सबैका लागि सुस्वास्थ्य—के यो लक्ष्य प्राप्त गर्न सकिएला?
के तपाईं आफू र आफ्नो परिवारले अझ स्वस्थ जीवनको आनन्द उठाउन पाए हुन्थ्यो भन्ने इच्छा गर्नुहुन्छ? पक्कै गर्नुहुन्छ होला। हामीमध्ये धेरैजसोलाई कहिलेकाहीं सामान्य रोगबिमार लाग्ला तर आज लाखौं मानिसले अशक्तताको कारण आजीवन पीडा झेलिरहेका छन्।
तैपनि, रोगबिमारको अटुट चक्रलाई रोक्न थुप्रै प्रयत्न गरिएका छन्। संयुक्त राष्ट्र संघको एउटा निकाय, विश्व स्वास्थ्य संघलाई विचार गर्नुहोस्। सन् १९७८ मा विश्व स्वास्थ्य संघद्वारा आयोजित छलफल कार्यक्रममा १३४ मुलुक तथा संयुक्त राज्यकै ६७ वटा संगठनबाट आएका प्रतिनिधिहरू, स्वास्थ्य भनेको रोगबिमारबाट छुटकारा पाउनु मात्र होइन भन्ने कुरामा सहमत भए। तिनीहरूको घोषणाअनुसार स्वास्थ्य भनेको “शारीरिक, मानसिक तथा सामाजिक तवरमा पूर्णतया निरोगी अवस्था हो।” त्यसपछि ती प्रतिनिधिहरूले स्वास्थ्य भनेको “आधारभूत मानव अधिकार” हो भनेर घोषणा गर्ने साहसिक कदम चाले! यसरी विश्व स्वास्थ्य संघले “संसारका सबै मानिसहरूका लागि संतोषजनक स्वास्थ्य” हासिल गर्ने लक्ष्य राख्यो।
त्यस्तो लक्ष्य मनमोहक छ, साँच्चै महान् छ। तर त्यो लक्ष्य प्राप्त हुने सम्भावना कत्तिको छ? मानव प्रयासका थुप्रै क्षेत्रमध्ये चिकित्साजगत् भरोसायोग्य अनि प्रशंसनीय उपलब्धि हो। बेलाइती अखबार दी युरोपियन-अनुसार पश्चिमी मुलुकका मानिसहरूलाई “ ‘अचूक औषधीले’ नै रोग निको पार्ने परम्परागत चिकित्सा प्रणालीको” बानी परिसकेको छ। अर्को शब्दमा भन्ने हो भने, रोगको उपचार गर्दा एउटै चिकित्साजगत्ले कुनै पनि झन्झटबिना रोग निको पारोस् भन्ने हामी आशा गर्छौं। के चिकित्सा पेसाले त्यस्तो उच्च आशा साकार पार्न सक्ला? (g01 6/8)