प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ ४/८ पृ. ६-८
  • नियोजित अपराध किन फस्टाउँछ?

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नियोजित अपराध किन फस्टाउँछ?
  • ब्यूँझनुहोस्‌!—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • कृत्रिम पारिवारिक प्रणाली
  • ज्योतिर्मय स्वर्गदूत
  • तपाईं आफ्नो प्रियजनलाई कसरी जोगाउन सक्नुहुन्छ?
  • अपराधरहित संसार कसरी?
    ब्यूँझनुहोस्‌!—१९९७
  • नियोजित अपराधसितको साँठगाँठ तोड्‌ने—“म याकुजा थिएँ”
    ब्यूँझनुहोस्‌!—१९९७
  • नियोजित अपराधले तपाईंलाई
    ब्यूँझनुहोस्‌!—१९९७
  • किन यति धेरै अपराध?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—१९९०
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९७
g९७ ४/८ पृ. ६-८

नियोजित अपराध किन फस्टाउँछ?

संयुक्‍त राज्यमा प्रतिबन्ध युग चल्दा (१९२०-३३) त्यतिबेलाको अपराधी गिरोहका कुख्यात सदस्य आल केप्लोनले आफू आपूर्ति र मागको नियम पालन गर्ने व्यापारी मात्र हुँ भनेर दाबा गरे। जापानको सबैभन्दा ठूलो अपराधी संगठन याकुजा-को वकिलले यसो भने: “[यौन, लागू पदार्थ र जुवाको] तीव्र माग छ भनेर नकार्न सकिंदैन।” त्यस्तै मागले गर्दा नियोजित अपराध फस्टाउँछ। अपराधको शिकार हुन कसैले नचाहे तापनि कोहीले भने अपराधी संगठनहरूबाट सेवा लिन चाहेलान्‌।

उदाहरणका लागि, सुरक्षाको ग्यारेन्टी दिएर पैसा कमाउनु नै थुप्रै देशहरूमा भएका अपराधी गिरोहहरूको आयस्रोत हो। त्यसको लागि तिनीहरूले कहिलेकाहीं इमानदार पसलेहरूलाई ताके तापनि साधारणतया बेइमान व्यापारीहरू नै तिनीहरूको शिकार बन्छन्‌। टोकियो, शीनयुकुमा गेम पार्लरको नाउँमा जुवाघर सञ्चालन गर्ने व्यक्‍तिले यसो भने: “मेरो एक जना कारिन्दालाई छुरीले रोप्यो र २० लाख [येन (२०,००० अमेरिकी डलर)] डकैत गऱ्‍यो। तर प्रहरीलाई खबर गरेनौं।” किन? “किनभने हामी अवैध क्रियाकलाप (जुवामा) संलग्न भएकोले प्रहरीसँग खतरा मोल्न चाहँदैनौं। अतः ग्राहकहरूले स्टोरमा उपद्रो मच्चाएको खण्डमा हामी याकुजालाई बोलाउँछौं।” यस जुवाघरको सञ्चालकले याकुजा-लाई प्रतिमहिना ४,००० अमेरिकी डलर तिर्छ। तर यो पैसा तिनले अवैध धन्धाद्वारा रातारात कमाएको ३,००,००० अमेरिकी डलर मुनाफाको तुलनामा एकदमै कम हो। त्यत्रो पैसा कहाँबाट आउँछ? अवैध जुवा प्रेमीहरूको गोजीबाट।

