प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • g९७ ४/८ पृ. २६-२८
  • नियोजित अपराधसितको साँठगाँठ तोड्‌ने—“म याकुजा थिएँ”

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • नियोजित अपराधसितको साँठगाँठ तोड्‌ने—“म याकुजा थिएँ”
  • ब्यूँझनुहोस्‌!—१९९७
  • उपशीर्षकहरू
  • मिल्दोजुल्दो सामग्री
  • परिवारको प्रतिक्रिया
  • जेलमुक्‍त
  • अपराधी जीवनबाट मुक्‍त
  • नियोजित अपराध किन फस्टाउँछ?
    ब्यूँझनुहोस्‌!—१९९७
  • अपराधरहित संसार कसरी?
    ब्यूँझनुहोस्‌!—१९९७
  • “म झडङ्‌ग रिसाउँथेँ”
    बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
  • “मैले आफ्नो मृत्यु आफै निम्त्याइरहेको थिएँ”
    बाइबलले जीवनलाई नयाँ मोड दिन्छ
थप हेर्नुहोस्
ब्यूँझनुहोस्‌!—१९९७
g९७ ४/८ पृ. २६-२८

नियोजित अपराधसितको साँठगाँठ तोड्‌ने—“म याकुजा थिएँ”

“पापा, तपाईं घर आउनुभएपछि हामी सबै सँगै मिटिङ जाने है। पक्का? साँच्चै जाने है।” यो चिठी मेरी माहिली छोरीले म तेस्रो पटक झ्यालखानामा पर्दा पठाएकी थिई। मेरी श्रीमतीसित ऊ नियमित रूपले यहोवाका साक्षीहरूको सभाहरूमा जाने गर्थी। परिवारले पठाएका चिठीहरू नै मेरोलागि एक मात्र सान्त्वनाको स्रोत भएकोले उसले भनेझैं गर्छु भनेर वचन दिएँ।

‘आफूलाई परिवारबाटै अलग पार्ने अपराधी जीवन किन बिताइरहेछु’ भनेर म सोच्ने गर्थें। सानै छँदाका कुराहरू सम्झन्थें। म १८ महिनाको मात्र हुँदा बुबा बित्नुभयो। त्यसैकारण उहाँको अनुहार कस्तो थियो, त्यो पनि मलाई राम्ररी याद छैन। बुबाको मृत्युपछि आमाले दुइपटक विवाह गर्नुभयो। यस्तो पारिवारिक अवस्थाले मलाई नराम्रो असर गरेको थियो र माध्यमिक विद्यालयमा पढुञ्जेलसम्ममा त म लफंगा केटाहरूको डफ्फामा सामेल भइसकेको थिएँ। म हिंस्रक भएँ र अक्सर स्कूलबाहिर हुने झगडाहरूमा मुछिन थालें। माध्यमिक विद्यालयमा भर्ना भएको दुइ वर्षपछि अर्को टोलीका केटाहरूसित झगडा गर्न मैले स्कूलका केटाहरूको ग्याङ बनाएँ। फलस्वरूप म पक्राउ परें र केही समयको लागि सुधार गृहमा पठाइएँ।

अपराधिक गतिविधिमा निकै धँसिसकेकोले म डाँडाबाट तल्तिर गुडिरहेको भकुण्डोसरी भइसकेको थिएँ। केही समयमै अपराधिक गतिविधिमा लागेका केटाहरूको एउटा दल बनाएँ र हामी याकुजा गिरोहको कार्यालयबाहिर त्यसै हल्लिरहने गर्थ्यौं। अठाह्र वर्षको होउञ्जेल म त्यस गिरोहको सक्रिय सदस्य भइसकेको थिएँ। बीस वर्षको उमेरमा विभिन्‍न हिंसात्मक कार्य गरेवापत म समातिएँ र तीन वर्ष थुनामा परें। सुरुमा त म नारा बाल कैदगृहमा थुनिएको थिएँ। तर मेरो आचरणमा केही सुधार नदेखेर मलाई वयस्क अपराधीहरूलाई राख्ने अर्को थुनामा सारियो। तर म झन्‌ झन्‌ मापाको हुँदै गएँ र आखिरमा क्योटोको खुँखार अपराधीहरूलाई राख्ने थुनामा सारिएँ।

