भजनसङ्ग्रह
निर्देशकलाई। दाउदले रचेको भजन।
१४० हे यहोवा, दुष्ट मानिसहरूबाट मलाई छुटाउनुहोस्;
हिंस्रक मानिसहरूबाट मलाई जोगाउनुहोस्,+
२ जो आफ्नो मनमा दुष्ट युक्तिहरू रच्छन्+
र दिनभर लडाइँ-झगडा मच्चाउँछन्।
३ तिनीहरू आफ्नो जिब्रो सर्पको जस्तै तिखो बनाउँछन्;+
तिनीहरूको ओठमुनि विषालु सर्पको विष भरिएको हुन्छ।+ (सेला)
४ हे यहोवा, दुष्टहरूको हातबाट मलाई बचाउनुहोस्;+
हिंस्रक मानिसहरूबाट मलाई जोगाउनुहोस्,
जो मलाई लडाउन युक्ति रच्छन्।
५ अहङ्कारी मानिसहरू मेरो निम्ति पासो थाप्छन्;
तिनीहरू बाटोको छेउमा डोरीहरूको जाल बिछ्याउँछन्।+
तिनीहरू मेरो लागि धराप थाप्छन्।+ (सेला)
६ म यहोवालाई भन्छु: “तपाईँ मेरा परमेश्वर हुनुहुन्छ।
हे यहोवा, मेरो गुहार सुन्नुहोस्।”+
७ हे ब्रह्माण्डका मालिक यहोवा, मेरा शक्तिशाली उद्धारक,
युद्धको दिनमा तपाईँ मेरो शिरलाई जोगाउनुहुन्छ।+
८ हे यहोवा, दुष्टहरूको अभिप्राय पूरा हुन नदिनुहोस्।
तिनीहरूका युक्तिहरू सफल हुन नदिनुहोस् ताकि तिनीहरू घमन्डले नफुलून्।+ (सेला)
९ मलाई चारैतिरबाट घेर्नेहरूले बोलेका दुष्ट कुराहरू
तिनीहरूकै थाप्लोमा आइपरोस्।+
१० तिनीहरूमाथि बलिरहेको भुङ्ग्रो बर्सियोस्।+
तिनीहरूलाई आगोमा हुर्ऱ्याइयोस्,
जहाँबाट तिनीहरू फेरि कहिल्यै उठ्न सक्दैनन्।
११ निन्दा गर्ने मानिसको निम्ति पृथ्वीमा कुनै ठाउँ नरहोस्।+
हिंसा रुचाउने मानिसहरूलाई विपत्तिले खेदेर आफ्नो सिकार बनाओस्।
१२ मलाई थाह छ, यहोवाले दीनदुःखीहरूको पक्ष लिनुहुनेछ
अनि गरिबहरूको इन्साफ गर्नुहुनेछ।+