एस्तर
१ यो राजा आहासुरसको* शासनकालमा घटेका घटनाहरूको विवरण हो। यी तिनै आहासुरस हुन्, जसले भारतदेखि इथियोपियासम्म* १२७ वटा प्रान्तमा शासन गरेका थिए।+ २ त्यसबेला राजा आहासुरसले सुसन*+ नाम गरेको किल्लाबाट* शासन गर्थे। ३ तिनले आफ्नो शासनकालको तेस्रो वर्षमा आफ्ना सबै भारदार र सेवकहरूका निम्ति एउटा भोज लगाए। फारस+ र मादीका+ सेनापतिहरू, गण्यमान्य मानिसहरू अनि प्रान्तहरूका राज्यपालहरू तिनीकहाँ आए। ४ तब राजाले तिनीहरूलाई धेरै दिनसम्म—१८० दिनसम्म आफ्नो गौरवशाली राज्यको धनसम्पत्ति अनि आफ्नो शान, वैभव र ऐश्वर्य देखाए। ५ जब ती १८० दिन पूरा भए, तब राजाले सुसन किल्लामा आएका सानादेखि ठूला ओहदाका सबै मानिसलाई सात दिनसम्म भोज दिए। त्यो भोज महलको बगैँचामा लगाइएको थियो। ६ त्यस बगैँचालाई मलमल,* उच्चकोटिको सुती र निलो कपडाका पर्दाहरूले सजाइएको थियो। ती पर्दाहरूमा उच्चकोटिको मलमलका फित्ताहरू गाँसिएका थिए र ती फित्ताहरूलाई बैजनी रङ्गको ऊनको डोरीमा झुण्ड्याइएको थियो। त्यस डोरीलाई सङ्गमर्मरका खम्बाहरूमा जडिएका चाँदीका कुण्डलहरूमा बाँधिएको थियो। त्यहाँ सुन र चाँदीका आसनहरू राखिएका थिए अनि भुईँमा लाल पत्थर, सङ्गमर्मर, मोती र कालो सङ्गमर्मर बिछ्याइएको थियो।
७ पाहुनाहरूलाई सुनका प्यालामा मद्य टक्य्राइयो। हरेक प्याला अर्को प्यालाभन्दा फरक थियो। त्यस भोजमा प्रशस्त मात्रामा मद्यको प्रबन्ध मिलाइएको थियो; त्यत्ति धेरै मद्य त राजाले मात्रै दिन सक्थे। ८ त्यस भोजको लागि तोकिएको नियमअनुसारै कसैले कसैलाई मद्य पिउन जबरजस्ती* गरेन। हरेकलाई आफ्नो इच्छाअनुसार पिउन दिनू भनी राजाले आफ्ना महलका अफिसरहरूलाई हुकुम गरेका थिए।
९ रानी वस्तीले+ पनि राजा आहासुरसको शाही भवनमा* स्त्रीहरूको निम्ति भोज लगाइन्।
१० सातौँ दिनमा जब राजा आहासुरस मद्य पिएर मस्त भएका थिए, तब तिनले महुमान, बिज्था, हार्बोना,+ बिग्था, अबग्था, जेथार र कर्कसलाई एउटा आदेश दिए। दरबारका यी सात जना अफिसर राजाका खास सेवकहरू थिए। ११ रानी वस्तीलाई शाही शिरपोस लगाएर राजासामु हाजिर हुनू भन्ने आदेश तिनले उनीहरूलाई दिए। रानी वस्ती असाध्यै सुन्दरी भएकीले तिनी मानिसहरू र भारदारहरूसामु उनको सौन्दर्य देखाउन चाहन्थे। १२ तर रानी वस्तीले राजासामु हाजिर हुन इन्कार गरिरहिन्; राजाले दरबारका अफिसरहरूमार्फत दिएको आदेश उनले पालन गरिनन्। त्यसैले राजालाई रिस उठ्यो र तिनी क्रोधित भए।
१३ त्यसपछि राजाले आफ्ना बुद्धिमान् मानिसहरूसित यस विषयमा सरसल्लाह गरे, जससित पहिले-पहिले भएका यस्तै खालका घटनाहरूबारे राम्रो ज्ञान थियो। (राजा यसरी नै कानुन र मुद्दामामिलामा पोख्त मानिसहरूसामु आफ्ना मामिलाहरू राख्ने गर्थे। १४ तिनीहरूमध्ये राजासँग सबैभन्दा घनिष्ठ चाहिँ यी थिए: कर्सना, सेथार, अद्माथा, तर्सिस, मरेस, मर्सेना र ममुकान। फारस र मादीका यी सात जना भारदार+ राज्यमा सबैभन्दा उच्च ओहदामा थिए र नियमित रूपमा राजासामु उपस्थित हुन्थे।) १५ राजाले तिनीहरूलाई सोधे: “म, राजा आहासुरसले दरबारका अफिसरहरूमार्फत दिएको आदेश रानी वस्तीले पालन गरिनन्। अब उनलाई कस्तो कारबाही गर्नुपर्ला? कानुनले के भन्छ?”
१६ तब ममुकानले राजा र भारदारहरूसामु यसो भने: “रानी वस्तीले केवल राजाविरुद्ध अपराध गर्नुभएको होइन।+ बरु उहाँले सबै भारदार र राजा आहासुरसका सम्पूर्ण प्रान्तमा बसोबास गर्ने सबै मानिसविरुद्ध अपराध गर्नुभएको हो। १७ किनभने रानीले जे गर्नुभयो, त्यसबारे पछि सबै स्त्रीले थाह पाउनेछन्। अनि उनीहरूले पनि आफ्ना पतिलाई हेप्न थाल्नेछन् र यसो भन्नेछन्: ‘राजा आहासुरसले आफूसामु आउने आदेश दिँदा रानी वस्तीले पनि त उहाँको आदेश पालन गरेकी थिइनन्।’ १८ फारस र मादीका भारदारहरूका पत्नीहरू, जसले रानीको यस्तो व्यवहारबारे थाह पाएका छन्, उनीहरूले पनि आजै आफ्ना पतिहरूसित त्यसरी नै कुरा गर्नेछन्। उनीहरूले आफ्ना पतिको अनादर गर्नेछन् र परिणामस्वरूप उनीहरूका पतिहरू रिसले आगो हुनेछन्। १९ त्यसैले यदि राजालाई उचित लाग्छ भने वस्ती फेरि कहिल्यै राजासामु आउन नपाओस् भनेर एउटा शाही उर्दी जारी गर्नुहोस् अनि त्यसलाई फारस र मादीको कानुनमा पनि लेख्न लगाउनुहोस् ताकि त्यसलाई कसैले पनि रद्द गर्न नसकोस्।+ साथै राजाले वस्तीभन्दा योग्य एउटी स्त्री खोज्नुहोस् र उनैलाई वस्तीको सट्टा रानी बनाउनुहोस्। २० जब हजुरको यो उर्दी हजुरको यस विशाल साम्राज्यभरि सुनाइन्छ, तब सबै स्त्रीले आ-आफ्ना पतिको आदर गर्नेछन्, चाहे तिनीहरू सानो ओहदाका होऊन् या ठूलो ओहदाका।”
२१ ममुकानको यो सल्लाह राजा र भारदारहरूलाई मन पऱ्यो अनि राजाले त्यसै गरे। २२ तिनले आफ्ना सबै प्रान्तमा पत्रहरू पठाए।+ तिनले प्रत्येक प्रान्तलाई त्यही प्रान्तको लिपिमा* र प्रत्येक जातिलाई उनीहरूकै भाषामा पत्रहरू लेखे। हरेक पुरुषले आफ्नो परिवारमा अधिकार चलाओस् र उसको परिवारमा उसकै मानिसहरूको भाषा बोलियोस् भन्ने आदेश पत्रमा दिइएको थियो।
२ यी सबै घटना घटेपछि जब राजा आहासुरसको+ रिस शान्त भयो, तब तिनले वस्तीले के अपराध गरेकी थिइन्+ र उनलाई कस्तो कारबाही गर्ने निर्णय भएको थियो, त्यो सम्झे।+ २ तब राजाका खास सेवकहरूले तिनलाई भने: “राजाको लागि सुन्दरी कन्याहरू खोजेर ल्याइयोस्। ३ हे महाराज! यस कामको लागि हजुरको साम्राज्यमा भएका सबै प्रान्तमा अधिकृतहरू नियुक्त गर्नुहोस्+ र उनीहरूलाई सबै ठाउँबाट सुन्दरी कन्ये केटीहरू खोजेर सुसन* किल्लामा* स्त्रीहरूको भवनमा ल्याउने आदेश दिनुहोस्। ती केटीहरूलाई राजाका नपुंसक* तथा स्त्रीहरूका रखवाला हेगेको निगरानीमा राख्नुहोस्।+ अनि उनीहरूको सौन्दर्यमा निखार ल्याउन जे-जे गर्नुपर्ने हो, ती सबै गर्न लगाउनुहोस्।* ४ अनि राजालाई उनीहरूमध्ये जो सबैभन्दा धेरै मन पर्छ, उनी नै वस्तीको सट्टा रानी हुनेछिन्।”+ तिनीहरूको यो सुझाव राजालाई मन पऱ्यो र तिनले त्यसै गरे।
५ त्यही समयमा सुसन+ किल्लामा मोर्दकै+ नाम गरेका एक यहुदी थिए। तिनी याइरका छोरा थिए। याइर सिमिका छोरा थिए। सिमि किसका छोरा थिए र किसचाहिँ बिन्यामिन कुलका थिए।+ ६ तिनी* यहुदाका राजा येकोनियाको* साथमा यरुसलेमबाट बन्दी बनाएर लगिएका मानिसहरूमध्ये एक थिए।+ तिनीहरूलाई बेबिलोनका राजा नबुकद्नेजरले बन्दी बनाएर लगेका थिए। ७ मोर्दकै हदस्साह* अर्थात् एस्तरका अभिभावक थिए। एस्तर तिनको काकाकी छोरी थिइन्+ र एस्तरका बुबाआमा थिएनन्। ती युवती सुन्दरी थिइन्; उनको रूपरङ्ग असाध्यै राम्रो थियो। उनको बुबाआमाको मृत्युपछि मोर्दकैले आफ्नी छोरी बनाएर उनको पालनपोषण गरेका थिए। ८ राजाको उर्दी सबैतिर घोषणा गरियो र सुसन किल्लामा चारैतिरबाट थुप्रै केटी ल्याइए। अनि उनीहरूलाई हेगेको+ निगरानीमा राखियो। महलमा ल्याइएका ती केटीहरूमध्ये एस्तर पनि थिइन्। उनलाई पनि हेगेको निगरानीमा राखियो, जो स्त्रीहरूका रखवाला थिए।
९ एस्तरले हेगेको मन जितिन् र उनले तिनको निगाह* पाइन्। तिनले तुरुन्तै एस्तरलाई अझ सुन्दर बनाउन जे-जे चाहिन्छ, ती सबैको प्रबन्ध गरिदिए+ र उनको खानपानमा पनि विशेष ध्यान दिए। अनि तिनले महलका सात जना सेविकालाई एस्तरको सेवामा खटाए। तिनले एस्तर र उनका सेविकाहरूलाई स्त्रीहरूको भवनको सबैभन्दा राम्रो ठाउँमा सारे। १० एस्तरले आफ्ना मानिसहरू+ वा आफ्ना नातेदारहरूबारे कसैलाई केही भनिनन् किनकि मोर्दकैले+ उनलाई त्यसबारे कसैलाई नभन्नू भनी आज्ञा दिएका थिए।+ ११ एस्तरको हालखबर कस्तो छ र उनलाई के भइरहेको छ भनी जान्न मोर्दकै हरेक दिन स्त्रीहरूको भवनको चोकनिर टहल्ने गर्थे।
१२ ती केटीहरू सबै पालैपालो राजा आहासुरससामु हाजिर हुनुपर्ने थियो। तर राजासामु जानुअघि १२ महिनासम्म उनीहरूलाई अझ सुन्दर बनाउने काम गरिन्थ्यो। छ महिना मर्रको* तेलले+ अनि अर्को छ महिना बाल्सम तेल*+ र किसिम-किसिमका सुगन्धित तेलले उनीहरूको मालिस गरिन्थ्यो। १३ ती केटीहरूमध्ये जसको राजासामु हाजिर हुने पालो आउँथ्यो, उसले जे मागे पनि उसलाई दिइन्थ्यो र ऊ स्त्रीहरूको भवनबाट महलमा जान्थी। १४ ऊ साँझमा राजाकहाँ जान्थी र बिहान उसलाई स्त्रीहरूको दोस्रो भवनमा पठाइन्थ्यो। राजाका नपुंसक साआसगजले+ त्यस भवनको रेखदेख गर्थे, जो राजाका उपपत्नीहरूका रखवाला थिए। अनि ऊ राजासामु तबसम्म जान पाउँदिनथी, जबसम्म राजा ऊदेखि प्रसन्न भएर आफैले उसलाई बोलाउँदैनथे।+
१५ मोर्दकैका काका अबिहेलकी छोरी एस्तर, जसलाई मोर्दकैले आफ्नी छोरी बनाएर पालनपोषण गरेका थिए,+ उनको राजासामु हाजिर हुने पालो आयो। उनले राजाका नपुंसक तथा स्त्रीहरूका रखवाला हेगेले उनलाई जे-जति दिएका थिए, त्यसबाहेक अरू केही पनि मागिनन्। (एस्तरले आफूलाई देख्नेजति सबैको मन जित्दै गइन्।) १६ राजा आहासुरसको शासनकालको सातौँ वर्षको+ दसौँ महिनामा अर्थात् तेबेत* महिनामा एस्तरलाई राजाकहाँ तिनको महलमा लगियो। १७ राजाले अरू स्त्रीलाई भन्दा एस्तरलाई धेरै माया गर्न थाले र उनले अरू सबै कन्याले भन्दा राजाको निगाह र अनुमोदन* धेरै पाइन्। राजाले उनको शिरमा शाही शिरपोस लगाइदिए र वस्तीको ठाउँमा+ उनलाई रानी बनाए।+ १८ त्यसपछि राजाले एस्तरको सम्मानमा आफ्ना भारदारहरू र सेवकहरूलाई एउटा भव्य भोज दिए। यस अवसरमा तिनले सबै प्रान्तका कैदीहरूलाई मुक्त गरिदिने* घोषणा पनि गरे। तिनले आफ्नो राजकीय हैसियतअनुसार थुप्रै उपहार पनि बाँडे।
१९ कन्ये केटीहरूलाई+ दोस्रो पटक भेला गरिँदा मोर्दकै राजमहलको ढोकामा बसिरहेका थिए। २० मोर्दकैको आज्ञाअनुसारै एस्तरले आफ्ना नातेदारहरू र आफ्ना मानिसहरूबारे कसैलाई केही भनिनन्।+ एस्तरले मोर्दकैको आज्ञा पालन गरिरहिन्, जसरी उनले मोर्दकैसँग रहँदा तिनको आज्ञा पालन गर्ने गर्थिन्।+
२१ ती दिनहरूमा जब मोर्दकै राजमहलको ढोकामा बसिरहेका थिए, तब दुई जना अफिसर* बिग्थान र तेरेस जो ढोके थिए, तिनीहरू राजासित रिसाए र राजालाई मार्ने षड्यन्त्र रचे। २२ तर जब मोर्दकैले त्यो कुरा थाह पाए, तब तिनले त्यसबारे रानी एस्तरलाई बताइदिए। अनि एस्तरले मोर्दकैको तर्फबाट* त्यस विषयमा राजासित कुरा गरिन्। २३ तब त्यस विषयमा छानबिन गरियो र रानीले दिएको खबर सही रहेछ भनी प्रमाणित भयो। त्यसैले ती दुवै पुरुषलाई खम्बामा झुन्ड्याएर मारियो। अनि यी सबै घटनाको विवरण राजाको सामने त्यस समयको इतिहासको पुस्तकमा लेखियो।+
३ यी सबै घटना भएपछि राजा आहासुरसले अगागी+ हाम्मेदाथाका छोरा हामानको पदोन्नति गरिदिए+ र उनलाई अरू सबै भारदारभन्दा उच्च ओहदामा राखिदिए।+ २ राजमहलको ढोकामा भएका राजाका सबै सेवक हामानसामु निहुरिन्थे र घोप्टो पर्थे किनकि राजाले यस्तै गर्ने हुकुम दिएका थिए। तर मोर्दकैले भने हामानसामु निहुरिन वा घोप्टो पर्न इन्कार गरे। ३ त्यसैले राजमहलको ढोकामा भएका राजाका सेवकहरूले मोर्दकैलाई सोधे: “तपाईँ किन राजाको आदेश पालन गर्नुहुन्न?” ४ तिनीहरू मोर्दकैलाई दिनदिनै यही प्रश्न सोध्थे तर मोर्दकै तिनीहरूको कुरा सुन्दैनथे। त्यसैले तिनको यस्तो व्यवहार स्वीकार्य छ कि छैन भनी थाह पाउन तिनीहरूले यसबारे हामानलाई बताइदिए।+ किनकि मोर्दकैले तिनीहरूलाई आफू एक यहुदी हुँ भनी बताएका थिए।+
५ मोर्दकैले उनीसामु निहुरिन र घोप्टो पर्न इन्कार गरेको देखेर हामान रिसले आगो भए।+ ६ तर मोर्दकैलाई मात्र मारेर हामानलाई चैन हुँदैनथ्यो किनकि उनले मोर्दकैका मानिसहरू—यहुदीहरूबारे पनि थाह पाएका थिए। त्यसैले उनले आहासुरसको पूरै साम्राज्यमा भएका सबै यहुदीको नामोनिसान मेटाइदिने उपाय खोज्न थाले।
७ यहुदीहरूलाई कुन महिनाको कुन दिन नाश गर्ने भनी पत्ता लगाउन राजा आहासुरसको शासनकालको १२ औँ वर्षको पहिलो महिना अर्थात् नीसान* महिनामा+ हामानसामु पूर (अर्थात् गोला) हालियो।+ अनि त्यो गोला १२ औँ महिना अर्थात् अदार* महिनामा पऱ्यो।+ ८ तब हामानले राजा आहासुरसलाई यसो भने: “हजुरको साम्राज्यका सबै प्रान्तमा+ छरिएर बसेको एउटा जाति छ।+ तिनीहरूको चलन अरू सबै जातिको भन्दा फरक छ। तिनीहरू राजाको कानुन समेत पालन गर्दैनन्। तिनीहरूलाई केही गर्नुभएन भने राजाको ठूलो नोक्सानी हुनेछ। ९ त्यसैले यदि राजालाई उचित लाग्छ भने तिनीहरूलाई नाश गरियोस् भनेर एउटा लिखित उर्दी जारी गर्नुहोस्। म शाही ढुकुटीमा राख्न अफिसरहरूलाई १० हजार टालेन्ट* चाँदी दिनेछु।”*
१० तब राजाले आफ्नो हातको छापऔँठी खोले+ अनि अगागी+ हाम्मेदाथाका छोरा हामानलाई दिए,+ जो यहुदीहरूका शत्रु थिए। ११ अनि राजाले हामानलाई भने: “म ती मानिसहरू र तिनीहरूका चाँदी तिमीलाई नै दिन्छु। तिमीलाई जे ठीक लाग्छ, तिनीहरूलाई त्यसै गर।” १२ तब पहिलो महिनाको १३ औँ दिनमा राजाका सचिवहरूलाई+ बोलाइयो। तिनीहरूले राजाका बडाहाकिमहरू, प्रान्तहरूका राज्यपालहरू र विभिन्न जातिका अगुवाहरूको निम्ति हामानले दिएको सबै आदेश लेखे।+ प्रत्येक प्रान्तलाई त्यही प्रान्तको लिपिमा* र प्रत्येक जातिलाई उनीहरूकै भाषामा ती आदेशहरू लेखिए। ती आदेशहरू राजा आहासुरसको नाममा जारी गरियो र राजाको छापऔँठीले त्यसमा छाप लगाइयो।+
१३ ती पत्रहरू राजदूतहरूमार्फत राजाका सबै प्रान्तमा पठाइए। ती पत्रहरूमा सबै यहुदीलाई—जवान, वृद्ध, केटाकेटी, स्त्री सबैलाई एकै दिनमा अर्थात् १२ औँ महिना—अदार महिनाको १३ औँ दिनमा मार्नू र तिनीहरूको नामोनिसान मेटाइदिनू+ अनि तिनीहरूसित भएको सबथोक लुट्नू+ भन्ने आदेश दिइएको थियो। १४ पत्रमा लेखिएका कुराहरूलाई हरेक प्रान्तमा कानुनकै रूपमा लागू गर्नुपर्ने थियो र सबै मानिस त्यस दिनको निम्ति तयार रहन सकून् भनेर यसबारे चारैतिर घोषणा गर्नुपर्ने थियो। १५ राजाको आदेशअनुसारै राजदूतहरू तुरुन्तै ती पत्रहरू लिएर गए।+ सुसन*+ किल्लामा* पनि यो कानुन लागू गरियो। तब सुसन सहरमा खैलाबैला मच्चियो तर राजा र हामान भने मद्य पिएर बसिरहेका थिए।
४ जब मोर्दकैले+ यी सबै कुरा थाह पाए,+ तब तिनले आफ्नो लुगा च्याते, भाङ्ग्रा लगाए अनि आफूमाथि खरानी छर्के। त्यसपछि तिनी डाँको छोडेर रुँदै र विलाप गर्दै सहरको बीचतिर गए। २ तिनी राजमहलको ढोकासम्म गए तर भित्र भने छिरेनन्। किनकि कसैलाई पनि भाङ्ग्रा लगाएर राजमहलभित्र जाने अनुमति थिएन। ३ अनि ती सबै प्रान्तमा,+ जहाँ-जहाँ राजाको उर्दी जारी गरिएको थियो, त्यहाँ-त्यहाँका यहुदीहरूमाझ रुवाबासी छायो। तिनीहरू चिच्याई-चिच्याई रोए र उपवास बसे।+ थुप्रै मानिसहरूले भुईँमा भाङ्ग्रा ओछ्याए अनि खरानी छरेर त्यसैमाथि पस्रिए।+ ४ जब रानी एस्तरका सेविकाहरू र नपुंसकहरू आएर तिनलाई यो कुरा सुनाइदिए, तब उनी असाध्यै व्याकुल भइन्। मोर्दकैले भाङ्ग्रा फुकालेर लुगा लगाऊन् भनी रानीले तिनको निम्ति लुगा पठाइदिइन् तर मोर्दकैले त्यो लिन मानेनन्। ५ तब एस्तरले राजाका एक नपुंसक हाथाकलाई बोलाइन्, जसलाई राजाले एस्तरको सेवामा खटाएका थिए। उनले हाथाकलाई मोर्दकैकहाँ गएर वास्तवमा के भएको रहेछ भनी पत्ता लगाउन हुकुम दिइन्।
६ त्यसैले हाथाक मोर्दकैलाई भेट्न राजमहलको ढोकाअगाडि, सहरको चोकमा गए। ७ मोर्दकैले हाथाकलाई आफूमाथि कस्तो विपत्ति आइपरेको छ अनि यहुदीहरूलाई नाश गर्न+ हामानले शाही ढुकुटीमा कति पैसा+ दिने वचन दिएका छन्, त्यो सब बताइदिए। ८ मोर्दकैले तिनलाई यहुदीहरूको नामोनिसान मेटाउन सुसनमा*+ जारी गरिएको लिखित उर्दीको एक प्रति पनि दिए। तिनले त्यो एस्तरलाई दिनुपर्ने थियो र सबै कुरा बताउनुपर्ने थियो। अनि एस्तरलाई सीधै राजाकहाँ गएर दयाको भीख माग्न अनि आफ्ना मानिसहरूको तर्फबाट राजासित बिन्ती गर्न निर्देशन पनि दिनुपर्ने थियो।+
९ त्यसपछि हाथाक महलमा फर्के अनि मोर्दकैले भनेको सबै कुरा एस्तरलाई बताइदिए। १० एस्तरले हाथाकलाई फेरि मोर्दकैकहाँ गएर यसो भन्ने हुकुम गरिन्:+ ११ “राजाका सबै सेवक र उहाँका प्रान्तहरूका सबै मानिसलाई यो कुरा राम्ररी थाह छ कि कुनै पुरुष वा स्त्री राजाले नबोलाईकनै राजमहलको भित्री चोकमा+ गयो भने त्यतिबेला उसले पाउने सजाय एउटै छ; त्यो हो मृत्युदण्ड। राजाले आफ्नो सुनको राजदण्ड ऊतर्फ तेर्स्याउनुभयो भने मात्र उसको जीवन बच्नेछ।+ अनि मलाई राजाले नबोलाउनुभएको पनि ३० दिन भइसक्यो।”
१२ एस्तरको सन्देश मोर्दकैकहाँ पुगेपछि १३ मोर्दकैले उनलाई यस्तो जवाफ पठाए: “तिमी राजघरानाको सदस्य भएकीले अरू सबै यहुदी मारिए पनि तिमीचाहिँ बच्नेछ्यौ भनेर नसोच। १४ यदि तिमी यतिबेला चुपचाप बस्यौ भने यहुदीहरूको उद्धार गर्न अरू नै कोही निस्कनेछ+ तर तिमी र तिम्रो बुबाको घरानाचाहिँ नाश हुनेछौ। अनि के थाह, कतै तिमी यस्तै समयको लागि रानी भएकी पो हौ कि!”+
१५ तब एस्तरले मोर्दकैलाई यस्तो जवाफ पठाइन्: १६ “गएर सुसनमा भएका सबै यहुदीलाई एक ठाउँमा जम्मा गर्नुहोस् अनि मेरो लागि उपवास बस्नुहोस्।+ अनि तीन दिन तीन रातसम्म कसैले केही नखाओस् न त केही पिओस्।+ म पनि आफ्ना सेविकाहरूसँगै उपवास बस्नेछु। अनि कानुनविपरीतै भए पनि म राजाकहाँ जानेछु र त्यसको लागि मैले आफ्नो ज्यानै गुमाउनुपरे पनि म तयार छु।” १७ त्यसपछि मोर्दकै आफ्नो बाटो लागे अनि एस्तरले भनेअनुसारै सबै गरे।
५ तेस्रो दिन+ एस्तर आफ्नो राजसी पोसाक लगाएर भित्री चोकमा गइन् अनि राजमहलको अगाडि उभिइन्। त्यसबेला राजाचाहिँ महलमा आफ्नो राजगद्दीमा बसिरहेका थिए र त्यहाँबाट महलको प्रवेशद्वार स्पष्टै देखिन्थ्यो। २ रानी एस्तर चोकमा उभिरहेकी देख्नेबित्तिकै राजा निकै खुसी भए र तिनले आफ्नो हातमा भएको सुनको राजदण्ड एस्तरतर्फ तेर्स्याए।+ तब एस्तरले राजाको नजिकै गएर राजदण्डको टुप्पो छोइन्।
३ राजाले उनलाई सोधे: “रानी एस्तर, कुरा के हो? तिमी मबाट के चाहन्छ्यौ? तिमीले मेरो आधा राज्य नै माग्यौ भने पनि म तिमीलाई दिनेछु!” ४ एस्तरले जवाफ दिइन्: “हे महाराज! यदि हजुरलाई उचित लाग्छ भने आज मैले हजुरको निम्ति तयार पारेको भोजमा आउनुहोस्। अनि हामानलाई+ पनि सँगै ल्याउनुहोस्।” ५ तब राजाले आफ्ना सेवकहरूलाई भने: “जाओ, रानी एस्तरले भनेझैँ हामानलाई तुरुन्तै बोलाएर ल्याओ।” त्यसपछि राजा र हामान एस्तरले लगाएको भोजमा गए।
६ केही बेरपछि मद्य पिउँदै गर्दा राजाले एस्तरलाई भने: “तिमी मबाट के चाहन्छ्यौ? तिमीले जेसुकै मागे पनि म तिमीलाई दिनेछु। तिमी जे चाहन्छ्यौ, त्यो माग! तिमीले मेरो आधा राज्य नै माग्यौ भने पनि म तिमीलाई दिनेछु!”+ ७ एस्तरले जवाफ दिइन्: “महाराजलाई मेरो बिन्ती, मेरो अनुरोध यही छ कि ८ यदि मैले हजुरको निगाह पाएकी छु र हजुर मेरो बिन्ती पूरा गरिदिन चाहनुहुन्छ भने म भोलि पनि हजुर र हामानको लागि भोज लगाउन चाहन्छु। कृपया हामानसितै आउनुहोस्। अनि भोलि म हजुरले भन्नुभएझैँ गर्नेछु।”
९ त्यो दिन हामान फुरुङ्ङ परेर भोजबाट फर्किरहेका थिए। तर जब तिनले महलको ढोकामा मोर्दकैलाई देखे, तब तिनी रिसले आगो भए किनकि मोर्दकै तिनलाई देखेर न उभिए न त डराए।+ १० तर हामान आफ्नो रिस थाम्दै घर गए। त्यसपछि तिनले आफ्ना साथीहरू र आफ्नी पत्नी जेरेसलाई+ बोलाए। ११ तिनले आफूसित भएको धनसम्पत्तिको फुइँ लगाउन थाले। साथै तिनले आफ्ना थुप्रै छोरा भएकोमा+ अनि राजाले आफ्नो पदोन्नति गराइदिएर अरू भारदारहरू र सेवकहरूलाई भन्दा धेरै सम्मान दिएकोमा घमन्ड गर्न थाले।+
१२ हामानले अझै यसो भने: “त्यति मात्र कहाँ हो र! रानी एस्तरले अरू कसैलाई होइन तर मलाई नै आफ्नो भोजमा राजासँगै आउन निम्तो दिनुभयो।+ भोलिको भोजमा पनि उहाँ र राजासँगै बसेर खान उहाँले मलाई निम्तो दिनुभएको छ।+ १३ तर जबसम्म त्यो यहुदी मोर्दकैलाई महलको ढोकामा देख्छु, तबसम्म कुनै पनि कुराले मलाई सन्तोष दिनेछैन।” १४ तब हामानकी पत्नी जेरेस र तिनका सबै साथीले तिनलाई यसो भने: “पचास हात* अग्लो एउटा खम्बा ठड्याउनुहोस्। अनि मोर्दकैलाई त्यसमा झुन्ड्याउन बिहानै राजाकहाँ गएर बिन्ती गर्नुहोस्।+ त्यसपछि राजासँगै भोजमा गएर रमाइलो गर्नुहोस्।” हामानलाई यो सल्लाह मन पऱ्यो र तिनले एउटा खम्बा ठड्याए।
६ त्यो रात राजालाई निद्रै लागेन। त्यसैले तिनले बितेका घटनाहरूबारे लेखिएको पुस्तक ल्याउन हुकुम गरे+ र त्यो पढेर सुनाउन लगाए। २ त्यसमा दरबारका अफिसरहरू बिग्थान र तेरेस, जो ढोकेहरू थिए, तिनीहरूको षड्यन्त्र मोर्दकैले पर्दाफास गरिदिएको कुरा पनि लेखिएको पाइयो। ती ढोकेहरूले राजा आहासुरसलाई मार्ने षड्यन्त्र रचेका थिए।+ ३ राजाले सोधे: “के यसको लागि मोर्दकैलाई सम्मान अनि इनाम दिइयो?” राजाका खास सेवकहरूले भने: “अहँ, उनको लागि केही पनि गरिएको छैन।”
४ त्यति नै बेला हामान आफूले ठड्याएको खम्बामा मोर्दकैलाई झुन्ड्याइयोस् भनी राजासित बिन्ती गर्न+ महलको बाहिरी चोकमा आइपुगेका थिए।+ तब राजाले सोधे: “चोकमा को हो?” ५ राजाका सेवकहरूले भने: “चोकमा उभिरहेको व्यक्ति हामान+ रहेछन्।” त्यसैले राजाले भने: “उसलाई भित्र पठाइदेओ।”
६ हामान भित्र आएपछि राजाले तिनलाई सोधे: “राजा जसलाई सम्मान दिन चाहन्छन्, उसको लागि के गर्नुपर्ला?” हामानले मनमनै सोचे: “राजाले मलाई बाहेक अरू कसलाई पो सम्मान दिन खोज्नुभएको होला र?”+ ७ त्यसैले तिनले राजालाई भने: “राजाले जसलाई सम्मान दिन चाहनुभएको हो, ८ तिनको निम्ति राजाको शाही पोसाक+ अनि राजा सवार हुने घोडा ल्याइयोस् र त्यस घोडाको शिर शाही शिरपोसले सिँगारिएको होस्। ९ त्यसपछि राजाका माननीय भारदारहरूमध्ये एक जनालाई त्यो पोसाक र घोडा जिम्मा लगाइयोस्। अनि राजाले सम्मान दिन चाहनुभएको व्यक्तिलाई राजाका सेवकहरूले त्यो पोसाक पहिराऊन् र घोडामा सवार गराएर सहरको चोकमा घुमाऊन्। अनि उसको अघिअघि यस्तो घोषणा गर्दै हिँडून्: ‘राजाले सम्मान दिन चाहनुभएको व्यक्तिलाई यसरी नै सम्मान गरिन्छ।’”+ १० हामानको कुरा सुन्नेबित्तिकै राजाले भने: “अब तुरुन्तै शाही पोसाक र घोडा लिएर जाऊ। अनि राजमहलको ढोकामा बसिरहेका यहुदी मोर्दकैको निम्ति ती सबै काम गर, जुन तिमीले भर्खरै भनेका थियौ। तिमीले भनेको एउटा कुरा पनि नछुटोस्।”
११ त्यसपछि हामानले शाही पोसाक र घोडा लिए। अनि तिनले मोर्दकैलाई+ त्यो पोसाक पहिराइदिए र घोडामा सवार गराएर सहरको चोकमा घुमाए। अनि उसको अघिअघि यस्तो घोषणा गर्दै हिँडे: “राजाले सम्मान दिन चाहनुभएको व्यक्तिलाई यसरी नै सम्मान गरिन्छ।” १२ त्यसपछि मोर्दकै राजमहलको ढोकामा फर्के तर हामान भने लाजले आफ्नो शिर ढाकेर हतार-हतार घरतिर लागे। १३ हामानले आफ्नी पत्नी जेरेस+ र सबै साथीलाई त्यस दिनको सम्पूर्ण घटना बताए। त्यसपछि तिनकी पत्नी र तिनका सल्लाहकारहरूले यसो भने: “मोर्दकै, जो आज तपाईँभन्दा उच्च पारिएका छन्, यदि तिनी यहुदी वंशका रहेछन् भने तपाईँले उसलाई जित्न सक्नुहुनेछैन। तपाईँको हार निश्चित छ।”
१४ तिनीहरूले यसो भनिरहेकै बेला दरबारका अफिसरहरू आए र हामानलाई तुरुन्तै एस्तरले लगाएको भोजमा लिएर गए।+
७ तब राजा र हामान+ रानी एस्तरले लगाएको भोजमा आए। २ भोजको दोस्रो दिन मद्य पिउने बेला राजाले एस्तरलाई फेरि यसो भने: “रानी एस्तर, तिमी मबाट के चाहन्छ्यौ? तिमीले जेसुकै मागे पनि म तिमीलाई दिनेछु। तिमी जे चाहन्छ्यौ, त्यो माग! तिमीले मेरो आधा राज्य नै माग्यौ भने पनि म तिमीलाई दिनेछु!”+ ३ रानी एस्तरले जवाफ दिइन्: “हे महाराज! यदि मैले हजुरको निगाह पाएकी छु भने र हजुरको मर्जी भए बिन्ती छ, म र मेरा मानिसहरूको+ जीवन बचाइदिनुहोस्। ४ किनकि म र मेरा मानिसहरूलाई मार्न अनि हाम्रो नामोनिसानै मेटाउन+ हामीलाई बेचिएको छ।+ यदि हामीलाई दासदासीको रूपमा मात्र बेचिएको भए म चुप लागेर बस्ने थिएँ। तर हामी नाश भयौँ भने त राजाकै नोक्सानी हुनेछ। त्यसैले म कसरी चुप रहन सक्छु र?”
५ तब राजा आहासुरसले रानी एस्तरलाई भने: “यस्तो दुस्साहस गर्ने को हो? कहाँ छ त्यो?” ६ एस्तरले भनिन्: “हाम्रो विरोधी र हाम्रो शत्रु यही दुष्ट हामान हो।”
त्यसपछि हामान राजा र रानीसामु डरले खङ्ग्रङ्ङै भए। ७ राजा रिसले आगो भए र भोज छोडेर महलको बगैँचामा गए। तब हामान उठे र रानी एस्तरसित आफ्नो जीवनको भीख माग्न थाले किनकि राजाले तिनलाई सजाय दिने निश्चय गरिसकेका छन् भनेर तिनले बुझे। ८ जब राजा महलको बगैँचाबाट भोज-घरमा फर्केर आए, तब उनले हामानलाई रानी एस्तर बसिरहेको पलङको छेवैमा लम्पसार परिरहेको देखे। यो देखेर राजा यसो भन्दै कराए: “अब के यसले मेरै घरमा रानीको इज्जत लुट्न खोज्दै छ?” राजाले यसो भन्न नपाउँदै तिनीहरूले हामानको अनुहार कपडाले छोपे। ९ दरबारका अफिसर हार्बोनाले+ यसो भने: “मोर्दकैलाई मार्न हामानले आफ्नो घरमा ५० हात* अग्लो खम्बा ठड्याएका छन्।+ तिनै मोर्दकै, जसले दिएको खबरले गर्दा राजाको ज्यान जोगिएको थियो।”+ तब राजाले भने: “हामानलाई नै त्यसमा झुन्ड्याइदेओ।” १० त्यसैले हामानले जुन खम्बा मोर्दकैलाई झुन्ड्याउन भनी तयार पारेका थिए, त्यही खम्बामा तिनीहरूले हामानलाई झुन्ड्याइदिए। तब राजाको रिस शान्त भयो।
८ त्यस दिन राजा आहासुरसले यहुदीहरूका शत्रु+ हामानको सबै थोक+ रानी एस्तरलाई दिए। अनि मोर्दकै राजासामु आए किनकि एस्तरले आफू र मोर्दकैबीच कस्तो सम्बन्ध छ भनेर राजालाई बताएकी थिइन्।+ २ त्यसपछि राजाले आफ्नो छापऔँठी फुकाले,+ जुन तिनले हामानबाट फिर्ता लिएका थिए र त्यो औँठी मोर्दकैलाई दिए। अनि एस्तरले हामानको सबै थोक मोर्दकैको अधिकारमा दिइन्।+
३ एस्तर फेरि एक पटक राजासित कुरा गर्न गइन्। तिनी राजाको पाउमा घोप्टो परिन् अनि यहुदीहरूविरुद्ध अगागी हामानले बनाएको दुष्ट योजनालाई विफल तुल्याइदिन रुँदै राजासित बिन्ती गरिन्।+ ४ त्यसपछि राजाले आफ्नो सुनको राजदण्ड एस्तरतर्फ तेर्स्याए।+ तब एस्तर उठेर राजासामु खडा भइन्। ५ अनि राजालाई यसो भनिन्: “हे महाराज! यदि हजुरलाई ठीक लाग्छ र मैले हजुरको निगाह पाएकी छु भने मेरो बिन्ती सुनिदिनुहोस्। अनि यदि राजालाई उचित लाग्छ र राजा मदेखि खुसी हुनुहुन्छ भने एउटा लिखित उर्दी जारी गरेर त्यो अगागी+ हाम्मेदाथाको छोरा, षड्यन्त्रकारी हामानको पत्र खारेज गरिदिनुहोस्,+ जुन पत्रमा त्यसले राजाका सबै प्रान्तमा भएका यहुदीहरूलाई नाश गर्ने आदेश दिएको थियो। ६ मेरो जातिमाथि विपत्ति आउन लागेको देख्दादेख्दै म कसरी चुप लागेर बस्न सक्छु र? आफ्नै आँखाअगाडि आफ्ना आफन्तहरूले ज्यान गुमाएको म कसरी हेर्न सक्छु र?”
७ त्यसैले राजा आहासुरसले रानी एस्तरलाई अनि यहुदी मोर्दकैलाई यसो भने: “हेर! हामानले यहुदीहरूलाई आक्रमण गर्ने षड्यन्त्र रचेकोले मैले उसलाई खम्बामा झुन्ड्याउन लगाएँ।+ अनि मैले हामानको सबै थोक एस्तरलाई दिएँ।+ ८ त्यसैले अब यहुदीहरूलाई जोगाउन तिमीहरूलाई जे सही लाग्छ, त्यसै गर। मेरो नाममा एउटा उर्दी निकाल र त्यसमा मेरो छापऔँठीले छाप लगाऊ। किनकि जुन उर्दी राजाको नाममा जारी गरिन्छ र जसमा राजाको छापऔँठीले छाप लगाइन्छ, त्यस उर्दीलाई कसैले पनि रद्द गर्न सक्दैन।”+
९ त्यसैले तेस्रो महिना अर्थात् सीवान* महिनाको २३ औँ दिनमा राजाका सचिवहरूलाई बोलाइयो। अनि तिनीहरूले यहुदीहरू, बडाहाकिमहरू,+ राज्यपालहरू अनि भारतदेखि इथियोपियासम्मका १२७ वटा प्रान्तका भारदारहरूलाई+ मोर्दकैले दिएको आदेश लेखे। प्रत्येक प्रान्तलाई त्यही प्रान्तको लिपिमा,* प्रत्येक जातिलाई उनीहरूकै भाषामा अनि यहुदीहरूलाई उनीहरूकै भाषा र लिपिमा ती आदेशहरू लेखिए।
१० मोर्दकैले ती आदेशहरू राजा आहासुरसको नाममा लेखे र त्यसमा राजाको छापऔँठीले छाप लगाए।+ अनि तिनले ती पत्रहरू राजदूतहरूको हातमा पठाए। तिनीहरू बेतोडले कुद्ने घोडाहरू चढेर गए, जुन घोडाहरू राजकीय कामकाजको लागि पालिएका थिए। ११ ती पत्रहरूमा राजाले विभिन्न सहरहरूमा बसोबास गरिरहेका यहुदीहरूलाई आफ्नो ज्यान बचाउन एकजुट हुने हुकुम दिएका थिए। अनि यदि कुनै जाति वा कुनै प्रान्तका मानिसहरू दल बनाएर आक्रमण गर्न आए भने ती मानिसहरू, तिनीहरूका पत्नीहरू र तिनीहरूका बालबच्चालाई मार्नू र तिनीहरूको नामोनिसान मेटाइदिनू अनि तिनीहरूको मालसामान लुट्नू भन्ने आदेश पनि राजाले दिएका थिए।+ १२ यहुदीहरूले राजा आहासुरसको सबै प्रान्तमा १२ औँ महिनाको अर्थात् अदार* महिनाको १३ औँ दिनमा यो उर्दी लागू गर्नुपर्ने थियो।+ १३ पत्रमा लेखिएका कुराहरूलाई हरेक प्रान्तमा कानुनकै रूपमा लागू गर्नुपर्ने थियो। त्यस दिन यहुदीहरू आफ्ना शत्रुहरूसित बदला लिन तयार रहन सकून् भनेर सबै मानिसलाई त्यो पत्र पढेर सुनाउनुपर्ने थियो।+ १४ राजाको हुकुम पाउनेबित्तिकै राजदूतहरू राजकीय कामकाजमा प्रयोग गरिने घोडाहरूमा चढेर हतार-हतार गए। त्यो कानुन सुसन*+ किल्लामा* पनि जारी गरियो।
१५ तब मोर्दकै राजाको सामनेबाट निस्के। तिनको शिरमा सुनको सानदार मुकुट थियो र तिनले शाही पोसाक लगाएका थिए, जुन निलो धागो र सेतो धागोबाट बनेको थियो। तिनले त्यसमाथि उच्च कोटीको बैजनी ऊनबाट बनेको अलखा+ पनि लगाएका थिए। तब सुसन सहरका मानिसहरू खुसीले कराउन लागे। १६ यहुदीहरूले ठूलो राहत पाएका थिए। त्यसैले तिनीहरू हर्षित भए र खुसीयाली मनाए अनि मानिसहरूले तिनीहरूको इज्जत गरे। १७ हरेक प्रान्त र हरेक सहर, जहाँ-जहाँ राजाको यो आदेश र कानुन घोषणा गरियो, त्यहाँ-त्यहाँ यहुदीहरू हर्षित भए र खुबै रमाइलो गरे। तिनीहरूले भोज लगाए र खुसीयाली मनाए। अनि अरू जातिका थुप्रै मानिस यहुदी बने+ किनकि तिनीहरूमाझ यहुदीहरूको त्रास फैलिएको थियो।
९ बाह्रौँ महिना अर्थात् अदार* महिनाको १३ औँ दिन+ राजाको आदेश र कानुन लागू गरिने दिन थियो।+ त्यो दिन यहुदीहरूका शत्रुहरूले उनीहरूमाथि जित हासिल गर्नेछौँ भनी सोचेका थिए। तर उल्टै यहुदीहरूले नै ती सबैमाथि जित हासिल गरे, जसले उनीहरूलाई घृणा गर्थे।+ २ त्यो दिन राजा आहासुरसको+ सबै प्रान्तमा रहेका यहुदीहरू आफूलाई हानि पुऱ्याउन खोज्नेहरूसित लड्न आ-आफ्नो सहरमा एकसाथ भेला भए। यहुदीहरूसामु एक जना पनि टिक्न सकेन किनकि मानिसहरूमाझ उनीहरूको त्रास फैलिएको थियो।+ ३ प्रान्तहरूका सबै भारदार, बडाहाकिमहरू,+ राज्यपालहरू र राजाको कामकाज सम्हाल्ने सबै जनाले यहुदीहरूलाई साथ दिए किनकि तिनीहरू सबै मोर्दकैसँग डराउँथे। ४ मोर्दकै राजमहलमा एक प्रमुख व्यक्ति भए।+ तिनको ख्याति सबै प्रान्तमा फैलँदै गयो किनकि तिनी झन्झन् शक्तिशाली हुँदै गइरहेका थिए।
५ यहुदीहरूले आफ्ना सबै शत्रुलाई आक्रमण गरेर तरबारले मारे अनि तिनीहरूलाई नाश गरे। आफूलाई घृणा गर्नेहरूलाई उनीहरू जे गर्न चाहन्थे, उनीहरूले त्यही गरे।+ ६ सुसन*+ किल्लामा* यहुदीहरूले ५०० जनालाई मारे। ७ उनीहरूले यी पुरुषहरूलाई पनि मारे: पर्सन्दाथा, दाल्फोन, अस्पाथा, ८ पोराथा, आदल्या, अरिदाता, ९ पर्मस्ता, अरिसै, अरिदै र बैजाथा। १० यी १० जना पुरुष हाम्मेदाथाका छोरा, यहुदीहरूको शत्रु हामानका+ छोराहरू थिए। यहुदीहरूले यी सबै मानिसलाई मारे तर तिनीहरूको कुनै मालसामान लुटेनन्।+
११ त्यो दिन सुसन किल्लामा मारिएका मानिसहरूको सङ्ख्याबारे राजालाई जानकारी दिइयो।
१२ तब राजाले रानी एस्तरलाई यसो भने: “सुसन किल्लामा यहुदीहरूले ५०० जना मानिस र हामानका १० जना छोरालाई मारेछन्। यहाँ त यति धेरै मानिस मारिए भने बाँकी प्रान्तमा त झन् कति धेरै मानिस मारिए होलान्?+ अब तिमी मबाट के चाहन्छ्यौ? तिमीले जेसुकै मागे पनि म तिमीलाई दिनेछु। तिमी जे चाहन्छ्यौ, त्यो माग; म तिमीलाई दिनेछु!” १३ एस्तरले यस्तो जवाफ दिइन्: “यदि राजालाई उचित लाग्छ भने+ जसरी सुसनका यहुदीहरूले आज राजाको उर्दीअनुसार आफ्ना शत्रुहरूसित लडे, त्यसरी नै भोलि पनि लड्न पाऊन्।+ साथै हामानका १० जना छोराको लास खम्बामा झुन्ड्याइयोस्।”+ १४ राजाले एस्तरले भनेझैँ गर्न आदेश दिए। सुसनमा एउटा उर्दी जारी गरियो र हामानका १० जना छोराको लास खम्बामा झुन्ड्याइयो।
१५ अदार महिनाको १४ औँ दिनमा सुसनका यहुदीहरू फेरि एकसाथ भेला भए+ अनि त्यहाँका ३०० जनालाई मारे तर उनीहरूले तिनीहरूको कुनै मालसामान लुटेनन्।
१६ राजाका बाँकी प्रान्तहरूमा रहेका यहुदीहरू पनि एकसाथ भेला भए र आफ्नो ज्यान बचाउन लडे।+ उनीहरूले आफूलाई घृणा गर्ने ७५ हजार शत्रुलाई मारे+ तर तिनीहरूको कुनै मालसामान लुटेनन्। १७ अदार महिनाको १३ औँ दिन उनीहरूले त्यसो गरे। अनि १४ औँ दिनमा चाहिँ आराम गरे, भोज लगाए र खुसीयाली मनाए।
१८ सुसनका यहुदीहरू भने आफ्ना शत्रुहरूसित लड्न १३ औँ + र १४ औँ दिनमा एकसाथ भेला भए+ अनि उनीहरूले १५ औँ दिनमा चाहिँ आराम गरे, भोज लगाए र खुसीयाली मनाए। १९ तर टाढा-टाढाका जिल्लाका सहरहरूमा बसोबास गर्ने यहुदीहरूले भने अदार महिनाको १४ औँ दिनमा भोज लगाए र खुसीयाली मनाए। उनीहरूले त्यो दिन धुमधामसित मनाए+ र एकअर्कालाई उपहारस्वरूप खानेकुरा पठाए।+
२० मोर्दकैले+ यी सबै घटना लेखे। अनि तिनले राजा आहासुरसका प्रान्तहरूमा—टाढाका र नजिकका सबै प्रान्तमा यहुदीहरूलाई पत्र पठाए। २१ तिनले त्यस पत्रमा हरेक वर्ष अदार महिनाको १४ औँ र १५ औँ दिनमा उत्सव मनाउनू भनी आदेश दिएका थिए। २२ किनकि त्यही दिनहरूमा यहुदीहरूले आफ्ना शत्रुहरूबाट छुटकारा पाएका थिए। त्यो महिना तिनीहरूको दुःख खुसीमा अनि तिनीहरूको शोक+ रमाहटमा परिणत भएको थियो। तिनीहरूले ती दुवै दिन भोज लगाउनुपर्ने थियो र खुसीयाली मनाउनुपर्ने थियो। अनि एकअर्कालाई खानेकुरा पठाउनुपर्ने थियो र गरिबहरूलाई उपहार दिनुपर्ने थियो।
२३ यहुदीहरू आफूले सुरु गरेको यो उत्सव नियमित रूपमा मनाउन अनि मोर्दकैले पत्रमा लेखेअनुसारै गर्न राजी भए। २४ किनकि अगागी+ हाम्मेदाथाका छोरा, सबै यहुदीका शत्रु हामानले+ यहुदीहरूलाई नाश गर्ने षड्यन्त्र रचेका थिए+ अनि उनीहरूलाई आतङ्कित पार्न र नाश गर्न पूर+ अर्थात् गोला हालेका थिए। २५ तर जब एस्तर राजासामु गइन्, तब राजाले यस्तो लिखित आदेश दिए:+ “हामानले षड्यन्त्र रचेर यहुदीहरूमाथि जुन विपत्ति ल्याउन खोजेको थियो,+ त्यो विपत्ति त्यसकै थाप्लोमा परोस्।” त्यसपछि तिनीहरूले हामानलाई र तिनका छोराहरूलाई खम्बामा झुन्ड्याए।+ २६ त्यसैले उनीहरूले पूर*+ शब्दबाटै त्यस उत्सवलाई पूरीम भन्ने नाम दिए। पत्रमा लेखिएका कुराहरू अनि आफैले देखेको र भोगेको कुराहरूले गर्दा २७ यहुदीहरूले के अठोट गरे भने, उनीहरू, उनीहरूका सन्तान र उनीहरूसँग लाग्नेहरू सबैले+ नबिराईकन हरेक वर्ष तोकिएको मितिमा त्यो दुई दिने उत्सव मनाउनेछन् अनि त्यो उत्सव पत्रमा लेखिएको तरिकाअनुसारै मनाउनेछन्। २८ यो उत्सव हरेक प्रान्तमा, हरेक सहरमा र हरेक परिवारमा पुस्तौँपुस्तासम्म मनाउनुपर्ने थियो अनि ती दिनहरूको सम्झना गर्नुपर्ने थियो। यहुदीहरूमाझ पूरीम मनाउने चलनको कहिल्यै अन्त्य हुनु हुँदैनथ्यो अनि तिनीहरूका सन्तानले ती दिनहरूको सम्झना गर्नुपर्ने थियो।
२९ त्यसपछि पूरीमबारे दोस्रो पत्र लेखियो अनि अबिहेलकी छोरी रानी एस्तरले र यहुदी मोर्दकैले आफूलाई दिइएको अधिकार चलाउँदै त्यस पत्रमा लेखिएको कुरा पालन गर्ने आदेश दिए। ३० आहासुरसको साम्राज्यमा भएका १२७ वटा प्रान्तका+ सबै यहुदीलाई आधिकारिक पत्रहरू पठाइयो।+ ती पत्रहरूमा सत्य र शान्तिका कुराहरू लेखिएका थिए। ३१ यहुदी मोर्दकै र रानी एस्तरले दिएको आदेशअनुसारै+ अनि यहुदीहरू आफैले आफ्नो र आफ्ना सन्तानको निम्ति गरेको अठोटअनुसारै+ उनीहरूले उपवास बसेर+ र उत्कट बिन्ती चढाएर+ तोकिएको मितिमा पूरीम मनाउनुपर्छ भनेर ती पत्रहरूमा लेखिएको थियो। ३२ पूरीमसम्बन्धी यी नियमहरू एस्तरको आदेशले गर्दा अझ पक्का भयो+ अनि त्यस आदेशलाई एउटा पुस्तकमा लेखेर राखियो।
१० राजा आहासुरसले आफ्नो साम्राज्यका इलाकाहरूमा र समुद्री टापुहरूमा बसोबास गर्ने मानिसहरूलाई जबरजस्ती मजदुरी गर्न लगाए।
२ उनले के-कस्ता शक्तिशाली र ठूलठूला कामहरू गरे अनि उनले मोर्दकैलाई कसरी उच्च पारे,+ त्यसको एक-एक जानकारी+ मादी र फारसका राजाहरूको+ इतिहासको पुस्तकमा+ लेखिएको छ। ३ पूरै साम्राज्यमा राजा आहासुरसपछिको सबैभन्दा प्रमुख व्यक्ति यहुदी मोर्दकै नै थिए। तिनले आफ्ना भाइबन्धु यहुदीहरूमाझ ठूलो नाम कमाएका थिए अनि उनीहरूले तिनलाई आदर गर्थे। तिनी आफ्ना मानिसहरूको भलाइको लागि र उनीहरूका सन्तानको हितको लागि काम गर्थे।
तिनी जारसेज प्रथम हुन् भन्ने मान्यता छ, जो महान् दाराका (दारा हिस्तासपिस) छोरा थिए।
वा “कुससम्म।”
वा “सुसा।”
वा “महलबाट।”
यसले आलसको डाँठबाट बनेको कपडालाई जनाउँछ।
वा “रोकटोक।”
वा “महलमा।”
वा “लेखनशैलीमा।”
वा “सुसा।”
वा “महलमा।”
शब्दावली हेर्नुहोस्।
वा “मालिस गर्न लगाउनुहोस्।”
यसले किसलाई वा मोर्दकैलाई जनाएको हुन सक्छ।
२ रा २४:८ मा तिनलाई यहोयाकिन भनिएको छ।
यसको अर्थ हो, “मेहदी।”
वा “अटल प्रेम।” शब्दावलीमा “अटल प्रेम” हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
कुनै खास बोट वा रूखबाट निकालिएको बास्नादार तेल।
अतिरिक्त लेख ख१५ हेर्नुहोस्।
वा “अटल प्रेम।”
वा “सबै प्रान्तको तिरो माफी गरिदिने।” यहाँ चलाइएको अभिव्यक्तिले ठ्याक्कै के भन्न खोजेको हो, त्यो पक्का छैन।
वा “दरबारका अफिसर।”
शा., “मोर्दकैको नाममा।”
अतिरिक्त लेख ख१५ हेर्नुहोस्।
अतिरिक्त लेख ख१५ हेर्नुहोस्।
एक टालेन्ट भनेको ३४.२ किलोग्राम हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
वा सम्भवतः “यो काम गर्नेहरूको लागि म शाही ढुकुटीमा १० हजार टालेन्ट चाँदी जम्मा गर्नेछु।”
वा “लेखनशैलीमा।”
वा “सुसा।”
वा “महलमा।”
वा “सुसामा।”
लगभग २२.३ मिटर (७३ फिट)। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
लगभग २२.३ मिटर (७३ फिट)। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
अतिरिक्त लेख ख१५ हेर्नुहोस्।
वा “लेखनशैलीमा।”
अतिरिक्त लेख ख१५ हेर्नुहोस्।
वा “सुसा।”
वा “महलमा।”
अतिरिक्त लेख ख१५ हेर्नुहोस्।
वा “सुसा।”
वा “महलमा।”
“पूर”-को अर्थ हो “गोला।” यसको बहुवचन रूप “पूरीम” यहुदीहरूको उत्सवको लागि चलाउन थालियो, जुन पवित्र क्यालेन्डरअनुसार १२ औँ महिनामा पर्थ्यो। अतिरिक्त लेख ख१५ हेर्नुहोस्।