एज्रा
१ यहोवा परमेश्वरले यर्मियामार्फत भन्नुभएको कुरा पूरा होस् भनेर+ फारसका राजा कोरेसको शासनकालको पहिलो वर्षमा+ यहोवाले तिनको मनलाई उत्प्रेरित गर्नुभयो र तिनले आफ्नो राज्यभरि एउटा घोषणा गरे अनि त्यसलाई लेख्न पनि लगाए।+ त्यो घोषणा यस्तो थियो:
२ “फारसका राजा कोरेस यसो भन्नुहुन्छ, ‘स्वर्गका परमेश्वर यहोवाले मलाई पृथ्वीका सबै राज्य दिनुभएको छ+ अनि उहाँको निम्ति यहुदाको यरुसलेममा एउटा भवन बनाउने आदेश पनि दिनुभएको छ।+ ३ तिमीहरूमध्ये जो-जो उहाँका सेवकहरू हौ, तिमीहरू यहुदाको यरुसलेम जाओ; तिमीहरूका परमेश्वर तिमीहरूसँग रहून्। उहाँ नै साँचो परमेश्वर हुनुहुन्छ, जसको भवन यरुसलेममा थियो।* यरुसलेम गएर इस्राएलका परमेश्वर यहोवाको भवन पुनर्निर्माण गर। ४ यो पूरै राज्यमा जहाँ-जहाँ यी मानिसहरू विदेशीको रूपमा बसोबास गरिरहेका छन्,+ त्यहाँ-त्यहाँ तिनीहरूका छिमेकीहरूले तिनीहरूलाई मदत गरून्। तिनीहरूलाई सुन, चाँदी, विभिन्न सरसामान र वस्तुभाउ देऊन्। साथै साँचो परमेश्वरको भवन, जुन यरुसलेममा थियो, त्यहाँ चढाउनको लागि स्वैच्छिकभेटी पनि देऊन्।’”+
५ यहुदा र बिन्यामिन कुलका बुबापट्टिको घरानाका नाइकेहरू, पुजारीहरू र लेवीहरू, ज-जसको मनलाई साँचो परमेश्वरले उत्प्रेरित गर्नुभएको थियो, तिनीहरू सबैले यरुसलेम जाने र यहोवा परमेश्वरको भवन, जुन यरुसलेममा थियो, त्यो पुनर्निर्माण गर्ने कामको तयारी गरे। ६ तिनीहरूको वरपर बसोबास गर्ने सबैले स्वैच्छिकभेटीका साथै सुन र चाँदीका भाँडाकुँडा, विभिन्न सरसामान, वस्तुभाउ र बहुमूल्य चिजबिज दिएर तिनीहरूलाई मदत गरे।
७ राजा कोरेसले यहोवा परमेश्वरको भवनका भाँडाकुँडाहरू पनि निकाले। ती भाँडाकुँडाहरू नबुकद्नेजरले यरुसलेमबाट ल्याएर आफ्नो देवताको मन्दिरमा राखेका थिए।+ ८ फारसका राजा कोरेसले खजान्ची मित्रदाथको निगरानीमा ती भाँडाकुँडाहरू निकाल्न लगाए र मित्रदाथले ती भाँडाकुँडाहरूको सूची बनाएर यहुदाका नाइके सेस्बजरलाई* दिए।+
९ ती भाँडाकुँडाहरूको सूची यसप्रकार थियो: सुनका ३० वटा टोकरी, चाँदीका १ हजार वटा टोकरी, २९ वटा अन्य भाँडा, १० सुनका ३० वटा कचौरा, चाँदीका ४१० वटा कचौरा अनि १ हजार वटा अरू भाँडाकुँडा। ११ सुन र चाँदीका भाँडाकुँडा जम्मा ५ हजार ४ सय वटा थियो। बेबिलोनमा बन्दी बनाएर लगिएकाहरू+ यरुसलेम फर्कँदा सेस्बजरले ती सबै भाँडाकुँडा यरुसलेममा ल्याए।
२ बेबिलोनका राजा नबुकद्नेजरले बेबिलोनमा बन्दी बनाएर लगेका+ अनि पछि यरुसलेम र यहुदामा आ-आफ्नो सहरमा फर्केर आएका मानिसहरू यी नै हुन्।+ पूरै प्रान्तबाट यी मानिसहरू+ २ यरुबाबेल,+ यसुआ,+ नहेम्याह, सिरायाह, रेलायाह, मोर्दकै, बिल्सान, मिस्पार, बिग्वै, रहुम र बानाहसँग आएका थिए।
फर्केर आएका इस्राएली पुरुषहरूको सङ्ख्या यसप्रकार थियो:+ ३ परोसका सन्तान* २ हजार १ सय ७२ जना; ४ सेपत्याहका सन्तान ३७२ जना; ५ अराहका सन्तान+ ७७५ जना; ६ पाहथ-मोआबको घरानाबाट+ यसुआ र योआबका सन्तान २ हजार ८ सय १२ जना; ७ एलामका सन्तान+ १ हजार २ सय ५४ जना; ८ जत्तुका सन्तान+ ९४५ जना; ९ जकैका सन्तान ७६० जना; १० बानिका सन्तान ६४२ जना; ११ बेबैका सन्तान ६२३ जना; १२ अज्गादका सन्तान १ हजार २ सय २२ जना; १३ अदोनिकामका सन्तान ६६६ जना; १४ बिग्वैका सन्तान २ हजार ५६ जना; १५ अदिनका सन्तान ४५४ जना; १६ हिजकियाहको घरानाबाट अतेरका सन्तान ९८ जना; १७ बेजैका सन्तान ३२३ जना; १८ योराहका सन्तान ११२ जना; १९ हासुमका सन्तान+ २२३ जना; २० गिब्बारका सन्तान ९५ जना; २१ बेतलेहेमका सन्तान १२३ जना; २२ नेतोफाहका मानिसहरू ५६ जना; २३ अनातोतका+ मानिसहरू १२८ जना; २४ अज्मावेथका सन्तान ४२ जना; २५ किर्यथ-येरिम, कफिराह र बेरोथका सन्तान ७४३ जना; २६ रामा+ र गेबाका+ सन्तान ६२१ जना; २७ मिक्मासका मानिसहरू १२२ जना; २८ बेथेल र ऐका+ मानिसहरू २२३ जना; २९ नेबोका सन्तान+ ५२ जना; ३० मग्बिसका सन्तान १५६ जना; ३१ एलाम नामका अर्का एक जना मानिसका सन्तान १ हजार २ सय ५४ जना; ३२ हारिमका सन्तान ३२० जना; ३३ लोद, हदिद र ओनोका सन्तान ७२५ जना; ३४ यरिहोका सन्तान ३४५ जना; ३५ सिनाहका सन्तान ३ हजार ६ सय ३० जना।
३६ पुजारीहरूको सङ्ख्या यसप्रकार थियो:+ यसुआको घरानाका+ यदायाहका+ सन्तान ९७३ जना; ३७ इम्मेरका सन्तान+ १ हजार ५२ जना; ३८ पासुहरका सन्तान+ १ हजार २ सय ४७ जना; ३९ हारिमका सन्तान+ १ हजार १७ जना।
४० लेवीहरूको सङ्ख्या यसप्रकार थियो:+ होदबियाहको घरानाबाट यसुआ र कादमिएलका सन्तान+ ७४ जना। ४१ गायकहरू:+ आसापका सन्तान+ १२८ जना। ४२ ढोकेहरूका सन्तान:+ साल्लुमका सन्तान, अतेरका सन्तान, तल्मोनका+ सन्तान, अक्कुबका+ सन्तान, हातिताका सन्तान, सोबैका सन्तान, जम्मा १३९ जना।
४३ मन्दिरका सेवकहरू:*+ जिहाका सन्तान, हासुपाका सन्तान, तब्बाओथका सन्तान, ४४ केरोसका सन्तान, सिआहाका सन्तान, पादोनका सन्तान, ४५ लेबनाहका सन्तान, हागाबाहका सन्तान, अक्कुबका सन्तान, ४६ हागाबका सन्तान, साल्मैका सन्तान, हानानका सन्तान, ४७ गिद्देलका सन्तान, गाहरका सन्तान, रायाहका सन्तान, ४८ रजिनका सन्तान, नकोदाका सन्तान, गाज्जामका सन्तान, ४९ उज्जाका सन्तान, पासेहका सन्तान, बसैका सन्तान, ५० अस्नाहका सन्तान, म्युनीहरूका सन्तान, नेपुसिमका सन्तान, ५१ बकबुकका सन्तान, हाकुफाका सन्तान, हार्हुरका सन्तान, ५२ बस्लुथका सन्तान, महिदाका सन्तान, हार्साका सन्तान, ५३ बार्कोसका सन्तान, सिसराका सन्तान, तेमहका सन्तान, ५४ नेजिहका सन्तान र हातिपाका सन्तान।
५५ सुलेमानका सेवकहरूका सन्तान: सोतैका सन्तान, सोपेरेथका सन्तान, पेरुदाका सन्तान,+ ५६ यालाहका सन्तान, दार्कोनका सन्तान, गिद्देलका सन्तान, ५७ सेपत्याहका सन्तान, हात्तिलका सन्तान, पोकेरेथ-हजेबायिमका सन्तान र अमिका सन्तान।
५८ मन्दिरका सेवकहरूको सङ्ख्या र सुलेमानका सेवकहरूका सन्तानको सङ्ख्या जम्मा ३९२ थियो।
५९ तेल-मेलह, तेल-हर्सा, करूब, अद्दोन र इम्मेरबाट फर्केका केही मानिसले आफू इस्राएली हौँ र आफ्नो बुबाको कुल इस्राएलको हो भनेर साबित गर्न सकेनन्। ती मानिसहरू यी थिए:+ ६० दलायाहका सन्तान, तोबियाका सन्तान र नकोदाका सन्तान, जम्मा ६५२ जना। ६१ पुजारीहरूका सन्तानबाट: हाबायाहका सन्तान, हाक्कोसका सन्तान+ र बार्जिलैका सन्तान। यी तिनै बार्जिलै हुन्, जसले गिलादी बार्जिलैकी+ एउटी छोरीसित विवाह गरेका थिए र आफ्नो ससुराको नाम अपनाएका थिए। ६२ तिनीहरूले वंशावलीमा आफ्नो घरानाको नाम खोजे तर भेट्टाएनन्। त्यसैले तिनीहरू पुजारीको रूपमा सेवा गर्न अयोग्य ठहरिए।*+ ६३ तब राज्यपालले* ऊरीम र तुम्मीममार्फत* परमेश्वरसँग यस विषयमा सल्लाह लिन सक्ने कुनै पुजारी नियुक्त नभएसम्म+ महापवित्र खानेकुरा नखानू भनी तिनीहरूलाई हुकुम गरे।+
६४ पूरै समुदायको कुल सङ्ख्या ४२ हजार ३ सय ६० थियो।+ ६५ यसबाहेक तिनीहरूका ७ हजार ३ सय ३७ जना दासदासी थिए। तिनीहरूको साथमा २०० जना गायक-गायिका पनि थिए। ६६ तिनीहरूसित ७३६ वटा घोडा, २४५ वटा खच्चर, ६७ ४ सय ३५ वटा उँट र ६ हजार ७ सय २० वटा गधा पनि थिए।
६८ जब तिनीहरू यरुसलेममा यहोवा परमेश्वरको भवनमा आइपुगे, तब बुबापट्टिको घरानाका केही नाइकेले साँचो परमेश्वरको भवनको निम्ति स्वैच्छिकभेटी चढाए।+ त्यो भवन पहिलाकै ठाउँमा फेरि बनाउन सकियोस् भनेर उनीहरूले भेटी चढाएका थिए।+ ६९ उनीहरूले आफ्नो औकातअनुसार निर्माण परियोजनाको लागि ६१ हजार सुनको ड्राक्मा,* ५ हजार मीना* चाँदी+ र पुजारीहरूका लागि १०० थान पोसाक दिए। ७० पुजारीहरू, लेवीहरू, गायकहरू, ढोकेहरू, मन्दिरका सेवकहरू र इस्राएलका बाँकी मानिसहरू आ-आफ्नो सहरमा बसोबास गर्न थाले। यसरी सबै इस्राएली आ-आफ्नो सहरमा बसोबास गरे।+
३ सातौँ महिनामा+ सबै इस्राएली, जो आ-आफ्नो सहरमा बसोबास गरिरहेका थिए, तिनीहरू एकै मनका भएर यरुसलेममा भेला भए। २ साँचो परमेश्वरका सेवक मोसाको व्यवस्थामा लेखिएअनुसारै+ अग्निभेटी* चढाउन सकियोस् भनेर यहोजादाकका छोरा यसुआ+ र तिनका सङ्गी पुजारीहरू अनि सालतिएलका छोरा+ यरुबाबेल+ र तिनका दाजुभाइले इस्राएलका परमेश्वरको निम्ति वेदी बनाए।
३ हुनत तिनीहरूलाई वरपरका जातिहरूको डर थियो+ तैपनि तिनीहरूले पहिलेकै ठाउँमा वेदी बनाए अनि त्यस वेदीमा बिहान र बेलुकी यहोवा परमेश्वरको निम्ति अग्निभेटी चढाउन थाले।+ ४ त्यसपछि तिनीहरूले व्यवस्थामा लेखिएबमोजिमै झुप्रोबासको चाड* मनाए।+ चाडको दौडान तिनीहरूले हरेक दिनको लागि जति सङ्ख्या तोकिएको थियो, त्यति नै अग्निभेटी चढाए।+ ५ त्यसपछि तिनीहरूले नियमित रूपमा अग्निभेटी चढाउन थाले।+ साथै तिनीहरूले औँसीमा+ र यहोवा परमेश्वरको निम्ति पवित्र पारिएका सबै चाडमा+ भेटी चढाउन थाले। यसबाहेक मानिसहरूले राजीखुसीले यहोवा परमेश्वरको निम्ति स्वैच्छिकभेटी पनि चढाउन थाले।+ ६ सातौँ महिनाको पहिलो दिनदेखि+ तिनीहरूले यहोवा परमेश्वरको निम्ति अग्निभेटी चढाउन थाले। तर त्यसबेलासम्म यहोवा परमेश्वरको मन्दिरको जग हालिएको थिएन।
७ तिनीहरूले ढुङ्गा काट्नेहरू+ र शिल्पकारहरूलाई ज्याला दिएर काममा लगाए।+ साथै तिनीहरूले सिदोन र टायरका बासिन्दाहरूलाई लेबनानदेखि जोप्पासम्म समुद्री मार्गबाट देवदारका काठहरू ल्याउन लगाए। त्यसको बदलामा तिनीहरूले उनीहरूलाई खाने र पिउने कुरा अनि तेल दिए।+ तिनीहरूले फारसका राजा कोरेसबाट यो सब गर्ने अनुमति पाएका थिए।+
८ यरुसलेममा फर्केर आएको दोस्रो वर्षको दोस्रो महिनामा सालतिएलका छोरा यरुबाबेल, यहोजादाकका छोरा यसुआ र तिनीहरूका बाँकी दाजुभाइ अर्थात् पुजारीहरू र लेवीहरू अनि निर्वासनबाट फर्केर आएका सबै जनाले साँचो परमेश्वरको भवन पुनर्निर्माण गर्न सुरु गरे।+ तिनीहरूले यहोवा परमेश्वरको भवनको कामको निरीक्षण गर्न २० वर्ष र सोभन्दा माथिको उमेरका लेवीहरूलाई नियुक्त गरे। ९ त्यसैले यसुआ, तिनका छोराहरू र दाजुभाइ अनि कादमिएल र तिनका छोराहरू, जो यहुदाका* सन्तान थिए, तिनीहरूले सँगै मिलेर साँचो परमेश्वरको भवनमा काम गर्नेहरूको निरीक्षण गर्न थाले। तिनीहरूसँगै हेनादादका सन्तान,+ उनीहरूका छोराहरू र दाजुभाइ, जो लेवी थिए, उनीहरूले पनि भवनमा काम गर्नेहरूको निरीक्षण गर्न थाले।
१० जब डकर्मीहरूले यहोवा परमेश्वरको मन्दिरको जग हाले,+ तब पुजारीहरू मन्दिरमा सेवा गर्दा लगाइने पोसाक लगाएर र हातमा बिगुल लिएर+ अनि लेवीहरू—आसापका सन्तानचाहिँ हातमा झ्याली लिएर यहोवा परमेश्वरको प्रशंसा गर्न खडा भए। तिनीहरूले यो इस्राएलका राजा दाउदले दिएको निर्देशनअनुसारै गरेका थिए।+ ११ तिनीहरूले पालैपालो स्तुतिगान गाए।+ तिनीहरूले यसो भन्दै यहोवा परमेश्वरको प्रशंसा गर्न र उहाँलाई धन्यवाद चढाउन थाले, “किनकि उहाँ भला हुनुहुन्छ; इस्राएलप्रति उहाँको अटल प्रेम* कहिल्यै टल्दैन।”+ यहोवा परमेश्वरको भवनको जग हालिएको खुसीमा सबै मानिसले ठूलो स्वरमा यहोवाको प्रशंसा गरे। १२ भवनको जग हालिएको देख्दा पुजारीहरू, लेवीहरू र बुबापट्टिको घरानाका नाइकेहरूमध्ये थुप्रै वृद्ध, जसले पहिलेको भवन देखेका थिए,+ तिनीहरू ठूलो स्वरमा रोए। बाँकी मानिसहरू भने खुसीले चर्को स्वरमा कराइरहेका थिए।+ १३ तिनीहरू रोइरहेका हुन् कि खुसीले कराइरहेका हुन् भनेर मानिसहरूले ठम्याउनै सकेनन्। तिनीहरू यत्ति ठूलो स्वरमा कराइरहेका थिए कि तिनीहरूको स्वर निकै टाढासम्म सुनिन्थ्यो।
४ जब यहुदा र बिन्यामिनका शत्रुहरूले+ निर्वासनबाट फर्केर आएकाहरू+ इस्राएलका परमेश्वर यहोवाको मन्दिर बनाउँदै छन् भनेर सुने, २ तब तिनीहरू तुरुन्तै यरुबाबेलकहाँ र बुबापट्टिको घरानाका नाइकेहरूकहाँ गए अनि उनीहरूलाई यसो भने: “हामीलाई पनि तपाईँहरूसँगै मिलेर मन्दिर बनाउन दिनुहोस्। किनकि तपाईँहरूजस्तै हामी पनि तपाईँहरूका परमेश्वरको उपासना गर्छौँ।*+ अनि हामीलाई यहाँ ल्याउनुहुने अस्सेरियाका राजा एसर-हद्दोनको+ दिनदेखि हामीले तपाईँहरूका परमेश्वरको निम्ति बलि चढाउँदै आएका छौँ।”+ ३ तर यरुबाबेल, यसुआ र इस्राएलको बुबापट्टिको घरानाका बाँकी नाइकेहरूले तिनीहरूलाई यसो भने: “हामीसित मिलेर हाम्रा परमेश्वरको निम्ति मन्दिर बनाउने अधिकार तपाईँहरूसित छैन।+ फारसका राजा कोरेसले इस्राएलका परमेश्वर यहोवाको निम्ति मन्दिर बनाउने जुन आदेश हामीलाई दिनुभएको थियो, त्यो हामी नै पूरा गर्नेछौँ।”+
४ अनि वरपरको देशका मानिसहरूले यहुदाका मानिसहरूलाई निरुत्साहित बनाइरहे किनकि तिनीहरू उनीहरूले हताश भएर मन्दिर बनाउन छोडून् भन्ने चाहन्थे।+ ५ तिनीहरूले राज्यका सल्लाहकारहरूलाई यहुदाका मानिसहरूको विरुद्धमा उठ्न घुस दिए। अनि तिनीहरूले फारसका राजा कोरेसको शासनकालदेखि फारसका राजा दाराको शासनकालसम्मै+ उनीहरूको योजना विफल तुल्याउने प्रयास गरिरहे।+ ६ राजा आहासुरसको शासनको सुरुतिर तिनीहरूले यहुदा र यरुसलेमका बासिन्दाहरूविरुद्ध एउटा अभियोग-पत्र लेखे। ७ फारसका राजा आर्टजारसेजको शासनकालमा बिस्लाम, मित्रदाथ, तबेल र उनका बाँकी सहकर्मीहरूले राजा आर्टजारसेजलाई पत्र लेखे। तिनीहरूले त्यो पत्र अरामी भाषामा अनुवाद गरे+ र त्यसलाई अरामी लिपिमा लेखे।*
८ * राज्यका मुख्य अधिकृत रहुम र शास्त्री सिम्सैले यरुसलेमको विरुद्धमा राजा आर्टजारसेजलाई यस्तो पत्र लेखे: ९ (त्यो पत्र यी मानिसहरूको तर्फबाट थियो: राज्यका मुख्य अधिकृत रहुम, शास्त्री सिम्सै र तिनीहरूका बाँकी सहकर्मीहरू, न्यायकर्ताहरू र उप-राज्यपालहरू, सचिवहरू, एरेकका+ मानिसहरू, बेबिलोनीहरू, सुसामा+ बस्ने एलामीहरू+ १० र बाँकी राष्ट्रका मानिसहरू—जसलाई महान् र गौरवशाली राजा आसेनप्परले बन्दी बनाएर लगेका थिए र सामरियाका सहरहरूमा राखेका थिए+ अनि महानदीपारिको इलाकामा* बसोबास गर्ने बाँकी मानिसहरू। ११ तिनीहरूले राजालाई पठाएको पत्रको नक्कल यही हो।)
“महानदीपारिको इलाकामा बसोबास गर्ने सेवकहरूले राजा आर्टजारसेजको नाममा पठाएको पत्र: १२ महाराजलाई यो जानकारी होस् कि हजुरकहाँबाट यरुसलेम आएका यहुदीहरूले त्यो बागी र दुष्ट सहर पुनर्निर्माण गर्दै छन्, त्यसका पर्खालहरू बनाउँदै छन्+ अनि जगहरू पनि मर्मत गर्दै छन्। १३ हजुरलाई यो पनि थाह होस् कि यदि उनीहरूले सहर पुनर्निर्माण गरे र त्यसका पर्खालहरू खडा गरे भने उनीहरूले कर, तिरो+ वा महसुल केही तिर्नेछैनन्। अनि यसले गर्दा राजकोषमा ठूलो नोक्सानी पुग्नेछ। १४ राजमहलले हामीलाई तलब दिन्छ;* हामी राजाको नोक्सानी भएको हेर्न सक्दैनौँ। त्यसैले हामीले यो पत्र लेखेका हौँ। १५ अब हजुरले आफ्ना पुर्खाहरूका अभिलेखहरूमा खोज-अनुसन्धान गर्न लगाउनुहोस्।+ तब हजुरले त्यो सहर बागी सहर हो अनि त्यसबाट राजाहरू र प्रान्तहरूलाई खतरा छ अनि प्राचीन समयदेखि नै त्यहाँका मानिसहरूले राजद्रोह गर्न उक्साउँदै आएका छन् भनेर थाह पाउनुहुनेछ। त्यसैले त्यस सहरको विनाश भएको थियो।+ १६ हामी हजुरलाई यो जानकारी दिन चाहन्छौँ, यदि त्यो सहर पुनर्निर्माण भयो र त्यसका पर्खालहरू ठड्याइए भने हजुरको हातबाट महानदीपारिको इलाका गुम्नेछ।”+
१७ त्यसपछि राजाले राज्यका मुख्य अधिकृत रहुम, शास्त्री सिम्सै र सामरियामा बस्ने तिनीहरूका बाँकी सहकर्मीहरू अनि महानदीपारिको इलाकाका बाँकी मानिसहरूलाई यस्तो सन्देश पठाए:
“तपाईँहरूलाई मेरो अभिवादन! १८ तपाईँहरूले पठाउनुभएको पत्रमा लेखिएको एक-एक कुरा मलाई पढेर सुनाइयो।* १९ मेरो आदेशमा अभिलेखहरूमा खोज-अनुसन्धान पनि गरियो। अनि के पत्ता लाग्यो भने, धेरै अघिदेखि नै त्यो सहर राजाहरूको विरुद्धमा उठ्दै आएको रहेछ अनि त्यहाँ थुप्रै पटक विद्रोह भएको रहेछ।+ २० यरुसलेममा शक्तिशाली राजाहरूले शासन गरेका रहेछन्, जसले महानदीपारिको पूरै इलाकामा अधिकार जमाउँथे अनि मानिसहरूबाट कर, तिरो र महसुल पनि उठाउँथे। २१ अब ती मानिसहरूलाई आफ्नो काम रोक्न आदेश दिनुहोस् अनि मैले अर्को उर्दी जारी नगरेसम्म उनीहरूले सहर पुनर्निर्माण नगरून्। २२ कुनै ढिलासुस्ती नगरी यो काम गरिहाल्नुहोस् ताकि राजाको अरू नोक्सानी हुन नपाओस्।”+
२३ जब राजा आर्टजारसेजले पठाएको पत्रको नक्कल रहुम, शास्त्री सिम्सै र तिनीहरूका सहकर्मीहरूसामु पढियो, तब तिनीहरू तुरुन्तै यरुसलेममा यहुदीहरूकहाँ गए र जबरजस्ती उनीहरूको काम रोक्न लगाए। २४ त्यसबेलादेखि यरुसलेममा परमेश्वरको भवन पुनर्निर्माण गर्ने काम रोकियो अनि फारसका राजा दाराको शासनकालको दोस्रो वर्षसम्म त्यो काम ठप्पै रह्यो।+
५ त्यसपछि भविष्यवक्ता हाग्गै+ र इद्दोका+ नाति भविष्यवक्ता जकरियाले+ यहुदा र यरुसलेमका यहुदीहरूलाई परमेश्वरको सन्देश सुनाउन लागे। तिनीहरूले इस्राएलका परमेश्वरको नाममा सन्देश सुनाए, जो आफ्ना मानिसहरूको साथमा हुनुहुन्थ्यो। २ त्यसबेलादेखि सालतिएलका छोरा यरुबाबेल+ र यहोजादाकका छोरा यसुआले+ यरुसलेममा परमेश्वरको भवन पुनर्निर्माण गर्न सुरु गरे।+ परमेश्वरका भविष्यवक्ताहरू उनीहरूसँगै थिए र तिनीहरूले उनीहरूलाई यस काममा साथ दिए।+ ३ त्यसबेला महानदीपारिको इलाकाका* राज्यपाल तत्तनै, सेथार-बोज्नै र तिनीहरूका सहकर्मीहरू उनीहरूकहाँ आए र यसरी सोधे: “यो काम सुरु गर्ने र यो भवन बनाउने अधिकार तिमीहरूलाई कसले दियो?” ४ तिनीहरूले उनीहरूलाई यसो पनि भने: “यो भवन बनाउने काममा लागिरहेका मानिसहरूको नाम हामीलाई भन!” ५ तर परमेश्वरको नजर यहुदीहरूका नाइकेहरूमाथि थियो।+ त्यसैले तिनीहरूले यहुदीहरूलाई रोकेनन्। बरु तिनीहरूले राजा दारालाई यसबारे खबर गरे अनि राजाबाट केही जानकारी नआएसम्म पर्खिरहे।
६ महानदीपारिको इलाकाका राज्यपाल तत्तनै, सेथार-बोज्नै र तिनीहरूका सहकर्मीहरू अर्थात् महानदीपारिको इलाकाका उप-राज्यपालहरूले राजा दारालाई पठाएको पत्रको नक्कल यस्तो थियो। ७ तिनीहरूले पत्रमा यस्तो लेखेका थिए:
“राजा दाराको नाममा:
“हजुरलाई शान्ति होस्! ८ हामी महाराजलाई यो जानकारी गराउन चाहन्छौँ कि हामी यहुदा प्रान्तमा गएका थियौँ। त्यहाँ महान् परमेश्वरको भवन बनाइँदै रहेछ। त्यो भवन ठूलठूला ढुङ्गाहरूले बनाइँदै छ र काठहरू हालेर पर्खालहरू पनि ठड्याइँदै छ। ती मानिसहरूले जोडतोडले भवन निर्माण गरिरहेका छन् र त्यो काम द्रुत गतिमा अघि बढिरहेको छ। ९ हामीले तिनीहरूका नाइकेहरूलाई यो प्रश्न गऱ्यौँ: ‘यो काम सुरु गर्ने र यो भवन बनाउने अधिकार तिमीहरूलाई कसले दियो?’+ १० अनि यस काममा नेतृत्व लिइरहेकाहरूको नाम तपाईँलाई बताउन सकौँ भनेर हामीले तिनीहरूको नाम पनि सोध्यौँ।
११ “तिनीहरूले हामीलाई यस्तो जवाफ दिए: ‘हामी स्वर्ग र पृथ्वीका परमेश्वरका सेवकहरू हौँ अनि हामी वर्षौँ पहिले बनाइएको यो भवन पुनर्निर्माण गर्दै छौँ। यो भवन इस्राएलका एक महान् राजाले बनाउनुभएको थियो।+ १२ तर हाम्रा पितापुर्खाले स्वर्गका परमेश्वरलाई रिस उठाए।+ त्यसैले उहाँले उनीहरूलाई बेबिलोनका राजा नबुकद्नेजरको हातमा सुम्पिदिनुभयो।+ ती कल्दियाली राजाले यस भवनलाई+ ध्वस्त पारिदिए र यहाँका मानिसहरूलाई बन्दी बनाएर बेबिलोन लगे।+ १३ तर बेबिलोनका राजा कोरेसले आफ्नो शासनकालको पहिलो वर्षमा परमेश्वरको भवन पुनर्निर्माण गर्ने उर्दी निकाल्नुभयो।+ १४ साथै राजा कोरेसले बेबिलोनको मन्दिरबाट सुन र चाँदीका ती भाँडाकुँडाहरू पनि निकाल्नुभयो, जुन भाँडाकुँडाहरू नबुकद्नेजरले यरुसलेममा भएको परमेश्वरको भवनबाट लगेर बेबिलोनको मन्दिरमा राखेका थिए।+ राजा कोरेसले ती भाँडाकुँडाहरू सेस्बजर*+ नामको मानिसको जिम्मामा दिनुभयो, जसलाई उहाँले राज्यपाल नियुक्त गर्नुभएको थियो।+ १५ उहाँले सेस्बजरलाई भन्नुभयो: “जाऊ, यी भाँडाकुँडाहरू लगेर यरुसलेमको मन्दिरमा राख। अनि परमेश्वरको भवन पहिलेकै ठाउँमा पुनर्निर्माण गरियोस्।”+ १६ त्यसपछि सेस्बजर यरुसलेम आए र परमेश्वरको भवनको जग हाले।+ त्यस समयदेखि यो भवन बनाउने काम चलिरहेको छ तर अहिलेसम्म सिद्धिएको छैन।’+
१७ “अब हे महाराज! हजुरको इच्छा भए राजा कोरेसले यरुसलेममा परमेश्वरको भवन बनाउने उर्दी निकालेका थिए कि थिएनन् भनेर पत्ता लगाउन बेबिलोनको शाही भण्डारमा* खोज-अनुसन्धान गर्न लगाउनुहोस्।+ त्यसपछि महाराजको निर्णयबारे हामीलाई जानकारी गराउनुहोस्।”
६ त्यसपछि राजा दाराले बेबिलोनमा अभिलेखहरू भएको भवन—जहाँ बहुमूल्य चिजबिज राखिन्थ्यो—त्यहाँ खोज-अनुसन्धान गर्ने आदेश दिए। २ मादी प्रान्तको एक्बातानामा भएको किल्लामा एउटा मुठा भेट्टाइयो। त्यस मुठामा यस्तो उर्दी जारी गरिएको पाइयो:
३ “राजा कोरेसले आफ्नो शासनकालको पहिलो वर्षमा यरुसलेममा भएको परमेश्वरको भवनबारे यस्तो उर्दी निकाले:+ ‘परमेश्वरको भवनको जग हालियोस् र त्यसको पुनर्निर्माण गरियोस् ताकि त्यहाँ उनीहरूले बलि चढाउन सकून्। भवनको उचाइ ६० हात* र चौडाइ ६० हात होस्।+ ४ भवनको गारो बनाउँदा तीन सल* ठूलठूला ढुङ्गा र एक सल काठ राखियोस्।+ भवन निर्माण गर्न लागेको खर्च राजकोषबाट बेहोरियोस्।+ ५ साथै नबुकद्नेजरले यरुसलेममा भएको परमेश्वरको भवनबाट बेबिलोनमा ल्याएका सुन र चाँदीका भाँडाकुँडा पनि फिर्ता लगियोस्+ अनि त्यसलाई त्यसकै ठाउँमा अर्थात् यरुसलेमको मन्दिरमा राखियोस्।’”+
६ “त्यसैले महानदीपारिको इलाकाका* राज्यपाल तत्तनै, सेथार-बोज्नै र उहाँहरूका सहकर्मीहरू अर्थात् महानदीपारिको इलाकाका उप-राज्यपालहरूलाई म यो आदेश दिन्छु+—त्यस ठाउँबाट टाढै रहनुहोस्। ७ परमेश्वरको भवनको काममा हस्तक्षेप नगर्नुहोस्। यहुदीहरूका राज्यपाल र नाइकेहरूले परमेश्वरको त्यस भवनलाई पहिलेकै ठाउँमा पुनर्निर्माण गर्नेछन्। ८ साथै परमेश्वरको भवन पुनर्निर्माण गर्ने काममा यहुदीहरूका नाइकेहरूलाई मदत गर्न तपाईँहरूले के गर्नुपर्ने हो, त्यसबारे पनि म एउटा आदेश दिँदै छु: महानदीपारिको इलाकाबाट राजकोषमा+ जम्मा हुने करबाट यी मानिसहरूलाई भवन पुनर्निर्माण गर्न लागेको खर्च दिनुहोस् ताकि उनीहरूको काममा कुनै बाधा नपुगोस्।+ ९ साथै यरुसलेममा भएका पुजारीहरूलाई जे-जे चाहिन्छ, ती सबै उनीहरूलाई दिनुहोस्। स्वर्गका परमेश्वरलाई अग्निभेटी चढाउन बहर,+ थुमा+ र भेडाको पाठा+ अनि गहुँ,+ नुन,+ मद्य+ र तेल+—उनीहरूले जे-जे माग्छन्, ती सबै हरेक दिन अटुट रूपमा दिनुहोस् १० ताकि उनीहरूले निरन्तर स्वर्गका परमेश्वरलाई प्रसन्न तुल्याउने भेटी चढाऊन् अनि राजा र राजकुमारहरूको दीर्घायुको लागि प्रार्थना गरून्।+ ११ म यो उर्दी पनि जारी गर्छु, यदि कसैले यो आदेश उल्लङ्घन गऱ्यो भने उसले गरेको अपराधको सजायस्वरूप उसको घरको एउटा खम्बा उखेलेर उसलाई त्यसैमा टाँगिनेछ* अनि उसको घरलाई दिसा-पिसाब गर्ने ठाउँ* बनाइनेछ। १२ अनि उही परमेश्वर, जसले त्यस भवनसित आफ्नो नाम जोड्नुभएको छ,+ उहाँले यो आदेश उल्लङ्घन गर्न खोज्ने र यरुसलेममा भएको परमेश्वरको भवनलाई नष्ट गर्न खोज्ने जुनसुकै राजा वा मानिसलाई नाश गरून्। म, राजा दाराले यो उर्दी जारी गरेको हुँ। यो काम तुरुन्तै गरियोस्।”
१३ त्यसपछि महानदीपारिको इलाकाका राज्यपाल तत्तनै, सेथार-बोज्नै+ र तिनीहरूका सहकर्मीहरूले कुनै ढिलासुस्ती नगरी राजा दाराले दिएको आदेशअनुसारै सबै काम गरे। १४ अनि यहुदीहरूका नाइकेहरूले भविष्यवक्ता हाग्गै+ र इद्दोका नाति जकरियाले+ गरेको भविष्यवाणीबाट हौसला पाएर भवन बनाउने कामलाई निरन्तरता दिए र त्यो काम द्रुत गतिमा अघि बढ्यो।+ उनीहरूले इस्राएलका परमेश्वरले दिनुभएको आदेशअनुसारै+ अनि फारसका राजा कोरेस,+ दारा+ र आर्टजारसेजले निकालेको उर्दीअनुसारै+ मन्दिर बनाउने काम पूरा गरे। १५ उनीहरूले राजा दाराको शासनकालको छैटौँ वर्षमा, अदार* महिनाको तेस्रो दिनमा भवन बनाउने काम सिद्ध्याए।
१६ त्यसपछि सबै इस्राएलीले—पुजारीहरू, लेवीहरू+ र निर्वासनबाट फर्केका बाँकी सबैले खुसीयाली मनाउँदै परमेश्वरको भवनको उद्घाटन* गरे। १७ उनीहरूले परमेश्वरको भवनको उद्घाटन समारोहमा १०० वटा बहर, २०० वटा थुमा र भेडाका ४०० वटा पाठा चढाए। साथै सारा इस्राएलको निम्ति पापभेटीस्वरूप* १२ वटा बोका पनि चढाए; इस्राएलको हरेक कुलको निम्ति एउटा बोका चढाइएको थियो।+ १८ अनि उनीहरूले मोसाको पुस्तकमा लेखिएअनुसारै+ यरुसलेममा परमेश्वरको सेवाको लागि पुजारीहरूलाई तिनीहरूको समूहअनुसार र लेवीहरूलाई तिनीहरूको दलअनुसार नियुक्त गरे।+
१९ निर्वासनबाट फर्केर आएकाहरूले पहिलो महिनाको १४ औँ दिनमा निस्तार चाड* मनाए।+ २० पुजारीहरू र लेवीहरू सबैले आफूलाई शुद्ध पारेका थिए;+ एक जना पनि अशुद्ध थिएन। तिनीहरूले निर्वासनबाट फर्केर आएका सबै मानिस, सङ्गी पुजारीहरू र आफ्नो लागि निस्तार चाडको थुमा काटे। २१ त्यसपछि निर्वासनबाट फर्केर आएका इस्राएलीहरूले निस्तार चाडको बलिदानस्वरूप चढाइएका जनावरको मासु खाए। साथै वरपरका राष्ट्रहरूका अशुद्ध कामहरूबाट आफैलाई अलग पारेर इस्राएलका परमेश्वर यहोवाको उपासना गर्न* उनीहरूसँगै आएका सबैले पनि त्यो मासु खाए।+ २२ उनीहरूले खुसीयाली मनाउँदै सात दिनसम्म अखमिरा रोटीको चाड* पनि मनाए।+ किनकि यहोवा परमेश्वरले नै उनीहरूलाई खुसी मनाउने कारण दिनुभएको थियो। उहाँले अस्सेरियाका राजाको मनलाई उनीहरूमाथि दया देखाउन उत्प्रेरित गर्नुभएको थियो,+ जसले गर्दा अस्सेरियाका राजाले इस्राएलका परमेश्वर—साँचो परमेश्वरको भवन बनाउने काममा उनीहरूलाई साथ दिए।
७ यी घटनाहरू भएपछि फारसका राजा आर्टजारसेजको शासनकालमा+ एज्रा*+ बेबिलोनबाट फर्के। तिनी सिरायाहका+ छोरा थिए। सिरायाह अजर्याहका छोरा थिए। अजर्याह हिल्कियाहका+ छोरा थिए। २ हिल्कियाह साल्लुमका छोरा थिए। साल्लुम सादोकका छोरा थिए। सादोक अहितुबका छोरा थिए। ३ अहितुब अमर्याहका छोरा थिए। अमर्याह अजर्याहका+ छोरा थिए। अजर्याह मरायोथका छोरा थिए। ४ मरायोथ जेरायाहका छोरा थिए। जेरायाह उज्जिका छोरा थिए। उज्जि बुक्किका छोरा थिए। ५ बुक्कि अबिसुका छोरा थिए। अबिसु पिनहासका+ छोरा थिए। पिनहास एलियाजारका+ छोरा थिए र एलियाजार मुख्य पुजारी हारुनका+ छोरा थिए। ६ तिनै एज्रा बेबिलोनबाट आए। तिनी एक प्रतिलिपिक* थिए। तिनी इस्राएलका परमेश्वर यहोवाले दिनुभएको मोसाको व्यवस्थामा पोख्त थिए।*+ राजाले तिनले माग गरेका सबै कुरा पूरा गरिदिए किनकि तिनका परमेश्वर यहोवाको हात तिनीमाथि थियो।
७ राजा आर्टजारसेजको शासनकालको सातौँ वर्षमा केही इस्राएलीहरू, पुजारीहरू, लेवीहरू,+ गायकहरू,+ ढोकेहरू+ र मन्दिरका सेवकहरू* यरुसलेम आए।+ ८ राजा आर्टजारसेजको शासनकालको सातौँ वर्षको पाँचौँ महिनामा एज्रा यरुसलेम आए। ९ तिनले पहिलो महिनाको पहिलो दिन बेबिलोनबाट आफ्नो यात्रा सुरु गरे र पाँचौँ महिनाको पहिलो दिन यरुसलेम पुगे। तिनको यात्राभरि तिनका परमेश्वर तिनको साथमा हुनुहुन्थ्यो।+ १० एज्राले यहोवा परमेश्वरको व्यवस्था अध्ययन गर्न, त्यसअनुसार चल्न अनि इस्राएलीहरूलाई उहाँका नीतिनियम र ऐनकानुन सिकाउन+ आफ्नो हृदय तयार पारेका थिए।*+
११ राजा आर्टजारसेजले पुजारी र प्रतिलिपिक एज्रा—जससित यहोवा परमेश्वरका आज्ञाहरूको र उहाँले इस्राएलीहरूलाई दिनुभएको नीतिनियमको राम्रो ज्ञान थियो*—तिनलाई पठाएको पत्रको नक्कल यही हो:
१२ * “राजाहरूका राजा आर्टजारसेजको+ तर्फबाट स्वर्गका परमेश्वरको व्यवस्थाको प्रतिलिपिक, पुजारी एज्राको निम्ति: तिमीलाई शान्ति होस्। १३ मैले यो उर्दी जारी गरेको छु कि मेरो इलाकामा भएका इस्राएलका मानिसहरू, पुजारीहरू र लेवीहरूमध्ये जो-जो तिमीसित यरुसलेम जान चाहन्छन्, तिनीहरू जान सक्छन्।+ १४ राजा र राजाका सात जना सल्लाहकारको तर्फबाट तिमीलाई यहुदा र यरुसलेम पठाइँदै छ। तिमी त्यहाँ जाऊ र तिमीसित भएको तिम्रा परमेश्वरको व्यवस्था मानिसहरूले पालन गरिरहेका छन् कि छैनन् भनेर पत्ता लगाऊ। १५ राजा र राजाका सल्लाहकारहरूले इस्राएलका परमेश्वर, जसको निवासस्थान यरुसलेममा छ, उहाँको निम्ति राजीखुसीले दिएको सुन र चाँदी पनि आफूसँगै लैजानू। १६ अनि बेबिलोनको सबै प्रान्तबाट तिमीले जति पनि सुन र चाँदी पाउनेछौ अनि इस्राएलीहरू र पुजारीहरूले यरुसलेममा भएको आफ्ना परमेश्वरको भवनको निम्ति राजीखुसीले जे-जति उपहार दिन्छन्, ती सबै तिमीले लैजानू।+ १७ तिमीले पाएको पैसाले तुरुन्तै बहरहरू,+ थुमाहरू+ र भेडाका पाठाहरू+ अनि तीसँगै चढाइने अन्नभेटी+ र मद्यभेटी* किन्नू।+ अनि ती सबै भेटी यरुसलेममा तिम्रा परमेश्वरको भवनको वेदीमा चढाउनू।
१८ “बाँकी भएको सुन र चाँदी तिमी र तिम्रा दाजुभाइलाई जे गर्न ठीक लाग्छ, त्यही गर्न चलाउनू। अनि त्यो तिम्रा परमेश्वरको इच्छाबमोजिम होस्। १९ तिम्रा परमेश्वरको भवनमा गरिने सेवाको लागि तिमीलाई दिइएको सबै भाँडाकुँडा यरुसलेममा लगेर परमेश्वरसामु राख।+ २० तिम्रा परमेश्वरको भवनको निम्ति तिमीलाई अरू जे-जे कुराको खाँचो पर्छ, त्यसको खर्च तिमीले राजकोषबाट पाउनेछौ।+
२१ “म, राजा आर्टजारसेज महानदीपारिको इलाकाका* सबै खजान्चीलाई यो आदेश दिन्छु कि स्वर्गका परमेश्वरको व्यवस्थाका प्रतिलिपिक, पुजारी एज्राले+ मागेको सबै कुरा तिनलाई तुरुन्तै दिनू। २२ तिनलाई यी सबै दिइयोस्: १०० टालेन्ट* चाँदी, १०० कोर* गहुँ, १०० बाथ* मद्य,+ १०० बाथ तेल+ र तिनले मागेजति नुन।+ २३ स्वर्गका परमेश्वरले आफ्नो भवनबारे जे-जे आदेश दिनुभएको छ, ती सबै जोसका साथ पालन गरियोस्+ ताकि स्वर्गका परमेश्वरको रिस मेरो प्रजा र मेरा छोराहरूमाथि नपरोस्।+ २४ म तिमीहरूलाई यो आदेश पनि दिन्छु कि कुनै पनि पुजारी, लेवी, वाद्यवादक,+ ढोके, मन्दिरका सेवक+ र परमेश्वरको भवनका अरू कामदारबाट कर, तिरो+ र महसुल नउठाउनू।
२५ “अनि हे एज्रा, तिम्रा परमेश्वरले तिमीलाई दिनुभएको बुद्धि चलाएर महानदीपारिको इलाकामा नगर अधिकारीहरू र न्यायकर्ताहरू नियुक्त गर। तिनीहरूले मानिसहरूको न्याय गरून्, जसलाई तिम्रा परमेश्वरले दिनुभएको नियमबारे थाह छ। तर ज-जसलाई ती नियमबारे थाह छैन, तिमीले तिनीहरूलाई सिकाउनू।+ २६ अनि जसले तिम्रा परमेश्वरको व्यवस्था र राजाको नियम पालन गर्दैन, त्यसलाई तुरुन्तै सजाय दिइयोस्—चाहे त्यो सजाय जरिमाना तिर्नुपर्ने होस्, झ्यालखानामा बस्नुपर्ने होस्, देश निकाला होस् वा मृत्युदण्ड नै किन नहोस्।”
२७ हाम्रा पितापुर्खाका परमेश्वर यहोवाको प्रशंसा होस्, जसले राजाको मनमा यरुसलेममा भएको यहोवा परमेश्वरको भवनको शोभा बढाउने इच्छा हालिदिनुभयो।+ २८ परमेश्वरले मलाई अटल प्रेम देखाउनुभयो, जसले गर्दा मैले राजा, राजाका सल्लाहकारहरू+ र शक्तिशाली भारदारहरूको निगाह पाएँ।+ मेरा परमेश्वर यहोवाको हात ममाथि रहेकोले मैले साहस बटुलेँ अनि इस्राएलीहरूका अगुवाहरूलाई आफूसँगै लैजान एकसाथ जम्मा गरेँ।
८ राजा आर्टजारसेजको शासनकालमा मसँगै बेबिलोनबाट फर्केका बुबापट्टिको घरानाहरूका नाइकेहरू र तिनीहरूका घरानाहरूको नामको सूची यही हो:+ २ पिनहासको+ सन्तानबाट गेर्सोम; इथामारको+ सन्तानबाट दानिएल; दाउदको सन्तानबाट हात्तुस; ३ सेकन्याह अनि परोसको सन्तानबाट जकरिया र तिनीसित भएका १५० जना पुरुष, जसको नाम वंशावलीमा छ; ४ पाहथ-मोआबको सन्तानबाट+ जेरायाहका छोरा एलिहो-एनै र तिनीसित भएका २०० जना पुरुष; ५ जत्तुको सन्तानबाट+ याहजिएलका छोरा सेकन्याह र तिनीसित भएका ३०० जना पुरुष; ६ अदिनको सन्तानबाट+ जोनाथनका छोरा एबेद र तिनीसित भएका ५० जना पुरुष; ७ एलामको सन्तानबाट+ अथल्याहका छोरा यसायाह र तिनीसित भएका ७० जना पुरुष; ८ सेपत्याहको सन्तानबाट+ माइकलका छोरा जबदियाह र तिनीसित भएका ८० जना पुरुष; ९ योआबको सन्तानबाट यहिएलका छोरा ओबदियाह र तिनीसित भएका २१८ जना पुरुष; १० बानिको सन्तानबाट योसिपियाहका छोरा सेलोमिथ र तिनीसित भएका १६० जना पुरुष; ११ बेबैको सन्तानबाट+ बेबैका छोरा जकरिया र तिनीसित भएका २८ जना पुरुष; १२ अज्गादको सन्तानबाट+ हाक्कातानका छोरा योहानान र तिनीसित भएका ११० जना पुरुष; १३ अदोनिकामको बाँकी सन्तान+—एलिपेलेत, यइएल अनि सेमायाह र तिनीहरूसित भएका ६० जना पुरुष; १४ बिग्वैको सन्तानबाट+ उथै अनि जब्बुद र तिनीहरूसित भएका ७० जना पुरुष।
१५ मैले तिनीहरूलाई अहावातर्फ बग्ने नदीको किनारामा भेला गराएँ+ र हामी त्यहाँ तीन दिन पाल टाँगेर बस्यौँ। तर मैले मानिसहरू र पुजारीहरूको निरीक्षण गर्दा त्यहाँ एक जना पनि लेवी थिएनन्। १६ त्यसैले मैले अगुवाहरू एलिएजर, अरिएल, सेमायाह, एल्नातान, यारिब, एल्नातान, नातान, जकरिया र मेसुल्लामलाई अनि शिक्षकहरू योयारिब र एल्नातानलाई बोलाउन लगाएँ। १७ अनि मैले उनीहरूलाई कासिफिया भन्ने ठाउँका अगुवा इद्दोकहाँ पठाएँ अनि इद्दो र उनका दाजुभाइ, जो मन्दिरका सेवकहरू* थिए र कासिफियामा बस्थे, तिनीहरूलाई परमेश्वरको भवनमा सेवा गर्न केही मानिसहरू हामीकहाँ पठाइदिनू भनी खबर दिन लगाएँ। १८ हाम्रा परमेश्वर हाम्रो साथमा हुनुहुन्थ्यो। त्यसैले उनीहरूले इस्राएलका छोरा लेविका नाति महलिको घरानाका+ एक बुद्धिमान् पुरुष सेरेब्याह+ अनि तिनका छोराहरू र दाजुभाइ, जम्मा १८ जना पुरुषलाई ल्याए। १९ साथै उनीहरूले हासबियाह अनि मरारिको सन्तानबाट+ यसायाह, उनका दाजुभाइ र छोराहरू, जम्मा २० जना पुरुषलाई पनि ल्याए। २० अनि उनीहरूले मन्दिरका सेवकहरूबाट २२० जनालाई पनि ल्याए, जसलाई परमेश्वरको भवनमा सेवा गर्न नामै लिएर चुनिएको थियो। मन्दिरका सेवकहरूलाई दाउद र तिनका भारदारहरूले लेवीहरूलाई मदत गर्न खटाएका थिए।
२१ त्यसपछि मैले अहावा नदीमा उपवासको घोषणा गरेँ। हाम्रा परमेश्वरसामु आफैलाई नम्र तुल्याउन अनि यात्राभरि हामी, हाम्रा केटाकेटी र सबै सरसामानको लागि उहाँको सुरक्षा माग्न मैले मानिसहरूलाई उपवास बस्ने निर्देशन दिएको थिएँ। २२ यात्रामा शत्रुहरूबाट जोगिनको लागि राजासित सिपाहीहरू र घोडचढीहरू माग्न मलाई अप्ठ्यारो लाग्यो किनकि हामीले राजालाई यसो भनेका थियौँ: “हाम्रा परमेश्वर उहाँको खोजी गर्ने सबैको साथमा रहनुहुन्छ+ तर जसले उहाँलाई त्याग्छ, उनीहरूविरुद्ध उहाँले आफ्नो बल प्रयोग गर्नुहुन्छ र उनीहरूमाथि आफ्नो रिस पोखाउनुहुन्छ।”+ २३ त्यसैले हामी उपवास बस्यौँ र परमेश्वरसित सुरक्षाको लागि बिन्ती गऱ्यौँ अनि उहाँले हाम्रो बिन्ती सुन्नुभयो।+
२४ त्यसपछि मैले पुजारीहरूका १२ जना नाइके—सेरेब्याह, हासबियाह+ र उनीहरूका १० जना दाजुभाइलाई अलग्गै छुट्ट्याएँ। २५ अनि मैले उनीहरूसामु ती सबै सुन, चाँदी र भाँडाकुँडा जोखेँ, जुन राजा, तिनका सल्लाहकारहरू, भारदारहरू र सबै इस्राएलीले हाम्रा परमेश्वरको भवनको निम्ति दान गरेका थिए।+ २६ मैले उनीहरूलाई यी सबै कुरा जोखेर दिएँ: ६५० टालेन्ट* चाँदी, २ टालेन्ट मूल्यबराबरको चाँदीको १०० वटा भाँडाकुँडा, १०० टालेन्ट सुन, २७ सुनका २० वटा कचौरा, जसको मूल्य १ हजार दारिकबराबर* हुन आउँछ अनि चहकिलो रातो रङ्गको असल तामाबाट बनेको २ वटा भाँडा, जुन सुनजत्तिकै बहुमूल्य थिए।
२८ त्यसपछि मैले उनीहरूलाई भनेँ: “तिमीहरू यहोवा परमेश्वरको नजरमा पवित्र छौ+ र यी भाँडाकुँडाहरू पनि पवित्र छन्। यी सुन र चाँदी तिमीहरूका पितापुर्खाका परमेश्वर यहोवाको निम्ति स्वैच्छिकभेटीस्वरूप दिइएको हो। २९ त्यसैले हामी यरुसलेम नपुगुन्जेल यी सबै सरसामान सम्हालेर राख्नू। अनि त्यहाँ पुगेपछि यी सरसामानहरू यहोवा परमेश्वरको भवनका कोठाहरूमा* पुजारीहरूका नाइकेहरू, लेवीहरू र इस्राएलको बुबापट्टिको घरानाहरूका नाइकेहरूसामु जोख्नू अनि तिनीहरूको जिम्मा लगाइदिनू।”+ ३० पुजारीहरू र लेवीहरूले यरुसलेममा हाम्रा परमेश्वरको भवनमा लैजान ती सबै सुन, चाँदी अनि भाँडाकुँडा लिए, जुन उनीहरूलाई जोखेर दिइएको थियो।
३१ पहिलो महिनाको १२ औँ दिनमा+ हामी अहावा नदीबाट यरुसलेमतर्फ लाग्यौँ।+ हाम्रा परमेश्वर हाम्रो साथमा हुनुहुन्थ्यो; उहाँले हामीलाई शत्रुहरू र बाटोमा ढुकेर बस्ने लुटेराहरूको हातबाट जोगाउनुभयो। ३२ यसरी हामी यरुसलेम आइपुग्यौँ+ र तीन दिन कुऱ्यौँ। ३३ अनि चौथो दिन हामीले हाम्रा परमेश्वरको भवनमा ती सुन, चाँदी र भाँडाकुँडा लग्यौँ अनि ती सबै जोखेर+ पुजारी उरियाहका छोरा मरेमोथको+ जिम्मा लगाइदियौँ। त्यतिबेला तिनको साथमा पिनहासका छोरा एलियाजार, यसुआका छोरा लेवी योजाबाद+ र बिन्नुइका+ छोरा लेवी नोअदियाह पनि थिए। ३४ ती सबै सरसामान गनियो र जोखियो अनि हरेक सरसामानको तौल लेखेर राखियो। ३५ निर्वासनबाट फर्केर आएकाहरूले इस्राएलका परमेश्वरको निम्ति यी जनावरहरूको अग्निभेटी चढाए: सम्पूर्ण इस्राएलीहरूको तर्फबाट १२ वटा बहर+ अनि ९६ वटा थुमा+ र भेडाका ७७ वटा पाठा। तिनीहरूले पापभेटीस्वरूप १२ वटा बोका+ पनि चढाए। तिनीहरूले यी सबै यहोवा परमेश्वरको निम्ति अग्निभेटीस्वरूप चढाएका थिए।+
३६ त्यसपछि हामीले राजाका बडाहाकिमहरूलाई* र महानदीपारिको इलाकाका*+ राज्यपालहरूलाई राजाको लिखित आदेश दियौँ।+ अनि तिनीहरूले मानिसहरूलाई मदत गरे र साँचो परमेश्वरको भवनमा भइरहेको काममा सहायता दिए।+
९ यी सबै काम सिद्धिएपछि मानिसहरूका मुखियाहरू मकहाँ आए र यसो भने: “इस्राएलका मानिसहरू, पुजारीहरू र लेवीहरूले वरपरका जातिहरू—कनानीहरू, हित्तीहरू, परिज्जीहरू, यबुसीहरू, अम्मोनीहरू, मोआबीहरू, मिश्रीहरू+ र एमोरीहरूबाट+ अनि उनीहरूका घिनलाग्दा रीतिथितिबाट आफूलाई अलग राखेका छैनन्।+ २ तिनीहरूले उनीहरूका छोरीहरूसित विवाह गरेका छन् र आफ्ना छोराहरूको विवाह पनि उनीहरूसितै गराइदिएका छन्।+ अब तिनीहरू, जो पवित्र वंश हुन्,+ वरपरका जातिहरूसित मिसिएका छन्।+ यसरी परमेश्वरसित विश्वासघात गर्नेहरूमा मुखियाहरू र उप-शासकहरू नै सबैभन्दा अगाडि छन्।”
३ यो कुरा सुन्नेबित्तिकै मैले आफ्नो लुगा र अलखा* च्यातेँ, कपाल र दाह्री लुछेँ अनि इन्तु न चिन्तु भएर भुईँमा थचक्क बसेँ। ४ अनि ज-जसको मनमा परमेश्वरले भन्नुभएका कुराहरूप्रति गहिरो आदर थियो, तिनीहरू सबै मेरो वरिपरि जम्मा भए। किनकि निर्वासनबाट फर्केर आएका मानिसहरूले परमेश्वरसित विश्वासघात गरेकोले तिनीहरू दुःखी भएका थिए। मचाहिँ साँझको अन्नभेटी चढाउने बेलासम्मै अवाक् भएर बसिरहेँ।+
५ साँझको अन्नभेटी चढाउने बेला भएपछि+ म आफ्नो शोकाकुल अवस्थाबाट उठेँ; मेरो लुगा र अलखा च्यातिएको थियो। मैले आफ्ना परमेश्वर यहोवासामु घुँडा टेकेँ र आफ्नो हात फैलाएर उहाँलाई यसो भनेँ: ६ “हे मेरा परमेश्वर! म यत्ति लज्जित र अपमानित भएको छु कि म आफ्नो अनुहार तपाईँतिर फर्काउन सक्दिनँ। किनकि हे मेरा परमेश्वर, हाम्रा पापहरू ज्यादै धेरै छन् र हाम्रो दोष स्वर्गसम्मै पुगेको छ।+ ७ हाम्रा पितापुर्खाको पालादेखि आजसम्मै हामीले साह्रै खराब काम गरेका छौँ।+ हाम्रा गल्तीहरूले गर्दा हामी, हाम्रा राजाहरू र हाम्रा पुजारीहरू देश-देशका राजाहरूको हातमा पऱ्यौँ। हामी तरबारले नाश भयौँ,+ बन्दी बनाएर लगियौँ,+ लुटियौँ+ र अपमानित भयौँ। आज पनि हाम्रो हालत त्यस्तै छ।+ ८ तर हे हाम्रा परमेश्वर यहोवा! केही समयदेखि तपाईँले हामीलाई दया गर्नुभएको छ। तपाईँले हामीलाई पूरै नाश हुन दिनुभएन बरु हामीलाई आफ्नो पवित्र ठाउँमा एक सुरक्षित स्थान दिनुभयो।+ हे हाम्रा परमेश्वर! यसरी तपाईँले हाम्रो आँखामा चमक ल्याइदिनुभएको छ र हाम्रो दासत्वबाट हामीलाई केही हदसम्म राहत दिनुभएको छ। ९ किनकि हे हाम्रा परमेश्वर, हाम्रो दासत्वमा पनि+ तपाईँले हामीलाई त्याग्नुभएको छैन। बरु फारसका राजाहरूलाई हामीमाथि दया गर्न लगाएर हामीलाई अटल प्रेम देखाउनुभएको छ।+ उजाड भएको तपाईँको भवन हामीले फेरि बनाउन सकौँ भनेर तपाईँले हामीलाई छुटाउनुभएको छ।+ अनि तपाईँले यहुदा र यरुसलेममा हामीलाई चारैतिरबाट सुरक्षा दिनुभएको छ।*
१० “तर हे हाम्रा परमेश्वर, अब हामी के नै भन्न सक्छौँ र? किनकि हामीले तपाईँका आज्ञाहरू पालन गरेनौँ। ११ तपाईँले आफ्ना सेवकहरू—भविष्यवक्ताहरूमार्फत हामीलाई यस्तो आज्ञा दिनुभएको थियो: ‘तिमीहरूले अधिकार गर्न लागेको देश अशुद्ध छ। किनकि त्यहाँका मानिसहरू अशुद्ध छन् र तिनीहरूले त्यस देशलाई आफ्ना घिनलाग्दा कामहरूले दूषित पारेका छन्। तिनीहरूले त्यस देशलाई एउटा कुनादेखि अर्को कुनासम्म आफ्ना अशुद्ध कामहरूले भरेका छन्।+ १२ त्यसैले आफ्ना छोरीहरूको विवाह तिनीहरूका छोराहरूसित नगराउनू अनि तिनीहरूका छोरीहरूको विवाह पनि आफ्ना छोराहरूसित नगराउनू।+ तिनीहरूको शान्ति र संवृद्धिको लागि तिमीहरूले कहिल्यै केही नगर्नू।+ तब तिमीहरू शक्तिशाली हुनेछौ र देशको असल उब्जनी खान पाउनेछौ। अनि त्यो देश आफ्ना छोराहरूलाई सधैँका लागि पैतृक सम्पत्तिको रूपमा दिन सक्नेछौ।’ १३ हामीले आफ्ना खराब कामहरूको अनि ठूलो अपराधको सजाय पायौँ। तर हे हाम्रा परमेश्वर, हामी जति सजाय पाउन लायकका थियौँ, तपाईँले हामीलाई त्यति सजाय दिनुभएन।+ बरु हामीलाई छुटाउनुभयो।+ १४ तर अब हामीले फेरि तपाईँका आज्ञाहरू तोड्यौँ र यस्ता घिनलाग्दा कामहरू गर्ने मानिसहरूसित वैवाहिक नाता गाँस्यौँ भने के तपाईँ क्रोधित हुनुहुनेछैन र?+ अनि के तपाईँले हामीलाई एक जना पनि बाँकी नरहनेगरि नाश गर्नुहुनेछैन र? १५ हे इस्राएलका परमेश्वर यहोवा! तपाईँ न्यायी हुनुहुन्छ।+ त्यसैले तपाईँले हामीलाई अहिलेसम्म जीवितै राख्नुभएको छ। हामी तपाईँसामु दोषी छौँ; हाम्रो अपराधले गर्दा हामीमध्ये कोही पनि तपाईँसामु खडा हुन लायक छैनौँ।”+
१० जब एज्रा साँचो परमेश्वरको भवनको सामने लम्पसार परेर रुँदै र मानिसहरूको पाप स्विकार्दै प्रार्थना गरिरहेका थिए,+ तब इस्राएली पुरुषहरू, स्त्रीहरू र केटाकेटीको एउटा ठूलो भीड तिनको वरपर जम्मा भयो। तिनीहरू पनि डाँको छोडेर रोइरहेका थिए। २ त्यसपछि एलामका सन्तान*+ यहिएलका+ छोरा सेकन्याहले एज्रालाई यसो भने: “वरपरका राष्ट्रका स्त्रीहरूसित विवाह गरेर हामीले हाम्रा परमेश्वरसित विश्वासघात गरेका छौँ।+ तर इस्राएलसित अझै एउटा आशा छ। ३ अब हामी परमेश्वरसित एउटा करार गरौँ,+ जुन करारअनुसार हामी हाम्रा सबै विदेशी पत्नीलाई र उनीहरूबाट जन्मेका सबै बालबच्चालाई उनीहरूकै देश फर्काइदिनेछौँ। यसरी हामी यहोवा परमेश्वरको निर्देशनअनुसार र उहाँले दिनुभएका आज्ञाहरूप्रति मनमा गहिरो आदर भएकाहरूको सल्लाहअनुसार चल्नेछौँ।+ व्यवस्थामा जे लेखिएको छ, हामी त्यही गर्नेछौँ। ४ अब उठ्नुहोस्, यो मामिला सुल्झाउने जिम्मा तपाईँको हो। हामी तपाईँको साथमा छौँ। साहसी हुनुहोस् र कदम चाल्नुहोस्।”
५ तब एज्रा उठे अनि पुजारीहरूका नाइकेहरू, लेवीहरू र सबै इस्राएलीलाई आफूले भनेअनुसारै गर्छौँ भनी शपथ खान लगाए+ अनि तिनीहरू सबैले शपथ खाए। ६ त्यसपछि एज्रा साँचो परमेश्वरको भवनको सामनेबाट उठे र एलियासिबका छोरा यहोहानानको कोठामा* गए। तर तिनले त्यहाँ न केही खाए न त केही पिए। किनकि निर्वासनबाट फर्केका मानिसहरूले परमेश्वरसित विश्वासघात गरेकोले तिनी शोक मनाउँदै थिए।+
७ त्यसपछि निर्वासनबाट फर्केका सबै जना यरुसलेममा भेला होऊन् भनेर पूरै यहुदा र यरुसलेममा घोषणा गरियो। ८ मुखियाहरू र नाइकेहरूको निर्णयअनुसार तीन दिनभित्र यरुसलेम नआउनेहरूको सबै सरसम्पत्ति जफत गरिने थियो र तिनीहरूलाई निर्वासनबाट फर्केर आएकाहरूको समुदायबाट निकालिने थियो।+ ९ त्यसैले यहुदा र बिन्यामिन कुलका सबै मानिस तीन दिनभित्र यरुसलेममा भेला भए। नवौँ महिनाको २० औँ दिनमा मानिसहरू साँचो परमेश्वरको भवनको चोकमा बसिरहेका थिए। मामिला असाध्यै गम्भीर भएकोले र मुसलधारे पानी पनि परिरहेकोले तिनीहरू थरथर काँपिरहेका थिए।
१० त्यसपछि पुजारी एज्रा उठे र मानिसहरूलाई यसो भने: “तिमीहरूले विदेशी स्त्रीहरूसित विवाह गरेर परमेश्वरसित विश्वासघात गरेका छौ।+ यसो गरेर तिमीहरूले इस्राएलको दोष झनै ठूलो बनाएका छौ। ११ अब तिमीहरू आफ्ना पितापुर्खाका परमेश्वर यहोवासामु आफ्नो पाप स्वीकार गर र उहाँको इच्छाअनुसार चल। तिमीहरू आफूलाई वरपरका राष्ट्रका मानिसहरूबाट अलग गर र आफ्ना विदेशी पत्नीहरूलाई त्यागिदेओ।”+ १२ तब पूरै समुदायले ठूलो स्वरमा यसो भन्यो: “तपाईँले भन्नुभएअनुसारै गर्नु हाम्रो कर्तव्य हो। १३ तर अहिले यहाँ मानिसहरू असाध्यै धेरै छन् र यो वर्षायाम पनि हो, त्यसैले यहाँ बाहिर उभिएर यो मामिला सुल्झाउन सम्भव छैन। अनि यो एक-दुई दिनमा सुल्झिने मामिला पनि होइन किनकि हामीमध्ये थुप्रैले पाप गरेका छौँ। १४ त्यसैले बिन्ती छ, पूरै समुदायको तर्फबाट हाम्रा मुखियाहरू मात्र यहाँ बसून्।+ अनि ज-जसले विदेशी स्त्रीहरूसित विवाह गरेका छन्, तिनीहरू आ-आफ्ना सहरका नाइके र न्यायकर्ताहरूसित तोकिएको समयमा यहाँ भेला होऊन् ताकि यस मामिलाले गर्दा हामीमाथि दन्केको परमेश्वरको क्रोध शान्त होस्।”
१५ तर आसाहेलका छोरा जोनाथन र तिक्भाहका छोरा याजयाहले यसको विरोध गरे अनि लेवीहरू मेसुल्लाम र साब्बथैले+ पनि तिनीहरूलाई साथ दिए। १६ तर निर्वासनबाट फर्केर आएकाहरूले भने जे निर्णय भएको थियो, त्यहीअनुसार गरे। अनि १० औँ महिनाको पहिलो दिनमा पुजारी एज्रा र बुबापट्टिको घरानाहरूका नाइकेहरू, जसलाई नामै लिएर छानिएको थियो, तिनीहरू यस मामिलाको छानबिन गर्न छुट्टै बैठक बसे। १७ पहिलो महिनाको पहिलो दिनसम्ममा तिनीहरूले विदेशी स्त्रीहरूसित विवाह गर्ने सबै पुरुषको जाँचबुझ गरिसिद्ध्याए। १८ यसरी जाँचबुझ गर्दा पुजारीहरूका सन्तानमध्ये केहीले विदेशी स्त्रीहरूसित विवाह गरेका रहेछन् भन्ने कुरा पत्ता लाग्यो।+ तिनीहरू यी थिए: यहोजादाकका छोरा यसुआका+ सन्तान र दाजुभाइबाट मासेयाह, एलिएजर, यारिब र गदल्याह। १९ तिनीहरूले आफ्ना पत्नीहरूलाई उनीहरूकै देशमा फर्काइदिने कसम खाए। साथै तिनीहरू दोषी भएकोले तिनीहरूले प्रायश्चितको लागि बगालबाट एउटा थुमा चढाउने थिए।+
२० पाप गर्नेहरूमध्ये यी पनि थिए: इम्मेरको सन्तानबाट+ हानानि र जबदियाह; २१ हारिमको सन्तानबाट+ मासेयाह, एलिया, सेमायाह, यहिएल र उज्जियाह; २२ पासुहरको सन्तानबाट+ एलियोनै, मासेयाह, इस्माएल, नेथनेल, योजाबाद र एलेसाह। २३ लेवीहरूबाट योजाबाद, सिमि, केलायाह (अर्थात् केलिता), पथहियाह, यहुदा र एलिएजर; २४ गायकहरूबाट एलियासिब अनि ढोकेहरूबाट साल्लुम, तेलेम र उरि।
२५ इस्राएलीहरूबाट यी थिए: परोसको सन्तानबाट+ रम्याह, इज्जियाह, मल्कियाह, मियामिन, एलियाजार, मल्कियाह र बेनायाह; २६ एलामको सन्तानबाट+ मत्तन्याह, जकरिया, यहिएल,+ अब्दि, यरेमोथ र एलिया; २७ जत्तुको सन्तानबाट+ एलियोनै, एलियासिब, मत्तन्याह, यरेमोथ, जबाद र अजिजा; २८ बेबैको सन्तानबाट+ यहोहानान, हानन्याह, जब्बै र अत्लै; २९ बानिको सन्तानबाट मेसुल्लाम, मल्लुक, आदायाह, यासुब, सेल र यरेमोथ; ३० पाहथ-मोआबको सन्तानबाट+ अद्ना, केलाल, बेनायाह, मासेयाह, मत्तन्याह, बजलेल, बिन्नुइ र मनस्से; ३१ हारिमको सन्तानबाट+ एलिएजर, इसियाह, मल्कियाह,+ सेमायाह, सिमिओन, ३२ बिन्यामिन, मल्लुक र सेमर्याह; ३३ हासुमको सन्तानबाट+ मत्तनै, मत्तताह, जबाद, एलिपेलेत, यरेमै, मनस्से र सिमि; ३४ बानिको सन्तानबाट मादै, अम्राम, उएल, ३५ बेनायाह, बेदयाह, केलुहि, ३६ बन्याह, मरेमोथ, एलियासिब, ३७ मत्तन्याह, मत्तनै र यासु; ३८ बिन्नुइको सन्तानबाट सिमि, ३९ सेलेम्याह, नातान, आदायाह, ४० माक्नादबै, सासै, सारै, ४१ अज्रेल, सेलेम्याह, सेमर्याह, ४२ साल्लुम, अमर्याह र युसुफ ४३ अनि नेबोको सन्तानबाट यइएल, मत्तित्याह, जबाद, जबिना, याद्दै, योएल र बेनायाह। ४४ यिनीहरू सबैले विदेशी स्त्रीहरूसित विवाह गरेका थिए।+ यिनीहरूले आ-आफ्नी पत्नीलाई उनीहरूकै देशमा फर्काइदिए अनि उनीहरूबाट जन्मेका बालबच्चालाई पनि उनीहरूसितै पठाइदिए।+
वा सम्भवतः “जो यरुसलेममा हुनुहुन्छ।”
तिनी एज्रा २:२, ३:८ मा उल्लेख गरिएका यरुबाबेल हुन सक्छन्।
यस अध्यायको कुनै-कुनै पदमा “सन्तान”-ले “बासिन्दा”-लाई पनि जनाउन सक्छ।
वा “नेथिनिम।” शा., “दिइएका मानिसहरू।”
वा “तिनीहरू अशुद्ध ठहरिए र तिनीहरूलाई पुजारीको रूपमा सेवा गर्न दिइएन।”
वा “तिर्सथाले।” प्रान्तका राज्यपाललाई दिइने फारसी उपाधि।
शब्दावली हेर्नुहोस्।
यो सुनको फारसी सिक्का दारिकबराबर हो भन्ने मान्यता छ, जसको तौल ८.४ ग्राम थियो। तर यो ग्रीक धर्मशास्त्रमा उल्लेख गरिएको ड्राक्माचाहिँ होइन। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
हिब्रू धर्मशास्त्रमा एक मीना भनेको ५७० ग्राम हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
तिनलाई एज्रा २:४० मा होदबियाह र नहे ७:४३ मा होदेभा भनिएको छ।
शब्दावली हेर्नुहोस्।
शा., “खोजी गर्छौँ।”
वा सम्भवतः “त्यो पत्र अरामी भाषामा लेखिएको थियो र त्यसपछि अनुवाद गरिएको थियो।”
एज्रा ४:८ देखि ६:१८ सम्मको विवरण सुरुमा अरामी भाषामा लेखिएको थियो।
यसले युफ्रेटिस नदीको पश्चिममा पर्ने इलाकाहरूलाई जनाउँछ।
शा., “हामी राजमहलको नुन खान्छौँ।”
वा सम्भवतः “त्यो पत्र अनुवाद गरियो र मलाई पढेर सुनाइयो।”
यसले युफ्रेटिस नदीको पश्चिममा पर्ने इलाकाहरूलाई जनाउँछ।
वा “अभिलेखहरूमा।”
लगभग २६.७ मिटर (८७.६ फिट)। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
पर्खाल आदि लगाउँदा राखिने ढुङ्गाको तह।
यसले युफ्रेटिस नदीको पश्चिममा पर्ने इलाकाहरूलाई जनाउँछ।
वा “त्यसैमा उनिनेछ।”
वा सम्भवतः “फोहोरको डङ्गुर; गोबरको थुप्रो।”
अतिरिक्त लेख ख१५ हेर्नुहोस्।
वा “समर्पण।”
शब्दावली हेर्नुहोस्।
शब्दावली हेर्नुहोस्।
शा., “खोजी गर्न।”
शब्दावली हेर्नुहोस्।
यसको अर्थ हो, “मदत।”
वा “शास्त्री।”
वा “व्यवस्थाको प्रतिलिपि बनाउन सिपालु थिए।”
वा “नेथिनिम।” शा., “दिइएका मानिसहरू।”
वा “मनमा अठोट गरेका थिए।”
वा “तिनी त्यसको प्रतिलिपि बनाउँथे।”
एज्रा ७:१२ देखि ७:२६ सम्मको विवरण सुरुमा अरामी भाषामा लेखिएको थियो।
शब्दावली हेर्नुहोस्।
यसले युफ्रेटिस नदीको पश्चिममा पर्ने इलाकाहरूलाई जनाउँछ।
एक टालेन्ट भनेको ३४.२ किलोग्राम हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
एक कोर भनेको २२० लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
एक बाथ भनेको २२ लिटर हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
वा “नेथिनिम।” शा., “दिइएका मानिसहरू।”
एक टालेन्ट भनेको ३४.२ किलोग्राम हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
दारिक भनेको सुनको फारसी सिक्का हो। अतिरिक्त लेख ख१४ हेर्नुहोस्।
वा “भोजनकक्षहरूमा।”
मूल भाषामा यहाँ एउटा फारसी उपाधि चलाइएको छ, जसको अर्थ हो, “राज्यका संरक्षकहरू।” यहाँ यसले फारसी साम्राज्यमा भएका प्रान्तहरूका शासकहरूलाई जनाउँछ।
यसले युफ्रेटिस नदीको पश्चिममा पर्ने इलाकाहरूलाई जनाउँछ।
वा “बाहुला नभएको अलखा।” गलादेखि गोडासम्म पुग्ने लामो पोसाक।
वा “ढुङ्गाको पर्खाल खडा गरिदिनुभएको छ।”
यस अध्यायको कुनै-कुनै पदमा “सन्तान”-ले “बासिन्दा”-लाई पनि जनाउन सक्छ।
वा “भोजनकक्षमा।”