अध्याय २
परमेश्वरको प्रबन्धमा ख्रीष्टको भूमिका स्वीकार्नुहोस्
“आ दिमा परमेश्वरले आकाश र पृथ्वी सृष्टि गर्नुभयो” र उहाँले बनाउनुभएको हरेक कुरा “साह्रै राम्रो” थियो। (उत्प. १:१, ३१) यहोवाले मानिसलाई सुन्दर भविष्यको आशासहित बनाउनुभयो। तथापि, अदनको बगैंचामा भएको विद्रोहले गर्दा केही समयको लागि मानिसजातिको खुसी लुटियो। तरैपनि पृथ्वी र मानिसजातिका लागि यहोवाको उद्देश्य बदलिएन। आफ्नो सार्वभौमिकताको विरुद्धमा विद्रोह गर्नेहरूलाई न्यायदण्ड सुनाउनुहुँदा पनि आदमका आज्ञाकारी सन्तानले उद्धार पाउनेछ भनी परमेश्वरले संकेत गर्नुभयो। साँचो उपासना फेरि स्थापित हुने थियो र परमेश्वरले दुष्ट शैतानसँगै त्यसका सबै दुष्ट कामहरू नाश गर्नुहुने थियो। (उत्प. ३:१५) फेरि सबै कुरा “साह्रै राम्रो” हुनेछ। यहोवाले यो काम आफ्नो पुत्र येशू ख्रीष्टमार्फत पूरा गर्नुहुनेछ। (१ यूह. ३:८) तसर्थ, परमेश्वरको प्रबन्धमा ख्रीष्टको भूमिकालाई हामीले स्वीकार्नै पर्छ।—प्रेरि. ४:१२; फिलि. २:९, ११.
ख्रीष्टको भूमिका
परमेश्वरको प्रबन्धमा ख्रीष्टको भूमिका भन्नाले उहाँको भूमिकामा विभिन्न पक्ष छन् भनेर बुझ्नुपर्छ। येशू मुक्तिदाता, प्रधान पूजाहारी, मसीही मण्डलीको शिर र अहिले परमेश्वरको राज्यको राजाको रूपमा सेवा गर्दै हुनुहुन्छ। यी भूमिकाबारे मनन गर्दा, परमेश्वरको प्रबन्धप्रति हामी झन् कृतज्ञ हुन्छौं र येशू ख्रीष्टप्रतिको हाम्रो प्रेम पनि गहिरिन्छ। उहाँका विभिन्न भूमिकाबारे बाइबलमा बताइएको छ।
परमेश्वरसित येशूमार्फत आज्ञाकारी मानिसहरूको पुनः मिलाप हुनेछ भन्ने कुरा ख्रीष्टले पृथ्वीमा सेवा गर्नुभएको समयको दौडान स्पष्ट भयो। (यूह. १४:६) मानिसजातिको मुक्तिदाताको हैसियतमा उहाँले धेरैको उद्धारको निम्ति आफूलाई अर्पण गर्नुभयो। (मत्ती २०:२८) त्यसैले येशू, परमेश्वरले चाहनुहुने आचरण देखाउने राम्रो नमुना मात्र नभई मानिसजातिका लागि परमेश्वरको उद्देश्य पूरा गर्नुहुने मुख्य व्यक्ति हुनुहुन्थ्यो। उहाँमार्फत मात्रै हामीले परमेश्वरको अनुग्रह फेरि पाउन सक्छौं। (प्रेरि. ५:३१; २ कोरि. ५:१८, १९) येशूको बलिदान र पुनरुत्थानले आज्ञाकारी मानिसजातिका लागि परमेश्वरको स्वर्गीय राज्यमा अनन्त आशिष्को ढोका खोलिदिएको छ।
आफ्नो स्वर्गीय स्थानबाट येशू ख्रीष्ट प्रधान पूजाहारीको भूमिका पनि निर्वाह गर्नुहुन्छ। हाम्रा प्रधान पूजाहारी हुनुभएकोले उहाँ “हाम्रो दुर्बलतामा . . . सहानुभूति देखाउन” र पृथ्वीका आफ्ना समर्पित अनुयायीहरूका पापको लागि परमेश्वरसित पुनः मिलाप गराउन सक्षम हुनुहुन्छ। प्रेरित पावलले यसो भने: “हाम्रा प्रधान पूजाहारी हाम्रो दुर्बलतामा हामीसँग सहानुभूति देखाउन नसक्ने हुनुहुन्न। तर हामीजस्तै उहाँ सबै कुरामा परीक्षित हुनुभयो, र पनि पापरहित हुनुहुन्थ्यो।” त्यसपछि, पावलले येशू ख्रीष्टमा विश्वास गर्नेहरूलाई यस पुनः मिलापको प्रबन्धबाट पूरापूर लाभ उठाउन यसो भन्दै प्रोत्साहन दिए: “यसकारण साहससँग अनुग्रहको सिंहासन नजीक जाऔं, र खाँचोको समयमा सहायता पाउनलाई कृपा र अनुग्रह प्राप्त गर्न सकौं।”—हिब्रू ४:१४-१६, NRV; १ यूह. २:२.
येशू मण्डलीको शिरको हैसियतमा पनि मायालुपूर्वक सेवा गर्नुहुन्छ। प्रथम शताब्दीमा उहाँका अनुयायीहरूलाई जस्तै अहिले हामीलाई पनि मानव नेताको जरुरत छैन। येशूले आफ्ना अनुयायीहरूलाई पवित्र आत्मा, धर्मशास्त्र र आफ्नो अधीनमा रहेका योग्य गोठालाहरू मार्फत निर्देशन दिनुहुन्छ। परमेश्वरको बगालको हेरचाह गर्दा यी गोठालाहरू येशू र स्वर्गमा हुनुहुने उहाँका पिताप्रति जवाफदेही हुन्छन्। (हिब्रू १३:१७; १ पत्रु. ५:२, ३) यहोवाले येशूबारे यस्तो भविष्यवाणी गर्नुभयो: “हेर, मैले त्यसलाई जातिहरूका बीचमा साक्षी, र जातिहरूमा एक नेता र सेनापति तुल्याएको छु।” (यशै. ५५:४) यो भविष्यवाणी उहाँमै पूरा भयो भनी येशूले आफ्ना चेलाहरूलाई भन्नुभएको कुराबाट पुष्टि हुन्छ: “तिमीहरूलाई कसैले ‘नेता’ नभनोस्, किनकि तिमीहरूका एकमात्र नेता ख्रीष्ट नै हुनुहुन्छ।”—मत्ती २३:१०, NW.
येशू हामीलाई यस्तो निम्तो दिनुहुन्छ: “हे सबै मेहनत गर्ने, र बोझले दबिएका हो! मकहाँ आओ, म तिमीहरूलाई विश्राम [“स्फूर्ति,” NW] दिनेछु। मेरो जुवा तिमी आफैले बोक, र मसँग सिक। किनभने म विनयी, र नम्र हृदयको छु। अनि तिमीहरूले आफ्ना आफ्ना आत्मामा विश्राम [“स्फूर्ति,” NW] पाउनेछौ। किनकि मेरो जुवा सजिलो र मेरो भारी हलुका छ।” (मत्ती ११:२८-३०) येशूको यस निम्तोबाट हामी उहाँको स्वभाव र हामीलाई मदत गर्ने उहाँको गहिरो इच्छाबारे बुझ्न सक्छौं। मसीही मण्डलीलाई नम्रपूर्वक र हामीलाई स्फूर्ति हुनेगरि डोऱ्याउनुभएर येशूले आफ्ना स्वर्गमा बस्नुहुने पिता यहोवाको अनुकरण गर्दै आफू “असल गोठालो” भएको प्रमाण दिनुभएको छ।—यूह. १०:११; यशै. ४०:११.
पावलले कोरिन्थीहरूलाई लेखेको पहिलो पत्रमा येशू ख्रीष्टको भूमिकाको अर्को पक्षबारे यसरी लेखे: ‘परमेश्वरले आफ्ना सारा शत्रुलाई येशूको पाउमुनि नपारुञ्जेल येशूले राज्य गर्नैपर्छ। जब सबै कुरा येशूको अधीनमा ल्याइन्छन्, तब स्वयम् पुत्र परमेश्वरको अधीनमा हुनुहुनेछ, जसले सब थोक येशूको अधीनतामा राख्नुहुन्छ, ताकि परमेश्वर नै सबै थोकका सर्वेसर्वा होऊन्।’ (१ कोरि. १५:२५, २८, NRV) पृथ्वीमा आउनुअघि येशूले परमेश्वरको पहिलो सृष्टि हुनुभएर उहाँको “मुख्य कारीगरको” [NW] रूपमा स्वर्गमा सेवा गर्नुभयो। (हितो. ८:२२-३१) परमेश्वरले येशूलाई पृथ्वीमा पठाउनुभएपछि उहाँले सधैं परमेश्वरको इच्छा गर्नुभयो। उहाँले कल्पनै गर्न नसकिने परीक्षा सहनुभयो र पिताप्रति मृत्युसम्मै विश्वासी रहनुभयो। (यूह. ४:३४; १५:१०) यसरी मृत्युसम्मै विश्वासी रहनुभएकोले उहाँले इनाम पाउनुभयो। परमेश्वरले उहाँलाई पुनरुत्थान गर्नु भई स्वर्गमा लानुभयो र स्वर्गीय राज्यका राजा हुने अधिकार दिनुभयो। (प्रेरि. २:३२-३६) परमेश्वरको राज्यका राजाको हैसियतमा ख्रीष्ट येशूले पृथ्वीबाट मानव शासन र दुष्टता हटाउन लाखौं आत्मिक प्राणीहरूको नेतृत्व लिने ठूलो जिम्मेवारी परमेश्वरबाट पाउनुभएको छ। (हितो. २:२१, २२; २ थिस्स. १:६-९; प्रका. १९:११-२१; २०:१-३) त्यसपछि सम्पूर्ण पृथ्वीमा ख्रीष्टको नेतृत्वमा भएको परमेश्वरको स्वर्गीय राज्यले मात्रै शासन गर्नेछ।—प्रका. ११:१५.
ख्रीष्टको भूमिका स्वीकार्नुहोस्
हामीले अनुकरण गर्नुपर्ने व्यक्ति येशू ख्रीष्ट सिद्ध हुनुहुन्छ। उहाँलाई हाम्रो हेरचाह गर्ने अभिभारा दिइएको छ। यहोवा परमेश्वरले येशूलाई आफ्ना वर्तमान जनहरूको नेता र सेनापति हुने गम्भीर जिम्मेवारी सुम्पनुभएको छ। तसर्थ, परमेश्वरको प्रबन्धमा ख्रीष्टको भूमिका स्वीकार्नुको अर्थ यहोवाप्रति वफादार रहनु र उहाँको अघि बढिरहेको संगठन सँगसँगै अघि बढ्नु हो।
येशूका प्रथम शताब्दीका अनुयायीहरूले परमेश्वरको प्रबन्धमा येशूको भूमिकालाई पूर्णतया स्वीकारेका थिए। यो कुरा तिनीहरूले कसरी देखाए? ख्रीष्टको नेतृत्वमा एक भई काम गरेर अनि पवित्र आत्मा र प्रेरित धर्मशास्त्रमार्फत दिइएको निर्देशन पालन गरेर। (प्रेरि. १५:१२-२१; प्रका. १:१) प्रेरित पावलले अभिषिक्त मसीही मण्डलीको एकताबारे संकेत गर्दै यस्तो लेखे: “प्रेममा सत्य बोलेर हामी सबै कुरामा उहाँसम्मै, अर्थात् ख्रीष्टसम्मै बढ्दै जाऔं, जो शिर हुनुहुन्छ, जसबाट प्रत्येक भागलाई ठीक नापको कामबमोजिम प्रत्येक जोर्नीले खँदिलो पारिदिएकोले सारा शरीर ठीक ठीक एकसाथ गाँसिएर एक भई प्रेममा आफ्नै निर्माणको निम्ति शरीरको वृद्धि गराउँछ।”—एफि. ४:१५, १६.
अभिषिक्त जन र ‘अरू भेडाको’ मण्डली मानव शरीर जस्तै हो। जसरी शरीर थुप्रै अंगहरू मिलेर बनिएको हुन्छ त्यसरी नै यी पनि थुप्रै सदस्यहरू मिलेर बनिएको हुन्छन्। जब एउटा सदस्यले अर्को सदस्यलाई सहयोग गर्छ र सबै सदस्यले ख्रीष्टको नेतृत्वमा रहेर काम गर्छ तब मण्डलीमा उन्नति हुन्छ र आपसमा न्यानो प्रेम पनि रहिरहन्छ, जुन प्रेम “सिद्धताको गाँठो” हो।—यूह. १०:१६; कल. ३:१४; १ कोरि. १२:१४-२६.
सन् १९१४ देखि येशू ख्रीष्टलाई राज्य शक्ति सुम्पिएको छ भन्ने कुरा बाइबलको भविष्यवाणीअनुरूप पूर्ति भइरहेका विश्व घटनाहरूले प्रस्टै देखाउँछ। उहाँ अहिले शत्रुहरूको बीचमा शासन गर्दै हुनुहुन्छ। (भज. २:१-१२; ११०:१, २) अहिले पृथ्वीमा बसिरहेका मानिसहरूका लागि यसले के अर्थ राख्छ? उहाँका शत्रुहरूको विषयमा भन्नुपर्दा, उहाँले तिनीहरूमाथि ईश्वरीय न्यायदण्ड ल्याउनुहुँदा ठूलो शक्ति प्रदर्शित गर्नुहुँदै आफूलाई राजाहरूका महाराजा र प्रभुहरूका महाप्रभु हो भनी देखाउनुहुनेछ। (प्रका. ११:१५; १२:१०; १९:१६) सुरुमा मानिसले विद्रोह गरेको बेला यहोवाले उद्धारको प्रतिज्ञा गर्नुभएको थियो। त्यो प्रतिज्ञा उहाँको अनुग्रह पाउनेहरूमाथि चाँडै पूरा हुनेछ। (रोमी १६:२०) परमेश्वरको प्रबन्धमा ख्रीष्टको भूमिका स्वीकार्न पाएकोमा र यी आखिरी दिनमा ख्रीष्टको नेतृत्वमा एकजुट भई विश्वभरि परमेश्वरको सेवा गर्न पाएकोमा हामी कत्ति खुसी छौं!