‘म किन त्यस्ता अपराध गरिरहन्छु?’ भनेर आफैलाई सोध्ने गर्थें। बितेका कुराहरूलाई यसो सम्झँदा नचाहिंदो तर्क गरेकोले नै यो अवस्थामा पुगेको मैले बुझें। त्यतिखेर मर्दले मात्र त्यस्तो व्यवहार गर्छ र म मर्द हुँ भन्‍ने सोचाइ राख्थें। पच्चीस वर्षको उमेरमा जेलबाट मुक्‍त भएपछि मेरो गिरोहका मित्रहरूले मेरो बडो मानसम्मान गर्थे। त्यसपछि अपराधजगत्‌मा अझ कुख्यात हुने खुड्‌किलाहरू म धमाधम चढ्‌न थालें।

परिवारको प्रतिक्रिया

त्यसैताक मेरो विवाह पनि भयो र केही समयमै म दुइटी छोरीहरूको बुबा पनि भएँ। तैपनि मेरो जीवन सुध्रिएन। कहिले घरमा त कहिले थुनामा। यो क्रम जारी नै थियो। म मानिसहरूलाई पिट्‌थें, तिनीहरूको पैसा जबरजस्ती धुत्थें। यस्ता प्रत्येक काण्डहरूपछि गिरोहका मित्रहरूले पहिलेभन्दा झन्‌ धेरै सम्मान दिन थाले र म गिरोहको दादाको विश्‍वासपात्र हुँदै गएँ। पछि मेरो पनि “दादा” याकुजा गिरोहको नाइके हुनुभयो। अनि म चाहिं उहाँको दायाँ हात हुन पाएकोले दंग थिएँ।

‘मेरी पत्नी र छोरीहरूलाई मेरो जीवनशैली कस्तो लाग्ला?’ भनेर म सोच्थें। आफ्नो लोग्ने र बुबा अपराधी भएकोले तिनीहरूलाई साह्रै लाज लागेको होला। तीस वर्षको हुँदा म फेरि थुनिएँ र ३२ वर्षको उमेरमा पनि। यसपटक थुनामा तीन वर्ष मुश्‍किलले काटें। म छोरीहरूलाई भेट्‌न पाउँदिन थिएँ। मैले तिनीहरूको कमी महसुस गर्न थालें, तिनीहरूसित कुरा गर्न र तिनीहरूलाई अंकमाल गर्न नपाएर खिन्‍न थिएँ।

जेल सजायको अन्ततिर मेरी पत्नीले यहोवाका साक्षी हरूसित अध्ययन गर्न थालिन्‌। प्रायजसो हरेक दिन उनी मलाई आफूले सिकिरहेको सत्यबारे लेख्थिन्‌। ‘मेरी पत्नी कुन चाहिं सत्यबारे बताउँदैछे?’ म अन्योलमा थिएँ। जेलमै छँदा सम्पूर्ण बाइबल पढें। अनि मेरी पत्नीले पत्रमा उल्लेख गरेकी भविष्यको आशा र परमेश्‍वरको उद्देश्‍यबारे विचार गर्न थालें।

म मर्न डराउँथे, त्यसैकारण पार्थिव प्रमोदवनमा मानिसहरू सधैंभरि बाँच्न पाउने आशाबारे जान्‍न पाउँदा मलाई निकै घत लाग्यो। म सधैं ‘मरिस्‌ कि हारिस्‌’ भन्‍ने धारणा राख्थें। बितेका कुराहरू विचार गर्दा मैले के पाएँ भने, मर्नु पर्ला भन्‍ने डरले गर्दा नै मैले अरूले मेरो हानि गर्नुअघि म तिनीहरूको हानि गर्ने गरेको रहेछु। अपराधजगत्‌मा प्रसिद्ध हुँदै जाने मेरो धोको वास्तवमा फोस्रो छ भनेर पनि मेरी पत्नीको पत्रबाट बुझ्ने मदत पाएँ।

तापनि म सत्यबारे बुझ्न अघि सरिरहेको थिइनँ। समयमा मेरी पत्नीले यहोवालाई जीवन समर्पण गरी र बप्तिस्माप्राप्त साक्षी भई। चिठी पठाउँदा तिनीहरूको सभाहरूमा जान राजी छु भनेर लेखे तापनि वास्तवमा मैले यहोवाको साक्षी हुनेबारे कहिल्यै विचार गरेको थिइनँ। मलाई लाग्थ्यो मेरी पत्नी र छोरीहरू मलाई एक्लो पारेर मबाट टाढिंदैछन्‌।

जेलमुक्‍त

आखिरीमा जेलमुक्‍त हुने दिन पनि आयो। नागोया जेलबाहिर गिरोहका धेरै साथीहरू मलाई स्वागत गर्न आएका थिए। तर त्यो हूलमा मेरा आँखा मेरी पत्नी र छोरीहरूलाई खोज्दै थिए। साढे तीन वर्षमा मेरी छोरीहरू त्यसरी हलक्क बढेको देखेर मेरा आँखा रसाए।

घर फर्केको दुइ दिनपछि माहिली छोरीसित गरेको वाचा पूरा गरें र यहोवाका साक्षीहरूको सभामा गएँ। त्यहाँ उपस्थित सबैको उत्साही मनोवृत्ति देखेर म छक्क परें। ती साक्षीहरूले न्यानो स्वागत गरे तापनि किन हो किन मलाई निकै अप्ठ्यारो लागिरहेको थियो। म अपराधी हुँ भन्‍ने थाह पाउँदा पाउँदै पनि मलाई त्यसरी स्वागत गरेको थाह पाउँदा त छक्क परें। तैपनि तिनीहरूबीच हुन पाउँदा न्यानो लाग्यो र बाइबल आधारित भाषण सुनेर पनि निकै प्रभावित भएँ। उक्‍त भाषण मानिसहरू पार्थिव प्रमोदवनमा सधैंभरि बाँच्न पाउँछन्‌ भन्‍ने विषयमा थियो।

मेरी पत्नी र छोरीहरू प्रमोदवनमा बस्न पाउने तर म भने नाश हुने सोचाइले गर्दा विचलित भएँ। त्यसपछि मेरो परिवारसँगै सधैंभरि बाँच्न मैले के गर्नुपर्ने हो, त्यसबारे गम्भीरतापूर्वक मनन गर्न थालें। गिरोहबाट मुक्‍त भएर स्वतन्त्र जीवन बिताउनेबारे पनि सोच्न थालें र बाइबल अध्ययन सुरु गरें।

अपराधी जीवनबाट मुक्‍त

गिरोहको सभाहरूमा जान छोडें र याकुजा-सित संगत गर्न पनि बन्द गरें। यद्यपि, आफ्नो सोचाइ परिवर्तन गर्नु मलाई सजिलो परेन। मस्ती गर्ने उद्देश्‍य र अहम्‌ भावको कारण म आयातित गाडीमा डुल्थें। यसको ठाउँमा एउटा साधारण गाडी चढ्‌न मलाई तीन वर्ष लाग्यो। कुनै काम गर्नु पर्दा सजिलो उपाय खोज्ने झुकाउ पनि ममा थियो। तथापि, सच्चाइ सिक्दै गर्दा मैले आफूमा परिवर्तन गर्नुपर्ने खाँचो देखें। तर यर्मिया १७:९ ले भनेझैं, “मानिसको हृदय सबै कुराभन्दा छली हुन्छ, त्यो अति भ्रष्ट हुन्छ।” सही के हो, मलाई थाह थियो तर सिकेको कुरा प्रयोगमा ल्याउन भने धौ धौ परिरहेको थियो। मेरो समस्या मलाई एउटा बडेमानको पहाडजस्तै लाग्थ्यो। म निकै अन्योलमा परें। कहिलेकाहीं त अध्ययन चटक्कै छोडेर यहोवाको साक्षी हुने विचारसमेत त्यागूँ त्यागूँजस्तो लाग्थ्यो।

त्यसबीच मेरो बाइबल अध्ययन सञ्चालकले मेरोजस्तै पृष्ठभूमि भएको परिभ्रमण निरीक्षकलाई हाम्रो मण्डलीमा जनभाषण दिन निम्त्याए। तिनी ६४० किलोमिटर पर आकिता भन्‍ने ठाउँबाट सुजुकामा मलाई प्रोत्साहन दिन आएका थिए। त्यसपछि जहिले जहिले हरेस खान्थें र छोडूँ छोडूँ भन्‍ने भावनाले सताउँथ्यो, तब तिनको पत्र पाउँथे। तिनी मलाई प्रभुको काममा ढलपल नभई हिंडिरहेका छौ हैन भनेर सोध्थे।

याकुजा-सित सम्पूर्ण साँठगाँठ तोड्‌न सकूँ भनेर यहोवासित प्रार्थना गरिरहें। यहोवाले पक्कै मेरो प्रार्थनाको जवाफ दिनुहुन्छ भनेर म विश्‍वस्त थिएँ। अन्ततः सन्‌ १९८७ अप्रिल महिनामा म याकुजा संगठनलाई त्याग्न सफल भएँ। व्यापारको सिलसिलामा हरेक महिना परिवारबाट टाढा समुद्र पार जानुपर्ने भएकोले पेशा बदलेर चौकीदारी गर्न थालें। यो पेशामा लागेदेखि दिउँसोपख आध्यात्मिक क्रियाकलापको लागि समय पाएँ। जीवनमा पहिलो पटक मैले तलब थापें। तलब थोरै थियो तैपनि म औधी खुशी थिएँ।

याकुजा संगठनको दायाँ हात हुँदा म भौतिक तवरमा निकै सम्पन्‍न थिएँ तर अहिले मसित कहिल्यै नाश नहुने आध्यात्मिक सम्पत्ति छ। मैले यहोवालाई चिनेको छु। मलाई उहाँका उद्देश्‍यहरू थाह छ। मेरो जीवनमा सिद्धान्तहरू छन्‌। मेरो फिक्री गर्ने सच्चा मित्रहरू छन्‌। याकुजा- जगत्‌मा देखाइने फिक्री देखावटी हुन्थ्यो र जानेबुझेअनुसार मैले चिनेका याकुजा-मध्ये कसैले पनि अरूको लागि आफ्नो ज्यान जोखिममा हाल्दैनन्‌।

अगस्त १९८८ मा मैले यहोवालाई जीवन समर्पण गरेको कुरा पानीको बप्तिस्माद्वारा जनाएँ र लगत्तै अर्को महिना मेरो जीवन परिवर्तन गर्ने सुसमाचारबारे अरूलाई बताउन प्रति महिना कम्तीमा ६० घण्टा बिताउन थालें। मार्च १९८९ देखि म पूर्ण-समय सेवकको रूपमा सेवा गर्दैछु र अहिले मण्डलीमा सेवकाई सेवकको रूपमा सेवा गर्ने सुअवसरसमेत पाएको छु।

याकुजा हुँदाको सम्पूर्ण चिह्नहरू मेटाउन म सफल भएको छु। तर एउटा चिह्न भने अहिलेसम्म मसित छ। र त्यो हो, मेरो आङमा खोपिएका चित्रहरू। यस खोप चित्रले म र मेरो परिवारलगायत अरूलाई पनि मेरो अतीत अर्थात्‌ याकुजा जीवनबारे सम्झना गराइरहन्छ। एक दिन मेरी जेठी छोरी अबदेखि स्कूल जान्‍नँ भन्दै रुँदै घर फर्की। साथीहरूले उसलाई म याकुजा थिएँ र मेरो आङमा त्यसको चित्रहरू खोपिएका थिए भनेका रहेछन्‌। यस विषयमा मैले छोरीहरूलाई राम्ररी बुझाएँ र तिनीहरूले बुझे पनि। यो पृथ्वी प्रमोदवन हुने र मेरो शरीर ‘युवावस्थामा भन्दा पनि मुलायम’ हुने समयलाई पर्खिरहेछु। त्यसपछि मेरो आङमा खोपिएका चित्रहरू र याकुजा भएर बिताएका २० वर्ष लामो जीवन पनि अतीतको कुरा हुनेछ। (अय्यूब ३३:२५; प्रकाश २१:४)—यासुओ काताओकाको वृत्तान्तमा आधारित।

[पृष्ठ २६-मा भएको चित्र]

म मेरो आङमा खोपिएका चित्रहरू मेटिने दिन पर्खिरहेछु

[पृष्ठ २८-मा भएको चित्र]

राज्यभवनमा परिवारसित

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने