के परमेश्वर साँच्चै नै हाम्रो चिन्ता गर्नुहुन्छ?
प्रस्तुत गर्ने सुझावहरू
कुनै दुःखद समाचार बताइसकेपछि तपाईं यसो भन्न सक्नुहुन्छ:
“परमेश्वर साँच्चै हाम्रो चिन्ता गर्नुहुन्छ भने उहाँले किन मानिसजातिलाई दुःखमा पर्न दिनुहुन्छ भनेर के तपाईंले कहिल्यै सोच्नुभएको छ? [जवाफ दिने मौका दिनुहोस्।] यस पुस्तिकाले यस प्रश्नको सन्तोषजनक जवाफ दिनुका साथै निकट भविष्यमा परमेश्वरले के गर्नुहुनेछ भन्ने कुरा देखाउँछ। [पृष्ठ २७ मा भएका चित्रहरू देखाउनुहोस् र अनुच्छेद २२ बाट भजन १४५:१६ पढ्नुहोस्।] मानिसजातिले भोग्दै आएका सम्पूर्ण दुःखकष्ट परमेश्वरले कसरी नामेट पार्नुहुनेछ? यस प्रश्नको जवाफ म अर्को चोटि आउँदा दिन चाहन्छु।” पुस्तिका प्रस्तुत गर्नुहोस् र पुनःभेट गर्ने प्रबन्ध मिलाउनुहोस्।
पुनःभेटमा जाँदा यसो भन्न सक्नुहुन्छ:
“अघिल्लो भेटमा हामीले यो शास्त्रपद पढेका थियौं। [भजन १४५:१६ पढ्नुहोस् वा उद्धरण गर्नुहोस्।] त्यसपछि मैले यस्तो प्रश्न सोधेको थिएँ: मानिसजातिले भोग्दै आएका सम्पूर्ण दुःखकष्ट परमेश्वरले कसरी नामेट पार्नुहुनेछ?” तिनलाई आफ्नो पुस्तिका ल्याउन लगाउनुहोस्। त्यसपछि पृष्ठ २७-२८ खोल्नुहोस् र अनुच्छेद २३-२५ छलफल गर्नुहोस्। बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस् अथवा अर्को भेटमा अनुच्छेद २६-२७ छलफल गर्ने प्रबन्ध मिलाउनुहोस्।
एक जना किशोर प्रकाशकले यसो भन्न सक्छन्:
“मेरो उमेरका धेरै व्यक्तिहरू अबको १०/१५ वर्षमा संसार कस्तो हुने होला भनी चिन्तित छन्। त्यतिखेर जीवन कस्तो हुन्छ होला जस्तो तपाईंलाई लाग्छ? [जवाफ दिने मौका दिनुहोस्।] आज हाम्रोसामु जति पनि समस्याहरू छन् त्यसले हामी आखिरी दिनमा बाँचिरहेका छौं भन्ने कुरा सङ्केत गर्छ। [२ तिमोथी ३:१-३ पढ्नुहोस्।] यस पुस्तिकाले यस्ता प्रश्नहरूको जवाफ दिन्छ। [आवरणमा दिएका प्रश्नहरू पढ्नुहोस् र पुस्तिका प्रस्तुत गर्नुहोस्।] अर्को पाली आउँदा यदि तपाईंसित केही मिनेट समय भए म तपाईंलाई रोगबिमार र बुढेसकालको अन्त्यबारे केही प्रोत्साहनदायी कुरा बताउन चाहन्छु।” पुनःभेटको प्रबन्ध मिलाउनुहोस्।
पुनःभेटमा जाँदा तपाईं यसो भन्न सक्नुहुन्छ:
“अघिल्लो भेटमा मैले तपाईंलाई रोगबिमार र बुढेसकालको अन्त्यबारे केही प्रोत्साहनदायी कुरा बताउन चाहन्छु भनेको थिएँ। त्यो कुरा यहाँ उल्लेख गरिएको छ।” तिनलाई आफ्नो पुस्तिका ल्याउन लगाउनुहोस्। त्यसपछि पृष्ठ २३-२४ मा भएको अनुच्छेद ६-७ पढेर छलफल गर्नुहोस्। अर्को भेटमा अनुच्छेद ८-९ छलफल गर्ने प्रबन्ध मिलाउनुहोस्।
सानो बच्चासँग प्रचार गर्दा वयस्क व्यक्तिले दुवै जनाको परिचय दिंदै यसो भन्न सक्छन्:
“तपाईंको अनुमति भए . . . ले तपाईंलाई एउटा शास्त्रपद पढेर सुनाउनेछ। [बच्चाले भजन ३७:२९ पढेर त्यसबारे छोटो टिप्पणी गर्छन्।] मानिसजाति र यस पृथ्वीको लागि आफ्नो उद्देश्य परमेश्वरले कसरी पूरा गर्नुहुनेछ भन्ने कुरा यस पुस्तिकामा छलफल गरिएको छ। [पृष्ठ २४-२७ मा भएका चित्रहरू देखाउनुहोस्।] अर्को पाली आउँदा म तपाईंलाई पुनरुत्थानसम्बन्धी बाइबलको अद्भुत प्रतिज्ञाबारे बताउन चाहन्छु।” पुस्तिका प्रस्तुत गर्नुहोस् र पुनःभेट गर्ने प्रबन्ध मिलाउनुहोस्।
पुनःभेटमा जाँदा वयस्क व्यक्तिले यसो भन्न सक्छन्:
“अघिल्लो भेटमा हामीले भजन ३७:२९ पढेका थियौं र पुनरुत्थानबारे बाइबलमा के भनिएको छ, सो म तपाईंलाई बताउन चाहन्छु भनेको थिएँ। यहाँ के भनिएको छ, हेर्नुहोस् त।” तिनलाई आफ्नो पुस्तिका ल्याउन लगाउनुहोस्। त्यसपछि पृष्ठ २४-२५ मा भएका अनुच्छेद १२-१४ छलफल गर्नुहोस्। बाइबल अध्ययनको प्रस्ताव राख्नुहोस् अथवा अर्को पाली अनुच्छेद १५-१६ छलफल गर्ने प्रबन्ध मिलाउनुहोस्।