प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt मर्कुस १:१-१६:८
  • मर्कुसको सुसमाचार

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • मर्कुसको सुसमाचार
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
पवित्र बाइबल नयाँ संसार अनुवाद
मर्कुसको सुसमाचार

मर्कुसको सुसमाचार

१ परमेश्‍वरका छोरा येसु ख्रिष्टबारे सुसमाचारको आरम्भ: २ भविष्यवक्‍ता यसैयाले यस्तो लेखेका थिए: “(हेर! म मेरो दूतलाई तिम्रो अघिअघि पठाउँदै छु र तिनले तिम्रो बाटो तयार पार्नेछन्‌।)+ ३ उजाड ठाउँमा कोही यसो भन्दै कराइरहेको छ, ‘यहोवाको* बाटो तयार पार; उहाँको मार्ग सोझो बनाओ।’”+ ४ यसैअनुसार बप्तिस्मा गराउने युहन्‍ना निर्जनभूमिमा देखा परे अनि तिनले मानिसहरूलाई आफ्ना पापको पश्‍चात्ताप गरेर क्षमा माग्न र त्यसको प्रतीकस्वरूप बप्तिस्मा गर्न प्रचार गरे।+ ५ सारा यहुदिया र यरुसलेमका सबै बासिन्दा तिनीकहाँ आउँथे र उनीहरू आ-आफ्ना पाप खुलेआम स्विकार्थे र तिनले यर्दन नदीमा उनीहरूको बप्तिस्मा गराउँथे।*+ ६ युहन्‍ना उँटको रौँबाट बनेको लुगा लगाउँथे, कम्मरमा छालाको पटुका कस्थे+ अनि सलह र वन-मह खान्थे।+ ७ तिनी यसो भन्दै प्रचार गर्थे: “मपछि मभन्दा शक्‍तिशाली एक जना आउँदै हुनुहुन्छ; म निहुरिएर उहाँको जुत्ताको फित्ता फुकाल्न समेत लायकको छैनँ।+ ८ मैले पानीले तिमीहरूको बप्तिस्मा गराएँ तर उहाँले पवित्र शक्‍तिले तिमीहरूको बप्तिस्मा गराउनुहुनेछ।”+

९ ती दिनहरूमा येसु गालिलको नासरतबाट आउनुभयो र उहाँले युहन्‍नाबाट यर्दन नदीमा बप्तिस्मा गर्नुभयो।+ १० अनि पानीमाथि निस्कनेबित्तिकै उहाँले आकाश उघ्रँदै गरेको र पवित्र शक्‍ति ढुकुरको रूपमा आफूमाथि ओर्लँदै गरेको देख्नुभयो।+ ११ अनि आकाशबाट यस्तो आवाज आयो: “तिमी मेरो प्यारो छोरा हौ। मैले तिमीलाई स्विकारेको छु।”+

१२ अनि तुरुन्तै परमेश्‍वरको शक्‍तिले उहाँलाई निर्जनभूमिमा जान उत्प्रेरित गऱ्‍यो। १३ उहाँले निर्जनभूमिमा ४० दिन बिताउनुभयो, जहाँ सैतानले लोभ देखाएर उहाँलाई प्रलोभनमा पार्ने कोसिस गऱ्‍यो।+ त्यहाँ जङ्‌गली जनावरहरू पनि थिए। अनि स्वर्गदूतहरूले उहाँको सेवासुसार गर्थे।+

१४ युहन्‍ना गिरफ्तार भइसकेपछि येसु गालिल जानुभयो+ र यसो भन्दै परमेश्‍वरको सुसमाचार प्रचार गर्न थाल्नुभयो:+ १५ “तोकिएको समय आइपुगेको छ र परमेश्‍वरको राज्य नजिकै आएको छ। पश्‍चात्ताप गर+ अनि सुसमाचारमा विश्‍वास गर।”

१६ गालिल समुद्रको* छेउमा हिँड्‌दै गर्दा उहाँले सिमोन र तिनका भाइ अन्द्रियासलाई+ समुद्रमा जाल हान्दै गरेका देख्नुभयो।+ तिनीहरू जलारी थिए।+ १७ येसुले तिनीहरूलाई भन्‍नुभयो: “मेरो पछि लाग र म तिमीहरूलाई मानिसहरूको जलारी बनाउनेछु।”+ १८ उत्तिखेरै आफ्ना जालहरू छोडेर तिनीहरू उहाँको पछि लागे।+ १९ अलि पर पुगेपछि उहाँले याकुब र तिनका भाइ युहन्‍नालाई देख्नुभयो, जो जब्दिका छोराहरू थिए। तिनीहरू डुङ्‌गामा बसेर आफ्नो जाल तुन्दै थिए।+ २० तिनीहरूलाई देख्नेबित्तिकै उहाँले तिनीहरूलाई बोलाउनुभयो। अनि तिनीहरू आफ्नो बुबा जब्दिलाई डुङ्‌गामा ज्यालादारी कामदारहरूसितै छोडेर उहाँको पछि लागे। २१ अनि तिनीहरू उहाँसँगै कफर्नहुम गए।

विश्रामदिन* सुरु हुनेबित्तिकै उहाँ सभाघरभित्र* पस्नुभयो र सिकाउन थाल्नुभयो।+ २२ उहाँको सिकाउने तरिका देखेर तिनीहरू छक्क परे किनकि उहाँले शास्त्रीहरूले जस्तो होइन तर अख्तियार पाएको व्यक्‍तिले जस्तो गरी सिकाइरहनुभएको थियो।+ २३ त्यसबेला प्रेतले* सताएको एक जना मानिस पनि तिनीहरूको सभाघरमा थियो अनि उसले चिच्याउँदै यसो भन्यो: २४ “हे नासरी येसु, तपाईँको हामीसित के सरोकार?*+ के तपाईँ हामीलाई नाश गर्न आउनुभएको हो? तपाईँ वास्तवमा को हुनुहुन्छ, मलाई थाह छ। तपाईँ परमेश्‍वरको पवित्र जन हुनुहुन्छ!”+ २५ तर येसुले त्यसलाई हप्काउँदै भन्‍नुभयो: “चुप लाग्‌ र ऊबाट बाहिर निस्केर आइज!” २६ अनि प्रेतले उसलाई अँठ्‌यायो र चर्को स्वरमा चिच्याउँदै त्यो प्रेत ऊबाट बाहिर निस्क्यो। २७ तब सबै मानिस असाध्यै छक्क परेर आपसमा यसो भन्दै कुरा गर्न थाले: “यो के हो? यो त नयाँ शिक्षा हो! उहाँले प्रेतहरूलाई समेत अख्तियार पाएको व्यक्‍तिले जस्तो आदेश दिनुहुन्छ र तिनीहरू उहाँले भनेको मान्दा रहेछन्‌।” २८ त्यसैले उहाँको कीर्ति सारा गालिलभरि तुरुन्तै फैलियो।

२९ अनि उत्तिखेरै उहाँहरू सभाघरबाट बाहिर निस्कनुभयो अनि याकुब र युहन्‍नासित सिमोन र अन्द्रियासको घर जानुभयो।+ ३० सिमोनकी सासू+ ज्वरोले थलिएकी थिइन्‌ र तिनीहरूले तुरुन्तै उहाँलाई तिनको विषयमा खबर गरे। ३१ अनि नजिक गई तिनको हात समातेर उहाँले तिनलाई उठाउनुभयो र ज्वरोले तिनलाई छोड्‌यो अनि तिनले उहाँहरूको लागि खाना तयार गर्न थालिन्‌।

३२ साँझ घाम डुबिसकेपछि मानिसहरूले उहाँकहाँ बिरामीहरू र प्रेतले सताएकाहरू सबैलाई ल्याउन थाले।+ ३३ पूरै सहर घरको ढोकामै जम्मा भएको थियो। ३४ त्यसैले उहाँले विभिन्‍न किसिमका रोगले सताएका धेरै मानिसलाई निको पार्नुभयो+ अनि थुप्रै प्रेतलाई धपाउनुभयो। तर उहाँले ती प्रेतहरूलाई बोल्न दिनुहुन्‍नथ्यो किनभने उहाँ ख्रिष्ट हुनुहुन्छ भनी तिनीहरूलाई थाह थियो।*

३५ बिहान झिसमिसेमै उहाँ उठ्‌नुभयो र बाहिर निस्केर सुनसान ठाउँमा जानुभयो र त्यहाँ प्रार्थना गर्न थाल्नुभयो।+ ३६ तर सिमोन र तिनीसँग भएकाहरूले उहाँलाई धुइँधुइँती खोजे ३७ र उहाँलाई भेट्टाए अनि तिनीहरूले उहाँलाई भने: “सबै जना तपाईँलाई खोज्दै छन्‌।” ३८ तर उहाँले तिनीहरूलाई भन्‍नुभयो: “हामी अन्त कतै नजिकैको साना सहरहरूमा जाऔँ ताकि मैले त्यहाँ पनि प्रचार गर्न सकूँ किनकि म यसैको लागि आएको हुँ।”+ ३९ अनि उहाँले सारा गालिलभरि तिनीहरूका सभाघरहरूमा प्रचार गर्नुभयो र प्रेतहरूलाई धपाउनुभयो।+

४० त्यहाँ एक जना कुष्ठरोगी पनि आयो र उसले घुँडा टेकेर बिन्ती गर्दै यसो भन्यो: “तपाईँले मलाई शुद्ध पार्न सक्नुहुन्छ। तपाईँले इच्छा गर्नुभए पुग्छ।”+ ४१ यो सुनेर उहाँ टिठाउनुभयो अनि आफ्नो हात पसारेर उसलाई छुनुभयो र भन्‍नुभयो: “म इच्छा गर्छु। तिमी शुद्ध भइजाऊ।”+ ४२ अनि तुरुन्तै उसको कुष्ठरोग हरायो र ऊ शुद्ध भयो। ४३ त्यसपछि उहाँले उसलाई कडा आदेश दिनुभयो र त्यहाँबाट तुरुन्तै पठाउनुभयो ४४ अनि यसो भन्‍नुभयो: “यसबारे कसैलाई केही नभन तर गएर पुजारीलाई देखाऊ अनि आफू शुद्ध भएँ भनी तिनीहरूलाई साक्षी दिन+ मोसाको निर्देशनबमोजिम भेटी चढाऊ।”+ ४५ तर त्यहाँबाट गएपछि त्यस मानिसले यसबारे जताततै कुरा गर्न थाल्यो अनि यो कुरा चारैतिर फैलियो। यसले गर्दा येसु सहरमा खुलेआम पस्न सक्नुभएन। त्यसैले उहाँ सहरबाहिर एकान्त ठाउँहरूमा बस्न थाल्नुभयो। तैपनि तिनीहरू चारैतिरबाट उहाँकहाँ आइरहे।+

२ तर केही दिनपछि उहाँ फेरि कफर्नहुम पस्नुभयो र उहाँ घरमै हुनुहुन्छ भन्‍ने खबर फैलियो।+ २ अनि थुप्रै मानिस भेला भए, यहाँसम्म कि ढोकाभित्र छिर्न समेत नमिल्नेगरि मानिसहरूले घर खचाखच भरियो अनि उहाँले तिनीहरूलाई परमेश्‍वरको वचन सुनाउन थाल्नुभयो।+ ३ तब पक्षाघात भएको एक जना मानिसलाई चार जनाले बोकेर उहाँकहाँ ल्याए।+ ४ तर भीडले गर्दा तिनीहरूले उसलाई येसुको नजिक पुऱ्‍याउन सकेनन्‌। त्यसैले उहाँ बसिरहनुभएको ठाउँमाथिको छाना उघारेर तिनीहरूले पक्षाघात भएको त्यस मानिसलाई खाटसहितै त्यहाँबाट तल ओराले। ५ तिनीहरूको विश्‍वास देखेर येसुले+ पक्षाघात भएको त्यस मानिसलाई भन्‍नुभयो: “बाबु, तिम्रो पाप क्षमा भयो।”+ ६ त्यहाँ बसिरहेका केही शास्त्रीहरू मनमनै यस्तो तर्क गर्दै थिए:+ ७ “यस मानिसले किन यसरी कुरा गर्दै छ? यसले त परमेश्‍वरको निन्दा गर्दै छ। परमेश्‍वरबाहेक अरू कसले पाप क्षमा गर्न सक्छ र?”+ ८ तर तिनीहरू मनमनै त्यसरी तर्क गर्दै छन्‌ भनेर येसुले तुरुन्तै चाल पाउनुभयो। त्यसैले उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू किन आफ्नो हृदयमा यस्तो तर्क गर्दै छौ?+ ९ पक्षाघात भएको मानिसलाई के भन्‍न सजिलो छ, ‘तिम्रो पाप क्षमा भयो’ भन्‍न कि ‘उठ अनि तिम्रो खाट बोकेर जाऊ’ भन्‍न? १० तैपनि मानिसको छोरासित+ पृथ्वीमा पाप क्षमा गर्ने अख्तियार छ भन्‍ने तिमीहरूले बुझ . . . ”+ उहाँले पक्षाघात भएको त्यस मानिसलाई भन्‍नुभयो: ११ “म तिमीलाई भन्छु, उठ, तिम्रो खाट बोक अनि घर जाऊ।” १२ तब ऊ उठ्‌यो अनि तुरुन्तै आफ्नो खाट बोक्यो र सबैले देख्ने गरी त्यहाँबाट हिँडेर बाहिर निस्क्यो। यो देखेर तिनीहरू सबै चकित भए र परमेश्‍वरको महिमा गर्दै भन्‍न थाले: “यस्तो त हामीले कहिल्यै देखेका थिएनौँ।”+

१३ उहाँ फेरि समुद्रको छेउमा जानुभयो अनि भीडका भीड मानिसहरू उहाँकहाँ ओइरिन थाले र उहाँले तिनीहरूलाई सिकाउन थाल्नुभयो। १४ अनि हिँड्‌दै गर्दा उहाँले अल्फयसका छोरा लेविलाई कर उठाउने ठाउँमा बसिरहेको देख्नुभयो र उहाँले तिनलाई भन्‍नुभयो: “मेरो पछि लाग।” तब तिनी जुरुक्क उठेर उहाँको पछि लागे।+ १५ केही समयपछिको कुरा हो, उहाँ तिनको घरमा खान बसिरहनुभएको थियो र कर उठाउने थुप्रै मानिस अनि थुप्रै पापी पनि त्यहाँ येसु र उहाँका चेलाहरूसित खान बसिरहेका थिए। तिनीहरू धेरै थिए र तिनीहरूमध्ये धेरै जना उहाँको चेला बनेका थिए।+ १६ उहाँले पापीहरूसित अनि कर उठाउने मानिसहरूसित खाइरहनुभएको देखेर केही शास्त्रीहरू, जो फरिसी* थिए, तिनीहरूले उहाँका चेलाहरूलाई यसो भन्‍न थाले: “के उहाँ कर उठाउने र पापी मानिसहरूसित बसेर खानुहुन्छ?” १७ यो सुनेर येसुले तिनीहरूलाई भन्‍नुभयो: “बलियाहरूलाई वैद्य* चाहिँदैन तर बिरामीहरूलाई चाहिन्छ। म धर्मीहरूलाई होइन तर पापीहरूलाई बोलाउन आएँ।”+

१८ युहन्‍नाका चेलाहरू अनि फरिसीहरू उपवास बस्ने गर्थे। त्यसैले तिनीहरूले उहाँकहाँ आएर सोधे: “युहन्‍नाका चेलाहरू अनि फरिसीहरूका चेलाहरू उपवास बस्ने गर्छन्‌ तर तपाईँका चेलाहरूचाहिँ किन उपवास बस्दैनन्‌?”+ १९ येसुले तिनीहरूलाई भन्‍नुभयो: “दुलहा+ आफूसँग होउन्जेल तिनका साथीहरू उपवास बस्नुपर्ने कुनै कारण छ र? जबसम्म दुलहा तिनीहरूसँगै हुन्छन्‌, तबसम्म तिनीहरू उपवास बस्दैनन्‌। २० तर यस्तो बेला आउनेछ, जब दुलहालाई तिनीहरूबाट अलग पारिनेछ+ अनि त्यसबेला तिनीहरू उपवास बस्नेछन्‌। २१ कसैले पनि पुरानो लुगा फाट्‌दा त्यसमा नयाँ कपडाको टालो हाल्दैन किनकि त्यसो गऱ्‍यो भने नयाँ टालो सुकेर जाँदा त्यसले पुरानो लुगालाई तानेर झनै फटाउँछ।+ २२ त्यसैगरि कसैले पनि नयाँ दाखमद्य* पुरानो मशकमा* राख्दैन किनकि त्यसो गऱ्‍यो भने दाखमद्यले गर्दा मशक च्यातिन्छ अनि मशक र दाखमद्य दुवै खेर जान्छ। नयाँ दाखमद्य नयाँ मशकमै राखिन्छ।”

२३ एकचोटिको कुरा हो, उहाँ विश्रामदिनमा* गहुँ खेत हुँदै गइरहनुभएको बेला उहाँका चेलाहरू गहुँका बालाहरू टिप्दै हिँड्‌न थाले।+ २४ यो देखेर फरिसीहरूले उहाँलाई यसो भने: “यहाँ हेर्नुहोस्‌, तिनीहरू किन विश्रामदिनमा गर्न नहुने काम गरेर नियम उल्लङ्‌घन गर्दै छन्‌?” २५ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “दाउदले आफू र आफ्ना मानिसहरू भोकाउँदा अनि खानेकुरा केही नहुँदा के गरे, के तिमीहरूले कहिल्यै पढेका छैनौ?+ २६ के तिमीहरूले मुख्य पुजारी अबियातारको+ विवरण पढेका छैनौ कि कसरी दाउद परमेश्‍वरको भवनभित्र पसे र पुजारीहरूबाहेक अरूले खानु उचित नभए तापनि परमेश्‍वरलाई चढाइएका रोटीहरू* खाए+ अनि आफ्ना मानिसहरूलाई पनि केही दिए?” २७ उहाँले तिनीहरूलाई अझै यसो भन्‍नुभयो: “परमेश्‍वरले मानिसको निम्ति विश्रामदिन तोक्नुभएको हो,+ विश्रामदिन मान्‍नकै लागि भनेर मानिस सृष्टि गर्नुभएको होइन। २८ त्यसैले मानिसको छोरा विश्रामदिनको पनि प्रभु हो।”+

३ उहाँ फेरि एउटा सभाघरमा पस्नुभयो र त्यहाँ एक जना मानिस थियो, जसको एउटा हात सुकेको* थियो।+ २ उहाँले विश्रामदिनमा* उसलाई निको पार्नुहुन्छ कि पार्नुहुन्‍न भनेर फरिसीहरूले उहाँलाई नियालेर हेरिरहेका थिए किनकि तिनीहरू उहाँलाई दोष लगाउन चाहन्थे। ३ उहाँले हात सुकेको त्यस मानिसलाई भन्‍नुभयो: “उठ र यहाँ बीचमा आऊ।” ४ त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “विश्रामदिनमा भलो गर्नु ठीक हो कि हानि गर्नु? ज्यान बचाउनु ठीक हो कि ज्यान लिनु?”+ तर तिनीहरू चुप लागेर बसे। ५ तिनीहरूको हृदय बोधो भएको देखेर उहाँ असाध्यै दुःखी हुनुभयो+ र रिसाउँदै चारैतिर तिनीहरू सबैलाई हेर्नुभयो। अनि उहाँले त्यस मानिसलाई भन्‍नुभयो: “तिम्रो हात तन्काऊ।” उसले आफ्नो हात तन्कायो अनि उसको हात सद्दे भइहाल्यो। ६ यो देखेर फरिसीहरू बाहिर गए र तुरुन्तै हेरोदवादीहरूसित मिलेर+ उहाँलाई मार्न षड्‌यन्त्र रच्न थाले।

७ तर येसु आफ्ना चेलाहरूसित समुद्रतिर लाग्नुभयो। अनि गालिल र यहुदियाबाट आएको एउटा ठूलो भीड उहाँको पछि लाग्यो।+ ८ उहाँले गर्नुभएका अचम्मलाग्दा कामहरूको विषयमा सुनेर यरुसलेम र इदुमिआका साथै यर्दनपारिबाट अनि टायर र सिदोनको छेउछाउबाट समेत मानिसहरूको भीड उहाँकहाँ आयो। ९ अनि भीडले नपेलोस्‌ भनेर उहाँले आफ्ना चेलाहरूलाई उहाँको निम्ति एउटा सानो डुङ्‌गा तयार राख्न भन्‍नुभयो। १० किनकि उहाँले धेरै जनालाई निको पार्नुभएको देखेर गम्भीर रोग लागेका मानिसहरू उहाँलाई छुन ठेलमठेल गर्दै थिए।+ ११ प्रेतले* सताएका मानिसहरूसमेत+ उहाँलाई देख्नेबित्तिकै दण्डवत्‌ गर्दै यसो भनेर कराउँथे: “तपाईँ परमेश्‍वरको छोरा हुनुहुन्छ!”+ १२ तर उहाँ को हुनुहुन्छ भनेर कसैलाई नभन्‍नू भनी उहाँले धेरै चोटि तिनीहरूलाई कडा चेतावनी दिनुभयो।+

१३ त्यसपछि उहाँ एउटा डाँडामा उक्लनुभयो अनि आफ्ना केही चेलाहरूलाई बोलाउनुभयो+ र तिनीहरू उहाँकहाँ आए।+ १४ उहाँले १२ जनाको एउटा समूह बनाएर* प्रेषितहरू* भन्‍ने नाम पनि दिनुभयो ताकि तिनीहरू उहाँको साथमा रहिरहून्‌ र तिनीहरूलाई प्रचार गर्न पठाउन सकियोस्‌ १५ अनि प्रेतहरू धपाउने अख्तियार दिन सकियोस्‌।+

१६ उहाँले बनाउनुभएको* समूहका १२ जना+ यी नै हुन्‌: सिमोन, जसलाई उहाँले पत्रुस भन्‍ने नाम पनि दिनुभयो,+ १७ जब्दिको छोरा याकुब, याकुबको भाइ युहन्‍ना (उहाँले यी दुईलाई बोअनर-गेस भन्‍ने नाम पनि दिनुभयो, जसको अर्थ हुन्छ, “गर्जनका छोराहरू”),+ १८ अन्द्रियास, फिलिप, बारथोलोमाइ, मत्ति, थोमा, अल्फयसको छोरा याकुब, थेदियस, जोसिलो* सिमोन १९ र यहुदा इस्करियोत, जसले पछि येसुलाई धोका दिए।

त्यसपछि उहाँ एउटा घरभित्र पस्नुभयो। २० त्यहाँ पनि भीड जम्मा भयो र उहाँहरूले खाना खान समेत पाउनुभएन। २१ जब उहाँका नातेदारहरूले यो कुरा सुने, तब तिनीहरू उहाँलाई लिन आए किनकि तिनीहरू यसो भन्थे: “उसको दिमाग खुस्केको छ।”+ २२ साथै यरुसलेमबाट ओर्लेर आएका शास्त्रीहरूले यसो भनिरहेका थिए: “यसमा बालजिबुलले* बास गरेको छ र प्रेतहरूको शासकबाट शक्‍ति पाएको भएरै यसले प्रेतहरूलाई धपाउँछ।”+ २३ त्यसैले तिनीहरूलाई आफ्नो नजिक बोलाएर उहाँले उदाहरणहरू दिएर यसो भन्‍नुभयो: “सैतानले सैतानलाई नै कसरी धपाउन सक्छ र? २४ यदि कुनै राज्यभित्र फूट छ भने त्यो राज्य कदापि टिक्न सक्दैन;+ २५ अनि यदि कुनै घरभित्र फूट छ भने त्यो घर टिक्न सक्दैन। २६ त्यसरी नै यदि सैतान आफ्नै विरुद्धमा खडा भएको छ र त्यो आफैमा फूट छ भने त्यो टिक्न सक्दैन तर त्यसको अन्त हुनेछ। २७ बलियो मानिसको घरभित्र पसेको मानिसले पहिला त्यो बलियो मानिसलाई नबाँधीकन उसको सामान चोर्न सक्दैन। त्यसपछि मात्र त्यसले उसको घर लुट्‌न सक्छ। २८ म तिमीहरूलाई साँच्चै भन्छु, मानिसहरूलाई सबै कुराको क्षमा दिइनेछ, चाहे तिनीहरूले जस्तोसुकै पाप र निन्दा गरेका किन नहोऊन्‌। २९ तर जसले पवित्र शक्‍तिको निन्दा गर्छ, उसले कहिल्यै क्षमा पाउनेछैन,+ ऊ कहिल्यै नमेटिने पापको दोषी ठहरिनेछ।”+ ३० तिनीहरूले “यसमा प्रेत बास गरेको छ” भनेको हुनाले उहाँले त्यसो भन्‍नुभएको थियो।+

३१ तब उहाँकी आमा र उहाँका भाइहरू+ आए अनि तिनीहरू बाहिरै उभिएर उहाँलाई बोलाउन कसैलाई पठाए।+ ३२ त्यतिखेर मानिसहरूको एउटा विशाल भीड उहाँको वरिपरि बसिरहेको थियो। त्यसैले तिनीहरूले उहाँलाई भने: “हेर्नुहोस्‌! तपाईँकी आमा र तपाईँका भाइहरू तपाईँलाई बाहिर पर्खिरहेका छन्‌।”+ ३३ तर उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “को हुन्‌ मेरी आमा अनि को हुन्‌ मेरा भाइहरू?” ३४ अनि आफ्नो चारैतिर घेरा बनाएर बसिरहेकाहरूलाई हेरेर उहाँले भन्‍नुभयो: “हेर, मेरी आमा अनि मेरा भाइहरू!+ ३५ जसले परमेश्‍वरको इच्छा पूरा गर्छ, ऊ नै मेरो दाजुभाइ, दिदीबहिनी र आमा हो।”+

४ अनि उहाँले समुद्रको छेउमा फेरि सिकाउन थाल्नुभयो। तब उहाँको नजिकै असाध्यै ठूलो भीड जम्मा भयो। त्यसैले उहाँ डुङ्‌गामा चढ्‌नुभयो र किनाराबाट अलि पर जानुभयो तर सबै मानिस भने किनारामै बसे।+ २ त्यसपछि उहाँले उदाहरणहरू चलाएर+ तिनीहरूलाई धेरै कुरा सिकाउन थाल्नुभयो र भन्‍नुभयो:+ ३ “लौ सुन। एक जना बिउ छर्ने मानिस बिउ छर्नलाई निस्क्यो।+ ४ बिउ छर्दै जाँदा केही बिउ बाटोको छेउछाउमा परे अनि चराहरू आएर ती खाइदिए। ५ अरू केहीचाहिँ चट्टानमा परे, जहाँ त्यति माटो थिएन अनि माटो गहिरो नभएकोले ती तुरुन्तै टुसाइहाले।+ ६ तर घाम लागेपछि ती ओइलाए अनि जरा लाग्न नपाएकोले सुकिहाले। ७ अरू केही बिउचाहिँ काँडाहरूको बीचमा परे अनि काँडाहरू बढ्‌दै जाँदा ती निसासिए र कुनै फल फलाएनन्‌।+ ८ तर बाँकी भने असल माटोमा परे अनि अङ्‌कुराएर बढे र तिनीहरूले फल फलाउन थाले—कुनैले ३० गुणा, कुनैले ६० गुणा अनि कुनैले १०० गुणा।”+ ९ त्यसपछि उहाँले यसो पनि भन्‍नुभयो: “जसको सुन्‍ने कान छ, उसले सुनोस्‌।”+

१० उहाँ एक्लै हुनुभएपछि केही चेलाहरू र ती १२ जना प्रेषित उहाँकहाँ आए अनि ती उदाहरणहरूबारे सोध्न थाले।+ ११ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूलाई परमेश्‍वरको राज्यको पवित्र रहस्य+ बुझ्ने मौका दिइएको छ तर अरूका लागि त यो उदाहरणमै सीमित हुनेछ+ १२ ताकि तिनीहरूले हेर्न त हेरून्‌ तर नदेखून्‌, सुन्‍न त सुनून्‌ तर त्यसको अर्थ नबुझून्‌। तिनीहरू मकहाँ कहिल्यै फर्केर आउनेछैनन्‌ र क्षमा पाउनेछैनन्‌।”+ १३ उहाँले तिनीहरूलाई यसो पनि भन्‍नुभयो: “तिमीहरूले यो उदाहरण त बुझेनौ भने बाँकी सबै उदाहरण कसरी बुझौला?

१४ “बिउ छर्नेले परमेश्‍वरको वचन छर्छ।+ १५ बाटोको छेउछाउमा छरिएकाहरू ती हुन्‌, जसले परमेश्‍वरको वचन सुन्‍नेबित्तिकै सैतान आउँछ+ र तिनीहरूको हृदयमा छरिएको परमेश्‍वरको वचन खोसेर लैजान्छ।+ १६ त्यसैगरि चट्टानमा छरिएकाहरू ती हुन्‌, जसले वचन सुन्‍नेबित्तिकै खुसीसाथ स्विकार्छन्‌।+ १७ आफ्नै जरा नभए तापनि तिनीहरू केही समयसम्म रहिरहन्छन्‌ तर परमेश्‍वरको वचनको कारण सङ्‌कष्ट वा खेदो आउनेबित्तिकै तिनीहरू ठेस खान्छन्‌। १८ काँडाहरूको बीचमा छरिएका बाँकी अरू भने ती हुन्‌, जसले परमेश्‍वरको वचन सुन्छन्‌+ १९ तर यस संसारमा* आइपर्ने फिक्री+ र धनसम्पत्तिको भ्रामक शक्‍ति+ अनि बाँकी सबै कुरा प्राप्त गर्ने चाहना+ तिनीहरूको हृदयमा पस्छ र परमेश्‍वरको वचन निसासिन्छ र त्यसले फल फलाउँदैन। २० अन्तमा असल माटोमा छरिएकाचाहिँ ती हुन्‌, जसले वचन सुन्छन्‌ र खुसीसाथ त्यसलाई स्विकार्छन्‌ अनि कुनैले ३० गुणा, कुनैले ६० गुणा र कुनैले १०० गुणा फल फलाउँछन्‌।”+

२१ उहाँले तिनीहरूलाई फेरि यसो भन्‍नुभयो: “के दियो बालेर टोकरीले* छोपिन्छ र? वा खाटमुनि राखिन्छ र? त्यो त पानसमा राखिन्छ नि, होइन र?+ २२ किनकि लुकाइएको यस्तो कुनै कुरा छैन, जुन प्रकट हुँदैन; होसियारीपूर्वक ढाकछोप गरिएको यस्तो कुनै कुरा छैन, जुन उदाङ्‌ग हुँदैन।+ २३ जसको सुन्‍ने कान छ, उसले सुनोस्‌।”+

२४ उहाँले तिनीहरूलाई यो कुरा पनि भन्‍नुभयो: “तिमीहरू जे सुन्दै छौ, त्यसलाई ध्यान देओ।+ जुन नापले तिमीहरू नाप्छौ, त्यही नापले तिमीहरूका लागि नापिनेछ। हो, तिमीहरूलाई त्योभन्दा अझ धेरै दिइनेछ। २५ किनकि जोसित छ, उसलाई अझ धेरै दिइनेछ।+ तर जोसित छैन, ऊसित भएको समेत ऊबाट खोसिनेछ।”+

२६ उहाँले फेरि यसो भन्‍नुभयो: “परमेश्‍वरको राज्य यस्तो हो: एक जना मानिसले जमिनमा बिउ छर्छ। २७ हरेक रात ऊ सुत्छ र बिहान उठ्‌छ अनि बिउ पनि अङ्‌कुराउँछ र बढ्‌दै जान्छ तर यी सब कसरी हुन्छ, त्यो उसले जान्दैन। २८ जमिनले आफ्नै सुरले बाली उमार्छ; पहिले डाँठ, त्यसपछि बाला अनि अन्तमा अन्‍नको गेडा। २९ अन्‍न पाक्नेबित्तिकै उसले हँसिया लगाउँछ किनकि बाली काट्‌ने समय आएको छ।”

३० उहाँले फेरि यसो भन्‍नुभयो: “परमेश्‍वरको राज्यलाई हामी केसित तुलना गर्न सक्छौँ अथवा कुन उदाहरण चलाएर बुझाउन सक्छौँ? ३१ त्यो त रायोको दानाजस्तो हो। छर्ने बेला त्यो पृथ्वीमा पाइने बिउहरूमध्ये सबैभन्दा सानो हुन्छ।+ ३२ तर छरेपछि त्यो उम्रन्छ अनि सबै सागपातभन्दा अग्लो हुन्छ र त्यसमा ठूलठूला हाँगाहरू लाग्छन्‌, यहाँसम्म कि त्यसको छायामुनि आकाशका चराचुरुङ्‌गी बास बस्न सक्छन्‌।”

३३ तिनीहरूले बुझ्न सकुन्जेल उहाँ यस्ता थुप्रै उदाहरण चलाएर+ तिनीहरूलाई परमेश्‍वरको वचन सुनाउनुहुन्थ्यो। ३४ वास्तवमा उदाहरण नचलाई उहाँ तिनीहरूसित कुरा गर्नुहुन्‍नथ्यो तर कोही नभएको बेला आफ्ना चेलाहरूलाई सबै कुरा बुझाउनुहुन्थ्यो।+

३५ त्यो दिन साँझ परेपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “आओ, हामी पारिपट्टि जाऔँ।”+ ३६ त्यसैले भीडलाई बिदा गरिसकेपछि तिनीहरूले उहाँलाई त्यही डुङ्‌गामा लगे। त्यतिखेर त्यहाँ अरू डुङ्‌गाहरू पनि थिए।+ ३७ तब ठूलो आँधी चल्यो र छाल उर्लेर डुङ्‌गालाई हिर्काउन थाल्यो, यहाँसम्म कि डुङ्‌गा पानीले भरिन लाग्यो।+ ३८ तर उहाँ भने डुङ्‌गाको पछिल्तिर सिरानी हालेर निदाइरहनुभएको थियो। त्यसैले तिनीहरूले उहाँलाई ब्युँझाए र यसो भने: “हे गुरु, हामी यहाँ मर्नै आँटिसक्यौँ तैपनि तपाईँलाई चिन्ता छैन?” ३९ यो सुनेर उहाँ उठ्‌नुभयो। त्यसपछि उहाँले आँधीलाई हप्काउनुभयो अनि समुद्रलाई यसो भन्‍नुभयो: “चुप लाग्‌! शान्त भइजा!”+ तब आँधी थामियो अनि समुद्र पूरै शान्त भयो। ४० अनि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू किन यत्तिबिघ्न डराउँछौ? के तिमीहरूसित अझैसम्म पनि विश्‍वास छैन?” ४१ तर तिनीहरू असाध्यै डराए र आपसमा यसो भन्‍न थाले: “यिनी साँच्चै को हुन्‌? आँधी र समुद्रले समेत यिनको आज्ञा मान्छन्‌।”+

५ तब उहाँहरू समुद्रको पारिपट्टि गेरासिनीहरूको इलाकामा पुग्नुभयो।+ २ येसु डुङ्‌गाबाट ओर्लनुहुनेबित्तिकै प्रेतको* वशमा परेको एक जना मानिस चिहानबाट उहाँकहाँ आयो। ३ त्यो मानिस चिहानहरूमा भौँतारिरहन्थ्यो। त्यतिबेलासम्म कसैले पनि उसलाई बाँध्न सकेको थिएन, यहाँसम्म कि मानिसहरूले उसलाई साङ्‌लाले समेत बाँध्न सकेका थिएनन्‌। ४ उसलाई धेरै पटक नेल र साङ्‌लाले बाँधिएको थियो। तर उसले साङ्‌ला चुँडाल्थ्यो र नेललाई टुक्राटुक्रा पार्थ्यो अनि कसैसित उसलाई काबूमा राख्ने तागत थिएन। ५ ऊ चिहानहरू र पहाडहरूमा रातदिन कराइरहन्थ्यो अनि आफ्नो जीउमा ढुङ्‌गाले काटेर चोटैचोट बनाउँथ्यो। ६ तर टाढाबाट येसुलाई देख्नेबित्तिकै ऊ दौडेर आयो र उहाँलाई दण्डवत्‌ गऱ्‍यो।+ ७ अनि उसले ठूलो स्वरले कराउँदै यसो भन्यो: “हे सर्वोच्च परमेश्‍वरका छोरा येसु, तपाईँको मसित के सरोकार?* मलाई नसताउनुहोस्‌ भनेर म तपाईँलाई परमेश्‍वरको कसम खान लाउँछु।”+ ८ उहाँले “ए प्रेत, त्यस मानिसबाट निक्लेर आइज” भनिरहनुभएकोले ऊ यसरी चिच्याएको थियो।+ ९ अनि उहाँले उसलाई सोध्नुभयो: “तेरो नाम के हो?” उसले उहाँलाई जवाफ दियो: “मेरो नाम पल्टन हो किनभने हामी धेरै छौँ।” १० अनि उसले आफूलाई त्यस इलाकाबाट बाहिर नपठाउन उहाँलाई बारम्बार बिन्ती गऱ्‍यो।+

११ त्यतिखेर सुँगुरको+ एउटा ठूलो बथान त्यो पहाडमा चरिरहेको थियो।+ १२ त्यसैले ती प्रेतहरूले उहाँलाई यसो भन्दै बिन्ती गरे: “हामीलाई ती सुँगुरहरूकहाँ पठाउनुहोस्‌ र तिनीहरूभित्र पस्न दिनुहोस्‌।” १३ अनि उहाँले तिनीहरूलाई अनुमति दिनुभयो। तब ती प्रेतहरू त्यस मानिसबाट बाहिर निस्केर सुँगुरहरूभित्र पसे अनि सुँगुरको बथान भीरतिर हुत्तिँदै समुद्रमा खस्यो। यसरी झन्डै २ हजारजति सुँगुर समुद्रमा खसेर डुबे। १४ तब गोठालाहरू भागे अनि सहर र गाउँमा गएर यसबारे सबैलाई सुनाए। अनि के भएको रहेछ भनी हेर्न मानिसहरू त्यहाँ आए।+ १५ तिनीहरू येसुकहाँ आए अनि प्रेत बास गरेको त्यस मानिसलाई लुगा लगाएर बसेको र सद्दे भएको तिनीहरूले देखे। यो त्यही मानिस थियो, जसमा पल्टन बास गर्थ्यो। यो सब देखेर तिनीहरू डराए। १६ साथै प्रेतले सताएको त्यो मानिस कसरी सद्दे भयो अनि सुँगुरहरूलाई के भयो भनी प्रत्यक्षदर्शीहरूले तिनीहरूलाई बताइदिए। १७ त्यसैले तिनीहरूले येसुलाई आफ्नो इलाकाबाट गइहाल्न बिन्ती गर्न थाले।+

१८ उहाँ डुङ्‌गा चढ्‌दै गर्नुहुँदा पहिला प्रेत बास गरेको त्यस मानिसले आफू पनि सँगै जान पाऊँ भनी उहाँलाई बिन्ती गऱ्‍यो।+ १९ तर उहाँले उसलाई सँगै आउन दिनुभएन बरु यसो भन्‍नुभयो: “तिमी घर फर्क र आफ्ना नातेदारहरूकहाँ जाऊ अनि यहोवा* परमेश्‍वरले तिम्रो लागि गर्नुभएका सबै कुरा अनि तिमीमाथि देखाउनुभएको कृपाबारे तिनीहरूलाई बताइदेऊ।” २० अनि ऊ गयो र येसुले उसको लागि गर्नुभएका सबै कुरा डेकापोलिसमा* बताउन थाल्यो अनि सबै मानिस आश्‍चर्यचकित भए।

२१ येसु डुङ्‌गा चढेर फेरि पारिपट्टि जानुभयो। त्यहाँ एउटा ठूलो जमात भेला भयो र उहाँ समुद्रको किनारामै हुनुहुन्थ्यो।+ २२ त्यहाँ याइरस नाम गरेका सभाघरको पदाधिकारी आए र उहाँलाई देख्नेबित्तिकै तिनी उहाँको पाउ परे।+ २३ तिनले यसो भन्दै उहाँलाई धेरै पटक बिन्ती गरे: “मेरी सानी छोरी साह्रै बिरामी छे।* बिन्ती छ, तपाईँ आउनुहोस्‌ अनि ऊमाथि आफ्नो हात राख्नुहोस्‌+ र ऊ निको होस्‌ र बाँचोस्‌।” २४ तिनको कुरा सुनेर उहाँ तिनीसित जानुभयो। अनि एउटा ठूलो जमात पनि ठेलमठेल गर्दै उहाँको पछि लाग्यो।

२५ रगत बग्ने बेथाले सताएको १२ वर्ष भइसकेको एउटी स्त्री+ पनि त्यही भीडमा थिई।+ २६ उसले थुप्रै वैद्यबाट* उपचार गराएर धेरै दुःख भोगिसकेकी थिई। अनि आफ्नो सारा सम्पत्ति खर्च गर्दा पनि उसको अवस्था सुध्रिनुको सट्टा झनै नाजुक हुँदै गइरहेको थियो। २७ जब उसले येसुको विषयमा सुनी, तब भीडमा उहाँको पछिल्तिर गएर उहाँको लुगा छोई।+ २८ किनकि उसले मनमनै यस्तो सोचेकी थिई: “यदि मैले उहाँको लुगा छुन मात्र पाएँ भने पनि म निको हुनेछु।”+ २९ अनि उसको रगत बग्न बन्द भइहाल्यो र आफू त्यस पीडादायी रोगबाट मुक्‍त भएको उसले महसुस गरी।

३० उत्तिखेरै येसुले पनि आफूभित्रबाट शक्‍ति निस्केर बाहिर गएको+ चाल पाउनुभयो र भीडतिर फनक्क फर्केर सोध्नुभयो: “मेरो लुगा कसले छोयो?”+ ३१ तर चेलाहरूले उहाँलाई भने: “यत्रो भीडले तपाईँलाई ठेलिरहेको देख्नुभएकै छ तैपनि तपाईँ ‘मलाई कसले छोयो’ भनी सोध्नुहुन्छ?” ३२ उहाँ भने आफूलाई छुने को हो भनेर खोजिरहनुभएको थियो। ३३ तब आफू निको भएको चाल पाएपछि त्यो स्त्री डरले थरथर काम्दै उहाँसामु आई र घुँडा टेकेर एक-एक गरी सबै सत्य कुरा बताई। ३४ उहाँले उसलाई भन्‍नुभयो: “नानी, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ। ढुक्क भएर जाऊ,+ तिमीलाई दुःख दिइरहेको यो रोग निको भयो।”+

३५ उहाँ बोल्दै गर्नुहुँदा सभाघरको पदाधिकारीको घरबाट केही मानिस आए र तिनलाई भने: “तपाईँकी छोरी मरिसकी! अब गुरुज्यूलाई किन बेकारमा दुःख दिने?”+ ३६ तर तिनीहरू कुरा गर्दै गरेको सुनेर येसुले सभाघरको त्यस पदाधिकारीलाई भन्‍नुभयो: “चिन्ता नगर,* केवल विश्‍वास गर।”+ ३७ तब उहाँले पत्रुस, याकुब र तिनका भाइ युहन्‍नाबाहेक अरू कसैलाई आफूसित आउन दिनुभएन।+

३८ अनि उहाँहरू सभाघरको पदाधिकारीको घरमा पुग्नुभयो। त्यहाँ पुग्दा उहाँले खैलाबैला मच्चिरहेको देख्नुभयो। मानिसहरू रुवाबासी र अलापविलाप गर्दै थिए।+ ३९ भित्र पसेपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू किन खैलाबैला र रुवाबासी गरिरहेका छौ? सानी केटी मरेकी छैन तर निदाइरहेकी छे।”+ ४० यो सुनेर तिनीहरू उहाँको खिल्ली उडाउँदै हाँस्न थाले। तर तिनीहरू सबैलाई बाहिर पठाएपछि उहाँ त्यस केटीको बुबा-आमालाई अनि आफूसित आएकाहरूलाई लिएर भित्र त्यो केटी भएको ठाउँमा जानुभयो। ४१ अनि उहाँले त्यो सानी केटीको हात समातेर उसलाई यसो भन्‍नुभयो: “तालिता कूमी,” जसको अनुवाद गर्दा अर्थ यस्तो हुन्छ: “ए नानी, म तिमीलाई भन्छु, उठ!”+ ४२ तब त्यो केटी उत्तिखेरै जुरुक्क उठी र हिँडडुल गर्न थाली। (ऊ १२ वर्षकी थिई।) यो देखेर तिनीहरूको खुसीको सीमा रहेन। ४३ तर यसबारे कसैलाई थाह नदिनू भनी उहाँले तिनीहरूलाई पटक-पटक* आदेश दिनुभयो+ र त्यस केटीलाई केही खानेकुरा दिन भन्‍नुभयो।

६ अनि उहाँ त्यो ठाउँ छोडेर आफ्नो गृहनगर पुग्नुभयो+ र उहाँका चेलाहरू पनि उहाँको पछि लागे। २ जब विश्रामदिन* आयो, तब उहाँले सभाघरमा सिकाउन थाल्नुभयो। उहाँको कुरा सुन्‍नेहरूमध्ये धेरै जना छक्क परे र यसो भने: “यस मानिसले यस्तो कुरा कहाँबाट सिक्यो?+ यस मानिसले यस्तो बुद्धि कसरी पायो? यसलाई यस्तो शक्‍तिशाली कामहरू गर्ने क्षमता कसले दियो?+ ३ के यो त्यही सिकर्मी होइन?+ के यो मरियमको छोरा+ अनि याकुब,+ युसुफ, यहुदा र सिमोनको दाइ होइन र?+ अनि के यसका बहिनीहरू यहाँ हामीमाझ नै छैनन्‌ र?” त्यसैले तिनीहरूले उहाँमाथि विश्‍वास गर्न चाहेनन्‌। ४ तब येसुले तिनीहरूलाई भन्‍नुभयो: “भविष्यवक्‍ताले सबै ठाउँमा आदर पाउँछ तर आफ्नै इलाकामा, आफ्नै नातागोताको बीचमा र आफ्नै घरमा भने पाउँदैन।”+ ५ त्यसैले उहाँले त्यहाँ केही बिरामीहरूमाथि आफ्नो हात राखेर तिनीहरूलाई निको पार्नेबाहेक अरू कुनै शक्‍तिशाली काम गर्नुभएन। ६ हो, तिनीहरूले विश्‍वास नगरेको देखेर उहाँ छक्क पर्नुभयो। अनि उहाँले वरपरका गाउँहरूमा गएर सिकाउनुभयो।+

७ तब उहाँले ती १२ जनालाई बोलाउनुभयो र तिनीहरूलाई दुई-दुई जना गरी पठाउन सुरु गर्नुभयो+ अनि प्रेतहरूलाई* धपाउने अख्तियार पनि दिनुभयो।+ ८ साथै उहाँले तिनीहरूलाई यात्राको लागि लौरोबाहेक अरू केही नबोक्न आज्ञा दिनुभयो; न रोटी न झोला न त आफ्नो पटुकामा पैसा।*+ ९ उहाँले जुत्ता लगाउनू तर दुईसरो लुगा भने नलगाउनू पनि भन्‍नुभयो। १० साथै उहाँले तिनीहरूलाई भन्‍नुभयो: “जुन घरमा तिमीहरू पसौला, त्यो ठाउँ नछोडुन्जेल त्यसै घरमा बस।+ ११ अनि जुन ठाउँमा मानिसहरूले तिमीहरूलाई स्वागत गर्दैनन्‌ वा तिमीहरूको कुरा सुन्दैनन्‌, त्यहाँबाट निस्कँदा तिनीहरूलाई साक्षीको निम्ति आफ्नो पैतालाको धुलो टकटक्याइदेओ।”*+ १२ तब तिनीहरू गए र मानिसहरूले पश्‍चात्ताप गर्नुपर्छ भनी प्रचार गरे।+ १३ अनि तिनीहरूले धेरै प्रेतलाई धपाए+ र थुप्रै बिरामी मानिसलाई तेल घसेर निको पारे।

१४ यो कुरा राजा हेरोदको कानमा पुग्यो किनकि येसुको नाम जताततै फैलिएको थियो र मानिसहरू यसो भन्थे: “बप्तिस्मा गराउने युहन्‍ना मृत्युबाट ब्युँतेछन्‌। त्यसैले त तिनले शक्‍तिशाली कामहरू गरिरहेका छन्‌।”+ १५ तर अरूचाहिँ यसो भन्थे: “यिनी एलिया हुन्‌।” अनि कोहीचाहिँ यसो भन्थे: “यिनी उहिले-उहिलेका भविष्यवक्‍ताहरूजस्तै एक जना हुन्‌।”+ १६ जब हेरोदले यो कुरा सुने, तब तिनले यसो भने: “मैले जुन युहन्‍नाको टाउको काट्‌न लगाएको थिएँ, त्यो ब्युँतिएछ।” १७ हेरोदले आफ्नो दाइ फिलिपकी पत्नी हेरोदियाससित विवाह गरेका थिए। त्यसैकारण हेरोद आफैले मानिसहरू पठाएर युहन्‍नालाई पक्रेका थिए अनि बाँधेर झ्यालखानामा हालेका थिए।+ १८ किनकि युहन्‍ना हेरोदलाई यसो भन्‍ने गर्थे: “तपाईँले आफ्नी भाउजूलाई आफ्नी पत्नी बनाउनु ठीक होइन।”+ १९ त्यसैले हेरोदियासले मनमा ईख पालिराखेकी थिइन्‌ र उनी युहन्‍नालाई मार्न चाहन्थिन्‌ तर सकेकी थिइनन्‌। २० युहन्‍ना धर्मी र पवित्र मानिस हुन्‌ भनेर थाह भएकोले हेरोद तिनीसँग डराउँथे+ र तिनलाई जोगाइराखेका थिए। तिनको कुरा सुनेपछि हेरोद के गरूँ भनेर अन्योलमा पर्थे तैपनि तिनको कुरा खुसीसाथ सुन्‍ने गर्थे।

२१ तर हेरोदले आफ्नो जन्मदिनको अवसरमा आफ्ना उच्च पदाधिकारीहरू, सेनापतिहरू र गालिलका गण्यमान्यहरूका लागि रात्रिभोज आयोजना गर्दा हेरोदियासले युहन्‍नासित बदला लिने राम्रो मौका पाइन्‌।+ २२ यिनै हेरोदियासकी छोरी भित्र आइन्‌ अनि नाचेर हेरोद र तिनीसँगै खान बसिरहेकाहरूलाई खुसी बनाइन्‌। त्यसैले राजाले त्यस ठिटीलाई भने: “तिमीलाई जे इच्छा लाग्छ, मसित माग र त्यो म तिमीलाई दिनेछु।” २३ हो, तिनले कसम खाएर यसो भने: “तिमीले मसित जे मागे पनि म तिमीलाई दिनेछु, मेरो आधा राज्यसमेत।” २४ त्यसैले उनी बाहिर गइन्‌ र आफ्नी आमालाई सोधिन्‌: “म के मागूँ?” तिनले भनिन्‌: “बप्तिस्मा गराउने युहन्‍नाको टाउको।” २५ उनी हतारहतार राजाकहाँ गइन्‌ र यस्तो बिन्ती चढाइन्‌: “बप्तिस्मा गराउने युहन्‍नाको टाउको किस्तीमा राखेर मलाई अहिल्यै दिनुहोस्‌।”+ २६ यो सुनेर राजालाई असाध्यै दुःख लाग्यो तर आफूसित खान बसिरहेका पाहुनाहरूको अगाडि कसम खाइसकेको हुनाले तिनले उनको अनुरोध इन्कार गर्न सकेनन्‌। २७ त्यसैले राजाले तुरुन्तै एक जना अङ्‌गरक्षकलाई पठाए र युहन्‍नाको टाउको ल्याउने हुकुम दिए। अनि झ्यालखानामा गएर उसले युहन्‍नाको टाउको काट्‌यो २८ र तिनको टाउको एउटा किस्तीमा राखेर ल्यायो अनि त्यस ठिटीलाई दियो। अनि ठिटीले त्यो टाउको आफ्नी आमालाई दिइन्‌। २९ जब युहन्‍नाका चेलाहरूले यो खबर सुने, तब तिनीहरू आए अनि तिनको लास लगेर चिहानमा राखे।

३० प्रेषितहरू येसुकहाँ आए र आफूले गरेका सबै काम र आफूले सिकाएका सबै कुराको विषयमा उहाँलाई बताए।+ ३१ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू पनि मसँगै एकान्तमा आओ र केहीबेर आराम गर।”+ आउने-जानेहरू धेरै भएकाले उहाँहरूले खाने फुर्सतसमेत पाउनुभएको थिएन। ३२ त्यसैले डुङ्‌गा चढेर उहाँहरू एकान्त ठाउँमा जानुभयो।+ ३३ तर मानिसहरूले उहाँहरू जाँदै गरेको देखे र धेरै जनाले यो कुरा थाह पाए। अनि सबै सहरबाट आएका मानिसहरू दौडँदै उहाँहरूभन्दा अघि नै त्यस ठाउँमा पुगे। ३४ डुङ्‌गाबाट ओर्लेपछि उहाँले एउटा ठूलो जमात देख्नुभयो र तिनीहरूलाई देखेर उहाँ टिठाउनुभयो+ किनकि तिनीहरू गोठालो नभएका भेडाहरूजस्ता थिए।+ अनि उहाँले तिनीहरूलाई धेरै कुरा सिकाउन थाल्नुभयो।+

३५ यतिबेलासम्म दिन ढल्न लागिसकेको थियो। त्यसैले चेलाहरू उहाँकहाँ आएर यसो भने: “यो ठाउँ अनकन्टार छ र दिन पनि निकै ढलिसक्यो।+ ३६ त्यसैले उनीहरूलाई पठाइदिनुहोस्‌ र नजिकैका गाउँबस्तीमा गएर उनीहरूले आफ्नो निम्ति केही खानेकुरा किनून्‌।”+ ३७ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूले नै उनीहरूलाई केही खान देओ।” यो सुनेर तिनीहरूले उहाँलाई भने: “के हामी गएर २०० दिनारको* रोटी किनेर यी मानिसहरूलाई खान देऔँ?”+ ३८ उहाँले तिनीहरूलाई सोध्नुभयो: “तिमीहरूसित कति वटा रोटी छ? गएर हेर त!” कति वटा छ भनेर थाह पाएपछि तिनीहरूले भने: “पाँच वटा। अनि दुई वटा माछा पनि रहेछ।”+ ३९ अनि उहाँले सबै मानिसलाई हरियो घाँसमा समूह-समूह बनाएर बस्न अह्राउनुभयो।+ ४० अनि तिनीहरू १००-१०० र ५०-५० को समूह बनाएर बसे। ४१ त्यसपछि उहाँले पाँच वटा रोटी र दुई वटा माछा लिई स्वर्गतिर हेरेर प्रार्थना गर्नुभयो+ अनि मानिसहरूलाई बाँड्‌नको लागि रोटी भाँचेर चेलाहरूलाई दिन थाल्नुभयो र दुई वटा माछा पनि सबैका लागि भाग लगाउनुभयो। ४२ तिनीहरू सबैले पेटभरि खाए। ४३ अनि तिनीहरूले उब्रेको टुक्राटाक्री बटुल्दा १२ डाला भरिए र यसबाहेक माछा पनि उब्रेको थियो।+ ४४ रोटी खानेहरूमा ५ हजार पुरुष थिए।

४५ अनि उहाँले तुरुन्तै आफ्ना चेलाहरूलाई डुङ्‌गा चढेर उहाँभन्दा अघि पारिपट्टि बेथसेदा जान लगाउनुभयो र उहाँले भने भीडलाई बिदा गर्नुभयो।+ ४६ मानिसहरूलाई बिदाबारी गरिसकेपछि उहाँ प्रार्थना गर्न एउटा डाँडा चढ्‌नुभयो।+ ४७ साँझ परिसकेको थियो र डुङ्‌गा समुद्रको बीचमा थियो तर उहाँ भने डाँडामा एक्लै हुनुहुन्थ्यो।+ ४८ विपरीत दिशाबाट चलिरहेको बतासले गर्दा चेलाहरूलाई डुङ्‌गा खियाउन गाह्रो भइरहेको उहाँले देख्नुभयो। त्यसैले रातको चौथो प्रहरतिर* उहाँ समुद्रमा हिँड्‌दै तिनीहरू भएतिर जानुभयो। तर उहाँ तिनीहरूलाई उछिनेर जान चाहनुहुन्थ्यो* जस्तो देखिन्थ्यो। ४९ उहाँ समुद्रमा हिँडिरहनुभएको देखेपछि चेलाहरू यसो भन्दै कराए: “लौ! हामी यो के देख्दै छौँ?” ५० किनकि उहाँलाई देखेर तिनीहरू सबै आत्तिएका थिए। तर येसु तिनीहरूसित तुरुन्तै बोल्नुभयो र भन्‍नुभयो: “साहस गर, मै हुँ, नडराओ।”+ ५१ अनि उहाँ तिनीहरूकै डुङ्‌गामा चढ्‌नुभयो र बतास थामियो। यो देखेर तिनीहरूले साह्रै अचम्म माने। ५२ किनकि रोटीको चमत्कार देखेर पनि तिनीहरूले त्यसबाट पाठ सिक्न सकेका थिएनन्‌; तिनीहरूको हृदय अझै बोधो थियो।

५३ तब उहाँहरू पारिपट्टि गनेसरेतमा पुग्नुभयो अनि डुङ्‌गालाई बाँध्नुभयो।+ ५४ उहाँहरू डुङ्‌गाबाट ओर्लनुहुनेबित्तिकै मानिसहरूले येसुलाई चिनिहाले ५५ र तिनीहरू त्यस इलाकाको चारैतिर दौडादौड गरे। अनि उहाँ जहाँ-जहाँ हुनुहुन्छ भनेर तिनीहरूले सुने, त्यहाँ-त्यहाँ तिनीहरूले बिरामीहरूलाई खाटैसमेत ल्याउन थाले। ५६ अनि उहाँ जुन-जुन सहर, गाउँ वा बस्तीमा पस्नुहुन्थ्यो, त्यहाँ तिनीहरूले बिरामीहरूलाई बजारमा राखिदिन्थे र उनीहरूले उहाँको लुगाको किनारा मात्रै भए पनि छुन पाऊँ भनेर बिन्ती गर्थे।+ अनि ज-जसले छुन्थे, उनीहरू सबै निको हुन्थे।

७ तब यरुसलेमबाट आएका फरिसीहरू अनि केही शास्त्रीहरू उहाँकहाँ भेला भए।+ २ अनि तिनीहरूले उहाँका केही चेलाहरूले अशुद्ध हातले अर्थात्‌ हात नधोई* खाना खाएको देखे। ३ (फरिसीहरू अनि सबै यहुदी आफ्ना पुर्खाहरूले बसालेको परम्पराअनुसार कुहिनासम्म हात नधोई खाँदैनन्‌। ४ त्यसैगरि बजारबाट फर्केपछि पानीले आफूलाई नचोख्याएसम्म तिनीहरू खाँदैनन्‌। तिनीहरू यस्तै-यस्तै अरू थुप्रै रीतिथिति मान्छन्‌। जस्तै: तिनीहरू कचौरा, सुराही र तामाका भाँडाहरूलाई पानीमा डुबाएर चोख्याउँछन्‌।)+ ५ त्यसैले यी फरिसीहरू अनि शास्त्रीहरूले उहाँलाई सोधे: “तपाईँका चेलाहरू पुर्खाहरूले बसालेको परम्पराअनुसार नचलेर किन अशुद्ध हातले खाना खान्छन्‌?”+ ६ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “ए कपटीहरू हो, यसैयाले तिमीहरूबारे ठीकै भविष्यवाणी गरेका थिए, जस्तो लेखिएको छ: ‘यी मानिसहरू आफ्नो ओठले त मलाई आदर गर्छन्‌ तर तिनीहरूको हृदय भने मदेखि धेरै टाढा छ।+ ७ तिनीहरू व्यर्थैमा मेरो उपासना गरिरहन्छन्‌ किनकि तिनीहरू मानिसहरूले बनाएका नियमहरूलाई परमेश्‍वरको शिक्षाजस्तै गरी सिकाउँछन्‌।’+ ८ तिमीहरू मानिसहरूको परम्पराको पछि लागेर परमेश्‍वरको आज्ञालाई लत्याउँछौ।”+

९ उहाँले तिनीहरूलाई यसो पनि भन्‍नुभयो: “आफ्नो परम्परा टिकाइराख्न तिमीहरू परमेश्‍वरको आज्ञालाई चतुऱ्‍याइँसित पन्छाउँछौ।+ १० उदाहरणका लागि, मोसाले भनेका थिए: ‘तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू’+ र ‘जसले आफ्नो बुबा वा आमालाई गाली गर्छ, त्यो मारियोस्‌।’+ ११ तर तिमीहरू भन्छौ: ‘यदि कसैले आफ्नो बुबा वा आमालाई “मसँग तपाईँहरूलाई फाइदा हुने जे-जति कुराहरू छन्‌, ती सबै कुर्बानी (अर्थात्‌, परमेश्‍वरलाई अर्पण गरेको भेटी) हो” भन्छ भने त्यो ठीकै हो।’ १२ अनि तिमीहरू उसलाई आफ्नो बुबा वा आमाको निम्ति केही पनि गर्न दिँदैनौ।+ १३ यसरी तिमीहरू आफ्नो परम्पराले गर्दा परमेश्‍वरको वचनलाई बेकामको तुल्याउँछौ+ अनि तिमीहरू यस्तै-यस्तै थुप्रै काम गर्छौ।”+ १४ अनि भीडलाई नजिक बोलाएर उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “तिमीहरू सबै मेरो कुरा सुन अनि त्यसको अर्थ बुझ।+ १५ यस्तो कुनै कुरा छैन, जसले मानिसभित्र पसेर उसलाई अशुद्ध बनाउन सक्छ। बरु मानिसबाट जे बाहिर निस्कन्छ, त्यसले नै उसलाई अशुद्ध बनाउँछ।”+ १६ *—

१७ जब उहाँ भीडबाट टाढा एउटा घरमा पस्नुभयो, तब चेलाहरूले उहाँलाई त्यस उदाहरणको अर्थ सोध्न थाले।+ १८ त्यसैले उहाँले तिनीहरूलाई भन्‍नुभयो: “के तिमीहरूले पनि तिनीहरूले जस्तै अझै बुझेनौ? मानिसभित्र पस्ने कुनै पनि कुराले उसलाई अशुद्ध बनाउन सक्दैन भनेर के तिमीहरूलाई थाह छैन? १९ किनकि त्यो उसको हृदयमा होइन तर पेटमा पुग्छ र शरीरबाट बाहिर निस्कन्छ।” यसप्रकार उहाँले सबै खानेकुरालाई शुद्ध ठहराउनुभयो। २० उहाँले अझै यसो भन्‍नुभयो: “जे कुरा मानिसबाट बाहिर निस्कन्छ, त्यसले नै उसलाई अशुद्ध बनाउँछ।+ २१ किनकि भित्रबाट, मानिसको हृदयबाटै+ यी कुराहरू निस्कन्छन्‌: हानिकारक विचार, अवैध यौनसम्बन्ध,* चोरी, हत्या, २२ व्यभिचार,* लोभ, दुष्ट्याइँ, छल, निर्लज्ज आचरण,* ईर्ष्यालु नजर, निन्दा, अहङ्‌कार र मूर्खता। २३ यी सबै दुष्ट कुरा भित्रबाटै निस्कन्छन्‌ र त्यसले मानिसलाई अशुद्ध बनाउँछ।”

२४ त्यहाँबाट उठेर उहाँ टायर र सिदोनको इलाकामा जानुभयो+ अनि एउटा घरमा पस्नुभयो। आफू त्यहाँ छु भनी कसैले थाह नपाओस्‌ भन्‍ने उहाँ चाहनुहुन्थ्यो। तर उहाँ मानिसहरूको नजरबाट लुक्न सक्नुभएन। २५ त्यसै इलाकामा बस्ने एउटी स्त्रीकी छोरीलाई प्रेतले* सताइरहेको थियो। त्यसैले उहाँको विषयमा सुन्‍नेबित्तिकै त्यो स्त्री उहाँकहाँ आई र उहाँको पाउ परी।+ २६ ऊ सिरियाको फोनिसियामा बस्ने ग्रीक थिई। उसले आफ्नी छोरीलाई सताइरहेको प्रेतलाई धपाइदिन उहाँलाई बिन्ती गरेको गऱ्‍यै गरी। २७ तर उहाँले उसलाई यस्तो जवाफ दिनुभयो: “पहिला केटाकेटीले पेटभरि खान पाउनुपर्छ। किनकि केटाकेटीको रोटी खोसेर कुकुरका छाउराहरूलाई दिनु उचित हुँदैन।”+ २८ तर उसले उहाँलाई जवाफ दिई: “हो हजुर तर टेबुलमुनि बसेका छाउराहरूले पनि त साना केटाकेटीले झारेका टुक्राटाक्री खान पाउँछन्‌।” २९ उहाँले उसलाई भन्‍नुभयो: “तिमीले यसो भनेको हुनाले जाऊ, प्रेत तिम्री छोरीबाट निस्केर गइसकेको छ।”+ ३० त्यसैले ऊ आफ्नो घर गई र सानी छोरीलाई ओछ्यानमा पल्टिरहेकी भेट्टाई। प्रेतले तिनलाई छोडेर गइसकेको थियो।+

३१ टायरको इलाकाबाट फर्केर उहाँ सिदोन र डेकापोलिसको इलाका* हुँदै गालिल समुद्र जानुभयो।+ ३२ यहाँ तिनीहरूले उहाँकहाँ एक जना बहिरो अनि भकभके मानिस ल्याए+ र त्यस मानिसमाथि आफ्नो हात राखिदिन उहाँलाई अनुरोध गरे। ३३ उहाँले उसलाई भीडबाट पर एकान्त ठाउँमा लैजानुभयो र उसको कानमा आफ्नो औँला हाल्नुभयो अनि थुकेपछि उसको जिब्रो छुनुभयो।+ ३४ त्यसपछि उहाँले आकाशतिर हेरेर लामो सास तान्‍नुभयो र उसलाई भन्‍नुभयो: “इफ्फाता,” जसको अर्थ हो, “खोलिजा।” ३५ तब ऊ फेरि सुन्‍न सक्ने भयो+ अनि उसको बोली पनि ठीक भयो र ऊ प्रस्ट बोल्न थाल्यो। ३६ अनि उहाँले तिनीहरूलाई यो कुरा कसैलाई नबताउनू भनी चेतावनी दिनुभयो+ तर उहाँ जति मनाही गर्नुहुन्थ्यो, तिनीहरू झन्‌ त्यति नै उहाँको कुरा फैलाउँदै हिँड्‌थे।+ ३७ हुन पनि उहाँका कामहरू देखेर तिनीहरू असाध्यै छक्क परेका थिए+ र भन्थे: “उहाँले गर्नुभएका सबै कुरा असल छन्‌। यहाँसम्म कि उहाँ बहिरोलाई सुन्‍न सक्ने र गुँगोलाई बोल्न सक्ने बनाउनुहुन्छ।”+

८ त्यसैगरि अर्को एक चोटि मानिसहरूको ठूलो भीड जम्मा भएको थियो र तिनीहरूसित खानलाई केही थिएन। त्यसैले उहाँले चेलाहरूलाई बोलाएर यसो भन्‍नुभयो: २ “यो भीड देखेर मलाई साह्रै दया लाग्यो+ किनभने तिनीहरू यहाँ मसँगै बसेको तीन दिन भइसक्यो अनि तिनीहरूसित केही खानेकुरा छैन।+ ३ मैले तिनीहरूलाई भोकै घर पठाएँ भने तिनीहरू बाटैमा मुर्छा पर्नेछन्‌। तिनीहरूमध्ये कोही-कोही त निकै टाढाबाट आएका छन्‌।” ४ तर चेलाहरूले उहाँलाई भने: “यस्तो अनकन्टार ठाउँमा यत्तिका मानिसहरूलाई पुग्ने रोटी कहाँबाट ल्याउने?” ५ तिनीहरूको कुरा सुनेर उहाँले सोध्नुभयो: “तिमीहरूसित कति वटा रोटी छ?” तिनीहरूले जवाफ दिए: “सात वटा।”+ ६ तब उहाँले भीडलाई चौरमा बस्न अह्राउनुभयो अनि सात वटा रोटी लिएर धन्यवाद चढाएपछि भाँच्नुभयो। त्यसपछि ती रोटीहरू बाँड्‌नको लागि चेलाहरूलाई दिन थाल्नुभयो र तिनीहरूले भीडलाई बाँडे।+ ७ तिनीहरूसित केही साना माछाहरू पनि थिए। अनि धन्यवाद चढाएपछि उहाँले ती माछाहरू पनि बाँड्‌न लगाउनुभयो। ८ यसरी तिनीहरू सबैले पेटभरि खाए अनि तिनीहरूले उब्रेको टुक्राटाक्री जम्मा गर्दा सात वटा ठूला डाला भरिए।+ ९ खानेहरूमध्ये ४ हजारजति पुरुष थिए। त्यसपछि उहाँले तिनीहरूलाई बिदाबारी गरेर पठाउनुभयो।

१० अनि उहाँ तुरुन्तै आफ्ना चेलाहरूसित डुङ्‌गा चढेर दलमनुथाको इलाकामा आउनुभयो।+ ११ त्यहाँ फरिसीहरू आए र उहाँसित वादविवाद गर्न थाले अनि स्वर्गबाट एउटा चिन्ह मागेर उहाँको परीक्षा लिन खोजे।+ १२ तिनीहरूको कुरा सुनेर उहाँ मनमनै असाध्यै दुःखी हुनुभयो र भन्‍नुभयो: “यस पुस्ताले किन चिन्ह खोज्छ?+ म साँच्चै भन्छु, यस पुस्तालाई कुनै चिन्ह दिइनेछैन।”+ १३ यति भनिसकेपछि तिनीहरूलाई त्यहीँ छोडेर उहाँ फेरि डुङ्‌गा चढ्‌नुभयो र पारि जानुभयो।

१४ तर तिनीहरूले आफूसित रोटी लैजान बिर्से र तिनीहरूसित डुङ्‌गामा एउटा रोटीबाहेक अरू केही खानेकुरा थिएन।+ १५ उहाँले तिनीहरूलाई प्रस्टै यस्तो चेतावनी दिनुभयो: “तिमीहरूको आँखा खुला राख अनि फरिसीहरूको र हेरोदको खमिरदेखि* होसियार रहो।”+ १६ त्यसैले तिनीहरू रोटी नल्याएको विषयलाई लिएर आपसमा भनाभन गर्न थाले। १७ यो थाह पाएर उहाँले तिनीहरूलाई भन्‍नुभयो: “रोटी नल्याएको विषयलाई लिएर तिमीहरू किन आपसमा भनाभन गर्छौ? के तिमीहरूले अझै पनि थाह पाएनौ? अनि यसको अर्थ बुझ्न सकेनौ? के तिमीहरूको हृदय बुझ्नै नसक्नेगरि बोधो भयो? १८ ‘के तिमीहरू आँखा भएर पनि देख्दैनौ र कान भएर पनि सुन्दैनौ?’ के तिमीहरूले बिर्स्यौ, १९ मैले पाँच वटा रोटी भाँचेर+ ५ हजार पुरुषलाई खुवाउँदा तिमीहरूले कति डालो टुक्राटाक्री बटुलेका थियौ?” तिनीहरूले भने: “बाह्र।”+ २० “मैले सात वटा रोटी भाँचेर ४ हजार पुरुषलाई खुवाउँदा तिमीहरूले कति वटा ठूला डालामा टुक्राटाक्री बटुलेका थियौ?” तिनीहरूले भने: “सात।”+ २१ त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो: “के तिमीहरूले अझै बुझेनौ?”

२२ तब उहाँहरू बेथसेदा पुग्नुभयो। यहाँ मानिसहरूले उहाँकहाँ एक जना अन्धो मानिस ल्याए र उसलाई छोइदिन उहाँलाई बिन्ती गरे।+ २३ अनि उहाँले त्यस अन्धो मानिसको हात समाएर गाउँबाहिर लैजानुभयो। त्यसपछि उहाँले उसको आँखामा थुक्नुभयो+ र ऊमाथि हात राख्दै सोध्नुभयो: “के तिमी केही देख्दै छौ?” २४ त्यस मानिसले अगाडि हेऱ्‍यो र भन्यो: “म मानिसहरू देख्दै छु तर तिनीहरू यताउता हिँडिरहेका रूखहरूजस्तै देखिन्छन्‌।” २५ उहाँले फेरि त्यस मानिसको आँखामा हात राख्नुभयो। त्यसपछि ऊ निको भयो र सबै कुरा छर्लङ्‌गै देख्न थाल्यो। २६ अनि उहाँले उसलाई यसो भनेर घर पठाउनुभयो: “तिमी गाउँतिर चाहिँ नपस्नू।”

२७ तब त्यहाँबाट येसु र उहाँका चेलाहरू सिजरिया फिलिप्पीका गाउँहरूतिर जानलाई निस्कनुभयो र बाटोमा जाँदै गर्दा उहाँले चेलाहरूलाई सोध्न थाल्नुभयो: “म को हुँ भन्‍नेबारे मानिसहरू के भन्दै छन्‌?”+ २८ तिनीहरूले उहाँलाई भने: “कसैले बप्तिस्मा गराउने युहन्‍ना,+ कसैले एलिया+ अनि कसै-कसैले चाहिँ भविष्यवक्‍ताहरूमध्ये कोही एक जना हो भन्छन्‌।” २९ उहाँले तिनीहरूलाई फेरि सोध्नुभयो: “तर तिमीहरूचाहिँ के भन्छौ, म को हुँ?” पत्रुसले उहाँलाई जवाफ दिए: “तपाईँ ख्रिष्ट हुनुहुन्छ।”+ ३० अनि उहाँले तिनीहरूलाई उहाँबारे कसैलाई नबताउनू भनी कडा चेतावनी दिनुभयो।+ ३१ साथै उहाँले तिनीहरूलाई मानिसको छोराले धेरै दुःख भोग्नु; धर्मगुरुहरू, मुख्य पुजारीहरू र शास्त्रीहरूबाट तिरस्कृत हुनु अनि मारिनु+ र तीन दिनपछि ब्युँतनु आवश्‍यक छ भनेर सिकाउन थाल्नुभयो।+ ३२ हो, उहाँले सबैको अगाडि यो कुरा भन्दै हुनुहुन्थ्यो। तर पत्रुसले उहाँलाई अलग्गै लगेर हप्काउन थाले।+ ३३ तब फनक्क फर्केर उहाँले चेलाहरूतिर हेर्नुभयो र पत्रुसलाई हप्काउँदै यसो भन्‍नुभयो: “ए सैतान, यहाँबाट गइहाल! किनकि तिम्रो सोचाइ परमेश्‍वरको होइन तर मानिसहरूको हो।”+

३४ त्यसपछि उहाँले भीड र चेलाहरूलाई एकसाथ आफूकहाँ बोलाएर यसो भन्‍नुभयो: “यदि कोही मेरो पछि आउन चाहन्छ भने उसले आफूलाई इन्कार गरोस्‌, आफ्नो यातनाको खम्बा* उठाओस्‌ र निरन्तर मेरो पछि लागोस्‌।+ ३५ किनकि जसले आफ्नो ज्यान* बचाउन चाहन्छ, उसले त्यो गुमाउनेछ तर जसले मेरो र सुसमाचारको खातिर आफ्नो ज्यान* गुमाउँछ, उसले त्यो बचाउनेछ।+ ३६ हुन पनि कुनै मानिसले सारा संसार प्राप्त गर्छ तर आफ्नो ज्यान* गुमाउँछ भने उसलाई के फाइदा हुन्छ र?+ ३७ साँच्चै, मानिसले आफ्नो ज्यानको* सट्टामा के दिन सक्छ र?+ ३८ किनकि विश्‍वासघाती र पापी पुस्तामाझ मेरो चेला बन्‍न र मेरा वचनहरूमा विश्‍वास गर्न जसले सरम मान्छ, मानिसको छोराले पनि आफ्नो बुबाले दिनुभएको महिमासहित आफ्ना पवित्र स्वर्गदूतहरू लिएर आउँदा+ उसलाई स्विकार्न सरम मान्‍नेछ।”+

९ उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, यहाँ उभिरहेकाहरूमध्ये कोही-कोही यस्ता छन्‌, जसले परमेश्‍वरको राज्य स्थापित भइसकेको नदेखेसम्म कुनै हालतमा मृत्यु चाख्नेछैनन्‌।”+ २ छ दिनपछि येसुले पत्रुस, याकुब र युहन्‍नालाई एउटा अग्लो डाँडामा लैजानुभयो र त्यहाँ तिनीहरूबाहेक अरू कोही थिएन। तब तिनीहरूको अगाडि उहाँको रूप परिवर्तन भयो।+ ३ उहाँको लुगा यति सेतो र चम्किलो भयो कि त्यति सेतो त संसारको कुनै पनि धोबीले बनाउन सक्दैन। ४ साथै एलिया र मोसा एकसाथ तिनीहरूसामु देखिए र उनीहरू येसुसित कुराकानी गरिरहेका थिए। ५ तब पत्रुसले येसुलाई भने: “रब्बी, हामी यहाँ हुनु हाम्रो लागि खुसीको कुरा हो। त्यसैले हामीलाई तीन वटा पाल टाँग्न दिनुहोस्‌। एउटा तपाईँको लागि, एउटा मोसाको लागि अनि एउटा एलियाको लागि।” ६ वास्तवमा तिनी के भन्‍ने भनेर अलमल्लमा परेका थिए किनकि तिनीहरू असाध्यै डराएका थिए। ७ अनि बादलले तिनीहरूलाई ढाक्यो र बादलबाट यस्तो आवाज आयो:+ “यिनी मेरो प्यारो छोरा हुन्‌।+ उनको कुरा सुन।”+ ८ यो सुन्‍नेबित्तिकै तिनीहरूले यताउता हेरे तर तिनीहरूले येसुबाहेक अरू कसैलाई देखेनन्‌।

९ डाँडाबाट ओर्लँदै गर्दा उहाँले तिनीहरूलाई मानिसको छोरा मृत्युबाट नब्युँतेसम्म तिनीहरूले देखेको यो कुरा कसैलाई नबताउन स्पष्ट चेतावनी दिनुभयो।+ १० तिनीहरूले यो कुरा हृदयमा राखे* तर उहाँ मृत्युबाट ब्युँतनुको अर्थ के हुन सक्छ भनेर आपसमा छलफल गरे। ११ तिनीहरूले उहाँलाई यस्तो प्रश्‍न सोध्न थाले: “पहिला एलिया+ आउनु आवश्‍यक छ भनेर शास्त्रीहरू किन भन्छन्‌ त?”+ १२ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “एलिया साँच्चै पहिला आउनेछन्‌ र सबै कुरा पुनर्स्थापना गर्नेछन्‌।+ तर मानिसको छोराको विषयमा उसले थुप्रै दुःख भोग्नुपर्नेछ+ र उसलाई तुच्छ ठानिनेछ भनेर किन लेखिएको छ त?+ १३ तर म तिमीहरूलाई भन्छु, वास्तवमा एलिया+ आइसकेका छन्‌ अनि धर्मशास्त्रमा उनको विषयमा लेखिएझैँ तिनीहरूले उनीसित मनपरी व्यवहार गरे।”+

१४ जब उहाँहरू अरू चेलाहरू भएको ठाउँ नजिक पुग्नुभयो, तब एउटा ठूलो जमात ती चेलाहरूको वरिपरि जम्मा भएको र शास्त्रीहरूले तिनीहरूसित वादविवाद गरिरहेको उहाँहरूले देख्नुभयो।+ १५ तर भीडमा भएका सबै जना उहाँलाई देख्नेबित्तिकै छक्क परे अनि उहाँलाई स्वागत गर्न दौडेर गए। १६ उहाँले तिनीहरूलाई सोध्नुभयो: “तिमीहरू के वादविवाद गरिरहेका छौ?” १७ भीडबाट एक जनाले उहाँलाई यस्तो जवाफ दियो: “गुरुज्यू, मैले आफ्नो छोरालाई तपाईँकहाँ ल्याएको थिएँ किनकि प्रेतले* सताएकोले ऊ गुँगो भएको छ।+ १८ अनि त्यसले उसलाई जहाँ छोप्छ, त्यहीँ नै ऊ भुईँमा पछारिन्छ, फीँज काढ्‌छ, दाह्रा किट्‌छ अनि शिथिल हुन्छ। त्यसैले मैले तपाईँका चेलाहरूलाई त्यसलाई धपाइदिन भनेको थिएँ तर तिनीहरूले सकेनन्‌।” १९ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “ए अविश्‍वासी पुस्ता,+ म तिमीहरूसित कतिन्जेल रहूँ? म तिमीहरूलाई कतिन्जेल सहूँ? उसलाई मकहाँ ल्याओ।”+ २० त्यसैले तिनीहरूले उसलाई उहाँकहाँ ल्याए। तर उहाँलाई देखेपछि त्यो प्रेतले उसलाई अँठ्‌यायो अनि ऊ भुईँमा पछारियो र लडीबुडी गर्दै फीँज काढ्‌न थाल्यो। २१ अनि उहाँले उसको बुबालाई सोध्नुभयो: “उसलाई यस्तो हुन थालेको कति भयो?” तिनले भने: “बच्चैदेखि। २२ त्यसले उसलाई कहिले आगोमा त कहिले पानीमा खसालेर मार्न खोज्छ। यदि तपाईँ केही गर्न सक्नुहुन्छ भने हामीमाथि दया गर्नुहोस्‌ र हामीलाई मदत गर्नुहोस्‌।” २३ येसुले तिनलाई भन्‍नुभयो: “तिमी किन ‘यदि तपाईँ केही गर्न सक्नुहुन्छ भने’ भन्छौ? जससित विश्‍वास छ, उसको लागि सबै कुरा सम्भव छ।”+ २४ त्यस केटाको बुबाले ठूलो स्वरमा तुरुन्तै यसो भने: “मसित विश्‍वास छ! तर मेरो विश्‍वासलाई अझै बलियो बनाइदिनुहोस्‌!”+

२५ तब मानिसहरूको एउटा भीड उहाँहरूतिर दौडँदै आएको देखेर उहाँले त्यस प्रेतलाई हप्काउँदै यसो भन्‍नुभयो: “ए गुँगो र बहिरो प्रेत,* म तँलाई आदेश दिन्छु, उसबाट निस्केर आइज र फेरि कहिल्यै उसमा बास नगर्‌!”+ २६ अनि ठूलो स्वरले त्यो चिच्यायो र उसलाई अँठ्‌याउनुसम्म अँठ्‌याएपछि ऊबाट निस्केर गयो। त्यसपछि ऊ मुर्दासरी भयो र धेरै जनाले यसो भन्‍न थाले: “केटो त मऱ्‍यो!” २७ तर येसुले हात समाएर उसलाई उठाउनुभयो र ऊ उठ्‌यो। २८ उहाँ एउटा घरभित्र पस्नुभएपछि उहाँका चेलाहरू आएर उहाँलाई सुटुक्क सोधे: “हामीले किन त्यसलाई धपाउन सकेनौँ?”+ २९ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “यस किसिमको चाहिँ प्रार्थनाद्वारा मात्र निस्कन्छ।”

३० त्यो ठाउँ छोडेपछि उहाँहरू गालिल भएर जानुभयो तर उहाँ कहाँ हुनुहुन्छ भनी कसैले थाह नपाओस्‌ भन्‍ने उहाँ चाहनुहुन्थ्यो। ३१ किनकि उहाँ आफ्ना चेलाहरूलाई यो कुरा सिकाउँदै हुनुहुन्थ्यो: “मानिसको छोरालाई धोका दिइनेछ अनि मानिसहरूको हातमा सुम्पिइनेछ र तिनीहरूले उसलाई मार्नेछन्‌+ तर मारिए तापनि तीन दिनपछि ऊ ब्युँतनेछ।”+ ३२ तर तिनीहरूले उहाँको कुरा बुझेनन्‌ र तिनीहरू उहाँलाई सोध्न पनि डराए।

३३ तब उहाँहरू कफर्नहुम पुग्नुभयो। अनि उहाँ घरभित्र छँदा उहाँले तिनीहरूलाई सोध्नुभयो: “बाटोमा तिमीहरू के कुरामा बहस गर्दै थियौ?”+ ३४ तिनीहरू चुपचाप बसे किनकि तिनीहरू बाटोमा आफूहरूमध्ये को ठूलो हो भनेर बहस गर्दै थिए। ३५ तब उहाँ बस्नुभयो अनि ती १२ जनालाई बोलाएर भन्‍नुभयो: “यदि कोही सबैभन्दा ठूलो बन्‍न चाहन्छ भने ऊ सबैभन्दा सानो बन्‍नै पर्छ र सबैको सेवक हुनै पर्छ।”+ ३६ उहाँले एउटा सानो बालकलाई ल्याएर तिनीहरूको बीचमा उभ्याउनुभयो र उसलाई अङ्‌गालो हाल्दै तिनीहरूलाई यसो भन्‍नुभयो: ३७ “जसले मेरो नाममा यस्तै कोही एउटा सानो बालकलाई स्विकार्छ,+ उसले मलाई पनि स्विकार्छ; अनि जसले मलाई स्विकार्छ, उसले मलाई मात्र होइन तर मलाई पठाउनुहुनेलाई पनि स्विकार्छ।”+

३८ युहन्‍नाले उहाँलाई भने: “गुरुज्यू, एक जना मानिसले तपाईँको नाम लिएर प्रेतहरूलाई धपाइरहेको हामीले देख्यौँ र हामीले उसलाई रोक्न खोज्यौँ किनकि ऊ हाम्रो पछि लाग्दैन।”+ ३९ तर येसुले भन्‍नुभयो: “उसलाई रोक्न नखोज किनकि जसले मेरो नाम लिएर शक्‍तिशाली काम गर्छ, उसले हतपती मेरो बदनाम गर्दैन; ४० किनकि जो हाम्रो विरुद्धमा हुँदैन, ऊ हाम्रै पक्षमा हुन्छ।+ ४१ अनि जसले तिमीहरू ख्रिष्टका चेलाहरू हौ भनी सम्झेर तिमीहरूलाई एक कचौरा पानी पिउन दिन्छ,+ म तिमीहरूलाई साँच्चै भन्छु, उसले कुनै पनि हालतमा आफ्नो इनाम गुमाउनेछैन।+ ४२ तर यदि कसैले ममाथि विश्‍वास गर्ने यी सानाहरूमध्ये एक जनालाई ठेस पुऱ्‍याउँछ भने त्यस्तालाई त ठूलो जाँतो* घाँटीमा झुन्ड्‌याएर समुद्रमा फ्याँकिदिनु नै बेस हो।+

४३ “यदि तिम्रो हातले तिमीलाई ठेस पुऱ्‍याउँछ भने त्यसलाई काटिदेऊ किनकि दुवै हातसहित सधैँ बलिरहने गेहेन्‍नाको* आगोमा फ्याँकिनुभन्दा डुँडो भएर जीवन पाउनु नै तिम्रो लागि बेस हो।+ ४४ *— ४५ यदि तिम्रो खुट्टाले तिमीलाई ठेस पुऱ्‍याउँछ भने त्यसलाई काटिदेऊ किनकि दुवै खुट्टासहित गेहेन्‍नामा*+ फ्याँकिनुभन्दा लङ्‌गडो भएर जीवन पाउनु नै तिम्रो लागि बेस हो। ४६ *— ४७ यदि तिम्रो आँखाले तिमीलाई ठेस पुऱ्‍याउँछ भने त्यसलाई निकालेर फालिदेऊ+ किनकि दुवै आँखासहित गेहेन्‍नामा* फ्याँकिनुभन्दा कानो भएर परमेश्‍वरको राज्यमा पस्न पाउनु नै तिम्रो लागि बेस हो।+ ४८ किनकि गेहेन्‍नामा किरा कहिल्यै मर्दैन र आगो कहिल्यै निभ्दैन।+

४९ “नुन छर्केझैँ सबै मानिसमा आगो छर्किनै पर्छ।+ ५० नुन राम्रो हो तर यदि नुनको नुनिलोपन हरायो भने त्यसलाई तिमीहरू फेरि केले नुनिलो बनाउनेछौ?+ आफूलाई नुनिलो बनाओ+ र आपसमा शान्ति कायम राख।”+

१० त्यहाँबाट उठेर उहाँ यर्दन नदीपारि यहुदियाको सीमावर्ती इलाकाहरूतिर पुग्नुभयो अनि फेरि मानिसहरूको भीड उहाँकहाँ जम्मा भयो। उहाँले आफ्नो बानीअनुसार तिनीहरूलाई फेरि सिकाउन थाल्नुभयो।+ २ तब फरिसीहरू उहाँकहाँ आए अनि उहाँको परीक्षा लिन “के एक जना पुरुषले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्नु ठीक हो” भनी सोधे।+ ३ उहाँले तिनीहरूलाई यस्तो जवाफ दिनुभयो: “मोसाले तिमीहरूलाई के आज्ञा दिएका थिए?” ४ तिनीहरूले भने: “मोसाले छोडपत्र लेखेर पत्नीसित सम्बन्धविच्छेद गर्ने अनुमति दिएका थिए।”+ ५ तर येसुले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूको हृदय कठोर भएकोले+ मोसाले तिमीहरूका लागि यो आज्ञा लेखेका थिए।+ ६ तर सृष्टिको सुरुदेखि नै ‘उहाँले पुरुष र स्त्री बनाउनुभयो।+ ७ यसैकारण पुरुषले आफ्ना बुबा र आमालाई छोड्‌छ+ ८ र ती दुई एउटै शरीर हुन्छन्‌।’+ त्यसैले अब तिनीहरू दुई होइनन्‌ तर एउटै शरीर हुन्‌। ९ त्यसकारण जसलाई परमेश्‍वरले एकसाथ जोड्‌नुभएको छ,* त्यसलाई कुनै मानिसले नछुट्ट्याओस्‌।”+ १० उहाँहरू फेरि घरमा भएको बेला चेलाहरूले उहाँलाई यस विषयमा सोध्न थाले। ११ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “जसले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्छ र अर्कीसित विवाह गर्छ, उसले व्यभिचार* गरेर+ आफ्नी पत्नीको हक खोसेको ठहरिन्छ। १२ अनि यदि कुनै स्त्रीले आफ्नो पतिसित सम्बन्धविच्छेद गरेर अर्कोसित विवाह गर्छे भने उसले व्यभिचार गरेको ठहरिन्छ।”+

१३ उहाँले साना केटाकेटीलाई छोइदेऊन्‌ भनेर मानिसहरूले तिनीहरूलाई उहाँकहाँ ल्याउन थाले तर चेलाहरूले उनीहरूलाई हप्काए।+ १४ यो देखेर येसु रिसाउनुभयो र चेलाहरूलाई यसो भन्‍नुभयो: “साना केटाकेटीलाई मकहाँ आउन देओ, तिनीहरूलाई रोक्न नखोज किनकि परमेश्‍वरको राज्य यिनीहरूजस्ताकै हो।+ १५ म तिमीहरूलाई साँच्चै भन्छु, जसले परमेश्‍वरको राज्यलाई एउटा सानो बालकले जस्तैगरि स्विकार्दैन, ऊ कुनै पनि हालतमा त्यहाँ पस्नेछैन।”+ १६ अनि उहाँले ती केटाकेटीलाई आफ्नो अङ्‌गालोमा लिनुभयो र तिनीहरूमाथि आफ्नो हात राखेर आशिष्‌ दिन थाल्नुभयो।+

१७ उहाँ बाटोमा हिँडिरहनुभएको बेला एक जना मानिस दौडेर आयो र उहाँसामु घुँडा टेकेर सोध्यो: “हे असल गुरु, अनन्त जीवन पाउन मैले के गर्नुपर्छ?”+ १८ येसुले उसलाई भन्‍नुभयो: “तिमी किन मलाई असल भन्छौ? असल त परमेश्‍वरबाहेक अरू कोही छैन।+ १९ तिमीलाई यी आज्ञाहरू त थाहै होला: ‘हत्या नगर्नू,+ व्यभिचार नगर्नू,+ चोरी नगर्नू,+ झूटो साक्षी नदिनू,+ जालसाजी नगर्नू,+ तिमीले आफ्नो बुबा र आमाको आदर गर्नू।’”+ २० त्यस मानिसले उहाँलाई भन्यो: “गुरुज्यू, यी सब त मैले सानैदेखि पालन गर्दै आएको छु।” २१ तब येसुले उसलाई हेर्नुभयो र उहाँको मनमा माया पलायो अनि उसलाई यसो भन्‍नुभयो: “तिमीमा एउटा कुरा अपुग छ। जाऊ, आफूसित भएको चिजबिज बेचेर गरिबहरूलाई बाँडिदेऊ र तिमीले स्वर्गमा धनसम्पत्ति पाउनेछौ अनि आएर मेरो पछि लाग।”+ २२ यो सुनेर ऊ दुःखी हुँदै आफ्नो बाटो लाग्यो किनकि ऊसित धेरै धनसम्पत्ति थियो।+

२३ वरपर हेरेपछि येसुले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “पैसावालहरूलाई परमेश्‍वरको राज्यमा पस्न साँच्चै कठिन हुनेछ!”+ २४ उहाँको कुरा सुनेर चेलाहरू छक्क परे। त्यसैले येसुले तिनीहरूलाई फेरि भन्‍नुभयो: “बाबु हो, परमेश्‍वरको राज्यमा पस्नु साँच्चै कठिन कुरा हो! २५ धनी मानिसलाई परमेश्‍वरको राज्यमा पस्नभन्दा त उँटलाई सियोको नाथ्रीबाट छिर्न नै सजिलो हुन्छ।”+ २६ यो सुनेर चेलाहरू झनै छक्क परे र उहाँलाई सोधे:* “त्यसोभए के कसैले उद्धार पाउन सक्ला त?”+ २७ येसुले सीधै तिनीहरूलाई हेरेर भन्‍नुभयो: “मानिसहरूको लागि यो असम्भव छ तर परमेश्‍वरको लागि छैन। किनकि परमेश्‍वरको लागि सबै कुरा सम्भव छ।”+ २८ तब पत्रुसले उहाँलाई भन्‍न थाले: “हेर्नुहोस्‌! हामी सबै कुरा छोडेर तपाईँको पछि लागेका छौँ।”+ २९ येसुले भन्‍नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, मेरो र सुसमाचारको खातिर जसले घर वा दाजुभाइ वा दिदीबहिनी वा आमा वा बुबा वा छोराछोरी वा जग्गा-जमिन छोड्‌छ,+ ३० उसले अहिले खेदोका साथै १०० गुणा घर, दाजुभाइ, दिदीबहिनी, आमा, छोराछोरी र जग्गा-जमिन पाउनेछ+ अनि आउने युगमा* अनन्त जीवन पाउनेछ। ३१ तर धेरै जना जो पहिला छन्‌, ती पछिल्ला हुनेछन्‌ र जो पछिल्ला छन्‌, ती पहिला हुनेछन्‌।”+

३२ तिनीहरू यरुसलेमतर्फ उक्लँदै थिए र येसुचाहिँ तिनीहरूको अघिअघि हिँड्‌दै हुनुहुन्थ्यो। तिनीहरू छक्क परे अनि उहाँको पछिपछि आइरहेका मानिसहरू डराउन थाले। उहाँले फेरि ती १२ जनालाई अलग्गै लैजानुभयो र उहाँमाथि आइपर्न लागेका यी कुराहरू बताउन थाल्नुभयो:+ ३३ “हेर! हामी यरुसलेमतर्फ उक्लँदै छौँ, मानिसको छोरालाई मुख्य पुजारीहरू र शास्त्रीहरूको हातमा सुम्पिइनेछ अनि तिनीहरूले उसलाई मृत्युदण्ड दिनेछन्‌ र अन्यजातिका मानिसहरूको हातमा सुम्पिनेछन्‌ ३४ अनि तिनीहरूले उसको गिल्ला गर्नेछन्‌, उसलाई थुक्नेछन्‌, कोर्रा लगाउनेछन्‌ र मार्नेछन्‌ तर तीन दिनपछि ऊ ब्युँतनेछ।”+

३५ तब जब्दिका दुई छोरा याकुब र युहन्‍ना+ उहाँकहाँ आए र यसो भने: “हे गुरु, हामी तपाईँसित जे माग्छौँ, हाम्रो लागि त्यो पूरा गरिदिनुहोस्‌ भन्‍ने हामी चाहन्छौँ।”+ ३६ उहाँले तिनीहरूलाई सोध्नुभयो: “मैले तिमीहरूका लागि के गरिदिएको तिमीहरू चाहन्छौ?” ३७ तिनीहरूले उहाँलाई भने: “तपाईँले महिमित ओहदा पाउनुहुँदा हामीमध्ये एक जनालाई तपाईँको दाहिने हाततिर र अर्कोलाई देब्रे हाततिर बस्न दिनुहोस्‌।”+ ३८ तर येसुले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू के माग्दै छौ, त्यो तिमीहरू जान्दैनौ। मैले पिइरहेको कचौरा के तिमीहरू पिउन सक्छौ? अथवा मैले जुन बप्तिस्मा गरिरहेको छु, के तिमीहरू त्यो बप्तिस्मा गर्न सक्छौ?”+ ३९ तिनीहरूले उहाँलाई भने: “सक्छौँ।” अनि येसुले तिनीहरूलाई भन्‍नुभयो: “मैले पिउन लागेको कचौरा तिमीहरूले पिउनेछौ र मैले गर्न लागेको बप्तिस्मा तिमीहरूले पनि गर्नेछौ।+ ४० तर मेरो दाहिने वा देब्रे हाततिर बस्न दिने अधिकार मसित छैन। जसको लागि त्यो तयार पारिएको छ, ऊ नै त्यहाँ बस्नेछ।”

४१ जब बाँकी १० जनाले यो कुरा सुने, तब तिनीहरू याकुब र युहन्‍नासित असाध्यै रिसाए।+ ४२ तर येसुले तिनीहरूलाई आफूकहाँ बोलाएर यसो भन्‍नुभयो: “तिमीहरूलाई थाहै छ, संसारका शासकहरूले आफ्ना जनतामाथि हैकम चलाउँछन्‌ र तिनीहरूका ठूलाबडाहरूले तिनीहरूमाथि अख्तियार जमाउँछन्‌।+ ४३ तर तिमीहरूबीच भने यस्तो हुनु हुँदैन; तिमीहरूमाझ जो ठूलो हुन चाहन्छ, ऊ तिमीहरूको सेवक हुनुपर्छ।+ ४४ अनि तिमीहरूमाझ जो पहिलो हुन चाहन्छ, ऊ सबैको दास हुनुपर्छ। ४५ किनकि मानिसको छोरा पनि सेवा पाउन होइन तर सेवा गर्न+ र धेरैको निम्ति फिरौतीस्वरूप आफ्नो ज्यान दिन आयो।”+

४६ तब उहाँहरू यरिहो पुग्नुभयो। अनि उहाँ, उहाँका चेलाहरू र मानिसहरूको भीड यरिहोबाट निस्कँदै गर्दा बर्तिमै (तिमैको छोरा) नाम गरेको अन्धो माग्ने बाटोको छेउमा बसिरहेको थियो।+ ४७ उसले नासरी येसु त्यही बाटो भएर हिँड्‌दै हुनुहुन्छ भनी सुनेपछि यसो भन्दै कराउन थाल्यो: “हे दाउदका छोरा+ येसु, ममाथि कृपा गर्नुहोस्‌!”+ ४८ अनि थुप्रै मानिसले उसलाई “चुप लाग्‌” भन्दै हप्काउन थाले तर ऊ भने यसो भन्दै झन्‌ चिच्याइरह्‍यो: “हे दाउदका छोरा, ममाथि कृपा गर्नुहोस्‌!” ४९ त्यसैले येसु रोकिनुभयो र भन्‍नुभयो: “उसलाई मकहाँ बोलाओ।” अनि तिनीहरूले त्यस अन्धो मानिसलाई बोलाउँदै यसो भने: “साहस गर। उठ, उहाँले तिमीलाई बोलाउँदै हुनुहुन्छ।” ५० तब आफ्नो लुगा फ्याँक्दै बुर्लुक्क उफ्रेर ऊ येसुकहाँ गयो। ५१ येसुले उसलाई सोध्नुभयो: “मैले तिम्रो लागि के गरिदिएको तिमी चाहन्छौ?” त्यो अन्धो मानिसले भन्यो: “गुरुज्यू,* मैले फेरि दृष्टि पाऊँ।” ५२ येसुले उसलाई भन्‍नुभयो: “जाऊ, तिम्रो विश्‍वासले तिमीलाई निको पारेको छ।”+ अनि उत्तिखेरै उसले देख्न थाल्यो+ र ऊ उहाँको पछिपछि लाग्न थाल्यो।

११ उहाँहरू यरुसलेमनजिकै जैतुन डाँडाको बेथफागे र बेथानी पुग्नै लाग्दा+ येसुले आफ्ना दुई जना चेलालाई यसो भनेर पठाउनुभयो:+ २ “तिमीहरूले देखिरहेको त्यस गाउँमा जाओ र त्यहाँ पस्नेबित्तिकै तिमीहरूले गधाको एउटा बछेडोलाई बाँधेर राखेको भेट्टाउनेछौ, जसमा अहिलेसम्म कोही चढेको छैन। त्यसलाई फुकाएर ल्याओ। ३ यदि कसैले ‘तिमीहरू किन यसो गर्दै छौ?’ भनेर सोध्यो भने यसो भन्‍नू, ‘प्रभुलाई यो चाहिएको छ र उहाँले यसलाई तुरुन्तै फिर्ता गर्नुहुनेछ।’” ४ त्यसैले तिनीहरू गए अनि सडकछेउको एउटा घरको ढोकामा बछेडोलाई बाँधिराखेको भेट्टाए र तिनीहरूले त्यसलाई फुकाए।+ ५ तर त्यहाँ उभिरहेका केही मानिसहरूले तिनीहरूलाई सोधे: “तिमीहरू किन यस बछेडोलाई फुकाउँदै छौ?” ६ अनि तिनीहरूले येसुले सिकाउनुभएबमोजिम जवाफ दिए र उनीहरूले तिनीहरूलाई जान दिए।

७ तिनीहरूले बछेडोलाई+ येसुकहाँ ल्याए र त्यसमाथि आफ्ना लुगाहरू बिछ्याए अनि उहाँ त्यसमाथि बस्नुभयो।+ ८ साथै धेरैले आ-आफ्नो लुगा बाटोमा बिछ्याए अनि अरू कतिले चाहिँ छेउछाउका रूखहरूबाट स्याउला काटेर बिछ्याए।+ ९ उहाँको अघिअघि गइरहेका र पछिपछि आइरहेकाहरूले यसो भन्दै जयजयकार गर्न थाले: “हे परमेश्‍वर, उहाँको रक्षा गर्नुहोस्‌!+ यहोवाको* नाममा आउने धन्यका हुन्‌!+ १० हाम्रा बुबा दाउदको आउँदै गरेको राज्य धन्यको होस्‌!+ हे स्वर्गमा बस्नुहुने परमेश्‍वर, बिन्ती! उहाँको रक्षा गर्नुहोस्‌!” ११ अनि उहाँ यरुसलेमभित्र पस्नुभयो र मन्दिरमा जानुभयो। उहाँले चारैतिर हेर्नुभयो तर साँझ परेकोले त्यहाँबाट निस्केर उहाँ ती १२ जनासित बेथानी जानुभयो।+

१२ भोलिपल्ट उहाँहरू बेथानीबाट निस्कँदै गर्दा उहाँ भोकाउनुभयो।+ १३ उहाँले टाढैबाट पातले भरिएको अन्जिरको एउटा रूख देख्नुभयो। त्यसैले फल लागेको छ कि भनी हेर्न उहाँ त्यसको नजिकै जानुभयो। तर उहाँले त्यसमा पातबाहेक केही पाउनुभएन किनकि त्यतिखेर अन्जिर फल्ने मौसम भएको थिएन। १४ त्यसैले उहाँले त्यसलाई यसो भन्‍नुभयो: “तेरो फल अबदेखि कसैले कहिल्यै खान नपाओस्‌।”+ यो कुरा उहाँका चेलाहरूले सुनिरहेका थिए।

१५ अनि उहाँहरू यरुसलेम पुग्नुभयो। उहाँ मन्दिरभित्र पस्नुभयो र त्यहाँ किनबेच गरिरहेकाहरूलाई बाहिर लघार्न थाल्नुभयो। उहाँले पैसा साट्‌नेहरूको टेबुल अनि ढुकुर बेच्नेहरूको बेन्च पनि पल्टाइदिनुभयो।+ १६ उहाँले कसैलाई पनि भाँडाकुँडा बोकेर मन्दिरबाट हिँड्‌न दिनुभएन। १७ उहाँले तिनीहरूलाई यसो भन्दै सिकाउनुभयो: “‘मेरो घर सबै जातिका मानिसहरूको प्रार्थनाको घर भनेर चिनिनेछ’ भनी के धर्मशास्त्रमा लेखिएको छैन?+ तर तिमीहरूले यसलाई डाँकुहरूको ओडार बनाएका छौ।”+ १८ यो कुरा मुख्य पुजारीहरू र शास्त्रीहरूले सुने अनि तिनीहरूले कसरी उहाँलाई मार्ने भनी सोच्न थाले।+ तर तिनीहरू उहाँसित डराउँथे किनभने उहाँको शिक्षा सुनेर भीड छक्क पर्ने गर्थ्यो।+

१९ साँझ परेपछि उहाँहरू सहरबाहिर जानुभयो। २० भोलिपल्ट बिहान सबेरै बाटोमा जाँदै गर्दा उहाँहरूले अन्जिरको त्यो रूख जरैदेखि सुकिसकेको देख्नुभयो।+ २१ त्यसैले येसुले त्यस रूखलाई भन्‍नुभएको कुरा सम्झँदै पत्रुसले उहाँलाई भने: “रब्बी, हेर्नुहोस्‌! तपाईँले सराप दिनुभएको अन्जिरको रूख त सुकेछ।”+ २२ अनि येसुले तिनीहरूलाई भन्‍नुभयो: “परमेश्‍वरमाथि विश्‍वास गर। २३ म तिमीहरूलाई साँच्चै भन्छु, यदि कसैले यस पहाडलाई ‘यहाँबाट उप्किएर समुद्रमा खस्‌’ भन्छ अनि आफ्नो हृदयमा शङ्‌का गर्दैन र आफूले भनेको कुरा पूरा हुनेछ भनेर विश्‍वास गर्छ भने उसले भनेझैँ हुनेछ।+ २४ यसैले म तिमीहरूलाई भन्छु, तिमीहरूले प्रार्थनामा जे-जे माग्छौ, ती तिमीहरूले पाइसकेझैँ गरी विश्‍वास गर अनि तिमीहरूले ती साँच्चै पाउनेछौ।+ २५ अनि तिमीहरू प्रार्थना गर्न उभिँदा तिमीहरूको हृदयमा अरूको विरुद्धमा जे-जति कुरा छन्‌, ती सबै क्षमा गर। तब स्वर्गमा बस्नुहुने तिमीहरूका बुबाले पनि तिमीहरूका अपराधहरू क्षमा गर्नुहुनेछ।”+ २६ *—

२७ उहाँहरू फेरि यरुसलेम पुग्नुभयो। उहाँ मन्दिरमा हिँडिरहनुभएको बेला मुख्य पुजारीहरू, शास्त्रीहरू र धर्मगुरुहरू आए २८ र उहाँलाई सोधे: “तपाईँ कुन अख्तियारले यी सब गर्दै हुनुहुन्छ? तपाईँलाई यसो गर्ने अख्तियार कसले दियो?”+ २९ येसुले तिनीहरूलाई यस्तो जवाफ दिनुभयो: “म तिमीहरूलाई एउटा प्रश्‍न सोध्छु। तिमीहरूले मलाई त्यसको जवाफ देओ र म कुन अख्तियारले यी सब गर्दै छु, म पनि तिमीहरूलाई भनौँला। ३० युहन्‍नाले बप्तिस्मा गराउने अख्तियार+ परमेश्‍वरबाट* पाए कि मानिसहरूबाट? मलाई जवाफ देओ।”+ ३१ तब तिनीहरू आपसमा यसो भन्दै तर्क गर्न थाले: “‘परमेश्‍वरबाट’ भनौँ भने ‘उसोभए तिमीहरूले किन ऊमाथि विश्‍वास गरेनौ त’ भनेर उसले सोध्नेछ। ३२ तर ‘मानिसहरूबाट’ भन्‍ने आँट कसरी गरौँ?” तिनीहरू भीडसित डराउँथे किनकि युहन्‍ना वास्तवमै भविष्यवक्‍ता थिए भनी सबै मानिसले मान्थे।+ ३३ त्यसैले तिनीहरूले येसुलाई यस्तो जवाफ दिए: “हामीलाई थाह छैन।” तब उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “म कुन अख्तियारले यी सब गर्छु, म पनि तिमीहरूलाई भन्दिनँ।”

१२ उहाँले तिनीहरूसित उदाहरणहरू चलाएर कुरा गर्न थाल्नुभयो: “एक जना मानिसले अङ्‌गुर बगान लगाएर+ त्यसको वरिपरि बार हाल्यो। त्यसपछि उसले अङ्‌गुर पेल्ने कोल खन्यो र एउटा मचान खडा गऱ्‍यो।+ अनि मोहीहरूलाई त्यसको ठेक्का दिएर आफूचाहिँ विदेशतिर लाग्यो।+ २ फल टिप्ने बेला भएपछि उसले अङ्‌गुर बगानको कुत उठाउन* आफ्नो एक जना दासलाई मोहीहरूकहाँ पठायो। ३ तर तिनीहरूले त्यसलाई समातेर कुटे अनि रित्तो हात फर्काइदिए। ४ उसले तिनीहरूकहाँ अर्को एक जना दासलाई पठायो तर तिनीहरूले त्यसलाई टाउकोमा हिर्काए र त्यसको बेइज्जत गरे।+ ५ उसले फेरि अर्को एक जनालाई पठायो तर तिनीहरूले त्यसलाई मारे। यसैगरि उसले अरू थुप्रै दासलाई पनि पठायो तर तिनीहरूले कसैलाई कुटे अनि कसैलाई चाहिँ मारे। ६ ऊसँग अब एकै जना बाँकी थियो, उसको आफ्नो प्यारो छोरा।+ ‘तिनीहरूले मेरो छोरालाई त आदर गर्नेछन्‌’ भन्‍ने सोच्दै अन्त्यमा उसले आफ्नो छोरालाई तिनीहरूकहाँ पठायो। ७ तर ती मोहीहरूले आपसमा यसो भने, ‘यो त हकवाला हो।+ आओ, यसलाई मारौँ अनि यसको सम्पत्ति हाम्रो हुनेछ।’ ८ त्यसैले तिनीहरूले उसलाई समातेर मारे अनि अङ्‌गुर बगानबाहिर फ्याँकिदिए।+ ९ अङ्‌गुर बगानको मालिकले अब के गर्नेछ? ऊ आएर ती मोहीहरूलाई मार्नेछ र अङ्‌गुर बगानचाहिँ अरूलाई जिम्मा दिनेछ।+ १० के तिमीहरूले धर्मशास्त्रमा यो अंश कहिल्यै पढेका छैनौ, ‘जुन ढुङ्‌गोलाई डकर्मीहरूले काम नलाग्ने ठाने, त्यही ढुङ्‌गो नै कुनाको शिरढुङ्‌गो बनेको छ।+ ११ यहोवाले* त्यसो गर्नुभएको हो र यो हाम्रो नजरमा साह्रै अचम्मको छ’?”+

१२ यो सुनेर तिनीहरूले उहाँलाई पक्रन चाहे किनकि यो उदाहरण उहाँले तिनीहरूकै विषयमा भन्‍नुभएको हो भनेर तिनीहरूले बुझे। तर तिनीहरू भीडसित डराए, त्यसैले उहाँलाई छोडेर गए।+

१३ त्यसपछि उहाँले बोल्नुभएकै कुरामा उहाँलाई फसाउन तिनीहरूले केही फरिसीहरू र हेरोदवादीहरूलाई उहाँकहाँ पठाए।+ १४ तिनीहरू त्यहाँ पुगेपछि उहाँलाई भने: “गुरुज्यू, हामीलाई थाह छ, तपाईँ सधैँ साँचो कुरा बोल्नुहुन्छ र अरूको वाहवाही खोज्नुहुन्‍न किनकि तपाईँ मानिसहरूको रूप हेरेर व्यवहार गर्नुहुन्‍न तर परमेश्‍वरको मार्गबारे सत्य कुरा सिकाउनुहुन्छ। हामीलाई भन्‍नुहोस्‌, सिजरलाई* कर तिर्नु उचित हो कि होइन? १५ हामी कर तिरौँ कि नतिरौँ?” तिनीहरूको कपट थाह पाएर उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू किन मेरो परीक्षा लिन्छौ? मलाई एक दिनारको* सिक्का देखाओ।” १६ तिनीहरूले एउटा सिक्का ल्याए। अनि उहाँले तिनीहरूलाई सोध्नुभयो: “यसमा कसको चित्र र नाम छ?” तिनीहरूले उहाँलाई जवाफ दिए: “सिजरको।” १७ तब येसुले भन्‍नुभयो: “जे-जे सिजरका हुन्‌, सिजरलाई+ र जे-जे परमेश्‍वरका हुन्‌, परमेश्‍वरलाई देओ।”+ उहाँको जवाफ सुनेर तिनीहरू जिल्ल परे।

१८ तब सदुकीहरू, जो मरेकाहरू फेरि जीवित हुँदैनन्‌ भन्छन्‌,+ तिनीहरू उहाँकहाँ आए र सोधे:+ १९ “गुरुज्यू, मोसाले हाम्रो लागि लेखेका छन्‌ कि यदि कुनै मानिस निस्सन्तान मऱ्‍यो तर उसकी पत्नी जिउँदै छे भने उसको भाइले आफ्नी भाउजूसित विवाह गरेर दाइको निम्ति सन्तान जन्माउनुपर्छ।+ २० एउटा परिवारमा सात जना दाजुभाइ थिए अनि जेठोले विवाह गऱ्‍यो र निस्सन्तान मऱ्‍यो। २१ अनि माइलोले आफ्नी भाउजूसित विवाह गऱ्‍यो तर ऊ पनि निस्सन्तान मऱ्‍यो अनि साइँलो पनि त्यसरी नै मऱ्‍यो। २२ यसरी सातै जना निस्सन्तान मरे। अन्तमा त्यो स्त्री पनि मरी। २३ तिनीहरू फेरि जीवित हुँदा त्यो स्त्री कसकी पत्नी हुनेछे? किनकि सातै जनाले त्यसलाई पत्नी बनाइसकेका थिए।” २४ येसुले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूले गलत बुझिरहेका छौ किनकि तिमीहरूले न धर्मशास्त्रलाई न त परमेश्‍वरको शक्‍तिलाई नै बुझेका छौ।+ २५ किनकि मृत्युबाट ब्युँतिएपछि न पुरुषले न स्त्रीले नै विवाह गर्नेछन्‌ तर तिनीहरू स्वर्गदूतहरूजस्तै हुनेछन्‌।+ २६ मरेकाहरू ब्युँतने विषयमा के तिमीहरूले झाडीसम्बन्धी मोसाको विवरण पढेका छैनौ? परमेश्‍वरले तिनलाई यसो भन्‍नुभएको थियो: ‘म अब्राहामका परमेश्‍वर, इसहाकका परमेश्‍वर र याकुबका परमेश्‍वर हुँ।’+ २७ उहाँ मरेकाहरूको होइन तर जीवितहरूका परमेश्‍वर हुनुहुन्छ। तिमीहरूले साँच्चै गलत बुझिरहेका छौ।”+

२८ त्यहाँ आएका एक जना शास्त्रीले उहाँहरूबीच भएको वादविवाद सुनिरहेका थिए। येसुले राम्रो जवाफ दिनुभएको देखेर तिनले उहाँलाई सोधे: “सबैभन्दा महत्त्वपूर्ण आज्ञा कुन हो?”+ २९ येसुले जवाफ दिनुभयो: “पहिलो यही हो, ‘हे इस्राएल सुन, यहोवा* हाम्रा परमेश्‍वर एक मात्र यहोवा* हुनुहुन्छ। ३० त्यसैले तिमीहरूले यहोवा* तिमीहरूका परमेश्‍वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा ज्यानले,* आफ्नो सारा दिमागले र आफ्नो सारा बलले प्रेम गर्नू।’+ ३१ दोस्रोचाहिँ यो हो: ‘तिमीहरूले आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नू।’+ यीभन्दा ठूलो आज्ञा अर्को छैन।” ३२ ती शास्त्रीले उहाँलाई भने: “गुरुज्यू, तपाईँले सत्य कुरा भन्‍नुभयो, ‘उहाँ एक मात्र परमेश्‍वर हुनुहुन्छ, उहाँबाहेक अरू कोही परमेश्‍वर छैन।’+ ३३ उहाँलाई आफ्नो सारा हृदयले, सारा समझले र सारा बलले प्रेम गर्नु अनि आफ्नो छिमेकीलाई आफूलाई जस्तै प्रेम गर्नु सबै अग्निभेटी* र बलिदानभन्दा धेरै उत्तम हो।”+ ३४ उसले बुद्धिमानीसाथ जवाफ दिएको सुनेर येसुले उसलाई भन्‍नुभयो: “तिमी परमेश्‍वरको राज्यबाट टाढा छैनौ।” त्यसपछि कसैले उहाँसित अरू प्रश्‍न सोध्ने आँट गरेन।+

३५ तर मन्दिरमा सिकाउँदा उहाँले तिनीहरूलाई यसो भन्‍नुभयो: “ख्रिष्ट दाउदको छोरा हुन्‌ भनी शास्त्रीहरूले कसरी भन्‍न सके?+ ३६ पवित्र शक्‍ति पाएर+ दाउद आफैले यसो भनेका थिए: ‘यहोवाले* मेरा प्रभुलाई भन्‍नुभयो, “तिमी मेरो दाहिने हाततिर बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउमुनि राख्दिनँ।”’+ ३७ दाउद आफैले उसलाई प्रभु भनी सम्बोधन गर्छन्‌ भने ऊ कसरी तिनको छोरा हुन सक्छ र?”+

उहाँको कुरा ठूलो जमातले मक्ख परेर सुनिरहेको थियो। ३८ अनि उहाँले अझ यसो भन्दै सिकाउनुभयो: “शास्त्रीहरूदेखि होसियार बस, जो लामा-लामा लुगा लगाएर घुमफिर गर्न मन पराउँछन्‌, बजारहरूमा विशेष अभिवादन चाहन्छन्‌,+ ३९ सभाघरहरूमा सबैभन्दा अगाडि* बस्न रुचाउँछन्‌ अनि रात्रिभोजहरूमा मुख्यमुख्य आसन खोज्छन्‌।+ ४० तिनीहरू विधवाहरूको घर* हडप्छन्‌ र अरूलाई देखाउन लामो प्रार्थना गर्छन्‌। तिनीहरूले अझै चर्को दण्ड भोग्नेछन्‌।”

४१ अनि उहाँ दानपात्रहरू देखिने ठाउँमा गएर बस्नुभयो+ र मानिसहरूले दानपात्रहरूमा पैसा खसालेको हेर्न थाल्नुभयो। त्यहाँ थुप्रै धनी मानिसले धेरै सिक्का खसाल्दै थिए।+ ४२ त्यत्तिकैमा एउटी गरिब विधवा आई र उसले असाध्यै थोरै मोलका दुई साना सिक्का* खसाली।+ ४३ तब उहाँले आफ्ना चेलाहरूलाई बोलाएर यसो भन्‍नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, यस गरिब विधवाले दानपात्रहरूमा पैसा खसाल्ने अरू सबैले भन्दा धेरै खसाली।+ ४४ किनकि अरू सबैले आफ्नो प्रशस्तताबाट खसाले तर उसले त अभाव* हुँदाहुँदै पनि आफ्नो जीविका चलाउने सबै पैसा खसाली।”+

१३ उहाँ मन्दिरबाट बाहिर निस्कँदै गर्दा उहाँका चेलाहरूमध्ये एक जनाले यसो भने: “गुरुज्यू, हेर्नुहोस्‌ त! कति सुन्दर ढुङ्‌गा अनि कति शानदार भवनहरू!”+ २ तर येसुले तिनलाई भन्‍नुभयो: “तिमीले देखिरहेका यी भव्य भवनहरू एउटा ढुङ्‌गामाथि अर्को ढुङ्‌गासमेत नरहनेगरि ढालिनेछन्‌।”+

३ उहाँ जैतुन डाँडामा मन्दिर देखिने ठाउँमा बसिरहनुभएको बेला पत्रुस, याकुब, युहन्‍ना र अन्द्रियास सुटुक्क उहाँकहाँ आएर सोध्न थाले: ४ “हामीलाई भन्‍नुहोस्‌, यी कुराहरू कहिले हुनेछन्‌ अनि यी सब कुराको आखिरी समयको चिन्ह के हुनेछ?”+ ५ तब येसुले तिनीहरूलाई बताउन थाल्नुभयो: “होसियार बस, तिमीहरूलाई कसैले बहकाउन नपाओस्‌।+ ६ धेरै जना मेरो नाम लिएर ‘म उही हुँ’ भन्दै आउनेछन्‌ र धेरैलाई बहकाउनेछन्‌। ७ साथै युद्धको कोलाहल अनि युद्धको खबर सुन्दा तिमीहरू नआत्तिओ। यी सब हुनु आवश्‍यक छ तर यत्तिकैमा यस युगको अन्त भइहाल्नेछैन।+

८ “किनकि जातिको विरुद्धमा जाति र राज्यको विरुद्धमा राज्य उठ्‌नेछ+ अनि ठाउँठाउँमा भूकम्प जानेछ र अनिकाल पर्नेछ।+ तर यी त प्रसववेदनाजस्तै सङ्‌कष्टको सुरुवात मात्र हुन्‌।+

९ “तिमीहरूचाहिँ सतर्क रहो किनकि मानिसहरूले तिमीहरूलाई अदालतमा सुम्पिनेछन्‌।+ तिमीहरू सभाघरहरूमा कुटिनेछौ+ र मेरो खातिर तिमीहरू राज्यपाल अनि राजाहरूसामु कठघरामा उभ्याइनेछौ र तिमीहरूले उनीहरूलाई साक्षी दिनेछौ।+ १० साथै सारा जातिहरूलाई पहिला सुसमाचार प्रचार गरिनुपर्छ।+ ११ उनीहरूले तिमीहरूलाई पक्रेर अदालत लैजाँदै गर्दा के बोल्ने भनी पहिल्यै चिन्ता नगर। तिमीहरू त्यही बोल, जे तिमीहरूलाई त्यतिखेरै थाह दिइनेछ। किनकि तिमीहरू आफ्नै भरमा होइन तर पवित्र शक्‍तिको मदत पाएर बोल्नेछौ।+ १२ साथै दाइले भाइलाई र बुबाले छोरालाई मार्नको लागि सुम्पिनेछ अनि छोराछोरी आफ्ना आमाबुबाको विरुद्धमा उठ्‌नेछन्‌ र तिनीहरूलाई मार्न लगाउनेछन्‌।+ १३ तिमीहरू मेरा चेला भएकाले सबै मानिसले तिमीहरूलाई घृणा गर्नेछन्‌;+ तर जसले अन्तसम्म सहन्छ,+ उसले उद्धार पाउनेछ।+

१४ “तर जब तिमीहरूले उजाड पार्ने घृणित कुरालाई त्यस ठाउँमा खडा भएको देखौला,+ जहाँ त्यो हुनु हुँदैन, (पढ्‌नेले समझ चलाओस्‌) तब यहुदियामा हुनेहरू डाँडाहरूतिर भाग्न थालून्‌।+ १५ कौसीमा हुने मानिस ओर्लेर तल नआओस्‌ न त केही लिन आफ्नो घरभित्र पसोस्‌। १६ अनि खेतमा भएको मानिस आफ्नो लुगा लिन नफर्कोस्‌। १७ ती दिनमा गर्भवती र दूध खुवाउने स्त्रीहरूलाई हाय!+ १८ तिमीहरू हिउँदमा भाग्नु नपरोस्‌ भनेर प्रार्थना गरिरहो। १९ किनकि त्यतिखेर यस्तो सङ्‌कष्ट हुनेछ,+ जुन परमेश्‍वरले सृष्टि गर्नुभएको संसारको सुरुवातदेखि अहिलेसम्म भएको छैन न त फेरि कहिल्यै हुनेछ।+ २० वास्तवमा यहोवाले* ती दिन नघटाउनुहुने हो भने कोही मानिस बच्नेछैन। तर आफूले चुनेका जनहरूका लागि उहाँले ती दिन घटाउनुहुनेछ।+

२१ “तब यदि कसैले तिमीहरूलाई ‘हेर! ख्रिष्ट यहाँ हुनुहुन्छ’ वा ‘हेर! उहाँ त्यहाँ हुनुहुन्छ’ भन्छ भने नपत्याओ।+ २२ किनकि झूटा ख्रिष्टहरू अनि झूटा भविष्यवक्‍ताहरू देखा पर्नेछन्‌+ र सम्भव भएसम्म चुनिएका जनहरूलाई समेत बहकाउन आश्‍चर्यजनक कार्यहरू गर्नेछन्‌। २३ त्यसैले तिमीहरू होसियार बस।+ मैले तिमीहरूलाई सबै कुरा पहिल्यै भनिदिएको छु।

२४ “तर ती दिनमा त्यस सङ्‌कष्टपछि सूर्य अँध्यारो हुनेछ, चन्द्रमाले आफ्नो उज्यालो दिनेछैन,+ २५ आकाशबाट ताराहरू खस्नेछन्‌ र आकाशका शक्‍तिहरू डगमगाउनेछन्‌। २६ त्यसपछि तिनीहरूले मानिसको छोरालाई+ ठूलो शक्‍ति र महिमासहित बादलहरूमा आउँदै गरेको देख्नेछन्‌।+ २७ अनि उसले आफ्ना स्वर्गदूतहरूलाई पठाउनेछ र उनीहरूले परमेश्‍वरले चुन्‍नुभएका जनहरूलाई पृथ्वीको कुनादेखि आकाशको कुनासम्म चारै दिशाबाट* जम्मा गर्नेछन्‌।+

२८ “अब अन्जिरको रूखको उदाहरणबाट यो कुरा सिक: कलिलो हाँगा पलाएर त्यसमा पालुवा लाग्नेबित्तिकै तिमीहरूले ग्रीष्म ऋतु नजिकै रहेछ भनेर थाह पाउँछौ।+ २९ त्यसैगरि जब तिमीहरूले यी कुराहरू भइरहेका देख्छौ, तब मानिसको छोरा नजिकै, ढोकामै छ भनेर जान।+ ३० म तिमीहरूलाई साँच्चै भन्छु, यी सब कुरा नभएसम्म यो पुस्ता कुनै पनि हालतमा बितेर जानेछैन।+ ३१ आकाश र पृथ्वी बितेर जानेछन्‌+ तर मेरा वचनहरू कुनै पनि हालतमा बितेर जानेछैनन्‌।+

३२ “त्यस दिन वा समयको* विषयमा कसैले जान्दैन; न स्वर्गदूतहरूले न त छोराले तर बुबाले मात्र जान्‍नुहुन्छ।+ ३३ सधैँ सचेत रहो अनि जागा बस+ किनकि परमेश्‍वरले तोक्नुभएको समय कहिले आउँछ, तिमीहरू जान्दैनौ।+ ३४ यो त त्यो मानिसजस्तै हो, जसले विदेश जानुअघि आफ्ना दासहरूलाई आफ्नो घर जिम्मा लगायो+ अनि हरेकलाई आ-आफ्नो काम बाँड्‌नुका साथै ढोकेलाई जागा रहने आदेश दियो।+ ३५ त्यसकारण जागा रहो किनकि घरमालिक साँझमा वा मध्यरातमा वा भाले बास्ने बेलामा* वा बिहान, कुन बेला आउँछ,+ तिमीहरूलाई थाह छैन।+ ३६ नत्र त ऊ अकस्मात्‌ आइपुग्दा तिमीहरूलाई निदाइरहेको भेट्टाउनेछ।+ ३७ म तिमीहरूलाई जे भन्छु, त्यही कुरा सबैलाई भन्छु: जागा रहो।”+

१४ निस्तार चाड*+ र अखमिरा रोटीको चाड*+ आउन दुई दिन बाँकी थियो।+ अनि मुख्य पुजारीहरू र शास्त्रीहरूले उहाँलाई छल गरेर पक्रने अनि मार्ने मौका खोजिरहेका थिए।+ २ तैपनि तिनीहरूले यसो भनिरहेका थिए: “चाडको बेलामा त होइन नत्र त मानिसहरूले हुलदङ्‌गा गर्न सक्छन्‌।”

३ उहाँ बेथानीमा कुष्ठरोगी सिमोनको घरमा खान बसिरहनुभएको बेला एउटी स्त्री अलाबास्टरको* भाँडोमा असल जटामसीको असाध्यै महँगो सुगन्धित तेल लिएर आई। त्यसपछि उसले अलाबास्टरको भाँडो खोलेर उहाँको शिरमा तेल खन्याउन थाली।+ ४ यो देखेर कसै-कसैलाई चित्त बुझेन अनि आपसमा यसो भने: “यस्तो सुगन्धित तेलको किन यत्रो नोक्सानी? ५ किनकि यो सुगन्धित तेल ३०० दिनारभन्दा* बढी मूल्यमा बेचेर त्यसबाट आएको पैसा गरिबहरूलाई दिन सकिन्थ्यो!” अनि तिनीहरू त्यस स्त्रीसित असाध्यै रिसाए।* ६ तर येसुले भन्‍नुभयो: “भैगो, छोडिदेओ। तिमीहरू किन उसलाई दुःख दिन खोज्छौ? उसले मेरो लागि असलै काम गरेकी छे।+ ७ गरिबहरू त तिमीहरूसित सधैँभरि हुन्छन्‌+ र तिमीहरू उनीहरूको भलो हुने काम आफ्नो इच्छाअनुसार जहिले पनि गर्न सक्छौ तर म भने तिमीहरूसित सधैँभरि हुँदिनँ।+ ८ उसले जे गर्न सक्थी, त्यही गरेकी छे। यसरी मेरो शरीरमा सुगन्धित तेल लगाइदिएर उसले मेरो मृत्युपछि मलाई गाड्‌न तयारी गरेकी छे।+ ९ म तिमीहरूलाई साँच्चै भन्छु, सारा संसारभरि जहाँ-जहाँ सुसमाचार प्रचार गरिन्छ,+ त्यहाँ-त्यहाँ यस स्त्रीले गरेको कुरा पनि उसको सम्झनामा सुनाइनेछ।”+

१० तब ती १२ जनामध्ये एक, यहुदा इस्करियोत उहाँलाई धोका दिएर मुख्य पुजारीहरूको हातमा सुम्पिन उनीहरूकहाँ गए।+ ११ यो सुनेर उनीहरू खुसी भए अनि तिनलाई चाँदीको पैसा दिने वाचा गरे।+ त्यसैले तिनले उहाँलाई धोका दिने मौका खोज्न थाले।

१२ अखमिरा रोटीको चाडको पहिलो दिन+ यहुदीहरू आफ्नो चलनअनुसार निस्तार चाडको बलि चढाउँथे।+ त्यस दिन चेलाहरूले उहाँलाई भने: “हामी कहाँ गएर निस्तार चाडको भोज तयार पारेको तपाईँ चाहनुहुन्छ?”+ १३ तब उहाँले आफ्ना दुई जना चेलालाई यसो भनेर पठाउनुभयो: “तिमीहरू सहरमा जाओ अनि त्यहाँ घैँटोमा पानी बोकेको एक जना मानिससित तिमीहरूको भेट हुनेछ। उसको पछिपछि लाग।+ १४ अनि ऊ जुन घरभित्र पस्छ, त्यसको घरधनीलाई भन, ‘गुरुज्यूले सोध्नुभएको छ: “मैले आफ्ना चेलाहरूसित निस्तार चाडको भोज खाने पाहुना-कोठा कहाँ छ?”’ १५ तब उसले तिमीहरूलाई माथिल्लो तलामा पाहुनाहरूको लागि ठिक्क पारेर राखिएको एउटा ठूलो कोठा देखाउनेछ। त्यहीँ हाम्रो लागि तयारी गर।” १६ त्यसैले चेलाहरू गए र सहरभित्र पसे। उहाँले जस्तो भन्‍नुभएको थियो, तिनीहरूले त्यस्तै पाए। अनि तिनीहरूले निस्तार चाडको लागि तयारी गरे।

१७ साँझ परेपछि उहाँ ती १२ जनासित आउनुभयो।+ १८ टेबुलमा खाइरहेको बेला येसुले भन्‍नुभयो: “म तिमीहरूलाई साँच्चै भन्छु, मसँगै खाइरहेको तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ।”+ १९ यो सुनेर तिनीहरू दुःखी हुन थाले र पालैसित उहाँलाई सोध्न थाले: “के त्यो म हुँ?” २० उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू १२ जनामध्ये जसले मसँग एउटै कचौरामा हात चोप्छ, ऊ त्यही हो।+ २१ मानिसको छोरा त आफ्नो विषयमा लेखिएअनुसारै जाँदै छ तर मानिसको छोरालाई धोका दिनेलाई भने धिक्कार छ!+ त्यो मानिस त जन्मँदै नजन्मेको भए त्यसको लागि बेस हुने थियो।”+

२२ खाँदै गर्दा उहाँले एउटा रोटी लिनुभयो अनि प्रार्थना गरेपछि भाँचेर यसो भन्दै तिनीहरूलाई दिनुभयो: “लेओ, यो मेरो शरीरको प्रतीक हो।”+ २३ त्यसैगरि उहाँले कचौरा लिनुभयो अनि प्रार्थना चढाएपछि तिनीहरूलाई दिनुभयो। अनि तिनीहरू सबैले त्यसबाट पिए।+ २४ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “यो मेरो रगतको प्रतीक हो,+ जुन थुप्रैका लागि बगाइनेछ+ र जसले परमेश्‍वरको करारलाई+ पक्का गर्छ। २५ म तिमीहरूलाई साँच्चै भन्छु, परमेश्‍वरको राज्यमा नयाँ दाखमद्य* नपिएसम्म म कुनै पनि हालतमा दाखमद्य फेरि पिउनेछैनँ।” २६ अन्तमा, स्तुतिगान गाइसकेपछि उहाँहरू जैतुन डाँडामा जानुभयो।+

२७ अनि येसुले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरू सबैले ठेस खानेछौ किनकि यस्तो लेखिएको छ: ‘म गोठालोलाई प्रहार गर्नेछु+ र भेडाहरू तितरबितर हुनेछन्‌।’+ २८ तर मलाई मृत्युबाट ब्युँताइएपछि म तिमीहरूभन्दा अघि गालिल जानेछु।”+ २९ तर पत्रुसले उहाँलाई भने: “अरू सबैले ठेस खाए पनि म भने ठेस खानेछैनँ।”+ ३० तब येसुले तिनलाई भन्‍नुभयो: “म तिमीलाई साँच्चै भन्छु, आज, हो यही रात, भाले दुई चोटि बास्नुअघि तिमीले मलाई तीन पटक तिरस्कार गर्नेछौ।”+ ३१ तर तिनले यसो भन्दै जिद्दी गरिरहे: “तपाईँसँगै मर्नु पऱ्‍यो भने पनि म कुनै हालतमा तपाईँलाई तिरस्कार गर्नेछैनँ।” अरू सबैले पनि त्यसै भन्‍न थाले।+

३२ उहाँहरू गेत्समनी भनिने ठाउँमा पुग्नुभयो र उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो: “मैले प्रार्थना गरुन्जेल तिमीहरू यहीँ बसिरहनू।”+ ३३ अनि उहाँले पत्रुस, याकुब र युहन्‍नालाई आफूसित लैजानुभयो।+ तब उहाँ असाध्यै दुःखित र खिन्‍न हुनुभयो। ३४ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “मलाई मेरो ज्यानै जाला जस्तोगरि अत्यन्तै दुःख लागेको छ।+ तिमीहरू यहीँ बस र जागा रहो।”+ ३५ त्यसपछि अलि पर गएर उहाँले घुँडा टेक्नुभयो अनि सम्भव छ भने यो समय टरिजाओस्‌ भनेर प्रार्थना गर्न थाल्नुभयो। ३६ अनि उहाँले यसो भन्‍नुभयो: “अब्बा,* हे बुबा,+ तपाईँको लागि सबै कुरा सम्भव छ। यो कचौरा मेरो सामुन्‍नेबाट हटाइदिनुहोस्‌। तैपनि म जे चाहन्छु, त्यो होइन तर तपाईँ जे चाहनुहुन्छ, त्यही होस्‌।”+ ३७ उहाँ फर्केर आउनुहुँदा तिनीहरूलाई निदाइरहेको भेट्टाउनुभयो र उहाँले पत्रुसलाई भन्‍नुभयो: “सिमोन, के तिमी निदाइरहेका छौ? के तिमी एकछिन जागा बस्न सकेनौ?+ ३८ प्रलोभनमा नपर्न तिमीहरू जागा रहो र प्रार्थना गरिरहो।+ मन त साँच्चै तयार* छ तर शरीर भने कमजोर छ।”+ ३९ उहाँ फेरि जानुभयो र प्रार्थनामा त्यही कुरा भन्‍नुभयो।+ ४० उहाँ फेरि फर्कनुभयो र तिनीहरूलाई निदाइरहेका भेट्टाउनुभयो किनकि तिनीहरूका आँखा लोलाएका थिए। त्यसैले उहाँलाई के जवाफ दिने भनेर तिनीहरूलाई थाहै भएन। ४१ उहाँ तेस्रो पटक फर्कनुभयो र तिनीहरूलाई भन्‍नुभयो: “यस्तो बेला पनि तिमीहरू कसरी निदाउन र आराम गर्न सकेका! बस्‌, अब निदाउन पुग्यो! बेला आइपुगेको छ!+ हेर! मानिसको छोरालाई धोका दिएर पापीहरूको हातमा सुम्पिइनेछ। ४२ उठ, हामी जाऔँ। हेर! मलाई धोका दिने मानिस नजिकै आइपुगिसकेको छ।”+

४३ उहाँ बोल्दै गर्नुहुँदा ती १२ जनामध्ये एक, यहुदा आइपुगिहाले र मुख्य पुजारीहरू, शास्त्रीहरू र धर्मगुरुहरूले पठाएको एउटा जमात पनि तिनीसँगै तरबार र लाठाहरू लिएर आयो।+ ४४ उहाँलाई धोका दिनेले तिनीहरूलाई एउटा यस्तो सङ्‌केत दिने सहमति पहिल्यै गरिसकेका थिए: “म जसलाई चुम्बन गर्छु, उहाँ नै तिमीहरूले खोजेको मानिस हुनुहुन्छ; तिमीहरूले उहाँलाई पक्रनू र होसियारीसाथ लैजानू।” ४५ अनि तिनी सोझै उहाँकहाँ गए र यसो भने: “हे रब्बी!” अनि उहाँलाई चुम्बन गरे। ४६ तब तिनीहरूले उहाँलाई पक्रेर हिरासतमा लिए। ४७ तर त्यहाँ उभिरहेको एक जनाले आफ्नो तरबार थुत्यो र प्रधानपुजारीको दासलाई प्रहार गरेर उसको कान च्वाट्टै काटिदियो।+ ४८ तब येसुले तिनीहरूलाई भन्‍नुभयो: “के तिमीहरू डाँकुलाई जस्तैगरि तरबार र लाठोहरू लिएर मलाई पक्रन आयौ?+ ४९ म दिनदिनै मन्दिरमा तिमीहरूकै बीचमा सिकाउँथेँ+ तैपनि तिमीहरूले मलाई हिरासतमा लिएनौ। तर धर्मशास्त्रमा बताइएको कुरा पूरा होस्‌ भनेर नै यो भएको हो।” +

५० तब तिनीहरू सबै उहाँलाई छोडेर भागे।+ ५१ तर जीउमा मलमलको कपडा मात्र ओढेको एक जना जवान मानिस भने उहाँभन्दा अलि परबाट उहाँको पछि लाग्न थाल्यो। अनि भीडले उसलाई पक्रन खोज्यो ५२ तर ऊ आफ्नो कपडा छोडेर नाङ्‌गै* भाग्यो।

५३ तब तिनीहरूले येसुलाई प्रधानपुजारीकहाँ लगे+ अनि सबै मुख्य पुजारीहरू, धर्मगुरुहरू र शास्त्रीहरू त्यहाँ भेला भए।+ ५४ तर पत्रुस भने टाढैबाट प्रधानपुजारीको चोकसम्म उहाँको पछिपछि लागे अनि घरका चाकरहरूसँगै बसेर दन्केको आगो ताप्न थाले।+ ५५ मुख्य पुजारीहरू र पूरै यहुदी न्यायपरिषद्‌ येसुलाई मार्न उहाँको विरुद्धमा गवाही दिने मानिस खोजिरहेका थिए तर तिनीहरूले कोही भेटेनन्‌।+ ५६ हुनत थुप्रैले उहाँको विरुद्धमा झूटा गवाही दिइरहेका थिए+ तर तिनीहरूले दिएको गवाही आपसमा बाझियो। ५७ साथै केही मानिसहरू खडा भएर यसो भन्दै उहाँको विरुद्धमा झूटो गवाही दिँदै थिए: ५८ “यसले यसो भनेको हामीले सुन्यौँ, ‘मानिसको हातले बनाएको यो मन्दिर म भत्काउनेछु अनि मानिसको हातले नबनाएको अर्को मन्दिर तीन दिनमा बनाउनेछु।’”+ ५९ तर यसमा पनि तिनीहरूको कुरा बाझियो।

६० तब प्रधानपुजारी तिनीहरूमाझ उठे अनि येसुलाई यस्तो प्रश्‍न सोधे: “के तँ केही जवाफ दिँदैनस्‌? यी मानिसहरूले तँलाई जे आरोप लगाउँदै छन्‌, त्यसबारे तँ के भन्छस्‌?”+ ६१ तर उहाँ चुप लागेर बस्नुभयो र केही जवाफ दिनुभएन।+ फेरि प्रधानपुजारीले उहाँलाई प्रश्‍न गर्न थाले: “के तँ परमपिताको छोरा ख्रिष्ट होस्‌?” ६२ तब येसुले भन्‍नुभयो: “म हुँ। अनि तपाईँहरूले मानिसको छोरालाई+ सर्वशक्‍तिमान्‌को दाहिनेपट्टि बसिरहेको+ र आकाशका बादलहरूसित आउँदै गरेको देख्नुहुनेछ।”+ ६३ यो सुनेर प्रधानपुजारीले आफ्नो लुगा च्याते र यसो भने: “अब हामीलाई अरू साक्षी किन चाहियो र?+ ६४ तिमीहरू आफैले ईश्‍वरनिन्दा सुनिहाल्यौ। तिमीहरूको निर्णय के छ?”* तिनीहरू सबैले उहाँलाई मारिन योग्य ठहराए।+ ६५ तब कसै-कसैले उहाँलाई थुक्न थाले+ र उहाँको अनुहार छोपेर उहाँलाई मुड्‌कीले हिर्काउँदै यसो भन्‍न थाले: “तँलाई हिर्काउने को हो, लौ भविष्यवाणी गर्‌!” त्यसपछि पहरेदारहरूले उहाँको गालामा चड्‌कन हानेर उहाँलाई लगे।+

६६ पत्रुस तल चोकमा भएको बेला प्रधानपुजारीको एउटी नोकर्नी आई+ ६७ र आगो तापिरहेको पत्रुसलाई देखेपछि सीधै तिनलाई हेरेर यसो भनी: “तपाईँ पनि त यस नासरी येसुसँगै हुनुहुन्थ्यो नि!” ६८ तर पत्रुसले नकार्दै यसो भने: “न म उहाँलाई चिन्छु न त तिमी जे भन्दै छ्यौ, त्यो बुझ्छु।” अनि तिनी निस्केर मूलढोकातिर गए। ६९ अनि त्यस नोकर्नीले तिनलाई देखेपछि सँगै उभिरहेकाहरूलाई फेरि भन्‍न थाली: “यो मानिस पनि तिनीहरूमध्येकै हो।” ७० तिनले फेरि नकार्न थाले। अलिक समयपछि, सँगै उभिरहेका मानिसहरूले पत्रुसलाई फेरि यसो भन्‍न थाले: “तिमी पक्कै पनि तिनीहरूमध्येकै हौ किनकि तिमी गालिली नै हौ।” ७१ तर आफूले झूट बोलेको हो भने आफूलाई सराप लागोस्‌ भनेर कसम खाँदै तिनले भने: “तिमीहरू जसको विषयमा कुरा गर्दै छौ, मैले त्यो मानिसलाई चिनेकै छैनँ!” ७२ त्यतिखेरै भाले दोस्रो चोटि बास्यो+ अनि येसुले भन्‍नुभएको यो कुरा पत्रुसले सम्झे: “भाले दुई चोटि बास्नुअघि तिमीले मलाई तीन पटक तिरस्कार गर्नेछौ।”+ अनि तिनी साह्रै दुःखी भए र धुरुधुरु रोए।

१५ अनि बिहान हुनेबित्तिकै मुख्य पुजारीहरू, धर्मगुरुहरू र शास्त्रीहरूले अर्थात्‌ पूरै यहुदी न्यायपरिषद्‌ले आपसमा सल्लाह गरे। त्यसपछि तिनीहरूले येसुलाई बाँधे अनि लगेर पिलातसको हातमा सुम्पे।+ २ पिलातसले उहाँलाई प्रश्‍न गरे: “के तिमी यहुदीहरूका राजा हौ?”+ उहाँले जवाफ दिनुभयो: “तपाईँ आफैले भन्‍नुभयो।”+ ३ तर मुख्य पुजारीहरूले उहाँलाई धेरै कुराको आरोप लगाउन थाले। ४ तब पिलातसले उहाँलाई फेरि सोध्न थाले: “के तिमी केही जवाफ दिँदैनौ?+ हेर, यिनीहरू तिम्रो विरुद्धमा कति धेरै आरोप लगाउँदै छन्‌।”+ ५ तर येसुले अरू केही जवाफ दिनुभएन। त्यसैले पिलातसले अचम्म माने।+

६ कुरा के थियो भने, तिनले हरेक वर्ष चाडको बेला भीडले चाहेको कुनै एक कैदीलाई मुक्‍त गर्ने गर्थे।+ ७ त्यतिबेला थुनामा केही राजद्रोहीहरू पनि थिए, जसले विद्रोहको बेला अरूको हत्या गरेका थिए। तीमध्ये बरब्बा नाम गरेको एक जना मानिस पनि थियो। ८ तब भीड पिलातसकहाँ आयो र पहिला-पहिला पिलातसले तिनीहरूका निम्ति जे गर्दै आएका थिए, अहिले पनि त्यही गर्नुपऱ्‍यो भनेर बिन्ती गर्न थाल्यो। ९ तिनले तिनीहरूलाई भने: “के तिमीहरू मैले यहुदीहरूका राजालाई मुक्‍त गरिदिएको चाहन्छौ?”+ १० किनकि ईर्ष्याले जलेर मुख्य पुजारीहरूले उहाँलाई सुम्पेका हुन्‌ भनेर तिनलाई थाह थियो।+ ११ तर मुख्य पुजारीहरूले उहाँको सट्टा बरब्बालाई मुक्‍त गरिदिने माग गर्न भीडलाई उक्साए।+ १२ तब पिलातसले तिनीहरूलाई फेरि सोधे: “त्यसोभए तिमीहरू जसलाई यहुदीहरूका राजा भन्छौ, उसलाई चाहिँ म के गरूँ?”+ १३ तिनीहरू फेरि कराए: “त्यसलाई खम्बामा टाँग्नुहोस्‌!”+ १४ तर पिलातसले तिनीहरूलाई भने: “किन? उसले के खराब काम गऱ्‍यो र?” तर तिनीहरू यसो भन्दै झन्‌ चिच्याए: “त्यसलाई खम्बामा टाँग्नुहोस्‌!”+ १५ तब भीडको चित्त बुझाउन पिलातसले बरब्बालाई मुक्‍त गरिदिए तर येसुलाई भने कोर्रा लगाउने आदेश दिए+ अनि खम्बामा टाँग्न तिनीहरूको हातमा सुम्पे।+

१६ तब सिपाहीहरूले उहाँलाई राज्यपालको निवासभित्र चोकमा लगे र तिनीहरूले सेनाको पूरै टुकडीलाई त्यहाँ बोलाए।+ १७ अनि तिनीहरूले उहाँलाई बैजनी रङ्‌गको लुगा लगाइदिए र काँडाको मुकुट उनेर पहिराइदिए। १८ अनि तिनीहरूले चिच्याउँदै यसो भन्‍न थाले: “हे यहुदीहरूका राजा, प्रणाम!”*+ १९ साथै तिनीहरूले उहाँलाई नर्कटले शिरमा हिर्काए, उहाँलाई थुके अनि घुँडा टेकेर दण्डवत्‌ गरे। २० अनि गिज्याउनुसम्म गिज्याएपछि अन्तमा तिनीहरूले उहाँको बैजनी रङ्‌गको लुगा फुकालेर उहाँकै लुगा लगाइदिए अनि उहाँलाई खम्बामा टाँग्न लगे।+ २१ त्यतिखेर सिमोन नाम गरेका साइरेनीवासी गाउँबाट आउँदै थिए। तिनी अलेक्जेन्डर र रुफसका बुबा थिए। तिनीहरूले उसलाई उहाँको यातनाको खम्बा* बोक्ने आदेश दिए।*+

२२ अनि तिनीहरूले उहाँलाई गलगथा भन्‍ने ठाउँमा पुऱ्‍याए, जसको अनुवाद गर्दा अर्थ हुन्छ, “खप्पर स्थान।”+ २३ यहाँ तिनीहरूले उहाँलाई नशालु पदार्थ मर्र* मिसाइएको दाखमद्य* दिन खोजे+ तर उहाँले पिउन मान्‍नुभएन। २४ तिनीहरूले उहाँलाई खम्बामा टाँगे अनि कसले के लिने भनी गोला हालेर उहाँको लुगा आपसमा बाँडे।+ २५ त्यसबेला तेस्रो घडी* भएको थियो अनि तिनीहरूले उहाँलाई खम्बामा टाँगे। २६ अनि एउटा पाटीमा यस्तो अभियोग लेखेर उहाँको शिरमास्तिर राखे: “यहुदीहरूका राजा।”+ २७ साथै तिनीहरूले दुई जना डाँकुलाई पनि उहाँसँगै खम्बामा टाँगे—एक जनालाई उहाँको दाहिनेपट्टि र अर्कोलाई देब्रेपट्टि।+ २८ *— २९ त्यो बाटो भएर गइरहेका बटुवाहरूले आफ्नो मुन्टो हल्लाएर खिसी गर्दै+ यसो भने: “वाह! मन्दिर भत्काएर तीन दिनमा बनाउँछु भनेर तँ खुब फुइँ लगाउँथिस्‌ हैन,+ ३० लौ यातनाको खम्बाबाट* ओर्लेर आइज र आफैलाई बचाएर देखा।” ३१ त्यसैगरि मुख्य पुजारीहरूका साथै शास्त्रीहरूले पनि यसो भन्दै आपसमा ठट्टा गरिरहेका थिए: “यसले अरूलाई त बचायो तर आफैलाई भने बचाउन सकेन!+ ३२ अब इस्राएलको राजा ख्रिष्ट यातनाको खम्बाबाट* ओर्लेर आओस्‌ अनि त्यो देखेपछि हामी पत्याऔँला।”+ उहाँको छेउमा खम्बामा टाँगिएकाहरूले समेत उहाँलाई गिल्ला गरिरहेका थिए।+

३३ छैटौँ घडीमा* सारा देशभरि अन्धकार छायो र नवौँ घडीसम्म* त्यस्तै भइरह्‍यो।+ ३४ अनि नवौँ घडीमा येसु यसो भन्दै ठूलो स्वरले कराउनुभयो: “एली, एली, लामा सबख्थनी?” जसको अनुवाद गर्दा अर्थ हुन्छ, “हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईँले मलाई किन त्याग्नुभयो?”+ ३५ वरपर उभिरहेका कसै-कसैले यो सुनेर यसो भन्‍न थाले: “हेर, उसले एलियालाई बोलाउँदै छ।” ३६ तब कोही एक जना दौडेर गयो अनि अमिलो दाखमद्यमा स्पन्ज चोपेर त्यसलाई नर्कटमा राख्यो र यसो भन्दै उहाँलाई पिउन दियो:+ “एलिया यसलाई तल झार्न आउँछन्‌ कि आउँदैनन्‌, हेरौँ न।” ३७ तर येसु ठूलो स्वरले चिच्याउनुभयो र बित्नुभयो।+ ३८ तब मन्दिरको पर्दा+ टुप्पोदेखि फेदसम्म च्यातिएर दुई फ्याक भयो।+ ३९ जब उहाँको अगाडि उभिरहेका सैनिक अफिसरले उहाँ बित्नुहुँदा यस्ता घटनाहरू भएको देखे, तब तिनले यसो भने: “यिनी साँच्चै परमेश्‍वरका छोरा रहेछन्‌।”+

४० त्यहाँ केही स्त्री टाढैबाट हेरिरहेका थिए। तिनीहरूमा मरियम मग्दलिनी, सानो याकुब र योसिकी आमा मरियम अनि सलोमी पनि थिए।+ ४१ उहाँ गालिलमा हुँदा तिनीहरू उहाँसँगै हिँड्‌थे र उहाँको सेवा-सुसार गर्थे।+ यसबाहेक उहाँसँगै यरुसलेम उक्लेका अरू थुप्रै स्त्री पनि त्यहीँ थिए।

४२ साँझ पर्नै लागिसकेको थियो र त्यो दिन विश्रामदिनको* अघिल्लो दिन अर्थात्‌ तयारीको दिन* थियो। ४३ न्यायपरिषद्‌का प्रतिष्ठित सदस्य, अरिमथियाका युसुफ, जो आफै पनि परमेश्‍वरको राज्यको बाटो हेरिरहेका थिए, तिनी त्यहाँ आए। तिनी साहस गरेर पिलातसकहाँ गए अनि येसुको शव मागे।+ ४४ तर येसुको मृत्यु भइसकेको छ कि छैन भनेर जान्‍न पिलातस उत्सुक थिए। त्यसैले तिनले सैनिक अफिसरलाई बोलाएर उहाँको मृत्यु भइसकेको छ कि छैन भनेर सोधे। ४५ सैनिक अफिसरसित यो कुरा पक्का गरिसकेपछि तिनले उहाँको शव युसुफलाई जिम्मा लगाए। ४६ त्यसैले तिनले उच्च कोटिको मलमलको कपडा किने र उहाँको शव तल झारेर त्यस मलमलको कपडाले बेरे अनि चट्टान खोपेर बनाइएको चिहानमा राखे।+ त्यसपछि ढुङ्‌गा गुडाएर चिहानको मुख बन्द गरे।+ ४७ तर मरियम मग्दलिनी र योसिकी आमा मरियमले भने उहाँलाई राखिएको ठाउँतिर हेरिरहे।+

१६ तब विश्रामदिन* सकिएपछि+ मरियम मग्दलिनी, याकुबकी आमा मरियम+ र सलोमीले उहाँको शवमा दल्न सुगन्धित मसलाहरू किने।+ २ अनि हप्ताको पहिलो दिन बिहान सबेरै घाम झुल्केपछि तिनीहरू उहाँको चिहानमा पुगे।+ ३ तिनीहरू आपसमा यस्तो कुरा गर्दै थिए: “हाम्रो निम्ति कसले चिहानको मुखको ढुङ्‌गा गुडाइदिने होला?” ४ तर तिनीहरूले चिहानको मुखतिर हेर्दा त्यो बडेमानको ढुङ्‌गालाई कसैले गुडाइसकेको देखे।+ ५ अनि जब तिनीहरू चिहानभित्र छिरे, तब तिनीहरूले सेतो लुगा लगाएको एक जना जवान मानिसलाई दाहिनेतिर बसिरहेको देखे र तिनीहरू छक्क परे। ६ तब उनले तिनीहरूलाई यसो भने: “तिमीहरू छक्क नपर।+ तिमीहरू खम्बामा टाँगिनुभएका नासरी येसुलाई खोज्दै छौ भनी मलाई थाह छ। तर उहाँ यहाँ हुनुहुन्‍न, उहाँ ब्युँतिसक्नुभयो।+ उहाँलाई राखिएको ठाउँ हेर त!+ ७ अब जाओ, उहाँका चेलाहरूलाई अनि पत्रुसलाई यो कुरा भनिदेओ: ‘उहाँ तिमीहरूभन्दा अघि गालिल जाँदै हुनुहुन्छ+ र उहाँले भन्‍नुभएझैँ तिमीहरूले उहाँलाई त्यहीँ देख्नेछौ।’”+ ८ चिहानबाट निस्केपछि तिनीहरू त्यहाँबाट भागे। तिनीहरू निकै आश्‍चर्यचकित हुनुका साथै डरले थरथर काँपिरहेका थिए। त्यसैले तिनीहरूले कसैलाई केही बताएनन्‌।* +

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “उनीहरूलाई डुबाउँथे।”

यो वास्तवमा ताल हो। बाइबलमा यसलाई गनेसरेत ताल र टाइबेरियस समुद्र पनि भनिएको छ।

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “दुष्ट स्वर्गदूतले।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।

प्राचीन समयमा यो उक्‍ति प्रयोग गरेर प्रश्‍न सोध्ने गरिन्थ्यो। तर हेपेर वा अहङ्‌कार गरेर बोल्न नभई कसैले भनेको कुरा, दिएको सुझाव वा व्यक्‍त गरेको शङ्‌कामा आपत्ति जनाउन चलाइन्थ्यो।

वा सम्भवतः “उहाँ को हुनुहुन्छ भनी तिनीहरूलाई थाह थियो।”

शब्दावली हेर्नुहोस्‌।

वा “चिकित्सक।”

अङ्‌गुरबाट बनेको रक्सी।

जनावरको छालाबाट बनेको थैलो।

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

वा “भेटीका रोटीहरू।” शब्दावली “भेटीको रोटी” हेर्नुहोस्‌।

वा “पक्षाघात भएको।”

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

वा “दुष्ट स्वर्गदूतले।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।

वा “नियुक्‍त गरेर।”

शब्दावली हेर्नुहोस्‌।

वा “नियुक्‍त गर्नुभएको।”

शा., “कनानानी।”

यो सैतानलाई दिइएको नाम हो।

वा “यस युगमा।” शब्दावलीमा “युग” हेर्नुहोस्‌।

वा “पाथीले।”

वा “दुष्ट स्वर्गदूतको।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।

प्राचीन समयमा यो उक्‍ति प्रयोग गरेर प्रश्‍न सोध्ने गरिन्थ्यो। तर हेपेर वा अहङ्‌कार गरेर बोल्न नभई कसैले भनेको कुरा, दिएको सुझाव वा व्यक्‍त गरेको शङ्‌कामा आपत्ति जनाउन चलाइन्थ्यो।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “दस वटा सहरको इलाकामा।”

वा “मर्नै लागेकी छे।”

वा “चिकित्सकबाट।”

वा “नडराऊ।”

वा “कडा।”

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

वा “दुष्ट स्वर्गदूतहरूलाई।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।

शा., “तामा।”

पैतालाको धुलो टकटक्याउनुले आफू जिम्मेवारीबाट मुक्‍त भएको कुरालाई सङ्‌केत गर्छ।

अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

बिहान ३ बजेतिरदेखि ६ बजेतिरसम्म।

वा “उहाँले तिनीहरूलाई उछिन्‍नै लाग्नुभयो।”

अर्थात्‌, परम्पराअनुसार शुद्ध नभई।

अतिरिक्‍त लेख क३ हेर्नुहोस्‌।

ग्रीक भाषामा पोर्निया। शब्दावलीमा “अवैध यौनसम्बन्ध” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “छाडा आचरण।” ग्रीक भाषामा असेल्गिया। शब्दावलीमा “निर्लज्ज आचरण” हेर्नुहोस्‌।

वा “दुष्ट स्वर्गदूतले।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।

वा “दस वटा सहरको इलाका।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावलीमा “नेफेश; साइखी” हेर्नुहोस्‌।

शब्दावलीमा “नेफेश; साइखी” हेर्नुहोस्‌।

शब्दावलीमा “नेफेश; साइखी” हेर्नुहोस्‌।

शब्दावलीमा “नेफेश; साइखी” हेर्नुहोस्‌।

वा सम्भवतः “तिनीहरूले यो कुरा कसैलाई बताएनन्‌।”

वा “दुष्ट स्वर्गदूतले।” शब्दावलीमा “प्रेत” हेर्नुहोस्‌।

वा “त्यस केटोलाई गुँगो र बहिरो बनाउने प्रेत।”

वा “त्यसलाई त गधाले घुमाउने जाँतो।”

शब्दावली हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क३ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क३ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शा., “जसलाई परमेश्‍वरले एउटै जुवामा नार्नुभएको छ।”

शब्दावली हेर्नुहोस्‌।

वा सम्भवतः “एकअर्कालाई सोधे।”

शब्दावली हेर्नुहोस्‌।

शा., “रब्बोनी।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क३ हेर्नुहोस्‌।

शा., “स्वर्गबाट।”

वा “केही फल लिन।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

शब्दावलीमा “नेफेश; साइखी” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

वा “सबैभन्दा राम्रो आसनमा।”

वा “सम्पत्ति।”

शा., “दुई लेप्टा, जुन एक क्वाड्रनबराबर हुन्छ।” दुई लेप्टाबराबर एक दिनको ज्यालाको १/६४ भाग हुन्छ। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

वा “ऊ त गरिब।”

अतिरिक्‍त लेख क५ हेर्नुहोस्‌।

शा., “चारै बतासबाट।”

शा., “घण्टाको।”

वा “मिरमिरे उज्यालो हुनुअघि।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

वा “तिनीहरूले त्यस स्त्रीसित रिसाउँदै कुरा गरे; गाली गरे।”

अङ्‌गुरबाट बनेको रक्सी।

यो हिब्रू वा अरामी शब्द हुन सक्छ, जसको अर्थ हो, “हे बुबा!”

वा “इच्छुक।”

वा “भित्री लुगा मात्र लगाएर।”

वा “तिमीहरूको के विचार छ?”

वा “तपाईँको जय होस्‌!”

शब्दावली हेर्नुहोस्‌।

वा “यातनाको खम्बा बोक्ने अनिवार्य सेवामा लगाए।”

शब्दावली हेर्नुहोस्‌।

अङ्‌गुरबाट बनेको रक्सी।

बिहान ९ बजेतिर।

अतिरिक्‍त लेख क३ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

मध्यान्ह १२ बजेतिर।

दिउँसो ३ बजेतिरसम्म।

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

सुरुसुरुका भरपर्दा पाण्डुलिपिहरूअनुसार मर्कुसको सुसमाचार पद ८ मा नै टुङ्‌गिन्छ। अतिरिक्‍त लेख क३ हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने