बोक्सीविद्याबारे तपाईंलाई थाह हुनुपर्ने कुराहरू
आधुनिक समयको बोक्सीविद्यालाई परिभाषित गर्न निकै गाह्रो छ। किनकि मानिसहरूले भिन्नाभिन्नै तरिकामा बोक्सीविद्या खेलाउँछन्। तिनीहरूको विश्वास यस्तै हो भनेर किटेर व्याख्या गर्न मिल्ने कुनै स्रोत वा सिद्धान्त अथवा पवित्र पुस्तक छैन। तिनीहरूको परम्परा, संगठन र रीतिथिति पनि बेग्लाबेग्लै छन् भने कुन परमेश्वरलाई आदर गर्ने भन्ने तिनीहरूको विचारधारा पनि बेग्लाबेग्लै छ। एउटी लेखिका यस्तो टिप्पणी गर्छिन्: “तन्त्रमन्त्र जगत्ले मानिसहरूलाई विचारधाराको ‘खुला बजार’ प्रदान गरेको छ।” अर्को लेखिका भन्छिन्: “धेरैजसो नव गैरमसीहीहरू प्रायः सबैजसो कुरामा एकअर्कासित सहमत हुँदैनन्।”
धेरैको विचारमा विरोधाभासले केही फरक पार्दैन। बोक्सी बन्न चाहनेहरूका निम्ति तयार पारिएको एउटा निर्देशन पुस्तक यसो भन्छ: “कुनै जानकारी विरोधाभासपूर्ण जस्तो लागेमा जाँचबुझ गर्नुहोस् र कुन जानकारी पालन गर्ने हो, निधो गर्नुहोस्। आफ्नो भित्री मनले के भन्छ, सुन्नुहोस्। अर्को शब्दमा भन्ने हो भने, रीतिथिति र रीतिथितिसम्बन्धि पुस्तकहरू नहिचकिचाईकन हेर्नुहोस् र कुन जानकारी सही होला भनेर आफै निधो गर्नुहोस्।”
सत्य कुरा बुझ्ने मानिसहरूलाई यस्ता विरोधाभासहरूले फरक पार्छ। सत्य, साँचो अर्थात् वास्तविक हुन्छ। सत्य होजस्तो लाग्दैमा वा सत्य हो भनेर आशा अथवा विश्वास गर्दैमा कुनै कुरा सत्य हुँदैन। उदाहरणका लागि, एकताक डाक्टरहरू जिउँदो कुखुरालाई दुई फ्याक पारेर बिरामीको छातीमा राख्यो भने निमोनिया निको हुन्छ भनेर विश्वास गर्थे। निस्सन्देह, यसो गरेमा निको हुन सकिन्छ होला भनेर थुप्रै बिरामीहरूले विश्वास पनि गरे। तथापि, तिनीहरूको विश्वास र आशा साँचो थिएन किनकि यस्तो उपचारविधिले निमोनिया निको हुनसक्दैन। मानिसहरूले सत्य कुरा बनाउन सक्दैनन्, त्यसलाई बुझ्ने कोसिसचाहिं गर्न सक्छन्।
सत्यमा आध्यात्मिक कुराहरू समावेश छन् भनेर बाइबलले दाबी गर्छ। येशू ख्रीष्ट पृथ्वीमा हुनुहुँदा उहाँले पितालाई प्रार्थनामा यसो भन्नुभयो: “तपाईंको वचन सत्य हो।” (यूहन्ना १७:१७) प्रेरित पावलले लेखे: ‘हरेक धर्मशास्त्र परमेश्वरबाट प्रेरणा भएको हो।’ (२ तिमोथी ३:१६) बोक्सीविद्या गर्ने थुप्रै मानिसहरू उक्त कुरा मानिलिंदैनन्। त्यसको सट्टा प्रेरणा र निर्देशनका लागि तिनीहरू मिथ्या र पुरातन धर्मका साथै विज्ञान कथामा समेत भर पर्छन्। तथापि, बाइबलले के भन्छ भनेर विचार गर्नु मात्र पनि के तार्किक कुरा होइन र? आखिर, संसारभरि नै यसलाई पवित्र पुस्तक भनेर स्वीकारिन्छ। साथै, अहिलेसम्म रहेका पुराना धार्मिक पुस्तकहरूमध्ये यो पनि एउटा हो। हुन त १,६०० वर्ष लगाएर बाइबल लेखिएको थियो तैपनि यसका शिक्षाहरूमा कुनै विरोधाभास छैन। आउनुहोस्, बोक्सीविद्यालाई अघि सार्न चाहने मानिसहरूको विश्वाससित बाइबलका शिक्षाहरू तुलना गरेर हेरौं।
आत्मिक संसारमा को हुन्छ?
आध्यात्मिक समझ पाउनको लागि जवाफ हासिल गर्नुपर्ने एउटा मुख्य प्रश्न हो, आत्मिक संसारमा को छ? आधुनिक समयका धेरैजसो बोक्सीहरू प्रकृतिवादका अनुयायी हुन्छन्, बहुदेववादमा विश्वास राख्छन्। कोहीचाहिं महान् माता-देवीको उपासना गर्छन् र त्यो देवीलाई कन्याकेटी, आमा र जीर्ण बुढी स्त्री गरेर तीनरूपमा अर्थात् जीवनका आधारभूत स्तरहरूको प्रतिनिधिको रूपमा प्रस्तुत गर्छन्। सिङ भएको देवचाहिं तिनको प्रेमी हो। त्यसै गरी, अरू बोक्सीहरू देव र देवी दुवैको सँगै उपासना गर्छन्। एक जना लेखक भन्छन्: “देवी र देवलाई प्रकृतिका स्त्रीत्व र पुरुषत्वका प्रकटीकरणको रूपमा मानिलिइन्छ। हरेकको आ-आफ्नै स्वभावहरू [छन्] र ती स्वभावहरूलाई एकसाथ मिलाउँदा जीवनको सामञ्जस्यपूर्ण सृष्टि हुन्छ।” अर्को विशेषज्ञ लेख्छिन्: “बोक्सीविद्यामा लागेपछि तपाईंले आफ्नो इच्छाअनुसार कुनै पनि (देवहरू/देवीहरू)-माथि विश्वास गर्नसक्नुहुन्छ। . . . यस विद्याले तपाईंलाई आफ्नै ईश्वर छानेर आदर गर्ने स्वतन्त्रता दिन्छ।”
बाइबलले यीमध्ये कुनै पनि विचारको समर्थन गर्दैन। येशू ख्रीष्टले आफ्नो सम्पूर्ण सेवकाईभरि अरूलाई “एकमात्र सत्य परमेश्वर” यहोवाबारे बताउनुभयो। (यूहन्ना १७:३) बाइबल यसो भन्छ: “परमप्रभु ता महान् र सारा प्रशंसाको योग्य हुनुहुन्छ। सबै देवताहरूभन्दा उहाँको भय बढ़ता मान्नुपर्छ। किनभने अन्यजातिहरूको हरेक देवता ता मूर्ति मात्र हो।”—१ इतिहास १६:२५, २६.
दियाबल नि? वेब्सटर्स नाइन्थ न्यु कलेजिएट डिक्शनेरी-ले बोक्सीविद्यालाई “दियाबलसितको कुराकानी” भनेर परिभाषित गरेको छ। आज यस कुरालाई मानिलिने बोक्सी सायद कमै होलान् किनकि थुप्रैले शैतान अर्थात् दियाबल छ भनेरसमेत मानिलिंदैनन्। दी आइरिश टाइम्स-ले “उच्च पदस्थ बोक्सी र आयरल्याण्डको बोक्सीहरूको एउटा मुख्य समाजको नेत्री” भनेर नाउँ दिएको एउटी युवतीको यस्तो तर्क प्रस्तुत गऱ्यो: “दियाबलमा विश्वास गर्नु भनेको मसीहीधर्मलाई स्वीकार्नु हो . . . परमेश्वर नभएको ब्रह्माण्डमा [दियाबल] हुनैसक्दैन।”
दियाबल छ र त्यसले पृथ्वीमा दुःखकष्ट र गोलमाल मच्चाएको छ भनेर बाइबलले प्रस्ट पार्छ। (प्रकाश १२:१२) येशूले दियाबलको अस्तित्व छ भनेर सिकाउनुका साथै चालै नपाई हामीले त्यसको इच्छा पूरा गरिरहेका हुनसक्छौं भनेर पनि देखाउनुभयो। उदाहरणका लागि, प्रथम शताब्दीका आत्मधर्मी धार्मिक नेताहरूले आफू परमेश्वरका पुत्रहरू हौं भनी जोड दिन्थे अनि परमेश्वरको इच्छा गर्दैछौं भनेर विश्वास पनि गर्थे। तर तिनीहरूको हृदयमा के छ भनेर बुझ्नसक्नुहुने येशूलाई खास कुरा थाह थियो। उहाँले तिनीहरूलाई यसरी सिधै भन्नुभयो: “तिमीहरू ता आफ्ना पिता, शैतानका तर्फबाटका हौ, औ आफ्नै पिताका अभिलाषा गर्ने इच्छा गर्छौ।” (यूहन्ना ८:४४) यसबाहेक, बाइबल पुस्तक प्रकाशले दियाबलले ‘सारा संसारलाई ठग्दैछ’ भनेर बताउँछ।—प्रकाश १२:९.
के हितकर जादुटुना पनि छ?
निस्सन्देह, जादुटुनालाई सधैं तन्त्रमन्त्रसित गाँसिन्छ।a पुरातन र आधुनिक दुवै समयका थुप्रै मानिसहरू बोक्सीहरूले अरूलाई हानि पुऱ्याउन जादुटुना गर्छन् भनेर विश्वास गर्छन्। बोक्सीहरूले जादुटुनाद्वारा असाध्यै दुःख दिन वा ज्यानसमेत लिनसक्छन् भनी मानिसहरू भन्छन्। पहिलादेखि नै दुर्दशाका साथै बिरामी, मृत्यु र बालीनाली नराम्रो हुँदा बोक्सीहरूलाई दोष दिने चलन चल्दै आएको छ।
आजकालका बोक्सीहरू यस्ता आरोपहरू पूर्णतया अस्वीकार गर्छन्। दुष्ट कार्य गर्ने ठग बोक्सीहरू पनि हुन्छन् भनेर मानिलिए तापनि प्रायजसो बोक्सीहरू चाहिं हानि गर्नलाई नभई अरूको हितका लागि जादुटुना गर्ने दाबी गर्छन्। बोक्सीहरू आफूले गर्ने जादुले स्वयम् आफूलाई तीन गुणा फाइदा पुऱ्याउँछ भनी विश्वास गर्छन् र यस्तो फाइदा नै अरूलाई नसराप्ने मुख्य कारण पनि हो भनी जोड दिन्छन्। आफूलाई सुरक्षित राख्न, बहालवालाहरूले छोडेका हानिकारक शक्तिहरूबाट आफ्नो घरलाई जोगाउन, कसैलाई आफ्नो मायाजालमा फसाउन, निको पार्न र स्वस्थ रहन, आफ्नो जागिर नगुमाउन र पैसा कमाउनको लागि गरिने जादुटुनाजस्ता लाभकारी भनौंदा मन्त्रहरूमा समावेश छन्। बोक्सीविद्याद्वारा यस्ता कुरा हासिल गर्न सकिन्छ भन्ने मानिसहरूको विश्वास भएको हुँदा यो लोकप्रिय हुनु कुनै अचम्मलाग्दो कुरा होइन।
तथापि, बाइबलमा फलाना जादु असल, फलाना जादु खराब भनेर छुट्याइएको छैन। मोशालाई दिइएको व्यवस्थामा परमेश्वरले आफ्नो दृष्टिकोण प्रस्ट पार्नुभयो। उहाँले यसो भन्नुभयो: ‘तिमीहरूले मंत्र-तंत्र नगर्नु।’ (लेवी १९:२६) हामी यस्तो लेखिएको पनि पाउँछौं: “जादुगरी गर्ने, टुना-मुना गर्ने, मसान जगाउने . . . तिमीहरूका बीचमा कोही नहोस्।”—व्यवस्था १८:१०, ११.
परमेश्वरले किन त्यसो भन्नुभयो? हाम्रो फाइदा हुने कुराहरूदेखि उहाँले हामीलाई रोक्न खोज्नुभएको होइन। यहोवाले आफ्ना जनहरूलाई माया गर्नुभएकोले अनि तिनीहरू डर र अन्धविश्वासको दास नहोऊन् भनेर उहाँले यी व्यवस्थाहरू दिनुभएको हो। उहाँ आफ्ना दासहरूले खाँचो परेका चीजहरू उहाँसित मागेको चाहनुहुन्छ। उहाँले “हरेक असल दान र हरेक उत्तम वरदान” दिनुहुन्छ। (याकूब १:१७) प्रेरित यूहन्नाले आफ्ना सँगी विश्वासीहरूलाई यस्तो आश्वसन दिए: “हामी जे माग्छौं, सो [परमेश्वरबाट] पाउँछौं, किनभने हामीले उहाँका आज्ञा पालन गर्छौं, र उहाँको दृष्टिमा मनपर्ने कुराहरू गर्छौं।”—१ यूहन्ना ३:२२.
दुष्ट आत्माहरू नि?
थुप्रै बोक्सीहरू बाइबलको यस कुरासित सहमत छन्: दुष्ट आत्माहरू हुन्छन्। बोक्सीविद्याका समर्थक एउटा निबन्धमा यस्तो चेताउनी दिन्छन्: “प्रेतहरू छन्: तिनीहरू हाम्रोजस्तै अदृश्य संसारमा छन्। . . . ‘शैतान’, ‘दुष्ट आत्मा’ र ‘भूत’ भन्ने पदहरू वास्तविक हुन्। तिनीहरू साँच्चै शक्तिशाली हुन्छन्। . . . यी शक्तिशाली प्रेतहरू . . . (कसैले मदत गरेको खण्डमा) हाम्रो संसारमा प्रवेश गर्न सक्छन्। . . . तिनीहरू तपाईंको शरीरमा प्रवेश गर्न सक्छन्। . . . र तपाईंलाई नियन्त्रणमा लिन सक्छन्। हो, हामीले भूत लागेका मानिसहरूबारे जतिपनि कुरा सुनेका छौं, त्यसमा सच्चाइ छ।”
बाइबलकालीन समयमा भूतप्रेतले मानिसहरूलाई विभिन्न तरिकामा दुःखकष्ट दिन्थे। त्यसरी दुःख पाउनेहरूमध्ये कोही लाटा हुन्थे, कोही अन्धो हुन्थे, कोही पागल हुन्थे अनि कोहीले चाहिं असाधारण शक्ति पाउँथे। (मत्ती ९:३२; १२:२२; १७:१५, १८; मर्कूस ५:२-५; लूका ८:२९; ९:४२; ११:१४; प्रेरित १९:१६) कहिलेकाहीं एउटै मानिसमा थुप्रै भूतहरू पस्दा एकदमै दुःख हुन्थ्यो। (लूका ८:२, ३०) तसर्थ, यहोवाले मानिसहरूलाई बोक्सीविद्या र अरू तन्त्रमन्त्रबाट टाढा रहनु भनेर चेताउनी दिनुको ठोस कारण छ।
सत्यमा आधारित धर्म
आज धेरै मानिसहरू बोक्सीविद्यातर्फ आकर्षित भइरहेका छन् किनकि त्यो हेर्दा अहानिकारक, दयालु अनि प्रकृतिवादी धर्मजस्तो देखिन्छ। कुनै कुनै समुदायमा यसलाई स्वीकारिएको पनि छ। बोक्सीविद्यादेखि मानिसहरू डराउँदैनन्। बरु, यसलाई मामुली कुरा पो ठानिन्छ। अनौठोभन्दा अनौठा कुराहरूको पछि समेत लाग्ने छुट दिने धार्मिक सहिष्णुताको वातावरणमा बोक्सीविद्याले झनै मान्यता पाएको छ।
निस्सन्देह, धर्महरूको संसार एउटा पसलजस्तै भएको छ जहाँ मानिसहरूले आफूलाई मनपरेको जुत्ता छानेर लगेजस्तै आफ्नो आवश्यकताअनुसार धर्म छान्न सक्छन्। त्यसको ठीक विपरीत येशूले छनौट गर्न सकिने दुइटा धर्म मात्र छ भनेर बताउनुभयो। उहाँले यसो भन्नुभयो: “साँघुरो ढोकाबाट भित्र पस, किनभने विनाशमा पुऱ्याउने ढोका फराकिलो र बाटो चौड़ा हुन्छ, र यसबाट भित्र पस्नेहरू धेरै हुन्छन्। किनभने त्यो ढोका साँघुरो हुन्छ, औ त्यो बाटो असजिलो हुन्छ, जसले चाहिं जीवनमा पुऱ्याउँछ, र त्यो भेट्टाउने थोरै हुन्छन्।” (मत्ती ७:१३, १४) हो, हामीले कुनै पनि मार्ग पछ्याउनसक्छौं। तर हाम्रो अनन्त हित खतरामा पर्ने हुँदा सही छनौट गर्नु एकदमै महत्त्वपूर्ण छ। आध्यात्मिक ज्ञान पाउन हामीले सत्यको मार्ग खोज्नुपर्छ, जुन परमेश्वरको वचन बाइबलमा मात्र पाइन्छ।
[फुटनोट]
a अंग्रेजीमा कसैकसैले तन्त्रमन्त्र र मञ्चमा देखाइने जादुलाई छुट्याउन बेग्लाबेग्लै शब्द “म्याजिक” प्रयोग गर्छन्। g19-br-१३-४ पृष्ठ २३ मा “जादूटोना गर्नुमा के कुनै खतरा छ?” हेर्नुहोस्।
[पृष्ठ ५-मा भएको चित्र]
आज थुप्रैले बोक्सीविद्यालाई अहानिकारक प्राकृतिक धर्म ठान्छन्
[पृष्ठ ६-मा भएको चित्र]
जादुटुना अनि तन्त्रमन्त्रलाई सधैं सँगै लिइन्छ
[पृष्ठ ६-मा भएको चित्र]
के बोक्सीविद्या गर्नेहरूले अन्जानमा दियाबलको इच्छा गरिरहेका हुन्?
[पृष्ठ ७-मा भएका चित्रहरू]
बाइबलले सत्यको मार्ग प्रकट गर्छ