अध्याय १
यहोवाको इच्छाबमोजिम गर्न व्यवस्थित
संसारभरि अनगिन्ती राष्ट्रिय र अन्तरराष्ट्रिय संगठनहरू छन्। यस्ता संगठनमा विभिन्न विशेषता र उद्देश्य बोकेका धार्मिक, राजनैतिक, व्यापारिक र सामाजिक संगठनहरू धेरै पर्छन्। ती संगठनका सदस्यहरू, धेरै होस् वा थोरै, व्यवस्थित त छन् तर मानव दृष्टिकोण र दर्शनअनुसार। तर ती सबै संगठनहरूभन्दा एकदमै फरक एउटा संगठन छ। त्यो संगठन यहोवाका साक्षीहरूको नै हो भनी परमेश्वरको वचन र प्राप्त थुप्रै प्रमाणहरूले स्पष्ट देखाउँछ।
खुसीको कुरा, अहिले तपाईं यहोवाको समर्पित र बप्तिस्माप्राप्त साक्षीको हैसियतमा उहाँको संगठनसित संगत गरिरहनुभएको छ। तपाईंले परमेश्वरको इच्छा के हो, जाँचेर पत्ता लगाउनुभएकोले अहिले उहाँको त्यो इच्छा पूरा गर्दै हुनुहुन्छ। (भज. १४३:१०; रोमी १२:२) भाइहरूको मायालु र विश्वव्यापी संगतिमा रहेर तपाईंले सक्रिय भई परमेश्वरको सेवा गरिरहनुभएको छ। (२ कोरि. ६:४; १ पत्रु. २:१७; ५:९) येशूले प्रतिज्ञा गर्नुभएझैं, त्यो सेवाले गर्दा तपाईंले अहिल्यै पनि प्रचुर मात्रामा आशिष् पाउनुहुनेछ। (हितो. १०:२२; मर्कू. १०:३०) एकताबद्ध र विश्वासी भई यहोवाको इच्छा गरेर तपाईंले आफूलाई अनन्त र शानदार भविष्य पाउने योग्यको बनाउँदै हुनुहुन्छ।—१ तिमो. ६:१८, १९; १ यूह. २:१७.
हाम्रा महान् सृष्टिकर्ताको अनुपम र अद्भुत विश्वव्यापी ईश्वरतान्त्रिक संगठन छ भनेर थाह पाउँदा हाम्रो विश्वास कत्ति बलियो हुन्छ र यो एकदमै लाभदायी पनि छ! ईश्वरतान्त्रिक भन्नुको मतलब, यस संगठनलाई सञ्चालन गर्नुहुने मुख्य व्यक्ति यहोवा हुनुहुन्छ। हामी उहाँमा पूर्ण भरोसा राख्छौं। उहाँ हाम्रा न्यायकर्ता, कानुनदाता र अनन्तका राजा हुनुहुन्छ। (यशै. ३३:२२) उहाँ व्यवस्थित परमेश्वर हुनुभएकोले, हामीले उहाँसितै मिलेर उहाँको उद्देश्य पूरा गर्न सकोस् भनी प्रबन्धहरू मिलाउनुभएको छ।—२ कोरि. ६:१, २.
वर्तमान रीतिरिवाजको अन्त झनझन नजिकिंदैछ। त्यसैले हामी हाम्रा नियुक्त सेनापति र मसीही राजा ख्रीष्ट येशूको नेतृत्वमा वफादार र आज्ञाकारी भएर अघि बढ्छौं। (यशै. ५५:४; प्रका. ६:२; ११:१५) येशू पृथ्वीमा हुनुहुँदा उहाँले राज्य प्रचारकार्य र चेला बनाउने काम जति गर्नुभयो, त्योभन्दा बढी आफ्ना अनुयायीहरूले गर्नेछन् भनी उहाँ आफैले भन्नुभयो। (यूह. १४:१२) हो, उहाँका चेलाहरूले धेरै काम गर्ने पनि थिए किनभने थुप्रै संख्यामा भएका येशूका चेलाहरूले लामो समयावधिभित्र ठूलो इलाका ढाक्ने थिए। तिनीहरूले पृथ्वीको कुनाकुनासम्म राज्यको सुसमाचार सुनाउने थिए र सबै राष्ट्रका मानिसहरूलाई चेला बनाउने थिए।—मत्ती २४:१४; २८:१९, २०; प्रेरि. १:८.
