अपराधरहित संसार कसरी?
नियोजित अपराधको सामना गर्न संसारभरि पाइला चालिंदैछ। यु.एस.न्युज एण्ड वर्ल्ड रिपोर्ट-अनुसार “मुख्यतः एउटा नियम अर्थात् ऱ्याकिटियर इन्फ्लुयेन्स्ड एण्ड करप्ट अर्गनाइजेशन अयाक्ट (धुतारहरूद्वारा प्रभावित तथा भ्रष्ट संगठन विरुद्ध ऐन) वा रिको लागू गर्नाले माफिया विरुद्ध छोटो समयभित्र उल्लेखनीय ढंगमा कार्य भएको छ।” यस ऐनले अपराधी संगठनहरूलाई व्यक्तिविशेषको कामको आधारमा नभई तिनीहरूको बेइमानी क्रियाकलापको आधारमा दोषी ठहराउँछ। टेलिफोन लाइनद्वारा गोप्य जानकारी हासिल गरेर अनि माफिया गिरोहका सदस्यहरूले आफ्नो अपराधको लागि सरकारबाट हलुका सजाय मात्र भोग्न आफ्नो संगठनको पोल खोल्ने हुनाले संयुक्त राज्यमा यस गिरोह विरुद्ध सफलता पाउनमा ठूलो टेवा पुगेको छ।
इटालीमा पनि सरकारी अधिकारीहरू अपराधी गिरोह विरुद्ध जोडतोडले संघर्ष गर्दैछन्। सिसिली, सार्डिनिया र क्यालाब्रियाजस्ता क्षेत्रहरूमा नियोजित अपराधले गहिरो जरा गाडेको छ। त्यहाँ अपराधी गिरोहको आक्रमणलाई रोक्नको लागि सार्वजनिक भवन र मुख्य इलाकातिर गस्ती लाउन सैनिक पठाइन्छ। सरकारको दृष्टिमा यो गृहयुद्ध सरह भएको छ। अपराधी संगठनहरूका कुख्यात नेताहरूलाई झ्लालखानामा राखेर अनि माफियासित हेलमेल भएको अभियोगमा भूतपूर्व प्रधानमन्त्रीलाई दोषी ठह्राएर इटालीले केही असल परिणामहरू पाइरहेको छ।
जापान सरकारले मार्च १, १९९२ मा नियोजित अपराध विरुद्ध ऐन लागू गरेर याकुजा-माथि प्रतिबन्ध लगायो। यस ऐनअन्तर्गत कुनै पनि संगठनलाई अपराधी संगठनको रूपमा तोकिएपछि घूस माग्नु, सुरक्षाको ग्यारेन्टी दिएर पैसा असुल गर्नामा सहभागी हुनु र पैसा लिएर मामिला सुल्झाउनुलगायत हिंसात्मक ढंगमा जबरजस्ती गरिने ११ वटा काम गर्न निषेध गरिन्छ। सरकारले यस ऐनलाई लागू गर्नुको उद्देश्य अपराधी गिरोहका आयस्रोतहरू रोक्नु हो। यस ऐनले अपराधी संगठनहरूमा नोक्सानी पुऱ्याएको छ। कुनै कुनै गिरोहहरू भताभुंग भएका छन् र कुनै अपराधी नेताले आत्महत्या गरेको छ। सम्भवतः, कडिकडाइका साथ ऐन लागू गरिएकोले गर्दा नै यस्तो भएको हो।
निस्सन्देह, सरकार र ऐन लागू गराउने एजेन्सीहरू नियोजित अपराध विरुद्ध जोडतोडले युद्ध लडिरहेका छन्। तैपनि, विश्वभरिका न्यायाधीश र प्रहरी अधिकारीहरूको सन् १९९४ मा सम्पन्न सम्मेलनबारे म्याइनिचि डेली न्युज-ले यस्तो प्रतिवेदन दियो: “प्रायः संसारको प्रत्येक भागमा वर्षेनी दश खर्ब अमेरिकी डलर नाफा कमाएर नियोजित अपराध सशक्त र सम्पन्न हुने गर्छ।” दुःखको कुरा, अपराधी संगठनहरूलाई पृथ्वीबाट हटाउन मानिसहरूले गरेका प्रयासहरू सीमित छन्। यसो हुनुको एउटा कारण त प्रायः न्याय तुरुन्तै र निश्चित नहुनु हो। ऐनहरूले प्रायः अपराधको शिकार हुनेको पक्ष नलिई अपराधीको पक्ष लिएजस्तो थुप्रै मानिसलाई लाग्छ। यसबारे बाइबलले लगभग ३,००० वर्षअघि यसो भन्यो: “खराब कामको दण्ड तुरुन्तै नपाएकोलेनै मानिसले यति साहससित खराब काम गर्दछ।”—उपदेशक ८:११.
अपराधी संगठनहरूबाट निक्लने
सरकारहरूले नियोजित अपराध विरुद्ध कदम चाल्नुबाहेक अपराधी संगठनहरूभित्र भएकाहरूलाई निक्लन मदत दिने प्रयास पनि गरेका छन्। यस्तो पाइला चाल्नु सजिलो छैन। एक पुरानो भनाइ यस्तो छ, “माफियालाई त्याग्ने एक मात्र उपाय मृत्यु हो।” याकुजा संगठनको कुनै सदस्यले गिरोहबाट निक्लन चाहेमा थुप्रै पैसा तिर्नुपर्छ वा आफ्नो कान्छी औंला वा त्यसको केही भाग काट्नुपर्छ। अपराधी गिरोहको कुनै पनि सदस्यले अपराधी संगठनसित सम्बन्ध टुटाउँदा डर त बोक्नपर्छ नै तर त्यसका साथै असल जीवन बिताउनको लागि आइपर्ने समस्या पनि झेल्नुपर्छ। तिनले जागिरको निम्ति चढाएको आवेदन प्रायः नै अस्वीकार गरिनेछ। तथापि, कतिपय देशहरूमा प्रहरीसित सम्पर्क राख्न विशेष टेलिफोनको प्रबन्ध छ जसद्वारा आफ्नो गिरोहबाट मुक्त हुन कोसिस गरिरहेका र उचित जागिर नपाउने समस्याले घेरिरहेका अपराधी संगठनका सदस्यहरूले मदत पाउँछन्।
सोझो जीवन बिताउँदा गिरोहको दबाब र समाजको पूर्वाग्रहको सामना गर्न कुनै पनि सदस्यलाई बलियो उत्प्रेरणा चाहिन्छ। के ले तिनलाई उत्प्रेरित गर्नसक्छ? आफ्नो परिवारप्रतिको प्रेम, शान्तिमय जीवनको लालसा अनि सही कुरा गर्ने इच्छाले। तथापि, बलियो उत्प्रेरणा के हुनसक्छ, त्यसबारे यसै अंकको पृष्ठ २६ मा दिइएको यासुओ काताओकाको जीवनगाथाले स्पष्ट पार्छ।
आ-आफ्नो जीवन यात्रालाई मोड्ने सयौं व्यक्तिहरूमध्ये यासुओ काताओका एक हुन्। पहिला पशुतुल्य अवगुनहरू भएका व्यक्तिहरूले “परमेश्वरअनुसार धार्मिकता र सत्यको पवित्रतामा सृष्टि भएको” नयाँ व्यक्तित्व धारण गरेका छन्। (एफिसी ४:२४) पहिला ब्वाँसोजस्ता मानिसहरू अहिले थुमाखाले नम्र मानिसहरूबीच शान्तिसित बसिरहेका छन् र तिनीहरूले अरूलाई मदतसमेत गरिरहेका छन्!—यशैया ११:६.
संसारको मनोवृत्तिबाट मुक्त हुनुहोस्
अघिल्लो लेखमा उल्लेख गरेझैं अपराधी संगठनहरू मात्र होइनन् तर सम्पूर्ण संसार नै शैतान अर्थात् दियाबलको अदृश्य अख्तियारको अधीनमा परेको छ। मानिसलाई यसबारे थाह छैन तर शैतानले आफ्नो अपराधी लक्ष्यहरू पूरा गर्न संसारलाई चलाएको छ। अपराधी संगठनहरूले धनदौलत र कृत्रिम परिवारको प्रबन्ध गरेझैं शैतानले मानिसहरूलाई धन, आनन्द दिनुका साथै एकताको महसुस गराएर दयालु मालिकको भूमिका निर्वाह गर्छ। तपाईंलाई थाह नहोला तर त्यसले आफ्नो दुष्ट चालहरू चलाएर तपाईंलाई फसाइरहेको हुनसक्छ। (रोमी १:२८-३२) “संसारसँगको मित्रता परमेश्वरसँगको दुश्मनी हो” भनेर बाइबलले बताउँछ। (याकूब ४:४) अतः, शैतानको प्रभावमा परेको संसारसित घनिष्ठ सम्बन्ध राख्नु हानिकारक हो। ब्रह्माण्डको सृष्टिकर्ताले शैतान र त्यसका प्रेतहरूको दुष्ट प्रभावमा परेको संसारलाई सफा पार्नको लागि ती दुष्टहरूलाई नाश गर्न येशू ख्रीष्टको नेतृत्वमा स्वर्गदूतहरूको सेना तयार पार्नुभएको छ।—प्रकाश ११:१८; १६:१४, १६; २०:१-३.
त्यसोभए तपाईं कसरी शैतानको संसारबाट मुक्त हुन सक्नुहुन्छ? समाजदेखि टाढा बसेर होइन तर आज संसारमा व्याप्त मनोवृत्तिहरू र सोचविचारहरूलाई त्यागेर। त्यसो गर्न तपाईंले शैतानका आतंकित पार्ने चालहरूको सामना गर्नुपर्छ र मानिसहरूलाई आफ्नो जालमा फसाउने त्यसका प्रलोभनहरूको प्रतिरोध गर्नुपर्छ। (एफिसी ६:११, १२) यसो गर्न त्याग गर्नुपर्ला तर तपाईं कटिबद्ध हुनुभयो र यहोवाका साक्षीहरूबाट मदत लिनुभयो भने अरूजस्तै तपाईं मुक्त हुन सक्नुहुन्छ।
अपराधै अपराधले भरेको यो अस्तव्यस्त संसारलाई परमेश्वरले सफा गर्नुभएपछि के हुनेछ? बाइबल बताउँछ, “तर दुष्टको सन्तान भने नष्ट हुनेछन्।” त्यसले अझ यसो भन्छ: “धर्मात्माहरूले देश अधिकार गर्नेछन्, र त्यसैमा सधैंभरि रहन्छन्।” (भजन ३७:२८, २९) त्यसपछि, पशुतुल्य व्यक्तिहरूदेखि डराउनुपर्ने छैन किनभने पृथ्वीमा व्याप्त हुने “परमप्रभुको ज्ञानले” तिनीहरू परिवर्तन भइसकेका हुनेछन्।—यशैया ११:९; इजकिएल ३४:२८.
यस्तो परिवर्तन अहिल्यै भइरहेको छ भनेर यसै अंकको पृष्ठ २६ मा उल्लिखित जापानको याकुजा-का एक भूतपूर्व सदस्यको जीवनगाथाले देखाउँछ।
[पृष्ठ १०-मा भएको चित्र]
परमेश्वरको नयाँ संसारमा सबैले आफ्नो कामको आनन्द उठाउनेछन्