वृद्धाश्रममा भएका वृद्धवृद्धालाई प्रचार गर्नुहोस्
१. वृद्धावृद्धालाई किन सुसमाचार सुनाउनुपर्छ?
१ बुढ्यौलीले गर्दा थुप्रैले विभिन्न स्वास्थ्य समस्या भोग्दै छन्। (उप. १२:१-७) केही वृद्धवृद्धा वृद्धाश्रममा बस्ने भएकोले तिनीहरूलाई घरघरको प्रचारमा सधैं भेट्न सकिंदैन। आफ्नो छोराछोरी वा नातेदारसित बस्ने चलन भएका देशहरूमा समेत वृद्ध आमाबुबालाई घरमै भेट्न गाह्रो छ। वृद्धवृद्धाको स्मरणशक्ति कमजोर हुन्छ अनि चलहल गर्न पनि गाह्रो हुन्छ। तैपनि तिनीहरू यहोवाबारे सिक्न र उहाँलाई माया गर्न सक्छन्। त्यसोभए तिनीहरूसम्म “सुखद आशा”-को सुसमाचार कसरी पुऱ्याउन सक्छौं?—ती. २:१३.
२. वृद्धाश्रमको सूची कसरी बनाउन सक्छौं?
२ कसरी सुरु गर्ने: टेलिफोन डाइरेक्टरी अथवा इन्टरनेटमा खोजेर वृद्धाश्रमको सूची बनाउन सकिन्छ। वृद्धाश्रममा कसलाई पठाउन सकिन्छ भनेर मण्डलीको सेवा निरीक्षकले सूची बनाउनुपर्छ। राम्ररी योजना बनायौं अनि यहोवामाथि भरोसा राख्यौं भने वृद्धवृद्धासित सामूहिक रूपमा बाइबल अध्ययन सुरु गर्न सकिन्छ।—हितो. २१:५; १ यूह. ५:१४, १५.
३, ४. (क) सामूहिक अध्ययनको प्रबन्ध मिलाउन कोसँग भेट्नुपर्छ? (ख) अध्ययन सुरु गर्न के-कस्ता योजना बनाउन सक्छौं?
३ वृद्धाश्रममा अध्ययन कुन तरिकामा गर्नुपर्छ? यो कुरा वृद्धाश्रम कस्तो छ, त्यसमा भर पर्छ। धेरै वृद्धवृद्धा अनि स्टाफ भएको वृद्धाश्रम हो भने रिसेप्सनमा गएर त्यहाँको निर्देशकलाई भेट्ने अनुमति माग्नु बेस हुन्छ। थोरै वृद्धवृद्धा अनि दुई/तीन जना स्टाफ भएको वृद्धाश्रम हो भने सीधै त्यहाँको सञ्चालकलाई भेट्नु राम्रो हुन्छ।
४ तपाईंलाई कुनै सङ्घसंस्थाले पठाएको होइन बरु आफ्नै खुसीले बाइबल पढ्न र त्यसबारे छलफल गर्न मन पराउने व्यक्तिहरूलाई मदत गर्दै हुनुहुन्छ भनेर निर्देशक वा सञ्चालकलाई बताउनुहोस्। हरेक हप्ता लगभग ३० मिनेट सामूहिक रूपमा बाइबल छलफल गर्न चाहने कोही छ कि भनेर सोध्नुहोस्। तपाईं विभिन्न प्रकाशन प्रयोग गर्न सक्नुहुन्छ। बाइबलका कथाहरू भएको मेरो पुस्तक र सबैभन्दा महान् पुरुष-बाट छलफल गर्न मन पराएको धेरै प्रकाशकले याद गरेका छन्। वृद्धाश्रमका निर्देशकलाई हाम्रा प्रकाशनहरू देखाउनुहोस्। तिनीसित कुरा गरेर अध्ययन गर्ने दिन, समय र ठाउँ निश्चित गर्नुहोस्। अनि तिनले त्यहाँको गतिविधिको तालिकामा त्यो कुरा समावेश गर्नेछन्। आफूलाई यहोवाको साक्षी भनेर चिनाउन अप्ठेरो नमान्नुहोस्। साथै तपाईं कुनै धार्मिक सेवा गर्ने उद्देश्यले होइन तर बाइबलको शिक्षा बाँड्ने उद्देश्यले आएको हो भनेर निर्देशनलाई बताउनुहोस्।
५. अध्ययनलाई रमाइलो अनि लाभदायी बनाउन के गर्न सकिन्छ?
५ अध्ययन सञ्चालन गर्ने: अध्ययन सञ्चालन गर्ने तरिका वृद्धाश्रमको अवस्था र माहोलमा भर पर्छ। त्यसैले लचिलो हुनुहोस् र अरूको अवस्था पनि विचार गर्नुहोस्। अध्ययन सञ्चालकले केही प्रकाशन साथमा लग्नुपर्छ र अध्ययन सकेपछि ती प्रकाशनहरू फिर्ता लैजानुपर्छ। कसै-कसैको लागि ठूलो साइजमा फोटोकपी गरिएको प्रकाशन लग्नुपर्ने हुन सक्छ। अनुच्छेद पढ्दै अनि प्रश्न-उत्तर गर्दै अध्ययन सञ्चालन गर्नुहोस्। पढ्न मन पराउने कोही छन् भने अनुच्छेद वा बाइबल पद पढ्न आग्रह गर्नुहोस्। मित्रैलो तरिकामा अध्ययन सञ्चालन गर्नुहोस्; नकारात्मक कुरामा जोड नदिनुहोस्। वृद्धाश्रमको निर्देशकको अनुमति लिएर कहिलेकाहीं बाइबलसित सम्बन्धित भिडियोहरू देखाउनुहोस्। अध्ययनको सुरु र अन्तमा छोटो प्रार्थना गर्न सकिन्छ। कुनै-कुनै प्रकाशकले राज्यगीत पनि गाउने गरेका छन्।
६. कसैले आपत्ति जनाएमा के गर्न सकिन्छ?
६ अध्ययन भइरहेको बेला कसैले कुनै कुरा चित्त नबुझेर आपत्ति जनाएमा के गर्ने? जवाफ दिनुअघि सोचविचार गर्नुहोस्। (कल. ४:६) बाइबलबाटै जवाफ दिनुहोस्। यसो गर्न सकिंदैन भने त्यस व्यक्तिसित अध्ययनपछि छुट्टै कुरा गर्न मिल्छ कि भनेर सोध्नुहोस्।
७. कसैले विषय बाहिरको प्रश्न सोध्दा वा अझ धेरै कुरा सिक्ने इच्छा देखाउँदा के गर्न सकिन्छ?
७ कसै-कसैले विषय बाहिरको प्रश्न सोध्न सक्छन् वा अझ धेरै कुरा सिक्ने इच्छा देखाउन सक्छन्। यस्तो अवस्थामा एक बहिनी यसो भन्ने गर्छिन्: “तपाईंले धेरै राम्रो प्रश्न सोध्नुभयो। तर यो विषयसित सम्बन्धित नभएकोले यसबारे अध्ययन सकेपछि कुरा गर्दा कसो होला?” चासो भएको व्यक्तिसित अर्को समयमा छुट्टै ठाउँमा अध्ययन गर्न सकिन्छ।
८. सामूहिक बाइबल अध्ययनको र कुनै व्यक्तिसित छुट्टै गरिएको अध्ययनको रिपोर्ट कसरी गर्नुपर्छ?
८ सुरुमा वृद्धाश्रम गएका प्रकाशकहरूले नै सामूहिक अध्ययन सञ्चालन गर्नु बेस हुन्छ। प्रकाशकहरूले अध्ययनमा बिताएको समय क्षेत्र सेवाको रिपोर्टमा लेख्नुपर्छ। जसले अध्ययन सञ्चालन गर्छ, उसले मात्र महिनामा एउटा बाइबल अध्ययन लेख्न सक्छ। अनि महिनामा जति चोटि अध्ययनको लागि गएको हो, त्यति नै वटा पुनःभेट लेख्न सकिन्छ। कसैसित छुट्टै अध्ययन सुरु भएको छ भने सदाजस्तै रिपोर्ट लेख्नुपर्छ।
९, १०. अध्ययन सञ्चालकहरूमा कस्ता गुण हुनुपर्छ? व्याख्या गर्नुहोस्।
९ निरन्तरता दिनुहोस्: सामूहिक अध्ययनको लागि एउटा निश्चित दिन र समय तोक्नु राम्रो हो। वृद्धवृद्धा र स्टाफहरूले नियमित रूपमा अध्ययन भएको अनि समयमै सुरु र अन्त भएको आशा गर्छन्। (मत्ती ५:३७) त्यसैले तोकिएको समयमै सुरु गर्न र अन्त गर्न कोसिस गर्नुहोस्। त्यसको लागि आफ्नो तालिका छाँटकाँट गर्नुहोस्। सामूहिक अध्ययन गर्न दुई जना छानिएका प्रकाशक जानु राम्रो हुन्छ भनेर अनुभवहरूले देखाएको छ। (उप. ४:९, १०) ठूलो वृद्धाश्रममा भने अझ धेरै प्रकाशक आवश्यक पर्न सक्छ।
१० मित्रैलो हुनु अनि चासो देखाउनु पनि महत्त्वपूर्ण छ। (फिलि. २:४) पहिलो भेटमा त्यहाँ उपस्थित सबै वृद्धवृद्धालाई भेटेर कुरा गर्नुहोस्। तिनीहरूको नाम लेख्नुहोस् र अर्को पटक जाँदा नाम कण्ठ पारेर जानुहोस्। यसो गर्दा हामीले तिनीहरूलाई चासो देखाइरहेका हुन्छौं। तिनीहरूको कुरा ध्यान दिएर सुन्दा अनि तिनीहरूको कुरा बुझिदिंदा तिनीहरू खुसी हुन्छन् र हामी आएको पनि मन पराउँछन्।
११. अध्ययन सञ्चालकले स्टाफ र वृद्धवृद्धाको परिवारका सदस्यहरूलाई कसरी आदर देखाउन सक्छन्?
११ वृद्धाश्रमका स्टाफहरू र वृद्धवृद्धाको परिवारका सदस्यहरूलाई दयालु अनि आदरपूर्वक व्यवहार गर्नु पनि महत्त्वपूर्ण छ। अध्ययन गर्न तय भइसकेको दिन र समय परिवर्तन गर्नुअघि पहिले त्यहाँको निर्देशकसित कुरा गर्नु बुद्धिमानी हुन्छ। अध्ययन गर्दा हामीले अझ ध्यान दिन सकिने केही कुरा छ कि भनेर निर्देशकलाई समयसमयमा सोध्नुहोस्। अध्ययन भइरहेको बेला वृद्धवृद्धाको परिवारका सदस्यहरू भेट्न आउँदा तिनीहरूसित कुरा गर्न अग्रसर हुनुहोस्। तिनीहरूलाई बाइबल अध्ययनको उद्देश्यबारे बताउनुहोस्। तिनीहरूलाई पनि निष्कपट चासो देखाउनुहोस् र अध्ययनमा बस्न आग्रह गर्नुहोस्।
१२, १३. वृद्धाश्रममा साक्षी दिनुका कस्ता फाइदा छन्, अनुभवहरू बताउनुहोस्।
१२ नतिजा: वृद्धाश्रममा अध्ययन गर्ने प्रबन्धबाट प्रोत्साहनदायी नतिजा हासिल भएको परिभ्रमण निरीक्षकहरू र मण्डलीहरूले रिपोर्ट गरेका छन्। जस्तै: एउटा वृद्धाश्रममा भएको पहिलो अध्ययनमा लगभग २० जना वृद्धवृद्धा उपस्थित भए। तीमध्ये ६ जनासित छुट्टाछुट्टै अध्ययन सुरु भयो। पछि एक जना वृद्धाले बप्तिस्मा गरिन्। अनि अर्को वृद्धाश्रमका ८५ वर्षीया वृद्धा राज्यभवनमा जान थालिन् र पछि बप्तिस्मा गर्ने इच्छा व्यक्त गरिन्। एउटा वृद्धाश्रमका निर्देशकले सामूहिक बाइबल अध्ययन हटाउने निर्णय गर्दा त्यहाँका वृद्धवृद्धाले निर्देशकसित गुनासो गरे। त्यसपछि अध्ययन पुनः सुरु भयो र अहिले २५-३० जना अध्ययन गर्दै छन्।
१३ हामीले वृद्धाश्रममा भएका वृद्धवृद्धालाई देखाएको मायाले अरूमा पनि प्रभाव पार्छ। उदाहरणको लागि, त्यहाँका स्टाफहरू पनि अध्ययनमा बस्छन् र छलफलमा भाग लिन्छन्। हामीले वृद्धवृद्धालाई देखाएको चासोले टोलछिमेकका मानिसहरूलाई पनि राम्रो साक्षी दिइरहेको हुन्छ। (१ पत्रु. २:१२) बाइबल अध्ययनको उद्देश्यबारे थाह पाएपछि एक प्रशासकले यसो भने: “यस्तो काममा त ढिलो गर्नु हुँदैन। कहिलेदेखि सुरु गर्नुहुन्छ त?” अर्को निर्देशकले यस्तो लेखे: “यस्तो सामूहिक अध्ययन सबै वृद्धाश्रममा गर्नुपर्छ। यहोवाका साक्षीहरूले टोलछिमेकका मानिसहरूलाई बाइबलको शिक्षा निश्शुल्क रूपमा दिइरहेका छन्।” हवाईको एउटा वृद्धाश्रमले यहोवाका साक्षीहरू “बहुमूल्य सम्पत्ति” हुन् भनेर ‘स्वयंसेवा पुरस्कार’ दियो।
१४. हामी वृद्धाश्रममा भएकाहरूलाई किन मदत गर्न चाहन्छौं?
१४ वृद्धवृद्धाले यहोवाको प्रशंसा गरून् भनेर उहाँले तिनीहरूलाई निम्तो दिनुभएको छ। (भज. १४८:१२, १३) हामी वृद्धाश्रममा पनि यस्तो निम्तो दिने गर्छौं। वृद्धवृद्धाले पनि सुसमाचारबाट लाभ उठाउन सक्छन्। तपाईंको इलाकामा वृद्धाश्रमहरू छन् कि? हामीले एल्डरहरू र वृद्धाश्रमका निर्देशकको मदत लिएर राम्रो साक्षी दिन सक्छौं। वृद्धवृद्धालाई चासो देखाउँदा हामीले यहोवाको अनुकरण गरिरहेका हुन्छौं।—भज. ७१:९, १८.