प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g०२ १/८ पृ. ३०-३१
  • विश्‍वदर्शन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विश्‍वदर्शन
  • ब्यूँझनुहोस्‌!—२००२
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • धार्मिक लुटपाट
  • अश्‍लील मनोरञ्जनको व्यापार
  • लण्डनको पानीको सतहले खतराको सूचना दिंदैछ
  • लाटोकोसेरोको आवाजबाट तिनीहरूको स्वास्थ्य अवस्था थाह हुन्छ
  • बच्चालाई पढेर सुनाउनुका इनामहरू
  • दूध उत्पादनमा विश्‍वमै नम्बर एक
  • फोहोर नोटहरू
  • धाराको पानी कि बोतलको पानी
  • संयुक्‍त राज्य अमेरिकामा च्याउजस्तै बढिरहेका मस्जिदहरू
  • नुन—बहुमूल्य वस्तु
    ब्यूँझनुहोस्‌!—२००२
  • खानेकुरालाई सुरक्षित राख्न र पोसिलो खानेकुरा खान गर्नै पर्ने सात कुराहरू
    थप लेखहरू
  • विश्‍वदर्शन
    ब्यूँझनुहोस्‌!—१९९८
ब्यूँझनुहोस्‌!—२००२
g०२ १/८ पृ. ३०-३१

विश्‍वदर्शन

धार्मिक लुटपाट

फ्रान्सेली क्याथोलिक खबरपत्रिका ला क्रोइक्स यस्तो टिप्पणी गर्छ, “कानुन कडा भए तापनि धार्मिक चीजबीजहरूको चोरी र बेच-बिखनमा कुनै कमी आएको छैन।” चोरिएका चीजबीजहरूमा क्रूस, फर्निचर, सुन चाँदीका सामान, मूर्ति, चित्र र वेदीहरूसमेत पर्छन्‌। संग्रहालयहरूको अन्तरराष्ट्रिय परिषद्‌अनुसार हालैका वर्षहरूको दौडान चेक गणतन्त्रमा ३०,००० देखि ४०,००० र इटालीमा ८८,००० भन्दा धेरै चीजबीजहरू चोरी भएका छन्‌। फ्रान्सको ८७ वटा भव्य गिर्जाघर पनि चोरहरूको मुख्य निसाना भएका छन्‌। सन्‌ १९०७ देखि १९९६ को बीचमा फ्रान्सको धार्मिक संस्थाहरूबाट २,००० “ऐतिहासिक तथा पुरातात्त्विक वस्तुहरू” चोरी भयो र त्यसमध्ये १० प्रतिशतभन्दा कम मात्र फेला पारियो। विशेष गरी, चर्चमा जो पनि सजिलै प्रवेश गर्न सकिने र अक्सर चर्चहरूमा सुरक्षा व्यवस्था निकै कमजोर हुने भएकोले यस्ता लुटपाटलाई नियन्त्रण गर्नु निकै गाह्रो छ। (g01 12/08)

अश्‍लील मनोरञ्जनको व्यापार

न्यु योर्क टाइम्स पत्रिका यसो भन्छ, “व्यावसायिक फुटबल, बास्केटबल र बेसबल सबै खेल मिलाएर गरेको व्यापारभन्दा ठूलो व्यापार अश्‍लील मनोरञ्जनको हुन्छ। अमेरिकामा मानिसहरूले एक वर्षमा चलचित्रको टिकट खरिदमा भन्दा बढी पैसा अश्‍लील मनोरञ्जनहरूका लागि खर्च गर्छन्‌ अर्थात्‌ मनोरञ्जनजगत्‌का सबै क्षेत्रहरूमा भन्दा बढी पैसा यसैमा खर्च गर्छन्‌। सञ्चार माध्यमहरूबाट प्रसारण गरिने अश्‍लील कार्यक्रमहरू र केबुल वा सेटलाइट टिभीमार्फत अतिरिक्‍त पैसा तिरेर हेर्न सकिने फिल्महरू, इन्टरनेट वेब साइटहरू, होटेलमा देखाइने अश्‍लील फिल्महरू, फोन सेक्स, यौन खेलौना अनि . . . पत्रिकाहरूलगायत सबैलाई समावेश गर्ने हो भने, संयुक्‍त राज्य अमेरिकामा एक वर्षमा अनुमानित १० देखि १४ अरब अमेरिकी डलर बराबरको अश्‍लील मनोरञ्जनहरूको व्यापार हुन्छ।” उक्‍त लेख अझै यसो भन्छ: “अश्‍लील मनोरञ्जनहरूले एक वर्षमा १० अरब अमेरिकी डलर आर्जन गर्छ, तर न्यु योर्कको सिनेमा उद्योगले भने वर्षमा ६० करोड अमेरिकी डलर मात्र आर्जन गर्छ। त्यसैले, अश्‍लीलजगत्‌लाई अब सानोतिनो होइन तर मुख्य मनोरञ्जन भन्‍न सकिन्छ।” उदाहरणका लागि, गत वर्ष हलिउडले ४०० वटा फिल्म रिलिज गऱ्‍यो तर अश्‍लील फिल्म उद्योगले भने ११,००० “अश्‍लील” भिडियो रिलिज गऱ्‍यो। यद्यपि, निकै कम अमेरिकीहरूले मात्र यस्ता फिल्महरू हेर्ने गरेको कुरा स्वीकार्नेछन्‌। टाइम्स यसो भन्छ, “अश्‍लील व्यापारको आफ्नो छुट्टै दुनियाँ छ! अश्‍लीलता एउटा यस्तो मनोरञ्जन हो, जुन कसैले पनि हेरेको छु भनेर स्वीकार्दैनन्‌ तर अचम्मको कुरा के छ भने, यो कहिल्यै बन्द पनि हुँदैन।” (g01 12/08)

लण्डनको पानीको सतहले खतराको सूचना दिंदैछ

दी इकोनोमिस्ट यस्तो रिपोर्ट गर्छ, लण्डन “[शहरलाई] पानीले भित्र-भित्रैबाट डुबाउने खतरा भएकोले साँघुरा प्वालहरू बनाएर पानी बाहिर तानिंदैछ।” अहिले पानीको तह बढेर ट्राफल्गर स्क्वायरको जमिनको सतहभन्दा ४० मिटरमुनि पुगेको छ। गत शताब्दीको सुरुतिर उद्योगहरूले जमिनमुनिबाट करोडौं लिटर पानी बाहिर निकाल्दा भूमिगत जल तह, उक्‍त स्क्वायरको ९३ मिटरमुनि भएको अनुमान गरिएको थियो। यो तह प्रति वर्ष ३ मिटरको दरले बढ्‌दैछ र यसले लण्डनको भूमिगत रेलमार्ग प्रणाली, कयौं किलोमिटर लामा भूमिगत तारहरू र थुप्रै भवनहरूको जगका लागि खतरा उत्पन्‍न गर्न सक्छ। यहाँ ५० वटा जति यस्ता साँघुरा प्वालहरू खन्‍नुपर्ने अनुमान गरिएको छ। उक्‍त अखबार यसो भन्छ, “हाल दिनहुँजसो लगभग ५ करोड लिटर जति पानी लण्डनमुनिबाट बाहिर तानिंदैछ भनी वातावरण संस्थाले अनुमान गरेको छ।” तर यस अवस्थालाई अझै बिग्रन नदिने हो भने आगामी दश वर्षभित्रमै यो क्रम दोबर बनाउनुपर्नेछ। (g01 12/22)

लाटोकोसेरोको आवाजबाट तिनीहरूको स्वास्थ्य अवस्था थाह हुन्छ

जब खैरो प्रजातिका लाटोकोसेराहरूले आवाज निकाल्छन्‌, यसले तिनीहरूको स्वास्थ्य अवस्था कस्तो छ भनी देखाउँछ भनी दी इकोनोमिस्ट बताउँछ। “बेलाइतको पर्यावरण तथा जल विज्ञान केन्द्रका स्टिभन रेडपाथ र तिनका सहकर्मीहरूले उत्तरी इंगल्याण्डको किल्डर जंगलमा २२ वटा खैरो प्रजातिका लाटोकोसेराहरूबारे अनुसन्धान गरे।” ती अनुसन्धाताहरूले “कुनै एउटा भाले लाटोकोसेरोको आवाज रेकर्ड गरेर अनुसन्धान गरिंदै गरेका लाटोकोसेराहरूलाई सुनाउँदा त्यसप्रति प्रतिक्रिया जनाउन तिनीहरूले कति समय लगाउँदा रहेछन्‌ भनेर हेरे।” रगतमा धेरै परजीवी भएका लाटोकोसेराहरूले प्रतिक्रिया देखाउन धेरै समय लगाए। अति नै धेरै परजीवी भएका लाटोकोसेराहरूले परजीवी–मुक्‍त लाटोकोसेराहरूले भन्दा झनै धेरै अर्थात्‌ त्यसको दोबर समय लगाए। अर्को कुरा, धेरै परजीवी भएका लाटोकोसेराहरूको आवाज स्वस्थ लाटोकोसेराहरूको जत्तिको तीखो थिएन। दी इकोनोमिस्ट यसो भन्छ, “लाटोकोसेराहरूलाई आफ्नो स्वास्थ्यबारे यी सबै जानकारीहरू दिइरहेको पत्तै थिएन।” (g01 12/22)

बच्चालाई पढेर सुनाउनुका इनामहरू

पिचिचुका नामक पोलिस साप्ताहिक पत्रिका यसो भन्छ, “[छोराछोरीहरूले] आमा र बुबाले पढ्‌ने इच्छुकता देखाएको देख्दा तिनीहरूले त्यसको अनुकरण गर्ने प्रयास गर्छन्‌।” उक्‍त लेखले भनेअनुसार आजकल बच्चाहरूले बढी समय टिभी हेरेर बिताउने हुँदा यस्तो बेला चाहे बच्चाहरू दुई वर्ष मात्र पुगेको किन नहोस्‌, तिनीहरूको लागि पढिदिनु, कुनै चित्रमा तिनीहरूको ध्यान आकर्षित गर्नु र त्यस चित्रबारे व्याख्या गर्न गरिएको प्रयास खेर जाने छैन। आफूले पढिदिएको कुरा तिनीहरूले बुझेका छन्‌ कि छैनन्‌ भनी थाह पाउन आमाबाबुले भर्खरै पढेका विषयवस्तुहरूबाट प्रश्‍न सोध्न सक्छन्‌। पिचिचुका यसो भन्छ, “यदि अकस्मात्‌ बच्चालाई पट्याइ लाग्यो भने . . . हाउभाउ र स्वरलाई परिवर्तन गरेर पढाइलाई अझ जीवन्त बनाउने कोसिस गर्नुहोस्‌।” आमाबाबुहरूलाई तिनीहरूका छोराछोरीको रुचिका विषयहरू थाह पाउन र त्यसबारे तिनीहरूसित कुरा गर्न प्रोत्साहित गरिएको छ। आफू सानो छँदा सबैभन्दा मन परेका पुस्तकहरूबारे कुरा गर्नुहोस्‌, ती पुस्तकहरूका केही चाखलाग्दा विषयहरू बताउनुहोस्‌। . . . छोराछोरीहरूले आफै पढ्‌न सक्ने भइसकेपछि पनि तिनीहरूलाई पढेर सुनाउन नछोड्‌नुहोस्‌। कहिलेकाहीं छोराछोरीहरूलाई पढ्‌न प्रोत्साहित गर्न सुरुको दुई चार पाना मात्र पढिदिए पनि पुग्छ र बाँकी अंश तिनीहरू आफै खुसीसाथ पढ्‌नेछन्‌।” (g01 12/22)

दूध उत्पादनमा विश्‍वमै नम्बर एक

हिन्दुस्तान टाइम्स-ले बताएअनुसार दूध उत्पादनमा भारत विश्‍वमै पहिलो स्थानमा आउँछ। उक्‍त रिपोर्ट यसो भन्छ, “दूध उत्पादनमा भारतले गरेको आमूल परिवर्तनलाई [संयुक्‍त राज्यको वासिङ्‌टन, डि.सी. स्थित] वातावरणमुखी वर्ल्डवाच इन्स्टिच्युटले प्रशंसा गरेको छ। सन्‌ १९९४ देखि भारतको कृषि उत्पादनमा दूध प्रमुख भएको छ र सन्‌ १९९७ मा विश्‍वकै सबैभन्दा बढी दूध उत्पादन गर्ने मुलुक बनेर भारतले अमेरिकालाई पनि उछिन्यो।” उक्‍त पत्रिकामा वर्ल्डवाच इन्स्टिच्युटका अध्यक्ष लेस्टर ब्राउनको यस भनाइलाई उद्धृत गरिएको छ: “चाखलाग्दो कुरा के छ भने, वस्तुभाउलाई खुवाउन अन्‍नको साटो उपोत्पादन र अन्‍नका खोस्टाहरूको प्रयोग गरिएको छ। वस्तुभाउलाई मानिसले उपभोग गर्ने अन्‍न नदिइकनै प्रोटिन उत्पादनलाई बढाउन भारत सक्षम भयो।” (g01 12/22)

फोहोर नोटहरू

क्यानाडाको द ग्लोब एण्ड मेल नामक पत्रिका यसो भन्छ, “कागजका नोटहरूमा ब्याक्टेरियाहरू स्याउँस्याउँती हुन्छन्‌।” संयुक्‍त राज्य अमेरिकामा हालै गरिएको अनुसन्धानले देखाएअनुसार चलनचल्तीमा भएका प्रायः सबै नोटहरूमा स्ट्रेप्टोकोकस, इन्टेरोब्याक्टर, स्युडोमोनासका साथै अन्य किटाणुहरू छन्‌। द ग्लोब-को भनाइअनुसार यी किटाणुहरूले “कम रोग प्रतिरोधात्मक क्षमता हुने व्यक्‍तिहरूजस्तै अति वृद्धहरू वा एच आइ भी एड्‌सबाट ग्रसित रोगीहरूलाई हानि पुऱ्‍याउन सक्छ।” कुनै-कुनै नोटहरूमा त योभन्दा हानिकारक ब्याक्टेरियाहरू पनि हुन सक्छन्‌। अनुसन्धानकर्ताहरूको भनाइअनुसार अब “नोटलाई पनि धुने” समय आएको हुन सक्छ। जापानमा उपभोक्‍ताहरूले “सफा ए टि एम्‌” मेशिनबाट रकम प्राप्त गर्न सक्छन्‌। यस मेशिनबाट निस्कने नोटहरू “२०० डिग्री सेल्सियसको (३९२ फरेनहाइट) तापक्रममा तताइसकेको हुन्छ र यो तापक्रम धेरै प्रकारका ब्याक्टेरियाहरूलाई मार्न पर्याप्त छ तर यत्तिको तापक्रमले नोट भने जल्दैन।” द ग्लोब यस्तो सुझाउ दिन्छ, पैसा छोइसकेपछि “आफ्नो हात धुनुहोस्‌!” (g01 12/22)

धाराको पानी कि बोतलको पानी

न्यु योर्क टाइम्स-ले यस्तो रिपोर्ट दिन्छ, “बोतलको पानी यति लोकप्रिय छ कि विश्‍वभरि ७०० भन्दा बढी ब्राण्डका पानीहरू उत्पादन गरिन्छन्‌।” यद्यपि, “प्रायः महँगो बोतलको पानी र धाराको पानीबीच एउटै कुराको मात्र भिन्‍नता हुने गर्छ, त्यो हो बोतल।” विश्‍व प्रकृति कोषले (डब्लु डब्लु एफ) औंल्याएअनुसार “अधिकांश मुलुकहरूमा धाराको पानीभन्दा बोतलको पानी बढी सुरक्षित वा शुद्ध नहुन सक्छ तर यसैलाई धाराको पानीभन्दा १,००० गुणा बढी मूल्यमा बेचिन्छ।” धाराको पानीले पैसा मात्र जोगाउँदैन तर यसले पर्यावरणलाई पनि फाइदा पुऱ्‍याउँछ किनकि प्रत्येक वर्ष पानीको बोतलको लागि १५ लाख टन प्लास्टिक प्रयोग गरिन्छ र “बोतलहरूको उत्पादन गर्दा अनि ती बोतलहरू फ्याँक्दा निस्कने विषालु रासायनिक पदार्थ तथा ग्याँसहरूले मौसममा प्रतिकूल असर पार्छ।” विश्‍व प्रकृति कोष अन्तरराष्ट्रिय शुद्ध पानी कार्यक्रमका प्रमुख बिक्साम गुज्जाका अनुसार “युरोप र संयुक्‍त राज्य अमेरिकाको धारामा आउने पानीको गुणस्तर बोतलको पानी उत्पादन गर्ने उद्योगहरूको भन्दा उच्च छ।” (g01 12/08)

संयुक्‍त राज्य अमेरिकामा च्याउजस्तै बढिरहेका मस्जिदहरू

मुसलमानहरूको बढ्‌दो जनसंख्यालाई संकेत गर्दै द न्यु योर्क टाइम्स यसो भन्छ, “छ वर्षभित्रमा संयुक्‍त राज्य अमेरिकामा लगभग २५ प्रतिशतको दरले मस्जिदहरूको संख्यामा वृद्धि भएको छ र अहिले यसको संख्या १,२०० भन्दा बढी पुगेको छ। जर्जटाउन युनिभर्सिटीमा कार्यरत सेन्टर फर मुस्लिम-क्रिश्‍चियन अन्डरस्ट्याण्डिङका निर्देशक जोन इस्पोसिटोको भनाइअनुसार हाल अमेरिकामा मुसलमानहरूको जनसंख्या “लगभग ४० देखि ६० लाखसम्म” रहेको छ। चारवटा अमेरिकी इस्लामिक संगठनले गरेको हालैको अध्ययनअनुसार यो संख्या अझै बढी हुन सक्छ। इस्पोसिटोले गरेको टिप्पणीअनुसार जे होस्‌, “निरन्तर बढिरहेको बसाइँ सराइ र तुलनात्मक हिसाबमा अधिकांश मुसलमानहरूको परिवार ठूलो हुने भएकोले” जनसंख्या झनै बढ्‌नेछ। “एक दशकभित्रमा अमेरिकामा, इस्लाम दोस्रो ठूलो धर्म हुनेछ।” टाइम्स-को भनाइअनुसार मस्जिद धाउनेहरूमा “पुरुषहरूको संख्या अत्यन्तै बढी” छ। अध्ययनले के पनि देखाउँछ भने, “उपासकहरूमा पनि निकै जातीय विविधता पाइन्छ: एक तिहाइ दक्षिण एसियाली, ३० प्रतिशत अफ्रिकी मूलका अमेरिकी, २५ प्रतिशत अरबीहरू छन्‌।” (g01 12/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने