पाठकहरूका प्रतिक्रिया
मैले किन ध्यान दिन नसकेको? “युवा जनहरू सोध्छन् . . . मैले किन ध्यान दिन नसकेको?” लेख पढ्दा म खुसीले रोएँ। (अगस्त ८, १९९८) म १८ वर्षीया पूर्ण-समय सेविका हुँ। क्षेत्र सेवकाईमा मानिसहरूलाई मदत गर्न आवश्यक कुरा ध्यान दिनु हो र त्यसो गर्न नसकेकीले निकै चिन्तित थिएँ। म यतिविघ्न चिन्तित भइसकेकी थिएँ कि कुनै पनि कुरा सम्झन र छुट्ट्याउन पनि सक्दिनँ थिएँ। बाइबलमा यहोवाले ठीक ठीक समयमा भोजन उपलब्ध गराउनुहुन्छ भनेर बताएको कुरा साँचो रहेछ।
ए. आर. क. आर., संयुक्त राज्य
यात्रुहरूका निम्ति सुझाउ “डेंग—टोकाइबाट आउने ज्वरो” (अगस्त ८, १९९८) लेखको “यात्रुहरूको निम्ति सुझाउ”-मा छुटेको एउटा बुँदा राति कीट्नाशक औषधी प्रयोग गरिएको झूल लगाउनु पनि हो।
आइ. एच., बेलायत
हामी पाठकवृन्दको टिप्पणीको लागि सराहना व्यक्त गर्दछौं। यो सुझाउ औलो रोकथामका लागि निकै उपयोगी छ। (“ब्यूँझनुहोस्!” अगस्त ८, १९९७, पृष्ठ ३१ हेर्नुहोस्।) तथापि, संयुक्त राज्य रोग नियन्त्रण केन्द्रअनुसार डेंग रोग सार्ने लामखुट्टेहरूले “मानिसहरूलाई दिउँसोतिर टोक्ने गर्छ।” विशेष गरी “बिहान घाम झुल्केपछि केही घण्टा र दिउँसो अँध्यारो हुनुअघि केही घण्टा” यसले टोक्ने गर्छ। तसर्थ, राति झूल प्रयोग गर्नु यस रोगको रोकथाम गर्न त्यति प्रभावकारी देखिंदैन।—स.
विज्ञापन मेरी छोरी यहोवाका साक्षी होइनन्। तिनी विज्ञापनकै क्षेत्रमा काम गर्ने भएकीले “विज्ञापन तपाईं कसरी प्रभावित हुनुहुन्छ?”-को श्रृंखलाबद्ध लेखहरू भएको सेप्टेम्बर २२, १९९८ को अंक तिनी कहाँ पठाइदिएँ। तिनले यसको निकै प्रशंसा गर्दै तपाईंका लेखकहरूले त फकाउने कलाको सार राम्ररी निकालेका छन् पनि भनिन्।
आर. एस., संयुक्त राज्य
शैतानलाई दोष दिने? म १७ वर्षीय केटो हुँ र केही समयअघि मात्र मैले पहिलोपल्ट ब्यूँझनुहोस्! पढें। अहिले मलाई यो पत्रिका पढ्न सकसक लाग्छ! यसमा मूल्यवान् जानकारीहरू थिए जस्तै “बाइबलको दृष्टिकोण: हाम्रो पापको निम्ति के शैतानलाई दोष दिन मिल्छ?” (अक्टोबर ८, १९९८) मैले उक्त लेख नपढुञ्जेल आफूले पाप गर्दा उसलाई दोष दिन हुन्छ भनी सोचेको थिएँ। जे भए पनि तपाईंहरूको पत्रिका उत्कृष्ट छ त्यसैले यसको बारेमा म सबैलाई बताउने गर्छु। कृपया यी पत्रिकाहरू मलाई नियमित तवरले पठाइरहनु होला!
एम. एम., संयुक्त राज्य
युवा आत्महत्या “आजका युवाहरूका लागि के आशा छ?” विषयको श्रृंखलाबद्ध लेखका लागि म तपाईंहरूलाई मुरी-मुरी धन्यवाद दिन चाहन्छु। (अक्टोबर ८, १९९८) मेरो आँखाबाट आँसु नै झऱ्यो। मैले पनि दुई/चार चोटि आत्महत्या गर्ने प्रयास गरिसकें। तर सफल नभएकोमा धेरै खुसी छु।
ए. जेड., चेक गणतन्त्र
यी गहन विषयलाई राम्ररी व्याख्या गरिएका थिए। आफू अस्वस्थ भएकोले यस वर्षको सुरुतिर नै आत्महत्या गर्ने असफल प्रयास गरें। यस समयसापेक्ष विषयको लागि तपाईंहरूलाई धेरै धन्यवाद। यसले मेरो जीवन बचायो।
आर. पी., बेलायत
दुःखको कुरो मेरा दुई साथीहरूले आत्महत्या गर्ने प्रयास गरे। आफ्नो भविष्यबारे विचार गर्दा नराम्रो कुरा मात्र देख्नु अझ भनौं भने समस्याहरू मात्र सामना गर्नुपर्ने देखेर तिनीहरूमध्ये एक जनाले त्यसो गरेको थियो। तसर्थ, यो लेख व्यवहारिक थियो किनभने यसले सरल अनि स्पष्ट रूपमा हाम्रो भविष्य कसरी अर्थपूर्ण हुनसक्छ भनी बतायो।
आर. डी., स्पेन
तपाईंहरूको लेखले मेरो हृदय छोयो। यहोवा नै मायालु पिताको रूपमा बोल्दै हुनुहुन्थ्यो जस्तो लाग्यो। सानै छँदा, बुबाले गर्नुभएको दुर्व्यवहार भोगें। आफैलाई मूल्यहीन सम्झेर आफ्नो जीवन नै सिद्धयाउने विचार पनि धेरै चोटि गरेकी थिएँ। तर अहिले, म तपाईंहरूको लेखले सुझाउ दिए झैं “साँचो जीवन” प्राप्त गर्ने तीव्र इच्छा खेती गर्दैछु।—१ तिमोथी ६:१९.
एस. आर., ब्राजिल
थोरै शब्दहरूमै समस्याको समाधान गर्न सिकाउने भनाइहरूका लागि विशेष धन्यवाद छ।
डब्लु. एच., जर्मनी