पाठकहरूका प्रश्नहरू
चोरिएका सामानहरू किन्ने सम्बन्धमा यहोवाका साक्षीहरूले के दृष्टिकोण राख्तछन्?
चोरिएका मालसामानहरू वा त्यस्ता कुनै पनि चीजहरू जानाजानी किन्ने काममा मसीहीहरू पटक्कै भाग लिंदैनन्।
चोरी गर्नु निश्चय पनि गलत हो। इस्राएललाई परमेश्वरले दिनुभएको नियममा स्पष्टतया भनिएको छ: “तैंले चोरी नगर्नू।” (प्रस्थान २०:१५; लेवी व्यवस्था १९:११) कुनै चोर पक्डाउ परेको खण्डमा, त्यसले परिस्थितिअनुसार दुई, चार, वा पाँच गुणा बढी दिएर क्षतिपूर्ति गर्नु पर्दथियो।
पुरातन कालदेखिन् चोरहरूले चाँड्चाँडो फायदा गर्न र चोरीका मालसहित नसमातिनका लागि, चोरेको माल अरूहरूलाई बेची दिने प्रयास गर्दै आएका छन्। यसैकारण, तिनीहरू अक्सर चोरेका मालहरू यति कम दाममा बेच्तछन् कि ती किन्न अस्वीकार गर्न खरीद गर्नेहरूलाई पनि गाह्रो लाग्छ। यस प्रकारको चलनलाई ध्यानमा राखेर नै प्रस्थान २२:१ मा यी शब्दहरू लेखेको हुनु सक्तछ: “यदि कसैले गोरु अथवा भेड़ा चोरेर त्यसलाई मार्यो कि बेच्यो भने, त्यसले गोरुको सट्टा पाँचवटा गोरु र भेड़ाको सट्टा चारवटा भेड़ा देओस्।”
यस प्रकारको नियमहरूको मनसाय बुझेर रब्बी अब्राहाम चील लेख्तछन्: “चोरीको माललाई चोरीको माल नठानिए तापनि त्यसलाई खरीद गर्न वा स्वीकार गर्न मनाही छ। यसैकारण गोठालाबाट बाख्रा किन्नु हुँदैन, किनभने त्यस गोठालाले आफ्नो मालिकको जानकारी बिना नै सो बाख्रा बेचेर पैसा आफैले राख्ने विचार गरेको हुन सक्तछ।”—[The Mitzvot—The Commandments and Their Rationale] नियमहरू र तिनीहरूका कारणहरू.
वास्तवमा, गोठालाले आफ्नो मालिकको पैसा आफ्नै लागि राख्ला अर्थात् उसले चोरेको बाख्रा बेच्तैछ भन्ने शङ्काको आधारमा मात्र ‘गोठालाबाट बाख्रा किन्न’ परमेश्वरको नियममा निषेध गरिएको छैन। तर अर्कोतिर, (बाख्रा वा अन्य कुनै कुरा) बेच्ने मानिसको होइन अथवा त्यो चोरीको माल हुन सक्छ भन्ने कुरा स्पष्ट छ भने, यहोवाका सेवकहरूले जानाजानी त्यस प्रकारको सामानको बिक्रीमा भाग लिनु हुँदैन। परमेश्वरको नियमअनुसार परमेश्वरले निजी सम्पत्तिलाई मान्यता दिनुहुन्छ, तर एउटा चोरले चाहिं सम्पत्तिको मालिकलाई आफ्नो सम्पत्तिबाट वञ्चित गराउँछ। चोरीका मालसामान किन्ने मानिस आफै चोर नहोला तर उसले माल किनी दिएको हुनाले, त्यो सामान त्यसको मालिकले फिर्ता पाउने सम्भावना कम हुन जान्छ।—हितोपदेश १६:१९; १ थिस्सलोनिकी ४:६ सङ्ग तुलना गर्नुहोस्.
ग्राहकहरू—चाहे ती गृहिणीहरू हुन् वा कुनै कम्पनीका खरीद गर्ने एजेन्टहरू हुन्—जहिले पनि सस्तोमा माल किन्न खोज्दछन्। संसारभरिका आइमाईहरू भाउ घटाएर बेच्ने पसलहरूमा वा भाउ कम भएको बेलामा किन्ने मौका पर्खेर बस्छन् वा थोक सामान बेच्ने बजारबाट वा सानासाना पसलहरूबाट राम्रो भाउमा सामान किन्ने प्रयास गर्दछन्। (हितोपदेश ३१:१४) तापनि, यस प्रकार सस्तो माल खोज्ने चासोमा नैतिक लगाम लगाउनु पर्दछ। विश्राम-दिनमा सस्तो माल पाइए तापनि, नहेम्याहका समयका वफादार मानिसहरूले सो दिनमा किनमेल गर्दैन थिए। (नहेम्याह १०:३१; आमोस ८:४-६ सङ्ग तुलना गर्नुहोस्) मसीहीहरू पनि त्यस्तै हुन्। चोरीलाई तिनीहरूले इन्कार गरेको हुनाकारण, कम दाम मै बिक्री भइरहेका सम्भवतः चोरीका मालसामानहरू किन्ने लोभबाट अलग्ग बस्ने प्रेरणा तिनीहरूले पाउँदछन्।
केही खास बिक्रेताहरू चोरीका मालसामान बेच्ने गर्दछन् भन्ने कुरा प्रायः धेरैलाई थाह भएकै हुनसक्तछ। अथवा तपाईंलाई गोप्य रूपमा भनिएको कुनै दाम यति कम होला कि त्यो सामान पक्कै पनि कुनै गैर-कानुनी तरीकाबाट नै उपलव्ध भएको हुनु पर्छ भनेर जसले पनि बुझ्न सक्लान्। यस्तो कुरामा विवेक प्रयोग गर्ने आवश्यकता मुलुकको कानुनले पनि देखाउँदछ। विधिशास्त्रको एउटा खण्डले टिप्पणी गर्दछ:
“दोषी हुनका लागि माल कसको बाट, वा कसले वा कहिले वा कहाँबाट चोरी गरिएको हो भन्ने कुरा थाह हुन जरुरी छैन। त्यो चोरीको माल हो भनेर थाह मात्र छ भने पनि किन्ने मानिस दोषी हुनु सक्छ। . . . केही अदालतहरूले यो दृष्टिकोण राख्तछ कि कुनै पनि साधारण सोचसमझ भएको मानिसमा शङ्का उत्पन्न हुने किसिमको परिस्थितिमा कुनै सम्पत्तिको बिक्री भएको थियो भने, प्रतिवादीलाई त्यो माल चोरीको हो भनेर थाह भएकै ठानिनेछ।”
यसबाट पनि मसीहीहरूले चोरीको माल खरीद नगर्ने एउटा ठोस कारण प्रस्तुत हुँदछ। यस प्रकारको माल किन्नाले ऊ कानुन भङ्ग गर्ने व्यक्ति ठहरिन सक्तछ। पक्डाउमा नपरुञ्जेलसम्म धेरै मानिसहरू कानुन भङ्ग गर्न अलिकता पनि डराउँदैनन्। “उच्च अख्तियारवालाहरूका अधीनमा रहन” चाहने मसीहीहरूमा यस्तो विचार हुनु भएन। तिनीहरू कानुन पालन गर्ने भएको हुनाकारण, अपराधीहरूसित गरिने कानुनी कारवाईबाट तिनीहरू बच्न सक्तछन् र यहोवाका सामुन्ने एउटा सफा अन्तस्करण राख्नमा मद्दत पनि पाउँछन्।—रोमी १३:१, ४, ५.
अन्तस्करणबारे परमेश्वरका मित्र अब्राहामले एउटा राम्रो उदाहरण कायम गरे। तिनको समयमा, पूर्वका चारजना राजाहरूले लूत बसेको ठाउँका राजाहरूलाई पराजित गर्दै एक प्रकारको सैनिक चोरी गरेर धेरै नै किम्मती सामानहरू लगेका थिए। अब्राहामले तिनीहरूको पिछा गरे, दुश्मनहरूलाई फेला पारे, र तिनीहरूले चोरेर लगेका जम्मै सामानहरू फर्काएर ल्याए। सदोमका राजाले अब्राहामलाई भने: “धन-माल [इनामको रूपमा] तपाईंनै राख्नुहोस्।” तर अब्राहामले ती सामानहरू तिनका मालिकलाई नै यसो भन्दै फर्काइ दिए: “तपाईंको कुनै पनि थोक म लिनेछैनँ। नत्रता ‘मैले अब्रामलाई धनी तुल्याएँ’ भनेर तपाईं भन्नुहुनेछ।”—उत्पत्ति १४:१-२४.
चोरीका सामानहरूद्वारा हुने कुनै पनि आर्थिक फायदामा मसीहीहरूको चासो छैन। यर्मियाले लेखे: “आफूले नकाढ़ेका चल्ला बटुल्ने प्यूराजस्तै त्यो मानिस हो जसले अन्यायसित धन कमाउँछ।” (यर्मिया १७:११) यसकारण, चोरीको माल सम्बन्धी सिजरको कानुन भङ्ग नगरेर, बुद्धि प्रदर्शित गर्न बाहेक मसीहीहरूले ईश्वरीय न्यायलाई समर्थन गर्छन् र चोरी जस्तो अन्यायसित कुनै पनि रूपमा सम्मिलित हुँदैनन्। दाऊदले ठीकै लेखे: “धर्मात्माको थोरै मात्र भए तापनि दुष्टहरूको प्रशस्त धनभन्दा उत्तम हुन्छ।”—भजनसंग्रह ३७:१६. (w92 6/15)