प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt दानिएल १:१-१२:१३
  • दानिएल

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • दानिएल
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
पवित्र बाइबल नयाँ संसार अनुवाद
दानिएल

दानिएल

१ यहुदाका राजा यहोयाकिमको+ शासनको तेस्रो वर्षमा बेबिलोनका राजा नबुकद्‌नेजर यरुसलेम आए अनि त्यस सहरलाई घेरा हाले।+ २ साँचो परमेश्‍वर यहोवाले तिनको हातमा यहुदाका राजा यहोयाकिमलाई सुम्पिदिनुभयो+ अनि मन्दिरका केही भाँडाकुँडा पनि लैजान दिनुभयो। अनि तिनले ती सबै भाँडाकुँडा सिनार+ देशमा* आफ्नो देवताको मन्दिरमा ल्याए र भण्डारमा राखे।+

३ तब राजाले केही इस्राएलीहरूलाई आफूसामु हाजिर गराउनू भनी दरबारका प्रमुख अफिसर अस्पनजलाई हुकुम गरे। त्यस समूहमा शाही घरानाका र कुलीन घरानाका इस्राएलीहरू पनि हुनुपर्थ्यो।+ ४ तिनीहरू कुनै खोट नभएका, हेर्नमा राम्रा अनि बुद्धि, ज्ञान र समझशक्‍तिले+ भरिपूर्ण अनि राजाको दरबारमा काम गर्न योग्य युवकहरू हुनुपर्थ्यो। अस्पनजले तिनीहरूलाई कल्दियालीहरूको भाषा र साहित्य सिकाउनुपर्थ्यो। ५ साथै राजाले आफूले खाने गरेको स्वादिष्ठ भोजन र पिउने गरेको मद्यबाट तिनीहरूलाई पनि दिन हुकुम गरे। तिनीहरूलाई तीन वर्षसम्म तालिम दिइने थियो* अनि तिनीहरू राजाको सेवामा हाजिर हुनुपर्ने थियो।

६ ती युवकहरूमध्ये कोही-कोही यहुदा कुलका थिए। तिनीहरूको नाम दानिएल,*+ हानन्याह,* मिसाएल* र अजर्याह*+ थियो। ७ दरबारका प्रमुख अफिसरले तिनीहरू प्रत्येकलाई एउटा नाम* दिए। तिनले दानिएललाई बेल्तसजर,+ हानन्याहलाई सद्रक, मिसाएललाई मेसक अनि अजर्याहलाई अबेद्‌नेगो+ नाम दिए।

८ तर दानिएलले राजाको स्वादिष्ठ भोजन र मद्यद्वारा आफूलाई अशुद्ध नपार्ने अठोट गरे। तिनले यसरी आफू अशुद्ध हुन नपरोस्‌ भनी दरबारका प्रमुख अफिसरसित बिन्ती गरे। ९ साँचो परमेश्‍वरले दानिएललाई आशिष्‌ दिनुभएकोले दरबारका प्रमुख अफिसरले तिनीमाथि दया र कृपा देखाए।+ १० तब दरबारका प्रमुख अफिसरले दानिएललाई भने: “मलाई मेरा मालिक, मेरा राजासित डर लाग्छ किनकि उहाँले नै तिमीहरूको लागि खाने र पिउने प्रबन्ध मिलाउनुभएको हो। राजाको नजरमा तिमीहरू आफ्नै उमेरका अरू युवकजस्तो हृष्टपुष्ट देखिएनौ भने नि? तिमीहरूले गर्दा म राजासामु दोषी ठहरिनेछु।” ११ तब दानिएल, हानन्याह, मिसाएल र अजर्याहको हेरविचार गर्न अस्पनजले खटाएका अधिकारीलाई दानिएलले यसो भने: १२ “बिन्ती छ, तपाईँका दासहरूलाई १० दिन जाँचेर हेर्नुहोस्‌। हामीलाई केवल केही सागपात र पानी दिनुहोस्‌। १३ त्यसपछि हामीलाई राजाको भोजन खाने युवकहरूसित तुलना गरेर हेर्नुहोस्‌ अनि त्यसैअनुसार आफ्ना दासहरूसित व्यवहार गर्नुहोस्‌।”

१४ तिनले तिनीहरूको कुरा माने र १० दिनसम्म तिनीहरूलाई जाँचे। १५ अनि १० दिनपछि तिनीहरू राजाको स्वादिष्ठ भोजन खाने युवकहरूको तुलनामा स्वस्थ र हृष्टपुष्ट देखिए। १६ त्यसैले हेरविचार गर्ने ती व्यक्‍तिले तिनीहरूलाई स्वादिष्ठ भोजन र मद्यको साटो सागपात दिन थाले। १७ अनि साँचो परमेश्‍वरले यी चार जना युवकलाई हरेक किसिमको साहित्य र बुद्धिको कुरा बुझ्ने ज्ञान र समझ* दिनुभयो। उहाँले दानिएललाई हरेक किसिमको दर्शन* र सपना बुझ्ने समझ दिनुभयो।+

१८ राजाले हाजिर गराउनू भनी तोकेको समय आएपछि+ दरबारका प्रमुख अफिसरले ती युवकहरूलाई नबुकद्‌नेजरसामु हाजिर गराए। १९ राजाले तिनीहरूसित कुरा गर्दा त्यस समूहमा दानिएल, हानन्याह, मिसाएल र अजर्याहको+ बराबरीमा आउन सक्ने कोही पनि तिनले पाएनन्‌। अनि तिनीहरूले राजाको सेवा गरिरहे। २० राजाले तिनीहरूलाई बुद्धि र समझ चाहिने जुनसुकै कुरा सोध्दा पनि तिनीहरू राज्यका सबै जादुगर अनि तन्त्रमन्त्र गर्नेहरूभन्दा+ १० गुणा राम्रो भएको राजाले पाए। २१ यसरी राजा कोरेसको शासनको पहिलो वर्षसम्म दानिएल त्यहीँ रहे।+

२ राजा नबुकद्‌नेजरले आफ्नो शासनको दोस्रो वर्षमा सपनाहरू देखे। ती सपनाहरूले गर्दा तिनलाई साह्रै छटपटी भयो+ र तिनी निदाउनै सकेनन्‌। २ त्यसैले आफूले देखेका सपनाहरू बताइदेऊन्‌ भनेर राजाले जादुगरहरू, तन्त्रमन्त्र गर्नेहरू, तान्त्रिकहरू र कल्दियालीहरूलाई* हाजिर गराउन हुकुम दिए। अनि तिनीहरू सबै राजासामु हाजिर भए।+ ३ तब राजाले तिनीहरूलाई भने: “मैले एउटा सपना देखेँ। त्यो सपना के थियो भनेर जान्‍न मलाई छटपटी भइरहेको छ।” ४ कल्दियालीहरूले राजालाई अरामी भाषामा*+ यस्तो जवाफ दिए: “महाराज अमर रहून्‌! हजुरले देख्नुभएको सपना आफ्ना दासहरूलाई बताउनुहोस्‌ र हामी हजुरलाई त्यसको अर्थ बताउनेछौँ।”

५ अनि राजाले कल्दियालीहरूलाई भने: “यो मेरो अन्तिम फैसला हो: तिमीहरूले मलाई मेरो सपना र त्यसको अर्थ बताएनौ भने तिमीहरूलाई टुक्राटुक्रा पारिनेछ र तिमीहरूको घर दिसा-पिसाब गर्ने ठाउँ* हुनेछ। ६ तर तिमीहरूले मलाई सपना र त्यसको अर्थ बतायौ भने तिमीहरूले मबाट उपहार, इनाम र मानसम्मान पाउनेछौ।+ त्यसैले मलाई सपना र त्यसको अर्थ बताओ।”

७ तिनीहरूले राजालाई फेरि यस्तो जवाफ दिए: “हजुरले देख्नुभएको सपना आफ्ना दासहरूलाई बताउनुहोस्‌ र हामी हजुरलाई त्यसको अर्थ बताउनेछौँ।”

८ अनि राजाले यस्तो जवाफ दिए: “मलाई राम्ररी थाह छ, यो मेरो अन्तिम फैसला हो भन्‍ने थाह पाएर तिमीहरू आलेटाले गरिरहेका छौ। ९ मैले देखेको सपना तिमीहरूले बताएनौ भने तिमीहरू सबैले एउटै सजाय पाउनेछौ। तर मैले आफ्नो मन बदल्छु भन्ठान्दै तिमीहरू झूटो र छली कुरा गरेर मलाई अलमल्याउन खोज्दै छौ। पहिला मलाई मेरो सपना बताओ अनि तिमीहरूले त्यसको अर्थ बताउन सक्छौ भनेर मलाई थाह हुनेछ।”

१० कल्दियालीहरूले राजालाई यस्तो जवाफ दिए: “राजाको माग पूरा गर्न सक्ने मानिस यस संसारमा कोही छैन। किनकि आजसम्म कुनै पनि महान्‌ राजा वा शासकले जादुगरहरू, तन्त्रमन्त्र गर्नेहरू वा कल्दियालीहरूसित यस्तो किसिमको माग गर्नुभएको छैन। ११ राजाले माग गर्नुभएको कुरा गाह्रो छ। देवताहरूबाहेक अरू कसैले पनि हजुरलाई यो कुरा बताउन सक्दैन। तर यहाँ हामीमाझ कुनै पनि देवता छैनन्‌।”

१२ यो सुनेर राजा रिसले आगो हुँदै उठे अनि बेबिलोनमा भएका सबै बुद्धिमान्‌ मानिसलाई नाश गर्ने हुकुम गरे।+ १३ जब राजाको हुकुम जारी भयो, तब सबै बुद्धिमान्‌ मानिसलाई मार्ने तयारी गरियो। अनि दानिएल र तिनका साथीहरूलाई पनि मार्न भनी तिनीहरूको खोजी गरियो।

१४ तब दानिएलले राजाका अङ्‌गरक्षकका कप्तान अरयोकसित सुझबुझ चलाउँदै र बडो होसियार हुँदै कुरा गरे। अरयोक बेबिलोनका बुद्धिमान्‌ मानिसहरूलाई मार्न निस्केका थिए। १५ दानिएलले कप्तान अरयोकलाई यसो भनेर सोधे: “राजाले किन यत्ति कठोर आदेश दिनुभएको रहेछ?” अनि अरयोकले दानिएललाई सबै कुरा बताए।+ १६ तब दानिएल राजाकहाँ गए र राजाले देखेको सपनाको अर्थ बताउन केही समय पाऊँ भनी बिन्ती गरे।

१७ त्यसपछि दानिएल आफ्नो घर फर्के र आफ्ना साथीहरू हानन्याह, मिसाएल र अजर्याहलाई सबै कुरा बताए। १८ बेबिलोनका बुद्धिमान्‌ मानिसहरूसँगै आफू र आफ्ना साथीहरू मारिनु नपरोस्‌ भनेर यस रहस्यको अर्थ खोलिदिएर कृपा देखाउन स्वर्गका परमेश्‍वरलाई बिन्ती गर्नू भनी दानिएलले आफ्ना साथीहरूलाई अनुरोध गरे।

१९ तब परमेश्‍वरले राती दर्शनमा* दानिएललाई सपनाको रहस्य खोलिदिनुभयो।+ अनि तिनले स्वर्गका परमेश्‍वरको प्रशंसा गरे। २० तिनले यसो भने:

“परमेश्‍वरको नामको सदा* प्रशंसा होस्‌

किनकि बुद्धि र पराक्रम उहाँकै हुन्‌।+

२१ समय र ऋतु परिवर्तन गर्ने उहाँ नै हुनुहुन्छ,+

उहाँले नै राजाहरूलाई हटाउनुहुन्छ अनि खडा गर्नुहुन्छ,+

बुद्धिमान्‌लाई बुद्धि दिने र समझदारलाई ज्ञान दिने उहाँ नै हुनुहुन्छ।+

२२ उहाँले गहिरा-गहिरा कुराहरू अनि गुप्त कुराहरू प्रकट गर्नुहुन्छ,+

अन्धकारमा लुकेको कुरा उहाँ जान्‍नुहुन्छ+

अनि ज्योतिले उहाँमा बास गर्छ।+

२३ हे मेरा पुर्खाहरूका परमेश्‍वर! म तपाईँलाई धन्यवाद चढाउँछु, तपाईँको प्रशंसा गर्छु

किनकि तपाईँले मलाई बुद्धि र शक्‍ति दिनुभएको छ।

अनि हामीले तपाईँसित मागेको कुरा अहिले मलाई प्रकट गरिदिनुभएको छ;

राजाले जान्‍न चाहेको कुरा तपाईँले हामीलाई बताइदिनुभएको छ।”+

२४ त्यसपछि दानिएल अरयोककहाँ गए, जसलाई राजाले बेबिलोनका सबै बुद्धिमान्‌ मानिसलाई नाश गर्न नियुक्‍त गरेका थिए।+ दानिएलले तिनलाई भने: “बेबिलोनको कुनै पनि बुद्धिमान्‌ मानिसलाई नाश नगर्नुहोस्‌। मलाई राजाकहाँ लिएर जानुहोस्‌ र म उहाँलाई सपनाको अर्थ बताउनेछु।”

२५ अरयोकले दानिएललाई तुरुन्तै राजाकहाँ लिएर गए र राजालाई यसो भने: “यहुदाबाट कैद गरेर ल्याइएका मानिसहरूमध्ये मैले एक जना यस्तो मानिस फेला पारेँ,+ जसले राजाले देख्नुभएको सपनाको अर्थ बताउन सक्छ।” २६ तब राजाले दानिएल, जसलाई बेल्तसजर+ नाम दिइएको थियो, तिनलाई यसो भने: “मैले देखेको सपना र त्यसको अर्थ तिमी मलाई साँच्चै बताउन सक्छौ?”+ २७ दानिएलले राजालाई यस्तो जवाफ दिए: “राजाले जान्‍न खोज्नुभएको रहस्य कुनै पनि बुद्धिमान्‌ मानिस, तन्त्रमन्त्र गर्ने मानिस, जादुगर वा ज्योतिषीले बताउन सक्दैन।+ २८ तर स्वर्गमा एक जना परमेश्‍वर हुनुहुन्छ, जो रहस्य खोल्नुहुने परमेश्‍वर हुनुहुन्छ।+ उहाँले अन्तको दिनमा के हुनेछ भनेर राजा नबुकद्‌नेजरलाई प्रकट गर्नुभएको छ। ओछ्यानमा ढल्किरहँदा हजुरले देख्नुभएको सपना र हजुरले देख्नुभएका दर्शनहरू यी नै हुन्‌:

२९ “हे महाराज, ओछ्यानमा ढल्किरहेको बेला हजुरले भविष्यमा के हुने हो भनी सोच्न थाल्नुभयो। अनि रहस्य खोल्नुहुने परमेश्‍वरले भविष्यमा हुने कुरा हजुरलाई प्रकट गर्नुभयो। ३० तर म संसारको सबैभन्दा बुद्धिमान्‌ मानिस भएकोले मलाई यो रहस्य प्रकट गरिएको होइन बरु राजाले सपनाको अर्थ बुझून्‌ अनि आफ्नो मनको कुरा राजालाई थाह होस्‌ भनेर यो प्रकट गरिएको हो।+

३१ “हे महाराज, हजुरले सपनामा एउटा अत्यन्तै विशाल मूर्ति देख्नुभयो। हजुरको अगाडि खडा भएको त्यो मूर्ति विशाल र एकदमै चहकिलो थियो। त्यसको रूप भयङ्‌कर थियो। ३२ त्यस मूर्तिको टाउको निखुर सुनको थियो,+ त्यसको छाती र हात चाँदीको थियो+ अनि त्यसको पेट र तिघ्रा तामाको थियो।+ ३३ त्यसका गोडाहरू फलामका थिए+ र त्यसका पाउहरू भने केही भाग फलाम र केही भाग माटोले* बनेका थिए।+ ३४ हजुरले त्यसलाई हेरिरहनुभएको बेला एउटा ढुङ्‌गा काटियो तर कसैको हातले होइन। त्यो ढुङ्‌गा फलाम र माटो मिसिएर बनेको त्यस मूर्तिका पाउहरूमा बजारियो र त्यसलाई धुलोपिठो पारिदियो।+ ३५ तब फलाम, माटो, तामा, चाँदी र सुन सबै धुलोपिठो भयो र सुक्खा मौसममा खलाको भुस उडाएझैँ हावाले ती सबै उडाएर लग्यो र त्यस मूर्तिको नामोनिसान मेटियो। तर त्यसमा बजारिएको ढुङ्‌गाचाहिँ बढ्‌दै गएर एउटा ठूलो पहाड बन्यो र त्यसले पूरै पृथ्वीलाई ढाक्यो।

३६ “हजुरले देख्नुभएको सपना यही हो। अब हामी हजुरलाई यसको अर्थ बताउनेछौँ। ३७ हे महाराज, राजाहरूका पनि राजा! जसलाई स्वर्गका परमेश्‍वरले राज्य,+ पराक्रम, शक्‍ति र महिमा दिनुभएको छ; ३८ जसको हातमा उहाँले पृथ्वीभरिका मानिसहरू, जमिनका पशुहरू र आकाशका चराचुरुङ्‌गीहरू सुम्पिनुभएको छ अनि जसलाई ती सबैमाथि शासक नियुक्‍त गर्नुभएको छ,+ हजुर नै त्यो सुनको टाउको हुनुहुन्छ।+

३९ “तर हजुरपछि अर्को राज्य खडा हुनेछ,+ जुन हजुरको भन्दा कमजोर हुनेछ। त्यसपछि अर्को एउटा राज्य खडा हुनेछ, जुन तामाको हुनेछ र त्यसले सारा पृथ्वीभरि शासन गर्नेछ।+

४० “त्यसपछि चौथो राज्यचाहिँ फलामजस्तै बलियो हुनेछ।+ जसरी फलामले सबै कुरालाई चकनाचुर पारेर नष्ट गरिदिन्छ, त्यसरी नै त्यस राज्यले पनि पहिलेका ती सबै राज्यलाई चकनाचुर पारिदिनेछ, हो, धुलोपिठो पारिदिनेछ।+

४१ “अनि जसरी त्यस मूर्तिका खुट्टाहरू र औँलाहरू केही भाग कुमालेको माटो र केही भाग फलाम मिसिएर बनेको हजुरले देख्नुभयो, त्यसरी नै त्यो राज्य पनि विभाजित हुनेछ। तर त्यो केही मात्रामा फलामजस्तो कडा हुनेछ किनभने हजुरले देख्नुभएझैँ त्यो फलाम र गिलो माटो मिसिएर बनेको थियो। ४२ अनि जसरी खुट्टाका औँलाहरू केही भाग फलाम र केही भाग माटो मिसिएर बनेका थिए, त्यसरी नै त्यो राज्य पनि कुनै पक्षमा बलियो र कुनै पक्षमा कमजोर हुनेछ। ४३ जसरी फलाम गिलो माटोसित मिसिएको हजुरले देख्नुभयो, त्यसरी नै यस राज्यको केही भाग मानिसहरूसित* मिल्नेछ। तर जसरी फलाम र माटो आपसमा टाँसिँदैन, त्यसरी नै यिनीहरू पनि आपसमा टाँसिँनेछैनन्‌।

४४ “ती राजाहरूको समयमा स्वर्गका परमेश्‍वरले एउटा राज्य खडा गर्नुहुनेछ,+ जुन कहिल्यै नाश हुनेछैन।+ अनि त्यो राज्य अरू कसैको* हातमा दिइनेछैन।+ त्यसले यी सबै राज्यलाई चकनाचुर पारिदिनेछ र तिनीहरूको नामोनिसान मेटिदिनेछ।+ अनि यो राज्यले चाहिँ सदासर्वदा शासन गर्नेछ।+ ४५ हजुरले सपनामा देख्नुभएअनुसारै यो हुनेछ। हजुरले पहाडबाट कसैको हातले नकाटीकनै एउटा ढुङ्‌गा आएको देख्नुभएको थियो। अनि त्यस ढुङ्‌गाले फलाम, तामा, माटो, चाँदी र सुनलाई धुलोपिठो पारेको थियो।+ भविष्यमा हुने कुरा महान्‌ परमेश्‍वरले हजुरलाई प्रकट गर्नुभएको छ।+ यो सपना सत्य हो र यसको अर्थ पनि भरपर्दो छ।”

४६ तब राजा नबुकद्‌नेजरले भुईँसम्मै घोप्टो परेर दानिएललाई दण्डवत्‌ गरे र तिनको सम्मान गरे। अनि राजाले तिनलाई उपहार दिन र तिनको अगाडि धूप बाल्न हुकुम दिए। ४७ अनि राजाले दानिएललाई भने: “साँच्चै, तिम्रा परमेश्‍वर ईश्‍वरहरूको पनि ईश्‍वर, राजाहरूको पनि प्रभु र रहस्य खोल्नुहुने परमेश्‍वर हुनुहुँदो रहेछ। त्यसैले तिमीले यो रहस्य खोल्न सक्यौ।”+ ४८ तब राजाले दानिएलको पदोन्‍नति गराए र तिनलाई थुप्रै उपहार दिए। राजाले तिनलाई बेबिलोनका सबै प्रान्तको शासक नियुक्‍त गरे+ र त्यहाँका सबै बुद्धिमान्‌ मानिसका प्रमुख अधिकृत बनाए। ४९ अनि दानिएलको अनुरोधमा राजाले सद्रक, मेसक र अबेद्‌नेगोलाई+ बेबिलोनको प्रान्तको प्रशासक नियुक्‍त गरे। दानिएलले चाहिँ राजाको दरबारमै रहेर सेवा गरे।

३ राजा नबुकद्‌नेजरले एउटा सुनको मूर्ति बनाए, जसको उचाइ ६० हात* र चौडाइ ६ हात* थियो। तिनले त्यो मूर्ति बेबिलोनको प्रान्तको दुराको मैदानमा स्थापना गरे। २ तब राजा नबुकद्‌नेजरले बडाहाकिम, प्रमुख अधिकृत, राज्यपाल, सल्लाहकार, खजान्ची, न्यायकर्ता, नगर अधिकारी अनि प्रान्तहरूका सबै प्रशासकलाई आफूले स्थापना गरेको त्यस मूर्तिको उद्‌घाटन समारोहमा भेला हुन आदेश दिए।

३ त्यसैले बडाहाकिम, प्रमुख अधिकृत, राज्यपाल, सल्लाहकार, खजान्ची, न्यायकर्ता, नगर अधिकारी अनि प्रान्तहरूका सबै प्रशासक राजा नबुकद्‌नेजरले स्थापना गरेको त्यस मूर्तिको उद्‌घाटन समारोहमा भेला भए। तिनीहरू राजा नबुकद्‌नेजरले स्थापना गरेको त्यस मूर्तिको अगाडि उभिए। ४ तब सन्देशवाहकले ठूलो स्वरमा यसो भनेर घोषणा गरे: “हे विभिन्‍न राष्ट्र र भाषाका मानिसहरू हो! तिमीहरूलाई यस्तो आदेश दिइएको छ: ५ जब तिमीहरूले सिङ, बाँसुरी, सारङ्‌गी, वीणा, तारे बाजा, ठूलो बाँसुरी अनि सबै बाजा बजाएको सुन्छौ, तब तिमीहरूले भुईँसम्मै घोप्टो परेर राजा नबुकद्‌नेजरले स्थापना गर्नुभएको सुनको मूर्तिलाई ढोग्नू। ६ ज-जसले भुईँसम्मै घोप्टो परेर ढोग्दैन, तिनीहरूलाई उत्तिखेरै दन्किरहेको आगोको भट्टीमा फ्याँकिनेछ।”+ ७ जब सबै मानिसले सिङ, बाँसुरी, सारङ्‌गी, वीणा, तारे बाजा, ठूलो बाँसुरी अनि सबै बाजाको आवाज सुने, तब विभिन्‍न राष्ट्र र भाषाका मानिसहरूले भुईँसम्मै घोप्टो परेर राजा नबुकद्‌नेजरले स्थापना गरेको त्यस सुनको मूर्तिलाई ढोगे।

८ त्यति नै बेला केही कल्दियालीहरू राजाकहाँ आए र यहुदीहरूको विरुद्धमा अभियोग लगाए।* ९ तिनीहरूले राजा नबुकद्‌नेजरलाई भने: “महाराज अमर रहून्‌! १० हे महाराज, हजुरले सिङ, बाँसुरी, सारङ्‌गी, वीणा, तारे बाजा, ठूलो बाँसुरी अनि सबै बाजा बजाइएको आवाज सुनेपछि सुनको मूर्तिलाई भुईँसम्मै घोप्टो परेर ढोग्नू भन्‍ने आदेश दिनुभएको थियो। ११ अनि ज-जसले भुईँसम्मै घोप्टो परेर ढोग्दैन, तिनीहरूलाई दन्किरहेको आगोको भट्टीमा फ्याँकिनेछ भन्‍नुभएको थियो।+ १२ तर हे महाराज, केही यस्ता यहुदीहरू छन्‌, जसले हजुरको अनादर गरेका छन्‌। तिनीहरू सद्रक, मेसक र अबेद्‌नेगो हुन्‌, जसलाई हजुरले बेबिलोनको प्रान्तको प्रशासक नियुक्‍त गर्नुभएको छ।+ तिनीहरू हजुरका देवताहरूलाई पुज्दैनन्‌ अनि हजुरले स्थापना गर्नुभएको त्यस सुनको मूर्तिलाई ढोग्न तिनीहरूले इन्कार गरेका छन्‌।”

१३ तब राजा नबुकद्‌नेजर रिसले चूर भए अनि सद्रक, मेसक र अबेद्‌नेगोलाई हाजिर गराउन हुकुम गरे। अनि तिनीहरूलाई राजासामु ल्याइयो। १४ नबुकद्‌नेजरले तिनीहरूलाई सोधे: “ए सद्रक, मेसक र अबेद्‌नेगो, तिमीहरू मेरा देवताहरूको उपासना गर्दैनौ रे+ अनि तिमीहरूले मैले स्थापना गरेको सुनको मूर्तिलाई ढोग्न इन्कार गऱ्‍यौ रे, के यो साँचो हो? १५ तर अब तिमीहरूले सिङ, बाँसुरी, सारङ्‌गी, वीणा, तारे बाजा, ठूलो बाँसुरी अनि सबै बाजा बजाइएको आवाज सुनेपछि मैले बनाएको सुनको मूर्तिलाई भुईँसम्मै घोप्टो परेर ढोग्यौ भने ठीकै छ। तर यदि तिमीहरूले इन्कार गऱ्‍यौ भने तिमीहरूलाई उत्तिखेरै दन्किरहेको आगोको भट्टीमा फ्याँकिनेछ। अनि हेरौँला कुनचाहिँ देवताले तिमीहरूलाई मेरो हातबाट बचाउन सक्दो रहेछ!”+

१६ अनि सद्रक, मेसक र अबेद्‌नेगोले राजालाई यस्तो जवाफ दिए: “हे महाराज नबुकद्‌नेजर, हामीले हजुरलाई जवाफमा भन्‍नुपर्ने केही छैन। १७ हे महाराज, हामी दन्किरहेको आगोको भट्टीमा फालियौँ भने पनि ठीकै छ। हाम्रा परमेश्‍वर, जसको हामी उपासना गर्छौँ, उहाँले हामीलाई बचाउनुहुनेछ र हजुरको हातबाट छुटकारा दिनुहुनेछ।+ १८ तर हे महाराज, यदि उहाँले त्यसो गर्नुभएन भने पनि न हामी हजुरका देवताहरूलाई पुज्नेछौँ न त हजुरले स्थापना गर्नुभएको त्यस सुनको मूर्तिलाई ढोग्नेछौँ।”+

१९ यो सुनेर राजा नबुकद्‌नेजर सद्रक, मेसक र अबेद्‌नेगोसित रिसले चूर भए र तिनको अनुहारको भाव नै बदलियो।* अनि तिनले आगोको भट्टीलाई सदाभन्दा सात गुणा बढी दन्काउन हुकुम दिए। २० तिनले सद्रक, मेसक र अबेद्‌नेगोलाई बाँधेर दन्किरहेको आगोको भट्टीमा फालिदिन आफ्ना सेनाका केही बलिया-बलिया पुरुषहरूलाई हुकुम दिए।

२१ तब ती तीन जनालाई उनीहरूले लगाएको बाहिरी र भित्री पोसाक, टोपी र अरू लुगासहित बाँधेर दन्किरहेको आगोको भट्टीमा फ्याँकियो। २२ राजाले दिएको आदेश असाध्यै कडा भएकोले अनि आगो एकदमै दन्केको हुनाले सद्रक, मेसक र अबेद्‌नेगोलाई लाने मानिसहरू आगोको ज्वालाले गर्दा मरे। २३ तर यी तीन जना पुरुष—सद्रक, मेसक र अबेद्‌नेगो बाँधिएकै अवस्थामा दनदनी बलिरहेको आगोको भट्टीमा परे।

२४ त्यसपछि राजा नबुकद्‌नेजर डराए अनि जुरुक्क उठेर आफ्ना उच्च अधिकारीहरूलाई सोधे: “हामीले त तीन जनालाई बाँधेर आगोमा फालेका थियौँ, होइन र?” तिनीहरूले जवाफ दिए: “हो महाराज।” २५ तिनले भने: “तर हेर त! म त आगोको बीचमा चार जना पो हिँडिरहेको देख्छु। अनि तिनीहरू बाँधिएका पनि छैनन्‌। तिनीहरूलाई केही पनि भएको छैन अनि चौथोचाहिँ त देवताजस्तो देखिन्छ।”

२६ तब नबुकद्‌नेजर दन्किरहेको आगोको भट्टीको ढोकामा गए अनि भने: “हे सद्रक, मेसक र अबेद्‌नेगो, सर्वोच्च परमेश्‍वरका सेवकहरू हो,+ बाहिर निस्क!” अनि सद्रक, मेसक र अबेद्‌नेगो आगोको भट्टीबाट निस्केर बाहिर आए। २७ अनि बडाहाकिम, प्रमुख अधिकृत, राज्यपाल र त्यहाँ भेला भएका+ राजाका सबै उच्च अधिकारीले ती मानिसहरूको शरीरमा आगोले केही असर नगरेको देखे;+ तिनीहरूको शिरको एउटा केशसमेत खरिएको थिएन। तिनीहरूको लुगा जस्ताको तस्तै थियो अनि तिनीहरूको शरीरबाट आगोको गन्धसमेत आएको थिएन।

२८ तब नबुकद्‌नेजरले यस्तो घोषणा गरे: “सद्रक, मेसक र अबेद्‌नेगोका+ ईश्‍वरको प्रशंसा होस्‌, जसले स्वर्गदूत पठाएर आफ्ना सेवकहरूलाई बचाउनुभयो। तिनीहरूले उहाँमा भरोसा राखे अनि राजाको आदेश मान्‍न इन्कार गरे; आफ्ना ईश्‍वरबाहेक अरू कुनै देवताको उपासना गर्नुभन्दा बरु मर्न तयार भए।+ २९ त्यसैले म एउटा उर्दी जारी गर्दै छु। कुनै पनि राष्ट्रको मानिसले वा कुनै पनि भाषा बोल्ने मानिसले सद्रक, मेसक र अबेद्‌नेगोका ईश्‍वरको विरुद्धमा केही भन्यो भने तिनीहरूलाई टुक्राटुक्रा पारिनेछ अनि तिनीहरूको घर दिसा-पिसाब गर्ने ठाउँ* हुनेछ किनकि अरू कुनै पनि देवताले यसरी बचाउन सक्दैन।”+

३० त्यसपछि राजाले बेबिलोनको प्रान्तमा सद्रक, मेसक र अबेद्‌नेगोको पदोन्‍नति गरिदिए।+

४ “सारा पृथ्वीमा रहने सबै राष्ट्र र भाषाका मानिसहरूलाई राजा नबुकद्‌नेजरको यो सन्देश छ: तिमीहरूको शान्ति प्रशस्तगरि बढ्‌दै जाओस्‌! २ सर्वोच्च परमेश्‍वरले मलाई देखाउनुभएका चिन्हहरू र आश्‍चर्यजनक कामहरूबारे घोषणा गर्न पाउँदा म खुसी छु। ३ उहाँले देखाउनुभएका चिन्हहरू कत्ति महान्‌ छन्‌! उहाँका आश्‍चर्यजनक कामहरू कत्ति शक्‍तिशाली छन्‌! उहाँको राज्य सदासर्वदा रहिरहने राज्य हो अनि उहाँले पुस्तौँपुस्तासम्म शासन गर्नुहुन्छ।+

४ “म नबुकद्‌नेजर मेरो महलमा आरामसित बसिरहेको थिएँ र मेरो फलिफाप भइरहेको थियो। ५ तब मैले एउटा सपना देखेँ, जसले गर्दा म आत्तिएँ। ओछ्यानमा ढल्किरहेको बेला देखेका दृश्‍यहरू र दर्शनहरूले* गर्दा म डराएँ।+ ६ त्यसकारण मेरो सपनाको अर्थ खोलिदिन मैले बेबिलोनका सबै बुद्धिमान्‌ मानिसलाई मेरो अगाडि हाजिर गराउन हुकुम दिएँ।+

७ “तब जादुगरहरू, तन्त्रमन्त्र गर्नेहरू, कल्दियालीहरू* र ज्योतिषीहरू हाजिर भए।+ अनि मैले तिनीहरूलाई मेरो सपना बताएँ तर तिनीहरूले त्यसको अर्थ खोलिदिन सकेनन्‌।+ ८ अन्तमा दानिएल, जसको नाम मेरो देवताको नामअनुसारै+ बेल्तसजर+ राखिएको थियो अनि जसमा पवित्र देवताहरूको शक्‍ति थियो,+ तिनी मेरो अगाडि हाजिर भए। अनि मैले तिनलाई मेरो सपना बताएँ:

९ “‘हे बेल्तसजर, सबै जादुगरका प्रमुख, मलाई थाह छ,+ तिमीले पवित्र देवताहरूबाट शक्‍ति पाएका छौ+ र त्यस्तो कुनै रहस्य छैन, जुन तिमीले खोल्न सक्दैनौ।+ त्यसैले मैले सपनामा देखेका दर्शनहरू बुझाइदेऊ र त्यसको अर्थ बताइदेऊ।

१० “‘ओछ्यानमा ढल्किरहेको बेला मैले दर्शनमा पृथ्वीको बीचमा एउटा रूख देखेँ।+ त्यो अत्यन्तै अग्लो थियो।+ ११ त्यो रूख बढ्‌यो र बलियो भयो अनि त्यसको टुप्पोले आकाश छोयो। पृथ्वीको हरेक कुनाबाट त्यो रूख देखिन्थ्यो। १२ त्यसका पातहरू सुन्दर थिए, त्यसमा प्रशस्त फल फलेको थियो र सबैका निम्ति खानलाई पुग्थ्यो। त्यसको छहारीमा जमिनका पशुहरू आएर बस्थे अनि त्यसका हाँगाहरूमा आकाशका चराचुरुङ्‌गीहरू बस्थे। सबै जीवजन्तुले त्यसैबाट आफ्नो आहारा पाउँथे।

१३ “‘ओछ्यानमा ढल्किरहेको बेला मैले दर्शनमा एक पहरेदार अर्थात्‌ एक पवित्र जनलाई देखेँ, जो स्वर्गबाट तल ओर्लिरहेका थिए।+ १४ तिनले ठूलो स्वरमा यसो भने: “त्यस रूखलाई काटिदेओ,+ त्यसका हाँगाहरू पनि काटिदेओ, त्यसका पातहरू झारिदेओ र त्यसका फलहरू छरपस्ट पारिदेओ! पशुहरू त्यसको छहारीबाट भागिजाऊन्‌ र चराचुरुङ्‌गीहरू त्यसका हाँगाबाट उडिजाऊन्‌। १५ तर त्यसको ठुटालाई चाहिँ जरैसमेत जमिनमै छोडिदिनू अनि त्यसलाई फलाम र तामाको पट्टाले कस्नू र घाँसहरूमाझ छोडिदिनू। त्यसलाई आकाशको शीतले भिजाओस्‌ र त्यो घाँसहरूमाझ पशुहरूसित छोडियोस्‌।+ १६ त्यसको मन बदलिएर पशुको जस्तो होस्‌। यसरी सात काल+ बितोस्‌।+ १७ पहरेदारहरूबाटै यो आदेश आएको हो+ अनि पवित्र जनहरूले नै यस फैसलाको घोषणा गरेका हुन्‌। तब सर्वोच्च परमेश्‍वर नै मानिसजातिको शासक हुनुहुन्छ+ र शासन गर्ने अधिकार उहाँले जसलाई चाहनुहुन्छ, त्यसैलाई दिनुहुन्छ अनि मानिसहरूमध्ये सबैभन्दा नम्रलाई सिंहासनमा बसाउनुहुन्छ भनेर सबै जीवित मानिसले जान्‍नेछन्‌।”

१८ “‘म राजा नबुकद्‌नेजरले देखेको सपना यही हो। अब हे बेल्तसजर, मलाई यसको अर्थ बताइदेऊ; मेरो राज्यको कुनै पनि बुद्धिमान्‌ मानिसले मलाई यसको अर्थ बताउन सकेन।+ तर तिमीले भने यसको अर्थ बताउन सक्छौ किनकि तिमीले पवित्र देवताहरूबाट शक्‍ति पाएका छौ।’

१९ “तब दानिएल, जसलाई बेल्तसजर+ नाम दिइएको थियो, तिनी खङ्‌ग्रङ्‌गै भए र आफ्नो मनमा आएको विचारले गर्दा तिनी डराए।

“अनि राजाले भने, ‘हे बेल्तसजर, मेरो सपना र त्यसको अर्थले गर्दा तिमी नडराऊ।’

“बेल्तसजरले राजालाई जवाफ दिए, ‘हे मेरा प्रभु, यो सपना हजुरलाई घृणा गर्नेहरूको लागि होस्‌ र यसको अर्थ हजुरका शत्रुहरूमा पूरा होस्‌।

२० “‘हजुरले देख्नुभएको रूख, जुन बढेर अत्यन्तै अग्लो र बलियो भयो, जसको टुप्पोले आकाश छोयो र जुन सारा पृथ्वीबाट देखिन्थ्यो,+ २१ जसका पातहरू सुन्दर थिए, जसमा प्रशस्त फल फलेको थियो, जसबाट सबैले खान पाउँथे, जसको छहारीमा जमिनका पशुहरू बस्थे र जसका हाँगाहरूमा आकाशका चराचुरुङ्‌गीहरू बस्थे,+ २२ हे महाराज, त्यो रूख हजुर नै हुनुहुन्छ। किनकि हजुर महान्‌ र शक्‍तिशाली हुनुभएको छ, हजुरको वैभव आकाशसम्मै चुलिएको छ+ अनि हजुरको शासन सारा पृथ्वीमा फैलिएको छ।+

२३ “‘अनि हजुरले एक पहरेदार अर्थात्‌ एक पवित्र जनलाई+ स्वर्गबाट तल ओर्लिरहेको देख्नुभयो, जसले यसो भनिरहेका थिए: “त्यस रूखलाई काटेर नाश गरिदेओ तर त्यसको ठुटालाई चाहिँ जरैसमेत जमिनमै छोडिदिनू अनि त्यसलाई फलाम र तामाको बन्धनले बाँध्नू र जमिनको घाँसबीच छोडिदिनू। आकाशको शीतले त्यसलाई भिजाओस्‌ र सात काल नबितुन्जेल त्यो जमिनका पशुहरूसित रहोस्‌।”+ २४ हे महाराज, सपनाको अर्थ यही हो; यो सर्वोच्च परमेश्‍वरको आदेश हो, जुन मेरा मालिकमाथि आइपर्नेछ। २५ हजुरलाई मानिसहरूको माझबाट धपाइनेछ अनि जमिनका पशुहरूसित हजुरको बास हुनेछ। हजुरले गोरुले जस्तै घाँस खानुपर्नेछ। हजुरलाई आकाशको शीतले भिजाउनेछ+ र सात काल+ यसरी नै बित्नेछ।+ तब सर्वोच्च परमेश्‍वर नै मानिसजातिका शासक हुनुहुन्छ र उहाँले जसलाई चाहनुहुन्छ, उसैलाई शासन सुम्पिनुहुन्छ भनेर हजुरले जान्‍नुहुनेछ।+

२६ “‘तर पहरेदारहरूले रूखको ठुटा जरैसमेत छोडिदिने आदेश दिएका थिए।+ त्यसैले स्वर्गका परमेश्‍वर नै असली शासक हुनुहुन्छ भनेर हजुरले जानिसकेपछि हजुरलाई राज्य फिर्ता गरिनेछ। २७ त्यसैले हे महाराज, मेरो सल्लाह सुन्‍नुहोस्‌। पाप गर्न छोडेर जे सही छ, त्यही गर्नुहोस्‌। दुष्ट काम गर्न छोडेर गरिबहरूलाई दया देखाउनुहोस्‌। त्यसो गर्नुभयो भने हजुरका सुखका दिनहरू लम्बिन पनि सक्छन्‌।’”+

२८ यी सब राजा नबुकद्‌नेजरमाथि आइपऱ्‍यो।

२९ सपना देखेको बाह्र महिनापछि तिनी बेबिलोनको राजदरबारको कौसीमा टहलिरहेका थिए। ३० अनि तिनी यसो भन्दै थिए: “के यो त्यही महान्‌ बेबिलोन होइन, जसलाई मेरो राजदरबार बनाउनको लागि अनि मेरो महिमा र ऐश्‍वर्य बढाउनको लागि मैले आफ्नो शक्‍ति र पराक्रमले निर्माण गरेँ?”

३१ राजाले यो कुरा बोल्न नपाउँदै स्वर्गबाट एउटा यस्तो वाणी आयो: “ए राजा नबुकद्‌नेजर, तिम्रो लागि यस्तो सन्देश छ, ‘तिम्रो हातबाट राज्य खोसिएको छ,+ ३२ तिमीलाई मानिसहरूको माझबाट धपाइनेछ। जमिनका पशुहरूसित तिम्रो बास हुनेछ र तिमीले गोरुले जस्तै घाँस खानुपर्नेछ। यसरी सात काल बित्नेछ। तब सर्वोच्च परमेश्‍वर नै मानिसजातिको शासक हुनुहुन्छ र उहाँले जसलाई चाहनुहुन्छ उसैलाई शासन सुम्पिनुहुन्छ भनेर तिमीले जान्‍नेछौ।’”+

३३ त्यसैबेला नबुकद्‌नेजरमाथि यो कुरा पूरा भयो। तिनलाई मानिसहरूको माझबाट धपाइयो अनि तिनले गोरुले जस्तै घाँस खान थाले र आकाशको शीतले तिनको शरीरलाई भिजायो। तिनको कपाल चीलको प्वाँखजस्तै लामो भयो र तिनका नङ पनि चराको नङ्‌ग्राजस्तै भए।+

३४ “त्यो समय सकिएपछि+ म नबुकद्‌नेजरले आकाशतिर हेरेँ र मेरो होस फर्कियो। तब मैले सर्वोच्च परमेश्‍वरको जयजयकार गरेँ, सदासर्वदा जीवित रहनुहुने परमेश्‍वरलाई मैले प्रशंसा र महिमा चढाएँ। किनकि उहाँको शासन कहिल्यै अन्त हुँदैन र उहाँको राज्य पुस्तौँपुस्तासम्म रहिरहन्छ।+ ३५ उहाँको अगाडि पृथ्वीका बासिन्दाहरू नगण्य छन्‌। अनि स्वर्गका सेना र पृथ्वीका बासिन्दाहरूसित उहाँ आफ्नो इच्छाअनुसार व्यवहार गर्नुहुन्छ। उहाँलाई रोक्न सक्ने कोही पनि छैन+ वा कसैले पनि उहाँलाई यसो भन्‍न सक्दैन, ‘यो तपाईँले के गर्नुभएको?’+

३६ “त्यसबेला मेरो होस फर्कियो र मेरो राज्यको महिमा, मेरो ऐश्‍वर्य र मेरो वैभव मैले फिर्ता पाएँ।+ मेरा उच्च अधिकारीहरू र भारदारहरू मलाई भेट्‌न आतुर भए अनि मैले फेरि शासन गर्न थालेँ। म पहिलाभन्दा पनि महान्‌ भएँ।

३७ “म नबुकद्‌नेजर स्वर्गका राजाको प्रशंसा, महिमा र जयजयकार गर्छु।+ किनकि उहाँका सबै काम सही छन्‌ र उहाँ न्यायको मार्गमा हिँड्‌नुहुन्छ+ अनि उहाँ घमन्डीहरूलाई नीच तुल्याउन सक्नुहुन्छ।”+

५ राजा बेलसजरले+ एउटा ठूलो भोज दिए र आफ्ना एक हजार भारदारलाई भोजमा निम्त्याए। तिनी ती भारदारहरूको अगाडि मद्य पिउँदै थिए।+ २ मद्यको नशा चढेपछि बेलसजरले आफ्ना बुबा नबुकद्‌नेजरले यरुसलेमको मन्दिरबाट ल्याएका सुन र चाँदीका भाँडाकुँडा ल्याउने आदेश दिए।+ आफू, आफ्ना भारदारहरू, उपपत्नीहरू र रखौटीहरूले ती भाँडाकुँडामा मद्य पिऊन्‌ भनेर तिनले त्यो आदेश दिएका थिए। ३ तब तिनीहरूले यरुसलेममा भएको परमेश्‍वरको भवनको मन्दिरबाट ल्याइएका सुनका भाँडाकुँडा त्यहाँ ल्याए अनि राजा, तिनका भारदारहरू, उपपत्नीहरू र रखौटीहरूले त्यसमा मद्य पिए। ४ मद्य पिएर तिनीहरूले सुन, चाँदी, तामा, फलाम, काठ र ढुङ्‌गाका देवताहरूको जयजयकार गरे।

५ ठीक त्यसै बेला राजाको दरबारमा पानसको पल्लोपट्टिको भित्तामा मानिसको हातका औँलाहरू देखा परे र ती औँलाहरूले भित्तामा लेख्न थाले। भित्तामा लेखिरहेको हातको पछिल्तिरको भाग राजाले देखे। ६ तब राजाको अनुहारको रङ्‌ग उड्‌यो र आफ्नो मनमा आएको कुराले गर्दा तिनी डराए।+ तिनका खुट्टाहरू लल्याकलुलुक भए र घुँडाहरू आपसमा ठोक्किन थाले।

७ राजाले ठूलो स्वरमा तन्त्रमन्त्र गर्नेहरू, कल्दियालीहरू* र ज्योतिषीहरूलाई बोलाउने आदेश दिए।+ राजाले बेबिलोनका बुद्धिमान्‌ मानिसहरूलाई यसो भने: “जसले यो पढेर मलाई यसको अर्थ बताउन सक्छ, उसलाई बैजनी* रङ्‌गको वस्त्र पहिऱ्‍याइनेछ, गलामा सुनको हार लगाइदिइनेछ+ र ऊ यो राज्यको तेस्रो ठूलो शासक हुनेछ।”+

८ तब राजाका सबै बुद्धिमान्‌ मानिस हाजिर भए। तर तिनीहरूमध्ये कसैले पनि राजालाई भित्तामा लेखिएको अक्षर पढेर सुनाउन वा त्यसको अर्थ बुझाउन सकेन।+ ९ त्यसैले राजा बेलसजरलाई डरले छोप्यो र तिनको अनुहारको रङ्‌ग उड्‌यो अनि तिनका भारदारहरू अलमल्लमा परे।+

१० राजा र भारदारहरूको कुरा सुनेर रानी भोज भएको ठाउँमा आइन्‌। तब रानीले भनिन्‌: “महाराज अमर रहून्‌! हजुरको मनमा आएको विचारले गर्दा नआत्तिनुहोस्‌ अनि हजुरको अनुहारको रङ्‌ग पनि नउडोस्‌। ११ हजुरको राज्यमा एक जना यस्ता मानिस* छन्‌, जसले पवित्र देवताहरूबाट शक्‍ति पाएका छन्‌। हजुरका बुबाको पालामा तिनमा देवताहरूको जस्तै समझशक्‍ति, अन्तर्दृष्टि र बुद्धि थियो।+ हजुरका बुबा राजा नबुकद्‌नेजरले तिनलाई जादुगरहरू, तन्त्रमन्त्र गर्नेहरू, कल्दियालीहरू र ज्योतिषीहरूका प्रमुख नियुक्‍त गर्नुभएको थियो।+ हे महाराज, हजुरका बुबाले नै तिनलाई नियुक्‍त गर्नुभएको थियो। १२ किनकि दानिएल, जसलाई राजाले बेल्तसजर+ नाम दिनुभएको थियो, तिनीसित सपनाको अर्थ खोल्न सक्ने, उखानको अर्थ बताउन सक्ने र अड्‌कोहरू फुकाउन सक्ने असामान्य शक्‍ति, ज्ञान र अन्तर्दृष्टि* थियो।+ त्यसैले दानिएललाई हाजिर गराउनुहोस्‌ र तिनले यसको अर्थ खोलिदिनेछन्‌।”

१३ त्यसैले दानिएललाई राजाकहाँ हाजिर गराइयो। राजाले दानिएललाई सोधे: “के तिमी त्यही दानिएल हौ,+ जसलाई मेरा बुबाले यहुदाबाट कैद गरेर ल्याउनुभएको थियो?+ १४ तिमीले देवताहरूबाट शक्‍ति पाएका छौ+ अनि तिमीसित समझशक्‍ति, अन्तर्दृष्टि र असामान्य बुद्धि छ भनेर मैले सुनेको छु।+ १५ भित्तामा लेखिएको यो अक्षर पढेर मलाई यसको अर्थ खोल्न बुद्धिमान्‌ मानिसहरू र तन्त्रमन्त्र गर्नेहरूलाई मेरो अगाडि हाजिर गराइयो तर तिनीहरूले यसको अर्थ खोल्न सकेनन्‌।+ १६ तर तिमीले भने अड्‌कोहरू फुकाउन सक्छौ र अर्थहरू खोल्न सक्छौ भनेर मैले सुनेको छु।+ यदि तिमीले यो पढेर मलाई यसको अर्थ बतायौ भने तिमीलाई बैजनी रङ्‌गको वस्त्र पहिराइनेछ, गलामा सुनको हार लगाइदिइनेछ र तिमी यो राज्यको तेस्रो ठूलो शासक हुनेछौ।”+

१७ तब दानिएलले राजालाई यस्तो जवाफ दिए: “हजुरको उपहार हजुरसितै रहोस्‌ र हजुरको इनाम अरूलाई नै दिनुहोस्‌। तैपनि म हजुरलाई भित्तामा लेखिएको अक्षर पढेर सुनाउनेछु र त्यसको अर्थ पनि बताउनेछु। १८ हे महाराज, सर्वोच्च परमेश्‍वरले हजुरका बुबा नबुकद्‌नेजरलाई राज्य, मानसम्मान अनि ऐश्‍वर्य दिनुभयो र उहाँलाई महान्‌ तुल्याउनुभयो।+ १९ परमेश्‍वरले उहाँलाई महान्‌ तुल्याउनुभएकोले सबै राष्ट्रका र सबै भाषाका मानिसहरू उहाँको अगाडि डरले थरथर काँप्थे।+ उहाँले जसलाई चाहनुहुन्थ्यो, त्यसलाई मार्न वा छोडिदिन सक्नुहुन्थ्यो अनि जसलाई चाहनुहुन्थ्यो, त्यसलाई महिमित पार्न वा खसाल्न सक्नुहुन्थ्यो।+ २० तर जब उहाँको मन घमन्डले फुल्यो र कठोर भयो अनि उहाँले अहङ्‌कारी व्यवहार गर्न थाल्नुभयो,+ तब उहाँलाई आफ्नो राज्यको सिंहासनबाट हटाइयो र उहाँको मानसम्मान उहाँबाट खोसियो। २१ अनि सर्वोच्च परमेश्‍वर नै मानिसजातिको शासक हुनुहुन्छ र उहाँले जसलाई चाहनुहुन्छ, उसैलाई शासन सुम्पिनुहुन्छ भनेर हजुरका बुबाले नस्विकारेसम्म उहाँलाई मानिसहरूको बीचबाट धपाइयो। अनि उहाँको मन पशुहरूको जस्तो भयो र उहाँको बास जङ्‌गली गधाहरूसित भयो। उहाँलाई गोरुलाई जस्तै घाँस दिइयो र आकाशको शीतले उहाँको शरीरलाई भिजायो।+

२२ “तर हजुर उहाँको छोरा बेलसजरलाई यी सबै कुरा थाह भए पनि हजुरले आफूलाई नम्र तुल्याउनुभएको छैन। २३ बरु हजुरले स्वर्गका परमेश्‍वरको विरुद्धमा गएर आफैलाई माथि उचाल्नुभयो+ र उहाँको भवनका भाँडाकुँडाहरू ल्याउन लगाउनुभयो।+ अनि हजुर, हजुरका भारदार, उपपत्नीहरू र रखौटीहरूले त्यसमा मद्य पिउनुभयो अनि सुन, चाँदी, तामा, फलाम, काठ र ढुङ्‌गाका देवताहरूको जयजयकार गर्नुभयो, जसले देख्दा पनि देख्दैनन्‌, सुन्दा पनि सुन्दैनन्‌ र केही पनि जान्दैनन्‌।+ तर जुन परमेश्‍वरको हातमा हजुरको सास र हजुरको सम्पूर्ण जीवन छ,+ हजुरले उहाँको महिमा गर्नुभएन। २४ त्यसैले उहाँले नै यो हात पठाउनुभयो र भित्तामा यो लेख्न लगाउनुभयो।+ २५ अनि भित्तामा लेखिएका अक्षरहरू यी नै हुन्‌: मने, मने, तकेल र पर्सिन।

२६ “यी शब्दहरूको अर्थ यही हो: मने अर्थात्‌ परमेश्‍वरले हजुरको राज्यको दिन गन्ती गर्नुभएको छ र त्यसको अन्त गरिदिनुभएको छ।+

२७ “तकेल अर्थात्‌ हजुरलाई तराजुमा जोखियो र हजुर हलुका ठहरिनुभयो।

२८ “पेरेस अर्थात्‌ हजुरको राज्यलाई विभाजन गरियो अनि मादी र फारसीलाई दिइयो।”+

२९ त्यसपछि बेलसजरले आदेश दिए र दानिएललाई बैजनी रङ्‌गको वस्त्र पहिऱ्‍याइयो, तिनको गलामा सुनको हार पहिऱ्‍याइयो र तिनी राज्यको तेस्रो ठूलो शासक हुन्‌ भनेर घोषणा गरियो।+

३० त्यही रात कल्दियाली राजा बेलसजर मारिए।+ ३१ त्यसपछि मादी दाराले+ त्यस राज्यमा शासन गर्न थाले। तिनी लगभग ६२ वर्षका थिए।

६ दारालाई आफ्नो राज्यमा १२० जना बडाहाकिम नियुक्‍त गर्न उचित लाग्यो।+ २ ती बडाहाकिमहरूमाथि तीन जना उच्च अधिकारी नियुक्‍त गरिए। ती उच्च अधिकारीहरूमध्ये दानिएल+ पनि एक थिए। बडाहाकिमहरूले+ उच्च अधिकारीहरूलाई सबै कुराको खबर दिन्थे र यसो गर्दा राजाले कुनै नोक्सानी बेहोर्नुपर्दैन थियो। ३ दानिएलचाहिँ अरू उच्च अधिकारीहरू र बडाहाकिमहरूभन्दा अझै योग्य साबित भए किनकि तिनीसित विशेष क्षमता+ थियो र राजाले तिनलाई पूरै राज्यको अधिकार दिने निर्णय गरे।

४ त्यसबेला उच्च अधिकारीहरू र बडाहाकिमहरू राज्यको मामिलामा दानिएललाई दोषी साबित गर्ने आधार खोजिरहेका थिए तर तिनीहरूले त्यस्तो कुनै आधार भेटेनन्‌ र तिनमा कुनै दोष फेला पार्न सकेनन्‌। किनकि तिनी भरोसायोग्य मानिस थिए र तिनी आफ्नो काममा लापर्बाही गर्दैनथे न त छलकपट गर्थे। ५ तब ती मानिसहरूले यसो भने: “त्यसलाई दोषी ठहराउन यस्तो कुरा खोज्नुपर्छ, जुन त्यसको परमेश्‍वरको नियमसित सम्बन्धित छ। नत्र हामीले त्यसलाई दोषी ठहराउने कुनै आधार भेट्टाउनेछैनौँ।”+

६ त्यसैले ती उच्च अधिकारीहरू र बडाहाकिमहरू भेला भएर राजाकहाँ गए र तिनलाई भने: “महाराज दारा अमर रहून्‌! ७ शाही उर्दी जारी गरेर एउटा प्रतिबन्ध लगाउन सबै शाही अफिसर, प्रमुख अधिकृत, बडाहाकिम, उच्च अधिकारी र राज्यपालले आपसमा सल्लाह गरेका छन्‌: अबको ३० दिनसम्म कसैले हजुरबाहेक अरू कुनै पनि देवता वा मानिसलाई बिन्ती-प्रार्थना गरेमा त्यसलाई सिंहको खोरमा फ्याँकियोस्‌।+ ८ हे महाराज, यो उर्दी जारी गरेर यसमा दस्तखत गर्नुहोस्‌+ ताकि यसलाई फेरि कसैले बदल्न नपाओस्‌ किनकि मादी र फारसको कानुन कहिल्यै खारेज गर्न सकिँदैन।”+

९ तब राजा दाराले प्रतिबन्ध लगाउने त्यस उर्दीमा दस्तखत गरे।

१० राजाले उर्दीमा दस्तखत गरेको कुरा थाह पाउनेबित्तिकै दानिएल आफ्नो घर गए। तिनको घरको कौसीमा भएको कोठाका झ्यालहरू यरुसलेमतिर फर्केका थिए।+ त्यहाँ तिनले आफ्नो बानीअनुसारै दिनको तीन पटक घुँडा टेकेर आफ्ना परमेश्‍वरलाई प्रार्थना गरे र उहाँको प्रशंसा गरे। ११ त्यसबेला ती मानिसहरू हुल बाँधेर दानिएलको घरभित्र पसे र दानिएललाई आफ्ना परमेश्‍वरको निगाह पाउन बिन्ती गरिरहेको र व्यग्र प्रार्थना गरिरहेको भेट्टाए।

१२ तब ती मानिसहरू राजाकहाँ गए र राजाले जारी गरेको उर्दीबारे सम्झाउँदै यसो भने: “हे महाराज! यदि कसैले ३० दिनसम्म हजुरबाहेक अरू कुनै पनि देवता वा मानिसलाई बिन्ती-प्रार्थना गऱ्‍यो भने त्यसलाई सिंहको खोरमा फ्याँकिनेछ भनेर हजुरले उर्दी जारी गर्नुभएको होइन र?” राजाले भने: “मादी र फारसको कानुनअनुसारै त्यो उर्दी जारी गरिएको हो, जुन कहिल्यै खारेज गर्न सकिँदैन।”+ १३ अनि तिनीहरूले राजालाई तुरुन्तै यसो भने: “हे महाराज! यहुदाबाट कैद गरेर ल्याइएको दानिएलले+ हजुरको अनादर गरेको छ र हजुरले दस्तखत गर्नुभएको उर्दी पालन गरेको छैन। बरु त्यसले दिनको तीन पटक प्रार्थना गर्दै छ।”+ १४ यो कुरा सुन्‍नेबित्तिकै राजालाई साह्रै छटपटी भयो र तिनले दानिएललाई बचाउने उपाय सोच्न थाले। घाम नअस्ताउन्जेल तिनले दानिएललाई बचाउन हर कोसिस गरे। १५ अन्तमा ती मानिसहरू भेला भएर राजाकहाँ गए र राजालाई यसो भने: “हे महाराज! यो कुरा नबिर्सनुहोस्‌, मादी र फारसको कानुनअनुसार राजाद्वारा जारी गरिएको कुनै पनि उर्दी वा प्रतिबन्धलाई खारेज गर्न मिल्दैन।”+

१६ तब राजाले आदेश दिए र तिनीहरूले दानिएललाई ल्याएर सिंहको खोरमा फ्याँकिदिए।+ राजाले दानिएललाई भने: “तिमीले निरन्तर सेवा गरिरहेको तिम्रो परमेश्‍वरले तिमीलाई बचाउनुहुनेछ।” १७ त्यसपछि एउटा ढुङ्‌गा ल्याएर खोरको मुख बन्द गरियो र दानिएलको विषयमा गरिएको निर्णयमा कुनै फेरबदल नगरियोस्‌ भनेर राजाले आफ्नो र आफ्ना भारदारहरूको छापऔँठीले त्यस ढुङ्‌गामा छाप लगाए।

१८ तब राजा आफ्नो दरबारमा गए। तिनले केही नखाई रात बिताए र कुनै पनि मनोरञ्जनमा भाग लिएनन्‌।* तिनलाई त्यस रात निद्रै लागेन। १९ मिरमिरे उज्यालोमै राजा उठे र हतारिँदै सिंहको खोरतिर गए। २० खोरको नजिकै पुगेपछि राजाले दुःखी हुँदै दानिएललाई बोलाए। तिनले दानिएललाई सोधे: “हे दानिएल, जीवित परमेश्‍वरका सेवक, तिमीले निरन्तर सेवा गरेको तिम्रा परमेश्‍वरले तिमीलाई सिंहहरूदेखि बचाउनुभयो?” २१ दानिएलले तुरुन्तै राजालाई जवाफ दिए: “महाराज अमर रहून्‌! २२ मेरा परमेश्‍वरले आफ्नो स्वर्गदूतलाई पठाएर सिंहहरूको मुख थुनिदिनुभयो।+ त्यसैले सिंहहरूले मलाई केही हानि गरेनन्‌।+ किनकि म परमेश्‍वरको नजरमा निर्दोष ठहरिएँ अनि महाराज, मैले हजुरको नोक्सान हुने कुनै काम गरेको छैनँ।”

२३ तब राजा साह्रै खुसी भए। तिनले दानिएललाई खोरबाट माथि ल्याउने आदेश दिए। दानिएललाई खोरबाट माथि ल्याइँदा उनलाई कुनै चोटपटक लागेको पाइएन किनकि उनले आफ्ना परमेश्‍वरमाथि भरोसा गरेका थिए।+

२४ तब राजाले आदेश दिए र दानिएललाई दोष लगाउने* मानिसहरूलाई सिंहको खोर भएको ठाउँमा ल्याइयो अनि तिनीहरूका छोराछोरी र पत्नीहरूसमेत सबैलाई सिंहको खोरमा फ्याँकियो। तिनीहरू खोरको पिँधमा पुग्न नपाउँदै सिंहहरूले तिनीहरूलाई झम्टे र सबै हड्डी कऱ्‍याककुरुक पारिदिए।+

२५ तब राजा दाराले पृथ्वीभरिका सबै राष्ट्रका र सबै भाषाका मानिसहरूलाई यस्तो सन्देश लेखे:+ “तिमीहरूलाई प्रशस्त शान्ति मिलोस्‌! २६ म यो उर्दी जारी गर्दछु: मेरो राज्यका सबै प्रान्तका मानिसहरूले दानिएलका परमेश्‍वरको डर मानून्‌।+ किनकि उहाँ जीवित र सधैँभरि रहिरहने परमेश्‍वर हुनुहुन्छ। उहाँको राज्यको अन्त कहिल्यै हुँदैन अनि उहाँको शासनाधिकार* सधैँ कायम रहन्छ।+ २७ उहाँले आफ्ना मानिसहरूलाई बचाउनुहुन्छ+ र उद्धार गर्नुहुन्छ; उहाँले स्वर्ग र पृथ्वीमा चिन्हहरू देखाउनुहुन्छ अनि आश्‍चर्यजनक कामहरू गर्नुहुन्छ।+ त्यसैले उहाँले दानिएललाई सिंहहरूका पन्जाबाट जोगाउनुभयो।”

२८ अनि राजा दारा+ र फारसका राजा कोरेसको शासनकालमा दानिएलको फलिफाप भयो।+

७ बेबिलोनका राजा बेलसजरको+ शासनको पहिलो वर्षमा दानिएल पलङमा ढल्किरहेको बेला तिनले सपना र दर्शनहरू* देखे।+ त्यसपछि तिनले आफूले देखेको सपना लेखे;+ तिनले आफूले देखेको कुराको विस्तृत विवरण लेखे। २ दानिएलले भने:

“मैले राती दर्शन देखिरहेको थिएँ अनि हेर! आकाशका चारै बतासले विशाल समुद्रलाई जोडसित हल्लाइरहेको थियो।+ ३ अनि समुद्रबाट चार वटा बडेमाका जनावर बाहिर निस्के।+ ती सबै फरक-फरक किसिमका थिए।

४ “पहिलो जनावर सिंहजस्तो थियो+ र त्यसका पखेटाहरूचाहिँ चीलका जस्ता थिए।+ मैले हेरिरहेको बेला त्यसका पखेटाहरू उखेलिए अनि त्यसलाई जमिनबाट उचालियो र मानिसजस्तै दुई खुट्टामा उभ्याइयो र त्यसलाई मानिसको मन दिइयो।

५ “अनि हेर! दोस्रो जनावरचाहिँ भालुजस्तो थियो।+ त्यसको शरीरलाई एकापट्टिबाट उठाइएको थियो र त्यसको मुखमा दाँतहरूका बीचमा तीन वटा करङ थिए अनि त्यसलाई यसो भनियो, ‘उठ्‌, टन्‍न मासु खा।’+

६ “त्यसपछि हेर! मैले हेर्दै गर्दा चितुवाजस्तो एउटा अर्को जनावर देखेँ।+ तर त्यसको पिठिउँमा चराको जस्तो चार वटा पखेटा थिए। अनि त्यसका चार वटा टाउका थिए+ र त्यसलाई शासन गर्ने अधिकार दिइयो।

७ “त्यसपछि रातीको दर्शनमा मैले चौथो जनावर देखेँ। त्यो जनावर डरलाग्दो, भयङ्‌कर र अत्यन्तै बलियो थियो अनि त्यसको फलामका ठूलठूला दाँत थिए। त्यसले सबै कुरा खर्ल्याप्पै खान्थ्यो र चकनाचुर पार्थ्यो अनि बाँकी भएको कुराचाहिँ खुट्टाले कुल्चीमिल्ची गर्थ्यो।+ त्यो यसअघिका जनावरहरूभन्दा फरक थियो र त्यसका दस वटा सिङ थिए। ८ अनि हेर! मैले ती सिङहरू हेरिरहेको बेला ती सिङहरूको बीचबाट एउटा अर्को सिङ उम्रेको देखेँ र त्यो सिङ सानो थियो।+ पहिलेका १० सिङमध्ये तीन वटा सिङ त्यो सानो सिङको अगाडि उखेलिए। अनि हेर! त्यो सानो सिङमा मानिसका जस्ता आँखाहरू थिए र घमन्डी कुरा गर्ने मुख थियो।+

९ “मैले हेर्दै गर्दा सिंहासनहरू बसालिएको देखेँ अनि त्यसमा ‘अतिप्राचीन’+ बस्नुभयो।+ उहाँको लुगा हिउँजस्तो सेतो थियो+ र उहाँको शिरको केश सफा ऊनजस्तै थियो। उहाँको सिंहासन बलिरहेको आगोको ज्वाला थियो र त्यसका चक्काहरू दन्किरहेका आगो थिए।+ १० अनि उहाँको सामुबाट आगोको खोला बगिरहेको थियो।+ हजारौँ-हजारले उहाँको सेवा गरिरहेका थिए र लाखौँलाख उहाँको अगाडि उभिरहेका थिए।+ अनि अदालती+ कारबाही सुरु भयो र पुस्तकहरू खोलिए।

११ “मैले हेरी नै रहेँ किनभने त्यस सिङले घमन्डी कुरा गर्दै थियो+ अनि मैले हेर्दै गर्दा त्यस जनावरलाई मारियो र त्यसको शरीर नाश गरियो र आगोमा फ्याँकियो। १२ बाँकी अरू जनावरको+ चाहिँ शासन गर्ने अधिकार खोसियो र तिनीहरूलाई केही समय र ऋतुसम्म बाँच्न दिइयो।

१३ “रातीको दर्शनमा मैले हेरी नै रहेको थिएँ। तब हेर! आकाशका बादलहरूसँगै मानिसको छोराजस्तै+ कोही आइरहेको देखेँ र तिनलाई ‘अतिप्राचीन’-कहाँ+ जान अनुमति दिइयो र तिनलाई तिनीहरूले उहाँको अगाडि ल्याए। १४ अनि सबै राष्ट्रका र सबै भाषाका मानिसहरूले तिनको सेवा गरून्‌+ भनेर तिनलाई शासन गर्ने अधिकार, गौरव+ र राज्य दिइयो।+ तिनको शासन सदासर्वदै रहिरहने शासन हो र तिनको राज्य कहिल्यै नाश हुनेछैन।+

१५ “अनि म दानिएलचाहिँ आकुलव्याकुल भएँ किनभने मैले देखेको दर्शनले गर्दा म डराएँ।+ १६ ती कुराहरूको साँचो अर्थ के हो भनेर सोध्न म त्यहाँ उभिरहेकाहरूमध्ये एक जनाको छेवैमा गएँ। अनि तिनले जवाफमा ती कुराहरूको अर्थ खोलिदिए।

१७ “‘ती बडेमाका चार वटा जनावर+ चार राजा हुन्‌ र तिनीहरू पृथ्वीबाट खडा हुनेछन्‌।+ १८ तर सर्वोच्च परमेश्‍वरका पवित्र जनहरूलाई+ राज्य दिइनेछ+ र त्यो राज्य सधैँभरि तिनीहरूको हुनेछ,+ हो, सदासर्वदाको लागि तिनीहरूले अधिकार गर्नेछन्‌।’

१९ “त्यसपछि मैले अरूभन्दा फरक देखिने चौथो जनावरबारे अझ बुझ्न चाहेँ; त्यो अत्यन्तै डरलाग्दो थियो अनि त्यसका दाँत फलामका र पन्जाचाहिँ तामाका थिए; त्यसले सबै कुरा खर्ल्याप्प खान्थ्यो र चकनाचुर पार्थ्यो अनि बाँकी भएको कुराचाहिँ खुट्टाले कुल्चीमिल्ची गर्थ्यो।+ २० अनि मैले त्यसको टाउकोमा भएका १० वटा सिङबारे+ बुझ्न चाहेँ। साथै अर्को सिङबारे पनि बुझ्न चाहेँ, जुन उम्रँदा तीन वटा सिङ झरेका थिए।+ त्यस सिङमा आँखाहरू थिए र घमन्डी कुरा गर्ने एउटा मुख थियो। अनि त्यो सिङ अरूभन्दा ठूलो देखिन्थ्यो।

२१ “अनि मैले हेर्दै गर्दा त्यस सिङले पवित्र जनहरूविरुद्ध तबसम्म लडाइँ गऱ्‍यो र जित हासिल गर्दै गयो,+ २२ जबसम्म ‘अतिप्राचीन’+ आउनुभएन र सर्वोच्च परमेश्‍वरका पवित्र जनहरूको+ पक्षमा इन्साफ गर्नुभएन। अनि पवित्र जनहरूले राज्य अधिकार गर्ने तोकिएको समय आयो।+

२३ “मलाई अर्थ खोलिदिनेले यसो भने: ‘चौथो जनावरचाहिँ चौथो राज्य हो, जुन पृथ्वीमा खडा हुनेछ। त्यो अरू राज्यभन्दा फरक हुनेछ र त्यसले सारा पृथ्वीलाई निल्नेछ अनि खुट्टाले कुल्चीमिल्ची पारेर चकनाचुर पार्नेछ।+ २४ अनि १० सिङचाहिँ १० राजा हुन्‌, जो त्यस राज्यबाट खडा हुनेछन्‌ अनि तिनीहरूपछि अझै अर्को एउटा राजा खडा हुनेछ, जुन पहिलेकाहरूभन्दा फरक हुनेछ र त्यसले तीन राजामाथि अधिकार जमाउनेछ।+ २५ त्यसले सर्वोच्च परमेश्‍वरको विरुद्धमा बोल्नेछ+ र सर्वोच्च परमेश्‍वरका पवित्र जनहरूमाथि अत्याचार गरिरहनेछ। त्यसले समय र नियम बदल्न खोज्नेछ अनि एक काल, दुई काल र आधा कालको लागि* तिनीहरूलाई त्यसको हातमा दिइनेछ।+ २६ तर अदालती कारबाही सुरु भयो र त्यसलाई नामेट पार्न तिनीहरूले त्यसको शासन खोसे।+

२७ “‘अनि राज्य र शासनाधिकार अनि स्वर्गमुनि भएका राज्यहरूको महिमा सर्वोच्च परमेश्‍वरका पवित्र जनहरूलाई दिइनेछ।+ तिनीहरूको राज्य सदासर्वदै रहिरहनेछ+ र सबै राज्यले उहाँको सेवा गर्नेछन्‌ र उहाँको आज्ञा मान्‍नेछन्‌।’

२८ “यस विवरणको अन्त यही हो। म दानिएलचाहिँ आफ्ना विचारहरूले गर्दा साह्रै आत्तिएँ अनि मेरो अनुहारको रङ्‌ग उड्‌यो तर मैले यो कुरा आफ्नो मनमै राखेँ।”

८ राजा बेलसजरको+ शासनको तेस्रो वर्षमा म दानिएलले एउटा अर्को दर्शन* देखेँ।+ २ म सुसन*+ नाम गरेको किल्लामा* थिएँ, जुन एलाम प्रान्तमा थियो।+ मैले दर्शन हेर्दै गर्दा म उलै नहरको छेउमा थिएँ। ३ मैले आफ्नो नजर उठाएर हेरेँ अनि हेर! त्यहाँ एउटा थुमा+ नहरको अगाडि उभिरहेको थियो अनि त्यसका दुई वटा सिङ थिए।+ ती सिङ लामा-लामा थिए। तर एउटा सिङ अर्कोभन्दा अझै लामो थियो अनि त्यो सिङ पछि उम्रेको थियो।+ ४ अनि थुमाले पश्‍चिम, उत्तर र दक्षिणतिर सिङले हान्दै गरेको मैले देखेँ अनि कुनै पनि जङ्‌गली जनावर त्यसको अगाडि टिक्न सकेन। त्यसको हातबाट* बचाउन सक्ने कोही पनि थिएन।+ त्यसलाई जे गर्न मन लाग्थ्यो, त्यही गर्थ्यो अनि आफैलाई उच्च पार्थ्यो।

५ मैले हेर्दै गर्दा पश्‍चिमतिरबाट एउटा बोका+ आइरहेको देखेँ अनि त्यो जमिनमा कतै पनि नछोई पूरै पृथ्वीलाई पार गर्दै माथि-माथिबाट आइरहेको थियो। अनि त्यसका आँखाहरूको बीचमा एउटा सिङ थियो, जुन प्रस्टै देखिन्थ्यो।+ ६ त्यो बोका दुई वटा सिङ भएको थुमातिर आउँदै थियो, जसलाई नहरको अगाडि उभिरहेको मैले देखेको थिएँ। त्यो असाध्यै रिसाएर त्यस थुमातिर दौडँदै आइरहेको थियो।

७ त्यो बोका अघि बढ्‌दै थुमाको नजिकै आइपुगेको मैले देखेँ; त्यो असाध्यै रिसाएको थियो। त्यसले थुमालाई आक्रमण गरेर त्यसका दुवै सिङ भाँचिदियो। त्यसको सामना गर्न त्यस थुमासित बल थिएन। त्यसले थुमालाई भुईँमा पछारिदियो अनि कुल्चीमिल्ची गऱ्‍यो। त्यसको हातबाट थुमालाई छुटाउन सक्ने कोही थिएन।

८ तब त्यस बोकाले आफूलाई अत्यन्तै उच्च पाऱ्‍यो। तर त्यो शक्‍तिशाली हुनेबित्तिकै त्यसको ठूलो सिङ भाँचियो। अनि त्यसको ठाउँमा प्रस्टै देखिने अर्को चार वटा सिङ उम्रिए र ती सिङहरू पृथ्वीको चारै दिशातिर* फर्केका थिए।+

९ ती सिङहरूमध्ये एउटाबाट अर्को एउटा सानो सिङ उम्रियो। त्यो दक्षिणतर्फ, पूर्वतर्फ अनि सुन्दर भूमितर्फ शक्‍तिशाली हुँदै गयो।+ १० त्यो अत्यन्तै शक्‍तिशाली हुँदै गयो र स्वर्गको सेनासम्मै पुग्यो। त्यसले स्वर्गका केही सेनालाई र केही तारालाई पृथ्वीमा झाऱ्‍यो र तिनीहरूलाई कुल्चीमिल्ची गऱ्‍यो। ११ त्यसले आफूलाई उच्च तुल्यायो अनि प्रधान-सेनापतिलाई समेत चुनौती दियो र नियमित रूपमा चढाइने बलि तिनीबाट खोसियो अनि तिनको स्थापित पवित्र स्थानलाई* तल झारियो।+ १२ अपराधको कारणले सेना र नियमित रूपमा चढाइने बलि त्यसको हातमा सुम्पिइयो। त्यसले सत्यलाई पृथ्वीमा फ्याँकिरह्‍यो अनि त्यसले गरेको काममा त्यो सफल भयो।

१३ मैले एक पवित्र जनले कुरा गरिरहेको सुनेँ। तिनलाई अर्का पवित्र जनले सोधे: “नियमित रूपमा चढाइने बलि अनि अपराधको दर्शन कहिलेसम्म चलिरहन्छ,+ जसको कारण पवित्र ठाउँ र सेनालाई कुल्चीमिल्ची गर्न दिइयो?” १४ तिनले मलाई भने: “दुई हजार तीन सय साँझ र बिहान नबितुन्जेल। तब पवित्र ठाउँलाई निश्‍चय नै पहिलाजस्तै ठीक अवस्थामा ल्याइनेछ।”

१५ म दानिएल दर्शन हेर्दै थिएँ र त्यसलाई बुझ्ने कोसिस गर्दै थिएँ। तब अचानक मेरो अगाडि मानिसजस्तो देखिने कोही उभिरहेको देखेँ। १६ त्यसपछि मैले उलैको+ बीचबाट एक जना मानिसको आवाज सुनेँ अनि तिनले भने: “गब्रिएल,+ त्यस मानिसले देखेको कुराको अर्थ उसलाई बताइदेऊ।”+ १७ अनि म उभिरहेको ठाउँमा तिनी आए। तर मलाई असाध्यै डर लाग्यो र भुईँमा घोप्टो परेँ। तिनले मलाई भने: “हे मानिसको छोरा! यो दर्शन अन्तको दिनको लागि हो भनेर बुझ।”+ १८ तिनी मसँग बोल्दै गर्दा म भुईँसम्मै घोप्टो परेर निदाएँ। त्यसैले तिनले मलाई छोए र म पहिला जहाँ उभिरहेको थिएँ, त्यहीँ उभिन लगाए।+ १९ तिनले भने: “परमेश्‍वरको क्रोधको दिनको अन्तमा के हुनेछ, म तिमीलाई बताउँछु किनभने यो दर्शन अन्तको दिनको तोकिएको समयको लागि हो।+

२० “तिमीले देखेको दुई वटा सिङ भएको थुमा मादी र फारसका राजाहरू हुन्‌।+ २१ रौँ नै रौँ भएको बोकाचाहिँ ग्रीसको राजा हो;+ त्यसका आँखाहरूको बीचमा भएको ठूलो सिङ पहिलो राजा हो।+ २२ त्यो भाँचिएको सिङको सट्टामा उम्रेका चार वटा सिङचाहिँ+ चार राज्य हुन्‌, जो त्यस राज्यबाट खडा हुनेछन्‌। तर यी राज्यहरू पहिलो राज्यजति शक्‍तिशाली हुनेछैनन्‌।

२३ “ती राज्यहरूको पछिल्ला दिनहरूमा जब अपराधीहरूको अपराधले सीमा नाघ्छ, तब एउटा क्रूर शासक देखा पर्नेछ, जसले बुझ्न नसकिने कुराहरूसमेत बुझ्छ।* २४ ऊ शक्‍तिशाली हुनेछ तर आफ्नै बलले होइन। उसले घोर विध्वंस मच्चाउनेछ अनि ऊ आफ्नो हरेक काममा सफल हुनेछ। उसले शक्‍तिशाली व्यक्‍तिहरूलाई अनि पवित्र जनहरूलाई पनि नाश गर्नेछ।+ २५ उसले छल गर्दै धोका दिनेछ र सफल हुनेछ अनि उसले मनमनै आफूलाई उच्च पार्नेछ। सुरक्षाको समयमा* उसले थुप्रैलाई नाश गर्नेछ। ऊ सेनापतिहरूका सेनापतिविरुद्ध समेत खडा हुनेछ। तर मानिसको हातविना नै उसलाई ढालिनेछ।

२६ “दर्शनमा साँझ र बिहानको विषयमा बताइएको कुरा सत्य हो। तर तिमीले यो दर्शन गोप्य राख्नुपर्छ किनभने यो धेरै समयपछि पूरा हुनेछ।”+

२७ तर म दानिएल लखतरान भएँ अनि केही दिन बिरामी परेँ।+ अनि म उठेँ र राजाको काम गर्न थालेँ।+ तर मैले देखेको कुराले गर्दा म अक्क न बक्क भएँ। मैले देखेको दर्शन कसैले बुझेन।+

९ आहासुरसका छोरा दाराको+ शासनको पहिलो वर्षमा जो मादीहरूको वंशका थिए र जसलाई कल्दियालीहरूको राज्यको राजा बनाइएको थियो,+ २ तिनको शासनको पहिलो वर्षमा म दानिएलले पुस्तकहरूको* अध्ययन गरेर के थाह पाएँ भने यहोवा परमेश्‍वरले भविष्यवक्‍ता यर्मियालाई बताउनुभएअनुसारै यरुसलेम+ ७० वर्षसम्म उजाड रहनेछ।+ ३ त्यसैले मैले साँचो परमेश्‍वर यहोवातिर आफ्नो अनुहार फर्काएर उहाँलाई पुकारेँ; साथै मैले भाङ्‌ग्रा ओढेँ, आफैमाथि खरानी छर्केँ र उपवास बसेँ।+ ४ मैले मेरा परमेश्‍वर यहोवालाई प्रार्थना गरेँ र पाप स्विकार्दै यसो भनेँ:

“हे साँचो परमेश्‍वर यहोवा, जो महान्‌ र आश्‍चर्यजनक कामहरू गर्ने परमेश्‍वर हुनुहुन्छ, तपाईँ आफ्नो करार सधैँ पूरा गर्नुहुन्छ। अनि तपाईँलाई प्रेम गर्ने र तपाईँको आज्ञा पालन गर्नेहरूलाई+ अटल प्रेम* देखाउनुहुन्छ।+ ५ हामीले पाप गरेका छौँ, गल्ती गरेका छौँ, दुष्ट काम गरेका छौँ र विद्रोह गरेका छौँ+ अनि तपाईँका आज्ञाहरू र तपाईँका नियमहरूबाट तर्केका छौँ। ६ तपाईँका सेवकहरू अर्थात्‌ तपाईँका भविष्यवक्‍ताहरूको कुरा हामीले सुनेनौँ,+ जसले हाम्रा राजाहरूलाई, भारदारहरूलाई, पुर्खाहरूलाई र देशका सबै मानिसलाई तपाईँ के चाहनुहुन्छ भनी तपाईँको नाममा बताएका थिए। ७ हे यहोवा, तपाईँ न्यायी हुनुहुन्छ तर हाम्रो अनुहार भने लाजले ढाकिएको छ, जस्तो कि आजका दिनहरूमा भएको छ। यहुदाका मानिसहरू, यरुसलेमका बासिन्दाहरू, हो, सारा इस्राएलीहरू, जो टाढा र नजिकका ती सबै ठाउँमा छन्‌, जहाँ तपाईँले तिनीहरूलाई तितरबितर पार्नुभएको छ, तिनीहरू सबै लज्जित भएका छन्‌ किनकि तिनीहरूले तपाईँलाई विश्‍वासघात गरेका छन्‌।+

८ “हे यहोवा! हामी अनि हाम्रा राजाहरू, भारदारहरू र पुर्खाहरू सबै लज्जित भएका छौँ किनकि हामीले तपाईँविरुद्ध पाप गरेका छौँ। ९ यहोवा हाम्रा परमेश्‍वर कृपालु र क्षमा गर्ने परमेश्‍वर हुनुहुन्छ+ तर हामीले उहाँको विद्रोह गरेका छौँ।+ १० यहोवा हाम्रा परमेश्‍वरको स्वर हामीले सुनेनौँ, उहाँले आफ्ना सेवकहरू अर्थात्‌ आफ्ना भविष्यवक्‍ताहरूमार्फत दिनुभएका आज्ञाहरू हामीले पालन गरेनौँ।+ ११ सबै इस्राएलीले तपाईँको व्यवस्था उल्लङ्‌घन गरेका छन्‌; तपाईँको स्वर नसुनी तिनीहरू तर्केर गएका छन्‌। त्यसकारण तपाईँले शपथ खाएअनुसारै हामीलाई सराप दिनुभएको छ, जुन शपथबारे साँचो परमेश्‍वरका सेवक मोसाको व्यवस्थामा लेखिएको थियो।+ हामीले तपाईँविरुद्ध पाप गरेकै हौँ। १२ हामीमाथि ठूलो विपत्ति ल्याएर उहाँले हामीविरुद्ध र हाम्रा शासकहरूविरुद्ध* बोल्नुभएको कुरा पूरा गर्नुभएको छ।+ यरुसलेममाथि जति ठूलो विपत्ति आइपऱ्‍यो, त्यति ठूलो विपत्ति त आकाशमुनि पहिला कहिल्यै आइपरेको थिएन।+ १३ मोसाको व्यवस्थामा लेखिएअनुसारै यी सबै विपत्ति हामीमाथि आइपरे।+ तैपनि आफ्नो खराब मार्गबाट फर्केर+ अनि उहाँको सत्यलाई बुझेर* यहोवा हाम्रा परमेश्‍वरको निगाह पाउन हामीले उहाँसित बिन्ती गरेनौँ।

१४ “यहोवा परमेश्‍वरले भने यी सबै हेरिरहनुभएको थियो र उहाँले हामीमाथि विपत्ति ल्याउनुभयो किनकि यहोवा हाम्रा परमेश्‍वर सधैँ सही काम गर्नुहुन्छ। तैपनि हामीले उहाँको स्वर सुनेनौँ।+

१५ “आफ्नो पराक्रमी हातले आफ्ना मानिसहरूलाई मिश्रबाट* छुटाएर ल्याउनुहुने+ र आजको दिनसम्मै आफ्नो नाम कायम राख्नुहुने+ हे यहोवा हाम्रा परमेश्‍वर, हामीले पाप गरेका छौँ अनि दुष्ट काम गरेका छौँ। १६ हे यहोवा, तपाईँ जो सधैँ असल काम गर्नुहुन्छ,+ बिन्ती छ, तपाईँको पवित्र डाँडा, तपाईँको सहर यरुसलेममाथिको तपाईँको रिस मरोस्‌ र तपाईँको क्रोध शान्त होस्‌ किनकि हाम्रा पाप र हाम्रा पुर्खाहरूको अपराधले गर्दा वरपरका सबै मानिससामु यरुसलेम सहर र तपाईँका मानिसहरू निन्दाको पात्र भएका छन्‌।+ १७ हे हाम्रा परमेश्‍वर यहोवा, तपाईँको सेवकको प्रार्थना र अन्तरबिन्ती सुन्‍नुहोस्‌ र आफ्नै लागि भए पनि उजाड भएको आफ्नो पवित्र स्थानमाथि*+ आफ्नो अनुहारको ज्योति चम्काउनुहोस्‌।+ १८ हे मेरा परमेश्‍वर, सुन्‍नुहोस्‌! आँखा उघार्नुहोस्‌ र हाम्रो दयनीय अवस्था हेर्नुहोस्‌, तपाईँको नामले चिनिएको सहरलाई हेर्नुहोस्‌। हामीले असल काम गरेकोले होइन बरु तपाईँ अत्यन्तै कृपालु परमेश्‍वर हुनुभएकोले हामीले तपाईँलाई पुकारेका हौँ।+ १९ हे यहोवा, सुन्‍नुहोस्‌! हे यहोवा, हामीलाई क्षमा गर्नुहोस्‌!+ हे यहोवा, हाम्रो बिन्ती सुनेर हामीलाई बचाउनुहोस्‌! हे मेरा परमेश्‍वर, आफ्नै लागि भए पनि ढिलो नगर्नुहोस्‌ किनकि तपाईँको सहर र तपाईँका मानिसहरू तपाईँको नामले चिनिएका छन्‌।”+

२० मैले प्रार्थना गरिरहेको बेला अनि आफ्नो र आफ्ना मानिस इस्राएलीहरूको पाप स्विकारिरहेको बेला अनि मेरा परमेश्‍वरको पवित्र डाँडामाथि निगाह देखाउन मेरा परमेश्‍वर यहोवालाई बिन्ती चढाइरहेको बेला,+ २१ हो, मैले प्रार्थना गरिरहेकै बेला गब्रिएल,+ जसलाई मैले पहिला पनि दर्शनमा* देखेको थिएँ,+ मकहाँ आए। त्यसबेला म साह्रै लखतरान भएको थिएँ र साँझको भेटी चढाउने बेला भएको थियो। २२ तिनले मलाई यसो भनेर बुझाए:

“हे दानिएल, म तिमीलाई सबै कुरा बुझ्ने अन्तर्दृष्टि* र समझ दिन आएको हुँ। २३ तिमीले बिन्ती गर्न थालेपछि एउटा सन्देश दिइयो र म तिमीलाई त्यो सन्देश सुनाउन आएको हुँ। किनकि तिमी अतिप्रिय* छौ।+ त्यसैले मेरो कुरा सुन र दर्शन बुझ।

२४ “तिम्रा मानिसहरू र तिम्रो पवित्र सहरको निम्ति+ अपराधको अन्त गर्न, पाप नामेट पार्न,+ गल्तीको प्रायश्‍चित गर्न,+ सदाको लागि न्याय स्थापना गर्न,+ दर्शन र भविष्यवाणीमा छाप लगाउन+ अनि महापवित्र स्थानलाई अभिषेक गर्नको लागि ७० हप्ता* तोकिएको छ। २५ यो कुरा जान र बुझ, यरुसलेमको पुनर्स्थापना र पुनर्निर्माण गर्ने वचन निस्केको समयदेखि+ मसीह*+ अर्थात्‌ अगुवाइ लिने+ जन देखा पर्ने बेलासम्म ७ हप्ता र ६२ हप्ता बित्नेछ।+ चोक र नहरसहित यरुसलेमको पुनर्स्थापना र पुनर्निर्माण गरिनेछ। तर यो सब विपद्‌को समयमा गरिनेछ।

२६ “अनि ६२ हप्तापछि मसीहलाई मारिनेछ+ र तिनीसित केही पनि बाँकी रहनेछैन।+

“अनि आउँदै गरेका सेनापतिको सेनाले त्यस सहरलाई र पवित्र ठाउँलाई नाश गर्नेछ।+ बाढीले त्यसलाई नाश गर्नेछ। अनि त्यहाँ अन्तसम्मै युद्ध हुनेछ। परमेश्‍वरले त्यसलाई नाश गर्ने निश्‍चय गरिसक्नुभएको छ।+

२७ “अनि धेरैका निम्ति तिनले करारलाई एक हप्तासम्म कायम राख्नेछन्‌ अनि त्यस हप्ताको बीचमा तिनले बलिदान र भेटीको अन्त गर्नेछन्‌।+

“अनि विनाश गर्ने व्यक्‍ति अशुद्ध कुराको पखेटामा सवार भएर आउनेछन्‌।+ अनि जुन कुरा परमेश्‍वरले निश्‍चय गरिसक्नुभएको छ, त्यो कुरा उजाड रहेको ठाउँमाथि पनि आइपर्नेछ, जबसम्म त्यो नामेट हुँदैन।”

१० फारसका राजा कोरेसको+ शासनको तेस्रो वर्षमा दानिएल, जसलाई बेल्तसजर+ नाम दिइएको थियो, तिनले एउटा सन्देश पाए। अनि त्यो सन्देश साँचो थियो र त्यो एउटा ठूलो लडाइँबारे थियो। तिनले सन्देश राम्ररी बुझे र आफूले देखेको कुराको समझ पाए।

२ ती दिनहरूमा म दानिएलले शोक गरिरहेको+ तीन हप्ता भइसकेको थियो। ३ मैले मीठामीठा खानेकुरा केही खाइनँ अनि मासु र मद्य पनि मेरो मुखमा परेन। मैले तीन हप्तासम्म तेल पनि घसिनँ। ४ पहिलो महिनाको २४ औँ दिनमा म महानदी टिग्रिसको* किनारमा हुँदा+ ५ मैले मास्तिर हेरेँ अनि मलमलको लुगा लगाएको+ र कम्मरमा उफजको सुनको पेटी बाँधेको एक जना मानिस देखेँ। ६ तिनको शरीर क्रिसोलाइटजस्तै* थियो,+ तिनको अनुहार बिजुलीजस्तै चम्किलो थियो, तिनको आँखा बलिरहेको राँकोजस्तै थियो, तिनको हातखुट्टा टल्काइएको तामाजस्तै थियो+ अनि तिनको आवाज भीडको आवाजजस्तो सुनिन्थ्यो। ७ म दानिएलले मात्र त्यो दर्शन* देखेँ; मसँगै भएका मानिसहरूले चाहिँ त्यो दर्शन देखेनन्‌।+ तैपनि तिनीहरूलाई डरले छोप्यो अनि तिनीहरू त्यहाँबाट भागे र लुके।

८ त्यसपछि म एक्लै भएँ र त्यो महादर्शन देखेपछि म साह्रै लखतरान र मरेतुल्य भएँ; म शिथिल भएँ।+ ९ अनि तिनले बोलिरहेको आवाज मैले सुनेँ तर तिनले बोल्दै गर्दा म भुईँसम्मै घोप्टो परेर निदाएँ।+ १० त्यति नै बेला कसैको हातले मलाई छोयो+ अनि हात र घुँडाको बलमा उभिन घचघच्यायो। ११ तब तिनले मलाई भने:

“हे अतिप्रिय* मानिस दानिएल,+ मैले भन्‍न लागेको कुरा सुन। तिमी त्यहीँ उभिऊ किनकि मलाई तिमीकहाँ पठाइएको हो।”

तिनले त्यसो भनिसकेपछि म थरथर काँप्दै उभिएँ।

१२ त्यसपछि तिनले मलाई भने: “हे दानिएल, नडराऊ।+ तिमीले जुन दिनदेखि यी कुराहरू बुझ्न मन लगायौ र परमेश्‍वरसामु आफूलाई नम्र तुल्यायौ, त्यही दिनदेखि तिम्रो कुराको सुनुवाइ भएको छ। म तिम्रै लागि आएको हुँ।+ १३ तर फारस राज्यका राजकुमार+ २१ दिनसम्म मेरो विरुद्धमा खडा भए। तर पछि माइकल,*+ जो प्रमुख राजकुमारहरूमध्ये एक हुन्‌,* मलाई मदत गर्न आए। अनि म फारसका राजाहरूको छेउमै रहेँ। १४ म तिम्रा मानिसहरूलाई अन्तको दिनमा के हुनेछ भनेर बताउन आएको हुँ+ किनभने यो दर्शन भविष्यमा हुने कुराबारे हो।”+

१५ तिनले यी कुराहरू मलाई भनिसकेपछि मैले आफ्नो शिर निहुऱ्‍याएँ र म केही बोल्न नसक्ने भएँ। १६ त्यसपछि मानिसजस्तै देखिने ती व्यक्‍तिले मेरो ओठमा छोए+ अनि मैले मुख खोलेँ र मेरो अगाडि उभिरहेका ती मानिसलाई भनेँ: “हे मेरा प्रभु, मैले देखेको दर्शनले गर्दा म काँपिरहेको छु। ममा तागत नै छैन।+ १७ त्यसैले म हजुरको दासले मेरा प्रभुसित कसरी कुरा गर्न सक्छु?+ म शिथिल भएको छु, ममा सासै छैन।”+

१८ अनि मानिसजस्तै देखिने ती व्यक्‍तिले मलाई फेरि छोए र बल दिए।+ १९ अनि तिनले भने: “हे अतिप्रिय* मानिस,+ नडराऊ।+ तिमीलाई शान्ति होस्‌।+ बलियो होऊ, हो, बलियो होऊ।” तिनले मसँगै बोल्दै गर्दा मैले बल पाएँ र भनेँ: “हे प्रभु बोल्नुहोस्‌ किनकि तपाईँले मलाई बल दिनुभएको छ।”

२० त्यसपछि तिनले भने: “म तिमीकहाँ किन आएँ, तिमीलाई थाह छ? अब म फारसका राजकुमारसँग लडाइँ गर्न फर्कन्छु।+ म गएपछि ग्रीसका राजकुमार आउनेछन्‌। २१ तर सत्यको पुस्तकमा लेखिएको कुरा म तिमीलाई बताउँछु। यी कुरामा मलाई तिम्रा राजकुमार+ माइकलले+ जत्तिको साथ अरू कसैले दिएको छैन।

११ “त्यसपछि म तिनलाई मदत गर्न र तिनलाई बलियो पार्न* आएँ। त्यतिखेर मादी दाराको शासनकालको पहिलो वर्ष चलिरहेको थियो।+ २ म अब तिमीलाई सत्य कुरा बताउँछु:

“हेर! फारसमा अर्को तीन जना राजा खडा हुनेछन्‌। चौथो राजाले अरूले भन्दा धेरै धनसम्पत्ति बटुल्नेछन्‌। अनि प्रशस्त धनसम्पत्ति बटुलेर शक्‍तिशाली भएपछि तिनले सबैलाई ग्रीस राज्यविरुद्ध खडा गर्नेछन्‌।+

३ “तब एक शक्‍तिशाली राजा खडा हुनेछन्‌, जसले ठूलो राजसत्तासहित शासन गर्नेछन्‌।+ तिनले आफूलाई जे गर्न मन पर्छ, त्यही गर्नेछन्‌। ४ तर तिनी खडा भएपछि तिनको राज्य टुक्राटुक्रा हुनेछ र पृथ्वीको चारै दिशामा* बाँडिनेछ।+ तर त्यो तिनका सन्तानले पाउनेछैनन्‌ र ती राज्यहरू तिनको जति शक्‍तिशाली हुनेछैनन्‌ किनकि तिनको राज्य उखेलिनेछ र तिनका सन्तानबाहेक अरूलाई नै दिइनेछ।

५ “अनि तिनका राजकुमारहरूमध्ये* एक अर्थात्‌ दक्षिणका राजा शक्‍तिशाली हुनेछन्‌। तर अर्को एक जना तिनीभन्दा अझै शक्‍तिशाली हुनेछन्‌ र तिनको भन्दा ठूलो अधिकारसहित शासन गर्नेछन्‌।

६ “केही वर्षपछि तिनीहरूले आपसमा गठबन्धन कायम गर्नेछन्‌* अनि बराबरीको सम्बन्ध कायम गर्न दक्षिणका राजाकी छोरी उत्तरका राजाकहाँ जानेछिन्‌। तर उनको शक्‍ति टिक्नेछैन। राजा आफै पनि शक्‍तिहीन हुनेछन्‌। उनी अरूको हातमा सुम्पिइनेछिन्‌। उनी, उनलाई ल्याउनेहरू, उनलाई जन्माउने अनि ती दिनहरूमा उनलाई शक्‍तिशाली बनाउने सबैलाई अरूको हातमा सुम्पिइनेछ। ७ तब त्यस छोरीका जराबाट पलाएका टुसाहरूमध्ये एक जना तिनको* ठाउँमा खडा हुनेछन्‌। तिनी फौजमाथि जाइलाग्नेछन्‌ र उत्तरका राजाको किल्लालाई आक्रमण गर्नेछन्‌। तिनी उनीहरूसित लड्‌नेछन्‌ र विजय हासिल गर्नेछन्‌। ८ उनीहरूका देवताहरू, धातुका मूर्तिहरू,* सुन र चाँदीका बहुमूल्य सरसामानहरू र कैदीहरूलाई लिएर तिनी मिश्रमा आउनेछन्‌। तिनले केही वर्ष उत्तरका राजालाई आक्रमण गर्नेछैनन्‌, ९ जो दक्षिणका राजाको राज्यमाथि जाइलाग्नेछन्‌ तर फेरि आफ्नै भूमिमा फर्कनेछन्‌।

१० “तिनका* छोराहरूले युद्धको तयारी गर्नेछन्‌ र ठूलो सेना तयार पार्नेछन्‌। तिनीहरूमध्ये एक जना* निश्‍चय नै अघि बढ्‌नेछन्‌ र तिनको सेनाले उर्लेको बाढीले झैँ बगाउनेछ। तर तिनी फर्कनेछन्‌ र आफ्नो किल्लामा नपुगुन्जेल युद्ध गरिरहनेछन्‌।

११ “तब दक्षिणका राजा रिसले चूर हुनेछन्‌ र तिनीसित अर्थात्‌ उत्तरका राजासित युद्ध गर्न निस्कनेछन्‌। तिनले ठूलो भीड जम्मा गर्नेछन्‌ तर त्यो भीड ती राजाको* हातमा सुम्पिइनेछ। १२ तब त्यो भीडलाई लगिनेछ अनि तिनको मन घमन्डले फुल्नेछ अनि तिनले हजारौँ-हजारलाई ढाल्नेछन्‌। तर तिनले आफ्नो शक्‍तिको उपयोग गर्नेछैनन्‌।

१३ “अनि उत्तरका राजा फर्किनेछन्‌ र पहिलेको भन्दा अझै ठूलो भीड जम्मा गर्नेछन्‌। केही समयपछि अर्थात्‌ केही वर्षपछि तिनी हातहतियारसहितको ठूलो सेना लिएर अवश्‍य आउनेछन्‌। १४ ती दिनहरूमा दक्षिणका राजाविरुद्ध धेरै जना खडा हुनेछन्‌।

“अनि तिम्रा मानिसहरूमाझ भएका खुँखार मानिसहरू* बहकाउमा परेर दर्शन* पूरा गर्ने कोसिस गर्नेछन्‌ तर तिनीहरूले ठेस खानेछन्‌।

१५ “तब उत्तरका राजा आउनेछन्‌ र किल्लाले घेरिएको सहरमा घेरा-मचान* बनाएर त्यसलाई कब्जा गर्नेछन्‌। अनि दक्षिणका राजाको सेना र उनका वीर मानिसहरू टिक्न सक्नेछैनन्‌। तिनको सामना गर्न उनीहरूसित शक्‍ति बाँकी रहनेछैन। १६ उनको* विरुद्धमा आउनेले आफूलाई जे गर्न मन पर्छ, त्यही गर्नेछन्‌ अनि तिनको अगाडि कोही खडा हुन सक्नेछैन। तिनी सुन्दर भूमिमा खडा हुनेछन्‌+ र तिनीसित विनाश गर्ने शक्‍ति हुनेछ। १७ आफ्नो राज्यको भएभरको शक्‍ति लिएर तिनी दृढ अठोटसहित आउनेछन्‌ र तिनीसित बराबरीको सम्बन्ध कायम गरिनेछ* र तिनी सफल हुनेछन्‌। अनि स्त्रीहरूकी छोरीको पतन गर्ने अधिकार तिनलाई दिइनेछ। उनी खडा भइरहन सक्नेछैनन्‌ र उनी तिनकी भइरहनेछैनन्‌। १८ तिनले फेरि आफ्नो नजर तटवर्ती इलाकातिर फर्काउनेछन्‌ र थुप्रैलाई कब्जा गर्नेछन्‌। तब एक जना सेनापति आउनेछन्‌ र तिनको हातबाट आफूले सहनुपरेको बेइज्जतीको अन्त गरिदिनेछन्‌। ती सेनापतिको फेरि बेइज्जती हुनेछैन किनभने ती सेनापतिले उल्टै तिनको बेइज्जत गर्नेछन्‌। १९ तब तिनले* आफ्नै देशको किल्लातिर फर्केर हेर्नेछन्‌ अनि तिनी ठेस लागेर लड्‌नेछन्‌ र बेपत्ता हुनेछन्‌।

२० “तब तिनको ठाउँमा एक जना खडा हुनेछन्‌, जसले कर असुल गर्ने मानिसलाई* वैभवशाली राज्यका इलाकाहरूमा पठाउनेछन्‌। तर केही दिनमै तिनको अन्त हुनेछ तर तिनको अन्त न क्रोधले हुनेछ न त युद्धले नै।

२१ “तब तिनको ठाउँमा हेला गरिएका* एक जना खडा हुनेछन्‌ तर तिनीहरूले तिनलाई राजसी गौरव दिनेछैनन्‌। मानिसहरूले सुरक्षित महसुस गरिरहेको समयमा* तिनी आउनेछन्‌ र चिप्ला कुरा गरेर* राज्य हात पार्नेछन्‌। २२ तिनले बाढीजस्तै उर्लेर आउने सेनालाई पराजित गर्नेछन्‌ र त्यसलाई कुल्चनेछन्‌। करारका+ अगुवालाई+ पनि तिनले कुल्चनेछन्‌। २३ उनीहरूले तिनीसित गठबन्धन कायम गरेकोले तिनले छल गर्नेछन्‌ र अझ उँभो लाग्नेछन्‌ अनि सानो राष्ट्रको सहायताले तिनी शक्‍तिशाली बन्‍नेछन्‌। २४ मानिसहरूले सुरक्षित महसुस गरिरहेको समयमा* तिनी प्रान्तको सबैभन्दा सम्पन्‍न भागमा जानेछन्‌ र आफ्ना बाजेबराजुले कहिल्यै नगरेको काम गर्नेछन्‌। उनले लुटका मालसामान बाँड्‌नेछन्‌ अनि किल्लाले घेरिएका ठाउँहरूको विरुद्धमा षड्‌यन्त्र रच्नेछन्‌ तर केही समयको लागि मात्र।

२५ “तब तिनी आफ्नो भएभरको शक्‍ति र साहस जुटाएर ठूलो सेनासहित दक्षिणका राजाविरुद्ध उठ्‌नेछन्‌ अनि दक्षिणका राजाले पनि अत्यन्तै विशाल सेना जम्मा गर्नेछन्‌ र युद्ध गर्न तम्तयार हुनेछन्‌। तिनी टिक्नेछैनन्‌ किनभने तिनीहरूले तिनको विरुद्धमा षड्‌यन्त्र रच्नेछन्‌। २६ तिनकै स्वादिष्ठ भोजन खानेहरूले तिनको पतन गराउनेछन्‌।

“अनि तिनको सेनाचाहिँ परास्त हुनेछ* र धेरै जना लडाइँमा मारिनेछन्‌।

२७ “यी दुई राजाको मनको झुकाव खराब कामतर्फ नै हुनेछ। तिनीहरूले एउटै टेबुलमा बसेर एकअर्कासित झूट बोल्नेछन्‌। तर तिनीहरूलाई कुनै कुरामा सफलता मिल्नेछैन किनकि अन्तचाहिँ भविष्यमा तोकिएको समयमै हुनेछ।+

२८ “अनि तिनी प्रशस्त मालसामान लिएर आफ्नो भूमिमा फर्किनेछन्‌ र तिनको मन पवित्र करारको विरुद्धमा हुनेछ। तिनले आफ्नो योजनाअनुसार कदम चाल्नेछन्‌ र आफ्नो भूमिमा फर्किनेछन्‌।

२९ “तोकिएको समयमा तिनी फर्किनेछन्‌ र दक्षिणमाथि जाइलाग्नेछन्‌। तर यस पटक भने पहिलाजस्तो हुनेछैन ३० किनकि कित्तिमका जहाजहरू+ तिनको विरुद्धमा आउनेछन्‌ र तिनी हार मान्‍न बाध्य हुनेछन्‌।

“तिनी फर्किनेछन्‌ र पवित्र करारमाथि आफ्नो रिस पोख्नेछन्‌+ अनि त्यसविरुद्ध कदम चाल्नेछन्‌। तिनले फेरि आफ्नो ध्यान पवित्र करार तोड्‌नेहरूतर्फ मोड्‌नेछन्‌। ३१ अनि तिनको सेना तिनको पक्षमा लड्‌न खडा हुनेछ। तिनीहरूले पवित्र स्थान* र किल्लालाई अपवित्र पार्नेछन्‌+ अनि नियमित रूपमा चढाइने बलिलाई हटाउनेछन्‌।+

“अनि तिनीहरूले उजाड पार्ने घृणित कुरालाई खडा गर्नेछन्‌।+

३२ “अनि करारको विरुद्धमा दुष्ट काम गर्नेहरूलाई तिनले चिप्ला कुरा गरेर* धर्मत्यागतर्फ लैजानेछन्‌। तर आफ्ना परमेश्‍वरलाई चिन्‍ने मानिसहरू भने अडिग रहनेछन्‌ र तिनीहरूले कदम चाल्नेछन्‌। ३३ अन्तर्दृष्टि हुने मानिसहरूले+ धेरैलाई ज्ञान दिनेछन्‌। अनि तरबार, आगो, कैद र लुटपाटले गर्दा तिनीहरूले केही दिनको लागि ठेस खानेछन्‌। ३४ तर तिनीहरूले ठेस खाएपछि तिनीहरूलाई मदत गरिनेछ। अनि चिप्ला कुरा गरेर* तिनीहरूसित मिल्नेहरू थुप्रै हुनेछन्‌। ३५ अनि अन्तर्दृष्टि हुनेहरूमध्ये केहीले ठेस खानेछन्‌। तिनीहरूले गर्दा शुद्ध पार्ने काम होस्‌ अनि खार्ने र सफा गर्ने काम+ अन्तको दिनसम्मै चलिरहोस्‌ भनेर त्यसो हुनेछ। किनकि त्यो तोकिएको समयमा पूरा हुनेछ।

३६ “राजाले आफूलाई जे गर्न मन पर्छ, त्यही गर्नेछन्‌ अनि आफूलाई सबै देवताभन्दा माथि उचाल्नेछन्‌ र आफैलाई ठूलो ठान्‍नेछन्‌। ईश्‍वरहरूका पनि ईश्‍वरविरुद्ध+ तिनले छक्कलाग्दा कुराहरू गर्नेछन्‌। जबसम्म क्रोध प्रकट भइसक्दैन, तबसम्म तिनी सफल हुनेछन्‌ किनकि जे कुरा निश्‍चय गरिएको छ, त्यो पूरा हुनै पर्छ। ३७ आफ्ना पुर्खाहरूको ईश्‍वरको तिनले कुनै वास्ता गर्नेछैनन्‌; स्त्रीहरूको इच्छाको तिनले कदर गर्नेछैनन्‌ न त अरू कुनै देवताको नै कदर गर्नेछन्‌ तर तिनले आफूलाई सबैभन्दा माथि उचाल्नेछन्‌। ३८ बरु तिनले किल्लाका देवताको महिमा गर्नेछन्‌; सुन, चाँदी, अनमोल रत्न र अन्य बहुमूल्य कुराहरू चढाएर आफ्ना पुर्खाहरूले नचिनेका देवतालाई तिनले महिमा दिनेछन्‌। ३९ तिनले विदेशी देवतासित मिलेर* शक्‍तिशाली गढविरुद्ध कदम चाल्नेछन्‌। तिनले आफ्ना समर्थकहरूलाई* धेरै महिमा दिनेछन्‌ अनि तिनीहरूलाई थुप्रै मानिसमाथि शासन गर्ने अधिकार दिनेछन्‌। अनि तिनले दाम लिएर जमिन भाग लगाउनेछन्‌।

४० “अन्तको समयमा दक्षिणका राजा तिनीसित भिड्‌नेछन्‌* अनि उत्तरका राजा रथहरू, घोडचढीहरू अनि थुप्रै जहाज लिएर तिनीविरुद्ध जाइलाग्नेछन्‌। तिनी थुप्रै देशमा छिर्नेछन्‌ र बाढीजस्तै उर्लनेछन्‌। ४१ तिनी सुन्दर भूमिमा पनि छिर्नेछन्‌+ र थुप्रै देशलाई पराजित गर्नेछन्‌। तर यिनीहरूचाहिँ तिनको हातबाट फुत्कनेछन्‌: एदोम र मोआब अनि अम्मोनको मुख्य भाग। ४२ अनि तिनले थुप्रै देशविरुद्ध आफ्नो हात उठाइरहनेछन्‌। मिश्रसमेत तिनको हातबाट उम्कन पाउनेछैन। ४३ तिनले मिश्रमा लुकाएर राखिएका खजाना—सुन र चाँदी अनि त्यहाँका सबै बहुमूल्य कुरामाथि अधिकार गर्नेछन्‌। साथै लिबिया र इथियोपियाका मानिसहरू पनि तिनको पछि लाग्नेछन्‌।

४४ “तर पूर्वबाट अनि उत्तरबाट आएको खबर सुनेर तिनलाई छटपटी हुनेछ र तिनी रिसले चूर भएर धेरैलाई नाश गर्न र तिनीहरूको नामोनिसान मेट्‌न निस्किनेछन्‌। ४५ तिनले विशाल समुद्र र सुन्दर भूमिको पवित्र डाँडाको बीचमा आफ्नो शाही* पाल टाँग्नेछन्‌।+ अन्तमा तिनीमाथि विनाश आइपर्नेछ र तिनलाई मदत गर्ने कोही हुनेछैन।

१२ “त्यसबेला तिम्रा मानिसहरूको पक्ष लिने ती महान्‌ राजकुमार+ माइकल*+ खडा हुनेछन्‌। अनि यस्तो सङ्‌कटको समय आउनेछ, जुन राष्ट्रहरू बनेदेखि अहिलेसम्म कहिल्यै आएको छैन। त्यसबेला तिम्रा मानिसहरू, जसको नाम पुस्तकमा लेखिएको छ,+ तिनीहरू त्यस सङ्‌कटबाट उम्कनेछन्‌।+ २ अनि माटोमा मिलिसकेका थुप्रै मानिस ब्युँतनेछन्‌, तिनीहरूमध्ये कोही अनन्त जीवन पाउन र कोहीचाहिँ बेइज्जती र अनन्त घृणा सहन ब्युँतनेछन्‌।

३ “अन्तर्दृष्टि* भएकाहरू आकाश मण्डलको चमकजस्तै चम्किनेछन्‌ अनि थुप्रैलाई धार्मिकताको* बाटोमा डोऱ्‍याउनेहरूचाहिँ सदासर्वदा ताराजस्तै चम्किनेछन्‌।

४ “अनि हे दानिएल, तिमीले चाहिँ यी वचनहरू गोप्य राख र अन्तको समयसम्मको लागि त्यो पुस्तकमा छाप लगाएर बन्द गर।+ धेरै मानिस यताउता जानेछन्‌* र साँचो ज्ञान प्रशस्त हुनेछ।”+

५ त्यसपछि म दानिएलले त्यहाँ अर्को दुई जना उभिरहेको देखेँ, एक जना नदीको वारिपट्टि र अर्कोचाहिँ नदीको पारिपट्टि।+ ६ अनि एक जनाले मलमलको लुगा लगाएकालाई,+ जो पानीमाथि थिए, तिनलाई भने: “यी अचम्मका कुराहरूको अन्त हुन कति समय लाग्ला?” ७ त्यसपछि पानीमाथि भएका मानिस, जसले मलमलको लुगा लगाएका थिए, तिनले आफ्नो दायाँ र बायाँ हात स्वर्गतिर उठाउँदै सदा जीवित रहनुहुने परमेश्‍वरको नाममा शपथ खाएर यसो भनेको मैले सुनेँ:+ “यो तोकिएको एक काल, दुई काल र आधा कालको लागि* हुनेछ। अनि पवित्र जनहरूको शक्‍ति चकनाचुर हुन थामिएपछि+ यी सबै कुराको अन्त हुनेछ।”

८ मैले सुन्‍न त सुनेँ तर बुझिनँ।+ त्यसैले मैले यसो भनेँ: “हे प्रभु, यी कुराहरूको नतिजा कस्तो हुनेछ?”

९ त्यसपछि तिनले भने: “दानिएल, तिमी जाऊ किनभने यी वचनहरू अन्तको समयसम्मको लागि गोप्य राखिएका छन्‌ र छाप लगाएर बन्द गरिएका छन्‌।+ १० थुप्रैले आफूलाई शुद्ध पार्नेछन्‌, खार्नेछन्‌ र सफा पार्नेछन्‌।+ अनि दुष्टहरूचाहिँ दुष्ट काममै लागिरहनेछन्‌; तिनीहरू कसैले पनि यी वचनहरू बुझ्नेछैनन्‌। तर अन्तर्दृष्टि भएकाहरूले चाहिँ बुझ्नेछन्‌।+

११ “अनि नियमित रूपमा चढाइने बलि+ हटाइएदेखि र उजाड पार्ने घृणित कुरालाई खडा गरेदेखि+ १ हजार २ सय ९० दिन बित्नेछ।

१२ “आनन्दित होस्‌ त्यो मानिस, जो १ हजार ३ सय ३५ दिन अन्त नभएसम्म पर्खिरहन्छ!

१३ “तर तिमीचाहिँ अन्तसम्मै स्थिर भइरह। तिमीले विश्राम लिनेछौ तर तोकिएको समय आएपछि तिमी आफ्नो भाग पाउन* खडा हुनेछौ।”+

अर्थात्‌, बेबिलोनी साम्राज्यमा।

वा सम्भवतः “पालनपोषण गरिने थियो।”

यसको अर्थ हो, “परमेश्‍वर मेरो न्यायकर्ता हुनुहुन्छ।”

यसको अर्थ हो, “यहोवाले अनुग्रह देखाउनुभएको छ।”

यसको अर्थ “परमेश्‍वरजस्तो को छ?” हुन सक्छ।

यसको अर्थ हो, “यहोवाले मदत गर्नुभएको छ।”

अर्थात्‌, बेबिलोनी नाम।

वा “अन्तर्दृष्टि।”

शब्दावली हेर्नुहोस्‌।

अर्थात्‌, जोखना र ज्योतिषविद्यामा निपुण मानिसहरूलाई।

दा २:४ख देखि ७:२८ सम्म सुरुमा अरामी भाषामा लेखिएको थियो।

वा सम्भवतः “फोहोरको डङ्‌गुर; गोबरको थुप्रो।”

शब्दावली हेर्नुहोस्‌।

वा “युगौँयुगसम्म।”

वा “भट्टीमा पोलिएको (साँचोमा ढालिएको) माटोले।”

अर्थात्‌, आम मानिसहरूसित।

वा “कुनै जातिको।”

लगभग २७ मिटर (८८ फिट)। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

लगभग २.७ मिटर (८.८ फिट)। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

वा “बदनाम गरे।”

वा “उनीहरूप्रतिको तिनको धारणा बदलियो।”

वा सम्भवतः “फोहोरको डङ्‌गुर; गोबरको थुप्रो।”

शब्दावली हेर्नुहोस्‌।

अर्थात्‌, जोखना र ज्योतिषविद्यामा निपुण मानिसहरू।

अर्थात्‌ जोखना र ज्योतिषविद्यामा निपुण मानिसहरू।

यस रङ्‌गले राजघराना, वैभव र मानसम्मानलाई जनाउँथ्यो।

वा “योग्य मानिस।”

वा “आन्तरिक चेतना।”

वा सम्भवतः “र तिनीकहाँ कुनै पनि सङ्‌गीतकारलाई बोलाइएन।”

वा “दानिएलको बदनाम गर्ने।”

वा “सार्वभौमिकता।”

शब्दावली हेर्नुहोस्‌।

अर्थात्‌, साढे तीन कालको लागि।

शब्दावली हेर्नुहोस्‌।

वा “सुसा।”

वा “महलमा।”

वा “शक्‍तिबाट।”

शा., “आकाशका चारै बतासतिर।”

शब्दावली हेर्नुहोस्‌।

वा “जो छल गर्नमा पोख्त छ।”

वा सम्भवतः “चेतावनी नदिई।”

अर्थात्‌, पवित्र पुस्तकहरूको।

शब्दावली हेर्नुहोस्‌।

शा., “हाम्रो न्याय गर्ने हाम्रा न्यायकर्ताहरूविरुद्ध।”

वा “सत्यलाई बुझ्न अन्तर्दृष्टि हासिल गरेर।”

वा “इजिप्टबाट।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “आन्तरिक चेतना।”

वा “अत्यन्तै अनमोल; अत्यन्तै सम्मानित।”

यहाँ एक हप्ताले सात वर्षलाई जनाउँछ।

वा “अभिषिक्‍त जन।”

वा “हिद्देकेलको।”

एक किसिमको बहुमूल्य रत्न।

शब्दावली हेर्नुहोस्‌।

वा “अत्यन्तै अनमोल; अत्यन्तै सम्मानित।”

यसको अर्थ हो, “परमेश्‍वरजस्तो को छ?”

वा “जो पहिलो श्रेणीका राजकुमार हुन्‌।”

वा “अत्यन्तै अनमोल; अत्यन्तै सम्मानित।”

वा “तिनको लागि किल्लाजस्तै बन्‍न।”

शा., “आकाशका चारै बतासतिर।”

वा “सेनापतिहरूमध्ये।”

वा “आपसमा सन्धि गर्नेछन्‌।”

यसले दक्षिणका राजालाई जनाएको हुन सक्छ।

वा “धातु पगालेर बनाइएका मूर्तिहरू।”

यसले दक्षिणका राजालाई जनाएको हुन सक्छ।

शा., “तिनी।”

यसले दक्षिणका राजालाई जनाएको हुन सक्छ।

वा “लुटेराहरूका छोराहरू।”

शब्दावली हेर्नुहोस्‌।

शत्रुपक्षको पर्खालमा टाँसेर बनाइने ढिस्को।

यसले दक्षिणका राजालाई जनाएको हुन सक्छ।

वा “सन्धि गरिनेछ।”

यसले उत्तरका राजालाई जनाएको हुन सक्छ।

वा “काममा लगाउने मानिसलाई।”

वा “तुच्छ।”

वा सम्भवतः “चेतावनी नदिई।”

वा “छल गरेर।”

वा सम्भवतः “चेतावनी नदिई।”

शा., “तिनको सेनालाई बाढीले बगाउनेछ।”

शब्दावली हेर्नुहोस्‌।

वा “छल गरेर।”

वा “छल गरेर।”

वा “देवताको मदत पाएर।”

वा सम्भवतः “आफूले चिनेकाहरू सबैलाई।”

वा “सिङ जुधाउनेछन्‌।”

वा “भव्य।”

यसको अर्थ हो, “परमेश्‍वरजस्तो को छ?”

वा “आन्तरिक चेतना।”

शब्दावली हेर्नुहोस्‌।

वा “धेरै मानिसले यसलाई [अर्थात्‌, पुस्तकलाई] राम्ररी जाँच्नेछन्‌।”

अर्थात्‌, साढे तीन कालको लागि।

वा “तिम्रो लागि छुट्ट्याइएको ठाउँमा।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने