प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g03 १२/८ पृ. ९-१०
  • पृथ्वी कसरी जोगिनेछ

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • पृथ्वी कसरी जोगिनेछ
  • ब्यूँझनुहोस्‌!—२००३
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • उत्कृष्ट समाधान नजिकै
  • जीवनको महान्‌ उद्देश्‍य छ
    जीवनको उद्देश्‍य के हो? तपाईं त्यसलाई कसरी प्राप्त गर्न सक्नुहुन्छ?
  • पृथ्वीलाई कसले जोगाउनेछ?
    थप लेखहरू
  • के यो पृथ्वी विनाश हुनेछ?
    बाइबल प्रश्‍नहरूको जवाफ
  • परमेश्‍वरले कुन उद्देश्‍य लिएर पृथ्वी सृष्टि गर्नुभयो?
    परमेश्‍वर हामीबाट के चाहनुहुन्छ?
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—२००३
g03 १२/८ पृ. ९-१०

पृथ्वी कसरी जोगिनेछ

पृथ्वीलाई निराशाको वातावरणीय कालो बादलले डम्म ढाकेको भए तापनि हाम्रो अन्तरात्माले बारम्बार भन्छ, यसको अस्तित्व मेटिनेछैन। आखिर यो हाम्रो घर हो—अनि हाम्रो मात्र होइन सायद हाम्रा छोराछोरी र नातिनातिनाहरूको पनि। यो आशालाई सबल बनाउन हामीले गर्न सक्ने केही छ कि?

एउटा नकार्नै नसकिने सत्य के हो भने, धेरै मानिसहरू वातावरणप्रति चिन्तित त छन्‌ तर सडकमा फोहोर फाल्ने, नदीमा फोहोर थुपार्ने, प्रयोगमा नआएको बेला बत्ती बालिराख्ने जस्ता कुराहरूप्रति तिनीहरू सचेत छैनन्‌। कसै-कसैलाई यस्ता कुराहरू सानोतिनो लाग्लान्‌ तर पृथ्वीका अरबौं मानिसहरू प्रत्येकले पृथ्वीप्रति गर्ने व्यवहारमा सचेत भएको खण्डमा यसले पृथ्वीको स्वरूपलाई नै बदल्न सक्छ। उर्जाको प्रयोगमा मितव्ययी हुने, पुनःप्रयोग कार्यक्रमलाई सघाउने र फोहोर राम्ररी तह लगाउने जस्ता कार्यहरूले वातावरण संरक्षणमा योगदान पुऱ्‍याउँछ। हामी पृथ्वीको साँच्चै ख्याल राख्छौं भन्‍ने कुरा आफ्नो आनीबानीद्वारा देखाउन सक्छौं।

यद्यपि, हाम्रा वरपर बस्ने प्रत्येक व्यक्‍तिविशेषको क्रियाकलाप नियन्त्रण गर्नु असम्भव छ। त्यसोभए, परिस्थिति सुध्रने कुनै आशै छैन त?

उत्कृष्ट समाधान नजिकै

टाइम पत्रिकामा उल्लिखित ग्रीनपिस संगठनका थिलो बोडे आफ्नो टिप्पणीमा वातावरणीय समस्याको मूल जरोबारे यसो भन्छन्‌, “प्रयोग पश्‍चात्‌ आफ्ना उत्पादनहरू कसरी तह लगाइन्छन्‌, त्यसबारे कम्पनीहरूले विचार गर्नुपर्छ भन्‍नु नै हाम्रो मुख्य लक्ष्य हो। तिनीहरूले तीन दृष्टिकोणबाट सोच्नै पर्छ: उत्पादन, प्रयोग अनि तह लगाउनु।” दुःखको कुरा, हामी वस्तुहरू उत्पादन गर्न सक्षम छौं, त्यसको प्रयोग कसरी गर्ने, त्यो पनि हामीलाई थाह छ, तर हामी त्यसलाई उचित तरिकाले तह लगाउँदैनौं। कतिपय अवस्थामा मानिसहरूलाई कसरी सुरक्षित रूपमा तह लगाउने, थाह छैन।

मानिसमा सीमितताहरू छन्‌, तर पृथ्वीको सृष्टिकर्तामा सीमितताहरू छैनन्‌। उहाँले आफ्ना सृष्टिहरूमा प्रदर्शित गर्नुभएको उत्कृष्ट बुद्धि हामीले देखिसकेका छौं। कसरी बनाउने, प्रयोग गर्ने अनि उचित ढंगमा तह लगाउने, त्यो उहाँलाई थाह छ। उहाँद्वारा सृजित धेरैजसो प्रणालीहरू स्वचालित छन्‌। बीउ अंकुराउँछ, बिरुवा हुर्कन्छ अनि फल दिन्छ। त्यसपछि मर्छ—कुनै प्रदूषण नगरी पुनः प्रयोग गर्न मिल्ने तत्त्वहरूमा परिणत हुने गरी। फोहोर तह लगाउने योभन्दा उत्तम तरिका अरू कुन होला! कुनै विषाक्‍त प्रदूषण छैन!

पृथ्वीलाई मानिसहरू बस्नै अयोग्य हुने गरी फोहोरको थुप्रो बन्‍न दिने सृष्टिकर्ताको अभिप्राय छैन। बाइबलमा यशैया ४५:१८ यसो भन्छ: “परमप्रभु यसो भन्‍नुहुन्छ, (उहाँ परमेश्‍वर हुनुहुन्छ!) जसले पृथ्वी रच्नुभयो र बनाउनुभयो। (उहाँले त्यो स्थिर गर्नुभयो, उहाँले त्यो व्यर्थको वस्तु सृष्टि गर्नुभएन, उहाँले त्यो आबाद गर्नलाई बनाउनुभयो।)”

यदि परमेश्‍वरले पृथ्वी आबाद गर्नलाई नै बनाउनुभएको हो भने उहाँले किन यसलाई यस्तो दुःखदायी अवस्थासम्म खस्कन दिनुभयो त? बाइबलले बताउँछ, सुरुमा मानिसजातिलाई प्रमोदवनमा राखिएको थियो। वास्तवमा, सारा पृथ्वी प्रमोदवन होस्‌ र मानिसजातिले भरियोस्‌ भन्‍ने परमेश्‍वरको उद्देश्‍य थियो। (उत्पत्ति १:२८) यद्यपि, विद्रोह मच्चियो। प्रथम पुरुष र स्त्री परमेश्‍वरको शासनको अधीनमा बसिरहन चाहेनन्‌।

परमेश्‍वरले मानिसजातिलाई आफ्नो शासनपद्धतिअनुसार चल्ने अनुमति दिनुभयो। जसको परिणाम आज हाम्रो आँखा अगाडि छ, घोर असफलता। आफ्ना समस्याहरू समाधान गर्न मानिसजाति सक्षम छैन भन्‍ने कुरा उनीहरू स्वयम्‌ले स्पष्टसित देखाइसकेका छन्‌। मानिसजातिको असक्षमताको दोष परमेश्‍वरलाई लगाउन मिल्दैन। बाइबलमा उल्लिखित यो कुरा आज मानव समाजको सन्दर्भमा सत्य साबित भएको छ: “तिनीहरूले उहाँसँग भ्रष्ट व्यवहार गरे, तिनीहरूको खोटको कारणले तिनीहरू उहाँको सन्तान हुनसक्‍तैनन्‌। तिनीहरू पतित र खराब पुस्ताका मानिसहरू हुन्‌!”—व्यवस्था ३२:५.

यद्यपि, पृथ्वीको विनाशप्रति परमेश्‍वरले आँखा चिम्लनुभएको छैन। ठीक समयमा अर्थात्‌ पृथ्वी, मानव बस्न अयोग्य उजाड भूमिमा परिणत हुनु अगावै उहाँले कदम चाल्नुहुनेछ। हामी यो कुरा कसरी थाह पाउँछौं? प्रकाश ११:१८ यसो भन्छ: “औ जाति जातिहरू क्रोधित भए . . . पृथ्वीका नष्टकारीहरूलाई नष्ट गर्नालाई . . . तपाईंको क्रोध आएको छ।” पृथ्वीको विनाश रोकिनेछ।

पृथ्वीलाई प्रमोदवनमा परिणत गर्ने परमेश्‍वरको सुरुको उद्देश्‍य पक्कै पूरा हुनेछ। परमेश्‍वर स्वयम्‌ले यस कुराको पुष्टि दिनुभयो। उदाहरणका लागि उहाँले यसो भन्‍नुभयो: “त्यसरीनै मेरो मुखबाट निस्कने मेरो वचन . . . मकहाँ व्यर्थै फर्कनेछैन, तर मैले इच्छा गरेको काम त्यसले पूरा गर्नेछ।” (यशैया ५५:११) सायद, यशैया ३५ अध्याय पढ्‌नुहुँदा तपाईं अत्यन्तै हर्षित हुनुहोला जहाँ उजाड पारिएको भूमि सुन्दर बगैंचा जस्तै पार्क र उर्वर भूमिमा परिणत हुने कुरा वर्णन गरिएको छ।

अहिले पनि केही ठाउँहरूमा प्रदूषण रोकिंदा पृथ्वीले आफूलाई नवीन रूपमा प्रस्तुत गर्ने अद्‌भुत क्षमता देखाउँछ। पृथ्वीलाई यस्तै क्षमता राखेर परमेश्‍वरले सृष्टि गर्नुभयो। यदि पृथ्वीमा हाल भइरहेको अचाक्ली प्रदूषणलाई रोक्ने हो भने पानीमा भएका विविध सुक्ष्मजीवहरू तथा माटोले हाल प्रदूषणले गरेका हानिनोक्सानीहरूको धेरै हदसम्म क्षतिपूर्ति गर्न सक्छ। साथै, पृथ्वी पुनर्यौवनमा फर्कने यो प्रक्रिया परमेश्‍वरले हस्तक्षेप र निर्देशन गर्नुहुँदा अझ प्रभावकारी हुनेछ भनी विश्‍वास गर्ने हामीसित कारण छ। आज मानिसजातिमा खट्‌किएको सिद्ध निर्देशन र प्रशिक्षण उपलब्ध गराउन उहाँ सक्षम हुनुहुन्छ।

तसर्थ, पृथ्वीको भविष्य निराशाजनक छैन। वनस्पति र जनावरहरू जोगाइनेछन्‌। लोप हुन लागेका प्रजातिहरूको सूचिको नामोनिशान हुनेछैन। हाम्रो हावा र पानी फेरि एकचोटि स्वच्छ हुनेछ। यी सबै कुराबाट प्रचुर आनन्द उठाउन आज्ञाकारी मानवजाति त्यहाँ हुनेछन्‌। के तपाईं त्यो आफ्नै आँखाले हेर्न चाहनुहुन्छ? तपाईं त्यहाँ बस्न सक्नुहुन्छ। तर कसरी? त्यहाँ बस्न के-के गर्नुपर्छ भन्‍ने सन्दर्भमा बाइबलले विस्तृत तवरमा बताउँछ। यी सबै कुरा थाह पाउन व्यवस्थित ढंगले बाइबल जाँचे कसो होला? यसो गर्न, तपाईंलाई मदत दिन सक्षम कुनै व्यक्‍तिसित सम्पर्क राख्न यस पत्रिकाका प्रकाशकहरूलाई अनुरोध गर्नुहोस्‌। तपाईं अनि तपाईंका परिवारले आनन्द उठाउन सक्ने त्यो नयाँ वातावरणबारे सिक्ने मौकालाई किन त्यत्तिकै खेर फाल्ने?

(g03 11/22)

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने