प्रचारकार्यमा अझै उन्नति गर्ने—अध्ययन गर्ने राम्रो बानी बसाल्न बाइबल विद्यार्थीलाई तालिम दिनुहोस्
यसो गर्नु किन महत्त्वपूर्ण छ? यहोवासितको सम्बन्ध बलियो बनाइराख्न बाइबल विद्यार्थीहरूलाई आधारभूत शिक्षा सिकाएर मात्र पुग्दैन। तिनीहरूले परमेश्वरको वचनको खँदिलो खानेकुराले आफ्नो मन-मस्तिष्क भर्नुपर्छ। (हिब्रू ५:१२–६:१) अध्ययन गर्न मेहनत गर्नुपर्छ। अध्ययन गर्नु भनेको पहिलादेखि थाह भएको कुरा नयाँ जानकारीसित कसरी सम्बन्धित छ र त्यो कसरी लागू गर्न सक्छौं भनेर बुझ्नु हो। (हितो. २:१-६) अनुसन्धान गर्न सिक्दा विद्यार्थीहरूले हाम्रा प्रकाशनहरूबाट बाइबलसम्बन्धी प्रश्नको जवाफ दिन सक्नेछन्। सिकेको कुरा लागू गर्न मेहनत गर्दा ख्रीष्टियन भएपछि सामना गर्नुपर्ने परीक्षाको लागि तिनीहरू तयार भइरहेका हुन्छन्।—लूका ६:४७, ४८.
यो महिना यसो गरे कसो होला?
कुनै उपशीर्षक वा अध्याय सिद्धिएपछि बाइबल विद्यार्थीलाई आफूले सिकेको कुरा छोटकरीमा बताउन लगाउनुहोस्। तर तपाईंको बाइबल विद्यार्थी छैन भने नि? तपाईंले आफ्नै बुझ्ने क्षमता तिखार्न सक्नुहुन्छ। यसको लागि बाइबलको केही भाग अथवा प्रहरीधरहरा-को एउटा अनुच्छेद पढ्नुहोस् र त्यसलाई छोटकरीमा भन्ने अभ्यास गर्नुहोस्।