समस्याहरू निम्ताउन नचाहने प्रतिष्ठित व्यापारीहरूको हालत पनि त्यस्तै छ। न्यु योर्कका अधिकारीहरूको अनुमानअनुसार रंग लगाउने ठेक्का लिएर वार्षिक १.५ करोड अमेरिकी डलर कमाइ गर्ने ठेकेदारले अपराध दलका सदस्यहरूलाई घूस दिएर त्यस कमाइबाट ३८ लाख अमेरिकी डलर बचत गरे। यसले गर्दा ठेकेदारले कम ज्यालामा श्रमिक लगाउन पाउनुका साथै अपराधी गिरोहद्वारा नियन्त्रित संगठनको सामना गर्नुपरेन। जापानमा आर्थिक फलिफाप भएको बेला पूँजीपतिहरूले भवननिर्माण तथा भूसम्पत्तिमा पैसा खनाएर आलिसान भवनहरू बनाउनको लागि पुराना घर र स्टोरहरू भत्काए। त्यहाँका बासिन्दाहरू बसाइँ सर्न वा तिनीहरूले आफ्नो भूमि बेच्न नचाहँदा पूँजीपतिहरूले तिनीहरूलाई हटाउन विशेषगरि याकुजा-सित सम्बन्धित जीयागेआ-लाई बोलाए।

याकुजाले ८० को दशकमा पैसा लिने र कमाउने सजिलो उपाय देखेकोले कम्पनीहरू स्थापित गऱ्‍यो अनि नाफा कमाउने लोभमा परेर भवननिर्माण तथा भूसम्पत्ति र स्टकको जोखिमपूर्ण कारोबारमा हात हाल्यो। स्पष्टतया, बैंक र वित्तीय संस्थाहरूले नाफाको अपेक्षा गर्दै यी कम्पनीहरूमा पैसा खन्याए। तर आर्थिक प्रगति ठप्प हुँदा नोक्सानी क्षतिपूर्ति गर्न बैंकलाई धौ धौ पऱ्‍यो। लामो समयसम्म जापानमा भइरहेको आर्थिक ह्रासबारे त्यहाँको भूतपूर्व प्रहरी अधिकारीले न्युजवीक-लाई यसरी बताए: “ऋण चाँडै चुक्‍ता गराउन नसक्नुको खास कारण मुख्यतः त्यो नियोजित अपराधसित सम्बन्धित भएकोले हो।”

वास्तवमा, हर हालतमा मानिसहरू आफ्ना लालसाहरू पूरा गर्न उत्सुक हुँदा नियोजित अपराध जरा गाढेर बढ्‌न थाल्छ। आनन्द, यौन र रुपियाँ पैसाको लोभले लागू पदार्थको अवैध धन्धा गर्ने, वेश्‍यावृत्ति गर्ने, जुवा खेल्ने र अधिक ब्याज दरमा ऋण दिने आधार खडा गर्छ। यस्ता क्रियाकलापमा भाग लिनुको अर्थ विशेषतः अपराधी गिरोहलाई खुवाउनु र पोषाउनु हो। आफ्ना शारीरिक इच्छाहरू पूरा गर्न झुकाउ राख्नेहरूका मागहरू नियोजित अपराधले पूरा गर्छ भन्‍नु कत्ति सार्थक!

कृत्रिम पारिवारिक प्रणाली

अवैध कारोबारहरूबाहेक नियोजित अपराध फस्टाउने आज अर्को कारण पनि छ। जापानको सबैभन्दा ठूलो अपराधी संगठन याकुजा-का भर्खरै मरेको नेताले मर्नुअघि अपराधीहरूको हेरविचार गरेको अनि तिनीहरूलाई नराम्रो कामकुरा गर्नबाट आफूले जोगाउँदै आएको कुरामा जोड दिए। तिनले आफू गिरोहका सदस्यहरूको पिता भनेर दाबा गरे। जुनसुकै राष्ट्रको भए तापनि अधिकांश अपराधी संगठनहरूले यस्तो कृत्रिम पारिवारिक सम्बन्धलाई आधार बनाएर संगठनहरू खडा गर्छन्‌।

उदाहरणका लागि, हङकङको गरिब परिवारमा जन्मेको ची सनलाई लिनुहोस्‌।a तिनलाई बुबाले फासफुसे कुरामा पनि बेस्मारी पिट्‌थे। जवान भएपछि ची सन विद्रोही भए र १२ वर्षको उमेरमा तिनी कुख्यात ट्राइड्‌स गिरोहमा लागे। त्यस अपराधी संगठनमा तिनले “सान्त्वना पाउनुका साथै आफूलाई अरूले ग्रहण गरेको महसुस गरे।” सशस्त्र लडाइँमा तिनले देखाएको बहादुरीले गर्दा तिनको चाँडै पदोन्‍नति भयो। तिनको अधीनमा थुप्रै मानिस थिए। आखिर तिनी १७ वर्षको कलिलै उमेरमा झ्यालखाना पुगे।

ची सनजस्तै थुप्रै व्यक्‍ति आज घरमा नपाएको पारिवारिक बन्धनको तिर्खा मेट्‌न अपराधिक संगठनहरूको ढोका ढकढकाउन पुग्छन्‌। ती संगठनका सदस्यहरूले त्यहाँ एकअर्काको राम्रो हेरविचार गर्ने दाबा गर्छन्‌। तर सबै सदस्यले मुख्यतः आफ्नै स्वार्थमा चासो राखेको देख्दा यस्ता जवानहरू अक्सर निराश हुन्छन्‌।

ज्योतिर्मय स्वर्गदूत

सन्‌ १९९२ को गैरकानुनी गिरोह विरुद्ध नयाँ ऐनअन्तर्गत जापानको सबैभन्दा ठूलो अपराधी संगठनलाई हिंसात्मक गिरोहको संज्ञा दिंदा त्यस संगठनले आफूलाई दुष्टको विरुद्ध लड्‌ने “शूरवीरहरू” ठानेको कुरा त्यसका नेताहरूमध्ये एकले किटान गरेर भन्यो। सन्‌ १९९५ मा कोबेमा डरलाग्दो भुइँचालो आउँदा त्यही गिरोहले छिमेकीहरूलाई खानेकुरा, पानी र अन्य आवश्‍यक कुराहरू बाँडे। आशाही इभनिङ्‌ग न्युज-मा दिइएको प्रतिवेदनअनुसार “याकुजाले जापानमा कायम राखेको आफ्नो अपराधी छविलाई आदरयोग्य बनाउन यस्तो उदारवादी कार्य गरेको हो।”

अपराधी संगठनहरूका नेताहरूले भलो काम गरेको बहाना बनाउने अक्सर कोसिस गरेका छन्‌। कोलम्बियामा भएको लागू पदार्थ बेचबिखन गर्ने मेडिलिन संघको कुख्यात नेता पाब्लो इस्कोबारलाई तिनी बस्ने शहरका बासिन्दाहरूले पेट्रोन अर्थात्‌ नेताको मिल्ने अर्थ लगाउँदै “रूपक व्यक्‍ति अर्थात्‌ मसीहको रूप, रबिन हुडको रूप र परमेश्‍वरपिताको रूप मान्थे” भनेर अना कारेगनले न्युजवीक-मा लेखिन्‌। तिनले केटाकेटीहरूका लागि स्केटिङ रिंक र गरिबहरूका लागि राम्रा घरहरू बनाइदिए र खाते बालबालिकालाई जागिर दिलाए। तिनका भलो कामहरूबाट लाभान्वित हुनेहरूका लागि त तिनी वीर पुरुष नै थिए।

स्पष्टतया, आफ्नो संस्थापछाडि लुक्ने अपराधीहरू वास्तवमा ब्रह्‍माण्डको प्रमुख अपराधीको इशारामा नाच्ने कठपुतली मात्र हुन्‌। त्यो प्रमुख अपराधी को हो भनेर बाइबलले स्पष्ट पार्छ। “शैतान पनि आफैलाई ज्योतिर्मय स्वर्गदूतहरूको भेषमा परिवर्तन गर्दछ। त्यसका सेवकहरूले पनि आफैलाई धर्मका सेवकहरूको भेषमा परिवर्तन गर्दछन्‌ भने, यो केही ठूलो कुरो होइन, जसको अन्त तिनीहरूका कामअनुसार हुनेछ।” (२ कोरिन्थी ११:१४, १५) आज, अधिकांश मानिसहरू शैतान वास्तविक व्यक्‍ति हो भनेर पत्याउँदैनन्‌। उन्‍नाइसौं शताब्दीका फ्रान्सेली कविले यो लेखे: “दियाबलको सबैभन्दा चतुर चाल नै उसको अस्तित्व छैन भनेर विश्‍वास दिलाउनु हो।” पर्दापछाडि लुकेर त्यसले भइरहेको कुरालाई अझ नचाउँछ। त्यसले अपराधी संगठनहरूलाई मात्र होइन तर सारा संसारलाई नै नचाउँछ। बाइबल बताउँछ, “सारा संसार त्यस दुष्टको अधीनमा परेको छ।” शैतान “शुरूदेखिनै हत्यारा थियो, . . . त्यो झूट र झूटको पिता हो” भनेर येशूले भन्‍नुभयो।—१ यूहन्‍ना ५:१९; यूहन्‍ना ८:४४.

बाइबलका भविष्यवाणीहरूले देखाएअनुसार खास गरेर सन्‌ १९१४ देखि शैतान अर्थात्‌ दियाबल सक्रिय भएको छ। त्यस सालदेखि यता त्यसले आफ्नो दलबललाई जोडतोडले परमेश्‍वरका जनहरूको विरुद्धमा चलाइरहेको छ। त्यसले मानिसजातिलाई मडारिरहेको भुवँरीभित्र तानेर लाँदैछ। आज अपराध र अपराधी संगठन मौलाउनुको मुख्य कारण शैतान नै हो।—प्रकाश १२:९-१२.

पृथ्वीका अपराधी संगठनहरूको महागुरुलाई के नाश गरिनेछ? के मानिसजातिले कहिल्यै शान्ति र न्यायव्यवस्थाको आनन्द उठाउन पाउलान्‌? शैतानले आज पृथ्वीमा स्थापित गरेको दुष्ट साम्राज्यबाट के तपाईं मुक्‍त हुन सक्नुहुन्छ?

[फुटनोट]

a त्यसमा सम्मिलित व्यक्‍तिहरूका सुरक्षाको लागि केही नाउँहरू परिवर्तन गरिएका छन्‌।

[पृष्ठ ८-मा भएको पेटी]

तपाईंको परिवारलाई कसरी जोगाउने

परिवारमा न्यानो र मिलनसार वातावरण नहुँदा कलिला केटाकेटीहरू सजिलै अपराधी संगठनहरूमा होम्मिन्छन्‌। संयुक्‍त राज्यको समूहगत हत्याहरूमा मुछिएका अधिकांश जवानहरू नराम्रो स्थिति भएको वा टुक्रिएको परिवारबाट आएका हुन्छन्‌ भन्‍ने प्रतिवेदन छ। उत्तर क्यारोलाइनाको झ्यालखानाका एक अधिकारी यसो भन्छन्‌, “तिनीहरूले चाहेजस्ता सुखसुविधाहरू पाएका हुँदैनन्‌। त्यसैले अपराधी गिरोहको नेता र उसका अनुचरहरूबीचको बलियो बन्धन देख्दा अनि संगठनको सदस्य भएर जीवनमा पहिलो पटक एकता बोध गर्न पाउँदा तिनीहरू सजिलै प्रभावित हुन्छन्‌।”

पूर्वी मुलुकहरूमा पनि स्थिति त्यस्तै छ। आफ्नो नेताको अंगरक्षक हुन चाहने एक जवान याकुजा यसो भन्छ: “घरमा जहिले पनि म एक्लै हुन्थें। परिवार भएर के गर्नु, हामीले एकअर्कासित खुलस्त कुरा गरेको कहिल्यै थाह छैन . . .। तर अहिले म गिरोहका सदस्यहरूसित मन खोलेर कुराकानी गर्नसक्छु।” एक्लो युवाहरूलाई परिवाररूपी वातावरणमा ल्याउने अपराधी संगठनका सदस्यहरूप्रति यस्ता युवाहरू कृतज्ञ महसुस गर्छन्‌।

ओकिनावाको अपराधी संगठनमा सम्मिलित, मोटर साइकलमा दौडधूप गर्ने केटीहरूका नेता भन्छिन्‌, “याकुजा मानिसहरू एकअर्काको एकदमै ख्याल गर्छन्‌। त्यो तिनीहरूको धूर्त चाल हुनसक्छ। तर हामीले कोमल व्यवहार कहिल्यै अनुभव नगरेकोले गर्दा तिनीहरूको त्यस्तो असल व्यवहारदेखि हामी प्रभावित हुन्छौं।” अपराधी केटीहरूको हेरविचार गर्ने प्रबन्धकले अपराधी गिरोहका सदस्यहरू “केटीहरूको हृदय जित्न साँच्चै खप्पिस” भएको पक्का गर्छ। एक्लो केटीहरूले मध्यरातमा बोलाउँदा ती सदस्यहरू जान्छन्‌ र तिनीहरूको कुरा सुन्छन्‌। त्यतिबेला तिनीहरूले कुनै कामुक व्यवहार देखाउँदैनन्‌।

तर जवानहरूलाई पूर्णतया वशमा नपारुञ्जेल मात्र तिनीहरूले ख्याल गर्छन्‌। तिनीहरूले जवानहरूलाई फन्दामा पारिसकेपछि तिनीहरूबाट नाजायज फाइदा उठाउँछन्‌। केटीहरूलाई वेश्‍यावृत्तिमा लगाउँछन्‌ अनि केटाहरूलाई अपराधी संगठनमा समावेश गराउँछन्‌।

तपाईं आफ्नो प्रियजनलाई कसरी जोगाउन सक्नुहुन्छ?

“ए बाबु हो, आफ्ना केटा-केटीहरूलाई रीस नउठाओ, र तिनीहरू खिन्‍न नहोऊन्‌” भनेर बाइबल चेताउनी दिन्छ। (कलस्सी ३:२१) यसको अर्थ छोराछोरीलाई छाडा छोड्‌नु भनेको होइन। बाइबलको हितोपदेश भन्छ: “छाड़ा छोड़ेको छोराले आफ्नी आमालाई लाजमा पार्छ।” (हितोपदेश २९:१५) बरु, बाइबलले बाबु र आमालाई समेत छोराछोरीसित व्यवहार गर्दा तिनीहरूको कुरा सुन्‍न र तिनीहरूसित खुल्ला सम्पर्क राख्न व्यवहारिक हुनू भनेर प्रोत्साहन दिन्छ। त्यसो गर्दा छोराछोरी निराश भएको बेला आमाबाबुमाथि भर पर्छन्‌।

छोराछोरीसित खुल्ला सम्पर्क राख्न बाहेक आमाबाबुले तिनीहरूको जीवनमा स्तरहरू निर्धारण गरिदिनुपर्छ। पिताले कहाँबाट यस्ता निर्देशनहरू पाउनसक्छन्‌? बाइबल भन्छ: “ए बाबु हो, तिमीहरूका बालकहरूलाई रीस नउठाओ, तर तिनीहरूलाई प्रभुको शिक्षा र चेताउनीमा पालन-पोषण गर।” (एफिसी ६:४) पारिवारिक अध्ययनद्वारा छोराछोरीसित बाइबल अध्ययन गर्ने समय निकाल्नुहोस्‌। तिनीहरूको हृदयमा यहोवाको स्वास्थ्यकर भय खेती गर्नुहोस्‌। त्यसो गर्नुभयो भने, तिनीहरूले सधैं यहोवाको निर्देशन पालन गर्नेछन्‌ र लाभ उठाउनेछन्‌।—यशैया ४८:१७.

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने