प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९९ ७/८ पृ. २८-२९
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—१९९९
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • न्युन जन्मदरका असरहरू
  • कम सुत्नेहरूको संख्यामा वृद्धि
  • घातक अफ्रिकी रोग पुनः देखा पऱ्‍यो
  • चाहेको जस्तो परिणाम होइन
  • यात्रुहरूलाई शास्त्रीय धुनले शान्त पार्ने
  • सबैको जिम्मेवारी
  • धूम्रपानको कारण अरबौं खर्च
  • आफ्नो मुटु बचाउनुहोस्‌
  • आफ्नो बच्चासित कुरा गर्नुहोस्‌
  • सफल उडानको लागि के के गर्नुपर्छ?
    ब्यूँझनुहोस्‌!—१९९९
  • ट्राफिक जामको कुनै उपाय?
    ब्यूँझनुहोस्‌!—२००५
  • विमानहरू कत्तिको सुरक्षित छन्‌?
    ब्यूँझनुहोस्‌!—१९९९
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—१९९७
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९९
g९९ ७/८ पृ. २८-२९

विश्‍वदर्शन

न्युन जन्मदरका असरहरू

‘औद्योगिक राष्ट्रहरूमा अहिले न्युन जन्मदर चिन्ताको विषय हुन पुगेको छ,’ भनी पेरिसको अन्तरराष्ट्रिय हेरल्ड ट्रिब्युन-ले रिपोर्ट गर्छ। किन? किनभने समयको अन्तरालमा वृद्ध जनहरूको हेरचाह गर्नको लागि युवाहरूको संख्या एकदमै कम हुनेछ। उदाहरणका लागि, कतिपय युरोपेली देशहरूमा २० वर्षमुनिका मानिसहरूभन्दा ६० वर्ष नाघिसकेकाहरूको संख्या बढी छ। वृद्धहरूको जनसंख्या वृद्धि भएको विभिन्‍न कारणहरूमध्ये दम्पतीहरूले यात्रा गर्न, कुनै खास पेसामा लाग्न वा अझ बढी शिक्षा हासिल गर्न बच्चा जन्माउने कुरालाई पन्छाउँछन्‌। अन्य कारणहरूमध्ये एउटा आर्थिक दबाब हो। यसले गर्दा बच्चाहरू “बोझ” वा “झन्झटको” कुरा हुन जान्छन्‌ भने अर्को कारणचाहिं मानिसहरूको आयु नै लामो हुन थालेको छ।

कम सुत्नेहरूको संख्यामा वृद्धि

अमेरिकीहरू “यस शताब्दीको सुरुमा भन्दा प्रत्येक दिन साढे एक घण्टाको दरले कम सुतिरहेका छन्‌। अनि सम्भवतः यो समस्या झन्‌ झन्‌ बढ्‌दै जानेछ” भनी न्युजवीक पत्रिकाले टिप्पणी गर्छ। किन? “किनभने तिनीहरूले सुत्नु त्यति आवश्‍यक कुरा होइन भन्ठान्छन्‌” भनी विस्कनसीन विश्‍वविद्यालयमा रोकथाम उपचारका प्राध्यापक टेरी यंग बताउँछन्‌। “कम सुत्नुलाई मेहनती र उन्‍नतिको चिह्नको रूपमा लिइन्छ।” निद्रा नपुग्दा शरीरमा धेरै गडबडी हुनसक्छ। जस्तै, सामान्य निराशादेखि मुटुसम्बन्धी रोग इत्यादि। सुत्न नदिइएका मुसाहरू साढे दुई हप्ताभित्रै मरे। “तपाईं ती मुसाहरू जस्तै तुरुन्तै खुत्रुक्क मर्नु नहोला। तर अप्रत्यक्ष रूपमा तपाईंको जीवनलाई खतरा पुऱ्‍याइरहेको हुनसक्छ। थकित डाक्टरले गलत औषधी दिंदा वा निद्रा लागेको चालक तपाईं गइरहनुभएको बाटोमा एकाएक आउँदा कस्तो हुन्छ” भनी न्युजवीक बताउँछ। निद्रासम्बन्धी अनुसन्धान गर्ने विशेषज्ञ जेम्स वल्स यसो भन्छन्‌, “जागिरमा सचेत हुनुका साथै गाडी चलाउँदा जागा हुन सबैभन्दा प्रभावकारी तरिका राति पर्याप्त मात्रामा सुत्नु र दिउँसो पनि एकछिन झप्की लिनुपर्छ भनी मानिसहरूलाई सिकाउनुपर्छ।”

घातक अफ्रिकी रोग पुनः देखा पऱ्‍यो

अंगोलामा १९७४ मा तीन जनालाई घातक अफ्रिकी रोग लागेको रिपोर्ट गरियो। हालै विश्‍व स्वास्थ्य संघले त्यहाँ कम्तीमा पनि ३,००,००० बिरामीहरू हुनसक्ने कुरा बताएको छ। हजारौं र सायद लाखौंलाई यस रोग लाग्नसक्ने खतरा छ। यस घातक अफ्रिकी रोग सेत्सी झिंगाले सार्ने गर्छ। यस रोगको परजीवीबाट संक्रमित मानिसको रगत चुसेपछि त्यो झिंगाले अर्को मानिसलाई संक्रमण गर्छ। खेतमा काम गर्ने वा नदीमा लुगा धुने मानिसहरू र अझ यसभन्दा पनि आमाहरूले ढाडमा बोक्ने बच्चाहरू संक्रमित हुने सम्भावना धेरै हुन्छ। सुरुमा बिरामीहरूलाई टाउको दुख्ने, ज्वरो आउने र बान्ता हुने हुन्छ। राति सुत्न नसकेर अक्सर तिनीहरू दिउँसो निदाउँछन्‌। त्यस परजीवीले सुरुमा स्नायु प्रणाली र पछि मस्तिष्कमा आक्रमण गर्छ जसले गर्दा पागल हुने, अचेत हुने र मृत्यु हुन्छ। संक्रमणबाट बच्न गाह्रो हुनका साथै यस रोगको उपचार महँगो छ। उपचारको निम्ति झन्डै ९० अमेरिकी डलर चाहिन्छ र यो “अंगोलाका मानिसहरूको निम्ति असाध्यै महँगो पर्न जान्छ” भनी लण्डनको डेलि टेलिग्राफ बताउँछ।

चाहेको जस्तो परिणाम होइन

शहरको सवारी आवागमन चापले चालकहरूलाई अक्सर तनाउमा पार्छ। रोमको ला सापयेन्जा विश्‍वविद्यालयका मनोविशेषज्ञहरूले गरेका अनुसन्धानबाट के थाह लाग्यो भने, जति सवारीको चाप बढ्‌छ त्यति नै धार्मिक विषयहरूसित सम्बन्धित अपशब्दहरू पनि बढी मुखबाट निस्कन्छ। कोरियर डेला सेरा अखबारअनुसार ग्रामीण राजमार्गहरूमा ट्राफिकसित सम्बन्धित अप्ठ्याराहरूले नै “चौवन्‍न प्रतिशतले धर्मप्रति अनादर हुने कसम खाए र अभद्र व्यवहार गरे।” तथापि, ठूल-ठूला शहरको ट्राफिकमा “सन्त तथा मूर्तिहरूलाई दोष लाउने” प्रवृत्ति बढेको देखियो। “आजकाल महानगरहरूमा कसम खाने वा सराप्ने कार्यमा वृद्धिको ७८ प्रतिशत जसो त ट्राफिकको कारणले नै हो” भनी उक्‍त अखबारले बताउँछ। अचेल रोममा ट्राफिक ठूलो समस्याको कारण भएको छ किनभने पापहरूको निम्ति क्षमा माग्न, क्याथोलिक जयन्ती वर्ष भनी घोषणा गरिएको सन्‌ २००० को तयारीमा भव्य निर्माण कार्यहरू भइरहेको छ। “कति हाँस्यास्पद कुरा तर सत्य त्यही हो, त्यस जयन्तीपछि देखिने पहिलो असर पापको निम्ति क्षमा माग्ने नभई कसम खान झन्‌ बढी शब्दहरू प्रयोग हुनसक्छन्‌” भनी जयन्ती अवलोकनकर्ताका संयोजक भन्छन्‌।

यात्रुहरूलाई शास्त्रीय धुनले शान्त पार्ने

रियो डे जेनरियोका १८ वटा सबवे स्टेसनहरूमा यात्रुहरूले स्ट्राउस, भिबाल्डी, चोपिन, चाइकोभोस्की, मोजार्ट, बाख, बिजेट, सुबर्ट र ब्राहाम्स जस्ता महान्‌ संगीतकारहरूको शास्त्रीय संगीत सुन्‍न सक्छन्‌। त्यस्ता संगीतहरू बजाएर सबवे स्टेशनका अधिकारीहरूले “यात्रुहरूलाई यात्राको दौडान एकछिन रोक्नु पर्दा शान्त राख्ने” आशा गरेका छन्‌ भनी उ ग्लोब अखबारले बताउँछ। “यस्ता संगीतहरू छानिएका थिए जसले यात्रुहरूलाई शान्त पार्नेछ तर प्लेटफर्ममै नाचुँ नाचुँ चाहिं बनाउने छैन।” रियो डे जेनिरियोका रेल स्टेशनका व्यापार निर्देशक लुइस मारियो मिरान्डाअनुसार “अपेक्षा गरेभन्दा राम्रो प्रतिक्रिया पाइयो।”

सबैको जिम्मेवारी

“जीवन निर्भर हुने वनजंगल, स्वच्छ पानी तथा जलप्रणालीजस्ता प्रकृतिका ३० प्रतिशत भागलाई मानिसले १९७० देखि गम्भीर तवरमा क्षति पुऱ्‍याउँदै आएको छ” भनी द र्जियन विक्ली अखबारको लेखमा उल्लेख गरिएको थियो। उक्‍त लेख वर्ल्ड वाइड फन्ड फर नेचरलगायत अन्य तीन संगठनहरूको रिपोर्टमा आधारित थियो। त्यस रिपोर्टमा अझ यसो भनिएको थियो, प्राकृतिक स्रोतहरूको उपभोग सबैभन्दा धेरै पश्‍चिमी राष्ट्रहरूले गर्दै आए तापनि अहिले विकाससोन्मुख राष्ट्रहरूमा “प्राकृतिक स्रोतहरू तीव्र गतिमा खतम हुँदैछ।” डब्ल्यु डब्ल्यु एफ-का अधिकारीले यस्तो टिप्पणी गरे: “हामीलाई यो समस्या गम्भीर छ भनी थाह थियो तर यो रिपोर्ट तयार नपारुञ्जेल यत्तिको गम्भीर छ भनेर थाह थिएन।” यो प्रक्रिया बन्द नगरेकोमा उक्‍त रिपोर्टले सरकारहरूलाई दोष लगाए तापनि यस्तो पनि उल्लेख गरेको अखबारले बताउँछ “पृथ्वीको प्राकृतिक स्रोतलाई हेलचेक्य्राइँ गर्नुमा प्रत्येक व्यक्‍तिविशेष जिम्मेवार छ।”

धूम्रपानको कारण अरबौं खर्च

थुप्रै राष्ट्रहरूमा धूम्रपान गर्नेहरूको संख्या घटे तापनि स्वीजरल्याण्डमा जस्ताको तस्तै छ भनी बर्नर ओबरल्याण्डर अखबार बताउँछ। त्यहाँ झण्डै एक तिहाइ जनसंख्याले धूम्रपान गर्छन्‌। वर्षेनी धूम्रपानको कारण ८,००० भन्दा बढी मृत्यु हुने गर्छ र यो संख्या एड्‌स, गाँजा, अफिम, रक्सी, आगो, सवारी दुर्घटना, हत्या तथा आत्महत्या सबैको कारण हुने मृत्यु भन्दा बढी हो। स्वीजरल्याण्डमा सार्वजनिक स्वास्थ्यको संघीय विभागले प्रस्तुत गरेको रिपोर्टअनुसार १९९५ मा धूम्रपानका कारण दस अर्ब स्वीस फ्रान्क अर्थात्‌ छ अर्बभन्दा बढी अमेरिकी डलर खर्च भयो। उक्‍त अध्ययनले अस्पतालको खर्च, कामको उत्पादनशीलतामा ह्रास आउनु, धूम्रपान गर्नेको स्वास्थ्यस्थिति खराब हुनु तथा बिरामीका परिवारका सदस्यहरूले खप्नुपर्ने दुःख सबैको लेखा राख्ने कोसिस गऱ्‍यो।

आफ्नो मुटु बचाउनुहोस्‌

“गर्मीको मौसममा हृदयघात हुने खतरा बढी हुन्छ भनेर हामीलाई पहिलादेखि थाह छ तर अहिले जाडोको मौसममा पनि खतरा हुन्छ भनी पत्ता लागेको छ” भनी क्यानाडा, ओन्टारियोका हृदय तथा मस्तिष्कघात संस्थाका प्रवक्‍ता र मुटु विशेषज्ञ डा. एन्थोनि ग्राहाम भन्छन्‌। द ग्लोब एण्ड मेल अखबारमा रिपोर्ट गरेअनुसार फ्रान्समा दस वर्ष लगाएर २,५०,००० पुरुषहरूमा गरिएको अध्ययनमा सामान्य तपाक्रममा परिवर्तन भएर १० डिग्री तलमाथि हुँदा “पहिलो हृदयघात हुने खतरा १३ प्रतिशतले वृद्धि भयो।” तापक्रम घट्‌दा मुटुले छिटो छिटो बढी काम गर्न थाल्छ किनभने शरीरको तापक्रम नघटोस्‌ भनेर रगत शरीरको भित्री भागहरूमा बहन थाल्छ। मानिसहरू बढी खट्टिए वा मौसमअनुसार उचित लुगा लगाएन भने पनि खतरा झनै बढ्‌नसक्छ। डा. ग्राहाम यस्तो चेताउनी दिन्छन्‌: “पाँच महिना चाहिं तपाईं केही शारीरिक काम नगरी खाली टिभी हेर्ने अनि त्यसपछि एकैचोटि जाडोमा साबेलले हिउँ पन्छाउने काम गर्न सक्नुहुन्‍न। तपाईंले यो बिस्तारै बिस्तारै गर्नुपर्छ।”

आफ्नो बच्चासित कुरा गर्नुहोस्‌

दिनमा कम्तीमा पनि ३० मिनेट बच्चासित कुरा गर्दा तिनीहरूको बुद्धि र भाषासम्बन्धी ज्ञानमा निकै विकास हुने लण्डनको डेलि टेलिग्राफ अखबारले रिपोर्ट गर्छ। अनुसन्धानकर्ताहरूले नौ महिना पुगेका १४० जना बच्चाहरूको अध्ययन गरे। त्यो समूहका आधाजति आमाबुबाहरूलाई बच्चाहरूसित कसरी कुरा गर्नुपर्छ भनी सल्लाह दिइयो भने बाँकीलाई केही पनि भनिएन। सात वर्षपछि हेर्दा “[कुरा गरिएको] समूहका बच्चाहरूको सामान्य बुद्धि अर्को समूहको भन्दा १५ महिनाले बढी, वृद्धि भएको” र भाषासम्बन्धी ज्ञान पनि “उल्लेखनीय ढंगमा धेरै भएको” रिपोर्टले बतायो। समाजमा भएका आमूल परिवर्तनहरूको कारण आजकाल आमाबाबुहरूले आफ्नो बच्चासित धेरै कुरा गर्दैनन्‌ भनी अनुसन्धानकर्ता डा. स्याली वार्ड भन्छिन्‌। उदाहरणका लागि, थुप्रै आमाहरू काममा जान्छन्‌ र थुप्रै घरहरूमा आमाको कुराको साटो भिडियोटेप बजाइन्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने