तपाईंको भोजन—के त्यसले तपाईंलाई हानि गर्नसक्छ?
“तपाईंको हृद्धमनी असाध्यै साँघुरिएको छ। त्यो लगभग ९५% थुनिएको छ . . . यसको मतलब तपाईंलाई निकट भविष्यमा हृदयघात हुने सम्भावना धेरै छ।”
छाती दुखेर मुटु विशेषज्ञकहाँ जँचाउन गएका ३२ वर्षीय जो चिकित्सकको यो भनाइ सुनेर खंग्रंग भए। हृदयरोग भएर मर्ने ५०% जत्तिले त आफूलाई हृदयरोग लागेको कुरा थाहै पाउँदैनन्।
तर जोलाई कसरी यस्तो भयो? ‘ “दूध र मासु” खान थालेको ३२ वर्ष भइसक्यो,’ जो विलौना गर्छन्। ‘यो ठेट अमेरिकी भोजनले मेरो स्वास्थ्यमा यस्तो असर पुऱ्याउला भनेर त मैले वास्तै गरेको थिइनँ।’
तपाईंको भोजन र हृदयरोग
जोको भोजनमा त्यस्तो के खराबी थियो? तिनको भोजनमा कोलेस्ट्रोल र चिल्लो पदार्थको मात्रा निकै थियो र त्यसमा पनि विशेषगरि प्रशोधित चिल्लो पदार्थ त प्रशस्तै थियो। तिनको प्रत्येक गाँसले तिनलाई हृद्धमनीसम्बन्धी रोग लाग्ने खतरातिर धकेल्दै थियो र यो क्रम तिनी जवान छँदादेखि सुरु भएको थियो। वास्तवमा संयुक्त राज्यमा प्रत्येक दश व्यक्तिहरूमध्ये पाँच जनाको मृत्यु चिल्लो पदार्थ धेरै भएको भोजन खाएर नै हुन्छ। त्यसमा पनि हृद्धमनीसम्बन्धी रोग लागेर मर्नेहरूको संख्या सबैभन्दा धेरै छ।
सात राष्ट्रका ४० देखि ४९ उमेरका लगभग १२,००० पुरुषहरूमा गरिएको अध्ययनबाट भोजन र हृदयघातबीच प्रत्यक्ष सम्बन्ध छ भनेर देखिएको छ। हृदयघात हुने दर देशअनुसार किन फरक फरक छ त्यो राम्ररी बुझियो। अध्ययनअनुसार फिनिश पुरुषहरूले २० प्रतिशत क्यालोरी प्रशोधित चिल्लो पदार्थको रूपमा खाने भएकोले तिनीहरूको रगतमा कोलेस्ट्रोलको मात्रा अकासिएको पाइयो भने जापानी पुरुषहरूले प्रशोधित चिल्लो पदार्थको रूपमा मात्र ५ प्रतिशत क्यालोरी खाने भएकोले तिनीहरूको रगतमा कोलेस्ट्रोलको मात्रा कम पाइयो। यसबाहेक जापानी पुरुषहरूको तुलनामा फिनिश पुरुषहरूलाई हृदयघात हुने सम्भावना छ गुणा बढी थियो!
तर अहिले आएर जापानमा पनि हृद्धमनीसम्बन्धी रोगहरू देखा पर्न थालेका छन्। पश्चिमी पाकशैली लोकप्रिय हुन थालेकोले जापानमा विगत केही वर्षदेखि बोसोको उपभोग ८०० प्रतिशतले बढेको छ। अहिले जापानी केटाहरूको कोलेस्ट्रोलको मात्रा त्यही उमेरका अमेरिकी केटाहरूको भन्दा बढी समेत पाइएको छ! हो, भोजनमा पाइने चिल्लो पदार्थ तथा कोलेस्ट्रोलले ज्यान जोखिममा पार्नसक्छ। यी तत्त्वहरूले हृदयसम्बन्धी रोगहरू निम्त्याउँछन्।
कोलेस्ट्रोलको भूमिका
कोलेस्ट्रोल जीवनलाई नभई नहुने एक प्रकारको सेतो चिपचिपे पदार्थ हो। यो मानिस तथा जनावर सबैको कोषमा पाइन्छ। हाम्रो कलेजोले कोलेस्ट्रोल उत्पादन गर्छ र यो हाम्रो भोजनमा पनि खानाअनुसार फरक फरक मात्रामा पाइन्छ। रगतले कोलेस्ट्रोललाई लिपोप्रोटिन भनिने सूक्ष्म पदार्थ अर्थात् अणुको रूपमा कोषहरूमा पुऱ्याउँछ। कोलेस्ट्रोल, बोसो र प्रोटिन मिलेर लिपोप्रोटिन बनेको हुन्छ। रगतमा पाइने धेरैजसो कोलेस्ट्रोल शरीरका विभिन्न अंगहरूमा पुऱ्याउने लिपोप्रोटिन दुइ प्रकारका छन्। ती कम घनत्व भएको लिपोप्रोटिन (एल डी एल) र बढी घनत्व भएको लिपोप्रोटिन (एच डी एल) हुन्।
एल डी एलमा कोलेस्ट्रोल प्रशस्त हुन्छ। कोलेस्ट्रोल रक्तनलीमा प्रवाह हुँदा कोष भित्ताहरूमा रहेका एल डी एल ग्राही मार्फत उक्त कोलेस्ट्रोल कोषहरूमा पुग्छ, टुक्रन्छ र कोषले प्रयोग गर्न थाल्छ। शरीरका अधिकांश कोषहरूमा यस्ता ग्राहीहरू हुन्छन् र ती ग्राहीहरूले केही मात्रामा एल डी एल सोस्छ। तर रक्तनलीहरूमा भएका एल डी एललाई एल डी एल ग्राहीहरूले हटाउने ७० प्रतिशत काम त कलेजोले गर्छ।
तर अर्कोतिर एच डी एल कोलेस्ट्रोल सोस्ने अणुहरू हुन्। रक्तनली हुँदै बहेको अत्यधिक कोलेस्ट्रोललाई एच डी एलले सोस्छ र सोझै कलेजोमा पुऱ्याउँछ। त्यसपछि कलेजोले कोलेस्ट्रोललाई टुक्राउँछ र शरीरबाट निष्कासन गर्छ। हो, शरीर अद्भुत रीतिले बनिएको छ। यसले आवश्यक कोलेस्ट्रोललाई प्रयोग गर्छ भने बाँकीलाई चाहिं निष्कासन गर्छ।
तर रगतमा चाहिनेभन्दा बढी एल डी एल भयो भने समस्या उत्पन्न हुन्छ। तब धमनीका भित्ताहरूमा बोसोको पत्र जम्मा हुने सम्भावना बढ्छ। बोसो धमाधम जम्मा हुन थालेपछि धमनीहरू साँघुरिन थाल्छन् र अक्सिजनयुक्त रगत चाहिने मात्रामा ती धमनीहरू भएर बहन सक्दैनन्। यस्तो अवस्थालाई आथेरोस्लेरोसिस भनिन्छ। यो प्रक्रिया बिस्तारै र थाहै नहुनेगरि हुने भएकोले आथेरोस्लेरोसिसका लक्षणहरू देखा पर्न दशकौं लाग्नसक्छ। एउटा लक्षण एन्जाइना पेक्टोरीस अथवा जोलाई जस्तै छाती दुख्नु हो।
अक्सर रगत जमेर हृद्धमनी पूर्णतया बन्द हुँदा त्यो धमनी मार्फत रगत पुग्ने हृदयको भाग मर्छ। परिणामस्वरूप अचानक, घातक साबित हुनसक्ने मायोकार्डियल इन्फ्राक्शन अर्थात् हृदयघात हुन्छ। हृद्धमनीमा केही भाग मात्र बन्द भएको छ भने पनि हृदयको तन्तु मर्नसक्छ। यसरी तन्तु मर्दा शरीरमा कुनै खास अप्ठ्यारो महसुस नहुन पनि सक्छ। शरीरका अन्य भागहरूका धमनीमा कुनै अवरोध भयो भने पक्षाघात हुनसक्छ, खुट्टामा सइनको घाउ हुनसक्छ र कहिलेकाहीं त मृगौलाले काम गर्न छोड्नसक्छ।
त्यसैकारण, एल डी एललाई खराब कोलेस्ट्रोल र एच डी एललाई असल कोलेस्ट्रोल भन्नु अनौठो कुरा होइन। स्वास्थ्य परीक्षण गर्दा एल डी एल धेरै अथवा एच डी एल कम देखियो भने हृदयघात हुनसक्ने खतरा बढी हुन्छ।a एन्जाइनाजस्तो प्रस्टै थाह पाइने लक्षण देखा पर्नु अगावै पनि सम्भाव्य खतराबारे सामान्य रक्त परीक्षणबाट पत्ता लगाउन सकिन्छ। त्यसैकारण रगतमा कोलेस्ट्रोलको मात्रा कति छ त्यो जाँचेर नियन्त्रणमा राख्नु जरुरी छ। आउनुहोस्, तपाईंको भोजनले कोलेस्ट्रोलको मात्रालाई कसरी फरक पार्छ, हेरौं।
रगतमा कोलेस्ट्रोल र भोजन
जनावरबाट प्राप्त गरिने खानामा कोलेस्ट्रोल त भइहाल्छ। माछा, मासु, अण्डा, तथा दूध र दूधबाट बनेका अन्य परिकारहरू सबैमा कोलेस्ट्रोल पाइन्छ। तर वनस्पतिबाट प्राप्त गरिने खानामा भने कोलेस्ट्रोल हुँदैन।
शरीरले आवश्यक परे जत्ति कोलेस्ट्रोल उत्पादन गर्नसक्ने भएको हुँदा हामीले खानाबाट कोलेस्ट्रोल लिइरहनु पर्दैन। हामीले भोजनबाट प्राप्त गर्ने अधिकांश कोलेस्ट्रोल कलेजोमा जम्मा हुन्छ। सामान्यतया, भोजनबाट प्राप्त गरेको कोलेस्ट्रोल कलेजोमा पुगेपछि कलेजोले त्यो प्रशोधन गर्छ र कलेजोले आफूले उत्पादन गर्ने कोलेस्ट्रोल घटाउँछ। यसरी रगतमा चाहिने कोलेस्ट्रोलको परिमाण नियन्त्रित हुन्छ।
तर भोजनमा कलेजोले पचाउनै नसक्ने प्रचुर मात्रामा कोलेस्ट्रोल छ भने के हुन्छ? त्यतिखेर धमनीका भित्तामा भएका कोषहरूले कोलेस्ट्रोललाई सोझै सोस्ने सम्भावना शायद बढ्छ। यस्तो भयो भने, आथेरोस्लेरोसिस हुन थाल्छ। त्यसमाथि भोजनबाट प्राप्त भइरहेको कोलेस्ट्रोललाई बेवास्ता गर्दै शरीरले पनि पहिले जत्तिकै कोलेस्ट्रोल उत्पादन गर्न थाल्यो भने खतरापूर्ण परिस्थिति सृजन्छ। संयुक्त राज्यका प्रत्येक ५ जनामा १ जनालाई यो समस्याले पिरोलेको छ।
त्यसैले भोजनमा कोलेस्ट्रोलको मात्रा कम गर्नु नै बुद्धिमानी हो। तर भोजनमा पाइने अर्को एक तत्त्वले पनि हाम्रो रगतमा हुने कोलेस्ट्रोललाई निकै असर गरिरहेको हुन्छ। त्यो हो—प्रशोधित चिल्लो पदार्थ।
चिल्लो पदार्थ र कोलेस्ट्रोल
चिल्लो पदार्थलाई दुइ वर्गमा विभाजन गर्न सकिन्छ: प्रशोधित र अप्रशोधित। अप्रशोधित चिल्लो पदार्थ पनि मोनोस्याचुरेट वा पोलिस्याचुरेटमध्ये एक हुनसक्छ। तपाईंको लागि प्रशोधित चिल्लो पदार्थभन्दा त्यसले जस्तै काम गर्ने अप्रशोधित चिल्लो पदार्थ फाइदाजनक हुन्छ। किनकि प्रशोधित चिल्लो पदार्थले रगतमा कोलेस्ट्रोलको मात्रा बढाउँछ। प्रशोधित चिल्लो पदार्थले दुइ प्रकारले यसो गर्ने गर्छ: यसले कलेजोमा थप कोलेस्ट्रोल उत्पादन गर्न मदत गर्छ तथा कलेजोका कोषहरूमा रहेका एल डी एल ग्राहीलाई दबाउँछ र यसरी रगतमा भएको एल डी एलको मात्रा हटाउने गति कम हुन्छ।
विशेषगरि जनावरबाट प्राप्त गरिने भोजन जस्तै मखन, अण्डाको पहेंलो भाग, बोसो, दूध, आइसक्रिम, मासु इत्यादिमा प्रशोधित चिल्लो पदार्थ पाइन्छ। यो चकलेट, नरिवल र नरिवलको तेल, वनस्पति तेल र ताडीको तेल आदिमा पनि पाइन्छ। प्रशोधित चिल्लो पदार्थ सामान्य तापक्रममा पनि जम्छ।
तर अप्रशोधित चिल्लो पदार्थ सामान्य तापक्रममा जम्दैन र तरल अवस्थामा रहन्छ। प्रशोधित चिल्लो पदार्थ भएको खाना खानुको साटो मोनोस्याचुरेटेड चिल्लो पदार्थ र पोलिस्याचुरेटेड चिल्लो पदार्थ भएको भोजन खानुभयो भने, तपाईंको रगतमा भएको कोलेस्ट्रोलको मात्रा घट्नसक्छ।b मकैको तेल र सूर्यमुखी फूलको तेलमा पाइने पोलिस्याचुरेडेट चिल्लो पदार्थले असल र खराब दुवै प्रकारको कोलेस्ट्रोललाई घटाउँछ भने जैतूनको तेल र क्यानोला तेलमा पाइने मोनोस्याचुरेटेड चिल्लो पदार्थले असल कोलेस्ट्रोललाई केही गर्दैन तर खराब कोलेस्ट्रोललाई मात्र घटाउँछ।
हुन त चिल्लो पदार्थ हाम्रो भोजनमा नभई नहुने पदार्थ हो। उदाहरणका लागि, चिल्लो पदार्थ भएन भने हाम्रो शरीरले भिटामिन ए, डी, इ र के सोस्न सक्दैन। तर हाम्रो शरीरलाई चिल्लो पदार्थ अलिकता मात्र भए पुग्छ। तरकारी, गेडागुडी, अन्न तथा फलफूल सेवन गर्नाले शरीरलाई चाहिने चिल्लो पदार्थ सजिलै प्राप्त गर्न सकिन्छ। त्यसैकारण प्रशोधित चिल्लो पदार्थ कम मात्रामा खायौं भने पनि हाम्रो शरीरलाई चाहिने पौष्टिक तत्त्व अपुग चाहिं हुँदैन।
चिल्लो पदार्थ तथा कोलेस्ट्रोलको मात्रा किन कम गर्ने
प्रचुर मात्रामा चिल्लो पदार्थ र कोलेस्ट्रोल भएको भोजन खायौं भने रगतमा भएको कोलेस्ट्रोलको मात्रा के बढ्नेछ र? बढ्छ नै भन्ने छैन। सुरुको लेखमा उल्लेख गरिएका थोमसले ब्यूँझनुहोस्!-सितको अन्तरवार्तापछि रक्तपरीक्षण गर्ने निर्णय गरे। परीक्षणबाट तिनको कोलेस्ट्रोलको मात्रा ठिक्कैको रहेछ भनेर पत्ता लाग्यो। तिनको कलेजोले कोलेस्ट्रोलको मात्रालाई नियन्त्रणमा राखेको प्रमाणित भयो।
तर त्यसो भन्दैमा थोमसलाई कुनै खतरा नै छैन भन्नु मिल्दैन। भोजनमा भएको कोलेस्ट्रोलको मात्राले रगतमा भएको कोलेस्ट्रोललाई कहिले असर गर्छ भने कहिले गर्दैन तर हालै गरिएको अध्ययनबाट भोजनमा हुने कोलेस्ट्रोलले हृद्धमनीसम्बन्धी रोग हुनसक्ने खतरा चाहिं हुन्छ भनेर पत्ता लागेको छ। त्यसैकारण, नर्थवेस्ट युनिभर्सिटीका डा. जेरेमाया स्टाम्लर भन्छन्, “कोलेस्ट्रोल धेरै भएको खाना खाँदा रगतमा कोलेस्ट्रोलको मात्रा कम हुने व्यक्तिहरूलाई पनि हृदयरोग हुनसक्छ। त्यसैकारण, आफ्नो रगतमा कोलेस्ट्रोलको मात्रा जतिसुकै होस्, कोलेस्ट्रोल कम भएको खाना खाने विषयमा सबैले विशेष ध्यान दिनुपर्छ।”
अर्को कुरा, भोजनमा चिल्लो पदार्थ पनि हुन्छ। खानामा भएको चिल्लो पदार्थ चाहे प्रशोधित होस् वा अप्रशोधित, त्यसको मात्रा रगतमा बढी भयो भने रातो रक्त कोषिकाहरू ढिक्का पर्न थाल्छन्। यस्तो बाक्लो रगत साँघुरो कोषिकाहरू भएर बहन सक्दैन र चाहिने पौष्टिक तत्त्व तन्तुहरूले सोस्न पाउँदैनन्। यसरी धमनी भएर बहने ती जमेका कोषहरूले धमनीका भित्ताहरूमा पुग्नुपर्ने अक्सिजन पुऱ्याउन सक्दैनन् अनि त्यहाँ क्षति हुन्छ र ती भित्ताहरूमा सजिलै बोसो जम्न थाल्छन्। यसबाहेक अत्यधिक मात्रामा चिल्लो पदार्थ सेवन गर्नाले अर्को पनि खतरा छ।
क्यान्सर र भोजन
डा. जोन ए. म्याकडुगल भन्छन्, “प्रशोधित होस् वा अप्रशोधित, सबै प्रकारका चिल्लो पदार्थले क्यान्सर गराउने केही खास खास कोषहरूलाई बढाउँछ।” ठूलो आन्द्रा तथा मलद्वारको क्यान्सर अनि स्तन क्यान्सरबारे गरिएको अन्तरराष्ट्रिय सर्वेक्षणअनुसार अल्पविकसित मुलुकहरूको तुलनामा चिल्लो पदार्थ धेरै खाने मुलुक अर्थात् पश्चिमी मुलुकहरूमा त्यस्ता रोगद्वारा पीडितहरूको संख्यामा आकाश जमीनको भिन्नता देखियो। उदाहरणका लागि, संयुक्त राज्यमा पुरुष तथा स्त्रीमा देखा परेको अर्को रोग ठूलो आन्द्रा तथा मलद्वारको क्यान्सर हो भने स्त्रीहरूमा चाहिं स्तन क्यान्सर नै सबैभन्दा प्रमुख भएको पाइयो।
अमेरिकन क्यान्सर सोसाइटीअनुसार क्यान्सरग्रस्त मुलुकमा बसाइँ सरेका प्रवासीहरू त्यस नयाँ ठाउँको रहनसहन तथा खानपिनमा अभ्यस्त हुँदै गएपछि समयको क्रममा तिनीहरूलाई पनि स्थानीय बासिन्दाहरूलाई जस्तै क्यान्सर भएको पाइयो। उक्त क्यान्सर सोसाइटीको पाकशिक्षा पुस्तक यस्तो टिप्पणी गर्छ, “पश्चिमीहरूलाई हुने क्यान्सर हवाई टापुमा बसाइँ सरेका जापानीहरूलाई पनि भएको देखिन थालेको छ। भनाइको तात्पर्य अक्सर जापानीहरूलाई पेटको क्यान्सर हुन्छ तर हवाई टापुमा बसाइँ सरेका जापानीहरूलाई पश्चिमीहरूलाई जस्तै ठूलो आन्द्रा र स्तनको क्यान्सर बढी लागेको पाइयो।” यसबाट स्पष्ट हुन्छ, क्यान्सर र भोजनको सम्बन्ध छ।
तपाईंको भोजनमा प्रशोधित चिल्लो पदार्थ, कोलेस्ट्रोल र क्यालोरीको कुल मात्रा बढी छ भने, तपाईंले केही परिवर्तनहरू गर्नु आवश्यक छ। सन्तुलित आहारले स्वास्थ्य पनि राम्रो हुन्छ र असन्तुलित आहारले गर्दा भएका कतिपय नराम्रा परिणामहरूसमेत हटाउन मदत गर्नसक्छ। यस्ता विकल्पहरूलाई विचार गर्ने हो भने, ४०,००० अमेरिकी डलर वा त्योभन्दा बढी खर्च हुने कष्टप्रद बाइपास शल्यक्रिया गराउनुको साटो सन्तुलित भोजन छान्नु नै बेस हुन्छ।
तपाईंले आफ्नो भोजन बुद्धिमानीसाथ छान्नुभयो भने तपाईं वजन घटाउन सक्नुहुन्छ, आफ्नो स्वास्थ्यप्रति सन्तुष्ट हुन र केही रोगहरूबाट बच्न बेलैमा जोगिन सक्नुहुन्छ। यसबारे केही सुझाउहरू यसपछिको लेखमा दिइएका छन्।
[फुटनोटहरू]
a कोलेस्ट्रोललाई मिलिग्राम प्रति डेसिलिटरमा नापिन्छ। कोलेस्ट्रोलको जम्माजम्मी मात्रा अर्थात् रगतमा हुने अन्य लिपोप्रोटिनमा पाइने कोलेस्ट्रोल, एल डी एल र एच डी एलको सुझावित मात्रा २०० मिलिग्राम प्रति डेसिलिटरभन्दा कम हुनुपर्छ। एच डी एलको मात्रा ४५ मिलिग्राम प्रति डेसिलिटर छ वा त्योभन्दा धेरै छ भने त्यसलाई राम्रो मानिन्छ।
b अमेरिकीहरूका लागि १९९५ भोजन निर्देशिकाले प्रतिदिन ३० प्रतिशत क्यालोरीभन्दा धेरै चिल्लो पदार्थ नखाने र प्रशोधित चिल्लो पदार्थ पनि १० प्रतिशत क्यालोरीभन्दा कम गर्ने सुझाउ दिएको छ। प्रशोधित चिल्लो पदार्थमा भएको क्यालोरी १ प्रतिशत मात्र कम गर्दा पनि सामान्यतया रगतमा कोलेस्ट्रोलको मात्रा ३ मिलिग्राम प्रति डेसिलिटरको दरले घट्छ।
[पृष्ठ ८-मा भएको रेखाचित्र]
हृद्धमनीको भित्री भाग: (१) पूर्णतया खुल्ला, (२) केही भाग मात्र बन्द, (३) लगभग पूर्णतया बन्द