येशूको यो भविष्यवाणी पूरा भइरहेको छ भन्ने कुरा यहोवाका साक्षीहरूको वार्षिक पुस्तक-मा (यरबूक अफ जेहोभाज् विट्नेसेज) प्रकाशित निरन्तर वृद्धिको रिपोर्टबाट प्रमाणित हुन्छ। तथापि, येशूले स्पष्टै बताउनुभएझैं, ईश्वरीय न्यायको सुसमाचार सुनाउने काम यहोवाले तोक्नुभएको समयमा बन्द हुनेछ। परमेश्वरको वचनका भविष्यवाणीहरूले उहाँको महान् र भयानक दिन नजिकै छ भनेर संकेत गर्छ।—सप. १:१४-१८; २:२, ३; १ पत्रु. ४:७.
यस आखिरी दिनको पनि अन्तमा यहोवाको इच्छा के हो भनेर उहाँको संगठनले बुझेको हुनाले अहिले अविलम्बी भाव देखाइरहेको छ। हामीले पनि परमेश्वरको इच्छा गर्न जोडतोडले प्रयास गर्नु खाँचो छ। तसर्थ, परमेश्वरको संगठन कसरी चल्छ भनेर थाह पाउनुपर्छ र त्यस संगठनलाई पूरापूर सहयोग गर्नुपर्छ। परमेश्वरको संगठन धर्मशास्त्रीय सिद्धान्तहरूअनुसार चल्छ र यस सिद्धान्तभित्र परमेश्वरको प्रेरित वचनमा औंल्याइएका आज्ञा, व्यवस्था, आदेश, नियम र शिक्षाहरू पर्छन्।—भज. १९:७-९.
बाइबल आधारित यस्ता निर्देशन पालन गरेर यहोवाका जन शान्ति र एकतामा बसेर काम गर्छन्। (भज. १३३:१; यशै. ६०:१७; रोमी १४:१९) जुनसुकै ठाउँमा भए तापनि हाम्रो एकतालाई कुन कुराले बलियो बनाउँछ? प्रेमले। यही प्रेम त हामीले धारण गरेका छौं र यसैद्वारा उत्प्रेरित पनि भएका छौं। (यूह. १३:३४, ३५; कल. ३:१४) परमेश्वरले अनुमोदन गर्नुभएको यस तरिकामा हामी उहाँको संगठनको स्वर्गीय भाग सँगसँगै अघि बढ्छौं।
यहोवाको संगठनको स्वर्गीय भाग
अगमवक्ताहरू यशैया, दानियल र इजकिएलले यहोवाको संगठनका स्वर्गीय भागको दर्शन देखे। (यशै., अध्याय ६; इज., अध्याय १; दानि. ७:९, १०) त्यस्तैगरि, प्रेरित यूहन्नाले पनि यस स्वर्गीय भागमा के कस्ता प्रबन्धहरू गरिएका छन्, त्यसको दर्शन देखे र प्रकाशको किताबमा हामीलाई उनले यसको झलक दिएका छन्। यहोवा महिमित सिंहासनमा विराजमान हुनुभएको र उहाँको वरिपरि स्वर्गदूतीय प्राणीहरूले जय-जयकार गरिरहेका उनले देखे र तिनीहरू यसो भन्दै थिए: “पवित्र, पवित्र, पवित्र, प्रभु परमेश्वर सर्वशक्तिमान हुनुहुन्छ, जो हुनुहुन्थ्यो, हुनुहुन्छ र हुनआउनुहुनेछ।” (प्रका. ४:८) यूहन्नाले ‘सिंहासनको बीचमा उभिरहेका थुमालाई’ पनि देखे। उहाँ परमेश्वरका थुमा अर्थात् येशू ख्रीष्ट हुनुहुन्छ।—प्रका. ५:६, १३, १४; यूह. १:२९.
यूहन्नाले देखेको दर्शनको अर्थ हो, परमेश्वरको संगठनका स्वर्गीय भागको प्रमुख व्यक्ति यहोवा परमेश्वर हुनुहुन्छ जो सिंहासनमा विराजमान हुनुहुन्छ। उहाँ र उहाँको सर्वोच्च ओहदाबारे १ इतिहास २९:११, १२ मा यसो भनिएको छ: “हे परमप्रभु, महानता, शक्ति, महिमा, गौरव र वैभव तपाईंकै हुन्। किनभने स्वर्ग र पृथ्वीमा भएका सबै कुरा तपाईंकै हुन्। हे परमप्रभु, राज्याधिकार तपाईंकै हो, औ सबैका माथि तपाईं सर्वोच्च हुनुहुन्छ। धन र मान तपाईंबाटनै आउँछन्। तपाईं नै सबैमाथि शासन गर्नुहुन्छ। पराक्रम र शक्ति तपाईंकै हातमा छन्। सबैलाई बल र शक्ति दिनु तपाईंकै हातमा छ।”
यहोवाको सहकर्मीको हैसियतमा येशू ख्रीष्टले स्वर्गमा उच्च ओहोदा पाउनुभएको छ र उहाँलाई धेरै अख्तियार दिइएको छ। हो, परमेश्वरले “सबै कुरा उहाँका चरणको अधीनमा राखिदिनुभयो, र उहाँलाई सबै कुराको शिर हुनलाई मण्डलीलाई दिनुभयो।” (एफि. १:२२) प्रेरित पावलले येशूबारे यसो भने: “परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो, र उहाँलाई त्यो नाउँ प्रदान गर्नुभयो, जो हरेक नाउँभन्दा उच्च छ, कि स्वर्गमा, पृथ्वीमाथि र पृथ्वीमनि भएका हरेक प्राणीले येशूको नाउँमा घुँडा टेक्नुपर्छ, र हरेक जिब्रोले परमेश्वर पिताको महिमाको निम्ति येशू ख्रीष्टलाई प्रभु हो भनी स्वीकार गर्नुपर्छ।” (फिलि. २:९-११) तसर्थ, हामी येशू ख्रीष्टको धार्मिक नेतृत्वमा पूर्णतया विश्वस्त हुन सक्छौं।
अगमवक्ता दानियलले अति वृद्ध व्यक्ति सिंहासनमा बसिरहेका र ‘हजारौं हजार स्वर्गदूतले उहाँको सेवा गरिरहेका अनि लखौंलाख उहाँको सामु खडा भइरहेका’ दर्शन देखे। (दानि. ७:१०) स्वर्गदूतहरूको यो स्वर्गीय सेना “मुक्तिका हकदार हुनेहरूका खातिरमा सेवा गर्नलाई पठाइएका ती सेवा गर्ने आत्माहरू” हुन् भनी बाइबल बताउँछ। (हिब्रू १:१४) यी सबै आत्मिक प्राणीहरू ‘सिंहासन, प्रधानता, सरकार र अख्तियारको’ रूपमा व्यवस्थित छन्।—कल. १:१६.
यहोवाको संगठनको स्वर्गीय भागका यी पक्षहरूलाई राम्ररी विचार गर्दा, यशैयाले दर्शन देखेपछि देखाएको प्रतिक्रियालाई हामी बुझ्न सक्छौं। त्यस दर्शनमा तिनले यहोवालाई “सिंहासनमा विराजमान हुनुभएको” र “उहाँदेखि मास्तिर सराफहरू खडा” भएको देखे। यशैयाले यसो भने: “हाय! म नष्ट भएँ, किनभने म अशुद्ध ओठ भएको मानिस हुँ, औ अशुद्ध ओठ भएका मानिसहरूका बीचमा म बस्तछु, किनकि मैले मेरो आँखैले सेनाहरूका परमप्रभु महाराजाधिराजलाई देखें!” हो, यहोवाको संगठन कत्ति विशाल छ भनी बुझेपछि यशैया आश्चर्यचकित र नम्र भए। त्यो दर्शन देखेर तिनी साह्रै प्रभावित भए। त्यसैले यहोवाको न्यायदण्ड घोषणा गर्ने विशेष कामको लागि स्वर्गबाट बोलावट आउँदा तिनले यस्तो जवाफ दिए: “म हाजिर छु। मलाई पठाउनुहोस्।”—यशै. ६:१-५, ८.
यहोवाको संगठनबारे थाह पाउँदा र यसप्रति कृतज्ञ हुँदा उहाँका अहिलेका जनहरू पनि यशैयाजस्तै उत्प्रेरित हुन्छन्। यहोवाको संगठन अघि बढिरहेको छ र हामी पनि राजीखुसीले जोसका साथ उहाँको संगठन सँगसँगै अघि बढ्ने प्रयास गर्छौं। अहिले हामी यहोवाको संगठनप्रति विश्वस्त छौं भनी देखाउने हर प्रयास गर्छौं।
यहोवाको संगठन अघि बढिरहेको छ
इजकिएल अध्याय १ मा यहोवा एकदमै ठूलो स्वर्गीय रथमा सवार हुनुभएको दर्शन छ। यो भव्य रथले यहोवाको संगठनको अदृश्य भागलाई चित्रण गर्छ। उहाँ रथमा चढ्नुको अर्थ हो, उहाँले त्यस संगठनलाई आफ्नो उद्देश्य पूरा गर्न मायालुपूर्वक डोऱ्याउनुका साथै प्रयोग गर्नुहुन्छ।—भज. १०३:२०.
त्यस रथको प्रत्येक पांग्राभित्र अर्को पांग्रा तेर्सो गरी अडेको छ र दुवै पांग्राको आकार बराबर छ। त्यसैले ती पांग्राहरू “चारैपट्टि कुनै पनि तर्फ हिंड्थे” भन्न सकिन्छ। (इज. १:१७) ती पांग्राहरूले तुरुन्तै दिशा परिवर्तन गर्न सक्छ किनभने पांग्रा चारै दिशातिर फर्केको छ। तथापि, त्यो रथ अनियन्त्रित भने छैन, त्यसमाथि बुद्धिमान् व्यक्तिको नियन्त्रण छ। यहोवाले आफ्नो संगठनलाई मानिसहरूको इच्छाअनुसार जता मन लाग्यो त्यतै जान दिनुहुन्न। इजकिएल १:२० यसो भन्छ: ‘आत्माले जता लान्थे तिनीहरू त्यतै जान्थे।’ हो, यहोवाले आफ्नो आत्माको निर्देशनमा उहाँको संगठनलाई चलाउनुहुन्छ। हामी आफूलाई सोध्नुपर्ने प्रश्न चाहिं यो हो, ‘के म त्यस संगठन सँगसँगै अघि बढ्दैछु?’
यहोवाको संगठन सँगसँगै अघि बढ्न, सभाहरू धाएर अनि क्षेत्र सेवकाईमा भाग लिएर मात्र पुग्दैन। मुख्यतः अघि बढ्नुको अर्थ आध्यात्मिक उन्नति गर्नु हो। यसो गर्नुमा ‘जे उत्तम छ सो खुट्ट्याउने’ र आध्यात्मिक प्रबन्धहरूको फाइदा उठाउँदै नयाँ जानकारीहरूसित परिचित हुनु समावेश छ। (फिलि. १:१०, NRV; ४:८, ९; यूह. १७:३) संगठन भन्ने बित्तिकै राम्रो समझदारी र सहयोगको कुरा पनि आउँछ भनेर हामीले बिर्सनु हुँदैन। त्यसकारण, यहोवाको काम पूरा गर्न उहाँले हामीलाई सुम्पनुभएको आध्यात्मिक र भौतिक कुराको सदुपयोग गर्न हामी चनाखो हुनै पर्छ। यहोवाको स्वर्गीय रथ सँगसँगै अघि बढ्दा हाम्रो जीवन आफूले घोषणा गर्ने सन्देश अनुरूप चलिरहेको हुन्छ।
यहोवाको संगठनको मदतले हामी सबै उहाँको इच्छाबमोजिम गर्न अघि बढिरहेका छौं। स्वर्गीय रथमा सवार व्यक्ति यहोवा हुनुहुन्छ भन्ने कुरा नबिर्सनुहोस्। तसर्थ, स्वर्गीय रथ सँगसँगै अघि बढेर हामीले यहोवाको आदर गरिरहेका हुन्छौं र उहाँलाई “चटान” झैं बलियो मानेर भर परिरहेका हुन्छौं। (भज. १८:३१) बाइबलमा प्रतिज्ञा गरिएको छ: “[यहोवाले] आफ्ना मानिसलाई शक्ति दिनुहुनेछ। [यहोवाले] आफ्ना मानिसलाई शान्तिको आशिष दिनुहुनेछ।” (भज. २९:११) आज हामी यहोवाको संगठनको भाग भएको हुनाले उहाँले आफ्ना व्यवस्थित जनहरूलाई दिनुहुने शक्ति र शान्ति प्राप्त गर्छौं। हो, यहोवाको इच्छा अहिले र सधैंभरि गरिरहँदा हामीले प्रचुर आशिष् पाइरहनेछौं भन्ने कुरामा कुनै शंका छैन।