प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ २/८ पृ. १८-२२
  • सात छोराहरू हुर्काउने चुनौति तथा आशिष्‌हरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • सात छोराहरू हुर्काउने चुनौति तथा आशिष्‌हरू
  • ब्यूँझनुहोस्‌!—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • मेरो व्यस्त तालिका!
  • बाइबल सिद्धान्तअनुसार छोराहरू हुर्काउँदै
  • ईश्‍वरतान्त्रिक अभियान
  • केकबाट अनुशासन
  • रमाइलो जीवन
  • अनुशासनप्रति छोराहरूको दृष्टिकोण
  • बिघ्नबाधाहरू
  • जीवनमा ठूलो परिवर्तन
  • मेरा पाँच छोराहरूका निम्ति यहोवालाई धन्यवाद दिन्छु
    ब्यूँझनुहोस्‌!—१९९९
  • वर्षौंपछि फल फलाएको बीउ
    ब्यूँझनुहोस्‌!—१९९९
  • आमाबाबुले हामीलाई परमेश्‍वरलाई प्रेम गर्न सिकाउनुभयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९९
  • यहोवाको सेवामा पाएको सफलता
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९९
g९९ २/८ पृ. १८-२२

सात छोराहरू हुर्काउने चुनौति तथा आशिष्‌हरू

मेरो जन्म सन्‌ १९२७ मा, सं.रा.अ.-को नेब्रास्का, ओमाहामा भएको थियो र म दक्षिण डाकोटामा हुर्कें। महामन्दीको बेला (१९२९-४२) मेरो बाल्यावस्थाको नैराश्‍यपूर्ण कठिन दिनहरू सम्झना गर्न सक्छु, हाम्री आमाले पकाउनुभएको थोरै खानेकुरालाई उहाँले भोकमारी सुरूवा भन्‍नुहुन्थ्यो। ताप्केमा सानो टुक्रा बोसो र अलिकति पानी हाल्नुहुन्थ्यो त्यसपछि हामीले त्यहाँ आ-आफ्नो रोटी चोप्थ्यौं। त्यसताक थुप्रै परिवारलाई बाँच्न धौ-धौ परेको थियो।

स्थानीय धर्मावलम्बी प्रोटेस्टेन्टको अचाक्ली कप्ट्याइँले गर्दा मेरो परिवारको धर्मपट्टि चासो थिएन। मेरो कुरा गर्ने हो भने, दोस्रो विश्‍वयुद्धको दौडान दुई वर्ष सेनामा सेवारत्‌ हुँदा मेरा विचारहरूमा धेरै परिवर्तन आएका थिए। म मद्य र जुवामा लग्गू भएको थिएँ।

सैन्य सेवाबाट बिदा पाएपछि म स्थानीय नृत्यमा सामेल हुन्थें, त्यसै ताक जर्मन-युक्रेनियन घरानाकी कन्या मार्गरेट स्लाटसँग भेट भयो। छिट्टै हाम्रो माया बसिहाल्यो। तीन महिना पश्‍चात सन्‌ १९४६ मा हाम्रो विवाह भयो। आठ वर्षभित्र हाम्रो सात छोराहरू भए त्यसपछि भने परिवारमा आमाबाबुको भूमिका पूरा गर्न अनेकौं कठिनाइहरूको सामना गर्नु पऱ्‍यो।

सन्‌ १९५१ सालमा मेरो गम्भीर दुर्घटना भयो, मुढो चिर्ने कारखानामा मेसिनले मेरो देब्रे हात झण्डै दुई टुक्रा बनाइदिएको। छाला अनि हड्डी राम्ररी जोडिन मैले दुई वर्ष त अस्पतालमै बिताउनु पऱ्‍यो। त्यसअवधिमा, मार्गरेट एक्लैले पाँच छोराहरूको सम्पूर्ण जिम्मेवारी वहन गर्नु पऱ्‍यो। धन्य, साथी र छिमेकीहरूको सहायताले गर्दा तिनले ती कठिन घडीहरूलाई पनि जसोतसो टार्न सकिन्‌। अस्पतालमा मलाई जीवनको उद्देश्‍यबारे सोच्न प्रशस्त समय मिल्थ्यो। म बाइबल पढ्‌थें तर राम्ररी बुझ्न सक्दिनथें।

अस्पतालबाट बिदा पाएको केही दिन पश्‍चात्‌ वासिङ्‌गटन शहरको अपरच्युनिटी भन्‍ने सानो शहरमा बसाइँ सऱ्‍यौं मैले मेरो सालोसँग निर्माण कार्य सुरु गरें। अब म मार्गरेटलाई उसको कथा भन्‍न छोडिदिंदैछु।

मेरो व्यस्त तालिका!

म गोठमा दुई-चारवटा गाईहरूको स्याहार सुसार गर्ने अनि फलफूल र तरकारीहरू टिपेर ल्याउने जस्ता खेतबारीको काम गर्थें। भविष्यका कठिन दिनहरूमा जीवन धान्‍ने राम्रो तालिम पाएको हुनाले म कुनै पनि काममा पछि हट्‌दिनथें। हाम्रो अवस्था त्यति खिन्‍न लाग्दो थिएन त्यसैले, दुई छाक खान कहिले दुःख परेन।

मेरो आमाबुबासित धर्मकर्ममा लाग्ने त्यति समय नभएता पनि मचाहिं बेलाबखत सन्डे स्कूल जाने गर्थें। म १९ वर्षको हुँदा बर्टसँग मेरो विवाह भयो। हामी चर्चमा गएनौं बरु हामीले घरकै अघिल्लो कोठामा पादरीलाई र अरू केही मानिसहरूलाई बोलाएर विवाह उत्सवको साधारण बन्दोबस्त गऱ्‍यौं। केही वर्षभित्रै मेरो कोखबाट सातवटा छोराहरू जन्मे तिनीहरू हुन्‌—रिचार्ड, डान, डग, गेरी, माइकल, केन र अन्तमा सन्‌ १९५४ मा कान्छो छोरा स्कट। तिनीहरूको रेखदेख गर्नु चानचुने कुरा थिएन।

हामी अपर्च्युनिटी शहरमा सरिसके पछि एउटी महिला बाइबलको विषयमा कुरा गर्न घरमा आइन्‌। मैले तिनलाई अग्नीकुण्डमा विश्‍वास गर्नुहुन्छ कि हुन्‍न भनेर सोधें। वास्तवमा म त्यो शिक्षादेखि असाध्यै त्रसित थिएँ। तिनले मलाई थम्थमाउँदै भनिन्‌, यस्तो अग्नीकुण्डको शिक्षा बाइबलले सिकाउँदैन अनि अमर आत्माको शिक्षा पनि बाइबलमा पाइँदैन। म मृत्युको भयले त्रसित हुन्थें साथै मायालु परमेश्‍वरले अग्नीकुण्डमा तड्‌पाउनुहुन्छ भन्‍ने विषयमा मेरो चित्त पटक्कै बुझ्दिनथें। मैले संकल्प गरें, म मेरो छोराहरूलाई यस्तो झूटा शिक्षा कदापि सिकाउने छैन।

सन्‌ १९५५ मा मैले “परमेश्‍वर साँचो ठहरिऊन्‌”a (अंग्रेजी) पुस्तकबाट बाइबल अध्ययन सुरु गरें। त्यति नै खेर के भयो भने पेन्टकोस्टको प्रचारकले अचानक मप्रति चासो देखाए अनि तिनले मलाई यहोवाको साक्षीहरूबाट बचाउन चाहे। तर तिनले गल्ती गरे किनकि तिनले मसँग फेरि त्यही अग्नीकुण्डको विषयमा उपदेश दिन सुरु गरे। त्यति मात्र कहाँ हो र उनले यहोवाको साक्षीहरूसँग बाइबल अध्ययन नगरोस्‌ भनेर चर्चका तीनजना महिलाहरू पनि पठाए।

त्यतिखेर बर्टले पल्लो कोठाबाट मेरो बाइबल अध्ययन सुन्‍ने गर्नुहुन्थ्यो। त्यसपछि उहाँले मसीही युनानी धर्मशास्त्रको नयाँ विश्‍व अनुवाद, (अंग्रेजी) पढ्‌न सुरु गर्नुभयो त्यसोगर्दा उहाँले बाइबललाई बिस्तारै बुझ्न थाल्नुभयो। उहाँले पालो मिलाएर काम गर्ने हुँदा उनले मध्यरातसम्म काम गर्नु पर्थ्यो। उनी घर आइपुग्दा म सुतिसकेको हुन्थें। एकरात चाल मारेर मुनितला झर्दा मेरो पुस्तक लुकेर पढिरहेको भेट्टाएँ। म फेरि विस्तारै खाटमा फर्कें, उनले बाइबल जाँचेको देखेर म साह्रै खुसी भएँ। अन्तमा उनले पनि बाइबल अध्ययन सुरु गरे, त्यसपछि सन्‌ १९५६ मा हामी दुवै बप्तिस्मा प्राप्त साक्षी भयौं।

आठ वर्ष भित्र सातजना छोराहरू भएकाले तिनीहरूको लालन-पालन घरको सर-सफाइ गर्नु मेरो निम्ति चुनौती थियो। धेरैजसो घरको काम छोराहरू आफै गर्थे। म सधैं भन्‍ने गर्थें, मलाई भाँडा-धुने मेसिनको दरकार छैन किनकि मेरो घरमा सात-सात छोराहरू छन्‌। सबैको पालैसित धुने तालिका थियो। बर्ट पनि साँच्चै साह्रै मदतकारी हुनुहुन्थ्यो। उनी सधैं अनुशासनलाई कायम राख्न, घरभित्रको नियम र पारिवारिक कुराकानीलाई ध्यान दिइरहन्थे। छोराहरू बुबाको आदर गर्थे तर मनको कुरा गर्न डराउँदैनथे। छोराहरूलाई सिकाउनु पर्ने जिम्मेवारीहरू जस्तै “यौन र प्रजनन” जस्ता आवश्‍यक विषयहरूमा पनि बर्ट त्यत्तिकै ध्यान दिन्थे।

सन्‌ १९६६ मा जेठा छोरा रिचर्ड न्यु योर्क, ब्रुकलिन, वाचटावर सोसाइटीको मुख्य कार्यालयमा स्वयम्‌ सेवा गर्न गए। जेठा छोरा पहिलो चोटी घरबाट निस्कनु मेरोनिम्ति ठूलो परिक्षाको घडी थियो। हरेक दिन ऊ बस्ने मेच खाली देख्दा मेरो मन खिन्‍न हुन्थ्यो। तर उसले राम्रो अनुभव र प्रशिक्षण पाएकोमा म खुसी हुन्थें।

अझ कथा अघि बढाउन म बर्टलाई छोडीदिंदैछु।

बाइबल सिद्धान्तअनुसार छोराहरू हुर्काउँदै

मार्गरेट र मैले वाशिंगटन, स्पोकेनको अधिवेशनमा बप्तिस्मा लिएका थियौं। अब हामीले छोराहरूलाई बाइबल सिद्धान्तअनुरूप हुर्काउने चुनौती सामना गर्नुपरेको थियो। त्यसलाई शायद तपाईं पुरानो परिपाटी भन्‍नुहुन्छ होला। म ढाँट-छल र दोहोरो जीवन बिताएको पटक्कै मन पराउन्‍नथें। यो कुरा छोराहरूलाई थाह थियो। हामीले तिनीहरूलाई यहोवा असल रूचाउनुहुन्छ भनेर सिकायौं।

तथापि, तिनीहरू मसित जुनसुकै कुरा पनि नहिचकिचाइ गर्थे। किनभने हामीबीचको सम्बन्ध राम्रो थियो साथै काम पनि मिलीजुली गर्थ्यौं। हामी परिवार मिलेर समुद्र किनार घुम्न, पहाडतिर वनभोज जान र वेसबल खेल्न जाने गर्थ्यौं। हामीकहाँ पाल्तु पशुहरू र फुलबारी थियो अनि हामीलाई कुनै पनि काममा छोराहरूले सघाउपघाउ गर्थे। यसरी तिनीहरूले सबै काम गर्न र खेल्न पनि सिके। हामी हर काममा सन्तुलन राख्ने कोसिस गर्थ्यौं।

ईश्‍वरतान्त्रिक अभियान

आध्यात्मिक क्षेत्रमा हेर्ने हो भने हामी सबै मसीही सभाहरूमा सँगै जान्थ्यौं अनि पारिवारिक बाइबल अध्ययन नियमित रूपमा गर्थ्यौं। सन्‌ १९५७ मा हामी वाशिंगटन सिएटलमा यहोवाका साक्षीहरूको अधिवेशनमा उपस्थित भयौं। कार्यक्रमको दौडान परिवारहरूलाई परमेश्‍वरको राज्यको सुसमाचार प्रचार गर्न बढी आवश्‍यक परेको क्षेत्रमा जान निमन्त्रणा दिइएको थियो। हाम्रो परिवारको बिचारमा यो त एकदमै असल थियो। त्यसैले हामी जाने तरखरमा लाग्यौं। सन्‌ १९५८ मा हामी पहिला मिशुरी, त्यसपछि १९५९ मा मिसिसिप्पी गयौं।

सन्‌ १९५८ मा हाम्रो प्रथम र ठूलो ईश्‍वरतान्त्रिक अभियान सुरु भयो। प्रचार अभियानको निम्ति मैले सन्‌ १९४७ सालको छवटा सिलिन्डर भएको तीन सीटे पुरानो डेसोटो गाडी तयार गरें। त्यस वर्ष हामी गाडीमा चढेर नवैजना न्यु योर्क अन्तरराष्ट्रिय अधिवेशनमा उपस्थित भयौं। हामीले स्पोकेनदेखि न्यु योर्कको पश्‍चिमी तट हुँदै लगभग ४,२०० किलोमिटरको दूरीबीच धेरै सप्ताह प्रचार गर्दै बितायौं। छोराहरूले यात्रामा बिताएका मूल्यवान्‌ र रमाइला समयको अझै सम्झना गर्छन्‌।

केकबाट अनुशासन

त्यही अधिवेशनमा हामीले वाचटावर सोसाइटीद्वारा प्रकाशित प्रमोदवन गुमेदेखिन्‌ प्रमोदवन प्राप्त गरुञ्जेलसम्म (अंग्रेजी) पुस्तक एक एक प्रति पायौं।b त्यो पुस्तक र बाइबल हाम्रो साप्ताहिक पारिवारिक अध्ययनको प्रमुख पाठ्यपुस्तक भए। कलिलो उमेरदेखि नै छोराहरूले राम्ररी पढ्‌न जानीसकेका थिए। छोराहरू स्कूलबाट फर्केपछि मार्ज (मार्गरेट) तिनीहरूले बाइबल पढेको सुन्‍न केही समय बिताउँथिन्‌। हामी तिनीहरूलाई टेलिभिजन हेर्ने लत नलागोस्‌ भन्‍नाका निम्ति सधै विशेष ध्यान दिन्थ्यौं।

हामी अनुशासनमा चल्थ्यौं र एकअर्कालाई आदर गर्थ्यौं। एकदिन मार्गरेटले एउटा ठूलो केक पकाएका थिइन्‌ र तिनी केक बनाउनमा पोख्त छिन्‌। त्यस दिनको भोजनमा गाजर पनि थियो। हामी छोराहरूलाई कुनै कुरा खान्‍न भन्‍नुअघि कमसे कम चाख्नुपर्छ भनेर कर लाउँथ्यौं। हाम्रो काईंलो छोरा डग गाजर पटक्कै मन पराउँदैनथ्यो। उसलाई हामीले गाजरको तरकारी नखाएसम्म केक पाउँदैनौ भन्यौं। अझै पनि उसले खान मानेन। मार्गरेटले भनिन्‌, “यदि तिमीले गाजर खाएनौ भने तिम्रो केक कुकुरलाई दिन्छु।” त्यो स्वादिष्ट केक कालेले कवाप्ल्याक्क नखाउञ्जेल डगले हाम्रो कुरा पत्याएको थिएन। उसले त्यो तीतो अनुभवबाट राम्रो पाठ सिक्यो, साथै अरू छोराहरूले पनि। हामी आमाबाबु जे भन्छौं, त्यही गर्छौं।

रमाइलो जीवन

मत्ती ६:३३ मा उल्लेखित येशूका शब्दहरूले मार्गरेट र मलाई मार्गदर्शन दिन्थ्यो: “पहिले उहाँको राज्य र उहाँको धार्मिकता खोजी गर, र यी सबै थोक तिमीहरूलाई थपिनेछन्‌।” परिवारैले राज्यको खोजीमा चासो देखाउने भरसक कोसिस गऱ्‍यौं। हामी सबै एकसाथ प्रचारमा जाँदा रमाइलो हुन्थ्यो, छोराहरू मसँग पालैपालो घर-घरको प्रचारमा जाने गर्थे। प्रत्येकको आ-आफ्नै ब्याग, बाइबल र बाइबल साहित्यहरू हुन्थे। तिनीहरूले गरेका हर प्रगतिमा हामी प्रशंसा गर्ने गर्थ्यौं। मार्गरेटले तिनीहरूलाई अक्सर अँगालो हाल्थिन्‌। साँच्चै भन्‍ने हो भने हामी तिनीहरूलाई निरन्तर स्नेह देखाउँथ्यौं। हामी हरबखत छोराहरूसँग समय बिताउँथ्यौं, जसले गर्दा साँच्ची नै हाम्रो जीवन रमाइलो भयो।

जसै छोराहरू हुर्कंदै गए, तिनीहरूले मानिसहरूलाई राज्य भवनमा हुने सभामा पुऱ्‍याउने, राज्य भवन खोल्ने तथा मण्डलीको अन्य कामहरूमा मदत दिन्थे। तिनीहरूले राज्य भवनलाई उपासनाको ठाउँ मानेर साह्रै स्याहार-संभार गर्थे।

हामी तिनीहरूलाई मसीही सभामा भाग लिन प्रोत्साहित गर्थ्यौं। तिनीहरूले ईश्‍वरतान्त्रिक सेवकाई पाठशालामा छोटो-छोटो भाषण दिन्थे। त्यहाँबाट तिनीहरूले बिस्तारै भाषण दिन सिके। हाम्रो अन्तरे छोरोचाहिं मानिसहरूसँग बोल्दैनथ्यो। त्यसैले उसलाई मञ्चमा गएर भाषण दिन साह्रै गाह्रो हुन्थ्यो र उसलाई भाषण सिध्याउन एकदमै आपत पर्थ्यो। समयमा उसको त्यो आदत हट्यो अहिले ऊ विवाह गरेर परिभ्रमण निरीक्षकको रूपमा सेवा गर्दै तथा विभिन्‍न मण्डलीहरूमा एकै हप्तामा अनेकौं भाषणहरू दिइरहन्छ। कत्ति ठूलो परिवर्तन!

अनुशासनप्रति छोराहरूको दृष्टिकोण

पुरानो परिपाटी अनुसार हुर्कनु पर्दा कस्तो लाग्यो भनेर सोध्न ब्यूँझनुहोस्‌!-का संवाददाताले सम्पर्क राख्दा माइकलले भने “हामी बुबालाई मायालु अनुशासन कायम राख्ने व्यक्‍ति ठान्थ्यौं।” किशोरावस्थामा छँदा रेडियो सेवामा काम गर्न गएको मलाई याद आउँछ। म पनि पूर्ण समय अग्रगामी सेवा गर्न सकूँ भनेर एउटा गाडी चाहिइरहेको थियो। रेडियो सेवाको प्रबन्धकले मलाई उसको दुई ढोके, हुड खोल्न र बन्द गर्न मिल्ने, तेज कुद्‌ने र किशोरी दुनियामा प्रचलित फोर्ड मुष्ताङ गाडी देखाए। मलाई त्यो गाडी साह्रै मनपऱ्‍यो तर सेवकाईमा जाँदा यो गाडी मानिसहरू बोक्नलाई ठीक हुँदैन भनेर मलाई थाह थियो। म डराउँदै बुबाको नजिक गएँ। जब मैले उहाँसित गाडीको कुरा उठाएँ उहाँले भन्‍नुभयो, “त्यसोभए हामी यस विषयमा कुरा गरौं।” त्यसको मतलब मैले बुझें। उहाँले मसँग त्यो भन्दा उपयोगी गाडीको फायदाहरूबारे तर्क गर्नुभयो। मैले सोहीअनुसार चार ढोके सेदान गाडी किने। मेरो प्रचार कार्यमा १,६०,००० किलोमिटर चलाइसकेपछि मात्र भन्‍न सकें, ‘बुबाले जे भन्‍नुभयो ठीक भन्‍नुभयो।’

“किशोर अवस्थामा वाशिगंटन देखि मिशुरी त्यसपछि मिसीसिप्पीको भ्रमण गर्नु साँच्चै रोमाञ्चकारी हुन्थ्यो। हामीलाई रमाइलो लाग्थ्यो। हामी नौ जनाले एक वर्ष जति अढाइ मिटर चौडाई र ११ मिटर लम्बाईको तान्‍ने पहियादार गाडीमा जिन्दगी गुजाऱ्‍यौं। तर पनि हामीलाई असाध्यै रमाइलो लाग्यो र यसले हामीलाई एउटा साँघुरो डेरामा पनि व्यवस्थित भएर मिलेर बस्न सिकायो। अवश्‍य हामी ठिटाहरू बाहिर खेल्न पाउँदा हुरूक्क हुन्थ्यौं।

“एउटा अर्को कुरा पनि म सम्झन्छु अनि बिचार गर्छु, बुबा हामीसँग दैनिक पद जाँच्दा बेग्लै ढंगमा गर्नुहुन्थ्यो।” सन्‌ १९६६ मा न्यु योर्क, दक्षिणी लान्सिङको किङडम फार्ममा प्राचीनहरूको स्कूलमा उहाँ उपस्थित हुनुभएको थियो, त्यहाँ हुँदा उहाँले बेथेल परिवारमा प्रत्येक दिन दैनिक पदको टिप्पणी दिन अनुसन्धान गरिरहेको देख्नुभयो। उहाँले त्यही नियम परिवारमा पनि लागू गर्नुभयो। हामी सातैजनाले एक-एक गरेर हरेक बिहान आ-आफ्नो अनुसन्धानअनुसार दैनिक पदको टिप्पणी दिनुपर्थ्यो। यद्यपि, हामीले कहिलेकाहीं यस विषयमा असन्तोष व्यक्‍त गऱ्‍यौं, तर पछि त्यसैले हामीलाई अनुसन्धान गर्न र आफ्नो शब्दमा व्यक्‍त गर्न सिकायो। हाम्रो त्यो बानी जीवनभर रह्‍यो।

“आमाबुबाले हाम्रो खातिर गर्नुभएको त्यागबाट म साह्रै प्रभावित भएको थिएँ। मेरो दुई दाजुहरू रिचर्ट र डानले परिवारको निम्ति केही पैसा कमाउन सक्थे तर पनि हाम्रा आमाबुबाले त्यसो गर्न नदिएर उनीहरूलाई न्यु योर्क, ब्रूक्लिनको वाचटावर सोसाइटीको मुख्य कार्यालयमा स्वयम्‌ सेवकको रूपमा सेवा गर्न प्रोत्साहन दिनुभयो। हाम्रो आमाबुबाले निकै पैसा जम्मा गर्नुभएको रहेछ जसले गर्दा हामी चारैजना मुख्य कार्यालयको दर्शन गर्न न्यु योर्क जान सक्यौं। त्यसले मलाई झनै प्रभावित गऱ्‍यो। यसले यहोवाको संगठनप्रतिको हाम्रो मूल्यांकन झन्‌ बढायो।

“अब म कथा भन्‍न बुबालाई छोडीदिंदैछु।”

बिघ्नबाधाहरू

अन्य परिवारमा जस्तै हाम्रो पनि समस्या र बिघ्नबाधाहरू नभएका होइनन्‌। जब छोराहरू लक्का जवान भए, मैले तिनीहरूलाई केटी मनपर्ने बित्तिकै हतारमा बिहे नगर्न सल्लाह दिन्थें। हामी तिनीहरूलाई आफ्ना प्रेमिकासित एक्लैदुक्लै हिंड्‌न नदिन भरसक प्रयत्न गर्थ्यौं। हामी चाहन्थ्यौं तिनीहरूले जीवनसाथी छान्‍नुअघि केही अनुभव गरून। कहिलेकाहीं तिनीहरू साह्रै दुखित हुन्थे अनि चित्त दुखाउँथे तर समयको दौडान तिनीहरूले विशेषगरि, “प्रभुमा” मात्र विवाह गर्नु भन्‍ने बाइबलको बुद्धिमानी सल्लाह बुझ्न सके। हामीले तिनीहरू विवेकी भएकोमा प्रशंसा गऱ्‍यौं।—१ कोरिन्थी ७:३९.

कान्छो छोरो, स्कटले चाहिं हामीलाई धेरै रूवायो। ऊ आफ्नो काम गर्ने ठाउँमा खराब संगतमा पऱ्‍यो। अन्तमा ऊ मण्डलीबाट बहिष्कृत भयो। हामीलाई त्यसले साह्रै ठूलो चोट पुऱ्‍यायो, तर पनि हामीले प्राचीनहरूको न्यायिक फैसलालाई मानिलियौं। स्कटले यहोवाको सेवा गर्नु सिवाय जीवनमा अरू असल केही रहेनछ भनेर सिक्न निकै हण्डर खानुपऱ्‍यो।

ऊ मण्डलीमा फेरि फर्केर आउँछ भनेर हामीले आशा गरिरह्‍यौं। खुसीको कुरा, उसलाई पाँच वर्षपछि मण्डलीमा पुनर्स्थापित गरियो। बितेका समयलाई सम्झदैं ऊ भन्छ: “म बहिष्कृत भएपछि पनि मेरो परिवारले सीमित मात्रामा भए पनि मसँग संगत गर्न छाडेन। मेरो परिवारले मलाई सधैं माया गर्छ भनेर मलाई थाह थियो।” स्कटले उन्‍नति गर्दै गए अहिले ऊ बितेको आठ वर्षदेखि प्राचीनको रूपमा सेवारत छ।

दुःखको कुरा, हाम्रो दुई नातिहरू हालसालै वहिष्कृत भए। तर परमेश्‍वरबाट पाएको अनुशासनको प्रतिफल राम्रै हुनेछ भनेर हामीले सान्त्वना पाएका छौं।

जीवनमा ठूलो परिवर्तन

अन्तमा, सन्‌ १९७८ सम्ममा हाम्रो सबै छोराहरूले घर छोडिसकेका थिए। यति वर्षको अवधिमा मैले तीतो-पिरो, गुलियो-अमिलो सबै अनुभव गरिसकेको थिएँ। सन्‌ १९८० मा मार्गरेट र मैले नौ महिनाको लागि वाचटावर सोसाइटीको मुख्य कार्यालयमा सेवा गर्ने आश्‍चर्यपूर्ण निमन्त्रणा पायौं। तर अठाह्र वर्ष भयो हामी अझ यहीं छौं।

हामीले प्रशस्त मात्रामा आशिष्‌ पाएका छौं। पुरानो परिपाटीअनुसार हाम्रा छोराहरूलाई बाइबलको सिद्धान्तअनुरूप हुर्काउन कदापि सजिलो थिएन, तर त्यसले फाइदा नै गऱ्‍यो। अहिले हाम्रो परिवारका पाँच छोराहरू मण्डलीका प्राचीन र एक जनाचाहिं परिभ्रमण निरीक्षकको काममा सेवारत छन्‌। हाम्रा २० जना नाति-नातिनीहरू र ४ जना पनाती-पनातिनीहरू छन्‌। यिनीहरू प्रायजसो सबै सच्चाईमा छन्‌ र विश्‍वासी भएर परमेश्‍वरको सेवा गरिरहेका छन्‌।

हामीले भजनरचयिताका वचनहरू सत्य साबित भएको देखेका छौं: “हेर, छोराहरू ता परमप्रभुले दिनुभएको हक मात्र हुन्‌, गर्भको फलचाहिं उहाँको इनाम हो। वीर योद्धाको हातमा भएका काँड़झैं युवावस्थाका छोराहरू हुन्छन्‌।”—भजन १२७:३, ४.

[फुटनोटहरू]

a वाचटावर बाइबल एण्ड ट्रयाक्ट सोसाइटीबाट १९४६ मा प्रकाशित; अहिले यो किताब छापिंदैन।

b वाचटावर बाइबल एण्ड ट्राक्ट सोसाइटीद्वारा प्रकाशित।

[पृष्ठ २०, २१ मा भएको चित्र]

सन्‌ १९९६ मा हाम्रो विवाहको ५० औं वार्षिकोत्सवमा छोरा-बुहारीहरूसँग (दाहिने) र नाति-नातिनीहरू (पल्लो दाहिने)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने