गन्ती
८ यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: २ “हारुनलाई यसो भन, ‘जब तिमी दियो बाल्छौ, तब सात वटा दियोले पानसको अघिल्तिर उज्यालो पारोस्।’”+ ३ हारुनले त्यसै गरे; यहोवा परमेश्वरले मोसालाई आज्ञा गर्नुभएबमोजिमै हारुनले पानसको अघिल्तिर उज्यालो हुनेगरि दियोहरू बाले।+ ४ पानसको बनौट यस्तो थियो: पानसको डन्डादेखि फूलसम्मको सम्पूर्ण भाग सुनलाई घनले पिटेर बनाइएको थियो।+ यहोवा परमेश्वरले मोसालाई दर्शनमा* देखाउनुभएको नमुनाअनुसारै पानस बनाइएको थियो।+
५ यहोवा परमेश्वरले मोसालाई फेरि यसो भन्नुभयो: ६ “इस्राएलीहरूको माझबाट लेवीहरूलाई अलग गर्नू र तिनीहरूलाई शुद्ध पार्नू।+ ७ तिनीहरूलाई यसरी शुद्ध पार्नू: तिनीहरूमाथि पापबाट शुद्ध पार्ने पानी छर्कनू र तिनीहरूले आफ्नो पूरै शरीरको रौँ खौरिऊन्, आफ्नो लुगा धोऊन् र नुहाएर आफूलाई चोख्याऊन्।+ ८ त्यसपछि तिनीहरूले एउटा बहर+ र त्यससँगै चढाउने अन्नभेटीको+ लागि तेलमा मुछेको मसिनो पीठो लेऊन्। अनि तिमीले पापभेटी चढाउन अर्को एउटा बहर पनि ल्याउनू।+ ९ तिमीले लेवीहरूलाई भेट हुने पालको* सामुन्ने ल्याउनू र इस्राएलीहरूका सारा समुदायलाई भेला गराउनू।+ १० तिमीले लेवीहरूलाई यहोवा परमेश्वरसामु हाजिर गराउँदा इस्राएलीहरूले ती लेवीहरूमाथि आफ्नो हात राखून्।+ ११ अनि हारुनले यहोवा परमेश्वरसामु ती लेवीहरूलाई इस्राएलीहरूको तर्फबाट डोलाउने भेटीको+ रूपमा अर्पण गरून् र लेवीहरूले यहोवा परमेश्वरको सेवा गर्न थालून्।+
१२ “त्यसपछि लेवीहरूले ती बहरहरूको टाउकोमा आफ्नो हात राखून्।+ अनि लेवीहरूले आफ्नो पापको प्रायश्चितको लागि तीमध्ये एउटालाई पापभेटीको रूपमा र अर्कोलाई अग्निभेटीको रूपमा यहोवा परमेश्वरलाई चढाऊन्।+ १३ अनि लेवीहरूलाई हारुन र तिनका छोराहरूको सामुन्ने खडा गराउनू र ती लेवीहरूलाई डोलाउने भेटीको रूपमा यहोवा परमेश्वरलाई अर्पण गर्नू। १४ तिमीले इस्राएलीहरूको माझबाट लेवीहरूलाई अलग गर्नू र ती लेवीहरू मेरा हुनेछन्।+ १५ त्यसपछि लेवीहरू भेट हुने पालमा सेवा गर्न आऊन्। तिमीले तिनीहरूलाई शुद्ध पार्ने र डोलाउने भेटीको रूपमा अर्पण गर्ने तरिका यही हो। १६ तिमीले तिनीहरूलाई इस्राएलीहरूको माझबाट अलग पारेर मलाई अर्पण गरेका छौ। इस्राएलीहरूका हरेक पहिलो सन्तानको सट्टा म तिनीहरूलाई आफ्नो निम्ति अलग गर्नेछु।+ १७ इस्राएलीहरूको र तिनीहरूको जनावरको हरेक पहिलो सन्तान मेरै हुन्।+ मैले मिश्रमा पहिला जन्मेकाहरूजति सबैलाई मारेको दिन इस्राएलीहरूका पहिलो सन्तानजतिलाई चाहिँ आफ्नो निम्ति अलग पारेँ।+ १८ इस्राएलीहरूका सबै पहिलो सन्तानको सट्टा म लेवीहरूलाई लिनेछु। १९ अनि लेवीहरूले इस्राएलीहरूको तर्फबाट भेट हुने पालमा सेवा गरून् र इस्राएलीहरूको पापको प्रायश्चित गरिदेऊन्+ भनेर म हारुन र तिनका छोराहरूको निम्ति लेवीहरूलाई उपहारस्वरूप सुम्पनेछु। यसले गर्दा इस्राएलीहरू पवित्र ठाउँको नजिक जानुपर्नेछैन र विपत्ति भोग्नुपर्नेछैन।”+
२० मोसा, हारुन र इस्राएलीहरूका सारा समुदायले लेवीहरूलाई त्यसै गरे। यहोवा परमेश्वरले लेवीहरूको सन्दर्भमा जे-जे गर्नू भनी मोसालाई आज्ञा गर्नुभएको थियो, इस्राएलीहरूले त्यसै गरे। २१ त्यसैले लेवीहरूले आफूलाई चोख्याए र आफ्ना लुगाहरू धोए।+ त्यसपछि हारुनले यहोवा परमेश्वरसामु तिनीहरूलाई डोलाउने भेटीको रूपमा अर्पण गरे।+ अनि तिनीहरूलाई शुद्ध पार्न हारुनले तिनीहरूको पापको प्रायश्चित गरिदिए।+ २२ त्यसपछि हारुन र तिनका छोराहरूको निगरानीमा सेवा चढाउन लेवीहरू भेट हुने पालभित्र गए। यहोवा परमेश्वरले लेवीहरूको सन्दर्भमा जे-जे गर्नू भनी मोसालाई आज्ञा गर्नुभएको थियो, तिनीहरूलाई त्यसै गरियो।
२३ अनि यहोवा परमेश्वरले मोसालाई भन्नुभयो: २४ “लेवीहरूले पालन गर्नुपर्ने नियम यही हो: भेट हुने पालमा सेवा गर्नेहरूको समूहमा २५ वर्ष र सोभन्दा माथिका पुरुषहरू सामेल होऊन्। २५ तर ५० वर्ष नाघेपछि भने तिनीहरूले अवकाश पाऊन् र त्यहाँ सेवा नगरून्। २६ भेट हुने पालमा जिम्मेवारी पूरा गरिरहेका आफ्ना भाइहरूलाई तिनीहरूले सघाउन त सक्छन् तर त्यहाँ सेवा गर्न भने पाउनेछैनन्। लेवीहरू र तिनीहरूको जिम्मेवारीको सन्दर्भमा यसै गर्नू।”+