प्रहरीधरहरा अनलाइन पुस्तकालय
प्रहरीधरहरा
अनलाइन पुस्तकालय
नेपाली साङ्केतिक भाषा
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt २ राजा १:१-२५:३०
  • २ राजा

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • २ राजा
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
पवित्र बाइबल नयाँ संसार अनुवाद
२ राजा

दोस्रो राजा

१ आहाबको मृत्युपछि मोआबले+ इस्राएलको विद्रोह गर्न थाल्यो।

२ त्यसै समयतिरको कुरा हो, आहाज्याह सामरियामा आफ्नो महलको छतको झ्यालबाट* खसेर घाइते भए। त्यसैले तिनले आफ्ना सन्देशवाहकहरूलाई यस्तो हुकुम गरे: “गएर एक्रोनका+ देवता बाआल-जिबुबलाई म निको हुन्छु कि हुँदिनँ भनी सोधेर आओ।”+ ३ तर यहोवा परमेश्‍वरका स्वर्गदूतले तिस्बेली एलियाकहाँ* आएर भने:+ “उठ! गएर सामरियाका राजाका सन्देशवाहकहरूलाई भेट अनि यसो भन, ‘के इस्राएलमा कुनै परमेश्‍वर हुनुहुन्‍न? तिमीहरू किन एक्रोनका+ देवता बाआल-जिबुबलाई सोधपुछ गर्न जाँदै छौ? ४ यहोवा परमेश्‍वर राजालाई यसो भन्‍नुहुन्छ: “तिमी अब आफ्नो ओछ्यानबाट उठ्‌नेछैनौ, तिमी अवश्‍य मर्नेछौ।”’” त्यसपछि एलिया त्यहाँबाट गए।

५ ती सन्देशवाहकहरू फर्केर आएको देख्नेबित्तिकै राजाले तिनीहरूलाई सोधे: “तिमीहरू किन फर्क्यौ?” ६ तिनीहरूले जवाफ दिए: “एक जना मान्छे हामीलाई भेट्‌न आयो र यसो भन्यो, ‘तिमीहरूलाई पठाउने राजाकहाँ गएर यसो भनिदेऊ, “यहोवा परमेश्‍वर भन्‍नुहुन्छ: ‘के इस्राएलमा कुनै परमेश्‍वर हुनुहुन्‍न? तिमी किन एक्रोनका देवता बाआल-जिबुबलाई सोधपुछ गर्न आफ्ना मानिसहरू पठाउँछौ? त्यसैले तिमी अब आफ्नो ओछ्यानबाट उठ्‌नेछैनौ, तिमी अवश्‍य मर्नेछौ।’”’”+ ७ तब राजाले तिनीहरूलाई सोधे: “तिमीहरूलाई भेटेर यी सबै कुरा बताउने त्यो मान्छे कस्तो देखिन्थ्यो?” ८ तिनीहरूले जवाफ दिए: “उसले भुत्लाबाट बनेको लुगा लगाएको थियो+ र कम्मरमा छालाको पटुका बाँधेको थियो।”+ राजाले तुरुन्तै यसो भने: “तिनी त तिस्बेली एलिया हुन्‌।”

९ त्यसपछि राजाले ५० जना सैनिकका एक कप्तानलाई एलियाकहाँ पठाए। ती कप्तान आफ्ना सैनिकहरूसहित एलियालाई भेट्‌न जाँदा उनी डाँडाको टुप्पोमा बसिरहेका थिए। तब तिनले भने: “हे साँचो परमेश्‍वरका सेवक!+ राजा यस्तो हुकुम गर्नुहुन्छ, ‘तल आऊ!’” १० तर एलियाले जवाफ दिए: “यदि म परमेश्‍वरको सेवक हुँ भने आकाशबाट आगोको मुस्लो आओस्‌+ र तिमी अनि तिमीसँग भएका ५० जनालाई भस्म पारोस्‌।” तब आकाशबाट आगोको मुस्लो आयो र ती कप्तान अनि तिनका ५० जना मानिसलाई भस्म पाऱ्‍यो।

११ राजाले फेरि ५० जना सैनिकका अर्का कप्तानलाई तिनका सैनिकहरूसहित एलियाकहाँ पठाए। तिनी एलियाकहाँ गए र उनलाई भने: “हे साँचो परमेश्‍वरका सेवक! राजा यस्तो हुकुम गर्नुहुन्छ, ‘झट्टै तल आऊ!’” १२ तर एलियाले तिनीहरूलाई जवाफ दिए: “यदि म साँचो परमेश्‍वरको सेवक हुँ भने आकाशबाट आगोको मुस्लो आओस्‌ र तिमी अनि तिमीसँग भएका ५० जनालाई भस्म पारोस्‌।” तब परमेश्‍वरले आकाशबाट आगोको मुस्लो पठाउनुभयो र त्यसले ती कप्तान अनि तिनका ५० जना मानिसलाई भस्म पाऱ्‍यो।

१३ त्यसपछि राजाले तेस्रो पटक ५० जना सैनिकका अर्का कप्तानलाई तिनका सैनिकहरूसहित एलियाकहाँ पठाए। तिनी डाँडा उक्लेर एलियाकहाँ गए र घुँडा टेकेर एलियासँग दयाको भीख माग्दै यसो भने: “हे साँचो परमेश्‍वरका सेवक! बिन्ती छ, मेरो जीवन र तपाईँका यी ५० जना सेवकको जीवन तपाईँको नजरमा अनमोल ठहरियोस्‌। १४ यसअघि आएका दुई जना कप्तान र तिनीहरूका ५०-५० जना सैनिकहरूको दललाई आगोले भस्म पाऱ्‍यो। तर ममाथि दया गर्नुहोस्‌ र मेरो ज्यान नलिनुहोस्‌।”

१५ तब यहोवा परमेश्‍वरका स्वर्गदूतले एलियालाई यसो भने: “ऊसँग नडराऊ। ऊसँगै ओर्लेर तल जाऊ।” त्यसैले एलिया उठे अनि ती कप्तानसँगै डाँडाबाट ओर्लेर राजाकहाँ गए। १६ त्यसपछि एलियाले राजालाई यसो भने, “यहोवा परमेश्‍वर भन्‍नुहुन्छ: ‘तिमीले किन एक्रोनका+ देवता बाआल-जिबुबलाई सोधपुछ गर्न आफ्ना मानिसहरू पठायौ?+ के इस्राएलमा कुनै परमेश्‍वर हुनुहुन्‍न? तिमीले किन उहाँसँग सोधपुछ गरेनौ? त्यसैले तिमी अब आफ्नो ओछ्यानबाट उठ्‌नेछैनौ, तिमी अवश्‍य मर्नेछौ।’” १७ यहोवा परमेश्‍वरले एलियामार्फत जुन सन्देश पठाउनुभएको थियो, त्यसअनुसारै राजा मरे। राजाको कुनै छोरा थिएन। त्यसैले तिनीपछि यहोराम*+ राजा भए। त्यसबेला यहोसापातका छोरा, यहुदाका राजा यहोरामको+ शासनकालको दोस्रो वर्ष चलिरहेको थियो।

१८ आहाज्याहको+ जीवनकालका बाँकी घटनाहरू र तिनले गरेका कामहरू इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्‌।

२ यहोवा परमेश्‍वरले एलियालाई+ आँधीमार्फत+ आकाशतिर लैजान लाग्नुभएको थियो। त्यसबेला एलिया र एलिसा+ गिलगालबाट+ निस्केर जाँदै थिए। २ एलियाले एलिसालाई यस्तो आग्रह गरे: “तिमी यहीँ बस। किनकि यहोवा परमेश्‍वरले मलाई बेथेल जाने आदेश दिनुभएको छ।” तर एलिसाले भने: “जीवित परमेश्‍वर यहोवाको र तपाईँको जीवनको कसम खाएर भन्छु, म तपाईँलाई छोडेर जादिनँ।” त्यसैले तिनीहरू दुवै जना बेथेल गए।+ ३ त्यसपछि बेथेलमा ‘भविष्यवक्‍ताहरूका छोराहरू’* एलिसाकहाँ आए र तिनलाई भने: “यहोवा परमेश्‍वरले तिम्रा शिर, तिम्रा मालिकलाई आज तिमीबाट अलग गर्दै हुनुहुन्छ भनेर तिमीलाई थाह छ?”+ तब तिनले भने: “मलाई थाह छ। यस विषयमा केही नभन।”

४ तब एलियाले एलिसालाई यस्तो आग्रह गरे: “तिमी यहीँ बस। किनकि यहोवा परमेश्‍वरले मलाई यरिहो जाने आदेश दिनुभएको छ।”+ तर एलिसाले भने: “जीवित परमेश्‍वर यहोवाको र तपाईँको जीवनको कसम खाएर भन्छु, म तपाईँलाई छोडेर जादिनँ।” त्यसैले तिनीहरू दुवै जना यरिहो गए। ५ त्यसपछि यरिहोमा भएका ‘भविष्यवक्‍ताहरूका छोराहरू’ एलिसाकहाँ आए र तिनलाई भने: “यहोवा परमेश्‍वरले तिम्रा शिर, तिम्रा मालिकलाई आज तिमीबाट अलग गर्दै हुनुहुन्छ भनेर तिमीलाई थाह छ?” तब तिनले भने: “मलाई थाह छ। यस विषयमा केही नभन।”

६ तब एलियाले एलिसालाई यस्तो आग्रह गरे: “तिमी यहीँ बस। किनकि यहोवा परमेश्‍वरले मलाई यर्दन नदी जाने आदेश दिनुभएको छ।” तर एलिसाले भने: “जीवित परमेश्‍वर यहोवाको र तपाईँको जीवनको कसम खाएर भन्छु, म तपाईँलाई छोडेर जादिनँ।” त्यसैले तिनीहरू दुवै जना त्यहाँबाट गए। ७ ‘भविष्यवक्‍ताहरूका छोराहरू’-मध्ये ५० जना तिनीहरूको पछिपछि गए। एलिया र एलिसा यर्दन नदीको किनारामा पुग्दा ती ५० जनाले परै उभिएर तिनीहरूलाई हेरिरहेका थिए। ८ त्यसपछि एलियाले आफ्नो लुगा* लिए+ र त्यसलाई बटारेर पानीमा हिर्काए। तब नदीको पानी दायाँ र बायाँ अलग भयो। त्यसपछि तिनीहरूले सुक्खा जमिनमा हिँडेर नदी पार गरे।+

९ नदीको पारिपट्टि पुग्नेबित्तिकै एलियाले एलिसालाई सोधे: “म तिम्रो निम्ति के गरिदिऊँ? परमेश्‍वरले मलाई लैजानुअघि नै भनिहाल।” त्यसैले एलिसाले यसो भने: “बिन्ती छ, मलाई तपाईँको शक्‍तिको* दुई भाग+ दिनुहोस्‌।”+ १० एलियाले भने: “तिमीले त मसँग साह्रै गाह्रो कुरा माग्यौ। मलाई यहाँबाट उठाएर माथि लगिएको तिमीले देख्यौ भने तिम्रो इच्छा पूरा हुनेछ, देखेनौ भने पूरा हुनेछैन।”

११ तिनीहरू आपसमा कुरा गर्दै हिँडिरहेको बेला अचानक त्यहाँ अग्निमय रथ र अग्निमय घोडाहरू देखा परे+ अनि तिनीहरू दुई जनालाई अलग पारे। त्यसपछि आँधीले एलियालाई आकाशतिर उठाएर लग्यो।+ १२ एलिसा मास्तिर हेर्दै यसो भनेर कराइरहेका थिए: “हे मेरा बुबा! हे मेरा बुबा! मैले इस्राएलका रथ र घोडचढीहरू देखेँ!”+ जब एलिया आँखाबाट ओझेल भए, तब एलिसाले आफ्नो लुगा च्याते।+ १३ त्यसपछि उनले भुईँमा खसेको एलियाको लुगा टिपे+ अनि यर्दन नदी फर्केर किनारामा उभिए। १४ उनले एलियाको लुगा लिएर पानीलाई हिर्काए अनि यसो भने: “एलियाका परमेश्‍वर यहोवा कहाँ हुनुहुन्छ?” जब उनले पानीलाई हिर्काए, तब नदीको पानी फाटेर दायाँ र बायाँ जम्मा भयो अनि उनी नदीको पारिपट्टि गए।+

१५ यरिहोका ‘भविष्यवक्‍ताहरूका छोराहरू’-ले परबाट एलिसालाई देखेपछि आपसमा यसो भने: “एलियाको शक्‍ति एलिसामाथि आएको छ।”+ त्यसैले तिनीहरू उनलाई भेट्‌न गए र भुईँसम्मै शिर निहुराएर प्रणाम गरे। १६ त्यसपछि तिनीहरूले उनलाई भने: “यहाँ ५० जना योग्य पुरुष हाजिर छन्‌। बिन्ती छ, यिनीहरूलाई तपाईँका मालिकलाई खोज्न जान दिनुहोस्‌। सायद यहोवा परमेश्‍वरको शक्‍तिले* उहाँलाई उठाएर लग्यो होला र कतै पहाड वा बेँसीमा लगेर छोडिदियो होला।”+ तर उनले भने: “उनीहरूलाई पठाउनुपर्दैन।” १७ तिनीहरूले एलिसालाई दिक्क लाग्नेगरि कर गरिरहे। त्यसैले उनले तिनीहरूलाई भने: “ठीक छ। उनीहरूलाई पठाइदेओ।” तब तिनीहरूले ५० जना पुरुषलाई एलियालाई खोज्न पठाए। उनीहरूले तिनलाई तीन दिनसम्म धुइँपत्ता खोजे तर कतै भेट्टाएनन्‌। १८ त्यसैले उनीहरू एलिसाकहाँ फर्केर आए। त्यसबेला उनी यरिहोमा थिए।+ एलिसाले उनीहरूलाई भने: “मैले तिमीहरूलाई नजानू भनेकै थिएँ नि!”

१९ केही समयपछि सहरका मानिसहरूले एलिसालाई भने: “हे हाम्रा मालिक, हाम्रो सहर कत्ति राम्रो ठाउँमा बसालिएको छ भनेर तपाईँले देख्नुभएकै छ।+ तर यहाँको पानी राम्रो छैन र जमिन पनि उर्वर छैन।”* २० तब उनले भने: “एउटा नयाँ कचौरा यहाँ ल्याओ र त्यसमा नुन हाल।” अनि मानिसहरूले कचौरामा नुन हालेर ल्याए। २१ त्यसपछि उनी पानीको मुहानमा गए र त्यो नुन त्यसमा खन्याएर+ यसो भने: “यहोवा परमेश्‍वर भन्‍नुहुन्छ, ‘मैले यो पानीलाई शुद्ध पारिदिएको छु। अब यसको कारण कसैको मृत्यु हुनेछैन वा कुनै स्त्री बाँझी हुनेछैन।’”* २२ अनि एलिसाले भनेझैँ पानी शुद्ध भयो र त्यहाँको पानी अहिलेसम्म पनि शुद्धै छ।

२३ त्यहाँबाट उनी बेथेल गए। उनी बाटोमा हिँडिरहेको बेला केही ठिटा सहरबाट निस्केर उनलाई यसो भन्दै गिज्याउन थाले:+ “ए तालुखुइले! यहाँबाट जा! ए तालुखुइले! यहाँबाट जा!” २४ केही बेरपछि उनले पछाडि फर्केर ती ठिटाहरूलाई हेरे र तिनीहरूलाई यहोवा परमेश्‍वरको नाममा सराप दिए। त्यसपछि दुई वटा माउ भालु+ जङ्‌गलबाट निस्केर आयो र तिनीहरूमध्ये ४२ जनालाई च्यातचुत पारिदियो।+ २५ त्यसपछि उनी कर्मेल डाँडा गए+ र त्यहाँबाट उनी सामरिया फर्के।

३ यहुदाका राजा यहोसापातको शासनकालको १८ औँ वर्षमा आहाबका छोरा यहोराम+ सामरियामा इस्राएलका राजा भए। तिनले १२ वर्ष शासन गरे। २ तिनले यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरिरहे तर तिनका बुबाआमाले जत्तिकै त होइन। किनकि तिनले आफ्नो बुबाले बाआलको लागि बनाएको पवित्र थाम* हटाइदिए।+ ३ तर नबातका छोरा यरोबामले इस्राएललाई जुन पापहरू गर्न लगाएका थिए,+ यहोरामले ती पापहरू गर्न छोडेनन्‌।

४ मोआबका राजा मेसाले भेडापालन गर्थे। उनले इस्राएलका राजालाई तिरोस्वरूप १ लाख पाठो र ऊन नकत्रिएका १ लाख थुमा दिने गर्थे। ५ तर आहाबको मृत्यु हुनेबित्तिकै+ मोआबका राजाले इस्राएलका राजाको विद्रोह गर्न थाले।+ ६ त्यसैले राजा यहोराम सामरियाबाट निस्के अनि सारा इस्राएललाई युद्धको निम्ति भेला गरे। ७ साथै उनले यहुदाका राजा यहोसापातकहाँ यो सन्देश पठाए: “मोआबका राजाले मेरो विद्रोह गरेका छन्‌। के तपाईँ मोआबसित लड्‌न मलाई साथ दिनुहुन्छ?” यहोसापातले जवाफ दिए: “म तपाईँलाई साथ दिनेछु।+ हामी दुई जना एकै हौँ। मेरा मानिसहरू तपाईँका मानिसहरू हुन्‌ र मेरा घोडाहरू तपाईँका घोडाहरू हुन्‌।”+ ८ तब यहोसापातले सोधे: “कुन बाटो भएर आक्रमण गर्न जाँदा ठीक होला?” यहोरामले जवाफ दिए: “एदोमको निर्जनभूमिको बाटो।”

९ त्यसपछि इस्राएलका राजा यहुदाका र एदोमका+ राजाहरूसित निस्के। तिनीहरूले सात दिन हिँडेर एक फन्को लगाएपछि तिनीहरूको पछिपछि लागेका सेना र वस्तुभाउको निम्ति पानी सिद्धियो। १० तब इस्राएलका राजाले भने: “यो हामीमाथि कत्रो विपत्ति आइलाग्यो! यहोवा परमेश्‍वरले हामी तीन राजालाई मोआबीहरूको हातमा सुम्पिन पो यहाँ ल्याउनुभएको रहेछ।” ११ यहोसापातले भने: “यहोवा परमेश्‍वरसित सल्लाह माग्नलाई के यहाँ यहोवाका कोही भविष्यवक्‍ता छैनन्‌?”+ तब इस्राएलका राजाका एक सेवकले जवाफ दिए: “सापातका छोरा एलिसा छन्‌,+ जसले एलियाको हातमा पानी हाल्ने गर्थे।”*+ १२ यहोसापातले भने: “तिनले हामीलाई यहोवा परमेश्‍वरको इच्छा के छ भनी बताउन सक्छन्‌।” त्यसैले यहोसापात, इस्राएलका राजा र एदोमका राजा एलिसालाई भेट्‌न गए।

१३ एलिसाले इस्राएलका राजालाई भने: “तपाईँ किन मकहाँ आउनुहुन्छ?+ आफ्नै बुबा र आमाका भविष्यवक्‍ताहरूकहाँ जानुहोस्‌।”+ तर इस्राएलका राजाले भने: “होइन, म जान्‍नँ किनकि यहोवा परमेश्‍वरले नै हामी तीन राजालाई मोआबीहरूको हातमा सुम्पिन यहाँ ल्याउनुभएको हो।” १४ तब एलिसाले भने: “जीवित परमेश्‍वर, सेनाहरूका यहोवा, जसको म सेवा गर्छु,* उहाँको कसम खाएर भन्छु, यहुदाका राजा यहोसापातको म आदर गर्छु, त्यसैले मात्र तपाईँको कुरा सुन्दै छु।+ नत्र म तपाईँको मुखसमेत हेर्ने थिइनँ।+ १५ अब वीणा बजाउने एक जनालाई* यहाँ ल्याउनुहोस्‌।”+ वीणा बजाउने मान्छे आएर वीणा बजाउन थाल्नेबित्तिकै यहोवा परमेश्‍वरको शक्‍ति एलिसामाथि आयो।+ १६ तिनले भने, “यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘यस बेँसीमा* ठाउँठाउँमा खाल्टो खन १७ किनकि यहोवा भन्‍नुहुन्छ: “तिमीहरूले न बतास चलेको न त पानी परेको नै देख्नेछौ। तैपनि यो बेँसी* पानीले भरिनेछ+ र तिमीहरू, तिमीहरूका वस्तुभाउ अनि तिमीहरूका अरू पाल्तु पशुले त्यो पानी पिउनेछन्‌।”’ १८ तर यहोवा परमेश्‍वरको लागि यो कुनै ठूलो कुरो होइन।+ उहाँले मोआबलाई पनि तपाईँहरूको हातमा सुम्पिदिनुहुनेछ।+ १९ पर्खालले घेरिएका हरेक सहर र सबै राम्रा-राम्रा सहरलाई नाश गरिदिनुहोस्‌।+ सबै असल-असल रूख ढालिदिनुहोस्‌ र पानीका सबै मूल थुनिदिनुहोस्‌। राम्रो उब्जनी हुने हरेक खेतमा ढुङ्‌गाको थुप्रो लगाएर त्यसलाई बेकामको बनाइदिनुहोस्‌।”+

२० भोलिपल्ट बिहान अन्‍नभेटी चढाउने बेला,+ अचानक एदोमबाट पानीको भल आयो र बेँसी पानीले भरियो।

२१ राजाहरू लडाइँ गर्न आएका छन्‌ भनी सुनेपछि मोआबीहरूले हतियार चलाउन सक्नेजति सबैलाई जम्मा गरे। अनि तिनीहरू देशको सिमानामा तैनाथ भए। २२ तिनीहरू बिहान सबेरै उठे। त्यतिबेला घामको किरणले गर्दा बेँसीको पानी टल्किरहेको थियो। त्यसैले पारिपट्टि रहेका मोआबीहरूले पानी रगतजस्तै रातो देखे। २३ तिनीहरूले भने: “त्यो त रगत हो! ती राजाहरूले पक्कै एकअर्कालाई तरबारले मारे होलान्‌। ए मोआबीहरू हो! उनीहरूलाई लुट्‌न जाऔँ!”+ २४ मोआबीहरू इस्राएलीहरूको छाउनीमा पुगेपछि इस्राएलीहरूले तिनीहरूलाई आक्रमण गरे। तब मोआबीहरू भाग्न थाले अनि इस्राएलीहरू तिनीहरूलाई खेद्‌दै र मार्दै+ मोआबतर्फ अघि बढे। २५ इस्राएलीहरूले मोआबका सहरहरू ध्वस्त पारे। त्यहाँको राम्रो उब्जनी हुने हरेक खेतमा इस्राएलीहरूले ढुङ्‌गाको थुप्रो लगाइदिए। तिनीहरूले पानीका सबै मूल थुनिदिए+ र सबै असल-असल रूख ढालिदिए।+ अन्तमा किर-हरेसेथ+ सहरको ढुङ्‌गाका पर्खालहरू मात्र बाँकी रह्‍यो अनि घुयेँत्रो हान्‍नेहरूले त्यस सहरलाई घेरेर आक्रमण गर्न थाले।

२६ आफूले लडाइँ हारेको देखेपछि मोआबका राजाले तरबार भिरेका ७०० जना मानिस जम्मा गरे अनि शत्रुहरूको बीचबाट छिरेर एदोमका+ राजाकहाँ जान खोजे। तर तिनी सफल भएनन्‌। २७ त्यसैले तिनले आफ्नो पहिलो सन्तान, जो तिनीपछि राजा हुन लागेका थिए, उनलाई सहरको पर्खालमा लगेर आगोमा बलि चढाए।+ यसले गर्दा इस्राएलीहरू अवाक्‌ भए। त्यसैले इस्राएलीहरूले मोआबको राजासित लड्‌न छोडिदिए अनि आफ्नो देश फर्के।

४ ‘भविष्यवक्‍ताहरूका छोराहरू’-मध्ये*+ एक जनाकी पत्नी एलिसाकहाँ आएर रुँदै यसरी आफ्नो दुखेसो पोखिन्‌: “तपाईँका सेवक, मेरा पति बित्नुभयो। अनि तपाईँलाई राम्ररी थाह छ, उहाँ सधैँ यहोवा परमेश्‍वरको डर मान्‍नुहुन्थ्यो।+ उहाँले एक जना मानिससित ऋण लिनुभएको थियो र अहिले त्यो मानिस मेरा दुवै छोरालाई लगेर दास बनाउन यहाँ आएको छ।” २ तब एलिसाले उनलाई भने: “भन, म तिम्रो लागि के गरिदिऊँ? तिमीसित घरमा के छ?” उनले भनिन्‌: “तपाईँकी यस दासीसँग एक सुराही* तेलबाहेक अरू केही छैन।”+ ३ त्यसपछि एलिसाले भने: “बाहिर जाऊ र तिम्रा सबै छिमेकीसित रित्तो भाँडाहरू मागेर ल्याऊ। जत्ति धेरै ल्याउन सक्छ्यौ, ल्याऊ। ४ अनि तिम्रा छोराहरूलाई लिएर घरभित्र जाऊ र ढोका थुन। तिमीले ल्याएको सबै भाँडोमा सुराहीबाट तेल खन्याऊ अनि तेल भरेका भाँडाहरू एकातिर राख।” ५ त्यसपछि ती स्त्री त्यहाँबाट गइन्‌।

आफ्ना छोराहरूलाई घरभित्र लगेर उनले ढोका लगाइन्‌। उनका छोराहरूले उनलाई भाँडाहरू दिँदै गए र उनले ती भाँडाहरूमा तेल भर्दै गइन्‌।+ ६ सबै भाँडोमा तेल भरेर सिद्धिएपछि उनले एक जना छोरालाई भनिन्‌: “अर्को भाँडो पनि देऊ।”+ तर उसले भन्यो: “अब त एउटै भाँडो बाँकी छैन।” तब सुराहीबाट तेल निस्कन छोड्‌यो।+ ७ त्यसपछि उनी साँचो परमेश्‍वरका सेवककहाँ गइन्‌ र तिनलाई सबै कुरा बताइन्‌। तब तिनले भने: “गएर त्यो तेल बेच र आफ्नो ऋण तिर। बाँकी भएको पैसाले चाहिँ आफू र आफ्ना छोराहरूको गुजारा चलाऊ।”

८ एकदिन एलिसा सुनेम गए।+ त्यहाँ एउटी गण्यमान्य स्त्री बस्थिन्‌। ती स्त्रीले एलिसालाई आफ्नो घरमा आएर खानपिन गर्न कर गरिन्‌।+ जब-जब एलिसा त्यो बाटो भएर यात्रा गर्थे, तब-तब तिनी ती स्त्रीको घरमा खानपिन गर्न जान्थे। ९ एकदिन ती स्त्रीले आफ्नो पतिलाई भनिन्‌: “मलाई थाह छ, यो बाटो भएर हिँड्‌ने ती मानिस परमेश्‍वरका पवित्र सेवक हुन्‌। १० तिनको लागि छतमा एउटा सानो कोठा बनाऔँ!+ त्यहाँ एउटा खाट, टेबुल, कुर्सी अनि पानस पनि राखिदेऔँ। तिनी हामीकहाँ आउँदा तिनलाई त्यही कोठामा बस्न देऔँ।”+

११ एकदिन एलिसा त्यहाँ आए र छतको कोठामा गएर ढल्किए। १२ अनि तिनले आफ्नो चाकर गेहजिलाई+ भने: “ती सुनेम्मी स्त्रीलाई यहाँ बोलाएर ल्याऊ।”+ गेहजिले उनलाई बोलाए र उनी एलिसाको अगाडि आएर उभिइन्‌। १३ त्यसपछि एलिसाले गेहजिलाई भने: “उनलाई यसो भन, ‘तिमीले हाम्रो लागि धेरै दुःख गरेकी छ्यौ।+ भन, म तिम्रो निम्ति के गरिदिऊँ? तिम्रो निम्ति राजा वा सेनापतिसित कुरा गरिदिऊँ+ कि?’”+ तर ती स्त्रीले यस्तो जवाफ दिइन्‌: “होइन, मलाई केही समस्या छैन। म आफ्नै मानिसहरूमाझ ढुक्क भएर बसिरहेकी छु।” १४ एलिसाले गेहजिलाई सोधे: “उनको निम्ति के गर्न सकिएला त?” गेहजिले जवाफ दिए: “मालिक, ती स्त्रीको कुनै छोरा छैन+ र उनको पति पनि वृद्ध भइसकेका छन्‌।” १५ यो सुन्‍नेबित्तिकै एलिसाले भने: “उनलाई यहाँ बोलाऊ।” गेहजिले उनलाई बोलाए र उनी आएर ढोकानेर उभिइन्‌। १६ त्यसपछि एलिसाले उनलाई भने: “अर्को वर्ष यही समयतिर तिम्रो काखमा एउटा छोरो हुनेछ।”+ तर उनले भनिन्‌: “हे साँचो परमेश्‍वरका सेवक, मेरा मालिक! तपाईँकी यस दासीसँग झूट नबोल्नुहोस्‌।”

१७ नभन्दै ती स्त्री गर्भवती भइन्‌ र अर्को वर्ष एलिसाले भनेकै समयमा एउटा छोरो जन्माइन्‌। १८ तब त्यो बालक ठूलो भयो। एकदिनको कुरा हो, उसका बुबा खेतालाहरूसँगै गएका थिए र ऊ पनि आफ्नो बुबाकहाँ गयो। १९ उसले आफ्नो बुबालाई घरीघरी यसो भनिरह्‍यो: “बुबा! मेरो टाउको दुख्यो! मेरो टाउको दुख्यो!” तब उसको बुबाले आफ्नो सेवकलाई भने: “यसलाई यसकी आमाकहाँ पुऱ्‍याइदेऊ।” २० त्यसैले त्यो सेवकले उसलाई आमाकहाँ लगिदियो र ऊ मध्यदिनसम्मै आफ्नी आमाको काखमा सुतिरह्‍यो। त्यसपछि ऊ मऱ्‍यो।+ २१ तब ती स्त्रीले उसलाई बोकेर माथि लगिन्‌ र साँचो परमेश्‍वरका सेवकको खाटमा सुताइन्‌।+ अनि ढोका बन्द गरेर त्यहाँबाट गइन्‌। २२ उनले आफ्नो पतिलाई यस्तो बिन्ती गरिन्‌: “मलाई एक जना सेवक र एउटा गधा दिनुहोस्‌। म झट्टै साँचो परमेश्‍वरका सेवककहाँ जान चाहन्छु। म गएर आइहाल्छु।” २३ तर उनका पतिले भने: “आजै जानुपर्ने त्यस्तो के काम आइपऱ्‍यो? आज न औँसी हो+ न त विश्रामदिन* नै!” तर उनले भनिन्‌: “चिन्ता नलिनुहोस्‌! सब ठीक छ।” २४ तब उनले गधामा काठी कसिन्‌ र आफ्नो सेवकलाई भनिन्‌: “गधा छिटोछिटो दौडाऊ! मैले नभनेसम्म नरोक।”

२५ तब ती स्त्री कर्मेल डाँडामा साँचो परमेश्‍वरका सेवककहाँ गइन्‌। उनलाई टाढाबाट आइरहेको देखेपछि एलिसाले आफ्नो चाकर गेहजिलाई भने: “हेर त! सुनेम्मी स्त्री यतै आउँदै छिन्‌। २६ झट्टै गएर उनलाई भेट र यसो भन, ‘तिमी ठीकै त छ्यौ? तिम्रा पति र छोरा ठीक छन्‌?’” ती स्त्रीले जवाफ दिइन्‌: “सबै ठीक छ।” २७ डाँडामा उक्लेर साँचो परमेश्‍वरका सेवकको छेउमा आइपुग्नेबित्तिकै उनले तिनको पाउ समातिन्‌।+ यो देखेर गेहजि उनलाई त्यहाँबाट हटाउन गए तर साँचो परमेश्‍वरका सेवकले भने: “उनलाई छाडिदेऊ किनकि उनलाई असह्‍य पीडा भइरहेको छ। तर कुरा के हो, त्यो मलाई पनि थाह छैन किनकि यहोवा परमेश्‍वरले मलाई यस विषयमा केही बताउनुभएको छैन।” २८ तब ती स्त्रीले भनिन्‌: “हे प्रभु! के मैले तपाईँलाई ‘मलाई एउटा छोरा दिनुहोस्‌’ भनेकी थिएँ र? मैले तपाईँलाई ‘मलाई झूटो आशा नदेखाउनुहोस्‌’ भनेकै थिएँ नि।”+

२९ एलिसाले तुरुन्तै गेहजिलाई भने: “तिम्रो लुगा कम्मरमा कस+ अनि मेरो लट्ठी लिएर तुरुन्तै गइहाल! बाटोमा कसैलाई भेट्‌यौ भने उसलाई अभिवादन नगर। अनि कसैले तिमीलाई अभिवादन गऱ्‍यो भने उसलाई केही जवाफ नफर्काऊ। गएर मेरो लट्ठी त्यो केटोको अनुहारमा राख।” ३० तब ती स्त्रीले भनिन्‌: “जीवित परमेश्‍वर यहोवाको र तपाईँको जीवनको कसम खाएर भन्छु, तपाईँलाई नलिई म यहाँबाट जाँदै जान्‍नँ।”+ त्यसैले एलिसा उठेर उनीसित गए। ३१ गेहजि तिनीहरूको अघिअघि गए अनि त्यो केटोको अनुहारमा लट्ठी राखे। तर त्यो केटो चल्दै चलेन र उसले कुनै आवाज निकालेन।+ त्यसैले गेहजि दौडेर एलिसाकहाँ गए र भने: “बालक उठेन।”

३२ एलिसा घरभित्र आउँदा तिनले आफ्नो खाटमा सुताइराखेको त्यो केटो मरिसकेको भेट्टाए।+ ३३ तब तिनी भित्र गए र ढोका बन्द गरे। कोठाभित्र एलिसा र त्यो केटोबाहेक अरू कोही थिएन। त्यसपछि एलिसाले यहोवा परमेश्‍वरलाई प्रार्थना गर्न थाले।+ ३४ तिनी खाटमा चढे अनि त्यो केटोमाथि लमतन्‍न परे। तिनले आफ्नो मुख उसको मुखमा राखे, आफ्नो आँखा उसको आँखामा र आफ्नो हत्केला उसको हत्केलामा राखे। तिनी यसरी नै त्यो केटोमाथि लमतन्‍न परिरहे र केही बेरपछि उसको शरीर तातो हुँदै आयो।+ ३५ त्यसपछि तिनी घरभित्र यताउता हिँडे र फेरि खाटमा चढेर केटोमाथि लमतन्‍न परे। त्यो केटोले सात चोटि छिउँ गऱ्‍यो र आँखा खोल्यो।+ ३६ तब एलिसाले गेहजिलाई बोलाएर यसो भने: “सुनेम्मी स्त्रीलाई यहाँ बोलाऊ।” तिनले उनलाई बोलाए र उनी आइन्‌। एलिसाले उनलाई भने: “तिम्रो छोरा लैजाऊ।”+ ३७ तब उनी एलिसाको छेउमा गइन्‌ र भुईँसम्मै निहुरिएर तिनको पाउमा घोप्टो परिन्‌। त्यसपछि आफ्नो छोरालाई लिएर उनी त्यहाँबाट गइन्‌।

३८ एलिसा गिलगाल फर्कँदा त्यहाँ अनिकाल परेको थियो।+ एकदिन ‘भविष्यवक्‍ताहरूका छोराहरू’+ तिनको अगाडि बसिरहेको बेला तिनले आफ्नो चाकरलाई+ भने: “एउटा ठूलो खड्‌कुँलोमा ‘भविष्यवक्‍ताहरूका छोराहरू’-को लागि सुरुवा बनाऊ।” ३९ त्यसैले तिनीहरूमध्ये एक जना बारीमा तरकारी खोज्न गयो। त्यहाँ उसले एउटा जङ्‌गली लहरा देख्यो र त्यसको फल पोल्टोभरि टिपेर ल्यायो। त्यो कस्तो फल हो भनेर उसलाई थाह थिएन। उसले त्यो ल्यायो र काटेर खड्‌कुँलोमा हाल्यो। ४० पछि ती मानिसहरूलाई त्यो सुरुवा खान दिइयो। तर त्यो सुरुवा मुखमा हाल्नेबित्तिकै तिनीहरू यसो भन्दै कराउन थाले: “यो त विष हो! हे साँचो परमेश्‍वरका सेवक! यो त विष पो रहेछ!” तिनीहरूले त्यो सुरुवा खानै सकेनन्‌। ४१ त्यसैले एलिसाले भने: “अलिकति पीठो ल्याऊ।” त्यसपछि तिनले त्यो पीठो खड्‌कुँलोमा हाले र यसो भने: “अब यो लगेर भविष्यवक्‍ताहरूलाई देओ।” यस पल्ट भने त्यो खड्‌कुँलोमा केही विषालु कुरा पाइएन।+

४२ बाआल-सालिसाबाट+ एक जना मानिस आए। उनले साँचो परमेश्‍वरका सेवकलाई जौको २० वटा रोटी ल्याएर दिए।+ त्यो रोटी बालीको पहिलो उब्जनीबाट बनाइएको थियो। उनले एक झोला नयाँ अन्‍न पनि ल्याएका थिए।+ तब एलिसाले आफ्नो चाकरलाई भने: “यो सब खानेकुरा मानिसहरूलाई देऊ।” ४३ तर तिनको चाकरले भने: “यति जाबो खानेकुराले सय जनालाई कसरी पुऱ्‍याउने?”+ तब एलिसाले भने: “खानेकुरा लगेर मानिसहरूलाई देऊ किनकि यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘तिनीहरूले खानेछन्‌ र केही उब्रिनेछ।’”+ ४४ तब तिनको सेवकले त्यो खानेकुरा मानिसहरूलाई टक्य्रायो र तिनीहरूले खाए। अनि यहोवा परमेश्‍वरले भन्‍नुभएझैँ केही खानेकुरा उब्रियो।+

५ सिरियाका राजाका सेनापति नामान गण्यमान्य पुरुष थिए। राजाले* तिनको निकै इज्जत गर्थे किनकि यहोवा परमेश्‍वरले तिनीमार्फत सिरियालाई विजयी तुल्याउनुभएको* थियो। तिनी एक वीर योद्धा थिए तर तिनलाई कुष्ठरोग* लागेको थियो। २ एकपटक इस्राएलीहरूलाई आक्रमण गर्न जाँदा सिरियालीहरूले इस्राएलबाट एउटी ठिटीलाई पनि बन्दी बनाएर ल्याएका थिए। ती ठिटी नामानकी पत्नीकी दासी भइन्‌। ३ उनले आफ्नी मालिक्नीलाई भनिन्‌: “मेरा मालिक सामरियाका भविष्यवक्‍तालाई भेट्‌न जानुभए हुन्थ्यो।+ ती भविष्यवक्‍ताले उहाँलाई निको पारिदिने थिए।”+ ४ त्यसैले तिनी* गए र ती इस्राएली ठिटीले भनेको कुरा आफ्ना मालिकलाई सुनाए।

५ तब सिरियाका राजाले भने: “तिमी तुरुन्तै जाऊ! म इस्राएलका राजालाई पत्र पठाउँछु।” त्यसैले नामान गए। तिनले आफूसँग १० टालेन्ट* चाँदी, ६ हजार टुक्रा सुन र १० जोर लुगा पनि लगे। ६ तिनले इस्राएलका राजालाई त्यो पत्र दिए। पत्रमा यस्तो लेखिएको थियो: “म मेरा सेवक नामानलाई यो पत्रसहित तपाईँकहाँ पठाउँदै छु। तिनको कुष्ठरोग निको पारिदिनुहोस्‌।” ७ पत्र पढ्‌नेबित्तिकै इस्राएलका राजाले आफ्नो लुगा च्याते र यसो भने: “कसैलाई मृत्यु वा जीवन दिन सक्ने के म ईश्‍वर हुँ र?+ हेर त! तिनले यी मानिसलाई मकहाँ पठाएका छन्‌; मैले उसको कुष्ठरोग निको पारिदिनुपऱ्‍यो अरे! तिनी हामीसँग लडाइँ गर्न निहुँ खोज्दै छन्‌।”

८ इस्राएलका राजाले आफ्नो लुगा च्याते भनेर सुन्‍नेबित्तिकै साँचो परमेश्‍वरका सेवक एलिसाले राजाकहाँ यो सन्देश पठाए: “तपाईँले किन आफ्नो लुगा च्यात्नुभयो? कृपया ती मानिसलाई मकहाँ पठाउनुहोस्‌ र तिनले इस्राएलमा भविष्यवक्‍ता रहेछन्‌ भनी थाह पाऊन्‌।”+ ९ त्यसैले नामान आफ्ना घोडाहरू र रथहरू लिएर एलिसाकहाँ गए अनि एलिसाको घरको ढोकामा उभिए। १० तर एलिसाले एक जना सन्देशवाहकलाई यसो भन्‍न लगाए: “गएर यर्दन+ नदीमा सात पटक डुबुल्की मार्नुहोस्‌+ अनि तपाईँको शरीर स्वस्थ हुनेछ र तपाईँ शुद्ध हुनुहुनेछ।” ११ यो सुनेर नामान रिसले चूर भए र यसो भन्दै फर्कन खोजे: “मैले त सोचेको थिएँ, ‘तिनी मलाई भेट्‌न बाहिर आउनेछन्‌ र यहाँ उभिएर आफ्ना परमेश्‍वर यहोवाको नाम पुकार्नेछन्‌ अनि कुष्ठरोग लागेको ठाउँमाथि आफ्नो हात हल्लाएर मलाई निको पारिदिनेछन्‌।’ १२ के हाम्रो दमिसकका+ अबाना नदी र फारपर नदी इस्राएलका सबै नदीभन्दा असल छैनन्‌ र? के म त्यहीँ डुबुल्की मारेर शुद्ध हुन सक्दिनँ र?” यति भनेर तिनी रिसको झोँकमा त्यहाँबाट गए।

१३ तब नामानका सेवकहरूले तिनीकहाँ आएर भने: “हे मेरा मालिक!* यदि ती भविष्यवक्‍ताले कुनै गाह्रो काम गर्न लगाएका भए के तपाईँले गर्नुहुने थिएन र? तिनले त केवल यति भनेका छन्‌, ‘नदीमा गएर डुबुल्की मार्नुहोस्‌ र शुद्ध हुनुहोस्‌।’ यति सजिलो काम गर्न तपाईँ किन पछि हट्‌नुहुन्छ?” १४ तब तिनी गए र साँचो परमेश्‍वरका सेवकले भनेअनुसारै यर्दन नदीमा सात पटक डुबुल्की मारे।+ त्यसपछि तिनको छाला बालकको जस्तै+ भयो र तिनी शुद्ध भए।+

१५ त्यसपछि नामान लावालस्करसाथ साँचो परमेश्‍वरका सेवककहाँ फर्केर गए+ अनि उनीसामु खडा भएर यसो भने: “अब मैले थाह पाएँ, सारा पृथ्वीमा केवल इस्राएलमा मात्र परमेश्‍वर हुनुहुँदो रहेछ।+ बिन्ती छ, आफ्नो सेवकको हातबाट केही उपहार लिनुहोस्‌।” १६ तर एलिसाले भने: “जीवित परमेश्‍वर यहोवा, जसको म सेवा गर्छु,* उहाँको कसम खाएर भन्छु, म यो उपहार लिन्‍नँ।”+ नामानले उनलाई उपहार लिन कर गरिरहे तर उनले मान्दै मानेनन्‌। १७ आखिरमा नामानले यसो भने: “तपाईँ उपहार लिनुहुन्‍न भने ठीकै छ। तर बिन्ती छ, आफ्नो यस सेवकलाई दुई वटा खच्चरले बोक्न सक्नेजति माटो यहाँबाट लैजाने अनुमति दिनुहोस्‌। किनकि अब म यहोवा परमेश्‍वरलाई बाहेक अरू कुनै देवीदेवतालाई अग्निभेटी* वा बलि चढाउँदिनँ। १८ तर यहोवा परमेश्‍वरले तपाईँको यस सेवकलाई केवल एउटा कुराको लागि क्षमा देऊन्‌: रिम्मोनलाई दण्डवत्‌ गर्न मेरा मालिक मन्दिरमा जाँदा उहाँ मेरो पाखुरा समातेर आड लिनुहुन्छ। त्यसैले म पनि त्यहाँ उहाँसँगै निहुरिनुपर्ने हुन्छ। जब म रिम्मोनसामु निहुरिन्छु, तब यहोवा परमेश्‍वरले ममाथि कृपा गरेर मलाई क्षमा गरिदेऊन्‌।” १९ तब एलिसाले भने: “ढुक्क भएर जानुहोस्‌।” त्यसपछि नामान त्यहाँबाट गए। जब तिनी यात्रा गरेर अलि पर पुगे, २० तब साँचो परमेश्‍वरका सेवक+ एलिसाका चाकर गेहजिले+ मनमनै सोचे: ‘मेरो मालिकले यो के गर्नुभयो? उहाँले ती सिरियाली नामानले+ ल्याएको उपहार नलिईकन तिनलाई त्यसै जान दिनुभयो! जीवित परमेश्‍वर यहोवाको कसम खाएर म भन्छु, म तिनको पछि दौडेर जान्छु र तिनीबाट केही उपहार लिन्छु।’ २१ त्यसैले गेहजि नामानलाई भेट्‌न दौडेर गए। आफ्नो पछिपछि कोही दौडेर आइरहेको देखेपछि नामान रथबाट ओर्लिए र उनलाई यसो भने: “के भयो? सबै ठीक त छ?” २२ गेहजिले जवाफ दिए: “हजुर, सबै ठीक छ। मेरा मालिकले तपाईँलाई यो खबर पठाउनुभएको छ, ‘एप्रैमको पहाडी इलाकाबाट ‘भविष्यवक्‍ताहरूका छोराहरू’-मध्ये* दुई जना भर्खरै मकहाँ आएका छन्‌। कृपया ती दुई जना युवकको लागि एक टालेन्ट चाँदी र दुई जोर लुगा दिनुहोस्‌।’”+ २३ नामानले भने: “भइहाल्छ नि! एक होइन, दुई टालेन्ट चाँदी लैजानुहोस्‌।”+ नामानले गेहजिलाई कर गरे। तब गेहजिले दुई टालेन्ट चाँदी र दुई जोर लुगा लिएर दुई वटा बोरामा हाले र आफ्नो दुई जना सेवकलाई दिए। तिनीहरू ती बोकेर उनको अघिअघि गए।

२४ ओफेल* आइपुगेपछि गेहजिले ती दुई जना सेवकको हातबाट बोराहरू लिएर आफ्नो घरमा राखे अनि तिनीहरूलाई पठाइदिए। तिनीहरू त्यहाँबाट गएपछि २५ उनी आफ्नो मालिकसामु गएर उभिए। एलिसाले उनलाई सोधे: “गेहजि, तिमी कहाँ गएका थियौ?” उनले जवाफ दिए: “तपाईँको यो सेवक कतै गएको थिएन।”+ २६ तब एलिसाले उनलाई भने: “तिमी ती मानिसको पछिपछि गएको र तिनी तिमीलाई भेट्‌न आफ्नो रथबाट ओर्लेको मलाई थाह छैन भन्ठानेको? के अहिले चाँदी, लुगा, जैतुनको बारी, अङ्‌गुरको बगान, भेडा, गाईवस्तु अथवा दासदासी थुपार्ने समय हो र?+ २७ अब नामानको कुष्ठरोगले+ तिमी र तिम्रो सन्तानलाई कहिल्यै छोड्‌नेछैन।” एलिसाले यसो भन्‍नेबित्तिकै गेहजिलाई कुष्ठरोग लाग्यो र उनी हिउँजस्तै सेता भए।+ तब उनी त्यहाँबाट निस्के।

६ ‘भविष्यवक्‍ताहरूका छोराहरू’-ले*+ एलिसालाई भने: “हेर्नुहोस्‌! यो ठाउँ साह्रै साँघुरो भयो। २ कृपया हामीलाई अनुमति दिनुहोस्‌ र हामी यर्दन जानेछौँ। त्यहाँ पुगेपछि हामी सबैले एक-एक वटा मुढा ल्याएर त्यहाँ एउटा घर बनाउनेछौँ।” एलिसाले जवाफ दिए: “हुन्छ, जाओ।” ३ उनीहरूमध्ये एक जनाले भने: “बिन्ती छ, तपाईँ पनि हामीसँगै आउनुहोस्‌।” तब तिनले भने: “हुन्छ, म आउँछु।” ४ त्यसैले तिनी उनीहरूसितै यर्दन गए। त्यहाँ पुगेपछि उनीहरूले रूख काट्‌न थाले। ५ रूख काटिरहेको बेला उनीहरूमध्ये एक जनाको बन्चरो* बिँडबाट फुस्केर पानीमा खस्यो। तब ऊ यसो भन्दै बिलौना गर्न थाल्यो: “लौ न! अब के गर्ने मालिक? त्यो बन्चरो त मैले मागेर ल्याएको थिएँ।” ६ साँचो परमेश्‍वरका सेवकले सोधे: “बन्चरो कहाँ खस्यो?” उसले तिनलाई बन्चरो खसेको ठाउँ देखायो। त्यसपछि तिनले एक टुक्रा काठ काटेर पानीमा फाले अनि बन्चरो पानीमा तैरियो। ७ तिनले भने: “त्यसलाई निकाल।” त्यसैले उसले आफ्नो हात पसारेर बन्चरो निकाल्यो।

८ एकपल्ट सिरियाका राजा इस्राएलसित लडाइँ गर्न गए।+ उनले आफ्ना सेवकहरूसित सरसल्लाह गरे अनि कुन ठाउँमा छाउनी हाल्ने भनेर पनि तिनीहरूलाई बताए। ९ तब साँचो परमेश्‍वरका सेवकले+ इस्राएलका राजालाई यस्तो खबर पठाए: “तपाईँ त्यहाँ नजानुहोस्‌ किनकि सिरियालीहरू त्यहीँ आउँदै छन्‌।” १० त्यसैले साँचो परमेश्‍वरका सेवकले इस्राएलका राजालाई जुन ठाउँमा नजानू भनेका थिए, त्यस ठाउँका मानिसहरूलाई राजाले सचेत गराए। एलिसाले इस्राएलका राजालाई थुप्रै पटक होसियार गराए र तिनले नजानू भनेको ठाउँमा राजा गएनन्‌।+

११ यसले गर्दा सिरियाका राजा रिसले चूर भए। त्यसैले उनले आफ्ना सेवकहरूलाई एक ठाउँमा भेला गरेर यसो भने: “मलाई भन! हामीमध्ये कोचाहिँ इस्राएलको राजापट्टि लागेको हो?” १२ तब उनका एक जना सेवकले भने: “हे मेरा प्रभु! मेरा महाराज! हामीमध्ये कोही पनि तिनीपट्टि लागेका छैनौँ। यो सब इस्राएलको भविष्यवक्‍ता एलिसाको काम हो। उसले इस्राएलका राजालाई तपाईँले आफ्नो सुत्ने कोठाभित्र बोल्नुभएको कुरासमेत बताइदिन्छ।”+ १३ राजाले भने: “जाओ! ऊ कहाँ छ, पत्ता लगाओ। उसलाई पक्रन म मानिसहरू पठाउँछु।” पछि राजालाई यस्तो खबर दिइयो: “ऊ दोथानमा+ छ।” १४ उनले तुरुन्तै घोडाहरू र रथहरूसहित आफ्नो ठूलो सेना पठाए। तिनीहरू राती नै त्यहाँ आइपुगे र सहरलाई घेरा हाले।

१५ साँचो परमेश्‍वरको सेवकका चाकर बिहान सबेरै उठेर बाहिर निस्कँदा उनले घोडाहरू र रथहरूसहित आएको सेनाले सहरलाई घेरेको देखे। यो देख्नेबित्तिकै उनले भने: “मालिक! मालिक! अब हामी के गरौँ?” १६ तर एलिसाले भने: “नडराऊ!+ किनकि तिनीहरूसँग भएकाहरूभन्दा हामीसँग भएकाहरू धेरै छन्‌।”+ १७ अनि तिनले यसरी प्रार्थना गर्न थाले: “हे यहोवा! बिन्ती छ, उसको आँखा खोलिदिनुहोस्‌ र उसले पनि देख्न सकोस्‌।”+ यहोवा परमेश्‍वरले तुरुन्तै ती चाकरको आँखा खोलिदिनुभयो र उनले एलिसाको+ चारैतिरका डाँडा अग्निमय+ घोडाहरू र रथहरूले भरिएको देखे।

१८ जब सिरियालीहरू एलिसातर्फ अघि बढे, तब तिनले यहोवा परमेश्‍वरलाई यसरी प्रार्थना गरे: “बिन्ती छ, यिनीहरूलाई अन्धो बनाइदिनुहोस्‌।”+ एलिसाले बिन्ती गरेझैँ परमेश्‍वरले तिनीहरूलाई अन्धो बनाइदिनुभयो। १९ त्यसपछि एलिसाले तिनीहरूलाई भने: “तिमीहरूले बाटो बिरायौ। तिमीहरू जुन सहरमा जान खोज्दै छौ, त्यो सहर यो होइन। मेरो पछि आओ। तिमीहरूले खोजेको मानिसकहाँ म तिमीहरूलाई पुऱ्‍याइदिन्छु।” तर एलिसाले तिनीहरूलाई सामरिया+ लगे।

२० सामरिया पुगेपछि एलिसाले भने: “हे यहोवा! यिनीहरूको आँखा खोलिदिनुहोस्‌ र यिनीहरूले देख्न सकून्‌।” तब यहोवा परमेश्‍वरले तिनीहरूको आँखा खोलिदिनुभयो र तिनीहरूले आफू सामरिया सहरको बीचमा पुगेछौँ भनी थाह पाए। २१ तिनीहरूलाई देखेपछि इस्राएलका राजाले एलिसालाई भने: “हे प्रभु!* के म यिनीहरूलाई मारिदिऊँ? म यिनीहरूलाई नाश गरिदिऊँ?” २२ तर एलिसाले जवाफ दिए: “तपाईँले यिनीहरूलाई मार्नु हुँदैन। युद्धमा* बन्दी बनाएर ल्याएका मानिसहरूलाई के तपाईँ मार्नुहुन्छ र? यिनीहरूलाई रोटी र पानी खान दिनुहोस्‌+ अनि यिनीहरूको मालिककहाँ फर्काइदिनुहोस्‌।” २३ त्यसैले राजाले ठूलो भोज दिए। तिनीहरूले खानपिन गरेपछि राजाले तिनीहरूलाई तिनीहरूका मालिककहाँ फर्काइदिए। त्यसपछि सिरियाका+ लुटेराहरूको दलले कहिल्यै इस्राएलमा पाइला टेकेनन्‌।

२४ पछि सिरियाका राजा बेन-हददले आफ्नो सारा सेनालाई एक ठाउँमा भेला गरे अनि गएर सामरियालाई+ घेराबन्दी गरे। २५ तिनीहरूले सामरियालाई लामो समयसम्म घेराबन्दी गरे। त्यसले गर्दा सामरियामा ठूलो अनिकाल पऱ्‍यो।+ मानिसहरूले गधाको टाउको+ ८० टुक्रा चाँदीमा र ढुकुरको सुलीको एक चौथाइ कब* पाँच टुक्रा चाँदीमा किनबेच गर्न थाले। २६ एकदिन इस्राएलका राजा सहरको पर्खालमाथि हिँड्‌दै गइरहेको बेला एक जना स्त्रीले यसो भन्दै गुहारिन्‌: “हे मेरा प्रभु! मेरा महाराज! हामीलाई मदत गर्नुहोस्‌।” २७ तब राजाले भने: “यदि यहोवा परमेश्‍वरले नै तिमीहरूलाई मदत गर्नुभएको छैन भने म कसरी तिमीहरूलाई मदत गरूँ? म कहाँबाट तिमीहरूलाई अन्‍न, तेल वा मद्य ल्याएर दिऊँ?” २८ राजाले उनलाई सोधे: “के भयो?” उनले जवाफ दिइन्‌: “यो स्त्रीले मलाई यसो भनेकी थिई, ‘तिम्रो छोरा ल्याऊ! आज हामी उसलाई मारेर खाऔँ अनि भोलिचाहिँ मेरो छोरा खाऔँला।’+ २९ त्यसैले हामीले मेरो छोरालाई उसिनेर खायौँ।+ भोलिपल्ट मैले उसलाई भनेँ: ‘तिम्रो छोरा ल्याऊ! हामी उसलाई मारेर खाऔँ।’ तर उसले आफ्नो छोरा लुकाई।”

३० ती स्त्रीको कुरा सुन्‍नेबित्तिकै राजाले आफ्नो लुगा च्याते।+ जब तिनी सहरको पर्खालमाथि हिँडिरहेका थिए, तब तिनले आफ्नो लुगाभित्र भाङ्‌ग्रा लगाएका रहेछन्‌ भनी मानिसहरूले देखे। ३१ तब राजाले भने: “यदि मैले आज सापातका छोरा एलिसाको टाउको उडाइनँ भने परमेश्‍वरले मलाई त्यसै गरून्‌, अझ त्योभन्दा बढ्‌ता गरून्‌।”+

३२ एलिसा आफ्नो घरमा बसिरहेका थिए र नाइकेहरू पनि तिनीसँगै थिए। त्यही बेला राजाले आफ्नो अघिअघि एक जना सन्देशवाहक पठाए। तर त्यो सन्देशवाहक त्यहाँ आइपुग्नुअघि नै एलिसाले नाइकेहरूलाई भने: “हेर्नुहोस्‌! त्यो हत्याराको छोराले+ मेरो टाउको उडाउन आफ्नो मान्छे पठाउँदै छ। तपाईँहरू सचेत रहनुहोस्‌! त्यो सन्देशवाहक आउनेबित्तिकै ढोका बन्द गर्नुहोस्‌ अनि ढोका ठेलेर बस्नुहोस्‌ र ऊ भित्र छिर्न नपाओस्‌। उसको पछिपछि उसको मालिक पनि आइरहेको छ।” ३३ एलिसा बोल्दाबोल्दै त्यो सन्देशवाहक त्यहाँ आइपुग्यो। तब राजाले भने: “यो विपत्ति यहोवा परमेश्‍वरले नै ल्याउनुभएको हो। त्यसोभए म किन यहोवाको बाटो हेरेर बसूँ?”

७ तब एलिसाले भने, “यहोवा परमेश्‍वरको सन्देश सुन्‍नुहोस्‌। यहोवा यसो भन्‍नुहुन्छ: ‘भोलि यही समयतिर सामरियाको मूलढोकामा* एक सेआ* मसिनो पीठो एक शेकेलमा* र दुई सेआ जौ पनि एक शेकेलमै बिक्री हुनेछ।’”+ २ तब सेनाका सहायक अफिसर, जसलाई राजा निकै भरोसा गर्थे, तिनले साँचो परमेश्‍वरका सेवकलाई यसो भने: “यहोवा परमेश्‍वरले आकाशका पानीका बाँधहरू नै खोलिदिनुभयो भने पनि तपाईँले भन्‍नुभएको कुरा पूरा हुन सक्दैन।”+ एलिसाले भने: “तिमीले आफ्नै आँखाले त्यो पूरा भएको देख्नेछौ+ तर त्यसबाट खान भने पाउनेछैनौ।”+

३ सहरको मूलढोकानेर चार जना कुष्ठरोगी बस्थे।+ तिनीहरूले आपसमा यसो भने: “हामी किन बेकारमा यहाँ बसेर मर्ने दिन कुर्दै छौँ? ४ यदि हामी सहरभित्र गयौँ भने अनिकालले गर्दा हामी त्यहीँ मर्नेछौँ।+ यदि हामी यहीँ बसिरह्‍यौँ भने पनि मर्नेछौँ। त्यसैले बरु सिरियालीहरूको छाउनीमा जाऔँ। तिनीहरूले हामीलाई जिउँदै छोडिदिए भने बेसै भयो। तर तिनीहरूले हामीलाई मारे भने पनि ठीकै छ, त्यसै पनि हामी मर्ने नै हौँ।” ५ साँझपख अँध्यारो भएपछि तिनीहरू सिरियालीहरूको छाउनीमा गए। छाउनीको छेउमा पुग्दा तिनीहरूले त्यहाँ कोही पनि देखेनन्‌।

६ वास्तवमा के भएको थियो भने सिरियालीहरूले रथहरू र घोडाहरूसहित एउटा विशाल सेना आइरहेको आवाज सुने।+ यहोवा परमेश्‍वरले नै यसो गराउनुभएको थियो। त्यसैले तिनीहरूले आपसमा यसो भने: “इस्राएलका राजाले हामीसित लडाइँ गर्न हित्ती राजाहरू र मिश्री राजाहरूलाई भाडामा ल्याएछन्‌!” ७ साँझपख अँध्यारो भएपछि तिनीहरू तुरुन्तै आफ्नो ज्यान जोगाउन भागे। आफ्ना पालहरू, घोडाहरू, गधाहरू र पूरै छाउनी जस्ताको तस्तै छोडेर तिनीहरू भागे।

८ ती कुष्ठरोगीहरू छाउनीको छेउमा पुगेपछि एउटा पालमा छिरे र खानपिन गर्न थाले। तिनीहरूले त्यहाँ भेटिएका सुन, चाँदी र लुगाफाटा लगेर एक ठाउँमा लुकाए। तिनीहरू फेरि छाउनीमा फर्के र अर्को पालमा छिरे। अनि त्यहाँ भेटिएका सरसामानलाई पनि तिनीहरूले लुकाए।

९ आखिरमा तिनीहरूले आपसमा यसो भन्‍न थाले: “हामीले यसो गर्नु उचित होइन। यो त खुसीको समाचार हो; हामीले अरूलाई पनि यसबारे बताउनुपर्छ! हामीले अहिल्यै यो कुरा सुनाएनौँ र बिहानसम्म पर्खेर बस्यौँ भने अवश्‍य दण्ड पाउनेछौँ। त्यसैले अहिल्यै गएर राजमहलमा यो खबर देऔँ।” १० तब तिनीहरू गए र सहरका ढोकेहरूलाई बोलाएर यसो भने: “हामी सिरियालीहरूको छाउनीमा गएका थियौँ तर त्यहाँ कोही पनि छैन। हामीले कसैको आवाज सुनेनौँ। त्यहाँ बाँधेर राखिएका घोडाहरू र गधाहरू मात्र छन्‌ अनि पालहरू पनि जस्ताको तस्तै छोडिएका छन्‌।” ११ तब ढोकेहरूले तुरुन्तै महलका चाकरहरूलाई बोलाएर यो खबर दिए।

१२ राजा राती नै उठे र आफ्ना सेवकहरूलाई यसो भने: “हेर, सिरियालीहरूले के गर्न खोज्दै छन्‌, म तिमीहरूलाई बताउँछु। हामी भोकै छौँ भनेर तिनीहरूलाई थाह छ।+ त्यसैले तिनीहरू छाउनीमा नबसेर मैदानमा लुकेका छन्‌। तिनीहरूले सोचेका होलान्‌, ‘इस्राएलीहरू सहरबाट बाहिर निस्कनेछन्‌ र हामी उनीहरूलाई जिउँदै पक्रेर सहरमा घुस्नेछौँ।’”+ १३ तब राजाका एक जना सेवकले यसो भने: “हेर्नुहोस्‌! सहरमा पाँच वटा घोडा बाँकी छ। बिन्ती छ, ती घोडाहरू लिएर केही मानिसलाई पठाउनुहोस्‌ र तिनीहरूले वास्तवमा के भएको रहेछ भनी पत्ता लगाऊन्‌। यदि तिनीहरू त्यहाँ मारिए भने पनि ठीकै छ; आखिर यहाँ बसे पनि तिनीहरू हामी बाँकी रहेका इस्राएलीहरूजस्तै मर्ने नै हुन्‌।” १४ त्यसैले ती मानिसहरूले घोडाहरू र दुई वटा रथ लिए अनि राजाले तिनीहरूलाई यस्तो हुकुम गरेर सिरियालीहरूको छाउनीमा पठाए: “जाओ! के भएको रहेछ, हेरेर आओ।” १५ सिरियालीहरूलाई खोज्दै-खोज्दै ती मानिसहरू यर्दनसम्मै पुगे। तिनीहरूले बाटोभरि लुगाफाटा र भाँडाकुँडा देखे। सिरियालीहरूले आत्तिएर भाग्दा ती सब सरसामान फ्याँकेका थिए। ती सन्देशवाहकहरू फर्केर आए अनि राजालाई यो खबर दिए।

१६ त्यसपछि मानिसहरू सहरबाहिर गए अनि सिरियालीहरूको छाउनीमा भएका सबै कुरा लुटे। तब एक सेआ मसिनो पीठो एक शेकेलमा र दुई सेआ जौ पनि एक शेकेलमै बिक्री हुन थाल्यो। यसरी यहोवा परमेश्‍वरको वचन पूरा भयो।+ १७ सेनाका ती सहायक अफिसर, जसलाई राजा निकै भरोसा गर्थे, उनलाई राजाले मूलढोकामा निगरानी गर्न खटाएका थिए। तर मानिसहरूको भीडले उनलाई मूलढोकामा कुल्चेर माऱ्‍यो। यसरी साँचो परमेश्‍वरका सेवकले राजा तिनलाई भेट्‌न जाँदा जुन कुरा भनेका थिए, त्यो पूरा भयो। १८ हो, साँचो परमेश्‍वरका सेवकले राजालाई भनेको यो कुरा पूरा भयो: “भोलि यही समयमा सामरियाको मूलढोकामा दुई सेआ जौ एक शेकेलमा र एक सेआ मसिनो पीठो पनि एक शेकेलमै बिक्री हुनेछ।”+ १९ तर त्यसबेला सेनाका सहायक अफिसरले साँचो परमेश्‍वरका सेवकलाई यसो भनेका थिए: “यहोवा परमेश्‍वरले आकाशका पानीका बाँधहरू नै खोलिदिनुभयो भने पनि तपाईँले भन्‍नुभएको कुरा पूरा हुन सक्दैन।” अनि एलिसाले भनेका थिए: “तिमीले आफ्नै आँखाले त्यो पूरा भएको देख्नेछौ तर त्यसबाट खान भने पाउनेछैनौ।” २० ती अफिसरलाई ठीक त्यसै भयो। मानिसहरूले मूलढोकामा उनलाई कुल्चेर मारे।

८ एलिसाले जुन बालकलाई ब्युँताएका थिए, उनकी आमालाई तिनले यसो भने:+ “तिमी आफ्नो पूरै परिवार लिएर यहाँबाट गइहाल! जुन ठाउँमा बस्न सक्छौ, त्यहाँ गएर परदेशी भएर बस। किनकि यहोवा परमेश्‍वरले यस देशमा सात वर्षसम्म अनिकाल पर्नेछ भनी घोषणा गर्नुभएको छ।”+ २ ती स्त्रीले साँचो परमेश्‍वरका सेवकले भनेझैँ गरिन्‌। तिनी आफ्नो पूरै परिवार लिएर पलिस्तियालीहरूको+ देशमा गइन्‌ अनि सात वर्षसम्म त्यहीँ बसोबास गरिन्‌।

३ सात वर्षपछि ती स्त्री पलिस्तियालीहरूको देशबाट फर्किन्‌ अनि आफ्नो घर र जग्गाजमिन फिर्ता पाऊँ भनी बिन्ती गर्न राजाकहाँ गइन्‌। ४ त्यतिबेला राजा साँचो परमेश्‍वरका सेवकको चाकर गेहजिसित कुरा गर्दै थिए। राजाले उनलाई यस्तो आग्रह गरेका थिए: “एलिसाले गरेका सबै ठूलठूला कामबारे मलाई बताऊ!”+ ५ एलिसाले मरेको मान्छेलाई फेरि जिउँदो बनाएको कुरा गेहजिले राजालाई बताउँदै थिए।+ त्यति नै खेर ती स्त्री, जसको छोरोलाई एलिसाले जिउँदो बनाएका थिए, आफ्नो घर र जग्गाजमिन फिर्ता पाऊँ भनी राजालाई बिन्ती गर्न त्यहाँ आइपुगिन्‌।+ तिनलाई देख्नेबित्तिकै गेहजिले भने: “हे मेरा प्रभु! मेरा महाराज! ती स्त्री यिनी नै हुन्‌ अनि एलिसाले जिउँदो बनाउनुभएको त्यो ठिटो ऊ नै हो।” ६ तब राजाले ती स्त्रीलाई त्यस विषयमा सोधे र तिनले राजालाई सबै कुराको बेलीबिस्तार लगाइन्‌। त्यसपछि राजाले दरबारका एक जना अफिसरलाई यस्तो हुकुम गरे: “तिनको सबै कुरा तिनलाई फिर्ता देऊ! तिनी यहाँबाट गएको दिनदेखि अहिलेसम्म तिनको खेतमा जे-जति उब्जनी भयो, त्यसबराबरको दाम पनि तिनलाई देऊ!”

७ एकदिन एलिसा दमिसक गए।+ त्यतिबेला सिरियाका राजा बेन-हदद+ बिरामी भएका थिए। राजालाई यस्तो खबर दिइयो: “साँचो परमेश्‍वरका सेवक+ दमिसक आएका छन्‌।” ८ तब राजाले हाजाएललाई+ भने: “साँचो परमेश्‍वरका सेवकलाई+ भेट्‌न जाऊ। तिनको लागि केही उपहार पनि लैजानू। तिनलाई म निको हुन्छु कि हुँदिनँ भनी यहोवा परमेश्‍वरलाई सोध्न आग्रह गर।” ९ तब हाजाएल एलिसालाई भेट्‌न गए। उनले एलिसाको लागि भनेर दमिसकको हरेक किसिमका असल-असल थोक ४० वटा उँटमा राखेर लगे। उनी एलिसाकहाँ आएर तिनीसामु उभिए र यसो भने: “तपाईँका सेवक, सिरियाका राजा बेन-हददले मलाई यहाँ पठाउनुभएको हो। उहाँ आफू निको हुन्छु कि हुँदिनँ भनी जान्‍न चाहनुहुन्छ।” १० एलिसाले उनलाई जवाफ दिए: “गएर तिनलाई यसो भनिदेऊ, ‘तिमी अवश्‍य निको हुनेछौ।’ तर यहोवा परमेश्‍वरले तिनको मृत्यु पक्कै हुनेछ भनेर मलाई प्रकट गर्नुभएको छ।”+ ११ एलिसाले हाजाएललाई एकटक लगाएर हेरिरहे अनि त्यसले गर्दा हाजाएललाई अप्ठ्‌यारो लाग्यो। त्यसपछि साँचो परमेश्‍वरका सेवक रुन थाले। १२ तब हाजाएलले सोधे: “प्रभु, तपाईँ किन रुनुभएको?” तिनले जवाफ दिए: “किनकि तिमीले इस्राएलीहरूलाई कत्ति हानि पुऱ्‍याउनेछौ भनेर मलाई थाह छ।+ तिमीले पर्खालले घेरिएको तिनीहरूका सहरहरूलाई आगो लगाइदिनेछौ, तिनीहरूका बलिया-बलिया पुरुषहरूलाई तरबारले काट्‌नेछौ, तिनीहरूका छोराछोरीलाई पछारी-पछारी मार्नेछौ अनि तिनीहरूका गर्भवती स्त्रीहरूको पेट चिरिदिनेछौ।”+ १३ तब हाजाएलले भने: “तपाईँको यो सेवक, यो जाबो कुकुरले यस्तो काम कसरी गर्न सक्छ र?” तर एलिसाले भने: “तिमी सिरियाका राजा हुनेछौ भनी यहोवा परमेश्‍वरले मलाई प्रकट गर्नुभएको छ।”+

१४ त्यसपछि उनी आफ्नो मालिककहाँ फर्के। तब राजाले उनलाई सोधे: “एलिसाले के भने त?” उनले जवाफ दिए: “उहाँले तपाईँ अवश्‍य निको हुनुहुनेछ भन्‍नुभयो।”+ १५ तर भोलिपल्ट हाजाएलले एउटा तन्‍ना लिए, त्यसलाई पानीमा चोपे अनि त्यसले राजाको मुख छोपेर तिनको हत्या गरे।+ त्यसपछि तिनको ठाउँमा हाजाएल राजा भए।+

१६ यहुदामा यहोसापातले शासन गरिरहेकै बेला तिनका छोरा यहोराम पनि राजा भए। त्यतिबेला इस्राएलमा आहाबका छोरा यहोरामको+ शासनकालको पाँचौँ वर्ष चलिरहेको थियो।+ १७ राजा हुँदा यहोराम ३२ वर्षका थिए र तिनले यरुसलेममा आठ वर्ष शासन गरे। १८ आहाबको घरानाजस्तै+ तिनी पनि इस्राएलका राजाहरूको चालमा चले+ किनकि तिनले आहाबकी छोरीसित विवाह गरेका थिए।+ तिनले यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरिरहे।+ १९ तर यहोवा परमेश्‍वरले आफ्ना सेवक दाउदको खातिर यहुदाको विनाश गर्न चाहनुभएन।+ किनकि उहाँले दाउदसित उनी र उनका छोराहरूको दियो सधैँ बलिरहनेछ भनेर प्रतिज्ञा गर्नुभएको थियो।+

२० यहोरामको शासनकालमा एदोमले यहुदाको विद्रोह गऱ्‍यो+ र एदोमका मानिसहरू आफैले आफ्नो निम्ति राजा खडा गरे।+ २१ त्यसैले यहोराम आफ्ना सबै रथ लिएर पारिपट्टि जाइर भन्‍ने ठाउँमा गए। अनि यहोरामले राती नै उठेर एदोमीहरूलाई आक्रमण गरे र तिनीहरूलाई हराए, जसले तिनलाई र रथ हाँक्ने सैनिकहरूका कप्तानहरूलाई घेरेका थिए। त्यसपछि एदोमीहरू भागेर आ-आफ्नो पालमा गए। २२ तैपनि एदोमले आजसम्मै यहुदाको विद्रोह गरिरहेको छ। त्यसबेला लिब्नाहले+ पनि यहुदाको विद्रोह गऱ्‍यो।

२३ यहोरामको जीवनकालका बाँकी घटनाहरू र तिनले गरेका सबै काम यहुदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्‌। २४ यहोराम आफ्ना पितृहरूसितै सुते र तिनलाई दाउदनगरमा तिनका पितापुर्खाको चिहानमा गाडियो।+ तिनीपछि तिनका छोरा आहाज्याह+ राजा भए।

२५ आहाबका छोरा, इस्राएलका राजा यहोरामको शासनकालको १२ औँ वर्ष चलिरहेको बेला यहुदाका राजा यहोरामका छोरा आहाज्याह राजा भएका थिए।+ २६ राजा हुँदा आहाज्याह २२ वर्षका थिए र तिनले यरुसलेममा जम्मा १ वर्ष शासन गरे। तिनकी आमाको नाम अथल्याह+ थियो। उनी इस्राएलका राजा ओम्रिकी+ नातिनी* थिइन्‌। २७ आहाज्याह आहाबको घरानाको चालमा हिँडे+ र तिनीहरूले जस्तै यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरिरहे। किनकि आहाबको घरानासित तिनको वैवाहिक नाता थियो।+ २८ त्यसैले तिनी सिरियाका राजा हाजाएलसित लडाइँ गर्न आहाबका छोरा यहोरामसित रामोथ-गिलाद+ गए। त्यस युद्धमा सिरियालीहरूले यहोरामलाई घाइते बनाइदिए।+ २९ सिरियाका राजा हाजाएलसित+ लडाइँ गर्न जाँदा रामामा सिरियालीहरूले यहोरामलाई घाइते बनाएको हुनाले उनी निको हुन यिज्रेल फर्के।+ तब यहोरामका छोरा यहुदाका राजा आहाज्याह आहाबका छोरा यहोरामलाई भेट्‌न यिज्रेल गए किनकि उनी घाइते भएका थिए।*

९ तब भविष्यवक्‍ता एलिसाले ‘भविष्यवक्‍ताहरूका छोराहरू’-मध्ये* एक जनालाई बोलाएर यसो भने: “आफ्नो कम्मर कस र यो तेलको सुराही लिएर झट्टै रामोथ-गिलाद जाऊ।+ २ त्यहाँ पुगेर निम्सिका नाति, यहोसापातका छोरा येहुलाई खोज्नू।+ त्यसपछि तिनलाई तिनका भाइबन्धुको माझबाट बोलाउनू अनि अलग्गै भित्री कोठामा लैजानू। ३ अनि यो सुराहीको तेल तिनको शिरमा खन्याएर यसो भन्‍नू, ‘यहोवा परमेश्‍वर भन्‍नुहुन्छ: “म तिमीलाई इस्राएलका राजा अभिषेक गर्छु।”’+ त्यसपछि ढोका खोलेर त्यहाँबाट तुरुन्तै भाग्नू।”

४ तब भविष्यवक्‍ताका ती सेवक रामोथ-गिलाद जान निस्के। ५ उनी त्यहाँ पुग्दा सेनापतिहरू एकै ठाउँमा बसिरहेका थिए। उनले भने: “हे सेनापति! मैले तपाईँको लागि एउटा सन्देश ल्याएको छु।” येहुले सोधे: “कसको लागि?” उनले जवाफ दिए: “तपाईँको लागि।” ६ त्यसैले येहु उठे र घरभित्र गए। तब भविष्यवक्‍ताका ती सेवकले येहुको शिरमा तेल खन्याएर यसो भने, “इस्राएलका परमेश्‍वर यहोवा भन्‍नुहुन्छ: ‘म तिमीलाई यहोवाको प्रजा इस्राएलीहरूको राजा अभिषेक गर्छु।+ ७ तिमीले आफ्नो मालिक आहाबको घरानाको नामोनिसान मेटाइदिनू। ईजेबेलको हातबाट मारिएका मेरा सबै भविष्यवक्‍ता र यहोवाका सबै सेवकको रगतको म बदला लिनेछु।+ ८ आहाबको पूरै घराना मेटिनेछ। म उसको घरानाका सबै पुरुषलाई नाश गर्नेछु। म इस्राएलमा भएका निस्सहाय र कमजोरहरूलाई समेत छोड्‌नेछैनँ।+ ९ म आहाबको घरानाको हालत नबातका छोरा यरोबामको+ र अहियाहका छोरा बासाको+ घरानाको जस्तै बनाइदिनेछु। १० ईजेबेलको लासचाहिँ यिज्रेलको जमिनमा कुकुरहरूले खानेछन्‌+ र कसैले त्यसलाई गाड्‌नेछैन।’” यति भनेर भविष्यवक्‍ताका ती सेवक ढोका खोलेर त्यहाँबाट भागे।+

११ जब येहु अरू सेनापतिकहाँ फर्केर आए, तब तिनीहरूले सोधे: “सबै ठीक छ? त्यो बौलाहा किन तिमीलाई भेट्‌न आएछ?” तिनले जवाफ दिए: “त्यो बौलाहा हो अनि त्यसले बकम्फुसे कुरा गर्छ भनेर तिमीहरूलाई थाहै छ नि!” १२ तर तिनीहरूले भने: “तिमी झूट बोल्दै छौ! के भयो, भन त।” तब येहुले भविष्यवक्‍ताका ती सेवकले भनेको कुरा तिनीहरूलाई बताइदिए। तिनले अझै यसो भने: “उनले मलाई यो सन्देश पनि दिए, ‘यहोवा परमेश्‍वर भन्‍नुहुन्छ: “म तिमीलाई इस्राएलका राजा अभिषेक गर्छु।”’”+ १३ यो सुन्‍नेबित्तिकै तिनीहरू सबैले आ-आफ्नो लुगा येहुको अगाडि भऱ्‍याङमा बिछ्याइदिए+ अनि सिङ फुकेर यस्तो घोषणा गरे: “येहु राजा हुनुभएको छ!”+ १४ त्यसपछि निम्सिका नाति, यहोसापातका छोरा येहुले+ यहोरामविरुद्ध षड्‌यन्त्र रचे।

इस्राएललाई सिरियाका राजा हाजाएलको+ आक्रमणबाट जोगाउन यहोराम पूरै इस्राएली सेनासहित रामोथ-गिलाद+ गएका थिए। १५ तर सिरियाका राजा हाजाएलसित+ लडाइँ गर्दा सिरियालीहरूले राजा यहोरामलाई घाइते बनाइदिएका थिए। त्यसैले यहोराम निको हुन यिज्रेल फर्केका थिए।+

तब येहुले आफूसँग भएका सेनापतिहरूलाई भने: “यदि तिमीहरू मेरो पक्षमा छौ भने कसैलाई पनि सहरबाट बाहिर निस्कन नदिनू। यो खबर यिज्रेलमा पुग्न नपाओस्‌।” १६ त्यसपछि येहु आफ्नो रथमा यिज्रेल गए किनकि घाइते यहोराम त्यहाँ गएका थिए। यहुदाका राजा आहाज्याह पनि यहोरामलाई भेट्‌न त्यहीँ गएका थिए। १७ यिज्रेलको धरहरामा उभिरहेका पहरेदारले येहु आफ्नो फौजसहित आइरहेको देखे। तब तिनले तुरुन्तै यसो भने: “म एउटा फौज आइरहेको देख्दै छु।” यहोरामले भने: “तिनीहरूलाई भेट्‌न एक जना घोडचढीलाई पठाऊ र यो कुरा सोध्न लगाऊ, ‘के तिमीहरू मित्रभावले आएका हौ?’” १८ त्यसैले एक जना घोडचढी येहुलाई भेट्‌न गयो र यसो भन्यो: “राजा सोध्नुहुन्छ, ‘के तिमी मित्रभावले आएका हौ?’” तर येहुले भने: “मलाई यो सोध्ने तिमी को हौ? चुपचाप मेरो पछि लाग!”

तब पहरेदारले यहोरामलाई भने: “त्यो सन्देशवाहकले तिनीहरूलाई भेट्‌न त भेट्‌यो तर ऊ फर्केर आएन।” १९ त्यसैले यहोरामले अर्को घोडचढीलाई पठाए। उसले तिनीहरूलाई भेटेपछि यसो भन्यो: “राजा सोध्नुहुन्छ, ‘के तिमी मित्रभावले आएका हौ?’” तर येहुले भने: “मलाई यो सोध्ने तिमी को हौ? चुपचाप मेरो पछि लाग!”

२० पहरेदारले यहोरामलाई फेरि यसो भने: “उसले तिनीहरूलाई भेट्‌न त भेट्‌यो तर ऊ फर्केर आएन। त्यो रथ हाँक्ने त निम्सिका नाति* येहु जस्ता छन्‌ किनकि तिनी बौलाहाले जस्तै रथ हाँक्छन्‌।” २१ तब यहोरामले भने: “झट्टै मेरो रथ तयार गर!” तिनीहरूले त्यसै गरे र इस्राएलका राजा यहोराम अनि यहुदाका राजा आहाज्याह+ आ-आफ्नो रथ चढेर येहुलाई भेट्‌न गए। उनीहरूले तिनलाई यिज्रेली नाबोथको+ जग्गामा भेटे।

२२ येहुलाई देख्नेबित्तिकै यहोरामले सोधे: “येहु! के तिमी मित्रभावले आएका हौ?” तर येहुले जवाफ दिए: “तिम्री आमा ईजेबेलले+ वेश्‍यावृत्ति* र टुनामुना गर्न छोडेकी छैनन्‌; तिमीसँग केको मित्रभाव?”+ २३ तब यहोराम तुरुन्तै आफ्नो रथ घुमाएर त्यहाँबाट भाग्न खोजे अनि आहाज्याहलाई यसो भने: “आहाज्याह! यो त पासो रहेछ!” २४ येहुले आफ्नो धनु उठाएर यहोरामको पिठिउँमा हाने। काँडले यहोरामको मुटु वारपार हुनेगरि छेड्‌यो र उनी रथमै मरे। २५ त्यसपछि येहुले आफ्नो सेनाका सहायक अफिसर बिदकारलाई यसो भने: “यसको लास उठाएर यिज्रेली नाबोथको खेतमा फालिदेऊ।+ तिमीलाई याद छ? जब तिमी र म यसको बुबा आहाबको पछिपछि रथ हाँकिरहेका थियौँ, तब यहोवा परमेश्‍वर स्वयम्‌ले आहाबलाई यो सजाय सुनाउनुभएको थियो:+ २६ ‘यहोवा घोषणा गर्नुहुन्छ, “मैले हिजो नाबोथ र तिनका छोराहरूको हत्या भएको देखेको थिएँ,”+ यहोवा घोषणा गर्नुहुन्छ, “यही ठाउँमा म तँसित बदला लिनेछु।”’+ त्यसैले यहोवा परमेश्‍वरको वचनअनुसारै यो लास उठाएर यही जमिनमा फालिदेऊ।”+

२७ यो सब देखेपछि यहुदाका राजा आहाज्याह+ एउटा ठूलो बगैँचाको* बाटो भएर भागे। (पछि येहुले उनलाई खेदे र आफ्ना मानिसहरूलाई भने: “त्यसलाई पनि मार!” आहाज्याह आफ्नो रथ हाँकेर इब्लामनजिकै+ पर्ने गुरतर्फ गइरहेको बेला तिनीहरूले उनलाई प्रहार गरे। तर उनी भाग्दै-भाग्दै मगिद्दोसम्म पुगे र त्यहीँ मरे। २८ त्यसपछि उनका सेवकहरूले उनलाई रथमा राखेर यरुसलेम लगे अनि दाउदनगरमा उनका पितापुर्खाको चिहानमा गाडे।+ २९ आहाबका छोरा यहोरामको शासनकालको ११ औँ वर्ष चलिरहेको बेला आहाज्याह+ यहुदाका राजा भएका थिए।)

३० येहु यिज्रेल+ आएका छन्‌ भनेर ईजेबेलले+ सुनिन्‌। त्यसैले उनले आँखामा गाजल लगाइन्‌, कपाल बाटिन्‌ र झ्यालबाट तल हेरेर बसिन्‌। ३१ येहु ढोकाबाट भित्र छिरेपछि उनले भनिन्‌: “आफ्नो मालिकको हत्या गर्ने जिम्रिको के हालत भएको थियो, तिमीलाई थाह छ हैन?”+ ३२ तब येहुले माथि झ्यालतिर हेरेर यसो भने: “मलाई साथ दिने को छ?”+ दरबारका दुई-तीन जना अफिसरले तुरुन्तै येहुलाई माथिबाट हेरे। ३३ तब तिनले भने: “त्यस स्त्रीलाई तल फ्याँकिदेओ!” अनि तिनीहरूले ईजेबेललाई तल फ्याँकिदिए। उनको रगतको छिटा पर्खालमा र घोडाहरूमा पऱ्‍यो। तब येहुले आफ्ना घोडाहरूले उनलाई कुल्चिदिए। ३४ त्यसपछि तिनले भित्र गएर खानपिन गरे अनि यसो भने: “जाओ र त्यो श्रापित स्त्रीको लास गाडिदेओ। आखिर त्यो राजकुमारी हो।”+ ३५ तर ईजेबेलको लास उठाउन जाँदा तिनीहरूले उनको खप्पर, खुट्टा र हत्केलाबाहेक अरू केही भेटेनन्‌।+ ३६ तिनीहरूले गएर येहुलाई यो कुरा बताइदिए। तब तिनले यसो भने: “यहोवा परमेश्‍वरले आफ्नो सेवक तिस्बेली एलियामार्फत भन्‍नुभएको यो कुरा आज पूरा भयो,+ ‘यिज्रेलको जमिनमा कुकुरहरूले ईजेबेलको मासु खानेछ।+ ३७ ईजेबेलको लास यिज्रेलको जमिनमा मलसरह हुनेछ र कसैले पनि यसो भन्‍न सक्नेछैन: “यो ईजेबेल हो।”’”

१० सामरियामा आहाबका+ ७० जना छोरा बस्थे। त्यसकारण येहुले यिज्रेलका भारदारहरूलाई, नाइकेहरूलाई+ र आहाबका छोराहरूको हेरविचार गर्ने मानिसहरूलाई पत्रहरू लेखे अनि ती पत्रहरू सामरिया पठाए। पत्रमा तिनले यस्तो लेखेका थिए: २ “तपाईँहरूको साथमा तपाईँहरूका मालिकका छोराहरू, रथहरू, घोडाहरू, पर्खालले घेरिएको सहर र हातहतियार छ। यो पत्र पाएपछि ३ तपाईँहरूको मालिकका छोराहरूमध्ये सबैभन्दा असल र योग्यलाई रोज्नुहोस्‌ अनि उनको बुबाको सिंहासन दिनुहोस्‌। त्यसपछि आफ्नो मालिकको घरानाको निम्ति लड्‌नुहोस्‌।”

४ तर तिनीहरू डरले खङ्‌ग्रङ्‌ग भए र यसो भन्‍न लागे: “हेर! दुई-दुई जना राजा त तिनको अगाडि टिक्न सकेनन्‌+ भने हामी कसरी टिक्न सकौँला र?” ५ त्यसैले राजमहलको रेखदेख गर्ने अफिसर, सहरको राज्यपाल, नाइकेहरू र आहाबका छोराहरूको हेरविचार गर्ने मानिसहरूले येहुकहाँ यस्तो सन्देश पठाए: “हामी तपाईँका सेवक हौँ। तपाईँ जे भन्‍नुहुन्छ, हामी त्यही गर्नेछौँ। हामी कसैलाई राजा बनाउँदैनौँ। तपाईँलाई जे ठीक लाग्छ, त्यही गर्नुहोस्‌।”

६ तब येहुले तिनीहरूलाई अर्को पत्र लेखे। पत्रमा यस्तो लेखिएको थियो: “यदि तपाईँहरू मेरो पक्षमा हुनुहुन्छ र मेरो हुकुम मान्‍न राजी हुनुहुन्छ भने आफ्नो मालिकका छोराहरूको टाउको लिएर भोलि यही समयमा यिज्रेल आउनुहोस्‌।”

त्यतिबेला ७० जना राजकुमार सहरका गण्यमान्य मानिसहरूसँग बस्थे र तिनीहरूले नै उनीहरूको हेरविचार गर्थे। ७ पत्र पाउनेबित्तिकै तिनीहरूले ७० जना राजकुमारलाई मारे।+ त्यसपछि तिनीहरूले उनीहरूको टाउको काटेर टोकरीहरूमा हाले र ती यिज्रेलमा येहुकहाँ पठाइदिए। ८ तब एक जना सन्देशवाहक आएर येहुलाई यसो भन्यो: “तिनीहरूले राजकुमारहरूको टाउको ल्याएका छन्‌।” तिनले भने: “ती टाउकाहरूको दुई वटा थुप्रो लगाऊ र बिहान नहोउन्जेल सहरको मूलढोकामा राख।” ९ येहु बिहान बाहिर गए अनि सबै मानिससामु उभिएर यसो भने: “तिमीहरू सबै निर्दोष* छौ। हो, मैले आफ्नो मालिकविरुद्ध षड्‌यन्त्र रचेँ र तिनलाई मारेँ।+ तर यिनीहरूलाई मार्ने को हो? १० त्यसैले यो कुरा जानिराख्नू: यहोवा परमेश्‍वरले आहाबको घरानाबारे भन्‍नुभएको एउटै कुरा, यहोवाले बोल्नुभएको एउटा शब्द पनि खेर जानेछैन।+ यहोवाले आफ्नो सेवक एलियामार्फत भन्‍नुभएको सबै कुरा पूरा गर्नुभएको छ।”+ ११ साथै, येहुले यिज्रेलमा बाँकी रहेका आहाबको घरानाका सबैलाई मारे। तिनले आहाबका खास-खास मानिसहरू, मित्रहरू र पुजारीहरू सबैलाई मारे;+ एक जनालाई पनि बाँकी राखेनन्‌।+

१२ त्यसपछि तिनी उठेर सामरियातर्फ लागे। बाटोमा गोठालाहरूको घर थियो, जहाँ तिनीहरू भेडाको ऊन कत्रन्थे। १३ त्यहाँ तिनले यहुदाका राजा आहाज्याहका+ दाजुभाइलाई भेटे। तिनले उनीहरूलाई सोधे: “तिमीहरू को हौ?” उनीहरूले जवाफ दिए: “हामी आहाज्याहका दाजुभाइ हौँ। हामी राजकुमारहरू र राजमाताका छोराहरूको हालखबर बुझ्न जाँदै छौँ।” १४ येहुले तुरुन्तै आफ्ना मानिसहरूलाई यसो भने: “यिनीहरूलाई जिउँदै समात!” तिनीहरूले उनीहरूलाई जिउँदै समाते र गोठालाहरूको घरको इनारमा लगेर मारे। मारिनेहरू जम्मा ४२ जना थिए। तिनले उनीहरूमध्ये एक जनालाई पनि बाँकी राखेनन्‌।+

१५ त्यहाँबाट निस्केपछि तिनले बाटोमा रेकाबका+ छोरा यहोनादाबलाई+ भेटे। उनी येहुलाई नै भेट्‌न आएका थिए। यहोनादाबले अभिवादन गरेपछि* येहुले सोधे: “म तिमीप्रति मनैदेखि वफादार भएजस्तै के तिमी पनि मप्रति मनैदेखि वफादार छौ?”

यहोनादाबले जवाफ दिए: “छु।”

“त्यसोभए, तिम्रो हात देऊ।”

त्यसैले उनले आफ्नो हात अघि बढाए र येहुले उनलाई तानेर आफ्नो रथमा बसाए। १६ त्यसपछि तिनले भने: “मसँगै आऊ! यहोवा परमेश्‍वरको+ विरुद्धमा कोही उठेको म हेर्न सक्दिनँ भन्‍ने कुरा* तिमीले देख्नेछौ।” यसरी येहुले उनलाई आफूसँगै रथमा लगे। १७ तिनी सामरिया आइपुगे र त्यहाँ आहाबको घरानाका बाँकी सबैलाई मारे। यसरी यहोवा परमेश्‍वरले एलियामार्फत भन्‍नुभएअनुसारै+ तिनले आहाबको घरानाको नामोनिसान मेटाइदिए।+

१८ त्यसपछि येहुले सबै मानिसलाई एक ठाउँमा भेला गरेर यसो भने: “आहाबले बाआलको उपासना गर्न जे-जति गरे,+ येहुले त्योभन्दा कता हो कता धेरै गर्नेछ। १९ त्यसैले बाआलका सबै भविष्यवक्‍ता,+ उपासक र पुजारीलाई यहाँ मेरो सामने भेला गर।+ एक जना पनि नछुटोस्‌ किनकि आज म बाआलको निम्ति ठूलो बलि चढाउँदै छु। यदि कोही यहाँ आएन भने उसलाई मारिनेछ।” वास्तवमा येहुले बाआलका उपासकहरूलाई नाश गर्न चाल चलिरहेका थिए।

२० येहुले यसो पनि भने: “बाआलको निम्ति विशेष सभाको घोषणा गर।” तिनीहरूले त्यसै गरे। २१ येहुले इस्राएलको कुनाकुनामा खबर पठाए। त्यसपछि बाआलका सबै उपासक त्यहाँ भेला भए, एक जना पनि छुटेन। तिनीहरू सबै बाआलको मन्दिरभित्र गए+ र मन्दिर खचाखच भरियो। २२ येहुले वस्त्र-भण्डारको रेखदेख गर्ने अफिसरलाई यसो भने: “बाआलका सबै उपासकको लागि कपडा ल्याऊ।” तब उनले तिनीहरूको निम्ति कपडाहरू ल्याए। २३ त्यसपछि येहु र रेकाबका छोरा यहोनादाब+ बाआलको मन्दिरभित्र गए। येहुले बाआलका उपासकहरूलाई भने: “यहाँ यहोवाका उपासकहरू पनि छन्‌ कि, राम्ररी हेर। यहाँ बाआलका उपासकहरूबाहेक अरू कोही नहोऊन्‌।” २४ त्यसपछि तिनीहरूले बलि र अग्निभेटी चढाउन सुरु गरे। येहुले आफ्ना ८० जना मानिसलाई बाहिर राखेका थिए र यस्तो चेतावनी दिएका थिए: “यदि तिमीहरूमध्ये कसैले कुनै मानिसलाई यहाँबाट उम्कन दियौ भने त्यसको सट्टामा म उसको ज्यान लिनेछु।”

२५ अग्निभेटी चढाउन सिद्धिनेबित्तिकै येहुले पहरेदारहरूलाई र सेनाका सहायक अफिसरहरूलाई यसो भने: “भित्र आओ र यिनीहरूलाई मार! एक जनालाई पनि उम्कन नदेओ।”+ त्यसैले ती पहरेदारहरू र सेनाका सहायक अफिसरहरूले बाआलका उपासकहरूलाई तरबारले मार्दै बाहिर फ्याँक्न थाले। उनीहरू तिनीहरूलाई मार्दै मन्दिरको भित्री कोठासम्मै* पुगे। २६ त्यसपछि उनीहरूले बाआलको मन्दिरबाट सबै पवित्र थाम* बाहिर ल्याएर जलाइदिए।+ २७ तिनीहरूले बाआलको पवित्र थाम ढालिदिए+ र मन्दिर पनि भत्काइदिए+ अनि त्यस ठाउँलाई दिसा-पिसाब गर्ने ठाउँ बनाइदिए। त्यो ठाउँ अहिलेसम्म पनि त्यस्तै छ।

२८ यसरी येहुले इस्राएलबाट बाआलको नामोनिसान मेटाइदिए। २९ तर नबातका छोरा यरोबामले इस्राएललाई जुन पाप गर्न लगाएका थिए, येहुले त्यो पाप गर्न छोडेनन्‌। तिनले बेथेल र दानबाट सुनका बाछाहरू हटाएनन्‌।+ ३० यहोवा परमेश्‍वरले येहुलाई भन्‍नुभयो: “आहाबको घरानालाई म जे गर्न चाहन्थेँ, तिमीले त्यही गऱ्‍यौ।+ यसरी तिमीले मेरो नजरमा जे असल छ, त्यो गऱ्‍यौ। तिमीले सही कदम चालेको हुनाले म तिम्रो चार पुस्तालाई इस्राएलको सिंहासनमा बस्न दिनेछु।”+ ३१ तर येहुले सारा हृदयले+ इस्राएलका परमेश्‍वर यहोवाको नीतिनियम पालन गरेनन्‌। यरोबामले इस्राएललाई जुन पाप गर्न लगाएका थिए, येहुले त्यो पाप गरिरहे।+

३२ त्यसबेला यहोवा परमेश्‍वरले शत्रुहरूलाई इस्राएलको इलाका एक-एक गर्दै कब्जा गर्न दिनुभयो। हाजाएलले इस्राएलका विभिन्‍न इलाकामा आक्रमण गरिरहे।+ ३३ तिनले यर्दनको पूर्वपट्टि पर्ने गिलादको सम्पूर्ण इलाकादेखि आक्रमण गर्न सुरु गरे। त्यहाँ गाद, रुबेन र मनस्सेको कुल+ बस्थे। त्यस इलाकामा अर्नोन बेँसीनजिकै* पर्ने अरोएरदेखि गिलाद र बासानसम्मको भूभाग पर्थ्यो।+

३४ येहुको जीवनकालका बाँकी घटनाहरू, तिनको वीरता र तिनले गरेका सबै काम इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्‌। ३५ येहु आफ्ना पितृहरूसितै सुते र तिनलाई सामरियामा गाडियो। तिनीपछि तिनका छोरा यहोअहाज+ राजा भए। ३६ येहुले सामरियाबाट इस्राएलमाथि २८ वर्ष शासन गरे।

११ आफ्नो छोरा आहाज्याहको मृत्यु भयो+ भनेर थाह पाएपछि उनकी आमा अथल्याहले+ राजघरानाका सबै उत्तराधिकारीको हत्या गरिन्‌।+ २ तर राजा यहोरामकी छोरी, आहाज्याहकी बहिनी यहोसेबाले आहाज्याहका छोरा यहोआसलाई+ बचाइन्‌। अथल्याहले हत्या गर्न लागेका राजकुमारहरूको बीचबाट उनले यहोआसलाई सुटुक्क उठाएर लगिन्‌ अनि यहोआस र तिनकी धाईआमालाई सुत्ने कोठामा लगेर लुकाइन्‌। तिनीहरूले यहोआसलाई अथल्याहबाट जसोतसो लुकाएर राखे; त्यसैले तिनी मारिएनन्‌। ३ तिनलाई छ वर्षसम्म यहोवा परमेश्‍वरको भवनमा लुकाएर राखियो। त्यस दौडान यहुदामा अथल्याहले शासन गरिन्‌।

४ सातौँ वर्षमा यहोयादाले सय-सय जना शाही अङ्‌गरक्षकको* दलका कप्तानहरूलाई र महलका सय-सय जना पहरेदारको दलका कप्तानहरूलाई+ यहोवा परमेश्‍वरको भवनमा एकसाथ भेला गराए। उनले तिनीहरूसित सम्झौता* गरे र त्यो सम्झौता पालन गर्नेछु भनी यहोवा परमेश्‍वरको भवनमा कसम खान लगाए। त्यसपछि उनले तिनीहरूलाई राजकुमार देखाइदिए।+ ५ उनले तिनीहरूलाई यस्तो आदेश दिए: “तिमीहरूले यसो गर्नू: तिमीहरूमध्ये एक तिहाइ विश्रामदिनमा* आफ्नो काममा आउनू र राजमहलको कडा निगरानी गर्नू।+ ६ अर्को एक तिहाइ जग-ढोकामा तैनाथ हुनू अनि बाँकी एक तिहाइचाहिँ महलका पहरेदारहरूको पछिल्तिर भएको ढोकामा तैनाथ हुनू। तिमीहरू सबैले पालैपालो भवनमा* पहरा दिनू। ७ विश्रामदिनमा आफ्नो काममा आउनु नपर्ने दुई दलले पनि राजाको सुरक्षाको खातिर यहोवा परमेश्‍वरको भवनको कडा निगरानी गर्नुपर्नेछ। ८ तिमीहरू सबै आफ्नो हातमा हतियार बोकेर राजाको वरिपरि तैनाथ हुनू। यदि कोही सैनिकहरूको घेराभित्र घुस्न खोज्यो भने उसलाई मार्नू। राजा जहाँ-जहाँ जानुहुन्छ, तिमीहरू पनि त्यहाँ-त्यहाँ उहाँसँगै जानू।”

९ सय-सय जनाका कप्तानहरूले+ पुजारी यहोयादाको आदेशबमोजिमै गरे। तिनीहरू सबैले आफ्नो दलमा भएकाहरूलाई लिए। विश्रामदिनमा काम गर्ने पालो भएका र नभएका सबैलाई लिएर तिनीहरू पुजारी यहोयादाकहाँ आए।+ १० त्यसपछि उनले सय-सय जनाका कप्तानहरूलाई यहोवा परमेश्‍वरको भवनमा राखिएका भालाहरू र गोलाकार ढालहरू दिए। यी हतियारहरू राजा दाउदका थिए। ११ महलका पहरेदारहरू+ आफ्नो हातमा हतियार लिएर आ-आफ्नो ठाउँमा तैनाथ भए। तिनीहरू भवनको दायाँ कुनादेखि बायाँ कुनासम्मै थिए। तिनीहरू वेदीको+ र भवनको नजिकै—राजाको चारैतिर तैनाथ भए। १२ त्यसपछि यहोयादाले राजकुमारलाई बाहिर ल्याए+ अनि तिनको शिरमा मुकुट लगाइदिए र त्यसमाथि साक्षी-पत्र*+ पनि राखिदिए। तिनीहरूले तिनलाई राजा अभिषेक गरे। तिनीहरूले थपडी मार्दै यसरी जयजयकार गर्न थाले: “राजा दीर्घायु होऊन्‌!”+

१३ मानिसहरू दौडिरहेको आवाज सुन्‍नेबित्तिकै अथल्याह यहोवा परमेश्‍वरको भवनमा गइन्‌। त्यहाँ मानिसहरू भेला भएका थिए।+ १४ त्यहाँ उनले राजालाई त्यसबेलाको चलनअनुसारै खम्बाको छेउमा उभिरहेको देखिन्‌।+ राजासँगै नाइकेहरू र बिगुल फुक्नेहरू+ पनि उभिरहेका थिए। त्यहाँ देशका सबै मानिस बिगुल फुकेर खुसीयाली मनाइरहेका थिए। यो देख्नेबित्तिकै अथल्याहले आफ्नो लुगा च्यातिन्‌ र यसो भन्दै चिच्याइन्‌: “यो त धोका भयो, धोका!” १५ तब पुजारी यहोयादाले सय-सय जना सैनिकका ती कप्तानहरूलाई यस्तो आदेश दिए:+ “यस आइमाईलाई सैनिकहरूको घेराबाट बाहिर निकाल! कोही उसको पछिपछि गयो भने त्यसलाई तरबारले मार!” किनकि पुजारीले यसो भनेका थिए: “उसलाई यहोवा परमेश्‍वरको भवनमा नमार्नू।” १६ त्यसैले तिनीहरूले उनलाई पक्रेर लगे अनि राजमहलमा घोडाहरू छिर्ने ठाउँनेर पुगेपछि उनलाई मारे।+

१७ त्यसपछि यहोयादाले यहोवा परमेश्‍वर, राजा र मानिसहरूबीच करार गरे,+ जुन करारअनुसार उनीहरू सधैँ यहोवा परमेश्‍वरको प्रजा रहनुपर्थ्यो। तिनले राजा र मानिसहरूबीच पनि करार गरे।+ १८ तब देशका सबै मानिस बाआलको मन्दिरमा आए र त्यसका सबै वेदी भत्काइदिए।+ तिनीहरूले त्यसका मूर्तिहरू धुलोपिठो पारिदिए+ अनि बाआलका पुजारी+ मत्तानलाई चाहिँ वेदीहरूकै अगाडि मारिदिए।

तब पुजारीले यहोवा परमेश्‍वरको भवनको निगरानी गर्न मानिसहरू खटाए।+ १९ साथै तिनले सय-सय जनाका कप्तानहरू,+ शाही अङ्‌गरक्षकहरू, महलका पहरेदारहरू+ र देशका सबै मानिस लिए अनि उनीहरू सबैले राजालाई यहोवा परमेश्‍वरको भवनबाट बाहिर लगे। उनीहरू महलका पहरेदारहरूको ढोकाबाट राजमहलभित्र पसे। त्यसपछि राजा सिंहासनमा बसे।+ २० तब सबै मानिसले खुसीयाली मनाए र सहरमा शान्ति छायो किनकि तिनीहरूले अथल्याहलाई राजमहलमा तरबारले मारेका थिए।

२१ राजा हुँदा यहोआस+ सात वर्षका थिए।+

१२ येहुको शासनकालको सातौँ वर्षमा+ यहोआस+ राजा भए र तिनले यरुसलेममा ४० वर्ष शासन गरे। तिनकी आमाको नाम जिब्याह थियो। उनी बेर्सेबाकी+ बासिन्दा थिइन्‌। २ पुजारी यहोयादाले बाटो देखाउन्जेल यहोआसले यहोवा परमेश्‍वरको नजरमा जे सही छ, त्यही गरिरहे। ३ तर अग्ला थानहरू*+ भने हटाइएनन्‌ र मानिसहरूले ती अग्ला थानहरूमा माथिसम्म धुवाँ उठ्‌नेगरि बलि चढाइरहे।

४ यहोआसले पुजारीहरूलाई यस्तो आदेश दिए: “यहोवा परमेश्‍वरको भवनमा पवित्र भेटीस्वरूप चढाइने सबै पैसा+ अर्थात्‌ मानिसहरूले तिर्ने कर,+ भाकल गरेका मानिसहरूको लागि पुजारीहरूले तोकेको रकम र यहोवा परमेश्‍वरको भवनको लागि मानिसहरूले राजीखुसीले दिने अनुदान सङ्‌कलन गर्नुहोस्‌।+ ५ हरेक पुजारी आफैले दाताहरूबाट* ती रकम जम्मा गर्नुपर्छ अनि परमेश्‍वरको भवनमा क्षति भएका ठाउँहरू* मर्मत गर्न चलाउनुपर्छ।”+

६ राजा यहोआसले शासन गरेको २३ वर्ष भइसकेको थियो। तैपनि पुजारीहरूले भवनको मर्मतसम्भार गरेका थिएनन्‌।+ ७ त्यसकारण राजा यहोआसले पुजारी यहोयादा+ र अरू पुजारीहरूलाई बोलाएर सोधे: “तपाईँहरूले किन अहिलेसम्म भवनको मर्मतसम्भार गर्नुभएको छैन? यदि तपाईँहरू आफ्ना दाताहरूले दिएको पैसा भवनको मर्मतसम्भारमा प्रयोग गर्नुहुन्‍न भने तिनीहरूबाट पैसा लिन बन्द गर्नुहोस्‌।”+ ८ तब ती पुजारीहरूले मानिसहरूबाट पैसा नलिने र भवनको मर्मतसम्भार गर्ने जिम्मेवारी पनि नलिने निर्णय गरे।

९ त्यसपछि पुजारी यहोयादाले एउटा बाकस ल्याएर+ त्यसको ढकनीमा प्वाल पारे अनि त्यसलाई वेदीको छेउमा राखे। कोही यहोवा परमेश्‍वरको भवनमा छिर्दा त्यो बाकस तिनको दायाँपट्टि पर्थ्यो। पहरेदारको रूपमा सेवा गर्ने पुजारीहरूले यहोवा परमेश्‍वरको भवनमा चढाइएको सबै पैसा त्यही बाकसमा हाल्ने गर्थे।+ १० त्यो बाकस पूरै भरिएपछि तिनीहरूले राजाका सचिव र प्रधानपुजारीलाई खबर गर्थे। त्यसपछि उनीहरू त्यहाँ आउँथे अनि यहोवा परमेश्‍वरको भवनमा चढाइएको त्यो पैसा लगेर* गन्थे।+ ११ अनि त्यो पैसा यहोवा परमेश्‍वरको भवन मर्मतसम्भार गर्ने कामको निरीक्षण गर्न खटाइएकाहरूलाई दिन्थे। त्यसपछि ती निरीक्षकहरूले यहोवा परमेश्‍वरको भवनमा काम गरिरहेका सिकर्मीहरू, कारिगरहरू,+ १२ डकर्मीहरू र ढुङ्‌गा काट्‌नेहरूलाई पैसा दिन्थे। तिनीहरूले त्यो पैसाले काठ र नापअनुसार काटिएका ढुङ्‌गा पनि किन्थे र यहोवा परमेश्‍वरको भवन मर्मत गर्थे। भवन मर्मतसम्भार गर्न लागेको सबै खर्च तिनीहरूले त्यही पैसाले बेहोर्थे।

१३ तर यहोवा परमेश्‍वरको भवनमा चढाइएको पैसा चाँदीका बाटा, सलेदो निभाउने साधन, कचौरा र बिगुल+ बनाउन प्रयोग गरिएन। यहोवा परमेश्‍वरको भवनको लागि सुन वा चाँदीका सरसामान बनाउन त्यो पैसा चलाइएन।+ १४ तिनीहरूले त्यो पैसा निरीक्षकहरूलाई दिन्थे र त्यो पैसा यहोवा परमेश्‍वरको भवन मर्मतसम्भार गर्न मात्र चलाइन्थ्यो। १५ कामदारहरूलाई ज्याला तिर्न निरीक्षकहरूलाई दिइएको पैसाको कहिल्यै हिसाबकिताब मागिँदैनथ्यो किनकि ती निरीक्षकहरू भरोसायोग्य थिए।+ १६ दोषभेटी* र पापभेटीस्वरूप*+ चढाइएको पैसा भने यहोवा परमेश्‍वरको भवन मर्मतसम्भार गर्न चलाइँदैनथ्यो किनकि त्यो पुजारीहरूको भाग थियो।+

१७ त्यसै बेलातिर सिरियाका राजा हाजाएल+ गाथसित+ लडाइँ गर्न निस्के र उनले त्यसलाई कब्जा गरे। त्यसपछि उनले यरुसलेमलाई आक्रमण गर्ने निधो गरे।+ १८ तब यहुदाका राजा यहोआसले आफ्ना पितापुर्खा अर्थात्‌ यहुदाका राजा यहोसापात, यहोराम र आहाज्याहले पवित्र पारेका सबै भेटी अनि आफैले पवित्र पारेका सबै भेटी लिए। तिनले यहोवा परमेश्‍वरको भवनको र राजमहलको भण्डारमा राखिएका सबै सुन पनि निकाले। त्यसपछि तिनले ती सबै सिरियाका+ राजा हाजाएलकहाँ पठाइदिए। त्यसैले हाजाएल यरुसलेमलाई आक्रमण नगरी फर्केर गए।

१९ यहोआसको जीवनकालका बाँकी घटनाहरू र तिनले गरेका सबै काम यहुदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्‌। २० यहोआसका सेवकहरूले तिनीविरुद्ध षड्‌यन्त्र रचे+ र उनीहरूले तिनलाई सिल्ला जाने बाटोमा पर्ने ‘ढिस्को’-को* घरमा* मारे।+ २१ यहोआसको हत्या गर्ने ती सेवकहरू सिम्मेथका छोरा योजाकार र सोमेरका छोरा यहोजाबाद थिए।+ उनीहरूले यहोआसलाई दाउदनगरमा तिनका पितापुर्खाको चिहानमा गाडे। तिनीपछि तिनका छोरा अमस्याह राजा भए।+

१३ आहाज्याहका+ छोरा यहुदाका राजा यहोआसको शासनकालको २३ औँ वर्षमा+ येहुका+ छोरा यहोअहाज सामरियामा इस्राएलका राजा भए। तिनले १७ वर्ष शासन गरे। २ तिनले यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरिरहे। नबातका छोरा यरोबामले इस्राएललाई जुन पाप गर्न लगाएका थिए,+ तिनले त्यो पाप गर्न छोडेनन्‌। ३ त्यसैले यहोवा परमेश्‍वरको क्रोध+ इस्राएलमाथि दन्क्यो।+ उहाँले तिनीहरूलाई सिरियाका राजा हाजाएलको+ हातमा अनि उनका छोरा बेन-हददको+ हातमा सुम्पनुभयो। इस्राएलीहरू लामो समयसम्म उनीहरूको अधीनमा बस्नुपऱ्‍यो।

४ केही समयपछि यहोअहाजले यहोवा परमेश्‍वरसित दयाको भीख मागे। यहोवा परमेश्‍वरले तिनको बिन्ती सुन्‍नुभयो किनकि सिरियाका राजाले इस्राएलमाथि गरेको अत्याचार उहाँले देख्नुभएको थियो।+ ५ त्यसैले यहोवा परमेश्‍वरले इस्राएललाई सिरियाको हातबाट छुटाउन एक जना उद्धारक नियुक्‍त गर्नुभयो।+ अनि इस्राएलीहरूले पहिलाजस्तै ढुक्क भएर जीवन बिताउन थाले। ६ (तर यरोबामको घरानाले इस्राएललाई जुन पाप गर्न लगाएको थियो, इस्राएलीहरूले त्यो पाप गर्न छोडेनन्‌;+ तिनीहरू त्यसैमा लागिरहे। सामरियाको पवित्र खामो*+ पनि हटाइएन।) ७ यहोअहाजसित सेनाको नाममा ५० घोडचढी, १० वटा रथ र १० हजार पैदल सिपाही मात्र थियो। किनकि सिरियाका राजाले तिनको सेनालाई खलाको भुसलाई जस्तै कुल्चीमिल्ची गरेर+ सखाप पारिदिएका थिए।+

८ यहोअहाजको जीवनकालका बाँकी घटनाहरू, तिनको वीरता र तिनले गरेका सबै काम इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्‌। ९ यहोअहाज आफ्ना पितृहरूसितै सुते र तिनलाई सामरियामा+ गाडियो। तिनीपछि तिनका छोरा यहोआस राजा भए।

१० यहुदाका राजा यहोआसको शासनकालको ३७ औँ वर्षमा यहोअहाजका छोरा यहोआस+ सामरियामा इस्राएलका राजा भएका थिए। उनले १६ वर्ष शासन गरे। ११ उनले यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरिरहे। नबातका छोरा यरोबामले इस्राएललाई जुन पाप गर्न लगाएका थिए, उनले त्यो पाप गर्न छोडेनन्‌;+ उनी त्यसैमा लागिरहे।

१२ यहोआसको जीवनकालका बाँकी घटनाहरू, उनले गरेका सबै काम, उनको वीरता र उनले यहुदाका+ राजा अमस्याहसित गरेको लडाइँबारे इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्‌। १३ यहोआस आफ्ना पितृहरूसितै सुते र उनीपछि यरोबाम*+ सिंहासनमा बसे। यहोआसलाई सामरियामा इस्राएलका राजाहरूको चिहानमा गाडियो।+

१४ एलिसा+ बिरामी भए र त्यही बिमारीले गर्दा तिनको मृत्यु भयो। एलिसा बिरामी भएको बेला इस्राएलका राजा यहोआस तिनीकहाँ आए र रुँदै यसो भन्‍न थाले: “हे बुबा! हे बुबा! इस्राएलका रथ र त्यसका घोडचढीहरू!”*+ १५ एलिसाले उनलाई भने: “धनु र काँड लिनुहोस्‌।” यहोआसले त्यसै गरे। १६ एलिसाले इस्राएलका राजालाई भने: “आफ्नो हातले धनु उचाल्नुहोस्‌।” राजाले धनु उचालेपछि एलिसाले आफ्नो हात उनको हातमाथि राखे। १७ तब एलिसाले भने: “पूर्वपट्टिको झ्याल खोल्नुहोस्‌।” राजाले झ्याल खोले। एलिसाले भने: “काँड हान्‍नुहोस्‌!” तब उनले काँड हाने। एलिसाले भने: “यो यहोवा परमेश्‍वरले दिनुहुने विजयको* काँड हो; सिरियामाथि विजय* दिने काँड! तपाईँले अफेकमा+ सिरियालाई सर्वनाश गर्नुहुनेछ।”*

१८ एलिसाले अझै यसो भने: “काँडहरू लिनुहोस्‌।” राजाले काँडहरू लिए। तब एलिसाले इस्राएलका राजालाई भने: “भुईँमा काँड हान्‍नुहोस्‌।” राजाले भुईँमा तीन खेप काँड हाने अनि रोकिए। १९ यो देखेर साँचो परमेश्‍वरका सेवक क्रोधित भए अनि राजालाई यसो भने: “तपाईँले भुईँमा पाँच-छ खेप हान्‍नुपर्थ्यो! तब तपाईँले सिरियालाई सर्वनाश गर्न सक्नुहुने थियो। तर अब तपाईँले सिरियालाई तीन पटक मात्र हराउन सक्नुहुनेछ।”+

२० त्यसपछि एलिसाको मृत्यु भयो र तिनलाई गाडियो। हरेक चोटि नयाँ वर्ष लाग्दा* मोआबका लुटेरा दलहरू+ इस्राएलमा लुटपाट गर्न आउँथे। २१ एकपटक केही मानिस लास गाड्‌दै थिए। त्यसैबेला तिनीहरूले लुटेराहरूको दल आइरहेको देखे। त्यसैले तिनीहरूले त्यो लास एलिसाको चिहानमा फ्याँकेर भागे। एलिसाका हड्डीहरू छोएपछि त्यो लास जिउँदो भयो+ र उभियो।

२२ यहोअहाजको शासनकालभरि सिरियाका राजा हाजाएलले+ इस्राएलमाथि+ अत्याचार गरिरहे। २३ तर यहोवा परमेश्‍वरले अब्राहाम,+ इसहाक+ र याकुबसित+ गरेको करारको खातिर इस्राएलीहरूमाथि दया देखाउनुभयो+ र तिनीहरूको ख्याल राख्नुभयो। उहाँले तिनीहरूको विनाश गर्न चाहनुभएन। आजसम्म पनि उहाँले तिनीहरूलाई आफ्नो नजरबाट हटाउनुभएको छैन। २४ सिरियाका राजा हाजाएलको मृत्युपछि तिनका छोरा बेन-हदद राजा भए। २५ त्यसपछि यहोअहाजका छोरा यहोआसले हाजाएलका छोरा बेन-हददबाट सबै सहर फिर्ता लिए। हाजाएलले यहोअहाजसित लडाइँ गरेर ती सहरहरू लिएका थिए। यहोआसले बेन-हददलाई तीन पटक लडाइँमा हराए+ र इस्राएलका सहरहरू फिर्ता लिए।

१४ यहोअहाजका छोरा इस्राएलका राजा यहोआसको+ शासनकालको दोस्रो वर्षमा यहुदाका राजा यहोआसका छोरा अमस्याह राजा भए। २ राजा हुँदा तिनी २५ वर्षका थिए र तिनले यरुसलेममा २९ वर्ष शासन गरे। तिनकी आमाको नाम यहोअद्दिन थियो। उनी यरुसलेमकी बासिन्दा थिइन्‌।+ ३ अमस्याहले यहोवा परमेश्‍वरको नजरमा जे सही छ, त्यही गरिरहे तर तिनका पुर्खा दाउदले जतिकै त होइन।+ तिनका बुबा यहोआसले जे-जे गरे, तिनले ती सबै गरे।+ ४ तर उपासनाको लागि बनाइएका अग्ला थानहरू* भने हटाइएनन्‌+ अनि मानिसहरूले ती अग्ला थानहरूमा माथिसम्म धुवाँ उठ्‌नेगरि बलि चढाइरहे।+ ५ राजसत्तामा पकड जमाउनेबित्तिकै तिनले आफ्नो बुबाको हत्या गरेका आफ्ना सेवकहरूलाई मृत्युदण्ड दिए।+ ६ तर तिनले ती हत्याराहरूका छोराहरूलाई चाहिँ मृत्युदण्ड दिएनन्‌। तिनले मोसाको व्यवस्थाको पुस्तकमा यहोवा परमेश्‍वरले दिनुभएको यो आज्ञा पालन गरे: “छोराको कारण बुबालाई मृत्युदण्ड नदिनू र बुबाको कारण छोरालाई मृत्युदण्ड नदिनू। जुन मानिसले पाप गर्छ, उसैलाई मृत्युदण्ड दिनू।”+ ७ अमस्याहले नुन बेँसीमा+ एदोमीहरूसित+ लडेर तिनीहरूका १० हजार सिपाहीलाई मारे अनि सेला सहरलाई कब्जा गरे।+ पछि त्यस सहरको नाम योक्थेल राखियो र त्यसको नाम आजसम्म पनि त्यही छ।

८ पछि अमस्याहले येहुका नाति, यहोअहाजका छोरा इस्राएलका राजा यहोआसकहाँ सन्देशवाहकहरूमार्फत यस्तो खबर पठाए: “आऊ, हामी रणभूमिमा भिडौँ!”*+ ९ तब इस्राएलका राजा यहोआसले यहुदाका राजा अमस्याहलाई यस्तो खबर पठाए: “लेबनानको एउटा काँडेझारले लेबनानको देवदारलाई यस्तो सन्देश पठायो, ‘मेरो छोरासित तिम्री छोरीको बिहे गराइदेऊ।’ तर लेबनानको एउटा जङ्‌गली जनावर त्यही बाटो भएर आयो र त्यो काँडेझारलाई कुल्चीमिल्ची पारिदियो। १० हो, तिमीले एदोमलाई हरायौ+ र अहिले तिम्रो हृदय घमन्डले फुलेको छ। विजयको खुसीयाली मनाऊ तर आफ्नै महलमा बसेर! तिमी बेकारमा किन आफैमाथि विपत्ति निम्त्याउँछौ? आफूसँगसँगै पूरै यहुदालाई किन विनाशतर्फ धकेल्न खोज्दै छौ?” ११ तर अमस्याहले तिनको कुरा सुन्दै सुनेनन्‌।+

त्यसैले इस्राएलका राजा यहोआस यहुदाका राजा अमस्याहसित लडाइँ गर्न निस्के। तिनीहरूले यहुदाको+ इलाकामा पर्ने बेथ-सेमेसमा+ लडाइँ गरे। १२ इस्राएलले यहुदालाई हरायो र यहुदाका सबै सैनिक आ-आफ्नो घरतिर* भागे। १३ इस्राएलका राजा यहोआसले बेथ-सेमेसमा आहाज्याहका नाति यहोआसका छोरा यहुदाका राजा अमस्याहलाई पक्रे। त्यसपछि तिनीहरू यरुसलेम आए र यहोआसले यरुसलेमको पर्खालको एप्रैम-ढोकादेखि+ कुना-ढोकासम्मको+ भाग भत्काइदिए, जसको लम्बाइ ४०० हात* थियो। १४ त्यसपछि यहोआसले यहोवा परमेश्‍वरको भवनमा र राजमहलका भण्डारहरूमा भएका सबै सुनचाँदी र सरसामान लगे अनि मानिसहरूलाई बन्दी बनाए। त्यसपछि तिनी सामरिया फर्के।

१५ यहोआसको जीवनकालका बाँकी घटनाहरू, तिनले गरेका कामहरू, तिनको वीरता र तिनले यहुदाका राजा अमस्याहसित गरेको लडाइँबारे इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्‌। १६ यहोआस आफ्ना पितृहरूसितै सुते र तिनलाई सामरियामा+ इस्राएलका राजाहरूको चिहानमा गाडियो। तिनीपछि तिनका छोरा यरोबाम*+ राजा भए।

१७ यहोअहाजका छोरा इस्राएलका राजा+ यहोआसको+ मृत्यु भएपछि यहोआसका छोरा यहुदाका राजा अमस्याह+ अरू १५ वर्ष बाँचे। १८ अमस्याहको जीवनकालका बाँकी घटनाहरू यहुदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्‌। १९ पछि यरुसलेममा अमस्याहविरुद्ध षड्‌यन्त्र रचियो।+ त्यसैले उनी भागेर लाकिस गए। तर ती षड्‌यन्त्रकारीहरूले लाकिसमा आफ्ना मानिसहरू पठाए र तिनीहरूले त्यहीँ उनको हत्या गरे। २० अनि तिनीहरूले उनको लास घोडामा लादेर यरुसलेम ल्याए र उनलाई दाउदनगरमा उनको पितापुर्खाको चिहानमा गाडियो।+ २१ त्यसपछि यहुदाका सबै मानिसले अजर्याहलाई*+ तिनका बुबा अमस्याहको+ ठाउँमा राजा बनाए। राजा हुँदा तिनी १६ वर्षका थिए।+ २२ राजा* आफ्ना पितृहरूसितै सुतेपछि अजर्याहले एलाथ सहरको पुनर्निर्माण गरे+ अनि त्यसलाई फेरि यहुदाको अधीनमा ल्याए।+

२३ यहोआसका छोरा, यहुदाका राजा अमस्याहको शासनकालको १५ औँ वर्षमा इस्राएलका राजा यहोआसका छोरा यरोबाम+ सामरियामा राजा भए। उनले ४१ वर्ष शासन गरे। २४ उनले यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरिरहे। नबातका छोरा यरोबामले इस्राएललाई जुन पाप गर्न लगाएका थिए, उनले त्यो पाप गर्न छोडेनन्‌।+ २५ उनले लेबो-हमाथदेखि*+ अराबाह+ समुद्रसम्मका* इस्राएलको पूरै इलाका फिर्ता लिए। यसरी इस्राएलका परमेश्‍वर यहोवाले आफ्ना सेवक भविष्यवक्‍ता योनामार्फत भन्‍नुभएको कुरा पूरा भयो। योना+ अमित्तैका छोरा थिए र तिनी गाथ-हेपेरमा+ बस्थे। २६ यहोवा परमेश्‍वरले इस्राएलीहरूमाथि भइरहेको घोर अत्याचार देख्नुभएको थियो।+ इस्राएललाई मदत गर्ने कोही थिएन, कमजोर र असहायधरि थिएनन्‌। २७ तर यहोवा परमेश्‍वरले आकाशमुनिबाट इस्राएलको नाम मेटिन नदिने प्रतिज्ञा गर्नुभएको थियो।+ त्यसकारण उहाँले यहोआसका छोरा यरोबाममार्फत तिनीहरूको उद्धार गर्नुभयो।+

२८ यरोबामको जीवनकालका बाँकी घटनाहरू, उनले गरेका सबै काम, उनको वीरता, उनले गरेका लडाइँहरू र उनले कसरी दमिसक+ अनि हमाथलाई+ फेरि इस्राएल र यहुदाको अधीनमा ल्याए, त्यसबारे इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्‌। २९ यरोबाम इस्राएलका राजाहरूसितै, आफ्ना पितृहरूसितै सुते। उनीपछि उनका छोरा जकरिया+ राजा भए।

१५ इस्राएलका राजा यरोबामको* शासनकालको २७ औँ वर्षमा यहुदाका राजा अमस्याहका+ छोरा अजर्याह*+ राजा भए।+ २ राजा हुँदा तिनी १६ वर्षका थिए र तिनले यरुसलेममा ५२ वर्ष शासन गरे। तिनकी आमाको नाम यकोल्याह थियो। उनी यरुसलेमकी बासिन्दा थिइन्‌। ३ तिनले आफ्ना बुबा अमस्याहले जस्तै यहोवा परमेश्‍वरको नजरमा जे सही छ, त्यही गरिरहे।+ ४ तर उपासनाको लागि बनाइएका अग्ला थानहरू* भने हटाइएनन्‌+ र मानिसहरूले ती अग्ला थानहरूमा माथिसम्म धुवाँ उठ्‌नेगरि बलि चढाइरहे।+ ५ यहोवा परमेश्‍वरले राजालाई कुष्ठरोगले प्रहार गर्नुभयो र जीवनभर तिनको रोग निको भएन।+ तिनी अलग्गै एउटा घरमा बस्थे+ र तिनका छोरा योतामले राजमहलको रेखदेख गर्थे।+ प्रजाको न्याय पनि योतामले नै गर्थे।+ ६ अजर्याहको+ जीवनकालका बाँकी घटनाहरू र तिनले गरेका सबै काम यहुदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्‌। ७ अजर्याह आफ्ना पितृहरूसितै सुते+ र तिनलाई दाउदनगरमा तिनका पितापुर्खाको चिहानमा गाडियो। तिनीपछि तिनका छोरा योताम राजा भए।

८ यहुदाका राजा अजर्याहको शासनकालको ३८ औँ वर्षमा+ यरोबामका छोरा जकरिया+ सामरियामा इस्राएलका राजा भए। उनले छ महिना शासन गरे। ९ उनले आफ्ना पितापुर्खाले जस्तै यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरे। नबातका छोरा यरोबामले इस्राएललाई जुन पाप गर्न लगाएका थिए, उनले त्यो पाप गर्न छोडेनन्‌।+ १० याबेसका छोरा साल्लुमले जकरियाविरुद्ध षड्‌यन्त्र रचे र इब्लाममा+ उनको हत्या गरे।+ त्यसपछि उनको ठाउँमा साल्लुम राजा भए। ११ जकरियाको जीवनकालका बाँकी घटनाहरू इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्‌। १२ यसरी यहोवा परमेश्‍वरले येहुलाई भन्‍नुभएको यो कुरा पूरा भयो: “म तिम्रो चार पुस्तालाई+ इस्राएलको सिंहासनमा बस्न दिनेछु।”+

१३ यहुदाका राजा उज्जियाहको+ शासनकालको ३९ औँ वर्षमा याबेसका छोरा साल्लुम राजा भएका थिए। तिनले सामरियामा एक महिना शासन गरे। १४ तब गादिका छोरा मनहेम तिर्जाहबाट+ सामरिया आए अनि याबेसका छोरा साल्लुमको+ हत्या गरे। त्यसपछि साल्लुमको ठाउँमा मनहेम राजा भए। १५ साल्लुमको जीवनकालका बाँकी घटनाहरू र तिनले रचेको षड्‌यन्त्रबारे इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्‌। १६ त्यही समयतिर मनहेम तिर्जाहबाट तिफ्सा गए अनि तिफ्सा र त्यसवरपरको इलाकामा भएका सबैलाई नाश गरे। तिफ्साका बासिन्दाहरूले उनको निम्ति सहरको मूलढोका खोल्न नमानेको हुनाले उनले त्यसो गरेका थिए। उनले तिफ्सालाई ध्वस्त पारे र गर्भवती स्त्रीहरूको पेट चिरिदिए।

१७ यहुदाका राजा अजर्याहको शासनकालको ३९ औँ वर्षमा गादिका छोरा मनहेम इस्राएलका राजा भएका थिए। उनले सामरियामा १० वर्ष शासन गरे। १८ उनले यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरिरहे। नबातका छोरा यरोबामले इस्राएललाई जुन पाप गर्न लगाएका थिए, उनले जीवनभरि त्यो पाप गरिरहे।+ १९ अस्सेरियाका राजा पुल+ इस्राएललाई आक्रमण गर्न आए। तब मनहेमले पुललाई १ हजार टालेन्ट* चाँदी दिए र राजसत्तामा आफ्नो पकड मजबुत बनाउन तिनको सहायता मागे।+ २० मनहेमले यी सबै चाँदी इस्राएलका ठूलाबडा र धनी मानिसहरूबाट उठाएका थिए।+ उनले हरेकसित ५०-५० शेकेल* चाँदी उठाएर अस्सेरियाका राजालाई दिएका थिए। त्यसपछि अस्सेरियाका राजा इस्राएलबाट फर्के। २१ मनहेमको+ जीवनकालका बाँकी घटनाहरू र उनले गरेका सबै काम इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्‌। २२ मनहेम आफ्ना पितृहरूसितै सुते। उनीपछि उनका छोरा पेकहिया राजा भए।

२३ यहुदाका राजा अजर्याहको शासनकालको ५० औँ वर्षमा मनहेमका छोरा पेकहिया सामरियामा इस्राएलका राजा भएका थिए। तिनले दुई वर्ष शासन गरे। २४ तिनले यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरिरहे। नबातका छोरा यरोबामले इस्राएललाई जुन पाप गर्न लगाएका थिए, तिनले त्यो पाप गर्न छोडेनन्‌।+ २५ पेकहियाको सेनाका सहायक अफिसर पेकह,+ जो रमल्याहका छोरा थिए, उनले पेकहियाविरुद्ध षड्‌यन्त्र रचे। उनले गिलादका ५० जना मानिस लिएर सामरियामा राजमहलको किल्लामा अर्गोब र अरिहसँगै पेकहियाको हत्या गरे। त्यसपछि पेकह तिनको ठाउँमा राजा भए। २६ पेकहियाको जीवनकालका बाँकी घटनाहरू र तिनले गरेका सबै काम इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्‌।

२७ यहुदाका राजा अजर्याहको शासनकालको ५२ औँ वर्षमा रमल्याहका छोरा पेकह+ सामरियामा इस्राएलका राजा भएका थिए। उनले २० वर्ष शासन गरे। २८ उनले यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरिरहे। नबातका छोरा यरोबामले इस्राएललाई जुन पाप गर्न लगाएका थिए, उनले त्यो पाप गर्न छोडेनन्‌।+ २९ इस्राएलका राजा पेकहको शासनकालमा अस्सेरियाका राजा तिग्लाथ-पिलेसरले+ इस्राएलमा आक्रमण गरे अनि इयोन, हाबिल-बेथ-माकाह,+ यानोह, केदेस,+ हजोर र गिलादका+ साथै गालिल अर्थात्‌ नप्तालिको+ कुलको पूरै इलाका कब्जा गरे। तिनले त्यहाँका बासिन्दाहरूलाई बन्दी बनाएर अस्सेरिया+ लगे। ३० पछि एलाहका छोरा होसियाले+ रमल्याहका छोरा पेकहविरुद्ध षड्‌यन्त्र रचे अनि उनको हत्या गरे। त्यसपछि होसिया उनको ठाउँमा राजा भए। त्यसबेला उज्जियाहका छोरा योतामको+ शासनकालको २० औँ वर्ष चलिरहेको थियो। ३१ पेकहको जीवनकालका बाँकी घटनाहरू र उनले गरेका सबै काम इस्राएलका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्‌।

३२ रमल्याहका छोरा इस्राएलका राजा पेकहको शासनकालको दोस्रो वर्षमा यहुदाका राजा उज्जियाहका+ छोरा योताम+ राजा भएका थिए। ३३ राजा हुँदा तिनी २५ वर्षका थिए। तिनले यरुसलेममा १६ वर्ष शासन गरे। तिनकी आमाको नाम यरुसा थियो। उनी सादोककी+ छोरी थिइन्‌। ३४ योतामले आफ्ना बुबा उज्जियाहले जस्तै यहोवा परमेश्‍वरको नजरमा जे सही छ, त्यही गरिरहे।+ ३५ तर उपासनाको लागि बनाइएका अग्ला थानहरू भने हटाइएनन्‌ र मानिसहरूले ती अग्ला थानहरूमा माथिसम्म धुवाँ उठ्‌नेगरि बलि चढाइरहे।+ योतामले नै यहोवा परमेश्‍वरको भवनको माथिल्लो ढोका बनाएका थिए।+ ३६ योतामको जीवनकालका बाँकी घटनाहरू र तिनले गरेका कामहरू यहुदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्‌। ३७ त्यही समयतिर यहोवा परमेश्‍वरले सिरियाका राजा रजिन र रमल्याहका छोरा पेकहलाई+ यहुदालाई आक्रमण गर्न पठाउनुभयो।+ ३८ त्यसपछि योताम आफ्ना पितृहरूसितै सुते र तिनलाई दाउदनगरमा तिनका पितापुर्खाको चिहानमा गाडियो। तिनीपछि तिनका छोरा आहाज राजा भए।

१६ रमल्याहका छोरा पेकहको शासनकालको १७ औँ वर्षमा यहुदाका राजा योतामका छोरा आहाज+ राजा भए। २ राजा हुँदा आहाज २० वर्षका थिए। तिनले यरुसलेममा १६ वर्ष शासन गरे। तिनी आफ्ना पुर्खा दाउदजस्ता भएनन्‌; तिनले यहोवा परमेश्‍वरको नजरमा जे सही छ, त्यो गरेनन्‌।+ ३ बरु तिनी इस्राएलका राजाहरूको चालमा हिँडे।+ तिनले आफ्नै छोरालाई आगोमा बलि चढाए।+ यसरी तिनले ती राष्ट्रहरूको घिनलाग्दो रीतिथिति अपनाए, जुन राष्ट्रहरूलाई यहोवा परमेश्‍वरले इस्राएलीहरूको सामुन्‍नेबाट निकालिदिनुभएको थियो।+ ४ तिनले अग्ला थानहरूमा,*+ डाँडा-डाँडामा र झ्याम्म परेको हरेक रूखमुनि+ माथिसम्म धुवाँ उठ्‌नेगरि बलि चढाउन पनि छोडेनन्‌।

५ त्यही समयतिर सिरियाका राजा रजिन र रमल्याहका छोरा, इस्राएलका राजा पेकह आहाजसित युद्ध लड्‌न यरुसलेम आए।+ तिनीहरूले सहरलाई घेराबन्दी गरे तर कब्जा भने गर्न सकेनन्‌। ६ त्यतिबेला सिरियाका राजा रजिनले एलाथलाई+ फेरि एदोमको अधीनमा ल्याए। त्यसपछि उनले यहुदीहरूलाई एलाथबाट खेदे। अनि एदोमीहरू एलाथमा आएर बसोबास गर्न थाले। तिनीहरू अहिलेसम्म त्यहीँ बसोबास गर्दै छन्‌। ७ आहाजले अस्सेरियाका राजा तिग्लाथ-पिलेसरकहाँ+ आफ्ना सन्देशवाहकहरू पठाएर यस्तो खबर दिए: “म तपाईँको सेवक हुँ, तपाईँको छोरा हुँ। यहाँ आउनुहोस्‌ र मलाई सिरियाका राजा र इस्राएलका राजाको हातबाट जोगाउनुहोस्‌। उनीहरू मलाई आक्रमण गर्न आएका छन्‌।” ८ त्यसपछि आहाजले अस्सेरियाका राजालाई घुस दिन यहोवा परमेश्‍वरको भवनमा र राजमहलका भण्डारहरूमा भएका सबै सुनचाँदी लिए।+ ९ अस्सेरियाका राजाले तिनको बिन्ती सुने अनि दमिसक गएर त्यसलाई कब्जा गरे। उनले त्यहाँका बासिन्दाहरूलाई बन्दी बनाएर किर+ लगे। उनले रजिनलाई चाहिँ मारे।+

१० त्यसपछि राजा आहाज अस्सेरियाका राजा तिग्लाथ-पिलेसरलाई भेट्‌न दमिसक गए। दमिसकमा भएको वेदी देखेपछि राजा आहाजले पुजारी उरियाहलाई त्यस वेदीको नक्सा पठाए। त्यस नक्सामा वेदीको बनौटसम्बन्धी सम्पूर्ण जानकारी थियो।+ ११ राजा आहाजले दमिसकबाट पठाएको एक-एक निर्देशनअनुसारै पुजारी उरियाहले+ वेदी बनाए।+ राजा आहाज दमिसकबाट फर्कनुअघि नै उनले वेदी बनाउन सिद्‌ध्याए। १२ राजा दमिसकबाट फर्केपछि वेदी हेर्न गए। तिनी वेदीको नजिकै गए र त्यसमा भेटीहरू चढाए।+ १३ तिनले त्यही वेदीमा माथिसम्म धुवाँ उठ्‌नेगरि अग्निभेटी र अन्‍नभेटी चढाइरहे। साथै तिनले त्यस वेदीमा मद्यभेटी* चढाए अनि मेलबलिको* रगत पनि छर्के। १४ तिनले यहोवा परमेश्‍वरको भवनअगाडि राखिएको तामाको वेदी हटाए।+ तिनले यहोवा परमेश्‍वरको भवन र आफ्नो वेदीको बीचमा भएको त्यो तामाको वेदी हटाए अनि त्यसलाई आफ्नो वेदीको उत्तरपट्टि राखे। १५ त्यसपछि राजा आहाजले पुजारी उरियाहलाई+ यस्तो हुकुम गरे: “अबदेखि यस महावेदीमा माथिसम्म धुवाँ उठ्‌नेगरि बिहानको अग्निभेटी+ र साँझको अन्‍नभेटी+ चढाउनुहोस्‌। राजाले दिएको अग्निभेटी र अन्‍नभेटी अनि मानिसहरूले दिएको अग्निभेटी, अन्‍नभेटी र मद्यभेटी पनि त्यही वेदीमा चढाउनुहोस्‌। अग्निभेटीको र अरू बलिदानको सबै रगत पनि यसैमा छर्कनुहोस्‌। त्यो तामाको वेदीलाई चाहिँ के गर्नुपर्ने हो, म विचार गरेर बताउनेछु।” १६ पुजारी उरियाहले राजा आहाजले दिएका सबै आदेश पालन गरे।+

१७ साथै राजा आहाजले ठेलागाडाको+ चारैतिरका पाताहरू काटेर निकाले+ अनि ती ठेलागाडाहरूमा राखिएका बाटाहरू पनि हटाए।+ तिनले तामाका साँढेहरूमाथि बिसाइएको ‘समुद्र’ भनिने विशाल खड्‌कुँलो पनि उतारे अनि त्यसलाई ढुङ्‌गाको पेटीमा राखे।+ १८ राजा आहाजले यहोवा परमेश्‍वरको भवनबाट विश्रामदिनको* लागि छाना हालेर बनाइएको ठाउँ हटाए। राजा जुन ढोकाबाट परमेश्‍वरको भवनमा जाने गर्थे, त्यो ढोका पनि तिनले हटाइदिए। अस्सेरियाका राजाको डरले गर्दा तिनले यी सब गरेका थिए।

१९ आहाजको जीवनकालका बाँकी घटनाहरू र तिनले गरेका कामहरू यहुदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्‌।+ २० आहाज आफ्ना पितृहरूसितै सुते र तिनलाई दाउदनगरमा तिनका पितापुर्खाको चिहानमा गाडियो। तिनीपछि तिनका छोरा हिजकियाह*+ राजा भए।

१७ यहुदाका राजा आहाजको शासनकालको १२ औँ वर्षमा एलाहका छोरा होसिया+ सामरियामा इस्राएलका राजा भए। तिनले नौ वर्ष शासन गरे। २ तिनले यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरिरहे तर आफूअघिका इस्राएलका राजाहरूले जतिकै त होइन। ३ अस्सेरियाका राजा साल्मनेसेरले होसियालाई आक्रमण गरे।+ अनि होसियाले उनको चाकरी गर्नुपऱ्‍यो र तिनले उनलाई तिरो तिर्न थाले।+ ४ केही समयपछि अस्सेरियाका राजाले होसियाले षड्‌यन्त्र रच्दै छन्‌ भनेर थाह पाए। किनकि होसियाले मिश्रका राजा सोओकहाँ+ सन्देशवाहकहरू पठाएका थिए र पहिलेदेखि तिर्दै आएको तिरो पनि तिर्न छोडिदिएका थिए। त्यसैले अस्सेरियाका राजाले होसियालाई झ्यालखानामा थुनेर राखे।

५ अस्सेरियाका राजाले पूरै इस्राएलमा आक्रमण गरे अनि सामरिया गएर त्यसलाई तीन वर्षसम्म घेराबन्दी गरे। ६ होसियाको शासनकालको नवौँ वर्षमा अस्सेरियाका राजाले सामरियालाई+ कब्जा गरे। त्यसपछि उनले इस्राएलीहरूलाई बन्दी बनाएर अस्सेरिया लगे+ अनि तिनीहरूलाई हलहमा, गोजान+ नदीनजिकै पर्ने हबोरमा र मादीहरूका सहरहरूमा राखे।+

७ इस्राएलीहरूले आफ्ना परमेश्‍वर यहोवाको आज्ञा पालन नगरेर पाप गरेको हुनाले यो सब भएको थियो। उहाँले नै तिनीहरूलाई मिश्रका फारोको* हातबाट छुटाएर ल्याउनुभएको थियो।+ तर तिनीहरूले अरू देवीदेवतालाई पुजे।*+ ८ यहोवा परमेश्‍वरले जुन जातिहरूलाई तिनीहरूको सामनेबाट निकालिदिनुभएको थियो, तिनीहरूले त्यही जातिहरूको रीतिथिति माने। साथै तिनीहरूले इस्राएलका राजाहरूले स्थापना गरेका चलनहरू अपनाए।

९ इस्राएलीहरू यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही कुराको पछि लागे। तिनीहरूले आफ्ना सबै सहरमा—पहरेदारको किल्लादेखि पर्खालले घेरिएको सहरसम्मै* उपासनाको लागि अग्ला थानहरू* बनाउन छोडेनन्‌।+ १० तिनीहरूले डाँडा-डाँडामा अनि झ्याम्म परेका हरेक रूखमुनि+ पवित्र थामहरू* र पवित्र खामाहरू* ठड्‌याउन छोडेनन्‌।+ ११ यहोवा परमेश्‍वरले जुन जातिहरूलाई इस्राएलीहरूको सामनेबाट निकालिदिनुभएको थियो, त्यही जातिहरूले जस्तै तिनीहरूले सबै अग्ला थानमा माथिसम्मै धुवाँ उठ्‌नेगरि बलि चढाए।+ तिनीहरूले घरीघरी दुष्ट काम गरेर यहोवा परमेश्‍वरलाई क्रोधित तुल्याए।

१२ तिनीहरूले घिनलाग्दा मूर्तिहरूलाई* पुज्न छोडेनन्‌,+ जसबारे यहोवा परमेश्‍वरले यसो भन्‍नुभएको थियो: “तिमीहरूले तिनीहरूको पूजा नगर्नू।”+ १३ यहोवा परमेश्‍वरले इस्राएल र यहुदालाई बारम्बार आफ्ना भविष्यवक्‍ता र दर्शीहरूमार्फत*+ यस्तो चेतावनी पनि दिनुभएको थियो: “तिमीहरू दुष्ट काम गर्न छोडिदेओ!+ अनि व्यवस्थाका सबै आज्ञा तथा विधिविधान, जुन मैले तिमीहरूका पितापुर्खालाई दिएको थिएँ र मेरा भविष्यवक्‍ताहरूमार्फत तिमीहरूलाई बताएको थिएँ, ती सबै पालन गर।” १४ तर तिनीहरूले उहाँको कुरा सुनेनन्‌। आफ्ना परमेश्‍वर यहोवामाथि विश्‍वास नगर्ने तिनीहरूका पितापुर्खाजस्तै तिनीहरू पनि हठी भइरहे।+ १५ तिनीहरूले बारम्बार उहाँको आज्ञा मान्‍न इन्कार गरे र तिनीहरूका पितापुर्खासित उहाँले गर्नुभएको करार भङ्‌ग गरे।+ साथै परमेश्‍वरले तिनीहरूलाई दिनुभएको चेतावनीलाई तिनीहरूले वास्ता गरेनन्‌।+ तिनीहरू बेकारका मूर्तिहरूको पछि लागिरहे+ र आफै पनि बेकारका भए।+ यहोवा परमेश्‍वरले जुन जातिहरूको देखासिकी नगर्नू भनी तिनीहरूलाई आज्ञा दिनुभएको थियो, तिनीहरूले आफ्नो वरिपरि भएका ती जातिहरूकै देखासिकी गरे।+

१६ तिनीहरूले तिनीहरूका परमेश्‍वर यहोवाले दिनुभएका सबै आज्ञा बारम्बार तोडे। तिनीहरूले धातुका दुई वटा बाछाको मूर्ति बनाए*+ र पवित्र खामो+ ठड्‌याए। तिनीहरू आकाशका सारा सेनासामु* घोप्टो परे+ र बाआलको उपासना गरे।+ १७ तिनीहरूले आफ्ना छोराछोरीलाई आगोमा बलि चढाए,+ जोखना हेरे र शकुन-अपशकुन पनि हेरे।+ तिनीहरू यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही कामहरूमा चुर्लुम्मै डुबे।*

१८ त्यसैले यहोवा परमेश्‍वर इस्राएलीहरूसित क्रोधित हुनुभयो र तिनीहरूलाई आफ्नो सामनेबाट हटाइदिनुभयो।+ उहाँले यहुदाको कुललाई बाहेक अरू सबैलाई धपाउनुभयो।

१९ तर यहुदाका मानिसहरूले समेत आफ्ना परमेश्‍वर यहोवाका आज्ञाहरू पालन गरेनन्‌।+ उनीहरू पनि इस्राएलीहरूले अपनाएका रीतिथितिको पछि लागे।+ २० यहोवा परमेश्‍वरले इस्राएलका सबै सन्तानलाई त्याग्नुभयो। उहाँले तिनीहरूको अपमान गर्नुभयो र तिनीहरूलाई लुटेराहरूको हातमा सुम्पिदिनुभयो। उहाँले तिनीहरूलाई आफ्नो सामनेबाट नहटाउन्जेल त्यसो गरिरहनुभयो। २१ उहाँले दाउदको घरानाबाट इस्राएललाई अलग पार्नुभयो र इस्राएलीहरूले नबातका छोरा यरोबामलाई राजा बनाए।+ यरोबामको लहैलहैमा लागेर इस्राएलीहरू यहोवा परमेश्‍वरको उपासनाबाट तर्के। यरोबामले तिनीहरूलाई ठूलो पाप गर्न लगाए। २२ यरोबामले गरेका सबै पाप इस्राएलीहरूले पनि गरिरहे।+ तिनीहरूले ती पापहरू गर्न छोडेनन्‌। २३ त्यसैले यहोवा परमेश्‍वरले आफ्ना भविष्यवक्‍ताहरूमार्फत घोषणा गर्नुभएझैँ इस्राएललाई आफ्नो सामनेबाट हटाइदिनुभयो।+ इस्राएलीहरूलाई बन्दी बनाएर अस्सेरिया लगियो+ र तिनीहरू आजसम्मै त्यहीँ छन्‌।

२४ त्यसपछि अस्सेरियाका राजाले बेबिलोन, कुथा, अवा, हमाथ र सेफर्बेमबाट+ मानिसहरू ल्याए अनि उनीहरूलाई इस्राएलीहरूको सहर सामरियामा राखे। उनीहरूले सामरियामाथि अधिकार गरे र त्यहाँका सहरहरूमा बसोबास गर्न थाले। २५ त्यहाँ बसोबास गर्न थाल्दा ती मानिसहरूले सुरु-सुरुमा यहोवा परमेश्‍वरको डर मान्दैनथे।* त्यसैले यहोवा परमेश्‍वरले उनीहरू बसेको ठाउँमा सिंहहरू पठाउनुभयो+ र ती सिंहहरूले केही मानिसलाई आफ्नो सिकार बनाए। २६ तब अस्सेरियाका राजालाई यो जानकारी दिइयो: “तपाईँले जुन जातिहरूलाई बन्दी बनाएर ल्याउनुभयो र सामरियाका सहरहरूमा राख्नुभयो, ती मानिसहरूलाई त्यहाँको धर्म* थाह छैन र उनीहरू त्यहाँको देवतालाई पनि चिन्दैनन्‌। त्यसैले ती देवताले त्यहाँ सिंहहरू पठाइरहन्छन्‌ र ती सिंहहरूले मानिसहरूलाई आफ्नो सिकार बनाउँछन्‌। ती मानिसहरूलाई त्यहाँको धर्म र देवताबारे थाह नभएकोले नै त्यसो भएको हो।”

२७ त्यसपछि अस्सेरियाका राजाले यस्तो आदेश दिए: “तिमीहरूले सामरियाबाट बन्दी बनाएर ल्याएका पुजारीहरूमध्ये एक जनालाई त्यहाँ फर्काइदेओ र तिनले ती मानिसहरूलाई त्यस देशको धर्म र देवताबारे सिकाऊन्‌।” २८ त्यसैले तिनीहरूले सामरियाबाट बन्दी बनाएर लगेका पुजारीहरूमध्ये एक जना बेथेल फर्के र त्यहीँ बसोबास गर्न थाले।+ अनि तिनले त्यहाँका मानिसहरूलाई यहोवा परमेश्‍वरको उपासना कसरी गर्ने* भनेर सिकाउन थाले।+

२९ तर हरेक जातिका मानिसहरूले आ-आफ्नै देवताको मूर्ति* बनाए र त्यसलाई अग्ला थानहरूमा बनाइएका पूजाथानहरूमा राखे। ती पूजाथानहरू सामरियालीहरूले बनाएका थिए। हरेक जातिका मानिसहरूले आफू बसोबास गर्ने सहरमा त्यसो गर्न थाले। ३० बेबिलोनका मानिसहरूले सुक्कोथ-बेनोथको मूर्ति, कुथका मानिसहरूले नेर्गेलको मूर्ति, हमाथका+ मानिसहरूले आसिमाको मूर्ति ३१ अनि अवाका मानिसहरूले निभाज र तर्ताकको मूर्ति बनाए। सेफर्बेमका+ मानिसहरूले आफ्ना देवता अद्रम-मेलेक र अनम-मेलेकको निम्ति आफ्ना छोराहरूलाई आगोमा बलि चढाउँथे। ३२ यहोवा परमेश्‍वरको डर माने तापनि उनीहरूले साधारण मानिसहरूलाई पुजारी नियुक्‍त गरे। ती पुजारीहरूले अग्ला थानहरूमा बनाइएका पूजाथानहरूमा सेवा गर्थे।+ ३३ यसरी ती मानिसहरूले यहोवा परमेश्‍वरको डर माने तापनि आ-आफ्नै देवीदेवताको उपासना गरिरहे। जुन देशबाट उनीहरूलाई बन्दी बनाएर ल्याइएको थियो, उनीहरू त्यही देशको धर्म* मान्थे।+

३४ आजसम्मै उनीहरू आफ्नो पहिलेकै धर्म* मान्छन्‌। उनीहरूमध्ये कोही पनि यहोवा परमेश्‍वरको उपासना गर्दैनन्‌।* उनीहरू यहोवा परमेश्‍वरका विधिविधान, नीतिनियम, व्यवस्था र आज्ञाहरू पालन गर्दैनन्‌, जुन उहाँले याकुबका छोराहरूलाई दिनुभएको थियो। तिनै याकुब, जसको नाम उहाँले इस्राएल राख्नुभएको थियो।+ ३५ यहोवा परमेश्‍वरले तिनीहरूसँग करार गर्ने बेला यस्तो आज्ञा दिनुभएको थियो:+ “तिमीहरूले अरू देवीदेवताको उपासना नगर्नू। तिनीहरूलाई नढोग्नू, तिनीहरूलाई नपुज्नू र तिनीहरूको निम्ति बलि पनि नचढाउनू।+ ३६ तर आफ्नो महान्‌ शक्‍ति र पराक्रमी हातले+ तिमीहरूलाई मिश्रबाट छुटाएर ल्याउनुहुने यहोवाकै डर मान्‍नू।+ उहाँलाई नै दण्डवत्‌ गर्नू र उहाँकै निम्ति बलि चढाउनू। ३७ उहाँले तिमीहरूको निम्ति लेख्नुभएको+ नीतिनियम, विधिविधान, व्यवस्था र आज्ञा सधैँ होसियार भई पालन गर्नू। तिमीहरूले अरू देवीदेवताको उपासना नगर्नू। ३८ मैले तिमीहरूसित गरेको करार कहिल्यै नभुल्नू।+ तिमीहरूले अरू देवीदेवताको उपासना नगर्नू। ३९ तर आफ्ना परमेश्‍वर यहोवाको मात्र उपासना गर्नू किनकि उहाँले नै तिमीहरूलाई तिमीहरूका सबै शत्रुको हातबाट छुटाउनुहुनेछ।”

४० तर ती जातिहरूले उहाँको आज्ञा पालन गरेनन्‌। उनीहरूले पहिलेकै धर्म* मानिरहे।+ ४१ उनीहरूले यहोवा परमेश्‍वरको डर मान्‍न थाले+ तर आफ्नै देवीदेवताका मूर्तिहरू पुज्न भने छोडेनन्‌। उनीहरूका छोरानातिले पनि आफ्ना पितापुर्खाले गरेझैँ गरे। आजसम्मै उनीहरू त्यसै गर्दै छन्‌।

१८ एलाहका छोरा, इस्राएलका राजा होसियाको+ शासनकालको तेस्रो वर्षमा यहुदाका राजा आहाजका+ छोरा हिजकियाह+ राजा भए। २ राजा हुँदा तिनी २५ वर्षका थिए र तिनले यरुसलेममा २९ वर्ष शासन गरे। तिनकी आमाको नाम अबि* थियो। उनी जकरियाकी+ छोरी थिइन्‌। ३ हिजकियाहले आफ्ना पुर्खा दाउदले जस्तै+ यहोवा परमेश्‍वरको नजरमा जे सही छ,+ त्यही गरिरहे। ४ तिनले नै उपासनाको लागि बनाइएका अग्ला थानहरू * हटाएका थिए,+ पवित्र थामहरू * ढालिदिएका थिए र पवित्र खामो* टुक्राटुक्रा पारिदिएका थिए।+ तिनले मोसाले बनाएको तामाको सर्पलाई पनि टुक्राटुक्रा पारिदिएका थिए।+ त्यसलाई ‘तामाको सर्पको मूर्ति’* भनिन्थ्यो। इस्राएलीहरूले त्यसबेलासम्म पनि त्यसको अगाडि माथिसम्म धुवाँ उठ्‌नेगरि बलि चढाउन छोडेका थिएनन्‌। ५ हिजकियाह इस्राएलका परमेश्‍वर यहोवामाथि भरोसा गर्थे।+ यहुदामा तिनीअघि वा तिनीपछिका कोही पनि राजा तिनीजस्ता भएनन्‌। ६ तिनले यहोवा परमेश्‍वरलाई कहिल्यै त्यागेनन्‌।+ तिनी उहाँले देखाउनुभएको मार्गमा हिँडिरहे। यहोवा परमेश्‍वरले मोसालाई दिनुभएको सबै आज्ञा तिनले पालन गरिरहे। ७ यहोवा परमेश्‍वरले पनि तिनलाई साथ दिनुभयो। तिनी सबै काम बुद्धिमानीसाथ गर्थे। तिनले अस्सेरियाका राजाको विद्रोह गरे र उनको सेवा गर्न इन्कार गरे।+ ८ तिनले पलिस्तियालीहरूलाई पनि हराए।+ तिनले पहरेदारको किल्लादेखि पर्खालले घेरिएका सहरसम्मको सबै इलाका* कब्जा गरे। त्यसमा गाजा र त्यसवरपरका इलाकाहरू पनि पर्थ्यो।

९ राजा हिजकियाहको शासनकालको चौथो वर्षमा अर्थात्‌ एलाहका छोरा इस्राएलका राजा होसियाको शासनकालको सातौँ वर्षमा+ अस्सेरियाका राजा साल्मनेसेर सामरियाविरुद्ध उठे र त्यसलाई घेराबन्दी गरे।+ १० तीन वर्षसम्म घेराबन्दी गरेपछि तिनीहरूले सामरियालाई कब्जा गरे।+ त्यतिबेला हिजकियाहको शासनकालको छैटौँ वर्ष र इस्राएलका राजा होसियाको शासनकालको नवौँ वर्ष चलिरहेको थियो। ११ अस्सेरियाका राजाले इस्राएलीहरूलाई बन्दी बनाएर अस्सेरिया लगे+ अनि तिनीहरूलाई हलहमा, गोजान नदीनजिकै पर्ने हबोरमा र मादीहरूका+ सहरहरूमा राखे। १२ इस्राएलीहरूले आफ्ना परमेश्‍वर यहोवाको कुरा नसुनेकोले नै यस्तो भएको थियो। यहोवा परमेश्‍वरका सेवक मोसाले दिएको सबै आज्ञा उल्लङ्‌घन गरेर तिनीहरूले उहाँको करार बारम्बार भङ्‌ग गरे।+ तिनीहरूले न परमेश्‍वरको कुरा सुने न त उहाँको आज्ञा पालन नै गरे।

१३ राजा हिजकियाहको शासनकालको १४ औँ वर्षमा अस्सेरियाका+ राजा सनहेरिब पर्खालले घेरिएका यहुदाका सबै सहरलाई आक्रमण गर्न आए र ती सहरहरू कब्जा गरे।+ १४ त्यसैले यहुदाका राजा हिजकियाहले लाकिसमा अस्सेरियाका राजालाई यस्तो सन्देश पठाए: “मबाट भूल भयो। यो सहरलाई घेर्न छोडिदिनुहोस्‌। बरु तपाईँले भनेजति जरिबाना तिर्न म तयार छु।” त्यसैले अस्सेरियाका राजाले यहुदाका राजा हिजकियाहलाई ३०० टालेन्ट* चाँदी र ३० टालेन्ट सुन जरिबाना तिर्न लगाए। १५ तब हिजकियाहले यहोवा परमेश्‍वरको भवनमा र राजमहलका भण्डारहरूमा भेटिएजति सबै चाँदी निकालेर अस्सेरियाका राजालाई दिए।+ १६ त्यतिबेला यहुदाका राजा हिजकियाहले यहोवा परमेश्‍वरको भवनका ढोकाहरू र चौकोसहरू फोरेर निकाले+ अनि ती सबै अस्सेरियाका राजालाई दिए। हिजकियाहले नै ती ढोकाहरू र चौकोसहरूलाई सुनले मोहोरेका थिए।+

१७ त्यसपछि अस्सेरियाका राजाले लाकिसबाट+ तर्तान,* रबसारिस* र रबसाकेको* नेतृत्वमा एउटा विशाल सेना यरुसलेममा+ राजा हिजकियाहकहाँ पठाए। तिनीहरू यरुसलेम गए अनि माथिल्लो कुण्डको नहरनजिकै तैनाथ भए, जुन धोबीको चौर+ जाने मूलबाटोको छेउमा थियो। १८ तिनीहरूले राजालाई बाहिर बोलाउँदा हिल्कियाहका छोरा एलियाकिम,+ सेब्नाह र आसापका छोरा योआ बाहिर आए। एलियाकिमले महलको रेखदेख गर्ने जिम्मा पाएका थिए, सेब्नाह+ सचिव थिए र योआचाहिँ लेखनदास थिए।

१९ रबसाकेले उनीहरूलाई यसो भने: “गएर हिजकियाहलाई भन, ‘अस्सेरियाका महाराजाधिराज यसो भन्‍नुहुन्छ: “तिमी केमा भरोसा गर्दै छौ?+ २० तिमी भन्छौ, ‘युद्ध लड्‌न मसित रणनीति र शक्‍ति छ’ तर यी सब खोक्रा कुरा हुन्‌। कोमाथि भरोसा गरेर तिमीले मेरो विद्रोह गर्ने आँट गऱ्‍यौ?+ २१ हेर, तिमीले भरोसा गरेको मिश्र त भाँचिएको नर्कट हो।+ जसले त्यसमा आड लिन्छ, त्यसले उसैको हात छेड्‌छ। हो, ज-जसले मिश्रका फारोमाथि भरोसा गर्छन्‌, तिनीहरू सबैको हालत यस्तै हुन्छ। २२ यदि तिमीहरू ‘हामी त हाम्रा परमेश्‍वर यहोवामा भरोसा गर्छौँ ’+ भनेर भन्छौ भने सुन: के त्यो उही ईश्‍वर होइन, जसका अग्ला थानहरू अनि वेदीहरू हटाएर+ हिजकियाहले यहुदा अनि यरुसलेमलाई ‘तिमीहरू यरुसलेमको यो वेदीसामु निहुरिनू’ भन्दै छन्‌?”’+ २३ त्यसैले आऊ, मेरा मालिक अस्सेरियाका राजासित यस्तो बाजी थाप: यदि तिमीले २ हजार घोडाको लागि घोडचढी खोजेर ल्याउन सक्यौ भने म तिमीलाई ती सबै घोडा दिनेछु।+ २४ यदि तिमी रथ र घोडचढीको लागि त मिश्रको मुख ताक्छौ भने हामीसित कसरी लड्‌ने आँट गर्छौ? तिमीले त मेरा मालिकको सबैभन्दा सानो सेवक, एक जना राज्यपाललाई समेत यहाँबाट धपाउन सक्दैनौ। २५ अनि तिमीलाई के लाग्छ? के म यहोवाको अनुमति नलिईकनै यस देशलाई नाश गर्न आएको हुँ? यहोवा आफैले मलाई यसो भनेको छ, ‘गएर त्यस देशलाई नाश गर्‌।’”

२६ तब हिल्कियाहका छोरा एलियाकिमका साथै सेब्नाह+ र योआले रबसाकेलाई+ यसो भने: “बिन्ती छ! आफ्ना सेवकहरूसित अरामी* भाषामा+ कुरा गर्नुहोस्‌। हामी त्यो भाषा बुझ्छौँ। हामीसित यहुदीहरूको भाषामा कुरा नगर्नुहोस्‌ किनकि पर्खालमा भएका मानिसहरूले सुनिरहेका छन्‌।”+ २७ तर रबसाकेले उनीहरूलाई यसो भने: “के मेरा मालिकले तिमीहरू अनि तिमीहरूको मालिकलाई मात्र यो कुरा भन्‍न मलाई पठाउनुभएको हो? यो कुरा पर्खालमा भएका मानिसहरूले पनि सुन्‍नुपर्छ किनकि तिनीहरूले पनि तिमीहरूसँगै आफ्नो दिसा-पिसाब खानुपर्नेछ।”

२८ त्यसपछि रबसाके उठे र यहुदीहरूको भाषामा ठूलो स्वरले यसो भने: “अस्सेरियाका महाराजाधिराजको सन्देश सुन।+ २९ राजा यसो भन्‍नुहुन्छ, ‘हिजकियाहले तिमीहरूलाई बहकाउन नपाओस्‌, उसले तिमीहरूलाई मेरो हातबाट बचाउन सक्दैन।+ ३० अनि हिजकियाहको यो कुरा पत्याएर तिमीहरू यहोवामा भर नपर: “यहोवाले हामीलाई पक्कै बचाउनुहुनेछ। उहाँले यस सहरलाई अस्सेरियाका राजाको हातमा पर्न दिनुहुनेछैन।”+ ३१ हिजकियाहको कुरा नसुन किनकि अस्सेरियाका राजा यसो भन्‍नुहुन्छ: “आत्मसमर्पण गर र मसित मिलाप गर। त्यसो गऱ्‍यौ भने तिमीहरू हरेकले आफ्नै अङ्‌गुर बगानबाट र आफ्नै अन्जिरको बोटबाट फल खान पाउनेछौ अनि आफ्नै कुवाको पानी पिउन पाउनेछौ। ३२ अनि म आएर तिमीहरूलाई प्रशस्त अन्‍न, नयाँ मद्य, रोटी, अङ्‌गुर बगान, जैतुनको रूख र मह भएको तिमीहरूको जस्तै देशमा लैजानेछु।+ तब तिमीहरूको ज्यान जोगिनेछ र तिमीहरू मर्नुपर्ने छैन। हिजकियाहको कुरा नसुन किनकि उसले यसो भनेर तिमीहरूलाई भ्रममा पार्दै छ, ‘यहोवाले हामीलाई बचाउनुहुनेछ।’ ३३ के अहिलेसम्म कुनै जातिका ईश्‍वरले अस्सेरियाका राजाको हातबाट आफ्नो देशलाई बचाउन सकेको छ? ३४ हमाथ+ र अर्पादका देवताहरू कहाँ गए? सेफर्बेम,+ हेना र इव्वाहका देवताहरू कहाँ छन्‌? के तिनीहरूले सामरियालाई मेरो हातबाट बचाउन सके?+ ३५ यीमध्ये कुनै पनि जातिका ईश्‍वरले आफ्नो देशलाई मेरो हातबाट बचाउन सकेनन्‌ भने के यहोवाले चाहिँ यरुसलेमलाई मेरो हातबाट बचाउन सक्ला?”’”+

३६ तर मानिसहरू चुपचाप बसे र एक शब्द बोलेनन्‌। किनकि राजा हिजकियाहले यस्तो आज्ञा दिएका थिए, “तिमीहरूले तिनलाई केही जवाफ नदिनू।”+ ३७ तर हिल्कियाहका छोरा एलियाकिम, जसले महलको रेखदेख गर्ने जिम्मा पाएका थिए, सचिव सेब्नाह अनि आसापका छोरा योआ, जो लेखनदास थिए, तिनीहरूले आ-आफ्नो लुगा च्याते र हिजकियाहकहाँ गएर रबसाकेले भनेका कुरा तिनलाई सुनाए।

१९ यो खबर पाउनेबित्तिकै राजा हिजकियाहले आफ्नो लुगा च्याते र भाङ्‌ग्रा ओढेर यहोवा परमेश्‍वरको भवनमा गए।+ २ त्यसपछि तिनले महलको रेखदेख गर्ने जिम्मा पाएका एलियाकिम, सचिव सेब्नाह र पुजारीहरूका नाइकेहरूलाई आमोजका छोरा भविष्यवक्‍ता यसैयाकहाँ+ पठाए। तिनीहरू सबै भाङ्‌ग्रा ओढेर उनीकहाँ गए। ३ तिनीहरूले उनलाई यसो भने: “हिजकियाह भन्‍नुहुन्छ, ‘यो दिन दुःख, निन्दा* र अपमानको दिन हो। हामी प्रसववेदनामा परेकी स्त्रीझैँ भएका छौँ, जसको बच्चा जन्माउने बेला आइसकेको छ तर बच्चा जन्माउनलाई शक्‍ति नै छैन।+ ४ सायद यहोवा तपाईँका परमेश्‍वरले रबसाकेले भनेका सबै कुरा सुन्‍नुहुनेछ, जसलाई तिनका मालिक अस्सेरियाका राजाले जीवित परमेश्‍वरलाई हाँक दिन पठाएका थिए।+ अनि यहोवा तपाईँका परमेश्‍वरले जे-जे सुन्‍नुभयो, त्यसको लेखा उहाँले तिनीसित लिनुहुनेछ। त्यसैले देशमा जो-जो बाँकी रहेका छन्‌, तिनीहरूका लागि उहाँसित बिन्ती गरिदिनुहोस्‌।’”+

५ तब राजा हिजकियाहका सेवकहरू यसैयाकहाँ गए।+ ६ यसैयाले तिनीहरूलाई यसो भने: “गएर आफ्ना मालिकलाई भन्‍नू, ‘यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ: “अस्सेरियाका राजाका सेवकहरूले जे-जे भनेर मेरो निन्दा गरे,+ त्यो सुनेर तिमीहरू नडराओ।+ ७ हेर, म उसको मनमा एउटा विचार हालिदिनेछु। उसले एउटा खबर सुन्‍नेछ र ऊ आफ्नै देशमा फर्किजानेछ। अनि ऊ आफ्नै देशमा तरबारले मारिनेछ।”’”+

८ अस्सेरियाका राजा लाकिसबाट+ गए भन्‍ने खबर सुनेपछि रबसाके उनीकहाँ फर्के। तिनले राजालाई लिब्नाहसित लडाइँ गरिरहेका भेट्टाए।+ ९ अस्सेरियाका राजाले इथियोपियाका राजा तिर्हाकाह उनीसित युद्ध लड्‌न आउँदै छन्‌ भन्‍ने खबर पाए। तब उनले हिजकियाहकहाँ फेरि आफ्ना सन्देशवाहकहरूलाई+ यसो भनेर पठाए: १० “गएर यहुदाका राजा हिजकियाहलाई यसो भन, ‘तिमीले भरोसा गर्ने तिम्रा परमेश्‍वरले तिमीलाई यसो भन्दै भ्रममा नपारून्‌: “यरुसलेमलाई अस्सेरियाका राजाको हातमा सुम्पिइनेछैन।”+ ११ हेर! अस्सेरियाका राजाहरूले सबै देशलाई नाश गरेर तिनीहरूको हालत कस्तो बनाइदिएका छन्‌, त्यो तिमीले सुनेका छौ।+ त्यसोभए तिमीचाहिँ कसरी बच्न सक्छौ? १२ मेरा पितापुर्खाले जुन-जुन जातिलाई नाश गरेका थिए, के तिनीहरूका देवताहरूले तिनीहरूलाई बचाउन सके? गोजान, हारान+ र रेजेफ, खै कहाँ छन्‌? तेल-अस्सारमा बस्ने अदनका मानिसहरू कहाँ गए? १३ हमाथका राजा, अर्पादका राजा अनि सेफर्बेम, हेना र इव्वाह सहरका राजाहरू कहाँ छन्‌?’”+

१४ हिजकियाहले ती सन्देशवाहकहरूले ल्याएका पत्रहरू लिए र पढे। त्यसपछि तिनी यहोवा परमेश्‍वरको भवनमा गए र यहोवासामु ती पत्रहरू फिँजाए।+ १५ अनि तिनले यहोवा परमेश्‍वरलाई यसो भन्दै प्रार्थना गरे:+ “हे इस्राएलका परमेश्‍वर यहोवा, जो करूबहरूभन्दा+ माथि* विराजमान हुनुहुन्छ, पृथ्वीका सारा राज्यहरूमा तपाईँ मात्र साँचो परमेश्‍वर हुनुहुन्छ।+ तपाईँले नै स्वर्ग र पृथ्वी बनाउनुभयो। १६ हे यहोवा! मतिर आफ्नो कान फर्काउनुहोस्‌ र मेरो कुरा सुन्‍नुहोस्‌।+ हे यहोवा! आफ्नो आँखा उघार्नुहोस्‌ र हामीमाथि नजर लगाउनुहोस्‌।+ तपाईँ जीवित परमेश्‍वरलाई हाँक दिन सनहेरिबले भनेको एक-एक कुरामा ध्यान दिनुहोस्‌। १७ हे यहोवा! यो कुरा साँचो हो, अस्सेरियाका राजाहरूले सबै जाति र तिनीहरूको देशलाई ध्वस्त पारेका छन्‌।+ १८ उनीहरूले तिनीहरूका देवताहरूलाई आगोमा भस्म गरिदिएका छन्‌। किनकि ती साँच्चैका ईश्‍वर थिएनन्‌;+ ती त मानिसहरूको हातका काम मात्र थिए,+ काठ र ढुङ्‌गा मात्र थिए। त्यसैले त उनीहरूले ती देवताहरूलाई नाश गर्न सके। १९ तर हे यहोवा हाम्रा परमेश्‍वर, हामीलाई त्यसको हातबाट जोगाउनुहोस्‌ र पृथ्वीका सबै राज्यले तपाईँ यहोवा मात्र परमेश्‍वर हुनुहुन्छ भनेर थाह पाऊन्‌।”+

२० त्यसपछि आमोजका छोरा यसैयाले हिजकियाहकहाँ यो सन्देश पठाए: “इस्राएलका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ, ‘तिमीले अस्सेरियाका राजा सनहेरिबको विषयमा गरेको बिन्ती मैले सुनेँ।+ २१ त्यसैले यहोवा परमेश्‍वरले उसको विरुद्धमा यसो भन्‍नुभएको छ:

“सियोनकी कुमारी छोरी तँलाई तुच्छ ठान्छिन्‌, उनी तेरो खिसी गर्छिन्‌।

यरुसलेमकी छोरी तँलाई गिज्याउँदै आफ्नो शिर हल्लाउँछिन्‌।

२२ तैँले कसलाई हाँक दिइस्‌ र कसको निन्दा गरिस्‌?+

कसको विरुद्धमा तँ ठूलठूलो स्वरले कराइस्‌?+

तैँले कोविरुद्ध आफ्नो अहङ्‌कारी आँखा उठाइस्‌?

तैँले इस्राएलका पवित्र परमेश्‍वरविरुद्ध यी सब गरिस्‌!+

२३ तैँले आफ्ना सन्देशवाहकहरूमार्फत+ यहोवालाई हाँक दिँदै+ यसो भनिस्‌,

‘म आफ्ना अनगिन्ती रथसहित आउनेछु

र पहाडहरूको टुप्पोमा उक्लनेछु।

म लेबनानको टाढा-टाढासम्मै पुग्नेछु।

म देवदारका अग्ला-अग्ला रूखहरू, धुपीका असल-असल रूखहरू काट्‌नेछु।

अनि टाढा-टाढाका त्यसका शरणस्थान र त्यसका घना जङ्‌गलहरूमा छिर्नेछु।

२४ म बिरानो ठाउँमा इनार खन्‍नेछु र त्यहाँको पानी पिउनेछु।

म आफ्नो कुर्कुच्चोले टेकेर मिश्रका सबै खोला* सुकाइदिनेछु।’

२५ के तैँले सुनेको छैनस्‌? मैले धेरै अघि यो कुरा निश्‍चय गरिसकेको थिएँ।+

मैले धेरै पहिले यसको तयारी गरेको थिएँ।+

अब म त्यो पूरा गर्नेछु।+

तैँले पर्खालले घेरिएका बलिया-बलिया सहरहरू उजाड पार्नेछस्‌।+

२६ ती सहरहरूका बासिन्दाहरू निस्सहाय हुनेछन्‌।

तिनीहरू डरले थरथर काँप्नेछन्‌ र लाजमा पर्नेछन्‌।

तिनीहरू खेतको बोटबिरुवा र हरियो घाँसपातझैँ ओइलाउनेछन्‌।+

तिनीहरू घरको छतमा उम्रने घाँसझैँ हुनेछन्‌, जुन पूर्वीय बतासले गर्दा सुकिहाल्छ।

२७ तर तँ कहिले बस्छस्‌, कहिले बाहिर जान्छस्‌ अनि कहिले भित्र छिर्छस्‌, त्यो सब मलाई थाह छ।+

अनि तँ कहिले मसित रिसाउँछस्‌, त्यो पनि मलाई थाह छ।+

२८ किनकि मविरुद्धको तेरो रिस+ र तेरो गर्जन मेरो कानसम्मै पुगेको छ।+

त्यसैले म तेरो नाकमा अङ्‌कुसे र तेरो ओठमा लगाम लगाउनेछु+

अनि तँ जुन बाटो भएर आएको थिइस्‌, त्यही बाटोबाट तँलाई फर्काउनेछु।”+

२९ “‘यो अवश्‍य पूरा हुनेछ भन्‍ने कुराको चिन्ह तिम्रो* लागि यो हुनेछ: यो वर्ष तिमीहरूले जमिनमा आफै उम्रेको* अन्‍न खानेछौ। अर्को वर्ष पनि तिमीहरूले जमिनमा आफै उम्रेको अन्‍न खानेछौ।+ तर तेस्रो वर्ष भने तिमीहरूले बिउ छर्नेछौ र बाली काट्‌नेछौ। तिमीहरूले अङ्‌गुर बगानहरू लगाउनेछौ र त्यसको फल खानेछौ।+ ३० यहुदाको घरानामा जो-जो बाँकी हुनेछन्‌,+ तिनीहरूले बिरुवाले जस्तै जरा गाड्‌नेछन्‌ र फल फलाउनेछन्‌। ३१ किनकि बाँकी रहेका मानिसहरू यरुसलेमबाट र सियोन डाँडाबाट निस्कनेछन्‌। सेनाहरूका यहोवाको जोसले यो पूरा गर्नेछ।+

३२ “‘त्यसैले यहोवा परमेश्‍वर अस्सेरियाका राजाबारे यसो भन्‍नुहुन्छ:+

“ऊ यस सहरमा छिर्नेछैन,+

उसले यता काँड हान्‍नेछैन,

ढाल लिएर यसलाई आक्रमण गर्नेछैन

अनि यसविरुद्ध घेरा-मचान* पनि बनाउनेछैन।”+

३३ यहोवा परमेश्‍वर यस्तो घोषणा गर्नुहुन्छ, “ऊ जुन बाटो भएर आएको थियो,

त्यही बाटो भएर फर्कनेछ। ऊ यस सहरमा छिर्नेछैन।

३४ म यस सहरको रक्षा गर्नेछु;+

म आफ्नो खातिर+ र आफ्ना सेवक दाउदको खातिर यसलाई जोगाउनेछु।”’”+

३५ त्यही रात यहोवा परमेश्‍वरका स्वर्गदूत अस्सेरियालीहरूको छाउनीमा गए र १ लाख ८५ हजार सिपाहीलाई मारे।+ जब मानिसहरू बिहान सबेरै उठे, तब तिनीहरूले जताततै लासैलास देखे।+ ३६ त्यसैले अस्सेरियाका राजा सनहेरिब निनवे फर्के+ र त्यहीँ बसे।+ ३७ एकदिन तिनी आफ्नो देवता निस्रोकको मन्दिरमा घोप्टो परेर दण्डवत्‌ गरिरहेका बेला तिनकै छोराहरू अद्रम-मेलेक र सारेजेरले तिनलाई तरबारले मारे+ अनि तिनीहरू अरारातमा+ भागेर गए। त्यसपछि सनहेरिबको ठाउँमा तिनका छोरा एसर-हद्दोन+ राजा भए।

२० त्यस समयमा हिजकियाह साह्रै बिरामी परे र मर्नै लागे।+ आमोजका छोरा भविष्यवक्‍ता यसैया तिनीकहाँ आए र यसो भने, “यहोवा परमेश्‍वर भन्‍नुहुन्छ: ‘आफ्नो घरानालाई भन्‍नुपर्ने कुराहरू भन किनकि अब तिम्रो रोग निको हुनेछैन, तिमी मर्नेछौ।’”+ २ यो सुनेर हिजकियाहले आफ्नो अनुहार भित्तातिर फर्काए र यहोवा परमेश्‍वरलाई यसरी प्रार्थना गर्न थाले: ३ “हे यहोवा! बिन्ती छ, म कसरी आफ्नो पूर्ण हृदयले अनि वफादार भएर तपाईँसामु हिँडेको थिएँ, त्यो नबिर्सनुहोस्‌। तपाईँको नजरमा जे असल छ, मैले त्यही गरेँ।”+ अनि हिजकियाह डाँको छोडेर रुन थाले।

४ यसैया त्यहाँबाट हिँडेर महलको बीचको चोकमा पुग्न नपाउँदै यहोवा परमेश्‍वरको यो सन्देश उनीकहाँ आयो:+ ५ “फर्केर जाऊ र मेरो प्रजाको अगुवा हिजकियाहलाई यसो भन, ‘तिम्रा पुर्खा दाउदका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ: “मैले तिम्रो बिन्ती सुनेँ र तिमीले बगाएको आँसु पनि देखेँ।+ त्यसैले म तिमीलाई निको पार्नेछु।+ तिमी पर्सि* यहोवा परमेश्‍वरको भवनमा जानेछौ।+ ६ म तिम्रो आयु अझै १५ वर्ष लम्ब्याइदिनेछु। अनि म तिमीलाई र यस सहरलाई अस्सेरियाका+ राजाको हातबाट जोगाउनेछु। म आफ्नै खातिर र आफ्ना सेवक दाउदको खातिर यस सहरको रक्षा गर्नेछु।”’”+

७ तब यसैयाले यसो भने: “सुकेका अन्जिरको लेप* बनाएर ल्याओ।” तिनीहरूले लेप ल्याए अनि राजाको पिलोमा लगाइदिए। त्यसपछि राजा बिस्तारै निको हुँदै गए।+

८ हिजकियाहले यसैयालाई यस्तो प्रश्‍न सोधेका थिए: “यहोवा परमेश्‍वरले मलाई निको पार्नुहुनेछ र म पर्सि* यहोवा परमेश्‍वरको भवनमा जान पाउनेछु भन्‍ने कुराको चिन्ह के हुनेछ?”+ ९ यसैयाले जवाफ दिए: “यहोवा परमेश्‍वरले भन्‍नुभएको यो कुरा अवश्‍य पूरा हुनेछ भनेर देखाउन यहोवा परमेश्‍वरले तपाईँलाई यस्तो चिन्ह दिनुहुनेछ: तपाईँ भऱ्‍याङमा* परेको छाया १० खुट्‌किला अघि सरेको चाहनुहुन्छ कि १० खुट्‌किला पछि सरेको चाहनुहुन्छ?”+ १० हिजकियाहले भने: “छाया १० खुट्‌किला अघि सर्नु त सजिलै कुरा हो तर १० खुट्‌किला पछि सर्नु भने गाह्रो कुरा हो।” ११ तब भविष्यवक्‍ता यसैयाले यहोवा परमेश्‍वरलाई पुकारे अनि परमेश्‍वरले आहाजको भऱ्‍याङमा अगाडि सरिसकेको छायालाई १० खुट्‌किला पछाडि सार्नुभयो।+

१२ त्यसबेला बेबिलोनका राजा बरोदक-बलदान, जो बलदानका छोरा थिए, उनले हिजकियाह बिरामी परेका थिए भनेर सुने। त्यसैले उनले आफ्ना सन्देशवाहकहरूको हातमा हिजकियाहलाई चिठी र उपहार पठाए।+ १३ हिजकियाहले उनीहरूलाई स्वागत गरे अनि आफ्नो पूरै ढुकुटी देखाए।+ तिनले सुन, चाँदी, बाल्सम तेल* र अन्य असल तेलका साथै आफ्नो हतियार-गृह र आफ्नो भण्डारमा भएका सबै थोक देखाए। तिनले उनीहरूलाई आफ्नो महलमा र आफ्नो राज्यमा नदेखाएको कुरा केही थिएन।

१४ त्यसपछि भविष्यवक्‍ता यसैया राजा हिजकियाहकहाँ आए र तिनलाई सोधे: “यी मानिसहरूले के भने र यिनीहरू कहाँबाट आएका हुन्‌?” हिजकियाहले यस्तो जवाफ दिए: “यिनीहरू टाढाको देश बेबिलोनबाट आएका हुन्‌।”+ १५ यसैयाले फेरि सोधे: “तिनीहरूले तपाईँको महलमा के-के देखे?” हिजकियाहले भने: “तिनीहरूले मेरो महलमा भएका सबै कुरा देखे। मेरो भण्डारमा मैले तिनीहरूलाई नदेखाएको कुरा केही थिएन।”

१६ तब यसैयाले हिजकियाहलाई यसो भने: “यहोवा परमेश्‍वरको वचन सुन्‍नुहोस्‌।+ १७ यहोवा परमेश्‍वर भन्‍नुहुन्छ, ‘हेर! यस्तो दिन आउँदै छ, जब तिम्रो महलमा भएका र तिम्रा पुर्खाहरूले अहिलेसम्म जम्मा गरेका सबै थोक बेबिलोन लगिनेछ।+ केही बाँकी छोडिनेछैन। १८ अनि तिमीबाट जन्मने तिम्रा छोराहरूमध्ये केहीलाई लगिनेछ+ र तिनीहरू बेबिलोनका राजाको दरबारका अफिसर हुनेछन्‌।’”+

१९ तब हिजकियाहले यसैयालाई यसो भने: “तपाईँले सुनाउनुभएको यहोवा परमेश्‍वरको वचन न्यायोचित छ।”+ तिनले यसो पनि भने: “मेरो जीवनकालमा शान्ति र सुरक्षा छाउनु नै मेरो लागि ठूलो कुरा हो।”+

२० हिजकियाहको जीवनकालका बाँकी घटनाहरू, तिनको वीरता अनि तिनले कसरी कुण्ड र नहर बनाएर+ सहरसम्म पानी ल्याए,+ त्यसबारे यहुदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। २१ हिजकियाह आफ्ना पितृहरूसितै सुते।+ तिनीपछि तिनका छोरा मनस्से+ राजा भए।+

२१ राजा हुँदा मनस्से+ १२ वर्षका थिए र तिनले यरुसलेममा ५५ वर्ष शासन गरे।+ तिनकी आमाको नाम हेफ्जिबाह थियो। २ तिनले यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरे। यहोवा परमेश्‍वरले जुन जातिहरूलाई इस्राएलीहरूको सामुन्‍नेबाट निकालिदिनुभएको थियो,+ ती जातिहरूले गर्ने घिनलाग्दा कामहरू तिनले गरे।+ ३ तिनले आफ्ना बुबा हिजकियाहले नष्ट गरेका+ अग्ला थानहरू* फेरि बनाए। तिनले इस्राएलका राजा आहाबले जस्तै पवित्र खामो*+ ठड्‌याए र बाआलका निम्ति वेदीहरू बनाए।+ तिनी आकाशका सारा सेनासामु* घोप्टो परे र त्यसलाई पुजे।+ ४ तिनले यहोवा परमेश्‍वरको भवनमा वेदीहरू पनि बनाए,+ जुन भवनको विषयमा यहोवा परमेश्‍वरले यसो भन्‍नुभएको थियो: “म यरुसलेमसित आफ्नो नाम जोड्‌नेछु।”+ ५ तिनले यहोवा परमेश्‍वरको भवनको दुवै चोकमा+ आकाशका सारा सेनाको+ निम्ति वेदीहरू बनाए। ६ तिनले आफ्नै छोरालाई आगोमा बलि चढाए अनि जादु गर्ने, शकुन-अपशकुन हेर्नेजस्ता कामहरू गरे।+ साथै तिनले भूतप्रेत खेलाउने र भावी बताउने मानिसहरू नियुक्‍त गरे।+ तिनले यहोवा परमेश्‍वरको नजरमा असाध्यै खराब काम गरेर उहाँलाई साह्रै रिस उठाए।

७ तिनले पवित्र खामो कुँदेर बनाउन लगाए+ र त्यसलाई यहोवा परमेश्‍वरको भवनमा लगेर राखे, जुन भवनको विषयमा परमेश्‍वरले दाउद र उनको छोरा सुलेमानलाई यसो भन्‍नुभएको थियो: “म यो भवनसित र इस्राएलका सबै कुलमध्येबाट मैले रोजेको सहर यरुसलेमसित आफ्नो नाम सधैँका लागि जोड्‌नेछु।+ ८ इस्राएलीहरूले मेरा सबै आज्ञा र मेरा सेवक मोसाले दिएको सम्पूर्ण व्यवस्था होसियारीसाथ पालन गरे भने+ मैले उनीहरूका पितापुर्खालाई दिएको देशबाट म उनीहरूलाई कहिल्यै निकाल्नेछैनँ;+ उनीहरूलाई भौँतारिन लगाउनेछैनँ।” ९ तर उनीहरूले परमेश्‍वरको आज्ञा पालन गरेनन्‌ अनि मनस्सेले उनीहरूलाई भड्‌काएर गलत बाटोमा लैजान छोडेनन्‌। तिनले इस्राएलीहरूलाई यहोवा परमेश्‍वरले उनीहरूको सामुन्‍नेबाट नाश गरिदिनुभएको जातिहरूले भन्दा दुष्ट काम गर्न लगाए।+

१० यहोवा परमेश्‍वरले बारम्बार आफ्ना भविष्यवक्‍ताहरूमार्फत+ उनीहरूलाई यसो भन्‍नुभयो: ११ “यहुदाका राजा मनस्सेले यी सबै घृणित काम गरेका छन्‌; तिनले अघिअघिका+ सबै एमोरीले+ भन्दा दुष्ट कामहरू गरेका छन्‌ अनि घिनलाग्दा मूर्तिहरू * बनाएर यहुदालाई पाप गर्न लगाएका छन्‌। १२ त्यसकारण इस्राएलका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ: ‘म यरुसलेम र यहुदामाथि यस्तो विपत्ति ल्याउँदै छु,+ जसबारे सुन्‍ने सबैको दुवै कान बज्नेछ।*+ १३ मैले जुन डोरीले सामरियालाई+ नापेँ, त्यही डोरीले यरुसलेमलाई नाप्नेछु+ र जुन साहुलले* आहाबको+ घरानाको जाँच गरेँ, त्यही साहुलले यरुसलेमको जाँच गर्नेछु। जसरी कसैले कचौरा माझेर सफा गर्छ र त्यसलाई घोप्ट्‌याएर राख्छ, त्यसरी नै म यरुसलेमलाई सफा गर्नेछु।+ १४ बाँकी रहेको मेरो प्रजालाई* समेत म त्याग्नेछु+ र तिनीहरूलाई शत्रुहरूको हातमा सुम्पिनेछु। उनीहरूले तिनीहरूलाई बन्दी बनाउनेछन्‌ र तिनीहरूको सरसम्पत्ति लुट्‌नेछन्‌।+ १५ किनभने तिनीहरूले मेरो नजरमा जे खराब छ, त्यही गरे। मैले तिनीहरूका पितापुर्खालाई मिश्रबाट छुटाएर ल्याएको दिनदेखि आजसम्मै तिनीहरूले मलाई घरीघरी रिस उठाइरहेका छन्‌।’”+

१६ मनस्सेले यहुदालाई यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गर्न लगाएर पाप गरे। त्यति मात्र नभई तिनले यरुसलेमको एक छेउदेखि अर्को छेउसम्मै निर्दोष मानिसहरूको रगत बगाए।+ १७ मनस्सेको जीवनकालका बाँकी घटनाहरू, तिनले गरेका सबै काम र तिनका पापहरूबारे यहुदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्‌। १८ मनस्से आफ्ना पितृहरूसितै सुते र तिनलाई तिनको महलको बगैँचा—उज्जाको+ बगैँचामा गाडियो। तिनीपछि तिनका छोरा अमोन राजा भए।

१९ राजा हुँदा अमोन+ २२ वर्षका थिए र उनले यरुसलेममा दुई वर्ष शासन गरे।+ उनकी आमाको नाम मेसुलेमेथ थियो। तिनी योत्बाहमा बस्ने हारुसकी छोरी थिइन्‌। २० अमोनले आफ्ना बुबा मनस्सेले जस्तै यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरिरहे।+ २१ उनी आफ्ना बुबाकै चालमा हिँडिरहे। उनले आफ्ना बुबाले पुजेका घिनलाग्दा मूर्तिहरूलाई पुज्न र दण्डवत्‌ गर्न छोडेनन्‌।+ २२ उनले आफ्ना पितापुर्खाका परमेश्‍वर यहोवालाई त्यागे। उनी यहोवा परमेश्‍वरको मार्गमा हिँडेनन्‌।+ २३ पछि अमोनका सेवकहरूले उनीविरुद्ध षड्‌यन्त्र रचे र उनकै महलमा उनको हत्या गरे। २४ तर देशका मानिसहरूले राजा अमोनविरुद्ध षड्‌यन्त्र रच्ने सबैलाई मारे। त्यसपछि तिनीहरूले उनका छोरा योसियाहलाई राजा बनाए।+ २५ अमोनको जीवनकालका बाँकी घटनाहरू र उनले गरेका कामहरू यहुदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्‌। २६ उनलाई उज्जाको बगैँचामा+ उनको लागि बनाइएको चिहानमा गाडियो। उनीपछि उनका छोरा योसियाह+ राजा भए।

२२ राजा हुँदा योसियाह+ आठ वर्षका थिए र तिनले यरुसलेममा ३१ वर्ष शासन गरे।+ तिनकी आमाको नाम यदिदाह थियो। उनी बोज्काथमा+ बस्ने आदायाहकी छोरी थिइन्‌। २ योसियाहले यहोवा परमेश्‍वरको नजरमा जे सही छ, त्यही गरे। तिनी आफ्ना पुर्खा दाउदको चालमा हिँडे,+ तिनी त्यसबाट दाहिने वा देब्रे लागेनन्‌।

३ योसियाहले आफ्नो शासनकालको १८ औँ वर्षमा मेसुल्लामका नाति, अजल्याहका छोरा सचिव सापानलाई यसो भनेर यहोवा परमेश्‍वरको भवनमा पठाए:+ ४ “प्रधानपुजारी हिल्कियाहकहाँ+ जानुहोस्‌ र ढोकेहरूले मानिसहरूबाट लिएर यहोवा परमेश्‍वरको भवनमा+ जम्मा गरेका सबै पैसा निकाल्न लगाउनुहोस्‌।+ ५ अनि त्यो पैसा यहोवा परमेश्‍वरको भवनमा भइरहेको कामको निरीक्षण गर्न खटाइएकाहरूलाई दिन लगाउनुहोस्‌। त्यसपछि ती निरीक्षकहरूले त्यो पैसा यहोवा परमेश्‍वरको भवनमा क्षति भएका ठाउँहरू* मर्मत गर्ने कामदारहरू+ ६ अर्थात्‌ शिल्पकारहरू, डकर्मीहरू र ढुङ्‌गाको काम गर्नेहरूलाई देऊन्‌। तिनीहरूले त्यो पैसाले काठहरू र नापअनुसार काटिएका ढुङ्‌गाहरू किनून्‌ र परमेश्‍वरको भवन मर्मत गरून्‌।+ ७ तर ती निरीक्षकहरूबाट पैसाको हिसाब-किताब नमागियोस्‌ किनकि उनीहरू भरोसायोग्य छन्‌।”+

८ पछि प्रधानपुजारी हिल्कियाहले सचिव सापानलाई भने:+ “मैले यहोवा परमेश्‍वरको भवनमा व्यवस्थाको पुस्तक भेट्टाएको छु।”+ हिल्कियाहले त्यो पुस्तक सापानलाई दिए र सापानले त्यो पढ्‌न थाले।+ ९ त्यसपछि सचिव सापानले राजाकहाँ गएर यसो भने: “तपाईँका सेवकहरूले यहोवा परमेश्‍वरको भवनमा ल्याइएको पैसा जम्मा गरेका छन्‌ अनि परमेश्‍वरको भवनमा भइरहेको कामको निरीक्षण गर्न खटाइएकाहरूलाई ती दिएका छन्‌।”+ १० सचिव सापानले राजालाई यसो पनि भने: “पुजारी हिल्कियाहले मलाई एउटा पुस्तक दिनुभएको छ।”+ त्यसपछि सापानले राजासामु त्यो पुस्तक पढ्‌न थाले।

११ व्यवस्थाको पुस्तकमा लेखिएका कुराहरू सुन्‍नेबित्तिकै राजाले आफ्नो लुगा च्याते।+ १२ त्यसपछि राजाले पुजारी हिल्कियाह, सापानका छोरा अहिकाम,+ मिकायाहका छोरा आक्बोर, सचिव सापान र आफ्ना सेवक असयाहलाई यस्तो हुकुम गरे: १३ “जाओ! मेरो तर्फबाट, मानिसहरूको तर्फबाट र पूरै यहुदाको तर्फबाट भर्खरै भेटिएको यस पुस्तकमा लेखिएका कुराहरूको विषयमा यहोवा परमेश्‍वरसित सोधपुछ गर। हामीमाथि यहोवा परमेश्‍वरको क्रोध दन्केको छ।+ किनकि यस पुस्तकमा हाम्रो निम्ति लेखिएका कुराहरू हाम्रा पितापुर्खाले पालन गरेनन्‌।”

१४ तब पुजारी हिल्कियाह, आक्बोर, सापान र असयाह भविष्यवक्‍ता हुल्दाहकहाँ गए।+ उनका पति साल्लुम थिए, जो हारहसका नाति अनि तिक्भाहका छोरा थिए। साल्लुम वस्त्र-भण्डारको रेखदेख गर्ने अफिसर थिए। हुल्दाह ‘यरुसलेमको नयाँ बस्ती’-मा बस्थिन्‌। योसियाहले पठाएका मानिसहरू त्यहीँ गएर उनीसित कुरा गरे।+ १५ हुल्दाहले तिनीहरूलाई यसो भनिन्‌: “इस्राएलका परमेश्‍वर यहोवा भन्‍नुहुन्छ, ‘तिमीहरूलाई मकहाँ पठाउने मानिसलाई यसो भन: १६ “यहोवा परमेश्‍वर भन्‍नुहुन्छ, ‘म यस ठाउँमाथि र यहाँका बासिन्दाहरूमाथि विपत्ति ल्याउनेछु। यहुदाका राजाले पढेको पुस्तकमा लेखिएका सबै कुरा पूरा हुनेछ।+ १७ किनकि तिनीहरूले मलाई त्यागेका छन्‌ र अरू देवीदेवताको निम्ति माथिसम्म धुवाँ उठ्‌नेगरि बलि चढाएका छन्‌।+ तिनीहरूले आफ्नो हातका कामहरूद्वारा मलाई असाध्यै रिस उठाएका छन्‌।+ त्यसैले यस ठाउँमाथि मेरो क्रोध दन्कनेछ र त्यो शान्त हुनेछैन।’”+ १८ तर तिमीहरूलाई यहोवा परमेश्‍वरसित सोधपुछ गर्न पठाउने यहुदाका राजालाई यसो भन्‍नू, “तिमीले सुनेका कुराहरूको विषयमा इस्राएलका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ: १९ ‘मैले यो ठाउँ र यहाँका बासिन्दाहरू श्रापित हुनेछन्‌ र तिनीहरूको दुर्दशा देखेर मानिसहरू डरले थरथर काँप्नेछन्‌ भनेर सजाय सुनाएको थिएँ। त्यो सुनेर तिम्रो मन पग्लियो र तिमीले यहोवासामु आफूलाई नम्र तुल्यायौ+ अनि तिमी आफ्नो लुगा च्यातेर रोयौ।+ त्यसैले म तिम्रो बिन्ती सुन्‍नेछु, यहोवा घोषणा गर्नुहुन्छ। २० मैले यस ठाउँमाथि ल्याउन लागेको विपत्ति तिमीले देख्नेछैनौ। तिमी शान्तिपूर्वक आफ्नो चिहानमा जानेछौ र आफ्ना पितापुर्खाजस्तै माटोमा मिल्नेछौ।’”’” त्यसपछि ती मानिसहरूले यी सबै कुरा राजालाई सुनाइदिए।

२३ त्यसैले राजाले सन्देश पठाएर यहुदा र यरुसलेमका सबै नाइकेलाई जम्मा गर्न लगाए।+ २ त्यसपछि राजा योसियाहले यहुदाका सबै मानिस, यरुसलेमका सबै बासिन्दा, पुजारीहरू, भविष्यवक्‍ताहरू अनि के साना, के ठूला सबै मानिसलाई आफूसँगै यहोवा परमेश्‍वरको भवनमा लगे। अनि तिनले यहोवा परमेश्‍वरको भवनमा भेटिएको करारको+ पुस्तक+ ठूलो स्वरमा पढ्‌न थाले।+ ३ तब तिनी खम्बाको छेउमा उभिए अनि यहोवा परमेश्‍वरसित करार बाँधे।*+ तिनले त्यस पुस्तकमा लेखिएको करारअनुसार चलेर आफ्नो सारा हृदयले र आफ्नो सारा ज्यानले यहोवा परमेश्‍वरको पछि लाग्ने अनि उहाँका आज्ञाहरू, सम्झौटाहरू र विधिविधान मान्‍ने करार बाँधे। तब सबै मानिस पनि त्यही करारअनुसार चल्न राजी भए।+

४ त्यसपछि राजाले प्रधानपुजारी हिल्कियाह,+ अरू पुजारीहरू र पहरेदारहरूलाई यहोवा परमेश्‍वरको मन्दिरबाट ती सबै सरसामान निकालेर ल्याउन हुकुम गरे, जुन बाआल, पवित्र खामो*+ र आकाशका सारा सेनाको* उपासनाको लागि बनाइएका थिए। तब तिनले ती सरसामानहरू यरुसलेमबाहिर लगेर किद्रोनका पाखाहरूमा जलाइदिए र त्यसको खरानीचाहिँ बेथेलमा लगे।+ ५ तिनले विदेशी देवीदेवताका पुजारीहरूलाई हटाइदिए, जसलाई यहुदाका राजाहरूले यहुदाका सहरहरू र यरुसलेमको वरिपरि भएका अग्ला थानहरूमा* माथिसम्मै धुवाँ उठ्‌नेगरि बलि चढाउन खटाएका थिए। तिनले बाआल, सूर्य, चन्द्र, राशिफलका तारामण्डलहरू र आकाशका सारा सेनाको निम्ति माथिसम्मै धुवाँ उठ्‌नेगरि बलि चढाउने मानिसहरूलाई पनि धपाइदिए।+ ६ तिनले यहोवा परमेश्‍वरको भवनबाट पवित्र खामोलाई+ निकालेर यरुसलेमबाहिर किद्रोन बेँसीमा लगे र त्यहाँ जलाइदिए।+ तिनले त्यसलाई धुलोपिठो पारेर आम मानिसहरूको चिहानमा छर्किदिए।+ ७ तिनले यहोवा परमेश्‍वरको भवनमा भएका ती पुरुषहरूका घरहरू पनि भत्काइदिए, जो मन्दिरमा पुरुषहरूसित सम्बन्ध राख्थे।+ त्यहाँ स्त्रीहरू पवित्र खामोको निम्ति पालहरू बुनेर पूजाथान बनाउने गर्थे।

८ त्यसपछि तिनले यहुदाका सहरहरूबाट सबै पुजारीलाई बाहिर ल्याए अनि गेबादेखि+ बेर्सेबासम्मका+ अग्ला थानहरू, जहाँ पुजारीहरू माथिसम्मै धुवाँ उठ्‌नेगरि बलि चढाउने गर्थे, ती सबै ठाउँलाई अशुद्ध पारेर उपासना गर्नै नमिल्ने बनाइदिए। साथै तिनले सहरका अगुवा यहोसुको घरको ढोकाको छेउमा उपासनाको लागि बनाइएका अग्ला थानहरू पनि भत्काइदिए। ती थानहरू सहरको मूलढोकाबाट छिर्दा बायाँतिर पर्थे। ९ अग्ला थानहरूमा सेवा गर्ने पुजारीहरूलाई यरुसलेममा यहोवा परमेश्‍वरको वेदीमा सेवा गर्न दिइएन+ तर अन्य पुजारीहरूसँगै* अखमिरा* रोटी खान भने दिइयो। १० राजाले ‘हिन्‍नोमका सन्तानको बेँसी’-मा*+ पर्ने तोफेथ+ भन्‍ने ठाउँलाई पनि अशुद्ध पारेर उपासना गर्नै नमिल्ने बनाइदिए। कसैले पनि त्यहाँ मोलेक देवताको निम्ति आफ्नो छोरा वा छोरीलाई आगोमा बलि चढाउन नपाओस्‌ भनेर तिनले यसो गरेका थिए।+ ११ अनि तिनले सूर्यलाई अर्पण गरिएका घोडाहरूलाई यहोवा परमेश्‍वरको भवनमा लैजान मनाही गरे। यहुदाका राजाहरूले ती घोडाहरू सूर्यलाई अर्पण गरेका थिए र ती घोडाहरूलाई दरबारका अफिसर नाथान-मेलेकको कोठा* हुँदै परमेश्‍वरको भवनमा लैजाने गरिन्थ्यो। नाथान-मेलेकको कोठा भवनको दलानमा थियो। राजाले सूर्यको उपासनामा प्रयोग गरिने रथहरू पनि जलाइदिए।+ १२ साथै तिनले यहुदाका राजाहरूले आहाजको माथिल्लो कोठाको छतमा बनाएका वेदीहरू+ अनि मनस्सेले यहोवा परमेश्‍वरको भवनको दुवै चोकमा बनाएका वेदीहरू भत्काइदिए।+ तिनले ती वेदीहरूलाई धुलोपिठो पारे र त्यो धुलो किद्रोन बेँसीमा लगेर छरिदिए। १३ तिनले यरुसलेमको अगाडिपट्टि ‘विनाशको डाँडा’-को* दक्षिणतिर* बनाइएका अग्ला थानहरूलाई पनि अशुद्ध पारेर उपासना गर्नै नमिल्ने बनाइदिए। ती अग्ला थानहरू इस्राएलका राजा सुलेमानले सिदोनीहरूको घिनलाग्दो देवी अस्तोरेथ, मोआबीहरूको घिनलाग्दो देवता केमोस र अम्मोनीहरूको घृणित देवता+ मिल्कोमको+ निम्ति बनाएका थिए। १४ योसियाहले पवित्र थामहरू* टुक्राटुक्रा पारे र पवित्र खामाहरू ढालिदिए+ अनि जुन-जुन ठाउँमा ती ठड्‌याइएका थिए, ती ठाउँहरू मान्छेको हड्डीहरूले भरिदिए। १५ नबातका छोरा यरोबामले बेथेलमा जुन वेदी र अग्लो थान बनाएर इस्राएलीहरूलाई पाप गर्न लगाएका थिए,+ त्यो वेदी र अग्लो थान पनि योसियाहले भत्काइदिए। त्यसपछि तिनले त्यो अग्लो थानमा आगो लगाइदिए अनि त्यसलाई धुलोपिठो पारिदिए र पवित्र खामो पनि जलाइदिए।+

१६ योसियाहले फर्केर हेर्दा डाँडामा चिहानहरू देखे। तब तिनले ती चिहानहरूबाट हड्डीहरू निकाल्न लगाए र ती हड्डीहरू वेदीमा जलाएर त्यस वेदीलाई उपासनाको लागि चलाउनै नमिल्ने बनाइदिए। यसरी साँचो परमेश्‍वर यहोवाका सेवकले घोषणा गरेको उहाँको वचन पूरा भयो। यी सबै घटना हुनेछन्‌ भनेर ती सेवकले भविष्यवाणी गरेका थिए।+ १७ त्यसपछि योसियाहले सोधे: “त्यो परको चिहान कसको हो?” सहरका मानिसहरूले जवाफ दिए: “त्यो चिहान यहुदाबाट आएका साँचो परमेश्‍वरका सेवकको हो।+ तपाईँले आज बेथेलको वेदीलाई जे-जे गर्नुभयो, त्यसबारे उनले भविष्यवाणी गरेका थिए।” १८ तब योसियाहले भने: “उनका हड्डीहरू कसैलाई चलाउन नदेऊ। ती त्यहीँ रहून्‌।” त्यसैले तिनीहरूले साँचो परमेश्‍वरका ती सेवकका हड्डीहरूलाई भने केही गरेनन्‌। तिनीहरूले सामरियाबाट आएका भविष्यवक्‍ताका हड्डीहरूलाई पनि चलाएनन्‌।+

१९ योसियाहले सामरियाका सहरहरूमा अग्ला ठाउँहरूमा बनाइएका सबै पूजाथान पनि हटाइदिए।+ इस्राएलका राजाहरूले ती पूजाथानहरू बनाएर परमेश्‍वरलाई असाध्यै रिस उठाएका थिए। तिनले बेथेलको पूजाथानको जस्तो हालत बनाएका थिए, सामरियाका पूजाथानहरूको पनि त्यस्तै हालत बनाइदिए।+ २० तिनले त्यहाँका अग्ला थानहरूमा सेवा गर्ने सबै पुजारीलाई वेदीहरूमा बलि दिए र ती वेदीहरूमा मान्छेका हड्डीहरू जलाइदिए।+ त्यसपछि तिनी यरुसलेम फर्के।

२१ राजाले सबै मानिसलाई यस्तो आदेश दिए: “करारको यस पुस्तकमा लेखिएअनुसारै आफ्ना परमेश्‍वर यहोवाको निम्ति निस्तार चाड* मनाओ।”+ २२ त्यसबेला इस्राएलमा धूमधामसित निस्तार चाड मनाइयो। इस्राएलमा न्यायकर्ताहरूले शासन गरेको समयदेखि यता अथवा न इस्राएलका न त यहुदाका कुनै राजाको शासनकालमा नै त्यति धूमधामसित निस्तार चाड मनाइएको थियो।+ २३ राजा योसियाहको शासनकालको १८ औँ वर्षमा यरुसलेममा यहोवा परमेश्‍वरको निम्ति त्यो निस्तार चाड मनाइएको थियो।

२४ योसियाहले यहुदा र यरुसलेमबाट भूतप्रेत खेलाउने र भावी बताउने+ सबैलाई लखेटे। तिनले कुलदेवताका मूर्तिहरू,*+ घिनलाग्दा मूर्तिहरू* र अरू सबै घिनलाग्दा चिजबिज पनि हटाइदिए। यसरी तिनले पुजारी हिल्कियाहले यहोवा परमेश्‍वरको भवनमा भेट्टाएको+ व्यवस्थाको पुस्तकमा लेखिएका सबै कुरा पालन गरे।+ २५ मोसाको व्यवस्थामा लेखिएका सबै कुरा पालन गरेर योसियाह आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले र आफ्नो सारा शक्‍तिले+ यहोवा परमेश्‍वरतर्फ फर्के। तिनीअघि वा तिनीपछिका कोही पनि राजा तिनीजस्ता भएनन्‌।

२६ तैपनि यहुदामाथि यहोवा परमेश्‍वरको जुन क्रोध दन्केको थियो, त्यो शान्त भएन। किनकि मनस्सेले दुष्ट कामहरू गरेर उहाँलाई असाध्यै रिस उठाएका थिए।+ २७ यहोवा परमेश्‍वरले यसो भन्‍नुभयो: “जसरी मैले इस्राएललाई मेरो सामनेबाट हटाएको थिएँ,+ त्यसरी नै म यहुदालाई मेरो सामनेबाट हटाइदिनेछु।+ मैले रोजेको सहर यरुसलेमलाई म त्याग्नेछु। अनि जुन भवनको विषयमा मैले यसो भनेको थिएँ, ‘म यस भवनसित आफ्नो नाम जोड्‌नेछु,’ त्यसलाई पनि म तिरस्कार गर्नेछु।”+

२८ योसियाहको जीवनकालका बाँकी घटनाहरू र तिनले गरेका सबै काम यहुदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्‌। २९ तिनको शासनकालमा मिश्रका फारो नेको अस्सेरियाका राजालाई मदत गर्न युफ्रेटिस नदीतर्फ लागे। त्यसबेला राजा योसियाह नेकोविरुद्ध लडाइँ गर्न गए। तर जब नेकोले योसियाहलाई देखे, तब उनले तिनलाई मगिद्दोमा मारे।+ ३० योसियाहका सेवकहरूले तिनको लास रथमा हालेर मगिद्दोबाट यरुसलेम ल्याए र तिनलाई तिनकै निम्ति बनाइएको चिहानमा गाडे। त्यसपछि देशका मानिसहरूले योसियाहका छोरा यहोअहाजलाई अभिषेक गरेर उनको बुबाको ठाउँमा राजा बनाए।+

३१ राजा हुँदा यहोअहाज+ २३ वर्षका थिए र उनले यरुसलेममा तीन महिना शासन गरे। उनकी आमाको नाम हमुतल+ थियो। तिनी लिब्नाहमा बस्ने यर्मियाकी छोरी थिइन्‌। ३२ उनले आफ्ना पितापुर्खाले जस्तै यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गर्न थाले।+ ३३ उनले यरुसलेममा शासन गर्न नसकून्‌ भनेर फारो नेकोले+ उनलाई हमाथको इलाकामा पर्ने रिब्लाहमा+ कैद गरिदिए। त्यसपछि नेकोले देशलाई १०० टालेन्ट* चाँदी र १ टालेन्ट सुन जरिबाना तिर्न लगाए।+ ३४ साथै फारो नेकोले योसियाहको ठाउँमा उनका अर्का छोरा एलियाकिमलाई राजा बनाए र तिनको नाम परिवर्तन गरेर यहोयाकिम राखिदिए। तर नेकोले यहोअहाजलाई चाहिँ मिश्र लगे+ र त्यहीँ उनको मृत्यु भयो।+ ३५ यहोयाकिमले फारोलाई जरिबानास्वरूप सुन र चाँदी दिए तर त्यसको लागि तिनले देशका मानिसहरूबाट कर उठाउनुपऱ्‍यो। फारो नेकोलाई जरिबाना तिर्न तिनले हरेक मानिसबाट उसको जमिनको आम्दानीअनुसार सुन र चाँदी असुले।

३६ राजा हुँदा यहोयाकिम+ २५ वर्षका थिए र तिनले यरुसलेममा ११ वर्ष शासन गरे।+ तिनकी आमाको नाम जेबिदाह थियो। उनी रुमाहमा बस्ने पदायाहकी छोरी थिइन्‌। ३७ तिनले आफ्ना पितापुर्खाले जस्तै+ यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरिरहे।+

२४ यहोयाकिमको शासनकालमा बेबिलोनका राजा नबुकद्‌नेजर+ यरुसलेमलाई आक्रमण गर्न आए। तिनले तीन वर्षसम्म राजा नबुकद्‌नेजरको चाकरी गर्नुपऱ्‍यो। तर पछि तिनले विद्रोह गरे। २ त्यसपछि यहोवा परमेश्‍वरले कल्दियाली,+ सिरियाली, मोआबी र अम्मोनी लुटेराहरू पठाउन थाल्नुभयो। आफ्ना भविष्यवक्‍ताहरूमार्फत भनेअनुसारै यहोवा परमेश्‍वरले यहुदालाई नाश गर्न लुटेराहरू पठाइरहनुभयो।+ ३ यहोवा परमेश्‍वरको आदेशअनुसारै यहुदामा यस्तो भएको थियो। यहुदालाई आफ्नो सामनेबाट हटाउन उहाँले त्यसो गर्नुभयो।+ किनभने मनस्सेले परमेश्‍वरको आज्ञा पालन नगरेर थुप्रै पाप गरेका थिए+ ४ अनि यरुसलेममा निर्दोष मानिसहरूको रगत पनि बगाएका थिए।+ त्यसैले यहोवा परमेश्‍वरले यहुदालाई क्षमा दिन चाहनुभएन।+

५ यहोयाकिमको जीवनकालका बाँकी घटनाहरू र तिनले गरेका सबै काम यहुदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएका छन्‌।+ ६ तिनी आफ्ना पितृहरूसितै सुते।+ तिनीपछि तिनका छोरा यहोयाकिन राजा भए।

७ मिश्रका राजाले फेरि कहिल्यै आफ्नो सेनालाई देशबाहिर पठाएनन्‌। किनकि बेबिलोनका राजाले मिश्रका+ राजाको सबै इलाका—मिश्रको वादीदेखि*+ युफ्रेटिस नदीसम्मको+ सबै इलाका कब्जा गरेका थिए।

८ राजा हुँदा यहोयाकिन+ १८ वर्षका थिए र उनले यरुसलेममा तीन महिना शासन गरे।+ उनकी आमाको नाम नेहुस्ता थियो। तिनी यरुसलेममा बस्ने एल्नातानकी छोरी थिइन्‌। ९ उनले आफ्ना बुबाले जस्तै यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरिरहे। १० त्यही समयतिर बेबिलोनका राजा नबुकद्‌नेजरका सेवकहरू यरुसलेम आए र त्यसलाई घेराबन्दी गरे।+ ११ यरुसलेम घेराबन्दीमा परेको बेला बेबिलोनका राजा नबुकद्‌नेजर त्यहाँ आए।

१२ यहुदाका राजा यहोयाकिन आफ्नी आमा, आफ्ना सेवकहरू, भारदारहरू र दरबारका अफिसरहरूलाई लिएर+ बेबिलोनका राजासामु गए+ र आत्मसमर्पण गरे। तब बेबिलोनका राजाले उनीहरूलाई बन्दी बनाएर लगे। त्यसबेला राजा नबुकद्‌नेजरको शासनकालको आठौँ वर्ष चलिरहेको थियो।+ १३ बेबिलोनका राजाले यहोवा परमेश्‍वरको भवनमा र राजमहलमा भएका सबै धनसम्पत्ति लगे+ अनि यहोवा परमेश्‍वरको मन्दिरको निम्ति इस्राएलका राजा सुलेमानले बनाएको सुनका सबै भाँडाकुँडा पनि टुक्राटुक्रा पारेर लगे।+ यसरी यहोवा परमेश्‍वरले गर्नुभएको भविष्यवाणी पूरा भयो। १४ बेबिलोनका राजाले यरुसलेमका भारदारहरू,+ वीर योद्धाहरू, शिल्पकारहरू र धातुको काम गर्नेहरूलगायत सबैलाई+—जम्मा १० हजार जनालाई बन्दी बनाएर लगे। तिनले असाध्यै गरिबहरूलाई मात्र लगेनन्‌।+ १५ यसरी तिनले यरुसलेमबाट यहोयाकिनका+ साथै राजमाता, रानीहरू, दरबारका अफिसरहरू र देशका गण्यमान्य मानिसहरूलाई बन्दी बनाएर बेबिलोन लगे।+ १६ साथै बेबिलोनका राजाले सबै तालिमप्राप्त वीर पुरुषहरूलाई पनि लगे। तिनले बन्दी बनाएका योद्धाहरूको सङ्‌ख्या ७ हजार थियो। अनि कारिगर र धातुको काम गर्नेहरूको सङ्‌ख्याचाहिँ १ हजार थियो। १७ बेबिलोनका राजाले यहोयाकिनको ठाउँमा यहोयाकिनका काका+ मत्तन्याहलाई राजा बनाए। तिनले मत्तन्याहको नाम परिवर्तन गरेर सिदकियाह+ राखिदिए।

१८ राजा हुँदा सिदकियाह २१ वर्षका थिए र उनले यरुसलेममा ११ वर्ष शासन गरे। उनकी आमाको नाम हमुतल+ थियो। तिनी लिब्नाहमा बस्ने यर्मियाकी छोरी थिइन्‌। १९ सिदकियाहले पनि यहोयाकिमले जस्तै यहोवा परमेश्‍वरको नजरमा जे खराब छ, त्यही गरिरहे।+ २० यहोवा परमेश्‍वर यरुसलेम र यहुदासित रिसाउनुभएकोले उहाँले तिनीहरूलाई आफ्नो सामुन्‍नेबाट हटाउन यस्तो विपत्ति ल्याउनुभयो।+ अनि सिदकियाहले बेबिलोनका राजाको विद्रोह गरे।+

२५ सिदकियाहको शासनकालको नवौँ वर्षको १० औँ महिनाको १० औँ दिन बेबिलोनका राजा नबुकद्‌नेजर+ आफ्नो सारा फौज लिएर यरुसलेमलाई आक्रमण गर्न आए।+ तिनले यरुसलेमबाहिर छाउनी हाले र त्यसको चारैतिर पर्खाल खडा गरेर घेराबन्दी गरे।+ २ राजा सिदकियाहको शासनकालको ११ औँ वर्षसम्म यरुसलेम घेराबन्दीमा रह्‍यो। ३ चौथो महिनाको नवौँ दिनमा अनिकालले भयङ्‌कर रूप लियो।+ सहरमा एक गेडो अन्‍न बाँकी थिएन।+ ४ तब सहरको पर्खाल भत्काइयो।+ अनि कल्दियालीहरूले सहरलाई घेरिरहेकै बेला यरुसलेमका सबै सिपाही राती सहरबाट भागे। तिनीहरू राजाको बगैँचानजिकै भएका दुई वटा पर्खालबीचको ढोकाबाट छिरे अनि राजाचाहिँ अराबाह जाने बाटोतिर गए।+ ५ तर कल्दियाली सेनाले राजा सिदकियाहलाई खेद्‌यो र उनलाई यरिहोको मरुभूमिमा भेट्टायो। अनि सिदकियाहका सबै सिपाही तितरबितर भए। ६ त्यसपछि कल्दियालीहरूले सिदकियाहलाई पक्रेर+ रिब्लाहमा बेबिलोनका राजासामु हाजिर गराए। त्यहाँ तिनीहरूले उनलाई सजाय सुनाए। ७ तिनीहरूले सिदकियाहका छोराहरूलाई उनकै आँखाको सामुन्‍ने मारे। नबुकद्‌नेजरले सिदकियाहको आँखा फुटाइदिए अनि उनलाई तामाको साङ्‌लाले बाँधेर बेबिलोन लगे।+

८ पाँचौँ महिनाको सातौँ दिन अर्थात्‌ बेबिलोनका राजा नबुकद्‌नेजरको शासनकालको १९ औँ वर्षमा तिनका सेवक—पहरेदारहरूका कप्तान नबुजरदान+ यरुसलेम आए।+ ९ तिनले यहोवा परमेश्‍वरको भवन,+ राजमहल+ र यरुसलेमका सबै घरमा+ आगो लगाइदिए। तिनले सहरका सबै गण्यमान्य मानिसको घरमा पनि आगो लगाइदिए।+ १० अनि पहरेदारहरूका कप्तानसित आएको कल्दियाली सेनाले यरुसलेमको चारैतिर भएका पर्खालहरू ढाल्यो।+ ११ पहरेदारहरूका कप्तान नबुजरदानले सहरभित्र बाँकी रहेका मानिसहरू, यहुदाका राजालाई छोडेर बेबिलोनका राजाकहाँ भागेर आएकाहरू र देशमा बाँकी रहेका अरू सबैलाई बेबिलोन लगे।+ १२ तर पहरेदारहरूका कप्तानले त्यहाँका असाध्यै गरिब मानिसहरूमध्ये केहीलाई अङ्‌गुर बगानमा काम गराउन र अनिवार्य सेवामा लगाउन त्यहीँ छोडिदिए।+ १३ अनि कल्दियालीहरूले यहोवा परमेश्‍वरको भवनमा भएका तामाका खम्बाहरू,+ ठेलागाडाहरू+ र ‘समुद्र’ भनिने तामाको विशाल खड्‌कुँलो+ टुक्राटुक्रा पारे। तिनीहरूले यहोवा परमेश्‍वरको भवनमा भएको तामा बेबिलोन लगे।+ १४ तिनीहरूले भाँडाहरू, साबेलहरू, सलेदो निभाउने साधनहरू, प्यालाहरू र मन्दिरको सेवामा प्रयोग गरिने तामाका सामानहरू पनि सबै लिएर गए। १५ पहरेदारहरूका कप्तानले निखुर सुन+ र निखुर चाँदीका+ सलेदोदानीहरू* र कचौराहरू पनि लगे। १६ सुलेमानले यहोवा परमेश्‍वरको भवनको लागि बनाएका दुई वटा खम्बा, विशाल खड्‌कुँलो र ठेलागाडाहरूमा प्रयोग गरिएको तामा जोखेर साध्यै थिएन।+ १७ दुवै खम्बाको उचाइ १८ हात*+ थियो अनि खम्बाहरूका शिर तामाका थिए। दुवै खम्बाको शिर तीन हात अग्लो थियो अनि शिरको चारैतिर भएका जाली र अनारका आकृति पनि तामाकै थिए।+ दुवै खम्बा उस्तै देखिन्थे।

१८ पहरेदारहरूका कप्तानले मुख्य पुजारी सिरायाहलाई,+ तिनीपछिका दोस्रो दर्जाका पुजारी सपन्याहलाई+ र तीन जना ढोकेलाई+ पनि लगे। १९ अनि तिनले सिपाहीहरूमाथि खटाइएका दरबारका अफिसरलाई र सहरमा भेट्टाइएका राजाका पाँच जना सल्लाहकारलाई पनि सँगै लगे। साथै सेनापतिका सचिव, जसले देशवासीलाई सैन्य सेवाको लागि बटुल्थे, उनलाई र सहरमा अझै बाँकी रहेका सर्वसाधारणबाट ६० जनालाई पनि पक्रेर लगे। २० पहरेदारहरूका कप्तान नबुजरदानले+ तिनीहरू सबैलाई पक्रेर रिब्लाहमा बेबिलोनका राजाकहाँ पुऱ्‍याए।+ २१ बेबिलोनका राजाले तिनीहरूलाई हमाथको+ रिब्लाहमा मारे। यसरी यहुदाका मानिसहरूलाई निर्वासनमा लगियो।+

२२ बेबिलोनका राजा नबुकद्‌नेजरले यहुदामा छोडिएका मानिसहरूमाथि सापानका+ नाति, अहिकामका+ छोरा गदल्याहलाई+ नियुक्‍त गरे।+ २३ बेबिलोनका राजाले गदल्याहलाई नियुक्‍त गरेका छन्‌ भनेर थाह पाउनेबित्तिकै सबै सेनापति आफ्ना मानिसहरू लिएर मिस्पामा गदल्याहकहाँ गए। तिनीहरू नेथन्याहका छोरा इस्माएल, कारेहका छोरा योहानान, नेतोफाहवासी तन्हुमेथका छोरा सिरायाह र माकाथवासीका छोरा याजन्याह थिए।+ २४ गदल्याहले ती सेनापतिहरू र तिनीहरूका मानिसहरूसित शपथ खाए र यसो भने: “कल्दियालीहरूको सेवक बन्‍न नडराओ। यहीँ यहुदामा बस र बेबिलोनका राजाको सेवा गर। त्यसो गऱ्‍यौ भने तिमीहरूको भलो हुनेछ।”+

२५ एलिसामाका नाति, नेथन्याहका छोरा इस्माएल राजघरानाका सदस्य थिए।+ सातौँ महिनामा तिनी १० जना मानिससित आए अनि गदल्याहको हत्या गरे। तिनले मिस्पामा गदल्याहसँग भएका यहुदीहरू र कल्दियालीहरूलाई पनि मारे।+ २६ त्यसपछि सानादेखि ठूला सबै मानिस, यहाँसम्म कि सेनापतिहरूसमेत भागेर मिश्र गए+ किनकि उनीहरू कल्दियालीहरूसित डराएका थिए।+

२७ यहुदाका राजा यहोयाकिन+ निर्वासित भएको ३७ औँ वर्षको १२ औँ महिनाको २७ औँ दिनमा बेबिलोनका राजा एबिल-मरोदकले यहोयाकिनलाई कैदमुक्‍त गरे।+ २८ बेबिलोनका राजाले यहुदाका राजासित दयालु भई बोले र तिनीसितै बेबिलोनको कैदमा रहेका अन्य राजाहरूलाई भन्दा तिनलाई धेरै सम्मान दिए। २९ त्यसैले यहोयाकिनले झ्यालखानामा बस्दा लगाएको कैदीको लुगा फेरे। अनि तिनले आफ्नो बाँकी जीवनभरि बेबिलोनका राजासँगै भोजन गरे। ३० राजाले यहोयाकिनको मृत्यु नहोउन्जेल दिनहुँ तिनको लागि भोजनको प्रबन्ध मिलाइदिएका थिए।

यहाँ बताइएको झ्यालले घाम छिरोस्‌ भनेर छतमा खुल्लै छोडिएको भागलाई जनाउँछ, जसलाई काठको ग्रिलले ढाकिन्थ्यो।

यसको अर्थ हो, “यहोवा मेरा परमेश्‍वर हुनुहुन्छ।”

यहोराम आहाज्याहका भाइ थिए।

“भविष्यवक्‍ताहरूका छोराहरू” भन्‍ने अभिव्यक्‍तिले भविष्यवक्‍ताहरूलाई प्रशिक्षण दिने केन्द्रलाई वा भविष्यवक्‍ताहरूको दललाई जनाएको हुन सक्छ।

वा “भविष्यवक्‍ताले लगाउने विशेष किसिमको पोसाक।”

यहाँ बताइएको शक्‍तिले परमेश्‍वरको पवित्र शक्‍तिलाई वा एलियाको मनोभावलाई जनाएको हुन सक्छ।

वा “बतासले।”

वा सम्भवतः “जमिनले गर्दा गर्भ तुहिन्छ।”

वा सम्भवतः “कुनै स्त्रीको गर्भ तुहिनेछैन।”

शब्दावली हेर्नुहोस्‌।

वा “जो एलियाका सेवक थिए।”

शा., “जोसामु म खडा रहन्छु।”

वा “वाद्य वादकलाई।”

वा “वादीमा।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

वा “वादी।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

“भविष्यवक्‍ताहरूका छोराहरू” भन्‍ने अभिव्यक्‍तिले भविष्यवक्‍ताहरूलाई प्रशिक्षण दिने केन्द्रलाई वा भविष्यवक्‍ताहरूको दललाई जनाएको हुन सक्छ।

वा “टुटी भएको सुराही।”

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

वा “तिनका मालिकले।”

वा “उद्धार दिनुभएको।”

वा “छालाको रोग।”

यसले नामानलाई जनाएको हुन सक्छ।

एक टालेन्ट भनेको ३४.२ किलोग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

शा., “मेरा बुबा।”

शा., “जोसामु म खडा रहन्छु।”

शब्दावली हेर्नुहोस्‌।

“भविष्यवक्‍ताहरूका छोराहरू” भन्‍ने अभिव्यक्‍तिले भविष्यवक्‍ताहरूलाई प्रशिक्षण दिने केन्द्रलाई वा भविष्यवक्‍ताहरूको दललाई जनाएको हुन सक्छ।

सामारियाको एउटा ठाउँ। यो एउटा डाँडा वा किल्ला हुन सक्छ।

“भविष्यवक्‍ताहरूका छोराहरू” भन्‍ने अभिव्यक्‍तिले भविष्यवक्‍ताहरूलाई प्रशिक्षण दिने केन्द्रलाई वा भविष्यवक्‍ताहरूको दललाई जनाएको हुन सक्छ।

वा “बन्चरोको टाउको।”

शा., “बुबा।”

वा “आफ्नो तरबार र धनुले।”

एक कब भनेको १.२२ लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

वा “बजारहरूमा।”

एक सेआ भनेको ७.३३ लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

एक शेकेल भनेको ११.४ ग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

शा., “छोरी।”

वा “बिरामी परेका थिए।”

“भविष्यवक्‍ताहरूका छोराहरू” भन्‍ने अभिव्यक्‍तिले भविष्यवक्‍ताहरूलाई प्रशिक्षण दिने केन्द्रलाई वा भविष्यवक्‍ताहरूको दललाई जनाएको हुन सक्छ।

शा., “छोरा।”

वा “मूर्तिपूजा।”

शा., “बगैँचाको घरको।”

वा “धर्मी।”

वा “आशिष्‌ दिएपछि।”

वा “परमेश्‍वरप्रतिको मेरो जोस।”

शा., “सहरसम्मै।” यसले किल्लाजस्तो देखिने भवनलाई जनाएको हुन सक्छ।

शब्दावली हेर्नुहोस्‌।

वा “वादीनजिकै।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

शा., “कारीहरूको।”

वा “करार।”

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

वा “मन्दिरमा।”

यसले परमेश्‍वरको व्यवस्था लेखिएको मुठालाई जनाएको हुन सक्छ।

शब्दावली हेर्नुहोस्‌।

वा “चिने-जानेकाहरूबाट।”

वा “चिरा परेका ठाउँहरू।”

वा “थैलोमा हालेर।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “मिलोको।” यो हिब्रू शब्दको अर्थ हो, “भर्नु।”

वा “बेथ-मिलोमा।”

शब्दावली हेर्नुहोस्‌।

अर्थात्‌, यरोबाम द्वितीय।

यसले परमेश्‍वर वा उहाँका प्रतिनिधिहरूबाट सहायता पाऊँ भनी गरिएको बिन्तीलाई जनाएको हुन सक्छ।

वा “उद्धारको।”

वा “सिरियाबाट उद्धार।”

वा “हराउनुहुनेछ।”

यसले वसन्त ऋतुलाई जनाएको हुन सक्छ।

शब्दावली हेर्नुहोस्‌।

वा “हामी आमनेसामने भेटौँ।”

शा., “पालतिर।”

लगभग १७८ मिटर (५८४ फिट)। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

अर्थात्‌, यरोबाम द्वितीय।

यसको अर्थ हो, “यहोवाले मदत गर्नुभएको छ।” २रा १५:१३; २इ २६:१-२३; यसै ६:१ र जक १४:५ मा तिनलाई उज्जियाह भनिएको छ।

अर्थात्‌, तिनका बुबा अमस्याह।

वा “हमाथ छिर्ने ठाउँदेखि।”

अर्थात्‌, मृतसागरसम्मका।

अर्थात्‌, यरोबाम द्वितीयको।

यसको अर्थ हो, “यहोवाले मदत गर्नुभएको छ।” २रा १५:१३; २इ २६:१-२३; यसै ६:१ र जक १४:५ मा तिनलाई उज्जियाह भनिएको छ।

शब्दावली हेर्नुहोस्‌।

एक टालेन्ट भनेको ३४.२ किलोग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

एक शेकेल भनेको ११.४ ग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

यसको अर्थ हो, “यहोवाले बलियो पार्नुहुन्छ।”

मिश्रका राजाहरूको एउटा उपाधि।

शा., “अरू देवीदेवताको डर माने।”

अर्थात्‌, हरेक ठाउँमा, चाहे त्यहाँ पातलो बस्ती होस्‌ वा बाक्लो बस्ती।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

यहाँ प्रयोग भएको हिब्रू शब्द “जनावरको दिसा” जनाउने शब्दसित सम्बन्धित हुन सक्छ र यसलाई घृणा व्यक्‍त गर्न प्रयोग गरिएको छ।

वा “दर्शन देख्ने व्यक्‍तिहरूमार्फत।”

वा “धातु पगालेर दुई वटा बाछाको मूर्ति बनाए।”

यसले आकाशका ग्रह-नक्षत्रलाई बुझाउँछ।

शा., “त्यही कामहरू गर्न आफैलाई बेचे।”

वा “उपासना गर्दैनथे।”

वा “धार्मिक प्रचलन।”

शा., “डर कसरी मान्‍ने।”

वा “देवताहरूका मूर्तिहरू।”

वा “धार्मिक प्रचलन।”

वा “धार्मिक प्रचलन।”

शा., “डर मान्दैनन्‌।”

वा “धार्मिक प्रचलन।”

यो अबियाह नामको छोटो रूप हो।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “नेहुस्तान।”

अर्थात्‌, हरेक ठाउँ, चाहे त्यहाँ पातलो बस्ती होस्‌ वा बाक्लो बस्ती।

एक टालेन्ट भनेको ३४.२ किलोग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

यो अस्सेरियाका सेनापतिहरूको उपाधि हो।

यो अस्सेरियाका दरबारका प्रमुख अफिसरको उपाधि हो।

यो अस्सेरियाका मद्य टक्य्राउने मुख्य सेवकको उपाधि हो।

वा “सिरियाली।”

वा “बेइज्जती।”

वा सम्भवतः “करूबहरूको बीचमा।”

वा “नाइल नदीका सबै नहर।”

अर्थात्‌, हिजकियाहको।

वा “भुईँमा खसेको बिउबाट उम्रेको।”

शत्रुपक्षको पर्खालमा टाँसेर बनाइने ढिस्को।

शा., “तेस्रो दिनमा।”

शा., “सुकेका अन्जिरहरूलाई थिचेर बनाइने रोटी।”

शा., “तेस्रो दिनमा।”

सायद यी भऱ्‍याङहरूलाई सौर्यघडीलाई जस्तै समयको हिसाब राख्न प्रयोग गरिन्थ्यो।

कुनै खास बोट वा रूखबाट निकालिएको बास्नादार तेल।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

यसले आकाशका ग्रह-नक्षत्रलाई बुझाउँछ।

यहाँ प्रयोग भएको हिब्रू शब्द “जनावरको दिसा” जनाउने शब्दसित सम्बन्धित हुन सक्छ र यसलाई घृणा व्यक्‍त गर्न प्रयोग गरिएको छ।

वा “होस उड्‌नेछ।”

डकर्मीले गारो उठाउँदा सुर सोझो भए-नभएको जाँच्ने साधन।

शा., “उत्तराधिकारलाई।”

वा “चिरा परेका ठाउँहरू।”

वा “करार नवीकरण गरे।”

शब्दावली हेर्नुहोस्‌।

यसले आकाशका ग्रह-नक्षत्रलाई बुझाउँछ।

शब्दावली हेर्नुहोस्‌।

शा., “तिनीहरूका दाजुभाइसँगै।”

शब्दावलीमा “खमिर” हेर्नुहोस्‌।

शब्दावलीमा “गेहेन्‍ना” हेर्नुहोस्‌।

वा “भोजनकक्ष।”

अर्थात्‌, जैतुन डाँडाको। विशेषगरि यस डाँडाको दक्षिणी भाग, जसलाई अपराधको डाँडा पनि भनिन्छ।

शा., “दायाँतिर।” अर्थात्‌, पूर्वपट्टि मुख फर्काउँदा दक्षिणतिर।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

हिब्रू भाषामा टेराफिम। शब्दावलीमा “टेराफिम” हेर्नुहोस्‌।

यहाँ प्रयोग भएको हिब्रू शब्द “जनावरको दिसा” जनाउने शब्दसित सम्बन्धित हुन सक्छ र यसलाई घृणा व्यक्‍त गर्न प्रयोग गरिएको छ।

एक टालेन्ट भनेको ३४.२ किलोग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

वा “बेँसीदेखि।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

बलिसकेको सलेदो राख्ने भाँडो।

एक हात भनेको ४४.५ सेन्टिमिटर (१७.५ इन्च) हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

    नेपाली सांकेतिक भाषाका प्रकाशनहरू (२०००-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली साङ्केतिक भाषा
    • सेयर गर्ने
    • प्राथमिकताहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने