दोस्रो समुएल
१ साउलको मृत्यु भइसकेको थियो र दाउद अमालेकीहरूलाई हराएर जिक्लग+ फर्किसकेका थिए। दाउद जिक्लग फर्केको दुई दिन भएको थियो। २ तेस्रो दिन साउलको छाउनीबाट एक जना मानिस दाउदकहाँ आयो। उसले आफ्नो लुगा च्यातेको थियो र शिरमा धुलो छरेको थियो। दाउदको नजिकै पुगेपछि उसले भुईँमा लम्पसार परेर दाउदलाई दण्डवत् गऱ्यो।
३ दाउदले उसलाई सोधे: “तिमी कहाँबाट आयौ?” उसले भन्यो: “म इस्राएलीहरूको छाउनीबाट भागेर आएको हुँ।” ४ दाउदले भने: “लडाइँमा के भयो, मलाई भन।” उसले भन्यो: “इस्राएली सिपाहीहरू लडाइँ छोडेर भागे अनि थुप्रै सिपाही मारिए। साउल र उहाँका छोरा जोनाथन पनि मारिए।”+ ५ समाचार लिएर आएको त्यो जवान मानिसलाई दाउदले सोधे: “साउल र उहाँका छोरा जोनाथन मारिए भनेर तिमीलाई कसरी थाह भयो?” ६ उसले जवाफ दियो: “संयोगले त्यतिबेला म पनि गिल्बो डाँडामै थिएँ।+ त्यहाँ मैले साउल आफ्नो भालाको सहारा लिएर उभिरहनुभएको देखेँ। रथहरू अनि घोडचढीहरूले उहाँलाई भेट्टाउनै लागिसकेका थिए।+ ७ उहाँले फर्केर हेर्दा मलाई देख्नुभयो र मलाई बोलाउनुभयो। अनि मैले भनेँ: ‘हजुर प्रभु!’ ८ उहाँले मलाई ‘तिमी को हौ’ भनेर सोध्नुभयो। मैले भनेँ: ‘म एक जना अमालेकी हुँ।’+ ९ त्यसपछि उहाँले भन्नुभयो: ‘बिन्ती छ, यहाँ आऊ र मलाई मार। यस्तो असह्य पीडा भोग्नुभन्दा त बरु म मर्न चाहन्छु।’ १० उहाँ असाध्यै घाइते हुनुभएकोले उहाँ बाँच्नुहुन्न भनेर मलाई थाह थियो। त्यसैले उहाँको नजिक गएर मैले उहाँलाई मारेँ।+ त्यसपछि मैले उहाँको मुकुट अनि उहाँले पाखुरामा लगाउनुभएको बाला लिएँ। प्रभु, मैले यी सबै कुरा हजुरकहाँ ल्याएको छु।”
११ यो सुनेर दाउदले आफ्नो लुगा च्याते अनि त्यहाँ भएका सबैले त्यसै गरे। १२ तिनीहरू डाँको छोडेर रोए अनि साँझसम्मै उपवास बसे।+ किनकि साउल, उनका छोरा जोनाथन र यहोवा परमेश्वरका थुप्रै सेवक तरबारले मारिएका थिए। हो, थुप्रै इस्राएलीले ज्यान गुमाएका थिए।+
१३ समाचार लिएर आएको त्यो जवान मानिसलाई दाउदले फेरि सोधे: “तिमी को हौ अनि कहाँबाट आयौ?” उसले भन्यो: “म अमालेकी हुँ; इस्राएलमा बस्ने एक जना विदेशीको छोरा हुँ।” १४ त्यसपछि दाउदले उसलाई भने: “तिमीले यहोवा परमेश्वरको अभिषिक्त जनलाई मार्ने आँट कसरी गर्न सक्यौ?”+ १५ तब दाउदले आफ्ना मानिसहरूमध्ये एक जनालाई बोलाएर भने: “अघि बढ र यसलाई मार!” अनि त्यो मानिसले उसलाई माऱ्यो।+ १६ दाउदले समाचार ल्याउने त्यस मानिसलाई भने: “तिम्रो रगतको दोष तिम्रै थाप्लोमा परोस्। किनकि तिमी आफैले यसो भनेर आफूलाई दोषी ठहरायौ: ‘मैले नै यहोवा परमेश्वरको अभिषिक्त जनलाई मारेँ।’”+
१७ अनि दाउदले साउल र उनका छोरा जोनाथनको लागि एउटा शोकगीत गाए।+ १८ “धनु” भनेर चिनिने त्यो शोकगीत यहुदाका सबै मानिसलाई सिकाउनुपर्छ भन्ने हुकुम तिनले दिए। त्यो गीत यासारको पुस्तकमा लेखिएको छ। गीत यस्तो छ:+
१९ “हे इस्राएल, तिम्रा गौरवशाली मानिसहरू अग्ला डाँडाहरूमा मारिए।+
हेर! तिम्रा वीर पुरुषहरू कसरी ढालिए!
२० यो कुरा गाथमा नसुनाऊ;+
अस्कलोनका गल्लीहरूमा यसबारे घोषणा नगर
नत्र त पलिस्तियालीहरूका छोरीहरू रमाउनेछन्;
ती बेखतनेहरूका छोरीहरूले खुसीयाली मनाउनेछन्।
२१ हे गिल्बोका डाँडाहरू हो,+
तिमीहरूमाथि कहिल्यै शीत वा पानी नपरोस्;
तिमीहरूका खेतले पवित्र भेटी नफलाऊन्+
किनकि त्यहाँ वीर पुरुषहरूका ढालको अपमान भएको छ,
साउलको ढालमा अब कहिल्यै तेल लगाइनेछैन।
२२ जोनाथनको धनुको निसाना कहिल्यै चुकेन,+
साउलको तरबार कहिल्यै रित्तो फर्केन,+
ती धनु र तरबारले वीर पुरुषहरूको बोसो छेड्यो,
शत्रुहरूको रगत बगायो।
२४ हे इस्राएलका छोरीहरू हो, साउलको निम्ति विलाप गर,
जसले तिमीहरूलाई चहकिलो रातो रङ्गका दामी-दामी लुगा पहिराए,
तिमीहरूलाई सुनका गरगहनाले सिँगारे।
२५ हेर! वीर पुरुषहरू लडाइँमा कसरी ढालिए!
जोनाथन तिमीहरूकै अग्ला डाँडामा मारिए।+
२६ हे मेरा दाइ जोनाथन, तिम्रो वियोगमा म असाध्यै दुःखी छु,
तिमी मेरो लागि अतिप्रिय थियौ;+
मप्रति तिम्रो प्रेमले स्त्रीहरूको प्रेमलाई जित्थ्यो।+
२७ हेर! वीर पुरुषहरू कसरी ढालिए!
लडाइँका हातहतियार सबै नष्ट भए!”
२ पछि दाउदले यहोवा परमेश्वरलाई सोधे:+ “म यहुदाको कुनै एउटा सहरमा जाऊँ?” यहोवा परमेश्वरले जवाफ दिनुभयो: “हुन्छ, जाऊ।” दाउदले फेरि सोधे: “म कुनचाहिँ सहरमा जाऊँ?” उहाँले भन्नुभयो: “हेब्रोनमा।”+ २ तब दाउद आफ्ना दुवै पत्नी—यिज्रेलकी अहिनोम+ र कर्मेली नाबालकी विधवा अबिगेललाई+ लिएर गए। ३ दाउदले आफ्ना मानिसहरू र उनीहरूका परिवारलाई पनि सँगै लिएर गए।+ अनि उनीहरू हेब्रोनवरपरका सहरहरूमा बसोबास गर्न थाले। ४ पछि यहुदाका मानिसहरू त्यहाँ आए र तिनीहरूले दाउदलाई यहुदाको घरानाको राजा अभिषेक गरे।+
तिनीहरूले दाउदलाई भने: “साउलको लासलाई याबेस-गिलादका मानिसहरूले गाडेका थिए।” ५ तब दाउदले सन्देशवाहकहरूमार्फत याबेस-गिलादका मानिसहरूकहाँ यस्तो सन्देश पठाए: “यहोवा परमेश्वरले तिमीहरूलाई आशिष् देऊन् किनकि तिमीहरूले आफ्ना प्रभु साउललाई गाडेर तिनीप्रति अटल प्रेम* देखायौ।+ ६ यहोवा परमेश्वरले तिमीहरूलाई पनि अटल प्रेम देखाऊन् र तिमीहरूप्रति वफादार भइरहून्। तिमीहरूले यसो गरेको हुनाले म पनि तिमीहरूलाई दया देखाउनेछु।+ ७ अब तिमीहरू बलिया र साहसी होओ। किनकि तिमीहरूका प्रभुको मृत्यु भए तापनि यहुदाको घरानाले मलाई राजा अभिषेक गरेको छ।”
८ तर नेरका छोरा अब्नेर,+ जो साउलका सेनापति थिए, तिनले साउलका छोरा इस्बोसेतलाई+ नदीपारि महनैममा+ लगेका थिए। ९ अनि तिनले इस्बोसेतलाई आसेरीहरूको र गिलाद,+ यिज्रेल,+ एप्रैम,+ बिन्यामिन अनि पूरै इस्राएलको राजा बनाएका थिए। १० इस्राएलको राजा हुँदा साउलका छोरा इस्बोसेत ४० वर्षका थिए। उनले इस्राएलमा दुई वर्ष शासन गरे। तर यहुदाको घरानाले भने दाउदलाई साथ दियो।+ ११ दाउदले हेब्रोनबाट यहुदाको घरानामाथि साढे सात वर्ष शासन गरे।+
१२ केही समयपछि नेरका छोरा अब्नेर र साउलका छोरा इस्बोसेतका सिपाहीहरू महनैमबाट+ गिबोन+ गए। १३ जेरुयाहका+ छोरा योआब+ र दाउदका सिपाहीहरू पनि गिबोनतिर लागे अनि तिनीहरूले अब्नेरको फौजलाई गिबोनको पोखरीमा भेटे। एउटा फौज पोखरीको एकातिर अनि अर्को फौज पोखरीको अर्कोतिर बस्यो। १४ अब्नेरले योआबलाई भने: “तिम्रा र मेरा सिपाहीहरू अगाडि आऊन् र एकअर्कासित भिडून्।”* तब योआबले भने: “हुन्छ, त्यसै गरौँ।” १५ अनि दुवै फौज तयार भए। तिनीहरूले आ-आफ्नो फौजबाट १२-१२ जना छाने; बिन्यामिनको र साउलको छोरा इस्बोसेतको तर्फबाट १२ जना अनि दाउदका सिपाहीहरूको तर्फबाट १२ जना। १६ तब ती सबले आ-आफ्नो शत्रुको कपाल च्याप्प समातेर कोखामा तरबारले घोपिदिए अनि सबै जना मरे। त्यसैले गिबोनको त्यस ठाउँलाई हेल्कथ-हज्जुरिम* भनियो।
१७ त्यो दिन घमासान लडाइँ भयो। अन्तमा दाउदका सिपाहीहरूले अब्नेर र इस्राएलका सिपाहीहरूलाई हराए। १८ त्यहाँ जेरुयाहका+ तीन जना छोरा—योआब,+ अबिसै+ र आसाहेल+ पनि थिए। आसाहेलचाहिँ मृगजस्तै बेतोड दौडन सक्थे। १९ आसाहेलले अब्नेरलाई खेद्न थाले; तिनी दायाँबायाँ कतै नलागी अब्नेरको पछि दौडे। २० तब अब्नेरले पछाडि फर्केर हेरे र सोधे: “आसाहेल, तिमी हौ?” आसाहेलले भने: “हो, मै हुँ।” २१ अनि अब्नेरले आसाहेललाई भने: “मलाई नखेद, बरु दायाँ वा बायाँतिर लागेर कोही एक जना सिपाहीलाई पक्र र ऊसित भएको सबै थोक लुट।” तर आसाहेलले अब्नेरलाई खेद्न छोडेनन्। २२ अब्नेरले आसाहेललाई फेरि भने: “मलाई खेद्न छोड नत्र तिमी मेरो हातबाट मर्नेछौ। त्यसपछि तिम्रो दाइ योआबलाई मैले कसरी मुख देखाउनु?” २३ तर आसाहेलले मान्दै मानेनन्। अनि अब्नेरले भालाको पछाडिको भागले आसाहेलको भुँडी रोपिदिए।+ त्यो भाला आसाहेलको वारपार भयो र तिनी त्यहीँ मरे। आसाहेलको लास भएको ठाउँमा पुग्ने जो कोही पनि त्यहाँ एकछिन रोकिन्थ्यो।
२४ त्यसपछि योआब र अबिसैले अब्नेरलाई खेद्न थाले। घाम अस्ताउनै लाग्दा तिनीहरू अम्माहको डाँडामा पुगे, जुन गिहतिर फर्केको छ र गिबोनको निर्जनभूमि जाने बाटोमा पर्छ। २५ बिन्यामिनीहरूको एक हुल अब्नेरको पछाडि जम्मा भयो। तिनीहरू दल बाँधेर एउटा डाँडाको टुप्पामा खडा भए। २६ अनि अब्नेरले ठूलो स्वरमा योआबलाई भने: “हामी कहिलेसम्म एकअर्काविरुद्ध तरबार चलाइरहने? यसले कत्ति ठूलो समस्या निम्त्याउनेछ भनेर के तिमीलाई थाह छैन? त्यसैले तिम्रा सिपाहीहरूलाई आफ्ना भाइबन्धुलाई खेद्न छोड भनी आदेश देऊ।” २७ तब योआबले भने: “साँचो परमेश्वरको नाममा म कसम खाएर भन्छु, तिमीले यसो नभनेको भए मेरा सिपाहीहरूले आफ्ना भाइबन्धुलाई भोलि बिहानसम्मै खेदिरहने थिए।” २८ अनि योआबले सिङ फुके र तिनका मानिसहरूले इस्राएलका सिपाहीहरूलाई खेद्न छोडे। यसरी तिनीहरूको लडाइँ रोकियो।
२९ त्यसपछि अब्नेर र तिनका सिपाहीहरूले रातभरि यात्रा गरेर अराबाह पार गरे।+ तिनीहरूले यर्दन नदी तरे अनि खोँच* हुँदै महनैम आइपुगे।+ ३० अब्नेरलाई खेद्न छोडेपछि योआबले आफ्ना सबै सिपाहीलाई एक ठाउँमा भेला गराए। यसरी भेला गराउँदा दाउदका १९ जना सिपाही र आसाहेल त्यहाँ थिएनन्। ३१ दाउदका सिपाहीहरूले बिन्यामिनीहरू र अब्नेरका सिपाहीहरूलाई हराएका थिए र तिनीहरूका ३६० जना सिपाहीलाई मारेका थिए। ३२ तिनीहरूले आसाहेलको+ लासलाई लगेर बेतलेहेममा उनको बुबाको चिहानमा गाडिदिए।+ त्यसपछि योआब र तिनका सिपाहीहरू रातभरि यात्रा गरेर बिहान झिसमिसेमा हेब्रोन आइपुगे।+
३ साउलको घराना र दाउदको घरानाबीच लामो समयसम्म युद्ध चलिरह्यो। दाउद झन्झनै शक्तिशाली हुँदै गए+ तर साउलको घराना भने कमजोर हुँदै गयो।+
२ हेब्रोनमा छँदा दाउदका छोराहरू जन्मिए।+ तिनका जेठा छोरा अम्नोन थिए,+ जसलाई यिज्रेलकी अहिनोमले जन्माएकी थिइन्।+ ३ तिनका माहिला छोरा किलाब थिए, जसलाई कर्मेली नाबालकी विधवा अबिगेलले जन्माएकी थिइन्।+ तिनका साहिँला छोरा अब्सालोम थिए,+ जसलाई गेसुरका राजा तल्मैकी छोरी माकाहले जन्माएकी थिइन्।+ ४ तिनका काहिँला छोरा अदोनियाह थिए,+ जसलाई हग्गिथले जन्माएकी थिइन्। अनि ठाहिँला छोरा सेपत्याह थिए, जसलाई अबितलले जन्माएकी थिइन्। ५ दाउदका कान्छा छोराचाहिँ इथ्राम थिए, जसलाई दाउदकी पत्नी एग्लाहले जन्माएकी थिइन्। हेब्रोनमा जन्मेका दाउदका छोराहरू यी नै हुन्।
६ साउलको घराना र दाउदको घरानाबीच युद्ध चलिरहँदा अब्नेरले+ भने साउलको घरानामा आफूलाई झन्झन् शक्तिशाली बनाउँदै लगे। ७ साउलको रिज्पाह नाम गरेकी एक जना उपपत्नी थिइन्,+ जो अय्याकी छोरी थिइन्। इस्बोसेतले+ अब्नेरलाई सोधे: “तिमीले किन मेरो बुबाकी उपपत्नीसित यौनसम्बन्ध राख्यौ?”+ ८ इस्बोसेतको कुरा सुनेर अब्नेर रिसले चूर भए र यसो भने: “म यहुदाको कुकुर हुँ र? आजसम्म मैले तपाईँका बुबा साउलको घराना, उहाँका दाजुभाइ र मित्रहरूप्रति अटल प्रेम देखाउँदै आएको छु। तपाईँलाई पनि मैले धोका दिएर दाउदको हातमा सुम्पेको छैन। तर आज मैले एउटी आइमाईको मामिलामा भूल गर्दा के तपाईँ मसित त्यसको हिसाब माग्नुहुन्छ? ९ यहोवा परमेश्वरले दाउदसित जुन कसम खानुभएको थियो, मैले त्यसैअनुसार गरिनँ भने उहाँले मलाई अत्यन्तै कडा सजाय देऊन्।+ १० उहाँले साउलको घरानाबाट राज्याधिकार खोस्ने अनि सारा इस्राएल र सारा यहुदामाथि अर्थात् दानदेखि बेर्सेबासम्मै दाउदको सिंहासन बसाल्ने कसम खानुभएको थियो।”+ ११ त्यसपछि इस्बोसेतले अब्नेरलाई केही जवाफ दिन सकेनन् किनकि तिनी अब्नेरसित डराउँथे।+
१२ तब अब्नेरले सन्देशवाहकहरूमार्फत दाउदकहाँ तुरुन्तै यो सन्देश पठाए: “यस देशमाथि कसको अधिकार छ?” तिनले यसो पनि भने: “मसँग करार गर्नुहोस् र सारा इस्राएललाई तपाईँको पक्षमा ल्याउन म कुनै कसर बाँकी राख्नेछैनँ।”+ १३ दाउदले यस्तो जवाफ पठाए: “ठीक छ, म तिमीसित करार गर्नेछु। तर मेरो एउटा काम गरिदेऊ। तिमी मलाई भेट्न आउँदा साउलकी छोरी मिकललाई पनि साथमा ल्याउनू। होइन भने तिमी मेरो अगाडि देखै नपर्नू।”+ १४ त्यसपछि दाउदले आफ्ना सन्देशवाहकहरूमार्फत साउलका छोरा इस्बोसेतकहाँ यो सन्देश पठाए:+ “मलाई मेरी पत्नी मिकल फिर्ता देऊ, जससित मगनी गर्न मैले १०० जना पलिस्तियालीको खलडी* दामस्वरूप तिरेको थिएँ।”+ १५ त्यसैले मिकललाई ल्याउन इस्बोसेतले आफ्ना मानिसहरू तिनका पति पल्तिएलको घरमा पठाए,+ जो लेसका छोरा थिए। १६ तर पल्तिएल मिकलको पछिपछि लागे अनि रुँदै-रुँदै बाहुरिमसम्मै आइपुगे।+ त्यसपछि अब्नेरले उनलाई भने: “फर्केर जाऊ!” तब उनी फर्केर गए।
१७ अब्नेरले इस्राएलका नाइकेहरूकहाँ यस्तो सन्देश पठाएका थिए: “केही समयदेखि तपाईँहरूले दाउदलाई आफ्ना राजा बनाउन खोज्नुभएको थियो। १८ अब त्यसै गर्नुहोस् किनकि यहोवा परमेश्वरले दाउदलाई यसो भन्नुभएको छ: ‘म आफ्ना सेवक दाउदमार्फत+ आफ्नो प्रजा इस्राएलीहरूलाई पलिस्तियालीहरू र तिनीहरूका सारा शत्रुहरूको हातबाट जोगाउनेछु।’” १९ त्यसपछि अब्नेरले बिन्यामिनीहरूसित कुरा गरे+ अनि हेब्रोन गए। किनकि तिनी दाउदलाई एकान्तमा भेटेर इस्राएलीहरू र बिन्यामिनीहरू कुन कुरामा सहमत भएका छन् भनी बताउन चाहन्थे।
२० जब अब्नेर आफ्ना २० जना मानिससित हेब्रोनमा दाउदकहाँ पुगे, तब दाउदले अब्नेर र तिनीसित आएका मानिसहरूका निम्ति भोज दिए। २१ त्यसपछि अब्नेरले दाउदलाई यसो भने: “हे मेरा प्रभु, मेरा महाराज! अब मलाई जाने अनुमति दिनुहोस्। म गएर सारा इस्राएललाई तपाईँसामु जम्मा गर्नेछु र तिनीहरूले तपाईँसित करार गर्नेछन्। त्यसपछि तपाईँ आफूले चाहेअनुसारै पूरै देशको राजा बन्न सक्नुहुनेछ।” तब दाउदले अब्नेरलाई बिदा गरे र तिनी शान्तिसित आफ्नो बाटो लागे।
२२ त्यति नै खेर दाउदका सेवकहरू र योआब एउटा ठाउँमा आक्रमण गरी प्रशस्त धनमाल लुटेर फर्के। त्यतिबेला अब्नेर हेब्रोनमा थिएनन् किनकि दाउदले तिनलाई शान्तिसित बिदा गरिसकेका थिए। २३ योआब+ र तिनीसित भएका सबै सिपाही फर्किसकेपछि तिनलाई यो खबर सुनाइयो: “नेरका+ छोरा अब्नेर+ राजालाई भेट्न आएका थिए। राजाले उनलाई बिदाबारी गरेर पठाउनुभयो अनि उनी शान्तिपूर्वक आफ्नो बाटो लागे।” २४ त्यसैले योआबले राजाकहाँ गएर भने: “तपाईँले यो के गर्नुभयो? अब्नेर तपाईँकहाँ आएका थिए तर तपाईँले उसलाई किन त्यसै छोडिदिनुभयो? २५ नेरको छोरा अब्नेर कस्तो छ भनेर तपाईँलाई थाहै छ! ऊ तपाईँलाई मूर्ख बनाउन यहाँ आएको थियो। तपाईँको एक-एक चाल बुझ्न र तपाईँको हरेक कामको जासुसी गर्न ऊ यहाँ आएको थियो।”
२६ त्यसपछि योआब दाउदको सामनेबाट गए र तिनले आफ्ना सन्देशवाहकहरूलाई अब्नेरको पछिपछि पठाए। तिनीहरूले अब्नेरलाई सिराहको इनारबाट फर्काएर ल्याए। तर यसबारे दाउदलाई केही थाह थिएन। २७ अब्नेर हेब्रोनमा फर्केपछि+ योआबले तिनीसित गुप्तमा कुरा गर्ने बहाना बनाएर तिनलाई मूलढोकाभित्र एउटा कुनामा लगे। तर त्यहाँ योआबले तिनको भुँडीमा तरबारले घोपिदिए र तिनी त्यहीँ मरे।+ आफ्नो भाइ आसाहेललाई अब्नेरले मारेको हुनाले* योआबले यसो गरेका थिए।+ २८ केही समयपछि जब दाउदले यसबारे सुने, तब तिनले भने: “नेरका छोरा अब्नेरको हत्याको लागि यहोवा परमेश्वरसामु म र मेरो राज्य कुनै हालतमा दोषी ठहरिनेछैनौँ।+ २९ अब्नेरको हत्याको दोष योआब र उसको बुबाको सम्पूर्ण घरानामाथि परोस्।+ योआबको घरानामा धातु बग्ने रोग लागेको,+ कुष्ठरोग लागेको,+ कतुवा* चलाउने,* तरबारले मारिने वा खान नपाएर भोकभोकै बस्नुपर्ने मान्छेको कहिल्यै कमी नहोस्!”+ ३० योआब र तिनका दाइ अबिसैले+ अब्नेरलाई+ मारे किनकि अब्नेरले तिनीहरूका भाइ आसाहेललाई गिबोनको युद्धमा मारेका थिए।+
३१ त्यसपछि दाउदले योआब र तिनीसित भएका सबै मानिसलाई भने: “आ-आफ्नो लुगा च्यात, भाङ्ग्रा लगाओ र अब्नेरको लागि विलाप गर।” राजा दाउदचाहिँ अब्नेरको अरथीको पछिपछि हिँडे। ३२ तिनीहरूले अब्नेरलाई हेब्रोनमा गाडे। अब्नेरको चिहानमा राजा दाउद डाँको छोडेर रोए र अरू सबै मानिस पनि रुन थाले। ३३ राजाले अब्नेरको विषयमा यस्तो शोकगीत गाए:
“हाय! अब्नेर किन एउटा निकम्मा मानिसझैँ मर्नुपऱ्यो?
३४ तिम्रा हात बाँधिएका थिएनन्,
न त तिम्रा खुट्टा नै साङ्लाले बाँधिएका थिए।
तैपनि तिमी अपराधीहरूको सिकार भएको मानिसझैँ मऱ्यौ।”+
यो सुनेर सबै जना फेरि अब्नेरका लागि रुन थाले।
३५ पछि सबै मानिस दाउदलाई केही खानको लागि मनाउन आए।* त्यतिबेला साँझ परिसकेको थिएन। अनि दाउदले यस्तो कसम खाए: “घाम अस्ताउनुअघि मैले रोटी अथवा अरू केही आफ्नो मुखमा हालेँ भने परमेश्वरले मलाई अत्यन्तै कडा सजाय देऊन्!”+ ३६ यो कुरा सबैले देखे र तिनीहरूलाई यो कुरा चित्त बुझ्यो। राजाले गरेका अरू सबै कामजस्तै यो कुरा पनि सबै मानिसलाई मन पऱ्यो। ३७ यसरी दाउदका सबै मानिस र सारा इस्राएलीहरूले नेरका छोरा अब्नेरको हत्यामा राजाको केही हात थिएन भनेर त्यो दिन थाह पाए।+ ३८ त्यसपछि राजाले आफ्ना सेवकहरूलाई भने: “आज इस्राएलमा एक जना नाइकेको, एक महान् व्यक्तिको मृत्यु भएको छ भनेर के तिमीहरूलाई थाह छैन?+ ३९ हुनत मलाई राजा अभिषेक गरिएको छ तर आज म निकै कमजोर भएको छु+ किनकि जेरुयाहका+ यी छोराहरू साह्रै क्रूर छन्।+ यहोवा परमेश्वरले दुष्टलाई त्यसको दुष्ट कामको प्रतिफल देऊन्।”+
४ जब साउलका छोरा इस्बोसेतले+ हेब्रोनमा अब्नेरको मृत्यु भयो+ भन्ने खबर पाए, तब तिनी डरले लल्याकलुलुक भए र सबै इस्राएली व्याकुल भए। २ साउलका छोराको दुई जना अफिसर थिए, जो लुटपाट गर्ने दलहरूका नाइके थिए। एक जनाको नाम बानाह र अर्कोको नाम रेकाब थियो। उनीहरू बेरोथी रिम्मोनका छोरा थिए। रिम्मोन बिन्यामिनको कुलका थिए। (त्यतिबेला बेरोथ+ पनि बिन्यामिनको कुलकै इलाका मानिन्थ्यो। ३ बेरोथीहरू गित्तैममा+ भागेर गए र तिनीहरू आजसम्म पनि त्यहाँ विदेशीको रूपमा बसोबास गरिरहेका छन्।)
४ साउलका छोरा जोनाथनको+ एक जना छोरा थियो, जसको दुइटै खुट्टा कूँजो* थियो।+ उसको नाम मपिबोसेत थियो। यिज्रेलबाट+ साउल र जोनाथनको मृत्यु भएको खबर आउँदा ऊ पाँच वर्षको थियो। त्यो खबर सुनेपछि उसकी धाई आमा उसलाई बोकेर भागिन्। उनी आत्तिएर दौडँदा मपिबोसेत भुईँमा खस्यो र ऊ कूँजो भयो।+
५ एकदिन बेरोथी रिम्मोनका छोराहरू रेकाब र बानाह दिउँसो असाध्यै गर्मी हुने समयमा इस्बोसेतको घरमा गए। त्यतिबेला इस्बोसेत आराम गरिरहेका थिए। ६ रेकाब र बानाह+ गहुँ लिन आएजस्तो गरी घरभित्र छिरे र तिनीहरूले इस्बोसेतलाई तरबारले भुँडीमा घोपिदिए। त्यसपछि तिनीहरू त्यहाँबाट भागे। ७ तिनीहरू घरभित्र छिर्दा इस्बोसेत आफ्नो सुत्ने कोठामा ढल्किरहेका थिए। तिनीहरूले उनलाई तरबारले घोपेर मारे अनि उनको टाउको काटिदिए। त्यसपछि तिनीहरूले उनको टाउको आफूसँगै लगे अनि रातभरि अराबाह जाने बाटोमा हिँडेर ८ हेब्रोन पुगे। तिनीहरूले इस्बोसेतको+ टाउको राजा दाउदकहाँ ल्याए र राजालाई भने: “हेर्नुहोस्! हामीले तपाईँको ज्यान लिन खोज्ने+ तपाईँको शत्रु साउलका+ छोरा इस्बोसेतको टाउको ल्याएका छौँ। हे हाम्रा प्रभु, हाम्रा महाराज! आज यहोवा परमेश्वरले हजुरको खातिर साउल र तिनका सन्तानसित बदला लिनुभएको छ।”
९ तर बेरोथी रिम्मोनका छोराहरू रेकाब र बानाहलाई दाउदले यसरी जवाफ दिए: “मलाई सबै सङ्कष्टबाट जोगाउनुहुने जीवित परमेश्वर यहोवाको कसम खाएर म भन्छु,+ १० म खुसी हुन्छु होला भन्ने सोचेर एक जना मान्छे साउलको मृत्युको खबर सुनाउन जिक्लगमा मकहाँ आयो।+ तर मैले त्यसलाई समातेर मारेँ।+ त्यसले ल्याएको खबरको लागि मैले त्यसलाई दिएको इनाम त्यही थियो! ११ त्यसोभए एउटा निर्दोष मानिसलाई उसको घरमा, उसकै ओछ्यानमा मार्ने दुष्टहरूलाई झन् कत्ति ठूलो सजाय दिनुपर्ला! उसको रगत बगाएकोमा के मैले तिमीहरूसित बदला लिएर यस धर्तीबाट तिमीहरूलाई नामेट नपार्नु?”+ १२ त्यसपछि दाउदले आफ्ना मानिसहरूलाई रेकाब र बानाहलाई मार्ने आदेश दिए।+ दाउदका मानिसहरूले तिनीहरूको हातखुट्टा काटिदिए र तिनीहरूलाई हेब्रोनमा पोखरीनजिकै लगेर झुन्ड्याइदिए।+ तर तिनीहरूले इस्बोसेतको टाउकोचाहिँ हेब्रोनमा अब्नेरको चिहानमा लगेर गाडे।
५ केही समयपछि इस्राएलका सबै कुल हेब्रोनमा दाउदकहाँ आए+ र भने: “हेर्नुहोस्! तपाईँ र हामीबीच रगतको नाता छ।*+ २ पहिला साउल हाम्रा राजा हुँदा तपाईँले नै लडाइँमा इस्राएलीहरूको नेतृत्व लिनुहुन्थ्यो।+ अनि यहोवा परमेश्वरले तपाईँलाई भन्नुभएको थियो: ‘तिमी मेरा प्रजा इस्राएलीहरूको गोठालो हुनेछौ, तिमी तिनीहरूको अगुवा हुनेछौ।’”+ ३ त्यसैले इस्राएलका सबै नाइके हेब्रोनमा राजा दाउदकहाँ आए र त्यहाँ राजाले तिनीहरूसित यहोवा परमेश्वरसामु करार गरे।+ त्यसपछि तिनीहरूले दाउदलाई इस्राएलको राजा अभिषेक गरे।+
४ दाउद ३० वर्षको उमेरमा राजा भए र तिनले ४० वर्ष शासन गरे।+ ५ तिनले हेब्रोनबाट यहुदामाथि साढे सात वर्ष शासन गरे अनि यरुसलेमबाट+ सारा इस्राएल र यहुदामाथि ३३ वर्ष शासन गरे। ६ एकचोटि राजा दाउद र तिनका मानिसहरू यरुसलेममा बसोबास गरिरहेका यबुसीहरूलाई आक्रमण गर्न निस्के।+ ती यबुसीहरूले दाउदको खिल्ली उडाउँदै यसो भने: “तिमी यहाँ कहिल्यै छिर्न सक्नेछैनौ! यहाँका अन्धा र लङ्गडाहरूले नै तिमीलाई यहाँबाट लखेट्नेछन्।” तिनीहरूले दाउद तिनीहरूको इलाकामा कहिल्यै छिर्न सक्नेछैनन् भन्ठानेका थिए।+ ७ तर दाउदले सियोनको गढी कब्जा गरे, जुन अहिले दाउदनगर भनेर चिनिन्छ।+ ८ त्यो दिन दाउदले भने: “यबुसीहरूलाई आक्रमण गर्नेहरू पानीको सुरुङ भएर जानुपर्नेछ अनि तिनीहरूले ‘अन्धा र लङ्गडाहरू’-लाई मार्नुपर्नेछ, जसलाई दाउद घृणा गर्छन्।” त्यसैले यस्तो भनाइ चल्न थाल्यो: “अन्धा र लङ्गडाहरू यस ठाउँमा कहिल्यै छिर्नेछैनन्।” ९ त्यसपछि दाउद त्यस गढीमा बस्न थाले र त्यसलाई दाउदनगर भनियो।* अनि दाउदले ‘ढिस्को’-मा*+ र सहरका अरू ठाउँहरूमा पर्खालहरू र घरहरू बनाउन थाले।+ १० यसरी दाउद झन्झन् शक्तिशाली हुँदै गए।+ सेनाहरूका परमेश्वर यहोवाले तिनलाई साथ दिइरहनुभयो।+
११ टायरका राजा हिरामले+ दाउदकहाँ सन्देशवाहकहरू पठाए। तिनले उनीहरूको साथमा देवदारका काठहरू, सिकर्मीहरू अनि पर्खाल बनाउन डकर्मीहरू पनि पठाए।+ अनि ती कामदारहरूले दाउदको लागि महल बनाउन थाले।+ १२ यहोवा परमेश्वरले इस्राएलमाथि तिनको शासन स्थिर गराउनुभएको छ+ र आफ्ना प्रजा इस्राएलीहरूको खातिर+ तिनको राज्यलाई उच्च पार्नुभएको छ+ भनेर दाउदलाई थाह भयो।
१३ दाउद हेब्रोनबाट यरुसलेम सरेपछि तिनले अझ धेरै पत्नी र उपपत्नीहरू ल्याए।+ अनि तिनका अरू छोराछोरी पनि जन्मिए।+ १४ यरुसलेममा जन्मिएका तिनका छोराहरू यी नै हुन्: साम्मुअ, सोबाब, नातान,+ सुलेमान,+ १५ इभार, एलिसु, नेपेग, यापि, १६ एलिसामा, एलियादा र एलिपेलेत।
१७ दाउद इस्राएलका राजा अभिषेक भएका छन्+ भनेर सुनेपछि सबै पलिस्तियाली तिनलाई खोज्न निस्के।+ यो कुरा थाह पाएपछि दाउद सुरक्षित ठाउँमा गए।+ १८ तब पलिस्तियालीहरू रेफाई बेँसीमा आए र चारैतिर फैलिएर बसे।+ १९ दाउदले यहोवा परमेश्वरलाई सोधे:+ “के म पलिस्तियालीहरूसित लड्न जाऊँ? के तपाईँले उनीहरूलाई मेरो हातमा सुम्पिदिनुहुनेछ?” तब यहोवा परमेश्वरले दाउदलाई जवाफ दिनुभयो: “जाऊ, म पलिस्तियालीहरूलाई तिम्रो हातमा पक्कै सुम्पिनेछु।”+ २० अनि दाउद बाआल-पेराजिम गए र त्यहाँ तिनले पलिस्तियालीहरूलाई मारे। तब तिनले भने: “पानीको भलले पर्खाल भत्काएझैँ यहोवा परमेश्वरले मेरै सामने मेरा शत्रुहरूलाई परास्त गर्नुभएको छ।”+ त्यसकारण तिनले त्यस ठाउँको नाम बाआल-पेराजिम* राखे।+ २१ पलिस्तियालीहरूले आफ्ना मूर्तिहरू त्यहीँ छोडेर गए अनि दाउद र तिनका मानिसहरूले ती लगेर नाश गरे।
२२ पछि पलिस्तियालीहरू रेफाई बेँसीमा फेरि आए र चारैतिर फैलिएर बसे।+ २३ तब दाउदले यहोवा परमेश्वरसित सल्लाह मागे अनि उहाँले भन्नुभयो: “उनीहरूलाई सीधै आक्रमण नगर्नू। बरु उनीहरूको पछिल्तिर जानू अनि झाडीको* अगाडिबाट उनीहरूलाई आक्रमण गर्नू। २४ झाडीको मास्तिर सिपाहीहरू हिँडिरहेको जस्तो आवाज सुन्नेबित्तिकै तिमीहरूले कदम चाल्नू किनकि ती पलिस्तियाली सेनालाई नाश गर्न यहोवा परमेश्वर तिमीहरूको अघिअघि गइसक्नुभएको हुनेछ।” २५ दाउदले यहोवा परमेश्वरले भन्नुभएझैँ गरे। पलिस्तियालीहरूलाई मार्दै तिनी गेबादेखि+ गेजेरसम्मै+ पुगे।+
६ दाउदले फेरि एक पटक इस्राएलका सबै कुशल योद्धालाई जम्मा गरे। तिनीहरूको सङ्ख्या ३० हजार थियो। २ त्यसपछि दाउद र तिनका सबै मानिस साँचो परमेश्वरको सन्दुक* ल्याउन बाले-यहुदातिर लागे।+ यही सन्दुकसामु मानिसहरू सेनाहरूका यहोवाको नाम पुकार्छन्,+ जो करूबहरूभन्दा माथि* विराजमान हुनुहुन्छ।+ ३ तर तिनीहरूले डाँडामा रहेको अबिनादाबको घरबाट+ साँचो परमेश्वरको सन्दुक ल्याउन त्यसलाई नयाँ गाडामा राखे।+ त्यो नयाँ गाडा अबिनादाबका छोराहरू उज्जाह र अहियोले हाँकिरहेका थिए।
४ यसरी तिनीहरूले डाँडामा रहेको अबिनादाबको घरबाट साँचो परमेश्वरको सन्दुक ल्याए। अहियोचाहिँ सन्दुकको अघिअघि हिँडिरहेका थिए। ५ दाउद र सबै इस्राएली धुपीको काठबाट बनेका विभिन्न किसिमका बाजा, वीणा, किसिम-किसिमका तारे बाजा,+ खैँजडी+ र झ्याली-झ्याम्टा+ बजाउँदै यहोवा परमेश्वरसामु खुसीयाली मनाइरहेका थिए। ६ तर तिनीहरू नाकोनको खलामा आइपुग्दा बयलगाडा पल्टनै लाग्यो। त्यसैले उज्जाहले तुरुन्तै आफ्नो हात बढाएर साँचो परमेश्वरको सन्दुकलाई थामे।+ ७ तब यहोवा परमेश्वरको क्रोध उज्जाहमाथि दन्क्यो; तिनले साँचो परमेश्वरले दिनुभएको नियमको अनादर गरेको हुनाले+ उहाँले तिनलाई त्यहीँ मार्नुभयो।+ यसरी उज्जाह साँचो परमेश्वरको सन्दुकको छेवैमा मरे। ८ तर यहोवा परमेश्वरको क्रोध उज्जाहमाथि दन्केको देखेर दाउद रिसाए। यस घटनाले गर्दा त्यस ठाउँलाई आजसम्म पनि पेरेज-उज्जाह* भनिन्छ। ९ त्यसैले दाउद त्यो दिन यहोवा परमेश्वरसित डराए+ र तिनले भने: “अब यहोवा परमेश्वरको सन्दुकलाई म कसरी आफ्नो सहरमा लैजान सक्छु र?”+ १० दाउदले यहोवा परमेश्वरको सन्दुक आफ्नो सहर अर्थात् दाउदनगरमा ल्याउन चाहेनन्।+ बरु तिनले त्यो सन्दुक गाथमा बस्ने ओबेद-एदोमको घरमा पठाइदिए।+
११ यहोवा परमेश्वरको सन्दुक गाथमा बस्ने ओबेद-एदोमको घरमा तीन महिनासम्म रह्यो। यहोवा परमेश्वरले ओबेद-एदोम र तिनको सारा घरानालाई आशिष् दिइरहनुभयो।+ १२ राजा दाउदलाई यो खबर सुनाइयो: “साँचो परमेश्वरको सन्दुक ओबेद-एदोमको घरमा भएकोले यहोवा परमेश्वरले तिनी र तिनीसँग भएका सबै थोकलाई आशिष् दिइरहनुभएको छ।” त्यसैले साँचो परमेश्वरको सन्दुकलाई हर्षोल्लासका साथ ओबेद-एदोमको घरबाट दाउदनगरमा ल्याउन दाउद गए।+ १३ यहोवा परमेश्वरको सन्दुक बोक्नेहरू+ छ कदम अघि सरेपछि दाउदले एउटा बहर र एउटा मोटोघाटो जनावर बलि चढाए।
१४ दाउद मलमलको* एपोद* लगाएर पूरा जोसका साथ यहोवा परमेश्वरसामु नाचिरहेका थिए।+ १५ दाउद र सबै इस्राएलीले जयजयकार गर्दै+ अनि सिङ फुक्दै+ यहोवा परमेश्वरको सन्दुक ल्याइरहेका थिए।+ १६ तर यहोवा परमेश्वरको सन्दुक दाउदनगरमा ल्याएपछि साउलकी छोरी मिकलले+ झ्यालबाट हेरिन् र राजा दाउदलाई यहोवा परमेश्वरसामु उफ्रँदै अनि नाच्दै गरेको देखिन्। यो देखेर तिनले दाउदलाई मनमनै घृणा गर्न थालिन्।+ १७ तिनीहरूले यहोवा परमेश्वरको सन्दुक पालभित्र ल्याए र त्यसको लागि तोकिएको ठाउँमा राखे।+ दाउदले त्यो पाल सन्दुक राख्नकै लागि भनेर टाँगेका थिए। त्यसपछि दाउदले यहोवा परमेश्वरसामु+ अग्निभेटी*+ र मेलबलि*+ चढाए। १८ अग्निभेटी र मेलबलि चढाइसकेपछि दाउदले सेनाहरूका यहोवाको नाममा मानिसहरूलाई आशिष् दिए। १९ साथै तिनले सबै मानिसलाई अर्थात् हरेक इस्राएली पुरुष र स्त्रीलाई सेल आकारको एक-एक वटा रोटी, छोहोराको रोटी र किसमिसको रोटी दिए। त्यसपछि सबै मानिस आ-आफ्नो घरतिर लागे।
२० जब दाउद आफ्नो घरानालाई आशिष् दिन फर्के, तब साउलकी छोरी मिकल+ तिनलाई भेट्न आइन्। मिकलले भनिन्: “आज इस्राएलका राजाले कत्रो शान देखाउनुभयो! मूर्ख मान्छेले खुलेआम आफ्नो कपडा खोलेझैँ उहाँले आफ्ना सेवकहरूका दासीहरूसामु आफ्नो कपडा खोल्नुभयो!”+ २१ त्यसपछि दाउदले मिकललाई भने: “म यहोवा परमेश्वरसामु खुसी मनाउँदै थिएँ, जसले तिम्रा बुबा र उहाँको घरानालाई होइन तर मलाई छान्नुभयो। अनि यहोवा परमेश्वरले मलाई आफ्नो प्रजा इस्राएलको अगुवा बनाउनुभयो।+ त्यसैले म यहोवा परमेश्वरसामु खुसी मनाउनेछु। २२ अनि म आफूलाई अझै तुच्छ बनाउनेछु र आफ्नै नजरमा पनि अपमानित बन्नेछु। तर ती दासीहरू, जसबारे तिमीले कुरा गऱ्यौ, तिनीहरूले मेरो महिमा गर्नेछन्।” २३ त्यसैले साउलकी छोरी मिकल+ आफ्नो मृत्युको दिनसम्मै बाँझी रहिन्।
७ जब राजा दाउद आफ्नै महलमा बस्न थाले+ अनि यहोवा परमेश्वरले तिनलाई वरपरका शत्रुहरूबाट विश्राम दिनुभयो, २ तब तिनले भविष्यवक्ता नातानलाई भने:+ “म यहाँ देवदारको काठले बनेको महलमा बसिरहेको छु।+ तर साँचो परमेश्वरको सन्दुक* भने कपडाले बनेको पालमा छ।”+ ३ नातानले राजालाई भने: “जानुहोस् र तपाईँको मनले जे भन्छ, त्यही गर्नुहोस्। किनकि यहोवा परमेश्वर तपाईँको साथमा हुनुहुन्छ।”+
४ त्यही रात यहोवा परमेश्वरको यो वचन नातानकहाँ आयो: ५ “मेरो सेवक दाउदकहाँ गएर भन: ‘यहोवा परमेश्वर यसो भन्नुहुन्छ, “के तिमी मेरो भवन, मेरो निवासस्थान बनाउन चाहन्छौ?+ ६ इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याएको दिनदेखि अहिलेसम्म म कुनै भवनमा बास गरेको छैनँ।+ बरु म पालमा रहेर एउटा ठाउँबाट अर्को ठाउँमा सरिरहेको छु।+ ७ जब म इस्राएलीहरूसँगसँगै यात्रा गरिरहेको थिएँ र मेरा मानिसहरूलाई डोऱ्याउन मैले कुलनायकहरू नियुक्त गरेको थिएँ, त्यसबेला के मैले तिनीहरूमध्ये कसैलाई कहिल्यै यसो भनेँ र: ‘तिमीले किन मेरो निम्ति देवदारको भवन बनाएनौ?’”’ ८ मेरो सेवक दाउदलाई भन: ‘सेनाहरूका यहोवा यसो भन्नुहुन्छ: “मैले तिमीलाई खर्कबाट बोलाएर ल्याएँ, जहाँ तिमी भेडाबाख्राको हेरचाह गर्थ्यौ।+ अनि मैले तिमीलाई मेरा प्रजा इस्राएलीहरूको अगुवा बनाएँ।+ ९ तिमी जहाँ गए पनि म तिम्रो साथमा हुनेछु।+ म तिम्रो सामनेबाट तिम्रा सबै शत्रुलाई नामेट पार्नेछु।+ म तिम्रो नाम उच्च पार्नेछु+ र तिमी यस संसारका महान् मानिसहरूमा गनिनेछौ। १० म मेरो प्रजा इस्राएलीहरूको लागि एउटा ठाउँ रोज्नेछु र त्यहाँ तिनीहरूलाई राख्नेछु। तिनीहरू त्यहाँ बसोबास गर्नेछन् र तिनीहरूलाई फेरि कसैले दुःख दिनेछैन। दुष्ट मानिसहरूले तिनीहरूमाथि अत्याचार गर्नेछैनन्, जसरी विगतमा,+ ११ मैले मेरो प्रजा इस्राएलीहरूमाथि न्यायकर्ताहरू नियुक्त गरेको समयदेखि+ दुष्टहरूले तिनीहरूलाई सताउँदै आएका थिए। म तिमीलाई तिम्रा सबै शत्रुबाट विश्राम दिनेछु।+
“‘“यहोवा परमेश्वरले तिमीलाई यस्तो सन्देश पनि दिनुभएको छ: यहोवाले तिम्रो निम्ति एउटा राजघराना खडा गर्नुहुनेछ।+ १२ जब तिम्रो मृत्यु हुनेछ+ र तिमी आफ्ना पितृहरूसितै सुत्नेछौ, तब म तिम्रो सन्तान, तिम्रै छोरालाई तिमीपछि राजा बनाउनेछु। अनि म तिनको राज्यलाई स्थिर पार्नेछु।+ १३ तिनले नै मेरो नामको महिमाको लागि एउटा भवन बनाउनेछन्+ र म तिनको राज्यको सिंहासनलाई सदाको लागि स्थिर पार्नेछु।+ १४ म तिनको बुबा हुनेछु र तिनी मेरो छोरा हुनेछन्।+ तिनले कुनै गल्ती गर्दा म तिनलाई सुधार्नेछु अनि म तिनलाई मान्छेले जस्तै छडीले हिर्काएर सजाय दिनेछु।+ १५ मैले साउललाई अटल प्रेम देखाउन छोडेँ र उसलाई तिम्रो सामनेबाट हटाएँ। तर म तिम्रो छोरालाई अटल प्रेम देखाउन कहिल्यै छोड्नेछैनँ।+ १६ तिम्रो घराना र तिम्रो राज्य सदाको लागि सुरक्षित रहनेछ; तिम्रो सिंहासन सदासर्वदा स्थिर हुनेछ।”’”+
१७ नातानले यी सबै कुरा अनि पूरै दर्शन* दाउदलाई बताइदिए।+
१८ तब राजा दाउद यहोवा परमेश्वरसामु बसे र यसो भने: “हे ब्रह्माण्डका मालिक यहोवा! म को हुँ र? अनि मेरो घराना के हो र? तैपनि तपाईँले मेरो लागि यी सबै गर्नुभयो।+ १९ हे ब्रह्माण्डका मालिक यहोवा! मेरो लागि यत्ति धेरै गरिसकेपछि पनि तपाईँले यस दासको घराना लामो समयसम्म रहिरहनेछ भनेर बताउनुभयो। अनि यो तपाईँले सबै मानिसको लागि दिनुभएको आदेश* हो, हे ब्रह्माण्डका मालिक यहोवा! २० अब तपाईँको यो सेवक दाउदले अरू के नै भन्न सक्छ र? किनकि हे ब्रह्माण्डका मालिक यहोवा, तपाईँ मलाई राम्ररी चिन्नुहुन्छ।+ २१ तपाईँले आफ्नो प्रतिज्ञाअनुरूप अनि आफ्नो इच्छाअनुसार यी सबै महान् काम गर्नुभयो। अनि ती सबै तपाईँले आफ्नो दासलाई प्रकट गर्नुभयो।+ २२ त्यसैले हे ब्रह्माण्डका मालिक यहोवा, तपाईँ साँच्चै महान् हुनुहुन्छ।+ तपाईँजस्तो अरू कोही छैन+ अनि तपाईँबाहेक अरू कुनै ईश्वर छैन।+ हामीले सुनेको हरेक कुराले यसको प्रमाण दिन्छ। २३ अनि यस धर्तीमा तपाईँको प्रजा इस्राएलजस्तो अर्को कुनचाहिँ जाति छ र?+ हे परमेश्वर, तिनीहरूलाई आफ्नो प्रजा बनाउन तपाईँ आफै गएर तिनीहरूलाई छुटाउनुभयो।+ तिनीहरूको खातिर महान् र आश्चर्यजनक कामहरू गरेर+ तपाईँले आफ्नो नाम उच्च पार्नुभयो।+ तपाईँले मिश्रबाट छुटाउनुभएको आफ्नो प्रजाको खातिर अरू जाति र तिनीहरूका देवताहरूलाई धपाउनुभयो। २४ तपाईँले इस्राएलीहरूलाई सदाको लागि आफ्नो प्रजा बनाउनुभएको छ+ अनि हे यहोवा, तपाईँ तिनीहरूका परमेश्वर हुनुभएको छ।+
२५ “अब हे यहोवा, आफ्नो दास र उसको घरानाबारे गर्नुभएको प्रतिज्ञा सधैँ पूरा गर्नुहोस्; आफ्नो प्रतिज्ञा पूरा गर्नुहोस्।+ २६ तपाईँको नाम सदासर्वदा महिमित होस्+ र मानिसहरूले यसो भनून् ‘सेनाहरूका यहोवा इस्राएलीहरूका परमेश्वर हुनुहुन्छ।’ अनि तपाईँको दास दाउदको घराना तपाईँसामु स्थिर रहोस्।+ २७ किनकि हे सेनाहरूका यहोवा, हे इस्राएलका परमेश्वर, तपाईँले आफ्नो दासलाई यो कुरा प्रकट गर्नुभएको छ: ‘म तिम्रो निम्ति एउटा राजघराना खडा गर्नेछु।’+ त्यसैले यस दासले तपाईँलाई यो प्रार्थना चढाउने आँट गरेको छ। २८ अब हे ब्रह्माण्डका मालिक यहोवा, तपाईँ साँचो परमेश्वर हुनुहुन्छ र तपाईँले भन्नुभएको सबै कुरा सत्य हो।+ अनि तपाईँले आफ्नो दासको निम्ति यस्ता असल-असल कुरा गरिदिने प्रतिज्ञा गर्नुभएको छ। २९ त्यसैले बिन्ती छ, तपाईँको यस दासको घरानालाई प्रसन्न हुँदै आशिष् दिनुहोस् र यो घराना सदासर्वदा तपाईँसामु रहोस्।+ किनकि हे ब्रह्माण्डका मालिक यहोवा, तपाईँले नै यो प्रतिज्ञा गर्नुभएको छ। यस दासको घरानाले सधैँभरि तपाईँको आशिष् पाओस्।”+
८ केही समयपछि दाउदले पलिस्तियालीहरूलाई हराएर+ तिनीहरूलाई आफ्नो अधीनमा राखे।+ अनि तिनले पलिस्तियालीहरूको हातबाट मेथेग-अम्माह भन्ने ठाउँ आफ्नो कब्जामा लिए।
२ दाउदले मोआबीहरूलाई हराए+ अनि तिनले उनीहरूलाई भुईँमा लहरै सुत्न लगाए र त्यस लहरको लम्बाइ नापे। उनीहरूमध्ये दुई तिहाइलाई मार्ने अनि बाँकी एक तिहाइलाई जिउँदै छोड्ने हेतुले तिनले यसो गरेका थिए।+ त्यसपछि मोआबीहरू दाउदको दास बने र उनीहरूले तिनलाई तिरो तिरे।+
३ दाउदले जोबाहका+ राजा हदद-एजेरलाई हराए, जो रेहोबका छोरा थिए। हदद-एजेर युफ्रेटिस नदीमाथि फेरि आफ्नो अधिकार जमाउन जाँदा दाउदले उनलाई हराएका थिए।+ ४ दाउदले हदद-एजेरका १७ सय घोडचढी र २० हजार पैदल सिपाहीलाई आफ्नो कब्जामा लिए। त्यसपछि तिनले रथ हाँक्ने १०० घोडाबाहेक बाँकी सबै घोडाको ढोडनसो* काटिदिए।+
५ दमिसकका+ सिरियालीहरू जोबाहका राजा हदद-एजेरलाई मदत गर्न आउँदा दाउदले २२ हजार सिरियालीलाई मारे।+ ६ त्यसपछि दाउदले दमिसकका सिरियालीहरूको इलाकामा सैन्य चौकीहरू खडा गरे। अनि सिरियालीहरू दाउदका दास बने र उनीहरूले तिनलाई तिरो तिरे। दाउद जहाँ गए पनि यहोवा परमेश्वरले तिनलाई विजयी तुल्याउनुभयो।*+ ७ दाउदले हदद-एजेरका सेवकहरूको सुनका गोलाकार ढालहरू पनि लिए र ती यरुसलेममा ल्याए।+ ८ राजा दाउदले हदद-एजेरका सहरहरू बेतह र बेरोथैबाट प्रशस्तै तामा ल्याए।
९ दाउदले हदद-एजेरको+ पूरै सेनालाई हराए भनी हमाथका राजा तोइले+ सुने। १० त्यसैले तोइले राजा दाउदको हालखबर सोध्न र तिनलाई बधाई दिन आफ्नो छोरा योरामलाई पठाए किनकि दाउदले हदद-एजेरलाई लडाइँमा हराएका थिए। (तोइ र हदद-एजेरबीच लडाइँ भइरहने हुनाले तोइले यसो गरेका थिए।) योरामले आफूसित सुन, चाँदी र तामाका सरसामान पनि ल्याए। ११ राजा दाउदले यी सरसामानहरू यहोवा परमेश्वरको निम्ति अर्पण गरे।* आफूले कब्जा गरेका यी जातिहरूबाट ल्याएका सुनचाँदी पनि तिनले त्यसरी नै परमेश्वरको निम्ति पवित्र पारेका थिए:+ १२ सिरिया र मोआबबाट+ अनि अम्मोनीहरू, पलिस्तियालीहरू+ र अमालेकीहरूबाट+ ल्याएका सुनचाँदी र रेहोबका छोरा जोबाहका राजा हदद-एजेरबाट+ लुटेका धनमाल। १३ नुन बेँसीमा १८ हजार एदोमीलाई मारेर पनि दाउदले ठूलो नाम कमाए।+ १४ तिनले एदोममा सैन्य चौकीहरू खडा गरे। तिनले एदोमभरि ठाउँठाउँमा सैन्य चौकीहरू खडा गरे अनि एदोमीहरू सबै दाउदका दास बने।+ दाउद जहाँ गए पनि यहोवा परमेश्वरले तिनलाई विजयी तुल्याउनुभयो।+
१५ दाउदले पूरै इस्राएलमाथि शासन गरिरहे।+ तिनले आफ्नो शासनकालमा न्याय कायम गरे अनि आफ्नो प्रजाको निम्ति+ जे सही छ, त्यही गरे।+ १६ जेरुयाहका छोरा योआब+ दाउदका सेनापति थिए अनि अहिलुदका छोरा यहोसापात लेखनदास थिए।+ १७ अहितुबका छोरा सादोक+ र अबियातारका छोरा अहिमेलेक पुजारी थिए अनि सिरायाह सचिव थिए। १८ यहोयादाका छोरा बेनायाह+ कराथीहरू र पेलेथीहरूका*+ कप्तान थिए। दाउदका छोराहरूचाहिँ मुख्य मन्त्री* थिए।
९ दाउदले भने: “के साउलको घरानाका अझै कोही बाँकी छन्? छन् भने म तिनलाई जोनाथनको खातिर कृपा* देखाउन चाहन्छु।”+ २ साउलको घरानामा सिबा नाम गरेका एक जना नोकर थिए।+ तिनीहरूले उनलाई राजा दाउदकहाँ बोलाए र दाउदले उनलाई सोधे: “के तिमी सिबा हौ?” उनले जवाफ दिए: “हजुर, तपाईँको सेवक सिबा मै हुँ।” ३ राजाले अझै सोधे: “के साउलको घरानाका अझै कोही बाँकी छन्? छन् भने म तिनलाई परमेश्वरले जस्तै कृपा देखाउन चाहन्छु।” सिबाले जवाफ दिए: “जोनाथनका एक जना छोरा अझै जिउँदै छन्। तिनको दुइटै खुट्टा कूँजो* छ।”+ ४ राजाले सोधे: “तिनी कहाँ छन्?” उनले जवाफ दिए: “तिनी लो-देबारमा अम्मिएलका छोरा माकिरको+ घरमा छन्।”
५ राजा दाउदले तुरुन्तै आफ्ना मानिसहरूलाई लो-देबारमा अम्मिएलका छोरा माकिरको घरमा पठाए र तिनीहरूले त्यहाँबाट जोनाथनका छोरालाई ल्याए। ६ दाउदको सामने पुग्नेबित्तिकै साउलका नाति, जोनाथनका छोरा मपिबोसेतले भुईँमा घोप्टो परेर दाउदलाई दण्डवत् गरे। तब दाउदले भने: “मपिबोसेत!” तिनले जवाफ दिए: “हजुर, प्रभु!” ७ दाउदले भने: “नडराऊ! तिम्रो बुबा जोनाथनको खातिर म अवश्य तिमीलाई कृपा देखाउनेछु।+ तिम्रो हजुरबुबा साउलको सबै जग्गाजमिन म तिमीलाई फिर्ता दिनेछु र तिमीले सधैँ मेरो टेबुलमा मसँगै खानेछौ।”+
८ यो सुनेर मपिबोसेत भुईँमा घोप्टो परे अनि यसो भने: “तपाईँको यो दास को हो र? म त मरेको कुकुरजस्तो मात्र हुँ + तैपनि तपाईँले ममाथि दया देखाउनुभयो।” ९ त्यसपछि राजाले साउलका सेवक सिबालाई आफूकहाँ बोलाउन लगाए। तब तिनले सिबालाई भने: “तिम्रा मालिक साउल र तिनको घरानाको सबै सरसम्पत्ति म तिनको नातिलाई दिँदै छु।+ १० अबदेखि तिमी, तिम्रा छोराहरू र तिम्रा नोकरचाकरले आफ्ना मालिक साउलको नातिको खेत खनजोत गर्नेछौ र त्यसको उब्जनी तिनको घरानामा भएका सबैका लागि जुटाउनेछौ। तर तिम्रा मालिकका नाति मपिबोसेतले भने सधैँ मेरो टेबुलमा मसँगै खानेछन्।”+
सिबाका १५ जना छोरा र २० जना नोकरचाकर थिए।+ ११ सिबाले राजालाई भने: “हे मेरा प्रभु, मेरा महाराज! तपाईँको यस दासले तपाईँको सबै आज्ञा पालन गर्नेछ।” त्यसपछि मपिबोसेतले एक जना राजकुमारले जस्तै दाउदको* टेबुलमा तिनीसँगै खान थाले। १२ मपिबोसेतको मिका+ नाम गरेको एउटा सानो छोरो पनि थियो। सिबाको घरमा बस्ने सबै जना मपिबोसेतका सेवक भए। १३ मपिबोसेत यरुसलेममै बस्न थाले र तिनी सधैँ राजाको टेबुलमा राजासँगै खान्थे।+ मपिबोसेतको दुइटै खुट्टा कूँजो थियो।+
१० पछि अम्मोनीहरूका+ राजाको मृत्यु भयो र तिनको ठाउँमा तिनका छोरा हानुन राजा भए।+ २ यो खबर पाएपछि दाउदले भने: “जसरी हानुनका बुबा नहसले मलाई अटल प्रेम देखाएका थिए, त्यसरी नै म हानुनलाई पनि अटल प्रेम देखाउनेछु।” त्यसैले हानुनको बुबाको मृत्यु भएकोमा उनलाई सान्त्वना दिन दाउदले आफ्ना सेवकहरू पठाए। तर जब दाउदका सेवकहरू अम्मोनीहरूको इलाकामा आइपुगे, ३ तब अम्मोनी भारदारहरूले आफ्ना शासक हानुनलाई भने: “के दाउदले तपाईँको बुबाको आदर गर्ने भएकोले तपाईँलाई सान्त्वना दिन आफ्ना सेवकहरू पठाएका हुन् र? होइन बरु तिनले हाम्रो सहरको जासुसी गर्न र यसलाई कसरी हराउन सकिन्छ भनी पत्ता लगाउन आफ्ना सेवकहरू यहाँ पठाएका हुन्।” ४ त्यसैले हानुनले दाउदका सेवकहरूलाई समातेर लगे अनि तिनीहरूको एकातिरको दाह्री खौरिदिए+ र तिनीहरूको लुगा पनि कम्मरभन्दा मुनि पूरै काटिदिए। त्यसपछि तिनीहरूलाई फर्काइदिए। ५ यो कुरा थाह पाउनेबित्तिकै दाउदले तिनीहरूलाई भेट्न आफ्ना मानिसहरू पठाए किनकि तिनीहरूको साह्रै बेइज्जत भएको थियो। राजाले तिनीहरूकहाँ यस्तो खबर पनि पठाए: “तिमीहरू दाह्री पलाएपछि मात्र फर्कनू; त्यतिन्जेल यरिहोमै बस्नू।”+
६ केही समयपछि दाउदले आफूहरूलाई असाध्यै घृणा गर्न थालेका छन् भनी अम्मोनीहरूले थाह पाए। तब तिनीहरूले आफ्ना मानिसहरू पठाएर अरू ठाउँहरूबाट ज्यालामा सिपाहीहरू झिकाए। बेथ-रेहोब+ र जोबाहबाट+ २० हजार सिरियाली आए, उनीहरू सबै पैदल सिपाही थिए। साथै माकाहका+ राजा आफ्ना १ हजार मानिस लिएर आए अनि इस्तोबबाट* १२ हजार मानिस आए।+ ७ यो कुरा सुनेपछि दाउदले योआबसित आफ्ना सबैभन्दा वीर योद्धाहरूसहित पूरै सेनालाई पठाए।+ ८ तब अम्मोनीहरू आए अनि सहरको मूलढोकामा दल बाँधेर तैनाथ भए। अर्कोतर्फ, जोबाह र रेहोबबाट आएका सिरियालीहरू अनि इस्तोब र माकाहबाट आएका मानिसहरूचाहिँ खुला मैदानमा थिए।
९ जब योआबले आफ्नो अगाडिपछाडि दुवैतिरबाट सिपाहीहरू आक्रमण गर्न आएको देखे, तब तिनले इस्राएलका सबैभन्दा कुशल योद्धाहरू छाने र सिरियालीहरूसित लडाइँ गर्न उनीहरूलाई दल बाँधेर तैनाथ गरे।+ १० अरू सिपाहीहरूलाई चाहिँ तिनले आफ्ना दाइ अबिसैको+ जिम्मा लगाए र उनीहरू अम्मोनीहरूसित लडाइँ गर्न दल बाँधेर तैनाथ भए।+ ११ अनि योआबले अबिसैलाई भने: “यदि सिरियालीहरूले मलाई हराउन लागे भने तपाईँ मलाई बचाउन आउनुहोस्। तर अम्मोनीहरूले तपाईँलाई हराउन लागे भने म तपाईँलाई बचाउन आउनेछु। १२ हाम्रा मानिसहरू र हाम्रा परमेश्वरका सहरहरूको खातिर हामी बलियो र साहसी हुनै पर्छ।+ अनि यहोवा परमेश्वरले आफूलाई जे ठीक लाग्छ, त्यही गर्नुहुनेछ।”+
१३ त्यसपछि योआब र तिनका मानिसहरू सिरियालीहरूसित लडाइँ गर्न अघि बढे। तर सिरियालीहरू भने त्यहाँबाट भागे।+ १४ सिरियालीहरू भागेको देखेपछि अम्मोनीहरू पनि अबिसैको सामुन्नेबाट भागे अनि सहरभित्र छिरे। अम्मोनीहरूसित लडाइँ गरेपछि योआब यरुसलेम फर्के।
१५ इस्राएलीहरूसित हारेपछि सिरियालीहरूले फेरि फौज जम्मा गरे।+ १६ हदद-एजेरले+ युफ्रेटिस नदीवरपरको इलाकाका सिरियालीहरूलाई बोलाए+ र तिनीहरू हदद-एजेरको सेनापति सोबाकको नेतृत्वमा हेलाम आए।
१७ यो कुरा सुन्नेबित्तिकै दाउदले इस्राएलका सबै सिपाहीलाई भेला गराए अनि तिनीहरू यर्दन पार गरेर हेलाम आए। तब सिरियालीहरू दल बाँधेर तैनाथ भए अनि दाउदसित लडाइँ गरे।+ १८ तर सिरियालीहरू इस्राएलीहरूदेखि भागे। दाउदले लडाइँ गर्न रथमा आएका ७०० सिरियाली सिपाही र ४० हजार घोडचढीलाई मारे। तिनले सिरियाली सेनापति सोबाकलाई पनि मारे।+ १९ जब हदद-एजेरको अधीनमा भएका सबै राजा इस्राएलीहरूसित हारे, तब तिनीहरूले तुरुन्तै इस्राएलीहरूसित शान्ति सम्झौता गरे र इस्राएलीहरूको अधीनमा बस्न राजी भए।+ त्यसपछि सिरियालीहरूले कहिल्यै अम्मोनीहरूलाई मदत गर्ने आँट गरेनन्।
११ वर्षको सुरुमा* जब राजाहरू लडाइँ गर्न निस्कन्थे, तब दाउदले अम्मोनीहरूलाई सखाप पार्न योआब र तिनका* सेवकहरू अनि इस्राएलको पूरै सेनालाई पठाए। तिनीहरूले राब्बाहलाई घेरा हाले।+ तर दाउदचाहिँ यरुसलेममै बसे।+
२ एक साँझ दाउद आफ्नो ओछ्यानबाट उठेर महलको कौसीमा टहल्न लागे। तिनले कौसीबाट एउटी स्त्री नुहाइरहेकी देखे। उनी असाध्यै राम्री थिइन्। ३ ती स्त्री को हुन् भनी सोधपुछ गर्न दाउदले एक जना मानिस पठाए र उसले यस्तो खबर ल्यायो: “उनी एलिआमकी छोरी+ र हित्ती उरियाहकी+ पत्नी बेतसेबा हुन्।”+ ४ अनि दाउदले उनलाई ल्याउन मानिसहरू पठाए।+ उनी दाउदकहाँ आइन् र दाउद उनीसित सुते।+ (उनले आफूलाई चोख्याइरहेको समयमा* यो घटना भयो।)+ त्यसपछि उनी आफ्नो घर फर्किन्।
५ उनी गर्भवती भइन् र उनले दाउदलाई आफू गर्भवती भएको खबर पठाइन्। ६ तब दाउदले योआबलाई यस्तो खबर पठाए: “हित्ती उरियाहलाई मकहाँ पठाऊ।” अनि योआबले उरियाहलाई दाउदकहाँ पठाए। ७ उरियाह आएपछि दाउदले उनलाई योआब र सबै सिपाहीको हालखबर सोधे अनि लडाइँ कस्तो चल्दै छ भनेर पनि सोधे। ८ दाउदले उरियाहलाई भने: “जाऊ, घरमा गएर आराम गर।” उरियाह राजाको महलबाट निस्केपछि राजाले उनको निम्ति उपहार* पनि पठाए। ९ तर उरियाह आफ्नो घर गएनन्। उनी राजाका अरू सेवकहरूसँग महलको प्रवेशद्वारमै सुते। १० दाउदलाई यो खबर दिइयो: “उरियाह आफ्नो घर गएन।” तब दाउदले उरियाहलाई भने: “के तिमी भर्खरै यात्राबाट फर्केका होइनौ र? तिमी किन आफ्नो घर गएनौ?” ११ उरियाहले दाउदलाई भने: “परमेश्वरको सन्दुक*+ अनि इस्राएल र यहुदाका मानिसहरू पालमा छन्। मेरा मालिक योआब पनि आफ्ना सेवकहरूसँगै खुला मैदानमा पाल टाँगेर बसिरहनुभएको छ। यस्तो बेला म कसरी आफ्नो घर गएर खानपिन गर्न अनि आफ्नी पत्नीसित सुत्न सक्छु र?+ म तपाईँको जीवनको कसम खाएर भन्छु, म यस्तो काम गर्नेछैनँ!”
१२ दाउदले उरियाहलाई भने: “आज पनि यहीँ बस अनि भोलि म तिमीलाई जान दिनेछु।” त्यसैले उरियाह त्यो दिन र त्यसको भोलिपल्ट पनि यरुसलेममै बसे। १३ तब दाउदले उरियाहलाई आफूसित खानपिन गर्न बोलाए र तिनले उरियाहलाई मात्तिनेगरि रक्सी पियाए। तर साँझ परेपछि उरियाह राजाका अरू सेवकहरूसँगै सुत्न गए। उनी आफ्नो घर गएनन्। १४ भोलिपल्ट बिहान दाउदले योआबलाई चिठी लेखे अनि उरियाहको हातमा त्यो चिठी पठाए। १५ दाउदले चिठीमा यस्तो लेखेका थिए: “घमासान युद्ध भइरहेको ठाउँमा उरियाहलाई सबैभन्दा अगाडिको पङ्क्तिमा राख्नू। त्यसपछि तिमीहरूचाहिँ त्यहाँबाट पछि हट्नू र उरियाहलाई शत्रुहरूले मारोस्।”+
१६ योआब सहरलाई घेरा हालेर बसिरहेका थिए। तिनलाई शत्रुहरूका वीर योद्धाहरू कहाँ तैनाथ छन् भनेर थाह थियो। त्यसैले तिनले उरियाहलाई त्यही ठाउँमा खटाए। १७ त्यस सहरका मानिसहरू योआबसित लड्न बाहिर निस्के। लडाइँमा दाउदका केही सिपाही मारिए। मारिनेहरूमध्ये हित्ती उरियाह पनि थिए।+ १८ योआबले दाउदलाई लडाइँबारे सबै खबर पठाए। १९ योआबले त्यो खबर लैजाने व्यक्तिलाई यस्तो आदेश दिए: “तिमीले राजालाई लडाइँबारे सबै कुरा बताइसकेपछि २० राजा रिसाउनुहोला र तिमीलाई यसो भन्नुहोला: ‘तिमीहरू लडाइँ गर्न सहरको त्यति नजिक किन गयौ? शत्रुहरूले पर्खालबाट काँड हान्नेछन् भनेर के तिमीहरूलाई थाह थिएन? २१ यरुब्बेसेथको+ छोरा अबिमेलेक+ थेबेजमा कसरी मरेका थिए, तिमीहरूलाई थाह छैन? एउटी स्त्रीले पर्खालबाट जाँतो खसालेर उनलाई मारेकी होइन र? तिमीहरू पर्खालको त्यति नजिक किन गयौ?’ तब तिमीले राजालाई भन्नू, ‘हजुरको दास हित्ती उरियाह पनि मारियो।’”
२२ त्यसपछि ती सन्देशवाहक दाउदकहाँ गएर योआबले भनेका सबै कुरा बताइदिए। २३ ती सन्देशवाहकले दाउदलाई भने: “शत्रुहरू साह्रै शक्तिशाली थिए। तिनीहरू मैदानमा हामीलाई आक्रमण गर्न आए। तर हामीले तिनीहरूलाई सहरको मूलढोकासम्म खेद्यौँ। २४ दुस्मनका धनुर्धारीहरूले पर्खालबाट हामीलाई काँड हाने अनि हजुरका केही सिपाही मारिए। हजुरको दास हित्ती उरियाह पनि मारियो।”+ २५ यो सुनेपछि दाउदले ती सन्देशवाहकलाई भने: “योआबलाई यसो भन्नू: ‘यो कुराले गर्दा हरेस नखाऊ किनकि लडाइँमा कोही न कोही त मरिहाल्छ। पछि नहट, अझै भीषण आक्रमण गरेर सहरलाई कब्जा गर।’+ अनि योआबको हौसला बढाऊ।”
२६ उरियाहकी पत्नीले आफ्नो पतिको मृत्युको खबर सुनेपछि शोक मनाउन थालिन्। २७ शोक मनाउने समय पूरा हुनेबित्तिकै दाउदले आफ्ना मानिसहरू पठाएर उनलाई आफ्नो महलमा ल्याए। उनी दाउदकी पत्नी भइन्+ र उनले एउटा छोरा जन्माइन्। तर दाउदले जे गरेका थिए, त्यो यहोवा परमेश्वरको नजरमा असाध्यै खराब थियो।+
१२ त्यसैले यहोवा परमेश्वरले नातानलाई दाउदकहाँ पठाउनुभयो।+ दाउदकहाँ आएर नातानले यसो भने:+ “एउटा सहरमा दुई जना मानिस थिए। एक जना धनी र अर्कोचाहिँ गरिब थियो। २ धनी मानिससित थुप्रै भेडाबाख्रा र गाईवस्तु थियो।+ ३ तर गरिब मानिससित भने उसले किनेको एउटा भेडाको पाठीबाहेक अरू केही थिएन।+ उसले त्यस पाठीको निकै ख्याल राख्थ्यो। त्यो पाठी उसको घरमा उसका छोराहरूसँगै हुर्की। उसले आफूसँग भएको थोरै खानेकुराबाट त्यसलाई खुवाउँथ्यो, आफ्नै कचौराबाट पियाउँथ्यो अनि आफ्नो काखमा सुताउँथ्यो। ऊ त्यसलाई आफ्नी छोरीजस्तै ठान्थ्यो। ४ एकदिन धनी मानिसको घरमा एक जना पाहुना आयो। तर आफूकहाँ आएको पाहुनाको लागि भोजन तयार पार्न उसले आफूसँग भएको भेडाबाख्रा र गाईवस्तुबाट कुनै जनावर काटेन। बरु उसले त्यस गरिब मानिसको पाठी ल्यायो र आफूकहाँ आएको पाहुनालाई त्यसको मासु टक्य्रायो।”+
५ यो सुनेर दाउद त्यस धनी मानिससित साह्रै रिसाए र तिनले नातानलाई भने: “जीवित परमेश्वर यहोवाको कसम खाएर म भन्छु,+ यस्तो काम गर्ने मानिस मारिनै पर्छ! ६ यस्तो निर्दयी काम गरेको हुनाले उसले त्यस पाठीको क्षतिपूर्तिस्वरूप चार वटा पाठी दिनुपर्नेछ।”+
७ तब नातानले दाउदलाई भने: “त्यो मानिस तपाईँ नै हो! इस्राएलका परमेश्वर यहोवा यसो भन्नुहुन्छ: ‘मैले तिमीलाई इस्राएलमाथि राजा अभिषेक गरेँ+ र तिमीलाई साउलको हातबाट जोगाएँ।+ ८ मैले तिमीलाई तिम्रा मालिकको घराना र तिम्रा मालिकका पत्नीहरू दिएँ।+ अनि तिमीलाई सारा इस्राएल र यहुदाको घराना पनि दिएँ।+ तिमीलाई त्यतिले पनि नपुगेको भए म तिमीलाई अझ धेरै थोक दिने थिएँ।+ ९ तर यहोवा परमेश्वरको नजरमा जे खराब छ, त्यही गरेर तिमीले किन उहाँलाई* तुच्छ सम्झ्यौ? तिमीले हित्ती उरियाहलाई तरबारले माऱ्यौ!+ अनि अम्मोनीहरूको तरबारबाट उसलाई मारेपछि तिमीले उसकी पत्नीलाई आफ्नी पत्नी बनायौ।+ १० हित्ती उरियाहकी पत्नीलाई आफ्नी पत्नी बनाएर तिमीले मलाई तुच्छ सम्झेको हुनाले तिम्रो घरानाले तरबारबाट कहिल्यै विश्राम पाउनेछैन।’+ ११ यहोवा परमेश्वर यसो भन्नुहुन्छ: ‘म तिम्रै घरानाबाट तिमीमाथि विपत्ति ल्याउनेछु।+ तिम्रै आँखाअगाडि म तिम्रा पत्नीहरूलाई अर्को पुरुषको हातमा दिनेछु+ र ऊ दिउँसै तिम्रा पत्नीहरूसित सुत्नेछ।+ १२ तिमीले जे गऱ्यौ, त्यो गुप्तमा गरेका थियौ।+ तर म सारा इस्राएलले देख्नेगरि दिउँसै त्यसो गर्न लगाउनेछु।’”
१३ त्यसपछि दाउदले नातानलाई भने: “मैले यहोवा परमेश्वरको विरुद्धमा पाप गरेँ।”+ नातानले दाउदलाई भने: “यहोवा परमेश्वरले तपाईँलाई क्षमा दिनुभएको छ।+ तपाईँ मर्नुहुनेछैन।+ १४ तर भर्खरै जन्मेको तपाईँको छोरो भने पक्कै मर्नेछ किनकि यस्तो काम गरेर तपाईँले यहोवा परमेश्वरको घोर अनादर गर्नुभएको छ।”
१५ तब नातान आफ्नो घर गए।
उरियाहकी पत्नीले दाउदबाट जन्माएको छोरालाई यहोवा परमेश्वरले बिरामी बनाइदिनुभयो। १६ दाउदले त्यस बालकको खातिर साँचो परमेश्वरलाई बिन्ती चढाए। दाउद उपवास बस्न थाले। तिनी आफ्नो कोठाभित्र जान्थे र रातभरि भुईँमा पस्रिरहन्थे।+ १७ त्यसैले तिनको घरका मुखियाहरूले तिनीकहाँ आएर तिनलाई उठ्न मनाउँथे। तर तिनी उठ्न मान्दैनथे र उनीहरूसित खान पनि इन्कार गर्थे। १८ सातौँ दिनमा बालक मऱ्यो। तर दाउदका नोकरचाकर तिनलाई यो खबर दिन डराए। तिनीहरूले भने: “बालक जिउँदो छँदा हामीले उहाँसित कुरा गऱ्यौँ तर उहाँले हाम्रो कुरा सुन्नुभएन। अब बालक मरेको खबर हामी कसरी उहाँलाई दिन सक्छौँ? यो कुरा सुनेर कतै उहाँले आफैलाई हानि पुऱ्याउनुहुने पो हो कि?”
१९ जब दाउदले आफ्ना नोकरचाकरले एकअर्कासित खासखुस गरिरहेको देखे, तब तिनले बालक मरेछ भनी बुझे। तिनले आफ्ना नोकरचाकरलाई सोधे: “बालक मऱ्यो?” उनीहरूले जवाफ दिए: “हजुर, बालक मऱ्यो।” २० तब दाउद भुईँबाट उठे। तिनले नुहाए, तेल घसे,+ कपडा फेरे अनि यहोवा परमेश्वरको पालमा* गएर+ भुईँमा घोप्टो परी दण्डवत् गरे। त्यसपछि तिनी आफ्नो महलमा फर्के र भोजन ल्याउन हुकुम गरे। अनि तिनले भोजन गरे। २१ तिनका नोकरचाकरले तिनलाई सोधे: “तपाईँले किन यसो गर्नुभयो? बालक जीवितै छँदा तपाईँ उपवास बस्नुभयो र रोइरहनुभयो। तर बालक मर्नेबित्तिकै तपाईँ उठ्नुभयो र भोजन गर्नुभयो।” २२ तिनले जवाफ दिए: “बालक जिउँदो छँदा म उपवास बसेँ + र रोइरहेँ किनकि मैले सोचेँ, ‘सायद यहोवा परमेश्वरले ममाथि दया गर्नुहोला र बालकलाई जीवितै राख्नुहोला।’+ २३ तर बालक मरिसकेपछि म किन उपवास बसूँ? के मैले उसलाई फर्काएर ल्याउन सक्छु र?+ म मरेपछि उसकहाँ जानेछु+ तर ऊ मकहाँ फर्केर आउनेछैन।”+
२४ त्यसपछि दाउदले आफ्नी पत्नी बेतसेबालाई सान्त्वना दिए।+ तिनी बेतसेबाकहाँ गए र उनीसित सुते। केही समयपछि उनले एउटा छोरो जन्माइन् र उसको नाम सुलेमान* राखियो।+ यहोवा परमेश्वर उसलाई माया गर्नुहुन्थ्यो।+ २५ उहाँले भविष्यवक्ता नातानमार्फत त्यस बालकको नाम यददियाह* राख्नू भनी सन्देश पठाउनुभयो+ किनकि यहोवा परमेश्वर उसलाई माया गर्नुहुन्थ्यो।
२६ योआबले अम्मोनीहरूको+ सहर राब्बाहविरुद्ध+ आफ्नो लडाइँ जारी राखे र त्यस शाही सहरलाई कब्जा गरे।+ २७ त्यसैले योआबले सन्देशवाहकहरूमार्फत दाउदकहाँ यो खबर पठाए: “मैले पानीको* सहर राब्बाहलाई+ आक्रमण गरेर कब्जा गरेको छु। २८ त्यसैले अब बाँकी सेना जम्मा गरेर आउनुहोस् र यस सहरलाई घेरा हालेर कब्जा गर्नुहोस्। नत्र त म यसलाई कब्जा गर्नेछु र जितको श्रेय मलाई जानेछ।”
२९ त्यसैले दाउद आफ्नो पूरै सेना जम्मा गरेर राब्बाह गए अनि त्यसलाई आक्रमण गरेर कब्जा गरे। ३० त्यसपछि तिनले मल्कामको* टाउकोबाट मुकुट झिके। त्यो मुकुट एक टालेन्ट* सुनले बनेको थियो र त्यसमा बहुमूल्य रत्नहरू पनि जडिएका थिए। त्यो मुकुट दाउदको शिरमा पहिराइयो। तिनले त्यस सहरबाट प्रशस्तै धनमाल पनि लुटे।+ ३१ त्यसपछि दाउदले त्यस सहरका मानिसहरूलाई बन्दी बनाए र तिनीहरूलाई ढुङ्गा काट्ने काममा, फलामका धारिला हतियारहरू अनि बन्चरो चलाएर गर्नुपर्ने काममा र इँटा बनाउने काममा लगाए। अम्मोनीहरूका सबै सहरमा तिनले यसै गरे। त्यसपछि तिनी आफ्नो पूरै सेनासहित यरुसलेम फर्के।
१३ दाउदका छोरा अब्सालोमको तामार नाम गरेकी एउटी बहिनी थिइन्।+ उनी राम्री थिइन्। अनि दाउदका अर्का छोरा अम्नोनले उनलाई असाध्यै मन पराउँथे।+ २ आफ्नी बहिनी तामारको कारण अम्नोन असाध्यै बेचैन र व्याकुल भए। किनकि तामार कुमारी थिइन् र अम्नोनले उनलाई केही गर्न सम्भव थिएन। ३ अम्नोनको यहोनादाब नाम गरेको साथी थियो।+ तिनी दाउदका दाइ सिमेहका छोरा थिए।+ तिनी असाध्यै चतुर थिए। ४ तिनले अम्नोनलाई भने: “हे राजकुमार! तपाईँ किन सधैँ झोक्राएर बस्नुहुन्छ? के भयो, मलाई भन्नुहोस्।” अम्नोनले जवाफ दिए: “म मेरो भाइ अब्सालोमकी बहिनी तामारलाई असाध्यै मन पराउँछु।”+ ५ यहोनादाबले तिनलाई भने: “तपाईँ यसो गर्नुहोस्: बिरामी भएको बहाना बनाएर ओछ्यानमै सुतिरहनुहोस्। तपाईँको बुबा तपाईँलाई भेट्न आउँदा उहाँलाई यसो भन्नुहोस्: ‘बिन्ती छ, मेरी बहिनी तामारलाई मकहाँ पठाइदिनुहोस् र उसले मलाई केही खानेकुरा देओस्। उसले मेरै अगाडि खाना* बनाओस् र म उसकै हातबाट खानेछु।’”
६ त्यसैले अम्नोन बिरामी भएको बहाना बनाएर सुतिरहे अनि राजा तिनलाई हेर्न आए। अम्नोनले राजालाई भने: “बिन्ती छ, मेरी बहिनी तामारलाई मकहाँ पठाइदिनुहोस्। उसले मेरै अगाडि दुई वटा रोटी* बनाओस् अनि म उसकै हातबाट त्यो रोटी खानेछु।” ७ तब दाउदले महलमा तामारकहाँ यस्तो खबर पठाए: “तिम्रा दाइ अम्नोनको घरमा गएर उसको लागि खाना बनाइदेऊ।” ८ त्यसैले तामार आफ्ना दाइ अम्नोनको घरमा गइन्, जहाँ तिनी ढल्किरहेका थिए। उनले पीठो लिइन् र त्यसलाई मुछेर अम्नोनकै अगाडि रोटी बनाइन्। ९ त्यसपछि उनले तावाबाट रोटी निकालेर अम्नोनलाई टक्य्राइन्। तर अम्नोनले रोटी खान मानेनन्। तिनले सबैलाई त्यहाँबाट जाने आदेश दिए। त्यसैले सबै जना त्यहाँबाट गए।
१० त्यसपछि अम्नोनले तामारलाई भने: “यो रोटी मेरो सुत्ने कोठामा लिएर आऊ र म तिम्रै हातबाट खानेछु।” त्यसैले आफूले बनाएको रोटी लिएर तामार आफ्ना दाइ अम्नोनको सुत्ने कोठामा गइन्। ११ तामार रोटी लिएर आएपछि अम्नोनले उनलाई च्याप्प समाते र भने: “आऊ, मेरी बहिनी। मसित सुत!” १२ तर तामारले तिनलाई भनिन्: “होइन दाइ! मसित यस्तो नीच काम नगर्नुहोस्! इस्राएलमा यस्तो घिनलाग्दो काम गर्नु उचित होइन।+ यस्तो लाजमर्दो काम नगर्नुहोस्।+ १३ तपाईँले यसो गर्नुभयो भने मैले मानिसहरूको अगाडि कुन मुख देखाउनु? अनि इस्राएलमा तपाईँको पनि बेइज्जत हुनेछ। बरु बिन्ती छ, राजासित कुरा गर्नुहोस्। उहाँले मलाई तपाईँको हातमा दिन इन्कार गर्नुहुनेछैन।” १४ तर अम्नोनले उनको कुरा सुन्नै चाहेनन्। तिनले तामारलाई जबरजस्ती गरे अनि उनलाई बलात्कार गरेर उनको अपमान गरे। १५ त्यसपछि अम्नोनले उनलाई असाध्यै घृणा गर्न थाले। तिनले तामारलाई पहिला जति माया गर्थे, त्योभन्दा धेरै उनलाई घृणा गर्न थाले। अनि अम्नोनले तामारलाई भने: “उठ्, यहाँबाट गइहाल्!” १६ तब उनले अम्नोनलाई भनिन्: “होइन दाइ, यसो नगर्नुहोस्! तपाईँले मलाई यसरी निकाल्नुभयो भने तपाईँले मसित जे गर्नुभयो, त्योभन्दा पनि खराब काम गरिरहनुभएको हुनेछ।” तर अम्नोनले उनको कुरा सुन्नै चाहेनन्।
१७ अनि तिनले आफ्नो जवान सेवकलाई बोलाएर यस्तो हुकुम गरे: “यसलाई मेरो कोठाबाट निकाल र ढोका बन्द गरिदेऊ!” १८ त्यसैले अम्नोनको सेवकले उनलाई बाहिर निकाले र ढोका बन्द गरिदिए। (त्यतिबेला तामारले राजाका अविवाहित* छोरीहरूले लगाउने विशेष पोसाक लगाएकी थिइन्।) १९ त्यसपछि तामारले आफ्नो टाउकोमा खरानी छरिन्+ र आफूले लगाएको विशेष पोसाक च्यातिन्। उनी टाउकोमा हात राखेर त्यहाँबाट रुँदै गइन्।
२० यो देखेपछि उनका दाइ अब्सालोमले+ उनलाई सोधे: “तिम्रो यस्तो हालत बनाउने तिम्रो दाइ अम्नोन हो? अब यो कुरा कसैलाई पनि नभन। आखिर ऊ तिम्रो दाइ हो।+ अनि यसबारे मात्र सोचेर नबस।” त्यसपछि तामार अरू मानिसहरूबाट अलग्गै आफ्ना दाइ अब्सालोमको घरमा गएर बस्न थालिन्। २१ यी सबै कुरा थाह पाएपछि राजा दाउद असाध्यै रिसाए।+ तर तिनले अम्नोनको चित्त दुखाउन चाहेनन् किनकि अम्नोन आफ्नो पहिलो सन्तान भएकोले तिनी अम्नोनलाई माया गर्थे। २२ अनि अब्सालोमले अम्नोनलाई केही भनेनन्। अम्नोनले आफ्नी बहिनी तामारको इज्जत लुटेकोले अब्सालोम तिनलाई घृणा गर्थे।+
२३ यसको दुई वर्षपछि अब्सालोमका सेवकहरू एप्रैमनजिकै+ बाआल-हाजोरमा भेडाहरूको ऊन कत्रँदै थिए। त्यही मौकामा अब्सालोमले सबै राजकुमारलाई निम्तो दिए।+ २४ तिनले राजाकहाँ आएर भने: “हजुरको यस सेवकले आफ्ना भेडाहरूको ऊन कत्रँदै छ। त्यसैले बिन्ती छ, राजा र राजाका सेवकहरू मसँगै आउनुहोस्।” २५ तर राजाले अब्सालोमलाई भने: “होइन छोरा, हामी सबै आयौँ भने तिमीलाई बेकारमा बोझ मात्र हुन्छ।” अब्सालोमले राजालाई कर गरिरहे तर राजा जान मानेनन्। बरु राजाले तिनलाई आशीर्वाद दिए। २६ तब अब्सालोमले राजालाई भने: “यदि हजुर जान सक्नुहुन्न भने कृपया मेरा दाइ अम्नोनलाई मसित जान दिनुहोस्।”+ राजाले भने: “ऊ किन तिमीसित जानुपऱ्यो?” २७ तर अब्सालोमले राजालाई कर गरिरहे। त्यसैले राजाले अम्नोन र सबै राजकुमारलाई अब्सालोमसित पठाइदिए।
२८ त्यसपछि अब्सालोमले आफ्ना सेवकहरूलाई यस्तो हुकुम गरे: “तिमीहरू चनाखो रहनू! जब अम्नोन रक्सी पिएर मस्त हुन्छन्, तब म तिमीहरूलाई यसो भन्नेछु, ‘अम्नोनलाई मार!’ त्यसपछि तिमीहरूले उसलाई मार्नू। तिमीहरू नडराओ! किनकि यो मेरो हुकुम हो। साहसी र बलिया होओ!” २९ अब्सालोमका सेवकहरूले तिनको हुकुमअनुसारै अम्नोनलाई मारे। तब अरू सबै राजकुमार उठे अनि आ-आफ्ना खच्चरमा चढेर त्यहाँबाट भागे। ३० तिनीहरू बाटोमै छँदा दाउदकहाँ यस्तो खबर पुग्यो: “अब्सालोमले सबै राजकुमारलाई मारे। कोही पनि बचेनन्।” ३१ तब राजा उठे। तिनले आफूले लगाएको लुगा च्याते अनि भुईँमा पस्रिए। राजाका सबै सेवक पनि आ-आफ्नो लुगा च्यातेर तिनको छेउमै उभिरहे।
३२ तर दाउदका दाइ सिमेहका+ छोरा यहोनादाबले+ भने: “हे मेरा प्रभु! तिनीहरूले सबै राजकुमारलाई मारे भन्ने नठान्नुहोस्। किनकि अम्नोन मात्र मारिएका हुन्।+ अनि अम्नोनलाई मार्न हुकुम दिने अब्सालोम नै हुन्।+ अम्नोनले आफ्नी बहिनी+ तामारको इज्जत लुटेको दिनदेखि नै अब्सालोमले अम्नोनलाई मार्ने निर्णय गरिसकेका थिए।+ ३३ त्यसैले हे मेरा प्रभु! ‘सबै राजकुमार मरे’ भन्ने खबरलाई वास्ता नगर्नुहोस्। किनकि अम्नोन मात्र मारिएका हुन्।”
३४ त्यसैबीच अब्सालोम भागेर गए।+ पछि सहरको पहरेदारले आफ्नो आँखा उठाएर हेर्दा पहाडछेउको बाटोबाट थुप्रै मानिस आइरहेको देखे। ३५ तब यहोनादाबले+ राजालाई भने: “हेर्नुहोस्! राजकुमारहरू फर्केर आए। हजुरको यस सेवकले भनेझैँ भयो।” ३६ जसै तिनले आफ्नो कुरा सिद्ध्याए, राजकुमारहरू पनि त्यहीँ आइपुगे। तिनीहरू डाँको छोडेर रोइरहेका थिए। अनि राजा र राजाका सेवकहरू पनि धुरुधुरु रोए। ३७ अब्सालोम भागेर अम्मिहुदका छोरा, गेसुरका राजा तल्मैकहाँ गए।+ आफ्नो छोराको मृत्यु भएकोमा दाउदले धेरै दिनसम्म शोक मनाए। ३८ गेसुरमा भागेर गएपछि अब्सालोम तीन वर्षसम्म त्यहीँ बसे।+
३९ यति लामो समय बितिसकेपछि दाउद अब्सालोमलाई भेट्न आतुर भए किनकि तिनलाई अम्नोनको मृत्युको पीडाले पिरोल्न छोडिसकेको थियो।*
१४ अब्सालोमलाई भेट्न राजा आतुर छन्+ भनेर जेरुयाहका+ छोरा योआबले थाह पाए। २ त्यसैले तिनले तेकोबाट एउटी चतुर स्त्रीलाई ल्याउन लगाए।+ तिनले ती स्त्रीलाई भने: “बिन्ती छ, शोक मनाइरहेको जस्तो नाटक गर, शोक मनाउँदा लगाउने लुगा लगाऊ र तेल पनि नघस।+ कसैको मृत्यु भएकोले धेरै दिनदेखि शोक मनाइरहेकी स्त्रीजस्तो व्यवहार गर। ३ त्यसपछि राजाकहाँ गएर यसो-यसो भन।” के-के भन्नुपर्ने हो, त्यो सबै योआबले ती स्त्रीलाई बताइदिए।
४ तेकोकी ती स्त्री राजाकहाँ गइन् अनि भुईँमा घोप्टो परेर राजालाई दण्डवत् गर्दै यसो भनिन्: “हे महाराज! मलाई मदत गर्नुहोस्!” ५ राजाले उनलाई सोधे: “के भयो?” तब उनले भनिन्: “हाय, महाराज! म एउटी विधवा हुँ। मेरो पतिको मृत्यु भइसक्यो। ६ हजुरकी यस दासीको दुई जना छोरा थिए। तिनीहरू मैदानमा एकअर्कासित लडे अनि तिनीहरूलाई छुट्ट्याउने कोही थिएन। त्यसैले एक जनाले अर्कोलाई हिर्काएर माऱ्यो। ७ अब हजुरकी यस दासीविरुद्ध पूरै परिवार उठेको छ। तिनीहरू यसो भन्दै छन्, ‘आफ्नो भाइलाई मार्ने तिम्रो छोरा हामीलाई सुम्पिदेऊ। चाहे तिम्रो उत्तराधिकारीको नामोनिसानै किन नमेटियोस्, हामी उसको ज्यान लिनेछौँ किनभने उसले आफ्नो भाइलाई माऱ्यो।’+ हे प्रभु, मसित भएको अन्तिम भुङ्ग्रोलाई* पनि तिनीहरू निभाउन चाहन्छन्। तिनीहरूले त्यसो गरे भने यस धर्तीमा मेरो पतिको कुनै नाम रहनेछैन अनि उहाँको कुनै निसानी बाँकी हुनेछैन।”
८ तब राजाले ती स्त्रीलाई भने: “तिमी आफ्नो घर जाऊ। म तिम्रो खातिर एउटा उर्दी जारी गर्नेछु।” ९ यो सुनेपछि तेकोकी ती स्त्रीले राजालाई भनिन्: “हे मेरा प्रभु! मेरा महाराज! मेरो छोराको गल्तीको लागि म र मेरो बुबाको घराना नै दोषी ठहरियोस्। हजुर र हजुरको राजवंश निर्दोष रहोस्।” १० राजाले भने: “यदि कसैले तिमीलाई अरू केही भन्यो भने उसलाई मकहाँ ल्याऊ। त्यसपछि उसले तिमीलाई कहिल्यै दुःख दिनेछैन।” ११ तर उनले भनिन्: “हे महाराज! बिन्ती छ, हजुरले आफ्ना परमेश्वर यहोवालाई सम्झनुहोस्। रगतको साटो लिन खोज्नेले मेरो छोराको ज्यान लिएर मलाई बरबाद गर्न नपाओस्।”+ अनि राजाले भने: “जीवित परमेश्वर यहोवाको कसम खाएर म भन्छु,+ तिम्रो छोराको एउटा केश पनि भुईँमा खस्नेछैन।” १२ तब ती स्त्रीले भनिन्: “बिन्ती छ, हजुरकी यस दासीलाई अर्को एउटा कुरा भन्न दिनुहोस्।” राजाले भने: “भन!”
१३ ती स्त्रीले भनिन्: “त्यसोभए हजुरले परमेश्वरको प्रजाविरुद्ध किन यस्तो कदम चाल्नुभयो?+ हजुरले आफ्नो छोरालाई देश निकाला गर्नुभयो र उसलाई अहिलेसम्म फर्काएर ल्याउनुभएको छैन। हजुरले भर्खरै जे भन्नुभयो, त्यसले हजुरलाई नै दोषी ठहराउँदै छ।+ १४ हामी अवश्य मर्नेछौँ अनि भुईँमा पोखिएको पानीजस्तै हुनेछौँ, जसलाई फेरि जम्मा गर्न सकिँदैन। तर परमेश्वरले विनाकारण कसैको ज्यान लिनुहुन्न। कसैलाई देश निकाला गरिएको छ भने पनि उसलाई फर्काएर ल्याउने केही उपाय छ कि भनेर उहाँ विचार गर्नुहुन्छ। १५ हे मेरा प्रभु! मेरा महाराज! हजुरलाई यो बिन्ती चढाउन म यहाँ आएकी हुँ किनकि मानिसहरूले मलाई डर देखाए। त्यसैले हजुरकी यस दासीले मनमनै भनी, ‘मैले राजासामु आफ्नो बिन्ती पोखेँ भने उहाँले आफ्नी दासीको बिन्ती सुन्नुहोला। १६ राजाले मेरो बिन्ती सुन्नुहोला अनि परमेश्वरले हामीलाई दिनुभएको उत्तराधिकार छिन्न खोज्ने व्यक्तिको हातबाट म र मेरो एकमात्र छोरालाई जोगाउनुहोला।’+ १७ अनि मैले मनमनै भनेँ, ‘मेरा प्रभु, मेरा महाराजको वचनले मलाई शान्ति मिलोस्’ किनकि मेरा महाराज साँचो परमेश्वरको स्वर्गदूतजस्तै हुनुहुन्छ अनि असल र खराब छुट्ट्याउन सक्नुहुन्छ। तपाईँका परमेश्वर यहोवाले तपाईँलाई साथ देऊन्।”
१८ राजाले ती स्त्रीलाई भने: “अब म तिमीलाई जे-जे सोध्छु, कुरा नलुकाई त्यसको जवाफ देऊ।” ती स्त्रीले भनिन्: “हे मेरा प्रभु! मेरा महाराज! हुकुम होस्।” १९ तब राजाले सोधे: “के योआबले तिमीलाई यी सबै कुरा भन्न सिकाएका हुन्?”+ ती स्त्रीले जवाफ दिइन्: “हे मेरा प्रभु! मेरा महाराज! म हजुरको जीवनको कसम खाएर भन्छु, हजुरले ठीक भन्नुभयो। हजुरका सेवक योआबले नै मलाई यी सबै कुरा भन्न सिकाएर यहाँ पठाएका हुन्। २० यस मामिलाप्रति हजुरको दृष्टिकोण बदलियोस् भनेर हजुरका सेवक योआबले यसो गरेका हुन्। तर मेरा मालिकसित साँचो परमेश्वरका स्वर्गदूतको जस्तै बुद्धि छ र हजुरलाई यस देशमा भइरहेको सबै कुरा थाह छ।”
२१ राजाले योआबलाई भने: “ठीक छ, म त्यसै गर्नेछु।+ जाऊ र मेरो छोरा अब्सालोमलाई लिएर आऊ।”+ २२ तब योआबले भुईँमा घोप्टो परेर राजालाई दण्डवत् गरे अनि राजाको प्रशंसा गरे। योआबले भने: “हे मेरा प्रभु! मेरा महाराज! यस सेवकले हजुरको निगाह पाएको छ भनेर मलाई थाह भयो। किनकि हजुरले यस सेवकको बिन्ती सुन्नुभयो।” २३ त्यसपछि योआब उठेर गेसुर गए+ अनि तिनले अब्सालोमलाई यरुसलेम ल्याए। २४ तर राजाले भने: “ऊ आफ्नै घर जाओस्; उसले मलाई आफ्नो अनुहार नदेखाओस्।” त्यसैले अब्सालोम आफ्नै घर गए अनि राजासामु देखा परेनन्।
२५ इस्राएलमा अब्सालोमजस्तो आकर्षक रूपरङ्ग भएको पुरुष अरू कोही थिएन। उनको खुबै तारिफ हुन्थ्यो। उनको शिरदेखि पैतालासम्म खोट लगाउने कुनै ठाउँ थिएन। २६ उनको केश उनको निम्ति असाध्यै भारी हुन्थ्यो। त्यसैले उनले प्रत्येक वर्ष आफ्नो केश काट्नुपर्थ्यो। त्यसको वजन शाही तौलअनुसार* २०० शेकेल* हुन्थ्यो। २७ अब्सालोमका तीन छोरा र एक छोरी जन्मिए।+ उनले छोरीको नाम तामार राखे। तामार असाध्यै राम्री थिइन्।
२८ अब्सालोम दुई वर्षसम्म यरुसलेममा बसे तर उनी राजासामु देखा परेनन्।+ २९ त्यसैले उनले योआबलाई बोलाउन लगाए; योआबले उनलाई राजाकहाँ लगिदिएको उनी चाहन्थे। तर योआब आउन मानेनन्। उनले फेरि दोस्रो पटक योआबलाई बोलाउन लगाए तर तिनी आउन मान्दै मानेनन्। ३० तब अब्सालोमले आफ्ना सेवकहरूलाई भने: “योआबको खेत मेरो खेतसँगै छ अनि त्यहाँ अहिले जौ फलिरहेको छ। जाओ र त्यसमा आगो लगाइदेओ।” त्यसैले अब्सालोमका सेवकहरूले योआबको खेतमा आगो लगाइदिए। ३१ यो सुनेर योआब उठे अनि अब्सालोमको घर गएर उनलाई भने: “तपाईँका सेवकहरूले किन मेरो खेतमा आगो लगाए?” ३२ अब्सालोमले योआबलाई भने: “हेर, मैले तिमीलाई यस्तो सन्देश पठाएको थिएँ, ‘आऊ र म तिमीलाई राजाकहाँ यो कुरा सोध्न पठाउनेछु: “मलाई गेसुरबाट किन फर्काएर ल्याइयो?+ बरु म त्यहीँ बसेको भए बेस हुन्थ्यो। मलाई राजासामु उपस्थित हुने अनुमति दिइयोस्। यदि मैले कुनै अपराध गरेको छु भने उहाँले मेरो ज्यान लेऊन्।”’”
३३ त्यसैले योआबले राजाकहाँ गएर यी सबै कुरा बताइदिए। तब राजाले अब्सालोमलाई बोलाए। अब्सालोम राजासामु आए र भुईँमा घोप्टो परेर तिनलाई दण्डवत् गरे। त्यसपछि राजाले अब्सालोमलाई म्वाइँ खाए।+
१५ त्यसपछि अब्सालोमले आफ्नो लागि एउटा रथ र केही घोडा लिए अनि आफ्नो अघिअघि दौडन ५० जना मानिस खटाए।+ २ अब्सालोम बिहान सबेरै उठ्थे र सहरको मूलढोका जाने बाटो छेउमा बस्थे।+ जब कुनै मानिस इन्साफ पाउन राजाकहाँ आफ्नो मुद्दा लिएर आउँथ्यो,+ तब अब्सालोम उसलाई बोलाएर यस्तो प्रश्न सोध्थे: “तिमी कुन सहरबाट आएका हौ?” त्यसपछि उसले आफू इस्राएलको कुन कुलको हो भनेर बताउँथ्यो। ३ अनि अब्सालोम भन्थे: “तिमीले गरेको दाबी ठीक छ; तिमीले न्याय पाउनुपर्छ। तर के गर्नु, तिम्रो मुद्दा सुन्नलाई राजाको तर्फबाट कोही छैन।” ४ अब्सालोम अझै यसो भन्थे: “मलाई यस देशको न्यायकर्ता नियुक्त गरिएको भए कत्ति बेस हुने थियो! मानिसहरू आफ्नो मुद्दामामिला मिलाउन वा झगडाको छिनोफानो गर्न मकहाँ आउने थिए अनि म हरेकलाई इन्साफ दिने थिएँ।”
५ अनि जब कुनै मानिस अब्सालोमलाई दण्डवत् गर्न उनको नजिकै आउँथ्यो, तब उनी आफ्नो हात पसारेर उसलाई समात्थे र म्वाइँ खान्थे।+ ६ इन्साफ पाउन राजाकहाँ आउने सबै इस्राएलीलाई अब्सालोम त्यसै गर्थे। यस्तो ढोँग गरेर उनले इस्राएलीहरूको मन जित्दै गए।*+
७ चार वर्षपछि* अब्सालोमले राजालाई भने: “कृपया मलाई हेब्रोन जाने अनुमति दिनुहोस्।+ मैले यहोवा परमेश्वरलाई जे भाकल गरेको थिएँ, त्यो म त्यहाँ गएर पूरा गर्नेछु। ८ किनकि सिरियाको गेसुरमा छँदा+ हजुरको यस सेवकले यस्तो गम्भीर भाकल गरेको थियो:+ ‘यदि यहोवा परमेश्वरले मलाई यरुसलेम फर्काएर ल्याउनुभयो भने म यहोवा परमेश्वरको लागि बलि चढाउनेछु।’”* ९ त्यसैले राजाले भने: “हुन्छ, ढुक्क भएर जाऊ।”* त्यसपछि अब्सालोम त्यहाँबाट निस्केर हेब्रोन गए।
१० तब अब्सालोमले इस्राएलका सबै कुलको इलाकामा यो सन्देश दिन आफ्ना जासुसहरू पठाए: “सिङ फुकेको आवाज सुन्नेबित्तिकै तिमीहरूले यस्तो घोषणा गर्नू, ‘अब्सालोम हेब्रोनमा राजा हुनुभएको छ!’”+ ११ यरुसलेमबाट २०० जना मानिस पनि अब्सालोमसँगै गएका थिए। उनले तिनीहरूलाई आफूसँगै जान बोलाएका थिए तर उनले के गर्न लागेका छन् भनेर तिनीहरूलाई केही पनि थाह थिएन। तिनीहरू अब्सालोममाथि रतीभर शङ्का नगरी गएका थिए। १२ बलि चढाइसकेपछि अब्सालोमले दाउदका सल्लाहकार+ अहितोपेललाई+ पनि बोलाउन लगाए, जो गिलोहमा बस्थे।+ अब्सालोमको षड्यन्त्र सफल हुँदै गयो र उनलाई समर्थन गर्नेहरूको सङ्ख्या पनि बढ्दै गयो।+
१३ केही समयपछि एक जना सन्देशवाहकले दाउदकहाँ आएर यो खबर दियो: “इस्राएलीहरू अब्सालोमको पक्षमा लागेका छन्।” १४ यो सुन्नेबित्तिकै दाउदले यरुसलेममा आफूसँग भएका सबै सेवकलाई भने: “उठ! हामी यहाँबाट भागौँ!+ नत्र हामीमध्ये कोही पनि अब्सालोमको हातबाट उम्कन सक्नेछैनौँ। चाँडो गर! नत्र त अब्सालोमले हामीलाई आक्रमण गर्नेछ अनि सहरका सबै मानिसलाई तरबारले मारेर बरबाद गर्नेछ।”+ १५ तब राजाका सेवकहरूले भने: “हे हाम्रा प्रभु! हाम्रा महाराज! हजुरले जे निर्णय गर्नुहुन्छ, त्यसैअनुसार गर्न हजुरका सेवकहरू तयार छन्।”+ १६ त्यसैले राजा आफ्नो पूरै घरानालाई लिएर निस्के। तर तिनले आफ्ना १० जना उपपत्नीलाई भने महलको रेखदेख गर्ने जिम्मा दिएर त्यहीँ छोडे।+ १७ राजा अघि बढिरहे र सबै मानिस तिनको पछिपछि लागे। अनि बेथ-मर्हाक आइपुगेपछि तिनीहरू रोकिए।
१८ राजासँगै महल छोडेर आएका तिनका सबै नोकरचाकर, कराथीहरू र पेलेथीहरू*+ अनि गाथबाट+ तिनीसँगै आएका ६०० जना मानिस तिनीसँगै यात्रा गरिरहेका थिए।+ उनीहरू सबै राजाको सामनेबाट जाँदै गर्दा तिनले कोही छुटेको छ कि भनेर हेरिरहेका थिए। १९ तब राजाले गाथका इथ्थैलाई सोधे:+ “तिमी किन हामीसँग आउँदै छौ? फर्केर जाऊ अनि नयाँ राजासँग बस। किनकि तिमी त विदेशी हौ अनि आफ्नो देशबाट भागेर आएका थियौ। २० तिमी त हिजोअस्ति मात्र आएका हौ अनि आज म कसरी तिमीलाई हामीसँगै भौँतारिन लगाउन सक्छु? म कहाँ जान्छु, मलाई नै थाह छैन; त्यसैले म कसरी तिमीलाई मेरो पछिपछि लाग भनेर कर गर्न सक्छु र? फर्केर जाऊ अनि आफ्ना मानिसहरूलाई पनि आफूसँगै लैजाऊ। यहोवा परमेश्वरले तिमीलाई अटल प्रेम र वफादारी देखाइरहून्!”+ २१ तर इथ्थैले राजालाई भने: “जीवित परमेश्वर यहोवाको अनि मेरा प्रभु, मेरा महाराजको जीवनको कसम खाएर भन्छु, हजुर जहाँ जानुहुन्छ, म त्यहीँ जानेछु। हजुरको यो सेवक हजुरसँगै मर्न पनि तयार छ।”+ २२ तब दाउदले इथ्थैलाई भने:+ “हुन्छ, तिमी पनि बेँसी पार गर्न सक्छौ।” त्यसैले गाथका इथ्थैले आफ्ना सबै मानिस र तिनीहरूका परिवारसँगै किद्रोन बेँसी पार गरे।
२३ जब राजा दाउदसँग आएका मानिसहरू किद्रोन बेँसी पार गर्दै थिए, तब देशका सबै मानिस डाँको छोडेर रुँदै थिए। राजाचाहिँ किद्रोन बेँसीको+ छेउमा उभिरहेका थिए अनि राजासँगै आएका सबै मानिस बेँसी पार गरेर निर्जनभूमिमा जाने बाटोतिर गइरहेका थिए। २४ सादोक+ पनि त्यहीँ थिए र तिनीसँग लेवीहरू+ पनि थिए, जसले साँचो परमेश्वरको करारको सन्दुक*+ बोकेका थिए। तिनीहरूले साँचो परमेश्वरको सन्दुक बिसाए। सबै मानिस सहरबाट निस्केर बेँसी पार गरिरहेका बेला अबियातार+ पनि त्यहीँ थिए। २५ तर राजाले सादोकलाई भने: “साँचो परमेश्वरको सन्दुक सहरमा फिर्ता लैजाऊ।+ यहोवा परमेश्वरको कृपा ममाथि रह्यो भने उहाँले मलाई फर्काएर ल्याउनुहुनेछ र मैले फेरि त्यो सन्दुक अनि सन्दुक राखिने ठाउँ देख्न पाउनेछु।+ २६ तर उहाँ मलाई कृपा देखाउन चाहनुहुन्न भने उहाँलाई जस्तो ठीक लाग्छ, मसँग त्यस्तै व्यवहार गरून्।” २७ राजाले पुजारी सादोकलाई अझै यसो भने: “के तिमी दर्शी होइनौ?+ तिमी र अबियातार शान्तिसित सहर फर्केर जाऊ। अनि तिम्रो छोरा अहिमास र अबियातारका छोरा जोनाथनलाई पनि सँगै लैजाऊ।+ २८ हेर, तिमीहरूबाट कुनै खबर नआएसम्म म निर्जनभूमिका जँघारहरूको* छेउछाउमा पर्खेर बस्नेछु।”+ २९ त्यसैले सादोक र अबियातारले साँचो परमेश्वरको सन्दुक यरुसलेममा फिर्ता लगे। अनि तिनीहरू त्यहीँ बसे।
३० त्यसपछि दाउद रुँदै जैतुन डाँडा उक्लन थाले।+ तिनले आफ्नो शिर ढाकेका थिए र खाली खुट्टा हिँडिरहेका थिए। तिनीसँग भएका सबै मानिस पनि आफ्नो शिर ढाकेर रुँदै डाँडा चढिरहेका थिए। ३१ तब दाउदलाई यो खबर दिइयो: “अब्सालोमसँगै+ मिलेर षड्यन्त्र रच्नेहरूमा अहितोपेल पनि छन्।”+ यो सुनेर दाउदले भने: “हे यहोवा!+ बिन्ती छ, अहितोपेलको सल्लाहलाई मूर्खले दिने सल्लाहजस्तै बनाइदिनुहोस्।”+
३२ जब दाउद डाँडाको टाकुरामा पुगे, जहाँ मानिसहरू परमेश्वरको उपासना गर्थे,* तब अरकी हुसै+ तिनलाई भेट्न आए। उनले आफ्नो लुगा च्यातेका थिए र शिरमा धुलो छरेका थिए। ३३ दाउदले उनलाई भने: “तिमी मसँग आयौ भने मेरो लागि बोझ हुनेछौ। ३४ बरु तिमी सहरमा फर्केर जाऊ अनि अब्सालोमलाई यसो भन: ‘हे महाराज! म हजुरको सेवक हुँ। पहिले म हजुरको बुबाको सेवा गर्थेँ तर अब म हजुरको सेवा गर्नेछु।’+ त्यसो गऱ्यौ भने तिमीले मेरो खातिर अहितोपेलको सल्लाहलाई बेकामको तुल्याइदिन सक्छौ।+ ३५ त्यहाँ पुजारी सादोक र पुजारी अबियातार पनि तिम्रो साथमा हुनेछन्। राजमहलमा तिमीले जे-जे कुरा सुन्छौ, ती सबै उनीहरूलाई बताउनू।+ ३६ हेर, सादोकका छोरा अहिमास+ अनि अबियातारका छोरा जोनाथन+ पनि त्यहीँ छन्। तिमीले सुनेको एक-एक कुराको खबर ती दुई जनामार्फत मलाई पठाउनू।” ३७ त्यसैले दाउदका मित्र* हुसै+ सहरमा गए। त्यसबेला अब्सालोम पनि यरुसलेममा प्रवेश गर्दै थिए।
१६ दाउद डाँडाको टाकुरा पार गरेर अलि पर मात्र के पुगेका थिए,+ मपिबोसेतका+ सेवक सिबा+ पनि तिनलाई भेट्न त्यहीँ आइपुगे। उनले २०० वटा रोटी, किसमिसको १०० वटा रोटी र ग्रीष्म ऋतुका फलहरूको* १०० वटा रोटी दुई वटा गधामा लादेर ल्याएका थिए। तिनले एउटा ठूलो घ्याम्पोमा रक्सी पनि ल्याएका थिए।+ २ यो देखेर राजाले सिबालाई सोधे: “तिमीले यी सबै कुरा किन ल्यायौ?” सिबाले जवाफ दिए: “राजाको घरानालाई यात्रा गर्न सजिलो होस् भनेर मैले यी गधाहरू ल्याएको हुँ। अनि यी रोटीहरू र ग्रीष्म ऋतुका फलहरू हजुरसित यात्रा गरिरहेका जवान मानिसहरूको लागि हो। यो रक्सीचाहिँ निर्जनभूमिमा यात्रा गर्दा थाक्नेहरूका लागि हो।”+ ३ अनि राजाले सोधे: “तिम्रा मालिकका छोरा* कहाँ छन्?”+ तब सिबाले राजालाई जवाफ दिए: “उहाँ यरुसलेममै हुनुहुन्छ। उहाँले मलाई यसो भन्नुभयो: ‘आज इस्राएलको घरानाले मेरो बुबाको राज्य मलाई फिर्ता दिनेछ।’”+ ४ अनि राजाले सिबालाई भने: “हेर, मपिबोसेतको अधिकारमा भएको सबै कुरा आज म तिमीलाई दिन्छु।”+ सिबाले भने: “हे मेरा प्रभु, मेरा महाराज! म हजुरसामु शिर झुकाउँछु। मैले यसरी नै हजुरको कृपा पाइरहन सकूँ।”+
५ जब राजा दाउद बाहुरिम आइपुगे, तब साउलको घरानाका सिमि+ नाम गरेको एक जना मानिस राजालाई सराप्दै त्यहाँ आयो।+ ऊ गेराको छोरा थियो। ६ उसले राजा दाउदलाई, राजासँग आएका सबै मानिसलाई, राजाका सेवकहरूलाई अनि राजाको दायाँबायाँ भएका वीर योद्धाहरूलाई ढुङ्गाले हानिरहेको थियो। ७ सिमिले राजालाई सराप्दै यसो भन्न थाल्यो: “जा! यहाँबाट गइहाल्! तँ हत्यारा होस्! निकम्मा होस्! ८ तैँले साउलको घरानालाई सखाप पारिस् र उहाँको ठाउँमा आफैलाई राजा बनाइस्। त्यसैले यहोवा परमेश्वरले तँसित उनीहरू सबैको रगतको बदला लिनुभएको छ। यहोवा परमेश्वरले तेरो राज्य तेरो छोरा अब्सालोमको हातमा दिनुभएको छ। तँमाथि ठूलो विपत्ति आइपरेको छ किनकि तँ हत्यारा होस्।”+
९ अनि जेरुयाहका+ छोरा अबिसैले राजालाई भने: “यो मरेको कुकुरले+ मेरा प्रभु, मेरा महाराजलाई सराप्दै छ।+ यसको यत्रो हिम्मत! बिन्ती छ, मलाई जान दिनुहोस्; म त्यसको टाउको उडाइदिन्छु।”+ १० तर राजाले भने: “ए जेरुयाहका+ छोराहरू हो, मेरो मामिलामा तिमीहरू किन हात हाल्छौ? उसलाई सराप्न देओ+ किनकि यहोवा परमेश्वरले नै उसलाई ‘दाउदलाई सराप’ भन्नुभएको हो।+ त्यसैले कसले उसलाई ‘तिमीले यो के गरेको’ भन्न सक्छ र?” ११ त्यसपछि दाउदले अबिसै र आफ्ना सबै सेवकलाई भने: “आज मेरो आफ्नै छोराले, मेरै रगतले मेरो ज्यान लिन खोज्दै छ।+ यो बिन्यामिनीबाट+ त झन् के आस गर्न सक्छु र? उसलाई छोडिदेओ, उसले मलाई सरापोस् किनकि यहोवा परमेश्वरले नै उसलाई यसो गर्न लगाउनुभएको हो। १२ सायद यहोवा परमेश्वरले मेरो दुःख देख्नुहुनेछ+ र आज उसले मलाई दिएको सरापको साटो यहोवा परमेश्वरले मलाई आशिष् दिनुहुनेछ।”+ १३ त्यसपछि दाउद र तिनका मानिसहरू तलतिर झरे। अनि सिमिचाहिँ डाँडामा दाउदको छेउछेउ हुँदै तिनलाई सराप्दै,+ ढुङ्गा हान्दै र धुलो फ्याँक्दै हिँड्यो।
१४ अन्तमा राजा र तिनीसित गएका सबै मानिस आफ्नो गन्तव्यमा आइपुगे। तिनीहरू सबै लखतरान भएका थिए। त्यसैले तिनीहरूले त्यहाँ थकाइ मारे।
१५ यसैबीच अब्सालोम र इस्राएलका सबै मानिस यरुसलेम आइपुगे। अहितोपेल+ पनि अब्सालोमसँगै थिए। १६ जब दाउदका मित्र* अरकी+ हुसै+ अब्सालोमकहाँ आइपुगे, तब तिनले अब्सालोमलाई भने: “राजा दीर्घायु होऊन्!+ राजा दीर्घायु होऊन्!” १७ तब अब्सालोमले हुसैलाई भने: “तपाईँले आफ्नो मित्रलाई अटल प्रेम देखाएको यही हो? तपाईँ किन आफ्नो मित्रसँग जानुभएन?” १८ अनि हुसैले अब्सालोमलाई भने: “म त यहोवा परमेश्वरले, यी मानिसहरूले र इस्राएलका सारा मानिसले रोजेको व्यक्तिलाई नै साथ दिनेछु। म उहाँसँगै रहनेछु। १९ म तपाईँलाई फेरि पनि भन्छु, आखिर मैले कसको सेवा गर्नुपर्छ? उहाँकै छोराको होइन र? जसरी मैले तपाईँको बुबाको सेवा गरेँ, त्यसरी नै म तपाईँको पनि सेवा गर्नेछु।”+
२० त्यसपछि अब्सालोमले अहितोपेललाई भने: “अब हामीले के गर्नुपर्ला? मलाई सल्लाह दिनुहोस्।”+ २१ तब अहितोपेलले अब्सालोमलाई भने: “तपाईँको बुबाका उपपत्नीहरूसित सम्भोग गर्नुहोस्,+ जसलाई उहाँले महलको रेखदेख गर्न यहीँ छोडेर जानुभएको छ।+ तब तपाईँले यस्तो काम गरेर आफ्नो बुबाको अपमान गर्नुभएको छ भनी सारा इस्राएलले थाह पाउनेछ अनि तपाईँलाई समर्थन गर्नेहरूको हौसला अझ बढ्नेछ।” २२ त्यसैले तिनीहरूले कौसीमा अब्सालोमको निम्ति पाल टाँगे+ अनि अब्सालोमले सारा इस्राएलीसामु+ आफ्नो बुबाका उपपत्नीहरूसित सम्भोग गरे।+
२३ त्यस समयमा अहितोपेलको+ सल्लाहलाई साँचो परमेश्वरबाटै आएको सल्लाहको रूपमा हेरिन्थ्यो। त्यसैले दाउद र अब्सालोम दुवैले अहितोपेलले दिएको हरेक सल्लाहको कदर गर्थे।
१७ अनि अहितोपेलले अब्सालोमलाई भने: “बिन्ती छ, मलाई १२ हजार पुरुष छान्न अनुमति दिनुहोस् र म आज राती नै दाउदलाई खेद्न निस्कनेछु। २ तिनी थाकेर लखतरान भएको बेला म तिनलाई आक्रमण गर्नेछु।+ म तिनलाई त्रसित बनाउनेछु अनि तिनीसित भएका सबै मानिस भाग्नेछन्। तब राजा एक्लै हुनेछन् र म तिनलाई मार्नेछु।+ ३ त्यसपछि सबै मानिसलाई म तपाईँकहाँ ल्याउनेछु। तपाईँले खोजिरहनुभएको व्यक्ति मारिए भने मात्र तिनका सबै मानिस तपाईँकहाँ आउनेछन् र सबै मानिस शान्तिपूर्वक बस्न सक्नेछन्।” ४ अहितोपेलको यो सुझाव अब्सालोम र इस्राएलका सबै नाइकेलाई एकदम मन पऱ्यो।
५ तर अब्सालोमले भने: “अरकी हुसैलाई+ पनि बोलाऊ र उहाँको राय के छ, सुनौँ।” ६ त्यसैले हुसै अब्सालोमकहाँ आए र अब्सालोमले उनलाई भने: “अहितोपेलले यस्तो सुझाव दिएका छन्। के हामीले अहितोपेलले दिएको सुझावअनुसारै गर्नु ठीक होला? होइन भने तपाईँ नै भन्नुहोस्, हामी के गरौँ?” ७ तब हुसैले अब्सालोमलाई भने: “यस पटक अहितोपेलले दिएको सुझाव ठीक छैन।”+
८ हुसैले अझै भने: “तपाईँलाई थाहै छ, तपाईँको बुबा र तिनका मानिसहरू शक्तिशाली छन्+ र तिनीहरू आफ्ना बच्चाहरू हराएको माउ भालुजस्तै साह्रै रिसाएका छन्।+ त्यति मात्र होइन, तपाईँको बुबा एक वीर योद्धा हुन्+ र तिनी राती मानिसहरूसँग बस्नेछैनन्। ९ यतिखेर तिनी कुनै ओडारमा वा अन्त कतै लुकिरहेका होलान्।+ अनि हामीले भन्दा पहिला तिनले आक्रमण गरे भने यस्तो हल्ला फैलनेछ: ‘अब्सालोमको पछि लाग्नेहरू पराजित भएका छन्!’ १० अनि सिंहको जस्तै मुटु भएको साहसी मानिससमेत+ डरले पक्कै थरथर काँप्नेछ किनकि तपाईँको बुबा एक वीर योद्धा हुन्+ र तिनका मानिसहरू पनि साहसी छन् भनेर सबै इस्राएलीलाई थाह छ। ११ मेरो सुझाव यस्तो छ: दानदेखि बेर्सेबासम्मका+ सबै इस्राएली तपाईँकहाँ भेला नभएसम्म पर्खनुहोस्। तिनीहरू समुद्रका बालुवासरी असङ्ख्य हुनेछन्+ र तपाईँले नै तिनीहरू सबैलाई लडाइँमा लैजानुहोस्। १२ तिनी जहाँ भए पनि हामी तिनलाई खोजेर आक्रमण गर्नेछौँ। अनि भुईँमा शीत परेझैँ हामी तिनीमाथि ओइरिनेछौँ। तिनी र तिनीसित भएका कोही पनि बच्नेछैनन्, सबै जना मारिनेछन्। १३ तिनी कुनै सहरभित्र लुक्न गए भने पनि सबै इस्राएली डोरी लिएर त्यहाँ जानेछन्। अनि त्यस सहरलाई डोरीले घिसार्दै लगेर नदीमा खसालिदिनेछन्, त्यस सहरको एउटा ढुङ्गा पनि बाँकी रहनेछैन।”
१४ तब अब्सालोम र सबै इस्राएलीले भने: “अहितोपेलको सुझावभन्दा अरकी हुसैको सुझाव राम्रो छ!”+ यहोवा परमेश्वरले अहितोपेलको राम्रो सल्लाहलाई बेकामको तुल्याउने निर्णय* गरिसक्नुभएको थियो+ किनकि यहोवा परमेश्वर अब्सालोमलाई विनाश गर्न चाहनुहुन्थ्यो।+
१५ त्यसपछि हुसैले पुजारीहरू सादोक र अबियातारलाई+ यसो भने: “अहितोपेलले अब्सालोमलाई र इस्राएलका नाइकेहरूलाई यस्तो सुझाव दिए अनि मैले चाहिँ यस्तो सुझाव दिएँ। १६ अब दाउदलाई सावधान गराउन उहाँकहाँ तुरुन्तै यस्तो खबर पठाओ: ‘आज राती निर्जनभूमिका जँघारहरूमा* नबस्नुहोस्; जसरी भए पनि पारि जानुहोस्। नत्र त राजा र उहाँका सबै मानिसको सर्वनाश हुनेछ।’”+
१७ जोनाथन+ र अहिमास+ आफूहरूलाई कसैले नदेखोस् भनेर सहरबाहिर एन-रोगेलमा+ बसिरहेका थिए। त्यसैले एउटी दासी गएर तिनीहरूलाई सबै कुरा बताइदिई अनि तिनीहरू त्यो कुरा राजा दाउदलाई बताउन गए। १८ तर एक जना युवकले तिनीहरूलाई देख्यो अनि गएर अब्सालोमलाई बताइदियो। त्यसैले तिनीहरू तुरुन्तै त्यहाँबाट भागे र बाहुरिममा+ एक जना मानिसको घरमा पुगे। त्यस घरको आँगनमा इनार थियो। तिनीहरू त्यही इनारभित्र पसे। १९ त्यस मानिसकी पत्नीले इनारको मुख कपडाले छोपिन् अनि त्यसमाथि बिस्कुन फिँजाइन्। यसबारे कसैले केही थाह पाएन। २० अब्सालोमका सेवकहरू त्यस स्त्रीको घरमा आए र सोधे: “अहिमास र जोनाथन कहाँ छन्?” त्यस स्त्रीले भनिन्: “तिनीहरू नदीतिर गए।”+ ती मानिसहरूले तिनीहरूलाई खोजे तर कतै भेट्टाएनन्। त्यसैले ती मानिसहरू यरुसलेम फर्के।
२१ ती मानिसहरू गइसकेपछि तिनीहरू इनारबाट बाहिर निस्के अनि गएर राजा दाउदलाई खबर गरे। तिनीहरूले राजालाई भने: “उठ्नुहोस् र नदीपारि गइहाल्नुहोस् किनकि हजुरको विरुद्धमा अहितोपेलले यस्तो-यस्तो सुझाव दिएका छन्।”+ २२ यो सुन्नेबित्तिकै दाउद र तिनीसित भएका सबै मानिस उठे अनि यर्दनपारि गए। बिहान उज्यालो हुनुअघि नै तिनीहरू सबै यर्दनपारि पुगिसकेका थिए।
२३ आफूले दिएको सुझावअनुसार नगरिएको कुरा देखेपछि अहितोपेलले गधामा काठी कसे र त्यसमा चढेर आफ्नो सहर गए।+ त्यहाँ आफ्नो घर पुगेपछि उनले आफ्नो परिवारको लागि सबै बन्दोबस्त मिलाए।+ त्यसपछि उनी झुन्डिएर मरे।+ यसरी उनको मृत्यु भयो र उनकै पुर्खाहरूको चिहानमा उनलाई गाडियो।
२४ यसैबीच दाउद महनैम गए+ अनि अब्सालोमचाहिँ सबै इस्राएलीलाई लिएर यर्दनपारि गए। २५ अब्सालोमले योआबको+ सट्टा अमासालाई+ सेनापति बनाए। अमासा इथ्रा नाम गरेका इस्राएलीका छोरा थिए। इथ्राले अबिगेलसित+ यौनसम्बन्ध राखेका थिए।* अबिगेल नहसकी छोरी र योआबकी आमा जेरुयाहकी बहिनी थिइन्। २६ गिलादमा पुगेपछि इस्राएलीहरू र अब्सालोमले त्यहाँ छाउनी हाले।+
२७ दाउद महनैम पुग्नेबित्तिकै अम्मोनीहरूको सहर राब्बाहका+ नहसका छोरा सोबि, लो-देबारका अम्मिएलका छोरा माकिर+ र रोगेलिमका गिलादी बार्जिलैले+ २८ ओछ्यान, भाँडाकुँडा, माटाका भाँडा, गहुँ, जौ, पीठो, भुटेको अन्न, बकुला, दाल, सुकेको अन्न, २९ मह, मक्खन, भेडा र चिज* ल्याए। तिनीहरूले यी सबै सरसामान दाउद र तिनका मानिसहरूको लागि ल्याए।+ किनकि तिनीहरूले भने: “मानिसहरू निर्जनभूमिमा भोकाएका, तिर्खाएका र थाकेका होलान्।”+
१८ त्यसपछि दाउदले आफूसँग भएका मानिसहरूको गन्ती गरे। अनि तिनीहरूलाई हजार-हजार र सय-सय जनाको समूहमा छुट्ट्याएर तिनीहरूमाथि सेनापतिहरू नियुक्त गरे।+ २ दाउदले आफ्ना मानिसहरूलाई तीन भागमा विभाजन गरे। तिनले एक तिहाइ मानिसहरूलाई योआबको+ नेतृत्वमा पठाए, अर्को एक तिहाइलाई योआबका दाइ अबिसैको+ नेतृत्वमा पठाए, जो जेरुयाहका+ छोरा थिए र बाँकी एक तिहाइलाई चाहिँ गाथका इथ्थैको+ नेतृत्वमा पठाए। त्यसपछि राजाले ती मानिसहरूलाई भने: “म पनि तिमीहरूसँगै जानेछु।” ३ तर तिनीहरूले भने: “होइन, तपाईँ सहरबाहिर ननिस्कनुहोस्।+ किनकि हामी भाग्यौँ भने वा हामीमध्ये आधा मानिसहरू नै मारियौँ भने पनि तिनीहरूलाई केही फरक पर्नेछैन। तर तपाईँ त हामीजस्ता १० हजार मानिसबराबर हुनुहुन्छ।+ त्यसैले तपाईँ सहरमै बसेर हामीलाई सहायता गर्नुभयो भने बेस हुन्छ।” ४ तब राजाले तिनीहरूलाई भने: “ठीक छ, तिमीहरूलाई जे उचित लाग्छ, म त्यही गर्नेछु।” त्यसैले राजा सहरको मूलढोकाको छेउमा उभिए अनि सबै मानिस सय-सय र हजार-हजारको समूहमा त्यहाँबाट हिँडे। ५ त्यसपछि राजाले योआब, अबिसै र इथ्थैलाई यो हुकुम दिए: “मेरो खातिर मेरो प्यारो छोरा अब्सालोमसित कठोर व्यवहार नगर्नू।”+ राजाले सबै सेनापतिलाई अब्सालोमबारे दिएको यो हुकुम त्यहाँ भएका सबै मानिसले सुने।
६ ती मानिसहरू इस्राएलीहरूसित लडाइँ गर्न मैदानमा गए र यो लडाइँ एप्रैमको जङ्गलमा भयो।+ ७ त्यहाँ दाउदका सेवकहरूले+ इस्राएलीहरूलाई हराए।+ त्यो दिन भयङ्कर मारकाट मच्चियो; २० हजार मानिस मारिए। ८ लडाइँ पूरै इलाकामा फैलियो। त्यो दिन तरबारले मारिएकाहरूभन्दा जङ्गलमा मरेकाहरू धेरै थिए।
९ अब्सालोमले दाउदका सेवकहरू आफूकहाँ आइरहेको देखे। अब्सालोम खच्चरमा चढेका थिए। जब त्यो खच्चर एउटा ठूलो अनि झाँगिएको रूखमुनिबाट गयो, तब उनको कपाल त्यस रूखको हाँगामा अल्झियो। यसरी उनी तुर्लुङ्ङ झुन्डिए र उनी चढेको खच्चरचाहिँ नरोकिई अघि गइरह्यो। १० तब एक जनाले अब्सालोमलाई देख्यो र गएर योआबलाई यसो भन्यो:+ “मैले अब्सालोमलाई एउटा ठूलो रूखमा झुन्डिएको देखेँ।” ११ योआबले त्यस मानिसलाई भने: “तिमीले उसलाई देखेपछि किन उसलाई त्यतिखेरै मारेनौ? तिमीले त्यसो गरेको भए म खुसी भएर तिमीलाई १० टुक्रा चाँदी र एउटा पेटी दिने थिएँ।” १२ त्यस मानिसले योआबलाई भन्यो: “मलाई १ हजार टुक्रा चाँदी दिइएको भए तापनि म राजाको छोरामाथि आफ्नो हात उठाउने थिइनँ। किनकि राजाले तपाईँ, अबिसै र इथ्थैलाई ‘होस गर, अब्सालोमलाई कसैले पनि हानि नपुऱ्याओस्’ भनेर हुकुम दिनुभएको हामीले सुनेका थियौँ।+ १३ मैले राजाको हुकुम नमानेर अब्सालोमको ज्यान लिएको भए राजाले अवश्य थाह पाउनुहुने थियो। अनि तपाईँले पनि मलाई उहाँको हातबाट बचाउनुहुने थिएन।” १४ तब योआबले भने: “म तिमीसँग कुरा गरेर आफ्नो समय खेर फाल्न चाहन्नँ।” त्यसपछि तिनले तीन वटा काँड* लिए अनि अब्सालोम रूखमा जिउँदै झुन्डिरहेको बेला उनको मुटुमा ती काँडहरू घोपिदिए। १५ त्यसपछि योआबको हातहतियार बोक्ने १० जना सेवक त्यहाँ आए र अब्सालोम नमरेसम्म उनलाई प्रहार गरिरहे।+ १६ तब योआबले सिङ फुके र मानिसहरू इस्राएलीहरूलाई खेद्न छोडेर फर्के। किनकि योआबले ती मानिसहरूलाई रोके। १७ तिनीहरूले अब्सालोमको लास लगेर जङ्गलको एउटा ठूलो खाल्टोमा फ्याँकिदिए अनि त्यसमाथि ढुङ्गाको निकै ठूलो थुप्रो लगाइदिए।+ अनि सबै इस्राएली भागेर आ-आफ्नो घर गए।
१८ आफू जीवित छँदा अब्सालोमले आफ्नो लागि राजा बेँसीमा एउटा खम्बा ठड्याएका थिए।+ किनकि उनी यसो भन्थे: “मेरो नामको सम्झना राख्न मेरो एउटै छोरा छैन।”+ त्यसैले उनले त्यस खम्बालाई आफ्नै नाम दिए र त्यसलाई आजसम्म पनि अब्सालोमको स्मारक भनिन्छ।
१९ सादोकका छोरा अहिमासले+ यसो भने: “बिन्ती छ, मलाई अनुमति दिनुहोस्। म दौडेर राजाकहाँ जान्छु र यो खबर दिन्छु। किनकि राजालाई उहाँका शत्रुहरूबाट मुक्त गरेर यहोवा परमेश्वरले राजाको पक्षमा न्याय गर्नुभएको छ।”+ २० तर योआबले उनलाई भने: “आज तिमीले खबर लग्नेछैनौ। तिमी अरू कुनै दिन खबर सुनाउन जानू तर आजचाहिँ होइन। किनकि आज राजाको छोराको मृत्यु भएको छ।”+ २१ त्यसपछि योआबले एक जना कुसीलाई* भने:+ “जाऊ, तिमीले जे देख्यौ, त्यो राजालाई बताइदेऊ।” तब त्यस कुसीले योआबलाई दण्डवत् गऱ्यो र दौडेर गयो। २२ सादोकका छोरा अहिमासले योआबलाई फेरि भने: “जेसुकै होस्, बिन्ती छ, मलाई त्यस कुसीको पछिपछि दौडेर जाने अनुमति दिनुहोस्।” तर योआबले भने: “हे मेरो छोरा, तिमीले राजालाई बताउनुपर्ने कुनै खबर नै छैन तैपनि तिमी किन जान चाहन्छौ?” २३ तर अहिमासले फेरि भने: “जेसुकै होस्, मलाई दौडेर जाने अनुमति दिनुहोस्।” त्यसैले योआबले भने: “ठीक छ, जाऊ।” तब अहिमास यर्दनको इलाकाको बाटो हुँदै दौडेर गए र तिनले त्यस कुसीलाई उछिने।
२४ दाउद सहरको भित्री र बाहिरी मूलढोकाको बीचमा बसिरहेका थिए।+ पहरेदार+ पर्खाल हुँदै मूलढोकाको छतमा गयो र त्यहाँबाट हेर्दा उसले एक जना मानिस एक्लै दौडेर आइरहेको देख्यो। २५ तब त्यस पहरेदारले ठूलो स्वरले कराएर राजालाई त्यो कुरा बतायो। अनि राजाले भने: “यदि ऊ एक्लै छ भने उसले कुनै खबर ल्याएको हुनुपर्छ।” त्यो मानिस दौडेर झन्झन् नजिक आउँदै गर्दा २६ पहरेदारले अर्को एक जना पनि दौडेर आइरहेको देख्यो। तब त्यस पहरेदारले ढोकेलाई कराएर भन्यो: “हेर! अर्को एक जना मानिस पनि एक्लै दौडेर आइरहेको छ।” राजाले भने: “उसले पनि केही खबर ल्याएको हुनुपर्छ।” २७ पहरेदारले भन्यो: “त्यो पहिलो मानिसको दौडाइ सादोकका छोरा अहिमासको+ जस्तै छ।” त्यसैले राजाले भने: “तिनी त असल मानिस हुन्। तिनले राम्रो खबर ल्याएको हुनुपर्छ।” २८ अहिमासले राजालाई ठूलो स्वरले कराएर भने: “मैले राम्रो खबर ल्याएको छु!” त्यसपछि तिनले भुईँमा घोप्टो परेर राजालाई दण्डवत् गरे अनि यसो भने: “हजुरका परमेश्वर यहोवाको जय होस्! उहाँले मेरा प्रभु, मेरा महाराजको विरुद्धमा उठ्नेहरूलाई हजुरको हातमा सुम्पिदिनुभएको छ।”+
२९ तर राजाले सोधे: “के मेरो छोरा अब्सालोम कुशलै छ?” अहिमासले जवाफ दिए: “योआबले राजाका सेवकलाई र मलाई* यहाँ पठाउँदा मैले ठूलो खैलाबैला मच्चिरहेको देखेको थिएँ। तर त्यहाँ के भएको थियो, मैले थाह पाइनँ।”+ ३० तब राजाले तिनलाई एकातिर उभिन हुकुम गरे। त्यसैले तिनी एकातिर गएर उभिए।
३१ तब त्यो कुसी आइपुग्यो+ र यसो भन्यो: “हे मेरा प्रभु, मेरा महाराज! खबर यस्तो छ: हजुरको विरुद्धमा उठ्ने सबै मानिसबाट हजुरलाई मुक्त गरेर यहोवा परमेश्वरले आज हजुरको पक्षमा न्याय गरिदिनुभएको छ।”+ ३२ तर राजाले त्यस कुसीलाई सोधे: “के मेरो छोरा अब्सालोम कुशलै छ?” तब कुसीले जवाफ दियो: “हे मेरा प्रभु, मेरा महाराज! हजुरका सबै शत्रु अनि हजुरको विरुद्धमा उठ्ने सबै जनाको हालत त्यही जवान मानिसको जस्तै होस्!”+
३३ यो सुनेर राजा भावविह्वल भए अनि मूलढोकाको छतमा भएको कोठामा गएर रोए। तिनी यसो भन्दै रुँदै गए: “हाय! मेरो छोरा अब्सालोम! मेरो छोरा, मेरो छोरा अब्सालोम! तिम्रो सट्टामा बरु मै मरेको भए हुन्थ्यो! मेरो छोरा अब्सालोम! मेरो छोरा!”+
१९ योआबलाई यस्तो खबर दिइयो: “अब्सालोमको निम्ति राजा रोइरहनुभएको छ र शोक मनाइरहनुभएको छ।”+ २ त्यस दिनको जितको* खुसीयाली सबै मानिसको लागि शोकमा परिणत भयो। किनकि तिनीहरूले राजा आफ्ना छोराको निम्ति शोक मनाउँदै छन् भनेर सुने। ३ लडाइँमा हारेर लज्जित भएका सिपाहीहरूजस्तै त्यो दिन ती मानिसहरू पनि चुपचाप सहर फर्के।+ ४ राजाले आफ्नो अनुहार छोपेका थिए र तिनी यसो भन्दै डाँको छोडेर रोइरहेका थिए: “हाय! मेरो छोरा अब्सालोम! अब्सालोम, मेरो छोरा, मेरो छोरा!”+
५ तब योआब महलमा राजाकहाँ गए र यसो भने: “आज हजुरले आफ्ना सबै सेवकलाई लाजमा पार्नुभएको छ, जसले आज हजुरको, हजुरका छोराछोरीको+ र हजुरका पत्नीहरू अनि उपपत्नीहरूको ज्यान जोगाए।+ ६ जसले हजुरलाई घृणा गर्छन्, तिनीहरूलाई हजुर माया गर्नुहुन्छ अनि जसले हजुरलाई माया गर्छन्, तिनीहरूलाई हजुर घृणा गर्नुहुन्छ। हजुरको लागि हजुरका नाइकेहरू अनि सेवकहरू केही पनि होइनन् भन्ने कुरा आज हजुरले देखाउनुभयो। आज अब्सालोम एक जना मात्र बाँचेर हामी सबै जना मरेको भए पनि हजुरलाई कुनै फरक पर्ने रहेनछ भनेर मैले बुझेँ। ७ अब उठ्नुहोस् अनि बाहिर गएर आफ्ना सेवकहरूलाई ढाडस दिनुहोस्। यदि तपाईँ बाहिर जानुभएन भने म यहोवा परमेश्वरको नाममा कसम खाएर भन्छु, आज राती हजुरको साथमा एक जना पनि रहनेछैन। अनि हजुरले सानो छँदादेखि अहिलेसम्म जे-जस्तो दुःख भोग्नुभयो, त्योभन्दा यो झनै पीडादायी हुनेछ।” ८ त्यसैले राजा उठे र सहरको मूलढोकामा गएर बसे। अनि सबै मानिसलाई यो खबर दिइयो: “राजा मूलढोकामा बसिरहनुभएको छ।” त्यसपछि सबै मानिस राजासामु आए।
तर लडाइँमा हारेका इस्राएलीहरूचाहिँ भागेर आ-आफ्नो घर गइसकेका थिए।+ ९ इस्राएलको सबै कुलका मानिसहरू आपसमा यसो भन्दै थिए: “राजाले हामीलाई हाम्रा शत्रुहरूबाट जोगाउनुभयो।+ उहाँले हामीलाई पलिस्तियालीहरूको हातबाट बचाउनुभयो। तर उहाँ अहिले अब्सालोमको कारण देश छोडेर भाग्नुभएको छ।+ १० अनि अब्सालोम, जसलाई हामीले राजा अभिषेक गरेका थियौँ,+ तिनी लडाइँमा मरिसके।+ त्यसैले राजालाई महलमा फर्काएर ल्याउन तपाईँहरू किन केही गर्नुहुन्न?”
११ राजा दाउदले पुजारीहरू सादोक+ र अबियातारलाई+ यस्तो सन्देश पठाए: “यहुदाका नाइकेहरूकहाँ गएर भन्नुहोस्:+ ‘सारा इस्राएलीहरू राजालाई फर्काएर ल्याउन चाहन्छन् भन्ने कुरा मैले सुनेको छु। त्यसैले राजालाई महलमा फर्काएर ल्याउन तपाईँहरू किन सबैभन्दा पछि पर्नुहुन्छ? १२ तपाईँहरू त मेरा दाजुभाइ हुनुहुन्छ; तपाईँहरूसित मेरो रगतको नाता छ।* तैपनि राजालाई फर्काएर ल्याउन तपाईँहरू किन सबैभन्दा पछि पर्नुहुन्छ?’ १३ अनि अमासालाई+ यसो भन्नुहोस्: ‘के तिमीसित मेरो रगतको नाता छैन र? आजदेखि योआबको सट्टा तिमी मेरो सेनापति हुनेछौ। यदि मैले त्यसो गरिनँ भने परमेश्वरले मलाई अत्यन्तै कडा सजाय देऊन्।’”+
१४ यसरी तिनले यहुदाका सबै मानिसको मन जिते अनि सबै मानिसले एकजुट भएर राजालाई यस्तो खबर पठाए: “हजुर आफ्ना सबै सेवकलाई लिएर फर्कनुहोस्।”
१५ त्यसैले राजा फर्केर यर्दन आइपुगे। यहुदाका मानिसहरू पनि राजालाई भेट्न र तिनलाई यर्दनपारि सँगै लैजान गिलगाल आए।+ १६ बाहुरिममा बस्ने बिन्यामिनी गेराका छोरा सिमि+ पनि राजा दाउदलाई भेट्न यहुदाका मानिसहरूसँगै हतारहतार आए। १७ उनीसित १ हजार बिन्यामिनी पनि आए। साउलको घरानाका सेवक सिबा+ पनि आफ्ना १५ जना छोरा र २० जना सेवकलाई लिएर राजाभन्दा अघि नै यर्दन आइपुगेका थिए। १८ राजाको घरानालाई नदीवारि ल्याउन अनि राजाले जे हुकुम दिन्छन्, त्यसअनुसार गर्न तिनी* जँघार* तरेर पारि गए। तर राजाले यर्दन तर्नै लाग्दा गेराका छोरा सिमिचाहिँ राजासामु घोप्टो परे। १९ उनले राजालाई भने: “हे मेरा प्रभु! मेरा महाराज! मलाई दोषी नठहराउनुहोस्; हजुर यरुसलेमबाट जानुभएको दिन मैले जुन गल्ती गरेँ, त्यो बिर्सिदिनुहोस्।+ त्यो कुरा आफ्नो मनमा नराख्नुहोस्। २० किनकि हजुरको यस सेवकले आफ्नो पाप स्विकारेको छ। त्यसैले आज युसुफको सारा घरानाबाट मेरा प्रभु, मेरा महाराजलाई भेट्न म नै सबैभन्दा पहिला आएको छु।”
२१ यो सुन्नेबित्तिकै जेरुयाहका+ छोरा अबिसैले+ भने: “सिमिले यहोवा परमेश्वरका अभिषिक्त जनलाई सरापेकोले के ऊ मारिनुपर्दैन र?”+ २२ तर दाउदले भने: “ए जेरुयाहका+ छोराहरू हो, तिमीहरूको यसमा के सरोकार? तिमीहरू किन मेरो विरुद्धमा जान खोज्दै छौ? आज म इस्राएलको राजा भएको छु, त्यसैले आजको दिन इस्राएलमा कसैको ज्यान लिनु उचित होला र?” २३ त्यसपछि राजाले सिमिलाई भने: “तिमी मर्नेछैनौ।” अनि राजाले उनीसित शपथ खाए।+
२४ साउलका नाति मपिबोसेत+ पनि राजालाई भेट्न आए। राजा सहरबाट निस्केको दिनदेखि तिनी सकुशल नफर्केको दिनसम्म मपिबोसेतले आफ्नो खुट्टा धोएका थिएनन्,* जुँगा काटेका थिएनन् अनि लुगा पनि धोएका थिएनन्। २५ जब मपिबोसेत राजालाई भेट्न यरुसलेम* आए, तब राजाले उनलाई सोधे: “मपिबोसेत, तिमी किन मसित आएनौ?” २६ तब उनले राजालाई जवाफ दिए: “हे मेरा प्रभु! मेरा महाराज! हजुरको यो सेवक+ कूँजो छ भनेर हजुरलाई थाहै छ।+ मैले मेरो सेवकलाई भनेको थिएँ: ‘मेरो गधामा काठी कसिदेऊ र म त्यसमा चढेर राजासित जान्छु।’ तर उसले मलाई झुक्क्यायो। २७ उसले मेरो विषयमा हजुरलाई भए नभएको कुरा बताएर मेरो बदनाम गऱ्यो।+ हे मेरा प्रभु! मेरा महाराज! हजुर साँचो परमेश्वरको स्वर्गदूतजस्तै हुनुहुन्छ। त्यसैले हजुरलाई जे ठीक लाग्छ, त्यही गर्नुहोस्। २८ मेरा प्रभु, मेरा महाराजले चाहनुभएको भए मेरो बुबाको सारा घरानालाई नाश गर्न सक्नुहुन्थ्यो। तैपनि हजुरले यस सेवकलाई हजुरको टेबुलमा सँगै खान दिनुभयो।+ त्यसैले राजासित अरू कुराको लागि बिन्ती गर्ने के मेरो कुनै हैसियत छ र?”
२९ तर राजाले भने: “अब यस्तो कुरा नगर। तिमी र सिबाले जमिन आपसमा बाँडचुँड गर्नुपर्छ। यो नै मेरो निर्णय हो।”+ ३० तब मपिबोसेतले राजालाई भने: “उसले नै सबै लैजाओस् किनकि मेरा प्रभु, मेरा महाराज सकुशल महल फर्कनुभएको छ; यसैमा म खुसी छु।”
३१ अनि राजालाई यर्दन नदीसम्म पुऱ्याउन गिलादी बार्जिलै+ रोगेलिमबाट यर्दन आए। ३२ बार्जिलै निकै वृद्ध थिए, उनी ८० वर्ष पुगिसकेका थिए। राजा महनैममा छँदा उनले राजाको लागि खानेकुराको प्रबन्ध गरिदिएका थिए+ किनकि उनी असाध्यै धनी थिए। ३३ त्यसैले राजाले उनलाई भने: “यर्दन तरेर मसँगै यरुसलेम आउनुहोस् र त्यहाँ तपाईँले मेरो टेबुलमा मसँगै खानुहुनेछ।”+ ३४ तर बार्जिलैले राजालाई भने: “म किन यरुसलेम जानु? अब म कति नै बाँच्छु होला र! ३५ म ८० वर्ष पुगिसकेँ।+ त्यसैले अब म असल र खराब छुट्ट्याउन सक्दिनँ। आफूले खाएको वा पिएको कुराको स्वाद पनि ठम्याउन सक्दिनँ। अनि गायक-गायिकाको सुरिलो स्वर पनि सुन्न सक्दिनँ।+ त्यसैले हे मेरा प्रभु! मेरा महाराज! म तपाईँसँग गएँ भने बेकारमा तपाईँको लागि बोझ मात्र हुनेछु। ३६ तपाईँको यस सेवकले राजालाई यहाँ यर्दनसम्म ल्याउने सम्मान पाएको छ, यो नै मेरो लागि पर्याप्त छ। त्यसैले राजाले मलाई यत्ति ठूलो इनाम दिनुपर्दैन। ३७ कृपया, अब तपाईँको यस सेवकलाई फर्कने अनुमति दिनुहोस्। म आफ्नै सहरमा मर्न चाहन्छु, जहाँ मेरो आमाबुबाको चिहान छ।+ बरु तपाईँको यो सेवक किमहामलाई सँगै लैजानुहोस्।+ हे मेरा प्रभु! मेरा महाराज! उसलाई तपाईँसँगै यर्दनपारि लैजानुहोस् र तपाईँ उसको लागि जे गर्न चाहनुहुन्छ, त्यही गर्नुहोस्।”
३८ त्यसैले राजाले भने: “त्यसोभए किमहाम मसँगै पारि जानेछ। अनि तपाईँलाई जे ठीक लाग्छ, उसको निम्ति म त्यही गर्नेछु। तपाईँ मबाट जे चाहनुहुन्छ, म तपाईँको निम्ति त्यही गरिदिनेछु।” ३९ त्यसपछि सबै मानिसले यर्दन तर्न थाले। यर्दन तर्नुअघि राजाले बार्जिलैलाई म्वाइँ खाए+ र उनलाई आशिष् दिए। त्यसपछि बार्जिलै आफ्नो घर फर्के। ४० राजा यर्दन तरेर गिलगाल जाँदा+ किमहाम पनि तिनीसितै आए। यहुदाका सबै मानिस र इस्राएलका मानिसहरूमध्ये आधाले राजालाई यर्दनवारि ल्याए।+
४१ तब इस्राएलका सबै मानिस राजाकहाँ आएर तिनलाई भने: “यहुदाका यी मानिसहरूले, हाम्रै दाजुभाइले किन हामीलाई थाहै नदिई राजा, राजाका घराना र उहाँका मानिसहरूलाई यर्दनवारि ल्याए?”+ ४२ यहुदाका सबै मानिसले इस्राएलका मानिसहरूलाई यस्तो जवाफ दिए: “किनभने उहाँ हाम्रो नातेदार हुनुहुन्छ।+ तपाईँहरू किन यसरी रिसाउनुहुन्छ? के हामीले राजाले दिनुभएको केही खाएका छौँ र? अथवा हामीले उहाँबाट कुनै उपहार लिएका छौँ र?”
४३ तर इस्राएलका मानिसहरूले यहुदाका मानिसहरूलाई भने: “हामीसित १० वटा कुल छन्। त्यसैले राजा दाउदमाथि तपाईँहरूको भन्दा हाम्रो बढी हक लाग्छ। तैपनि तपाईँहरूले किन हामीलाई तुच्छ ठान्नुभयो? राजालाई फर्काएर ल्याउन हामी नै पहिलो हुनुपर्ने थियो, होइन र?” तैपनि यस बहसमा इस्राएलका मानिसहरूले यहुदाका मानिसहरूलाई जित्न सकेनन्।
२० बिन्यामिनको कुलमा सेबा नाम गरेको एउटा झगडालु मानिस थियो।+ ऊ बिक्रिको छोरा थियो। उसले सिङ फुकेर यसो भन्यो:+ “दाउदसित हाम्रो कुनै सरोकार छैन; यिसैको छोराले आफ्नो पैतृक सम्पत्ति आफैसित राखोस्।+ हे इस्राएली हो, तिमीहरू सबै आ-आफ्नो देवताकहाँ* फर्केर जाओ।”+ २ तब इस्राएलका सबै मानिस दाउदलाई पछ्याउन छोडेर बिक्रिको छोरा सेबाको पछि लागे।+ तर यहुदाका मानिसहरूले भने आफ्नो राजालाई छोडेनन्। तिनीहरू यर्दनदेखि यरुसलेमसम्मै राजा सँगसँगै आए।+
३ जब राजा दाउद यरुसलेममा आफ्नो महलमा आइपुगे,+ तब उनले महलको हेरविचार गर्न छोडिराखेका आफ्ना १० जना उपपत्नीलाई एउटा घरमा राखे र त्यस घरमा पहरा राखिदिए।+ उनले उनीहरूको लागि खानेकुराको प्रबन्ध गरिदिए तर उनीहरूसँग यौनसम्बन्ध राखेनन्।+ उनीहरू आफ्नो जीवनभरि त्यस घरमा थुनिए। आफ्नो पति जिउँदो हुँदाहुँदै उनीहरूले विधवाको जस्तो जीवन बिताउनुपऱ्यो।
४ तब राजाले अमासालाई+ यस्तो आदेश दिए: “तीन दिनभित्र यहुदाका मानिसहरूलाई मेरो अगाडि भेला गराउनू अनि तिमी पनि यहाँ हाजिर हुनू।” ५ त्यसैले अमासा यहुदाका मानिसहरूलाई भेला गराउन गए तर तिनी राजाले तोकेको समयभित्र आइपुगेनन्। ६ त्यसपछि दाउदले अबिसैलाई+ भने: “बिक्रिको छोरा सेबाले+ हामीलाई अब्सालोमले भन्दा धेरै हानि पुऱ्याउन सक्छ।+ त्यसैले मेरा* सेवकहरूलाई लिएर उसलाई खेद्न जाऊ। नत्र त ऊ बलिया-बलिया किल्ला भएको कुनै सहरमा जाला र हाम्रो हातबाट उम्केला।” ७ त्यसैले योआबका+ मानिसहरू, कराथीहरू र पेलेथीहरू*+ अनि सबै वीर पुरुष उसको* पछिपछि लागे। तिनीहरू बिक्रिका छोरा सेबालाई खेद्न यरुसलेमबाट निस्के। ८ जब तिनीहरू गिबोनमा भएको ठूलो चट्टाननजिकै आइपुगे,+ तब अमासा+ तिनीहरूलाई भेट्न आए। त्यसबेला योआबले सैन्य पोसाक लगाएका थिए र कम्मरमा तरबार भिरेका थिए। जब तिनी अघि बढे, तब तिनको तरबार म्यानबाट झऱ्यो।
९ योआबले अमासालाई भने: “हे मेरो भाइ, तिम्रो हालखबर के छ?” तब तिनले अमासालाई म्वाइँ खान लागेजस्तो गरेर आफ्नो दायाँ हातले उनको दाह्री समाते। १० योआबको हातमा तरबार छ भनेर अमासालाई यादै भएन। योआबले उनको भुँडीमा तरबार घोपिदिए+ र उनको आन्द्राभुँडी निस्केर भुईँमा छताछुल्ल भयो। योआबले अमासालाई दुई पटक घोप्नै परेन; उनलाई मार्न एउटै प्रहार काफी थियो। त्यसपछि योआब र तिनका दाइ अबिसै बिक्रिको छोरा सेबालाई खेद्न गए।
११ योआबका जवान मानिसहरूमध्ये एक जनाले अमासाको छेउमा उभिएर यसो भन्न थाले: “योआब र दाउदको पक्षमा हुनेहरू सबै योआबको पछि लागून्!” १२ त्यसबेला अमासा बाटोको बीचमा रगतमा लतपतिएर छटपटाइरहेका थिए। त्यो बाटो भएर जाने सबै मानिस अमासालाई देखेर रोकिन्थे। त्यसैले त्यस जवान मानिसले अमासालाई बाटोबाट हटाएर नजिकैको मैदानमा लगे। त्यसपछि तिनले अमासालाई कपडाले छोपिदिए। १३ तिनले अमासालाई बाटोबाट हटाइसकेपछि सबै मानिस बिक्रिको छोरा सेबालाई खेद्न योआबको पछिपछि लाग्न थाले।+
१४ सेबा इस्राएलका सबै कुलको इलाका हुँदै बेथ-माकाहको+ हाबिल भन्ने सहरमा गए। तब बिक्रिको घरानाका मानिसहरू पनि जम्मा भएर सेबासँगै गए।
१५ योआब र तिनका मानिसहरू बेथ-माकाहको हाबिलमा आए र त्यसलाई घेरा हाले। त्यस सहरको पर्खालको वरिपरि सुरक्षाको लागि माटोको अर्को पर्खाल थियो। त्यसैले तिनीहरूले त्यस सहरविरुद्ध घेरा-मचान* खडा गरे। अनि योआबका सबै मानिसले सहरको पर्खाल भत्काउन त्यसको मुनिपट्टि खन्न थाले। १६ तब एउटी बुद्धिमती स्त्री सहरको पर्खालबाट यसो भनेर कराइन्: “हे मानिसहरू हो, सुन्नुहोस्! बिन्ती छ, योआबलाई बोलाउनुहोस्। म उहाँसित कुरा गर्न चाहन्छु।” १७ त्यसैले योआब ती स्त्रीको नजिकै गए। ती स्त्रीले सोधिन्: “के तपाईँ योआब हुनुहुन्छ?” तिनले भने: “हो, म नै योआब हुँ।” त्यसपछि ती स्त्रीले तिनलाई भनिन्: “तपाईँकी यस दासीको कुरा सुन्नुहोस्।” तिनले भने: “भन, म सुन्दै छु।” १८ ती स्त्रीले भनिन्: “पहिले-पहिले मानिसहरू यसो भन्ने गर्थे, ‘कुनै मामिलामा सल्लाह चाहियो भने हाबिल जानू अनि मामिला सुल्झनेछ।’ १९ म इस्राएलका शान्तिप्रिय र वफादार मानिसहरूको तर्फबाट कुरा गर्दै छु। तपाईँ इस्राएलको एउटा प्रमुख सहरलाई* नाश गर्न खोज्दै हुनुहुन्छ। तपाईँ किन यहोवा परमेश्वरको सम्पत्तिलाई सर्वनाश गर्न चाहनुहुन्छ?”+ २० योआबले भने: “यसलाई नाश गर्ने र यसको नामोनिसान मेटाउने कुरा म सोच्न समेत सक्दिनँ। २१ म त्यसो गर्न यहाँ आएको होइनँ। वास्तवमा कुरा के हो भने एप्रैमको पहाडी इलाकामा+ बस्ने बिक्रिको छोरा सेबा+ राजा दाउदविरुद्ध खडा भएको छ। अनि ऊ तिमीहरूको सहरमा घुसेको छ। उसलाई हाम्रो हातमा सुम्पिदेऊ र म यस सहरलाई घेर्न छोड्नेछु।” तब ती स्त्रीले योआबलाई भनिन्: “हुन्छ, उसको टाउको पर्खालबाहिर तपाईँकहाँ फ्याँकिनेछ!”
२२ अनि ती बुद्धिमती स्त्री तुरुन्तै सहरभित्र मानिसहरूकहाँ गइन्। तिनीहरूले बिक्रिको छोरा सेबाको टाउको काटेर योआबकहाँ फ्याँकिदिए। त्यसपछि योआबले सिङ फुके र सबै मानिस सहरलाई घेर्न छोडेर आ-आफ्नो घर फर्के।+ योआबचाहिँ यरुसलेममा राजाकहाँ गए।
२३ योआब इस्राएलको पूरै सेनाका सेनापति थिए।+ यहोयादाका+ छोरा बेनायाह+ कराथीहरू र पेलेथीहरूका कप्तान थिए।+ २४ जबरजस्ती काममा जोताइएकाहरूको निरीक्षण गर्न अदोरामलाई+ खटाइएको थियो। अहिलुदका छोरा यहोसापात लेखनदास थिए।+ २५ सेभा सचिव थिए अनि सादोक+ र अबियातार+ पुजारीहरू थिए। २६ याइरको घरानाका इराचाहिँ दाउदका मुख्य मन्त्री* थिए।
२१ दाउदको शासनकालमा तीन वर्षसम्म अनिकाल पऱ्यो।+ त्यसैले उनले यहोवा परमेश्वरसित सल्लाह मागे। यहोवा परमेश्वरले यसो भन्नुभयो: “साउल र तिनको घराना हत्याको दोषी छ किनकि तिनले गिबोनीहरूलाई मारेका थिए।”+ २ त्यसैले राजाले गिबोनीहरूलाई बोलाए+ र उनीहरूसित कुरा गरे। (गिबोनीहरू इस्राएली थिएनन्। उनीहरू बाँकी रहेका एमोरीहरू थिए।+ इस्राएलीहरूले उनीहरूलाई जिउँदै छोड्ने शपथ खाएका थिए+ तर साउलले इस्राएलीहरू र यहुदीहरूको खातिर जोसमा आएर गिबोनीहरूलाई नाश गर्न खोजेका थिए।) ३ दाउदले गिबोनीहरूलाई भने: “म तिमीहरूको निम्ति के गरूँ? मैले यस पापको प्रायश्चित कसरी गरेँ भने यहोवा परमेश्वरका मानिसहरूले* आशिष् पाऊन् भनी तिमीहरूले प्रार्थना गर्नेछौ?” ४ त्यसपछि गिबोनीहरूले दाउदलाई भने: “साउल र तिनको घरानाले हामीलाई जे गरेका छन्, त्यसको क्षतिपूर्ति सुन वा चाँदीले हुन सक्दैन।+ तर हामीसित इस्राएलमा कसैलाई मार्ने अधिकार पनि छैन।” तब दाउदले भने: “तिमीहरू जे भन्छौ, त्यो म तिमीहरूको निम्ति गर्नेछु।” ५ उनीहरूले राजालाई भने: “जसले हामीलाई नाश गऱ्यो र हामी इस्राएलीहरूको इलाकामा कतै पनि बस्न नसकौँ भनेर हाम्रो नामोनिसान मेटाउने षड्यन्त्र रच्यो,+ ६ त्यस मानिसका सात जना छोरालाई हाम्रो हातमा सुम्पिदिनुहोस्। हामी तिनीहरूको लास यहोवा परमेश्वरसामु गिबाहमा+ झुन्ड्याइदिनेछौँ,+ जुन यहोवा परमेश्वरको चुनिएका जन साउलको सहर हो।”+ तब राजाले उनीहरूलाई भने: “हुन्छ, म तिनीहरूलाई तिमीहरूको हातमा सुम्पनेछु।”
७ तर राजाले साउलका नाति, जोनाथनका छोरा मपिबोसेतलाई भने दया देखाए+ किनकि दाउदले यहोवा परमेश्वरसामु साउलका छोरा जोनाथनसित शपथ खाएका थिए।+ ८ त्यसैले राजाले साउलका दुई जना छोरा अर्मोनि र मपिबोसेतलाई लिए, जसलाई अय्याकी छोरी रिज्पाहले जन्माएकी थिइन्।+ साथै तिनले साउलकी छोरी मिकलका*+ पाँच जना छोरालाई पनि लिए, जसलाई मिकलले मेहोलाथी बार्जिलैका छोरा अद्रिएलबाट+ जन्माएकी थिइन्। ९ त्यसपछि राजाले तिनीहरूलाई गिबोनीहरूको हातमा सुम्पिदिए। गिबोनीहरूले तिनीहरूलाई मारे र तिनीहरूको लास यहोवा परमेश्वरसामु डाँडामा झुन्ड्याइदिए।+ यसरी ती सात जना एकसाथ मरे। तिनीहरू फसलको समयको सुरुतिर अर्थात् जौ कटनीको सुरुतिर मारिएका थिए। १० तब अय्याकी छोरी रिज्पाहले+ भाङ्ग्रा लिइन् र चट्टानमा बिछ्याएर त्यसमाथि बसिन्। तिनी फसलको समयको सुरुदेखि ती लासहरूमाथि आकाशबाट पानी नपरेको दिनसम्म त्यहीँ बसिन्। तिनले दिउँसो आकाशका चराचुरुङ्गीलाई ती लासहरूमाथि आएर बस्न दिइनन् अनि राती जङ्गली जनावरहरूलाई ती लासहरूको छेउमा आउन दिइनन्।
११ अय्याकी छोरी, साउलकी उपपत्नी रिज्पाहले गरेको यस कामबारे दाउदलाई बताइयो। १२ तब उनी गएर याबेस-गिलादका+ नाइकेहरूबाट* साउल र तिनका छोरा जोनाथनका हड्डीहरू ल्याए। पलिस्तियालीहरूले गिल्बोमा साउललाई मारेपछि साउल र जोनाथनको लास बेथ-सानको चोकमा झुन्ड्याइदिएका थिए। अनि याबेस-गिलादका नाइकेहरूले साउल र जोनाथनको लास चोरेर लगेका थिए।+ १३ दाउदले याबेस-गिलादबाट साउल र जोनाथनका हड्डीहरू ल्याए। तिनीहरूले ती मारिएका मानिसहरूको हड्डी पनि जम्मा गरे।+ १४ त्यसपछि तिनीहरूले साउल र तिनका छोरा जोनाथनका हड्डीहरू साउलको बुबा किसको चिहानमा+ गाडिदिए, जुन बिन्यामिनीहरूको इलाकाको जेला भन्ने ठाउँमा थियो।+ राजाले जे-जे आज्ञा दिएका थिए, तिनीहरूले ती सबै गरिसकेपछि परमेश्वरले तिनीहरूको बिन्ती सुन्नुभयो र देशलाई आशिष् दिनुभयो।+
१५ फेरि एक पटक पलिस्तियालीहरू र इस्राएलीहरूबीच लडाइँ भयो।+ दाउद र उनका सेवकहरू गएर पलिस्तियालीहरूसित लडाइँ गरे। अनि दाउद साह्रै थाके। १६ रेफाई वंशको+ इस्बि-बनोब नाम गरेको एक जना पलिस्तियाली थियो। इस्बि-बनोबको तामाको भालाको तौल ३०० शेकेल* थियो+ र उसले नयाँ तरबार भिरेको थियो। उसले दाउदलाई मार्न खोज्यो। १७ तब जेरुयाहका छोरा अबिसै+ दाउदलाई मदत गर्न तुरुन्तै आए+ र त्यस पलिस्तियालीलाई प्रहार गरेर मारे। त्यतिबेला दाउदका मानिसहरूले यस्तो शपथ खाए: “अबदेखि हामी तपाईँलाई हामीसँग लडाइँमा आउन दिनेछैनौँ!+ इस्राएलको दियो निभ्नु उचित होइन!”+
१८ केही समयपछि इस्राएलीहरू र पलिस्तियालीहरूबीच गोबमा फेरि लडाइँ भयो।+ त्यस लडाइँमा हुसाही सिब्बकैले+ साप नाम गरेको पलिस्तियालीलाई मारे, जो रेफाई वंशको थियो।+
१९ इस्राएलीहरू र पलिस्तियालीहरूबीच फेरि गोबमा लडाइँ भयो।+ त्यस लडाइँमा बेतलेहेममा बस्ने यारे-ओरगिमका छोरा एल्हानानले गाथका गोल्यतलाई मारे। गोल्यतको भालाको बिँड कपडा बुन्ने तानको डन्डाजत्रै ठूलो थियो।+
२० इस्राएलीहरू र पलिस्तियालीहरूबीच गाथमा फेरि लडाइँ भयो। त्यहाँ एउटा अजङ्गको पलिस्तियाली थियो, जसको दुइटै हात र दुइटै खुट्टामा छ-छ वटा औँला थिए। उसको हात र खुट्टामा जम्मा २४ वटा औँला थिए। ऊ पनि रेफाई वंशकै थियो।+ २१ उसले इस्राएलीहरूको खिसी गरिरह्यो।+ त्यसैले दाउदका दाइ सिमिका+ छोरा जोनाथनले उसलाई मारे।
२२ रेफाई वंशका यी चार पलिस्तियाली गाथमा बस्थे। तिनीहरू दाउद र तिनका सेवकहरूको हातबाट मारिए।+
२२ यहोवा परमेश्वरले दाउदलाई उनका सबै शत्रु र साउलको हातबाट+ छुटाउनुभएको दिन+ उनले यहोवा परमेश्वरको निम्ति गीत गाए।+ २ उनले यसरी गाए:
“यहोवा मेरो पहरा र मेरो किल्ला हुनुहुन्छ,+ मलाई छुटकारा दिने परमेश्वर।+
३ मेरा परमेश्वर मेरो चट्टान हुनुहुन्छ,+ म उहाँमै शरण लिन्छु;
मेरो ढाल+ र मेरो उद्धारको सिङ,* मेरो शरणस्थान,*+
मेरा उद्धारक,+ म भागेर जाने ठाउँ तपाईँ नै हुनुहुन्छ;+ तपाईँ मलाई हिंस्रक मानिसहरूबाट जोगाउनुहुन्छ।
४ म यहोवालाई पुकार्छु, उहाँ प्रशंसाको योग्य हुनुहुन्छ,
उहाँ मलाई शत्रुहरूको हातबाट छुटाउनुहुन्छ।
७ आपत्मा पर्दा मैले यहोवालाई गुहारेँ,+
मैले मेरा परमेश्वरलाई पुकारिरहेँ।
उहाँले आफ्नो मन्दिरबाट मेरो स्वर सुन्नुभयो,
मेरो गुहार उहाँको कानसम्मै पुग्यो।+
८ पृथ्वी बेसरी काँप्न र हल्लिन थाल्यो;+
उहाँ रिसाउनुभएकोले आकाशका जगहरू डगमगाए+
र यताउता हल्लिन थाले।+
९ उहाँको नाकको पोराबाट धुवाँ निस्कियो;
उहाँको मुखबाट दनदनी बलेको आगो निस्कियो;+
बलिरहेको भुङ्ग्रो उहाँबाट निस्कियो।
११ उहाँ करूबमाथि* सवार भएर उड्दै आउनुभयो।+
स्वर्गदूतको* पखेटामा उहाँ देखा पर्नुभयो।+
१२ उहाँले आफूवरपर अन्धकारलाई पालजस्तै फिँजाउनुभयो;
मडारिएको कालो बादलले आफैलाई ढाक्नुभयो।+
१३ उहाँसामु बिजुली चम्कियो र त्यसबाट बलिरहेको भुङ्ग्रो निस्कियो।
१५ उहाँले काँडहरू बर्साउनुभयो+ र शत्रुहरूलाई तितरबितर पार्नुभयो;
बिजुली चम्काएर तिनीहरूलाई अलमलमा पार्नुभयो।+
१६ यहोवाको हप्काइले गर्दा,
उहाँको नाकबाट निस्केको सासको वेगले गर्दा+
समुद्रको पिँध देखियो र धर्तीका जगहरू उदाङ्ग भए।+
१७ उहाँले माथिबाट आफ्नो हात पसार्नुभयो
अनि मलाई च्याप्प समातेर गहिरो सागरबाट निकाल्नुभयो।+
१८ उहाँले मलाई मेरो बलवान् शत्रुको हातबाट छुटाउनुभयो;+
मलाई घृणा गर्नेहरूको हातबाट, जो मभन्दा धेरै बलिया थिए।
१९ म आपत्मा परेको दिन तिनीहरू मलाई आक्रमण गर्न आए+
तर यहोवा मेरो साथमा हुनुहुन्थ्यो।
२२ किनकि म यहोवाको मार्गमा हिँडेको छु,
दुष्ट भएर मेरा परमेश्वरलाई मैले त्यागेको छैनँ।
२६ वफादारप्रति तपाईँ वफादार हुनुहुन्छ;+
निष्कपट मानिससित तपाईँ निष्कपट भई व्यवहार गर्नुहुन्छ।+
२७ इमानदारसित तपाईँ इमानदार देखा पर्नुहुन्छ+
तर कुटिलसित भने तपाईँ चतुर हुनुहुन्छ।+
२८ नम्रहरूलाई तपाईँ जोगाउनुहुन्छ+
तर हठीहरूलाई तुच्छ दृष्टिले हेर्नुहुन्छ; तपाईँ तिनीहरूलाई तिरस्कार गर्नुहुन्छ।+
३० तपाईँको मदतले म डाँकुहरूमाथि जाइलाग्न सक्छु;
तपाईँको शक्तिले म पर्खाल नाघ्न सक्छु।+
उहाँमा शरण लिने सबैका लागि उहाँ ढाल हुनुहुन्छ।+
३२ यहोवाबाहेक अरू को परमेश्वर छ?+
हाम्रा परमेश्वरजस्तो चट्टान अरू को छ?+
३४ उहाँले मेरा खुट्टा मृगको जस्तै बनाउनुहुन्छ;
उहाँ मलाई अग्ला ठाउँहरूमा उभिन लगाउनुहुन्छ।+
३५ उहाँ मेरा हातलाई युद्ध गर्न सिकाउनुहुन्छ;
मेरा हातले तामाको धनुमा ताँदो चढाउन सक्छ।
३६ तपाईँ मलाई उद्धारको ढाल दिनुहुन्छ;
तपाईँको नम्रताले मेरो मान बढाएको छ।+
३७ तपाईँले मेरो बाटो चौडा पारिदिनुभएको छ,
मेरा खुट्टा चिप्लँदैनन्।+
३८ म मेरा शत्रुहरूलाई खेद्नेछु र तिनीहरूलाई नाश गर्नेछु;
तिनीहरूको नामोनिसान नमेटेसम्म म फर्कनेछैनँ।
३९ म तिनीहरूको नामोनिसान मेटाउनेछु र तिनीहरूलाई धुलोपिठो पार्नेछु;
तिनीहरू फेरि उठ्न सक्नेछैनन्;+
म तिनीहरूलाई कुल्चीमिल्ची गर्नेछु।
४० तपाईँ मलाई बल दिएर लडाइँको लागि तयार पार्नुहुन्छ;+
मेरा शत्रुहरूलाई मेरो सामुन्ने ढालिदिनुहुन्छ।+
४२ तिनीहरू गुहार माग्छन् तर तिनीहरूलाई बचाउने कोही छैन;
तिनीहरू यहोवालाई समेत पुकार्छन् तर उहाँ तिनीहरूको पुकारा सुन्नुहुन्न।+
४३ म तिनीहरूलाई कुल्चीमिल्ची गरेर जमिनको धुलोजस्तै बनाइदिनेछु;
म तिनीहरूलाई धुलोपिठो पार्नेछु र बाटोको हिलोलाई जस्तै कुल्चनेछु।
४४ ममा दोष खोज्ने मेरा मानिसहरूबाट तपाईँ मलाई जोगाउनुहुन्छ।+
जातिजातिको अगुवा बनाउन तपाईँ मलाई सुरक्षित राख्नुहुन्छ।+
मैले चिन्दै नचिनेका मानिसहरूले मेरो सेवा गर्नेछन्।+
४५ विदेशीहरू डरले काँप्दै मसामु आउनेछन्।+
मेरो बारेमा सुनेको कुराले गर्दा तिनीहरूले मेरो आदेश पालन गर्नेछन्।
४६ तिनीहरूले हिम्मत हार्नेछन्;*
तिनीहरू थरथर काँप्दै आफ्नो किल्लाबाट निस्कनेछन्।
४७ यहोवा जीवित हुनुहुन्छ! मेरा चट्टानको प्रशंसा होस्!+
मेरा परमेश्वर, मेरो उद्धार गर्ने मेरा चट्टानको जयजयकार गरियोस्।+
४८ साँचो परमेश्वरले मेरो निम्ति साटो फेर्नुहुन्छ;+
जातिजातिका मानिसहरूलाई मेरो अधीनमा राख्नुहुन्छ।+
४९ उहाँ मलाई शत्रुहरूबाट बचाउनुहुन्छ।
५० त्यसैले हे यहोवा, जातिजातिका मानिसहरूबीच म तपाईँलाई धन्यवाद चढाउँछु।+
म तपाईँको नामको स्तुति गाउँछु।+
५१ आफ्नो राजाको उद्धार गर्न उहाँ ठूलठूला कामहरू गर्नुहुन्छ;*+
आफ्नो अभिषिक्त जन दाउद र तिनको सन्तानलाई
उहाँ सदासदा अटल प्रेम देखाउनुहुन्छ।”+
२३ दाउदका अन्तिम शब्दहरू यी हुन्:+
“यो यिसैका छोरा दाउदको वचन हो,+
त्यस मानिसको वचन, जसलाई उच्च पारिएको थियो,+
जो याकुबका परमेश्वरका अभिषिक्त जन हुन्,+
जो इस्राएलका सुरिला गायक हुन्।+
३ इस्राएलका परमेश्वर बोल्नुभयो;
इस्राएलका चट्टानले मलाई भन्नुभयो:+
‘जब मानिसहरूको शासक धर्मी हुन्छ+
र उसले परमेश्वरको डर मान्दै शासन गर्छ,+
४ तब उसको शासन सूर्य उदाउँदाको उज्यालोजस्तै हुन्छ,+
बादल नभएको बिहानीजस्तै।
उसको शासन पानी परेपछिको उज्यालोजस्तै हुन्छ,
जसले गर्दा जमिनमा घाँस उम्रन्छ।’+
५ के परमेश्वरसामु मेरो घराना पनि त्यस्तै छैन र?
किनकि उहाँले मसित सदाको लागि करार गर्नुभएको छ,+
जसको हरेक पक्ष राम्ररी तयार पारिएको छ, जुन कहिल्यै तोडिनेछैन।
त्यस करारले पूर्ण रूपमा मेरो उद्धार गर्नेछ र मलाई सारा खुसी दिनेछ।
उहाँले मेरो घरानाको फलिफाप गराउनुको कारण के यही होइन र?+
६ तर निकम्मा मानिसहरू काँडेझारजस्तै फ्याँकिन्छन्+
किनकि त्यसलाई हातले समाउन सकिँदैन।
७ कसैले त्यसलाई समाउन चाहन्छ भने
ऊसँग फलामको औजार र भाला हुनुपर्छ।
अनि त्यसलाई त्यसकै ठाउँमा आगोले भस्म गरिदिनुपर्छ।”
८ दाउदका वीर योद्धाहरूका नाम यी नै हुन्:+ तहक्मोनि योसब-बस्सेबेथ, जो तीन जना शूरवीर योद्धामध्ये प्रमुख थिए।+ एकपटक तिनले आफ्नो भालाले ८०० जनालाई मारेका थिए। ९ ती तीन जना शूरवीर योद्धामध्ये अर्काचाहिँ अहोहिका नाति दोदोका+ छोरा एलियाजार थिए।+ एकपटक जब पलिस्तियालीहरू इस्राएलीहरूसित लडाइँ गर्न भेला भएका थिए, तब ती तीन जनाले पलिस्तियालीहरूलाई हाँक दिएका थिए। त्यसबेला इस्राएलीहरू भागे १० तर एलियाजार आफ्नो ठाउँबाट पछि हटेनन्। आफ्नो हात गले पनि तिनले पलिस्तियालीहरूलाई प्रहार गर्न छोडेनन् र तिनको हात तरबारमा टाँसिएझैँ भयो।+ त्यसैले यहोवा परमेश्वरले त्यो दिन इस्राएलीहरूको ठूलो विजय गराउनुभयो।*+ त्यसपछि मानिसहरू मारिएकाहरूको मालसामान लुट्न एलियाजारको पछि लागे।
११ ती तीन जना शूरवीर योद्धामध्ये अर्काचाहिँ हारारि अगिका छोरा साम्माह थिए। एकपटक पलिस्तियालीहरू लडाइँ गर्न लेहीमा जम्मा भएका थिए, जहाँ दालको खेत थियो। त्यसबेला मानिसहरू पलिस्तियालीहरूसित डराएर भागे। १२ तर तिनी भने खेतको बीचमा खडा भए र त्यस खेतको रक्षा गरे। तिनले पलिस्तियालीहरूलाई प्रहार गरिरहे। त्यसैले यहोवा परमेश्वरले त्यो दिन इस्राएलीहरूलाई ठूलो जित हासिल गर्न मदत गर्नुभयो।*+
१३ फसलको समयमा दाउदको सेनाका ३० जना नाइकेमध्ये तीन जना अदुल्लामको गुफामा दाउदकहाँ गए।+ त्यसबेला पलिस्तियाली सेनाको एउटा टुकडी रेफाई बेँसीमा छाउनी हालेर बसेको थियो।+ १४ दाउदचाहिँ आफ्नो लुक्ने ठाउँमा थिए।+ अनि पलिस्तियालीहरूको एउटा सैन्य चौकी बेतलेहेममा थियो। १५ तब दाउदले यस्तो इच्छा व्यक्त गरे: “बेतलेहेमको मूलढोकानजिकैको इनारको पानी खान पाए हुन्थ्यो!” १६ यो सुनेर दाउदका तीन जना शूरवीर योद्धा पलिस्तियालीहरूको छाउनी हुँदै गए र बेतलेहेमको मूलढोकानजिकैको इनारबाट पानी उघाएर दाउदकहाँ ल्याए। तर तिनले त्यो पानी पिउन मानेनन्। तिनले त्यसलाई यहोवा परमेश्वरसामु खन्याइदिए।+ १७ तिनले भने: “हे यहोवा! यो पानी पिउने कुरा म सोच्न समेत सक्दिनँ! आफ्नो ज्यानको खतरा मोलेका यी मानिसहरूको रगत म कसरी पिउन सक्छु र?”+ त्यसैले तिनले त्यो पानी पिउन मानेनन्। दाउदका तीन जना शूरवीर योद्धाले गरेका कामहरू यी नै हुन्।
१८ जेरुयाहका+ छोरा, योआबका दाइ अबिसै+ अरू तीन जना योद्धाका कप्तान थिए। एकपटक तिनले आफ्नो भालाले ३०० जनालाई मारेका थिए। तिनले ती तीन जना शूरवीर योद्धाले जस्तै नाम कमाएका थिए।+ १९ हुनत तिनले अरू तीन जना योद्धाले भन्दा धेरै नाम कमाएका थिए र तिनी उनीहरूका कप्तान थिए तर तिनी सुरुका तीन जना शूरवीर योद्धाको बराबरीमा पुग्न सकेनन्।
२० यहोयादाका छोरा बेनायाह+ वीर पुरुष थिए। तिनले कब्जिलमा+ थुप्रै वीरतापूर्ण काम गरेका थिए। तिनले मोआबमा बस्ने अरिएलका दुई जना छोरालाई मारेका थिए अनि हिउँ परेको दिनमा एउटा खाडलमा छिरेर सिंहलाई मारेका थिए।+ २१ तिनले एक जना अजङ्गको मिश्रीलाई पनि मारेका थिए। त्यस मिश्रीसित भाला थियो तर तिनी भने एउटा लौरो लिएर त्यससित भिड्न गए। तिनले त्यस मिश्रीको हातबाट भाला खोसेर त्यसकै भालाले त्यसलाई मारिदिए। २२ यहोयादाका छोरा बेनायाहले यस्ता कामहरू गरेका थिए र तिनले तीन जना वीर योद्धाले जस्तै नाम कमाएका थिए। २३ हुनत तिनले तीस जना योद्धाले भन्दा धेरै नाम कमाएका थिए तर तिनी सुरुका तीन जना शूरवीर योद्धाको बराबरीमा पुग्न सकेनन्। तैपनि दाउदले तिनलाई आफ्नो अङ्गरक्षकका कप्तान बनाए।
२४ योआबका भाइ* आसाहेल+ दाउदका तीस जना वीर योद्धामध्ये एक थिए। अनि बेतलेहेममा बस्ने दोदोका छोरा एल्हानान,+ २५ हारोदी साम्माह, हारोदी एलिका, २६ पेलेती हेलेस,+ तेकोमा बस्ने इक्केसका छोरा इरा,+ २७ अनातोतमा+ बस्ने अबिएजेर,+ हुसाही मबुन्नै, २८ अहोही जाल्मोन, नेतोफाहमा बस्ने महरै,+ २९ नेतोफाहका बानाहका छोरा हेलेब, बिन्यामिनीहरूको इलाकाको गिबाहमा बस्ने रिबैका छोरा इथ्थै, ३० पिरोथोनमा बस्ने बेनायाह,+ गासका+ वादीहरूमा* बस्ने हिद्दै, ३१ अराबाहमा बस्ने अबि-अल्बोन, बाहुरिमका अज्मावेथ, ३२ सालबोनी एलियाबा, यासेनका छोराहरू, जोनाथन, ३३ हारारि साम्माह, हारारि सारारका छोरा अहिआम, ३४ माकाथमा बस्ने एक जना मानिसका छोरा आहास्बैका छोरा एलिपेलेत, गिलोहमा बस्ने अहितोपेलका+ छोरा एलिआम, ३५ कर्मेली हेज्रो, अरबी पारै, ३६ जोबाहमा बस्ने नातानका छोरा इगाल, गादी बानि, ३७ अम्मोनी जिलेक, बेरोथी नहरै, जो जेरुयाहका छोरा योआबको हतियार बोक्ने सिपाही थिए, ३८ इथ्री इरा, इथ्री+ गारेब ३९ र हित्ती उरियाह।+ दाउदका यी वीर योद्धाहरूको सङ्ख्या ३७ थियो।
२४ यहोवा परमेश्वरको क्रोध फेरि एक पटक इस्राएलीहरूमाथि दन्कियो,+ जब कसैले दाउदलाई यसो भनेर उक्सायो: “जाऊ, इस्राएल र यहुदाका मानिसहरूको+ गन्ती गर।”+ २ त्यसैले राजाले आफूसँगै भएका सेनापति योआबलाई भने:+ “मानिसहरूको सङ्ख्या कति छ, म जान्न चाहन्छु। त्यसैले दानदेखि बेर्सेबासम्म+ इस्राएलका सबै कुलको इलाकामा जाऊ र मानिसहरूको नाम दर्ता गर।” ३ तर योआबले राजालाई भने: “हे मेरा प्रभु! मेरा महाराज! तपाईँका परमेश्वर यहोवाले तपाईँका प्रजाको सङ्ख्या १०० गुणा बढाइदेऊन् र तपाईँको आफ्नै आँखाले त्यो देख्न पाओस्। तर हे महाराज! तपाईँ किन यसो गर्न चाहनुहुन्छ?”
४ तर राजाले योआब र सेनाका अरू अफिसरहरूको कुरा सुनेनन् अनि राजाको वचनसामु योआब र सेनाका अफिसरहरूको केही सीप लागेन। त्यसैले योआब र सेनाका अफिसरहरू इस्राएलका मानिसहरूको नाम दर्ता गर्न राजाको सामुन्नेबाट गए।+ ५ तिनीहरूले यर्दन तरे अनि अरोएरमा पाल टाँगे।+ तिनीहरूले बेँसीको* बीचमा भएको सहरको दायाँतिर* पाल टाँगे। त्यसपछि तिनीहरू गादीहरूको इलाकामा गए र त्यहाँबाट याजेर गए।+ ६ त्यसपछि तिनीहरू गिलाद र तहतिम-होदसीको इलाकामा गए।+ त्यहाँबाट तिनीहरू दान-यान गए र घुमेर सिदोन पुगे।+ ७ त्यसपछि तिनीहरू टायरको किल्लामा गए।+ त्यहाँबाट तिनीहरू हिव्वीहरूको+ र कनानीहरूको सबै सहरमा गए अनि अन्तमा यहुदाको नेगेबमा+ पर्ने बेर्सेबा आइपुगे।+ ८ यसरी तिनीहरू पूरै देश घुमे अनि नौ महिना, २० दिनपछि यरुसलेम आइपुगे। ९ तब योआबले राजालाई नाम दर्ता गरिएका मानिसहरूको सङ्ख्या बताइदिए। इस्राएलमा तरबार भिरेका ८ लाख योद्धा थिए भने यहुदामा ५ लाख योद्धा थिए।+
१० तर मानिसहरूको गन्ती गरिसकेपछि दाउदको अन्तस्करणले* तिनलाई साह्रै घोच्न थाल्यो।+ त्यसपछि तिनले यहोवा परमेश्वरलाई यसो भने: “मैले यो काम गरेर असाध्यै ठूलो पाप गरेँ।+ त्यसैले हे यहोवा! बिन्ती छ, आफ्नो यो सेवकलाई क्षमा दिनुहोस्।+ मैले साह्रै मूर्ख काम गरेँ।”+ ११ जब दाउद बिहान उठे, तब यहोवा परमेश्वरको वचन भविष्यवक्ता गादकहाँ आयो,+ जो दाउदका दर्शी थिए। परमेश्वरले गादलाई भन्नुभयो: १२ “जाऊ र दाउदलाई भन, ‘यहोवा यसो भन्नुहुन्छ: “म तिमीलाई के सजाय दिऊँ? यी तीन वटामध्ये एउटा छान।”’”+ १३ त्यसैले गाद दाउदकहाँ आएर यसो भने, “तपाईँ के चाहनुहुन्छ: सात वर्षसम्म देशमा अनिकाल परोस्?+ अथवा तीन महिनासम्म तपाईँका शत्रुहरूले तपाईँलाई खेदून् र तपाईँ तिनीहरूबाट भाग्नु परोस्?+ अथवा देशमा तीन दिनसम्म महामारी फैलियोस्?+ अब राम्ररी सोचविचार गर्नुहोस् र जसले मलाई पठाउनुभयो, उहाँलाई म के जवाफ दिऊँ, त्यो बताउनुहोस्।” १४ तब दाउदले गादलाई भने: “म त साह्रै सङ्कटमा परेँ। बिन्ती छ, हामीलाई यहोवा परमेश्वरकै हातमा पर्न दिनुहोस्+ किनकि उहाँ असाध्यै कृपालु हुनुहुन्छ।+ तर मलाई मानिसको हातमा पर्न नदिनुहोस्।”+
१५ त्यसपछि यहोवा परमेश्वरले इस्राएलमा महामारी पठाउनुभयो+ र त्यो महामारी बिहानदेखि तोकिएको समयसम्मै फैलिरह्यो। त्यस महामारीले गर्दा दानदेखि बेर्सेबासम्म+ ७० हजार मानिस मरे।+ १६ जब स्वर्गदूतले यरुसलेमका मानिसहरूलाई नाश गर्न त्यसतर्फ आफ्नो हात बढाए, तब यहोवा परमेश्वर त्यो विपत्ति पठाएकोमा पछुताउनुभयो।*+ मानिसहरूलाई नाश गर्ने त्यस स्वर्गदूतलाई उहाँले भन्नुभयो: “बस् भयो! अब आफ्नो हात बिसाऊ।” त्यसबेला यहोवा परमेश्वरका स्वर्गदूत यबुसी+ अरौनाको खलानजिकै थिए।+
१७ जब दाउदले मानिसहरूलाई नाश गरिरहेका त्यस स्वर्गदूतलाई देखे, तब तिनले यहोवा परमेश्वरलाई यसो भने: “पाप गर्ने त म हुँ, मैले पो गल्ती गरेको थिएँ। बिचरा यी मानिसहरूको*+ के दोष छ र? बिन्ती छ, तपाईँको हात म र मेरो बुबाको घरानामाथि नै परोस्।”+
१८ त्यसैले त्यो दिन गाद दाउदकहाँ आए र यसो भने: “जानुहोस्, यबुसी अरौनाको खलामा यहोवा परमेश्वरको निम्ति एउटा वेदी बनाउनुहोस्।”+ १९ तब यहोवा परमेश्वरले गादमार्फत आदेश दिनुभएअनुसारै दाउद त्यहाँ उक्लिए। २० जब अरौनाले राजा र तिनका सेवकहरूलाई आफूतिर आइरहेको देखे, तब उनी तुरुन्तै गए र भुईँमा घोप्टो परेर राजालाई दण्डवत् गरे। २१ अरौनाले भने: “हे मेरा प्रभु! मेरा महाराज! यस दासले हजुरको निम्ति के गरिदिएको चाहनुहुन्छ?” दाउदले भने: “मानिसहरूमाथि आइपरेको विपत्ति रोकियोस् भनेर म तिम्रो खलामा यहोवा परमेश्वरको निम्ति एउटा वेदी बनाउन चाहन्छु।+ त्यसैले तिमीसँग त्यो खला किन्न म यहाँ आएको हुँ।” २२ तर अरौनाले दाउदलाई भने: “हे मेरा प्रभु! मेरा महाराज! म हजुरलाई त्यो खला दिन्छु। अनि बलिदान चढाउन हजुरलाई जे चाहिन्छ, त्यो पनि लिनुहोस्। अग्निभेटी चढाउनका लागि यहाँ गाईवस्तु छन् अनि दाउराको लागि दाइँ गर्ने दाँदे र जुवा पनि छ। २३ म यी सब कुरा राजालाई दिन चाहन्छु।” अरौनाले राजालाई अझै यसो भने: “हजुरका परमेश्वर यहोवाले हजुरलाई आशिष् देऊन्।”
२४ तर राजाले अरौनालाई भने: “होइन, म दाम तिरेर तिमीबाट यी कुराहरू किन्नेछु। म यहोवा मेरा परमेश्वरलाई सित्तैँमा पाएको कुराको अग्निभेटी चढाउनेछैनँ।” त्यसैले दाउदले ५० शेकेल* चाँदी तिरेर खला र गाईवस्तु किने।+ २५ तब दाउदले त्यहाँ यहोवा परमेश्वरको निम्ति एउटा वेदी बनाए+ अनि अग्निभेटी र मेलबलि चढाए। त्यसपछि यहोवा परमेश्वरले देशको खातिर गरिएको बिन्ती सुन्नुभयो+ र इस्राएलमा आइपरेको विपत्ति रोकियो।
शब्दावली हेर्नुहोस्।
वा “प्रतिस्पर्धा गरून्।”
यसको अर्थ हो, “चकमक ढुङ्गाका छुरीहरूको मैदान।”
वा सम्भवतः “बिथ्रोन।”
लिङ्गको अघिल्लो भाग छोप्ने छाला।
शा., “अब्नेरले आसाहेलको रगत बगाएको हुनाले।”
वा “धागो कात्ने साधन।”
यसले लङ्गडो पुरुषलाई जनाएको हुन सक्छ, जो स्त्रीहरूले गर्ने काम गर्न बाध्य हुन्छ।
शा., “सान्त्वनाको (वा शोकको) रोटी दिनको लागि आए।”
वा “लङ्गडो।”
शा., “हामी तपाईँकै हाड र मासु हौँ।”
वा सम्भवतः “तिनले त्यसलाई दाउदनगर भन्ने नाम दिए।”
वा “मिलोमा।” यो हिब्रू शब्दको अर्थ हो, “भर्नु।”
यसको अर्थ हो, “तहसनहस पार्ने मालिक।”
शा., “बाका झाडीको।”
वा “करारको सन्दुक।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्।
वा सम्भवतः “करूबहरूको बीचमा।”
यसको अर्थ हो, “उज्जाहमाथि दन्केको क्रोध।”
यसले आलसको डाँठबाट बनेको कपडालाई जनाउँछ।
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
वा “करारको सन्दुक।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
वा “कानुन।”
वा “घुँडा पछाडिको मोटो नसो।”
वा “उद्धार गर्नुभयो।”
शा., “पवित्र पारे।”
अर्थात्, दाउदका निजी अङ्गरक्षकहरूका।
शा., “पुजारी।”
वा “अटल प्रेम।”
वा “लङ्गडो।”
वा सम्भवतः “मेरो।”
वा “तोबका मानिसहरूबाट।”
अर्थात्, वसन्त ऋतुमा।
यसले दाउदलाई जनाएको हुन सक्छ।
उनले यतिबेला महिनावारीपछि आफूलाई चोख्याइरहेको हुन सक्छ।
वा “राजाको हिस्सा।” यसको अर्थ हो, आफूले असाध्यै सम्मान गरेको पाहुनालाई दिइने हिस्सा।
वा “करारको सन्दुक।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्।
शा., “उहाँको वचनलाई।”
शा., “घरमा।”
यो नाम “शान्ति” अर्थ दिने हिब्रू शब्दबाट लिइएको हो।
यसको अर्थ हो, “याहको प्यारो।”
यसले राब्बाहको जलस्रोतलाई जनाएको हुन सक्छ।
यसले अम्मोनीहरूको एउटा देवतालाई जनाएको हुन सक्छ। अन्य ठाउँहरूमा यसलाई मोलेक वा मिल्कोम पनि भनिएको छ।
एक टालेन्ट भनेको ३४.२ किलोग्राम हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
अर्थात्, बिरामीलाई दिइने खाना।
शा., “पान आकारको रोटी।”
शा., “कुमारी।”
वा “तिनले सान्त्वना पाएका थिए।”
यसले वंश धान्ने अन्तिम आशालाई जनाउँछ।
यो महलमा प्रयोग गरिने तौल हुन सक्छ वा “शाही” शेकेल हुन सक्छ, जुन साधारणतया प्रयोग गरिने शेकेलभन्दा फरक हुन्थ्यो।
लगभग २.३ किलोग्राम। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
शा., “हृदय चोरे।”
वा सम्भवतः “४० वर्षपछि।”
वा “उपासना गर्नेछु।”
शा., “शान्तिपूर्वक जाऊ।”
अर्थात्, दाउदका निजी अङ्गरक्षकहरू।
शब्दावली हेर्नुहोस्।
पैदल नै तर्न सकिने गहिराइ कम भएको नदीको भाग।
वा “परमेश्वरलाई दण्डवत् गर्थे।”
वा “विश्वासपात्र।”
यसले अन्जिरलाई जनाउँछ तर यसमा छोहोरा पनि पर्न सक्छ।
वा “नाति।”
वा “विश्वासपात्र।”
वा “आज्ञा।”
वा सम्भवतः “मरुभूमिको मैदानमा।”
इथ्रा अबिगेलका पति थिए जस्तो देखिन्छ।
यसले दूधबाट बनेको खानेकुरालाई जनाउँछ।
वा सम्भवतः “भाला।”
वा “इथियोपियालीलाई।”
शा., “हजुरको सेवकलाई।”
वा “उद्धारको।”
शा., “म तपाईँहरूकै हाड र मासु हुँ।”
वा सम्भवतः “तिनीहरू।”
पैदल नै तर्न सकिने गहिराइ कम भएको नदीको भाग।
यहाँ चलाइएको हिब्रू अभिव्यक्तिले खुट्टाको नङ नकाटेको कुरालाई पनि जनाएको हुन सक्छ।
वा सम्भवतः “यरुसलेमबाट।”
वा सम्भवतः “पालमा।”
शा., “तिम्रो मालिकका।”
अर्थात्, दाउदका निजी अङ्गरक्षकहरू।
यसले अबिसैलाई जनाएको हुन सक्छ।
शत्रुपक्षको पर्खालमा टाँसेर बनाइने ढिस्को।
शा., “इस्राएलमा आमाजस्तै सहर।”
शा., “पुजारी।”
शा., “सम्पत्तिले।”
वा सम्भवतः “मेराबका।”
वा सम्भवतः “जग्गाधनीहरूबाट।”
लगभग ३.४२ किलोग्राम। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
वा “अग्लो किल्ला।”
हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
वा “बतासको।”
वा “फराकिलो ठाउँमा।”
शब्दावली हेर्नुहोस्।
शा., “सफा।”
वा “आगोले खारिएको।”
वा “तिनीहरू बिलाएर जानेछन्।”
वा “आफ्नो राजालाई उहाँ ठूलठूला युद्ध जिताउनुहुन्छ।”
वा “इस्राएलीहरूलाई ठूलो उद्धार दिनुभयो।”
वा “उद्धार दिनुभयो।”
हिब्रू भाषामा आसाहेल योआबका दाइ हुन् कि भाइ हुन् भनी खुलाइएको छैन।
वा “बेँसीहरूमा।” शब्दावलीमा “वादी” हेर्नुहोस्।
वा “वादीको।” शब्दावलीमा “वादी” हेर्नुहोस्।
वा “दक्षिणतिर।”
वा “विवेकले।” शा., “हृदयले।”
वा “दुःखित हुनुभयो।”
शा., “भेडाहरूको।”
एक शेकेल भनेको ११.४ ग्राम हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।