाई देखेपछि तिनीहरूले उहाँबारे स्वर्गदूतले भनेका सबै कुरा बताइदिए। १८ अनि गोठालाहरूको कुरा सुन्‍नेजति सबै छक्क परे। १९ तर मरियमले भने यी सब कुरा हृदयमा राखिन्‌ र त्यसको अर्थ के होला भनेर मनमनै गुन्‍न थालिन्‌।+ २० तब ती गोठालाहरू फर्के अनि परमेश्‍वरको महिमा र प्रशंसा गर्न थाले। किनकि तिनीहरूलाई जे बताइएको थियो, तिनीहरूले त्यही सुने अनि देखे।

२१ उहाँ जन्मनुभएको आठ दिनपछि तिनीहरूले उहाँको खतना गरे+ अनि उहाँको नाम येसु राखे। यो त्यही नाम थियो, जुन मरियम गर्भवती हुनुअघि नै स्वर्गदूतले दिएका थिए।+

२२ जब मोसाको व्यवस्थाअनुसार तिनीहरूलाई चोख्याउने दिन आयो,+ तब तिनीहरूले यहोवा* परमेश्‍वरसामु अर्पण गर्न बालकलाई यरुसलेम लगे। २३ किनकि यहोवा* परमेश्‍वरको व्यवस्थामा यस्तो लेखिएको छ: “हरेक पहिलो सन्तान यहोवा* परमेश्‍वरको निम्ति पवित्र ठहराइएको हुनुपर्छ।”+ २४ अनि तिनीहरूले यहोवा* परमेश्‍वरको व्यवस्थामा भनिएअनुसार यस्तो बलिदान चढाए: “एक जोडी ढुकुर वा परेवाका दुई वटा बचेरा।”+

२५ अनि हेर, त्यतिखेर यरुसलेममा सिमियोन नाम गरेका एक जना मानिस थिए। तिनी धर्मी अनि भक्‍त थिए। तिनी इस्राएलले पाउने सान्त्वनाको+ पर्खाइमा थिए र तिनले पवित्र शक्‍ति पाएका थिए। २६ यसबाहेक यहोवा* परमेश्‍वरले पठाउनुभएको ख्रिष्टलाई नदेखेसम्म तिनी मर्नेछैनन्‌ भनेर परमेश्‍वरले आफ्नो पवित्र शक्‍तिमार्फत तिनलाई प्रकट गर्नुभएको थियो। २७ तब पवित्र शक्‍तिको निर्देशन पाएर तिनी मन्दिरमा आए अनि व्यवस्थाको रीति पूरा गर्न+ सानो बालक येसुका आमाबुबाले उहाँलाई ल्याउँदै गर्दा २८ तिनले उहाँलाई आफ्नो हातमा लिए अनि यसो भन्दै परमेश्‍वरको प्रशंसा गरे: २९ “अब हे सार्वभौमसत्ताधारी प्रभु, आफूले भनेबमोजिमै तपाईँ आफ्नो दासलाई शान्तिपूर्वक जान दिँदै हुनुहुन्छ।+ ३० किनकि मेरो आँखाले उद्धार दिने तपाईँको माध्यम देखेको छ,+ ३१ जसलाई तपाईँले समस्त मानिसहरूको नजरसामु तयार पार्नुभएको छ+ ३२ अनि जो अन्यजातिका मानिसहरूको घुम्टो हटाउने ज्योति+ अनि तपाईँका जन इस्राएलको महिमा हो।” ३३ बालकको विषयमा बोलिएका यी कुरा सुनेर तिनका बुबा र आमा छक्क परे। ३४ सिमियोनले तिनीहरूलाई आशिष्‌ पनि दिए र बालककी आमा मरियमलाई यसो भने: “हेर, यो बालक इस्राएलमा धेरै जनाको पतन+ अनि उत्थानको कारण बन्‍नेछ+ र घृणाको पात्र हुनेछ+ ३५ (अनि जहाँसम्म तिम्रो कुरा छ, एउटा लामो तरबारले तिमीलाई वारपार हुनेगरि छेड्‌नेछ)+ ताकि धेरै जनाको हृदयको कुरा प्रकट होस्‌।”

३६ त्यहाँ हन्‍ना नाम गरेकी एक जना भविष्यवक्‍ता थिइन्‌। तिनी असेरको कुलको फनुएलकी छोरी थिइन्‌। यी स्त्री वृद्ध भइसकेकी थिइन्‌। तिनले विवाह गरेर आफ्नो पतिसित सात वर्ष मात्र बिताउन पाएकी थिइन्‌। ३७ यी विधवा अहिले ८४ वर्ष भइसकेकी थिइन्‌। तिनी कहिल्यै मन्दिर छोड्‌दिनथिन्‌ अनि उपवास बसेर र उत्कट बिन्ती चढाएर रातदिन पवित्र सेवा चढाउने गर्थिन्‌। ३८ त्यही बेला तिनी नजिक आइन्‌ र परमेश्‍वरलाई धन्यवाद चढाउन अनि यरुसलेमको छुटकाराको बाटो हेरिरहेका सबैलाई+ ती बालकको विषयमा बताउन थालिन्‌।

३९ यसप्रकार यहोवा* परमेश्‍वरको व्यवस्थाबमोजिम सबै काम गरिसकेपछि+ तिनीहरू गालिलमा आफ्नै सहर नासरत+ फर्के। ४० अनि सानो बालक हुर्कँदै, बलियो हुँदै र बुद्धिमान्‌ बन्दै जानुभयो अनि परमेश्‍वरको अनुग्रह निरन्तर उहाँमाथि रह्‍यो।+

४१ येसुका आमाबुबा हरेक वर्ष निस्तार चाड मनाउन यरुसलेम जाने गर्थे।+ ४२ उहाँ १२ वर्षको भएपछि उहाँहरू चलनअनुसारै यरुसलेम जानुभयो।+ ४३ चाड सिद्धिएपछि घर फर्किने बेला ठिटो येसु भने यरुसलेममै रहनुभयो तर उहाँका आमाबुबालाई यो कुरा यादै भएन। ४४ तिनीहरूले उहाँ यात्रीहरूकै बीचमा हुनुहुन्छ होला भन्ठानेका थिए। तर एक दिनको बाटो काटिसकेपछि तिनीहरूले उहाँलाई नातागोता र चिनेजानेका मानिसहरूको बीचमा खोज्न थाले। ४५ त्यहाँ नभेट्टाएपछि तिनीहरू यरुसलेम फर्के र उहाँलाई धुइँधुइँती खोजे। ४६ तीन दिनपछि बल्ल तिनीहरूले उहाँलाई मन्दिरमा शिक्षकहरूको बीचमा बसेर सुन्दै अनि सोध्दै गरिरहनुभएको भेट्टाए। ४७ उहाँको कुरा सुन्‍नेजति सबै उहाँको जवाफ अनि समझशक्‍ति देखेर छक्क परिरहेका थिए।+ ४८ उहाँलाई देखेर उहाँका आमाबुबा पनि चकित भए र उहाँकी आमाले यसो भनिन्‌: “बाबु, तिमीले हामीलाई किन यस्तो दुःख दिएको? हेर त, तिम्रो बुबा र म तिमीलाई खोज्दाखोज्दा कत्ति हैरान भइसक्यौँ!” ४९ तर उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “तपाईँहरूले मलाई किन यताउता खोज्नुपऱ्‍यो? म आफ्नो बुबाको घरमा+ हुनुपर्छ भनेर के तपाईँहरूलाई थाह थिएन?” ५० तर उहाँले के भन्‍न खोज्नुभएको हो, तिनीहरूले बुझेनन्‌।

५१ त्यसपछि उहाँ तिनीहरूसितै नासरत ओर्लनुभयो र तिनीहरूप्रति आज्ञाकारी भइरहनुभयो।+ उहाँकी आमाले यी सबै कुरा आफ्नो हृदयमा साँचेर राखिन्‌।+ ५२ येसु झन्‌झन्‌ बुद्धिमान्‌ हुँदै अनि हुर्कँदै जानुभयो र उहाँले परमेश्‍वर अनि मानिसहरूको अनुग्रह पनि झन्‌झन्‌ पाउँदै जानुभयो।

३ सिजर* टाइबेरियसको शासनकालको १५ औँ वर्षमा, पन्तियस पिलातस यहुदियाका राज्यपाल, हेरोद*+ गालिलका प्रान्तीय शासक, तिनका दाइ फिलिपचाहिँ इतुरिया र त्राखोनितिसका प्रान्तीय शासक अनि लुसानियासचाहिँ अबिलेनेका प्रान्तीय शासक छँदा २ हन्‍नास र कैयाफा+ मुख्य पुजारी थिए। ती दिनमा जकरियाका छोरा युहन्‍ना+ निर्जनभूमिमा+ छँदा परमेश्‍वरको वचन तिनीकहाँ आयो।

३ त्यसैले तिनी यर्दनवरिपरिका सबै ठाउँमा गए र मानिसहरूलाई आफ्ना पापको पश्‍चात्ताप गरेर क्षमा माग्न र त्यसको प्रतीकस्वरूप बप्तिस्मा गर्न प्रचार गरे,+ ४ जस्तो भविष्यवक्‍ता यसैयाको पुस्तकमा लेखिएको छ: “उजाड ठाउँमा कोही यसो भन्दै कराइरहेको छ, ‘यहोवाको* बाटो तयार पार, उहाँको मार्ग सोझो बनाओ।+ ५ हरेक बेँसी पुरियोस्‌, हरेक पहाड र हरेक डाँडा समतल बनाइयोस्‌, घुम्तीहरू सोझा पारिऊन्‌ अनि खाल्टाखुल्टी परेका बाटाहरू सम्म बनाइऊन्‌। ६ तब परमेश्‍वरले गर्नुहुने उद्धार सबै मानिसले देख्नेछन्‌।’”+

७ आफूकहाँ बप्तिस्मा गर्न आउने भीडलाई तिनले भन्‍न थाले: “हे विषालु सर्पका बच्चाहरू हो! आउँदै गरेको क्रोधबाट भाग्न तिमीहरूलाई कसले चेतावनी दियो?+ ८ यसकारण पश्‍चात्ताप गरेको देखिने फल फलाओ। तिमीहरू ‘हाम्रो बुबा अब्राहाम हुनुहुन्छ’ भनी नसोच किनकि म तिमीहरूलाई भन्छु, परमेश्‍वरले यी ढुङ्‌गाहरूबाट अब्राहामको निम्ति सन्तान खडा गर्न सक्नुहुन्छ। ९ हो, बन्चरो रूखको जरामा परिसकेको छ। त्यसैले असल फल नफलाउने हरेक रूख काटेर ढालिनेछ र आगोमा फालिनेछ।”+

१० तब भीडले तिनलाई सोध्थ्यो: “त्यसोभए हामी के गरौँ त?” ११ तिनी उनीहरूलाई जवाफ दिन्थे: “दुई वटा लुगा हुनेले केही पनि नहुनेलाई एउटा देओस्‌ र आफूसित खानेकुरा हुनेले पनि त्यसै गरोस्‌।”+ १२ कर उठाउनेहरू समेत बप्तिस्मा गर्न आए+ र उनीहरूले तिनलाई सोधे: “हे गुरु, हामीचाहिँ के गरौँ?” १३ तिनले उनीहरूलाई भने: “तोकिएको कर जति छ, त्योभन्दा बढी केही नमाग।”+ १४ त्यसैगरि सैन्य सेवामा लागेकाहरू पनि तिनलाई सोध्थे: “अनि हामीचाहिँ के गरौँ नि?” तिनी उनीहरूलाई भन्थे: “कसैलाई दुःख दिएर वा झूटो आरोप लगाएर लुट्‌ने काम नगर+ तर आफ्नो रासनपानीमा* सन्तुष्ट होओ।”

१५ जब सबै मानिसले ख्रिष्ट आउने आशा गरिरहेका थिए अनि “कतै यिनी नै ख्रिष्ट हुन्‌ कि?” भनेर युहन्‍नाको विषयमा मनमनै सोचिरहेका थिए,+ १६ तब युहन्‍नाले उनीहरू सबैलाई यसो भने: “म त पानीले तिमीहरूको बप्तिस्मा गराउँछु तर मपछि मभन्दा शक्‍तिशाली एक जना आउँदै हुनुहुन्छ, जसको जुत्ताको फित्ता फुकाल्न समेत म लायकको छैनँ।+ उहाँले तिमीहरूको बप्तिस्मा पवित्र शक्‍ति र आगोले गराउनुहुनेछ।+ १७ बत्ताउने बेल्चा उहाँको हातमा छ। उहाँले आफ्नो खला पूरै सफा गर्नुहुनेछ र गहुँलाई आफ्नो भण्डारमा जम्मा गर्नुहुनेछ तर भुसलाई चाहिँ कहिल्यै निभाउन नसकिने आगोमा जलाउनुहुनेछ।”

१८ तिनले अरू थुप्रै अर्ती दिनुका साथै मानिसहरूलाई सुसमाचार सुनाइरहे। १९ तर जब तिनले प्रान्तीय शासक हेरोदलाई उनका दाइकी पत्नीको विषयमा र हेरोदले गरेका अरू सबै दुष्ट कामको विषयमा हप्काए, २० तब उनले आफ्ना दुष्ट कामहरूमा अझै एउटा दुष्ट काम थपे: उनले युहन्‍नालाई झ्यालखानामा हाले।+

२१ सबै मानिसले बप्तिस्मा गरिरहेको बेला येसुले पनि बप्तिस्मा गर्नुभयो।+ उहाँले प्रार्थना गरिरहनुहुँदा आकाश खुल्यो+ २२ अनि पवित्र शक्‍ति ढुकुरजस्तो आकारमा उहाँमाथि ओर्लियो र आकाशबाट यस्तो आवाज आयो: “तिमी मेरो प्यारो छोरा हौ। मैले तिमीलाई स्विकारेको छु।”+

२३ मानिसहरूलाई सिकाउन थाल्दा येसु+ लगभग ३० वर्षको हुनुहुन्थ्यो।+ मानिसहरूले ठानेझैँ

उहाँ युसुफका+ छोरा हुनुहुन्थ्यो,

जो हेलिका छोरा थिए,

२४ जो मत्तातका छोरा थिए,

जो लेविका छोरा थिए,

जो मल्किका छोरा थिए,

जो यान्‍नाका छोरा थिए,

जो युसुफका छोरा थिए,

२५ जो मत्ताथियासका छोरा थिए,

जो आमोसका छोरा थिए,

जो नहुमका छोरा थिए,

जो इसलिका छोरा थिए,

जो नग्गैका छोरा थिए,

२६ जो माथका छोरा थिए,

जो मत्ताथियासका छोरा थिए,

जो सेमैनका छोरा थिए,

जो योसेखका छोरा थिए,

जो योदाका छोरा थिए,

२७ जो योआननका छोरा थिए,

जो रेसाका छोरा थिए,

जो यरुबाबेलका+ छोरा थिए,

जो सालतिएलका+ छोरा थिए,

जो नेरिका छोरा थिए,

२८ जो मल्किका छोरा थिए,

जो अद्दिका छोरा थिए,

जो कोसामका छोरा थिए,

जो एलमादमका छोरा थिए,

जो एरका छोरा थिए,

२९ जो येसुका छोरा थिए,

जो एलिएजरका छोरा थिए,

जो योरिमका छोरा थिए,

जो मत्तातका छोरा थिए,

जो लेविका छोरा थिए,

३० जो सिमियोनका छोरा थिए,

जो यहुदाका छोरा थिए,

जो युसुफका छोरा थिए,

जो योनामका छोरा थिए,

जो एलियाकिमका छोरा थिए,

३१ जो मलेआका छोरा थिए,

जो मिन्‍नाका छोरा थिए,

जो मत्ताथाका छोरा थिए,

जो नातानका+ छोरा थिए,

जो दाउदका+ छोरा थिए,

३२ जो यिसैका+ छोरा थिए,

जो ओबेदका+ छोरा थिए,

जो बोअजका+ छोरा थिए,

जो साल्मोनका+ छोरा थिए,

जो नहसोनका+ छोरा थिए,

३३ जो अम्मिनादाबका छोरा थिए,

जो अरनिका छोरा थिए,

जो हेस्रोनका छोरा थिए,

जो पेरेजका+ छोरा थिए,

जो यहुदाका+ छोरा थिए,

३४ जो याकुबका+ छोरा थिए,

जो इसहाकका+ छोरा थिए,

जो अब्राहामका+ छोरा थिए,

जो तेरहका+ छोरा थिए,

जो नाहोरका+ छोरा थिए,

३५ जो सरुगका+ छोरा थिए,

जो रउका+ छोरा थिए,

जो पेलेगका+ छोरा थिए,

जो एबेरका+ छोरा थिए,

जो सेलहका+ छोरा थिए,

३६ जो केनानका छोरा थिए,

जो अर्पक्षदका+ छोरा थिए,

जो सेमका+ छोरा थिए,

जो नुहका+ छोरा थिए,

जो लेमेकका+ छोरा थिए,

३७ जो मतुसेलहका+ छोरा थिए,

जो हनोकका छोरा थिए,

जो यारेदका+ छोरा थिए,

जो महलालेलका+ छोरा थिए,

जो केनानका+ छोरा थिए,

३८ जो एनोसका+ छोरा थिए,

जो सेतका+ छोरा थिए,

जो आदमका+ छोरा थिए,

जो परमेश्‍वरका छोरा थिए।

४ तब येसु पवित्र शक्‍तिले भरिएर यर्दन नदीबाट जानुभयो र पवित्र शक्‍तिले उहाँलाई निर्जनभूमितर्फ डोऱ्‍यायो,+ २ जहाँ उहाँले ४० दिन बिताउनुभयो। ती दिनहरूमा उहाँले केही खानुभएन। त्यसैले ती दिनहरू बितेपछि उहाँ भोकाउनुभयो। तब दियाबलले लोभ देखाएर उहाँलाई प्रलोभनमा पार्ने कोसिस गऱ्‍यो।+ ३ दियाबलले उहाँलाई यसो भन्यो: “यदि तपाईँ परमेश्‍वरको छोरा हुनुहुन्छ भने यो ढुङ्‌गा रोटी भइजाओस्‌ भन्‍नुहोस्‌।” ४ तर येसुले त्यसलाई जवाफ दिनुभयो: “यस्तो लेखिएको छ, ‘मानिस रोटीको भरमा मात्र बाँच्नु हुँदैन।’”+

५ त्यसपछि दियाबलले उहाँलाई अग्लो ठाउँमा लग्यो र छिनभरमै संसारका सबै राज्य देखायो।+ ६ अनि त्यसले उहाँलाई भन्यो: “म यी सबै राज्यको अख्तियार अनि त्यसको महिमा तपाईँलाई दिनेछु। किनकि ती मलाई दिइएका छन्‌+ र जसलाई इच्छा लाग्छ, म उसैलाई दिन्छु। ७ तपाईँले मलाई एक चोटि ढोग्नुभयो भने यी सबै थोक तपाईँकै हुनेछ।” ८ येसुले त्यसलाई जवाफ दिनुभयो: “यस्तो लेखिएको छ, ‘तिमीहरूले यहोवा* तिमीहरूका परमेश्‍वरको उपासना गर्नुपर्छ अनि उहाँलाई मात्र पवित्र सेवा चढाउनुपर्छ।’”+

९ त्यसपछि त्यसले उहाँलाई यरुसलेममा लग्यो र मन्दिरको पर्खालको बुर्जामा* राख्यो र उहाँलाई भन्यो: “तपाईँ परमेश्‍वरको छोरा हुनुहुन्छ भने यहाँबाट हाम फाल्नुहोस्‌+ १० किनभने यस्तो लेखिएको छ, ‘तिमीलाई जोगाउन उहाँले आफ्ना स्वर्गदूतहरूलाई हुकुम गर्नुहुनेछ’ ११ र ‘उनीहरूले तिमीलाई हातहातै बोक्नेछन्‌ ताकि तिम्रो खुट्टा ढुङ्‌गामा नबजारियोस्‌।’”+ १२ येसुले त्यसलाई जवाफ दिनुभयो: “यस्तो भनिएको छ, ‘तिमीहरूले यहोवा* आफ्ना परमेश्‍वरको परीक्षा कहिल्यै नलिनू।’”+ १३ यसरी सबै परीक्षा लिइसकेपछि अर्को अनुकूल मौका नपाउन्जेलसम्मका लागि दियाबलले उहाँलाई छोडेर गयो।+

१४ तब येसु पवित्र शक्‍तिले भरिएर गालिल फर्कनुभयो+ अनि वरपरका सबै ठाउँमा उहाँको कीर्ति फैलियो। १५ साथै उहाँले सभाघरहरूमा* सिकाउन थाल्नुभयो र सबैले उहाँको आदर गर्थे।

१६ अनि उहाँ आफू हुर्केको सहर नासरत जानुभयो+ र त्यहाँ आफ्नो बानीअनुसार विश्रामदिनमा* सभाघरभित्र पस्नुभयो+ र धर्मशास्त्र पढ्‌नलाई उभिनुभयो। १७ उहाँलाई भविष्यवक्‍ता यसैयाको मुठा दिइयो र उहाँले त्यो खोल्नुभयो अनि यस्तो लेखिएको ठाउँ फेला पार्नुभयो: १८ “यहोवा* परमेश्‍वरको पवित्र शक्‍ति ममाथि छ किनकि गरिबहरूलाई सुसमाचार सुनाउन उहाँले मलाई अभिषेक गर्नुभएको छ। उहाँले मलाई यसकारण पठाउनुभएको छ कि मैले बन्धनमा परेकाहरूलाई छुटकाराको घोषणा गरूँ र अन्धाहरूलाई दृष्टि दिऊँ, पिल्सिएकाहरूलाई छुटाऊँ+ १९ अनि यहोवा* परमेश्‍वरको निगाह पाउने समयबारे प्रचार गरूँ।”+ २० त्यसपछि उहाँले मुठा बेरेर सेवकलाई फिर्ता दिनुभयो र बस्नुभयो। सभाघरमा हुनेजति सबैले एकटक लगाएर उहाँलाई हेरिरहेका थिए। २१ उहाँले तिनीहरूलाई भन्‍न थाल्नुभयो: “तिमीहरूले भर्खरै सुनेको धर्मशास्त्रको यो अंश आज पूरा भयो।”+

२२ तिनीहरू सबैले उहाँको तारिफ गरे र उहाँले बोल्नुभएका मनमोहक वचन+ सुनेर तिनीहरू छक्क परे अनि यसो भन्‍न थाले: “के यिनी युसुफका छोरा होइनन्‌ र?”+ २३ तब उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “तिमीहरूले पक्कै यो उक्‍ति सुनाउनेछौ, ‘ए वैद्य,* पहिले आफैलाई निको पार’ अनि ममाथि त्यो उक्‍ति लागू गर्दै यसो भन्‍नेछौ, ‘तिमीले कफर्नहुममा+ गरेका कामहरूबारे हामीले जे सुन्यौँ, ती यहाँ आफ्नो गृहनगरमा पनि गर।’” २४ अनि उहाँले भन्‍नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, कुनै पनि भविष्यवक्‍तालाई उसको आफ्नै इलाकामा स्वीकार गरिँदैन।+ २५ उदाहरणको लागि, एलियाको पालामा साढे तीन वर्षसम्म पानी नपरेर सारा देशभरि ठूलो अनिकाल परेको थियो। त्यसबेला+ इस्राएलमा थुप्रै विधवा थिए। २६ तर परमेश्‍वरले एलियालाई ती स्त्रीहरूमध्ये कसैकहाँ नपठाएर सिदोनको सारपतमा बस्ने विधवाकहाँ पठाउनुभयो।+ २७ साथै भविष्यवक्‍ता एलिसाको पालामा इस्राएलमा थुप्रै कुष्ठरोगी थिए तैपनि सिरियाको नामानबाहेक अरू कसैलाई शुद्ध पारिएन।”*+ २८ सभाघरमा बसेर यी कुरा सुनिरहेका सबै जना रिसले चूर भए।+ २९ तिनीहरूले हतारहतार उहाँलाई सहरबाहिर पुऱ्‍याए अनि उहाँलाई उँधोमुन्टो पारेर भीरबाट खसाल्न आफ्नो सहर बसालिएको डाँडाको टुप्पोतिर लगे। ३० तर भीडलाई छिचोल्दै उहाँ आफ्नो बाटो लाग्नुभयो।+

३१ त्यसपछि उहाँ गालिलको कफर्नहुम सहरतिर ओर्लनुभयो। अनि विश्रामदिनमा तिनीहरूलाई सिकाउन थाल्नुभयो।+ ३२ उहाँको सिकाउने तरिका देखेर तिनीहरू छक्क परे+ किनकि उहाँ अख्तियारका साथ बोलिरहनुभएको थियो। ३३ प्रेतले* सताएको एक जना मानिस पनि त्यही सभाघरमा थियो र ऊ यसो भन्दै चिच्याउन थाल्यो:+ ३४ “हे नासरी येसु,+ तपाईँको हामीसित के सरोकार?* के तपाईँ हामीलाई नाश गर्न आउनुभएको हो? तपाईँ वास्तवमा को हुनुहुन्छ, मलाई थाह छ। तपाईँ परमेश्‍वरको पवित्र जन हुनुहुन्छ।”+ ३५ तर येसुले त्यसलाई हप्काउँदै भन्‍नुभयो: “चुप लाग्‌ र ऊबाट बाहिर निस्केर आइज।” तब त्यस प्रेतले उसलाई सबैको अगाडि पछाऱ्‍यो र उसलाई कुनै चोट नपुऱ्‍याई बाहिर निस्क्यो। ३६ यो देखेर सबै जना तीनछक परे अनि यसो भन्दै आपसमा कुरा गर्न लागे: “हेर त, उहाँको वचनमा कत्ति शक्‍ति रहेछ! किनकि उहाँ प्रेतहरूलाई अख्तियार अनि शक्‍तिका साथ हुकुम गर्नुहुन्छ र तिनीहरू बाहिर निस्कन्छन्‌।” ३७ यसरी वरपरका सबै ठाउँको कुनाकाप्चासम्म उहाँको विषयमा चर्चा चल्न थाल्यो।

३८ सभाघरबाट निस्केपछि उहाँ सिमोनको घरमा पस्नुभयो। त्यतिखेर सिमोनकी सासूलाई निस्लोट ज्वरो आएको थियो। त्यसैले तिनीहरूले उहाँलाई तिनको निम्ति केही गरिदिन बिन्ती गरे।+ ३९ तब तिनको नजिकै उभिएर उहाँले ज्वरोलाई हट्‌ने आदेश दिनुभयो र ज्वरोले तिनलाई छोड्‌यो। तिनी जुरुक्क उठेर उहाँहरूको लागि खाना तयार गर्न थालिन्‌।

४० तब घाम अस्ताउँदै गर्दा मानिसहरूले विभिन्‍न किसिमका रोगले ग्रस्त बिरामीहरूलाई उहाँकहाँ ल्याए। उहाँले तिनीहरू हरेकमाथि आफ्नो हात राखेर तिनीहरूलाई निको पार्नुभयो।+ ४१ अनि प्रेतहरू पनि यसो भनेर चिच्याउँदै थुप्रै मानिसबाट निस्के: “तपाईँ परमेश्‍वरको छोरा हुनुहुन्छ।”+ तर उहाँ तिनीहरूलाई हप्काउनुहुन्थ्यो र बोल्न दिनुहुन्‍नथ्यो+ किनभने उहाँ ख्रिष्ट हुनुहुन्छ भनी तिनीहरूलाई थाह थियो।+

४२ उज्यालो भएपछि उहाँ निस्केर एकान्त ठाउँतिर जानुभयो।+ तर भीडले उहाँलाई धुइँधुइँती खोज्न थाल्यो र तिनीहरू उहाँ भएको ठाउँमा पुगे। उहाँ तिनीहरूलाई छोडेर कतै नजाऊन्‌ भनी तिनीहरूले उहाँलाई रोक्न खोजे। ४३ तर उहाँले तिनीहरूलाई भन्‍नुभयो: “मैले अरू सहरमा पनि परमेश्‍वरको राज्यको सुसमाचार सुनाउनुपर्छ किनकि म यसैको निम्ति पठाइएको हुँ।”+ ४४ त्यसैले उहाँ गएर यहुदियाका सभाघरहरूमा प्रचार गर्न थाल्नुभयो।

५ एकचोटिको कुरा हो, येसु गनेसरेत तालको*+ किनारमा उभिएर परमेश्‍वरको वचन सिकाइरहनुभएको थियो अनि भीड उहाँको कुरा सुन्‍न ठेलमठेल गर्दै थियो। २ तब उहाँले तालको किनारमा राखिराखेको दुई वटा डुङ्‌गा देख्नुभयो तर जलारीहरू भने डुङ्‌गाबाट ओर्लेर आ-आफ्ना जाल धोइरहेका थिए।+ ३ उहाँ ती डुङ्‌गाहरूमध्ये एउटामा चढ्‌नुभयो, जुन सिमोनको थियो र उहाँले तिनलाई त्यस डुङ्‌गालाई पाखाबाट अलि पर लैजान भन्‍नुभयो। त्यसपछि उहाँ बस्नुभयो अनि त्यही डुङ्‌गाबाट भीडलाई सिकाउन थाल्नुभयो। ४ आफ्नो कुरा भनिसकेपछि उहाँले सिमोनलाई भन्‍नुभयो: “डुङ्‌गालाई गहिरो ठाउँतिर लैजाऊ र माछा समात्न तिमीहरूले आ-आफ्ना जाल हान।” ५ तर सिमोनले जवाफ दिए: “गुरुज्यू, हामीले रातभरि मेहनत गऱ्‍यौँ तर केही भेट्टाएनौँ + तैपनि तपाईँले भन्‍नुभएकोले म जाल हाल्नेछु।” ६ जब तिनीहरूले त्यसै गरे, तिनीहरूका जालहरूमा थुप्रै माछा परे, यहाँसम्म कि तिनीहरूका जालहरू फाट्‌न लागे।+ ७ त्यसैले तिनीहरूले अर्को डुङ्‌गामा भएका आफ्ना साथीहरूलाई आएर मदत गर्न इसारा गरे। अनि तिनीहरू आए र दुवै डुङ्‌गा भरे, यहाँसम्म कि ती डुङ्‌गाहरू डुब्न लागे। ८ यो देखेर सिमोन पत्रुसले येसुसामु घुँडा टेक्दै भने: “हे प्रभु, म पापी मानिस हुँ, त्यसैले मदेखि टाढा गइहाल्नुहोस्‌।” ९ त्यति धेरै माछा समात्न सकेको देखेर तिनी र तिनीसित भएकाहरू सबै चकित भएका थिए। १० जब्दिका छोराहरू याकुब र युहन्‍ना,+ जो व्यापारमा सिमोनका साझेदारहरू थिए, तिनीहरूको अवस्था पनि त्यस्तै थियो। तर येसुले सिमोनलाई भन्‍नुभयो: “डराउन छोड। अबदेखि उसो तिमीहरूले मानिसहरूलाई जिउँदै समात्नेछौ।”+ ११ त्यसैले तिनीहरूले डुङ्‌गाहरू पाखामा ल्याए र सबै कुरा छोडेर उहाँको पछि लागे।+

१२ अर्को एकचोटिको कुरा हो, उहाँ कुनै एउटा सहरमा हुनुहुन्थ्यो। हेर! पूरै शरीरभरि कुष्ठरोग लागेको एक जना मानिस त्यहाँ थियो। जब उसले येसुलाई देख्यो, तब उसले लम्पसार परेर उहाँलाई दण्डवत्‌ गऱ्‍यो र यसो भन्दै बिन्ती गऱ्‍यो: “प्रभु, तपाईँले मलाई शुद्ध पार्न सक्नुहुन्छ। तपाईँले इच्छा गर्नुभए पुग्छ।”+ १३ अनि उहाँले आफ्नो हात पसारेर उसलाई छुनुभयो र भन्‍नुभयो: “म इच्छा गर्छु। तिमी शुद्ध भइजाऊ।” अनि तुरुन्तै उसको कुष्ठरोग हरायो।+ १४ तब येसुले त्यस मानिसलाई यो कुरा कसैलाई नभन्‍नू भनी आदेश दिनुभयो। उहाँले उसलाई यसो पनि भन्‍नुभयो: “जाऊ, गएर पुजारीलाई देखाऊ अनि आफू शुद्ध भएँ भनी तिनीहरूलाई साक्षी दिन मोसाको निर्देशनबमोजिम भेटी चढाऊ।”+ १५ तर उहाँको चर्चा झन्‌झन्‌ फैलँदै गयो अनि भीडका भीड मानिसहरू उहाँको कुरा सुन्‍न र आफ्ना रोगहरू निको पार्न उहाँकहाँ आइरहे।+ १६ उहाँ भने अक्सर एकलास ठाउँहरूमा गएर प्रार्थना गर्नुहुन्थ्यो।

१७ एकदिन उहाँ सिकाउँदै हुनुहुन्थ्यो अनि गालिल र यहुदियाका हरेक गाउँ र यरुसलेमबाट आएका फरिसी र व्यवस्थाका शिक्षकहरू त्यहाँ बसिरहेका थिए। उहाँसित मानिसहरूलाई निको पार्ने यहोवा* परमेश्‍वरको शक्‍ति थियो।+ १८ अनि हेर, पक्षाघात भएको एक जना रोगीलाई मानिसहरूले खाटमा बोकेर ल्याए। तिनीहरू भित्र पसेर उसलाई येसुको अगाडि राखिदिन खोज्दै थिए।+ १९ तर भीडले गर्दा उसलाई भित्र लैजाने बाटो नपाएपछि तिनीहरूले छानामा चढेर झिँगटी हटाए अनि खाटैसहित उसलाई येसुको अगाडि ओराले। २० तिनीहरूको विश्‍वास देखेर उहाँले भन्‍नुभयो: “मित्र, तिम्रो पाप क्षमा भयो।”+ २१ यो सुनेर शास्त्रीहरू र फरिसीहरूले* यस्तो तर्क गर्न थाले: “परमेश्‍वरको निन्दा गर्न आँट गर्ने यो को हो? परमेश्‍वरबाहेक अरू कसले पापहरू क्षमा गर्न सक्छ र?”+ २२ तर तिनीहरू के तर्क गर्दै छन्‌ भन्‍ने चाल पाएर येसुले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू आफ्नो हृदयमा के तर्क गर्दै छौ? २३ के भन्‍न सजिलो छ, ‘तिम्रो पाप क्षमा भयो’ भन्‍न कि ‘उठेर जाऊ’ भन्‍न? २४ तैपनि मानिसको छोरासित पृथ्वीमा पाप क्षमा गर्ने अख्तियार छ भन्‍ने तिमीहरूले बुझ . . .।” उहाँले पक्षाघात भएको त्यस मानिसलाई भन्‍नुभयो: “म तिमीलाई भन्छु, उठ र तिम्रो खाट बोक अनि घर जाऊ।”+ २५ तब ऊ तिनीहरूकै अगाडि उठ्‌यो अनि आफू सुत्ने गरेको खाट बोक्यो र परमेश्‍वरको महिमा गर्दै आफ्नो घरतिर लाग्यो। २६ यो देखेर तिनीहरू सबै दङ्‌ग परे अनि तिनीहरूले परमेश्‍वरको महिमा गर्न थाले। तिनीहरूले असाध्यै छक्क पर्दै यसो भन्‍न थाले: “आज हामीले अचम्मका कुराहरू देख्यौँ!”

२७ त्यसपछि उहाँ बाहिर जानुभयो र लेवि नाम गरेको कर उठाउने मानिसलाई कर उठाउने ठाउँमा बसिरहेको देख्नुभयो र उहाँले तिनलाई भन्‍नुभयो: “मेरो पछि लाग।”+ २८ अनि तिनी जुरुक्क उठे र सब कुरा छोडेर उहाँको पछि लागे। २९ उहाँको लागि लेविले आफ्नो घरमा ठूलो भोज दिए। त्यहाँ कर उठाउने अनि अरू मानिसहरूको ठूलो जमात उहाँसित खान बसिरहेको थियो।+ ३० यो देखेर फरिसी र तिनीहरूका शास्त्रीहरू यसो भन्दै उहाँका चेलाहरूसित गनगन गर्न थाले: “तिमीहरू किन कर उठाउने र पापी मानिसहरूसित बसेर खान्छौ?”+ ३१ येसुले तिनीहरूलाई जवाफ दिनुभयो: “निरोगीहरूलाई होइन तर रोगीहरूलाई वैद्यको* खाँचो पर्छ।+ ३२ म धर्मीहरूलाई बोलाउन आएको होइनँ तर पापीहरूले पश्‍चात्ताप गरून्‌ भनी उनीहरूलाई बोलाउन आएको हुँ।”+

३३ तिनीहरूले उहाँलाई भने: “युहन्‍नाका चेलाहरू अक्सर उपवास बस्छन्‌ र उत्कट बिन्ती चढाउँछन्‌ अनि फरिसीहरूका चेलाहरू पनि त्यसै गर्छन्‌ तर तपाईँका चेलाहरू भने खान्छन्‌ र पिउँछन्‌।”+ ३४ येसुले तिनीहरूलाई भन्‍नुभयो: “दुलहा आफ्ना साथीहरूसँग होउन्जेल के तिमीहरूले तिनीहरूलाई उपवास बस्न लगाउन सक्छौ र? ३५ तर यस्तो बेला आउनेछ, जब दुलहालाई+ तिनीहरूबाट निश्‍चय अलग पारिनेछ अनि त्यसबेला तिनीहरू उपवास बस्नेछन्‌।”+

३६ उहाँले तिनीहरूलाई एउटा उदाहरण पनि सुनाउनुभयो: “कसैले पनि नयाँ लुगाबाट टालो काटेर पुरानो लुगामा सिलाउँदैन किनकि त्यसो गऱ्‍यो भने नयाँ टालोले पुरानो लुगालाई फटाउँछ अनि नयाँ लुगाबाट काटेको टालो पुरानो लुगासित मेल पनि खाँदैन।+ ३७ त्यसैगरि कसैले पनि नयाँ दाखमद्य* पुरानो मशकमा* राख्दैन किनकि त्यसो गऱ्‍यो भने नयाँ दाखमद्यले गर्दा मशक च्यातिन्छ र दाखमद्य पोखिन्छ अनि मशक पनि कामै नलाग्ने हुन्छ। ३८ तर नयाँ दाखमद्य नयाँ मशकमै राख्नुपर्छ। ३९ जसले पुरानो दाखमद्य पिएको छ, उसले नयाँ पिउने मन गर्दैन किनकि उसले भन्छ, ‘पुरानोचाहिँ राम्रो।’”

६ एकपटक विश्रामदिनमा* उहाँ गहुँ खेत हुँदै गइरहनुभएको थियो र उहाँका चेलाहरू गहुँका बालाहरू टिपेर+ हातले माड्‌दै खाइरहेका थिए।+ २ यो देखेर केही फरिसीहरूले* यसो भने: “विश्रामदिनमा गर्न नहुने काम गरेर तिमीहरू किन नियम उल्लङ्‌घन गरिरहेका छौ?”+ ३ तर येसुले तिनीहरूलाई जवाफ दिनुभयो: “दाउदले आफू र आफ्ना मानिसहरू भोकाउँदा के गरे, के तिमीहरूले कहिल्यै पढेका छैनौ?+ ४ कसरी तिनी परमेश्‍वरको भवनभित्र पसे र पुजारीहरूबाहेक अरूले खानु उचित नभए तापनि+ परमेश्‍वरलाई चढाइएका रोटीहरू* लिएर खाए अनि आफ्ना मानिसहरूलाई पनि केही दिए?” ५ उहाँले तिनीहरूलाई अझै यसो भन्‍नुभयो: “मानिसको छोरा नै विश्रामदिनको प्रभु हो।”+

६ अर्को विश्रामदिनमा+ उहाँ सभाघरमा पसेर सिकाउन थाल्नुभयो। त्यहाँ दाहिने हात सुकेको* एक जना मानिस थियो।+ ७ उहाँलाई दोष लगाउने निहुँ भेट्टाउन शास्त्रीहरू र फरिसीहरू उहाँले विश्रामदिनमा निको पार्नुहुन्छ कि पार्नुहुन्‍न भनेर उहाँलाई नियालिरहेका थिए। ८ तर तिनीहरू के सोचिरहेका छन्‌ भनेर उहाँलाई थाह थियो।+ त्यसैले उहाँले हात सुकेको त्यस मानिसलाई भन्‍नुभयो: “उठ र बीचमा उभ।” तब त्यो मानिस उठेर बीचमा उभियो। ९ त्यसपछि येसुले तिनीहरूलाई भन्‍नुभयो: “म तिमीहरूलाई सोध्छु, विश्रामदिनमा भलो गर्नु ठीक हो कि हानि गर्नु? ज्यान बचाउनु ठीक हो कि ज्यान लिनु?”+ १० चारैतिर सबैलाई हेरेपछि उहाँले त्यस मानिसलाई भन्‍नुभयो: “तिम्रो हात तन्काऊ।” उसले त्यसै गऱ्‍यो अनि उसको हात सद्दे भइहाल्यो। ११ तर तिनीहरू रिसले पागल भए अनि येसुलाई के गर्ने भनेर आपसमा कुरा गर्न थाले।

१२ एकदिन उहाँ प्रार्थना गर्न डाँडामा जानुभयो+ र पूरै रात परमेश्‍वरलाई प्रार्थना गरेर बिताउनुभयो।+ १३ तर जब उज्यालो भयो, उहाँले आफ्ना चेलाहरूलाई बोलाएर तीमध्ये १२ जनालाई छान्‍नुभयो अनि प्रेषितहरू* भन्‍ने नाम पनि दिनुभयो।+ तिनीहरू हुन्‌: १४ सिमोन, जसलाई उहाँले पत्रुस भन्‍ने नाम पनि दिनुभयो र तिनका भाइ अन्द्रियास, याकुब, युहन्‍ना, फिलिप,+ बारथोलोमाइ, १५ मत्ति, थोमा,+ अल्फयसको छोरा याकुब, “जोसिलो” भनिने सिमोन, १६ यहुदा, जो याकुबका छोरा थिए अनि यहुदा इस्करियोत, जो पछि धोकेबाज भए।

१७ अनि उहाँ तिनीहरूसित ओर्लेर समतल ठाउँमा उभिनुभयो। त्यहाँ उहाँका चेलाहरू ठूलो सङ्‌ख्यामा जम्मा भएका थिए। त्यसबाहेक सारा यहुदिया र यरुसलेमबाट अनि टायर र सिदोनका तटवर्ती इलाकाहरूबाट आएका मानिसहरूको ठूलो जमात पनि त्यहाँ थियो। तिनीहरू उहाँको वचन सुन्‍न अनि निको हुन आएका थिए। १८ प्रेतले* सताएकाहरूसमेत सद्दे भए। १९ भीडमा हुनेजति सबै जनाले उहाँलाई छुन खोजिरहेका थिए किनकि उहाँबाट निस्केको शक्‍तिले+ तिनीहरू सबैलाई निको पारिरहेको थियो।

२० तब उहाँले चेलाहरूलाई हेर्नुभयो र यसो भन्‍न थाल्नुभयो:

“आनन्दित हौ तिमी गरिबहरू किनकि परमेश्‍वरको राज्य तिमीहरूकै हो।+

२१ “आनन्दित हौ तिमीहरू, जो अहिले भोका छौ किनकि तिमीहरू तृप्त पारिनेछौ।+

“आनन्दित हौ तिमीहरू, जो अहिले रुन्छौ किनकि तिमीहरू हाँस्नेछौ।+

२२ “आनन्दित हौ तिमीहरू, जब मानिसहरूले तिमीहरूलाई मानिसको छोराको खातिर घृणा गर्छन्‌,+ बहिष्कार गर्छन्‌,+ तिमीहरूको बदनाम गर्छन्‌ अनि दुष्ट भनी अपमान गर्छन्‌। २३ त्यस दिन रमाओ अनि खुसीले उफ्र किनभने हेर, स्वर्गमा तिमीहरूको इनाम ठूलो छ। किनकि तिनीहरूका पुर्खाहरूले पनि भविष्यवक्‍ताहरूलाई त्यसै गर्ने गर्थे।+

२४ “तर धिक्कार तिमी धनीहरूलाई+ किनकि तिमीहरूले जति सुखसुविधा पाउनुपर्ने हो, त्यो तिमीहरूले पाइसकेका छौ।+

२५ “धिक्कार तिमीहरूलाई, जो अहिले तृप्त छौ किनकि तिमीहरू भोकाउनेछौ।

“धिक्कार तिमीहरूलाई, जो अहिले हाँसिरहेका छौ किनकि तिमीहरू शोक गर्नेछौ अनि रुनेछौ।+

२६ “धिक्कार तिमीहरूलाई जब सबै मानिसले तिमीहरूको तारिफ गर्छन्‌+ किनकि तिनीहरूका पुर्खाहरूले झूटा भविष्यवक्‍ताहरूलाई त्यसै गर्थे।

२७ “तर तिमीहरू, जो मेरो कुरा सुनिरहेका छौ, म तिमीहरूलाई भन्छु, आफ्ना शत्रुहरूलाई प्रेम गरिरहो, तिमीहरूलाई घृणा गर्नेहरूको भलो हुने काम गरिरहो,+ २८ तिमीहरूलाई सराप्नेहरूलाई आशिष्‌ दिइरहो, तिमीहरूको अपमान गर्नेहरूका लागि प्रार्थना गरिरहो।+ २९ जसले तिम्रो एउटा गाला चड्‌काउँछ, उसलाई अर्को गाला पनि थापिदेऊ। अनि जसले तिम्रो खास्टो खोस्छ, उसलाई तिम्रो लुगा पनि लैजान देऊ।+ ३० तिमीसित माग्नेजति सबैलाई देऊ+ अनि तिम्रो मालसामान लैजानेसित ती फिर्ता नमाग।

३१ “यसबाहेक मानिसहरूले तिमीहरूलाई जे-जसो गरून्‌ भन्‍ने तिमीहरू चाहन्छौ, तिमीहरूले पनि तिनीहरूलाई त्यसै गर।+

३२ “यदि तिमीहरू आफूलाई प्रेम गर्नेहरूलाई मात्र प्रेम गर्छौ भने के नै ठूलो काम गरेका हुन्छौ र? किनकि पापीहरूले पनि आफूलाई प्रेम गर्नेहरूलाई प्रेम गर्छन्‌।+ ३३ अनि यदि तिमीहरूको भलो गर्नेहरूको मात्र तिमीहरू भलो गर्छौ भने के नै ठूलो काम गरेका हुन्छौ र? किनकि पापीहरूले पनि त्यसै गर्छन्‌। ३४ त्यसैगरि यदि तिमीहरू जसबाट फिर्ता पाउने आशा गर्छौ, तिनीहरूलाई मात्र ऋण* दिन्छौ भने के नै ठूलो काम गरेका हुन्छौ र?+ किनकि पापीहरूले पनि त साँवा फिर्ता पाउनेगरि पापीहरूलाई ऋण दिन्छन्‌। ३५ बरु तिमीहरू आफ्ना शत्रुहरूलाई प्रेम गरिरहो अनि तिनीहरूको भलो गरिरहो अनि केही फिर्ता पाउने आशा नगरी ऋण दिइरहो।+ तब तिमीहरूले ठूलो इनाम पाउनेछौ अनि तिमीहरू सर्वोच्च परमेश्‍वरका छोराहरू हुनेछौ किनकि उहाँ बैगुनी र दुष्टहरूप्रति दयालु हुनुहुन्छ।+ ३६ जस्तो तिमीहरूका बुबा कृपालु हुनुहुन्छ, तिमीहरू पनि कृपालु भइरहो।+

३७ “यसबाहेक अरूको न्याय गर्न छोडिहाल र कुनै हालतमा तिमीहरूको पनि न्याय गरिनेछैन।+ दोष लगाउन छोडिहाल र तिमीहरूलाई पनि कुनै हालतमा दोष लगाइनेछैन। क्षमा दिइरहो र तिमीहरूले पनि क्षमा पाउनेछौ।+ ३८ दिने गर अनि मानिसहरूले तिमीहरूलाई पनि दिनेछन्‌।+ तिनीहरूले तिमीहरूको पोल्टामा प्रशस्त गरी, खाँदी-खाँदी, हल्लाएर, पोखिनेगरि हालिदिनेछन्‌। किनकि तिमीहरू जुन नापले नाप्छौ, अरूले पनि तिमीहरूका लागि त्यही नापले नाप्नेछन्‌।”

३९ त्यसपछि उहाँले तिनीहरूलाई एउटा उदाहरण पनि सुनाउनुभयो: “अन्धाले अन्धालाई डोऱ्‍याउन सक्छ र? त्यसो गऱ्‍यो भने दुवै जना खाल्टोमा खस्दैनन्‌ र?+ ४० चेला आफ्नो गुरुभन्दा महान्‌ हुँदैन तर ज-जसले पूरा तालिम पाउँछन्‌, ती सबै आफ्नो गुरुजत्तिकै हुनेछन्‌। ४१ तिमी किन आफ्नो भाइको आँखामा भएको छेस्को देख्छौ तर आफ्नै आँखामा भएको मुढाचाहिँ यादै गर्दैनौ?+ ४२ यदि तिमी आफ्नै आँखामा भएको मुढा देख्दैनौ भने तिमी कसरी आफ्नो भाइलाई ‘ए भाइ, मलाई तिम्रो आँखाको छेस्को निकाल्न देऊ’ भन्‍न सक्छौ? ए कपटी! पहिले आफ्नै आँखाको मुढा निकाल अनि तिमीले आफ्नो भाइको आँखाबाट छेस्को कसरी निकाल्ने भनेर छर्लङ्‌गै देख्नेछौ।

४३ “किनकि असल रूखले बिग्रेको फल फलाउँदैन; त्यसैगरि खराब रूखले असल फल फलाउँदैन।+ ४४ हरेक रूख त्यसको फलबाटै चिनिन्छ।+ उदाहरणका लागि, मानिसहरूले काँडाको झाङबाट अन्जिर बटुल्दैनन्‌ न त जङ्‌गली झारबाट अङ्‌गुर टिप्छन्‌। ४५ असल मानिसले आफ्नो हृदयको असल भण्डारबाट असलै थोक निकाल्छ तर दुष्ट मानिसले आफ्नो दुष्टताको भण्डारबाट दुष्टै थोक निकाल्छ। किनकि हृदयमा जे प्रशस्त छ, मुखले त्यही बोल्छ।+

४६ “तिमीहरू किन मलाई ‘प्रभु! प्रभु!’ भनी पुकार्छौ तर मैले भनेजस्तो चाहिँ गर्दैनौ?+ ४७ जो मकहाँ आउँछ र मेरो वचन सुन्छ अनि त्यसअनुसार गर्छ, ऊ कस्तो खालको मानिस हो, म तिमीहरूलाई बताउँछु:+ ४८ ऊ त घर बनाउने त्यो मानिसजस्तो हो, जसले गहिरो खाल्टो खनेर चट्टानमाथि जग बसाल्यो। जब बाढी आयो अनि नदीको धार त्यस घरमा ठोक्कियो, तब त्यसलाई हल्लाउन सकेन किनकि त्यो बलियो गरी बनाइएको थियो।+ ४९ अर्कोतिर जसले सुन्छ तर पालन गर्दैन,+ ऊ त्यो मानिसजस्तो हो, जसले जग नहाली जमिनमा घर बनायो। जब नदीको धार त्यस घरमा ठोक्कियो, तब त्यो तुरुन्तै ढल्यो र पूरै ध्वस्त भयो।”

७ जब उहाँले मानिसहरूलाई आफूले भन्‍नुपर्ने सबै कुरा भनेर सिद्‌ध्याउनुभयो, तब उहाँ कफर्नहुम पस्नुभयो। २ त्यहाँ एक जना सैनिक अफिसरको प्यारो दास सिकिस्त बिरामी भएर मर्नै आँटेको थियो।+ ३ जब ती सैनिक अफिसरले येसुको विषयमा सुने, तब तिनले यहुदीहरूका धर्मगुरुहरूलाई उहाँकहाँ पठाए र तिनीकहाँ आएर आफ्नो दासलाई बचाइदिन बिन्ती गर्न लगाए। ४ तब तिनीहरू येसुकहाँ आए र यसो भन्दै उहाँलाई बिन्तीभाउ गर्न थाले: “तिनी तपाईँको मदत पाउन लायकका छन्‌ ५ किनकि तिनी हाम्रो जातिलाई प्रेम गर्छन्‌ र हाम्रो लागि तिनले नै सभाघर बनाइदिएका हुन्‌।” ६ त्यसैले येसु तिनीहरूसित जानुभयो। तर उहाँ तिनको घरनजिकै पुग्नुहुँदा ती सैनिक अफिसरले आफ्ना साथीहरूमार्फत यस्तो खबर पठाए: “प्रभु, कष्ट नगर्नुहोस्‌ किनकि म तपाईँलाई मेरो घरमा स्वागत गर्न लायकको छैनँ।+ ७ यसैकारण मैले आफूलाई तपाईँकहाँ आउन योग्यको ठानिनँ। बरु एक वचन बोलिदिनुहोस्‌ र मेरो नोकर निको हुनेछ। ८ किनकि म आफै पनि कसैको अधीनमा बसेको मानिस हुँ अनि मेरो मुनि पनि सिपाहीहरू छन्‌। म एक जनालाई भन्छु, ‘जाऊ!’ र ऊ जान्छ अनि अर्कोलाई भन्छु, ‘आऊ!’ र ऊ आउँछ अनि मेरो दासलाई भन्छु, ‘यो गर!’ र उसले त्यो गर्छ।” ९ जब येसुले यो कुरा सुन्‍नुभयो, तब उहाँ तिनीदेखि आश्‍चर्यचकित हुनुभयो र आफ्नो पछिपछि आइरहेको भीडतिर फर्केर भन्‍नुभयो: “म तिमीहरूलाई भन्छु, मैले उसको जस्तो ठूलो विश्‍वास इस्राएलमा समेत पाएको छैनँ।”+ १० अनि तिनले पठाएका मानिसहरू घर फर्कँदा त्यो दास निको भइसकेको पाए।+

११ त्यसको केही समयपछि नै उहाँ नाइन नामको सहरतिर जानुभयो। उहाँका चेलाहरू र मानिसहरूको भीड पनि उहाँसँगै यात्रा गर्दै थिए। १२ जब उहाँ सहरको मूलढोका नजिक पुग्नुभयो, तब हेर, एक जना मानिसको लास लगिँदै थियो। ऊ एउटी विधवाको एक मात्र छोरा थियो।+ अनि सहरबाट आएको ठूलो भीड पनि ती विधवाको साथमा थियो। १३ तब तिनलाई देखेर प्रभु टिठाउनुभयो+ र भन्‍नुभयो: “नरोऊ।”+ १४ त्यसपछि नजिक गएर उहाँले अरथी छुनुभयो र त्यो बोक्नेहरू टक्क अडिए अनि उहाँले भन्‍नुभयो: “ए युवक, म तिमीलाई भन्छु, उठ!”+ १५ तब त्यो मरेको मानिस उठेर बस्यो र बोल्न थाल्यो अनि येसुले उसलाई उसकी आमाको जिम्मा लगाउनुभयो।+ १६ तब तिनीहरू सबै असाध्यै डराए र तिनीहरूले यसो भन्दै परमेश्‍वरको महिमा गर्न थाले: “हाम्रो बीचमा एक जना महान्‌ भविष्यवक्‍ता खडा हुनुभएको छ”+ र “परमेश्‍वरले आफ्ना जनहरूतर्फ ध्यान दिनुभएको छ।”+ १७ अनि उहाँबारे यो खबर सारा यहुदिया र वरपरका सबै इलाकामा फैलियो।

१८ तब युहन्‍नाका चेलाहरूले यी सबै कुराको विषयमा तिनलाई खबर गरे।+ १९ त्यसैले युहन्‍नाले आफ्ना दुई जना चेलालाई बोलाए अनि यो सोध्न प्रभुकहाँ पठाए: “आउनेवाला तपाईँ नै हुनुहुन्छ+ कि हामी अरू कसैको बाटो हेरौँ?” २० उहाँकहाँ पुगेपछि तिनीहरूले भने: “बप्तिस्मा गराउने युहन्‍नाले हामीलाई यो सोध्न पठाउनुभएको छ, ‘आउनेवाला तपाईँ नै हुनुहुन्छ कि हामी अरू कसैको बाटो हेरौँ?’” २१ त्यति नै बेला उहाँले धेरै जना बिरामी, गम्भीर रोग लागेका अनि प्रेतले* सताइएकाहरूलाई निको पार्नुभयो+ र थुप्रै अन्धालाई पनि दृष्टि दिनुभयो। २२ तब उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “जाओ र तिमीहरूले जे देख्यौ अनि सुन्यौ, युहन्‍नालाई त्यो बताइदेओ: अन्धाहरूले देख्न थालेका छन्‌,+ लङ्‌गडाहरू हिँड्‌न थालेका छन्‌, कुष्ठरोगीहरू शुद्ध पारिएका छन्‌, बहिराहरूले सुन्‍न थालेका छन्‌,+ मरेकाहरू जीवित भएका छन्‌ अनि गरिबहरूलाई सुसमाचार सुनाइँदै छ।+ २३ त्यो मानिस आनन्दित हो, जसले मेरो विषयमा कुनै शङ्‌का गर्दैन।”*+

२४ युहन्‍नाको सन्देश ल्याउने मानिसहरू गइसकेपछि उहाँले भीडलाई युहन्‍नाको विषयमा यसो भन्‍न थाल्नुभयो: “तिमीहरू के हेर्न निर्जनभूमिमा गयौ? हावाले यताउता हल्लाइरहेको नर्कट हेर्न?+ २५ त्यसोभए के हेर्न गयौ त? मिहिन कपडाको लुगा लगाएको मानिसलाई हेर्न?+ त्यस्तो दामी लुगा लगाउने अनि विलासी जीवन बिताउनेहरू त महलमा हुन्छन्‌। २६ तिमीहरू के हेर्न गयौ, लौ साँच्चै भन त। भविष्यवक्‍तालाई हेर्न? हो, म तिमीहरूलाई भन्छु, भविष्यवक्‍ताभन्दा पनि महान्‌ व्यक्‍तिलाई+ हेर्न। २७ तिनी उनै हुन्‌, जसको विषयमा यस्तो लेखिएको छ: ‘हेर, म मेरो दूतलाई तिम्रो अघिअघि पठाउँदै छु र तिनले तिम्रो बाटो तयार पार्नेछन्‌!’+ २८ म तिमीहरूलाई भन्छु, युहन्‍नाभन्दा ठूलो अहिलेसम्म कोही जन्मेको छैन। तैपनि परमेश्‍वरको राज्यमा जो सबैभन्दा सानो छ, त्यो तिनीभन्दा ठूलो हो।”+ २९ (जब सबै मानिसले र कर उठाउनेहरूले यो कुरा सुने, तब तिनीहरूले परमेश्‍वर न्यायी हुनुहुन्छ भनी स्विकारे किनकि युहन्‍नाबाट तिनीहरूको बप्तिस्मा भएको थियो।+ ३० तर तिनीबाट बप्तिस्मा नभएका फरिसीहरू र व्यवस्थामा पोख्त मानिसहरूले भने परमेश्‍वरले तिनीहरूलाई दिनुभएको सल्लाह* बेवास्ता गरे।)+

३१ “यस पुस्ताका मानिसहरूलाई म कोसित तुलना गरूँ अनि तिनीहरू कोजस्ता छन्‌?+ ३२ तिनीहरू त बजारमा बस्ने ती साना केटाकेटीजस्तै छन्‌, जो एकअर्कासित यसो भन्दै कराउँछन्‌: ‘हामीले तिमीहरूको लागि बाँसुरी बजायौँ तर तिमीहरू नाचेनौ; हामीले शोकगीत गायौँ तर तिमीहरू रोएनौ।’ ३३ त्यसैगरि बप्तिस्मा गराउने युहन्‍ना अरूले जस्तो न खान्छन्‌ न पिउँछन्‌+ तैपनि तिमीहरू यसो भन्छौ: ‘उसमा प्रेत बास गरेको छ।’ ३४ मानिसको छोराचाहिँ अरूले जस्तै खान्छ र पिउँछ तैपनि तिमीहरू यसो भन्छौ: ‘हेर, घिचुवा र पियक्कड मानिस! कर उठाउने र पापीहरूको साथी!’+ ३५ तर मानिसले गर्ने असल कामैले ऊ बुद्धिमान्‌ हो भनेर प्रमाणित गर्छ।”+

३६ तब एक जना फरिसीले उहाँलाई आफूसित भोजन गर्न निकै पटक आग्रह गरे। त्यसैले उहाँ ती फरिसीको घरमा खान बस्नुभयो। ३७ अनि हेर, पापीनी भनेर सहरभरि चिनिएकी एउटी स्त्रीले उहाँ ती फरिसीको घरमा खान बस्नुभएको छ भनेर थाह पाई र अलाबास्टरको* भाँडोमा सुगन्धित तेल लिएर आई।+ ३८ ऊ उहाँको पछाडि पाउनजिकै उभिई अनि रुँदै उहाँको पाउ आँसुले भिजाउन र आफ्नो कपालले पुछ्‌न थाली। साथै उसले उहाँको पाउमा चुम्बन गरी र सुगन्धित तेल घसी। ३९ यो देखेर उहाँलाई निम्तो दिने फरिसीले मनमनै यसो भने: “यदि यी मानिस साँच्चै भविष्यवक्‍ता हुँदा हुन्‌ त यिनलाई छुने यो स्त्री को हो र कस्तो खालकी हो भनेर यिनलाई थाह हुने थियो किनकि यो त पापीनी हो।”+ ४० तर येसुले तिनलाई भन्‍नुभयो: “सिमोन, म तिमीलाई केही भन्‍न चाहन्छु।” तिनले भने: “गुरुज्यू, भन्‍नुहोस्‌!”

४१ “कुनै एक जना साहुका दुई ऋणी थिए; एक जनालाई ५०० दिनार* र अर्कोलाई ५० दिनार ऋण लागेको थियो। ४२ ऋण चुक्‍ता गर्न तिनीहरूसित केही नहुँदा तिनले ती दुवैलाई खुला मनले माफी दिए। अब भन त, ती दुईमध्ये कुनचाहिँले त्यो साहुलाई बढी प्रेम गर्नेछ?” ४३ सिमोनले जवाफ दिए: “मेरो विचारमा जसलाई तिनले बढ्‌ता माफी दिए, उसैले।” उहाँले तिनलाई भन्‍नुभयो: “तिमीले ठीक भन्यौ।” ४४ त्यसपछि उहाँ त्यस स्त्रीतिर फर्कनुभयो र सिमोनलाई भन्‍नुभयो: “के तिमी यस स्त्रीलाई देख्दै छौ? म तिम्रो घरभित्र पसेँ तर तिमीले मेरो खुट्टा धुनलाई पानी दिएनौ। तर यस स्त्रीले भने आफ्नो आँसुले मेरो खुट्टा भिजाएर आफ्नो कपालले पुछी। ४५ तिमीले मलाई चुम्बन गरेनौ तर यस स्त्रीले भने म भित्र पसेदेखि नै मेरो खुट्टामा चुम्बन गर्न छोडेकी छैन। ४६ तिमीले मेरो टाउकोमा तेल घसेनौ तर यस स्त्रीले मेरो खुट्टामा सुगन्धित तेल घसी। ४७ म तिमीलाई भन्छु, उसका पापहरू धेरै* भए तापनि ती क्षमा भएका छन्‌+ किनकि उसले धेरै प्रेम गरी। तर जसलाई थोरै क्षमा दिइन्छ, उसले थोरै नै प्रेम गर्छ।” ४८ तब उहाँले त्यस स्त्रीलाई भन्‍नुभयो: “तिम्रा पापहरू क्षमा भएका छन्‌।”+ ४९ यो सुनेर उहाँसित खान बसेकाहरूले मनमनै यस्तो सोच्न थाले: “पापहरूसमेत क्षमा गर्ने यो मानिस को हो?”+ ५० तर उहाँले त्यस स्त्रीलाई भन्‍नुभयो: “तिम्रो विश्‍वासले तिमीलाई बचाएको छ;+ ढुक्क भएर जाऊ।”

८ यसको केही समयपछि उहाँ परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्दै र त्यसबारे घोषणा गर्दै सहर-सहर अनि गाउँ-गाउँ डुल्न थाल्नुभयो।+ अनि ती १२ जना उहाँसँग थिए। २ उहाँसँगै केही स्त्रीहरू पनि थिए, जसबाट उहाँले प्रेतहरू धपाउनुभएको थियो अनि जसका रोगबिमारहरू उहाँले निको पार्नुभएको थियो। तिनीहरूमध्ये मग्दलिनी भनिने मरियम पनि थिइन्‌, जसबाट सात वटा प्रेत निकालिएको थियो। ३ साथै हेरोदको घरको रेखदेख गर्ने नाइके खुजाकी पत्नी योअन्‍ना,+ सुसन्‍ना अनि अरू थुप्रै स्त्री पनि थिए। यिनीहरूले आफ्नो सम्पत्ति खर्चेर येसु अनि उहाँका चेलाहरूको सेवा गरिरहेका थिए।+

४ तब उहाँसँगै एकपछि अर्को सहरमा जाने मानिसहरूसित एउटा ठूलो जमात भेला भएपछि उहाँले एउटा उदाहरण चलाएर तिनीहरूसित कुरा गर्नुभयो:+ ५ “एक जना बिउ छर्ने मानिस बिउ छर्नलाई निस्क्यो। बिउ छर्दै जाँदा तीमध्ये केही बाटोको छेउछाउमा परे र ती कुल्चिइए अनि आकाशका चराहरू आएर ती खाइदिए।+ ६ अरूचाहिँ चट्टानमा परे तर त्यो ठाउँ त्यति ओसिलो नभएकोले ती बिउ टुसाउनेबित्तिकै सुकिहाले।+ ७ अझ अरूचाहिँ काँडाहरूको बीचमा परे अनि सँगसँगै बढेका काँडाहरूले गर्दा ती निसासिए।+ ८ अरू केही भने असल माटोमा परे अनि टुसाएपछि १०० गुणा फल फलाए।”+ यी कुराहरू भन्दाभन्दै उहाँले ठूलो स्वरले यसो पनि भन्‍नुभयो: “जसको सुन्‍ने कान छ, उसले सुनोस्‌।”+

९ तर उहाँका चेलाहरूले यस उदाहरणको अर्थ के हो भनेर सोध्न थाले।+ १० उहाँले भन्‍नुभयो: “तिमीहरूलाई परमेश्‍वरको राज्यको पवित्र रहस्य बुझ्ने मौका दिइएको छ तर बाँकी अरूका लागि त यो उदाहरणमै सीमित हुनेछ+ ताकि हेरेर पनि तिनीहरूले नदेखून्‌ अनि सुनेर पनि तिनीहरूले अर्थ नबुझून्‌।+ ११ उदाहरणको अर्थ यो हो: बिउ परमेश्‍वरको वचन हो।+ १२ बाटोको छेउछाउमा परेकाहरू ती हुन्‌, जसले वचन सुन्छन्‌ तर पछि दियाबल आउँछ र तिनीहरूले विश्‍वास गरेर उद्धार नपाऊन्‌ भनेर तिनीहरूको हृदयबाट त्यो वचन खोसेर लैजान्छ।+ १३ चट्टानमा पर्नेहरू ती हुन्‌, जसले वचन सुन्‍नेबित्तिकै खुसीसाथ स्विकार्छन्‌ तर तिनीहरूको जरा नभएकोले तिनीहरूले केही समयसम्म त विश्‍वास गर्छन्‌ तर परीक्षा आइपर्नेबित्तिकै पछि हटिहाल्छन्‌।+ १४ काँडाहरूको बीचमा पर्ने ती हुन्‌, जसले वचन सुन्छन्‌ तर यस जीवनको फिक्री, धनसम्पत्ति+ अनि मोजमज्जाले गर्दा+ भड्‌किन्छन्‌, जसले गर्दा तिनीहरू पूरै निसासिन्छन्‌ र तिनीहरूको फल पाक्न पाउँदैन।+ १५ असल जमिनमा पर्नेचाहिँ असल हृदय भएका ती मानिसहरू हुन्‌,+ जसले वचन सुनेपछि त्यसलाई हृदयमा राखिराख्छन्‌ र सहनशील भई फल फलाउँछन्‌।+

१६ “कसैले दियो बालेर त्यसलाई भाँडाले छोप्दैन वा खाटमुनि राख्दैन तर भित्र पस्ने सबैलाई उज्यालो होस्‌ भनेर त्यसलाई पानसमा राख्छ।+ १७ लुकाइएको यस्तो कुनै कुरा छैन, जुन प्रकट हुँदैन अनि होसियारीपूर्वक ढाकछोप गरिएको यस्तो कुनै कुरा छैन, जुन थाह हुँदैन र कहिल्यै उदाङ्‌ग हुँदैन।+ १८ त्यसैले तिमीहरू कसरी सुन्छौ, ध्यान देओ। किनकि जोसित छ, उसलाई अझ धेरै दिइनेछ।+ तर जोसित छैन, उसले आफूसित जति छ भनी सोचेको छ, त्यो समेत ऊबाट खोसिनेछ।”+

१९ तब येसुका आमा र भाइहरू+ उहाँ भएको ठाउँमा आए तर भीडले गर्दा तिनीहरू उहाँको नजिक पुग्न सकिरहेका थिएनन्‌।+ २० त्यसैले उहाँलाई यस्तो खबर दिइयो: “तपाईँकी आमा र तपाईँका भाइहरू तपाईँलाई भेट्‌न बाहिर पर्खिरहेका छन्‌।” २१ तर उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “जसले परमेश्‍वरको वचन सुन्छन्‌ र पालन गर्छन्‌, तिनीहरू नै मेरा आमा र भाइहरू हुन्‌।”+

२२ एकदिनको कुरा हो, उहाँ आफ्ना चेलाहरूसित डुङ्‌गा चढ्‌नुभयो र तिनीहरूलाई भन्‍नुभयो: “आओ, हामी तालपारि जाऔँ।” त्यसैले उहाँहरू डुङ्‌गा चढेर जानुभयो।+ २३ तर यात्रा गर्दै गर्दा उहाँ निदाउनुभयो। तब तालमा ठूलो आँधी चल्यो अनि डुङ्‌गा पानीले भरिन थाल्यो। यसले गर्दा तिनीहरूको ज्यान खतरामा पऱ्‍यो।+ २४ त्यसैले तिनीहरू उहाँकहाँ गए र उहाँलाई ब्युँझाउँदै यसो भने: “गुरुज्यू, गुरुज्यू, हामी मर्नै आँट्‌यौँ!” तब उहाँ उठ्‌नुभयो अनि आँधीलाई र पानीको छाललाई हप्काउनुभयो अनि ती थामिए र पूरै शान्त भए।+ २५ तब उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूको विश्‍वास खोइ?” तर तिनीहरू असाध्यै डराए र अचम्म मान्दै आपसमा यसो भन्‍न थाले: “यिनी साँच्चै को हुन्‌? किनकि यिनले आँधी र समुद्रलाई समेत आज्ञा गर्दा रहेछन्‌ र तिनीहरूले यिनको आज्ञा मान्दा रहेछन्‌।”+

२६ अनि उहाँहरू गालिलपारि गेरासिनीहरूको इलाकामा किनारातिर जानुभयो।+ २७ येसु किनारामा ओर्लनुहुनेबित्तिकै सहरको एक जना मानिससित उहाँको भेट भयो। यस मानिसलाई प्रेतहरूले सताएको थियो र उसले लुगा नलगाएको निकै समय भइसकेको थियो अनि ऊ घरमा होइन, चिहानहरूमा बस्थ्यो।+ २८ येसुलाई देख्नेबित्तिकै ऊ ठूलो स्वरले चिच्यायो र उहाँसामु घोप्टो पर्दै ठूलो स्वरले यसो भन्यो: “हे सर्वोच्च परमेश्‍वरका छोरा येसु, तपाईँको मसित के सरोकार?* बिन्ती छ, मलाई नसताउनुहोस्‌।”+ २९ (किनभने उहाँले त्यस प्रेतलाई त्यस मानिसबाट निस्केर आउन हुकुम गरिरहनुभएको थियो। त्यसले उसलाई धेरै पटक आफ्नो काबूमा राखेको थियो।*+ उसलाई पटक-पटक नेल र साङ्‌लाले बाँधेर अनि पहरा दिएर राखिएको थियो। तर उसले ती बन्धनहरू तोड्‌थ्यो अनि प्रेतले उसलाई एकलास ठाउँहरूतिर लैजान्थ्यो।) ३० येसुले उसलाई सोध्नुभयो: “तेरो नाम के हो?” उसले जवाफ दियो: “पल्टन” किनभने थुप्रै प्रेत ऊभित्र बास गरिरहेका थिए। ३१ अनि तिनीहरूले आफूहरूलाई अगाध खाडलमा+ जाने हुकुम नगर्न उहाँलाई बिन्ती गरिरहे। ३२ त्यतिखेर सुँगुरहरूको+ ठूलो बथान त्यही पहाडमा चरिरहेको थियो। त्यसैले तिनीहरूले आफूहरूलाई ती सुँगुरहरूभित्र पस्ने अनुमति दिन उहाँलाई बिन्ती गरे। अनि उहाँले तिनीहरूलाई अनुमति दिनुभयो।+ ३३ तब ती प्रेतहरू त्यस मानिसबाट बाहिर निस्केर सुँगुरहरूभित्र पसे अनि बथान भीरतिर हुत्तिँदै गयो र तालमा खसेर डुब्यो। ३४ यो देखेर गोठालाहरू भागे अनि सहर र गाउँमा गएर सबैलाई यसबारे सुनाए।

३५ तब के भएको रहेछ भनी हेर्न मानिसहरू आए। तिनीहरू येसुकहाँ पुगे अनि प्रेतहरूले छोडेको त्यस मानिसलाई लुगा लगाएको र सद्दे भएर येसुको पाउनेर बसिरहेको पाए। यो सब देखेर तिनीहरू डराए। ३६ अनि प्रेतले सताएको त्यो मानिस कसरी सद्दे भयो भनी प्रत्यक्षदर्शीहरूले तिनीहरूलाई बताइदिए। ३७ तब गेरासिनीहरूको इलाकाको वरपरबाट आएका मानिसहरूको जमातले उहाँलाई त्यहाँबाट गइहाल्न बिन्ती गऱ्‍यो किनकि तिनीहरू असाध्यै भयभीत भएका थिए। त्यसैले उहाँ डुङ्‌गा चढेर त्यहाँबाट फर्कनुभयो। ३८ तब प्रेतहरू बास गर्न छोडेको त्यस मानिसले आफू पनि सँगै जान पाऊँ भनी उहाँलाई बिन्ती गरेको गऱ्‍यै गऱ्‍यो। तर उहाँले यसो भन्दै उसलाई फर्काउनुभयो:+ ३९ “तिमी आफ्नो घर फर्क र परमेश्‍वरले तिम्रो लागि जे गर्नुभयो, त्यसबारे बताउन नछोड।” त्यसैले ऊ गयो र येसुले उसको लागि गर्नुभएको कुराबारे सहरभरि घोषणा गर्न थाल्यो।

४० येसु फर्केर आउनुभएपछि भीडले उहाँलाई न्यानो स्वागत गऱ्‍यो किनकि तिनीहरू सबै उहाँको बाटो हेरिरहेका थिए।+ ४१ तब हेर! याइरस नाम गरेका एक जना मानिस उहाँकहाँ आए। तिनी सभाघरको पदाधिकारी थिए अनि तिनले येसुको पाउ पर्दै उहाँलाई आफ्नो घरमा आइदिन बिन्ती गर्न थाले।+ ४२ किनकि लगभग १२ वर्ष पुगेकी तिनकी एक मात्र छोरी मर्नै लागेकी थिई।

उहाँ जाँदै गर्नुहुँदा भीडले उहाँलाई ठेलमठेल गर्न थाल्यो। ४३ त्यहाँ रगत बग्ने बेथाले सताएको+ १२ वर्ष भइसकेको अनि कसैको उपचारबाट निको हुन नसकेकी एक जना स्त्री थिई।+ ४४ उसले पछाडिबाट आएर उहाँको लुगाको किनारको फुर्का+ छोई र तुरुन्तै उसको रगत बग्न बन्द भयो। ४५ त्यसैले येसुले सोध्नुभयो: “मलाई छुने को हो?” जब कसैले स्विकारेन, तब पत्रुसले भने: “गुरुज्यू, भीडले तपाईँलाई घेरेर ठेलिरहेको छ।”+ ४६ तर येसुले भन्‍नुभयो: “कसैले मलाई छोयो किनकि मबाट शक्‍ति+ बाहिर निस्केको मैले महसुस गरेँ।” ४७ उहाँको नजरबाट आफू लुक्न नसकेको देखेपछि त्यो स्त्री थरथर काम्दै आई र घुँडा टेक्दै आफूले उहाँलाई छुनुको कारण र त्यसो गर्दा ऊ कसरी तुरुन्तै निको भई, त्यसबारे सबै मानिससामु बताई। ४८ तर उहाँले उसलाई भन्‍नुभयो: “नानी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ। ढुक्क भएर जाऊ।”+

४९ उहाँ बोल्दै गर्नुहुँदा सभाघरको ती पदाधिकारीको घरबाट एक जना मानिस आयो र भन्यो: “तपाईँकी छोरी मरिसकी! त्यसैले अब गुरुज्यूलाई बेकारमा दुःख नदिनुहोस्‌।”+ ५० यो सुनेर येसुले याइरसलाई भन्‍नुभयो: “चिन्ता नगर, केवल विश्‍वास गर अनि ऊ बाँच्नेछे।”+ ५१ तिनको घरमा पुगेपछि उहाँले पत्रुस, युहन्‍ना, याकुब अनि केटीका आमाबुबाबाहेक अरू कसैलाई आफूसित भित्र आउन दिनुभएन। ५२ सबै मानिस रुँदै अनि छाती पिट्‌दै शोक गरिरहेका थिए। त्यसैले उहाँले भन्‍नुभयो: “रुन छोड+ किनकि ऊ मरेकी छैन तर निदाइरहेकी छे।”+ ५३ यो सुनेर तिनीहरू उहाँको खिल्ली उडाउँदै हाँस्न थाले किनकि केटी मरिसकेकी छे भनेर तिनीहरूलाई थाह थियो। ५४ तर उहाँले उसको हात समातेर भन्‍नुभयो: “नानु, उठ!”+ ५५ तब उसको सास*+ फर्क्यो र ऊ जुरुक्कै उठी।+ त्यसपछि उसलाई केही खानेकुरा दिनू भनी उहाँले अह्राउनुभयो। ५६ यो देखेर उसका आमाबुबाको खुसीको सीमा रहेन। तर यसबारे कसैलाई नभन्‍नू भनी उहाँले तिनीहरूलाई निर्देशन दिनुभयो।+

९ तब उहाँले ती १२ जनालाई एकसाथ बोलाउनुभयो र तिनीहरूलाई सबै प्रेत* धपाउने+ अनि रोगबिमार निको पार्ने शक्‍ति र अख्तियार दिनुभयो।+ २ अनि उहाँले तिनीहरूलाई परमेश्‍वरको राज्यको प्रचार गर्न र मानिसहरूलाई निको पार्न पठाउनुभयो ३ र भन्‍नुभयो: “यात्राको लागि केही नबोक; न लौरो न खाजाको पोको न रोटी न पैसा* न त दुईसरो लुगा।+ ४ तर जुन घरमा तिमीहरू पसौला, त्यो ठाउँ नछोडुन्जेल त्यसै घरमा बस।+ ५ अनि जुन ठाउँमा मानिसहरूले तिमीहरूलाई स्वागत गर्दैनन्‌, त्यस सहरबाट निस्कँदा तिनीहरूविरुद्ध साक्षीको निम्ति आफ्नो पैतालाको धुलो टकटक्याइदेओ।”*+ ६ त्यसपछि तिनीहरू एकपछि अर्को गाउँ हुँदै पूरै इलाकामा सुसमाचार सुनाउँदै र रोगबिमार निको पार्दै हिँडे।+

७ जब प्रान्तीय शासक हेरोदले* यी सबै घटनाबारे सुने, तब तिनी साह्रै अन्योलमा परे किनकि कसै-कसैले युहन्‍ना मृत्युबाट ब्युँताइएका हुन्‌ भन्थे।+ ८ अनि अरू कसैले चाहिँ एलिया देखा परेका हुन्‌ भन्थे र कोही-कोहीचाहिँ पहिले-पहिलेका भविष्यवक्‍ताहरूमध्ये कोही एक जना फेरि जीवित भएका हुन्‌ भन्थे।+ ९ हेरोदले भने: “युहन्‍नाको त मैले टाउको काट्‌न लगाइसकेको थिएँ।+ त्यसोभए कसको विषयमा म यस्तो कुरा सुन्दै छु?” त्यसैले तिनले येसुलाई हेर्न खोजिरहेका थिए।+

१० प्रेषितहरू फर्केपछि तिनीहरूले आफूले गरेको कामबारे उहाँलाई बताए।+ तब उहाँ तिनीहरूलाई लिएर बेथसेदा नामको सहरमा सुटुक्क जानुभयो।+ ११ तर भीडले यो कुरा थाह पायो र उहाँको पछि लाग्यो। तब उहाँले तिनीहरूलाई न्यानो स्वागत गर्नुभयो र परमेश्‍वरको राज्यबारे सिकाउन थाल्नुभयो अनि उपचारको आवश्‍यकता भएकाहरूलाई निको पार्नुभयो।+ १२ जब दिन ढल्न थाल्यो, तब ती १२ जना उहाँकहाँ आएर भने: “भीडलाई बिदा गर्नुहोस्‌ र नजिकैका गाउँबस्तीमा गएर तिनीहरूले आफ्नो निम्ति गाँसबासको बन्दोबस्त गरून्‌ किनकि हामी यहाँ अनकन्टार ठाउँमा छौँ।”+ १३ तर उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूले नै उनीहरूलाई केही खान देओ।”+ तिनीहरूले भने: “हामीसित पाँच वटा रोटी र दुई वटा माछाबाहेक अरू केही छैन। के हामी गएर यी मानिसहरूको लागि खानेकुरा किनेर ल्याऔँ?” १४ त्यहाँ लगभग ५ हजार पुरुष थिए। उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “तिनीहरूलाई ५०-५० जना जतिको समूह बनाएर बस्न लगाओ।” १५ तिनीहरूले त्यसै गरे र सबैलाई बस्न लगाए। १६ त्यसपछि उहाँले पाँच वटा रोटी र दुई वटा माछा लिई स्वर्गतिर हेरेर प्रार्थना गर्नुभयो अनि भीडलाई बाँड्‌नको लागि ती भाँचेर चेलाहरूलाई दिन थाल्नुभयो। १७ तिनीहरू सबैले पेटभरि खाए अनि उब्रेको टुक्राटाक्री जम्मा गर्दा १२ डाला भरिए।+

१८ पछि उहाँ एक्लै प्रार्थना गरिरहनुहुँदा चेलाहरू उहाँकहाँ आए र उहाँले तिनीहरूलाई सोध्नुभयो: “म को हुँ भन्‍नेबारे भीड के भन्दै छ?”+ १९ तिनीहरूले जवाफ दिए: “कसैले बप्तिस्मा गराउने युहन्‍ना, कसैले एलिया अनि कसै-कसैले चाहिँ पहिले-पहिलेका भविष्यवक्‍ताहरूमध्ये जीवित भएका कोही एक जना हो भन्छन्‌।”+ २० अनि उहाँले तिनीहरूलाई सोध्नुभयो: “तर तिमीहरूचाहिँ के भन्छौ, म को हुँ?” पत्रुसले जवाफ दिए: “परमेश्‍वरको ख्रिष्ट।”+ २१ अनि उहाँले तिनीहरूलाई यसबारे कसैलाई नभन्‍नू भनी कडा चेतावनी दिनुभयो+ २२ र भन्‍नुभयो: “मानिसको छोराले धेरै दुःख भोग्नु; धर्मगुरुहरू, मुख्य पुजारीहरू र शास्त्रीहरूबाट तिरस्कृत हुनु अनि मारिनु+ र तेस्रो दिनमा ब्युँताइनु आवश्‍यक छ।”+

२३ त्यसपछि उहाँले सबैलाई यसो पनि भन्‍नुभयो: “यदि कोही मेरो पछि आउन चाहन्छ भने उसले आफूलाई इन्कार गरोस्‌,+ दिनहुँ आफ्नो यातनाको खम्बा* उठाओस्‌ र निरन्तर मेरो पछि लागोस्‌।+ २४ किनकि जसले आफ्नो ज्यान बचाउन चाहन्छ, उसले त्यो गुमाउनेछ तर जसले मेरो खातिर आफ्नो ज्यान गुमाउँछ, उसले त्यो बचाउनेछ।+ २५ हुन पनि कुनै मानिसले सारा संसार प्राप्त गर्छ तर आफ्नो ज्यान गुमाउँछ वा आफूलाई हानि पुऱ्‍याउँछ भने उसलाई के फाइदा हुन्छ र?+ २६ मेरो चेला बन्‍न र मेरा वचनहरूमा विश्‍वास गर्न जसले सरम मान्छ, मानिसको छोराले पनि आफ्नो, आफ्नो बुबाको र पवित्र स्वर्गदूतहरूको महिमासहित आउँदा उसलाई स्विकार्न सरम मान्‍नेछ।+ २७ तर म तिमीहरूलाई साँच्चै भन्छु, यहाँ उभिरहेकाहरूमध्ये कोही-कोही यस्ता छन्‌, जसले परमेश्‍वरको राज्य नदेखेसम्म कुनै हालतमा मृत्यु चाख्नेछैनन्‌।”+

२८ वास्तवमा यो कुरा भनेको लगभग आठ दिनपछि पत्रुस, युहन्‍ना र याकुबलाई लिएर उहाँ डाँडामा प्रार्थना गर्न जानुभयो।+ २९ उहाँले प्रार्थना गरिरहनुहुँदा उहाँको अनुहार बद्‌लियो अनि उहाँको पोसाक चम्किलो सेतो भयो। ३० अनि हेर! दुई जना उहाँसित कुराकानी गरिरहेका थिए, ती दुई मोसा र एलिया थिए। ३१ उनीहरू गौरवका साथ देखा परे र उहाँको बिदाइको विषयमा कुरा गर्न थाले, जुन यरुसलेममा हुन लागेको थियो।+ ३२ त्यसबेला पत्रुस र तिनीसित भएकाहरू निद्राले लट्ठ भएका थिए तर पूरै ब्युँझिएपछि तिनीहरूले येसुको गौरव अनि उहाँसँगै उभिरहेका ती दुई जनालाई देखे।+ ३३ ती दुई जनाले उहाँलाई छोडेर जान लाग्दा पत्रुसले येसुलाई भने: “गुरुज्यू, हामी यहाँ हुनु हाम्रो लागि खुसीको कुरा हो। त्यसैले हामीलाई तीन वटा पाल टाँग्न दिनुहोस्‌। एउटा तपाईँको लागि, एउटा मोसाको लागि अनि एउटा एलियाको लागि।” तर तिनलाई आफूले बोलिरहेको कुराको कुनै हेक्का थिएन। ३४ तिनले यो कुरा भन्दाभन्दै बादल आएर तिनीहरूलाई ढाक्न थाल्यो। बादलले आफूलाई छोपेको देखेर तिनीहरू डराए। ३५ तब बादलबाट यस्तो आवाज आयो:+ “यिनी मेरो प्यारो छोरा हुन्‌, जसलाई मैले रोजेको छु।+ उनको कुरा सुन।”+ ३६ जसै यो आवाज आयो, तिनीहरूले त्यहाँ येसुलाई एक्लै पाए। तर तिनीहरू चुपचाप बसे अनि आफूले देखेको कुरा केही समयको लागि कसैलाई बताएनन्‌।+

३७ त्यसको भोलिपल्ट उहाँहरू डाँडाबाट ओर्लेपछि एउटा ठूलो जमातसित उहाँको भेट भयो।+ ३८ अनि हेर! एक जना मानिस भीडबाट यसो भन्दै करायो: “हे गुरुज्यू, बिन्ती छ, एक चोटि मेरो छोरालाई हेरिदिनुहोस्‌ किनकि ऊ मेरो एउटै सन्तान हो।+ ३९ हेर्नुहोस्‌! एउटा प्रेतले उसलाई वशमा पार्छ अनि ऊ अचानक चिच्याउँछ र त्यसले उसलाई यसरी अँठ्‌याउँछ कि उसले फीँज काढ्‌छ अनि त्यसले उसलाई घाइते बनाएपछि मात्र बल्लतल्ल छोड्‌छ। ४० त्यसैले मैले तपाईँका चेलाहरूलाई त्यसलाई धपाइदिन बिन्ती गरेको थिएँ तर तिनीहरूले सकेनन्‌।” ४१ तब येसुले जवाफ दिनुभयो: “ए अविश्‍वासी र टेढो पुस्ता,+ म तिमीहरूसित कतिन्जेल रहूँ? म तिमीहरूलाई कतिन्जेल सहूँ? तिम्रो छोरालाई यहाँ ल्याऊ।”+ ४२ ऊ आउँदाआउँदै प्रेतले उसलाई भुईँमा पछाऱ्‍यो र बेसरी अँठ्‌यायो। तर येसुले त्यस प्रेतलाई हप्काउनुभयो र त्यस केटोलाई निको पारेर उसको बुबाको जिम्मा लगाउनुभयो। ४३ तब परमेश्‍वरको अपार शक्‍ति देखेर तिनीहरू सबै छक्क परे।

उहाँले गरिरहनुभएका सबै काम देखेर तिनीहरू अचम्म मानिरहेको बेला उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: ४४ “यो कुरा ध्यान दिएर सुन र कहिल्यै नबिर्स, मानिसको छोरालाई धोका दिइनेछ अनि मानिसहरूको हातमा सुम्पिइनेछ।”+ ४५ तर तिनीहरूले यो कुरा बुझेनन्‌ किनकि यसको अर्थ तिनीहरूबाट लुकाइएको थियो। अनि तिनीहरू उहाँलाई यसको अर्थ सोध्न पनि डराए।

४६ तब आफूहरूमध्ये सबैभन्दा ठूलो को हो भनेर चेलाहरूमाझ बहस चल्न थाल्यो।+ ४७ तिनीहरूको हृदयको कुरा थाह पाएर येसुले एउटा सानो बालकलाई बोलाउनुभयो र आफ्नो छेउमा उभ्याएर ४८ तिनीहरूलाई भन्‍नुभयो: “जसले मेरो नाममा यो सानो बालकलाई स्विकार्छ, उसले मलाई पनि स्विकार्छ अनि जसले मलाई स्विकार्छ, उसले मलाई पठाउनुहुनेलाई पनि स्विकार्छ।+ जसले तिमीहरूबीच आफूलाई सबैभन्दा सानो सम्झेर व्यवहार गर्छ, उही ठूलो हो।”+

४९ तब युहन्‍नाले भने: “गुरुज्यू, एक जना मानिसले तपाईँको नाम लिएर प्रेतहरूलाई धपाइरहेको हामीले देख्यौँ र हामीले उसलाई रोक्न खोज्यौँ किनकि ऊ हामीसँग तपाईँको पछि लागेको छैन।”+ ५० तर येसुले तिनलाई भन्‍नुभयो: “तिमीहरू उसलाई रोक्न नखोज किनकि जो तिमीहरूको विरुद्धमा हुँदैन, ऊ तिमीहरूकै पक्षमा हुन्छ।”

५१ उहाँ स्वर्ग जाने+ बेला नजिकै आउन थालेपछि उहाँले यरुसलेम जाने अठोट गर्नुभयो। ५२ त्यसैले उहाँले आफ्नो अघिअघि सन्देशवाहकहरू पठाउनुभयो। तिनीहरू गए र उहाँको लागि बन्दोबस्त मिलाउन सामरियालीहरूको एउटा गाउँमा पसे। ५३ तर तिनीहरूले उहाँलाई बास दिएनन्‌+ किनकि उहाँले यरुसलेम जाने अठोट गर्नुभएको थियो। ५४ यो देखेर उहाँका दुई चेला याकुब र युहन्‍नाले+ भने: “प्रभु, तपाईँको इच्छा भए के हामी आकाशबाट आगो बर्सेर तिनीहरू भस्म होऊन्‌ भनी आज्ञा गरौँ?”+ ५५ तर पछाडि फर्केर उहाँले तिनीहरूलाई हप्काउनुभयो। ५६ तब उहाँहरू अर्कै गाउँमा जानुभयो।

५७ उहाँहरू बाटोमा जाँदै गर्दा कोही एक जनाले उहाँलाई यसो भन्यो: “तपाईँ जहाँ-जहाँ जानुहुन्छ, म त्यहाँ-त्यहाँ तपाईँको पछि लाग्नेछु।” ५८ तर येसुले उसलाई भन्‍नुभयो: “फ्याउराहरूको ओडार हुन्छ र आकाशका चराचुरुङ्‌गीको गुँड तर मानिसको छोराको भने शिर ढल्काउने ठाउँसमेत छैन।”+ ५९ त्यसपछि उहाँले अर्को एक जनालाई भन्‍नुभयो: “मेरो पछि लाग।” त्यस मानिसले भन्यो: “हे प्रभु, पहिला मलाई गएर मेरो बुबालाई गाड्‌न दिनुहोस्‌।”+ ६० तर उहाँले उसलाई भन्‍नुभयो: “मुर्दाहरूलाई + मुर्दाहरूले नै गाडून्‌ तर तिमी भने गएर सबैतिर परमेश्‍वरको राज्यको घोषणा गर।”+ ६१ अनि अर्को एक जनाले चाहिँ यसो भन्यो: “हे प्रभु, म तपाईँको पछि लाग्नेछु तर पहिला मेरो घरपरिवारसित बिदा माग्न दिनुहोस्‌।” ६२ येसुले उसलाई भन्‍नुभयो: “आफ्नो हात हलोमा राखेर पछाडि फर्केर हेर्ने + कोही पनि परमेश्‍वरको राज्यको लायक हुँदैन।”+

१० त्यसपछि प्रभुले अरू ७० जना चेला छान्‍नुभयो र आफू जान लागेको हरेक सहर अनि ठाउँमा दुई-दुई गरी पहिल्यै पठाउनुभयो।+ २ त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “साँच्चै, फसल त प्रशस्त छ तर खेतालाहरू भने थोरै छन्‌। त्यसकारण फसलका मालिकलाई उहाँको बाली काट्‌न खेतालाहरू पठाइदिनुहोस्‌ भनेर बिन्ती गर।+ ३ त्यसैले जाओ। हेर! म तिमीहरूलाई पठाउँदै छु र तिमीहरू ब्वाँसाहरूको बीचमा परेका पाठाहरू जस्तै हुनेछौ।+ ४ तिमीहरूले पैसाको थैली नबोक अनि खाजाको पोको वा जुत्ता पनि नबोक।+ तिमीहरू बाटोमा कसैलाई अभिवादन गर्नलाई* नरोकिओ। ५ जब तिमीहरू कुनै घरभित्र पस्छौ, तब सुरुमा यसो भन: ‘यो घरमा शान्ति छाओस्‌।’+ ६ यदि शान्ति चाहने व्यक्‍ति त्यहाँ रहेछ भने तिमीहरूले कामना गरेको शान्ति ऊमाथि रहनेछ। यदि रहेनछ भने त्यो शान्ति तिमीहरूकहाँ नै फर्किआउनेछ। ७ तिमीहरू त्यही घरमा बस।+ तिनीहरूले जे दिन्छन्‌, त्यही खाओ अनि पिओ+ किनकि कामदार आफ्नो ज्याला पाउन योग्यको हुन्छ।+ तिमीहरू घरघर चाहार्दै नहिँड।

८ “साथै तिमीहरू जुन सहरभित्र पस्छौ, त्यहाँ तिमीहरूलाई स्वागत गरिन्छ भने तिनीहरूले जे दिन्छन्‌ त्यही खाओ। ९ त्यहाँका बिरामीहरूलाई निको पार अनि ‘परमेश्‍वरको राज्य तिमीहरूको नजिकै आइपुगेको छ’+ भनेर तिनीहरूलाई सुनाओ। १० तर तिमीहरू जुन सहरभित्र पस्छौ, त्यहाँ तिनीहरूले स्वागत गरेनन्‌ भने तिमीहरू त्यहाँको मूलबाटोमा जाओ र भन: ११ ‘हाम्रो खुट्टामा टाँसिएको तिमीहरूको सहरको धुलोसमेत तिमीहरूविरुद्ध साक्षी होस्‌ भनेर टकटक्याउँछौँ।+ तैपनि तिमीहरूले परमेश्‍वरको राज्य नजिकै आइपुगेको छ भनेर चाहिँ नबिर्स।’ १२ म तिमीहरूलाई भन्छु, त्यस दिन सदोमले भन्दा त्यस सहरले चर्को दण्ड पाउनेछ।+

१३ “ए कोराजिन, तँलाई धिक्कार! ए बेथसेदा, तँलाई धिक्कार! किनकि तिमीहरूकहाँ गरिएका शक्‍तिशाली कामहरू टायर र सिदोनमा गरिएका भए तिनीहरूले भाङ्‌ग्रा लगाएर अनि खरानीमाथि बसेर धेरै अघि नै पश्‍चात्ताप गरिसकेका हुने थिए।+ १४ त्यसैगरि न्यायको दिनमा टायर र सिदोनले भन्दा तिमीहरूले चर्को दण्ड पाउनेछौ। १५ अनि ए कफर्नहुम, के तँचाहिँ उचालिएर आकाशसम्मै पुग्नेछस्‌? तँ तल चिहानमा* खसालिनेछस्‌!

१६ “जसले तिमीहरूको कुरा सुन्छ, त्यसले मेरो कुरा पनि सुन्छ।+ अनि जसले तिमीहरूलाई इन्कार गर्छ, त्यसले मलाई पनि इन्कार गर्छ। साथै जसले मलाई इन्कार गर्छ, त्यसले मलाई पठाउनुहुनेलाई पनि इन्कार गर्छ।”+

१७ तब ती ७० जना चेला रमाउँदै फर्के अनि उहाँलाई यसो भने: “प्रभु, हामीले तपाईँको नाम लिँदा प्रेतहरूसमेत* हाम्रो वशमा आए।”+ १८ यो सुनेर उहाँले तिनीहरूलाई भन्‍नुभयो: “बिजुली चम्केजस्तै सैतान आकाशबाट खसेको+ मैले देखेँ। १९ हेर! मैले तिमीहरूलाई सर्प अनि बिच्छीहरूलाई आफ्नो पैतालामुनि कुल्चने र शत्रुको सबै शक्‍तिमाथि विजयी हुने अख्तियार दिएको छु।+ कुनै पनि कुराले तिमीहरूलाई चोट पुऱ्‍याउनेछैन। २० तैपनि प्रेतहरू तिमीहरूको वशमा आए भनी नरमाओ बरु तिमीहरूको नाम स्वर्गमा लेखियो भनेर रमाओ।”+ २१ त्यसै बेला उहाँ असाध्यै खुसी हुनुभयो र पवित्र शक्‍तिले भरिएर यसो भन्‍नुभयो: “हे बुबा, स्वर्ग र पृथ्वीका मालिक, म सबैको अगाडि तपाईँको प्रशंसा गर्छु किनकि तपाईँले यी कुरा बुद्धिमान्‌ र बुद्धिजीवीहरूबाट+ होसियारीसाथ लुकाउनुभएको छ तर साना केटाकेटीलाई प्रकट गर्नुभएको छ। हो बुबा, यसै गर्न तपाईँलाई उचित लाग्यो।+ २२ मेरो बुबाले सबै कुरा मलाई सुम्पनुभएको छ अनि छोरालाई बुबाले बाहेक अरू कसैले चिन्दैन।+ त्यसैगरि बुबालाई छोराले अनि ती मानिसहरूले मात्र चिन्छन्‌, जसलाई छोराले प्रकट गर्न चाहन्छ।”+

२३ त्यसपछि चेलाहरूतर्फ फर्केर उहाँले तिनीहरूलाई सुटुक्क यसो भन्‍नुभयो: “धन्य हुन्‌ ती आँखाहरू, जसले तिमीहरूले देखिरहेका कुराहरू देख्छन्‌।+ २४ म तिमीहरूलाई भन्छु, धेरै भविष्यवक्‍ता र राजाहरूले तिमीहरूले देखिरहेका कुराहरू हेर्ने इच्छा गरेका थिए तर हेर्न पाएनन्‌+ अनि तिमीहरूले सुनिरहेका कुराहरू सुन्‍ने इच्छा गरेका थिए तर सुन्‍न पाएनन्‌।”

२५ तब हेर, व्यवस्थामा पोख्त एक जना मानिस उठ्‌यो र उहाँको परीक्षा गर्न यसो भन्यो: “गुरुज्यू, अनन्त जीवन पाउन मैले के गर्नुपर्छ?”+ २६ उहाँले उसलाई सोध्नुभयो: “व्यवस्थामा के लेखिएको छ? तिमीले के पढेका छौ?” २७ उसले जवाफ दियो: “‘तिमीहरूले यहोवा* तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले,* आफ्नो सारा बलले र आफ्नो सारा दिमागले प्रेम गर्नू’+ अनि ‘आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।’”+ २८ उहाँले उसलाई भन्‍नुभयो: “तिमीले ठीक जवाफ दियौ। त्यसै गरिरह अनि तिमीले जीवन पाउनेछौ।”+

२९ तर आफूलाई धर्मी साबित गर्ने मनसायले+ त्यस मानिसले येसुलाई सोध्यो: “वास्तवमा मेरो छिमेकी को हो?” ३० तब येसुले यस्तो जवाफ दिनुभयो: “एक जना मानिस यरुसलेमबाट यरिहोतिर ओर्लँदै थियो। अनि डाँकुहरूले उसलाई हमला गरे र उसको लुगासमेत लुटेर कुट्‌नसम्म कुटे अनि उसलाई अधमरो छोडेर गए। ३१ संयोगवश एक जना पुजारी त्यही बाटो भएर ओर्लँदै थियो तर उसलाई देखेपछि ऊ बाटोको पारिपट्टिबाट गयो। ३२ त्यसैगरि एक जना लेवी पनि त्यस ठाउँमा पुगेपछि उसलाई देखेर बाटोको पारिपट्टिबाट गयो। ३३ एक जना सामरियाली+ पनि त्यही बाटो भएर यात्रा गरिरहेको थियो अनि त्यहाँ पुगेपछि उसलाई देखेर टिठायो। ३४ त्यसैले उसको नजिक गएर त्यस सामरियालीले उसको घाउमा तेल र दाखमद्य* लगाएर पट्टी बाँधिदियो। त्यसपछि उसलाई आफ्नो गधामा चढाएर पौवामा लग्यो र त्यहाँ उसको स्याहारसुसार गऱ्‍यो। ३५ भोलिपल्ट त्यस सामरियालीले दुई दिनार* निकालेर पौवाको मालिकलाई दियो र भन्यो: ‘तिमीले उसको हेरविचार गर्नू र यसबाहेक जति खर्च लाग्छ, फर्केर आउँदा म तिरूँला।’ ३६ अब भन, यी तीन जनामध्ये कोचाहिँ डाँकुहरूको फेला पर्ने त्यस मानिसको छिमेकी+ ठहरियो?” ३७ उसले भन्यो: “जसले ऊसित कृपालु व्यवहार गऱ्‍यो,+ त्यहीचाहिँ।” तब येसुले उसलाई भन्‍नुभयो: “जाऊ, तिमी पनि त्यसै गर।”+

३८ उहाँहरू जाँदै गर्दा उहाँ कुनै एउटा गाउँमा पस्नुभयो। त्यहाँ मार्था+ नाम गरेकी एक जना स्त्रीले उहाँलाई आफ्नो घरमा पाहुना बोलाइन्‌। ३९ तिनको मरियम नाम गरेकी बहिनी पनि थिइन्‌, जो प्रभुको पाउनेर बसेर उहाँको कुरा सुनिरहेकी थिइन्‌। ४० तर मार्था भने थुप्रै कुरा तयारी गर्नमा अल्झिएकी थिइन्‌। त्यसैले येसुकहाँ गएर तिनले उहाँलाई भनिन्‌: “प्रभु, मेरी बहिनीले सबै काम म एक्लैलाई छोडेको के तपाईँलाई वास्ता छैन? आएर मलाई सघाउन उसलाई भनिदिनुहोस्‌ न।” ४१ तब प्रभुले तिनलाई यस्तो जवाफ दिनुभयो: “ए मार्था, मार्था, तिमी धेरै कुराको चिन्ता गर्छ्यौ। ४२ हामीलाई धेरै कुरा चाहिँदैन, एक थरी मात्रै भए पनि पुग्छ। मरियमले आफ्नो निम्ति असल भाग रोजेकी छे+ र त्यो ऊबाट खोसिनेछैन।”

११ एकपटक उहाँ कुनै एउटा ठाउँमा प्रार्थना गरिरहनुभएको थियो। उहाँले प्रार्थना गरिसक्नुभएपछि उहाँका एक जना चेलाले उहाँलाई भने: “प्रभु, युहन्‍नाले आफ्ना चेलाहरूलाई प्रार्थना गर्न सिकाएजस्तै हामीलाई पनि सिकाउनुहोस्‌।”

२ तब उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूले प्रार्थना गर्दा यसो भन: ‘हे बुबा, तपाईँको नाम पवित्र पारियोस्‌।*+ तपाईँको राज्य आओस्‌।+ ३ हाम्रो दैनिक आवश्‍यकताअनुसार हामीलाई हरेक दिन भोजन* दिनुहोस्‌।+ ४ हाम्रा पापहरू क्षमा गर्नुहोस्‌+ किनकि हामी पनि हाम्रो हरेक ऋणीलाई* क्षमा गर्छौँ + अनि हामीलाई प्रलोभनमा पर्न नदिनुहोस्‌।’”+

५ त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “मानौँ, तिमीहरूमध्ये कसैको एक जना साथी छ र तिमी मध्यरातमा उसकहाँ गएर यसो भन्छौ: ‘ए साथी, मलाई तीन वटा रोटी पैँचो देऊ ६ किनकि मेरो एक जना साथी यात्रा गरेर भर्खरै मकहाँ आएको छ र उसलाई खुवाउन मसित केही छैन।’ ७ अनि उसले भित्रबाट यस्तो जवाफ दिन्छ: ‘मलाई दुःख नदेऊ। ढोका बन्द भइसकेको छ र मेरा बालबच्चा मसितै ओछ्यानमा सुतिसकेका छन्‌। त्यसैले म उठेर तिमीलाई केही दिन सक्दिनँ।’ ८ म तिमीहरूलाई भन्छु, साथीको नाताले नदिए तापनि तिमीले खुरन्धार बिन्ती गरिरहेकोले+ उसले उठेर तिमीलाई चाहिएको कुरा दिनेछ। ९ त्यसैले म तिमीहरूलाई भन्छु, मागिरहो+ अनि तिमीहरूलाई दिइनेछ; खोजिरहो अनि तिमीहरूले भेट्टाउनेछौ; ढकढक्याइरहो अनि तिमीहरूको निम्ति उघारिनेछ।+ १० किनकि जसले मागिरहन्छ, उसले पाउँछ;+ जसले खोजिरहन्छ, उसले भेट्टाउँछ अनि जसले ढकढक्याइरहन्छ, उसको निम्ति उघारिनेछ। ११ तिमीहरूमध्ये कोचाहिँ यस्तो बुबा होला, जसले आफ्नो छोराले माछा माग्दा माछाको सट्टा सर्प देला?+ १२ अथवा उसले अण्डा माग्दा बिच्छी देला? १३ त्यसकारण यदि तिमीहरू दुष्ट भईकन पनि आफ्ना छोराछोरीलाई राम्रा कुरा दिन जान्दछौ भने स्वर्गमा बस्नुहुने बुबाले उहाँसित माग्नेहरूलाई झन्‌ कत्ति धेरै पवित्र शक्‍ति* दिनुहुनेछ!”+

१४ पछि येसुले एक जना मानिसबाट प्रेत* धपाउनुभयो, जसले त्यस मानिसलाई गुँगो बनाएको थियो।+ प्रेत निस्केपछि त्यो गुँगो बोल्न थाल्यो अनि भीड छक्क पऱ्‍यो।+ १५ तर तिनीहरूमध्ये कोही-कोहीले यसो भने: “यसले प्रेतहरूको शासक बालजिबुलको* मदतले प्रेतहरूलाई धपाउँछ।”+ १६ अरूले चाहिँ उहाँको परीक्षा लिन उहाँसित स्वर्गबाट एउटा चिन्ह माग्न थाले।+ १७ तिनीहरूको विचार थाह पाएर+ उहाँले भन्‍नुभयो: “जुन राज्यभित्र फूट छ, त्यो उजाड हुन्छ अनि जुन घरभित्र फूट छ, त्यसको पतन हुन्छ। १८ त्यसैले सैतान आफैमा फूट छ भने त्यसको राज्य कसरी टिक्ला र? किनकि तिमीहरू भन्छौ, म बालजिबुलको मदतले प्रेतहरूलाई धपाउँछु। १९ यदि म बालजिबुलको मदतले प्रेतहरूलाई धपाउँछु भने तिमीहरूका छोराहरूचाहिँ* कसको मदतले धपाउँछन्‌? त्यसैले तिमीहरूका छोराहरूले नै तिमीहरूलाई गलत साबित गर्नेछन्‌। २० तर यदि म परमेश्‍वरको पवित्र शक्‍तिले*+ प्रेतहरूलाई धपाउँछु भने यसको मतलब परमेश्‍वरको राज्य आएको तिमीहरूले चालै पाएका रहेनछौ।+ २१ हातहतियारले सुसज्जित बलियो मानिसले आफ्नो घरको रखवाली गरेको छ भने उसको सम्पत्ति सुरक्षित हुन्छ। २२ तर ऊभन्दा बलियो कुनै मानिस आएर उसलाई हरायो भने त्यसले ती सबै हातहतियार लैजान्छ, जसमाथि उसले भरोसा गरिरहेको थियो। अनि ऊबाट लुटेका कुराहरू भाग लगाउँछ। २३ जो मेरो पक्षमा छैन, त्यो मेरो विरुद्धमा हुन्छ अनि जसले मसँग बटुल्दैन, त्यसले छरपस्ट पार्छ।+

२४ “जब एउटा प्रेत एक जना मानिसबाट बाहिर निस्कन्छ, तब त्यसले सुक्खा ठाउँहरूमा विश्रामस्थल खोज्छ तर कतै नभेटेपछि त्यसले भन्छ, ‘म जुन घरबाट निस्केर आएँ, त्यहीँ फर्किन्छु।’+ २५ अनि त्यहाँ पुग्दा त्यसले त्यो घर सफा पारेर सजिसजाउ गरिएको पाउँछ। २६ तब त्यो जान्छ र आफूभन्दा झन्‌ दुष्ट अरू सात वटा प्रेतलाई सँगै लिएर आउँछ र तिनीहरू त्यस मानिसभित्र पसेर त्यहीँ बस्छन्‌। त्यसैले त्यस मानिसको पछिल्लो अवस्था पहिलेको भन्दा झन्‌ खराब हुन्छ।”

२७ उहाँले यी कुरा भन्दै गर्नुहुँदा भीडको माझबाट एउटी स्त्रीले ठूलो स्वरमा उहाँलाई यसो भनी: “आनन्दित हुन्‌ ती आमा, जसको कोखबाट तपाईँले जन्म लिनुभयो र जसको स्तन तपाईँले चुस्नुभयो!”+ २८ तर उहाँले भन्‍नुभयो: “त्यसो होइन। आनन्दित त तिनीहरू हुन्‌, जसले परमेश्‍वरको वचन सुन्छन्‌ र पालन गर्छन्‌!”+

२९ भीड जम्मा हुन थालेपछि उहाँले यसो भन्‍न सुरु गर्नुभयो: “यो पुस्ता दुष्ट पुस्ता हो। यसले चिन्ह खोज्छ तर यसलाई योनाको चिन्हबाहेक अरू कुनै चिन्ह दिइनेछैन।+ ३० जसरी योना+ निनवेवासीहरूका लागि चिन्ह भए, त्यसरी नै मानिसको छोरा पनि यस पुस्ताको लागि चिन्ह हुनेछ। ३१ न्यायको बेला दक्षिणकी महारानी+ यस पुस्ताका मानिसहरूसँगै खडा हुनेछिन्‌ र यिनीहरूलाई दोषी ठहराउनेछिन्‌ किनभने सुलेमानका बुद्धिका कुराहरू सुन्‍न तिनी पृथ्वीको पल्लो छेउबाट आइन्‌। तर हेर! सुलेमानभन्दा पनि ठूलो कोही एक जना यहाँ छ।+ ३२ न्यायको बेला निनवेका मानिसहरू यो पुस्तासँगै खडा हुनेछन्‌ र यसलाई दोषी ठहराउनेछन्‌ किनभने योनाले प्रचार गर्दा तिनीहरूले पश्‍चात्ताप गरे।+ तर हेर! योनाभन्दा पनि ठूलो कोही एक जना यहाँ छ। ३३ कसैले पनि दियो बालेर त्यसलाई लुकाउँदैन न त टोकरीले* छोप्छ तर भित्र पस्ने सबैलाई उज्यालो होस्‌ भनेर त्यसलाई पानसमा राख्छ।+ ३४ तिम्रो शरीरको बत्ती तिम्रो आँखा हो। तिम्रो आँखा एउटै कुरामा केन्द्रित* छ भने पूरै शरीर उज्यालो हुन्छ तर तिम्रो आँखा ईर्ष्यालु* छ भने तिम्रो शरीर अँध्यारो हुन्छ।+ ३५ त्यसैले सतर्क रहो, कतै तिमीमा भएको उज्यालो अँध्यारो नहोस्‌। ३६ त्यसकारण तिम्रो शरीर पूरै उज्यालो छ र कुनै पनि भाग अँध्यारो छैन भने दियोको किरणले दिने उज्यालोजस्तै तिम्रो शरीर पनि पूरै उज्यालो हुनेछ।”

३७ उहाँले यो कुरा भनिसक्नुभएपछि एक जना फरिसीले* उहाँलाई आफूकहाँ खाना खान निम्तो दिए। त्यसैले उहाँ जानुभयो र खान बस्नुभयो। ३८ तर खानअघि उहाँले हात नधुनुभएको* देखेर+ ती फरिसी छक्क परे। ३९ तर प्रभुले तिनलाई भन्‍नुभयो: “तिमी फरिसीहरू ती कचौरा र थालजस्ता छौ, जुन बाहिर मात्र माझिएको हुन्छ तर भित्र भने फोहोरै हुन्छ। तिमीहरूभित्र लोभ र दुष्टता भरिएको छ।+ ४० ए बेसमझ मानिसहरू! जसले बाहिरी भाग बनाउनुभयो, उहाँले नै भित्री भाग पनि बनाउनुभएको होइन र? ४१ त्यसैले दानपुण्य* गर्दा मनैदेखि गर र हेर, बाँकी सबै कुरामा तिमी शुद्ध हुनेछौ। ४२ तर धिक्कार छ तिमीहरूलाई, ए फरिसी हो! किनकि तिमीहरू पुदिना, सोमलता* र अरू सबै जडीबुटीका* दशांश चढाउँछौ+ तर न्याय र परमेश्‍वरप्रतिको प्रेमलाई चाहिँ बेवास्ता गर्छौ। तिमीहरूले ती कुराहरू चढाउनुपर्थ्यो तर न्याय र परमेश्‍वरप्रतिको प्रेमलाई पनि लत्त्याउनु हुँदैनथ्यो।+ ४३ धिक्कार छ तिमीहरूलाई, ए फरिसी हो! किनकि तिमीहरू सभाघरहरूमा सबैभन्दा अगाडि* बस्न रुचाउँछौ र बजारहरूमा विशेष अभिवादन चाहन्छौ।+ ४४ धिक्कार छ तिमीहरूलाई! किनकि तिमीहरू ती चिहानहरू जस्ता छौ, जो बाहिरबाट देखिँदैनन्‌+ अनि चालै नपाई मानिसहरू त्यसमाथि टेकेर हिँड्‌छन्‌।”

४५ यो सुनेर व्यवस्थामा पोख्त एक जना मानिसले उहाँलाई भन्यो: “गुरुज्यू, यस्तो कुरा गरेर तपाईँ हाम्रो पनि अपमान गर्दै हुनुहुन्छ।” ४६ त्यसपछि उहाँले भन्‍नुभयो: “ए व्यवस्थामा पोख्त मानिसहरू, तिमीहरूलाई पनि धिक्कार छ! किनकि तिमीहरू मानिसहरूलाई बोझिला नियमहरूको भारी बोकाउँछौ तर आफू भने एउटा औँलाले पनि ती छुँदैनौ।+

४७ “धिक्कार छ तिमीहरूलाई! किनकि तिमीहरू ती भविष्यवक्‍ताहरूको चिहान बनाउँछौ, जसलाई तिमीहरूकै पितापुर्खाले मारे।+ ४८ आफ्ना पितापुर्खाका कर्तुत थाह हुँदाहुँदै पनि तिमीहरू तिनीहरूले मारेका भविष्यवक्‍ताहरूको+ चिहान बनाएर तिनीहरूलाई आफ्नो मन्जुरी दिन्छौ। ४९ यसैले आफ्नो बुद्धि प्रकट गर्दै परमेश्‍वरले यसो भन्‍नुभयो: ‘म तिनीहरूकहाँ भविष्यवक्‍ताहरू र प्रेषितहरू पठाउनेछु अनि तिनीहरूले उनीहरूमध्ये कसै-कसैलाई मार्नेछन्‌ र कसै-कसैको खेदो गर्नेछन्‌ ५० ताकि संसारको प्रारम्भदेखि मारिएका सबै भविष्यवक्‍ताको रगतको हिसाब यस पुस्तासित लिन सकियोस्‌,+ ५१ हाबिलको रगतदेखि+ जकरियाको रगतसम्म, जसको हत्या वेदी र मन्दिरको बीचमा भएको थियो।’+ हो, म तिमीहरूलाई भन्छु, त्यसको हिसाब यस पुस्तासित लिइनेछ।

५२ “ए व्यवस्थामा पोख्त मानिसहरू, तिमीहरूलाई धिक्कार छ! किनकि तिमीहरूले ज्ञानको साँचो खोसेर लग्यौ। तिमीहरू आफू पनि भित्र पसेनौ र पस्नेहरूलाई पनि रोक्न खोज्छौ।”+

५३ त्यसैले उहाँ त्यहाँबाट बाहिर निस्कनुभएपछि शास्त्रीहरू र फरिसीहरू उहाँको पछि लागेर उहाँलाई हैरान पार्न अनि प्रश्‍नमाथि प्रश्‍न गर्न थाले। ५४ तिनीहरू उहाँले भन्‍नुभएको कुरामा उहाँलाई फसाउन दाउ खोजिरहेका थिए।+

१२ त्यसबीच हजारौँको सङ्‌ख्यामा मानिसहरूको भीड जम्मा भयो, यहाँसम्म कि टेक्ने ठाउँसमेत नपाएर तिनीहरूले एकअर्काको खुट्टा कुल्चिरहेका थिए। तब येसुले सिकाउन थाल्नुभयो र सबैभन्दा पहिला आफ्ना चेलाहरूलाई यसो भन्‍नुभयो: “फरिसीहरूको* खमिर* अर्थात्‌ कपटदेखि होसियार रहो।+ २ होसियारीपूर्वक ढाकछोप गरिएको यस्तो कुनै कुरा छैन, जुन उदाङ्‌ग हुँदैन अनि यस्तो कुनै गोप्य कुरा छैन, जुन थाह हुँदैन।+ ३ त्यसैले जे तिमीहरू अन्धकारमा भन्छौ, त्यो उज्यालोमा सुनिनेछ अनि जे तिमीहरू भित्री कोठाहरूमा खुसुक्क भन्छौ, त्यो घरको धुरीबाट फुकिनेछ। ४ साथै हे मेरा मित्रहरू,+ म तिमीहरूलाई भन्छु, त्यस्ताहरूसित नडराओ, जसले तिमीहरूको शरीर मार्न सक्छन्‌ तर त्योभन्दा बढ्‌ता अरू केही गर्न सक्दैनन्‌।+ ५ तर कोसित डराउनुपर्छ, म तिमीहरूलाई बताउँछु: उहाँसित डराओ, जोसँग ज्यान लिएपछि गेहेन्‍नामा* फ्याँक्ने अख्तियार छ।+ हो, म तिमीहरूलाई भन्छु, उहाँसितै डराओ।+ ६ के पाँच वटा भँगेरा दुई पैसामा* बिक्दैन र? तैपनि तीमध्ये एउटा पनि परमेश्‍वरले बिर्सनुहुन्‍न।*+ ७ तर तिमीहरूको शिरको केशसमेत सबै गनिएका छन्‌।+ नडराओ, तिमीहरू थुप्रै भँगेराभन्दा बहुमूल्य छौ।+

८ “त्यसैले म तिमीहरूलाई भन्छु, जसले मलाई मानिसहरूसामु स्वीकार गर्छ,+ मानिसको छोराले पनि उसलाई परमेश्‍वरका स्वर्गदूतहरूसामु स्वीकार गर्नेछ।+ ९ तर जसले मलाई मानिसहरूसामु इन्कार गर्छ, उसलाई पनि परमेश्‍वरका स्वर्गदूतहरूसामु इन्कार गरिनेछ।+ १० जसले मानिसको छोराको विरुद्धमा बोल्छ, उसलाई क्षमा दिइनेछ। तर जसले पवित्र शक्‍तिको निन्दा गर्छ, उसलाई क्षमा दिइनेछैन।+ ११ तिनीहरूले जनतासामु,* सरकारी अधिकृतहरूसामु अनि अख्तियारवालाहरूसामु तिमीहरूलाई उभ्याउँदा आफ्नो बचाउको लागि के भन्‍ने अथवा कसरी भन्‍ने भनी चिन्ता नगर+ १२ किनकि तिमीहरूले के भन्‍नुपर्ने हो, पवित्र शक्‍तिले तिमीहरूलाई त्यतिखेरै सिकाउनेछ।”+

१३ तब भीडबाट एक जनाले उहाँलाई भन्यो: “गुरुज्यू, मेरो दाइलाई हाम्रो पुर्ख्यौली सम्पत्तिको अंशबण्डा गर्न भनिदिनुहोस्‌।” १४ उहाँले तिनलाई भन्‍नुभयो: “ए मित्र, तिमीहरू दुई जनाबीच न्याय गरिदिन वा अंशबण्डा गरिदिन कसले मलाई नियुक्‍त गऱ्‍यो?” १५ तब उहाँले मानिसहरूलाई भन्‍नुभयो: “तिमीहरूका आँखा खुला राख र हरप्रकारको लोभबाट आफूलाई जोगाओ+ किनभने मानिस जति नै सम्पन्‍न भए तापनि त्यसले उसलाई जीवन दिँदैन।”+ १६ त्यसपछि उहाँले तिनीहरूलाई यस्तो उदाहरण सुनाउनुभयो: “एक जना धनी मानिसको जमिनले राम्रो उब्जनी दियो। १७ त्यसैले उसले मनमनै भन्‍न थाल्यो: ‘यत्रो उब्जनी राख्ने ठाउँ मसित छैन, अब के गर्ने होला?’ १८ उसले भन्यो: ‘म यसो गर्छु:+ मेरो भण्डार भत्काउँछु अनि अझ ठूलो भण्डार बनाउँछु र मेरा सबै अनाज र सरसम्पत्ति त्यहीँ राख्छु। १९ अनि आफूलाई भन्‍नेछु: “तँसित वर्षौँलाई पुग्ने सरसम्पत्ति छ। त्यसैले आरामसित बसेर खा, पि अनि मोज गर्‌।”’ २० तर परमेश्‍वरले उसलाई भन्‍नुभयो: ‘ए बेसमझ, यही रात तिनीहरूलाई तेरो ज्यान चाहिएको छ। तैँले जम्मा गरेका कुराहरू अब कसको होला?’+ २१ जुन मानिसले आफ्नो लागि धनसम्पत्ति थुपार्छ तर परमेश्‍वरको नजरमा चाहिँ धनी हुँदैन, त्यसको हालत यस्तै हुनेछ।”+

२२ अनि उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “यसकारण म तिमीहरूलाई भन्छु: के खाऔँला भनी आफ्नो जीवनको विषयमा वा के लगाऔँला भनी आफ्नो शरीरको विषयमा चिन्ता गर्न छोडिहाल।+ २३ किनकि भोजनभन्दा जीवन र लुगाफाटाभन्दा शरीर महत्त्वपूर्ण हो। २४ कागहरूलाई हेर, तिनीहरू न बिउ छर्छन्‌ न कटनी गर्छन्‌ न त धनसार वा भण्डारमै जम्मा गर्छन्‌ तैपनि परमेश्‍वरले तिनीहरूलाई खुवाउनुहुन्छ।+ के तिमीहरू चराहरूभन्दा बहुमूल्य छैनौ?+ २५ तिमीहरूमध्ये कसले पो चिन्ता गरेर आफ्नो आयु एक हात* लम्ब्याउन सक्छौ र? २६ यदि तिमीहरूले यति सानो कुरा त गर्न सक्दैनौ भने बाँकी अरू कुराको किन चिन्ता गर्छौ?+ २७ लिली फूलहरू कसरी बढ्‌छन्‌, विचार गर; तिनीहरू न परिश्रम गर्छन्‌ न त धागो कात्छन्‌। तर म तिमीहरूलाई भन्छु, सारा वैभवले सुसज्जित सुलेमानसमेत यी फूलहरूमध्ये एउटा जति पनि सिँगारिएका थिएनन्‌।+ २८ यदि परमेश्‍वरले आज देखिने अनि भोलि चुल्होमा फ्याँकिने मैदानका बोटबिरुवालाई त यसरी पहिराउनुहुन्छ भने हे विश्‍वास कमजोर भएकाहरू हो, उहाँले तिमीहरूलाई झन्‌ कत्ति धेरै पहिराउनुहुन्छ होला! २९ त्यसैले ‘हामी के खाऔँला?’ वा ‘के पिऔँला?’ वा ‘के लगाऔँला?’ भनेर अचाक्ली चिन्ता गर्न छोडिहाल।+ ३० किनकि संसारका मानिसहरू यी नै कुराका लागि मरिहत्ते गर्छन्‌। तर यी कुराहरू तिमीहरूलाई चाहिन्छ भनेर तिमीहरूका बुबालाई थाह छ।+ ३१ बरु उहाँको राज्यलाई पहिलो स्थान दिइरहो अनि यी कुराहरू तिमीहरूलाई दिइनेछ।+

३२ “हे सानो बगाल,+ नडराओ किनकि तिमीहरूका बुबाले तिमीहरूलाई राज्य दिन मन्जुर गरिसक्नुभएको छ।+ ३३ आफूसित भएका कुराहरू बेच र दानपुण्य* गर।+ आफ्नो लागि कहिल्यै नफाट्‌ने थैली बनाओ अनि कहिल्यै नसिद्धिने धनसम्पत्ति स्वर्गमा थुपार,+ जहाँ कुनै चोर त्यसको छेउछाउमा पुग्दैन अनि जहाँ किराले पनि खाँदैन। ३४ किनकि जहाँ तिमीहरूको धन हुन्छ, त्यहीँ तिमीहरूको मन पनि हुन्छ।

३५ “तिमीहरू कम्मर कसेर बस+ अनि तिमीहरूको दियो बलिरहोस्‌।+ ३६ तिमीहरू ती मानिसहरूजस्तो होओ, जो आफ्ना मालिक विवाह-भोजबाट फर्केर+ तिनले ढोका ढकढक्याउँदा तुरुन्तै खोल्न सकियोस्‌ भनेर कुरिरहेका+ हुन्छन्‌। ३७ आनन्दित हुन्‌ ती दासहरू, जसलाई मालिकले जागा बसिरहेको पाउँछन्‌! म तिमीहरूलाई साँच्चै भन्छु, तिनले आफ्नो कम्मर कस्नेछन्‌ र आफ्ना दासहरूलाई खान बसाउनेछन्‌ अनि छेवैमा गएर तिनीहरूको सेवा गर्नेछन्‌। ३८ तिनी दोस्रो प्रहरमा* वा तेस्रो प्रहरमै* आउँदा पनि तिनीहरूलाई जागै पाउँछन्‌ भने तिनीहरू आनन्दित हुन्‌! ३९ तर यो कुरा जानिराख, यदि घरमालिकलाई चोर कुन बेला आउने हो, त्यो थाह भएको भए उसले त्यसलाई आफ्नो घर फोर्न दिने थिएन।+ ४० त्यसैगरि तिमीहरू पनि तयार रहो किनकि तिमीहरूले नचिताएको बेला मानिसको छोरा आउनेछ।”+

४१ तब पत्रुसले भने: “प्रभु, तपाईँले यो उदाहरण हाम्रो लागि मात्र बताउनुभएको हो कि सबैका लागि?” ४२ अनि प्रभुले भन्‍नुभयो: “वास्तवमा विश्‍वासी र बुद्धिमान्‌* भण्डारे को हो, जसलाई उसको मालिकले आफ्ना सेवकहरूको दललाई ठीक समयमा र ठीक मात्रामा भोजन दिइरहोस्‌ भनेर तिनीहरूमाथि नियुक्‍त गर्नेछन्‌?+ ४३ आनन्दित हो त्यो दास, जसलाई उसको मालिकले फर्केर आउँदा त्यसै गरिरहेको भेट्टाउँछन्‌! ४४ म तिमीहरूलाई साँचो-साँचो भन्छु, तिनले उसलाई आफ्ना सबै सम्पत्तिमाथि नियुक्‍त गर्नेछन्‌। ४५ तर यदि त्यो दासले ‘मेरो मालिक बियाँलो गर्नुहुन्छ’ भनी मनमनै भन्यो र आफ्ना सङ्‌गी दास-दासीलाई पिट्‌न थाल्यो अनि खान, पिउन र मात्तिन थाल्यो भने+ ४६ त्यस दासको मालिक उसले आसै नगरेको दिनमा र उसलाई थाहै नभएको समयमा आउनेछन्‌। अनि उसलाई असाध्यै कठोर दण्ड दिनेछन्‌ र विश्‍वासघातीहरू भएको ठाउँमा फ्याँकिदिनेछन्‌। ४७ अनि जुन दास आफ्नो मालिकको इच्छा बुझेर पनि तयार हुँदैन वा तिनले भनेअनुसार* गर्दैन, उसलाई धेरै चोटि कोर्रा लगाइनेछ।+ ४८ तर जुन दासले नबुझेर कोर्रा खान लायकको काम गर्छ, उसलाई थोरै चोटि मात्र कोर्रा लगाइनेछ। हो, जसलाई धेरै दिइएको छ, ऊबाट धेरै नै माग गरिनेछ अनि जसलाई धेरै कुरा सुम्पिइएको हुन्छ, ऊबाट साबिकभन्दा बढी नै माग गरिनेछ।+

४९ “म पृथ्वीमा आगो सल्काउन आएँ। यदि त्यो पहिल्यै सल्किसकेको छ भने मलाई अरू के चाहियो र? ५० हो, मैले गर्नुपर्ने एउटा बप्तिस्मा छ र त्यो बप्तिस्मा नगरुन्जेल म अत्यन्तै व्याकुल हुनेछु!+ ५१ के तिमीहरू म पृथ्वीमा शान्ति ल्याउन आएको हुँ भन्ठान्छौ? त्यसो होइन, म तिमीहरूलाई भन्छु, म त फूट गराउन आएको हुँ।+ ५२ अब उप्रान्त एउटै घरका पाँच जनाबीच फूट हुनेछ; तीन जनाको विरुद्धमा दुई जना अनि दुई जनाको विरुद्धमा तीन जना उठ्‌नेछन्‌। ५३ बुबा छोराविरुद्ध, छोरा बुबाविरुद्ध, आमा छोरीविरुद्ध, छोरी आमाविरुद्ध, सासू बुहारीविरुद्ध अनि बुहारी सासूविरुद्ध उठ्‌नेछन्‌ र तिनीहरूबीच फूट हुनेछ।”+

५४ उहाँले भीडलाई यसो पनि भन्‍नुभयो: “पश्‍चिमतिर बादल मडारिएको देख्नेबित्तिकै तिमीहरू भन्छौ: ‘आँधी आउँदै छ’ अनि ठीक त्यस्तै हुन्छ। ५५ दक्षिणबाट बतास चलेको देखेपछि तिमीहरू भन्छौ: ‘लू चल्नेछ’ अनि त्यस्तै हुन्छ। ५६ ए कपटीहरू हो, तिमीहरू मौसम हेरेर त्यसको अर्थ लगाउन जान्दछौ तर अहिले भइरहेको कुरा हेरेर त्यसको अर्थ लगाउन भने किन जान्दैनौ?+ ५७ कुन कुरा ठीक हो भनेर तिमीहरू आफै किन निर्णय गर्दैनौ? ५८ उदाहरणको लागि, तिम्रो वादीसित अदालतको हाकिमकहाँ जाँदै गर्दा बाटोमा छँदै मिलाप गर्ने कोसिस गरिहाल नत्र त तिनले तिमीलाई न्यायाधीशसामु उभ्याउनेछन्‌ अनि न्यायाधीशले पहरेदारको जिम्मा लगाउनेछन्‌ र पहरेदारले तिमीलाई झ्यालखानामा जाकिदिनेछन्‌।+ ५९ म तिमीलाई भन्छु, तिमीले पाईपाई* चुक्‍ता नगरेसम्म कुनै पनि हालतमा त्यहाँबाट छुट्‌न पाउनेछैनौ।”

१३ त्यसबेला त्यहाँ उपस्थित कसै-कसैले मन्दिरमा बलि चढाइरहेका केही गालिलीको पिलातसले हत्या गरेका थिए भनेर उहाँलाई खबर दिए। २ तब उहाँले तिनीहरूलाई भन्‍नुभयो: “के तिमीहरू यस्तो घटनाको सिकार हुने गालिलीहरूलाई अरू सबै गालिलीभन्दा बढ्‌ता पापी ठान्छौ? ३ म तिमीहरूलाई भन्छु, त्यसो होइन तर तिमीहरूले पश्‍चात्ताप गरेनौ भने तिमीहरू सबै पनि तिनीहरूजस्तै नष्ट हुनेछौ।+ ४ त्यसैगरि सिलोआमको धरहरा ढल्दा त्यसले थिचेर मर्ने १८ जनालाई के तिमीहरू यरुसलेमका अरू सबै बासिन्दाभन्दा बढ्‌ता दोषी ठान्छौ? ५ म तिमीहरूलाई भन्छु, त्यसो होइन तर तिमीहरूले पश्‍चात्ताप गरेनौ भने तिमीहरू सबै पनि तिनीहरूजस्तै नष्ट हुनेछौ।”

६ त्यसपछि उहाँले तिनीहरूलाई यो उदाहरण सुनाउनुभयो: “एक जना मानिसले अङ्‌गुर बगानमा अन्जिरको रूख लगाएको थियो अनि त्यसमा फल लागेको छ कि भनेर खोज्दा उसले केही भेटेन।+ ७ तब उसले बगानको मालीलाई भन्यो: ‘मैले यस अन्जिरको रूखमा फल खोज्न थालेको तीन वर्ष भइसक्यो तर अहिलेसम्म एउटै फेला पारिनँ। त्यसैले यसलाई काटिदेऊ! यसलाई किन बेकारमा जमिन ओगट्‌न दिने?’ ८ मालीले उसलाई जवाफ दियो: ‘मालिक, यसलाई यो वर्ष यत्तिकै रहन दिनुहोस्‌, म यसको वरिपरि खनेर मल हाल्छु। ९ यसले फल फलायो भने बेसै भयो, होइन भने काट्‌न लगाउनुहोला।’”+

१० एकपटक विश्रामदिनमा* उहाँ कुनै एउटा सभाघरमा सिकाउँदै हुनुहुन्थ्यो। ११ अनि हेर! बितेको १८ वर्षदेखि प्रेतले* कमजोर* बनाएको एउटी स्त्री त्यहाँ थिई। कुप्री भएकीले ऊ ठाडो उभिन सक्दिनथी। १२ त्यस स्त्रीलाई देखेपछि येसुले उसलाई भन्‍नुभयो: “ए नारी, तिम्रो दुर्बलताबाट तिमी मुक्‍त भयौ।”+ १३ अनि उहाँले ऊमाथि आफ्नो हात राख्नुभयो। उत्तिखेरै ऊ सीधा भई र परमेश्‍वरको महिमा गर्न थाली। १४ येसुले यसरी विश्रामदिनमा निको पार्नुभएको देखेर रिसले चूर भएका सभाघरका पदाधिकारीले भीडलाई यसो भने: “काम गर्नका लागि छ दिन छुट्ट्याइएको छ।+ त्यसैले ती दिनमा आएर निको होओ, विश्रामदिनमा होइन।”+ १५ तर प्रभुले तिनलाई यस्तो जवाफ दिनुभयो: “कपटीहरू हो,+ के तिमीहरू सबै जना विश्रामदिनमा आफ्नो गोरु वा गधालाई किलाबाट फुकाएर पानी खुवाउन लैजादैनौ?+ १६ त्यसोभए हेर, सैतानले बितेको १८ वर्षदेखि बाँधेर राखेको यो स्त्री, जो अब्राहामकी छोरी हुन्‌, उसलाई विश्रामदिनमा फुकाउनु के उचित होइन?” १७ उहाँको यो कुरा सुनेर उहाँका सबै विरोधी लज्जित भए तर भीडमा हुनेजति सबै भने उहाँले गर्नुभएका यी सब आश्‍चर्यजनक काम देखेर खुसी भए।+

१८ उहाँले अझै यसो भन्‍नुभयो: “परमेश्‍वरको राज्य केजस्तो हो र त्यसलाई म केसित तुलना गरूँ? १९ त्यो त रायोको दानाजस्तो हो, जसलाई एक जना मानिसले आफ्नो खेतमा रोप्यो र त्यो बढेर रूख बन्यो अनि त्यसका हाँगाहरूमा आकाशका चराचुरुङ्‌गी बास बस्न थाले।”+

२० उहाँले फेरि यसो भन्‍नुभयो: “परमेश्‍वरको राज्यलाई म केसित तुलना गरूँ? २१ त्यो त खमिरजस्तो* हो, जसलाई एउटी स्त्रीले तीन भाँडो* पीठोमा मिसाई र पूरै पीठो खमिरा नहोउन्जेल राखिछोडी।”+

२२ अनि उहाँ सहर-सहर र गाउँ-गाउँमा सिकाउँदै यरुसलेमतिर जानुभयो। २३ तब एक जना मानिसले उहाँलाई सोध्यो: “हे प्रभु, के थोरैले मात्र उद्धार पाउँछन्‌?” उहाँले तिनीहरूलाई भन्‍नुभयो: २४ “साँघुरो ढोकाबाट भित्र पस्न भरमग्दुर कोसिस गर।+ किनकि म तिमीहरूलाई भन्छु, धेरै जनाले भित्र पस्न कोसिस गर्नेछन्‌ तर सफल हुनेछैनन्‌। २५ अनि घरधनीले ढोका बन्द गरिसकेपछि तिमीहरूले बाहिर उभिएर ढोका ढकढक्याउँदै यसो भन्‍नेछौ: ‘प्रभु, हाम्रो लागि ढोका खोलिदिनुहोस्‌ न।’+ तर उसले तिमीहरूलाई भन्‍नेछ: ‘तिमीहरू कहाँबाट आएका हौ, मलाई थाह छैन।’ २६ तब तिमीहरूले यसो भन्‍न थाल्नेछौ: ‘हामीले तपाईँकै अगाडि खायौँ, पियौँ अनि तपाईँले हामीलाई मूलबाटोमा सिकाउनुभयो।’+ २७ तर उसले तिमीहरूलाई यसो भन्‍नेछ: ‘तिमीहरू कहाँबाट आएका हौ, मलाई थाह छैन। ए कुकर्मी हो, मबाट पर हटिहाल।’ २८ जब तिमीहरूले अब्राहाम, इसहाक, याकुब अनि सबै भविष्यवक्‍तालाई परमेश्‍वरको राज्यभित्र तर आफूलाई भने बाहिर फ्याँकिएको पाउनेछौ, तब तिमीहरू दाह्रा किटी-किटी रुनेछौ।+ २९ साथै पूर्व, पश्‍चिम, उत्तर अनि दक्षिणबाट मानिसहरू आउनेछन्‌ र परमेश्‍वरको राज्यमा खान बस्नेछन्‌। ३० अनि हेर! पछिल्लाहरूमध्ये कोही-कोही पहिला हुनेछन्‌ र पहिलाहरूमध्ये कोही-कोही पछिल्ला हुनेछन्‌।”+

३१ त्यतिखेरै केही फरिसी* आएर उहाँलाई यसो भने: “यहाँबाट निस्केर गइहाल्नुहोस्‌ किनभने हेरोदले तपाईँलाई मार्न खोज्दै छन्‌।” ३२ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “जाओ, त्यस फ्याउरोलाई भनिदेओ: ‘हेर, म आज र भोलि प्रेतहरूलाई धपाउँछु अनि बिरामीहरूलाई निको पार्छु अनि तेस्रो दिनमा आफ्नो काम सिद्‌ध्याउनेछु।’ ३३ तैपनि आज, भोलि अनि पर्सिसम्म मैले आफ्नो काम जारी राख्नै पर्छ किनकि भविष्यवक्‍ता यरुसलेमबाहिर मारिनु उचित हुँदैन।*+ ३४ यरुसलेम, हे यरुसलेम, तँ जसले भविष्यवक्‍ताहरूलाई मारिस्‌ र आफूकहाँ पठाइएकाहरूलाई ढुङ्‌गाले हानिस्‌!+ कुखुरीले आफ्ना चल्लाहरूलाई पखेटामुनि बटुलेझैँ मैले तेरा छोराछोरीलाई कत्ति पटक बटुल्न चाहेँ! तर तिमीहरूले मानेनौ।+ ३५ हेर! परमेश्‍वरले तिमीहरूको घरलाई त्याग्नुभएको छ।+ म तिमीहरूलाई भन्छु, जबसम्म तिमीहरू ‘यहोवाको* नाममा आउने धन्यका हुन्‌’ भन्दैनौ,+ तबसम्म तिमीहरूले मलाई कुनै पनि हालतमा देख्नेछैनौ।”

१४ एकचोटि विश्रामदिनमा* उहाँ फरिसीहरूका* अगुवाहरूमध्ये एक जनाको घरमा खाना खान जानुभएको थियो र तिनीहरूले उहाँलाई नियालिरहेका थिए। २ अनि हेर! जलोदर* भएको एक जना मानिस उहाँको अगाडि थियो। ३ त्यसैले येसुले व्यवस्थामा पोख्त मानिसहरू र फरिसीहरूलाई सोध्नुभयो: “विश्रामदिनमा निको पार्दा नियम उल्लङ्‌घन हुन्छ कि हुँदैन?”+ ४ तर तिनीहरू चुप लागेर बसे। यो देखेर उहाँले त्यस मानिसलाई छोएर निको पार्नुभयो र उसलाई त्यहाँबाट पठाउनुभयो। ५ अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूमध्ये कुनचाहिँ मानिस यस्तो होला, जसले आफ्नो छोरा वा गोरु विश्रामदिनमा इनारमा खस्यो भने+ त्यसलाई तुरुन्तै बाहिर निकाल्दैन?”+ ६ तिनीहरूले यसको जवाफै दिन सकेनन्‌।

७ तब त्यहाँ आएका निम्तालुहरूले मुख्यमुख्य आसन रोजेको देखेर उहाँले तिनीहरूलाई एउटा उदाहरण सुनाउनुभयो।+ उहाँले भन्‍नुभयो: ८ “कसैले तिमीलाई विवाहभोजमा निम्त्याउँदा अगाडि गएर सबैभन्दा मुख्य आसनमा नबस।+ सायद तिमीभन्दा पनि प्रतिष्ठित मानिसलाई त्यहाँ निम्त्याइएको हुन सक्छ। ९ अनि तिमीहरू दुवैलाई निम्त्याउने मानिस आएर तिमीलाई यसो भन्‍नेछ: ‘उहाँलाई यो ठाउँ छोडिदिनुहोस्‌।’ अनि तिमी लाजले भुतुक्क हुँदै सबैभन्दा पछाडि गएर बस्नुपर्नेछ। १० बरु तिमीले निम्तो पाउँदा गएर सबैभन्दा पछाडि बस अनि तिमीलाई निम्तो दिने मानिस आएर तिमीलाई भन्‍नेछ: ‘मित्र, गएर अगाडि बस्नुहोस्‌।’ तब त्यहाँ भएका सबै पाहुनाको अगाडि तिम्रो इज्जत हुनेछ।+ ११ किनकि जसले आफूलाई उच्च पार्छ, उसलाई होच्याइनेछ अनि जसले आफूलाई होच्याउँछ, उसलाई उच्च पारिनेछ।”+

१२ त्यसपछि उहाँले आफूलाई निम्तो दिने मानिसलाई पनि यसो भन्‍नुभयो: “तिमीले दिउँसो वा बेलुकी कसैलाई खान बोलाउँदा आफ्ना साथीहरू, दाजुभाइहरू, नातेदारहरू वा धनी छिमेकीहरूलाई नबोलाऊ। किनकि तिनीहरूले पनि तिमीलाई कुनै बेला खान बोलाउलान्‌ र हिसाबकिताब बराबर हुनेछ। १३ तर तिमीले भोज दिँदा गरिबहरू, अपाङ्‌गहरू, लुला-लङ्‌गडाहरू र अन्धाहरूलाई निम्तो देऊ+ १४ र तिमी आनन्दित हुनेछौ किनकि त्यसको साटो तिर्न तिनीहरूसित केही पनि हुँदैन। अनि धर्मीहरू फेरि जीवित हुँदा+ तिमीले त्यसको इनाम पाउनेछौ।”

१५ यो कुरा सुनेर निम्तालुहरूमध्ये एक जनाले उहाँलाई यसो भन्यो: “आनन्दित हो त्यो मानिस, जसले परमेश्‍वरको राज्यमा भोजन गर्नेछ।”

१६ येसुले उसलाई भन्‍नुभयो: “एक जना मानिसले भव्य रात्रिभोज तयार गऱ्‍यो+ र धेरैलाई निम्तो दियो। १७ भोज सुरु हुने बेला भएपछि उसले आफ्नो दासलाई निम्तालुहरूकहाँ यसो भन्‍न पठायो: ‘आउनुहोस्‌, सबै कुरा तयार भइसक्यो।’ १८ तर तिनीहरू सबका सबले बहाना बनाउन थाले।+ पहिलोले उसलाई भन्यो: ‘मैले एउटा खेत किनेकोले त्यो हेर्न जानु छ। त्यसैले माफ गर्नुहोस्‌, म आउन सक्दिनँ।’ १९ अर्कोले भन्यो: ‘मैले पाँच हल* गोरु किनेकोले ती हेर्न जाँदै छु। त्यसैले माफ गर्नुहोस्‌, म आउन सक्दिनँ।’+ २० अर्कोचाहिँले भन्यो: ‘मैले भर्खरै विवाह गरेँ। त्यसैले म आउन सक्दिनँ।’ २१ तब त्यो दासले फर्केर आफ्नो मालिकलाई सबै कुरा बताइदियो। यो सुनेर घरमालिक रिसायो र आफ्नो दासलाई भन्यो: ‘तुरुन्तै मूलबाटो र सहरका गल्लीहरूमा जाऊ अनि गरिबहरू, अपाङ्‌गहरू, अन्धाहरू र लुला-लङ्‌गडाहरूलाई यहाँ ल्याऊ!’ २२ केही बेरपछि दासले भन्यो: ‘मालिक, तपाईँले भनेजस्तै गरेँ, तैपनि ठाउँ अझै बाँकी छ।’ २३ त्यसैले मालिकले दासलाई भन्यो: ‘सडकसडकमा र गल्लीगल्लीमा जाऊ अनि मानिसहरूलाई आउन कर गर ताकि मेरो घर भरियोस्‌।+ २४ म तिमीलाई भन्छु, निम्तालुहरूमध्ये कसैले पनि मैले दिएको भोज चाख्न पाउनेछैन।’”+

२५ तब मानिसहरूको भीड उहाँसँगै यात्रा गर्दै थियो अनि उहाँले फर्केर तिनीहरूलाई भन्‍नुभयो: २६ “यदि कोही मकहाँ आउँछ र आफ्नो बुबा, आमा, पत्नी, छोराछोरी, दाजुभाइ र दिदीबहिनीलाई अनि आफैलाई समेत घृणा गर्दैन* भने+ ऊ मेरो चेला बन्‍न सक्दैन।+ २७ जो आफ्नो यातनाको खम्बा* बोकेर मेरो पछि लाग्दैन, ऊ मेरो चेला बन्‍न सक्दैन।+ २८ उदाहरणका लागि, तिमीहरूमध्ये कोचाहिँ यस्तो होला, जसले धरहरा बनाउने विचार गरेपछि त्यो बनाइसिद्ध्याउने खर्च आफूसित छ कि छैन भनी बसेर पहिला हिसाब गर्दैन? २९ उसले जग त हाल्यो तर धरहराचाहिँ बनाउन सकेन भने देख्नेहरूले उसको गिल्ला गर्दै ३० यसो भन्‍न थाल्नेछन्‌: ‘यो मानिसले बनाउन त थाल्यो तर सिद्‌ध्याउन भने सकेन।’ ३१ अथवा अर्को राजासित लडाइँ गर्न अगाडि बढिरहेको कुनचाहिँ राजाले आफ्ना १० हजार सिपाही लिएर उसको २० हजारसित आफू लड्‌न सक्छु कि सक्दिनँ भनी बसेर पहिला सल्लाह गर्दैन? ३२ यदि लड्‌न सकिँदैन भन्‍ने लाग्यो भने उसले अर्को राजा टाढै छँदा आफ्ना दूतहरूमार्फत शान्तिको प्रस्ताव पठाउनेछ। ३३ त्यसैगरि यो कुरा पक्का हो कि तिमीहरूमध्ये जसले आफ्नो जायजेथा त्याग्दैन, ऊ मेरो चेला बन्‍न सक्दैन।+

३४ “नुन अवश्‍य राम्रो हो। तर नुनको नुनिलोपन हरायो भने त्यसलाई फेरि केले नुनिलो बनाउने?+ ३५ त्यो न माटोमा हाल्न न त मलमा मिसाउन नै काम लाग्छ। मानिसहरूले त्यसलाई फ्याँकिदिनेछन्‌। जसको सुन्‍ने कान छ, उसले सुनोस्‌।”+

१५ तब कर उठाउने सबै जना र अरू पापी उहाँको कुरा सुन्‍न उहाँकहाँ आउन थाले।+ २ त्यसैले फरिसीहरूका साथै शास्त्रीहरू यसो भन्दै गनगन गर्न थाले: “यस मानिसले पापीहरूलाई आफूकहाँ आउन दिन्छ अनि तिनीहरूसित खान्छ।” ३ अनि उहाँले तिनीहरूलाई यो उदाहरण सुनाउनुभयो: ४ “तिमीहरूमध्ये कुनचाहिँ मानिस यस्तो होला, जसका १०० वटा भेडा छन्‌ र तीमध्ये एउटा हरायो भने ९९ लाई निर्जनभूमिमै छोडेर त्यो हराएको भेडा नभेट्टाउन्जेल त्यसलाई खोज्दैन?+ ५ अनि भेट्टाएपछि उसले त्यसलाई आफ्नो काँधमा राख्छ र रमाउँछ। ६ तब घर पुगेपछि आफ्ना साथीभाइ र छिमेकीहरूलाई बोलाएर उसले यसो भन्छ: ‘तिमीहरू पनि मसँगै रमाओ किनभने मैले आफ्नो हराएको भेडा भेट्टाएको छु।’+ ७ म तिमीहरूलाई भन्छु, त्यसरी नै एक जना पापीले पश्‍चात्ताप गर्दा स्वर्गमा जति रमाहट हुन्छ,+ त्यति रमाहट पश्‍चात्तापको कुनै खाँचो नभएको ९९ जना धर्मी मानिसका लागि हुँदैन।

८ “अथवा कुनचाहिँ स्त्री यस्ती होली, जसले आफूसित भएका १० वटा सिक्कामध्ये* एउटा हराउँदा त्यो नभेट्टाउन्जेल दियो बालेर आफ्नो घर बढार्दै धुइँधुइँती खोज्दिन? ९ अनि भेट्टाएपछि आफ्ना साथीहरू* र छिमेकीहरूलाई बोलाएर उसले यसो भन्छे: ‘तिमीहरू पनि मसँगै रमाओ किनभने मैले हराएको सिक्का भेट्टाएकी छु।’ १० म तिमीहरूलाई भन्छु, एक जना पापीले पश्‍चात्ताप गर्दा परमेश्‍वरका दूतहरूमाझ यसरी नै रमाहट हुनेछ।”+

११ अनि उहाँले भन्‍नुभयो: “एक जना मानिसका दुई छोरा थिए। १२ कान्छोचाहिँले बुबालाई भन्यो: ‘बुबा, मलाई मेरो अंश दिनुहोस्‌।’ तब बुबाले आफ्नो सम्पत्ति अंशबण्डा गरेर तिनीहरूलाई दियो। १३ केही दिन बित्न नपाउँदै कान्छो छोरा आफ्नो भएभरको सम्पत्ति बटुलेर टाढा परदेश गयो अनि भोगविलासको जीवन बिताएर आफ्नो सम्पत्ति उडायो। १४ उसले आफूसित भएको सबै पैसा उडाइसकेपछि देशभरि ठूलो अनिकाल पऱ्‍यो र ऊसित केही बाँकी भएन। १५ यहाँसम्म कि त्यस देशको एक जना मानिसकहाँ गएर उसले काम माग्यो र त्यस मानिसले उसलाई आफ्नो खेतमा सुँगुर+ चराउन पठायो। १६ अनि सुँगुरले खाने कोसा भए पनि खान पाए हुन्थ्यो भनेर ऊ सोच्थ्यो तर कसैले उसलाई केही दिँदैनथ्यो।

१७ “जब उसको होस खुल्यो, तब उसले भन्यो: ‘मेरा बुबाका त्यत्रा कामदारहरूलाई रोटीको कुनै अभाव छैन तर म भने यहाँ भोकले मर्नै लागिसकेँ! १८ अब म बुबाकहाँ जान्छु र उहाँलाई भन्छु: “बुबा, मैले परमेश्‍वर* र तपाईँको विरुद्धमा पाप गरेको छु। १९ अब म तपाईँको छोरा भनिन लायकको छैनँ। त्यसैले मलाई तपाईँको ज्यालादारी कामदार बनाउनुहोस्‌।”’ २० अनि ऊ उठेर आफ्नो बुबाकहाँ गयो। बुबाले टाढैबाट ऊ आउँदै गरेको देख्यो र टिठायो अनि दौडँदै गएर उसलाई अङ्‌गालो हाल्यो र चुम्बन गऱ्‍यो। २१ तब छोराले भन्यो: ‘बुबा, मैले परमेश्‍वर र तपाईँको विरुद्धमा पाप गरेको छु।+ अब म तपाईँको छोरा भनिन लायकको छैनँ।’ २२ तर बुबाले आफ्ना दासहरूलाई भन्यो: ‘झट्टै गएर सबैभन्दा राम्रो पोसाक ल्याओ र उसलाई पहिराइदेओ अनि औँठी र जुत्ता पनि लगाइदेओ! २३ त्यसपछि मोटोघाटो बाछो ल्याएर काट अनि हामी खाऔँ र रमाइलो गरौँ २४ किनकि यो मेरो छोरो मरेको थियो तर अहिले फेरि जिउँदो भयो;+ ऊ हराएको थियो तर अहिले भेटियो।’ अनि तिनीहरूले रमाइलो गर्न थाले।

२५ “त्यतिखेर उसको जेठो छोरा खेतमा थियो अनि फर्केर घरनजिकै पुग्दा उसले नाचगान भइरहेको आवाज सुन्यो। २६ त्यसैले उसले एक जना नोकरलाई बोलायो र के हुँदै छ भनी सोध्यो। २७ त्यसले उसलाई भन्यो: ‘तपाईँको भाइ घर फर्कनुभयो र उहाँलाई सकुशल पाउनुभएकोले तपाईँका बुबाले मोटोघाटो बाछो काट्‌न लगाउनुभयो।’ २८ तब ऊ रिसायो र भित्र जान मानेन। त्यसैले उसको बुबा बाहिर आएर उसलाई फकाउन थाल्यो। २९ तब उसले बुबालाई भन्यो: ‘यत्तिका वर्षसम्म मैले तपाईँको सेवा गरेँ अनि कहिल्यै तपाईँको आज्ञा मान्‍न इन्कार गरिनँ तैपनि मेरा साथीहरूसित रमाइलो गर्न तपाईँले मलाई एक चोटि पनि एउटा पाठोसमेत दिनुभएन। ३० तर वेश्‍याहरूसित बरालिएर तपाईँको सम्पत्ति उडाउने तपाईँको यो छोरा आउनेबित्तिकै तपाईँले उसको लागि मोटोघाटो बाछो काट्‌न लगाउनुभयो।’ ३१ तब बुबाले उसलाई भन्यो: ‘बाबु, तिमी त सधैँ मसितै छौ अनि मेरो जे-जति छ, ती सब तिम्रै हो। ३२ तर हामीले खुसी मनाउनु र रमाइलो गर्नु उचित हो। किनकि तिम्रो यो भाइ मरेको थियो तर फेरि जिउँदो भयो अनि हराएको थियो तर फेरि भेटियो।’”

१६ त्यसपछि उहाँले चेलाहरूलाई यसो पनि भन्‍नुभयो: “कुनै धनी मानिसको एक जना भण्डारे थियो र उसले सम्पत्ति हिनामिना गर्दै छ भन्‍ने खबर तिनको कानमा पऱ्‍यो। २ त्यसैले तिनले उसलाई बोलाएर भने: ‘म यो के सुन्दै छु? लौ, मलाई एक-एक हिसाब बुझाऊ। अबउसो तिमीले मेरो कारोबार सम्हाल्नेछैनौ।’ ३ तब त्यस भण्डारेले मनमनै भन्‍न थाल्यो: ‘मेरो मालिकले मलाई भण्डारेको कामबाट निकाल्ने भए, अब म के गरूँ? म खनजोत गर्न सक्दिनँ अनि भीख माग्न मलाई लाज लाग्छ। ४ अँ, मैले के गरेँ भने भण्डारेको कामबाट निकालिएपछि पनि मानिसहरूले मलाई उनीहरूको घरमा स्वागत गर्नेछन्‌, त्यो मलाई थाह छ!’ ५ उसले आफ्नो मालिकका ऋणीहरूलाई पालैसित आफूकहाँ बोलायो र पहिलोचाहिँलाई सोध्यो: ‘तिमीले मेरो मालिकलाई कति ऋण तिर्नु छ?’ ६ उसले जवाफ दियो: ‘१०० भाँडो* जैतुनको तेल।’ त्यस भण्डारेले उसलाई भन्यो: ‘तिम्रो तमसुक लैजाऊ र बसेर तुरुन्तै त्यसलाई ५० बनाऊ।’ ७ त्यसपछि भण्डारेले अर्कोलाई भन्यो: ‘तिम्रो चाहिँ कति ऋण छ नि?’ उसले भन्यो: ‘१०० भाँडो* गहुँ।’ तब भण्डारेले उसलाई भन्यो: ‘तिम्रो तमसुक लैजाऊ र त्यसलाई ८० बनाऊ।’ ८ त्यो भण्डारे बेइमान भए तापनि मालिकले उसको तारिफ गरे किनकि उसले चतुऱ्‍याइँ देखायो। म यसो भन्दै छु किनकि आफ्नो पुस्ताका मानिसहरूसित व्यवहार गर्नमा ज्योतिका सन्तानभन्दा+ यस युगका* मानिसहरू अझ चतुर छन्‌।

९ “साथै म तिमीहरूलाई भन्छु, बेइमान धनले आफ्नो निम्ति मित्रहरू बनाओ+ किनभने त्यस्तो धन सिद्धिएपछि तिनीहरूले सायद अनन्त निवासमा तिमीहरूलाई आश्रय दिनेछन्‌।+ १० जो मानिस सानो कुरामा विश्‍वासयोग्य छ, ऊ धेरै कुरामा पनि विश्‍वासयोग्य हुन्छ अनि जो सानो कुरामा बेइमान छ, ऊ धेरै कुरामा पनि बेइमान हुन्छ। ११ त्यसैले बेइमान धन चलाउँदा तिमीहरू आफूलाई विश्‍वासयोग्य साबित गर्दैनौ भने कसले तिमीहरूलाई साँचो धन सुम्पेला र? १२ जे कुरा अरूको हो, त्यसमा त तिमीहरू आफूलाई विश्‍वासयोग्य साबित गर्दैनौ भने कसले तिमीहरूको लागि केही देला र?+ १३ कुनै पनि नोकर दुई मालिकको दास बन्‍न सक्दैन किनकि उसले एक जनालाई घृणा र अर्कोलाई प्रेम गर्नेछ अथवा ऊ एक जनासित टाँसिनेछ र अर्कोलाई तुच्छ ठान्‍नेछ। तिमीहरू परमेश्‍वर र धनसम्पत्ति दुवैको दास बन्‍न सक्दैनौ।”+

१४ पैसाको प्रेमी फरिसीहरूले* यी सबै कुरा सुनिरहेका थिए र तिनीहरूले नाक चेप्य्राउँदै उहाँको खिल्ली उडाउन थाले।+ १५ त्यसैले उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू मानिसहरूसामु धर्मी भई टोपल्छौ+ तर तिमीहरूको हृदयमा के छ, परमेश्‍वरलाई थाह छ।+ किनकि मानिसहरू जुन कुरालाई महत्त्वपूर्ण ठान्छन्‌, परमेश्‍वरको नजरमा त्यो घिनलाग्दो हुन्छ।+

१६ “व्यवस्था र भविष्यवक्‍ताका वाणीहरू युहन्‍नाको समयसम्म घोषणा गरिए। त्यसदेखि यता परमेश्‍वरको राज्यको सुसमाचार घोषणा हुँदै छ र हरप्रकारका मानिसहरू त्यसभित्र पस्न भरमग्दुर प्रयास गर्दै छन्‌।+ १७ वास्तवमा व्यवस्थाको सबैभन्दा सानो अक्षर वा त्यसको एउटा बिन्दु पूरा नभई मेटिनुभन्दा त आकाश र पृथ्वी बितेर जानु सजिलो हुन्छ।+

१८ “जसले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्छ र अर्कीसित विवाह गर्छ, उसले व्यभिचार* गरेको ठहरिन्छ। अनि जसले पतिसित सम्बन्धविच्छेद भएकी स्त्रीसित विवाह गर्छ, उसले व्यभिचार गरेको ठहरिन्छ।+

१९ “एक जना धनी मानिस थियो। ऊ बैजनी रङ्‌गको मलमलको लुगा लगाउँथ्यो र दिनदिनै मोजमस्ती गर्थ्यो। २० उसको ढोकाबाहिर भने जीउभरि घावैघाउ भएको लाजरस नाम गरेको माग्नेलाई मानिसहरूले ल्याएर राखिदिन्थे। २१ अनि ऊ त्यस धनी मानिसको टेबुलबाट झरेको टुक्राटाक्री खाएर आफ्नो पेट भर्ने इच्छा गर्थ्यो। यहाँसम्म कि कुकुरहरू पनि आएर उसको घाउ चाट्‌थे। २२ केही समयपछि त्यो माग्ने मऱ्‍यो अनि स्वर्गदूतहरूले उसलाई बोकेर अब्राहामसँगै* राखिदिए।

“त्यो धनी मानिस पनि मऱ्‍यो र उसलाई गाडियो। २३ अनि चिहानमा* सास्ती भोगिरहेको बेला नजर उठाएर हेर्दा उसले धेरै पर अब्राहामलाई अनि तिनीसँगै* लाजरसलाई पनि देख्यो। २४ त्यसैले उसले यसो भनेर पुकाऱ्‍यो: ‘हे बुबा अब्राहाम, ममाथि कृपा गर्नुहोस्‌ र आफ्नो औँलाको टुप्पो पानीमा चोपेर मेरो जिब्रोलाई शीतल पार्न लाजरसलाई मकहाँ पठाइदिनुहोस्‌। किनकि दनदनी बलिरहेको यो आगोमा म तड्‌पिरहेको छु।’ २५ तर अब्राहामले उसलाई यस्तो जवाफ दिए: ‘बाबु, नबिर्स, तिमीले आफ्नो जीवनभर असल-असल थोक सबै पायौ तर लाजरसले भने पीडाबाहेक केही पाएन। त्यसैले अहिले ऊ यहाँ आरामसित बसिरहेको छ तर तिमी भने तड्‌पिरहेका छौ। २६ यी सब कुराबाहेक तिमीहरू र हामीबीच ठूलो खाडलको अन्तर छ। त्यसैले न तिमीहरूकहाँ जान चाहनेहरू यहाँबाट जान सक्छन्‌ न त हामीकहाँ आउन चाहनेहरू नै त्यहाँबाट आउन सक्छन्‌।’ २७ यो सुनेर उसले भन्यो: ‘त्यसो हो भने हे बुबा, उसलाई मेरो बुबाको घरमा पठाइदिनुहोस्‌। २८ किनकि मेरा पाँच भाइ छन्‌ र उसले तिनीहरूलाई राम्ररी सम्झाइबुझाइ गरिदेओस्‌ ताकि तिनीहरू पनि सास्ती पाउने यस ठाउँमा आउन नपरोस्‌।’ २९ तर अब्राहामले जवाफ दिए: ‘तिनीहरूसित मोसा अनि भविष्यवक्‍ताहरू छन्‌, तिनीहरूले उनीहरूकै कुरा सुनून्‌।’+ ३० अनि उसले भन्यो: ‘होइन, बुबा अब्राहाम, यदि मरेकाहरूमध्येबाट कोही एक जना तिनीहरूकहाँ गयो भने तिनीहरूले पश्‍चात्ताप गर्नेछन्‌।’ ३१ तर अब्राहामले उसलाई जवाफ दिए: ‘यदि तिनीहरू मोसा र भविष्यवक्‍ताहरूको कुरा सुन्दैनन्‌ भने+ मरेकाहरूमध्येबाट ब्युँतेको व्यक्‍तिको कुरा पनि तिनीहरूले मान्‍नेछैनन्‌।’”

१७ तब उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “ठेस पुऱ्‍याउने कारणहरू अवश्‍य आउनेछन्‌। तर त्यस मानिसलाई धिक्कार छ, जसद्वारा ती आउँछन्‌! २ त्यस्ताले गर्दा यी सानाहरूमध्ये एक जनालाई ठेस पुग्न दिनुभन्दा त त्यसको घाँटीमा जाँतो झुन्ड्‌याएर समुद्रमा फालिदिनु नै बेस हुनेछ।+ ३ आफ्नो विषयमा ध्यान देओ। तिम्रो भाइले पाप गऱ्‍यो भने उसलाई हप्काऊ+ र उसले पश्‍चात्ताप गऱ्‍यो भने उसलाई क्षमा देऊ।+ ४ यदि उसले तिम्रो विरुद्धमा दिनको सात चोटि पाप गऱ्‍यो र सातै चोटि आएर ‘मलाई पछुतो लाग्यो’ भन्छ भने तिमीले उसलाई क्षमा दिनै पर्छ।”+

५ तब प्रेषितहरूले प्रभुलाई भने: “हाम्रो विश्‍वास बढाइदिनुहोस्‌।”+ ६ अनि प्रभुले भन्‍नुभयो: “तिमीहरूसित रायोको गेडा जत्रो मात्र विश्‍वास छ भने तिमीहरूले यस किम्बुको रूखलाई ‘उखेलिएर समुद्रमा रोपिन जा’ भन्यौ भने त्यसले तिमीहरूको कुरा मान्‍नेछ।+

७ “तिमीहरूमध्ये कोचाहिँ यस्तो होला, जसले आफ्नो दास हलो जोतेर वा भेडाबाख्रा चराएर खेतबाट फर्केपछि उसलाई यसो भन्छ: ‘तुरुन्तै यहाँ आएर खान बस’? ८ बरु के उसले यसो भन्दैन र: ‘मेरो लागि बेलुकीको खाना तयार पार अनि मैले खानपिन नगरुन्जेल पटुका कसेर मेरो सेवा गर। त्यसपछि मात्र तिमीले खानपिन गर्नू’? ९ दासले आफूलाई अह्राइएको काम पूरा गर्दा के मालिकले दासप्रति कृतज्ञ महसुस गर्छ र? १० त्यसैगरि तिमीहरू पनि जब आफूलाई अह्राइएको सबै काम पूरा गर्छौ, तब यसो भन्‍नू: ‘हामी निकम्मा दास हौँ। हामीले त आफूले जे गर्नुपर्ने हो, त्यो मात्र गरेका हौँ।’”+

११ तब उहाँ सामरिया र गालिलको बीचबाट भएर यरुसलेम जाँदै हुनुहुन्थ्यो। १२ अनि उहाँ एउटा गाउँभित्र पस्न लाग्नुहुँदा १० जना कुष्ठरोगीले उहाँलाई देखे तर तिनीहरू टाढै उभिए+ १३ र ठूलो स्वरमा यसो भने: “हे येसु, हे गुरुज्यू, हामीमाथि कृपा गर्नुहोस्‌!” १४ तिनीहरूलाई देखेपछि उहाँले यसो भन्‍नुभयो: “जाओ, गएर पुजारीहरूलाई देखाओ।”+ तब जाँदाजाँदै तिनीहरू शुद्ध भए।+ १५ तिनीहरूमध्ये एक जनाले आफू निको भएको देखेपछि चर्को स्वरमा परमेश्‍वरको महिमा गर्दै फर्क्यो १६ र येसुको पाउमा घोप्टो परेर उहाँलाई धन्यवाद दियो। ऊ सामरियाली थियो।+ १७ यो देखेर येसुले भन्‍नुभयो: “दसै जना शुद्ध भएका थिए नि, होइन र? त्यसोभए बाँकी नौ जना खै त? १८ परमेश्‍वरको महिमा गर्न फर्कनेमा यो विदेशीबाहेक अरू कोही भएन?” १९ अनि उहाँले उसलाई भन्‍नुभयो: “उठ र आफ्नो बाटो लाग। तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।”+

२० परमेश्‍वरको राज्य कहिले आउँछ+ भनी फरिसीहरूले सोध्दा उहाँले तिनीहरूलाई यस्तो जवाफ दिनुभयो: “परमेश्‍वरको राज्य सबैले देख्नेगरि आउँदैन २१ न त मानिसहरूले ‘हेर, यहाँ छ!’ वा ‘त्यहाँ छ!’ भन्‍नेछन्‌। किनकि हेर! परमेश्‍वरको राज्य तिमीहरूकै माझमा छ।”+

२२ त्यसपछि उहाँले चेलाहरूलाई भन्‍नुभयो: “यस्तो समय आउनेछ, जब तिमीहरूले मानिसको छोराका दिनहरूमध्ये एक दिन हेर्न इच्छा गर्नेछौ तर हेर्न पाउनेछैनौ। २३ अनि मानिसहरूले तिमीहरूलाई ‘हेर, ऊ त्यहाँ छ!’ वा ‘हेर, ऊ यहाँ छ!’ भन्‍नेछन्‌। तर तिमीहरू बाहिर नजाओ वा तिनीहरूको पछिपछि नलाग।+ २४ जसरी बिजुली आकाशको एक छेउदेखि अर्को छेउसम्म चम्किन्छ, मानिसको छोरा+ पनि आफ्नो दिनमा त्यसरी नै प्रकट हुनेछ।+ २५ तर त्यसभन्दा अघि उसले धेरै दुःख भोग्नुका साथै यस पुस्ताबाट तिरस्कृत हुनु आवश्‍यक छ।+ २६ यसबाहेक नुहको दिनमा जस्तो भएको थियो,+ मानिसको छोराको दिनमा पनि त्यस्तै हुनेछ:+ २७ जुन दिनसम्म नुह जहाजभित्र पसेनन्‌,+ त्यस दिनसम्म तिनीहरू खाँदै थिए, पिउँदै थिए अनि विवाहवारी गर्दै थिए, तब जलप्रलय आएर तिनीहरू सबैलाई नाश गऱ्‍यो।+ २८ त्यसैगरि लुतको दिनमा जस्तो भएको थियो,+ त्यतिखेर पनि त्यस्तै हुनेछ: तिनीहरू खाँदै थिए, पिउँदै थिए, किन्दै थिए, बेच्दै थिए, रोप्दै थिए र घर बनाउँदै थिए। २९ तर जुन दिन लुत सदोमबाट निस्के, त्यही दिन आकाशबाट आगो र गन्धक बर्सेर तिनीहरू सबैलाई नाश गऱ्‍यो।+ ३० मानिसको छोरा प्रकट हुने दिनमा पनि त्यस्तै हुनेछ।+

३१ “त्यो दिन कुनै मानिस कौसीमा छ र उसको मालसामान घरभित्र छ भने त्यो लिन ऊ तल नओर्लोस्‌। त्यसैगरि खेतमा भएको मानिस आफ्नो मालसामान लिन घर नफर्कोस्‌। ३२ लुतकी पत्नीलाई सम्झ!+ ३३ जसले आफ्नो ज्यान बचाउन खोज्छ, उसले त्यो गुमाउनेछ तर जसले गुमाउँछ, उसले त्यो जोगाउनेछ।+ ३४ म तिमीहरूलाई भन्छु, त्यस रात दुई जना मानिस एउटै खाटमा हुनेछन्‌; एक जनालाई लगिनेछ अनि अर्कोलाई छोडिनेछ।+ ३५ दुइटी स्त्री एउटै जाँतो घुमाइरहेका हुनेछन्‌; एउटीलाई लगिनेछ अनि अर्कीलाई छोडिनेछ।” ३६ *— ३७ यो सुनेर तिनीहरूले उहाँलाई सोधे: “कहाँ प्रभु?” उहाँले तिनीहरूलाई भन्‍नुभयो: “जहाँ लास हुन्छ, त्यहाँ चीलहरू पनि जम्मा हुन्छन्‌।”+

१८ सधैँ प्रार्थना गर्नुपर्छ र कहिल्यै हरेस खानु हुँदैन+ भनेर बुझाउन उहाँले तिनीहरूलाई यो उदाहरण सुनाउन थाल्नुभयो: २ “एउटा सहरमा एक जना न्यायाधीश थियो, जसलाई परमेश्‍वरको डर थिएन र ऊ मानिसको आदर पनि गर्दैनथ्यो। ३ त्यही सहरमा एक जना विधवा पनि थिई र ऊ त्यस न्यायाधीशकहाँ घरीघरी गएर यसो भन्थी: ‘मलाई मुद्दा हाल्ने व्यक्‍ति र मबीच सही न्याय गरिदिनुहोस्‌।’ ४ निकै समयसम्म त उसले वास्तै गरेन तर पछि उसले मनमनै यसो भन्यो: ‘हुनत मलाई परमेश्‍वरको डर छैन र म कुनै मानिसको आदर पनि गर्दिनँ। ५ तैपनि यस विधवाले मलाई घरीघरी दुःख दिइरहेकीले म त्यसको न्याय गरिदिनेछु, नत्र त मकहाँ धाएको धायै गरेर त्यसले मलाई बसीखान दिनेछैन।’”+ ६ त्यसपछि प्रभुले भन्‍नुभयो: “बेइमान भएर पनि त्यो न्यायाधीशले के भन्यो, सुन्यौ? ७ त्यसोभए के परमेश्‍वरले उहाँलाई दिनरात पुकार्ने आफ्ना चुनिएका जनहरूको न्याय गरिदिनुहुन्‍न र?+ उहाँ धीरजी हुनुभएकोले ढिला गरेजस्तो देखिए तापनि उहाँले अवश्‍य न्याय गर्नुहुनेछ।+ ८ म तिमीहरूलाई भन्छु, उहाँले तिनीहरूको न्याय तुरुन्तै गरिदिनुहुनेछ। तैपनि मानिसको छोरा आउँदा के उसले यस्तो विश्‍वास हुने मानिस पृथ्वीमा साँच्चै पाउनेछ?”

९ आफूलाई धर्मी ठान्‍ने तर अरूलाई चाहिँ तुच्छ ठान्‍ने कोही-कोही मानिसलाई उहाँले यो उदाहरण पनि सुनाउनुभयो: १० “दुई जना मानिस प्रार्थना गर्न मन्दिर गए, एक जना फरिसी* र अर्कोचाहिँ कर उठाउने मानिस। ११ फरिसीले उभिएर मनमनै यसरी प्रार्थना गर्न थाल्यो: ‘हे परमेश्‍वर, म तपाईँलाई धन्यवाद दिन्छु किनभने म अरू मानिसजस्तो लुटाहा, बेइमान अनि व्यभिचारी* होइनँ र म यो कर उठाउने मानिसजस्तो पनि छैनँ। १२ म हप्ताको दुई चोटि उपवास बस्छु अनि आफ्नो सबै आम्दानीको दशांश दिन्छु।’+ १३ तर कर उठाउने मानिस भने टाढै उभियो र उसले आफ्नो नजर स्वर्गतिर उचाल्ने आँटसमेत गरेन। अनि छाती पिटीपिटी उसले यसो भन्यो: ‘हे परमेश्‍वर, म पापीमाथि कृपा गर्नुहोस्‌।’+ १४ म तिमीहरूलाई भन्छु, त्यो फरिसीभन्दा यो मानिस अझ धर्मी ठहरिएर आफ्नो घर गयो।+ किनकि जसले आफूलाई उच्च पार्छ, उसलाई खसालिनेछ अनि जसले आफूलाई होच्याउँछ, उसलाई उच्च पारिनेछ।”+

१५ तब उहाँले छोइदेऊन्‌ भनेर मानिसहरूले आफ्ना शिशुहरूलाई उहाँकहाँ ल्याउन थाले तर यो देखेर चेलाहरूले तिनीहरूलाई हप्काउन थाले।+ १६ तथापि येसुले ती शिशुहरूलाई आफूकहाँ बोलाउँदै भन्‍नुभयो: “साना केटाकेटीलाई मकहाँ आउन देओ, तिनीहरूलाई रोक्न नखोज किनकि परमेश्‍वरको राज्य यिनीहरूजस्ताकै हो।+ १७ म तिमीहरूलाई साँच्चै भन्छु, जसले परमेश्‍वरको राज्यलाई एउटा सानो बालकले जस्तैगरि स्विकार्दैन, ऊ कुनै पनि हालतमा त्यहाँ पस्नेछैन।”+

१८ अनि सभाघरको एक जना मुख्य व्यक्‍तिले उहाँलाई यस्तो प्रश्‍न सोध्यो: “हे असल गुरु, अनन्त जीवन पाउन मैले के गर्नुपर्छ?”+ १९ येसुले उसलाई भन्‍नुभयो: “तिमी किन मलाई असल भन्छौ? असल त परमेश्‍वरबाहेक अरू कोही छैन।+ २० तिमीलाई यी आज्ञाहरू त थाहै होला नि: ‘व्यभिचार* नगर्नू,+ हत्या नगर्नू,+ चोरी नगर्नू,+ झूटो साक्षी नदिनू,+ तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू।’”+ २१ तब उसले भन्यो: “यी सब त मैले सानैदेखि पालन गर्दै आएको छु।” २२ यो सुनेपछि येसुले उसलाई भन्‍नुभयो: “तिमीमा अझै एउटा कुराको कमी छ: आफूसित भएका सबै चिजबिज बेचेर गरिबहरूलाई बाँडिदेऊ। तब तिमीले स्वर्गमा धनसम्पत्ति पाउनेछौ अनि आएर मेरो पछि लाग।”+ २३ यो सुनेर ऊ अत्यन्तै दुःखी भयो किनकि ऊ असाध्यै धनी थियो।+

२४ येसुले उसलाई हेर्नुभयो र भन्‍नुभयो: “पैसावालहरूलाई परमेश्‍वरको राज्यमा पस्न साँच्चै कठिन हुनेछ!+ २५ वास्तवमा धनी मानिसलाई परमेश्‍वरको राज्यमा पस्नभन्दा त उँटलाई सियोको नाथ्रीबाट छिर्न नै सजिलो हुन्छ।”+ २६ यो कुरा सुन्‍नेहरूले भने: “त्यसोभए के कसैले उद्धार पाउन सक्ला त?”+ २७ उहाँले भन्‍नुभयो: “मानिसहरूका लागि असम्भव कुरा परमेश्‍वरको लागि सम्भव छ।”+ २८ तब पत्रुसले भने: “हेर्नुहोस्‌! हामी आफ्नो सबै कुरा छोडेर तपाईँको पछि लागेका छौँ।”+ २९ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, परमेश्‍वरको राज्यको खातिर जसले घर वा पत्नी वा दाजुभाइ वा आमाबुबा वा छोराछोरी छोड्‌छ,+ ३० उसले अहिल्यै यी कुरा धेरै गुणा पाउनुका साथै आउने युगमा* अनन्त जीवन पाउनेछ।”+

३१ तब ती १२ जना चेलालाई अलग्गै लगेर उहाँले भन्‍नुभयो: “हेर! हामी यरुसलेमतर्फ उक्लँदै छौँ। अनि मानिसको छोराको विषयमा भविष्यवक्‍ताहरूले लेखेका सबै कुरा पूरा हुनेछन्‌।+ ३२ जस्तै: ऊ अन्यजातिका मानिसहरूको हातमा सुम्पिइनेछ,+ उसको गिल्ला गरिनेछ,+ बेइज्जत गरिनेछ र उसलाई थुकिनेछ।+ ३३ अनि कोर्रा लगाएपछि तिनीहरूले उसलाई मार्नेछन्‌+ तर तेस्रो दिनमा ऊ ब्युँतनेछ।”+ ३४ तर तिनीहरूले यी कुराहरू बुझेनन्‌ किनकि यसको अर्थ तिनीहरूबाट लुकाइएको थियो र जे भनियो, त्यो तिनीहरूले बुझेनन्‌।

३५ येसु यरिहोनजिकै पुग्नुहुँदा एक जना अन्धो मानिस बाटोको छेउमा बसेर भीख मागिरहेको थियो।+ ३६ त्यही बाटो भएर गइरहेको भीडको आवाज सुनेपछि उसले के हुँदै छ भनी सोध्यो। ३७ मानिसहरूले उसलाई भने: “नासरी येसु यो बाटो भएर जाँदै हुनुहुन्छ!” ३८ यो सुनेपछि उसले यसो भन्दै पुकाऱ्‍यो: “हे दाउदका छोरा येसु, ममाथि कृपा गर्नुहोस्‌!” ३९ अघिअघि गइरहेकाहरूले उसलाई “चुप लाग्‌” भनी हप्काउन थाले तर ऊ यसो भन्दै झन्‌ चिच्याइरह्‍यो: “हे दाउदका छोरा, ममाथि कृपा गर्नुहोस्‌!” ४० तब येसु रोकिनुभयो र त्यस माग्नेलाई आफूकहाँ ल्याउन मानिसहरूलाई आज्ञा दिनुभयो। ऊ नजिकै आइपुगेपछि येसुले उसलाई सोध्नुभयो: ४१ “मैले तिम्रो लागि के गरिदिएको तिमी चाहन्छौ?” उसले भन्यो: “हे प्रभु, मैले फेरि दृष्टि पाऊँ।” ४२ त्यसैले येसुले उसलाई भन्‍नुभयो: “तिम्रो दृष्टि फर्कोस्‌; तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।”+ ४३ उत्तिखेरै उसले देख्न थाल्यो र परमेश्‍वरको महिमा गर्दै येसुको पछिपछि लाग्न थाल्यो।+ यो देखेर सबै मानिसले परमेश्‍वरको प्रशंसा गरे।+

१९ उहाँ यरिहो पस्नुभयो र उहाँ त्यही सहर भएर जाँदै हुनुहुन्थ्यो। २ त्यहाँ जक्कै नाम गरेका एक जना मानिस थिए। तिनी कर उठाउने मानिसहरूका हाकिम थिए र धनी थिए। ३ तिनी येसु भन्‍ने मानिस को रहेछ भनेर हेर्न चाहन्थे तर भीडले गर्दा देख्न सकेनन्‌ किनकि तिनी पुड्‌का थिए। ४ त्यसैले तिनी दौडेर अरूभन्दा अगाडि गए र उहाँलाई हेर्न खनिउँको* रूखमा चढे किनकि येसु त्यही बाटो भएर जान लाग्नुभएको थियो। ५ त्यस ठाउँमा पुगेपछि येसुले मास्तिर हेरेर तिनलाई भन्‍नुभयो: “ए जक्कै, झट्टै तल ओर्ल। किनकि आज मलाई तिम्रो घरमा बस्नु छ।” ६ यो सुनेर तिनी तुरुन्तै तल ओर्ले र खुसी हुँदै उहाँलाई आफ्नो घरमा स्वागत गरे। ७ तर यो देखेर तिनीहरू सबै यसो भन्दै गनगन गर्न थाले: “यो त पापी मानिसको घरमा पो गयो।”+ ८ तब जुरुक्क उठेर जक्कैले प्रभुलाई भने: “हेर्नुहोस्‌ प्रभु, म अब आफ्नो आधा सम्पत्ति गरिबहरूलाई बाँड्‌छु अनि मैले ज-जसबाट लुटेँ,* म उसलाई चार गुणा तिर्छु।”+ ९ तिनको कुरा सुनेर येसुले भन्‍नुभयो: “आज यो घरले उद्धार पाएको छ किनकि ऊ पनि अब्राहामको छोरा हो। १० मानिसको छोरा हराएकोलाई खोज्न र उसको उद्धार गर्न आएको हो।”+

११ तिनीहरूले यी कुराहरू सुनिरहेको बेला उहाँले एउटा उदाहरण पनि सुनाउनुभयो। किनकि उहाँ यरुसलेमको नजिकै हुनुहुन्थ्यो र परमेश्‍वरको राज्य तुरुन्तै प्रकट हुनेछ भनेर तिनीहरूले सोचिरहेका थिए।+ १२ त्यसैले उहाँले भन्‍नुभयो: “कुलीन घरानाको एक जना मानिस राज्याधिकार हासिल गरेर फर्कन परदेश गए।+ १३ तिनले आफ्ना १० जना दासलाई बोलाएर १० मीना* दिए र भने: ‘म नफर्केसम्म यसबाट व्यापार गर।’+ १४ तर तिनको देशका मानिसहरू तिनलाई घृणा गर्थे। त्यसैले तिनीहरूले राजदूतहरूको एक दललाई तिनको पछिपछि यसो भन्‍न पठाए: ‘यो मानिस हाम्रो राजा बनेको हामी चाहन्‍नौँ।’

१५ “अन्तमा तिनी राज्याधिकार हासिल गरेर फर्के। अनि आफूले पैसा* दिएका दासहरूलाई बोलाए। किनकि तिनीहरूले व्यापार गरेर के-कति कमाए भनेर तिनी जान्‍न चाहन्थे।+ १६ तब पहिलोचाहिँ अघि सरेर भन्यो: ‘मालिक, तपाईँले दिनुभएको मीनाबाट मैले १० मीना कमाएँ।’+ १७ अनि तिनले त्यस दासलाई भने: ‘स्याबास, असल दास! तिमीले आफूलाई असाध्यै सानो कुरामा विश्‍वासयोग्य साबित गऱ्‍यौ। त्यसैले १० सहरमाथि अख्तियार चलाऊ।’+ १८ त्यसैगरि दोस्रो दास आयो र भन्यो: ‘मालिक, तपाईँले दिनुभएको मीनाबाट मैले पाँच मीना कमाएँ।’+ १९ तिनले उसलाई पनि यसो भने: ‘तिमी पनि पाँच सहरमाथि अख्तियार चलाऊ।’ २० तर अर्को दास यसो भन्दै आयो: ‘मालिक, तपाईँको मीना यहाँ छ। मैले यसलाई कपडामा लुकाएर राखेँ। २१ मलाई तपाईँको डर लाग्यो किनकि तपाईँ कठोर मानिस हुनुहुन्छ। तपाईँ आफूले जम्मा नगरेको पैसा लिनुहुन्छ अनि आफूले नछरेको बाली कटनी गर्नुहुन्छ।’+ २२ तिनले उसलाई भने: ‘ए दुष्ट दास, तेरै मुखले बोलेको कुराको आधारमा म तेरो न्याय गर्नेछु। म आफूले जम्मा नगरेको पैसा लिने र आफूले नछरेको बाली कटनी गर्ने कठोर मानिस हुँ भनेर तँलाई थाहै रहेछ, हैन त?+ २३ त्यसोभए तैँले मेरो पैसा* साहूकहाँ लगेर किन राखिनस्‌? तैँले त्यसो गरेको भए म फर्कँदा ब्याजसहित त्यो फिर्ता पाउने थिएँ।’

२४ “त्यसपछि तिनले नजिकै उभिरहेकाहरूलाई यसो भने: ‘ऊसित भएको मीना खोसेर १० मीना हुनेलाई देओ।’+ २५ तर तिनीहरूले यस्तो जवाफ दिए: ‘मालिक, ऊसित १० मीना छँदै छ नि!’— २६ ‘म तिमीहरूलाई भन्छु, जोसित छ, उसलाई अझ धेरै दिइनेछ तर जोसित छैन, ऊसित भएको पनि खोसिनेछ।+ २७ साथै मेरा शत्रुहरू, जो म तिनीहरूको राजा बनेको चाहँदैनन्‌, तिनीहरूलाई यहाँ ल्याओ र मेरै अगाडि तिनीहरूलाई मार।’”

२८ यी कुरा भनिसकेपछि उहाँ अघिअघि हिँड्‌दै यरुसलेमतिर उक्लनुभयो। २९ तब जैतुन डाँडा भनिने डाँडाको+ बेथफागे अनि बेथानीनजिकै पुगेपछि उहाँले आफ्ना दुई जना चेलालाई यसो भनेर पठाउनुभयो:+ ३० “तिमीहरूले देखिरहेको त्यस गाउँमा जाओ र त्यहाँ पसेपछि तिमीहरूले गधाको एउटा बछेडोलाई बाँधेर राखेको भेट्टाउनेछौ, जसमा अहिलेसम्म कोही चढेको छैन। त्यसलाई फुकाएर ल्याओ। ३१ तर यदि कसैले ‘तिमीहरू किन यसलाई फुकाउँदै छौ?’ भनेर सोध्यो भने यसो भन्‍नू, ‘प्रभुलाई यो चाहिएको छ।’” ३२ तब तिनीहरू गए र उहाँले जस्तो भन्‍नुभएको थियो, त्यस्तै पाए।+ ३३ तर तिनीहरूले बछेडोलाई फुकाउँदै गर्दा त्यसका मालिकहरूले सोधे: “तिमीहरू किन यस बछेडोलाई फुकाउँदै छौ?” ३४ तिनीहरूले जवाफ दिए: “प्रभुलाई यो चाहिएको छ।” ३५ तब तिनीहरूले त्यसलाई येसुकहाँ ल्याए र त्यस बछेडोमाथि आफ्ना लुगाहरू बिछ्याए अनि येसुलाई त्यसमाथि बसाए।+

३६ अनि उहाँ अगाडि बढ्‌दै गर्नुहुँदा तिनीहरूले आ-आफ्नो लुगा बाटोमा बिछ्याउन थाले।+ ३७ उहाँ जैतुन डाँडाको ओरालो बाटोनजिक पुग्नेबित्तिकै चेलाहरूको भीडले आनन्द मनाउँदै चर्को स्वरले परमेश्‍वरको प्रशंसा गर्न थाल्यो किनकि तिनीहरूले थुप्रै शक्‍तिशाली काम देखेका थिए। ३८ तिनीहरूले यसो भन्‍न थाले: “यहोवाको* नाममा आउने राजा धन्यका हुन्‌! स्वर्गमा शान्ति होस्‌ अनि स्वर्गमा बस्नुहुने परमेश्‍वरको महिमा होस्‌!”+ ३९ यो सुनेर भीडबाट केही फरिसीले उहाँलाई भने: “गुरुज्यू, आफ्ना चेलाहरूलाई हप्काउनुहोस्‌।”+ ४० तर उहाँले तिनीहरूलाई यस्तो जवाफ दिनुभयो: “म तिमीहरूलाई भन्छु, यिनीहरू चुप लागे भने ढुङ्‌गाहरू कराउनेछन्‌।”

४१ जब उहाँ सहरको नजिक पुग्नुभयो, तब त्यसलाई हेरेर रुनुभयो+ ४२ र भन्‍नुभयो: “यदि आजको दिन तैँले, हो तैँले, कुन कुराले शान्ति दिन्छ भनेर बुझेको भए—तर ती अब तेरो नजरबाट लुकाइएका छन्‌।+ ४३ किनकि यस्तो बेला आउनेछ, जब तेरा शत्रुहरूले तेरो चारैतिर तीखातीखा काठहरू गाडेर तँलाई घेरा हाल्नेछन्‌ र चारैतिरबाट तँलाई थुन्‍नेछन्‌।*+ ४४ तिनीहरूले तँलाई अनि तँकहाँ बास गर्ने तेरा छोराछोरीलाई भुईँमा पछार्नेछन्‌+ र एउटा ढुङ्‌गामाथि अर्को ढुङ्‌गासमेत छोड्‌नेछैनन्‌+ किनकि तेरो जाँच भइरहेको समयलाई तैँले चिन्‍न सकिनस्‌।”

४५ अनि उहाँ मन्दिरभित्र पस्नुभयो र त्यहाँ किनबेच गरिरहेकाहरूलाई बाहिर लघार्न थाल्नुभयो+ ४६ र यसो भन्‍न थाल्नुभयो: “‘मेरो घर प्रार्थनाको घर भनेर चिनिनेछ’ भनी धर्मशास्त्रमा लेखिएको छ।+ तर तिमीहरूले यसलाई डाँकुहरूको ओडार बनाएका छौ।”+

४७ उहाँले हरेक दिन मन्दिरमा सिकाउन छोड्‌नुभएन। तर मुख्य पुजारीहरू, शास्त्रीहरू अनि जनताका मुख्य-मुख्य मानिसहरूले उहाँलाई मार्न खोजिरहेका थिए।+ ४८ तर तिनीहरूले त्यसो गर्ने मौका पाएनन्‌ किनकि सबका सब मानिस उहाँको कुरा सुन्‍न उहाँको वरिपरि झुम्मिरहन्थे।+

२० एकदिन उहाँ मन्दिरमा मानिसहरूलाई सिकाउँदै र सुसमाचार सुनाउँदै हुनुहुन्थ्यो। त्यसैबेला धर्मगुरुहरूका साथमा मुख्य पुजारीहरू र शास्त्रीहरू उहाँकहाँ आए। २ तिनीहरूले उहाँलाई सोधे: “हामीलाई भन्‍नुहोस्‌, तपाईँ कुन अख्तियारले यी सब गर्दै हुनुहुन्छ? तपाईँलाई कसले यस्तो अख्तियार दियो?”+ ३ उहाँले तिनीहरूलाई जवाफ दिनुभयो: “म पनि तिमीहरूलाई एउटा प्रश्‍न सोध्छु। तिमीहरू मलाई भन: ४ युहन्‍नाले बप्तिस्मा गराउने अख्तियार परमेश्‍वरबाट* पाए कि मानिसहरूबाट?” ५ तब तिनीहरूले आपसमा यस्तो तर्क गरे: “‘परमेश्‍वरबाट’ भनौँ भने ‘तिमीहरूले किन ऊमाथि विश्‍वास गरेनौ त’ भनेर उसले सोध्नेछ। ६ तर ‘मानिसहरूबाट’ भनौँ भने सबका सब मानिसहरूले हामीलाई ढुङ्‌गाले हान्‍नेछन्‌ किनकि तिनीहरू युहन्‍नालाई भविष्यवक्‍ता मान्छन्‌।”+ ७ त्यसैले तिनीहरूले ‘थाह छैन’ भने। ८ अनि येसुले तिनीहरूलाई यसो भन्‍नुभयो: “म कुन अख्तियारले यी सब गर्छु, म पनि तिमीहरूलाई भन्दिनँ।”

९ तब उहाँले मानिसहरूलाई यो उदाहरण सुनाउन थाल्नुभयो: “एक जना मानिसले अङ्‌गुर बगान+ लगायो अनि मोहीहरूलाई त्यसको ठेक्का दिएर आफूचाहिँ लामो समयको लागि विदेशतिर लाग्यो।+ १० फल टिप्ने बेला भएपछि उसले अङ्‌गुर बगानको कुत उठाउन* आफ्नो एक जना दासलाई मोहीहरूकहाँ पठायो। तर मोहीहरूले उसलाई कुटेर रित्तो हात फर्काइदिए।+ ११ उसले तिनीहरूकहाँ फेरि अर्को दासलाई पठायो। तर त्यसलाई पनि तिनीहरूले कुटे र बेइज्जत गरेर रित्तो हात फर्काइदिए। १२ उसले तेस्रो दासलाई पनि पठायो। त्यसलाई पनि तिनीहरूले घाइते बनाएर बाहिर फालिदिए। १३ त्यसपछि अङ्‌गुर बगानको मालिकले भन्यो: ‘म के गरूँ? म आफ्नो प्यारो छोरालाई पठाउनेछु।+ तिनीहरूले उसलाई त आदर गर्लान्‌ नि।’ १४ उसलाई देखेपछि मोहीहरूले आपसमा यस्तो मतो गरे: ‘यो त हकवाला हो। यसलाई मारौँ अनि यसको सम्पत्ति हाम्रो हुनेछ।’ १५ त्यसपछि तिनीहरूले उसलाई अङ्‌गुर बगानबाहिर लगेर मारे।+ अङ्‌गुर बगानको मालिकले अब तिनीहरूलाई के गर्नेछ? १६ ऊ आएर ती मोहीहरूलाई मार्नेछ र अङ्‌गुर बगानचाहिँ अरूलाई जिम्मा दिनेछ।”

यो सुनेर तिनीहरूले भने: “त्यस्तो त कहिल्यै नहोस्‌!” १७ तर उहाँले सीधै तिनीहरूलाई हेरेर भन्‍नुभयो: “त्यसोभए यस्तो लेखिनुको अर्थ के हो त: ‘जुन ढुङ्‌गोलाई डकर्मीहरूले काम नलाग्ने ठाने, त्यही ढुङ्‌गो नै कुनाको शिरढुङ्‌गो बनेको छ’?+ १८ जो यस ढुङ्‌गोमाथि बजारिन्छ, त्यो चकनाचुर हुनेछ+ र जसमाथि यो ढुङ्‌गो खस्छ, त्यो धुलोपिठो हुनेछ।”

१९ शास्त्रीहरू र मुख्य पुजारीहरूले उहाँलाई त्यतिबेलै पक्रन खोजे। किनकि यो उदाहरण उहाँले तिनीहरूकै विषयमा भन्‍नुभएको हो भनेर तिनीहरूले बुझे तर तिनीहरू मानिसहरूसित डराए।+ २० त्यसैले उहाँले बोल्नुभएकै कुरामा उहाँलाई फसाएर+ सरकारको र राज्यपालको हातमा सुम्पन तिनीहरूले उहाँको चियो गरे। त्यसपछि तिनीहरूले भाडाका केही मानिसलाई उहाँकहाँ पठाए र उनीहरूलाई धर्मी मानिस भइटोपल्न लगाए। २१ अनि ती मानिसहरूले उहाँलाई सोधे: “गुरुज्यू, हामीलाई थाह छ, तपाईँ ठीकठीक बोल्नुहुन्छ र सिकाउनुहुन्छ अनि कसैको पक्षपात गर्नुहुन्‍न बरु परमेश्‍वरको मार्गबारे सत्य कुरा सिकाउनुहुन्छ। २२ हामीले सिजरलाई* कर तिर्नु उचित हो कि होइन?” २३ तर तिनीहरूको धुर्त्याइँ थाह पाएर उहाँले यसो भन्‍नुभयो: २४ “मलाई एक दिनारको* सिक्का देखाओ। यसमा कसको चित्र र नाम छ?” तिनीहरूले जवाफ दिए: “सिजरको।” २५ तब उहाँले तिनीहरूलाई भन्‍नुभयो: “त्यसैले हरहालतमा, जे-जे सिजरका हुन्‌, सिजरलाई+ र जे-जे परमेश्‍वरका हुन्‌, परमेश्‍वरलाई देओ।”+ २६ उहाँले बोल्नुभएको कुरामा तिनीहरूले उहाँलाई मानिसहरूसामु फसाउन सकेनन्‌ बरु उहाँको जवाफ सुनेर तिनीहरू छक्क परे अनि चुप लागे।

२७ केही सदुकीहरू, जो मरेकाहरू फेरि जीवित हुँदैनन्‌ भन्छन्‌,+ तिनीहरू उहाँकहाँ आए र सोधे:+ २८ “गुरुज्यू, मोसाले हाम्रो लागि लेखेका छन्‌: ‘यदि कुनै मानिस निस्सन्तान मऱ्‍यो तर उसकी पत्नी जिउँदै छे भने उसको भाइले आफ्नी भाउजूसित विवाह गरेर दाइको निम्ति सन्तान जन्माउनुपर्छ।’+ २९ एउटा परिवारमा सात जना दाजुभाइ थिए अनि जेठोले विवाह गऱ्‍यो र निस्सन्तान मऱ्‍यो। ३० त्यसैगरि माइलो ३१ र साइँलोले पनि त्यस स्त्रीसित विवाह गरे। यसरी सातै जनाले त्यस स्त्रीसित विवाह गरे र निस्सन्तान मरे। ३२ अन्तमा त्यो स्त्री पनि मरी। ३३ त्यसोभए तिनीहरू फेरि जीवित हुँदा त्यो स्त्री कसकी पत्नी हुनेछे? किनकि सातै जनाले त्यसलाई पत्नी बनाइसकेका थिए।”

३४ येसुले तिनीहरूलाई भन्‍नुभयो: “यस युगका* मानिसहरूले विवाहवारी गर्छन्‌। ३५ तर फेरि जीवित हुन र आउँदै गरेको युगमा जीवन पाउन योग्य ठहरिएकाहरूले विवाहवारी गर्नेछैनन्‌।+ ३६ वास्तवमा तिनीहरू फेरि कहिल्यै मर्नेछैनन्‌ किनकि तिनीहरू स्वर्गदूतहरूजस्तै हुनेछन्‌ र फेरि जीवित भएको हुनाले तिनीहरू परमेश्‍वरका छोराछोरी बन्‍नेछन्‌। ३७ तर मरेकाहरू ब्युँतनेछन्‌ भनेर मोसाले पनि झाडीसम्बन्धी विवरणमा बताए। त्यस विवरणमा तिनले यहोवालाई* ‘अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकुबका परमेश्‍वर’ भनेका छन्‌।+ ३८ उहाँ मरेकाहरूका होइन तर जीवितहरूका परमेश्‍वर हुनुहुन्छ किनकि उहाँको लागि* तिनीहरू सबै जीवित छन्‌।”+ ३९ यो सुनेर केही शास्त्रीहरूले उहाँलाई भने: “गुरुज्यू, तपाईँले ठीक भन्‍नुभयो।” ४० त्यसपछि तिनीहरूले उहाँलाई एउटै प्रश्‍न सोध्ने आँट गरेनन्‌।

४१ फेरि उहाँले तिनीहरूलाई सोध्नुभयो: “ख्रिष्ट दाउदको छोरा हुन्‌ भनी तिनीहरूले कसरी भन्‍न सके?+ ४२ किनकि दाउद आफै भजनको पुस्तकमा यसो भन्छन्‌: ‘यहोवाले* मेरा प्रभुलाई भन्‍नुभयो, “तिमी मेरो दाहिने हाततिर बस, ४३ जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान तुल्याउँदिनँ।”’+ ४४ यदि दाउदले उसलाई प्रभु भनी सम्बोधन गर्छन्‌ भने ऊ कसरी तिनको छोरा हुन्छ?”

४५ त्यसपछि सबै मानिसले सुनिरहेको बेला उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: ४६ “शास्त्रीहरूदेखि होसियार बस, जो लामा-लामा लुगा लगाएर घुमफिर गर्न मन पराउँछन्‌, बजारहरूमा विशेष अभिवादन चाहन्छन्‌, सभाघरहरूमा सबैभन्दा अगाडि* बस्न रुचाउँछन्‌, रात्रिभोजहरूमा मुख्यमुख्य आसन खोज्छन्‌,+ ४७ विधवाहरूको घर* हडप्छन्‌ र अरूलाई देखाउन लामो प्रार्थना गर्छन्‌। तिनीहरूले अझै चर्को दण्ड भोग्नेछन्‌।”

२१ अनि उहाँले नजर उठाएर हेर्दा धनी मानिसहरूले दानपात्रहरूमा भेटी खसालिरहेको देख्नुभयो।+ २ त्यहाँ एक जना गरिब विधवाले असाध्यै थोरै मोलका दुई साना सिक्का* खसालेकी पनि उहाँले देख्नुभयो+ ३ र यसो भन्‍नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, यस गरिब विधवाले तिनीहरू सबैले भन्दा धेरै खसाली।+ ४ किनकि तिनीहरू सबैले आफ्नो प्रशस्तताबाट भेटी खसाले तर यस स्त्रीले त अभाव* हुँदाहुँदै पनि आफ्नो जीविका चलाउने सबै पैसा खसाली।”+

५ पछि जब कसै-कसैले मन्दिर कत्ति सुन्दर पत्थरहरू र परमेश्‍वरलाई अर्पण गरिएका कुराहरूले सजिसजाउ छ भनेर कुरा गरिरहेका थिए,+ ६ तब उहाँले भन्‍नुभयो: “यस्तो बेला आउनेछ, जब तिमीहरूले देखिरहेका यी कुराहरू एउटा ढुङ्‌गामाथि अर्को ढुङ्‌गासमेत नरहनेगरि ढालिनेछन्‌।”+ ७ तब तिनीहरूले उहाँलाई यस्तो प्रश्‍न गरे: “गुरुज्यू, यी कुराहरू वास्तवमा कहिले हुनेछन्‌ अनि यी कुराहरू पूरा हुने बेलाको चिन्ह के हुनेछ?”+ ८ उहाँले भन्‍नुभयो: “होसियार बस, तिमीहरूलाई कसैले बहकाउन नपाओस्‌।+ किनकि धेरै जना मेरो नाम लिएर ‘म उही हुँ’ र ‘समय नजिकै छ’ भन्दै आउनेछन्‌। तर तिनीहरूको पछि नलाग।+ ९ यसबाहेक युद्ध र गोलमालको* खबर सुन्दा नआत्तिओ। किनकि पहिला यी सब हुनु आवश्‍यक छ तर यस युगको अन्त त्यतिखेरै भइहाल्नेछैन।”+

१० त्यसपछि उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “जातिको विरुद्धमा जाति+ र राज्यको विरुद्धमा राज्य उठ्‌नेछ।+ ११ ठूलठूला भूकम्प जानेछ, ठाउँठाउँमा अनिकाल पर्नेछ र महामारी हुनेछ।+ मानिसहरूले भयानक दृश्‍यहरू देख्नेछन्‌ र आकाशमा ठूलठूला चिन्हहरू देखा पर्नेछन्‌।

१२ “तर यी सब हुनुअघि मानिसहरूले तिमीहरूलाई पक्रनेछन्‌, खेदो गर्नेछन्‌,+ सभाघर र झ्यालखानाहरूमा सुम्पिदिनेछन्‌। मेरो नामको खातिर तिमीहरू राजाहरू र राज्यपालहरूसामु उभ्याइनेछौ।+ १३ तब तिमीहरूले साक्षी दिने मौका पाउनेछौ। १४ त्यतिखेर आफ्नो प्रतिवाद कसरी गर्ने भनी पहिल्यै तयारी नगर्न हृदयमा निश्‍चय गर+ १५ किनकि म तिमीहरूलाई यस्ता शब्दहरू र यस्तो बुद्धि दिनेछु, जसलाई तिमीहरूका सारा विरोधीले एकजुट भएर पनि विरोध वा खण्डन गर्न सक्नेछैनन्‌।+ १६ साथै तिमीहरूका आमाबुबा, दाजुभाइ, नातेदार र साथीहरूले समेत तिमीहरूलाई सुम्पिदिनेछन्‌* र तिमीहरूमध्ये कोही-कोही मारिनेछौ।+ १७ तिमीहरू मेरा चेला भएकाले सबै मानिसले तिमीहरूलाई घृणा गर्नेछन्‌।+ १८ तर तिमीहरूको शिरको एउटा केशसमेत नष्ट हुनेछैन।+ १९ तिमीहरू सहनशील भयौ भने आफ्नो ज्यान बचाउनेछौ।+

२० “यसबाहेक जब तिमीहरूले यरुसलेमलाई सैनिकहरूले घेरेको+ देखौला, तब त्यसको विनाश नजिकै आएछ भनेर बुझ।+ २१ यहुदियामा हुनेहरू डाँडाहरूतिर भाग्न थालून्‌,+ सहरभित्र हुनेहरू निस्किजाऊन्‌ र गाउँमा हुनेहरू सहरभित्र नपसून्‌। २२ किनभने लेखिएका सबै कुरा पूरा होऊन्‌ भनेर त्यो दिन त्यसको न्याय हुनेछ।* २३ ती दिनमा गर्भवती र दूध खुवाउने स्त्रीहरूलाई हाय!+ किनकि त्यस भूमिमा ठूलो सङ्‌कष्ट हुनेछ र त्यहाँका मानिसहरूमाथि क्रोध दन्किनेछ। २४ तिनीहरू तरबारले मारिनेछन्‌ र सबै राष्ट्रमा बन्दी बनाएर लगिनेछन्‌।+ अनि राष्ट्रहरूलाई* दिइएको समय पूरा नभएसम्म ती राष्ट्रहरूले यरुसलेमलाई कुल्चीमिल्ची गर्नेछन्‌।+

२५ “साथै सूर्य, चन्द्र र ताराहरूमा चिन्हहरू देखिनेछन्‌+ अनि समुद्रको गर्जन र त्यसको हलचलबाट उम्कने कुनै उपाय नदेखेकोले पृथ्वीमा राष्ट्रहरू व्याकुल हुनेछन्‌। २६ अनि पृथ्वीमाथि आइपर्ने कुराहरूको डर र आशङ्‌काले गर्दा मानिसहरू मूर्च्छा पर्नेछन्‌ किनकि आकाशका शक्‍तिहरू डगमगाउनेछन्‌। २७ तब तिनीहरूले मानिसको छोरालाई+ शक्‍ति र ठूलो महिमासहित बादलमा आउँदै गरेको देख्नेछन्‌।+ २८ तर यी कुराहरू हुन थालेपछि खडा भएर आफ्नो शिर उठाओ किनकि तिमीहरूको छुटकारा नजिक आउँदै छ।”

२९ त्यसपछि उहाँले तिनीहरूलाई एउटा उदाहरण सुनाउनुभयो: “अन्जिरको रूख र अरू सबै रूखलाई हेर।+ ३० तिनीहरूमा पालुवा लागेको देखेपछि तिमीहरूले ग्रीष्म ऋतु नजिकै रहेछ भनेर थाह पाउँछौ। ३१ त्यसैगरि जब तिमीहरूले यी कुराहरू भइरहेका देख्छौ, तब परमेश्‍वरको राज्य नजिकै छ भनेर जान। ३२ म तिमीहरूलाई साँच्चै भन्छु, यी सब कुरा नभएसम्म यो पुस्ता कुनै पनि हालतमा बितेर जानेछैन।+ ३३ आकाश र पृथ्वी बितेर जानेछन्‌ तर मेरा वचनहरू कुनै पनि हालतमा बितेर जानेछैनन्‌।+

३४ “तर तिमीहरू आफ्नो विषयमा होसियार बस ताकि धेरै खाने र पिउने+ अनि जीवनको फिक्रीको बोझले+ तिमीहरूको हृदयलाई दबाउन नपाओस्‌, नत्र त त्यो दिन तिमीहरूमाथि अचानक ३५ पासोझैँ आइपर्नेछ।+ किनकि पृथ्वीमा बास गर्ने सबैमाथि त्यो आइपर्नेछ। ३६ त्यसैले टार्नै नसकिने यी कुराहरूबाट उम्कन र मानिसको छोरासामु खडा हुन हरघडी उत्कट बिन्ती चढाउँदै+ जागा रहो।”+

३७ उहाँ दिनभरि मन्दिरमा सिकाउनुहुन्थ्यो तर राती भने सहरबाहिर जैतुन डाँडा भनिने डाँडामा बास बस्न जानुहुन्थ्यो। ३८ अनि उहाँको कुरा सुन्‍न सबै मानिस बिहान सबेरै मन्दिरमा आउँथे।

२२ निस्तार चाड* पनि भनिने अखमिरा रोटीको चाड*+ नजिक आउँदै थियो।+ २ मुख्य पुजारीहरू र शास्त्रीहरू उहाँलाई मार्ने राम्रो मौका खोजिरहेका थिए+ किनकि तिनीहरू मानिसहरूसित डराउँथे।+ ३ तब ती १२ जनामध्ये एक, यहुदा इस्करियोतको मनभित्र सैतान पस्यो।+ ४ अनि तिनी मुख्य पुजारीहरू र मन्दिरका पहरेदारहरूका नाइकेहरूकहाँ गए र कसरी उहाँलाई धोका दिएर तिनीहरूको हातमा सुम्पिने भनेर तिनीहरूसित कुरा गरे।+ ५ तिनीहरू खुसी भए र तिनलाई चाँदीको पैसा दिन राजी भए।+ ६ त्यसैले यहुदा तिनीहरूको कुरा मान्‍न तयार भए अनि वरपर भीड नभएको बेला उहाँलाई धोका दिएर तिनीहरूको हातमा सुम्पिदिने मौका खोज्न थाले।

७ अखमिरा रोटीको चाडको पहिलो दिन आयो, जुन दिन निस्तार चाडको बलि चढाउनुपर्थ्यो।+ ८ तब येसुले पत्रुस र युहन्‍नालाई यसो भनेर पठाउनुभयो: “जाओ र हाम्रो लागि निस्तार चाडको भोज तयार पार।”+ ९ तिनीहरूले उहाँलाई भने: “हामीले कहाँ तयार पारेको तपाईँ चाहनुहुन्छ?” १० उहाँले तिनीहरूलाई भन्‍नुभयो: “हेर, जब तिमीहरू सहरभित्र पस्छौ, तब घैँटोमा पानी बोकेको एक जना मानिससित तिमीहरूको भेट हुनेछ। उसको पछिपछि लाग र ऊ जुन घरभित्र जान्छ, त्यसैभित्र पस।+ ११ अनि तिमीहरूले त्यस घरको मालिकलाई यसो भन्‍नू: ‘गुरुज्यूले सोध्नुभएको छ: “मैले आफ्ना चेलाहरूसित निस्तार चाडको भोज खाने पाहुना-कोठा कहाँ छ?”’ १२ तब उसले तिमीहरूलाई माथिल्लो तलामा तयार पारेर राखिएको एउटा ठूलो कोठा देखाउनेछ। तिमीहरूले त्यहीँ तयारी गर।” १३ त्यसैले तिनीहरू गए र उहाँले जस्तो भन्‍नुभएको थियो, त्यस्तै पाए। अनि तिनीहरूले निस्तार चाडको लागि तयारी गरे।

१४ जब बेला भयो, तब उहाँ प्रेषितहरूसँगै खान टेबुलमा बस्नुभयो।+ १५ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “मैले दुःख भोग्नुअघि तिमीहरूसित निस्तार चाडको यो भोज खाने अति इच्छा गरेको थिएँ। १६ किनकि म तिमीहरूलाई भन्छु, यस चाडसित सम्बन्धित हरेक कुरा परमेश्‍वरको राज्यमा पूरा नभएसम्म म यो फेरि खानेछैनँ।” १७ अनि उहाँले कचौरा लिएर धन्यवाद चढाउनुभयो र भन्‍नुभयो: “यो लेओ र पालैसित यसबाट पिओ। १८ किनकि म तिमीहरूलाई भन्छु, परमेश्‍वरको राज्य नआएसम्म अबदेखि म दाखमद्य* पिउँदिनँ।”

१९ उहाँले एउटा रोटी पनि लिनुभयो+ र धन्यवाद चढाएपछि भाँचेर यसो भन्दै तिनीहरूलाई दिनुभयो: “यो तिमीहरूका लागि दिइने+ मेरो शरीरको प्रतीक हो।+ मेरो सम्झनामा यो गर्ने गर।”+ २० साँझको खाना खाइसकेपछि उहाँले कचौरा पनि लिएर त्यसै गर्नुभयो र भन्‍नुभयो: “यो कचौरा त्यो नयाँ करारको+ प्रतीक हो, जो तिमीहरूका लागि बगाइने मेरो रगतको+ आधारमा+ बाँधिनेछ।

२१ “तर हेर, मलाई धोका दिने मसँगै टेबुलमा छ।+ २२ वास्तवमा मानिसको छोरा त उसको लागि जे तय भइसकेको थियो, त्यसअनुसारै जाँदै छ।+ तर धिक्कार छ त्यस मानिसलाई, जसले उसलाई धोका दिन्छ!”+ २३ त्यसैले यस्तो काम गर्ने मानिस आफूहरूमध्ये कोचाहिँ होला भनेर तिनीहरू आपसमा कुरा गर्न थाले।+

२४ तिनीहरूमध्ये सबैभन्दा ठूलो कसलाई मान्‍ने भनेर तिनीहरूबीच चर्को बहस पनि चल्यो।+ २५ तर उहाँले तिनीहरूलाई भन्‍नुभयो: “संसारका शासकहरूले आफ्ना जनतामाथि हैकम चलाउँछन्‌ र तिनीहरूमाथि अख्तियार जमाउनेहरूलाई चाहिँ परोपकारी भनिन्छ।+ २६ तर तिमीहरूबीच भने यस्तो हुनु हुँदैन।+ तिमीहरूमाझ जो सबैभन्दा ठूलो हो, ऊ सबैभन्दा सानोजस्तो बनोस्‌+ अनि अगुवाको काम गर्नेचाहिँ सेवा गर्नेजस्तो होस्‌। २७ कोचाहिँ ठूलो हो, खान बस्ने कि सेवा गर्ने? खान बस्नेचाहिँ होइन र? तर म त तिमीहरूबीच सेवकजस्तै छु।+

२८ “तर मेरा परीक्षाहरूमा+ मसितै रहने तिमीहरू नै हौ।+ २९ अनि मेरो बुबाले मसित राज्य दिने करार गर्नुभएजस्तै म पनि तिमीहरूसित राज्य दिने करार गर्छु,+ ३० तिमीहरू मेरो राज्यमा मेरो टेबुलमा बसेर खानेछौ र पिउनेछौ+ अनि इस्राएलका १२ कुलको इन्साफ गर्न सिंहासनहरूमा बस्नेछौ।+

३१ “सिमोन, ए सिमोन, हेर, सैतानले तिमीहरू सबैलाई गहुँलाई जस्तै निफन्‍ने माग गरेको छ।+ ३२ तर तिम्रो विश्‍वास नडगमगाओस्‌ भनेर मैले तिम्रो लागि उत्कट बिन्ती चढाएको छु+ र तिमी पश्‍चात्ताप गरेर फर्कनेबित्तिकै आफ्ना भाइहरूलाई बलियो बनाऊ।”+ ३३ तब तिनले उहाँलाई भने: “प्रभु, म तपाईँसँगै झ्यालखानामा जान अनि मर्नसमेत तयार छु।”+ ३४ तर उहाँले भन्‍नुभयो: “पत्रुस, म तिमीलाई भन्छु, तिमीले मलाई चिन्‍न तीन पटक इन्कार नगरेसम्म आज भाले बास्नेछैन।”+

३५ उहाँले तिनीहरूलाई यसो पनि भन्‍नुभयो: “मैले तिमीहरूलाई पैसाको थैली, खाजाको पोको र जुत्ताविना पठाउँदा+ के तिमीहरूलाई कुनै कुराको अभाव भयो?” तिनीहरूले भने: “अहँ, भएन!” ३६ तब उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तर अब थैली हुनेले त्यो बोकोस्‌, त्यसैगरि खाजाको पोको पनि। अनि तरबार नहुनेले आफ्नो लुगा बेचेर भए पनि एउटा तरबार किनोस्‌। ३७ किनकि म तिमीहरूलाई भन्छु, लेखिएको यो कुरा ममा पूरा हुनै पर्छ: ‘ऊ कुकर्मीहरूको साथमा गनियो।’+ त्यसैले मेरो विषयमा जे भनिएको थियो, त्यो पूरा हुँदै छ।”+ ३८ तब तिनीहरूले भने: “प्रभु, हेर्नुहोस्‌ त! यहाँ दुई वटा तरबार छन्‌।” उहाँले तिनीहरूलाई भन्‍नुभयो: “यति भए पुग्छ।”

३९ बाहिर निस्केपछि उहाँ आफ्नो बानीअनुसार जैतुन डाँडामा जानुभयो अनि चेलाहरू पनि उहाँको पछिपछि लागे।+ ४० त्यहाँ पुगेपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “प्रलोभनमा नपर्न प्रार्थना गरिरहो।”+ ४१ अनि तिनीहरूलाई छोडेर उहाँ दुई-चार पाइला पर जानुभयो। त्यसपछि घुँडा टेकेर यसो भन्दै प्रार्थना गर्न थाल्नुभयो: ४२ “हे बुबा, यदि तपाईँ चाहनुहुन्छ भने यो कचौरा मेरो सामुन्‍नेबाट हटाइदिनुहोस्‌। तैपनि मेरो होइन तर तपाईँको इच्छाबमोजिम होस्‌।”+ ४३ तब स्वर्गबाट एउटा दूत उहाँकहाँ देखा परेर उहाँलाई हौसला दिए।+ ४४ तर उहाँ असह्‍य वेदनामा पर्नुभएकोले झन्‌ व्यग्रतासाथ प्रार्थना गरिरहनुभयो+ अनि उहाँको पसिना रगतको थोपासरी भुईँमा खसिरहेको थियो। ४५ प्रार्थना गरिसकेपछि उहाँ उठेर चेलाहरूकहाँ जानुभयो र तिनीहरू सुर्ताले क्लान्त भई निदाइरहेको भेट्टाउनुभयो।+ ४६ अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू किन निदाइरहेका छौ? जाग र प्रलोभनमा नपर्न प्रार्थना गरिरहो।”+

४७ उहाँ बोल्दै गर्नुहुँदा हेर! एउटा जमात आयो। अनि ती १२ जनामध्ये एक, यहुदा तिनीहरूको अघिअघि थिए। तिनी येसुलाई चुम्बन गर्न उहाँको छेउमा गए।+ ४८ तर येसुले तिनलाई भन्‍नुभयो: “यहुदा, के तिमी मानिसको छोरालाई चुम्बन गरेर उसलाई धोका दिँदै छौ?” ४९ के हुँदै छ भन्‍ने देखेर उहाँको वरपर हुनेहरूले यसो भने: “प्रभु, के हामी तरबारले हानौँ?” ५० तिनीहरूमध्ये एक जनाले प्रधानपुजारीको दासलाई प्रहार गरेर उसको दाहिने कान च्वाट्टै काटिदियो।+ ५१ तर येसुले भन्‍नुभयो: “बस्‌, अब अरू केही नगर।” त्यसपछि उहाँले उसको कान छोएर निको पारिदिनुभयो। ५२ तब उहाँलाई पक्रन आएका मुख्य पुजारीहरू, मन्दिरको पहरेदारहरूका नाइकेहरू र धर्मगुरुहरूलाई येसुले भन्‍नुभयो: “के तिमीहरू डाँकुलाई पक्रन आएजस्तै गरी तरबार र लाठोहरू लिएर आयौ?+ ५३ म दिनदिनै मन्दिरमा तिमीहरूसितै हुन्थेँ + तैपनि त्यतिबेला तिमीहरूले मलाई पक्रेनौ।+ तर यो तिमीहरूको बेला हो र अन्धकारले शासन गर्ने समय हो।”+

५४ त्यसपछि तिनीहरूले उहाँलाई गिरफ्तार गरेर लगे+ अनि प्रधानपुजारीको घरमा पुऱ्‍याए तर पत्रुस भने टाढैबाट उहाँको पछिपछि लागिरहेका थिए।+ ५५ मानिसहरू चोकको बीचमा आगो बालेर एकसाथ बसिरहेको बेला पत्रुस पनि तिनीहरूसितै थिए।+ ५६ तिनलाई आगोको छेउमा बसिरहेको देखेपछि एउटी नोकर्नीले तिनलाई राम्ररी हेरिन्‌ र यसो भनिन्‌: “यो मानिस पनि उहाँसँगै थियो।” ५७ तर तिनले नकार्दै यसो भने: “ए नारी, म उहाँलाई चिन्दिनँ।” ५८ यसको केही समयपछि अर्को एक जनाले तिनलाई देखे र यसो भने: “तिमी पनि तिनीहरूमध्येकै हौ।” तर पत्रुसले भने: “म होइनँ।”+ ५९ अनि लगभग एक घण्टा बितेपछि अर्को एक जना मानिसले ठोकुवा गर्दै यसो भन्‍न थाले: “यो मानिस पनि पक्कै उहाँसित थियो किनकि यो गालिली नै हो।” ६० तर पत्रुसले भने: “ए मानिस, तिमी के भन्दै छौ, म जान्दिनँ।” तिनी बोल्दै गर्दा त्यतिखेरै भाले बास्यो। ६१ तब प्रभुले फर्केर सीधै पत्रुसलाई हेर्नुभयो अनि प्रभुले भन्‍नुभएको यो कुरा पत्रुसले सम्झे: “आज भाले बास्नुअघि तिमीले मलाई तीन पटक तिरस्कार गर्नेछौ।”+ ६२ अनि तिनी बाहिर निस्केर धुरुधुरु रोए।

६३ उहाँलाई हिरासतमा लिएका मानिसहरूले उहाँको गिल्ला गर्न+ र उहाँलाई हिर्काउन थाले।+ ६४ उहाँको अनुहार छोपिदिएर तिनीहरूले यसो भन्‍न थाले: “लौ भविष्यवाणी गर्‌, तँलाई हिर्काउने को हो?” ६५ अनि तिनीहरूले उहाँको निन्दा गर्दै अरू थुप्रै कुरा भने।

६६ उज्यालो हुनेबित्तिकै धर्मगुरुहरूको सभा बस्यो, जसमा मुख्य पुजारीहरू र शास्त्रीहरू पनि थिए।+ अनि तिनीहरूले उहाँलाई यहुदी न्यायपरिषद्‌को भवनमा लगे र यसो भने: ६७ “तँ ख्रिष्ट होस्‌ भने हामीलाई भन्‌।”+ तर उहाँले तिनीहरूलाई भन्‍नुभयो: “मैले बताएँ भने पनि तपाईँहरूले पटक्कै पत्याउनुहुनेछैन। ६८ अनि मैले प्रश्‍न सोधेँ भने तपाईँहरूले त्यसको पटक्कै जवाफ दिनुहुनेछैन। ६९ तर अबउसो मानिसको छोरा+ परमेश्‍वरको शक्‍तिशाली दाहिने हाततर्फ बसिरहेको हुनेछ।”+ ७० यो सुनेर तिनीहरू सबैले सोधे: “त्यसोभए के तँ परमेश्‍वरको छोरा होस्‌?” उहाँले तिनीहरूलाई भन्‍नुभयो: “म हुँ भनेर तपाईँहरू आफै भन्दै हुनुहुन्छ।” ७१ तिनीहरूले भने: “हामीलाई अरू साक्षी किन चाहियो र? यसकै मुखबाट हामीले सुनिहाल्यौँ।”+

२३ तब तिनीहरू सबका सब उठे अनि उहाँलाई पिलातसकहाँ लगे।+ २ त्यसपछि तिनीहरूले उहाँलाई यस्तो आरोप लगाउन थाले:+ “यस मानिसले हाम्रो जातिलाई भड्‌काइरहेको, सिजरलाई* कर तिर्न रोकिरहेको+ अनि आफैलाई म ख्रिष्ट, राजा हुँ भनिरहेको+ हामीले फेला पाऱ्‍यौँ।” ३ तब पिलातसले उहाँलाई सोधे: “के तिमी यहुदीहरूको राजा हौ?” उहाँले जवाफ दिनुभयो: “तपाईँ आफै भन्दै हुनुहुन्छ।”+ ४ त्यसपछि पिलातसले मुख्य पुजारीहरू अनि भीडलाई भने: “मैले यस मानिसमा केही अपराध फेला पारिनँ।”+ ५ तर तिनीहरूले यसो भन्दै जिद्दी गरे: “यसले आफ्नो शिक्षाद्वारा यहुदियाभरि नै, गालिलदेखि यहाँसम्मका सबै मानिसलाई उक्साइरहेको छ।” ६ यो सुनेर पिलातसले उहाँ गालिलका हुन्‌ कि भनेर सोधे। ७ उहाँ हेरोदको अधिकारमा पर्ने क्षेत्रको हुनुहुँदो रहेछ+ भनेर पक्का गरेपछि तिनले उहाँलाई हेरोदकहाँ पठाए, जो त्यतिखेर यरुसलेममै थिए।

८ येसुलाई देखेपछि हेरोद असाध्यै खुसी भए किनकि उहाँको विषयमा थुप्रै कुरा सुनेको हुनाले तिनले निकै समयदेखि उहाँलाई हेर्ने इच्छा गरिरहेका थिए।+ साथै उहाँले केही चमत्कार गर्नुभएको हेर्ने आशा पनि तिनले गरिरहेका थिए। ९ त्यसैले तिनले थुप्रै प्रश्‍न सोधे तर उहाँले केही जवाफ दिनुभएन।+ १० तर मुख्य पुजारीहरू अनि शास्त्रीहरूले घरीघरी तात्तिएर उठ्‌दै उहाँलाई आरोप लगाइरहे। ११ तब हेरोदले आफ्ना सैनिकहरूसित मिलेर उहाँको बेइज्जत गरे।+ तिनले उहाँलाई दामी लुगा लगाइदिए अनि उहाँको खिल्ली उडाए।+ त्यसपछि तिनले उहाँलाई पिलातसकहाँ फिर्ता पठाइदिए। १२ त्यही दिन हेरोद र पिलातसबीच मित्रता गाँसियो किनकि त्यसअघि तिनीहरूबीच दुस्मनी थियो।

१३ त्यसपछि पिलातसले मुख्य पुजारीहरू, यहुदी न्यायपरिषद्‌का सदस्यहरू अनि अरू मानिसलाई एकसाथ बोलाए १४ र तिनीहरूलाई यसो भने: “यस मानिसले जनतालाई विद्रोह गर्न उक्सायो भनेर तिमीहरूले उसलाई मकहाँ ल्यायौ। हेर, मैले तिमीहरूकै सामुन्‍ने उसको छानबिन गरेँ तर तिमीहरूले लगाएको आरोप प्रमाणित हुने कुनै आधार मैले यस मानिसमा फेला पारिनँ।+ १५ वास्तवमा हेरोदले पनि फेला पारेनन्‌। त्यसैले त तिनले उसलाई हामीकहाँ फिर्ता पठाए। हेर, उसले मृत्युदण्ड पाउनुपर्ने केही काम गरेको छैन। १६ त्यसैले म उसलाई सजाय दिएर छोडिदिन्छु।”+ १७ *— १८ तर तिनीहरू सबै जना एकसाथ यसो भन्दै चिच्याए: “यसलाई मार्नुहोस्‌* बरु हाम्रो निम्ति बरब्बालाई मुक्‍त गरिदिनुहोस्‌!”+ १९ (त्यस मानिसलाई सहरमा भएको राजद्रोह र हत्याको आरोपमा झ्यालखानामा हालिएको थियो।) २० पिलातसले तिनीहरूलाई फेरि सम्झाए किनकि तिनी येसुलाई मुक्‍त गर्न चाहन्थे।+ २१ तर तिनीहरू यसो भन्दै कराउन थाले: “त्यसलाई खम्बामा टाँग्नुहोस्‌! त्यसलाई खम्बामा टाँग्नुहोस्‌!”+ २२ पिलातसले तिनीहरूलाई तेस्रो पटक यसो भन्दै सम्झाए: “किन? यस मानिसले के खराब काम गऱ्‍यो र? उसले मृत्युदण्ड पाउनुपर्ने कुनै काम गरेको मैले फेला पारिनँ। त्यसैले म उसलाई सजाय दिएर छोडिदिन्छु।” २३ पिलातसको कुरा सुनेर तिनीहरू झन्‌ जोसिएर चर्को स्वरले कराउँदै उहाँलाई खम्बामा टाँग्ने माग गर्न थाले। तिनीहरू यतिबिघ्न कराए कि तिनीहरूसामु पिलातसको केही लागेन।+ २४ त्यसैले पिलातसले तिनीहरूको माग पूरा गरिदिने निर्णय गरे। २५ तिनले राजद्रोह र हत्याको आरोपमा झ्यालखानामा परेको मानिसलाई तिनीहरूको मागअनुसार मुक्‍त गरिदिए तर येसुलाई भने तिनीहरूकै इच्छाबमोजिम मृत्युदण्ड दिनलाई तिनीहरूको हातमा सुम्पे।

२६ तब उहाँलाई लैजाँदै गर्दा तिनीहरूले गाउँबाट आउँदै गरेको साइरेनीवासी सिमोनलाई पक्रे अनि तिनलाई यातनाको खम्बा* बोकाएर येसुको पछिपछि हिँड्‌न लगाए।+ २७ मानिसहरूको एउटा ठूलो दल उहाँको पछिपछि लागिरहेको थियो, जसमा स्त्रीहरू पनि थिए। ती स्त्रीहरू आफ्नो छाती पिटीपिटी उहाँको निम्ति विलाप गरिरहेका थिए। २८ तब ती स्त्रीहरूतिर फर्केर येसुले भन्‍नुभयो: “हे यरुसलेमका छोरीहरू हो, मेरो निम्ति रुन छोड। बरु तिमीहरू आफू र आफ्ना छोराछोरीका निम्ति रोओ।+ २९ किनकि हेर यस्तो बेला आउँदै छ, जब मानिसहरूले यसो भन्‍नेछन्‌: ‘आनन्दित हुन्‌ ती स्त्रीहरू, जो बाँझी छन्‌ र जसले सन्तान जन्माएनन्‌ अनि दूध चुसाएनन्‌!’+ ३० त्यतिखेर मानिसहरूले पहाडहरूलाई ‘हामीमाथि खस्‌!’ अनि डाँडाहरूलाई ‘हामीलाई छोप्‌!’ भन्‍न थाल्नेछन्‌।+ ३१ रूख हरियो भएको बेला त यस्तो हालत छ भने सुकेपछि झन्‌ के होला?”

३२ त्यसबेला दुई जना अपराधीलाई पनि उहाँसँगै मृत्युदण्ड दिन लगिँदै थियो।+ ३३ अनि खप्पर+ भनिने ठाउँमा पुगेपछि तिनीहरूले उहाँलाई खम्बामा टाँगे। साथै तिनीहरूले ती अपराधीहरूमध्ये एक जनालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि टाँगे।+ ३४ तब येसु यसो भन्दै हुनुहुन्थ्यो: “हे बुबा, तिनीहरूलाई क्षमा गर्नुहोस्‌। किनकि तिनीहरू जे गर्दै छन्‌, त्यो तिनीहरू जान्दैनन्‌।” साथै उहाँको लुगा आपसमा बाँड्‌न तिनीहरूले गोला हाले।+ ३५ मानिसहरूको भीड उभिएर हेरिरहेको थियो। तर यहुदी न्यायपरिषद्‌का सदस्यहरू भने यसो भन्दै उहाँको खिसी गरिरहेका थिए: “यसले अरूलाई त बचायो! यदि यो परमेश्‍वरले पठाउनुभएको ख्रिष्ट अनि उहाँले चुन्‍नुभएको जन हो भने आफूलाई पनि बचाओस्‌।”+ ३६ सिपाहीहरूले समेत उहाँको खिल्ली उडाए। तिनीहरूले उहाँको नजिक गएर अमिलो दाखमद्य* दिँदै+ ३७ यसो भने: “यदि तँ यहुदीहरूको राजा होस्‌ भने आफैलाई बचा।” ३८ साथै एउटा पाटीमा यस्तो अभियोग लेखेर उहाँको शिरमास्तिर राखिएको थियो: “यो यहुदीहरूको राजा हो।”+

३९ तब उहाँसँगै टाँगिएका अपराधीहरूमध्ये एक जनाले खिसी गर्दै उहाँलाई यसो भन्‍न थाल्यो:+ “तिमी त ख्रिष्ट हौ नि, होइन र? लौ, आफूलाई बचाऊ अनि हामीलाई पनि बचाऊ।” ४० तर अर्कोचाहिँले उसलाई हप्काउँदै यसो भन्यो: “तैँले पनि यस मानिसले जस्तै सजाय पाइरहेको छस्‌ तैपनि के तँलाई परमेश्‍वरको अलिकता पनि डर लाग्दैन? ४१ हामीले यस्तो सजाय पाउनु न्यायोचित छ। किनकि हामीले जे गऱ्‍यौँ, त्यसकै फल भोगिरहेका छौँ। तर यस मानिसले त यस्तो सजाय पाउनुपर्ने केही गरेको छैन।” ४२ अनि उसले भन्यो: “हे येसु, तपाईँ राजा बन्‍नुभएपछि*+ मलाई सम्झनुहोस्‌।” ४३ तब उहाँले उसलाई भन्‍नुभयो: “म आज तिमीलाई साँच्चै भन्छु, तिमी मसित प्रमोदवनमा हुनेछौ।”+

४४ त्यतिखेर लगभग छैटौँ घडी* भएको थियो तैपनि सारा देशभरि अन्धकार छायो। अनि नवौँ घडीसम्मै* त्यस्तै भइरह्‍यो।+ ४५ किनकि घामले उज्यालो दिएन अनि मन्दिरको पर्दा+ बीचबाट च्यातिएर दुई फ्याक भयो।+ ४६ अनि ठूलो स्वरले चिच्याउँदै येसुले यसो भन्‍नुभयो: “हे बुबा, म आफ्नो जीवन तपाईँको हातमा सुम्पिन्छु।”+ यति भनिसकेपछि उहाँ बित्नुभयो।+ ४७ आफ्नो अगाडि भएका यी सब घटना देखेर सैनिक अफिसरले यसो भन्दै परमेश्‍वरको महिमा गर्न थाले: “यी मानिस साँच्चै धर्मी मानिस रहेछन्‌।”+ ४८ तब तमासा हेर्न जम्मा भएको भीडका सबै जना यी घटनाहरू देखेपछि आफ्नो छाती पिट्‌दै घर फर्कन थाले। ४९ उहाँसित चिनजान भएकाहरू सबै जना टाढै उभिरहेका थिए। गालिलदेखि उहाँसँगै आएका स्त्रीहरू पनि त्यहीँ थिए र तिनीहरूले यी सब देखे।+

५० अनि हेर! त्यहाँ युसुफ नाम गरेका एक जना मानिस थिए, जो न्यायपरिषद्‌का सदस्य थिए। तिनी भलादमी अनि धर्मी मानिस थिए।+ ५१ (यी मानिसले न्यायपरिषद्‌का अरू सदस्यहरूको षड्‌यन्त्र र कामको पक्षमा आफ्नो मत खसालेका थिएनन्‌।) तिनी यहुदियावासीहरूको अरिमथिया भन्‍ने सहरका मानिस थिए। तिनले परमेश्‍वरको राज्यको बाटो हेरिरहेका थिए। ५२ तिनले पिलातसकहाँ गएर येसुको शव मागे। ५३ त्यसपछि तिनले उहाँको शव तल झारेर+ उच्च कोटिको मलमलको कपडाले बेरे अनि चट्टान खोपेर बनाइएको चिहानमा राखे,+ जहाँ त्यसअघि कसैको शव राखिएको थिएन। ५४ त्यो दिन तयारीको दिन* थियो+ र विश्रामदिन*+ सुरु हुनै लागेको थियो। ५५ तब गालिलदेखि उहाँसँगै आएका स्त्रीहरू पछिपछि लागे अनि उहाँलाई राखिएको चिहानलाई नियाल्नुका साथै उहाँको शवलाई कसरी राखिएको छ, त्यो पनि तिनीहरूले हेरे।+ ५६ अनि तिनीहरू सुगन्धित मसला र तेल तयार पार्न फर्के। तर व्यवस्थामा दिइएको आज्ञाअनुसार तिनीहरूले विश्रामदिनमा आराम भने पक्कै गरे।+

२४ तर हप्ताको पहिलो दिन तिनीहरू आफूले तयार पारेको सुगन्धित मसला लिएर बिहान सबेरै चिहानमा पुगे।+ २ तर तिनीहरूले चिहानबाट ढुङ्‌गा गुडाइसकेको पाए+ ३ र भित्र पसेर हेर्दा तिनीहरूले प्रभु येसुको शव भेट्टाएनन्‌।+ ४ यसले गर्दा तिनीहरू रनभुल्लमा परिरहेको बेला हेर! चम्किलो लुगा लगाएका दुई जना पुरुष तिनीहरूको छेउमा उभिए। ५ डरले गर्दा ती स्त्रीहरूले टाउको उठाउनै सकेनन्‌। उत्तिखेरै ती दुई पुरुषले भने: “जीवित व्यक्‍तिलाई तिमीहरू किन मरेकाहरूमाझ खोजिरहेका छौ?+ ६ उहाँ यहाँ हुनुहुन्‍न किनकि उहाँ ब्युँतिसक्नुभयो। गालिलमै छँदा उहाँले तिमीहरूलाई के भन्‍नुभएको थियो, सम्झ त। ७ मानिसको छोरा पापीहरूको हातमा सुम्पिइनुपर्छ, खम्बामा टाँगिनुपर्छ र तेस्रो दिनमा ब्युँतनुपर्छ भनेर उहाँले भन्‍नुभएको थियो।”+ ८ तब उहाँले भन्‍नुभएको कुरा तिनीहरूले सम्झे+ ९ अनि तिनीहरू चिहानबाट फर्के र यी सबै कुरा ती ११ जना चेला र बाँकी सबैलाई खबर गरे।+ १० ती स्त्रीहरू मरियम मग्दलिनी, योअन्‍ना र याकुबकी आमा मरियम थिए। तिनीहरूसँगै गएका अरू स्त्रीहरूले पनि यी कुराहरू प्रेषितहरूलाई बताए। ११ तर उनीहरूलाई यो कुरा वाहियात लाग्यो र ती स्त्रीहरूको कुरा पत्याएनन्‌।

१२ तर पत्रुस उठे अनि दौडँदै चिहानतिर गए र निहुरिएर भित्र हेर्दा मलमलको कपडा मात्र देखे। त्यसैले यो के भएको होला भनेर मनमनै सोच्दै तिनी आफ्नो बाटो लागे।

१३ तर हेर! त्यही दिन दुई जना चेला यरुसलेमबाट ११ किलोमिटरजति* टाढा पर्ने इम्माउस भनिने एउटा गाउँतिर यात्रा गर्दै थिए। १४ अनि जे घटनाहरू भए, त्यसबारे तिनीहरू आपसमा कुरा गर्दै थिए।

१५ तिनीहरू आपसमा कुराकानी गरिरहेको बेला येसु स्वयम्‌ तिनीहरूकहाँ आउनुभयो र तिनीहरूसँगै हिँड्‌न थाल्नुभयो। १६ तर तिनीहरूले उहाँलाई चिन्‍न सकेनन्‌।+ १७ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू बाटोमा हिँड्‌दै आपसमा के बहस गर्दै छौ?” अनि अनुहार अँध्यारो बनाएर तिनीहरू ठिङ्‌ग उभिए। १८ तब तिनीहरूमध्ये क्लेओपा नाम गरेको चेलाले उहाँलाई भने: “के तपाईँ यरुसलेममा एक्लै बस्ने परदेशी हुनुहुन्छ? आजकल त्यहाँ के भइरहेको छ, त्यसबारे तपाईँलाई केही थाह छैन?”* १९ उहाँले तिनीहरूलाई सोध्नुभयो: “के कुरा?” तिनीहरूले उहाँलाई भने: “नासरी येसुलाई+ जे-जे भयो, त्यही कुरा। उहाँ भविष्यवक्‍ता हुनुहुन्थ्यो, जो परमेश्‍वर र सारा मानिससामु काम र वचन दुवैमा शक्‍तिशाली हुनुभयो।+ २० तर हाम्रा मुख्य पुजारीहरू र यहुदी न्यायपरिषद्‌का सदस्यहरूले उहाँलाई मृत्युदण्ड दिनको लागि सुम्पे+ र खम्बामा टाँगे। २१ इस्राएललाई छुटकारा दिने मानिस उहाँ नै हुनुपर्छ भनेर हामीले आशा गरिरहेका थियौँ।+ अँ साँच्चै, यसबाहेक यी सब कुरा भएको आज तेस्रो दिन भइसक्यो। २२ साथै हामीमाझ भएका कोही-कोही स्त्रीको कुरा सुनेर पनि हामी छक्कै पऱ्‍यौँ किनकि तिनीहरू बिहान सबेरै चिहानमा जाँदा+ २३ उहाँको शव भेट्टाएनछन्‌। तिनीहरूले स्वर्गदूतहरूको अलौकिक दृश्‍य देखेको अनि ती स्वर्गदूतहरूले उहाँ जीवित हुनुहुन्छ भनेर सुनाएको कुरा पनि हामीलाई बताए। २४ अनि हामीमध्येका कोही-कोही चिहानमा जाँदा+ उनीहरूले पनि ती स्त्रीहरूले भनेजस्तै पाए तर उहाँलाई भने देखेनन्‌।”

२५ त्यसैले उहाँले तिनीहरूलाई भन्‍नुभयो: “ए अबुझ अनि भविष्यवक्‍ताहरूले बताएका कुराहरू पत्याउन गाह्रो लाग्ने मानिसहरू हो! २६ आफूले पाउनुपर्ने गौरव हासिल गर्न के ख्रिष्टले यी सब कष्ट भोग्नु+ आवश्‍यक थिएन र?”+ २७ अनि मोसा र सारा भविष्यवक्‍ताको लेखोटदेखि+ सुरु गरेर सम्पूर्ण धर्मशास्त्रमा भएका आफूसित सम्बन्धित कुराहरूको अर्थ उहाँले तिनीहरूलाई खोलिदिनुभयो।

२८ अन्तमा तिनीहरू जुन गाउँतर्फ यात्रा गरिरहेका थिए, त्यसको नजिकै पुगे। उहाँले भने यात्रा अझै अगाडि बढाउन चाहेको जस्तो भान पार्नुभयो। २९ तर तिनीहरूले उहाँलाई यसो भन्दै कर गरे: “हामीसँगै बस्नुहोस्‌ न किनकि दिन ढलेर रात पर्न लागिसक्यो।” अनि उहाँ तिनीहरूसँगै बस्न जानुभयो। ३० तिनीहरूसँगै खान बसिरहेको बेला उहाँले रोटी लिनुभयो, धन्यवाद चढाउनुभयो र भाँचेर तिनीहरूलाई दिन थाल्नुभयो।+ ३१ त्यतिखेरै तिनीहरूका आँखा खुले र तिनीहरूले उहाँलाई चिने तर उहाँ तिनीहरूलाई छोडेर अलप हुनुभयो।+ ३२ अनि तिनीहरूले एकअर्कालाई यसो भने: “उहाँले बाटोमा हामीसित कुरा गर्दै धर्मशास्त्रको पूरै अर्थ खोलिदिनुहुँदा* के हाम्रो हृदय बलिरहेको थिएन र?” ३३ तब तिनीहरू तुरुन्तै उठे र यरुसलेम फर्के अनि त्यहाँ ती ११ जना र अरू चेलालाई एकसाथ भेला भएको भेट्टाए। ३४ उनीहरू यसो भन्दै थिए: “यो साँचो हो, प्रभु ब्युँताइनुभयो र सिमोनकहाँ देखा पर्नुभयो!”+ ३५ तब तिनीहरूले बाटोमा के-कस्ता घटना घटे अनि उहाँले रोटी भाँचेर दिनुहुँदा कसरी तिनीहरूले उहाँलाई चिने, त्यसबारे बताइदिए।+

३६ तिनीहरूले यी कुराहरू बताइरहेकै बेला उहाँ स्वयम्‌ तिनीहरू सबैमाझ खडा हुनुभयो र तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूलाई शान्ति होस्‌।”+ ३७ तर तिनीहरू तर्सिएर आत्तिए अनि स्वर्गदूत देख्यौँ भन्ठाने। ३८ त्यसैले उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू किन आत्तिन्छौ अनि किन हृदयमा शङ्‌का गर्छौ? ३९ मेरा हातखुट्टा हेर त, म नै हुँ। मलाई छामेर हेर किनकि मेरो हाड र मासु छ तर स्वर्गदूतको त हुँदैन।” ४० अनि त्यसो भन्दै उहाँले तिनीहरूलाई आफ्नो हातखुट्टा देखाउनुभयो। ४१ औधी आनन्द र आश्‍चर्यले गर्दा तिनीहरूले उहाँको कुरा अझै पत्याएनन्‌। त्यसैले उहाँले तिनीहरूलाई भन्‍नुभयो: “के तिमीहरूसित केही खानेकुरा छ?” ४२ तब तिनीहरूले उहाँलाई एक टुक्रा पोलेको माछा दिए। ४३ उहाँले त्यो लिनुभयो र तिनीहरूकै आँखाअगाडि खानुभयो।

४४ अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “मोसाको व्यवस्था, भविष्यवक्‍ताहरूको लेखोट र भजनहरूमा मेरो विषयमा लेखिएका सबै कुरा+ पूरा हुनै पर्छ भनेर म तिमीहरूसित हुँदा मैले तिमीहरूलाई बताएको थिएँ।”+ ४५ तब धर्मशास्त्रको अर्थ बुझ्न सकून्‌ भनेर उहाँले तिनीहरूको समझ पूरै खोलिदिनुभयो+ ४६ र उहाँले तिनीहरूलाई भन्‍नुभयो: “यस्तो लेखिएको छ, ख्रिष्टले दुःख भोग्नेछ र मृत्युबाट तेस्रो दिनमा ब्युँतनेछ।+ ४७ अनि पापको क्षमा पाउन उसको नाममा पश्‍चात्ताप गर्नुपर्छ+ भन्‍ने सन्देश यरुसलेमबाट सुरु गरेर सबै जातिमा+ प्रचार गरिनेछ।+ ४८ तिमीहरू यी कुराहरूको साक्षी हुनेछौ।+ ४९ हेर, मेरो बुबाले तिमीहरूलाई जे दिन्छु भनी प्रतिज्ञा गर्नुभएको छ, त्यो म पठाउँदै छु। तर स्वर्गबाट शक्‍ति नपाएसम्म तिमीहरू यही सहरमा बसिरहो।”+

५० उहाँले तिनीहरूलाई बेथानीसम्म लैजानुभयो अनि आफ्नो हात उचालेर आशिष्‌ दिनुभयो। ५१ तिनीहरूलाई आशिष्‌ दिँदै गर्दा उहाँ तिनीहरूबाट छुट्टिनुभयो र स्वर्गतिर उचालिनुभयो।+ ५२ तिनीहरूले उहाँलाई दण्डवत्‌ गरे अनि अत्यन्तै रमाउँदै यरुसलेम फर्के।+ ५३ तिनीहरूले मन्दिरमा परमेश्‍वरलाई निरन्तर प्रशंसा चढाइरहे।+

शब्दावली हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अङ्‌गुरबाट बनेको रक्सी।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

शब्दावलीमा “रुवाक; न्युमा” हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “दर्शन।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “म आफ्नो सारा ज्यानले।” शब्दावलीमा “नेफेश; साइखी” हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

शा., “उद्धारको सिङ।” शब्दावलीमा “सिङ” हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शा., “सारा पृथ्वीभरि।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

अर्थात्‌, हेरोद एन्टिपास। शब्दावलीमा “हेरोद” हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “ज्यालामा।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “टुप्पोमा।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “चिकित्सक।”

वा “निको पारिएन।”

वा “दुष्ट स्वर्गदूतले।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।

प्राचीन समयमा यो उक्‍ति प्रयोग गरेर प्रश्‍न सोध्ने गरिन्थ्यो। तर हेपेर वा अहङ्‌कार गरेर बोल्न नभई कसैले भनेको कुरा, दिएको सुझाव वा व्यक्‍त गरेको शङ्‌कामा आपत्ति जनाउन चलाइन्थ्यो।

अर्थात्‌, गालिल समुद्रको।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “चिकित्सकको।”

अङ्‌गुरबाट बनेको रक्सी।

जनावरको छालाबाट बनेको थैलो।

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “भेटीको रोटी।” शब्दावलीमा “भेटीको रोटी” हेर्नुहोस्‌।

वा “पक्षाघात भएको।”

शब्दावली हेर्नुहोस्‌।

वा “दुष्ट स्वर्गदूतले।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।

अर्थात्‌, विनाब्याज ऋण।

वा “दुष्ट स्वर्गदूतले।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।

वा “जसले ममा ठेस खाने कुनै कारण भेट्‌दैन।”

वा “निर्देशन।”

शब्दावली हेर्नुहोस्‌।

अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

वा “ठूलठूला।”

प्राचीन समयमा यो उक्‍ति प्रयोग गरेर प्रश्‍न सोध्ने गरिन्थ्यो। तर हेपेर वा अहङ्‌कार गरेर बोल्न नभई कसैले भनेको कुरा, दिएको सुझाव वा व्यक्‍त गरेको शङ्‌कामा आपत्ति जनाउन चलाइन्थ्यो।

वा सम्भवतः “त्यसले उसलाई आफ्नो काबूमा राखेको निकै समय भइसकेको थियो।”

वा “जीवनशक्‍ति।” शब्दावलीमा “रुवाक; न्युमा” हेर्नुहोस्‌।

वा “दुष्ट स्वर्गदूत।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।

शा., “चाँदी।”

पैतालाको धुलो टकटक्याउनुले आफू जिम्मेवारीबाट मुक्‍त भएको कुरालाई सङ्‌केत गर्छ।

अर्थात्‌, हेरोद एन्टिपास। शब्दावलीमा “हेरोद” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “अङ्‌गालो हालेर अभिवादन गर्नलाई।”

ग्रीक भाषामा हेडिज। शब्दावली हेर्नुहोस्‌।

वा “दुष्ट स्वर्गदूतहरूसमेत।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

शब्दावलीमा “नेफेश; साइखी” हेर्नुहोस्‌।

अङ्‌गुरबाट बनेको रक्सी।

अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

वा “पवित्र ठानियोस्‌।”

शा., “रोटी।”

वा, “हाम्रो विरुद्धमा पाप गर्नेलाई।”

शब्दावलीमा “रुवाक; न्युमा” हेर्नुहोस्‌।

वा “दुष्ट स्वर्गदूत।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।

यो सैतानलाई दिइएको नाम हो।

अर्थात्‌, चेलाहरूचाहिँ।

शा., “परमेश्‍वरको औँलाले।”

वा “पाथीले।”

वा “निर्मल।” शा., “सरल।”

शा., “खराब; दुष्ट।”

शब्दावली हेर्नुहोस्‌।

अर्थात्‌, उहाँ परम्पराअनुसार शुद्ध नहुनुभएको।

शब्दावली हेर्नुहोस्‌।

ग्रीक भाषामा “पेगानोन।” यो औषधी र मसलाको रूपमा प्रयोग गरिने बिरुवा हो।

वा “वनस्पतिका।”

वा “सबैभन्दा राम्रो आसनमा।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शा., “दुई असारियनमा।” अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

वा “बेवास्ता गर्नुहुन्‍न।”

वा सम्भवतः “सभाघरसामु।”

अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

राती ९ बजेतिरदेखि मध्यरातसम्म।

मध्यरातदेखि बिहान ३ बजेतिरसम्म।

वा “सुझबुझ भएको।”

वा “तिनको इच्छाअनुसार।”

शा., “लेप्टन।” अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

वा “दुष्ट स्वर्गदूतले।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।

वा “अपाङ्‌ग।”

शब्दावली हेर्नुहोस्‌।

शा., “सेआ।” एक सेआ भनेको ७.३३ लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “मारिने कुरा सोच्न पनि सकिँदैन।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शरीरमा आवश्‍यकभन्दा बढी पानी जम्ने रोग।

वा “जोडी।”

वा “कम प्रेम गर्दैन।”

शब्दावली हेर्नुहोस्‌।

शा., “ड्राक्मामध्ये।” अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

वा “सहेलीहरू।”

शा., “स्वर्ग।”

शा., “१०० बाथ।” एक बाथ भनेको २२ लिटर हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

शा., “१०० कोर।” एक कोर भनेको २२० लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शा., “अब्राहामको काखमा।”

ग्रीक भाषामा हेडिज। शब्दावली हेर्नुहोस्‌।

शा., “तिनको काखमा।”

अतिरिक्‍त लेख क३ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावलीमा “व्यभिचार” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “जङ्‌गली अन्जिरको।”

वा “झूटो आरोप लगाएर जस-जसबाट लुटेँ।”

ग्रीक तौलअनुसार एक मीना भनेको ३४० ग्राम हो। एक मीनाबराबर १०० ड्राक्मा हुन्थ्यो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

शा., “चाँदी।”

शा., “चाँदी।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “दुःख दिनेछन्‌।”

शा., “स्वर्गबाट।”

वा “केही फल लिन।”

शब्दावली हेर्नुहोस्‌।

अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “उहाँको नजरमा।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “सबैभन्दा राम्रो आसनमा।”

वा “सम्पत्ति।”

शा., “दुई लेप्टा।” अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

वा “गरिब।”

वा “उथलपुथलको; विद्रोहको।”

वा “धोका दिनेछन्‌।”

वा “त्यससित बदला लिइनेछ।”

वा “अन्यजातिलाई।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

अङ्‌गुरबाट बनेको रक्सी।

शब्दावली हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क३ हेर्नुहोस्‌।

शा., “लैजानुहोस्‌।”

शब्दावली हेर्नुहोस्‌।

अङ्‌गुरबाट बनेको रक्सी।

शा., “आफ्नो राज्यमा आउनुभएपछि।”

मध्यान्ह १२ बजेतिर।

दिउँसो ३ बजेतिरसम्म।

शब्दावली हेर्नुहोस्‌।

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

शा., “६० स्टेडियम।” एक स्टेडियम भनेको १८५ मिटर (६०६.९५ फिट) हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

वा सम्भवतः “के यो कुरा थाह नहुने विदेशी यरुसलेममा तपाईँ मात्रै हो?”

वा “स्पष्टसित बुझाइदिनुहुँदा।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने