जीवन र सेवा अभ्यास पुस्तिका-को लागि स्रोत सामग्री
© 2024 Watch Tower Bible and Tract Society of Pennsylvania
सेप्टेम्बर २-८
बहुमूल्य रत्न
it-2-E पृ. १११
युसुफ
युसुफको नामलाई दिइएको महत्त्व। याकुबका छोराहरूमध्ये युसुफले महत्त्वपूर्ण स्थान पाएका थिए। त्यसैले इस्राएलको सम्पूर्ण कुललाई (भज ८०:१) वा इस्राएलको उत्तरी राज्यबाट आएकाहरूलाई जनाउन युसुफको नाम प्रयोग गर्नु एकदमै उपयुक्त थियो। (भज ७८:६७; आमो ५:६, १५; ६:६) युसुफको नाम बाइबलको भविष्यवाणीहरूमा पाइन्छ। इजकिएलको भविष्यसूचक दर्शनमा युसुफले दुई भाग पाउने कुरा उल्लेख गरिएको छ। (इज ४७:१३) साथै “यहोवा त्यहाँ हुनुहुन्छ” भन्ने सहरको एउटा ढोकालाई युसुफ भन्ने नाम दिइएको छ। (इज ४८:३२, ३५) यहोवाका जनहरूलाई एकतामा बाँध्ने सन्दर्भमा गरिएको भविष्यवाणीमा युसुफलाई इस्राएल राष्ट्रको एउटा भागको नाइके अनि यहुदालाई अर्को एउटा भागको नाइकेको रूपमा चिनाइएको छ। (इज ३७:१५-२६) ओबदियाहको भविष्यवाणीमा “एसावको घराना”-को विनाशमा “युसुफको घराना” सहभागी हुनेछ भन्ने कुरा सङ्केत गरिएको छ। (ओब १८) साथै जकरियाको भविष्यवाणीमा यहोवाले “युसुफको घरानालाई” बचाउनुहुनेछ भन्ने कुरा लेखिएको छ। (जक १०:६) आध्यात्मिक इस्राएलका कुलहरूमा एप्रैमको नाम नभई युसुफको नाम उल्लेख गरिएको छ।—प्रका ७:८.
प्रकाश ७:८ मा युसुफको नाम उल्लेख गरिएको कुराबाट याकुबले आफ्नो जीवनको अन्तिम क्षणमा गरेको भविष्यवाणी आध्यात्मिक इस्राएलमा लागू हुनेछ भन्ने देखिन्छ। त्यसैले याकुबका सर्वशक्तिमान् परमेश्वर यहोवाले येसुलाई एउटा असल गोठालोको रूपमा आफ्ना “भेडाहरूका” लागि ज्यान अर्पण गर्न पठाउनु साँच्चै उल्लेखनीय कुरा हो। (युह १०:११-१६) येसु ख्रिष्ट कुनाको ढुङ्गो हुनुहुन्छ, जसमाथि आध्यात्मिक इस्राएलीहरू मिलेर बनेको परमेश्वरको मन्दिर अवस्थित छ। (एफि २:२०-२२; १प २:४-६) यी गोठाला र ढुङ्गो सर्वशक्तिमान् परमेश्वरसित हुनुहुन्छ।—युह १:१-३; प्रे ७:५६; हिब्रू १०:१२; तुलना गर्नुहोस्: उत्प ४९:२४, २५.
सेप्टेम्बर ९-१५
बाइबलमा पाइने अनमोल धन भजन ८२-८४
तपाईँले पाउनुभएको सुअवसरहरूप्रति कृतज्ञ हुनुहोस्
wp१६.६-E पृ. ८ अनु. २-३
आकाशका चराचुरुङ्गीबाट पाठ सिक्नुहोस्
यरुसलेमका बासिन्दाहरूलाई गौँथली चराबारे राम्ररी थाह थियो। ती चराहरू घरको छतको कार्नेसमा आफ्नो गुँड बनाउने गर्थे। केही चराहरूले सुलेमानले बनाएको मन्दिरमा पनि गुँड बनाएका थिए। यसरी प्रत्येक वर्ष मन्दिर परिसरमा गुँड बनाउने चराहरूले सुरक्षितसाथ बचेराहरू हुर्काउन सक्थे।
भजन ८४ का रचयिता कोरहका छोराहरूमध्ये एक थिए। तिनी हरेक छ महिनामा एक हप्ता मन्दिरमा सेवा गर्थे। तिनले मन्दिर परिसरमा भएका ती गौँथलीका गुँडहरू याद गरे। ती गौँथलीहरूले जस्तै यहोवाको घरमा सधैँभरि रहने इच्छा व्यक्त गर्दै तिनले यस्तो भने: “हे सेनाहरूका परमेश्वर यहोवा, तपाईँको भव्य वासस्थान कत्ति प्रिय! तपाईँको चोकमा जान म एकदमै इच्छा गर्छु; त्यसको तिर्सनाले म मुर्छा पर्न लागिसकेँ . . . हे मेरा परमेश्वर र मेरा राजा; हे सेनाहरूका परमेश्वर यहोवा, तपाईँको भव्य वेदीसामु चराचुरुङ्गी पनि बास गर्छन्, गौँथलीले त्यहाँ गुँड बनाउँछे अनि आफ्ना बचेराहरूलाई त्यहीँ हुर्काउँछे।” (भज ८४:१-३) के हामी ती भजनरचयिताजस्तै आफ्ना छोराछोरीसँगै परमेश्वरका उपासकहरूको मण्डलीमा नियमित रूपमा भेला हुन र कृतज्ञता व्यक्त गर्न उत्सुक हुन्छौँ?—भज २६:८, १२.
बहुमूल्य रत्न
it-1-E पृ. ८१६
अनाथ
शोकमा परेका अनि असहाय व्यक्तिहरूलाई याद नगरिएको खण्डमा तिनीहरूको सजिलै बेवास्ता हुन पुग्थ्यो। त्यसैले यहोवाले उहाँसितको इस्राएल राष्ट्रको सम्बन्ध र तिनीहरू तर्केर गएको अवस्थाबारे बुझाउन भन्नुभएको कुरामा “अनाथ” भन्ने अभिव्यक्ति प्रयोग गर्नुभयो। इस्राएल राष्ट्रको यहोवासितको सम्बन्ध राम्रो हुँदा तिनीहरूले अनाथहरूको हेरविचार गर्थे। तर जब न्याय ओझेलमा पऱ्यो, तिनीहरूले अनाथहरूको बेवास्ता गर्न थाले। यो इस्राएल राष्ट्रले यहोवाको अनुमोदन गुमाएको एउटा चिन्ह थियो। (भज ८२:३; ९४:६; यसै १:१७, २३; यर्मि ७:५-७; २२:३; इज २२:७; जक ७:९-११; मला ३:५) जसले अनाथहरूलाई अन्याय गरे, तिनीहरूमाथि यहोवाको सराप आइपऱ्यो। (व्य २७:१९; यसै १०:१, २) यहोवाले आफूलाई अनाथहरूको “रक्षक” (हित २३:१०, ११), “मदतगार” (भज १०:१४) र “बुबा”-को (भज ६८:५) रूपमा चिनाउनु भएको छ। साथै उहाँले तिनीहरूको “पक्षमा न्याय गर्नुहुन्छ” (व्य १०:१७, १८), तिनीहरूलाई “दया देखाउनुहुन्छ” (होसे १४:३), तिनीहरूको “हेरचाह गर्नुहुन्छ” (भज १४६:९) र तिनीहरूलाई “सुरक्षित” राख्नुहुन्छ।—यर्मि ४९:११.
पति वा आमाबुबा गुमाएकोले शोकमा परेकाहरूलाई साँचो ख्रिष्टियनहरूले ख्याल राख्नुपर्छ र यो तिनीहरूको एउटा चिनारी हो। प्रेषित याकुबले ख्रिष्टियनहरूलाई यस्तो लेखे: “हाम्रा परमेश्वर अनि बुबाको दृष्टिमा शुद्ध र निष्खोट उपासना यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको सङ्कष्टमा हेरविचार गर्नु अनि आफूलाई यस संसारबाट बेदाग राख्नु।”—या १:२७.
अक्टोबर १४-२०
बाइबलमा पाइने अनमोल धन भजन ९६-९९
“उद्धारको सुसमाचार . . . घोषणा गर”
w११-E ३/१ पृ. ६ अनु. १-२
सुसमाचार भनेको के हो?
ख्रिष्टियनहरूले अरूलाई “राज्यको सुसमाचार” बताउँछन्। यस राज्यले भविष्यमा पूरै पृथ्वीमा शासन गर्ने भएकोले धार्मिकता छाउनेछ भनेर तिनीहरू बताउँछन्। बाइबलमा “सुसमाचार” भन्ने अभिव्यक्तिको अरू प्रयोग पनि पाइन्छ। जस्तै: “उद्धारको सुसमाचार” (भज ९६:२); “परमेश्वरको सुसमाचार” (रोमी १५:१६) अनि “येसु ख्रिष्टबारे सुसमाचार”।—मर्कु १:१.
सरल शब्दमा भन्ने हो भने सुसमाचारमा येसुले बताउनुभएका कुरा र उहाँका चेलाहरूले लेखेका सबै सत्य कुराहरू पर्छन्। स्वर्ग जानुअघि येसुले आफ्ना चेलाहरूलाई यसो भन्नुभयो: “त्यसैले जाओ र सबै जातिका मानिसहरूलाई चेला बनाओ; तिनीहरूलाई बुबा, छोरा र पवित्र शक्तिको नाममा बप्तिस्मा गराओ अनि मैले तिमीहरूलाई आज्ञा गरेको सबै कुरा तिनीहरूलाई पालन गर्न सिकाओ।” (मत्ति २८:१९, २०) त्यसैले साँचो ख्रिष्टियनहरूले अरूलाई परमेश्वरको राज्यबारे बताउनु मात्र पर्याप्त छैन। तिनीहरूले चेला बनाउनको लागि अथक प्रयास पनि गर्नुपर्छ।
बहुमूल्य रत्न
it-2-E पृ. ९९४
गीत
“नयाँ गीत” भन्ने अभिव्यक्ति भजनको किताबमा मात्र होइन, यसैया अनि प्रेषित युहन्नाले लेखेका किताबहरूमा पनि पाइन्छ। (भज ३३:३; ४०:३; ९६:१; ९८:१; १४४:९; १४९:१; यसै ४२:१०; प्रका ५:९; १४:३) “नयाँ गीत” भन्ने अभिव्यक्ति प्रयोग गरिएका प्रसङ्गहरू केलाउने हो भने यो गीत यहोवाले आफ्नो सार्वभौमिकता उच्च पार्ने कामहरू गर्नुहुँदा गाइएको पाइन्छ। उदाहरणको लागि, भजन ९६:१० मा हर्षोल्लासका साथ यसो भनिएको छ: “यहोवा राजा हुनुभएको छ!” यस “नयाँ गीत”-मा स्वर्गमा जस्तै पृथ्वीमा पनि यहोवाको राज्य विस्तार हुने विषयमा बताइएको छ।—भज ९६:११-१३; ९८:९; यसै ४२:१०, १३.
अक्टोबर २१-२७
बहुमूल्य रत्न
it-2-E पृ. ५९६
घाउँके हावासील
घाउँके हावासील टन्न खाएर अघाएपछि प्रायजसो सुनसान ठाउँमा गएर झोक्राएको जस्तोगरि बस्छ। त्यसले आफ्नो टाउको झुकाएर नचली बस्ने भएकोले त्यो टाढाबाट एउटा सेतो ढुङ्गाजस्तै देखिन्छ। यो चरा घण्टौँ हलचल नगरीकन झोक्राएको जस्तोगरि बस्न सक्छ। त्यसैले भजनरचयिताले असह्य पीडा हुँदा आफूलाई यससित तुलना गरे। तिनले यस्तो लेखे: “म घाउँके हावासीलजस्तै भएको छु।” (भज १०२:६) मूल भाषाको बाइबलमा यस पदमा “निर्जनभूमिको घाउँके हावासील” भन्ने अभिव्यक्ति चलाइएको छ। यहाँ प्रयोग गरिएको “निर्जनभूमि” भन्ने शब्दले मरुभूमिलाई नभई मानव बस्ती नभएको ठाउँ, सम्भवतः सिमसारलाई बुझाउँछ। कुनै-कुनै मौसममा उत्तरी यर्दन बेँसीको सिमसारमा पनि घाउँके हावासीलहरू बस्ने गर्छन्। इजरायलमा तीन प्रकारका घाउँके हावासील पाइन्छ। पूर्वी सेतो घाउँके हावासील (पेलेकेनस ओनोक्रोटालस) धेरै पाइन्छ भने डाल्मासियन घाउँके हावासील (पेलेकेनस क्रिसपस) र गुलाबी ढाड भएको घाउँके हावासील (पेलेकेनस रुफेसेन्स) थोरै पाइन्छ।
घाउँके हावासीलहरू खेती नगरिएको ठाउँतिर बस्न मन पराउँछन् किनभने त्यस्ता ठाउँहरूमा मानिसहरूको त्यत्ति चहलपहल हुँदैन। तिनीहरू त्यहाँ गुँड बनाउँछन्, बच्चा कोरल्छन् अनि माछा मारेपछि त्यहीँ फर्कन्छन्। यस चरालाई निर्जन ठाउँहरूमा बस्न मन पर्ने भएकोले बाइबलमा त्यसलाई प्रतीकात्मक अर्थमा पूर्णतया उजाड हुने अवस्थालाई बुझाउन प्रयोग गरिएको छ। यसैयाले एदोम उजाड हुने कुरालाई बुझाउन त्यस भूमिमा घाउँके हावासीलले अड्डा जमाउनेछन् भनेर भविष्यवाणी गरे। (यसै ३४:११) सपन्याहले निनवेको भत्किएको खम्बाको शिरमा घाउँके हावासीलले रात बिताउनेछ भनेर भविष्यवाणी गरे। यसले निनवे सहर पूर्णतया विनाश हुने र त्यहाँ मानव बस्ती नहुने कुरालाई सङ्केत गर्छ।—सप २:१३, १४.