प्रश्न पेटी
◼ कुनै प्रकाशकले अर्को मुलुकमा बस्ने अपरिचित व्यक्तिलाई साक्षी दिन वा अध्ययन गराउन इन्टरनेट प्रयोग गर्नु उचित हो?
कुनै-कुनै प्रकाशकले प्रचारकार्यमा प्रतिबन्ध लगाइएको वा थोरै प्रकाशक भएको मुलुकका मानिसहरूलाई इन्टरनेटमार्फत बाइबल अध्ययन गराउँछन्। यसले गर्दा कुनै-कुनै अवस्थामा राम्रो नतिजा हासिल भएको छ। तर प्रकाशकहरूले अपरिचित व्यक्तिहरूसित यसरी इमेल वा च्याट रुममार्फत बाइबलबारे छलफल गर्नु खतरनाक हुन सक्छ। (हाम्रो राज्य सेवकाई, जुलाई २००७, पृ. ७ हेर्नुहोस्।) नम्र हृदय भएकाहरूलाई राज्यको सुसमाचार सुनाउने उद्देश्यले हाम्रा दाजुभाइ दिदीबहिनीले इन्टरनेट प्रयोग गरेका हुन सक्छन्। तर यसले तिनीहरूलाई नराम्रो सङ्गतमा फसाउन सक्छ। यति मात्र होइन, तिनीहरू धर्मत्यागीहरूसित सङ्गत गर्ने अवस्थामा पनि पुग्न सक्छन्। (१ कोरि. १:१९-२५; कल. २:८) साथै राज्य गतिविधिमा रोक वा प्रतिबन्ध लगाइएका मुलुकहरूका मानिसहरूसित आदानप्रदान गरिने इमेलहरूलाई अख्तियारवालाहरूले निगरानी गरिरहेका हुन सक्छन्। यसले स्थानीय दाजुभाइ दिदीबहिनीहरूलाई खतरामा पार्न सक्छ। त्यसैले प्रकाशकहरूले सुसमाचार सुनाउन अनलाइनमार्फत अरू मुलुकका मानिसहरू खोज्नु उचित होइन।
छोटो समयको लागि अर्कै मुलुकबाट आएका कुनै व्यक्तिलाई अनौपचारिक साक्षी दिन्छौं र तिनी आफ्नो देश फर्के भने तिनको चासो बढाउन हामी आफैले सम्पर्क गरिरहनु आवश्यक छैन। तर स्थानीय शाखा कार्यालयको निर्देशनमा भने त्यसो गर्न सकिन्छ। त्यसबाहेक चासो दिने व्यक्तिलाई थप जानकारी पाउन jw.org कसरी चलाउने अथवा शाखा कार्यालयसित कसरी सम्पर्क गर्ने भनेर देखाउन सक्छौं। साथै तिनलाई पायक पर्ने राज्यभवन जान प्रोत्साहन दिन सक्छौं। कुनै-कुनै मुलुकमा राज्यभवन छैन। यस्तो अवस्थामा तिनलाई भेट्न कुनै साक्षी आएको तिनी चाहन्छन् भने कृपया भेट्नुहोस् (S-43) फाराम भरेर सचिवलाई दिनुपर्छ। सचिवले फाराममा लेखिएको जानकारी jw.org मा गएर भर्नेछन् र शाखा कार्यालयमा पठाउनेछन्। त्यस देशको ईश्वरतान्त्रिक गतिविधिको रेखदेख गर्ने शाखा कार्यालयले चासो देखाउने व्यक्तिको परिस्थिति राम्ररी बुझेर तिनलाई आध्यात्मिक मदत दिने प्रबन्ध मिलाउनेछन्।—हाम्रो राज्य सेवा, जून २०१४, पृ. ७ र नोभेम्बर २०११, पृ. २ हेर्नुहोस्।
हामीले भेट्दै गरेको कुनै व्यक्ति अर्को देशमा बसाइँ सरेमा अथवा कसैले हामीसित इन्टरनेटमार्फत बाइबल अध्ययन गरिरहेका छन् भने हामीले माथि दिइएको निर्देशन पालन गर्नुपर्छ। तर तिनी बस्ने इलाकाको कुनै प्रकाशकले तिनलाई नभेटेसम्म हामीले तिनको चासो जगाइराख्न सक्छौं। हामीसित अध्ययन गरिरहेको व्यक्ति रोक अथवा प्रतिबन्ध लगाइएको मुलुकमा बस्छन् भने चिठी, टेलिफोन वा कुनै इलेक्ट्रोनिक साधनमार्फत बाइबलबारे छलफल गर्दा होसियार हुनुपर्छ।—मत्ती १०:१६.
◼ कुनै घरधनीले आफ्नो घरमा यहोवाका साक्षीहरू आएको चाहँदैनन् भनेर स्पष्टसित भन्छन् भने के गर्न सकिन्छ?
धर्मसित सम्बन्धित कुनै पनि कामको लागि आउने मानिसहरू अथवा खासगरि यहोवाका साक्षीहरूलाई प्रवेश निषेध छ भन्ने सङ्केत ढोकामा छ भने हामीले घरधनीको इच्छालाई कदर गर्दै त्यहाँ ढोका नढक्ढक्याउनु नै बेस हुन सक्छ।
सरसामान बेच्ने अथवा चन्दा उठाउनेहरू प्रवेश गर्न मनाही छ भन्ने सङ्केत ढोकामा हुन सक्छ। यस्तो अवस्थामा भने त्यो कुरा हामीमा लागू हुँदैन किनभने हामी मानिसहरूको भलाइको काम गर्नेहरू हौं। हामीले यस्तो ठाउँमा ढोका ढक्ढक्याउन सक्छौं। घरधनीले आपत्ति जनाउँछन् भने हाम्रो सन्दर्भमा त्यो कुरा किन लागू हुँदैन भनेर विवेकी भएर बताउन सक्छौं। तर यहोवाका साक्षीहरूलाई पनि प्रवेश गर्न निषेध छ भनेर घरधनीले स्पष्टसित आफ्नो विचार बताएमा हामीले तिनको कदर गर्नुपर्छ।
हामी प्रचार गर्दै जाँदा कुनै घरधनी असाध्यै रिसाउलान् र तिनको घरमा फेरि कहिल्यै नआउनू भनेर स्पष्टसित भन्लान्। त्यसो भन्नुको कारण बुझ्न खोज्दा पनि तिनी हामीसित कुरै गर्न चाहँदैनन् भने हामीले तिनलाई कर गर्नु हुँदैन। यसबारे इलाकाको नक्सा राख्ने खामभित्र मितिसहित एउटा टिपोट राख्नुपर्छ। यसो गर्दा त्यस इलाकामा फेरि प्रचार गर्ने प्रकाशकहरू त्यस घरमा जानेछैनन्।
यस्ता घरहरूमा कहिल्यै प्रचार नगर्ने त होइन। हाम्रो भेट त्यसै परिवारको अर्को सदस्यसित हुन सक्छ जसलाई हाम्रो सन्देश मन पर्न सक्छ। अथवा त्यहाँ बस्ने व्यक्ति अर्को ठाउँमा बसाइँ सरेका हुन सक्छन्। जुन घरधनीसित हामीले कुरा गरेका थियौं तिनको मन परिवर्तन भएको पनि हुन सक्छ र हाम्रो कुरा सुन्न तिनी राजी हुन सक्छन्। त्यसैले केही समयपछि कौशल अपनाएर तिनको मनोवृत्ति बुझ्न तिनलाई भेट्न जानु राम्रो हो।
वर्षको एक पटक इलाका रेकर्ड हेरेर हामीसित भेट्नै नचाहने मानिसहरूको ठेगानाको सूची बनाउनुपर्छ। त्यस्ता घरहरूमा प्रचार गर्न सेवा निरीक्षकले सिपालु अनि अनुभवी प्रकाशकहरूलाई खटाउन सक्छन्। त्यहाँ अरू नै कोही बस्छन् कि भनेर बुझ्न आएका हौं भनेर तिनलाई बताउन सक्छौं। छलफल सुरु गर्ने पुस्तिकाको पृष्ठ ७-१६ मा भएको “वार्तालाप बाधकलाई कसरी जवाफ दिन सक्नुहुन्छ?” भन्ने शीर्षकमुनिका विषयवस्तुसित प्रकाशक परिचित हुनुपर्छ। यदि घरधनीले विरोध गरेनन् भने तिनलाई भविष्यमा फेरि भेट्न सकिन्छ। तर तिनी अझै पनि हामीलाई विरोध गर्छन् भने एक वर्षसम्म त्यहाँ नजानु नै बेस हुन्छ। एल्डरहरूको निकायले यस्तै कुनै-कुनै समस्यालाई अन्य व्यावहारिक तरिकामा समाधान गर्ने निर्णय पनि गर्न सक्छन्।