विश्वदर्शन
विश्वको सबैभन्दा लामो झोलुंगे पुल
जापानको कोबे शहरलाई अवाजी टापुसित जोड्ने आकाशे कीक्यो पुल अप्रिलमा खोलियो र लगत्तै संसारको सबैभन्दा लामो झोलुंगे पुलको रूपमा रेकर्ड गरियो। टाइम पत्रिका बताउँछ, “एक दशक लागेको यो निर्माण कार्यमा रु. ३०८ अरब डलर खर्च भयो। पुलको दुई टावरहरू बीचको दूरी १,९९१ मिटर छ। प्रत्येक टावर ९० तल्ले घरभन्दा अग्लो छ र कम्प नियन्त्रण गर्ने २० वटा साधनहरू जडान गरिएका छन्। ती टावरहरूलाई बतास चल्दा पेन्डुलमले फेरि आफ्नै ठाउँमा फिर्ता लान्छ।” यो पुल ८.० रेक्टर स्केलसम्मको भूकम्प थाम्नसक्ने गरी बनाइएको छ। यसमा प्रयोग गरिएका स्टिल केबुलहरू फुकाएर पृथ्वीलाई सातपल्ट फन्का मार्न सकिन्छ।
अस्पतालमा हुने संक्रमण
“औषधोपचार वा शल्यक्रियापछि अस्पतालमा हुने समक्रमण जनमानसको स्वास्थ्यका लागि ठूलो समस्याको रूपमा खडा भएको छ,” फ्रान्सेली अखबार ले फिगारो बताउँछ। फ्रान्समा मात्र वर्षेनी ८,००,००० मानिसहरू संक्रमित हुन्छन् र अनुमानित १०,००० जना मर्छन्। विभिन्न कदमहरू चालेर संक्रमण कम गर्न सकिन्छ: नयाँ बिरामी भर्ना हुनुअघि कोठाहरू संक्रमणमुक्त गर्नु, सामानहरू राम्ररी स्टर्लाइज भयो भएन जाँच्नु र बिरामीलाई जाँच्नअघि राम्ररी हात धुनु। यी प्रक्रियाहरू पूरा गर्नमा अक्सर लापरवाही गरिएको देखिन्छ। पेरिसमा गरिएको एउटा अध्ययनले अस्पतालका ७२ प्रतिशत अतिरिक्त कर्मचारीहरूले हरेक बिरामीलाई जाँचिसकेपछि सधैं हात धुने गरेको पूरा प्रक्रिया अपनाएको पाइयो। यिनीहरूमध्ये लगभग ६० प्रतिशतले त जति धुनुपर्ने हो त्यो भन्दा कम मात्रामा हात धोएको पाइयो। उक्त अखबार अन्तमा यस्तो उराठलाग्दो तथ्यांक पेश गर्छ, “उन्नति गर्नुपर्ने ठाउँ अझै छ।”
नक्कली औषधी
ले फिगारो म्याग्जिन उल्लेख गर्छ, “विश्वभरि बेचबिखन हुने ८ प्रतिशत औषधीहरू नक्कली छन्।” विश्व स्वास्थ्य संघअनुसार ब्राजिलमा नक्कली औषधीको बेचबिखन ३० प्रतिशत हुन्छ भन्ने अनुमान गरिएको छ भने नाइजेरियामा त डरलाग्दो गरी ६० प्रतिशत छ भनिएको छ। संगठित अपराधले नेतृत्व लिएको यो जाली औषधी व्यापारले ३०० अरब डलरको कारोबार गर्ने गरेको रिपोर्ट छ। औषधी कम्पनीहरूले यस्तो व्यापारमा रोक लगाउन गरेको प्रयासको बावजूद प्रहरी तथा अन्तरराष्ट्रिय संगठनहरूले यो समस्या समाधान गर्न सकेका छैनन्। राम्रो काम गरे यी नक्कली औषधीहरूले रोगीलाई निको नपारे पनि खुसीचाहिं अवश्य राख्नसक्लान् होइन भने त नराम्रो गरेमा यो घातकै हुनसक्छ। ले फिगारो म्याग्जिन बताउँछ, “नक्कली औषधीले बिरामीको स्वास्थ्यसित रूसी रुलेट खेल्छ।”
विद्युत जोगाऔं
“जर्मनीका घर तथा कार्यालयहरूमा खपत हुने ११ प्रतिशत विद्युत प्रयोग नगरी त्यत्तिकै चालू गरिराखेका यन्त्रहरूमा खर्च हुन्छ” भनी आपोताकन उम्शाउ समाचार पत्रिका रिपोर्ट गर्छ। जर्मनीमा गरिएको सर्वेक्षणअनुसार चालू अवस्थामा राखिएका टिभि सेट, स्टेरियो, कम्प्युटर तथा अन्य विद्युतीय उपकरणहरूले वर्षेनी साढे २० अरब किलोवाटप्रति घण्टा विद्युत खपत गर्छ। यो उक्त मुलुकको सबैभन्दा ठूलो शहर, वर्लिनमा खपत हुने वार्षिक विद्युतभन्दा बढी छ। कुनै कुनै यन्त्रहरूलाई चालू अवस्थामा राखिछोड्नुको साटो पूर्णतया निभाउँदा विद्युत तथा पैसा दुवै जोगाउन सकिन्छ।
खाते बालकहरू—दुर्व्यवहारबाट उम्कनुहोस्
रिजनल सेन्टर फर अटेन्सन टु मिस्ट्रिटेड चिल्ड्रेनकी (क्रामी) निर्देशक इंजा मात्तार भन्छिन्, “नब्बे प्रतिशत खाते बालकहरूको परिवार छ। [खाते बालकहरूमध्ये] लगभग ९० प्रतिशतजति त आफ्नै आमाबाबुको कारण घरबाट भाग्छन्, अपराधिक गतिविधि, लागू पदार्थमा लाग्छन् तथा यौन शोषणका सिकार हुन्छन्।” ब्राजिलको अखबार, ओ एस्तादो दे साऊ पाऊलो-मा उल्लेख गरिएअनुसार मात्तार स्वास्थ्यकर्मी तथा शिक्षकशिक्षिकाहरूलाई बालबालिकामाथि दुर्व्यवहार भइरहेको लक्षणहरू जस्तै “एक्कासी आनीबानीमा आएको परिवर्तन, अलगथलग बस्ने र शरीरमा डामहरू देखा पर्दा” सजग हुने सुझाउ दिन्छिन्। आफ्नो सुरक्षाको लागि क्रामीलाई गुहार्ने बच्चाहरू ५ प्रतिशत मात्र भएकोले हस्तक्षेप गर्नु जरुरी छ। दुर्व्यवहार गर्ने आमाबाबुहरू अक्सर मदत लिन इन्कार गर्छन्। किन? क्रामीका सभापति झाऊङ रोबेर्तु स्कोङपरीङ भन्छन्: “आफ्ना छोराछोरीसित हिंस्रक व्यवहार गर्ने आमाबाबुहरूले सानो छँदा आफूले जे जे भोग्यो त्यही नै गरिरहेका हुन्छन् र आफूले छोराछोरीहरूलाई सिकाइरहेको विश्वास गर्छन्।”
भुलक्कड मानिसहरू
इटालीमा १,६०० वयस्कको अध्ययन गर्दा ७७ प्रतिशतले आफू भुलक्कड हुन थालेको संकेत दिए भनेर ला रेपूब्लीका अखबार बताउँछ। यीमध्ये एक तिहाइले बितेको वर्षमा वार्षिकोत्सवजस्ता महत्त्वपूर्ण घटनाहरू बिर्सेको पाइयो। यसको अतिरिक्त ४२ प्रतिशतले गाडी पार्क गरेको ठाउँ प्रायः बिर्सने गरेको, ३० प्रतिशतभन्दा बढीले घरको साँचो राखेको ठाउँ बिर्सने गरेको, २५ प्रतिशतभन्दा धेरैले आफ्नो पैसाको थैली बिर्सने गरेको र १.२ प्रतिशतले त आफ्नो नाउँ अनि थरसमेत बिर्सने गरेको पाइयो। अर्कोतिर, २८ प्रतिशत इटालेलीहरूले स्कूलमा कण्ठ गरेको कविताको एक टुक्रा मात्र भएपनि अझसम्म सम्झेको बताएका छन्। तपाईं आफ्नो स्मरण शक्ति कसरी बढाउनसक्नुहुन्छ? एक जना मनोचिकित्सक कुनै पनि चिज सम्झन त्यसलाई अर्को कुनै चिजसित जोड्ने, डायरीमा लेख्ने र त्यसलाई दोहऱ्याउने अनि फोन नम्बरहरू सम्झेर कुनै धून तथा सवारी वहानको नम्बर प्लेटसमेत याद गरेर मस्तिष्कको कसरत गर्ने सुझाउ दिन्छिन्।
बच्चाहरूलाई स्पर्श चाहिन्छ
द टोरोन्टो स्टार अखबारले गरेको अध्ययनअनुसार “नियमित तवरमा अंकमाल नगरी, नसुम्सुमाइ वा माया-ममता नदेखाइ . . . हुर्काइएका बच्चाहरूमा तनाव उत्पन्न गर्ने हार्मोनहरू असामान्य ढंगले असाध्यै बढेको पाइयो।” आमाबाट छुट्टिंदा वा सानो छँदा बेवास्ता गर्दा केटाकेटीको “सिक्ने र सम्झने प्रक्रियामा पछिसम्म गम्भीर असरहरू पर्नसक्ने” विश्वास अनुसन्धानकर्ताहरू व्यक्त गर्छन्। “अफिस जानुपर्ने समयमा छोराछोरीलाई निम्नस्तरीय शिशुस्याहार केन्द्रहरूमा राख्नुपर्दा तिनीहरूको तनाव हार्मोनहरू असामान्य रीतिले बढेको तर बिदामा ती केटाकेटीहरू घरैमा हुँदा त्यस्तो नभएको” हाभर्ड मेडिकल स्कूलका वैज्ञानिक मेरी कार्लसनले अनुसन्धान गर्दा थाह पाइन्। हाम्रा बच्चाहरूलाई कोमल स्पर्श र धेरै माया आवश्यक छ भन्ने थप प्रमाण यो अनुसन्धानले देखाएको छ।
यौन व्यापारका सिकार
युक्रेनको अखबारमा निस्केको विज्ञापन यस्तो थियो: “केटीहरू: अविवाहित तथा अति सुन्दरी, भर्खरकी तथा अग्ली। हामी तपाईंहरूलाई मोडल, सेक्रेटरी, नर्तकी, कोरिओग्राफर, जिम्न्यास्ट गर्न आह्वान गर्छौं।” यो विज्ञापन विशेषगरि यौन व्यापारीहरूले सोझा युवतीहरूलाई जालमा पारेर वेश्यावृत्तिमा लगाउने चाल हो भनी द न्यु योर्क टाइम्स-ले रिपोर्ट गर्छ। प्रत्येक वर्ष हजारौं युक्रेनी तथा रूसी स्त्रीहरू आफ्नो आर्थिक अवस्था उकास्ने आशामा विदेश पस्छन्। तर विदेशमा पाइला टेक्ने बित्तिकै अपराधी “नाइकेहरूले” कसै कसैको राहदानी खोसेका र तिनीहरूलाई वेश्यालयमा काम गर्न बाध्य पारेका छन्। इन्कार गरेमा पिटाइ खानुपर्छ, बलात्कृत हुनुपर्छ र भयानक रीतिले मर्नुपर्छ। यस्ता पासोहरूबाट उम्कने युवतीहरूलाई सल्लाह दिने युक्रेनी मनोवैज्ञानिक ल्युडमीला बिरुक भन्छिन्: “कुनै कुरा एकदमै अपत्यारिलो देखिन्छ भने वास्तवमा त्यो राम्रो हुँदैन भनेर यी ठिटीहरूलाई भन्नुहोस्।”