प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt १ समुएल १:१-३१:१३
  • १ समुएल

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • १ समुएल
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
पवित्र बाइबल नयाँ संसार अनुवाद
१ समुएल

पहिलो समुएल

१ एप्रैमको पहाडी इलाकाको रामाथैम-जोफिममा*+ एल्काना+ नाम गरेका एक जना मानिस बस्थे। तिनी एप्रैमका बासिन्दा थिए।+ तिनी यरोहामका छोरा, एलिहुका नाति, तोहुका पनाति र जुपका खनाति थिए। २ तिनका दुई जना पत्नी थिए; एउटीको नाम हन्‍ना र अर्कीको नाम पनिन्‍नाह थियो। पनिन्‍नाहका छोराछोरी थिए तर हन्‍नाका भने थिएनन्‌। ३ एल्काना सेनाहरूका यहोवाको उपासना गर्न अनि उहाँको निम्ति बलि चढाउन हरेक वर्ष आफ्नो सहरदेखि सिलोसम्म जान्थे।+ सिलोमा एलिका दुई जना छोरा होप्नि र पिनहास+ पुजारीको रूपमा यहोवा परमेश्‍वरको सेवा गर्थे।+

४ एकदिन एल्कानाले बलि चढाइसकेपछि त्यस बलिको केही भाग आफ्नी पत्नी पनिन्‍नाह र उनका सबै छोराछोरीलाई दिए।+ ५ अनि तिनले हन्‍नालाई चाहिँ विशेष भाग दिए किनभने तिनी हन्‍नालाई असाध्यै माया गर्थे। तर यहोवा परमेश्‍वरले हन्‍नालाई सन्तान भने दिनुभएको थिएन।* ६ त्यति मात्र होइन, हन्‍नाकी सौताले उनको दिनरात खिल्ली उडाएर उनलाई दुःख दिइरहन्थिन्‌ किनभने यहोवा परमेश्‍वरले हन्‍नालाई सन्तान दिनुभएको थिएन। ७ हरेक वर्ष हन्‍ना यहोवा परमेश्‍वरको मन्दिरमा* जाँदा पनिन्‍नाहले हन्‍नालाई यसरी नै दुःख दिइरहन्थिन्‌।+ पनिन्‍नाहले हन्‍नाको असाध्यै खिल्ली उडाउने भएकीले उनी केही नखाई रोएर बसिरहन्थिन्‌। ८ तब उनका पति एल्कानाले भने: “हन्‍ना, तिमी किन रोइरहन्छ्यौ? किन केही खाँदिनौ? निराश नहोऊ, म छँदै छु नि। म तिम्रो लागि १० जना छोराभन्दा उत्तम छैनँ र?”

९ अनि तिनीहरूले सिलोमा खानपिन गरिसकेपछि हन्‍ना उठिन्‌। त्यतिबेला पुजारी एलि यहोवा परमेश्‍वरको मन्दिरको ढोका+ छेउमा कुर्सीमा बसिरहेका थिए। १० हन्‍ना अत्यन्तै लाचार भएकी थिइन्‌; त्यसैले धुरुधुरु रुँदै उनले यहोवा परमेश्‍वरलाई प्रार्थना गर्न थालिन्‌।+ ११ अनि उनले यस्तो भाकल गरिन्‌: “हे सेनाहरूका यहोवा, यदि तपाईँले आफ्नी दासीको पीडा बुझेर मतर्फ ध्यान दिनुभयो र मेरो बिन्ती सुनेर मलाई एउटा छोरा दिनुभयो भने+ हे यहोवा, म मेरो छोरा तपाईँलाई अर्पण गर्नेछु र उसले जिन्दगीभर तपाईँको सेवा गर्नेछ। अनि उसको कपाल कहिल्यै काटिनेछैन।”+

१२ हन्‍नाले निकै लामो समयसम्म यहोवा परमेश्‍वरलाई प्रार्थना गरिरहँदा एलिले उनलाई हेरिरहेका थिए। १३ हन्‍नाले मनमनै प्रार्थना गरिरहेकी थिइन्‌। त्यसैले उनको मुखबाट कुनै आवाज निस्किएको थिएन; उनको ओठ मात्र चलिरहेको थियो। यो देखेर एलिले उनी रक्सीले मात्तिएछिन्‌ भन्ठाने। १४ एलिले उनलाई भने: “तिमी कतिन्जेल रक्सीको नशामा डुबिरहन्छ्यौ? अहिले जाऊ, नशाले छोडेपछि आऊ।” १५ तब हन्‍नाले जवाफ दिइन्‌: “होइन प्रभु, मैले कुनै रक्सी वा मद्य पिएकी छैनँ। म साह्रै निराश भएकी छु। त्यसैले यहोवा परमेश्‍वरसामु आफ्नो मनको बह पोखाउँदै छु।+ १६ तपाईँकी दासीलाई निकम्मा आइमाई नठान्‍नुहोस्‌। किनभने मेरो मन पीडाले छटपटाइरहेको छ; पीडा सहनै नसकेर म यहाँ प्रार्थना गर्दै छु।” १७ अनि एलिले जवाफ दिए: “ढुक्क भएर जाऊ! इस्राएलका परमेश्‍वरले तिम्रो मनोकामना पूरा गरिदेऊन्‌।”+ १८ यो सुनेपछि हन्‍नाले भनिन्‌: “तपाईँकी यस दासीले तपाईँको नजरमा निगाह पाइरहन सकोस्‌।” उनी त्यहाँबाट गइन्‌ र केही खाइन्‌। त्यसपछि उनी फेरि उदास भइनन्‌।

१९ अनि बिहान सबेरै उठेर तिनीहरूले यहोवा परमेश्‍वरको उपासना गरे। त्यसपछि तिनीहरू आफ्नो सहर रामा फर्के।+ पछि एल्कानाले आफ्नी पत्नी हन्‍नासित यौनसम्बन्ध राखे। अनि यहोवा परमेश्‍वरले हन्‍नातर्फ आफ्नो ध्यान लगाउनुभयो।*+ २० त्यसको एक वर्षभित्रै* हन्‍ना गर्भवती भइन्‌ र एउटा छोरा जन्माइन्‌। उनले छोराको नाम+ समुएल* राखिन्‌ किनभने उनले भनिन्‌, “मैले उसलाई यहोवा परमेश्‍वरसित मागेकी हुँ।”

२१ केही समयपछि एल्काना आफ्नो सबै परिवारलाई लिएर यहोवा परमेश्‍वरलाई हरेक वर्ष चढाइने बलि+ र आफ्नो भाकलभेटी* चढाउन गए। २२ तर हन्‍ना भने गइनन्‌+ बरु उनले आफ्नो पतिलाई भनिन्‌: “बच्चालाई दूध छुटाउनेबित्तिकै म उसलाई लिएर जानेछु र यहोवा परमेश्‍वरलाई अर्पण गर्नेछु। अनि ऊ सधैँभरि त्यहीँ बस्नेछ।”+ २३ उनका पति एल्कानाले भने: “ठीकै छ, तिमीलाई जे सही लाग्छ, त्यही गर। उसलाई दूध नछुटाउन्जेल घरमै बस। तिमीले बोलेको कुरा पूरा गर्न यहोवा परमेश्‍वरले तिमीलाई मदत गरून्‌।” त्यसैले उनी घरमै बसिन्‌ र बच्चालाई दूध नछुटाउन्जेल उसको स्याहारसुसार गरिन्‌।

२४ दूध छुटाउनेबित्तिकै उनी आफ्नो छोरालाई लिएर सिलो गइन्‌। अनि उनले तीन वर्ष पुगेको बहर, एक एपा* पीठो र एक घ्याम्पो दाखमद्य* पनि लगिन्‌।+ उनी आफ्नो सानो छोरालाई लिएर सिलोमा+ यहोवा परमेश्‍वरको वासस्थानमा गइन्‌। २५ त्यसपछि तिनीहरूले बहर काटे र आफ्नो सानो छोरालाई एलिकहाँ लगे। २६ अनि हन्‍नाले एलिलाई भनिन्‌: “प्रभु, म तपाईँको नाममा कसम खाएर भन्छु, म त्यही स्त्री हुँ, जसले यही ठाउँमा तपाईँको छेउमा उभिएर यहोवा परमेश्‍वरलाई प्रार्थना गरेकी थिई।+ २७ मैले यही छोराको लागि प्रार्थना गरेकी थिएँ र यहोवा परमेश्‍वरले मेरो मनोकामना पूरा गरिदिनुभयो।+ २८ त्यसैले अब म मेरो छोरा यहोवा परमेश्‍वरलाई अर्पण गर्दै छु।* बाँचुन्जेल ऊ यहोवाकै हुनेछ।”

अनि तिनले* यहोवा परमेश्‍वरलाई दण्डवत्‌ गरे।

२ त्यसपछि हन्‍नाले यसरी प्रार्थना गरिन्‌:

“मेरो हृदय यहोवामा रमाउँछ;+

यहोवाले मलाई बल दिनुभएको छ।*

मेरा शत्रुहरूलाई जवाफ दिन मैले मुख खोलेकी छु

किनकि तपाईँले गर्नुहुने उद्धारमा म रमाउँछु।

 २ यहोवाजस्तो पवित्र कोही छैन,

तपाईँजस्तो अरू कोही छैन+

अनि हाम्रा परमेश्‍वरजस्तो चट्टान अरू कोही छैन।+

 ३ घमन्डले फुलेर कुरा नगर;

तिम्रो मुखबाट अहङ्‌कारले भरिएको कुरा ननिस्कोस्‌

किनकि यहोवालाई सबै कुराको ज्ञान छ+

अनि मानिसको सबै काम उहाँले सही तरिकामा जाँच्नुहुन्छ।

 ४ वीर पुरुषहरूको धनु भाँचिएका छन्‌

तर ठेस खाएकाहरूले भने बल पाएका छन्‌।+

 ५ कुनै समय पेटभरि खानेहरू एउटा रोटीको लागि घोटिनेछन्‌

तर भोकाहरू तृप्त हुनेछन्‌।+

बाँझी स्त्रीले सात जना छोरा जन्माएकी छिन्‌+

तर जसका धेरै छोरा थिए, उनी एक्ली भएकी छिन्‌।*

 ६ यहोवाले ज्यान लिन सक्नुहुन्छ अनि जीवन बचाउन* पनि सक्नुहुन्छ;

उहाँले चिहानमा* पुऱ्‍याउन सक्नुहुन्छ अनि फेरि ब्युँताउन पनि सक्नुहुन्छ।+

 ७ यहोवाले दरिद्र बनाउन सक्नुहुन्छ अनि धनी बनाउन पनि सक्नुहुन्छ;+

उहाँले पतन गराउन सक्नुहुन्छ अनि उच्च पार्न पनि सक्नुहुन्छ।+

 ८ उहाँले दीनदुःखीलाई धुलोबाट उठाउनुहुन्छ,

दरिद्रहरूलाई खरानीको थुप्रोबाट* निकाल्नुहुन्छ;+

उहाँले तिनीहरूलाई राजकुमारहरूसित बसाल्नुहुन्छ,

तिनीहरूलाई सम्मानको आसन दिनुहुन्छ।

पृथ्वीको जग यहोवाकै हो+

अनि उहाँले त्यसमाथि मलिलो माटो बिछ्याउनुभएको छ।

 ९ आफ्ना वफादार सेवकहरूको पाइलालाई उहाँले रक्षा गर्नुहुन्छ+

तर दुष्टहरू भने अन्धकारमा नाश गरिनेछन्‌+

किनकि आफ्नो शक्‍तिले मात्र मानिस विजयी हुन सक्दैन।+

१० आफूविरुद्ध उठ्‌नेहरूलाई यहोवाले धुलोपिठो पार्नुहुनेछ;*+

उहाँ तिनीहरूविरुद्ध स्वर्गबाट गर्जनुहुनेछ।+

पृथ्वीको कुनाकुनासम्म यहोवाले न्याय गर्नुहुनेछ,+

उहाँले आफ्नो राजालाई शक्‍ति दिनुहुनेछ+

अनि आफ्नो अभिषिक्‍त जनलाई बल दिनुहुनेछ।”*+

११ त्यसपछि एल्काना आफ्नो घर रामा फर्के। तर समुएल भने पुजारी एलिको निगरानीमा यहोवा परमेश्‍वरको सेवा गर्न मन्दिरमै बसे।+

१२ एलिका छोराहरू दुष्ट थिए;+ तिनीहरू यहोवा परमेश्‍वरको डर मान्दैनथे। १३ मानिसहरूले चढाउने बलिबाट पुजारीहरूले पाउने भागको सन्दर्भमा तिनीहरू यसो गर्थे:+ जब कुनै मानिसले बलि चढाउँथ्यो, तब उसिन्दै गरेको मासु लिन पुजारीको एक जना सेवक एउटा ठूलो सुइरो* लिएर आउँथ्यो। १४ अनि उसले खड्‌कुँलाहरूमा उसिन्दै गरेको मासुलाई सुइरोले घोच्थ्यो। सुइरोमा जति मासु आउँथ्यो, त्यो पुजारीले लिन्थ्यो। सिलोमा आउने सबै इस्राएलीसित तिनीहरूले यस्तै व्यवहार गर्थे। १५ त्यति मात्र होइन, बलि चढाउने मानिसले माथिसम्म धुवाँ उठ्‌नेगरि जनावरको बोसो जलाउनुअघि+ नै पुजारीको सेवक आउँथ्यो र यसो भन्थ्यो: “पोलेर खान पुजारीको लागि मासु देऊ। उनले उसिनेको मासु लिँदैनन्‌। त्यसैले काँचै मासु देऊ।” १६ ती मानिसले “पहिला उनीहरूलाई बोसो जलाउन दिनुहोस्‌।+ त्यसपछि तपाईँलाई जे-जति चाहिन्छ, लैजानुहोस्‌” भने पनि पुजारीको सेवकले यसो भन्थ्यो: “होइन, मलाई अहिल्यै देऊ नत्र म खोसेर लैजान्छु!” १७ यसरी ती सेवकहरूले यहोवा परमेश्‍वरको नजरमा घोर पाप गरे;+ ती पुरुषहरूले यहोवा परमेश्‍वरको निम्ति चढाइएको बलिदानको अनादर गरिरहेका थिए।

१८ समुएल सानै थिए तैपनि मलमलको* एपोद*+ लगाएर यहोवा परमेश्‍वरको सेवा गर्थे।+ १९ समुएलकी आमाले उनको लागि चिटिक्क परेको अलखा* बनाउँथिन्‌ अनि हरेक वर्ष आफ्नो पतिसँगै मन्दिरमा बलि चढाउन जाँदा तिनले त्यो अलखा समुएललाई लगिदिन्थिन्‌।+ २० एलिले एल्काना र हन्‍नालाई आशिष्‌ दिए अनि तिनले एल्कानालाई भने: “तिमीले यहोवा परमेश्‍वरलाई अर्पण गरेको* छोराको सट्टामा यहोवाले तिम्री यस पत्नीबाट अर्को सन्तान पनि देऊन्‌।”+ त्यसपछि तिनीहरू घर फर्के। २१ यहोवा परमेश्‍वरले हन्‍नातर्फ आफ्नो ध्यान लगाउनुभयो अनि हन्‍नाले अरू छोराछोरी पनि जन्माउन सकिन्‌;+ तिनले अरू तीन छोरा र दुई छोरी जन्माइन्‌। अनि यहोवा परमेश्‍वरको सेवा गर्दै समुएल हुर्कँदै गए।+

२२ एलि साह्रै वृद्ध भइसकेका थिए। आफ्ना छोराहरूले इस्राएलीहरूलाई के-कस्तो व्यवहार गरिरहेका छन्‌ भनेर तिनले सुनेका थिए।+ साथै भेट हुने पालको* प्रवेशद्वारमा सेवा गर्ने स्त्रीहरूसित तिनीहरूले यौनसम्बन्ध राख्छन्‌ भनेर पनि तिनलाई थाह थियो।+ २३ तिनी छोराहरूलाई यसो भन्थे: “तिमीहरू किन यस्तो काम गरिरहन्छौ? तिमीहरूले गरेको नराम्रो कामबारे सबै मानिसले कुरा गरिरहेको म सुन्दै छु। २४ त्यसो नगर छोराहरू, यहोवा परमेश्‍वरका जनहरूमाझ तिमीहरूबारे जे-जस्तो कुरा फैलिरहेको छ, त्यो राम्रो होइन। २५ कुनै मानिसले अर्को मानिसविरुद्ध पाप गऱ्‍यो भने कसैले उसको लागि यहोवा परमेश्‍वरसित बिन्ती गरिदिन सक्छ।* तर कुनै मानिसले यहोवा परमेश्‍वरविरुद्ध पाप गऱ्‍यो भने+ उसको लागि कसले प्रार्थना गरिदिन सक्छ र?” तैपनि एलिका छोराहरूले तिनको कुरा मान्दैनथे र यहोवा परमेश्‍वरले तिनीहरूलाई मार्ने निश्‍चय गरिसक्नुभएको थियो।+ २६ तर समुएल भने हुर्कँदै गए अनि यहोवा परमेश्‍वरको र मानिसहरूको झन्‌झन्‌ प्यारो बन्दै गए।+

२७ तब परमेश्‍वरले पठाउनुभएका एक जना मानिस एलिकहाँ आए र तिनले एलिलाई भने: “यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ: ‘तिम्रो पुर्खाको घरानाले मिश्रमा* फारोको* घरानाको दास भएर जीवन बिताइरहेको बेला के मैले आफैलाई तिम्रो पुर्खासामु प्रकट गरेको थिइनँ र?+ २८ अनि मेरो निम्ति पुजारीको रूपमा सेवा गर्न, वेदीमा+ गएर बलिहरू चढाउन, धूप बाल्न* अनि एपोद लगाएर मेरो सामने हाजिर हुन मैले इस्राएलीहरूका कुलहरूमध्येबाट+ तिम्रै पुर्खालाई छानेको थिएँ। अनि इस्राएलीहरूले आगोमा चढाउने भेटीहरूबाट तिम्रो पुर्खाको घरानाको लागि केही भाग छुट्ट्याइदिएको थिएँ।+ २९ मैले आफ्नो निवासस्थानमा चढाउनू भनी आज्ञा दिएका बलिहरू र भेटीहरूलाई तिमीहरू किन अवहेलना गर्छौ?*+ इस्राएलीहरूले चढाउने प्रत्येक भेटीबाट आफ्नो लागि सबैभन्दा उत्तम भाग लिएर तिमी किन मलाई भन्दा आफ्ना छोराहरूलाई बढी आदर गर्छौ?+

३० “‘यसकारण इस्राएलका परमेश्‍वर यहोवाबाट तिमीलाई यस्तो सन्देश छ: “यो साँचो हो, तिम्रो र तिम्रो पुर्खाको घरानाले सधैँ मसामु हाजिर भएर मेरो सेवा गर्नेछ भनेर मैले भनेको थिएँ।”+ तर अहिले यहोवा परमेश्‍वर यस्तो घोषणा गर्नुहुन्छ: “अबदेखि त्यस्तो कदापि हुनेछैन! ज-जसले मलाई आदर गर्छन्‌, म तिनीहरूलाई आदर गर्नेछु।+ तर ज-जसले मेरो अपमान गर्छन्‌, तिनीहरू अपमानित हुनेछन्‌।” ३१ हेर, त्यस्तो दिन चाँडै आउँदै छ, जब म तिम्रो र तिम्रो पुर्खाको घरानामाथि विपत्ति ल्याउनेछु* अनि तिम्रो घरानामा कोही पनि बुढेसकालसम्म बाँच्नेछैन।+ ३२ इस्राएलीहरूको फलिफाप भइरहेको बेला तिमीले भने मेरो निवासस्थानमा एक जना शत्रु खडा भएको देख्नेछौ।+ अबदेखि तिम्रो घरानामा कोही पनि बुढेसकालसम्म बाँच्नेछैन। ३३ तिम्रा सन्तानमध्ये जसलाई म आफ्नो वेदीमा सेवा गरिरहन दिन्छु, उसको कारण तिम्रो आँखाको ज्योति गुम्नेछ अनि तिमीले पीडा भोग्नुपर्नेछ। अनि तिम्रो घरानाका धेरैजसो मानिस तरबारले मारिनेछन्‌।+ ३४ मैले भनेका यी कुराहरू पूरा हुनेछन्‌ भन्‍ने कुराको चिन्ह तिम्रो लागि यो हुनेछ: तिम्रा छोराहरू होप्नि र पिनहास दुवै जना एकै दिन मर्नेछन्‌।+ ३५ अनि म आफ्नो लागि एक जना विश्‍वासयोग्य पुजारी नियुक्‍त गर्नेछु।+ तिनले मेरो मनले चाहेको काम गर्नेछन्‌। म तिनको घरानालाई सदाको लागि स्थिर गर्नेछु र मेरो अभिषिक्‍त जनको लागि तिनले सधैँ पुजारीको रूपमा सेवा गर्नेछन्‌। ३६ तिम्रो घरानामा जो बाँकी रहन्छ, ऊ ज्याला र एउटा रोटीको लागि ती पुजारीकहाँ गएर झुक्नेछ र उसले यसो भन्‍नेछ: “बिन्ती छ, मलाई पुजारीको रूपमा काम गर्न दिनुहोस्‌ र म आफ्नो लागि एक टुक्रा रोटी जुटाउन सकूँ।”’”+

३ अनि समुएल एलिको निगरानीमा यहोवा परमेश्‍वरको सेवा गर्दै थिए।+ त्यसताका यहोवा परमेश्‍वरले आफ्नो वचन त्यति प्रकट गर्नुहुन्‍न थियो र उहाँले दर्शन*+ दिनुभएको पनि विरलै सुनिन्थ्यो।

२ एकदिन एलि आफ्नो कोठामा सुतिरहेका थिए। तिनका आँखा धमिला भइसकेका थिए र तिनी देख्न पनि सक्दैनथे।+ ३ परमेश्‍वरको मन्दिरमा दियो बलिरहेको थियो।+ त्यतिबेला समुएल यहोवा परमेश्‍वरको मन्दिरमा* सुतिरहेका थिए।+ परमेश्‍वरको सन्दुक* पनि त्यही मन्दिरमा राखिएको थियो। ४ त्यतिबेला यहोवा परमेश्‍वरले समुएललाई बोलाउनुभयो। अनि समुएलले “हजुर” भने। ५ समुएल दौडँदै एलिकहाँ गएर भने: “तपाईँले मलाई बोलाउनुभएको हो?” तर एलिले भने: “मैले तिमीलाई बोलाएको छैनँ। गएर सुत।” तब समुएल गएर सुते। ६ यहोवा परमेश्‍वरले फेरि “समुएल” भनेर बोलाउनुभयो। तब समुएल उठे र एलिकहाँ गएर भने: “तपाईँले मलाई बोलाउनुभएको हो?” तर एलिले भने, “मैले तिमीलाई बोलाएको छैनँ छोरा। गएर सुत।” ७ (त्यतिबेलासम्म समुएलले यहोवा परमेश्‍वरलाई राम्ररी चिनिसकेका थिएनन्‌ र उनले यहोवा परमेश्‍वरबाट कुनै सन्देश पाएका पनि थिएनन्‌।)+ ८ यहोवा परमेश्‍वरले तेस्रो पटक पनि “समुएल” भनेर बोलाउनुभयो। त्यतिबेला पनि समुएल उठे र एलिकहाँ गएर भने: “तपाईँले मलाई बोलाउनुभएको हो?”

तब समुएललाई बोलाउनुहुने यहोवा परमेश्‍वर हुनुहुन्छ भनेर एलिले बुझे। ९ त्यसैले एलिले समुएललाई भने: “गएर सुत। उहाँले फेरि बोलाउनुभयो भने तिमीले यसो भन्‍नू, ‘भन्‍नुहोस्‌ यहोवा! तपाईँको सेवकले सुन्दै छ।’” तब समुएल गएर सुते।

१० यहोवा परमेश्‍वर समुएलकहाँ आएर खडा हुनुभयो र पहिलाजस्तै “समुएल, समुएल” भनेर बोलाउनुभयो। अनि समुएलले भने: “भन्‍नुहोस्‌, तपाईँको सेवकले सुन्दै छ।” ११ तब यहोवा परमेश्‍वरले समुएललाई भन्‍नुभयो: “हेर, म इस्राएलमा यस्तो काम गर्दै छु, जसबारे सुन्‍ने सबै जनाको दुवै कान बज्नेछ।*+ १२ एलिको घरानाबारे मैले जे-जे भनेको थिएँ, त्यो दिन म ती सबै कुरा एकएक गरेर पूरा गर्नेछु।+ १३ म एलिको घरानालाई सजाय दिँदै छु र तिनको घरानाले त्यो सजाय सदाको लागि भोग्नुपर्नेछ किनभने आफ्ना छोराहरूले परमेश्‍वरको निन्दा+ गरिरहेको थाह पाएर पनि+ तिनले उनीहरूलाई हप्काएका छैनन्‌।+ १४ त्यसैले मैले शपथ खाएको छु, एलिको घरानाले गरेको पापको लागि जस्तोसुकै बलि वा भेटी चढाइए पनि त्यो कहिल्यै क्षमा हुनेछैन।”+

१५ समुएल बिहानसम्मै सुते। त्यसपछि उठेर उनले यहोवा परमेश्‍वरको मन्दिरका ढोकाहरू खोले। आफूले देखेको दर्शनबारे एलिलाई बताउन समुएललाई डर लागिरहेको थियो। १६ त्यतिखेरै एलिले समुएललाई बोलाए: “बाबु समुएल!” समुएलले भने: “हजुर!” १७ अनि एलिले उनलाई सोधे: “परमेश्‍वरले तिमीलाई के भन्‍नुभयो? मलाई सबै कुरा भन। परमेश्‍वरले तिमीलाई जे-जे भन्‍नुभयो, त्यसबाट एउटा कुरा पनि लुकायौ भने परमेश्‍वरले तिमीलाई अत्यन्तै कडा सजाय देऊन्‌।” १८ त्यसकारण समुएलले एलिलाई सबै कुरा भने, उनले एउटा कुरा पनि लुकाएनन्‌। तब एलिले भने: “तिमीलाई यी सब भन्‍नुहुने यहोवा परमेश्‍वर नै हुनुहुन्छ। उहाँलाई जस्तो ठीक लाग्छ, त्यस्तै होस्‌।”

१९ समुएल हुर्कँदै गए अनि यहोवा परमेश्‍वरले उनलाई साथ दिइरहनुभयो;+ आफूले भनेको सबै कुरा उहाँले पूरा गर्नुभयो। २० यहोवा परमेश्‍वरले समुएललाई आफ्नो भविष्यवक्‍ता नियुक्‍त गर्नुभएको छ भनेर दानदेखि बेर्सेबासम्मका सबै इस्राएली पक्का भए। २१ त्यसपछि पनि यहोवा परमेश्‍वर सिलोमा देखा परिरहनुभयो। यहोवा परमेश्‍वर आफ्नो वचनमार्फत समुएलकहाँ प्रकट हुनुभयो। यसरी यहोवा परमेश्‍वरले समुएलसामु आफूलाई चिनाइरहनुभयो।+

४ समुएलले परमेश्‍वरको वचन इस्राएलभरि फैलाए।

इस्राएलीहरू पलिस्तियालीहरूसित लडाइँ गर्न गए। तिनीहरूले एबेनेजेरनजिकै छाउनी हाले; पलिस्तियालीहरूले चाहिँ अफेकमा छाउनी हाले। २ पलिस्तियालीहरू इस्राएलीहरूसित लडाइँ गर्न दल-दल बनाएर तैनाथ भए। पलिस्तियालीहरू र इस्राएलीहरूबीच घमासान लडाइँ भयो र इस्राएलीहरू हारे। पलिस्तियालीहरूले युद्धभूमिमा ४ हजार इस्राएली सिपाहीलाई मारे। ३ सिपाहीहरू छाउनीमा फर्केर आएपछि इस्राएलका नाइकेहरूले भने: “आज यहोवा परमेश्‍वरले किन हामीलाई पलिस्तियालीहरूसित हार्न दिनुभयो?*+ अब सिलोबाट यहोवा परमेश्‍वरको करारको सन्दुक* यहाँ ल्याऔँ।+ त्यो सन्दुक हामीसितै भयो भने त्यसले हामीलाई शत्रुहरूको हातबाट जोगाउनेछ।” ४ त्यसकारण इस्राएलीहरूले केही मानिसलाई सिलो पठाए। ती मानिसहरूले करूबहरूभन्दा माथि* विराजमान सेनाहरूका यहोवाको करारको सन्दुक सँगै ल्याए।+ एलिका दुई छोरा होप्नि र पिनहास+ पनि साँचो परमेश्‍वरको करारको सन्दुकसँगै आए।

५ यहोवा परमेश्‍वरको करारको सन्दुक छाउनीमा आइपुगेपछि सबै इस्राएली ठूलो स्वरले कराउन थाले र उनीहरूको स्वरले जमिनै थर्कियो। ६ इस्राएलीहरू कराइरहेको सुनेपछि पलिस्तियालीहरूले यसो भने: “हिब्रूहरूको छाउनीबाट किन यस्तो ठूलो आवाज आइरहेको छ?” यहोवा परमेश्‍वरको सन्दुक छाउनीमा ल्याइएको रहेछ भनेर पछि ती पलिस्तियालीहरूले थाह पाए। ७ यो थाह पाएपछि पलिस्तियालीहरू डराए र यसो भने: “उनीहरूको छाउनीमा देवता आएका छन्‌!”+ तिनीहरूले अझै भने: “अब त हामी उम्कनै सक्दैनौँ। यस्तो त पहिला कहिल्यै भएको थिएन। ८ अब त हाम्रो बच्ने आशै छैन! यस्तो शक्‍तिशाली देवताको हातबाट हामीलाई कसले बचाउला? यी देवताले नै निर्जनभूमिमा ठूलठूला विपत्ति ल्याएर मिश्रीहरूलाई नाश गरेका थिए।+ ९ हे पलिस्तियालीहरू हो, साहसी होओ र आफ्नो पुरुषार्थ देखाओ। नत्र ती हिब्रूहरूले तिमीहरूको चाकरी गरेझैँ तिमीहरूले पनि उनीहरूको चाकरी गर्नुपर्ला!+ पुरुषार्थ देखाओ र उनीहरूसित लडाइँ गर!” १० त्यसैले पलिस्तियालीहरूले इस्राएलीहरूसित लडाइँ गरे र उनीहरूलाई हराए।+ त्यसपछि इस्राएलीहरू भागेर आ-आफ्नो पालमा गए। त्यो दिन लडाइँमा थुप्रै इस्राएली मारिए; इस्राएलीहरूका ३० हजार पैदल सिपाहीले ज्यान गुमाए। ११ त्यति मात्र होइन, परमेश्‍वरको सन्दुक कब्जा गरियो अनि एलिका दुई छोरा होप्नि र पिनहास पनि मारिए।+

१२ त्यही दिन बिन्यामिनको कुलका एक जना मानिस युद्धभूमिबाट भागेर सिलो गए। तिनले आफ्नो लुगा च्यातेका थिए र शिरमा धुलो छरेका थिए।+ १३ ती मानिस सिलो पुग्दा एलिचाहिँ बाटो छेउमा कुर्सीमा बसिरहेका थिए र कुनै खबर आउँछ कि भनेर पर्खँदै थिए। किनकि तिनलाई साँचो परमेश्‍वरको सन्दुकको साह्रै चिन्ता लागिरहेको थियो।+ ती मानिस खबर दिन सहरमा गए; खबर सुनेपछि सहरका सबै मानिस रोइकराइ गर्न थाले। १४ मानिसहरू रोइकराइ गरेको सुनेर एलिले सोधे: “सहरमा किन यस्तो खैलाबैला भइरहेको छ?” ती मानिस हतारिँदै एलिकहाँ गए र तिनलाई सबै कुरा बताए। १५ (त्यतिबेला एलि ९८ वर्ष पुगिसकेका थिए र तिनले आँखा देख्दैनथे।)+ १६ ती मानिसले एलिलाई भने: “म युद्धभूमिबाट भागेर आएको हुँ। त्यहाँबाट म आजै आएको हुँ।” तब एलिले सोधे: “छोरा, लडाइँमा के भयो, मलाई बताऊ!” १७ ती मानिसले भने: “इस्राएलीहरूले पलिस्तियालीहरूको हातबाट ठूलो हार भोग्नुपऱ्‍यो र तिनीहरू पलिस्तियालीहरूदेखि भागे।+ तपाईँका दुई छोरा होप्नि र पिनहास मारिए+ अनि साँचो परमेश्‍वरको सन्दुक पनि कब्जा गरियो।”+

१८ ती मानिसले साँचो परमेश्‍वरको सन्दुक कब्जा गरिएको कुरा बताउनेबित्तिकै मूलढोकाको छेउमा कुर्सीमा बसिरहेका एलि पछिल्तिर ढले। तिनको मुन्टो भाँचियो र त्यहीँ तिनको मृत्यु भयो। किनकि तिनी वृद्ध र ठूलो जीउ भएका मानिस थिए। तिनले इस्राएलमा ४० वर्ष न्यायकर्ताको रूपमा सेवा गरेका थिए। १९ त्यसबेला तिनकी बुहारी अर्थात्‌ पिनहासकी पत्नी दुई जीउकी थिइन्‌ र उनले बच्चा जन्माउने समय हुनै लागेको थियो। साँचो परमेश्‍वरको सन्दुक कब्जा गरिएको अनि उनका ससुरा र पतिको मृत्यु भएको खबर सुनेपछि उनलाई अचानक बेथा लाग्यो अनि उनले बच्चा जन्माइन्‌। २० त्यसपछि उनको मृत्यु भयो। उनको मृत्यु हुनुअघि उनको छेउमा उभिरहेका स्त्रीहरूले भने: “नडराऊ, तिम्रो छोरा जन्मिएको छ।” तर उनले तिनीहरूको कुरामा ध्यान दिइनन्‌ र केही जवाफ पनि दिइनन्‌। २१ बरु उनले बालकको नाम इकाबोद*+ राखिन्‌ र भनिन्‌: “इस्राएलको महिमा दासत्वमा पऱ्‍यो।”+ साँचो परमेश्‍वरको सन्दुक कब्जा गरिएको अनि उनका ससुरा र पतिको मृत्यु भएको कुरालाई सङ्‌केत गर्दै उनले त्यसो भनेकी थिइन्‌।+ २२ उनले भनिन्‌: “इस्राएलको महिमा दासत्वमा पऱ्‍यो किनकि साँचो परमेश्‍वरको सन्दुक कब्जा गरिएको छ।”+

५ साँचो परमेश्‍वरको सन्दुक* कब्जा गरेर+ पलिस्तियालीहरूले त्यसलाई एबेनेजेरबाट अस्दोद लगे। २ पलिस्तियालीहरूले साँचो परमेश्‍वरको सन्दुकलाई आफ्नो देवता दागोनको मन्दिरमा लगे र दागोनको मूर्तिसँगै राखे।+ ३ भोलिपल्ट अस्दोदका मानिसहरूले सबेरै उठेर हेर्दा दागोनको मूर्ति यहोवा परमेश्‍वरको सन्दुकअगाडि घोप्टो परेर ढलिरहेको देखे।+ तिनीहरूले त्यो मूर्ति उठाए र पहिलाकै ठाउँमा राखे।+ ४ अर्को दिन पनि अस्दोदका मानिसहरूले सबेरै उठेर हेर्दा दागोनको मूर्ति यहोवा परमेश्‍वरको सन्दुकअगाडि घोप्टो परेर ढलिरहेको देखे। मूर्तिको टाउको र दुवै हात काटिएको थियो र मन्दिरको ढोकाको सँघारमा राखिएको थियो। मूर्तिको जीउको भाग मात्र* सग्लो थियो। ५ त्यसैकारण दागोनका पुजारीहरू र अस्दोदका मानिसहरू दागोनको मन्दिरभित्र जाँदा अहिले पनि मन्दिरको ढोकाको सँघारमा टेक्दैनन्‌।

६ यहोवा परमेश्‍वरले अस्दोदका मानिसहरूलाई दण्ड दिनुभयो। उहाँले अस्दोदका र त्यसवरपरको इलाकाका मानिसहरूलाई अल्काई* रोगले प्रहार गर्नुभयो।+ ७ यो देखेर अस्दोदका मानिसहरूले भने: “इस्राएलका देवताको सन्दुक हामीकहाँ नराखौँ किनभने तिनीहरूका देवताले हामी र हाम्रा देवता दागोनलाई कडा सजाय दिएका छन्‌।” ८ त्यसैले तिनीहरूले पलिस्तियालीहरूका शासकहरूलाई खबर पठाए र उनीहरूलाई एक ठाउँमा भेला गराएर सोधे: “इस्राएलका देवताको सन्दुकलाई हामी के गरौँ?” ती शासकहरूले भने: “इस्राएलका देवताको सन्दुक यहाँबाट गाथमा लगियोस्‌।”+ त्यसैले मानिसहरूले त्यस सन्दुकलाई गाथमा पुऱ्‍याए।

९ तिनीहरूले सन्दुकलाई गाथमा पुऱ्‍याएपछि यहोवा परमेश्‍वरले त्यस सहरलाई दण्ड दिनुभयो र सहरमा ठूलो त्रास फैलियो। सहरमा भएका सानादेखि ठूला सबै मानिसलाई उहाँले अल्काई रोगले प्रहार गर्नुभयो।+ १० तब उनीहरूले साँचो परमेश्‍वरको सन्दुकलाई त्यहाँबाट एक्रोनमा पठाए।+ तर साँचो परमेश्‍वरको सन्दुक एक्रोन पुग्नेबित्तिकै त्यहाँका मानिसहरू यसो भन्दै कराउन थाले: “यिनीहरूले हामीलाई र हाम्रा मानिसहरूलाई मार्न इस्राएलका देवताको सन्दुक यहाँ ल्याएका छन्‌।”+ ११ त्यसैले तिनीहरूले पलिस्तियालीहरूका शासकहरूलाई खबर पठाए र उनीहरूलाई एक ठाउँमा भेला गराएर भने: “इस्राएलका देवताको सन्दुक यहाँबाट लैजानुहोस्‌; यसलाई यसकै ठाउँमा फर्काइदिनुहोस्‌ नत्र त हामी र हाम्रा मानिसहरू मर्नेछौँ।” सारा सहरमा मृत्युको डर फैलिएको थियो किनभने साँचो परमेश्‍वरले त्यहाँका मानिसहरूलाई दण्ड दिनुभएको थियो।+ १२ जो जीवितै थिए, तिनीहरूलाई पनि अल्काई रोगले सताएको थियो। अनि सहरका मानिसहरूको गुहार स्वर्गसम्मै पुग्यो।

६ यहोवा परमेश्‍वरको सन्दुक*+ सात महिनासम्म पलिस्तियालीहरूको इलाकामै रह्‍यो। २ पलिस्तियालीहरूले पुजारीहरू र तन्त्रमन्त्र गर्नेहरूलाई बोलाएर सोधे:+ “यहोवाको सन्दुकलाई हामी के गरौँ? त्यसलाई त्यसकै ठाउँमा कसरी पुऱ्‍याउने, हामीलाई भन्‍नुहोस्‌।” ३ उनीहरूले जवाफ दिए: “तिमीहरूले इस्राएलका देवता यहोवाको करारको सन्दुक फिर्ता पठाउने हो भने त्यसको साथमा उपहार पनि पठाउनू। सन्दुकसितै उहाँको निम्ति दोषभेटी* पठाउन नबिर्सनू।+ तब मात्र तिमीहरू निको हुनेछौ अनि उहाँले किन तिमीहरूलाई अझै सजाय दिँदै हुनुहुन्छ भनेर थाह पाउनेछौ।” ४ यो सुनेपछि पलिस्तियालीहरूले सोधे: “त्यसोभए हामी उहाँलाई दोषभेटीको रूपमा के पठाऔँ त?” उनीहरूले भने: “तिमीहरूले पलिस्तियालीहरूका शासकहरूको सङ्‌ख्याअनुसार+ अल्काई* आकारको सुनका पाँच वटा मूर्ति र सुनका पाँच वटा मुसा पठाउनू। किनकि तिमीहरू र तिमीहरूका शासकहरू सबै एउटै किसिमको रोगले ग्रस्त छौ। ५ तिमीहरूले अल्काई आकारका मूर्तिहरू र मुसाका मूर्तिहरू बनाउनू+ किनकि यिनीहरूको प्रकोपले गर्दा देशको पतन हुन लागेको छ। तिमीहरूले इस्राएलका देवताको आदर गर्नू। यसो गऱ्‍यौ भने उहाँले तिमीहरू, तिमीहरूका देवता र तिमीहरूको देशलाई सजाय दिन छोड्‌नुहुन्छ होला।+ ६ तिमीहरू मिश्रका मानिसहरू र फारोजस्तो कठोर नहोओ।+ उहाँले तिनीहरूलाई कडा सजाय दिनुभएपछि+ इस्राएलीहरूलाई आफ्नो देशबाट पठाउन तिनीहरूलाई करै लागेको थियो अनि इस्राएलीहरू मिश्रबाट निस्केका थिए।+ ७ अब एउटा गाडा बनाओ अनि अहिलेसम्म जुवा नहालिएका दुई वटा माउ गाई ल्याओ। त्यसपछि ती गाईहरूलाई गाडामा नार्नू तर बाछालाई चाहिँ गोठमै लैजानू। ८ अनि यहोवाको सन्दुक ल्याएर गाडामा राख्नू। तिमीहरूले दोषभेटीको रूपमा पठाउन लागेको सुनका मूर्तिहरू पनि एउटा बाकसमा हालेर सन्दुकको छेउमा राख्नू।+ त्यसपछि गाडालाई पठाइदिनू ९ अनि त्यो गाडा कतातिर जान्छ, हेरेर बस्नू: यदि त्यो बेथ-सेमेसतिर+—सन्दुक जहाँबाट ल्याइएको थियो, त्यही इलाकातिर उक्लियो भने इस्राएलका देवताले नै हामीमाथि यस्तो विपत्ति ल्याउनुभएको हो, तर त्यतातिर गएन भने हामीलाई सजाय दिने उहाँ होइन बरु संयोगले मात्र यस्तो भएको हो भनेर हामी थाह पाउनेछौँ।”

१० त्यसपछि ती पलिस्तियालीहरूले त्यसै गरे। तिनीहरूले दुई वटा माउ गाई ल्याए र ती गाईहरूलाई गाडामा नारे अनि बाछालाई चाहिँ गोठमा लगेर राखे। ११ त्यसपछि तिनीहरूले यहोवा परमेश्‍वरको सन्दुक गाडामा राखे। तिनीहरूले सुनका मुसाहरू र अल्काई आकारको सुनका मूर्तिहरू राखिएको बाकस पनि त्यही गाडामा राखे। १२ अनि ती गाईहरू सीधै बेथ-सेमेसतिर लागे।+ ती गाईहरू बाँ-बाँ गर्दै मूलबाटोमा गइरहे, तिनीहरू दाहिने वा देब्रे कतै लागेनन्‌। पलिस्तियालीहरूका शासकहरू पनि ती गाईहरूको पछिपछि गए अनि बेथ-सेमेसको सिमानासम्मै पुगे। १३ त्यतिबेला बेथ-सेमेसका मानिसहरू बेँसीमा गहुँ काटिरहेका थिए। आँखा उठाएर हेर्दा उनीहरूले सन्दुक देखे र उनीहरू असाध्यै खुसी भए। १४ त्यसपछि त्यो गाडा बेथ-सेमेसका बासिन्दा यहोसुको खेतमा पुग्यो र एउटा ठूलो ढुङ्‌गानेर रोकियो। अनि त्यहाँका मानिसहरूले त्यो गाडालाई टुक्रा पारेर दाउरा बनाए अनि यहोवा परमेश्‍वरको निम्ति अग्निभेटीस्वरूप* गाईहरू+ चढाए।

१५ लेवीहरूले+ यहोवा परमेश्‍वरको सन्दुक अनि सुनका मूर्तिहरू राखिएको बाकस पनि निकाले अनि त्यस ठूलो ढुङ्‌गामाथि राखे। त्यो दिन बेथ-सेमेसका+ मानिसहरूले यहोवा परमेश्‍वरको निम्ति अग्निभेटी र अरू भेटीहरू चढाए।

१६ जब पलिस्तियालीहरूका पाँच जना शासकले यो देखे, तब त्यही दिन तिनीहरू एक्रोन फर्के। १७ यहोवा परमेश्‍वरलाई दोषभेटीको रूपमा चढाउन+ पलिस्तियालीहरूले अस्दोद,+ गाजा, अस्कलोन, गाथ+ अनि एक्रोनको+ तर्फबाट एक-एक वटा अल्काई आकारको सुनको मूर्ति पठाएका थिए। १८ पर्खालले घेरिएका सहरहरू र खुला गाउँहरूसमेत गरी पलिस्तियालीहरूका पाँच जना शासकको अधीनमा जति वटा सहर र गाउँ थिए, त्यति नै वटा सुनका मुसाहरू पठाइएका थिए।

अनि बेथ-सेमेसका बासिन्दा यहोसुको खेतमा भएको जुन ढुङ्‌गामाथि यहोवा परमेश्‍वरको सन्दुक राखिएको थियो, त्यो ढुङ्‌गा उक्‍त घटनाको साक्षीको रूपमा आजसम्म त्यहीँ छ। १९ तर यहोवा परमेश्‍वरले बेथ-सेमेसका मानिसहरूलाई मार्नुभयो किनकि उनीहरूले परमेश्‍वरको सन्दुकलाई घुरेर हेरे। उहाँले ५० हजार ७० जना मानिसलाई मार्नुभयो। यसले गर्दा मानिसहरू अलापविलाप गर्न थाले किनकि यहोवा परमेश्‍वरले उनीहरूमाथि ठूलो विपत्ति ल्याउनुभएको थियो।+ २० त्यसैले बेथ-सेमेसका मानिसहरूले भने: “पवित्र परमेश्‍वर+ यहोवाको अगाडि को खडा हुन सक्छ र? उहाँ हामीलाई छोडेर अन्तै जानुभए पनि हुन्थ्यो!”+ २१ त्यसकारण उनीहरूले किर्यथ-येरिमका+ मानिसहरूलाई यस्तो खबर दिन सन्देशवाहकहरू पठाए: “पलिस्तियालीहरूले यहोवा परमेश्‍वरको सन्दुक फिर्ता गरेका छन्‌। त्यसैले तल आएर त्यो लैजाओ।”+

७ त्यसैले किर्यथ-येरिमका मानिसहरू यहोवा परमेश्‍वरको सन्दुक* लिन आए अनि लगेर डाँडामा भएको अबिनादाबको घरमा राखे।+ तिनीहरूले अबिनादाबको छोरा एलियाजारलाई यहोवा परमेश्‍वरको सन्दुकको हेरचाह गर्न नियुक्‍त गरे।*

२ परमेश्‍वरको सन्दुक किर्यथ-येरिममा ल्याइएको २० वर्ष बित्यो। यति लामो समयपछि मात्र इस्राएलका सबै घरानाले यहोवा परमेश्‍वरको मदत खोज्न थाले।+ ३ त्यसपछि समुएलले इस्राएलका सबै घरानालाई भने: “यदि तिमीहरू मनैदेखि यहोवा परमेश्‍वरतर्फ फर्कन चाहन्छौ भने+ तिमीहरूबीच भएका अरू देवताहरू+ र अस्तोरेथका मूर्तिहरू+ फ्याँकिदेओ; तिमीहरूको पूरा हृदय यहोवा परमेश्‍वरतर्फ लगाओ, उहाँको मात्र सेवा गर।+ अनि उहाँले तिमीहरूलाई पलिस्तियालीहरूको हातबाट जोगाउनुहुनेछ।”+ ४ तब इस्राएलीहरूले बाआल देवताहरू र अस्तोरेथका मूर्तिहरू फ्याँके अनि यहोवा परमेश्‍वरको मात्र सेवा गर्न थाले।+

५ त्यसपछि समुएलले भने: “सबै इस्राएलीलाई मिस्पामा बोलाओ+ र तिमीहरूको तर्फबाट म यहोवा परमेश्‍वरलाई बिन्ती चढाउनेछु।”+ ६ त्यसैले तिनीहरू सबै मिस्पामा जम्मा भए। त्यसपछि तिनीहरूले पानी भरेर ल्याए अनि यहोवा परमेश्‍वरसामु खन्याए* र त्यो दिन उपवास बसे।+ तिनीहरूले यसो भने: “हामीले यहोवा परमेश्‍वरको आज्ञा पालन नगरेर पाप गरेका छौँ।”+ त्यसपछि समुएलले मिस्पामा इस्राएलीहरूको न्यायकर्ताको+ रूपमा सेवा गर्न थाले।

७ इस्राएलीहरू मिस्पामा जम्मा भएका छन्‌ भनेर पलिस्तियालीहरूले+ सुनेपछि तिनीहरूका शासकहरू इस्राएलीहरूलाई आक्रमण गर्न निस्के। पलिस्तियालीहरू आउँदै छन्‌ भन्‍ने सुनेर इस्राएलीहरू असाध्यै डराए। ८ त्यसैले इस्राएलीहरूले समुएललाई भने: “हाम्रा परमेश्‍वर यहोवालाई पुकार्न नछोड्‌नुहोस्‌;+ हामीलाई मदत गर्न र पलिस्तियालीहरूको हातबाट बचाउन उहाँलाई बिन्ती गरिरहनुहोस्‌।” ९ त्यसपछि समुएलले दूध नछुटेको एउटा पाठो ल्याए र त्यसलाई अग्निभेटीको+ रूपमा यहोवा परमेश्‍वरको लागि चढाए। अनि इस्राएलीहरूको तर्फबाट समुएलले यहोवा परमेश्‍वरसँग मदत माग्दै प्रार्थना गरे र यहोवा परमेश्‍वरले तिनको प्रार्थनाको जवाफ दिनुभयो।+ १० समुएलले अग्निभेटी चढाइरहेको बेला पलिस्तियालीहरू भने इस्राएलीहरूसँग लडाइँ गर्न अघि बढे। त्यो दिन यहोवा परमेश्‍वरले जोडसित आकाश गर्जाउनुभयो+ र पलिस्तियालीहरूबीच गोलमाल मच्चाइदिनुभयो+ अनि तिनीहरू इस्राएलीहरूसित हारे।+ ११ तब इस्राएलका पुरुषहरू मिस्पाबाट निस्के अनि पलिस्तियालीहरूलाई खेद्‌न थाले। तिनीहरूलाई मार्दै इस्राएलीहरू बेथ-करको दक्षिणसम्म पुगे। १२ त्यसपछि समुएलले एउटा ढुङ्‌गो लिए+ अनि त्यसलाई मिस्पा र यसानाहको बीचमा ठड्‌याए। तिनले यसो भनेर त्यस ढुङ्‌गोको नाम एबेनेजेर* राखे: “यहोवा परमेश्‍वरले अहिलेसम्म हामीलाई मदत गरिरहनुभएको छ।”+ १३ यसरी पलिस्तियालीहरूको हार भयो र त्यस समयदेखि तिनीहरू इस्राएलीहरूको इलाकामा आएनन्‌।+ समुएल बाँचुन्जेल यहोवा परमेश्‍वर पलिस्तियालीहरूको विरुद्धमा खडा भइरहनुभयो।+ १४ त्यसबाहेक पलिस्तियालीहरूले एक्रोनदेखि गाथसम्मका सहरहरू इस्राएलीहरूलाई फिर्ता गरे। यसरी पलिस्तियालीहरूले पहिला कब्जा गरेको इलाका इस्राएलीहरूले फिर्ता पाए।

त्यतिबेला इस्राएलीहरूले एमोरीहरूसित भने लडाइँ गर्नुपरेको थिएन।+

१५ समुएलले आफ्नो जीवनभर इस्राएलीहरूको न्यायकर्ता भएर सेवा गरे।+ १६ समुएल हरेक वर्ष बेथेल,+ गिलगाल+ र मिस्पाको+ दौडाहामा निस्कन्थे अनि ती ठाउँहरूमा इस्राएलीहरूको न्याय गर्थे। १७ त्यसपछि तिनी आफ्नो घर रामा+ फर्कन्थे र त्यहाँ पनि इस्राएलीहरूको लागि न्यायकर्ताको रूपमा सेवा गर्थे। रामामा समुएलले यहोवा परमेश्‍वरको लागि एउटा वेदी बनाए।+

८ समुएल वृद्ध भएपछि तिनले आफ्ना छोराहरूलाई इस्राएलीहरूको न्यायकर्ता नियुक्‍त गरे। २ तिनको जेठो छोराको नाम योएल र कान्छा छोराको नाम अबियाह थियो।+ उनीहरू बेर्सेबामा न्यायकर्ताको रूपमा सेवा गर्थे। ३ समुएलका छोराहरू आफ्नो बुबाले देखाएको बाटोमा हिँडेनन्‌। उनीहरू आफ्नो फाइदाको लागि बेइमानी गर्थे,+ घुस खान्थे+ अनि सही तरिकामा न्याय गर्दैनथे।+

४ केही समयपछि इस्राएलीहरूका सबै नाइके एक ठाउँमा भेला भए अनि रामामा समुएलकहाँ गए। ५ तिनीहरूले समुएललाई भने: “हेर्नुहोस्‌! तपाईँ वृद्ध भइसक्नुभयो र तपाईँका छोराहरू पनि तपाईँले देखाउनुभएको बाटोमा हिँड्‌दैनन्‌। त्यसैले अरू जातिहरूको राजा भएजस्तै हाम्रो लागि पनि एक जना राजा नियुक्‍त गर्नुहोस्‌ र तिनले हामीमाथि शासन गरून्‌।”+ ६ तर तिनीहरूले “हामीमाथि शासन गर्न राजा नियुक्‍त गर्नुहोस्‌” भनेको सुनेर समुएल दुःखी भए।* त्यसपछि तिनले यहोवा परमेश्‍वरलाई प्रार्थना गरे। ७ यहोवा परमेश्‍वरले समुएललाई भन्‍नुभयो: “ती मानिसहरूले भनेको सबै कुरा सुन। किनकि तिनीहरूले तिमीलाई इन्कार गरेका होइनन्‌ बरु मलाई नै आफ्नो राजा मान्‍न इन्कार गरेका हुन्‌।+ ८ मैले तिनीहरूलाई मिश्रबाट छुटाएर ल्याएको दिनदेखि तिनीहरूले जे-जस्तो गरे, अहिले पनि त्यस्तै गरिरहेका छन्‌। तिनीहरू अरू देवताहरूको उपासना गरेर+ मलाई बारम्बार तिरस्कार गर्छन्‌+ अनि तिनीहरू अहिले तिमीलाई पनि तिरस्कार गर्दै छन्‌। ९ अब तिनीहरूले भनेअनुसार गर। तर तिनीहरूलाई कडा चेतावनी पनि दिनू। तिनीहरूमाथि शासन गर्ने राजासित तिनीहरूबाट केही कुरा माग गर्ने अधिकार हुनेछ भनेर बताउनू।”

१० राजा चाहियो भन्‍ने ती मानिसहरूलाई समुएलले यहोवा परमेश्‍वरले भन्‍नुभएको सबै कुरा बताइदिए। ११ तिनले भने: “तिमीहरूमाथि शासन गर्ने राजासित तिमीहरूबाट यस्ता कुराहरू माग गर्ने अधिकार हुनेछ:+ तिनले तिमीहरूका छोराहरूलाई लैजानेछन्‌।+ तिनले उनीहरूलाई रथ हाँक्ने काममा लगाउनेछन्‌+ र घोडचढी बनाउनेछन्‌।+ केहीलाई चाहिँ रथको अघिअघि दौडन लगाउनेछन्‌। १२ तिनले केहीलाई हजार-हजार+ र पचास-पचास+ जनाको समूहमाथि नाइके नियुक्‍त गर्नेछन्‌। केहीले तिनको खेत जोत्नेछन्‌,+ केहीले बाली काट्‌नेछन्‌+ अनि केहीले चाहिँ लडाइँका हातहतियार र रथको लागि सरसामान बनाउनेछन्‌।+ १३ तिनले तिमीहरूका छोरीहरूलाई लगेर सुगन्धित तेल* बनाउन लगाउनेछन्‌; तिनीहरूलाई खानेकुरा बनाउने र रोटी पकाउने काममा लगाउनेछन्‌।+ १४ तिनले तिम्रो सबैभन्दा राम्रो खेत, अङ्‌गुर बगान र जैतुन बारी+ आफ्ना दासहरूलाई दिनेछन्‌। १५ तिनले तिमीहरूको अन्‍नबाट र अङ्‌गुर बगानबाट दस भागको एक भाग लिनेछन्‌ अनि आफ्नो दरबारका अफिसरहरू र दासहरूलाई दिनेछन्‌। १६ तिनले तिमीहरूका दासदासी, सबैभन्दा राम्रो वस्तुभाउ र गधाहरू लगेर आफ्नो काममा लगाउनेछन्‌।+ १७ तिनले तिमीहरूको बगालको दस भागको एक भाग लैजानेछन्‌+ र तिमीहरूचाहिँ तिनको दास हुनेछौ। १८ यस्तो दिन पनि आउनेछ, जब आफैले रोजेको राजाको कारण तिमीहरूले रोइकराइ गरेर परमेश्‍वरलाई पुकार्नेछौ।+ तर त्यो दिन यहोवा परमेश्‍वरले तिमीहरूलाई केही जवाफ दिनुहुनेछैन।”

१९ तर मानिसहरूले समुएलको कुरा सुन्दै सुनेनन्‌ र उल्टै यसो भने: “हामीलाई जसरी भए पनि राजा चाहिन्छ। २० हाम्रो राजा भएपछि हामी पनि अरू जातिजस्तै हुनेछौँ। हाम्रा राजाले हाम्रो न्याय गर्नेछन्‌, हामीलाई डोऱ्‍याउनेछन्‌ र हाम्रो लागि लडाइँ गर्नेछन्‌।” २१ मानिसहरूको कुरा सुनेपछि समुएलले ती सबै कुरा यहोवा परमेश्‍वरलाई बताए। २२ तब यहोवा परमेश्‍वरले समुएललाई भन्‍नुभयो: “तिनीहरूले भनेअनुसारै गर। तिनीहरूमाथि शासन गर्न एक जना राजा नियुक्‍त गर।”+ त्यसपछि समुएलले ती इस्राएलीहरूलाई भने: “तिमीहरू सबै आ-आफ्नो सहर फर्क।”

९ बिन्यामिनको कुलमा किस नाम गरेका एक जना मानिस थिए।+ उनी अबिएलका सन्तान थिए। अबिएल जेरोरका छोरा थिए, जेरोर बेकोरथका छोरा थिए अनि बेकोरथ अपिहका सन्तान थिए। बिन्यामिनको कुलका+ किस असाध्यै धनी थिए। २ उनका एक जना छोरा थिए, जसको नाम साउल थियो।+ साउल लक्का जवान थिए र तिनको जीउडाल आकर्षक थियो; इस्राएलीहरूमध्ये तिनको जस्तो आकर्षक जीउडाल भएको अरू कोही थिएन। तिनी निकै अग्ला थिए, अरू मानिस तिनको कुमसम्म मात्र पुग्थे।

३ एकदिन किसका गधाहरू हराए। तब किसले आफ्नो छोरा साउललाई भने: “बाबु, एक जना सेवकलाई सँगै लगेर गधाहरू खोजेर ल्याऊ।” ४ तिनीहरू गधाहरू खोज्दै एप्रैमको पहाडी इलाका र सालिसाको इलाकासम्म पुगे तर तिनीहरूले भेट्टाएनन्‌। त्यसपछि तिनीहरू सालिमको इलाकातिर गए तर त्यहाँ पनि भेट्टाएनन्‌। तिनीहरूले बिन्यामिनीहरूको पूरै इलाकामा खोजे तर ती गधाहरू कतै भेट्टिएनन्‌।

५ जब तिनीहरू जुपको इलाकामा पुगे, तब साउलले आफ्ना सेवकलाई भने: “अब हामी फर्कौँ नत्र त बुबाले हराएका गधाहरूको होइन, हाम्रो पो चिन्ता गर्न थाल्नुहुनेछ।”+ ६ तर ती सेवकले भने: “मालिक, यस सहरमा परमेश्‍वरका एक जना सेवक बस्छन्‌ र तिनलाई सबैले असाध्यै सम्मान गर्छन्‌। तिनले भनेका कुराहरू सबै पूरा हुन्छन्‌।+ त्यसैले हामी त्यहीँ जाऔँ। हाम्रा गधाहरू खोज्न कतातिर जानुपर्ने हो, तिनले बताइदेलान्‌ कि?” ७ यो सुनेपछि साउलले भने: “त्यहाँ जाने हो भने तिनको लागि के लैजाने? साँचो परमेश्‍वरका सेवकलाई उपहार दिन हामीसित केही छैन; हाम्रो झोलामा खानेकुरासमेत छैन। तिनलाई के दिने?” ८ तब साउलका सेवकले भने: “हेर्नुहोस्‌ त, मसित चाँदीको एउटा सानो सिक्का* अझै बाँकी छ। साँचो परमेश्‍वरका सेवकलाई म यो सिक्का दिन्छु अनि हामी कतातिर जानुपर्ने हो भनेर तिनले हामीलाई बताइदिनेछन्‌।” ९ (पहिले-पहिले इस्राएलका मानिसहरू परमेश्‍वरसित सल्लाह माग्न जाँदा यसो भन्‍ने गर्थे: “आऊ, हामी दर्शीकहाँ जाऔँ।”+ अहिले हामी जसलाई भविष्यवक्‍ता भनेर चिन्छौँ, तिनीहरूलाई पहिले-पहिले दर्शी भनिन्थ्यो।) १० साउलले आफ्ना सेवकलाई भने: “ठीक छ, हामी त्यहीँ जाऔँ।” तिनीहरू साँचो परमेश्‍वरका सेवक बस्ने सहरतिर गए।

११ त्यस सहरमा जान उकालो लाग्दै गर्दा तिनीहरूले पानी भर्न निस्केका ठिटीहरूलाई भेटे। तिनीहरूले ती ठिटीहरूलाई सोधे: “दर्शी+ यतै छन्‌?” १२ ती ठिटीहरूले जवाफ दिए: “अँ यतै हुनुहुन्छ; उहाँ सहरतिरै जानुभएको छ। उहाँ आजै आउनुभएको हो किनभने आज मानिसहरू उपासनाको लागि बनाइएको अग्लो थानमा*+ बलि चढाउन+ भेला भएका छन्‌। बरु झट्टै गइहाल्नुहोस्‌। १३ सहरमा छिर्नेबित्तिकै तपाईँले उहाँलाई भेट्टाउनुहुनेछ। छिटो गइहाल्नुहोस्‌ नत्र त उहाँ अग्लो थानमा भोजन गर्न गइसक्नुहुनेछ। उहाँ आएर बलिलाई आशिष्‌ नदेउन्जेल मानिसहरूले खाँदैनन्‌। उहाँले आशिष्‌ दिइसकेपछि मात्र निम्तालुहरूले खान थाल्नेछन्‌। अब गइहाल्नुहोस्‌, तपाईँले उहाँलाई भेट्टाउनुहुनेछ।” १४ त्यसपछि तिनीहरू सहरतिर लागे। तिनीहरू सहरको बीचतिर आइपुग्दा समुएल पनि तिनीहरूसँगै अग्लो थानमा जान तिनीहरूलाई भेट्‌न आउँदै थिए।

१५ साउल त्यहाँ आउनुभन्दा एक दिनअघि यहोवा परमेश्‍वरले समुएललाई यसो भन्‍नुभएको थियो: १६ “भोलि यही समयतिर म तिमीकहाँ बिन्यामिनको+ इलाकाबाट एक जना मानिस पठाउनेछु। तिमीले उसलाई अभिषेक गरेर मेरा प्रजा इस्राएलीहरूको अगुवा बनाउनू।+ तिनले मेरा प्रजालाई पलिस्तियालीहरूको हातबाट बचाउनेछन्‌। मैले मेरा प्रजाहरूको दुःख देखेको छु अनि तिनीहरूको चीत्कार सुनेको छु।”+ १७ जब समुएलले साउललाई देखे, तब यहोवा परमेश्‍वरले समुएललाई भन्‍नुभयो: “यी मानिस तिनै हुन्‌, जसबारे मैले तिमीलाई यसो भनेको थिएँ, ‘उसले नै मेरो प्रजामाथि शासन गर्नेछ।’”+

१८ साउलले समुएललाई सहरको मूलढोकामा भेटे र सोधे: “दर्शीको घर कहाँ छ, कृपया मलाई बताइदिनुहोस्‌।” १९ समुएलले साउललाई जवाफ दिए: “दर्शी मै हुँ। मभन्दा अघि अग्लो थानमा जानुहोस्‌। त्यहाँ पुगेपछि हामी सँगै खाऔँ।+ तपाईँ जे-जे जान्‍न चाहनुहुन्छ, म सबै बताइदिनेछु। त्यसपछि भोलि बिहान तपाईँ यहाँबाट जानुहोला। २० तीन दिनअघि हराएका गधाहरूबारे+ अब चिन्ता नगर्नुहोस्‌ किनभने तिनीहरू फेला परिसके। इस्राएलमा भएका सबै धनसम्पत्ति वास्तवमा कसका हुन्‌? तपाईँको र तपाईँको बुबाको घरानाको होइन र?”+ २१ यो सुनेपछि साउलले भने: “तपाईँ मलाई किन यस्तो भन्दै हुनुहुन्छ? के म इस्राएलीहरूको सबैभन्दा सानो कुल,+ बिन्यामिनको कुलको मानिस होइन र? अनि बिन्यामिनको कुलभित्र पनि मेरो परिवार सबैभन्दा सानो छ।”

२२ समुएलले साउल र तिनका सेवकलाई भोजनकक्षमा लगे अनि निम्तालुहरूमध्ये सबैभन्दा प्रमुख स्थानमा तिनीहरूलाई राखे; त्यहाँ लगभग ३० जना मानिस थिए। २३ तब समुएलले भान्छेलाई भने: “मैले तिमीलाई ‘अलग्गै राख’ भनेर दिएको मासुको भाग लिएर आऊ।” २४ अनि भान्छेले फिला ल्याएर साउलको अगाडि टक्य्राए। तब समुएलले भने: “यो मासु तपाईँकै लागि भनेर तयार पारिएको हो। यो भाग यही अवसरको लागि तपाईँको निम्ति छुट्ट्याएर राखिएको हो। त्यसैले खानुहोस्‌ किनभने ‘मैले पाहुनाहरू बोलाएको छु’ भनेर तिनीहरूलाई बताएको थिएँ।” त्यो दिन साउलले समुएलसँगै बसेर खाए। २५ त्यसपछि तिनीहरू त्यो अग्लो थानबाट सहरतिर ओर्ले।+ अनि समुएलले साउललाई घरको कौसीमा लगे र त्यहाँ साउलसित बाँकी कुरा गरे। २६ भोलिपल्ट तिनीहरू सबेरै उठे। अनि समुएलले कौसीमा बसिरहेका साउललाई उज्यालो हुनेबित्तिकै यसो भन्दै बोलाए: “तयार हुनुहोस्‌, म तपाईँलाई बिदाबारी गरेर पठाउँछु।” त्यसपछि साउल तयार भए अनि तिनीहरू दुवै जना बाहिर निस्के। २७ तिनीहरू ओरालो झरेर सहरबाट निस्कन लाग्दा समुएलले साउललाई भने: “तपाईँको सेवकलाई+ अगाडि पठाउनुहोस्‌। तर तपाईँचाहिँ यहीँ उभिनुहोस्‌; म तपाईँलाई परमेश्‍वरको सन्देश बताउनेछु।” तब ती सेवक तिनीहरूको अघिअघि गए।

१० त्यसपछि समुएलले तेलको भाँडो लिए र साउलको शिरमा तेल खन्याए।+ अनि तिनले साउललाई म्वाइँ खाएर भने: “साँच्चै, यहोवा परमेश्‍वरले तपाईँलाई अभिषेक गरेर उहाँको प्रजाको+ अगुवा बनाउनुभएको छ।+ २ आज तपाईँ यहाँबाट गएपछि बिन्यामिनको इलाकाको जेल्जाहमा भएको राहेलको चिहाननजिकै+ दुई जना मानिसलाई भेट्‌नुहुनेछ। तिनीहरूले तपाईँलाई यसो भन्‍नेछन्‌: ‘तपाईँ जुन गधाहरूलाई खोज्न जानुभएको थियो, ती फेला परिसकेका छन्‌। अब तपाईँका बुबालाई गधाहरूको चिन्ता छैन+ बरु उहाँ तपाईँको पो चिन्ता गर्दै हुनुहुन्छ। उहाँ यसो भन्दै हुनुहुन्छ: “मेरो छोरा अहिलेसम्म फर्केन, अब म के गरूँ?”’ ३ त्यहाँबाट तपाईँ ताबोरमा ठूलो रूख भएको ठाउँसम्म जानुहोस्‌। त्यहाँ तपाईँले साँचो परमेश्‍वरकहाँ जान बेथेलतिर+ उक्लिरहेका तीन जना मानिसलाई भेट्‌नुहुनेछ। एक जनासित बाख्राको तीन वटा पाठा, अर्कोसित तीन वटा रोटी र अर्कोसित चाहिँ मद्यको ठूलो भाँडो हुनेछ। ४ तिनीहरूले तपाईँको हालखबर सोध्नेछन्‌ र तपाईँलाई दुई वटा रोटी दिनेछन्‌। तिनीहरूबाट ती रोटीहरू लिनुहोस्‌। ५ त्यसपछि तपाईँ साँचो परमेश्‍वरको डाँडामा पुग्नुहुनेछ, जहाँ पलिस्तियालीहरूको एउटा सैन्य चौकी छ। सहरमा पुगेपछि तपाईँले उपासनाको लागि बनाइएको अग्लो थानबाट* झरिरहेको भविष्यवक्‍ताहरूको एउटा टोली भेट्‌नुहुनेछ। तिनीहरूले भविष्यवाणी गरिरहेका हुनेछन्‌ अनि तिनीहरूको अघिअघि मानिसहरू तारे बाजा, खैँजडी, बाँसुरी र वीणा बजाउँदै हिँडिरहेका हुनेछन्‌। ६ त्यतिबेला यहोवा परमेश्‍वरको पवित्र शक्‍ति तपाईँमाथि आउनेछ+ र तपाईँले पनि तिनीहरूसँगै भविष्यवाणी गर्न थाल्नुहुनेछ अनि तपाईँको व्यवहार अर्कै मानिसको जस्तो हुनेछ।+ ७ यी सबै चिन्ह पूरा भएको देखेपछि आफ्नो जिम्मेवारी पूरा गर्न सकेजति सबै गर्नुहोस्‌; साँचो परमेश्‍वरले तपाईँलाई साथ दिनुहुनेछ। ८ त्यसपछि गिलगाल जानुहोस्‌।+ अग्निभेटी र मेलबलि* चढाउन म पनि त्यहीँ आउनेछु। मलाई त्यहाँ सात दिनसम्म पर्खनुहोस्‌। अनि तपाईँले के गर्नुपर्ने हो, त्यतिबेला नै म बताउनेछु।”

९ समुएलबाट बिदा भएर साउल पछाडि फर्कनेबित्तिकै परमेश्‍वरले उनको मन परिवर्तन गरिदिनुभयो र उनी अर्कै मानिसजस्तो भए। समुएलले भनेको सबै कुरा त्यही दिन पूरा भयो। १० त्यहाँबाट तिनीहरू* डाँडामा उक्लँदै गर्दा भविष्यवक्‍ताहरूको एउटा टोलीसित साउलको भेट भयो। त्यही बेला परमेश्‍वरको पवित्र शक्‍ति उनीमाथि आयो+ र उनले पनि उनीहरूसँगै भविष्यवाणी गर्न थाले।+ ११ साउलले पनि अरू भविष्यवक्‍ताहरूसँगै भविष्यवाणी गरिरहेको देखेपछि उनलाई चिनेका मानिसहरूले यसो भन्‍न थाले: “किसको छोरा साउललाई के भयो? साउल पनि भविष्यवक्‍ता भएको हो र?” १२ त्यहाँ भएका एक जना मानिसले भने: “यिनीहरूका बुबा को हुन्‌?” यही घटनाको कारण यस्तो भनाइ सुरु भयो: “साउल पनि भविष्यवक्‍ता भएको हो र?”+

१३ भविष्यवाणी गरिसकेपछि साउल उपासनाको लागि बनाइएको अग्लो थानमा गए। १४ पछि साउलका बुबाका एक जना नातेदारले साउललाई र उनका सेवकलाई सोधे: “तिमीहरू कहाँ गएका थियौ?” साउलले भने: “हराएका गधाहरू खोज्न गएका थियौँ।+ तर गधाहरू फेला नपरेकोले हामी समुएलकहाँ गयौँ।” १५ ती नातेदारले फेरि सोधे: “समुएलले तिमीलाई के-के भन्‍नुभयो, मलाई पनि भन न!” १६ साउलले तिनलाई भने: “समुएलले हामीलाई गधाहरू फेला परिसकेका छन्‌ भनेर बताउनुभयो।” तर साउलले आफू राजा हुनेबारे समुएलले बताएको कुराचाहिँ भनेनन्‌।

१७ त्यसपछि समुएलले सबै इस्राएलीलाई यहोवा परमेश्‍वरसामु मिस्पामा बोलाए।+ १८ अनि त्यहाँ तिनले इस्राएलीहरूलाई भने: “इस्राएलका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ: ‘मैले नै इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्याएँ अनि मैले नै तिमीहरूलाई मिश्रीहरूको हातबाट अनि तिमीहरूलाई अत्याचार गर्ने जातिहरूको हातबाट बचाएँ।+ १९ तर विपत्ति र सङ्‌कष्टबाट बचाउने आफ्ना परमेश्‍वरलाई आज तिमीहरूले तिरस्कार गरेका छौ।+ तिमीहरूले यसो भन्यौ: “होइन, हाम्रो लागि पनि एउटा राजा अभिषेक गर्नुहोस्‌।” अब तिमीहरू आ-आफ्नो कुलअनुसार र हजार-हजारको समूहअनुसार* यहोवा परमेश्‍वरसामु आओ।’”

२० त्यसपछि समुएलले सबै कुललाई एक-एक गर्दै अगाडि बोलाए+ र बिन्यामिनको कुल छानियो।+ २१ अनि समुएलले बिन्यामिनको कुलका सबै परिवारलाई एक-एक गर्दै अगाडि बोलाए र मात्रिको परिवार छानियो। अन्तमा मात्रिको परिवारबाट किसको छोरा साउल छानिए।+ त्यसपछि मानिसहरूले साउललाई खोजे तर उनी कतै भेटिएनन्‌। २२ अनि तिनीहरूले यहोवा परमेश्‍वरलाई सोधे:+ “के त्यो मानिस यहीँ छ?” यहोवा परमेश्‍वरले जवाफ दिनुभयो: “यहीँ छ, ऊ सामानहरूको बीचमा लुकिरहेको छ।” २३ तब तिनीहरू सामानहरू भएको ठाउँमा दौडेर गए र साउललाई ल्याए। जब साउल मानिसहरूको बीचमा उभिए, तब उनी सबैभन्दा अग्लो देखिए। त्यहाँ भएका सबै मानिस उनको कुमसम्म मात्र आइपुग्थे।+ २४ अनि समुएलले मानिसहरूलाई भने: “यहोवा परमेश्‍वरले छान्‍नुभएको मानिसलाई हेर!+ इस्राएलमा उहाँजस्तो मानिस अरू कोही छैन।” त्यसपछि सबैले ठूलो स्वरमा यसो भन्‍न थाले: “राजाको जय होस्‌!”

२५ त्यसपछि राजासित के-कस्तो अधिकार हुनेछ भनेर समुएलले मानिसहरूलाई बताए+ र त्यसलाई लेखेर यहोवा परमेश्‍वरसामु राखे। अनि समुएलले सबै मानिसलाई आ-आफ्नो घर पठाए। २६ साउल पनि आफ्नो घर गिबाह फर्के र यहोवा परमेश्‍वरबाट प्रेरणा पाएका केही योद्धा पनि तिनीसँगै गए। २७ तर केही निकम्मा मानिसले यसो भने: “यसले हामीलाई के बचाऊला र!”+ तिनीहरूले साउललाई तुच्छ ठाने र उनलाई केही उपहार दिएनन्‌।+ तर उनले केही भनेनन्‌।*

११ अनि अम्मोनीहरूका+ राजा नहस आफ्नो सेना लिएर आए र गिलादको याबेसमाथि+ आक्रमण गर्न छाउनी हालेर बसे। याबेसका सबै मानिसले नहसलाई भने: “हामीसित करार* गर्नुहोस्‌ र हामी तपाईँको सेवा गर्नेछौँ।” २ अम्मोनी नहसले भने: “यो एउटा सर्तमा म तिमीहरूसित सन्धि गर्नेछु: तिमीहरू सबैको दाहिने आँखा निकालिनेछ। यसरी म पूरै इस्राएलको अपमान गर्नेछु।” ३ याबेसका नाइकेहरूले नहसलाई जवाफ दिए: “हामीलाई सात दिनको म्याद दिनुहोस्‌ र हामी इस्राएलका सबै इलाकामा सन्देशवाहकहरू पठाउनेछौँ। हामीलाई जोगाउन इस्राएलमा कोही पनि रहेनछ भने हामी तपाईँसामु आत्मसमर्पण गर्नेछौँ।” ४ केही समयपछि सन्देशवाहकहरू साउलको सहर गिबाहमा*+ आइपुगे। ती सन्देशवाहकहरूले त्यहाँका मानिसहरूलाई सबै कुरा बताए। तिनीहरूले ल्याएको खबर सुनेर मानिसहरू डाँको छोडेर रुन थाले।

५ त्यतिबेला साउल भने वस्तुभाउ धपाउँदै खेतबाट आइरहेका थिए। साउलले भने: “मानिसहरूलाई के भयो? तिनीहरू किन रोइकराइ गर्दै छन्‌?” त्यसपछि तिनीहरूले याबेसका सन्देशवाहकहरूले ल्याएको खबर साउललाई सुनाइदिए। ६ तिनीहरूको कुरा सुनेपछि परमेश्‍वरको पवित्र शक्‍ति साउलमाथि आयो+ अनि उनी रिसले आगो भए। ७ तब साउलले दुई वटा बहर ल्याए र त्यसलाई टुक्राटुक्रा पारेर काटे। त्यसपछि उनले ती टुक्राहरू सन्देशवाहकहरूको हातमा इस्राएलका सबै इलाकामा पठाए। ती सन्देशवाहकहरूले मानिसहरूलाई यस्तो खबर दिए: “ज-जसले साउल र समुएलले भनेअनुसार गर्दैनन्‌, तिनीहरूका वस्तुभाउको हालत पनि यस्तै हुनेछ!” त्यसपछि मानिसहरू यहोवा परमेश्‍वरसित डराउन थाले। त्यसैले तिनीहरू एकजुट* भएर साउलकहाँ आए। ८ त्यसपछि साउलले बेजेकमा तिनीहरूको गन्ती गरे। इस्राएलीहरू ३ लाख र यहुदाका मानिसहरू ३० हजार थिए। ९ तिनीहरूले ती सन्देशवाहकहरूलाई भने: “गिलादको याबेसका मानिसहरूलाई यस्तो खबर देओ: ‘भोलि मध्यान्हसम्ममा* तिमीहरू बचाइनेछौ।’” त्यसपछि सन्देशवाहकहरू फर्के र याबेसका मानिसहरूलाई त्यो खबर सुनाए। त्यो सुनेर त्यहाँका मानिसहरू असाध्यै खुसी भए। १० तब याबेसका मानिसहरूले नहसलाई भने: “भोलि हामी तपाईँसामु आत्मसमर्पण गर्नेछौँ। अनि तपाईँलाई जसो गर्न उचित लाग्छ, हामीलाई त्यसै गर्नुहोस्‌।”+

११ भोलिपल्ट साउलले मानिसहरूलाई तीन वटा समूहमा विभाजन गरे। त्यसपछि तिनीहरू बिहान उज्यालो हुनुअघि नै* अम्मोनीहरूको छाउनीमा घुसे अनि मध्यान्ह नहोउन्जेल उनीहरूलाई मार्न छोडेनन्‌।+ बचेकाहरू पनि एकअर्कालाई छोडेर एक्लै भाग्न थाले र उनीहरू तितरबितर भए। १२ त्यसपछि मानिसहरूले समुएललाई भने: “‘साउल हाम्रो राजा हुन सक्छ र’ भन्‍नेहरू को हुन्‌?+ तिनीहरूलाई हाम्रो हातमा सुम्पनुहोस्‌, हामी तिनीहरूलाई मार्नेछौँ।” १३ तर साउलले भने: “आजको दिन कसैको ज्यान लिनु उचित होइन+ किनकि आज यहोवा परमेश्‍वरले इस्राएललाई जोगाउनुभएको छ।”

१४ पछि समुएलले मानिसहरूलाई भने: “आओ, हामी सबै जना गिलगाल जाऔँ+ अनि साउल नै हाम्रा राजा हुन्‌ भनेर फेरि एक चोटि घोषणा गरौँ।”+ १५ त्यसैले सबै मानिस गिलगाल गए अनि त्यहाँ तिनीहरूले यहोवा परमेश्‍वरसामु साउललाई राजा बनाए। त्यसपछि तिनीहरूले यहोवा परमेश्‍वरको निम्ति मेलबलि चढाए।+ त्यो दिन साउल अनि सबै इस्राएलीले हर्षोल्लासका साथ त्यो उत्सव मनाए।+

१२ अनि समुएलले सबै इस्राएलीलाई भने: “तिमीहरूले जे-जे मागेका थियौ, त्यो मैले सबै पूरा गरेँ। तिमीहरूमाथि शासन गर्न राजा पनि नियुक्‍त गरिदिएँ।+ २ हेर! तिमीहरूलाई डोऱ्‍याउने राजा यहीँ छन्‌।+ म बूढो भइसकेको छु अनि मेरो कपाल फुलिसकेको छ। मेरा छोराहरू पनि यहाँ तिमीहरूकै माझमा छन्‌।+ म सानो छँदादेखि नै मैले तिमीहरूलाई डोऱ्‍याउँदै आएको छु।+ ३ हेर, म तिमीहरूसामु खडा छु। त्यसैले मसित कुनै गुनासो छ भने यहोवा परमेश्‍वर र उहाँको अभिषिक्‍त जनसामु भन:+ मैले कसको गोरु वा गधा लिएको छु?+ मैले कसलाई ठगेको वा थिचोमिचो गरेको छु? मैले न्याय बङ्‌ग्याउन कसको हातबाट घुस लिएको छु?+ यदि मैले त्यसो गरेको छु भने तिमीहरूलाई त्यो फर्काइदिनेछु।”+ ४ तब मानिसहरूले भने: “तपाईँले हामीलाई ठग्नुभएको छैन, हामीमाथि थिचोमिचो गर्नुभएको छैन अनि कसैको हातबाट केही लिनुभएको पनि छैन।” ५ अनि समुएलले मानिसहरूलाई भने: “तिमीहरूले मलाई दोष लगाउने केही कुरा भेट्टाएनौ। यहोवा परमेश्‍वर र उहाँको अभिषिक्‍त जन आज यस कुराको साक्षी हुनुहुन्छ।” यो सुनेपछि तिनीहरूले भने: “उहाँ* साक्षी हुनुहुन्छ।”

६ अनि समुएलले मानिसहरूलाई भने: “मोसा र हारुनलाई प्रयोग गरेर तिमीहरूका पुर्खाहरूलाई मिश्रबाट छुटाउनुहुने यहोवा परमेश्‍वर नै यस कुराको साक्षी हुनुहुन्छ।+ ७ अब तिमीहरू अगाडि आओ। अनि यहोवा परमेश्‍वरले तिमीहरू र तिमीहरूका पुर्खाहरूका लागि गर्नुभएका सबै न्यायोचित कामको आधारमा म यहोवा परमेश्‍वरसामु तिमीहरूको इन्साफ गर्नेछु।

८ “जब याकुब मिश्र गएर बसोबास गरे+ र तिमीहरूका पुर्खाहरूले मदतको लागि यहोवा परमेश्‍वरलाई पुकार्न थाले,+ तब तिनीहरूलाई मिश्रबाट छुटाएर ल्याउन अनि यस ठाउँमा बसाल्न+ यहोवा परमेश्‍वरले तुरुन्तै मोसा+ र हारुनलाई पठाउनुभयो। ९ तर तिमीहरूका पुर्खाहरूले आफ्ना परमेश्‍वर यहोवालाई बिर्से। त्यसैले उहाँले तिनीहरूलाई हजोरका सेनापति सिसराको,+ पलिस्तियालीहरूको+ र मोआबका+ राजाको हातमा सुम्पिदिनुभयो।*+ अनि तिनीहरूले यी शत्रुहरूसित लडाइँ गरे। १० तिनीहरूले मदतको लागि यहोवा परमेश्‍वरलाई यसरी पुकारे:+ ‘हामीले पाप गरेका छौँ + किनभने यहोवा परमेश्‍वरलाई त्यागेर हामीले बाआल देवताहरू+ र अस्तारोथका+ मूर्तिहरूलाई पुज्न थाल्यौँ। त्यसैले अब हामीलाई शत्रुहरूको हातबाट बचाउनुहोस्‌ र हामी तपाईँको उपासना गर्नेछौँ।’ ११ तब यहोवा परमेश्‍वरले तिमीहरूलाई वरपरका शत्रुहरूको हातबाट बचाउन यरुब्बाआल,+ बेदान, यिप्तह+ र समुएललाई+ पठाउनुभयो। त्यसपछि तिमीहरू ढुक्कसित बस्न सक्यौ।+ १२ अम्मोनीहरूका राजा नहस+ तिमीहरूलाई आक्रमण गर्न आएको देख्दा तिमीहरूले यसरी जिद्दी गरिरह्‍यौ: ‘हामीलाई जसरी भए पनि राजा चाहिन्छ।’+ यहोवा परमेश्‍वर तिमीहरूका राजा हुँदाहुँदै पनि तिमीहरूले त्यसो भनिरह्‍यौ।+ १३ तिमीहरूले राजा चाहियो भनेका थियौ, तिमीहरूले चाहेको राजा यहाँ छन्‌। हेर! यहोवा परमेश्‍वरले तिमीहरूको लागि एउटा राजा नियुक्‍त गर्नुभएको छ।+ १४ यदि तिमीहरूले यहोवा परमेश्‍वरको डर मान्यौ,+ यहोवाको सेवा गऱ्‍यौ,+ उहाँको आज्ञा पालन गऱ्‍यौ,+ उहाँको आदेशअनुसार चल्यौ र तिमीहरूले अनि तिमीहरूका राजाले यहोवा परमेश्‍वरलाई पछ्याइरह्‍यौ भने तिमीहरूको भलो हुनेछ। १५ तर तिमीहरूले यहोवा परमेश्‍वरको आज्ञा पालन गरेनौ र यहोवा परमेश्‍वरको आदेशअनुसार चलेनौ भने यहोवा परमेश्‍वरले तिमीहरूलाई र तिमीहरूका बुबाहरूलाई सजाय दिनुहुनेछ।+ १६ अब तिमीहरू अगाडि आओ र यहोवा परमेश्‍वरले तिमीहरूको सामने गर्नुहुने यो अचम्मको काम हेर। १७ अहिले गहुँ काट्‌ने समय हो। तर अब म यहोवा परमेश्‍वरलाई बादल गर्जोस्‌ र पानी परोस्‌ भनेर पुकार्नेछु। तिमीहरूले राजाको माग गरेर यहोवा परमेश्‍वरको नजरमा कत्ति दुष्ट काम गरेका रहेछौ, त्यसपछि थाह पाउनेछौ।”+

१८ तब समुएलले यहोवा परमेश्‍वरलाई पुकारे र यहोवा परमेश्‍वरले त्यो दिन बादल गर्जाउनुभयो अनि पानी पार्नुभयो। त्यो देखेर मानिसहरू यहोवा परमेश्‍वरदेखि र समुएलदेखि असाध्यै डराए। १९ अनि सबै मानिसले समुएललाई भने: “तपाईँका सेवकहरूको तर्फबाट तपाईँका परमेश्‍वर यहोवालाई प्रार्थना गरिदिनुहोस्‌+ र हाम्रो ज्यान जोगियोस्‌। किनभने हामीले राजाको माग गरेर दुष्ट काम गरेका छौँ, आफ्नो पापमाथि अझै पाप थपेका छौँ।”

२० त्यसैले समुएलले मानिसहरूलाई भने: “नडराओ। तिमीहरूले साँच्चै नै दुष्ट काम गरेका हौ, तर यहोवा परमेश्‍वरलाई पछ्याउन नछोड+ र सारा हृदयले यहोवा परमेश्‍वरको सेवा गर।+ २१ तिमीहरू झूटा देवताहरूको पछि लाग्न छोड,+ जसको पछि लागेर तिमीहरूलाई केही फाइदा हुँदैन।+ तिनीहरूले तिमीहरूलाई बचाउन सक्दैनन्‌, तिनीहरूको पछि लाग्नु बेकार हो। २२ आफ्नो महान्‌ नामको खातिर+ यहोवा परमेश्‍वरले आफ्ना मानिसहरूलाई त्याग्नुहुनेछैन+ किनभने यहोवा परमेश्‍वर आफैले तिमीहरूलाई उहाँको जन हुन छान्‍नुभएको हो।+ २३ तिमीहरूको तर्फबाट यहोवा परमेश्‍वरलाई प्रार्थना गर्न छोड्‌ने कुरा त म सोच्न समेत सक्दिनँ। किनकि मैले त्यसो गर्न छोड्‌नु भनेको उहाँविरुद्ध पाप गर्नु हो। म तिमीहरूलाई असल र सही बाटोमा हिँड्‌न सिकाइरहनेछु। २४ हेर! यहोवा परमेश्‍वरले तिमीहरूको लागि ठूलठूला कामहरू गर्नुभएको छ। त्यसैले सधैँ उहाँको डर मान+ अनि वफादार भएर सारा हृदयले उहाँको सेवा गर।+ २५ तर तिमीहरूले अटेरी भएर खराब काम गरिरह्‍यौ भने तिमीहरू र तिमीहरूका राजा नाश हुनेछौ।”+

१३ साउल राजा हुँदा तिनी . . .* वर्षका थिए।+ इस्राएलमा शासन गर्न थालेको दुई वर्षपछि २ साउलले इस्राएलीहरूबाट ३ हजार मानिस छाने र बाँकीलाई चाहिँ आ-आफ्नो पालमा फर्काइदिए। ती छानिएकाहरूमध्ये २ हजार जना साउलसँग मिक्मासमा र बेथेलको पहाडी इलाकामा थिए अनि १ हजार जनाचाहिँ जोनाथनसँग+ बिन्यामिनीहरूको इलाका गिबाहमा+ थिए। ३ त्यसपछि जोनाथनले गेबामा+ रहेको पलिस्तियालीहरूको+ सैन्य चौकीमा आक्रमण गरे र तिनीहरूलाई हराए। यो कुरा अरू पलिस्तियालीहरूले पनि थाह पाए। अनि साउलले पूरै इस्राएलमा सन्देशवाहकहरू पठाए। ती सन्देशवाहकहरूले सिङ फुक्दै+ यसो भने: “हे हिब्रूहरू हो, सुन!” ४ सबै इस्राएलीलाई यस्तो खबर दिइयो: “साउलले पलिस्तियालीहरूको एउटा सैन्य चौकीमा आक्रमण गरे र तिनीहरूलाई हराए; त्यसैले पलिस्तियालीहरूले इस्राएलीहरूलाई घृणा गर्न थालेका छन्‌।” त्यसकारण इस्राएलीहरूलाई गिलगालमा+ साउलकहाँ जम्मा हुने आदेश दिइयो।

५ इस्राएलीहरूसित लडाइँ गर्न पलिस्तियालीहरू पनि जम्मा भए। तिनीहरूले ३० हजार रथ र ६ हजार घोडचढी सिपाही लिएर आएका थिए। तिनीहरूसँग भएका सिपाहीहरू समुद्र किनारका बालुवासरी अनगिन्ती थिए।+ माथि उक्लेर तिनीहरूले बेथ-आवेनको+ पूर्वतिर मिक्मासमा छाउनी हाले। ६ आफूमाथि ठूलो सङ्‌कट आइपर्न लागेको छ भन्‍ने देखेर इस्राएलीहरू आकुलव्याकुल भए। त्यसैले तिनीहरू गुफाहरूमा,+ ओडारहरूमा, चट्टानहरूमा, खाडलहरूमा र सुक्खा इनारहरूमा लुके। ७ केही हिब्रू भने यर्दन नदी तरेर गाद र गिलादको इलाकासम्म पुगे+ तर साउलचाहिँ गिलगालमै बसिरहे। साउलसँग जति जना बाँकी थिए, तिनीहरू पनि डरले थरथर काँपिरहेका थिए। ८ समुएलले तोकेको समयअनुसारै साउलले उनलाई सात दिनसम्म पर्खे तर समुएल गिलगाल आइपुगेनन्‌। साउलसित भएका मानिसहरू पनि तिनलाई छोडेर भाग्न थाले। ९ अन्तमा साउलले यस्तो आदेश दिए: “अग्निभेटी र मेलबलि मकहाँ ल्याओ।” त्यसपछि तिनले अग्निभेटी चढाए।+

१० तर साउलले अग्निभेटी चढाइसकेका मात्र के थिए, समुएल त्यहाँ आइपुगे। त्यसैले साउल समुएललाई भेटेर तिनलाई स्वागत गर्न गए। ११ त्यसपछि समुएलले सोधे: “तपाईँले किन यस्तो गर्नुभयो?” साउलले जवाफ दिए: “मानिसहरूले मलाई छोडेर जान थालिसकेका थिए,+ तपाईँ पनि आफूले तोकेको समयमा आइपुग्नुभएन अनि पलिस्तियालीहरू मिक्मासमा जम्मा हुन थालिसकेका थिए।+ १२ तब मैले सोचेँ, ‘अब पलिस्तियालीहरू मलाई आक्रमण गर्न तल गिलगालमा आउनेछन्‌ र मैले मदतको लागि यहोवा परमेश्‍वरसँग बिन्ती पनि गरेको छैनँ।’ त्यसैले म अग्निभेटी चढाउन बाध्य भएँ।”

१३ यो सुनेर समुएलले साउललाई भने: “तपाईँले मूर्ख काम गर्नुभयो। तपाईँका परमेश्‍वर यहोवाले दिनुभएको आज्ञा तपाईँले पालन गर्नुभएन।+ तपाईँले आज्ञा पालन गर्नुभएको भए यहोवा परमेश्‍वरले इस्राएलमा तपाईँको राज्य सदाको लागि स्थिर गर्नुहुने थियो। १४ तर अब तपाईँको राज्य सदाको लागि स्थिर रहनेछैन।+ यहोवा परमेश्‍वरले आफूलाई मन पर्ने एक जना मानिस खोज्नुहुनेछ।+ अनि यहोवाले उनलाई आफ्ना प्रजाको अगुवा नियुक्‍त गर्नुहुनेछ+ किनभने तपाईँले यहोवाको आज्ञा पालन गर्नुभएन।”+

१५ त्यसपछि समुएल गिलगालबाट निस्केर बिन्यामिनीहरूको इलाका गिबाहमा गए। साउलले आफूसँग भएका मानिसहरू गने। तिनीसँग ६०० जनाजति बाँकी थिए।+ १६ साउल, तिनका छोरा जोनाथन र तिनीहरूसँग भएका मानिसहरूले बिन्यामिनीहरूको इलाका गेबामा+ छाउनी हाले। पलिस्तियालीहरूचाहिँ मिक्मासमा छाउनी हालेर बसेका थिए।+ १७ पलिस्तियालीहरूको छाउनीबाट लुटपाट गर्नेहरूका तीन वटा दल निस्कन्थे। एउटा दल सुआलको इलाकामा भएको ओप्रा जाने बाटोतिर लाग्थ्यो। १८ अर्को दल बेथ-होरोन+ जाने बाटोतिर लाग्थ्यो र तेस्रो दलचाहिँ निर्जनभूमितिर अर्थात्‌ सिमानातर्फ जाने बाटोतिर लाग्थ्यो, जसको अगाडि जेबोइम्‌ बेँसी पर्थ्यो।

१९ त्यतिखेर इस्राएलमा धातुको काम गर्ने एक जना पनि थिएन किनभने पलिस्तियालीहरूले यसो भनेका थिए: “ती हिब्रूहरूले तरबार र भाला बनाउन नपाऊन्‌!” २० त्यसैले हलोको फाली तिखार्न अनि गैँती, बन्चरो र हँसियामा धार लगाउन इस्राएलीहरू पलिस्तियालीहरूकहाँ जानुपर्थ्यो। २१ हलोको फाली तिखार्न, गैँती, तीन-दन्ते औजार र बन्चरोमा धार लगाउन अनि गोरु धपाउने सुइरो मर्मत गर्न एक पिम* तिर्नुपर्थ्यो। २२ त्यसैले लडाइँको दिनमा साउल र जोनाथनसँग भएका मानिसहरूमध्ये कसैसित पनि भाला वा तरबार थिएन।+ साउल र जोनाथनसँग मात्र हतियार थियो।

२३ पलिस्तियाली सिपाहीहरूको एउटा दल भने मिक्मासको+ खोँचमा गइसकेको थियो।

१४ एक दिन साउलका छोरा जोनाथनले+ आफ्नो हतियार बोक्ने सेवकलाई भने: “आऊ! हामी पारिपट्टि पलिस्तियालीहरूको चौकीमा जाऔँ।” तर जोनाथनले यो कुरा आफ्नो बुबालाई भनेनन्‌। २ त्यतिबेला साउलचाहिँ गिबाहनजिकै+ मिग्रोनमा अनारको बोटमुनि बसिरहेका थिए र तिनीसित लगभग ६०० जना मानिस पनि थिए।+ ३ (अहियाहले एपोद*+ लगाएका थिए। अहियाह अहितुबका+ छोरा थिए। अहितुब इकाबोदका+ दाइ थिए। इकाबोद पिनहासका+ छोरा थिए अनि पिनहासचाहिँ सिलोमा+ यहोवा परमेश्‍वरको पुजारीको रूपमा सेवा गरेका एलिका+ छोरा थिए।) जोनाथन पलिस्तियालीहरू बसिरहेको ठाउँमा गएका छन्‌ भनेर ती मानिसहरूलाई थाह थिएन। ४ पलिस्तियालीहरूको चौकीमा पुग्न जोनाथन जुन बाटो भएर जान खोजिरहेका थिए, त्यस बाटोको दुवैपट्टि दाँतजस्तै तीखा चट्टानहरू थिए। एकापट्टिको चट्टानको नाम बोजेज र अर्कोपट्टिको चट्टानको नाम सेनेह थियो। ५ एउटा चट्टान उत्तरपट्टि थियो; त्यो खम्बाजस्तै ठडिएको थियो र मिक्मासतर्फ फर्किएको थियो। अर्को चट्टानचाहिँ दक्षिणपट्टि थियो र गेबातर्फ+ फर्किएको थियो।

६ जोनाथनले आफ्नो हतियार बोक्ने सेवकलाई भने: “आऊ! हामी पारिपट्टि ती बेखतनेहरूको चौकीमा जाऔँ।+ यहोवा परमेश्‍वरले हामीलाई मदत गर्नुहुन्छ होला। चाहे हामी धेरै होऔँ वा थोरै, तिनीहरूलाई जित्न यहोवा परमेश्‍वरले हामीलाई साथ दिनुहुनेछ, उहाँलाई कुनै कुराले रोक्न सक्दैन।”+ ७ तब हतियार बोक्ने ती सेवकले भने: “तपाईँको मनले जे भन्छ, त्यही गर्नुहोस्‌। तपाईँ जतातिर जान चाहनुहुन्छ, त्यतै जानुहोस्‌ र म तपाईँको पछिपछि लाग्नेछु।” ८ त्यसपछि जोनाथनले भने: “हामी पारिपट्टि ती मानिसहरूकहाँ जाऔँ र तिनीहरूले हामीलाई देखून्‌। ९ तिनीहरूले ‘हामी नआउन्जेल त्यहीँ उभिरह!’ भनेमा हामी अघि बढ्‌नेछैनौँ, त्यहीँ उभिरहनेछौँ। १० तर तिनीहरूले ‘हामीसित लडाइँ गर्न माथि आओ!’ भनेमा हामी माथि उक्लनेछौँ। यहोवा परमेश्‍वरले तिनीहरूलाई हाम्रो हातमा सुम्पिदिनुहुनेछ भन्‍ने कुराको चिन्ह यही हुनेछ।”+

११ त्यसपछि उनीहरू दुवै जना पलिस्तियालीहरूको चौकीमा भएका सिपाहीहरूले देख्नेगरि उभिए। तब ती पलिस्तियालीहरूले भने: “हेर त! हिब्रूहरू आफू लुकिरहेको दुलोबाट निस्केर आएछन्‌।”+ १२ त्यसपछि ती पलिस्तियालीहरूले जोनाथन र तिनको हतियार बोक्ने सेवकलाई भने: “हिम्मत छ भने माथि आओ! हामी तिमीहरूलाई पाठ सिकाउनेछौँ।”+ यो सुन्‍नेबित्तिकै जोनाथनले आफ्नो हतियार बोक्ने सेवकलाई भने: “मेरो पछिपछि आऊ! यहोवा परमेश्‍वरले तिनीहरूलाई इस्राएलीहरूको हातमा सुम्पिदिनुहुनेछ।”+ १३ अनि जोनाथन चार हातखुट्टा टेकेर भीर चढे। हतियार बोक्ने सेवक पनि तिनको पछिपछि लागे। त्यसपछि जोनाथनले पलिस्तियालीहरूलाई आक्रमण गरेर मार्न थाले अनि उम्केकाहरूलाई चाहिँ तिनको हतियार बोक्ने सेवकले मारे। १४ जोनाथन र तिनको हतियार बोक्ने सेवकले पहिलो आक्रमणमै लगभग आधा एकडको दूरीमा* २० जनाजतिलाई मारे।

१५ तब छाउनीमा भएका पलिस्तियालीहरू, चौकीमा भएका सिपाहीहरू अनि लुटपाट गर्न+ निस्केका सिपाहीहरू सबै असाध्यै डराए। जमिन बेसरी हल्लियो र परमेश्‍वरले पलिस्तियालीहरूमाझ त्रास फैलाइदिनुभयो। १६ बिन्यामिनीहरूको इलाका गिबाहमा+ पहरा दिएर बसिरहेका साउलका मानिसहरूले शत्रुहरूको छाउनीमा जताततै खलबली मच्चिरहेको देखे।+

१७ साउलले आफ्ना सिपाहीहरूलाई भने: “अहिले यहाँ हामीसित कति जना सिपाही छन्‌, गनेर हेर! अनि को-को छैनन्‌, पत्ता लगाऊ।” गन्ती गर्दा जोनाथन र तिनको हतियार बोक्ने सेवक त्यहाँ छैनन्‌ भनेर थाह भयो। १८ तब साउलले अहियाहलाई+ भने: “साँचो परमेश्‍वरको सन्दुक* यहाँ ल्याउनुहोस्‌!” (त्यतिबेला* साँचो परमेश्‍वरको सन्दुक इस्राएलीहरूसँगै थियो।) १९ साउलले पुजारीसित कुरा गरिरहेको बेला पलिस्तियालीहरूको छाउनीमा झन्‌झनै खलबली मच्चिन थाल्यो। त्यसैले साउलले पुजारीलाई भने: “तपाईँ जे गर्दै हुनुहुन्छ, त्यो रोकिहाल्नुहोस्‌!”* २० त्यसपछि साउल र तिनका सिपाहीहरू भेला भए अनि लडाइँ गर्न पलिस्तियालीहरूको छाउनीमा गए। त्यहाँ पुग्दा पलिस्तियालीहरूले एकअर्कालाई तरबारले काटाकाट गरिरहेको तिनीहरूले देखे। त्यहाँ असाध्यै गोलमाल मच्चिएको थियो। २१ पहिले पलिस्तियालीहरूको पछि लागेर उनीहरूकै छाउनीमा गएका हिब्रूहरूले पनि साउल र जोनाथनसँग भएका इस्राएलीहरूलाई साथ दिन थाले। २२ एप्रैमको पहाडी इलाकामा लुकेर बसेका+ इस्राएली सिपाहीहरूले पलिस्तियालीहरू भागे भनेर थाह पाए। त्यसपछि तिनीहरूले पनि पलिस्तियालीहरूलाई खेद्‌न थाले। २३ त्यो दिन यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई बचाउनुभयो।+ अनि तिनीहरू लडाइँ गर्दै बेथ-आवेनसम्म+ पुगे।

२४ त्यो दिन इस्राएली सिपाहीहरू लखतरान भएका थिए। त्यसमाथि साउलले पनि तिनीहरूलाई यस्तो कसम खान लगाएका थिए: “आज साँझसम्म मैले आफ्ना शत्रुहरूसित बदला नलिउन्जेल कसैले पनि केही नखाओस्‌, नत्र ऊ श्रापित हुनेछ!” त्यसैले ती सिपाहीहरूले केही पनि खाएका थिएनन्‌।+

२५ त्यसपछि सबै सिपाही जङ्‌गलमा आइपुगे। त्यहाँ भुईँमा मह थियो। २६ जङ्‌गलमा आइपुगेपछि तिनीहरूले मह तपतप चुहिरहेको देखे तर कसैले पनि त्यो मह खाएन किनकि आफूलाई खान लगाइएको कसमको कारण तिनीहरू डराएका थिए। २७ तर बुबाले सिपाहीहरूलाई कसम खान लगाएका छन्‌ भनेर जोनाथनले सुनेका थिएनन्‌।+ त्यसैले तिनले आफ्नो हातमा भएको लौरोको टुप्पोले महको चाकामा घोचे। त्यो मह खाएपछि तिनले तागत पाए।* २८ यो देखेपछि एक जना सिपाहीले भने: “तपाईँको बुबाले हामीलाई एउटा कसम खान लगाएर कडाइका साथ यसो भन्‍नुभएको छ, ‘आज कसैले पनि केही नखाओस्‌ नत्र ऊ श्रापित हुनेछ!’+ त्यसैले सिपाहीहरू लखतरान भएका छन्‌।” २९ तर जोनाथनले भने: “मेरो बुबाले गर्दा मानिसहरूलाई साह्रै कष्ट भएको छ। हेर त! मैले अलिकता मह चाख्दा मात्रै पनि कत्ति तागत पाएँ। ३० शत्रुहरूबाट लुटेको सरसामानबाट सिपाहीहरूले पेटभरि खान पाएका भए कत्ति राम्रो हुने थियो!+ तिनीहरूले अझ धेरै पलिस्तियालीलाई मार्न सक्ने थिए।”

३१ त्यो दिन तिनीहरू पलिस्तियालीहरूलाई मार्दै मिक्मासदेखि ऐय्यालोनसम्म+ पुगे। तिनीहरू असाध्यै थाकेका थिए। ३२ अनि तिनीहरू लुटेको सरसामान लिन दौडादौड गर्न थाले। तिनीहरूले भेडाबाख्रा र गाईवस्तु लिए अनि ती जनावरहरूलाई त्यहीँ मारे। त्यसपछि तिनीहरूले रगतैसमेत मासु खाए।+ ३३ अनि साउललाई यस्तो खबर सुनाइयो: “हेर्नुहोस्‌! मानिसहरूले रगतैसमेत मासु खाएर यहोवा परमेश्‍वरविरुद्ध पाप गरिरहेका छन्‌।”+ तब साउलले भने: “तिमीहरूले घोर पाप गऱ्‍यौ। अब एउटा ठूलो ढुङ्‌गा गुडाएर तुरुन्तै यहाँ ल्याओ।” ३४ साउलले फेरि यसो भने: “सबै सिपाहीलाई यस्तो खबर देओ: ‘तिमीहरूले आ-आफ्नो बहर र भेडा यहाँ ल्याएर काट अनि त्यसको मासु खाओ। तर रगतचाहिँ नखाओ नत्र तिमीहरूले यहोवा परमेश्‍वरविरुद्ध पाप गरिरहेका हुनेछौ।’”+ त्यसैले त्यो रात तिनीहरू सबैले आ-आफ्नो बहर त्यहाँ ल्याएर काटे। ३५ अनि साउलले यहोवा परमेश्‍वरको निम्ति एउटा वेदी बनाए।+ तिनले यहोवा परमेश्‍वरको निम्ति बनाएको पहिलो वेदी यही हो।

३६ पछि साउलले भने: “आज राती पलिस्तियालीहरूलाई आक्रमण गर्न जाऔँ अनि उज्यालो नहोउन्जेल तिनीहरूलाई लुटौँ। एक जनालाई पनि बाँकी नराखौँ।” तब सिपाहीहरूले भने: “हुन्छ, तपाईँलाई जे ठीक लाग्छ, त्यही गर्नुहोस्‌।” त्यसपछि पुजारीले भने: “हामी साँचो परमेश्‍वरसँग यहीँ सल्लाह मागौँ।”+ ३७ अनि साउलले परमेश्‍वरलाई सोधे: “म पलिस्तियालीहरूलाई आक्रमण गर्न जाऊँ कि नजाऊँ?+ के तपाईँले तिनीहरूलाई इस्राएलीहरूको हातमा सुम्पिदिनुहुनेछ?” तर त्यो दिन परमेश्‍वरले तिनलाई केही जवाफ दिनुभएन। ३८ त्यसैले साउलले भने: “नाइकेहरू सबै यहाँ आओ अनि आज हामीमाझ कस्तो पाप भयो, पत्ता लगाओ। ३९ इस्राएलीहरूलाई बचाउनुहुने जीवित परमेश्‍वर यहोवाको कसम खाएर म भन्छु, यदि मेरो आफ्नै छोरा जोनाथनले पाप गरेको रहेछ भने पनि उसलाई मारिनेछ।” तर कसैले पनि केही भनेनन्‌। ४० त्यसपछि साउलले इस्राएलीहरूलाई भने: “तिमीहरू सबै एकातिर उभिओ अनि म र मेरो छोरा जोनाथन अर्कोतिर उभिनेछौँ।” तब मानिसहरूले तिनलाई भने: “हुन्छ, तपाईँलाई जे ठीक लाग्छ, त्यही गर्नुहोस्‌।”

४१ त्यसपछि साउलले यहोवा परमेश्‍वरलाई भने: “हे इस्राएलका परमेश्‍वर! हामीलाई तुम्मीममार्फत*+ जवाफ दिनुहोस्‌।” यसबाट जोनाथन र साउल छानिए अनि अरूलाई भने जान दिइयो। ४२ तब साउलले भने: “म र मेरो छोरा जोनाथनमध्ये दोषी को हो, त्यो पत्ता लगाउन गोला हाल्नुहोस्‌।”+ गोला जोनाथनको नाममा पऱ्‍यो। ४३ त्यसपछि साउलले जोनाथनलाई सोधे: “तिमीले के गऱ्‍यौ, मलाई भन।” जोनाथनले जवाफ दिए: “मैले मेरो लौरोको टुप्पोले अलिकता मह चाखेको मात्र हुँ।+ म मर्न तयार छु।”

४४ तब साउलले भने: “जोनाथन, यदि तिमी मारिएनौ भने परमेश्‍वरले मलाई त्यसै गरून्‌, अझ त्योभन्दा बढ्‌ता गरून्‌।”+ ४५ तर सिपाहीहरूले साउललाई भने: “जोनाथनले गर्दा नै इस्राएलीहरूको यत्ति ठूलो जित भयो;+ अब उल्टै उहाँलाई मार्नु उचित होला र? यस्तो कुरा त हामी सोच्न पनि सक्दैनौँ! जीवित परमेश्‍वर यहोवाको कसम खाएर हामी भन्छौँ, उहाँको शिरको एउटा केशसमेत भुईँमा खस्नेछैन। किनकि परमेश्‍वरको मदत पाएरै आज उहाँले यी सबै काम गर्नुभएको हो।”+ यसरी सिपाहीहरूले जोनाथनलाई बचाए र तिनी मारिएनन्‌।

४६ साउलले पलिस्तियालीहरूलाई खेद्‌न छोडिदिए अनि पलिस्तियालीहरू आफ्नो इलाकामा फर्के।

४७ साउलले इस्राएलीहरूको सबै इलाकामाथि आफ्नो शासन मजबुत पारे; तिनले वरपरका सबै शत्रु अर्थात्‌ मोआबीहरू,+ अम्मोनीहरू,+ एदोमीहरू,+ जोबाहका राजाहरू+ र पलिस्तियालीहरूसित+ लडाइँ गरे। तिनी जहाँ-जहाँ गए, त्यहाँ-त्यहाँका सबै शत्रुलाई हराए। ४८ तिनले साहसी भएर अमालेकीहरूसित+ लडाइँ गरे र तिनीहरूलाई जिते। तिनले इस्राएलीहरूलाई शत्रुहरूको हातबाट जोगाए।

४९ साउलका छोराहरू जोनाथन, इस्वि र मल्कि-सुअ+ थिए। तिनका दुई छोरी पनि थिए; जेठीको नाम मेराब+ अनि कान्छीको नाम मिकल+ थियो। ५० साउलकी पत्नीको नाम अहिनोम थियो। उनी अहिमासकी छोरी थिइन्‌। साउलका सेनापति अब्नेर थिए। अब्नेर+ साउलका काका नेरका छोरा थिए। ५१ साउलका बुबा किस+ थिए र अब्नेरका बुबा नेर+ अबिएलका छोरा थिए।

५२ साउलको शासनकालभरि पलिस्तियालीहरूसित तिनको घमासान लडाइँ भइरह्‍यो।+ बलिया वा साहसी पुरुष देख्नेबित्तिकै साउलले उनलाई आफ्नो सेनामा भर्ती गराइहाल्थे।+

१५ अनि समुएलले साउललाई भने: “आफ्ना प्रजा इस्राएलीहरूमाथि तपाईँलाई राजा अभिषेक गर्न यहोवा परमेश्‍वरले मलाई तपाईँकहाँ पठाउनुभएको थियो।+ यहोवा परमेश्‍वर के भन्‍नुहुन्छ, अब सुन्‍नुहोस्‌।+ २ सेनाहरूका यहोवा यसो भन्‍नुहुन्छ: ‘इस्राएलीहरू मिश्रबाट निस्केर आउँदा अमालेकीहरूले तिनीहरूलाई बाटोमा रोक्न खोजेका थिए; त्यसैले म उनीहरूलाई सजाय दिनेछु।+ ३ अब जाऊ, अमालेकीहरूलाई आक्रमण गर+ अनि उनीहरूसित भएका सबै थोक नाश गर।+ उनीहरूका कुनै पनि कुरा बाँकी नछोड्‌नू;* उनीहरू र उनीहरूसित भएका कसैलाई पनि जिउँदै नछोड्‌नू।+ पुरुष होस्‌ या स्त्री, केटाकेटी होस्‌ या दूधे बालक, बहर होस्‌ या भेडा, उँट होस्‌ या गधा सबैलाई मार्नू।’”+ ४ तब साउलले सिपाहीहरूलाई तेलैममा भेला गराए र तिनीहरूको गन्ती गरे: त्यहाँ २ लाख पैदल सिपाही अनि यहुदाका १० हजार मानिस थिए।+

५ साउल आफ्नो सेना लिएर अमालेकीहरूको सहरसम्मै गए र तिनले केही सिपाहीलाई बेँसीमा* ढुकेर बस्न लगाए। ६ अनि साउलले केनीहरूलाई+ भने: “अमालेकीहरूको इलाकाबाट निस्केर जाओ नत्र त अमालेकीहरूसँग तिमीहरू पनि नामेट होऔला।+ इस्राएलीहरू मिश्रबाट निस्केर आउँदा तिमीहरूले उनीहरूलाई दया* देखाएका थियौ।+ त्यसैले म तिमीहरूलाई नाश गर्नेछैनँ।” तब केनीहरू अमालेकीहरूको इलाकाबाट निस्केर गए। ७ त्यसपछि साउलले अमालेकीहरूलाई+ आक्रमण गरे; तिनीहरूलाई मार्दै साउल हविलाहदेखि+ मिश्रनजिकैको सुरसम्म+ पुगे। ८ तिनले अमालेकीहरूका राजा अगागलाई+ जिउँदै पक्रे तर बाँकी सबैलाई भने तरबारले मारे।+ ९ साउल र तिनका सिपाहीहरूले राजा अगाग, राम्रा-राम्रा भेडाबाख्रा, गाईवस्तु, मोटाघाटा जनावर, थुमा अनि असल-असल चिजबिज सबै बाँकी राखे;+ तिनीहरूले ती नाश गर्न चाहेनन्‌। तर कुनै मोल नभएका र बेकारका चिजबिज भने नाश गरे।

१० अनि यहोवा परमेश्‍वरले समुएललाई भन्‍नुभयो: ११ “साउललाई राजा बनाएकोमा मलाई पछुतो* लागेको छ किनभने तिनी मदेखि तर्केर गएका छन्‌ र तिनले मेरो आज्ञा पालन गर्न छोडेका छन्‌।”+ यो सुनेर समुएल असाध्यै दुःखी भए अनि उनले रातभरि यहोवा परमेश्‍वरलाई पुकारिरहे।+ १२ साउललाई भेट्‌न समुएल भोलिपल्ट सबेरै उठे। तब उनले यस्तो सन्देश पाए: “साउल कर्मेल+ गए र त्यहाँ तिनले आफ्नो सम्मानमा एउटा स्मारक खडा गरे।+ त्यसपछि तिनी गिलगाल गए।” १३ जब समुएल साउलकहाँ पुगे, तब साउलले उनलाई भने: “यहोवा परमेश्‍वरले तपाईँलाई आशिष्‌ देऊन्‌! यहोवा परमेश्‍वरले भन्‍नुभएअनुसारै मैले गरेको छु।” १४ तर समुएलले भने: “त्यसोभए यो भेडाबाख्रा र गाईवस्तुको आवाजचाहिँ के हो त?”+ १५ तब साउलले भने: “ती जनावरहरू अमालेकीहरूकहाँबाट ल्याइएका हुन्‌। त्यहाँका राम्रा-राम्रा भेडाबाख्रा र गाईवस्तु यहोवा परमेश्‍वरको निम्ति बलि चढाउन सिपाहीहरूले बाँकी राखेका हुन्‌। तर अरू सबै कुरा हामीले नाश गऱ्‍यौँ।” १६ यो सुनेपछि समुएलले साउललाई भने: “बस्‌, भयो! यहोवा परमेश्‍वरले हिजो राती मलाई के भन्‍नुभयो, म तपाईँलाई बताउँछु।”+ साउलले भने: “हुन्छ, भन्‍नुहोस्‌!”

१७ समुएलले भने: “तपाईँ इस्राएलका कुलहरूका नाइके बन्‍नुहुँदा+ अनि यहोवा परमेश्‍वरले तपाईँलाई इस्राएलीहरूमाथि राजा अभिषेक गर्नुहुँदा के तपाईँले आफूलाई एकदमै सानो ठान्‍नुभएको थिएन र?+ १८ पछि यहोवा परमेश्‍वरले तपाईँलाई एउटा ठूलो काम सुम्पनुभयो र यसो भन्‍नुभयो, ‘जाऊ! ती पापी अमालेकीहरूलाई नाश गर।+ तिनीहरूको नामोनिसान नमेटिउन्जेल तिनीहरूसित लडाइँ गर।’+ १९ तैपनि तपाईँले किन यहोवा परमेश्‍वरको आज्ञा पालन गर्नुभएन? तपाईँले लोभी भएर शत्रुहरूको धनमाल लिनुभयो+ अनि यहोवा परमेश्‍वरले जे नगर्नू भन्‍नुभएको थियो, त्यही गर्नुभयो!”

२० तब साउलले समुएललाई भने: “तर मैले यहोवा परमेश्‍वरको आज्ञा पालन गरेँ। यहोवाले मलाई जुन काम गर्न पठाउनुभएको थियो, त्यो मैले गरेँ। अमालेकीहरूका राजा अगागलाई जिउँदै पक्रेर ल्याएँ अनि बाँकी सबैलाई मारेँ।+ २१ तर तपाईँका परमेश्‍वर यहोवाको निम्ति गिलगालमा बलि चढाउन भनेर मानिसहरूले नाश गर्नुपर्ने भेडाबाख्रा र गाईवस्तुमध्येबाट राम्रा-राम्राचाहिँ छानेर ल्याए।”+

२२ त्यसपछि समुएलले भने: “यहोवा परमेश्‍वरलाई कुन कुरा धेरै मन पर्छ—अग्निभेटी र बलिहरू+ चढाएको कि यहोवा परमेश्‍वरको आज्ञा पालन गरेको? हेर्नुहोस्‌! बलि चढाउनुभन्दा आज्ञा पालन गर्नु अनि थुमाको बोसो+ चढाउनुभन्दा उहाँको वचन ध्यान दिएर सुन्‍नु उत्तम हो।+ २३ विद्रोह गर्नु+ भनेको जोखना हेर्नुजत्तिकै खराब हो।+ अनि अहङ्‌कारी हुनु भनेको जादुगरी र मूर्तिपूजा गर्नुजत्तिकै* खराब हो। तपाईँले यहोवा परमेश्‍वरको आज्ञालाई तिरस्कार गर्नुभएकोले+ उहाँले पनि तपाईँलाई राजाको रूपमा तिरस्कार गर्नुभएको छ।”+

२४ अनि साउलले समुएललाई भने: “मैले पाप गरेँ। मैले यहोवा परमेश्‍वरले दिनुभएको आज्ञा उल्लङ्‌घन गरेँ अनि तपाईँको कुरा मानिनँ। किनकि म मानिसहरूसँग डराएँ अनि तिनीहरूले भनेअनुसार गरेँ। २५ त्यसैले बिन्ती छ, मेरो पाप क्षमा गरिदिनुहोस्‌ र मसँगै आउनुहोस्‌ ताकि म यहोवा परमेश्‍वरलाई दण्डवत्‌ गर्न सकूँ।”+ २६ तर समुएलले साउललाई भने: “म तपाईँसित आउँदिनँ किनकि तपाईँले यहोवा परमेश्‍वरको आज्ञा मान्‍न इन्कार गर्नुभयो। त्यसैले यहोवा परमेश्‍वरले पनि तपाईँलाई इन्कार गर्नुभएको छ र तपाईँ इस्राएलीहरूको राजा भइरहनुहुनेछैन।”+ २७ जब समुएल त्यहाँबाट जान फनक्क फर्के, तब साउलले उनको बाहुला नभएको अलखाको* छेउ च्याप्प समाते र त्यो च्यातियो। २८ तब समुएलले साउललाई भने: “आज यहोवा परमेश्‍वरले तपाईँको राज्य यसरी नै खोस्नुहुनेछ,* तपाईँ इस्राएलीहरूको राजा भइरहनुहुनेछैन। उहाँले त्यो अधिकार तपाईँभन्दा योग्य व्यक्‍तिलाई दिनुहुनेछ।+ २९ इस्राएलका सर्वोच्च परमेश्‍वरले+ झूट बोल्नुहुन्‍न+ र आफ्नो मन बदल्नुहुन्‍न; उहाँ मानिसहरूले जस्तो आफ्नो मन बदल्नुहुन्‍न।”+

३० तब साउलले भने: “मैले पाप गरेँ। तर बिन्ती छ, मेरा प्रजाका नाइकेहरूसामु र सबै इस्राएलीसामु मेरो इज्जत राखिदिनुहोस्‌। मसँगै आउनुहोस्‌ अनि म तपाईँका परमेश्‍वर यहोवालाई दण्डवत्‌ गर्नेछु।”+ ३१ तब समुएल साउलसँगै गए अनि साउलले यहोवा परमेश्‍वरलाई दण्डवत्‌ गरे। ३२ समुएलले भने: “अमालेकीहरूका राजा अगागलाई यहाँ ल्याऊ।” तब अगाग हिचकिचाउँदै* समुएलकहाँ गए किनकि तिनले यस्तो सोचेका थिए: ‘अबचाहिँ मृत्युको खतरा टऱ्‍यो।’ ३३ तर समुएलले भने: “जसरी तिम्रो तरबारले स्त्रीहरूको सन्तान खोस्यो, त्यसरी नै तिम्री आमाको पनि सन्तान खोसिनेछ।” यति भनेर समुएलले अगागलाई गिलगालमा यहोवा परमेश्‍वरसामु टुक्राटुक्रा पारे।+

३४ त्यसपछि समुएल रामा गए अनि साउल पनि गिबाहमा आफ्नै घर फर्के। ३५ अनि समुएलले आफू बाँचुन्जेल साउललाई भेटेनन्‌; साउलको कारण उनी साह्रै दुःखी भएका थिए।+ साउललाई इस्राएलीहरूको राजा बनाएकोमा यहोवा परमेश्‍वरले पछुतो मान्‍नुभयो।+

१६ केही समय बितेपछि यहोवा परमेश्‍वरले समुएललाई यसो भन्‍नुभयो: “मैले साउललाई इस्राएलीहरूका राजाको रूपमा इन्कार गरिसकेँ।+ तिमी कतिन्जेल साउलको लागि शोक गरिरहन्छौ?+ अब भेडाको एउटा सिङ लेऊ र त्यसमा तेल भर।+ म तिमीलाई बेतलेहेममा बस्ने यिसैलाई+ भेट्‌न पठाउनेछु किनभने उनको एक जना छोरालाई मैले राजा हुन रोजेको छु।”+ २ तर समुएलले भने: “म त्यहाँ कसरी जान सक्छु र? यो कुरा साउलले सुने भने तिनले मलाई मार्नेछन्‌।”+ यहोवा परमेश्‍वरले भन्‍नुभयो: “एउटा कोरली* लिएर जाऊ र भन, ‘म यहोवा परमेश्‍वरको लागि बलि चढाउन आएको हुँ।’ ३ बलि चढाउने ठाउँमा यिसैलाई बोलाऊ; त्यसपछि तिमीले के गर्नुपर्ने हो, म बताउनेछु। मैले रोजेको मानिस को हो भनेर म तिमीलाई देखाउनेछु र तिमीले उसलाई मेरो तर्फबाट अभिषेक गर्नू।”+

४ समुएलले यहोवा परमेश्‍वरले भन्‍नुभएअनुसारै गरे। तिनी बेतलेहेम+ पुग्दा त्यहाँका नाइकेहरू डराउँदै तिनीकहाँ आए र तिनीहरूले सोधे: “सबै कुरा ठीक त छ?” ५ समुएलले जवाफ दिए: “अँ, ठीक छ। म यहोवा परमेश्‍वरको लागि बलि चढाउन आएको हुँ। तिमीहरू आफूलाई चोख्याओ र बलि चढाउन मसँगै आओ।” त्यसपछि समुएलले यिसै र उनका छोराहरूलाई चोख्याए अनि उनीहरूलाई बलि चढाउने ठाउँमा बोलाए। ६ उनीहरू आउँदै गर्दा समुएलले एलिआबलाई+ देखे र मनमनै भने: “यहोवा परमेश्‍वरले अभिषेक गर्नुभएको मानिस पक्कै यही हुनुपर्छ।” ७ तर यहोवा परमेश्‍वरले समुएललाई भन्‍नुभयो: “उसको रूपरङ्‌ग र उसको कदमा ध्यान नदेऊ,+ मैले रोजेको मानिस ऊ होइन। परमेश्‍वरले मानिसले झैँ हेर्नुहुन्‍न किनभने मानिसले बाहिरी रूप हेर्छ तर यहोवा परमेश्‍वरले मानिसको हृदय हेर्नुहुन्छ।”+ ८ त्यसपछि यिसैले अबिनादाबलाई+ बोलाए र उनलाई समुएलको अगाडि ल्याए। तर समुएलले भने: “यहोवा परमेश्‍वरले रोज्नुभएको मानिस ऊ होइन।” ९ त्यसपछि यिसैले साम्माहलाई+ समुएलको अगाडि ल्याए। तर समुएलले भने: “यहोवा परमेश्‍वरले रोज्नुभएको मानिस ऊ पनि होइन।” १० यसरी यिसैले आफ्ना सात जना छोरालाई समुएलको अगाडि ल्याए। तर समुएलले यिसैलाई भने: “यहोवा परमेश्‍वरले यिनीहरूमध्ये कसैलाई पनि रोज्नुभएको छैन।”

११ अन्तमा समुएलले यिसैलाई सोधे: “तिम्रा छोराहरू यति नै हुन्‌?” यिसैले भने: “होइन, कान्छो छोरा+ पनि छ। ऊ अहिले भेडा चराउन गएको छ।”+ यो सुनेर समुएलले यिसैलाई भने: “उसलाई बोलाउन मान्छे पठाऊ, ऊ यहाँ नआएसम्म हामी खान बस्नेछैनौँ।” १२ त्यसैले यिसैले आफ्नो कान्छो छोरालाई बोलाउन लगाए र उसलाई समुएलकहाँ ल्याए। ऊ सुन्दर ठिटो थियो; उसका गाला राताराता र आँखा सुन्दर थिए।+ अनि यहोवा परमेश्‍वरले भन्‍नुभयो: “उठ, उसलाई अभिषेक गर किनभने मैले रोजेको मानिस ऊ नै हो!”+ १३ त्यसैले समुएलले तेल हालेको सिङ लिए+ र उसलाई दाइहरूको सामने अभिषेक गरे। अनि त्यस दिनदेखि यहोवा परमेश्‍वरको पवित्र शक्‍तिले दाउदमाथि काम गर्न थाल्यो।+ पछि समुएल उठे र रामातिर+ लागे।

१४ यहोवा परमेश्‍वरले साउलबाट आफ्नो पवित्र शक्‍ति हटाइसक्नुभएको थियो।+ त्यसैले यहोवाले तिनको मन बेचैन हुन दिनुभयो र तिनले बौलाहाले जस्तै व्यवहार गर्न थाले।+ १५ साउलका सेवकहरूले तिनलाई भने: “महाराज! परमेश्‍वरले त्याग्नुभएकोले हजुरको मन बेचैन भएको छ। १६ त्यसैले हजुरका सेवकहरूलाई आदेश दिनुहोस्‌। हामी वीणा बजाउन सिपालु मानिस खोजेर ल्याउनेछौँ।+ जब-जब हजुरको मन बेचैन हुन्छ, तब-तब उसले वीणा बजाउनेछ र हजुरको मन शान्त हुनेछ।” १७ अनि साउलले सेवकहरूलाई भने: “हुन्छ, त्यसै गर। वीणा बजाउन सिपालु मानिस खोज र मकहाँ ल्याओ।”

१८ यो सुनेर राजाका एक जना सेवकले भने: “महाराज! बेतलेहेममा बस्ने यिसैको छोराले एकदमै राम्रोसँग वीणा बजाएको मैले देखेको छु। ऊ बलियो र साहसी योद्धा हो।+ ऊ बोल्नमा सिपालु छ, उसको जीउडाल आकर्षक छ+ अनि यहोवा परमेश्‍वर पनि उसको साथमा हुनुहुन्छ।”+ १९ त्यसपछि साउलले सन्देशवाहकहरूमार्फत यिसैकहाँ यस्तो खबर पठाए: “भेडाबाख्रा चराउने तिम्रो छोरा दाउदलाई मकहाँ पठाइदेऊ!”+ २० यो खबर पाएपछि यिसैले रोटी र एक मशक* मद्य गधामा लादे अनि बाख्राको एउटा पाठो पनि आफ्नो छोरा दाउदसँगै साउलकहाँ पठाइदिए। २१ यसरी दाउद साउलकहाँ पुगे र तिनको सेवा गर्न थाले।+ साउलले दाउदलाई असाध्यै मन पराउन थाले र उनी साउलको हतियार बोक्ने सेवक भए। २२ साउलले यिसैकहाँ यस्तो सन्देश पठाए: “कृपया, दाउदलाई मकहाँ रहेर मेरो सेवा गर्न देऊ किनभने म ऊसित प्रसन्‍न छु।” २३ परमेश्‍वरले साउललाई त्याग्नुभएकोले जब-जब तिनको मन बेचैन हुन्थ्यो, तब-तब दाउद वीणा बजाउँथे। त्यसपछि साउलको मन शान्त हुन्थ्यो, तिनी हलुका महसुस गर्थे अनि तिनको बेचैनी हट्‌थ्यो।+

१७ अनि पलिस्तियालीहरूले+ लडाइँको लागि आफ्नो सेनालाई भेला गराए। तिनीहरू यहुदाको इलाकामा पर्ने सोकोहमा+ भेला भए; तिनीहरूले सोकोह र अजेकाहको+ बीचमा पर्ने एफेस-दम्मिममा+ छाउनी हाले। २ साउल र इस्राएलका मानिसहरू पनि भेला भए अनि उनीहरूले एलाह बेँसीमा+ छाउनी हाले। पलिस्तियालीहरूसित लडाइँ गर्न उनीहरू दल बाँधेर तैनाथ भए। ३ बेँसीको एकातिरको डाँडामा पलिस्तियालीहरू तैनाथ थिए अनि अर्कोतिरको डाँडामा इस्राएलीहरू तैनाथ थिए।

४ त्यसपछि पलिस्तियालीहरूको छाउनीबाट एक जना वीर योद्धा निस्केर आयो। उसको नाम गोल्यत+ थियो र ऊ गाथको+ बासिन्दा थियो। ऊ छ हात, एक बित्ता अग्लो थियो।* ५ उसले टाउकोमा तामाको टोप लगाएको थियो। उसले तामाको कवच*+ पनि लगाएको थियो र त्यस कवचको तौल ५ हजार शेकेल* थियो। ६ उसले नलीखुट्टामा* तामाको पाता कसेको थियो र ढाडमा तामाकै बर्छी*+ भिरेको थियो। ७ उसको भालाको बिँड कपडा बुन्‍ने तानको डन्डाजत्रै ठूलो थियो।+ भालाको टुप्पोचाहिँ फलामको थियो र त्यसको तौल ६०० शेकेल* थियो। उसको ढाल बोक्ने सेवक उसको अघिअघि हिँडिरहेको थियो। ८ त्यसपछि त्यो वीर योद्धा अगाडि आएर खडा भयो+ र इस्राएलीहरूको फौजलाई यसो भन्यो: “तिमीहरू किन दल बाँधेर लडाइँ गर्न तैनाथ छौ? म पलिस्तियालीहरूको वीर योद्धा हुँ अनि तिमीहरूचाहिँ त्यस साउलका दासहरू! अब तिमीहरूमध्येबाट एक जना छान अनि त्यो मसँग लड्‌न तल आओस्‌। ९ यदि त्यसले मसँग लडाइँ गरेर मलाई माऱ्‍यो भने हामी तिमीहरूका दास हुनेछौँ। तर मैले त्यसलाई हराएर मारेँ भने तिमीहरू हाम्रो दास हुनेछौ र तिमीहरूले हाम्रो सेवा गर्नेछौ।” १० त्यस पलिस्तियालीले अझै यसो भन्यो: “आज म इस्राएलीहरूको फौजलाई चुनौती दिन्छु!+ तिमीहरूले छानेको मानिसलाई मसँग लड्‌न पठाओ।”

११ त्यस पलिस्तियालीको यस्तो कुरा सुनेपछि साउल र तिनीसँग भएका इस्राएलीहरू असाध्यै डराए।

१२ दाउद यिसैका+ छोरा थिए। यिसै यहुदाको बेतलेहेम+ अर्थात्‌ एप्राताका+ बासिन्दा थिए। यिसैका आठ जना छोरा+ थिए र साउल राजा हुँदा यिसै बूढो भइसकेका थिए। १३ यिसैका जेठा, माहिला र साहिँला छोरा साउलसँग लडाइँमा गएका थिए।+ जेठाको नाम एलिआब,+ माहिलाको नाम अबिनादाब+ र साहिँलाको नाम साम्माह+ थियो। १४ दाउदचाहिँ यिसैका कान्छा छोरा थिए+ र तिनका जेठा, माहिला र साहिँला दाइ साउलसँग लडाइँमा गएका थिए।

१५ साउलकहाँ सेवा गर्दा दाउद समय-समयमा आफ्नो बुबाको भेडाबाख्रा चराउन+ बेतलेहेम जान्थे। १६ त्यो पलिस्तियाली हरेक दिन बिहान र बेलुकी अगाडि आएर इस्राएलीहरूलाई चुनौती दिन्थ्यो। त्यसले ४० दिनदेखि यसै गरिरहेको थियो।

१७ एक दिन यिसैले आफ्नो छोरा दाउदलाई भने: “बाबु, यो एक एपा* भुटेको अन्‍न र १० वटा रोटी लिएर छाउनीमा दाइहरूलाई दिन गइहाल। १८ यो १० टुक्रा पनिर* दाइहरूको नाइकेलाई* दिनू। अनि दाइहरूको हालखबर कस्तो छ, त्यो पनि राम्ररी बुझेर आउनू।” १९ दाउदका दाइहरू पलिस्तियालीहरूसित+ लडाइँ गर्न साउल र अरू इस्राएलीहरूसित एलाह+ बेँसीमा बसिरहेका थिए।

२० भोलिपल्ट दाउद सबेरै उठे अनि आफ्ना भेडाबाख्रा एक जनालाई जिम्मा लगाए। त्यसपछि तिनले पोकापन्तरा कसे र आफ्नो बुबा यिसैले भनेअनुसारै छाउनीमा गए। तिनी छाउनीमा पुग्दा सिपाहीहरू कराउँदै युद्धभूमितिर गइरहेका थिए। २१ इस्राएलीहरूको र पलिस्तियालीहरूको फौज लडाइँ गर्न आमनेसामने तैनाथ भए। २२ यो देखेर दाउदले तुरुन्तै आफ्नो झोला कुरुवाकहाँ छोडे र दौडेर युद्धभूमितिर गए। त्यहाँ पुगेपछि तिनले आफ्ना दाइहरूको हालखबर सोध्न थाले।+

२३ दाउद आफ्ना दाइहरूसित कुरा गरिरहेको बेला पलिस्तियालीहरूको त्यो वीर योद्धा गोल्यत+ आयो, जो गाथको बासिन्दा थियो। पलिस्तियालीहरू तैनाथ भएको ठाउँबाट त्यो अगाडि आयो र पहिलाजस्तै इस्राएलीहरूलाई चुनौती दिन थाल्यो।+ दाउदले यो सबै सुने। २४ गोल्यतलाई देखेपछि इस्राएलीहरू डराएर भागाभाग गर्न थाले।+ २५ ती इस्राएलीहरूले आपसमा यसो भनिरहेका थिए: “देख्यौ त्यो मान्छेलाई! त्यसले इस्राएलीहरूलाई यसरी नै चुनौती दिइरहेको छ।+ जसले त्यसलाई मार्छ, उसलाई राजाले थुप्रै धनसम्पत्ति दिनुहुनेछ, उसलाई आफ्नै छोरीसमेत दिनुहुनेछ+ अनि उसको बुबाको घरानालाई कर र अनिवार्य सेवाहरूबाट छुट दिनुहुनेछ।”

२६ दाउदले आफूनजिकै उभिरहेका मानिसहरूलाई सोधे: “त्यस पलिस्तियालीलाई मारेर इस्राएलको इज्जत जोगाउने मानिसले के पाउनेछ? त्यो बेखतने पलिस्तियालीको त्यत्रो आँट! जीवित परमेश्‍वरको फौजलाई चुनौती दिनलाई त्यो को हो र?”+ २७ त्यसलाई मार्ने मानिसले यस्तो-यस्तो पाउनेछ भनेर मानिसहरूले दाउदलाई पहिलाकै कुरा सुनाइदिए। २८ दाउदले मानिसहरूसित कुरा गरिरहेको देखेर तिनका जेठा दाइ एलिआब+ तिनीसित रिसाए र यसो भने: “तँ किन यहाँ आइस्‌? ती थोरै भेडालाई निर्जनभूमिमा कसकहाँ छोडेर आइस्‌?+ तँ किन यत्ति हठी भइस्‌? तेरो नियत के हो, मलाई राम्ररी थाह छ। तँ यहाँ लडाइँको रमिता हेर्न आइस्‌ होइन?” २९ तब दाउदले भने: “मैले के गरेको छु र? एउटा प्रश्‍न मात्र सोधेको त हुँ नि!” ३० त्यसपछि दाउदले अर्कै मानिसतिर फर्केर पहिलाकै प्रश्‍न सोधे+ र मानिसहरूले तिनलाई पहिलाको जस्तै जवाफ दिए।+

३१ केही मानिसले दाउदले भनेको कुरा सुने र त्यसबारे साउललाई बताइदिए। त्यसैले साउलले दाउदलाई बोलाउन पठाए। ३२ अनि दाउदले साउललाई भने: “त्यस पलिस्तियालीको कारण कसैले पनि हिम्मत नहारोस्‌। तपाईँको यो सेवक त्यस पलिस्तियालीसित लड्‌न जानेछ।”+ ३३ तर साउलले दाउदलाई भने: “तिमी त्यस पलिस्तियालीसित कहाँ लड्‌न सक्छौ र! तिमी त ठिटै छौ+ तर त्यस पलिस्तियालीले भने सानैदेखि लडाइँ गर्दै आएको छ।” ३४ त्यसपछि दाउदले साउललाई भने: “तपाईँको यो सेवक आफ्नो बुबाको भेडा-गोठालो पनि हो। एक पटक सिंहले+ र अर्को पटक भालुले बगालबाट भेडा लगेको थियो। ३५ दुवै पटक म ती जनावरको पछिपछि गएँ र तिनीहरूलाई प्रहार गरेँ। अनि तिनीहरूको मुखबाट मेरो भेडा खोसेँ। ती जनावरले मलाई हमला गर्न खोज्दा मैले तिनीहरूको चिउँडोमा च्याप्प समातेँ र कुटीकुटी मारेँ। ३६ तपाईँको यस सेवकले सिंह र भालु दुवैलाई माऱ्‍यो। त्यो बेखतने पलिस्तियालीको हालत पनि ती जनावरहरूको जस्तै हुनेछ। किनकि त्यस पलिस्तियालीले जीवित परमेश्‍वरको+ सेनालाई चुनौती दिएको छ।” ३७ दाउदले अझै यसो भने: “यहोवा परमेश्‍वरले मलाई सिंह र भालुको पन्जाबाट जोगाउनुभयो र त्यस पलिस्तियालीको हातबाट पनि मलाई उहाँले नै जोगाउनुहुनेछ।”+ तब साउलले दाउदलाई भने: “जाऊ! यहोवा परमेश्‍वरले तिमीलाई साथ देऊन्‌।”

३८ त्यसपछि साउलले दाउदलाई आफ्नो पोसाक पहिराइदिए। साउलले दाउदलाई तामाको टोप अनि कवच पनि लगाइदिए। ३९ त्यसपछि दाउदले साउलको तरबार भिरे अनि हिँड्‌न खोजे। तर यी सबै लगाउने बानी नभएकोले तिनी हिँड्‌नै सकेनन्‌। त्यसैले तिनले साउललाई भने: “म यी सबै लगाएर हिँड्‌न सक्दिनँ। किनकि यस्तो लगाउने मेरो बानी छैन।” त्यसैले दाउदले ती सबै खोले। ४० त्यसपछि तिनले आफ्नो लौरो लिए। अनि खोलाबाट* पाँच वटा चिल्ला-चिल्ला ढुङ्‌गा टिपे र गोठालो जाँदा बोक्ने गरेको झोलामा हाले। तिनको हातमा घुयेँत्रो+ पनि थियो। त्यसपछि तिनी त्यो पलिस्तियाली भएतिर अघि बढे।

४१ त्यो पलिस्तियाली पनि दाउद भएतिर अघि बढ्‌न थाल्यो। त्यसको ढाल बोक्ने सिपाही त्यसको अघिअघि हिँडिरहेको थियो। ४२ जब त्यस पलिस्तियालीले दाउदलाई देख्यो, तब त्यसले दाउदलाई हेपेर खिल्ली उडाउन थाल्यो किनकि दाउद ठिटै थिए, तिनी राताराता गाला भएका र सुन्दर ठिटो थिए।+ ४३ त्यसले दाउदलाई भन्यो: “मसित लड्‌न लौरो लिएर आइस्‌! मलाई कुकुर भन्ठानिस्‌?”+ त्यसपछि त्यसले आफ्ना देवताहरूको नाम लिएर दाउदलाई सराप्न थाल्यो। ४४ त्यस पलिस्तियालीले दाउदलाई फेरि भन्यो: “आइज! म तेरो मासु चराहरूलाई र जङ्‌गली जनावरहरूलाई खुवाउनेछु।”

४५ दाउदले त्यस पलिस्तियालीलाई यस्तो जवाफ दिए: “तँ मसित लड्‌न तरबार, भाला र बर्छी लिएर आएको छस्‌।+ तर म भने सेनाहरूका यहोवाको नाममा आएको छु! इस्राएलीहरूको फौजका ती परमेश्‍वरको नाममा,+ जसलाई तैँले चुनौती दिएको छस्‌।+ ४६ आज यहोवा परमेश्‍वरले तँलाई मेरो हातमा सुम्पिदिनुहुनेछ।+ म तँलाई मार्नेछु र तेरो शिर काटिदिनेछु। आज म पलिस्तियाली सिपाहीहरूको लास चराहरूलाई र जङ्‌गली जनावरहरूलाई खुवाइदिनेछु। तब इस्राएलीहरूका परमेश्‍वर नै साँचो परमेश्‍वर हुनुहुन्छ भनेर पृथ्वीका सबै मानिसले थाह पाउनेछन्‌।+ ४७ अनि आज यहाँ भेला भएका सबैले यो कुरा बुझ्नेछन्‌: आफ्ना जनहरूलाई बचाउन यहोवा परमेश्‍वरलाई तरबार वा भाला चाहिँदैन+ किनकि लडाइँ यहोवा परमेश्‍वरकै हो+ र उहाँले तिमीहरू सबैलाई हाम्रो हातमा सुम्पिदिनुहुनेछ।”+

४८ त्यसपछि त्यो पलिस्तियाली दाउदसित भिड्‌न अघि बढ्‌यो अनि दाउद त्यो पलिस्तियाली भएतिर दौडेर गए। ४९ दाउदले आफ्नो हात झोलामा हालेर एउटा ढुङ्‌गा निकाले। त्यसपछि त्यो ढुङ्‌गा घुयेँत्रोमा हाले अनि बेसरी घुमाएर त्यस पलिस्तियालीलाई हाने। त्यो ढुङ्‌गा त्यस पलिस्तियालीको निधारमै गड्‌यो र त्यो भुईँतिर अनुहार पारेर डङ्‌ग्रङ्‌ङ लड्‌यो।+ ५० यसरी आफूसित तरबार नभए पनि दाउदले एउटा घुयेँत्रो र ढुङ्‌गाको भरमा त्यस पलिस्तियालीलाई मारे।+ ५१ फेरि दाउद दौडेर गए र त्यस पलिस्तियालीको छेवैमा उभिए। त्यसपछि तिनले त्यसको म्यानबाट तरबार थुते+ र त्यसको शिर काटिदिए। जब पलिस्तियालीहरूले आफ्नो वीर योद्धा मरेको देखे, तब तिनीहरू त्यहाँबाट भाग्न थाले।+

५२ तब इस्राएलका र यहुदाका मानिसहरू कराउन थाले अनि तिनीहरूले पलिस्तियालीहरूलाई त्यस बेँसीबाट+ एक्रोनका+ ढोकाहरूसम्मै खेद्‌दै र मार्दै गए। सारैमदेखि+ गाथ र एक्रोनसम्मै बाटोभरि पलिस्तियालीहरूको लास छरपस्ट थियो। ५३ यसरी इस्राएलीहरूले पलिस्तियालीहरूलाई खेद्‌नसम्म खेदे अनि फर्केर पलिस्तियालीहरूको छाउनी लुटे।

५४ त्यसपछि दाउद त्यस पलिस्तियालीको टाउको बोकेर यरुसलेम गए अनि तिनले त्यसका हतियारहरूचाहिँ आफ्नो पालमै राखे।+

५५ दाउद त्यस पलिस्तियालीसित भिड्‌न गएको देख्दा साउलले आफ्नो सेनापति अब्नेरलाई सोधे: “अब्नेर,+ यो केटो कसको छोरा हो?”+ अब्नेरले यस्तो जवाफ दिए: “महाराज! म हजुरको जीवनको कसम खाएर भन्छु, मलाई थाह छैन।” ५६ राजाले यस्तो हुकुम दिए: “त्यो ठिटो कसको छोरा रहेछ, पत्ता लगाऊ!” ५७ दाउद त्यस पलिस्तियालीलाई मारेर फर्केपछि अब्नेरले तिनलाई साउलकहाँ लिएर गए। त्यतिबेला दाउदले त्यस पलिस्तियालीको टाउको हातमै झुन्ड्‌याएका थिए।+ ५८ तब साउलले तिनलाई सोधे: “बाबु, तिमी कसका छोरा हौ?” दाउदले जवाफ दिए: “म बेतलेहेममा+ बस्ने तपाईँको सेवक यिसैको+ छोरा हुँ।”

१८ दाउद र साउलबीच कुराकानी भएपछि जोनाथन+ र दाउदबीच गहिरो मित्रता गाँसियो। अनि जोनाथनले दाउदलाई आफूलाई जत्तिकै माया गर्न थाले।+ २ त्यस दिनदेखि साउलले दाउदलाई आफूसितै राखे अनि दाउदलाई उनको बुबाको घर फर्कन दिएनन्‌।+ ३ अनि जोनाथन र दाउदले आपसमा करार गरे+ किनकि जोनाथन दाउदलाई आफूलाई जत्तिकै माया गर्थे।+ ४ जोनाथनले आफूले लगाइराखेको बाहुला नभएको अलखा* खोले र दाउदलाई दिए; तिनले दाउदलाई आफ्नो सैन्य पोसाक, तरबार, धनु र पेटी पनि दिए। ५ साउलले दाउदलाई लडाइँ गर्न जहाँ-जहाँ पठाउँथे, उनी त्यहाँ-त्यहाँ जान्थे र विजयी हुन्थे।*+ साउलले दाउदलाई लडाकुहरूको नाइके बनाए।+ यसले गर्दा साउलका सेवकहरू अनि बाँकी सबै मानिस खुसी भए।

६ दाउद र उनका सिपाहीहरू पलिस्तियालीहरूलाई मारेर फर्कँदा इस्राएलका सबै सहरबाट स्त्रीहरू खैँजडी+ र बाजा* बजाउँदै, खुसीले गाउँदै+ र नाच्दै राजा साउललाई भेट्‌न बाहिर निस्कन्थे। ७ यसरी खुसी मनाउने स्त्रीहरू यस्तो गीत गाउँथे:

“साउलले हजारौँलाई मारे,

दाउदले लाखौँलाई मारे।”+

८ यो सुनेर साउल असाध्यै रिसाए;+ यो गीत तिनलाई पटक्कै मन परेन। त्यसकारण तिनले यस्तो सोचे: “दाउदले लाखौँलाई मारे रे तर मैलेचाहिँ हजारौँलाई मात्र! अब तिनीहरूले त्यसलाई राजा बनाउन मात्र बाँकी छ!”+ ९ त्यस दिनदेखि साउलले दाउदलाई सधैँ शङ्‌कालु नजरले हेर्न थाले।

१० भोलिपल्ट परमेश्‍वरले साउलको मन बेचैन हुन दिनुभयो।+ अरू बेलाजस्तै दाउदले साउलको महलमा वीणा बजाइरहेको बेला+ साउलले अनौठो व्यवहार* गर्न थाले। त्यतिबेला साउलको हातमा भाला थियो।+ ११ अनि साउलले मनमनै यसो भन्दै दाउदलाई भाला हाने:+ ‘यसलाई त म भित्तामै उनिदिन्छु!’ साउलले दुई पटक यसो गरे तर दाउद दुवै पटक उम्के। १२ त्यसपछि साउल दाउदसित डराउन थाले किनकि दाउदलाई यहोवा परमेश्‍वरले साथ दिइरहनुभएको थियो।+ तर उहाँले साउललाई त्यागिसक्नुभएको थियो।+ १३ त्यसैले साउलले दाउदलाई आफ्नो सामनेबाट पठाइदिए अनि उनलाई १ हजार सिपाहीको नाइके नियुक्‍त गरे। दाउद आफ्नो सेना लिएर लडाइँमा जान्थे।+ १४ आफ्नो हरेक काममा उनी सफल हुँदै गए।+ यहोवा परमेश्‍वरले पनि उनलाई साथ दिइरहनुभयो।+ १५ दाउद असाध्यै सफल हुँदै गएको देखेर साउल उनीसित डराउन थाले। १६ तर सारा इस्राएल र यहुदाका मानिसहरू दाउदलाई मन पराउँथे किनकि लडाइँमा दाउद उनीहरूको अगुवा भएर जान्थे।

१७ पछि साउलले दाउदलाई भने: “मेरी जेठी छोरी मेराबको+ विवाह तिमीसित गरिदिन्छु।+ तर तिमी मेरो साहसी योद्धा भइरहनुपर्छ र तिमीले यहोवा परमेश्‍वरको तर्फबाट लडाइँ लडिरहनुपर्छ।”+ साउल मनमनै यसो भन्थे: ‘मैले त्यसमाथि हात उठाउन नपरोस्‌। पलिस्तियालीहरूकै हातबाट त्यो मारियोस्‌।’+ १८ दाउदले साउललाई भने: “राजाको ज्वाइँ हुन सक्ने म को हुँ र? अनि इस्राएलमा मेरो बुबाको घरानाको हैसियत के छ र?”+ १९ तर आफ्नी छोरी मेराब दाउदलाई दिने समय आइपुग्नुअघि नै साउलले मेहोलाथी अद्रिएललाई+ छोरी दिइसकेका थिए।

२० साउलकी अर्की छोरी मिकल+ दाउदलाई प्रेम गर्थिन्‌। यो कुरा थाह पाउँदा साउल खुसी भए। २१ त्यसैले साउलले मनमनै भने: “म दाउदलाई मेरी छोरी दिने सर्त राख्नेछु ताकि त्यसलाई फसाएर पलिस्तियालीहरूको हातबाट मार्न सकियोस्‌।”+ साउलले दाउदलाई दोस्रो चोटि भने: “आज तिमी मेरो ज्वाइँ बन्‍नेछौ।” २२ साउलले आफ्ना सेवकहरूलाई यस्तो आदेश दिए: “दाउदलाई एक्लै बोलाएर भन, ‘हेर्नुहोस्‌! राजा तपाईँसित प्रसन्‍न हुनुहुन्छ अनि उहाँका सबै सेवक पनि तपाईँसित खुसी छन्‌। त्यसैले तपाईँ राजाको ज्वाइँ बन्‍नुहोस्‌।’” २३ साउलका सेवकहरूले दाउदलाई यी कुरा सुनाएपछि दाउदले भने: “म त गरिब मानिस हुँ अनि मेरो केही औकात छैन। के तिमीहरूलाई मजस्तो मानिस सजिलै राजाको ज्वाइँ बन्‍न सक्छ जस्तो लाग्छ?”+ २४ तब साउलका सेवकहरू गएर दाउदले भनेको कुरा साउललाई सुनाइदिए।

२५ यो सुनेपछि साउलले भने: “तिमीहरूले दाउदलाई यसो भन्‍नू, ‘तिमीले बिहे गर्न राजालाई केही दाम तिर्नु पर्दैन,+ १०० जना पलिस्तियालीको खलडी*+ मात्र भए पुग्छ। राजा आफ्ना शत्रुहरूसित बदला लिन चाहनुहुन्छ।’” तर यो साउलको षड्‌यन्त्र थियो किनकि दाउद पलिस्तियालीहरूको हातबाट मारियोस्‌ भनी तिनी चाहन्थे। २६ साउलले भनेको कुरा तिनका सेवकहरूले दाउदलाई सुनाइदिए। अनि दाउद पनि राजाको ज्वाइँ बन्‍न राजी भए।+ राजालाई दुलहीको मोल तिर्नुपर्ने समय बित्नुअघि २७ दाउद आफ्ना सिपाहीहरू लिएर निस्के अनि २०० पलिस्तियालीलाई मारे। राजाको ज्वाइँ बन्‍न तिनीहरू सबैको खलडी लिएर दाउद राजाकहाँ गए। यसकारण साउलले आफ्नी छोरी मिकलको विवाह दाउदसित गराइदिए।+ २८ यहोवा परमेश्‍वरले दाउदलाई साथ दिइरहनुभएको छ+ र आफ्नी छोरी मिकलले पनि दाउदलाई माया गर्छिन्‌ भनेर साउलले बुझे।+ २९ यसले गर्दा साउल दाउदसित झनै डराए। अनि बाँचुन्जेल तिनले दाउदलाई आफ्नो शत्रु ठाने।+

३० पलिस्तियालीहरूका नाइकेहरू इस्राएलीहरूसित लडाइँ गर्न निस्कन्थे। तर हरेक पटक लडाइँ गर्दा साउलका सेवकहरूले भन्दा दाउदले ठूलो विजय हासिल गर्थे।+ यसरी दाउदको नाम चारैतिर फैलियो।+

१९ दाउदलाई मार्न चाहेको कुरा केही समयपछि साउलले आफ्नो छोरा जोनाथनलाई र सबै सेवकलाई बताए।+ २ साउलका छोरा जोनाथन दाउदलाई असाध्यै माया गर्थे।+ त्यसैले जोनाथनले दाउदलाई भने: “मेरो बुबा साउल तपाईँलाई मार्न चाहनुहुन्छ। भोलि बिहान तपाईँ होसियार हुनुहोस्‌! कसैले नदेख्ने ठाउँमा जानुहोस्‌ र त्यहीँ लुकिरहनुहोस्‌। ३ म बुबासँग तपाईँ लुक्नुभएको ठाउँनजिकै जानेछु। अनि बुबासँग तपाईँको बारेमा कुरा गर्नेछु। मैले केही कुरा थाह पाएँ भने म तपाईँलाई अवश्‍य बताउनेछु।”+

४ जोनाथनले आफ्नो बुबा साउललाई दाउदको विषयमा राम्रा-राम्रा कुरा सुनाए।+ जोनाथनले बुबालाई भने: “महाराजले आफ्नो सेवक दाउदको विरुद्धमा पाप गर्नु राम्रो होइन किनभने दाउदले हजुरको विरुद्धमा कुनै पाप गरेका छैनन्‌। उनले हजुरको लागि जे-जति गरेका छन्‌, त्यसले हजुरकै भलाइ भएको छ। ५ गोल्यतलाई* मार्न उनले आफ्नो ज्यानै जोखिममा हाले।+ यहोवा परमेश्‍वरले त्यतिबेला सारा इस्राएललाई ठूलो जित* हासिल गर्न मदत गर्नुभयो। त्यो घटना तपाईँ आफैले देख्नुभएको थियो। अनि तपाईँ खुसीले गद्‌गद हुनुभएको थियो। अहिले त्यही दाउदलाई मारेर तपाईँ किन निर्दोष मानिसको रगत बगाउन चाहनुहुन्छ?”+ ६ साउलले जोनाथनको कुरा सुने र यस्तो कसम खाए: “म जीवित परमेश्‍वर यहोवाको कसम खाएर भन्छु, दाउद मारिनेछैन।” ७ त्यसपछि जोनाथनले दाउदलाई बोलाए र सबै कुरा बताए। अनि तिनले दाउदलाई साउलकहाँ लिएर गए र पहिलेजस्तै दाउदले साउलको सेवा गर्न थाले।+

८ केही समयपछि पलिस्तियालीहरू र इस्राएलीहरूबीच फेरि लडाइँ भयो। दाउद पलिस्तियालीहरूसित लडाइँ गर्न गए र उनले थुप्रै पलिस्तियालीलाई मारे। अन्तमा तिनीहरू दाउददेखि भागे।

९ साउल आफ्नो घरमा बसिरहेको बेला यहोवा परमेश्‍वरले तिनको मन बेचैन हुन दिनुभयो।+ त्यतिबेला तिनले आफ्नो हातमा भाला बोकेका थिए र दाउदचाहिँ वीणा बजाइरहेका थिए।+ १० साउलले दाउदलाई भालाले हानेर भित्तामै उनिदिन खोजे तर दाउदले छले। भालाचाहिँ भित्तामा गड्‌यो। त्यही रात दाउद त्यहाँबाट भागे। ११ दाउदको चियो गर्न र बिहान उनलाई मार्न साउलले उनको घरमा आफ्ना मानिसहरू पठाए।+ तर दाउदकी पत्नी मिकलले दाउदलाई भनिन्‌: “आज राती यहाँबाट भाग्नुभएन भने भोलि तपाईँ मारिनुहुनेछ।” १२ दाउदलाई त्यहाँबाट भगाउन मिकलले उनलाई तुरुन्तै झ्यालबाट तल ओरालिन्‌। १३ त्यसपछि मिकलले कुलदेवताको मूर्ति* ल्याइन्‌ र त्यसलाई ओछ्यानमा सुताइन्‌। तिनले बाख्राको भुत्लाबाट बनाइएको जाली सिरानीमा राखिदिइन्‌ र त्यसलाई लुगाले ढाकिदिइन्‌।

१४ दाउदलाई लिन साउलले मानिसहरू पठाए। तर मिकलले भनिन्‌: “उहाँ बिरामी हुनुहुन्छ।” १५ त्यसपछि साउलले यसो भनेर मानिसहरूलाई दाउदकहाँ फेरि पठाए: “त्यसको पलङैसमेत उठाएर यहाँ ल्याओ र म त्यसलाई मार्छु।”+ १६ साउलका मानिसहरू दाउदको कोठामा पुग्दा तिनीहरूले उनको पलङमा कुलदेवताको मूर्ति सुताइएको र बाख्राको भुत्लाको जाली सिरानीमा राखिएको देखे। १७ अनि साउलले मिकललाई सोधे: “तिमीले मलाई किन झुक्क्यायौ? मेरो शत्रुलाई+ किन भाग्न दियौ?” मिकलले साउललाई जवाफ दिइन्‌: “उहाँले मलाई भन्‍नुभयो, ‘मलाई भाग्न मदत गर नत्र तिमीलाई मार्छु!’”

१८ दाउदचाहिँ त्यहाँबाट भागेर रामामा+ समुएलकहाँ पुगिसकेका थिए। अनि साउलले आफूलाई के-कस्तो व्यवहार गरे भनेर उनले समुएललाई बताए। त्यसपछि दाउद र समुएल दुवै त्यहाँबाट निस्के अनि नाइओथमा बस्न थाले।+ १९ केही समयपछि साउलकहाँ यस्तो खबर पुग्यो: “दाउद त रामाको नाइओथमा बसिरहेका छन्‌।” २० यस्तो खबर पाउनेबित्तिकै दाउदलाई पक्रन साउलले मानिसहरू पठाए। तिनीहरू त्यहाँ पुग्दा वृद्ध भविष्यवक्‍ताहरूले भविष्यवाणी गरिरहेको र समुएलचाहिँ त्यहाँ नाइके भएर उभिरहेको तिनीहरूले देखे। त्यति नै बेला साउलका मानिसहरूमाथि परमेश्‍वरको पवित्र शक्‍ति आयो र तिनीहरूले पनि भविष्यवक्‍ताहरूको जस्तै व्यवहार गर्न थाले।

२१ तिनीहरूले यसबारे साउललाई बताएपछि तिनले तुरुन्तै आफ्ना मानिसहरूको अर्को एउटा टोली पठाए। त्यहाँ पुगेपछि तिनीहरूले पनि भविष्यवक्‍ताहरूको जस्तै व्यवहार गर्न थाले। त्यसैले साउलले फेरि मानिसहरू पठाए अनि त्यहाँ पुगेपछि त्यो तेस्रो टोलीले पनि भविष्यवक्‍ताहरूको जस्तै व्यवहार गर्न थाल्यो। २२ अन्तमा साउल आफै रामा गए। सेकुमा भएको पानीको ठूलो कुण्डमा पुगेपछि तिनले सोधे: “समुएल र दाउद कहाँ छन्‌?” मानिसहरूले भने: “तिनीहरू रामाको नाइओथमा+ छन्‌।” २३ साउल रामाको नाइओथतिर गइरहेको बेला परमेश्‍वरको पवित्र शक्‍ति साउलमाथि पनि आयो र नाइओथसम्मै तिनी भविष्यवक्‍ताको जस्तै व्यवहार गर्दै हिँडे। २४ तिनले पनि आफ्नो लुगा फुकाले र समुएलको सामने भविष्यवक्‍ताको जस्तै व्यवहार गर्न थाले। त्यस दिनभरि र रातभरि तिनी नाङ्‌गै बसे।* त्यसैकारण यस्तो भनाइ सुरु भयो: “साउल पनि भविष्यवक्‍ता भएको हो र?”+

२० तब दाउद रामाको नाइओथबाट भागे। उनी जोनाथनकहाँ गए र यसो भने: “मैले के गरेँ र?+ मेरो गल्ती के हो? मैले तपाईँको बुबाविरुद्ध त्यस्तो के पाप गरेँ र? उहाँ किन मेरो ज्यान लिन खोज्दै हुनुहुन्छ?” २ यो सुनेर जोनाथनले भने: “यस्तो कदापि हुँदैन!+ तपाईँलाई कसैले मार्दैन। हेर्नुहोस्‌! मलाई नबताईकन बुबा कुनै पनि काम गर्नुहुन्‍न, चाहे त्यो सानो होस्‌ या ठूलो। यो कुराचाहिँ बुबाले मबाट किन लुकाउनुहोला र? यस्तो हुनै सक्दैन!” ३ तर दाउदले फेरि कसम खाए र भने: “तपाईँ र मबीच गहिरो मित्रता छ भनेर तपाईँको बुबालाई राम्ररी थाह छ।+ त्यसैले उहाँले यसो भन्‍नुभएको हुनुपर्छ, ‘यसबारे जोनाथनले केही थाह नपाओस्‌ नत्र त ऊ रिसाउँछ।’ तर म जीवित परमेश्‍वर यहोवाको र तपाईँको कसम खाएर भन्छु, मेरो मृत्यु अब धेरै टाढा छैन!”+

४ अनि जोनाथनले दाउदलाई भने: “तपाईँ जे भन्‍नुहुन्छ, म तपाईँको निम्ति त्यही गर्नेछु।” ५ दाउदले भने: “भोलि औँसी हो+ अनि म राजासित भोजन गर्न बस्नुपर्नेछ। तर मलाई यहाँबाट जान दिनुहोस्‌ अनि पर्सि साँझसम्म म सहरबाहिर कतै लुकेर बस्नेछु। ६ तपाईँको बुबाले म भोजमा नआएको याद गर्नुभयो भने यसो भनिदिनुहोस्‌, ‘आफ्नो घर बेतलेहेममा+ तुरुन्तै जानुपर्ने भएकोले दाउदले मसित अनुमति मागे; उनीहरूको सम्पूर्ण परिवारको निम्ति हरेक वर्षझैँ यसपालि पनि बलि चढाउनुपर्ने रहेछ।’+ ७ उहाँले ‘त्यसोभए ठीकै छ’ भन्‍नुभयो भने हजुरको यस सेवकको लागि कुनै खतरा छैन। तर उहाँ रिसाउनुभयो भने उहाँले मलाई केही नराम्रो गर्ने अठोट गर्नुभएको छ भनेर पक्का हुनुभए हुन्छ। ८ तपाईँको यस सेवकमाथि दया* गर्नुहोस्‌+ किनकि तपाईँले यहोवा परमेश्‍वरसामु मसित करार गर्नुभएको छ।+ तर म दोषी हुँ भने+ तपाईँले नै मेरो ज्यान लिनुहोस्‌। मलाई किन तपाईँको बुबाको हातमा पर्न दिनुहुन्छ?”

९ जोनाथनले भने: “यस्तो कुरा सोच्दै नसोच्नुहोस्‌! मेरो बुबा जसरी भए पनि तपाईँलाई मार्न चाहनुहुन्छ भनेर थाह पाएँ भने म तपाईँलाई अवश्‍य बताउनेछु।”+ १० अनि दाउदले भने: “तपाईँको बुबा मसित रिसाउनुभयो भनेर मलाई कसले बताउनेछ?” ११ जोनाथनले भने: “आउनुहोस्‌, हामी सहरबाहिर जाऔँ।” अनि तिनीहरू दुवै सहरबाहिर गए। १२ तब जोनाथनले भने: “बुबाको मनमा के छ भनेर भोलि यही समयतिर अथवा पर्सिसम्ममा म पत्ता लगाउनेछु र इस्राएलका परमेश्‍वर यहोवा यस कुराको साक्षी हुनुहुन्छ। मेरो बुबा तपाईँसित रिसाउनुभएको छैन भने म तपाईँलाई बताउनेछु। १३ तर मेरो बुबाले तपाईँलाई केही नराम्रो गर्न चाहनुभएको रहेछ भन्‍ने थाह पाएर पनि मैले तपाईँलाई केही भनिनँ र तपाईँ यहाँबाट सकुशल निस्कन सक्नुभएन भने यहोवा परमेश्‍वरले मलाई अत्यन्तै कडा सजाय देऊन्‌। यहोवा परमेश्‍वरले जसरी मेरो बुबालाई साथ दिनुभएको थियो,+ त्यसरी नै तपाईँलाई पनि साथ देऊन्‌।+ १४ म बाँचुन्जेल र मरिसकेपछि पनि तपाईँले मप्रति यहोवा परमेश्‍वरले जस्तै अटल प्रेम देखाइरहनुहोस्‌।+ १५ यहोवा परमेश्‍वरले तपाईँका सबै शत्रुलाई यस धर्तीबाट नामेट पार्नुहुँदा समेत मेरो घरानालाई अटल प्रेम देखाउन नछोड्‌नुहोस्‌।”+ १६ त्यसैले जोनाथनले दाउदको घरानासित करार गरे र यसो भने: “यहोवा परमेश्‍वरले दाउदका शत्रुहरूसित पक्कै लेखा लिनुहुनेछ।” १७ तब जोनाथनले दाउदलाई फेरि एक पटक आफ्नो मायाको कसम खान लगाए किनभने तिनी दाउदलाई आफूलाई जस्तै माया गर्थे।+

१८ तब जोनाथनले दाउदलाई भने: “भोलि औँसी हो।+ अनि खाना खाने बेला तपाईँको ठाउँ खाली देखेपछि बुबाले तपाईँलाई खोज्नुहुनेछ। १९ पर्सिसम्ममा त उहाँले अवश्‍य तपाईँबारे सोधखोज गर्नुहुनेछ। तपाईँ त्यो दिन* जहाँ लुक्नुभएको थियो, यसपालि पनि त्यहीँ लुक्नुहोस्‌। अनि यस ढुङ्‌गाको छेवैमा पर्खेर बस्नुहोस्‌। २० एउटा निसानालाई ताकेर हानेझैँ म यस ढुङ्‌गाको छेउमा तीन चोटि काँड हान्‍नेछु। २१ अनि म आफ्नो सेवकलाई यसो भन्‍नेछु, ‘जाऊ, काँडहरू खोजेर ल्याऊ।’ मैले सेवकलाई ‘हेर! काँडहरू तिम्रो नजिकै छन्‌; ती लिएर आऊ’ भनेमा तपाईँ फर्केर आउन सक्नुहुन्छ। जीवित परमेश्‍वर यहोवाको कसम खाएर म भन्छु, त्यसको अर्थ हो, सबै कुरा ठीक छ र तपाईँलाई कुनै खतरा छैन। २२ तर मैले आफ्नो सेवकलाई ‘हेर! काँडहरू अझै पर छन्‌’ भनेमा तपाईँ जानुहोस्‌ किनभने यहोवा परमेश्‍वर तपाईँ यहाँबाट गएको चाहनुहुन्छ। २३ तर यहोवा परमेश्‍वर सदासर्वदाको लागि तपाईँ र मैले बाँधेको वाचाको+ साक्षी हुनुहुन्छ।”+

२४ त्यसैले दाउद सहरबाहिर लुकेर बसे। औँसीको दिनमा राजा साउलले भोजनको लागि आसन ग्रहण गरे।+ २५ राजा भित्तानेर आफू सधैँ बस्ने गरेको स्थानमा बसिरहेका थिए। जोनाथन राजा साउलको ठीक अगाडि राजातिरै फर्केर बसेका थिए अनि अब्नेरचाहिँ+ राजाको छेउमा बसिरहेका थिए। तर दाउदको ठाउँ भने खाली थियो। २६ साउलले त्यो दिन केही भनेनन्‌ किनकि तिनले मनमनै यसो भने: ‘केही कारणले गर्दा अशुद्ध भएकोले ऊ यहाँ नआएको हुनुपर्छ।’+ २७ औँसीको भोलिपल्ट पनि दाउदको ठाउँ खाली नै थियो। त्यसैले साउलले आफ्नो छोरा जोनाथनलाई सोधे: “यिसैको छोरा+ भोजनको लागि किन आएन? ऊ हिजो पनि थिएन र आज पनि छैन।” २८ जोनाथनले साउललाई यस्तो जवाफ दिए: “दाउदले बेतलेहेम जान पाऊँ भनेर मलाई बिन्ती गरेका थिए।+ २९ उनले मलाई यसो भने, ‘बिन्ती छ, मलाई जान दिनुहोस्‌ किनकि मेरो पूरै परिवारले सहरमा बलि चढाइरहेको छ। अनि मेरो आफ्नै दाइले मलाई बोलाउनुभएको छ। मैले तपाईँको निगाह पाएको छु भने दाइहरूलाई भेट्‌न कृपया मलाई सुटुक्क जान दिनुहोस्‌।’ उनी आज यहाँ राजासित भोजन गर्न आउन नसक्नुको कारण यही हो।” ३० यो सुनेपछि रिसले चूर हुँदै साउलले जोनाथनलाई भने: “तँ विद्रोही!* तैँले यिसैको छोराको पक्ष लिइरहेको छस्‌ भनेर मलाई थाह छैन भन्ठानिस्‌? यस्तो काम गरेर तैँले आफ्नो र आफ्नी आमाको बेइज्जत गर्दै छस्‌। ३१ यिसैको छोरा यस धर्तीमा रहुन्जेल तँ र तेरो राजपद सुरक्षित हुनेछैन।+ त्यसलाई लिन तुरुन्तै मान्छे पठाइहाल्‌, त्यो मारिनै पर्छ।”+

३२ तर जोनाथनले आफ्नो बुबा साउललाई भने: “उनलाई किन मार्ने?+ उनले के गरेका छन्‌ र?” ३३ त्यसपछि साउलले आफ्नो भाला उठाएर जोनाथनलाई ताकेर हाने।+ यो देख्दा आफ्नो बुबा जसरी भए पनि दाउदलाई मार्न चाहन्छन्‌ भनेर जोनाथनलाई पक्का भयो।+ ३४ रिसले चूर भएर जोनाथन आफ्नो ठाउँबाट उठेर गइहाले। अनि तिनले त्यो दिन केही पनि खाएनन्‌ किनकि तिनको आफ्नै बुबाले दाउदको अपमान गरेकोले तिनी दाउदको लागि चिन्तित थिए।+

३५ आफूले वचन दिएअनुसारै भोलिपल्ट बिहान जोनाथन दाउदलाई भेट्‌न सहरबाहिर गए। जोनाथनसित एक जना सेवक पनि थियो।+ ३६ जोनाथनले आफ्नो सेवकलाई भने: “म काँडहरू हान्छु, तिमी दौडेर टिप्न जाऊ।” त्यो सेवक दौड्‌यो अनि जोनाथनले त्यो सेवकभन्दा अझै पर पुग्नेगरि काँड हाने। ३७ जब त्यो सेवक दौडँदै जोनाथनले काँड हानेको ठाउँसम्म पुग्यो, तब जोनाथनले कराएर भने: “काँडहरू अझै पर छन्‌।” ३८ जोनाथनले आफ्नो सेवकलाई कराएर फेरि भने: “छिटो! ढिला नगर! छिटो ल्याइहाल!” तब त्यो सेवक काँडहरू टिपेर आफ्नो मालिक जोनाथनकहाँ फर्क्यो। ३९ यस घटनाको अर्थ जोनाथन र दाउदले मात्र बुझेका थिए, जोनाथनको सेवकलाई भने केही थाह थिएन। ४० जोनाथनले आफ्ना हतियारहरू त्यस सेवकलाई दिए र भने: “यी सबै लिएर तिमी सहर फर्क।”

४१ जोनाथनको सेवक त्यहाँबाट गइसकेपछि दाउद दक्षिणतिर आफू लुकिरहेको ठाउँबाट निस्के। त्यसपछि तिनी घुँडा टेकेर जोनाथनसामु तीन चोटि भुईँमा घोप्टो परे। तिनीहरूले एकअर्कालाई म्वाइँ खाए अनि दुवै जना रुन थाले। तर दाउदचाहिँ धेरै रोए। ४२ जोनाथनले दाउदलाई भने: “तपाईँ ढुक्क भएर जानुहोस्‌ किनकि हामी दुवैले यहोवा परमेश्‍वरको नाममा यस्तो कसम खाएका छौँ,+ ‘तपाईँ र मबीच अनि तपाईँका सन्तान र मेरा सन्तानबीच यहोवा परमेश्‍वर सदासर्वदाको लागि साक्षी रहिरहून्‌!’”+

त्यसपछि दाउद त्यहाँबाट गए अनि जोनाथनचाहिँ सहर फर्के।

२१ केही समयपछि दाउद पुजारी अहिमेलेकलाई भेट्‌न नोब गए।+ दाउदलाई देखेपछि अहिमेलेक डरले काँप्न लागे र तिनले भने: “तपाईँ यहाँ किन एक्लै आउनुभयो? तपाईँसित किन अरू कोही छैन?”+ २ दाउदले पुजारी अहिमेलेकलाई भने: “राजाले मलाई एउटा काम अह्राउनुभएको छ र यसो भन्‍नुभएको छ, ‘यो काम र यसबारे मैले जे-जे निर्देशन दिएको छु, त्यो कसैलाई पनि नभन्‍नू।’ त्यसैले मैले आफ्ना मानिसहरूलाई मलाई एउटा ठाउँमा भेट्‌नू भनेको छु। ३ अहिले तपाईँसित पाँच वटा रोटी छ भने मलाई दिनुहोस्‌। रोटी छैन भने तपाईँसित जे खानेकुरा छ, त्यही दिनुहोस्‌।” ४ तर पुजारीले दाउदलाई भने: “मसँग साधारण रोटी छैन, पवित्र रोटी+ मात्र छ। तपाईँका मानिसहरू स्त्रीहरूसँग बिटुलिएका छैनन्‌* भने मात्र म त्यो रोटी तपाईँलाई दिन सक्छु।”+ ५ दाउदले पुजारीलाई भने: “पहिला-पहिला युद्धमा जाँदा पनि हामी स्त्रीहरूसँग बिटुलिने गरेका थिएनौँ।+ युद्धहरूमा जाँदा त हामी बिटुलिने गर्दैनथ्यौँ भने अहिले यो विशेष कामको लागि त झन्‌ कत्ति शुद्ध छौँ होला!” ६ त्यसैले पुजारीले दाउदलाई पवित्र रोटी दिए+ किनभने त्यहाँ भेटीको रोटीबाहेक* अरू रोटी थिएन। त्यो रोटी यहोवा परमेश्‍वरको सामनेबाट हटाइसकिएको थियो र त्यही दिन त्यसको सट्टा ताजा रोटी राखिएको थियो।

७ त्यो दिन साउलको एक जना सेवक पनि त्यहीँ थियो; उसलाई यहोवा परमेश्‍वरसामु उपस्थित हुनदेखि रोकेर राखिएको थियो। उसको नाम दोएग+ थियो। ऊ एदोमी+ थियो र साउलका गोठालाहरूको नाइके थियो।

८ दाउदले अहिमेलेकलाई सोधे: “तपाईँसँग भाला वा तरबार छ? राजाले अह्राउनुभएको काम गर्न तुरुन्तै निस्कनुपरेकोले मैले आफ्नो तरबार, हतियार केही ल्याउन पाइनँ।” ९ अनि पुजारीले भने: “तपाईँले एलाह बेँसीमा+ मार्नुभएको पलिस्तियाली गोल्यतको तरबार+ यहाँ छ। त्यो तरबार कपडामा बेरेर एपोदको*+ पछाडि राखिएको छ। त्यो लैजान चाहनुहुन्छ भने लैजानुहोस्‌ किनभने यहाँ त्योबाहेक अरू केही छैन।” यो सुनेर दाउदले भने: “त्यो जस्तो तरबार त अर्को कुनै छैन; मलाई त्यही दिनुहोस्‌।”

१० त्यो दिन दाउद त्यहाँबाट निस्केर गए। अनि साउलदेखि भाग्दा भाग्दै+ उनी गाथका+ राजा आकिसकहाँ पुगे। ११ राजा आकिसका सेवकहरूले आकिसलाई भने: “ऊ इस्राएलको राजा दाउद होइन र? उसकै बारेमा मानिसहरूले नाच्दै यस्तो गीत गाएका थिए:

‘साउलले हजारौँलाई मारे,

दाउदले लाखौँलाई मारे।’”+

१२ दाउदले ती सेवकहरूले भनेको कुरा विचार गरे र उनी गाथका राजा आकिससित असाध्यै डराए।+ १३ त्यसैले तिनीहरूको सामने दाउदले आफू बौलाएको+ नाटक गर्न थाले। उनले सहरका ढोकाहरूमा कोर्न थाले र दाह्रीमा राल चुहाए। १४ अनि राजा आकिसले आफ्ना सेवकहरूलाई भने: “हेर, यो मान्छे त बौलाहा रहेछ! यस्तो मान्छेलाई किन मकहाँ ल्यायौ? १५ मकहाँ बौलाहाहरूको कमी छ र? अब के यसलाई मेरो घरमा राख्नुपऱ्‍यो?”

२२ दाउद त्यहाँबाट भागेर+ अदुल्लामको गुफामा पुगे र त्यहीँ लुकेर बसे।+ दाउदका दाजुभाइ अनि उनका बुबाको सम्पूर्ण घरानाले यसबारे थाह पाएपछि तिनीहरू दाउदलाई भेट्‌न त्यहाँ आए। २ दुःखकष्टमा परेका, ऋणमा डुबेका र आफ्नो जीवनदेखि असन्तुष्ट भएका मानिसहरू दाउदकहाँ आए र उनी तिनीहरूका नाइके भए। यसरी दाउदसित ४०० जति मानिस भए।

३ पछि दाउद त्यहाँबाट मोआबको मिस्पामा गए अनि उनले मोआबका राजालाई भने:+ “परमेश्‍वरले मेरो निम्ति के गर्नुहुनेछ भनेर मलाई थाह नहोउन्जेल कृपया मेरो बुबा र आमालाई तपाईँकहाँ शरण दिनुहोस्‌।” ४ त्यसैले उनले आफ्ना आमाबुबालाई मोआबका राजाको जिम्मामा छोडेर गए। अनि दाउद जतिन्जेल लुकेर बसे, त्यतिन्जेल उनका आमाबुबा मोआबका राजाकै शरणमा बसे।+

५ केही समयपछि भविष्यवक्‍ता गादले+ दाउदलाई भने: “तपाईँ त्यस गुफामा लुकेर नबस्नुहोस्‌। बरु यहुदाको इलाकामा जानुहोस्‌।”+ त्यसैले दाउद त्यो ठाउँ छोडेर हेरेथको जङ्‌गलमा गए।

६ साउलले दाउद र उनका मानिसहरू कहाँ छन्‌ भनी पत्ता लागेको खबर पाए। त्यतिबेला साउल गिबाहको+ डाँडामा एउटा रूखमुनि* हातमा भाला लिएर बसिरहेका थिए। अनि तिनको चारैतिर तिनका सेवकहरू तैनाथ थिए। ७ अनि साउलले आफ्नो चारैतिर तैनाथ सेवकहरूलाई भने: “हे बिन्यामिनीहरू हो, सुन! के यिसैको छोराले+ तिमीहरू सबैलाई खेत र अङ्‌गुरको बगान दिन्छ? के उसले तिमीहरू सबैलाई हजार-हजारको र सय-सयको कप्तान नियुक्‍त गर्छ?+ ८ तिमीहरू सबै मिलेर मविरुद्ध षड्‌यन्त्र रचेका छौ! मेरो आफ्नै छोराले त्यो यिसैको छोरासित करार गर्दा तिमीहरू कसैले पनि मलाई खबर गरेनौ!+ मलाई आक्रमण गर्न मेरो आफ्नै छोराले त्यस नोकरलाई उक्साएको छ र अहिले त्यही नोकर मलाई आक्रमण गर्न लुकेर बसिरहेको छ भनेर तिमीहरूले मलाई भनेनौ! मप्रति तिमीहरू कसैको दया जागेन!”

९ तब साउलका ती सेवकहरूको नाइके एदोमी दोएगले+ भने:+ “मैले यिसैको छोरालाई नोबमा अहितुबको+ छोरा अहिमेलेककहाँ आएको देखेको थिएँ। १० अनि अहिमेलेकले यहोवा परमेश्‍वरसित दाउदको लागि सल्लाह मागे र उनलाई खानेकुरा दिए। अहिमेलेकले उनलाई पलिस्तियाली गोल्यतको तरबार पनि दिए।”+ ११ यो सुन्‍नेबित्तिकै राजा साउलले पुजारी अहितुबका छोरा अहिमेलेकलाई अनि नोबमा पुजारीको रूपमा सेवा गर्ने तिनको परिवारका सबैलाई बोलाउन पठाए। अनि तिनीहरू सबै जना राजासामु हाजिर भए।

१२ अनि साउलले भने: “हे अहितुबका छोरा, मेरो कुरा सुन!” तब अहिमेलेकले भने: “हजुर प्रभु!” १३ साउलले अहिमेलेकलाई भने: “तिमी र यिसैको छोराले किन मविरुद्ध षड्‌यन्त्र रच्यौ? तिमीले किन उसलाई रोटी र तरबार दियौ अनि तिमीले किन परमेश्‍वरसित उसको लागि सल्लाह माग्यौ? ऊ मेरो विरोधी हो अनि मलाई आक्रमण गर्न अहिले ऊ लुकेर बसिरहेको छ।” १४ तब अहिमेलेकले राजालाई यस्तो जवाफ दिए: “हजुरका सेवकहरूमा उनीजत्तिको भरोसायोग्य अरू को छन्‌ र?+ उनी हजुरको ज्वाइँ+ र हजुरका अङ्‌गरक्षकहरूका कप्तान हुन्‌ अनि हजुरको घरानामा उनको निकै सम्मान गरिन्छ।+ १५ मैले परमेश्‍वरसित उनको लागि सल्लाह मागेको यो पहिलो चोटि हो र?+ हजुरविरुद्ध षड्‌यन्त्र रच्ने कुरा त म सोच्न समेत सक्दिनँ! म र मेरो बुबाको पूरै घरानाप्रति हजुरले कुनै प्रकारको दुस्मनी नराख्नुहोस्‌ किनभने हजुरको यस सेवकलाई यसबारे केही थाह थिएन।”+

१६ तर राजाले भने: “अहिमेलेक, तिमी र तिम्रो बुबाको पूरै घराना+ अब मारिनेछौ!”+ १७ त्यसपछि आफ्नो चारैतिर तैनाथ सिपाहीहरूलाई राजाले भने: “यहोवा परमेश्‍वरका पुजारीहरूलाई मार किनभने तिनीहरूले दाउदको पक्ष लिएका छन्‌! ऊ भगुवा हो भनेर तिनीहरूलाई थाह थियो तैपनि तिनीहरूले मलाई खबर गरेनन्‌!” तर राजाका सिपाहीहरू यहोवा परमेश्‍वरका पुजारीहरूमाथि हात उठाउन राजी भएनन्‌। १८ तब राजाले दोएगलाई+ भने: “जाऊ, पुजारीहरूलाई मार!” एदोमी+ दोएग तुरुन्तै गए र पुजारीहरूलाई मार्न थाले। त्यो दिन तिनले मलमलको एपोद* लगाएका ८५ जना पुजारीलाई मारे।+ १९ त्यसपछि तिनी पुजारीहरूको सहर नोब गए+ र त्यहाँ भएका सबैलाई तरबारले मारे। तिनले सहरका पुरुष, स्त्री, केटाकेटी र दूधे बालक कसैलाई बाँकी छोडेनन्‌; तिनले गोरु, गधा, भेडा, सबैलाई मारे।

२० तर अहितुबका नाति, अहिमेलेकका छोरा अबियातार+ त्यहाँबाट भागे र दाउदलाई भेट्‌न गए। २१ अबियातारले दाउदलाई भने: “साउलले यहोवा परमेश्‍वरका पुजारीहरूलाई मारे।” २२ यो सुनेपछि दाउदले अबियातारलाई भने: “त्यो दिन मैले एदोमी दोएगलाई त्यहाँ देखेपछि उसले मेरो विषयमा साउललाई बताउनेछ भनेर मलाई पक्का थियो।+ तपाईँको बुबाको घरानाका सबैको मृत्युको लागि म दोषी छु। २३ तपाईँ यहाँ मसितै बस्नुहोस्‌। नडराउनुहोस्‌ किनकि जसले तपाईँको ज्यान लिन खोज्छ, उसले मेरै ज्यान लिन खोजिरहेको हुन्छ; म तपाईँको रक्षा गर्नेछु।”+

२३ केही समयपछि दाउदले यस्तो खबर पाए: “पलिस्तियालीहरूले केइलाह+ सहरमा आक्रमण गरेर त्यहाँका खलाहरूबाट अन्‍न लुट्‌दै छन्‌!” २ यो कुरा सुनेपछि दाउदले यहोवा परमेश्‍वरसित यस्तो सल्लाह मागे:+ “म ती पलिस्तियालीहरूलाई आक्रमण गर्न जाऊँ?” यहोवा परमेश्‍वरले दाउदलाई भन्‍नुभयो: “जाऊ, ती पलिस्तियालीहरूलाई आक्रमण गर र केइलाहलाई जोगाऊ।” ३ तर दाउदलाई उनका मानिसहरूले भने: “हेर्नुहोस्‌! अहिले हामी यहाँ यहुदामै पनि डराएर बसिरहेका छौँ।+ अब ती पलिस्तियालीहरूसित लडाइँ गर्न केइलाह गयौँ भने हाम्रो हालत झन्‌ कस्तो होला!”+ ४ त्यसैले दाउदले फेरि एक पटक यहोवा परमेश्‍वरसित सल्लाह मागे।+ अनि यहोवा परमेश्‍वरले दाउदलाई भन्‍नुभयो: “उठ र केइलाह जाऊ; म ती पलिस्तियालीहरूलाई तिम्रो हातमा सुम्पिदिनेछु।”+ ५ त्यसैले दाउद आफ्ना मानिसहरू लिएर केइलाह गए र पलिस्तियालीहरूसित लडाइँ गरे। उनले तिनीहरूका वस्तुभाउ लिए र थुप्रै पलिस्तियालीलाई मारे। यसरी उनले केइलाहका बासिन्दाहरूलाई बचाए।+

६ अहिमेलेकको छोरा अबियातार+ भागेर दाउदकहाँ केइलाहमा आउँदा तिनले एपोद* पनि सँगै ल्याएका थिए। ७ दाउद केइलाहमा आएका छन्‌ भन्‍ने खबर पाएपछि साउलले भने: “परमेश्‍वरले उसलाई मेरो हातमा सुम्पिदिनुभएको छ*+ किनकि ढोकाहरू र गजबारहरू भएको सहरमा घुसेर ऊ आफै फन्दामा परेको छ।” ८ अनि साउलले आफ्ना सबै मानिसलाई लडाइँमा जान जम्मा गरे र केइलाहलाई आक्रमण गरेर दाउद र उनका मानिसहरूलाई चारैतिरबाट घेर्न आदेश दिए। ९ साउलले आफूलाई पक्रने षड्‌यन्त्र गरिरहेको कुरा थाह पाएपछि दाउदले पुजारी अबियातारलाई भने: “एपोद यहाँ ल्याउनुहोस्‌।”+ १० त्यसपछि दाउदले भने: “हे इस्राएलका परमेश्‍वर यहोवा, राजा साउल केइलाह आउँदै हुनुहुन्छ र राजाले मेरो कारण यस सहरलाई नाश गर्ने योजना बनाउनुभएको छ भनेर तपाईँको यस सेवकले थाह पाएको छ।+ ११ केइलाहका नाइकेहरूले* के मलाई साउलको हातमा सुम्पिदिनेछन्‌? अनि तपाईँको यस सेवकले सुनेझैँ के साउल केइलाह आउनुहुनेछ? हे इस्राएलका परमेश्‍वर यहोवा, कृपया तपाईँको यस सेवकलाई बताउनुहोस्‌।” तब यहोवा परमेश्‍वरले भन्‍नुभयो: “हो, ऊ यहाँ आउनेछ।” १२ दाउदले सोधे: “केइलाहका नाइकेहरूले के मलाई र मेरा मानिसहरूलाई साउलको हातमा सुम्पिदिनेछन्‌?” यहोवा परमेश्‍वरले जवाफ दिनुभयो: “तिनीहरूले तिमीहरूलाई साउलको हातमा सुम्पिदिनेछन्‌।”

१३ यो सुन्‍नेबित्तिकै दाउद आफूसँग भएका लगभग ६०० जना+ मानिसलाई लिएर केइलाहबाट भागे। तिनीहरू जता जान सक्छन्‌, त्यतै जान थाले। दाउद केइलाहबाट भागिसके भनेर साउलले सुनेपछि तिनी दाउदलाई खेद्‌न गएनन्‌। १४ दाउद जिफको+ निर्जनभूमिका ती डाँडाहरूमा बस्न थाले, जहाँ मानिसहरू सजिलै पुग्न सक्दैनथे। साउलले दाउदलाई धुइँधुइँती खोजे+ तर यहोवा परमेश्‍वरले दाउदलाई साउलको हातमा सुम्पिदिनुभएन। १५ जब दाउद जिफको निर्जनभूमिको होरेसमा थिए, तब साउल उनको ज्यान लिन उनलाई खोज्दै छन्‌ भनेर उनले थाह पाए।*

१६ साउलका छोरा जोनाथन दाउदलाई भेट्‌न होरेसमा गए र तिनले दाउदलाई यहोवा परमेश्‍वरमाथिको भरोसा अझ बलियो बनाउन हौसला दिए।+ १७ तिनले दाउदलाई भने: “नडराउनुहोस्‌, मेरो बुबाले तपाईँलाई भेट्टाउन सक्नुहुन्‍न। तपाईँ इस्राएलका राजा हुनुहुनेछ+ र मचाहिँ दोस्रो दर्जामा हुनेछु अनि मेरो बुबालाई पनि यो कुरा थाह छ।”+ १८ त्यसपछि तिनीहरू दुवैले यहोवा परमेश्‍वरसामु करार गरे।+ अनि जोनाथन आफ्नो घर फर्के र दाउदचाहिँ होरेसमै बसे।

१९ पछि जिफका मानिसहरूले गिबाहमा+ साउलकहाँ गएर भने: “दाउद हाम्रै छेउछाउमा छ, ऊ मानिसहरू सजिलै पुग्न नसक्ने ठाउँहरूमा लुकिरहेको छ।+ ऊ होरेसको+ हकिलाह डाँडामा+ छ, जुन यसिमोनको* दक्षिणतिर* पर्छ।+ २० हे महाराज, हजुरलाई जतिबेला इच्छा लाग्छ, त्यतिबेला आउनुहोस्‌ अनि हामी उसलाई हजुरको हातमा सुम्पिदिनेछौँ।”+ २१ यो सुनेर साउलले भने: “यहोवा परमेश्‍वरले तिमीहरूलाई आशिष्‌ देऊन्‌ किनभने तिमीहरूले मलाई दया देखायौ। २२ अब तिमीहरू जाओ र ऊ कहाँ छ अनि उसलाई त्यहाँ देख्ने को हो, त्यसबारे सही कुरा पत्ता लगाओ किनभने ऊ असाध्यै छट्टु छ भनेर मैले सुनेको छु। २३ ऊ कहाँ-कहाँ लुक्छ, ती सबै ठाउँ राम्ररी पत्ता लगाओ र त्यसको प्रमाण लिएर मकहाँ आओ। त्यसपछि म तिमीहरूसँगै जानेछु। ऊ देशभित्रै रहेछ भने म उसलाई यहुदाका सबै घरानाको* बीचबाट पनि खोजेर निकाल्नेछु।”

२४ त्यसैले तिनीहरू त्यहाँबाट जिफ+ फर्के र पछि साउल पनि त्यहाँ गए। त्यतिबेला दाउद र उनका मानिसहरू माओनको+ निर्जनभूमिमा बसिरहेका थिए, जुन यसिमोनको दक्षिणतिर अराबाहमा+ पर्छ। २५ त्यसपछि साउल आफ्ना मानिसहरूलाई लिएर आए र दाउदलाई खोज्न थाले।+ यो खबर पाउनेबित्तिकै दाउद भीरतिर झरे+ र माओनको निर्जनभूमिमा लुकेर बसे। यो कुरा थाह पाएपछि साउल उनलाई खोज्दै माओनको निर्जनभूमितिर गए। २६ साउल डाँडाको एकातिर पुग्दा दाउद र उनका मानिसहरूचाहिँ डाँडाको अर्कोतिर थिए। साउलले भेट्टाउला भनेर दाउद छिटोछिटो भाग्दै थिए।+ अनि साउल र तिनका मानिसहरूले दाउद र उनका मानिसहरूलाई भेट्टाउनै लागिसकेका थिए।+ २७ त्यति नै बेला एक जना सन्देशवाहकले साउललाई यस्तो खबर सुनायो: “छिटो आउनुहोस्‌, पलिस्तियालीहरू हाम्रो इलाकामा आक्रमण गर्न आएका छन्‌!” २८ तब दाउदलाई खेद्‌न छोडेर+ साउल पलिस्तियालीहरूसित लडाइँ गर्न गए। त्यसकारण त्यस ठाउँको नाम ‘छुट्ट्याउने भीर’ राखियो।

२९ त्यसपछि दाउद त्यहाँबाट माथि एन-गेदीतिर+ लागे अनि मानिसहरू सजिलै पुग्न नसक्ने ठाउँहरूमा बस्न थाले।

२४ साउल पलिस्तियालीहरूलाई खेदेर फर्कनेबित्तिकै मानिसहरूले तिनलाई भने: “हेर्नुहोस्‌! दाउद एन-गेदी भनिने निर्जनभूमिमा लुकेर बसिरहेको छ।”+

२ त्यसैले साउल इस्राएलीहरूबाट छानिएका ३ हजार मानिस लिएर दाउद र उनका मानिसहरूलाई खोज्न घोरलहरू* भएको चट्टाने भीरतर्फ गए। ३ बाटोमा जाँदै गर्दा साउल ढुङ्‌गाले बनाइएको भेडीगोठहरू भएको ठाउँमा आइपुगे। त्यहाँ एउटा गुफा पनि थियो। साउल दिसापिसाब गर्न त्यस गुफाभित्र पसे। त्यतिबेला दाउद र उनका मानिसहरू पनि त्यही गुफाको अर्को कुनामा लुकेर बसिरहेका थिए।+ ४ तब दाउदका मानिसहरूले उनलाई भने: “आजको दिन यहोवा परमेश्‍वर तपाईँलाई यसो भन्दै हुनुहुन्छ: ‘हेर! मैले तिम्रो शत्रुलाई तिम्रो हातमा सुम्पिदिएको छु।+ तिमी उसलाई जे गर्न चाहन्छौ, त्यही गर।’” तब दाउद उठे अनि साउलले चालै नपाउनेगरि तिनको अलखाको* एक छेउ काटे। ५ तर पछि दाउदको अन्तस्करणले* तिनलाई घोच्न थाल्यो+ किनकि उनले साउलको अलखाको छेउ काटेका थिए। ६ त्यसैले उनले आफ्ना मानिसहरूलाई भने: “यहोवा परमेश्‍वरका अभिषिक्‍त जन, मेरा मालिकको विरुद्धमा हात उठाउने कुरा त म सोच्न पनि सक्दिनँ। यसो गर्नु यहोवा परमेश्‍वरको नजरमा गलत हो किनकि उहाँ यहोवा परमेश्‍वरले अभिषेक गर्नुभएको जन हुनुहुन्छ।”+ ७ यसो भनेर दाउदले आफ्ना मानिसहरूलाई रोके* र साउललाई आक्रमण गर्न दिएनन्‌। साउलचाहिँ गुफाबाट निस्केर आफ्नो बाटो लागे।

८ दाउद उठेर गुफाबाहिर आए अनि साउललाई ठूलो स्वरले यसरी बोलाए: “हे मेरा मालिक, मेरा महाराज!”+ जब साउलले पछाडि फर्केर हेरे, तब दाउद भुईँमा घोप्टो परेर लम्पसार परे। ९ अनि दाउदले साउललाई भने: “‘दाउद तपाईँको हानि गर्न खोज्दै छ’ भन्‍ने मानिसहरूको कुरा तपाईँ किन सुन्‍नुहुन्छ?+ १० आज गुफामा यहोवा परमेश्‍वरले तपाईँलाई कसरी मेरो हातमा सुम्पनुभएको थियो, त्यो त तपाईँले आफ्नै आँखाले देख्नुभयो। एक जनाले त तपाईँलाई मार्नू समेत भनेको थियो।+ तर मेरो मनमा तपाईँप्रति दया जाग्यो र मैले भनेँ: ‘मेरा मालिकको विरुद्धमा म हात उठाउन सक्दिनँ किनकि उहाँ यहोवा परमेश्‍वरले अभिषेक गर्नुभएको जन हुनुहुन्छ।’+ ११ हे मेरा बुबा, हेर्नुहोस्‌! तपाईँको अलखाको एक टुक्रा यहाँ मेरो हातमा छ। मैले तपाईँको अलखाको एक छेउ काटेँ तर तपाईँलाई चाहिँ मारिनँ। म तपाईँको हानि गर्न चाहन्‍नँ भन्‍ने कुरा तपाईँले देखिहाल्नुभयो र म तपाईँको विद्रोही होइनँ भन्‍ने कुरा पनि बुझ्नुभयो होला। मैले तपाईँको विरुद्धमा कुनै पाप गरेको छैनँ+ तैपनि मेरो ज्यान लिन तपाईँ मलाई यसरी खेद्‌दै हुनुहुन्छ।+ १२ यहोवा परमेश्‍वरले तपाईँ र मबीच फैसला गरिदेऊन्‌;+ यहोवा परमेश्‍वरले नै तपाईँसित मेरो बदला लेऊन्‌।+ तर म तपाईँको विरुद्धमा हात उठाउनेछैनँ।+ १३ उहिले-उहिलेको एउटा भनाइ नै छ, ‘दुष्टबाट दुष्टता निस्कन्छ।’ त्यसैले म तपाईँको विरुद्धमा हात उठाउनेछैनँ। १४ इस्राएलका राजाले कसलाई पक्रन खोज्दै हुनुहुन्छ? म को हुँ र? म त एउटा मरेको कुकुर, जाबो एउटा उपियाँ मात्र हुँ।+ १५ यहोवा परमेश्‍वर हाम्रो न्यायकर्ता होऊन्‌; उहाँले तपाईँ र मबीच न्याय गरिदेऊन्‌। यो मामिला उहाँले नै हेर्नुहुनेछ र उहाँ मेरो पक्षमा बोल्नुहुनेछ।+ उहाँले मेरो न्याय गर्नुहुनेछ र तपाईँको हातबाट छुटाउनुहुनेछ।”

१६ दाउदले यति भनिसकेपछि साउलले सोधे: “हे मेरो छोरा दाउद! मसित बोल्ने तिमी नै हौ?”+ त्यसपछि साउल डाँको छोडेर रुन थाले। १७ तिनले दाउदलाई भने: “तिमी मभन्दा धेरै असल छौ। किनकि तिमीले मसित राम्रो व्यवहार गऱ्‍यौ तर मैले भने तिम्रो खराबी गरेँ।+ १८ आज यहोवा परमेश्‍वरले नै मलाई तिम्रो हातमा सुम्पिदिनुभएको थियो। तर मेरो ज्यान नलिएर तिमी मेरो भलो चाहन्छौ भन्‍ने कुरा देखायौ।+ १९ किनकि आफूले फेला पारिसकेको शत्रुलाई कसले चाहिँ केही हानि नगरी छोडिदिन्छ होला र? तिमीले आज मलाई जस्तो व्यवहार गऱ्‍यौ, त्यसको लागि यहोवा परमेश्‍वरले तिमीलाई इनाम दिनुहुनेछ।+ २० हेर! मलाई थाह छ, तिमी अवश्‍य राजा हुनेछौ+ र इस्राएलमा तिम्रो शासन सदाको लागि स्थिर हुनेछ। २१ अब यहोवा परमेश्‍वरको नाममा कसम खाएर भन,+ तिमीले मेरो मृत्युपछि मेरा सन्तानलाई नामेट पार्नेछैनौ र मेरो बुबाको घरानाबाट मेरो नाम मेटाउनेछैनौ।”+ २२ तब दाउदले साउलसित कसम खाए। त्यसपछि साउल घर फर्के+ अनि दाउद र उनका मानिसहरूचाहिँ आफू लुकेर बसेको ठाउँतिरै उक्लिए।+

२५ पछि समुएलको+ मृत्यु भयो। अनि सबै इस्राएली तिनको निम्ति शोक गर्न र तिनको लास रामामा तिनको घरनजिकै गाड्‌न जम्मा भए।+ त्यसपछि दाउद उठे र पारान भनिने निर्जनभूमितिर झरे।

२ त्यही समयतिरको कुरा हो, माओनमा+ एक जना मानिस बस्थे र उनको वस्तुभाउ कर्मेलमा*+ थियो। उनी असाध्यै धनी थिए; उनीसित ३ हजार भेडा र १ हजार बाख्रा थियो। त्यतिबेला उनी कर्मेलमा भेडाको ऊन कत्रँदै थिए। ३ उनको नाम नाबाल+ थियो; उनी कालेबको वंशका+ थिए र उनकी पत्नीको नाम अबिगेल+ थियो। अबिगेल सुन्दरी र समझदार थिइन्‌। तिनका पति नाबाल भने क्रूर थिए; उनी अरूसित नराम्रो व्यवहार गर्थे।+ ४ नाबाल आफ्ना भेडाहरूको ऊन कत्रँदै छन्‌ भन्‍ने कुरा निर्जनभूमिमा बसिरहेका दाउदले सुने। ५ त्यसैले दाउदले आफ्ना १० जना मानिसलाई यसो भनेर नाबालकहाँ पठाए: “तिमीहरू माथि कर्मेल जाओ अनि नाबाललाई भेटेर मैले उहाँको हालखबर सोधेको छु भनिदेओ। ६ त्यसपछि यसो भन: ‘तपाईँको दीर्घायु होस्‌ र तपाईँको भलो होस्‌।* अनि तपाईँको घरानाको र तपाईँसँग भएका सबै कुराको भलो होस्‌। ७ तपाईँ आफ्ना भेडाहरूको ऊन कत्रँदै हुनुहुन्छ भन्‍ने सुनेँ। तपाईँका गोठालाहरू हामीसँग छँदा हामीले उनीहरूलाई दुःख दिएनौँ।+ अनि उनीहरू कर्मेलमा रहुन्जेल उनीहरूको केही पनि हराएन। ८ तपाईँका मानिसहरूलाई सोध्नुहोस्‌, उनीहरूले यसबारे बताउनेछन्‌। मेरा मानिसहरूमाथि तपाईँको निगाह रहोस्‌। किनकि यस्तो रमाइलो अवसरमा* हामी तपाईँकहाँ आएका छौँ। कृपया तपाईँका दासहरू र तपाईँको छोरा दाउदलाई जे-जति दिन सक्नुहुन्छ, दिनुहोस्‌।’”+

९ त्यसपछि दाउदका मानिसहरू गए अनि दाउदले भनेको सबै कुरा नाबाललाई बताइदिए। ती मानिसहरूको कुरा सुनिसकेपछि १० नाबालले तिनीहरूलाई भने: “त्यो यिसैको छोरा दाउदले आफूलाई को भन्ठान्छ? मैले त्यसको कुरा सुन्‍नुपर्ने त्यो को हो र? आजकल थुप्रै दास आफ्नो मालिकलाई छोडेर भागिरहेका छन्‌।+ ११ ऊन कत्रने मेरा मानिसहरूको लागि राखेको रोटी, पानी अनि मासु के मैले चिन्‍नु न जान्‍नुका मानिसहरूलाई दिनुपऱ्‍यो?”

१२ तब दाउदका मानिसहरू फर्केर आए अनि नाबालले भनेको सबै कुरा दाउदलाई बताइदिए। १३ तिनीहरूको कुरा सुन्‍नेबित्तिकै दाउदले भने: “तिमीहरू सबै आ-आफ्नो तरबार भिर!”+ त्यसैले तिनीहरू सबैले तरबार भिरे। दाउदले पनि आफ्नो तरबार भिरे। लगभग ४०० जना मानिस दाउदसँगै गए अनि २०० जनाचाहिँ सामान कुर्न त्यहीँ बसे।

१४ त्यस दौडान नाबालका एक जना सेवकले नाबालकी पत्नी अबिगेललाई भने: “दाउदले हाम्रा मालिकलाई शुभकामना दिन निर्जनभूमिबाट सन्देशवाहकहरू पठाएका थिए। तर मालिकले भने तिनीहरूलाई हकारेर तिनीहरूको बेइज्जत गर्नुभयो।+ १५ निर्जनभूमिमा तिनीहरूसित रहुन्जेल तिनीहरूले हामीलाई कहिल्यै दुःख दिएनन्‌ अनि हाम्रो केही पनि हराएन। तिनीहरूले हामीसित असाध्यै राम्रो व्यवहार गरेका थिए।+ १६ तिनीहरू हाम्रो लागि सुरक्षित पर्खालसरह थिए। भेडाबाख्रा चराउन तिनीहरूसँग रहुन्जेल तिनीहरूले दिनरात हाम्रो सुरक्षा गरे। १७ अब के गर्नुपर्ने हो, सो निर्णय गर्नुहोस्‌। किनकि हाम्रा मालिक र उहाँको सारा घरानामाथि पक्कै विपत्ति आउनेछ।+ अनि उहाँ यत्ति निकम्मा* हुनुहुन्छ+ कि उहाँसित कुरा गरेर केही फाइदै छैन।”

१८ त्यसैले अबिगेलले+ तुरुन्तै २०० वटा रोटी, दुई घ्याम्पा रक्सी, पाँच वटा भेडाको मासु, पाँच सेआ* भुटेको अन्‍न, किसमिसको १०० वटा रोटी र सुकाइएको अन्जिरको २०० वटा रोटी* लिइन्‌ र ती सबै सामान गधाहरूमा राखिन्‌।+ १९ त्यसपछि तिनले आफ्ना सेवकहरूलाई भनिन्‌: “तिमीहरू अघिअघि जाओ; म तिमीहरूको पछिपछि आउँछु।” तर तिनले आफ्ना पति नाबाललाई यसबारे केही पनि भनिनन्‌।

२० अबिगेल गधामा चढेर ओरालो झरिरहेकी थिइन्‌। त्यतिबेला दाउद र उनका मानिसहरू पनि अबिगेल भएतिर आइरहेका थिए। तर डाँडाले छेकेको हुँदा उनीहरूले अबिगेललाई देखेनन्‌। अनि बाटोमा अबिगेलसित उनीहरूको भेट भयो। २१ दाउदले यसो भनेका थिए: “निर्जनभूमिमा त्यो मान्छेको सबै थोकको मैले सुरक्षा गरेँ। त्यसको केही कुरा पनि हराएन।+ तर मैले गरेको सबै बेकार भयो। अहिले त्यसले मलाई गुनको सट्टा बैगुन गर्दै छ।+ २२ भोलि बिहानसम्म मैले त्यसका सबै पुरुषलाई मारिनँ भने परमेश्‍वरले मेरा शत्रुहरूलाई* त्यसै गरून्‌, अझ त्योभन्दा बढ्‌ता गरून्‌।”

२३ दाउदलाई देखेपछि अबिगेल हतारहतार गधाबाट ओर्लिन्‌ अनि भुईँमा घोप्टो परेर दाउदलाई दण्डवत्‌ गरिन्‌। २४ त्यसपछि दाउदको पाउ परेर तिनले भनिन्‌: “हे मेरा प्रभु! जे भयो, त्यसको दोष मैमाथि परोस्‌। तपाईँकी दासीलाई केही बोल्न दिनुहोस्‌; यस दासीको कुरा सुनिदिनुहोस्‌। २५ बिन्ती छ प्रभु, निकम्मा नाबालको कुरामा ध्यान नदिनुहोस्‌।+ उहाँको व्यहोरा पनि उहाँको नामजस्तै छ। उहाँको नाम नाबाल* हो र उहाँ आफ्नो नामजस्तै मूर्ख हुनुहुन्छ। प्रभु, तपाईँकी यस दासीले तपाईँले पठाउनुभएका मानिसहरूलाई देखिन। २६ अब हे मेरा प्रभु, म जीवित परमेश्‍वर यहोवाको र तपाईँको नाममा कसम खाएर भन्छु, तपाईँलाई रक्‍तदोषी हुनदेखि+ र बदला लिन हात उठाउनदेखि रोक्नुहुने यहोवा परमेश्‍वर नै हुनुहुन्छ।+ तपाईँका शत्रुहरू र तपाईँलाई हानि पुऱ्‍याउन खोज्ने सबैको हालत नाबालको जस्तै होस्‌। २७ यस दासीले आफ्ना प्रभुको लागि ल्याएको यो उपहार*+ स्विकार्नुहोस्‌ र आफ्ना मानिसहरूलाई दिनुहोस्‌।+ २८ बिन्ती छ प्रभु, यस दासीको गल्ती माफ गरिदिनुहोस्‌। यहोवा परमेश्‍वरले तपाईँका सन्तानलाई लामो समयसम्म शासन गर्न दिनुहुनेछ+ किनकि तपाईँले यहोवा परमेश्‍वरको निम्ति लडाइँ गरिरहनुभएको छ+ र तपाईँमा अहिलेसम्म कुनै खराब कुरा भेटिएको छैन।+ २९ तपाईँविरुद्ध उठेर कसैले तपाईँको ज्यान लिन खोज्यो भने हे मेरा प्रभु, मानिसले आफ्ना बहुमूल्य कुराहरू झोलामा हालेर जोगाएझैँ यहोवा परमेश्‍वरले तपाईँलाई पनि जोगाउनुहुनेछ। तर तपाईँका शत्रुहरूको जीवनलाई चाहिँ घुयेँत्रोमा ढुङ्‌गा हालेर हुर्ऱ्याएझैँ हुर्ऱ्याइदिनुहुनेछ। ३० अनि यहोवा परमेश्‍वरले आफूले प्रतिज्ञा गरेको सबै कुरा पूरा गर्नुहुनेछ र तपाईँलाई इस्राएलीहरूको नेता नियुक्‍त गर्नुहुनेछ।+ ३१ त्यसैले कुनै कारणविना अरूको रगत बगाएर अनि बदला लिन आफ्नो हात उठाएर पछि अफसोस गर्नुपर्ने वा पछुताउनुपर्ने काम नगर्नुहोस्‌।+ यहोवा परमेश्‍वरले तपाईँलाई आशिष्‌ दिनुहुँदा यस दासीलाई सम्झनुहोस्‌।”

३२ तब दाउदले अबिगेललाई भने: “इस्राएलका परमेश्‍वर यहोवाको जय होस्‌, जसले आज तिमीलाई मकहाँ पठाउनुभयो! ३३ यस्तो समझदारी देखाएकोमा परमेश्‍वरले तिमीलाई आशिष्‌ देऊन्‌! आज मलाई रक्‍तदोषी हुनदेखि+ र बदला लिन आफ्नो हात उठाउनदेखि रोकेकोमा तिमीलाई आशिष्‌ मिलोस्‌। ३४ तिमीलाई हानि पुऱ्‍याउनदेखि रोक्नुहुने इस्राएलका जीवित परमेश्‍वर यहोवाको कसम खाएर म भन्छु,+ तिमी तुरुन्तै मलाई भेट्‌न नआएकी भए+ भोलि बिहानसम्ममा नाबालका एउटै पुरुष पनि बाँकी रहने थिएनन्‌।”+ ३५ त्यसपछि अबिगेलले ल्याएको उपहार दाउदले स्विकारे र तिनलाई भने: “अब ढुक्क भएर आफ्नो घर फर्क। हेर, मैले तिम्रो कुरा सुनेँ र म तिम्रो बिन्ती पूरा गरिदिनेछु।”

३६ पछि अबिगेल नाबालकहाँ फर्केर गइन्‌। त्यतिबेला नाबाल आफ्नो घरमा राजाले जस्तै भोज लगाएर मस्तले बसिरहेका थिए। नाबाल असाध्यै खुसी देखिन्थे र रक्सीले मात्तिएर बसेका थिए। बिहान उज्यालो नहोउन्जेल अबिगेलले नाबाललाई केही पनि भनिनन्‌। ३७ बिहान नाबाललाई नशाले छोडेपछि अबिगेलले उनलाई सबै कुरा बताइन्‌। यो सुनेर नाबाल ढुङ्‌गाजस्तै अचेत भए; मानौँ तिनको मुटुले काम गर्न छोडेजस्तै भयो। ३८ करिब १० दिनपछि यहोवा परमेश्‍वरले उनको ज्यान लिनुभयो।

३९ नाबालको मृत्यु भयो भन्‍ने कुरा सुनेपछि दाउदले भने: “यहोवा परमेश्‍वरको जय होस्‌! नाबालले मेरो बेइज्जत गरेको थियो+ तर उहाँले मेरो पक्षमा न्याय गरिदिनुभयो।+ यहोवा परमेश्‍वरले आफ्ना सेवकलाई खराब काम गर्नदेखि रोक्नुभयो+ र नाबालले गरेको नराम्रो कामको परिणाम उहाँले त्यसकै थाप्लोमा हालिदिनुभयो।” त्यसपछि दाउदले अबिगेलसित विवाह गर्न चाहेको खबर अबिगेलकहाँ पठाए। ४० दाउदका सेवकहरूले कर्मेलमा गएर अबिगेललाई भने: “दाउदले तपाईँलाई लिन हामीलाई यहाँ पठाउनुभएको हो; उहाँ तपाईँसित विवाह गर्न चाहनुहुन्छ।” ४१ यो सुन्‍नेबित्तिकै अबिगेल उठिन्‌ अनि भुईँमा घोप्टो परेर भनिन्‌: “म दासी बनेर मेरा प्रभुका सेवकहरूको खुट्टा धोइदिन तयार छु।”+ ४२ त्यसपछि अबिगेल+ तुरुन्तै उठिन्‌ र आफ्नो गधामा चढिन्‌; तिनका पाँच जना दासी तिनको पछिपछि हिँडे। अबिगेल दाउदका सन्देशवाहकहरूसित गइन्‌ र तिनले दाउदसित विवाह गरिन्‌।

४३ दाउदले यिज्रेलमा+ बस्ने अहिनोमसित+ पनि विवाह गरेका थिए। यसरी ती दुवै स्त्री दाउदका पत्नी भए।+

४४ तर साउलले आफ्नी छोरी अर्थात्‌ दाउदकी पत्नी मिकलको+ विवाह पल्तिसित+ गराइदिएका थिए, जो गाल्लिममा बस्ने लेसका छोरा थिए।

२६ केही समयपछि जिफका+ मानिसहरू गिबाहमा+ आए र साउललाई भने: “दाउद यसिमोनको* अगाडि पर्ने हकिलाह डाँडामा लुकेको छ।”+ २ त्यसैले इस्राएलीहरूबाट छानिएका ३ हजार मानिसलाई लिएर साउल दाउदलाई खोज्न जिफको निर्जनभूमितिर झरे।+ ३ साउल यसिमोनको अगाडि पर्ने हकिलाह डाँडामा बाटोको छेउमै छाउनी हालेर बसे। त्यतिबेला दाउदचाहिँ निर्जनभूमिमा बसिरहेका थिए। साउल आफूलाई खोज्न निर्जनभूमिमा आएका छन्‌ भनेर दाउदले थाह पाए। ४ साउल साँच्चै आएका हुन्‌ कि होइनन्‌ भनेर पक्का गर्न दाउदले जासुसहरू पठाए। ५ पछि दाउद आफै साउल छाउनी हालेर बसेको ठाउँमा गए। उनले साउल र नेरका छोरा, सेनापति अब्नेर+ सुतिरहेको ठाउँ देखे। साउल छाउनीमा सुतिरहेका थिए अनि तिनको चारैतिर सेनाका डफ्फा थिए। ६ अनि दाउदले हित्ती+ अहिमेलेकलाई र जेरुयाहका छोरा,+ योआबका दाइ अबिसैलाई+ सोधे: “साउलको छाउनीमा तिमीहरूमध्ये कोचाहिँ मसँग जान चाहन्छौ?” अबिसैले भने: “म जान्छु।” ७ त्यो रात दाउद र अबिसै साउलको छाउनीमा गए। उनीहरूले छाउनीको बीचतिर साउल सुतिरहेको देखे; तिनको सिरानीनजिकै जमिनमा भाला गाडेर राखिएको थियो। अब्नेर र सिपाहीहरू साउलको चारैतिर सुतिरहेका थिए।

८ यो देखेर अबिसैले दाउदलाई भने: “हेर्नुहोस्‌, आज परमेश्‍वरले तपाईँको शत्रुलाई तपाईँको हातमा सुम्पिदिनुभएको छ।+ अब कृपया मलाई आदेश दिनुहोस्‌, म साउललाई भाला हानेर एकै चोटिमा भुईँमा उनिदिन्छु, फेरि हान्‍नै पर्दैन।” ९ तर दाउदले अबिसैलाई भने: “उहाँलाई केही नगर। यहोवा परमेश्‍वरका अभिषिक्‍त जनविरुद्ध+ हात उठाउने कुनचाहिँ मानिस निर्दोष रहन सक्ला र?”+ १० दाउदले अझै भने: “जीवित परमेश्‍वर यहोवाको कसम खाएर म भन्छु, यहोवा परमेश्‍वरले नै साउललाई मार्नुहुनेछ+ वा युद्धमा साउलको मृत्यु हुनेछ+ वा अरू मानिसजस्तै एकदिन उहाँ मर्नुहुनेछ।+ ११ यहोवा परमेश्‍वरका अभिषिक्‍त जनविरुद्ध हात उठाउने कुरा म सोच्न पनि सक्दिनँ।+ यसो गर्नु यहोवा परमेश्‍वरको नजरमा गलत हो। साउलको सिरानीनजिकै भएको भाला र सुराही उठाऊ अनि हामी यहाँबाट जाऔँ।” १२ त्यसपछि दाउदले साउलको सिरानीनजिकै भएको भाला र सुराही लिए अनि उनीहरू त्यहाँबाट गए। उनीहरू गएको कसैले चाल पाएन,+ उनीहरूलाई कसैले देखेन अनि कोही पनि ब्युँझेन। किनभने साउल र तिनका मानिसहरू सबै जना मस्त निदाइरहेका थिए। यहोवा परमेश्‍वरले नै तिनीहरूलाई गहिरो निद्रामा पारिदिनुभएको थियो। १३ त्यसपछि दाउद पारिपट्टि गएर डाँडाको टुप्पामा उभिए। दाउद उभिएको ठाउँ र साउलको छाउनीबीच निकै दूरी थियो।

१४ त्यहाँबाट दाउदले साउलका मानिसहरूलाई र नेरको छोरा सेनापति अब्नेरलाई+ ठूलो स्वरले बोलाए। दाउदले भने: “अब्नेर! तिमी सुन्दै छौ?” अब्नेरले जवाफ दिए: “राजाको नाम लिएर बोलाउने तिमी को हौ?” १५ दाउदले भने: “के तिमी वीर पुरुष होइनौ र? इस्राएलमा तिमीजस्तो योद्धा अरू कोही छ र? तिमीले किन तिम्रा प्रभु, तिम्रा महाराजको सुरक्षा गरेनौ? तिम्रा प्रभु, तिम्रा महाराजलाई मार्न एउटा सिपाही त्यहाँ आएको थियो।+ १६ तिमीले आफ्नो जिम्मेवारी पूरा गरेनौ। जीवित परमेश्‍वर यहोवाको कसम खाएर म भन्छु, तिमी मारिनै पर्छ। किनभने यहोवा परमेश्‍वरका अभिषिक्‍त जन,+ तिम्रा प्रभुको तिमीले रक्षा गरेनौ। राजाको सिरानीनजिकै राखेको भाला र सुराही खोइ कहाँ छ?”+

१७ तब साउलले दाउदको स्वर चिने र उनलाई भने: “हे मेरो छोरा दाउद! मसित बोल्ने तिमी नै हौ?”+ दाउदले भने: “हे मेरा प्रभु, मेरा महाराज, म नै हुँ।” १८ उनले अझै भने: “मेरा प्रभु, तपाईँ मलाई किन खेद्‌दै हुनुहुन्छ?+ मैले तपाईँलाई के गरेको छु? मेरो के दोष छ र?+ १९ हे मेरा प्रभु, मेरा महाराज, कृपया आफ्नो दासको कुरा सुन्‍नुहोस्‌: यदि यहोवा परमेश्‍वरले नै तपाईँलाई मेरो विरुद्धमा सुऱ्‍याउनुभएको हो भने उहाँले मेरो अन्‍नभेटी स्विकारून्‌।* तर यदि मानिसहरूले तपाईँलाई सुऱ्‍याएका हुन्‌ भने+ यहोवा परमेश्‍वरसामु तिनीहरू श्रापित होऊन्‌। किनभने यहोवा परमेश्‍वरले पैतृक सम्पत्तिको+ रूपमा दिनुभएको देशबाट तिनीहरूले मलाई धपाएका छन्‌ र यसो भनेका छन्‌, ‘जा! अरू देवताको पूजा गर्‌!’ २० बिन्ती छ, म यहोवा परमेश्‍वरको उपस्थितिबाट टाढा गएर मर्नु नपरोस्‌।* पहाडहरू हुँदो च्याखुरोलाई खेदेझैँ इस्राएलका राजाले जाबो एउटा उपियाँलाई खेद्‌दै हुनुहुन्छ।”+

२१ त्यसपछि साउलले भने: “मैले पाप गरेँ।+ हे मेरो छोरा दाउद, फर्केर आऊ! म तिमीलाई अब केही गर्दिनँ किनभने तिमी मेरो जीवनलाई अनमोल ठान्छौ+ भनेर आज देखियो। मैले मूर्खता देखाएँ, मैले ठूलो गल्ती गरेँ।” २२ अनि दाउदले भने: “राजाको भाला यहाँ छ। तपाईँका जवानहरूमध्ये एक जनालाई यो लिन पठाउनुहोस्‌। २३ यहोवा परमेश्‍वर हरेक मानिसलाई उसको धार्मिकता* र वफादारीको इनाम दिनुहुन्छ।+ आज यहोवा परमेश्‍वरले तपाईँलाई मेरो हातमा सुम्पिदिनुभएको थियो तर मैले यहोवा परमेश्‍वरका अभिषिक्‍त जनविरुद्ध हात उठाउन चाहिनँ।+ २४ जसरी मैले आज तपाईँको जीवनलाई अनमोल सम्झेँ, त्यसैगरि यहोवा परमेश्‍वरले पनि मेरो जीवनलाई अनमोल सम्झून्‌ र उहाँले मलाई सबै सङ्‌कष्टबाट बचाऊन्‌।”+ २५ साउलले दाउदलाई भने: “हे मेरो छोरा दाउद, परमेश्‍वरले तिमीलाई आशिष्‌ देऊन्‌! तिमीले साँच्चै ठूलठूला काम गर्नेछौ अनि तिमी विजयी हुनेछौ।”+ त्यसपछि दाउद आफ्नो बाटो लागे र साउल पनि आफ्नो ठाउँ फर्के।+

२७ पछि दाउदले यस्तो सोचे: “एक न एकदिन त साउलले मलाई मारेरै छाड्‌छन्‌। त्यसैले पलिस्तियालीहरूको देशमा भागेर जानु नै बेस होला।+ त्यसपछि त साउलले मलाई इस्राएलका इलाकाहरूमा खोज्न छोडिदिनेछन्‌+ र म तिनको हातबाट जोगिनेछु।” २ अनि दाउद आफूसँग भएका ६०० जना+ मानिसलाई लिएर माओकका छोरा, गाथका राजा आकिसकहाँ गए।+ ३ दाउद र उनका मानिसहरू आ-आफ्ना परिवार लिएर गाथमा आकिसकहाँ बस्न थाले। दाउदका दुई पत्नी—यिज्रेलकी अहिनोम+ र नाबालकी विधवा, कर्मेली अबिगेल+ उनीसँगै थिए। ४ दाउद भागेर गाथमा गएका छन्‌ भन्‍ने खबर पाएपछि साउलले दाउदलाई खोज्न छोडिदिए।+

५ अनि दाउदले आकिसलाई भने: “मैले तपाईँको निगाह पाएको छु भने कृपया मलाई यहाँको कुनै एउटा सानो सहरमा बसोबास गर्न दिनुहोस्‌। तपाईँको यो दास राजा बस्ने सहरमा बस्न कहाँ सुहाउँछ र?” ६ तब आकिसले त्यही दिन दाउदलाई जिक्लग दिए।+ त्यसैले जिक्लग आजसम्मै यहुदाका राजाहरूको अधीनमा छ।

७ दाउद पलिस्तियालीहरूको इलाकामा एक वर्ष चार महिना बसे।+ ८ दाउद आफ्ना मानिसहरूलाई लिएर गेसुरी,+ गिर्जी र अमालेकीहरूलाई+ आक्रमण गर्न जान्थे। ती जातिहरू तेलमदेखि सुरसम्म+ र तल मिश्र देशसम्मै फैलिएर बसेका थिए। ९ ती इलाकामा आक्रमण गर्न जाँदा दाउद त्यहाँका पुरुष, स्त्री कसैलाई पनि जिउँदै छोड्‌दैनथे।+ तर उनी भेडाबाख्रा, गाईवस्तु, गधाहरू, उँटहरू र लुगाफाटाचाहिँ आफूसितै ल्याउँथे। त्यसपछि उनी राजा आकिसकहाँ फर्कन्थे। १० अनि राजा आकिस दाउदलाई सोध्थे: “आज तिमीले कहाँ आक्रमण गऱ्‍यौ?” दाउद कहिले “यहुदाको दक्षिणी इलाकामा,”*+ कहिले “यरहमेलीहरूको दक्षिणी इलाकामा”+ अनि कहिलेचाहिँ “केनीहरूको+ दक्षिणी इलाकामा” भन्थे। ११ दाउद कसैलाई गाथमा लैजानु नपरोस्‌ भनेर कुनै पनि पुरुष वा स्त्रीलाई जिउँदै छोड्‌दैनथे। किनकि उनी यसो भन्थे: “नत्र यिनीहरूले गाथका मानिसहरूलाई ‘दाउदले यस्तो-यस्तो गरे’ भनेर हाम्रो विषयमा सबै कुरा बताइदेलान्‌।” (पलिस्तियालीहरूको इलाकामा रहुन्जेल उनले त्यसै गरिरहे।) १२ राजा आकिस दाउदको कुरा पत्याउँथे किनभने तिनी यस्तो सोच्थे: ‘दाउदलाई उसका आफ्नै मानिस—इस्राएलीहरूले घृणा गर्छन्‌। त्यसैले ऊ सधैँ मेरो दास भएर बस्नेछ।’

२८ त्यसबेला इस्राएलीहरूसित लडाइँ गर्न पलिस्तियालीहरूले आफ्नो सेनालाई एक ठाउँमा भेला गराए।+ आकिसले दाउदलाई भने: “हेर, तिमी र तिम्रा मानिसहरू लडाइँ गर्न मसित जानुपर्छ भनेर त तिमीलाई थाहै छ।”+ २ तब दाउदले आकिसलाई भने: “हजुरको दासले के गर्नेछ, सो हजुर जान्‍नुहुन्छ।” आकिसले दाउदलाई भने: “यसैकारण म तिमीलाई सधैँको लागि मेरो अङ्‌गरक्षक नियुक्‍त गर्छु।”+

३ यतिबेलासम्म समुएलको मृत्यु भइसकेको थियो; समुएलको मृत्यु हुँदा सबै इस्राएलीले शोक मनाएका थिए र तिनको लास तिनकै सहर रामामा गाडेका थिए।+ साउलले भूतप्रेत खेलाउने र भावी बताउने सबैलाई इस्राएलबाट हटाइसकेका थिए।+

४ पलिस्तियालीहरू एक ठाउँमा भेला भए अनि तिनीहरूले सुनेममा+ गएर छाउनी हाले। साउलले पनि पूरै इस्राएली सेनालाई भेला गराए र उनीहरूले गिल्बोमा+ छाउनी हाले। ५ पलिस्तियालीहरूको छाउनी देखेर साउल डराए अनि तिनको मुटु बेसरी काँप्न थाल्यो।+ ६ साउलले यहोवा परमेश्‍वरसित सल्लाह मागे+ तर यहोवा परमेश्‍वरले न सपनामार्फत न ऊरीममार्फत*+ न त भविष्यवक्‍ताहरूमार्फत नै तिनलाई जवाफ दिनुभयो। ७ त्यसैले साउलले आफ्ना सेवकहरूलाई भने: “भूतप्रेत खेलाउने एउटी आइमाई खोज।+ म उसकहाँ गएर सल्लाह माग्छु।” तब तिनका सेवकहरूले भने: “महाराज! एन-दोरमा+ भूतप्रेत खेलाउने एउटी आइमाई बस्छे।”

८ त्यसपछि साउलले आफ्नो भेष बदले। तिनले अर्कै लुगा लगाए अनि आफ्ना दुई जना मानिस लिएर राती त्यस आइमाईकहाँ गए। साउलले उसलाई भने: “बिन्ती छ, भूतप्रेत खेलाएर मेरो भविष्य बताइदेऊ।+ अनि म जसको नाम लिन्छु, उसलाई जगाइदेऊ।” ९ तर त्यस आइमाईले भनी: “साउलले के गर्नुभएको थियो, त्यो त तपाईँलाई थाहै छ। उहाँले भूतप्रेत खेलाउने र भावी बताउने सबैलाई इस्राएलबाट हटाउनुभएको थियो।+ अब तपाईँ किन मलाई फन्दामा पार्न खोज्दै हुनुहुन्छ? यस्तो काम गर्न लगाएर तपाईँ किन मलाई मार्न खोज्दै हुनुहुन्छ?”+ १० तब साउलले यहोवा परमेश्‍वरको कसम खाँदै त्यस आइमाईलाई भने: “जीवित परमेश्‍वर यहोवाको कसम खाएर म भन्छु, यसको कारण तिमीमाथि कुनै दोष आइपर्नेछैन!” ११ तब त्यस आइमाईले भनी: “भन्‍नुहोस्‌, कसलाई जगाइदिऊँ?” साउलले भने: “समुएललाई।” १२ जब त्यस आइमाईले “समुएल”-लाई*+ देखी, तब उसले साउललाई ठूलो स्वरले चिच्याउँदै यसो भनी: “तपाईँ त साउल नै हुनुहुँदो रहेछ! तपाईँले मलाई किन झुक्क्याउनुभयो?” १३ राजाले उसलाई भने: “नडराऊ! बरु भन, तिमी के देख्दै छ्यौ?” त्यस आइमाईले भनी: “देवताजस्तै देखिने एक जना व्यक्‍ति जमिनबाट माथि आइरहेको देख्दै छु।” १४ साउलले तुरुन्तै उसलाई सोधे: “त्यो व्यक्‍ति को जस्तो देखिन्छ?” त्यस आइमाईले भनी: “एक जना बूढो मानिस निस्केर आउँदै छ; उसले बाहुला नभएको अलखा* लगाएको छ।”+ यति भन्‍नेबित्तिकै साउलले त्यो मानिस “समुएल” हो भनेर चिनिहाले। अनि साउल भुईँमा घोप्टो परेर लम्पसार परे।

१५ तब “समुएल”-ले साउललाई भने: “मलाई जगाएर किन दुःख दिन्छौ?” साउलले भने: “म निकै ठूलो समस्यामा परेको छु। पलिस्तियालीहरू मसित लड्‌न आएका छन्‌ अनि परमेश्‍वरले पनि मलाई साथ दिन छोडिसक्नुभयो। उहाँ मलाई भविष्यवक्‍ताहरूमार्फत वा सपनाहरूमार्फत कुनै जवाफ दिनुहुन्‍न।+ त्यसैकारण अब मैले के गर्नुपर्ने हो भनी जान्‍न तपाईँलाई बोलाएको हुँ।”+

१६ “समुएल”-ले भने: “यहोवा परमेश्‍वरले तिमीलाई त्यागिसक्नुभएको छ+ र उहाँ तिम्रो शत्रु हुनुभएको छ। अब तिमी किन मसित सल्लाह माग्न आउँछौ? १७ यहोवा परमेश्‍वरले ममार्फत जुन भविष्यवाणी गर्नुभएको थियो, उहाँले त्यो पूरा गर्नुहुनेछ: यहोवा परमेश्‍वरले तिम्रो हातबाट राज्य खोस्नुहुनेछ र तिम्रै एक जना मानिस दाउदलाई दिनुहुनेछ।+ १८ तिमीले यहोवा परमेश्‍वरको आज्ञा पालन गरेनौ अनि उहाँलाई क्रोधित तुल्याउने अमालेकीहरूलाई नाश गरेनौ।+ त्यसैले यहोवा परमेश्‍वरले आज तिमीसित यस्तो व्यवहार गर्दै हुनुहुन्छ। १९ यहोवा परमेश्‍वरले इस्राएललाई र तिमीलाई पलिस्तियालीहरूको हातमा सुम्पिदिनुहुनेछ।+ अनि भोलि तिमी+ र तिम्रा छोराहरू+ मसँग हुनेछौ। यहोवा परमेश्‍वरले इस्राएलको सेनालाई पनि पलिस्तियालीहरूको हातमा सुम्पिदिनुहुनेछ।”+

२० यो सुन्‍नेबित्तिकै साउल भुईँमा डङ्‌ग्रङ्‌ङ ढले। तिनी “समुएल”-को कुरा सुनेर असाध्यै डराएका थिए। तिनको शरीरमा तागतै थिएन किनकि तिनले दिनभरि र राती पनि केही खाएका थिएनन्‌। २१ त्यो आइमाई साउलको नजिकै गई र तिनी असाध्यै चिन्तित भएको देखेपछि यसो भनी: “यस दासीले हजुरको आज्ञा पालन गरेकी छे; मैले आफ्नो ज्यानको खतरा मोलेर हजुरले भन्‍नुभएअनुसारै गरेँ।+ २२ अब बिन्ती छ, यस दासीको कुरा सुन्‍नुहोस्‌। म हजुरको लागि एउटा रोटी ल्याइदिन्छु। त्यो खानुहोस्‌ र यात्रा गर्न हजुरले अलि तागत पाउनुहुनेछ।” २३ तर साउलले रोटी खान इन्कार गरे र यसो भने: “अहँ, म खान्‍नँ!” तिनका सेवकहरू र त्यस आइमाईले तिनलाई कर गरिरहे। बल्लतल्ल साउलले तिनीहरूको कुरा माने अनि भुईँबाट उठेर खाटमा बसे। २४ त्यस आइमाईको घरमा एउटा मोटो बाछो थियो। उसले त्यो बाछो तुरुन्तै काटी* अनि खमिर* नहाली पीठो मुछेर रोटी पकाई। २५ त्यसपछि उसले साउल र तिनका सेवकहरूलाई खाना टक्य्राई। खाइसकेपछि तिनीहरू उठे अनि राती नै आफ्नो बाटो लागे।+

२९ पलिस्तियालीहरूले+ आफ्ना सबै सेनालाई अफेकमा भेला गराए। त्यतिबेला इस्राएलीहरूचाहिँ यिज्रेलमा+ पानीको मूलनजिकै छाउनी हालेर बसेका थिए। २ पलिस्तियालीहरूका शासकहरू सय-सय र हजार-हजार सिपाहीको दल लिएर अघि बढिरहेका थिए। दाउद र उनका मानिसहरूचाहिँ आकिससँग सबैभन्दा पछाडि हिँडिरहेका थिए।+ ३ पलिस्तियाली नाइकेहरूले भने: “यी हिब्रूहरू यहाँ के गरिरहेका छन्‌?” आकिसले ती पलिस्तियाली नाइकेहरूलाई जवाफ दिए: “ऊ दाउद हो; इस्राएलका राजा साउलको सेवक। ऊ मसँगै बस्न थालेको एक वर्षभन्दा धेरै भइसक्यो।+ ऊ भागेर मकहाँ आएदेखि आजसम्म मैले उसमा कुनै खोट भेट्टाएको छैनँ।” ४ तर पलिस्तियाली नाइकेहरू आकिससित रिसाए र तिनीहरूले आकिसलाई भने: “त्यसलाई यहाँबाट जाने आदेश दिनुहोस्‌।+ तपाईँले त्यसलाई जुन ठाउँमा बस्न दिनुभएको थियो, त्यो त्यहीँ फर्कोस्‌। त्यसलाई हामीसित लडाइँमा जान दिनु हुँदैन नत्र लडाइँ भइरहेको बेला त्यसले उल्टै हामीलाई आक्रमण गर्ला! के थाह, त्यसले हाम्रा सिपाहीहरूलाई मारेर तिनीहरूको शिर आफ्नो मालिककहाँ लैजाने हो कि!+ आफ्नो मालिकको निगाह पाउने योभन्दा राम्रो तरिका त्यसको लागि अरू कुन होला र? ५ यो त त्यही दाउद हो, जसको विषयमा तिनीहरूले नाच्दै यस्तो गीत गाएका थिए:

‘साउलले हजारौँलाई मारे,

दाउदले लाखौँलाई मारे’।”+

६ त्यसैले आकिसले+ दाउदलाई बोलाएर भने: “जीवित परमेश्‍वर यहोवाको कसम खाएर म भन्छु, तिमी असल मानिस हौ अनि मेरो सेनालाई लडाइँमा साथ दिन आएकोमा म खुसी छु।+ किनकि तिमी मकहाँ आएको दिनदेखि आजसम्म मैले तिमीमा कुनै खोट भेट्टाएको छैनँ।+ तर अरू शासकहरू भने तिमीलाई भरोसा गर्दैनन्‌।+ ७ त्यसैले यहाँबाट शान्तिपूर्वक फर्क अनि पलिस्तियाली शासकहरूलाई मन नपर्ने कुनै पनि काम नगर।” ८ तर दाउदले आकिसलाई भने: “महाराज, मैले के गल्ती गरेँ र? म तपाईँकहाँ आएको दिनदेखि अहिलेसम्म तपाईँले ममा कुनै खोट भेट्टाउनुभएको छ र? हे मेरा प्रभु, मेरा महाराज! तपाईँका शत्रुहरूसित लडाइँ गर्न म किन तपाईँसित जान नपाउने?” ९ आकिसले दाउदलाई जवाफ दिए: “मेरो नजरमा तिमी परमेश्‍वरका स्वर्गदूत जत्तिकै असल छौ।+ तर पलिस्तियाली नाइकेहरूले यसो भनेका छन्‌: ‘त्यसलाई हामीसित लडाइँमा जान दिनु हुँदैन।’ १० भोलि सबेरै उठ अनि तिमीसित आएका मानिसहरूलाई लिएर फर्क। बिहान उज्यालो हुनेबित्तिकै यहाँबाट गइहाल।”

११ त्यसैले दाउद र उनका मानिसहरू पलिस्तियालीहरूको देश फर्कन बिहान सबेरै उठे। अनि पलिस्तियालीहरूचाहिँ यिज्रेलतिर+ उक्लिए।

३० तेस्रो दिन दाउद र उनका मानिसहरू जिक्लग+ पुग्दा अमालेकीहरूले+ दक्षिणी इलाकामा* र जिक्लगमा आक्रमण गरिसकेका थिए। तिनीहरूले जिक्लगमा आक्रमण गरेर त्यहाँ आगो लगाइदिएका थिए। २ तिनीहरूले त्यहाँ भएका स्त्रीहरूलाई+ अनि सानादेखि ठूलासम्म सबैलाई बन्दी बनाएर लगेका थिए। तिनीहरूले कसैलाई पनि मारेका थिएनन्‌ तर सबैलाई बन्दी बनाएर लगेका थिए। ३ दाउद र उनका मानिसहरू सहरमा पुग्दा उनीहरूले सहर जलेर भस्म भइसकेको देखे। उनीहरूका पत्नी र छोराछोरीलाई बन्दी बनाएर लगिसकिएको थियो। ४ यो देखेर दाउद र उनका मानिसहरू डाँको छोडेर रुन थाले। उनीहरू यति धेरै रोए कि उनीहरूमा अझ रुने शक्‍ति नै रहेन। ५ दाउदका दुवै पत्नी यिज्रेलकी अहिनोम र कर्मेली नाबालकी विधवा अबिगेललाई पनि अमालेकीहरूले बन्दी बनाएर लगिसकेका थिए।+ ६ आफ्ना छोराछोरी गुमाउनुपरेकोले दाउदका मानिसहरू अत्यन्तै दुःखी भएका थिए। त्यसैले उनीहरू दाउदलाई ढुङ्‌गाले हानेर मार्ने कुरा गर्दै थिए। यो सुनेर दाउद असाध्यै निराश भए। तर उनले आफ्ना परमेश्‍वर यहोवाबाट बल पाए।+

७ त्यसपछि दाउदले अहिमेलेकका छोरा पुजारी अबियातारलाई+ भने: “एपोद यहाँ ल्याउनुहोस्‌।”+ तब अबियातारले दाउदकहाँ एपोद ल्याए। ८ अनि दाउदले यहोवा परमेश्‍वरलाई सोधे:+ “म ती आक्रमणकारीहरूलाई खेद्‌न जाऊँ कि नजाऊँ? के मैले तिनीहरूलाई भेट्टाउनेछु?” उहाँले जवाफ दिनुभयो: “जाऊ, तिनीहरूलाई खेद। तिमीले तिनीहरूलाई पक्कै भेट्टाउनेछौ र तिम्रा सबै कुरा छुटाएर ल्याउनेछौ।”+

९ त्यसैले दाउद आफ्ना ६०० मानिस+ लिएर तुरुन्तै निस्के। उनीहरू बेसोर वादीसम्म* पुगेपछि केही मानिस त्यहीँ बसे। १० त्यहाँ बसेका मानिसहरू २०० जना थिए। थाकेर चूर भएकोले उनीहरूसित बेसोर वादी पार गर्ने तागतै थिएन।+ त्यसैले दाउद बाँकी ४०० मानिसलाई लिएर ती आक्रमणकारीहरूलाई भेट्टाउन अघि बढे।

११ बाटोमा उनीहरूले मिश्रको एक जना मानिसलाई भेट्टाए र त्यसलाई दाउदकहाँ ल्याए। उनीहरूले त्यसलाई केही खानेकुरा र पानी दिए। १२ उनीहरूले त्यस मानिसलाई सुकाइएको अन्जिरको रोटीको* एक टुक्रा र किसमिसको दुई वटा रोटी पनि दिए। यी सबै खाइसकेपछि त्यसको शरीरमा तागत आयो किनभने त्यसले तीन दिन, तीन रात केही खाएको थिएन अनि पानी पनि पिएको थिएन। १३ दाउदले त्यस मानिसलाई सोधे: “तिमी कसका दास हौ? तिमी कहाँबाट आयौ?” तब त्यसले जवाफ दियो: “म एक मिश्री हुँ र एक जना अमालेकीको दास हुँ। तीन दिनअघि म बिरामी भएको थिएँ; त्यसैले मेरो मालिकले मलाई यहीँ छोडेर जानुभयो। १४ हामीले कराथीहरूको+ इलाकाको दक्षिणमा,* यहुदाको इलाकामा र कालेबको+ दक्षिणमा आक्रमण गऱ्‍यौँ अनि जिक्लगमा चाहिँ आगो लगाइदियौँ।” १५ तब दाउदले त्यसलाई भने: “तिमी मलाई ती आक्रमणकारीहरू भएको ठाउँसम्म पुऱ्‍याउन सक्छौ?” त्यसले जवाफ दियो: “तपाईँ मेरो ज्यान लिनुहुन्‍न र मलाई मेरो मालिकको हातमा पनि सुम्पनुहुन्‍न भनेर परमेश्‍वरको नाममा कसम खानुभयो भने मात्र म तपाईँलाई ती आक्रमणकारीहरू भएको ठाउँसम्म पुऱ्‍याउनेछु।”

१६ त्यस मानिसले दाउदलाई ती आक्रमणकारीहरू भएको ठाउँमा पुऱ्‍याइदियो। तिनीहरू यताउता छरिएर बसिरहेका थिए अनि खाँदैपिउँदै खुसीयाली मनाइरहेका थिए किनकि तिनीहरूले पलिस्तियालीहरूको र यहुदाको इलाकाबाट थुप्रै धनमाल लुटेर ल्याएका थिए। १७ दाउदले बिहान झिसमिसेदेखि साँझसम्मै तिनीहरूसित लडाइँ गरिरहे। तिनीहरूमध्ये ४०० जना उँटमा चढेर भागे; तीबाहेक दाउदले अरू कसैलाई पनि जिउँदै छोडेनन्‌।+ १८ अमालेकीहरूले लुटेका सबै धनमाल दाउदले फिर्ता लिए+ र उनले आफ्ना दुवै पत्नीलाई पनि छुटाए। १९ दाउद र उनका मानिसहरूले सानादेखि ठूलासम्म कसैलाई पनि गुमाएनन्‌। उनीहरूले आफ्ना छोराछोरी र धनमाल सबै फिर्ता लिए।+ यसरी दाउदले ती आक्रमणकारीहरूले लुटेका सबै कुरा छुटाए। २० उनले ती आक्रमणकारीहरूको गाईवस्तु र भेडाबाख्रा सबै लिए। उनका मानिसहरूले ती जनावरहरूको पछिपछि आफ्नो बगाल धपाउँदै लगे र उनीहरूले भने: “यी सबै दाउदले लुटेका धनमाल हुन्‌।”

२१ दाउद ती २०० जना मानिस भएको ठाउँसम्म आइपुगे, जो बेसोर वादीमै बसेका थिए। थाकेर चूर भएकोले तिनीहरू दाउदसित गएका थिएनन्‌।+ तिनीहरू दाउद र उनीसित गएका मानिसहरूलाई भेट्‌न गए। तब दाउदले तिनीहरूको नजिकै गएर तिनीहरूको हालखबर सोधे। २२ तर दाउदसित गएका केही खराब र निकम्मा मानिसहरूले भने: “यिनीहरू हामीसित आएनन्‌। त्यसैले हामीले ल्याएका धनमालबाट यिनीहरूलाई केही पनि दिनेछैनौँ। यिनीहरूले आफ्ना पत्नी र छोराछोरी मात्र लैजाऊन्‌।” २३ तर दाउदले भने: “यी सबै कुरा हामीलाई यहोवा परमेश्‍वरले दिनुभएको हो। त्यसैले हे मेरा भाइहरू हो, त्यसो नगर। परमेश्‍वरले हामीलाई जोगाउनुभयो र हामीविरुद्ध आएका ती आक्रमणकारीहरूलाई हाम्रो हातमा सुम्पिदिनुभयो।+ २४ तिमीहरूले भनेको यस कुरामा को सहमत हुन्छ र? लडाइँ गर्न युद्धभूमिमा गएकाहरूले जे-जति पाउँछन्‌, सामान कुर्न बसेकाहरूले पनि त्यति नै पाउनेछन्‌।+ सबैले बराबर भाग पाउनेछन्‌।”+ २५ दाउदले भनेको यो कुरा त्यस दिनदेखि इस्राएलमा नियमकै रूपमा लागू हुन थाल्यो र त्यो नियम अहिलेसम्म पनि कायमै छ।

२६ जिक्लगमा फर्केपछि दाउदले आफूले लुटेर ल्याएका धनमालबाट आफ्ना साथीहरू—यहुदाका नाइकेहरूलाई केही सौगात पठाए। उनले यस्तो सन्देश पनि पठाए: “यहोवा परमेश्‍वरका शत्रुहरूबाट लुटेको धनमालबाट तपाईँहरूलाई यो उपहार* पठाएको छु।” २७ उनले यी ठाउँका मानिसहरूलाई पनि उपहार पठाए: बेथेल,+ नेगेबको* रामोथ, यात्तिर,+ २८ अरोएर, सिफमोथ, एस्तेमोआ,+ २९ राकाल, यरहमेलीहरूका+ सहरहरू, केनीहरूका+ सहरहरू, ३० होर्माह,+ बोरासान, अथाक ३१ र हेब्रोन।+ साथै दाउदले ती सबै ठाउँका मानिसहरूलाई पनि उपहार पठाए, जहाँ उनी र उनका मानिसहरू जाने गर्थे।

३१ पलिस्तियालीहरू इस्राएलीहरूसित लडाइँ गरिरहेका थिए।+ इस्राएलीहरू पलिस्तियालीहरूसित हारेर भागे अनि धेरै जना गिल्बो+ डाँडामा मारिए। २ पलिस्तियालीहरू साउल र तिनका छोराहरूलाई खेद्‌दै तिनीहरूको नजिकै पुगे। अनि पलिस्तियालीहरूले साउलका छोराहरू+ जोनाथन,+ अबिनादाब र मल्कि-सुअलाई मारे। ३ पलिस्तियालीहरूले साउलसित घमासान लडाइँ गरे। धनुर्धारीहरूले साउललाई भेट्टाए र तिनलाई गम्भीर घाइते बनाइदिए।+ ४ तब साउलले आफ्नो हतियार बोक्ने सिपाहीलाई भने: “तिम्रो तरबार थुतेर मलाई घोप। नत्र त यी बेखतनेहरू+ आएर मलाई क्रूरतापूर्वक मार्नेछन्‌।” तर हतियार बोक्ने त्यो सिपाहीले त्यसो गर्ने आँटै गरेन। त्यसैले साउलले तरबार थुते र आफैलाई रोपे।+ ५ साउल मरेको+ देखेपछि तिनको हतियार बोक्ने त्यो सिपाहीले पनि आफ्नो तरबारले आफैलाई रोप्यो र मऱ्‍यो। ६ यसरी साउल, तिनका तीन जना छोरा, तिनको हतियार बोक्ने सिपाही र तिनका सबै मानिस त्यही दिन मरे।+ ७ बेँसीमा र यर्दनको इलाकामा भएका इस्राएलीहरूले सबै इस्राएली सिपाही भागेको अनि साउल र तिनका छोराहरू मरिसकेको देखे। यो देखेपछि तिनीहरू पनि सहरहरूबाट भाग्न थाले।+ त्यसपछि पलिस्तियालीहरू आएर ती सहरहरूमा बसोबास गरे।

८ भोलिपल्ट पलिस्तियालीहरू मारिएका सिपाहीहरूको पोसाक र हातहतियार लुट्‌न आउँदा तिनीहरूले गिल्बो डाँडामा साउल र तिनका छोराहरूको लास देखे।+ ९ तिनीहरूले साउलको शिर काटे अनि तिनका हातहतियार लगे। त्यसपछि तिनीहरूले आफ्नो देशभरि भएका देवताहरूको मन्दिरमा+ र सबै मानिसकहाँ यो खबर पठाए।+ १० तिनीहरूले साउलका हातहतियार अस्तारोथको मन्दिरमा राखे र तिनको लासलाई बेथ-सानको+ पर्खालमा किलाले ठोकिदिए। ११ पलिस्तियालीहरूले साउललाई जे-जे गरे, त्यसबारे याबेस-गिलादका बासिन्दाहरूले+ सुनेपछि १२ त्यहाँका सबै योद्धा निस्किए र तिनीहरू रातभरि यात्रा गरेर बेथ-सान गए। तिनीहरूले त्यहाँको पर्खालबाट साउल र तिनका छोराहरूको लास झिके। अनि तिनीहरू याबेस फर्के र ती लासहरू जलाए। १३ त्यसपछि तिनीहरूले हड्डीहरू+ लगेर याबेसमा+ एउटा रूखमुनि* गाडे। अनि तिनीहरू सात दिनसम्म उपवास बसे।

वा “रामा भन्‍ने सहरका, जुपका सन्तान।”

शा., “हन्‍नाको कोख बन्द गरिदिनुभएको थियो।”

अर्थात्‌, वासस्थानमा।

शा., “हन्‍नालाई सम्झनुभयो।”

वा सम्भवतः “समय भएपछि।”

यसको अर्थ हो, “परमेश्‍वरको नाम।”

शब्दावली हेर्नुहोस्‌।

एक एपा भनेको २२ लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

अङ्‌गुरबाट बनेको रक्सी।

शा., “सापटी दिँदै छु।”

यसले एल्कानालाई जनाएको हुनुपर्छ।

शा., “यहोवाले मेरो सिङ उच्च पार्नुभएको छ।” शब्दावलीमा “सिङ” हेर्नुहोस्‌।

शा., “उनी सुकेकी छिन्‌।”

वा “जीवित पार्न।”

हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

वा सम्भवतः “फोहोरको डङ्‌गुरबाट।”

वा सम्भवतः “यहोवाविरुद्ध लड्‌नेहरू थरथर काँप्नेछन्‌।”

शा., “आफ्नो अभिषिक्‍त जनको सिङ उच्च पार्नुहुनेछ।” शब्दावलीमा “सिङ” हेर्नुहोस्‌।

शा., “तीन वटा दाँती भएको काँटा।”

यसले आलसको डाँठबाट बनेको कपडालाई जनाउँछ।

शब्दावली हेर्नुहोस्‌।

वा “बाहुला नभएको अलखा।” गलादेखि गोडासम्म पुग्ने लामो पोसाक।

शा., “सापटी दिएको।”

शब्दावली हेर्नुहोस्‌।

वा सम्भवतः “परमेश्‍वर उसको मध्यस्थकर्ता भइदिनुहुनेछ।”

वा “इजिप्टमा।”

मिश्रका राजाहरूको एउटा उपाधि।

वा सम्भवतः “माथिसम्मै धुवाँ उठ्‌नेगरि बलि चढाउन।”

शा., “लात हान्छौ।”

शा., “तिम्रो र तिम्रो पुर्खाको घरानाको हात काटिदिनेछु।”

शब्दावली हेर्नुहोस्‌।

अर्थात्‌, वासस्थानमा।

वा “करारको सन्दुक।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।

वा “होस उड्‌नेछ।”

शा., “यहोवा परमेश्‍वरले हामीलाई किन हराउनुभयो?”

शब्दावली हेर्नुहोस्‌।

वा सम्भवतः “करूबहरूको बीचमा।”

यसको अर्थ हो, “महिमा कहाँ गयो?”

वा “करारको सन्दुक।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।

वा “माछाजस्तो देखिने भाग मात्र।”

वा “पाइल्स।”

वा “करारको सन्दुक।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “पाइल्स।”

शब्दावली हेर्नुहोस्‌।

वा “करारको सन्दुक।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।

शा., “पवित्र पारे।”

यो पश्‍चाताप गरेको देखाउने एउटा विधि हुनुपर्छ।

यसको अर्थ हो, “मदतको ढुङ्‌गो।”

शा., “भनेको कुरा समुएलको नजरमा खराब थियो।”

वा “अत्तर।”

शा., “एक शेकेल चाँदीको एक चौथाइ।” एक शेकेल भनेको ११.४ ग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

यसले साउल र तिनका सेवकलाई जनाएको हुनुपर्छ।

वा “आ-आफ्नो घरानाअनुसार।”

शा., “उनी गुँगो मानिसझैँ बसिरहे।”

वा “सम्झौता।”

शा., “साउलको गिबाहमा।”

शा., “एकै जना मानिसजस्तो।”

शा., “घाम चर्को हुँदा।”

बिहान २ बजेतिरदेखि बिहान ६ बजेसम्म।

वा सम्भवतः “तिनी।” यसले परमेश्‍वरको अभिषिक्‍त जनलाई जनाएको पनि हुन सक्छ।

शा., “बेचिदिनुभयो।”

हिब्रू लेखोटमा सङ्‌ख्या उल्लेख गरिएको छैन।

पुरातन समयको तौल। एक पिम एक शेकेलको झन्डै दुई-तिहाइ हुन्थ्यो। शब्दावलीमा “पिम” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

यसले एक हल गोरुले एक दिनमा जोत्न सक्नेजति जमिनलाई जनाउँछ।

वा “करारको सन्दुक।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।

शा., “त्यो दिन।”

शा., “आफ्नो हात झिकिहाल्नुहोस्‌।”

शा., “तिनको आँखामा चमक आयो।”

शब्दावली हेर्नुहोस्‌।

वा “कसैलाई पनि दया नदेखाउनू।”

वा “वादीमा।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

वा “अटल प्रेम।” शब्दावलीमा “अटल प्रेम” हेर्नुहोस्‌।

वा “दु:ख।”

शा., “टेराफिम मूर्तिहरू पुज्नुजत्तिकै।” अर्थात्‌, कुलदेवता; मूर्तिहरू।

गलादेखि गोडासम्म पुग्ने लामो पोसाक।

शा., “च्यात्नुहुनेछ।”

वा सम्भवतः “निर्धक्क भएर।”

साँढे नलगाइएको गाई।

जनावरको छालाबाट बनेको थैलो।

उसको कद लगभग २.९ मिटर (९ फिट ५.७५ इन्च) थियो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

यो कवच कपडा वा छालाबाट बनाइन्थ्यो र यसको बाहिरपट्टि धातुका टुक्राहरू जोडिएको हुन्थ्यो, जुन माछाको कत्लाजस्तो देखिन्थ्यो।

लगभग ५७ किलो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

घुँडादेखि गोलीगाँठासम्मको भाग।

वा “सानो भाला।”

लगभग ६.८४ किलो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

एक एपा भनेको २२ लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

शा., “दूध।”

शा., “हजारको नाइके।”

वा “वादीबाट।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

गलादेखि गोडासम्म पुग्ने लामो पोसाक।

वा “बुद्धिमानी कदम चाल्थे।”

वा “तीन तारे बाजा।”

वा “भविष्यवक्‍ताजस्तो व्यवहार।”

लिङ्‌गको अघिल्लो भाग छोप्ने छाला।

शा., “त्यस पलिस्तीलाई।”

वा “उद्धार।”

हिब्रू भाषामा टेराफिम। शब्दावलीमा “टेराफिम” हेर्नुहोस्‌।

वा “भित्री लुगा मात्र लगाएर बसे।”

वा “अटल प्रेम।”

शा., “काम गर्ने दिन।”

वा “विद्रोही आइमाईको छोरा।” यी शब्दहरू जोनाथनको अपमान गर्न प्रयोग गरिएका थिए।

वा “तपाईँका मानिसहरूले यौनसम्बन्ध राखेका छैनन्‌।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

टामरिस्क रूख। मसिना पात हुने, गुलाबी वा सेता फूल फुल्ने अनि सधैँ हराभरा हुने एक किसिमको रूख।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शा., “बेचिदिनुभएको छ।”

वा सम्भवतः “जग्गाधनीहरूले।”

वा सम्भवतः “भन्‍ने थाह पाएर उनी डराए।”

वा सम्भवतः “मरुभूमिको; निर्जनभूमिको।”

शा., “दायाँतिर।”

शा., “हजारौँको।” यसले हजार-हजारका समूहहरूलाई जनाउँछ।

ठूलो खालको बाख्रोजस्तो एक जातको मृग।

वा “बाहुला नभएको अलखाको।” गलादेखि गोडासम्म पुग्ने लामो पोसाक।

वा “विवेकले।” शा., “हृदयले।”

वा सम्भवतः “तितरबितर पारिदिए।”

यहुदाको एउटा सहर; तर कर्मेल डाँडा होइन।

वा “तपाईँलाई शान्ति होस्‌।”

शा., “राम्रो दिनमा।”

वा “नालायक।”

एक सेआ भनेको ७.३३ लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

यसले सुकाएको अन्जिरलाई थिचेर बनाइएको रोटीलाई जनाउँछ।

वा सम्भवतः “मलाई।”

यसको अर्थ हो, “मूर्ख; बेसमझ।”

शा., “आशिष्‌।”

वा सम्भवतः “मरुभूमिको; निर्जनभूमिको।”

शा., “अन्‍नभेटीको बास्ना लेऊन्‌।”

शा., “यहोवा परमेश्‍वरको उपस्थितिदेखि टाढाको धर्तीमा मेरो रगत नबगोस्‌।”

शब्दावली हेर्नुहोस्‌।

वा “नेगेबमा।”

शब्दावली हेर्नुहोस्‌।

वा “समुएलजस्तो देखिने मानिसलाई।”

गलादेखि गोडासम्म पुग्ने लामो पोसाक।

वा “बलि चढाई।”

शब्दावली हेर्नुहोस्‌।

वा “नेगेबमा।”

वा “बेँसीसम्म।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

यसले सुकाएको अन्जिरलाई थिचेर बनाइएको रोटीलाई जनाउँछ।

वा “नेगेबमा।”

शा., “आशिष्‌।”

वा “दक्षिणको।”

टामरिस्क रूख। मसिना पात हुने, गुलाबी वा सेता फूल फुल्ने अनि सधैँ हराभरा हुने एक किसिमको रूख।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने