नाउँ कमाएका मुद्रक
केतपाईंले कहिल्यै बाइबलको पद खोज्नुभएको तर त्यो कहाँ छ भनी पत्ता लगाउन नसक्नु भएको छ? यद्यपि, एउटा शब्द मात्र याद हुँदा पनि बाइबल अनुक्रमणिका प्रयोग गरेर त्यो भेटाउन सक्नुभएको थियो। अथवा शायद सयौं वा हजारौं मानिसहरू उपस्थित भएको मसीही जमघटमा जानुभएको होला, जहाँ उपस्थित सबैले उद्धरण गरिएको केही सेकेन्डभित्रै बाइबलमा त्यो पद भेटाएका थिए।
दुवै कुराका लागि एक अपरिचित व्यक्तिप्रति तपाईं ऋणी हुनुहुन्छ। तिनले तपाईंको निम्ति बाइबल अध्ययनलाई सजिलो बनाए र आज हाम्रोनिम्ति सही बाइबलहरू उपलब्ध गराउन पनि ठूलो योगदान पुऱ्याए। थुप्रै बाइबलहरूको संरचनामा पनि तिनको ठूलो भूमिका थियो।
त्यस व्यक्ति रबर्ट एस्ट्येन थिए।a तिनी मुद्रकको छोरा र स्वयं पनि मुद्रक थिए। तिनी १६ औं शताब्दीको सुरुतिर फ्रान्सको पेरिसमा जन्मिएका थिए। त्यो रेनासान्स र धार्मिक सुधारको युग थियो। रेनासान्स र धार्मिक सुधार दुवैको निम्ति छापाखाना एउटा साधन बन्यो। रबर्टका पिता, आन्रे एस्ट्येन ख्यातिप्राप्त मुद्रक थिए र उनले रेनासान्सताका सर्वोत्तम पुस्तकहरूको मुद्रण गरेका थिए। उनका कृतिहरूमा पेरिसको विश्वविद्यालय र त्यसको धर्मविज्ञानसम्बन्धी अध्ययन केन्द्र, सोबोनका लागि शैक्षिक तथा बाइबलसम्बन्धी पुस्तकहरू छन्।
तर हामी रबर्ट एस्ट्येनमा आफ्नो ध्यान केन्द्रित गरौं। तिनको औपचारिक शिक्षाबारे धेरै कुरा थाह छैन। यद्यपि सानो उमेरदेखि नै तिनले ल्याटिन भाषा सिके र चाँडै युनानी तथा हिब्रू भाषामा पनि पोख्त भए। आफ्नो पिताबाट रबर्टले मुद्रण कला सिके। सन् १५२६ मा आन्रेको छापाखानाको मालिक हुँदा रबर्ट एस्ट्येन उच्च भाषिक स्तरका शास्त्रज्ञ भनी परिचित भइसकेका थिए। तिनले ल्याटिन साहित्यका आलोचनात्मक संस्करणहरू तथा शिक्षण क्षेत्रसित सम्बन्धित अन्य कृतिहरू प्रकाशित गरे तापनि तिनको प्रथम र निर्विवाद प्रेम बाइबलप्रति थियो। ल्याटिन साहित्यहरूमा गरिएजस्तै काम ल्याटिन बाइबलमा पनि सम्पन्न गर्न जेरोमको ल्याटिन भल्गेट बाइबल पाँचौं शताब्दीको मौलिक पदअनुरूप यथासम्भव पुनःस्थापित गर्न एस्ट्येन अग्रसर भए।
परिष्कृत भल्गेट
बाइबलको मौलिक हिब्रू र युनानीबाट जेरोमले अनुवाद गरेका थिए तर एस्ट्येनको समयसम्म भल्गेट अस्तित्वमा भएको हजार वर्ष भइसकेको थियो। पुस्तौंदेखि भल्गेट-का प्रतिहरू बनाउँदै जाँदा थुप्रै गल्ती तथा त्रुटिहरू घुसेका थिए। यसबाहेक, मध्ययुगताका बाइबलको ईश्वरप्रेरित वचनमा मध्यकालीन मिथ्या, संक्षेपीकृत पद्यांश तथा भ्रामक अनर्थहरू घुसिसकेका थिए। यी बाइबलको पदसित असाध्यै छ्यासमिस भइसकेकोले ती प्रेरित लेखोटहरूजस्तै स्वीकारयोग्य हुन थाले।
अमौलिक कुराहरू सबै हटाउन एस्ट्येनले उच्चकोटीका प्राचीन साहित्यहरूको अध्ययन प्रक्रियामा प्रयोग गरिने विधि अर्थात् हरेक पद आलोचनात्मक दृष्टिकोणले केलाउन थाले। तिनले बाइबलका सबैभन्दा पुराना र सर्वोत्तम हस्तलिपि खोजे। पेरिस र त्यस वरपरका पुस्तकालयहरूका साथै एभ्रु अनि सोसनजस्ता ठाउँहरूमा तिनले निकै पुराना हस्तलिपिहरू भेटाए। तीमध्ये एउटा सम्भवतः छैठौं शताब्दीको थियो। बेग्लाबेग्लै ल्याटिन पदहरूका हरेक पद्यांश एस्ट्येनले राम्ररी तुलना गरेर हेरे र त्यसो गर्दा सबैभन्दा प्रमाणिक देखिने पद्यांशहरू मात्र छाने। फलस्वरूप, एस्ट्येनको बाइबलको प्रथम प्रकाशन १५२८ मा भयो र बाइबलका सही पदहरूलाई परिष्कृत गर्ने काममा यो उल्लेखनीय कदम थियो। त्यसपछि एस्ट्येनले सुधारेका अन्य संस्करणहरू छापिन थाले। तिनीभन्दा अघि केही व्यक्तिहरूले भल्गेट सच्याउने प्रयास गरेका थिए तर प्रभावकारी आलोचनात्मक पादटिप्पणी प्रस्तुत गर्ने प्रथम संस्करण तिनको भल्गेट नै थियो। कुनै शंकास्पद पद्यांशहरू वा अनेकार्थक शब्दहरू तिनले उल्लेख गरेनन् र त्यसलाई एस्ट्येनले पृष्ठको छेउमा संकेत गरे। यी सच्याइएका पद्यांशहरू समर्थन गर्ने हस्तलिपिका स्रोतहरू पनि तिनले उल्लेख गरे।
सोह्रौं शताब्दीको लागि असाध्यै नौलो अन्य पक्षहरू पनि एस्ट्येनले सुरु गरे। तिनले अप्रमाणित पुस्तकहरू र परमेश्वरको वचनलाई विभाजन गरे। तिनले प्रेरितको पुस्तकलाई सुसमाचारको पुस्तकहरूको पछाडि र पावलका पत्रहरूको अगाडि राखे। पाठकहरूले खास पद्यांशहरू भेटाउन सकोस् भनेर हरेक पृष्ठमाथि तिनले केही मुख्य शब्दहरू राखे। यो आज साधारणतया प्रत्येक पृष्ठमा देखिने मूल विषयको प्रारम्भिक उदाहरण हो। जर्मनीमा आरम्भ गरिएका मोटा गोथिक अक्षरहरू प्रयोग नगरेर हाल सामान्यतः प्रचलित हल्का र पढ्न सजिलो रोमन अक्षरमा सम्पूर्ण बाइबल प्रकाशित गर्ने प्रथम व्यक्ति एस्ट्येन थिए। केही पद्यांशहरूको स्पष्टीकरण दिन तिनले थुप्रै फड्के टिप्पणी र भाषिक टिप्पणीहरू पनि प्रस्तुत गरे।
थुप्रै कुलीन तथा पादरीहरूले एस्ट्येनको बाइबल मूल्यांकन गरे किनभने यो भल्गेट-को अन्य मुद्रित संस्करणभन्दा उत्तम थियो। सौन्दर्य, कौशलता र उपयोगिताका लागि तिनको संस्करण स्तर निर्धारक बन्यो अनि चाँडै युरोपभरि त्यसको अनुकरण गरिन थाल्यो।
शाही मुद्रक
हितोपदेश २२:२९ यसो भन्छ: “निपुण कारीगरले राजाको सेवा गर्छ, त्यसले साधारण मानिसको सेवा गर्दैन।” एस्ट्येनको नवीनतम कालिगडी र भाषिक क्षमता फ्रान्सका राजा, फ्रान्सिस् प्रथमको नजरबाट लुक्न सकेन। ल्याटिन, हिब्रू र युनानी भाषाको लागि एस्ट्येन राजाका मुद्रक भए। यसप्रकार फ्रान्सेली मुद्रण कलाको दृष्टिकोणमा अहिलेसम्म उत्कृष्ट मानिने कृतिहरू एस्ट्येनले प्रकाशित गर्न थाले। सन् १५३९ मा तिनले फ्रान्समा सिंगो हिब्रू बाइबलको प्रथम तथा सर्वोत्कृष्ट संस्करण प्रकाशित गरे। सन् १५४० मा तिनले ल्याटिन बाइबलमा चित्रहरू राख्न थाले। तर मध्ययुगको प्रचलनअनुसार बाइबलका घटनाहरू सजिसजाउका साथ प्रस्तुत गर्नुको साटो पुरातात्त्विक प्रमाण वा बाइबलमै पाइने नाप र विवरणहरूको आधारमा एस्ट्येनले जानकारीमूलक चित्रहरू प्रदान गरे। काठमा कुँदिएका यी मुद्रणहरूले करारको सन्दुक, मुख्य पूजाहारीको वस्त्र, पवित्रस्थान र सुलेमानको मन्दिरलाई विस्तृत वर्णनसहित चित्रण गर्थ्यो।
राजाको हस्तलिपिका संकलनहरू छाप्न आफूले झिकाउन लगाएका विशेष प्रकारको युनानी अक्षरहरू प्रयोग गरेर एस्ट्येनले मसीही युनानी शास्त्रको प्रथम आलोचनात्मक संस्करण प्रकाशित गरे। एस्ट्येनको युनानी पदका प्रथम दुइ संस्करणहरू डेसिडेरियस इरास्मस्को पुस्तकको दाँजोमा त्यति राम्रो नभए तापनि सन् १५५० को तेस्रो संस्करणमा एस्ट्येनले पाँचौं शताब्दीको कोडेक्स बिजे र सेप्टुआजिन्ट बाइबललगायत लगभग १५ हस्तलिपिहरूबाट आलोचनात्मक टिप्पणी तथा पादटिप्पणीहरू थपे। एस्ट्येनको यो संस्करण असाध्यै व्यापक वितरण भयो र पछि गएर तथाकथित टेक्स्टस रिसेप्टस अथवा प्राप्त पदको आधारशिला बन्न पुग्यो, जसमा सन् १६११ को किंग जेम्स भर्सन-लगायत थुप्रै अनुवादहरू आधारित थिए।
सोबोनको विरुद्धमा धार्मिक सुधार
युरोपभरि लुथर र अन्य धार्मिक सुधारकहरूका विचारधाराहरू फैलिरहेको हुँदा मानिसहरूले पढ्ने विषयवस्तुमाथि नियन्त्रण जमाएर क्याथोलिक चर्चले तिनीहरूको सोचविचारमाथि आधिपत्य जमाउन थाले। जून १५, १५२० मा पोप लियो दशौंले आदेशपत्र जारी गरे। कुनै पनि क्याथोलिक मुलुकमा “विधर्मी” तत्त्व भएको पुस्तक छाप्न, बिक्री गर्न वा पढ्न मनाही गरिएको आदेश थियो र आफ्ना मातहतका सबै क्षेत्रहरूमा त्यो आदेशपत्र लागू गर्न अख्तियारवालाहरूलाई आज्ञा दिइयो। बेलाइतमा राजा हेनरी आठौंले यो जाँच गर्ने काम क्याथोलिक बिशप कथ्बर्ट टन्स्टललाई सुम्पे। तथापि, युरोपको अधिकांश भागमा धर्मसिद्धान्तसम्बन्धी विषयहरूमा सर्वप्रथम पोपको र त्यसपछि सोबोन अर्थात् पेरिसको विश्वविद्यालयका धर्मविज्ञानीहरूको निकायको हातमा निर्विवाद अख्तियार थियो।
क्याथोलिक रूढीवादी विश्वासको माध्यम सोबोन थियो। यो शताब्दीयौंदेखि क्याथोलिक विश्वासको सुरक्षात्मक भाग ठानिएको थियो। सोबोनका जाँचकीहरूले सबै आलोचनात्मक संस्करणहरू र भल्गेट-का अन्य भाषाका अनुवादहरू “चर्चको लागि अनर्थ मात्र नभई हानिकारक” ठानी त्यसको विरोध गरे। धर्मशास्त्रमा निराधार चर्चका धर्मसिद्धान्त, उत्सव र परम्पराहरूमाथि धार्मिक सुधारकहरूले प्रश्न खडा गरिरहेको बेला यसो हुनु कुनै आश्चर्यको कुरा थिएन। तथापि, सोबोनका धेरैजसो धर्मविज्ञानीहरूले चर्चका सम्मानित धर्मसिद्धान्तहरूलाई बाइबलको सही ज्ञानभन्दा बढी महत्त्वपूर्ण ठाने। एक धर्मविज्ञानीले यसो भने: “धर्मसिद्धान्तहरू थाह पाएपछि धर्मशास्त्र भनेको पर्खाल निर्माण गरिसकेपछि त्यहाँबाट निकालिने खटजस्तै हो।” निकायका धेरैजसो सदस्यहरू हिब्रू तथा युनानी भाषाबारे अनभिज्ञ थिए। यद्यपि तिनीहरूले एस्ट्येन र रेनासान्सका अन्य शास्त्रज्ञहरूका अध्ययनको अवहेलना गरे, जसले बाइबलमा प्रयोग गरिएका शब्दहरूको मौलिक अर्थ खोतलिरहेका थिए। सोबोनका एक प्राध्यापकले यतिसम्म भन्न आँट गरे, “युनानी र हिब्रूको ज्ञान प्रतिपादन गर्नु सबै धर्महरूलाई नाश गर्नु बराबर हुनेछ।”
सोबोनले आक्रमण गर्छ
निकायका जाँचकीहरूले एस्ट्येनको भल्गेट-का प्रारम्भिक संस्करणहरू नजाँचे तापनि त्यो विवादमुक्त भने थिएन। तेह्रौं शताब्दीतिर विश्वविद्यालयको औपचारिक बाइबल भनी भल्गेट-लाई पवित्र तुल्याइयो र धेरैको निम्ति त्यसको पद अचूक थियो। त्यस निकायले सम्माननीय शास्त्रज्ञ इरास्मस्को कृति, भल्गेट-लाई समेत तिरस्कार गरेको थियो। एक स्थानीय साधारण मुद्रकले औपचारिक पद सच्याउने हिम्मत गर्ने आँट गर्नुसमेत धेरैको निम्ति चिन्ताको विषय थियो।
शायद धर्मविज्ञानीहरूको निम्ति सबैभन्दा चिन्ताजनक कुरा, एस्ट्येनका फड्के टिप्पणीहरू थिए। ती टिप्पणीहरूले भल्गेट-को पदको वैधतामाथि शंका उत्पन्न गऱ्यो। केही पद्यांशहरू एस्ट्येनले स्पष्ट पार्न खोज्दा तिनीमाथि धर्मविज्ञान क्षेत्रमा हस्तक्षेप गरेको आरोप लगाइयो। ती टिप्पणीहरू केवल छोटो संक्षेपीकरण वा भाषीय जानकारी हुन् भन्ने दाबी गर्दै तिनले त्यस आरोपको खण्डन गरे। उदाहरणको लागि, उत्पत्ति ३७:३५ मा उल्लि- खित “नरक” [ल्याटिन, इन्फर्नम] दुष्टहरूलाई सजाय दिने ठाउँ भनेर बुझिंदैन भन्ने टिप्पणी तिनले लेखेका थिए। तिनले आत्माको अमरता र “सन्तहरू[का]” पापमोचन शक्ति इन्कार गरे भन्ने आरोप निकायले लगाए।
तथापि, एस्ट्येनसित राजाको अनुग्रह र सुरक्षा थियो। फ्रान्सिस् प्रथमले विशेषगरि आफ्नो शाही मुद्रक, एस्ट्येनलगायत रेनासान्सका अध्ययनहरूमा निकै चासो देखाए। फ्रान्सिस् प्रथमले एस्ट्येनलाई भेटेको र एक चोटि एस्ट्येनले अन्तिम संशोधनहरू गरूञ्जेल राजाले धैर्यतापूर्वक कुरेको समेत रिपोर्ट गरिएको छ। राजाको समर्थन पाएको हुँदा एस्ट्येन सोबोनसमक्ष खडा हुन सके।
धर्मविज्ञानीहरूले तिनका बाइबलहरूमाथि प्रतिबन्ध लाउँछन्
तापनि सन् १५४५ मा सोबोन निकायको सारा क्रोध एस्ट्येनमाथि केन्द्रित हुने घटनाहरू भए। धार्मिक सुधारकहरू विरुद्ध राजनैतिक संयुक्त दल प्रस्तुत गर्नुको फाइदा देखेर कोलोन (जर्मनी), लुभेन (बेल्जियम) र पेरिसका क्याथोलिक विश्वविद्यालयहरू गैररूढिवादी शिक्षाहरू जाँच गर्ने सिलसिलामा एकत्रित हुन पहिले नै राजी भइसकेका थिए। पेरिसको निषेधित पुस्तकहरूको सूचीमा अहिलेसम्म एस्ट्येनका बाइबलहरू नदेखिएकोमा आश्चर्य प्रकट गर्दै लुभेन विश्वविद्यालयका धर्मविज्ञानीहरूले सोबोनलाई पत्र लेख्दा ती देखेको भए ता निस्सन्देह निषेधित पुस्तकको सूचीमा हुनेथिए भनी सोबोनले झूटो प्रत्युत्तर दिए। लुभेन र पेरिसका निकायहरूको संयुक्त समर्थनको प्रभावमा एस्ट्येनका त्रुटिहरूबारे फ्रान्सिस् प्रथम विश्वस्त हुनेछन् भनी निकायभित्र एस्ट्येनका शत्रुहरू ढुक्क भए।
त्यसबीच, आफ्ना शत्रुहरूको मनसाय थाह पाएर धर्मविज्ञानीहरूभन्दा चाँडो एस्ट्येनले राजालाई भेटे। धर्मविज्ञानीहरूले भेटाएका त्रुटिहरूको सूची तयार पारेको खण्डमा तिनीहरूको संशोधन सँगै छाप्न र बिक्री हुने हरेक बाइबलमा त्यो समावेश गर्न आफू इच्छुक भएको एस्ट्येनले बताए। यो समाधानले राजाको अनुग्रह प्राप्त गऱ्यो। यस मामिलामा विचार पुऱ्याउन राजाले आफ्नो शाही पाठक, पिर डु शाश्टेललाई अह्राए। एस्ट्येनका बाइबलहरू “हाम्रा विश्वासहरू इन्कार गर्ने र हालका . . . विधर्मीहरूको निम्ति भोजन” साथै त्यो पूर्णतया त्रुटिपूर्ण हुनाले “सम्पूर्णतया नामेट र खतम” पार्न योग्यको छ भनी विरोध जनाउँदै अक्टोबर १५४६ मा त्यस निकायले डु शाश्टेललाई लेखे। यो पत्याउन नसकेर एस्ट्येनका बाइबलहरूको साथमा प्रकाशन गर्नको लागि व्यक्तिगत तवरमा राजाले गल्तीहरू प्रस्तुत गर्ने आदेश निकायलाई दिए। तिनीहरूले यसो गर्ने कबुल गरे तर तथाकथित त्रुटिहरूको विस्तृत सूची प्रस्तुत गर्न नपरोस् भनेर तिनीहरूले वास्तवमा यथासम्भव सबै गरे।
मार्च १५४७ मा फ्रान्सिस् प्रथमको मृत्यु भयो र सँगसँगै एस्ट्येनले सोबोन विरुद्ध आफ्नो सबैभन्दा शक्तिशाली गठबन्धन पनि गुमाउनु पऱ्यो। हेनरी द्वितीयले राज्यारोहणपछि गल्तीहरूको सूची प्रस्तुत गर्ने निकायलाई आफ्नो पिताको आज्ञा पुनः जारी गरे। यद्यपि, राजनैतिक उद्देश्यपूर्तिको लागि जर्मनीका राजकुमारहरूले धार्मिक सुधारलाई कसरी चलाइरहेका छन् भन्ने देख्दादेख्दै शाही मुद्रकका बाइबलको फाइदा वा बेफाइदाभन्दा नयाँ राजाको अधीनमा फ्रान्सलाई क्याथोलिक र एकत्रित राष्ट्र राख्न हेनरी द्वितीय बढी चिन्तित थिए। धर्मविज्ञानीहरूले गल्तीहरूको सूची तयार नगरूञ्जेल एस्ट्येनका बाइबलहरूको बिक्रीवितरण निषेधित गर्नुपर्छ भनी डिसेम्बर १०, १५४७ मा राजाको सल्लाहकार समितिले निर्णय गऱ्यो।
विधर्मी हुनुको आरोप
एस्ट्येनको मुद्दालाई विधर्मीको नाउँमा दाखिल गर्न नवस्थापित विशेष अदालतलाई हस्तान्तरण गर्न निकायले विभिन्न तरिकाहरू खोज्न थाले। आफूले कस्तो खतरा मोल्न लागिरहेका थिए भनी एस्ट्येन पूर्ण सजग थिए। अदालत गठन भएको दुइ वर्षभित्र यो अदालत शान्ब्रे आर्डान्ट अथवा “बलिरहेको कोठा” भनी चिनिन थाल्यो। केही मुद्रक तथा पुस्तकबिक्रेताहरूलगायत लगभग ६० बन्दीलाई एस्ट्येनको घर नजीकै प्लास मोबरमा जिउँदै जलाइयो। एस्ट्येनमाथि आरोप लगाउन सानोभन्दा सानो प्रमाण भेटाउन तिनको घर बारम्बार खानतलास गरियो। असीभन्दा बढी साक्षीहरू सोधपूछ गरिन्थ्यो। तिनलाई विधर्मी साबित गर्न सकिएको खण्डमा सोधपूछ गरिएकाहरूलाई इनामस्वरूप तिनको सम्पत्तिको एक चौथाइ दिने प्रतिज्ञा गरियो। तरैपनि, तिनीहरूसित प्रमाणस्वरूप एस्ट्येनले खुल्लमखुल्ला बाइबलमा प्रकाशित गरेका कुराहरू मात्र थिए।
गल्तीको सूची आफ्नो सल्लाहकार समितिमा पेश गर्न राजाले निकायलाई पुनः हुकुम गरे। जिद्दीपूर्वक निकायले यस्तो जवाफ दिए, ‘आफूले विधर्मी भनी तिरस्कार गरेको कुनै कुराका प्रमाणहरू लिखित तवरमा पेश गर्ने बानी धर्मविज्ञानीहरूको छैन तर तिनीहरू मौखिक जवाफ मात्र दिन्छन्, जुन तपाईंले विश्वास गर्नुपर्छ, अन्यथा लेखनको कुनै अन्त हुनेछैन।’ हेनरीले स्वीकारोक्ति दिए। अन्तिम प्रतिबन्ध घोषित गरियो। एस्ट्येनको बाइबलसम्बन्धी प्रायजसो सबै कृतिहरू दोषी ठहराइए। प्लास मोबरमा जिउँदै जलाइनुदेखि उम्के तापनि आफ्ना सम्पूर्ण बाइबलहरूमा प्रतिबन्ध नलगाइयोस् र थप अपमानबाट जोगिन सकियोस् भनेर तिनले फ्रान्स छोड्ने निर्णय गरे।
आफ्नो देशबाट निस्केका मुद्रक
नोभेम्बर १५५० मा एस्ट्येन जेनेभा, स्वीट्जरल्यान्डमा बसाइँ सरे। फ्रान्समा भल्गेट-बाहेक अन्य कुनै बाइबल प्रकाशन गर्नु निकायले गैरकानुनी बनाएका थिए। अब आफूले चाहेअनुसारको प्रकाशन गर्न स्वतन्त्र भएपछि एस्ट्येनले सन् १५५१ मा युनानी भाषाको “नयाँ नियमको” स्तम्भसहित दुइ ल्याटिन संस्करणहरू (भल्गेट र इरास्मस्को) पुनः मुद्रण गरे। यसपछि १५५२ मा इरास्मस्को ल्याटिन पद सँगसँगै युनानी शास्त्रको फ्रेन्च अनुवाद प्रकाशित गरे। यी दुइ संस्करणहरूमा एस्ट्येनले बाइबलका पद्यांशहरूलाई एक एक पदमा छुट्याउने तरिका प्रस्तुत गरे। आज यही तरिका विश्वभरि प्रचलनमा छ। पद विभाजन गर्न यसअघि अरूले बेग्लै प्रकारका तरिकाहरू अपनाएको भए तापनि एस्ट्येनको तरिका सर्वमान्य भयो। सन् १५५३ मा प्रकाशित तिनको फ्रेन्च बाइबल, पद विभाजन प्रदान गर्ने प्रथम सिंगो बाइबल थियो।
सन् १५५७ मा प्रकाशित एस्ट्येनको दुइ संस्करण भएको ल्याटिन बाइबलमा हिब्रू शास्त्रभरि परमेश्वरको व्यक्तिगत नाउँ, जेहोभा प्रयोग गरिएकोले पनि उल्लेखनीय छ। दोस्रो भजनको छेउमा तिनले यो टिप्पणी लेखे, हिब्रू टेट्रागमाटनको (יהוה) ठाउँमा अडोनाई राखिनु केवल यहूदी अन्धविश्वासमा आधारित छ र त्यो अस्वीकार गर्नुपर्छ। यस संस्करणमा हिब्रूको सही अर्थ बुझाउन थपिएका ल्याटिन शब्दहरू एस्ट्येनले तेर्सो अक्षरमा लेखे। यो तरिका पछि अन्य बाइबलहरूमा पनि लागू गरियो। कुनै कुरा जोड दिन तेर्सो अक्षर हेर्ने बानी परिसकेको आजका पाठकहरूलाई प्रदान गरिएको यो एउटा छक्कलाग्दो पुर्खौली उपहार हो।
आफ्नो अध्ययन अरूको लागि उपयोगी बनाउन कटिबद्ध एस्ट्येनले आफ्नो जीवन पवित्र शास्त्र प्रकाशन गर्न बिताए। आज परमेश्वरको वचन मूल्यांकन गर्ने व्यक्तिहरू तिनको र मौलिक भाषामा लेखिएअनुरूप बाइबलको वचन बुझ्न आफ्नो ज्यानको खतरा मोल्ने अन्य व्यक्तिहरूको प्रयासप्रति कृतज्ञ हुनसक्छन्। पुरातन भाषाहरूको अझ राम्रो ज्ञान र परमेश्वरको वचनको पुराना तथा सही हस्तलिपिहरू पत्ता लाग्दै जाँदा तिनीहरूले सुरु गरेको प्रक्रिया अझ अघि बढ्नेछ। आफ्नो मृत्यु हुनुभन्दा केही समयअघि (१५५९) एस्ट्येन युनानी शास्त्रको नयाँ अनुवाद गर्न व्यस्त थिए। तिनलाई यसो भनेर सोधिएको थियो: “तपाईंको यो पुस्तक कसले किन्नेछ? कसले पढ्नेछ?” तिनले निर्धक्कपूर्वक यस्तो जवाफ दिए: ‘ईश्वरीय भक्ति कायम गर्ने सबै ज्ञानी मानिसहरूले।’
[फुटनोट]
a तिनी आफ्नो ल्याटिन नाउँ, स्टीफानस् र एंगलिकन नाउँ स्टीफन्स्ले पनि चिनिन्छन्।
[पृष्ठ १०-मा भएको चित्र]
रबर्ट एस्ट्येनका प्रयासहरूले बाइबल विद्यार्थीहरूको थुप्रै पुस्तालाई मदत पुऱ्याएको छ
[स्रोत]
Bibliothèque Nationale, Paris
[पृष्ठ १२-मा भएको चित्र]
एस्ट्येनका जानकारीमूलक चित्रहरू पुस्तौंसम्म अनुकरण गरिएको थियो
[स्रोत]
Bibliothèque Nationale, Paris