प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt विलाप १:१-५:२२
  • विलाप

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • विलाप
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
पवित्र बाइबल नयाँ संसार अनुवाद
विलाप

विलाप

א [आलेफ]*

१ मानिसहरूले भरिभराउ त्यो सहर अहिले सुनसान भएकी छे!+

जातिजातिका सहरहरूमध्ये घना बस्ती भएको त्यो सहर अहिले विधवाजस्तै भएकी छे!+

प्रान्तहरूमा राजकुमारीजस्तै त्यो सहर अहिले दासत्वमा परेकी छे!+

ב [बेथ]

 २ रातभरि त्यो धुरुधुरु रुन्छे;+ त्यसका गाला आँसुले भिजेका छन्‌।

त्यसलाई सान्त्वना दिन त्यसका प्रेमीहरूमध्ये कोही पनि त्यहाँ छैन।+

त्यसका सबै साथीले त्यसलाई धोका दिएका छन्‌;+ तिनीहरू त्यसका शत्रु बनेका छन्‌।

ג [गिमेल]

 ३ यहुदा निर्वासनमा लगिएकी छे+ अनि दुःख र कठोर दासत्वमा परेकी छे।+

त्यसले अरू जातिसित बास गर्नुपर्नेछ;+ त्यसको विश्राम गर्ने कुनै ठाउँ छैन।

त्यसको खेदो गर्नेहरूले त्यसलाई आपत्‌ परेकै बेला पक्रेका छन्‌।

ד [दालेथ]

 ४ सियोन जाने बाटोहरू शोकाकुल छन्‌ किनकि त्यहाँ चाड मनाउन आउने कोही छैन।+

त्यसका सबै ढोका सुनसान छन्‌;+ पुजारीहरू सुस्केरा हाल्दै छन्‌।

त्यसका कन्याहरू* शोकमा डुबेका छन्‌ र त्यो आफै पनि असह्‍य पीडामा छे।

ה [हे]

 ५ त्यसका शत्रुहरू अहिले त्यसको मालिक भएका छन्‌; तिनीहरू निर्धक्क भएर हिँडिरहेका छन्‌।+

सियोनले अनगिन्ती पाप गरेकोले यहोवाले त्यसमाथि दुःख ल्याउनुभएको छ।+

त्यसका बालबच्चालाई शत्रुहरूले कैदमा लगेका छन्‌।+

ו [वाव]

 ६ सियोनकी छोरीको* सबै वैभव गुमेको छ।+

त्यसका राजकुमारहरू चरन नपाएका जरायोहरूजस्तै भएका छन्‌;

आफूलाई खेद्‌नेहरूको अघिअघि तिनीहरू लखतरान भई हिँडिरहेका छन्‌।

ז [जयिन]

 ७ आफूमाथि आइपरेको दुःखको समयमा अनि आफू घरबारविहीन भएको बेला

यरुसलेम पहिले-पहिले आफूसित भएका बहुमूल्य कुराहरू सम्झन्छे।+

जब त्यसका मानिसहरू शत्रुका हातमा परे र त्यसलाई मदत गर्ने कोही भएन,+

तब त्यसको पतन भएको देखेर त्यसका शत्रुहरू हाँसे।+

ח [हेत]

 ८ यरुसलेमले घोर पाप गरेकी छे।+

त्यसैले त्यो घृणित भएकी छे।

त्यसलाई आदर गर्नेहरू अहिले त्यसलाई घृणा गर्छन्‌ किनकि तिनीहरूले त्यसको नग्नता देखेका छन्‌।+

त्यो आफै पनि सुस्केरा हाल्छे+ र लाजले मुख लुकाउँछे।

ט [टेथ]

 ९ त्यसको अशुद्धता त्यसको लुगामा लागेको छ।

त्यसले भविष्यबारे केही सोचिन।+

त्यसको पतन यत्ति डरलाग्दो थियो, त्यो देख्ने सबै तीनछक परे; त्यसलाई सान्त्वना दिने कोही छैन।

हे यहोवा, मेरो कष्ट हेर्नुहोस्‌ किनकि शत्रु ममाथि विजयी भएको छ।+

י [योद]

१० शत्रुले त्यसको सबै धनसम्पत्ति लुटेको छ।+

तपाईँले आफ्नो समुदायमा पस्न निषेध गर्नुभएका अरू जातिका मानिसहरू

पवित्र स्थानमा* प्रवेश गरेको त्यसले देखेकी छे।+

כ [काफ]

११ त्यसका सबै मानिस सुस्केरा हाल्दै छन्‌; तिनीहरू खानेकुरा खोज्दै छन्‌।+

जसोतसो जीवन धान्‍न, अलिकति खानेकुराको निम्ति तिनीहरूले आफूसित भएका बहुमूल्य चिजबिज दिएका छन्‌।

हे यहोवा, हेर्नुहोस्‌, म बेकम्मा स्त्रीजस्तै* भएकी छु।

ל [लामेद]

१२ यो बाटो भएर ओहोरदोहोर गर्नेहरू हो, के तिमीहरूलाई कुनै वास्ता छैन?

मलाई हेर र विचार गर!

यहोवाले आफ्नो भयानक क्रोधको दिनमा

मलाई दिनुभएको पीडा अरू कसैलाई दिनुभएको छ र?+

מ [मेम]

१३ उहाँले माथिबाट मेरो हड्डीमा आगो बर्साउनुभएको छ+ र प्रत्येक हड्डीलाई जलाउनुभएको छ।

उहाँले मेरो खुट्टामा जाल फिँजाउनुभएको छ; उहाँले मलाई फर्कन बाध्य पार्नुभएको छ।

उहाँले मलाई उदास र त्यागिएकी आइमाई बनाउनुभएको छ।

दिनभरि म बिरामी परेकी छु।

נ [नुन]

१४ मेरा अपराधहरू जुवाझैँ बाँधिएका छन्‌; त्यसलाई उहाँले आफ्नै हातले कस्नुभएको छ।

ती अपराधहरू जुवाझैँ मेरो घाँटीमा राखिएका छन्‌; ममा त्यसलाई बोक्ने बल छैन।

यहोवाले मलाई तिनीहरूको हातमा सुम्पिदिनुभएको छ, जसको म सामना गर्नै सक्दिनँ।+

ס [सामेख]

१५ यहोवाले मेरो माझ भएका सबै बलिया मानिसलाई फ्याँक्नुभएको छ।+

मेरा जवान मानिसहरूलाई धुलोपिठो पार्न उहाँले मविरुद्ध सेना जम्मा गर्नुभएको छ।+

यहोवाले यहुदाकी कुमारी छोरीलाई अङ्‌गुर पेल्ने कोलमा पेल्नुभएको छ।+

ע [अयिन]

१६ यी कुराहरूले गर्दा म रुँदै छु;+ मेरो आँखाबाट आँसुको धारा बग्दै छ

किनकि मलाई सान्त्वना दिन सक्नेहरू र बलियो पार्न सक्नेहरू मबाट टाढा छन्‌।

मेरा छोराहरू बेसहारा भएका छन्‌ किनकि शत्रु विजयी भएको छ।

פ [पे]

१७ सियोनले आफ्ना हातहरू फैलाएकी छे+ तर त्यसलाई सान्त्वना दिने कोही छैन।

याकुबविरुद्ध लाग्न यहोवाले तिनका सबै शत्रुलाई हुकुम गर्नुभएको छ।+

तिनीहरूका लागि यरुसलेम घृणित वस्तु भएकी छे।+

צ [सादे]

१८ यहोवा न्यायी हुनुहुन्छ+ तर मैले उहाँका आज्ञाहरू उल्लङ्‌घन गरेँ।+

हे सबै मानिस हो, सुन र मेरो पीडा हेर।

मेरा कन्याहरू र मेरा युवाहरू निर्वासनमा लगिएका छन्‌।+

ק [कोफ]

१९ मैले मेरा प्रेमीहरूलाई गुहारेँ तर तिनीहरूले पनि मलाई धोका दिए।+

जीवन धान्‍न खानेकुरा खोज्दा-खोज्दा मेरा पुजारीहरू र मेरा नाइकेहरू मरेका छन्‌।+

ר [रेश]

२० हे यहोवा हेर्नुहोस्‌, म कस्तो कष्टमा परेकी छु!

मेरा भित्री अङ्‌गहरू* मडारिँदै छन्‌।

मैले घोर विद्रोह गरेकोले मेरो मुटु छियाछिया भएको छ।+

घरबाहिर मानिसहरू तरबारले मर्दै छन्‌;+ घरभित्र पनि मृत्युको त्रास छाएको छ।

ש [शिन]

२१ मानिसहरूले मेरो सुस्केरा सुनेका छन्‌ तर मलाई सान्त्वना दिने कोही छैन।

मेरा सबै शत्रुले मेरो विपत्तिबारे सुनेका छन्‌।

तपाईँले विपत्ति ल्याउनुभएकोमा तिनीहरू खुसी छन्‌।+

तर तपाईँले घोषणा गर्नुभएको दिन आउँदा+ तिनीहरूको हविगत पनि मेरो जस्तै हुनेछ।+

ת [ताव]

२२ तिनीहरूका सबै दुष्कर्म तपाईँसामु देखा परोस्‌ र तपाईँले तिनीहरूसित कठोर व्यवहार गर्नुहोस्‌;+

मैले अपराध गर्दा तपाईँले मसित जस्तो कठोर व्यवहार गर्नुभयो, तिनीहरूसित पनि त्यस्तै व्यवहार गर्नुहोस्‌।

किनकि म ज्यादै सुस्केरा हाल्दै छु र मेरो मन दुर्बल भएको छ।

א [आलेफ]

२ हेर! सियोनकी छोरीलाई* यहोवाले कसरी आफ्नो रिसको बादलले ढाक्नुभएको छ!

इस्राएलको सुन्दरतालाई उहाँले स्वर्गबाट तल पृथ्वीमा फ्याँक्नुभएको छ।+

आफ्नो रिसको दिनमा उहाँले आफ्नो पाउदानलाई बिर्सनुभएको छ।+

ב [बेथ]

 २ यहोवाले पटक्कै दयामाया नदेखाई याकुबको पूरै बस्तीलाई नाश गर्नुभएको छ।

क्रोधित भएर उहाँले यहुदाकी छोरीका किल्लाहरू ध्वस्त पार्नुभएको छ।+

उहाँले त्यसका राजकुमारहरू+ र सम्पूर्ण राज्यलाई+ तल खसालेर तिनीहरूको बदनाम गर्नुभएको छ।

ג [गिमेल]

 ३ आफ्नो भयङ्‌कर रिसमा उहाँले इस्राएलका सबै सिङ भाँचिदिनुभएको छ।*

शत्रुहरू आक्रमण गर्न आउँदा उहाँले आफ्नो दाहिने हात झिक्नुभएको छ;+

याकुबमाथि उहाँको रिस वरपरको सबै थोक भस्म पार्ने आगोसरि दन्केको छ।+

ד [दालेथ]

 ४ शत्रुले जस्तै उहाँले आफ्नो धनुमा ताँदो चढाउनुभएको छ; दुस्मनले जस्तै निसाना लगाउन उहाँको दाहिने हात तयार छ;+

हाम्रो नजरमा प्रिय ठानिएका सबैलाई उहाँले मार्नुभएको छ।+

आगोसरि उहाँको रिस सियोनकी छोरीको पालमा खनिएको छ।+

ה [हे]

 ५ यहोवा हाम्रो शत्रुजस्तै हुनुभएको छ;+

उहाँले इस्राएललाई नाश गर्नुभएको छ।

उहाँले त्यसका सबै किल्ला भत्काइदिनुभएको छ;

त्यसका सबै पर्खाल ढालिदिनुभएको छ।

उहाँकै कारण यहुदामा जताततै शोक र रुवाबासी मच्चिएको छ।

ו [वाव]

 ६ बगैँचाको झुपडीलाई जस्तैगरि यहोवाले आफ्नो मन्दिरलाई तहसनहस पार्नुभएको छ।+

चाडपर्वको उहाँले अन्त गरिदिनुभएको छ।+

उहाँले सियोनबाट विश्रामदिन* र चाडपर्वको सम्झना मेटाइदिनुभएको छ;

बल्दो रिसको कारण उहाँले राजा र पुजारीलाई तिरस्कार गर्नुभएको छ।+

ז [जायिन]

 ७ यहोवाले आफ्नो वेदीलाई त्याग्नुभएको छ;

उहाँले आफ्नो पवित्र स्थानलाई* लत्याउनुभएको छ।+

उहाँले त्यहाँका बलिया पर्खालहरू शत्रुको हातमा सुम्पनुभएको छ।+

तिनीहरूले यहोवाको घरमा चाडको दिनमा जस्तै ठूलो स्वरले रमाहट गरेका छन्‌।+

ח [हेत]

 ८ यहोवाले सियोनकी छोरीको पर्खाल भताभुङ्‌ग पार्ने अठोट गरिसक्नुभएको छ।+

उहाँले त्यसको नाप लिइसक्नुभएको छ।+

त्यसको विनाश गर्नदेखि उहाँले आफ्नो हातलाई रोक्नुभएको छैन।

उहाँले त्यसका गढीहरू अनि पर्खालहरूलाई शोकित तुल्याउनुभएको छ।

उहाँले ती दुवैलाई कमजोर पार्नुभएको छ।

ט [टेथ]

 ९ त्यसका ढोकाहरू जमिनमुनि भासिएका छन्‌।+

उहाँले त्यसका बारहरू भत्काउनुभएको छ र धुलोपिठो पार्नुभएको छ।

त्यसका राजा अनि राजकुमारहरू अर्काको भूमिमा छन्‌।+

त्यहाँ व्यवस्था* पालन गर्ने कोही छैन अनि त्यसका भविष्यवक्‍ताहरूले समेत यहोवाबाट कुनै दर्शन* पाउँदैनन्‌।+

י [योद]

१० सियोनकी छोरीका नाइकेहरू चुपचाप भुईँमा बस्छन्‌।+

तिनीहरू आफ्नो शिरमा धुलो हाल्छन्‌ र भाङ्‌ग्रा लगाउँछन्‌।+

यरुसलेमका कन्याहरू झोक्राएर बस्छन्‌।

כ [काफ]

११ रुँदा-रुँदा मेरा आँखाहरू टट्ट्याइसके।+

मेरा भित्री अङ्‌गहरू* मडारिँदै छन्‌।

मेरा मानिसहरूकी छोरीको* पतन देखेर+

अनि केटाकेटी र दूधेबालक सहरका चोक-चोकमा मुर्छा परेको देखेर+ मेरो मुटु छियाछिया भएको छ।*

ל [लामेद]

१२ तिनीहरू सहरका चोक-चोकमा घाइते मान्छेजस्तै मुर्छा परेर लड्‌दा

अनि आमाको काखमा घिटीघिटी हुँदा

तिनीहरू आफ्ना आमाहरूलाई “खै त आमा, खानेकुरा अनि पिउने कुरा” भन्दै मागिरहन्छन्‌।+

מ [मेम]

१३ हे यरुसलेमकी छोरी, म तिमीलाई केको उदाहरण दिऊँ?

म तिमीलाई केसित तुलना गरूँ?

हे सियोनकी कन्या, म तिमीलाई केसित दाँजेर सान्त्वना दिऊँ?

तिम्रो पीडा समुद्रजत्तिकै गहिरो छ।+ तिमीलाई कसले निको पार्न सक्छ र?+

נ [नुन]

१४ तिम्रा भविष्यवक्‍ताहरूले देखेका दर्शनहरू झूटा र अर्थहीन थिए;+

तिनीहरूले तिम्रो गल्ती औँल्याएनन्‌, त्यसैले तिमी कैदमा पर्नदेखि जोगिएनौ।+

बरु तिनीहरूले तिमीलाई भ्रममा पार्ने झूटा दर्शनहरू बताइरहे।+

ס [सामेख]

१५ तिम्रो बाटो भएर जानेहरू सबैले तिम्रो खिल्ली उडाउँदै ताली पिट्‌छन्‌।+

तिनीहरू छक्क पर्दै सिटी बजाउँछन्‌+ अनि यरुसलेमकी छोरीलाई गिज्याएर टाउको हल्लाउँदै यसो भन्छन्‌:

“मानिसहरूले ‘अति सुन्दर अनि सारा पृथ्वीको आनन्दको मूल’ भन्‍ने गरेको सहर यही होइन र?”+

פ [पे]

१६ तिम्रा सबै शत्रुले तिमीविरुद्ध मुख खोलेका छन्‌।

खिसी गर्दै तिनीहरू सिटी बजाउँछन्‌, दाह्रा किट्‌छन्‌ अनि यसो भन्छन्‌: “हामीले त्यसलाई कप्लक्कै निल्यौँ।+

हामी यही दिन पर्खिरहेका थियौँ!+ आहा! हामीले आफ्नै आँखाले यो दिन देख्न पायौँ!”+

ע [अयिन]

१७ यहोवाले जे सोच्नुभएको थियो, त्यही गर्नुभएको छ;+ उहाँले आफ्नो वचन पूरा गर्नुभएको छ;+

धेरै पहिला जुन आज्ञा दिनुभएको थियो, त्यसैअनुसार गर्नुभएको छ।+

कुनै दयामाया नदेखाई उहाँले तिमीलाई तहसनहस पार्नुभएको छ।+

तिम्रा शत्रुहरूलाई तिमीविरुद्ध रमाउन दिनुभएको छ; तिम्रा शत्रुहरूलाई उहाँले बलवान्‌ बनाउनुभएको छ।

צ [सादे]

१८ हे सियोनकी छोरीको पर्खाल, मानिसहरूको हृदयले यहोवालाई पुकारेको छ।

नदीको भेलजस्तै दिनरात तिम्रो आँसु बगोस्‌।

विश्राम नलेऊ, तिम्रो आँसु नथामियोस्‌।

ק [कोफ]

१९ बिहानीको पहिलो प्रहरमा, उज्यालो नहुँदै उठ र कराऊ।

यहोवासामु आफ्नो मनको बह पानीझैँ पोखाऊ।

खान नपाएर सडक-सडकमा मुर्छा परेर लडिरहेका+

आफ्ना बच्चाहरूको ज्यानको भीख माग्दै परमेश्‍वरसामु आफ्नो दुवै हात फैलाऊ।

ר [रेश]

२० हेर्नुहोस्‌, हे यहोवा, जससित तपाईँले कठोर व्यवहार गर्नुभयो, तिनीहरूमाथि नजर लगाउनुहोस्‌।

के अब स्त्रीहरूले आफ्नै गर्भको फललाई—आफ्नै बच्चालाई खाइरहून्‌?+

अनि के पुजारीहरू अनि भविष्यवक्‍ताहरू यहोवाको पवित्र स्थानमा मारिऊन्‌?+

ש [शिन]

२१ बालक तथा वृद्धहरूका लास बाटो-बाटोमा तेर्सिएका छन्‌।+

मेरा कन्याहरू* अनि युवकहरू तरबारले काटिएका छन्‌।+

तपाईँले आफ्नो रिसको दिनमा तिनीहरूलाई मार्नुभएको छ, कुनै दयामाया नदेखाई तपाईँले तिनीहरूलाई खतम पार्नुभएको छ।+

ת [ताव]

२२ चाडमा+ मानिसहरू भेला गर्नुभएझैँ तपाईँले त्रासलाई मेरो चारैतिर भेला गर्नुभएको छ।

यहोवाको रिसको दिनमा कोही पनि उम्कन पाएन, कोही पनि बाँच्न पाएन;+

ज-जसलाई मैले जन्माएँ र हुर्काएँ, तिनीहरूलाई मेरा शत्रुहरूले नाश गरिदिए।+

א [आलेफ]

३ उहाँको रिसको लौरोले गर्दा दुःख भोग्ने मानिस म नै हुँ।

 २ उहाँले मलाई खेद्‌नुभएको छ र उज्यालोमा होइन, अन्धकारमा हिँड्‌न लगाउनुभएको छ।+

 ३ उहाँ दिनभरि नै घरीघरी आफ्नो हात मविरुद्ध उठाउनुहुन्छ।+

ב [बेथ]

 ४ उहाँले मेरो छाला र मासु धुजाधुजा पार्नुभएको छ

अनि मेरा हड्डीहरू भाँच्नुभएको छ।

 ५ उहाँले मलाई घेर्नुभएको छ; मेरो वरिपरि विषालु झार+ अनि दुःखको बार लगाउनुभएको छ।

 ६ धेरै अघि मरेका मान्छेहरूलाई जस्तै उहाँले मलाई अन्धकारमा बस्न बाध्य पार्नुभएको छ।

ג [गिमेल]

 ७ म उम्कन नसकूँ भनेर उहाँले मेरो चारैतिर पर्खाल लगाउनुभएको छ;

उहाँले मलाई तामाको गह्रौँ साङ्‌लाले बाँध्नुभएको छ।+

 ८ मैले चर्को स्वरले सहायताको निम्ति पुकार्दा पनि उहाँ मेरो प्रार्थना सुन्‍नुहुन्‍न।*+

 ९ उहाँले मेरा सबै बाटो ढुङ्‌गाले छेक्नुभएको छ;

उहाँले मेरा सबै बाटो बाङ्‌गोटिङ्‌गो बनाइदिनुभएको छ।+

ד [दालेथ]

१० उहाँ भालु र लुकिरहेको सिंहजस्तै मलाई आक्रमण गर्न ढुकिबस्नुहुन्छ।+

११ उहाँले मलाई बाटोबाट घिसार्दै लैजानुभएको छ र च्यातचुत पार्नुभएको छ;*

उहाँले मलाई असहाय पार्नुभएको छ।+

१२ उहाँले धनुमा ताँदो चढाउनुभएको छ र मलाई काँड हान्‍न ठिक्क पर्नुभएको छ।

ה [हे]

१३ आफ्नो ठोक्रोमा भएको काँड झिकेर उहाँले मेरो मिर्गौला छेड्‌नुभएको छ।

१४ सबै मानिसको अघि म हाँसोको पात्र भएको छु, दिनभरि नै तिनीहरूको लागि ठट्टाको गीत बनेको छु।

१५ उहाँले मलाई तीता कुराहरूले भरिदिनुभएको छ र तीतेपातीको रस पिउन लगाउनुभएको छ।+

ו [वाव]

१६ रोडा खुवाएर उहाँले मेरा दाँतहरू भाँचिदिनुभएको छ

अनि मलाई खरानीको थुप्रोमा धकेलिदिनुभएको छ।+

१७ तपाईँले मेरो शान्ति खोस्नुभएको छ; खुसी के हो, मैले भुलिसकेको छु।

१८ त्यसैले म भन्छु: “मेरो वैभव मेटिसकेको छ अनि यहोवामाथिको आशा पनि टुटिसकेको छ।”

ז [जयिन]

१९ मेरो दुःखलाई अनि घरबारविहीन अवस्थालाई याद गर्नुहोस्‌,+ जुन मेरो लागि तीतेपाती र विषालु झारसरी भएको छ।+

२० तपाईँले अवश्‍य पनि मलाई सम्झनुहुनेछ अनि मलाई मदत गर्न निहुरिनुहुनेछ।+

२१ यो कुरा मैले आफ्नो मनमा राखेको छु, त्यसैले म तपाईँको बाटो हेरिरहनेछु।+

ח [हेत]

२२ यहोवाको अटल प्रेमले* गर्दा नै हामी अहिलेसम्म नाश भएका छैनौँ+

अनि उहाँको कृपाको अन्त कहिल्यै हुँदैन।+

२३ हरेक बिहानी ती नयाँ हुन्छन्‌;+ तपाईँ एकदमै भरोसायोग्य हुनुहुन्छ।+

२४ म भन्छु, “यहोवा नै मेरो अंश हुनुहुन्छ,+ त्यसैले म उहाँको बाटो हेरिरहनेछु।”+

ט [टेथ]

२५ यहोवामा आशा राख्ने+ र उहाँको खोजी गर्नेहरूका लागि+ उहाँ भलो हुनुहुन्छ।

२६ यहोवाले गर्नुहुने उद्धारलाई+ चुपचाप पर्खनु* नै असल हो।+

२७ आफ्नो युवावस्थामै जुवा बोक्नु मानिसको लागि असल हो।+

י [योद]

२८ परमेश्‍वरले उसको काँधमा जुवा राख्नुहुँदा ऊ एक्लै बसोस्‌ र शान्त रहोस्‌।+

२९ उसले आफ्नो मुखले भुईँ छोओस्‌+ अनि अझै परमेश्‍वरमा आशा गरिरहोस्‌।+

३० आफूलाई हिर्काउने मानिसतिर उसले आफ्नो गाला थापोस्‌ अनि उसले जति अपमान सहन सक्छ, सहोस्‌।

כ [काफ]

३१ किनकि यहोवा हामीलाई सदाको लागि त्याग्नुहुन्‍न।+

३२ उहाँले हामीमाथि दुःख आइपर्न दिनुभए तापनि आफ्नो अपार प्रेमको* कारण हामीलाई कृपा देखाउनुहुनेछ।+

३३ किनकि मानिसका छोराहरूले दुःख र पीडा भोग्दा उहाँको मन खुसी हुँदैन।+

ל [लामेद]

३४ पृथ्वीका सबै कैदीलाई कुल्चीमिल्ची पार्ने,+

३५ सर्वोच्च परमेश्‍वरको अघि मानिसमाथि अन्याय गर्ने,+

३६ मुद्दामामिलामा पक्षपात गर्ने

—यस्ता कुराहरू यहोवा सहनुहुन्‍न।

מ [मेम]

३७ यहोवाले आज्ञा नगरुन्जेल कसले पो बोलेको कुरा पूरा गर्न सक्छ र?

३८ सर्वोच्च परमेश्‍वरको मुखबाट

असल कुरा र खराब कुरा एकैसाथ कहिल्यै निस्कँदैन।

३९ मानिसले* आफ्नो पापको नतिजा भोग्दा किन गनगनाउने?+

נ [नुन]

४० हामी आफैलाई नियालेर आफ्नो मार्ग जाँचौँ+ र यहोवातिर फर्कौँ।+

४१ स्वर्गमा बस्नुहुने परमेश्‍वरलाई चोखो मनले पुकारौँ र आफ्नो दुवै हात उचालेर यसो भनौँ:+

४२ “हामीले गल्ती गऱ्‍यौँ र तपाईँको विरोध गऱ्‍यौँ+ अनि तपाईँले हामीलाई क्षमा गर्नुभएको छैन।+

ס [सामेख]

४३ क्रोधित हुनुभएकोले तपाईँले हामीलाई आफ्नो नजिक आउन दिनुभएको छैन;+

पटक्कै दया नदेखाई तपाईँले हामीलाई खेद्‌नुभएको छ र मार्नुभएको छ।+

४४ तपाईँकहाँ हाम्रो प्रार्थना नपुगोस्‌ भनेर तपाईँले आफूलाई बादलले छेक्नुभएको छ।+

४५ जातिजातिको बीचमा तपाईँले हामीलाई खुर्केर निकालेको फोहोर र कसिङ्‌गरसरह तुल्याउनुभएको छ।”

פ [पे]

४६ हाम्रा सबै शत्रुले हामीविरुद्ध आफ्नो मुख खोलेका छन्‌।+

४७ डर र पासोको भुमरीमा हामी परेका छौँ;+ हामी उजाड र विनाश भएका छौँ।+

४८ मेरा मानिसहरूको* विनाश देखेर मेरो आँखाबाट आँसुको धारा बगेको छ।+

ע [अयिन]

४९ मेरो आँखाबाट धरधरी आँसु बगिरहन्छ; त्यो तबसम्म थामिँदैन,+

५० जबसम्म यहोवाले स्वर्गबाट हेर्नुहुन्‍न र हाम्रो हालत देख्नुहुन्‍न।+

५१ मेरो सहरका छोरीहरूको अवस्था देखेर मेरो मन कटक्क खान्छ।+

צ [सादे]

५२ विनाकारण मेरा शत्रुहरूले मलाई चरालाई झैँ सिकार गरेका छन्‌।

५३ तिनीहरूले मलाई जिउँदै खाल्टोमा पुरेका छन्‌ र ममाथि ढुङ्‌गा बर्साएका छन्‌।

५४ पानी मेरो टाउकोसम्मै आइपुगेको छ अनि मैले भनेँ: “अब म सिद्धिएँ!”

ק [कोफ]

५५ हे यहोवा, खाडलको गहिराइबाट मैले तपाईँको नाम पुकारेँ।+

५६ मेरो बिन्ती सुन्‍नुहोस्‌; मैले सहायता र उद्धारको निम्ति पुकार्दा आफ्नो कान नथुन्‍नुहोस्‌।

५७ मैले पुकार्दा तपाईँ मेरो छेउमै आउनुभयो र भन्‍नुभयो: “नडराऊ!”

ר [रेश]

५८ हे यहोवा, तपाईँले मेरो मुद्दा लड्‌नुभएको छ अनि मोल तिरेर मेरो जीवन बचाउनुभएको छ।+

५९ हे यहोवा, तपाईँले ममाथि भएको अत्याचार देख्नुभएको छ; बिन्ती छ, मलाई न्याय दिलाइदिनुहोस्‌।+

६० तिनीहरूले मसित लिएको बदला अनि मविरुद्ध रचेका सबै षड्‌यन्त्र तपाईँले देख्नुभएको छ।

ש [सिन] वा [शिन]

६१ हे यहोवा, तिनीहरूले मेरो गिल्ला गरेको र मविरुद्ध षड्‌यन्त्रहरू रचेको तपाईँले सुन्‍नुभएको छ।+

६२ मेरा विरोधीहरूले दिनभरि मविरुद्ध मुख चलाएको र कानेखुसी गरेको तपाईँले सुन्‍नुभएको छ।

६३ हेर्नुहोस्‌, तिनीहरू उठ्‌दा-बस्दा मलाई हाँसोमा उडाउने गीतहरू गाउँछन्‌।

ת [ताव]

६४ हे यहोवा, तपाईँले तिनीहरूलाई तिनीहरूको कामअनुसारकै दण्ड दिनुहुनेछ।

६५ तपाईँले तिनीहरूलाई सराप दिनुहुँदा तिनीहरूको हृदय कठोर हुनेछ।

६६ हे यहोवा, रिसले आगो हुँदै तपाईँले तिनीहरूलाई खेद्‌नुहुनेछ र पृथ्वीबाट तिनीहरूको नामोनिसान मेटाउनुहुनेछ।

א [आलेफ]

४ हेर, सुनको चमक हराएको छ, निखुर सुन फिक्का भएको छ!+

हेर, पवित्र ढुङ्‌गाहरू+ सडकको मोड-मोडमा छरपस्ट भएका छन्‌!+

ב [बेथ]

 २ सियोनका अनमोल छोराहरू, जो कुनै समय खारिएको सुनसरह थिए,

अहिले तिनीहरू कुमालेको हातले बनाएका

माटाका भाँडाहरूसरह भएका छन्‌!

ג [गिमेल]

 ३ माउ स्यालले समेत आफ्ना बच्चाहरूलाई थुन चुस्न दिन्छे,

तर मेरो प्रजा निर्जनभूमिको सुतुरमुर्गजस्तै* कठोर भएको छ।+

ד [दालेथ]

 ४ दूधेबालकको जिब्रो तिर्खाले तालुमा टाँसिएको छ।

केटाकेटीहरू खानेकुरा माग्छन्‌+ तर कसैले केही दिँदैन।+

ה [हे]

 ५ कुनै समय मीठामीठा खानेकुरा खानेहरू गल्लीहरूमा भोकभोकै भौँतारिएका छन्‌।+

महँगा-महँगा लुगा लगाउनेहरू*+ खरानीको थुप्रोमा बसेका छन्‌।

ו [वाव]

 ६ मेरा प्रजाले पाएको दण्ड सदोमले आफ्नो पापको कारण पाएको दण्डभन्दा ठूलो छ,+

जसको विनाश क्षणभरमै भएको थियो र जसलाई सहायता गर्ने कोही थिएन।+

ז [जयिन]

 ७ सियोनका नाजिरीहरू+ हिउँभन्दा सफा र दूधभन्दा सेता थिए।

तिनीहरू मुगाभन्दा राता थिए, टल्काइएको नीलमजस्तै थिए।

ח [हेत]

 ८ अहिले तिनीहरू मोसोभन्दा कालो भएका छन्‌;

बाटोघाटोमा कसैले तिनीहरूलाई चिन्दैन।

तिनीहरूको छाला हड्डीमै टाँसिएको छ;+ तिनीहरू सुकेको रूखझैँ खङ्‌ग्रङ्‌ग भएका छन्‌।

ט [टेथ]

 ९ अनिकालले मर्नेहरूभन्दा तरबारले मर्नेहरू बेस हुन्‌;+

खानेकुराको अभावले तिनीहरूलाई तरबारले झैँ छेड्‌छ, तिनीहरू सुकेर जान्छन्‌।

י [योद]

१० दयामायाले भरिएका स्त्रीहरूले समेत आफ्नै हातले आफ्ना बालबच्चा पकाएका छन्‌।+

मेरा प्रजाको विनाशमा ती बालबच्चा नै तिनीहरूको शोकको आहार बनेका छन्‌।+

כ [काफ]

११ यहोवाले आफ्नो क्रोध पोखाउनुभएको छ;

उहाँले आफ्नो भयङ्‌कर रिस पोखाउनुभएको छ।+

अनि उहाँले सियोनमा आगो सल्काउनुभएको छ, जसले गर्दा त्यसका जगहरू भस्म भएका छन्‌।+

ל [लामेद]

१२ यरुसलेमका ढोकाहरूबाट विरोधी र शत्रु भित्र छिर्ला भनेर

न पृथ्वीका राजाहरूले न त धर्तीका कुनै बासिन्दाले चिताएका थिए।+

מ [मेम]

१३ तर त्यहाँका भविष्यवक्‍ताहरूको पाप र पुजारीहरूको अपराधले गर्दा त्यसो भएको हो,+

तिनीहरूले धर्मीहरूको रगत बगाए।+

נ [नुन]

१४ तिनीहरू अन्धाजस्तै गल्ली-गल्लीमा भौँतारिरहेका छन्‌।+

तिनीहरू रगतले बिटुलो भएका छन्‌+

त्यसकारण कसैले पनि तिनीहरूको लुगा छुँदैन।

ס [सामेख]

१५ मानिसहरू तिनीहरूलाई यसो भन्छन्‌: “यहाँबाट गइहाल! तिमीहरू अशुद्ध छौ! गइहाल, गइहाल! हामीलाई नछोओ!”

तिनीहरू घरबारविहीन भएका छन्‌ र यताउता भौँतारिन्छन्‌।

जातिजातिका मानिसहरूले यसो भनेका छन्‌: “तिनीहरूलाई अब हामीसँग बस्न नदेऔँ।*+

פ [पे]

१६ यहोवाले नै तिनीहरूलाई छरपस्ट पार्नुभएको छ;+

अबदेखि उहाँले तिनीहरूको वास्ता गर्नुहुनेछैन।

मानिसहरूले पुजारीहरूको आदर गर्नेछैनन्‌,+ नाइकेहरूको सम्मान गर्नेछैनन्‌।”+

ע [अयिन]

१७ सहायताको निम्ति बाटो हेर्दा-हेर्दा हाम्रा आँखा टट्ट्याइसके।+

हामीलाई बचाउनै नसक्ने जातिको बाटो हामीले व्यर्थैमा हेरेछौँ।+

צ [सादे]

१८ मानिसहरूले पाइला-पाइलामा हाम्रो पिछा गरेकाले+ हामी आफ्नो चोकमा पनि हिँड्‌न सक्दैनौँ।

हाम्रो अन्त नजिकै आएको छ; हाम्रो दिन सिद्धिएको छ; अब हाम्रो अन्त आइसक्यो।

ק [कोफ]

१९ हामीलाई खेद्‌नेहरू आकाशका चीलहरूभन्दा तेज थिए।+

तिनीहरूले हामीलाई पहाडहरूमा खेदे र एकलास ठाउँमा ढुकेर बसे।

ר [रेश]

२० यहोवाको अभिषिक्‍त जन+—हाम्रो जीवनको सास, तिनीहरूले खनेको ठूलो खाल्टोमा परेका छन्‌,+

जसको विषयमा हामी यसो भन्‍ने गर्थ्यौँ: “जातिजातिका मानिसहरूबीच हामी उनको छत्रछायामा बास गर्नेछौँ।”

ש [सिन]

२१ हे उज देशमा बस्ने एदोमकी छोरी, रमाऊ र खुसी होऊ!+

तर पिउनको लागि तिमीलाई पनि प्याला दिइनेछ;+ पिएर तिमी मात्तिनेछ्यौ र तिम्रो नग्नता देखिनेछ।+

ת [ताव]

२२ हे सियोनकी छोरी,* तिम्रो अपराधको सजाय पूरा भएको छ।

उहाँले तिमीलाई फेरि निर्वासनमा लैजानुहुनेछैन।+

तर हे एदोमकी छोरी, तिमीलाई भने उहाँले तिम्रो अपराधको सजाय दिनुहुनेछ।

उहाँले तिम्रो पाप उदाङ्‌ग पार्नुहुनेछ।+

५ हे यहोवा, हामीमाथि के आइपरेको छ, सम्झनुहोस्‌।

हामीले कत्ति बेइज्जती भोग्नुपरेको छ, हेर्नुहोस्‌।+

 २ हाम्रो पुर्ख्यौली सम्पत्ति पराईको अनि हाम्रो घर विदेशीको भएको छ।+

 ३ हामी बुबा नभएका टुहुराटुहुरीजस्तै भएका छौँ अनि हाम्रा आमाहरू विधवाजस्तै भएका छन्‌।+

 ४ हामीले आफ्नै पानी+ अनि आफ्नै दाउरासमेत दाम तिरेर किन्‍नुपरेको छ।

 ५ हामीलाई खेद्‌नेहरूले हाम्रो घिच्रो समाउनै आँटेका छन्‌;

हामी लखतरान भएका छौँ तैपनि हामीले विश्राम पाएका छैनौँ।+

 ६ पेट भर्नको लागि हामीले मिश्रीहरू+ र अस्सेरियालीहरूसामु+ हात फैलाउनुपरेको छ।

 ७ गल्ती गर्ने हाम्रा पुर्खाहरू अहिले छैनन्‌ तर हामीले तिनीहरूको गल्तीको सजाय भोग्नुपरेको छ।

 ८ हाम्रा नोकरहरू हाम्रा शासक भएका छन्‌; हामीलाई तिनीहरूको पन्जाबाट छुटाउने कोही छैन।

 ९ निर्जनभूमिमा तरबार भिरेका शत्रुहरू छन्‌, त्यसैले हामीले आफ्नो ज्यानको खतरा मोलेर खानेकुरा ल्याउनुपरेको छ।+

१० हामी भोकले तड्‌पिएका छौँ र हाम्रो छाला आगोझैँ रन्केको छ।+

११ सियोनमा भएका हाम्रा पत्नीहरू अनि यहुदाका सहरहरूमा भएका हाम्रा कन्याहरूको इज्जत लुटिएको छ।+

१२ हाम्रा शासकहरूको हातलाई बाँधेर तिनीहरूलाई झुन्ड्‌याइयो+ अनि हाम्रा नाइकेहरूप्रति कुनै आदर देखाइएन।+

१३ युवकहरू जाँतो बोक्न बाध्य भएका छन्‌ अनि ठिटाहरू दाउराको भारले थिचिएर ढुनमुनिँदै हिँड्‌छन्‌।

१४ नाइकेहरू सहरको मूलढोकामा बस्दैनन्‌+ अनि जवानहरूले बाजागाजा बजाउन छोडेका छन्‌।+

१५ हाम्रो मनबाट आनन्द हटेको छ; हाम्रो नाच शोकमा बदलिएको छ।+

१६ हाम्रो शिरको मुकुट खसेको छ। धिक्कार छ! किनकि हामीले पाप गरेका छौँ।

१७ त्यसैले हाम्रो मन दुर्बल भएको छ+

अनि हाम्रा आँखाहरू धमिला भएका छन्‌।+

१८ सियोन डाँडा उजाड भएकोले+ त्यहाँ अहिले फ्याउराहरू डुलिहिँड्‌छन्‌।

१९ हे यहोवा, तपाईँ सदासर्वदा आफ्नो सिंहासनमा विराजमान हुनुहुन्छ।

तपाईँको सिंहासन पुस्तौँपुस्तासम्म रहिरहन्छ।+

२० तपाईँ हामीलाई किन चटक्कै बिर्सनुहुन्छ? यत्ति लामो समयसम्म हामीलाई किन त्याग्नुहुन्छ?+

२१ हे यहोवा, हामीलाई फेरि तपाईँकहाँ ल्याउनुहोस्‌; हामी राजीखुसीले तपाईँकहाँ फर्कनेछौँ।+

हामीलाई पहिलाकै दिन फर्काइदिनुहोस्‌।+

२२ तर तपाईँले हामीलाई चटक्कै त्याग्नुभएको छ।

तपाईँ अझै पनि हामीसित साह्रै रिसाउनुभएको छ।+

यस गीतको अध्याय १-४ सम्मको भाग हिब्रू वर्णमालाको क्रमअनुसार छ।

वा “युवतीहरू।”

“सियोनकी छोरी” कवितात्मक अभिव्यक्‍ति हो र सामान्यतया यसले यरुसलेमलाई वा त्यहाँका बासिन्दाहरूलाई जनाउँछ।

शब्दावली हेर्नुहोस्‌।

यहाँ यरुसलेमलाई स्त्रीको रूपमा चित्रण गरिएको छ।

शा., “आन्द्राभुँडी।”

“सियोनकी छोरी” कवितात्मक अभिव्यक्‍ति हो र सामान्यतया यसले यरुसलेमलाई वा त्यहाँका बासिन्दाहरूलाई जनाउँछ।

यसले शक्‍तिहीन तुल्याउनुलाई जनाउँछ।

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “निर्देशन।”

शब्दावली हेर्नुहोस्‌।

शा., “आन्द्राभुँडी।”

यहाँ मानिसहरूलाई कवितात्मक शैलीमा “मानिसहरूकी छोरी” भनेर सम्बोधन गरिएको छ। सायद दया वा सहानुभूति देखाउन यसो गरिएको हुन सक्छ।

शा., “मेरो कलेजो भुईँमा झरेको छ।”

वा “युवतीहरू।”

वा “रोक्नुहुन्छ; तिरस्कार गर्नुहुन्छ।”

वा सम्भवतः “बेकार रहन बाध्य पार्नुभएको छ।”

शब्दावली हेर्नुहोस्‌।

वा “धैर्य गर्दै पर्खनु।”

वा “अटल प्रेमको।”

शा., “जिउँदाले।”

शा., “मेरा मानिसहरूकी छोरीको।”

वा “अस्ट्रिजजस्तै।”

शा., “बैजनी वस्त्र लगाउनेहरू।”

वा “हामीमाझ परदेशी भएर बस्न नदेऔँ।”

“सियोनकी छोरी” कवितात्मक अभिव्यक्‍ति हो र सामान्यतया यसले यरुसलेमलाई वा त्यहाँका बासिन्दाहरूलाई जनाउँछ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने