प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt उपदेशक १:१-१२:१४
  • उपदेशक

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • उपदेशक
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
पवित्र बाइबल नयाँ संसार अनुवाद
उपदेशक

उपदेशक

१ दाउदका छोरा, यरुसलेमका राजा,+ उपदेशकका*+ वचन:

 २ उपदेशक भन्छन्‌, “व्यर्थ! व्यर्थ!

सबै कुरा व्यर्थ छ!”+

 ३ संसारमा* आफूले गरेको सबै काम र कडा मेहनतको सट्टामा

मानिसले आखिर के पाउँछ?+

 ४ पुस्ताहरू आउँछन्‌, पुस्ताहरू जान्छन्‌

तर पृथ्वी भने सधैँभरि रहिरहन्छ।+

 ५ सूर्य उदाउँछ, सूर्य अस्ताउँछ

अनि फेरि उदाउनलाई त्यो हतारिँदै पहिलेकै ठाउँतिर जान्छ।+

 ६ बतास दक्षिणतिर बहन्छ र फेरि घुमेर उत्तरतिर फर्कन्छ।

त्यसले फन्को मार्न छोड्‌दैन; त्यसले चक्कर लगाइरहन्छ।

 ७ सबै खोला बगेर समुद्रमा मिसिन्छन्‌ तैपनि समुद्र कहिल्यै भरिँदैन।+

ती जहाँबाट बग्थे, त्यतैतिर फर्कन्छन्‌ र फेरि बग्न थाल्छन्‌।+

 ८ सबै कुरा थकाइलाग्दा छन्‌।

कसैले ती व्याख्या गर्न सक्दैन।

जति हेरे पनि आँखा थाक्दैन;

जति सुने पनि कान अघाउँदैन।

 ९ संसारमा* नयाँ कुरा केही पनि छैन।+

जे भएको थियो, त्यो फेरि हुनेछ;

जे गरिएको थियो, त्यो फेरि गरिनेछ।

१० के कुनै कुरा देखेर कसैले यसो भन्‍न सक्छ, “हेर त! योचाहिँ नयाँ हो”?

त्यो त उहिलेदेखि नै थियो,

हाम्रो पालाभन्दा अघिदेखि नै।

११ उहिले-उहिलेका मानिसहरूलाई कसैले सम्झँदैन।

पछि आउने पुस्तालाई पनि कसैले सम्झनेछैन

अनि तिनीहरूलाई पनि तिनीहरूपछि आउने पुस्ताले सम्झनेछैन।+

१२ म उपदेशकले यरुसलेमबाट इस्राएलमाथि शासन गर्दै आएको छु।+ १३ मैले आफ्नो सारा हृदय अनि दिमाग लगाएर+ पृथ्वीमा मानिसहरूले के-के गर्दा रहेछन्‌ भनेर नियालेँ।+ ती त मानिसलाई व्यस्त बनाउन परमेश्‍वरले दिनुभएको दिक्कलाग्दो कामबाहेक केही होइन रहेछ।

१४ मैले संसारमा* गरिएका सबै काम पनि केलाएर हेरेँ

तर सबै व्यर्थ रहेछन्‌, केवल बतासलाई खेदेजस्तो।+

१५ जे टेढो छ, त्यसलाई सीधा पार्न सकिँदैन।

जे हातमा छैन, त्यसको गन्ती हुन सक्दैन।

१६ अनि मैले मनमनै सोचेँ: “मैले निकै बुद्धि हासिल गरेको छु। मजति बुद्धिमान्‌ यरुसलेममा पहिला अरू कोही थिएन।+ मैले निकै ज्ञान र बुद्धि हासिल गरेँ।”+ १७ बुद्धि, पागलपन र मूर्खता के हो भनी थाह पाउन म मरिमेटेर लागेँ।+ तर यो पनि बतासलाई खेदेको जस्तो मात्र रहेछ।

१८ किनकि मानिसले जति धेरै बुद्धि प्राप्त गर्छ, ऊ त्यति नै निराश हुन्छ।

आफ्नो ज्ञान बढाउनेले त्यससँगसँगै दुःख पनि बढाउँछ।+

२ त्यसपछि मैले मनमनै यसो भनेँ: “अब मोजमस्ती गरेर हेर्छु। अनि हेरौँ, के फाइदा हुँदो रहेछ।” तर त्यो पनि व्यर्थ रहेछ।

 २ मैले हाँसोको विषयमा भनेँ, “यो पागलपन हो!”

अनि मोजमस्तीको विषयमा भनेँ, “यसबाट के फाइदा हुन्छ र?”

३ मैले रक्सीको मजा लिएर हेरेँ।+ तर आफ्नो होसहवास भने गुमाइनँ।* मैले मूर्ख भएर पनि हेरेँ किनकि दुई दिनको जिन्दगीमा मानिसले संसारमा के गर्दा सबैभन्दा राम्रो हुन्छ, म बुझ्न चाहन्थेँ। ४ मैले ठूलठूला कामहरू गरेँ।+ आफ्नो लागि महलहरू बनाएँ;+ अङ्‌गुरका बगानहरू लगाएँ।+ ५ मैले आफ्नो लागि बगैँचाहरू बनाएँ अनि त्यसमा थरिथरिका फलफूलका रूखहरू लगाएँ। ६ लहलहाउँदा रूखहरू भएको आफ्नो वनमा पानी लगाउन मैले पोखरीहरू बनाएँ। ७ मैले थुप्रै दासदासी राखेँ + र कति त मेरै घरमा पनि जन्मिए। मेरा थुप्रै वस्तुभाउ थिए।+ त्यति धेरै वस्तुभाउ त यरुसलेममा मेरा पुर्खासित पनि थिएन। ८ राजा-रजौटाहरूले आ-आफ्नो इलाकाबाट+ जम्मा गरेका सबै सुनचाँदी मैले थुपारेँ।+ मैले गायक-गायिकाहरू राखेँ। पुरुषहरूको मन बहलाउन स्त्रीहरूको सङ्‌गतभन्दा असल कुरो के होला र? त्यसैले मैले स्त्रीसित, हो, स्त्रीहरूसित सङ्‌गत गरेँ। ९ मसित के मात्र थिएन र? मसित जे-जति थियो, त्यो मभन्दा अघि यरुसलेममा अरू कसैसित थिएन।+ तैपनि मैले आफ्नो सुद्धीबुद्धि गुमाइनँ।

१० मैले आफूलाई इच्छा लागेको सबै कुरा गरेँ।+ मोजमस्ती गर्न मैले कुनै कसर बाँकी राखिनँ। कडा परिश्रम गरेबापत मैले आनन्द पाएँ। त्यो नै मेरो इनाम* थियो।+ ११ तर मैले आफ्ना सबै काम र कडा परिश्रम विचार गरेँ।+ ती सबै व्यर्थ रहेछन्‌, केवल बतासलाई खेदेजस्तो।+ संसारमा* जे गरे पनि केही फाइदा हुँदो रहेनछ।+

१२ त्यसपछि मैले बुद्धि, पागलपन र मूर्खता अपनाएर हेरेँ।+ (राजापछि आउने मानिसले के नै गर्न सक्छ र? त्यही, जुन पहिल्यै गरिसकिएको थियो।) १३ अँध्यारोभन्दा उज्यालो राम्रो भएझैँ मूर्खताभन्दा बुद्धि राम्रो रहेछ+ भनेर मैले बुझेँ।

१४ बुद्धिमान्‌ मानिसले आफू कस्तो मार्गमा हिँडिरहेको छु भनेर राम्ररी देख्छ*+ तर मूर्खचाहिँ अन्धकारमा रुमलिन्छ।+ तर मैले के देखेँ भने, अन्तमा यी दुवैले एउटै नतिजा भोग्दा रहेछन्‌।+ १५ अनि मैले मनमनै भनेँ: “मूर्खलाई जे हुन्छ, त्यो मलाई पनि हुन्छ।”+ त्यसोभए धेरै बुद्धिमान्‌ भएर मलाई के नै फाइदा भयो र? त्यसैले मलाई यो पनि व्यर्थ नै रहेछ भन्‍ने लाग्यो। १६ किनकि बुद्धिमान्‌ होस्‌ या मूर्ख, कसैको पनि सधैँभरि सम्झना गरिनेछैन।+ आखिर एकदिन सबै जना बिर्सिइनेछन्‌। बुद्धिमान्‌को मृत्यु कसरी हुन्छ? जसरी मूर्खको हुन्छ, त्यसरी नै।+

१७ संसारमा* जे-जति काम भइरहेका छन्‌, ती सबै सम्झेर मलाई दुःख लाग्यो+ र आफ्नो जीवनलाई मैले घृणा गर्न थालेँ। किनकि सबै कुरा व्यर्थ रहेछ,+ केवल बतासलाई खेदेको जस्तो।+ १८ संसारमा* मैले जे-जति मेहनत गरेँ, त्यसलाई घृणा गर्न थालेँ + किनकि त्यसको सबै फल मैले अर्कै मानिसलाई छोडेर जानुपर्छ।+ १९ अनि त्यो मानिस मूर्ख हुने हो कि बुद्धिमान्‌, कसलाई के थाह?+ तैपनि मैले संसारमा* आफ्नो सारा बल अनि बुद्धि लगाएर प्राप्त गरेको कुरामाथि त्यसले नै राज गर्नेछ। यो पनि व्यर्थ रहेछ। २० त्यसैले संसारमा* मैले गरेको कडा परिश्रम सम्झेर मलाई विरक्‍त लाग्यो। २१ मानिसले आफ्नो बुद्धि, ज्ञान र सीप चलाएर कडा परिश्रम त गर्छ तर त्यसको फल भने उसले त्यस्तो मानिसलाई सुम्पिनुपर्ने हुन्छ, जसले त्यसको लागि मेहनत गरेकै हुँदैन।+ यो पनि व्यर्थ र साह्रै दुःखलाग्दो कुरा हो।

२२ संसारमा* ठूलठूला कुरा हासिल गर्न मरिमेटेर अनि कडा परिश्रम गरेर मानिसले आखिर के नै पाउँछ र?+ २३ बाँचुन्जेल उसले आफ्नो कामबाट दुःख-पीडा र दिक्दारीबाहेक अरू केही पाउँदैन।+ राती पनि ऊ मजाले निदाउन सक्दैन।+ त्यसैले यो पनि व्यर्थ रहेछ।

२४ मानिसको लागि खानु, पिउनु र आफ्नो कामबाट सन्तुष्टि पाउनुभन्दा उत्तम कुरा अरू केही छैन।+ अनि यो पनि साँचो परमेश्‍वरकै देन हो भनेर मैले बुझेँ।+ २५ आखिर मजति मीठो खाने र पिउने अरू को नै छ र?+

२६ साँचो परमेश्‍वरलाई खुसी तुल्याउने मानिसहरूलाई उहाँ बुद्धि, ज्ञान र आनन्द दिनुहुन्छ।+ तर पापीहरूलाई भने उहाँ जम्मा गर्ने र बटुल्ने काम दिनुहुन्छ। यसरी जम्मा गरिएको र बटुलिएको कुरा पनि उहाँलाई खुसी पार्ने व्यक्‍तिले नै पाउँछ।+ यो पनि व्यर्थ र बतासलाई खेदेको जस्तो मात्र रहेछ।

३ सबै कामको लागि उचित समय छ,

संसारमा हरेक कुराको लागि समय छ:

 २ जन्मने एउटा समय छ, मर्ने एउटा समय;

रोप्ने एउटा समय छ, उखेल्ने एउटा समय;

 ३ मार्ने एउटा समय छ, बचाउने* एउटा समय;

भत्काउने एउटा समय छ, बनाउने एउटा समय;

 ४ रुने एउटा समय छ, हाँस्ने एउटा समय;

शोक गर्ने एउटा समय छ, नाच्ने* एउटा समय;

 ५ ढुङ्‌गा फ्याँक्ने एउटा समय छ, बटुल्ने एउटा समय;

अङ्‌गालो हाल्ने एउटा समय छ, अङ्‌गालो नहाल्ने एउटा समय

 ६ खोज्ने एउटा समय छ, खोज्न छोड्‌ने एउटा समय;

राख्ने एउटा समय छ, मिल्काउने एउटा समय;

 ७ च्यात्ने एउटा समय छ,+ सिउने एउटा समय;

चुप लाग्ने एउटा समय छ,+ बोल्ने एउटा समय;+

 ८ माया गर्ने एउटा समय छ, घृणा गर्ने एउटा समय;+

युद्ध गर्ने एउटा समय छ, मिलाप गर्ने एउटा समय।

९ एउटा कामदारले आफ्नो सारा परिश्रमको फल के पाउँछ?+ १० मानिसलाई अलमल्याउन परमेश्‍वरले दिनुभएका सबै काम पनि मैले देखेँ। ११ उहाँले जे-जे बनाउनुभयो, ती सबै आ-आफ्नो समयमा सुन्दर* हुन्छन्‌।+ उहाँले मानिसको हृदयमा सधैँभरि बाँच्ने विचार पनि राखिदिनुभयो। तैपनि मानिसले साँचो परमेश्‍वरको काम पूर्ण रूपमा* कहिल्यै बुझ्न सक्दैन।

१२ रमाउनु र असल काम गर्नु नै मानिसले जीवनमा गर्न सक्ने सबैभन्दा उत्तम कुरा हो भन्‍ने निष्कर्षमा म पुगेँ।+ १३ साथै खानु, पिउनु र आफ्नो सबै परिश्रमबाट सन्तुष्टि लिनु नै परमेश्‍वरको वरदान हो।+

१४ साँचो परमेश्‍वरले बनाउनुभएका सबै कुरा सधैँका लागि रहन्छन्‌ भनेर पनि मैले बुझेको छु। तिनमा केही थपघट गर्न सकिँदैन। मानिसहरूले परमेश्‍वरको डर मानून्‌ भनेर उहाँले त्यसरी नै सबथोक बनाउनुभएको हो।+

१५ जे कुरा भइरहेका छन्‌, ती पहिल्यै भइसकेका थिए। अनि जे कुरा हुन लागेका छन्‌, ती पनि पहिल्यै भइसकेका थिए।+ तर मानिसहरू जुन कुराको पछि लागेका छन्‌,* साँचो परमेश्‍वर ती पूरा गर्नुहुन्छ।

१६ संसारमा* न्यायलाई दुष्टताले र असल कामलाई* खराब कामले दबाएको पनि मैले देखेँ।+ १७ त्यसैले मैले मनमनै यसो भनेँ: “साँचो परमेश्‍वरले धर्मी र दुष्ट दुवैको इन्साफ गर्नुहुनेछ।+ किनकि सबै कुराको लागि उचित समय छ।”

१८ साँचो परमेश्‍वरले मानिसहरूलाई जाँच्नुहुनेछ भनेर पनि मैले मनमनै भनेँ। त्यसपछि तिनीहरू र जनावरहरूबीच केही भिन्‍नता छैन भनेर तिनीहरूले बुझ्नेछन्‌। १९ किनकि आखिरमा मानिस र जनावर दुवैले एउटै नतिजा भोग्नुपर्छ।+ जनावर मरेझैँ मानिस पनि मर्छ। तिनीहरू सबैमा जीवनको सास हुन्छ।+ त्यसैले मानिस जनावरभन्दा श्रेष्ठ छैन। सबै कुरा व्यर्थ छ। २० तिनीहरू सबै एउटै ठाउँमा जान्छन्‌।+ तिनीहरू माटैबाट आएका हुन्‌+ र माटैमा फिर्ता जानेछन्‌।+ २१ मानिसको सास मास्तिर अनि जनावरको सास तल्तिर जान्छ भनेर कसले बताउन सक्छ?+ २२ आफ्नो काममा रमाउनुभन्दा उत्तम कुरा मानिसको लागि अरू केही छैन भनी मैले देखेँ।+ किनकि त्यो नै उसको इनाम* हो। ऊ मरिसकेपछि के हुन्छ, कसैले उसलाई देखाउन सक्दैन।+

४ मैले संसारमा* भइरहेका अन्याय-अत्याचारलाई नियालेर हेरेँ। अत्याचारमा परेकाहरूको आँसु मैले देखेँ तर तिनीहरूलाई सान्त्वना दिने कोही थिएन।+ अत्याचारीहरू शक्‍तिशाली थिए तर जो अत्याचारमा परेका थिए, तिनीहरूको पक्ष लिएर तिनीहरूलाई सान्त्वना दिने कोही थिएन। २ त्यसैले जिउँदाहरूको भन्दा त मरेकाहरूको हालत अझ राम्रो रहेछ भनेर मैले बुझेँ।+ ३ अझ जन्मँदै नजन्मनु सबैभन्दा उत्तम रहेछ।+ किनकि नजन्मेकाहरूले संसारमा* गरिएका नराम्रा कामहरू देखेकै हुँदैनन्‌।+

४ अनि एउटाले अर्कोलाई उछिन्‍ने धुनमा मानिसहरूले धेरै मेहनत गरेको र सिपालु भएर काम गरेको पनि मैले देखेँ।+ तर यो पनि व्यर्थ र बतासलाई खेदेको जस्तो मात्र रहेछ।

५ आफैलाई हानि हुँदा पनि मूर्खचाहिँ हात बाँधेरै बसिरहन्छ।+

६ मरुन्जेल* मेहनत गरेर बतासलाई खेद्‌नुभन्दा बरु केही बेर* आराम गर्नु नै बेस हो।+

७ संसारमा* गरिने अर्को व्यर्थ कामलाई पनि मैले नियालेर हेरेँ। ८ यस्तो मानिस पनि हुँदो रहेछ: ऊ नितान्त एक्लो छ, उसको कोही साथी छैन। उसको छोरा वा दाजुभाइ कोही पनि छैन। तैपनि ऊ एकछिन पनि आराम नगरीकन मेहनत गरिरहन्छ। जति सम्पत्ति बटुले पनि उसको मन भरिँदैन।+ के उसले कहिल्यै यसरी विचार गर्ला, ‘असल कुराहरूबाट आफैलाई वञ्चित गरेर म कसको लागि यत्तिका मेहनत गर्दै छु’?+ यो पनि व्यर्थ र दुःखलाग्दो काम रहेछ।+

९ एकभन्दा दुई असल हो।+ तिनीहरूले आफ्नो मेहनतको मीठो फल पाउँछन्‌। १० किनकि यदि एउटा लड्‌यो भने अर्कोले आफ्नो साथीलाई उठाउनेछ। तर कुनै मानिस लड्‌दा उसलाई उठाउने कोही पनि छैन भने उसको हालत के होला?

११ दुई जना सँगै सुते भने तिनीहरूलाई न्यानो हुन्छ। तर एक्लै त कसरी न्यानो हुने? १२ कोही एक्लै छ भने उसलाई शत्रुले हराउन सक्छ। तर दुई जना मिलेर त शत्रुको प्रतिकार गर्न सक्छन्‌। अनि तीन सुताले बाटिएको डोरी सजिलै चुँडिँदैन।

१३ बुढेसकाल लागेर पनि अरूको सल्लाह नसुन्‍ने+ मूर्ख राजाभन्दा गरिब तर बुद्धिमान्‌ बालक नै असल हो+ १४ किनभने गरिब परिवारमा जन्म लिएर+ पनि त्यो बालक त्यस राजाको शासन चलिरहेकै बेला झ्यालखानाबाट निस्केर राजा बन्यो।+ १५ संसारमा* मैले जिउँदाहरू जति सबैलाई नियालेँ। साथै राजाको ठाउँ लिने त्यो बालकलाई पनि मैले विचार गरेँ। १६ उसको पक्षमा खडा हुनेहरू प्रशस्तै होलान्‌ तर तिनीहरूभन्दा पछि आउने पुस्ताले उसलाई मन पराउनेछैन।+ यो पनि व्यर्थ र केवल बतासलाई खेदेको जस्तो रहेछ।

५ साँचो परमेश्‍वरको भवनमा जाँदा होस गर।+ किनकि मूर्खहरू त्यहाँ बलिदान चढाउन त जान्छन्‌ तर आफूले गरिरहेको काम खराब छ भनी तिनीहरूलाई यादै हुँदैन। त्यसैले त्यहाँ जाँदा मूर्खले जस्तो बलिदान चढाउनुभन्दा+ परमेश्‍वरको कुरा सुन्‍नु बेस हो।+

२ बोल्नलाई हतार नगर। साँचो परमेश्‍वरको अगाडि सोचविचार गरी बोल+ किनकि साँचो परमेश्‍वर स्वर्गमा हुनुहुन्छ र तिमीचाहिँ तल पृथ्वीमा छौ। त्यसैले तिमीले थोरै बोल्नु नै उचित हुन्छ।+ ३ ज्यादै चिन्ता-फिक्री गर्नेले सपना देख्छ+ अनि धेरै बोल्नेले मूर्ख कुरा गर्छ।+ ४ तिमीले परमेश्‍वरलाई कुनै भाकल गऱ्‍यौ भने त्यो पूरा गर्न ढिलो नगर+ किनकि आफ्नो भाकल पूरा नगर्ने मूर्खहरूसित उहाँ प्रसन्‍न हुनुहुन्‍न।+ त्यसैले जे भाकल गर्छौ, त्यो पूरा गर।+ ५ भाकल गरेर पूरा नगर्नुभन्दा त भाकलै नगर्नु बेस हो।+ ६ तिम्रो जिब्रोले तिमीलाई पाप गर्न नलगाओस्‌।+ अनि स्वर्गदूतसामु* यसो नभन्‍नू, ‘मैले गलत बोलेछु।’+ आफ्नो बोलीले किन परमेश्‍वरलाई रिस उठाउँछौ? तिम्रो हातको काम नष्ट गर्न किन उहाँलाई बाध्य पार्छौ?+ ७ किनकि ज्यादै चिन्ता-फिक्री गर्दा सपना देखेझैँ+ धेरै बोल्दा व्यर्थ कुरा बोल्न पुगिन्छ। तर तिमी भने साँचो परमेश्‍वरको डर मान।+

८ यदि कुनै ठाउँमा एक जना अफिसरले गरिबमाथि थिचोमिचो गरेको वा अन्याय-अत्याचार गरेको तिमीले देख्यौ भने नआत्तिऊ।+ किनकि ऊभन्दा माथिल्लो दर्जाको अफिसरले उसको निगरानी गरिरहेको हुन्छ। त्यसैगरि त्यस अफिसरमाथि पनि अझै अरू अफिसर खटाइएका हुन्छन्‌।

९ साथै जमिनको उब्जनी तिनीहरू सबैले पाउँछन्‌। राजाले समेत त्यही उब्जनी खान्छन्‌।+

१० रुपैयाँ-पैसाको लोभ गर्ने मानिसलाई जति भए पनि पुग्दैन। धनसम्पत्तिको लोभ गर्ने मानिस कहिल्यै सन्तुष्ट हुँदैन।+ यो पनि व्यर्थ हो।+

११ धनसम्पत्ति बढेपछि त्यसको उपभोग गर्नेहरू पनि बढ्‌छन्‌।+ धनी मानिसले आफ्नो धनसम्पत्तिलाई टुलुटुलु हेरेर बस्नुबाहेक अरू के नै गर्न सक्छ र?+

१२ अरूको सेवा गर्नेले चाहे आधापेट खाएको होस्‌ या पेटभरि, उसलाई मीठो निद्रा लाग्छ। तर धनी मानिसको प्रशस्त धनसम्पत्तिले गर्दा उसलाई निद्रै लाग्दैन।

१३ संसारमा* मैले एउटा साह्रै दुःखलाग्दो कुरा देखेँ: धनी मानिसले बटुलेको धनसम्पत्तिले उसकै हानि गर्छ। १४ उसको लगानी डुब्छ र उसले सबै सम्पत्ति गुमाउँछ। अनि जब उसको छोरा जन्मन्छ, तब छोरालाई दिन ऊसँग केही बाँकी हुँदैन।+

१५ मानिस आफ्नी आमाको गर्भबाट नाङ्‌गै आउँछ र जाँदा पनि नाङ्‌गै जान्छ।+ आफूले परिश्रम गरेबापत उसले आफूसँग केही पनि लिएर जान सक्दैन।+

१६ यो पनि साह्रै दुःखलाग्दो कुरा हो: मानिस नाङ्‌गै आउँछ अनि नाङ्‌गै जान्छ। जीवनभर मेहनत गर्ने मानिसलाई आखिर के नै फाइदा हुन्छ र? यो पनि बतासलाई खेदेको जस्तो मात्र हो।+ १७ त्यस्तो मानिसले कहिल्यै सुखको गाँस निल्न पाउँदैन किनकि उसको जीवन दिक्दारी, रोगबिमार र रिसरागले भरिएको हुन्छ।+

१८ साँचो परमेश्‍वरले दिनुभएको यो छोटो जीवनमा मानिसको लागि सबैभन्दा उत्तम कुरा भनेको खानु, पिउनु र संसारमा* आफूले गरेको सारा परिश्रमबाट सन्तुष्टि लिनु नै रहेछ+ भनेर मैले बुझेँ। किनकि यो नै परमेश्‍वरले दिनुहुने वरदान* हो।+ १९ यदि साँचो परमेश्‍वरले कुनै मानिसलाई प्रशस्त धनसम्पत्ति दिनुका साथै त्यसबाट आनन्दित हुने क्षमता पनि दिनुभएको छ+ भने उसले त्यो वरदान* स्विकारोस्‌ र आफ्नो परिश्रममा रमाओस्‌। त्यो नै परमेश्‍वरको उपहार हो।+ २० साँचो परमेश्‍वरले उसको हृदय आनन्दले भरिदिनुभएकोले उसलाई आफ्ना दिनहरू* बितेको पत्तै हुँदैन।+

६ संसारमा* मैले अर्को एउटा दुःखलाग्दो कुरा पनि देखेँ र थुप्रै मानिसको अवस्था त्यस्तै थियो: २ मानिसले चाहेजति सबै कुरा पाओस्‌ भनेर साँचो परमेश्‍वरले उसलाई प्रशस्त धनसम्पत्ति र मानसम्मान दिनुहुन्छ तर त्यसबाट आनन्दित हुने क्षमता भने दिनुहुन्‍न। बरु परदेशीलाई उसको सम्पत्तिमा रमाउन दिनुहुन्छ। यो पनि व्यर्थ र साह्रै दुःखलाग्दो कुरा हो। ३ यदि कुनै मानिस दीर्घायु भयो र उसका १०० जना छोराछोरी पनि भए तर मर्नुअघि जीवनमा उसले आफूसित भएको उत्तम कुराहरूबाट आनन्द उपभोग गरेन भने त्यस्तो मानिसभन्दा त बरु जन्मँदै मरेको शिशु असल हो।+ ४ त्यो शिशुको जन्म व्यर्थ भयो र ऊसँगसँगै उसको नाम अन्धकारमै बिलायो। ५ हुनत उसले घामको उज्यालो कहिल्यै देख्न पाएन र केही पनि जान्‍ने-बुझ्ने मौका पाएन तैपनि त्यो दीर्घायु मानिसको भन्दा उसको अवस्था अझ असल हो।+ ६ हुन पनि कोही १ हजार वर्ष बाँच्यो वा २ हजार वर्षसम्मै बाँच्यो तर उसले जीवनको आनन्द उठाएन भने के फाइदा भयो र? आखिर सबै मानिस जाने ठाउँ एउटै होइन र?+

७ मानिसले पेट भर्नकै लागि भएभरको मेहनत गर्छ+ तैपनि उसको मन कहिल्यै भरिँदैन। ८ मूर्ख मानिस र बुद्धिमान्‌ मानिसबीच केही भिन्‍नता छैन।+ गरिब मानिसले गरिबीमै आफ्नो जीवन धान्‍न जानेर पनि उसलाई केही फाइदा हुँदैन। ९ पाउन नसक्ने कुराको पछि लाग्नुभन्दा आफ्नो अगाडि जे छ, त्यसैमा सन्तुष्ट हुनु बेस हो। किनकि यो पनि व्यर्थ हो, केवल बतासलाई खेदेजस्तो।

१० जे-जति कुरा अस्तित्वमा छन्‌, ती सबैको नाम राखिसकिएको छ। मानिसको स्वभाव कस्तो हुन्छ, त्यो पनि स्पष्टै भइसकेको छ। मानिसभन्दा शक्‍तिशाली जो हुनुहुन्छ, उहाँसामु उसले आफूलाई निर्दोष साबित गर्न सक्दैन। ११ मानिसले जति धेरै बोल्छ, उसको कुरा त्यति नै व्यर्थ हुन्छ। त्यसबाट उसलाई केही फाइदा हुँदैन। १२ मानिसको जीवन त बिलाएर जाने छायाजस्तै छ।+ यो छोटो* जीवनमा मानिसले गर्न सक्ने सबैभन्दा उत्तम कुरा के हो भनेर कसले भन्‍न सक्छ? ऊ मरिसकेपछि संसारमा* के हुन्छ भनेर उसलाई कसले पो बताउन सक्छ र?

७ असल नाम किम्मती तेलभन्दा असल हुन्छ।+ अनि मृत्युको दिन जन्मेको दिनभन्दा उत्तम हो। २ भोजको घरमा जानुभन्दा शोक परेको घरमा जानु बेस हो+ किनकि मृत्यु नै सबै मानिसको अन्त हो। जिउँदाहरूले यो कुरा मनमा राख्नुपर्छ। ३ ठट्टा गरेर हाँस्नुभन्दा उदास हुनु बेस हो+ किनकि अँध्यारो अनुहारले मान्छेको मन सुधार्छ।+ ४ बुद्धिमान्‌ मानिसले शोक परेको घरमा गएर जीवन र मृत्युबारे गहिरिएर सोच्छ तर मूर्खले भने मोजमस्तीबारे मात्रै सोच्छ।+

५ मूर्खहरूको वाहवाही* सुन्‍नुभन्दा बुद्धिमान्‌ मानिसको हप्की सुन्‍नु बेस हो।+ ६ किनकि मूर्खको हाँसो भाँडोमुनिको आगोमा पड्‌कने काँडाजस्तै हुन्छ।+ यो पनि व्यर्थ हो। ७ थिचोमिचोमा परेपछि बुद्धिमान्‌ मानिसले मूर्ख काम गर्छ अनि घुसले मान्छेको हृदयलाई भ्रष्ट पार्छ।+

८ कुनै कुराको सुरुवातभन्दा त्यसको अन्त उत्तम हुन्छ। अहङ्‌कारी हुनुभन्दा धैर्य गर्नु बेस हो।+ ९ कुनै पनि कुरामा चित्त दुखाइहाल्ने नगर।+ त्यसो त मूर्खले मात्र गर्छ।*+

१० उहिले-उहिलेका दिन किन अहिलेका भन्दा राम्रा थिए भनेर नसोध। किनकि यसरी सोध्नु बुद्धिमानी होइन।+

११ बुद्धिका साथसाथै धनसम्पत्ति पनि छ भने त्यो उत्तम कुरा हो र दिनको उज्यालो देख्नेहरूले* त्यसबाट लाभ उठाउँछन्‌। १२ किनकि जसरी रुपैयाँ-पैसाले सुरक्षा दिन्छ,+ त्यसरी नै बुद्धिले पनि सुरक्षा दिन्छ+ तर ज्ञान र बुद्धिले भने मानिसको जीवन बचाउँछ।+

१३ साँचो परमेश्‍वरको कामलाई विचार गर। उहाँले बाङ्‌गो बनाउनुभएको कुरालाई कसले सीधा पार्न सक्छ?+ १४ सुखको दिनमा सुख बाँड+ अनि दुःखको* दिनमा भने यो कुरा मनमा राख: आफूलाई भविष्यमा के हुनेछ भनी मानिसले थाह नपाओस्‌+ भनेर नै परमेश्‍वरले सुखको दिन र दुःखको दिन दुवै रहन दिनुभएको हो।+

१५ आफ्नो यो छोटो* जीवनमा+ मैले नदेखेको केही छैन। असलै काम गरे पनि धर्मी मानिस अकालमा मरेको+ तर दुष्ट भने खराब काम गरे पनि दीर्घायु भएको+ मैले देखेको छु।

१६ आफूलाई बढ्‌तै धर्मी नठान+ अनि अरूसामु आफूलाई ज्यादै बुद्धिमान्‌ पनि नदेखाऊ।+ यसो गरेर तिमी किन आफैलाई हानि पुऱ्‍याउँछौ?+ १७ ज्यादै दुष्ट र मूर्ख पनि नहोऊ।+ तिमी किन अकालमै मर्न चाहन्छौ?+ १८ एउटा अर्ती सुनेर अर्कोलाई बेवास्ता नगर्नु असल हो किनकि परमेश्‍वरको डर मान्‍नेले दुवै अर्ती सुन्छ।+

१९ बुद्धिले मानिसलाई सहरका १० बलिया मानिसभन्दा पनि शक्‍तिशाली बनाउँछ।+ २० किनकि सधैँ असल काम गर्ने र कहिल्यै पाप नगर्ने धर्मी मानिस पृथ्वीमा कोही छैन।+

२१ साथै मानिसहरूले भन्‍ने एक-एक कुरामा ध्यान नदेऊ,+ नत्र तिम्रै नोकरले तिमीलाई सरापेको* तिमीले सुनौला। २२ किनकि तिमी आफैले पनि थुप्रै चोटि अरूलाई सरापेका छौ भनी तिमीलाई राम्ररी थाह होला।+

२३ मैले आफ्नो बुद्धि चलाएर यी सबै कुरा जाँचेर हेरेँ। अनि मैले सोचेँ: “म बुद्धिमान्‌ हुन्छु।” तर त्यो त मेरो क्षमताबाहिरको कुरा रहेछ। २४ जे-जे भएका छन्‌, ती बुझ्नै नसकिने र निकै गहिरा छन्‌। ती कुराहरूलाई कसले बुझ्न सक्छ?+ २५ बुद्धि के हो र जे भइरहेको छ, त्यो किन हुन्छ; मानिसहरू किन मूर्ख भएर खराब काम गर्छन्‌ अनि किन व्यर्थ कुराको पछि लागेर तिनीहरू आफ्नो पागलपन देखाउँछन्‌, त्यो बुझ्न मैले मन लगाएँ, ठाउँठाउँ चहारेँ अनि खोजीनिती गरेँ।+ २६ तब मैले यो कुरा थाह पाएँ: मृत्युभन्दा पनि खतरनाक त त्यस्ती स्त्री हुँदी रहिछे, जो सिकारीको जालजस्तै हुन्छे, जसको हृदय माछा मार्ने जालजस्तै हुन्छ र जसका हातहरू कैदीहरूलाई बाँध्ने साङ्‌लाजस्तै हुन्छन्‌। साँचो परमेश्‍वरलाई खुसी पार्नेहरू त्यसको फन्दाबाट उम्कन्छन्‌+ तर पापीहरूलाई भने त्यसले आफ्नो जालमा फसाउँछे।+

२७ उपदेशक* भन्छन्‌,+ “हेर, मैले बुझेको कुरा यही हो। मैले एकपछि अर्को गर्दै विभिन्‍न कुरालाई जाँचेर हेरेँ। २८ मैले जे कुराको निरन्तर खोजी गरेँ, त्यो अहिलेसम्म पाउन सकेको छैनँ। मैले १,००० जना मानिसमा १ जना असल पुरुष भेट्टाएँ तर असल स्त्री भने १ जना पनि भेट्टाउन सकिनँ। २९ मैले बुझेको कुरा यही हो: साँचो परमेश्‍वरले मानिसजातिलाई असल बनाउनुभएको थियो+ तर तिनीहरू भने आफैले बनाएका छली योजनाहरूको पछि लागे।”+

८ बुद्धिमान्‌ मानिसजस्तो को छ? समस्या समाधान गर्न सक्ने* को छ? बुद्धिले मानिसको अनुहारलाई उज्यालो बनाउँछ र मलिन अनुहारलाई हँसिलो बनाउँछ।

२ राजाको आदेश पालन गर+ किनकि तिमीले परमेश्‍वरसामु शपथ खाएका छौ।+ ३ राजाको सामुन्‍नेबाट हतार-हतार निस्कन नखोज।+ गलत कुराको पक्ष नलेऊ।+ राजाले आफूलाई जे ठीक लाग्छ, त्यही गर्न सक्छन्‌। ४ किनकि राजाको बोलीमा अख्तियार हुन्छ।+ ‘यो के गर्नुभएको’ भनेर कसले तिनलाई सोध्न सक्छ?

५ आज्ञा पालन गर्ने मानिसले हानि भोग्नुपर्दैन।+ बुद्धिमान्‌ मानिसलाई कुनै काम गर्ने ठीक बेला र तरिका थाह हुन्छ।+ ६ मानिसका समस्याहरू अनगिन्ती छन्‌, त्यसैले सबै कुराको लागि उचित समय र तरिका छ।+ ७ पछि के हुनेछ भनेर कसैलाई पनि थाह हुँदैन। त्यसैले भविष्यमा कुन कुरा कसरी हुनेछ भनी कसैले बताउन सक्दैन।

८ कसैले पनि आफ्नो जीवनलाई* जोगाइराख्न वा वशमा राख्न सक्दैन न त कसैले आफ्नो मृत्युको दिनलाई टार्न नै सक्छ।+ जसरी युद्धको बेला कुनै सिपाहीले छुट्टी पाउँदैन, त्यसैगरि दुष्ट काम गर्ने मानिस उसको दुष्ट्‌याइँबाट उम्कन सक्दैन।*

९ मैले यी सब देखेँ। संसारमा* गरिएका सबै कामबारे बुझ्नलाई मैले आफ्नो मन लगाएँ। एउटाले अर्कोलाई दबाएर मानिसले आफैलाई हानि पुऱ्‍याइरहेको मात्रै मैले देखेँ।+ १० ती दुष्टहरू गाडिएको मैले देखेँ, जो पवित्र ठाउँबाट भित्र-बाहिर गर्ने गर्थे। तर जुन सहरमा तिनीहरू दुष्ट काम गर्थे, त्यस सहरबाट तिनीहरूको सम्झना चाँडै लोप भएर गयो।+ यो पनि व्यर्थ रहेछ।

११ खराब कामको सजाय तुरुन्तै नपाएकोले+ मानिसहरू खराबी गर्न झनै सुरिन्छन्‌।+ १२ दुष्ट मानिस १०० चोटि दुष्ट काम गरेर दीर्घायु भए पनि मलाई यति कुरा थाह छ कि आखिरमा साँचो परमेश्‍वरको डर मान्‍ने मानिसको नै भलो हुन्छ।+ १३ तर दुष्टको भने भलो हुँदैन।+ दुष्टले छायासरी बिलाउने आफ्नो जीवनलाई लम्ब्याउन सक्दैन+ किनकि उसले परमेश्‍वरको डर मान्दैन।

१४ पृथ्वीमा अर्को एउटा व्यर्थ* कुरा पनि मैले देखेँ: धर्मी मानिसलाई अपराधीलाई जस्तो व्यवहार गरिएको थियो+ र अपराधीलाई चाहिँ धर्मी मानिसलाई जस्तो व्यवहार गरिएको थियो।+ यो पनि व्यर्थ हो।

१५ त्यसैले म भन्छु, जीवनमा रमाउनु नै ठीक हो।+ किनकि संसारमा* खानु, पिउनु र रमाइलो गर्नुभन्दा उत्तम कुरा मानिसको लागि अरू केही छैन। साँचो परमेश्‍वरले संसारमा* मानिसलाई दिनुभएको यो छोटो जीवनमा उसले मेहनतका साथसाथै यी कुराहरू पनि गर्नुपर्छ।+

१६ मैले बुद्धि प्राप्त गर्न र पृथ्वीमा भइरहेका सबै काम विचार गर्न आफ्नो मन लगाएँ,+ रातदिन नसुतीकनै मैले त्यसो गरेँ।* १७ मैले साँचो परमेश्‍वरका सबै कामलाई विचार गरेँ अनि के थाह पाएँ भने संसारमा* भएका सबै कुरा मानिसले बुझ्न सक्दैन।+ मानिसले जति नै कोसिस गरे पनि ती कुराहरू बुझ्न सक्दैन। मानिसले आफू जति नै बुद्धिमान्‌ भएको दाबी गरे पनि वास्तवमा उसले त्यो बुझ्न सक्दैन।+

९ मैले यी सबै कुरा राम्ररी विचार गरेँ र के थाह पाएँ भने, धर्मी मानिस र बुद्धिमान्‌ मानिस अनि तिनीहरूका काम पनि साँचो परमेश्‍वरकै हातमा हुन्छन्‌।+ आफू जन्मनुअघि संसारमा प्रेम वा घृणा कत्तिको व्याप्त थियो, मानिसले बुझ्न सक्दैन। २ चाहे कोही दुष्ट होस्‌ वा धर्मी,+ भला र शुद्ध होस्‌ वा अशुद्ध, चाहे कसैले बलिदान चढाओस्‌ वा नचढाओस्‌, आखिर सबैले एउटै नतिजा भोग्छन्‌।+ राम्रो काम गर्ने मानिस र पापी मानिस अनि सोचविचार नगरी शपथ खाने मानिस र शपथ खानुअघि सोचविचार गर्ने मानिस सबैको अन्तिम नतिजा उस्तै हुन्छ। ३ संसारमा* यो कुरा साह्रै दुःखलाग्दो छ: सबैले एउटै दुर्दशा भोग्ने भएकोले+ मानिसको हृदय खराब कुराले भरिएको हुन्छ। जीवनभर तिनीहरू पागलपन देखाउँछन्‌ र अन्तमा मर्छन्‌।

४ जिउँदाहरूको लागि आशा छ किनकि मरेको सिंहभन्दा त जिउँदो कुकुर* नै बेस हो।+ ५ जिउँदाहरूलाई आफू एकदिन मर्नेछु भनेर थाह हुन्छ+ तर मरेकाहरूलाई भने केही पनि थाह हुँदैन+ न त तिनीहरूले केही प्राप्त गर्न नै सक्छन्‌। किनकि तिनीहरू जिउँदाहरूको सम्झनाबाट बिलाएर जान्छन्‌।+ ६ तिनीहरूको प्रेम, घृणा र ईर्ष्या सबै तिनीहरूसँगसँगै बिलाउँछ। संसारमा* गरिने कुनै पनि काममा तिनीहरूले फेरि भाग लिन सक्दैनन्‌।+

७ साँचो परमेश्‍वर तिम्रो काम देखेर खुसी हुनुभएको छ।+ त्यसैले जाऊ र रमाउँदै आफ्नो भोजन खाऊ अनि खुसी भएर दाखमद्य* पिऊ।+ ८ तिमीले सधैँ उज्यालो रङ्‌गको लुगा* लगाउनू अनि शिरमा तेल लगाउन नबिर्सनू।+ ९ परमेश्‍वरले संसारमा* तिमीलाई दिनुभएको यो छोटो* जीवन आफ्नी प्यारी पत्नीसित आनन्दपूर्वक बिताऊ।+ किनभने त्यो नै तिम्रो छोटो* जीवनको हिस्सा अनि यो संसारमा* तिमीले पसिना बगाएर गरेको मेहनतको फल हो।+ १० तिम्रो हातमा जे काम छ, त्यो आफ्नो पूरा बल लगाएर गर किनकि चिहानमा,* जहाँ तिमी जानेछौ, त्यहाँ तिमीले न कुनै काम गर्न न केही सोच्न नै सक्नेछौ अनि तिमीसित न ज्ञान न बुद्धि नै हुनेछ।+

११ संसारमा* मैले अर्को एउटा कुरा पनि देखेँ। वेग कुदाइले सधैँ दौड जितिँदैन, वीरताले सधैँ विजय प्राप्त हुँदैन,+ बुद्धि हुँदैमा सधैँ पेटभरि खान पाइँदैन, सीप हुँदैमा सधैँ धनसम्पत्ति हात लाग्दैन+ अनि प्रशस्त ज्ञान हुँदैमा सधैँ सफल भइँदैन।+ किनभने कुनै पनि बेला मानिसले चिताउँदै नचिताएको घटना घट्‌न सक्छ, जसलाई टारेर टार्न सकिँदैन। १२ आफ्नो बेला कहिले आउँछ, मानिसलाई थाह हुँदैन।+ जसरी माछा जालमा अनि चरा पासोमा पर्छ, त्यसैगरि मानिसको जीवनमा अचानक आपत्‌ आइपर्छ र त्यसले उसलाई घेर्छ।

१३ बुद्धिबारे मैले संसारमा* अर्को एउटा कुरा पनि देखेँ र त्यो कुरा मलाई निकै घत लाग्यो: १४ एउटा सानो सहर थियो, त्यहाँ थोरै मानिस बस्थे। एक जना शक्‍तिशाली राजा त्यस सहरको विरुद्धमा आए, त्यस सहरलाई घेरा हाले र त्यसको वरिपरि ठूलठूला पर्खाल खडा गरे। १५ त्यस सहरमा एक जना गरिब तर बुद्धिमान्‌ मानिस पनि बस्थ्यो। उसले आफ्नो बुद्धि चलाएर त्यस सहरलाई जोगायो। तर त्यो गरिब मानिसलाई कसैले पनि सम्झेन।+ १६ अनि मैले मनमनै यसो भनेँ: ‘शक्‍तिशाली हुनुभन्दा बुद्धिमान्‌ हुनु असल हो।+ तैपनि गरिब मानिसको बुद्धिलाई सबैले अवहेलना गर्छन्‌, उसको कुरा कसैले सुन्दैन।’+

१७ मूर्खहरूमाझ शासन गर्नेको चर्को स्वर सुन्‍नुभन्दा बुद्धिमान्‌ मानिसको सुमधुर बोली सुन्‍नु असल हो।

१८ हातहतियारभन्दा बुद्धि असल हो। तैपनि एक जना पापीको कामले थुप्रै राम्रा कुरालाई नष्ट गरिदिन्छ।+

१० जसरी मरेका झिँगाहरूले सुगन्धित तेललाई दुर्गन्धित पार्छ र त्यसलाई बिगार्छ, त्यसरी नै एउटा सानो मूर्खताले मानसम्मान पाएको बुद्धिमान्‌ मानिसको बदनाम गर्छ।+

२ बुद्धिमान्‌ मानिसको हृदयले उसलाई सही बाटोमा डोऱ्‍याउँछ* तर मूर्खको हृदयले भने उसलाई गलत बाटोमा डोऱ्‍याउँछ।*+ ३ मूर्ख चाहे जुनसुकै बाटोमा लागोस्‌, त्यससित बुद्धिको कमी हुन्छ।+ आफू मूर्ख भएको कुरा त्यसले सबैलाई थाह दिन्छ।+

४ यदि शासकको रिस तिमीमाथि दन्कियो भने आफ्नो ठाउँ नछोड।+ किनकि शान्त स्वभावले मानिसलाई ठूलठूला पाप गर्नदेखि रोक्छ।+

५ संसारमा* मैले एउटा साह्रै दुःखलाग्दो कुरा देखेँ। अख्तियार पाएकाहरूले यस्ता गल्ती गर्दा रहेछन्‌:+ ६ मूर्खहरू उच्च ओहदामा नियुक्‍त हुन्छन्‌ तर सक्षम* मानिसहरू भने तल्लो ओहदामै रहन्छन्‌।

७ नोकरहरू घोडामा सवार भएको तर भारदारहरूचाहिँ नोकरझैँ पैदल हिँडेको मैले देखेको छु।+

८ जसले खाडल खन्छ, ऊ आफै त्यसमा पर्न सक्छ।+ जसले पर्खाल भत्काउँछ, उसैलाई सर्पले डस्न सक्छ।

९ ढुङ्‌गा फोर्नेलाई उसले फोरेको ढुङ्‌गाले नै घाइते बनाउन सक्छ, दाउरा चिर्नेलाई उसले चिरेको दाउराले नै चोट पुऱ्‍याउन सक्छ।*

१० जसले आफ्नो बन्चरो बोधो हुँदाहुँदै पनि उध्याउँदैन, उसले आफ्नो बल खेर फाल्छ। तर जससित बुद्धि छ, ऊ आफ्नो काममा सफल हुन्छ।

११ सपेरा जतिसुकै सिपालु भए पनि सर्पलाई नचाउनुअघि नै त्यसले उसलाई डस्यो भने के फाइदा भयो र?

१२ बुद्धिमान्‌ मानिसको मुखबाट मीठो बोली निस्कन्छ।+ तर मूर्खको बोलीले त्यसैको हानि गर्छ।+ १३ सुरुमा त्यसले मूर्खताले भरिएको कुरा गर्छ+ अनि हुँदाहुँदा यति पागल कुरा गर्छ कि त्यसले विपत्ति निम्त्याउँछ। १४ तैपनि मूर्ख चुप लाग्दैन।+

भविष्यमा के हुन्छ, मानिसलाई थाह हुँदैन। ऊ मरेपछि के हुन्छ भनेर उसलाई कसले पो बताउन सक्छ?+

१५ मूर्खको मेहनतले त्यसैलाई थकाउँछ किनकि त्यसलाई सहर जाने बाटोसमेत थाह हुँदैन।

१६ जुन देशको राजा ठिटै छ र जहाँका भारदारहरू बिहानैदेखि भोजभतेरमा मस्त हुन्छन्‌, त्यस देशको अवस्था कत्ति नाजुक होला!+ १७ तर जुन देशका राजा असल घरानाका हुन्छन्‌ र जहाँका भारदारहरू लट्ठ हुनलाई नभई बल पाउनलाई उचित समयमा खानपिन गर्छन्‌, त्यस देशको अवस्था कत्ति राम्रो हुन्छ!+

१८ अल्छी मानिसको घरको धुरी भत्कन्छ र हात बाँधेर बस्नेको घर चुहिन्छ।+

१९ भोजनले मानिसलाई आनन्दित तुल्याउँछ र मद्यले जीवनमा खुसीयाली ल्याउँछ।+ तर हरेक आवश्‍यकता पूरा गर्न पैसा चाहिन्छ।+

२० राजालाई आफ्नो मनमा* समेत नसराप।+ आफ्नो सुत्ने कोठामा धनी मानिसको निन्दा नगर। नत्र त एउटा चराले तिम्रो कुरा तिनीहरूकहाँ लैजाला अथवा कुनै पन्छीले तिम्रो कुरा तिनीहरूसामु दोहोऱ्‍याइदेला।

११ आफ्नो रोटी पानीमा फालिदेऊ+ किनकि धेरै दिनपछि तिमीले त्यो फिर्ता पाउनेछौ।+ २ आफूसित भएको कुरा सात-आठ जनासित बाँड+ किनकि पृथ्वीमा पछि के-कस्तो विपत्ति आइपर्नेछ, तिमीलाई थाह छैन।

३ जब बादल पानीले भरिन्छ, तब त्यो पृथ्वीमा बर्सन्छ। रूख चाहे दक्षिणतिर लडोस्‌ या उत्तरतिर, त्यो जतातिर लड्‌छ, त्यतै तेर्सिन्छ।

४ बतासको चिन्ता गर्नेले कहिल्यै बिउ छर्दैन। पानी पर्ला भनेर सुर्ता गर्नेले कहिल्यै कटनी गर्दैन।+

५ गर्भमा हुर्कँदै गरेको बच्चाको हड्डीमा जीवनशक्‍तिले* कसरी काम गर्छ,+ तिमीलाई थाह नभएजस्तै साँचो परमेश्‍वरका कामहरू तिमी थाह पाउन सक्दैनौ। किनकि उहाँ सबथोक गर्नुहुन्छ।+

६ बिहान सबेरै बिउ छर्न थाल र साँझसम्मै छरिरह।+ किनकि तिमीले छरेको कुनचाहिँ बिउ उम्रन्छ अनि कुनचाहिँ उम्रँदैन अथवा सबै पो उम्रने हुन्‌ कि, तिमी जान्दैनौ।

७ ज्योति राम्रो हुन्छ र घामको उज्यालो देख्न पाउनु आँखाको लागि राम्रो हो। ८ यदि कोही वर्षौँ बाँच्छ भने उसले ती सबै वर्ष हाँसीखुसी बिताओस्‌।+ तर उसले यो पनि याद राखोस्‌, उसको जीवनमा थुप्रै अँध्यारा दिनहरू आउन सक्छन्‌। अनि आउन लागेका ती दिनहरू पनि व्यर्थ छन्‌।+

९ त्यसैले हे युवा हो, आफ्नो युवावस्थामा रमाऊ र आफ्नो जोबन हाँसीखुसी बिताऊ। तिम्रो हृदय र तिम्रो आँखाले तिमीलाई जता डोऱ्‍याउँछ, त्यतै जाऊ। तर यो कुरा याद राख, साँचो परमेश्‍वरले तिमीले गर्ने सबै कुराको लेखा लिनुहुन्छ।+ १० त्यसैले तिमीलाई दुःखी बनाउने कुरा हृदयबाट निकालिदेऊ र तिम्रो शरीरलाई हानि पुऱ्‍याउने कुरादेखि अलग बस किनकि युवावस्था र जवानी व्यर्थ हुन्‌।+

१२ त्यसैले युवावस्थामै आफ्नो महान्‌ सृष्टिकर्ताको सम्झना गर,+ दुःखका* दिनहरू आउनुअघि नै,+ जब तिमीले भन्‍नेछौ, “अब त केही गर्ने मन छैन।” २ घाम, जून र ताराको उज्यालो अन्धकारमा परिणत हुनुअघि नै;+ मुसलधारे पानी परेर फेरि बादल मडारिनुअघि नै; ३ जब घरका पहरेदारहरू थरथर काँप्न थाल्छन्‌, बलिया मानिसहरू कुप्रो पर्छन्‌, सङ्‌ख्यामा थोरै भएकाले स्त्रीहरू जाँतो पिँध्न छोड्‌छन्‌ र झ्यालबाहिर चियाएर हेर्ने स्त्रीहरूको सामुन्‍ने अन्धकार छाउँछ;+ ४ जब बाटोमा जाने ढोकाहरू बन्द गरिन्छन्‌, जाँतोको आवाज मधुरो हुँदै जान्छ, चराको चिरबिर सुनेर मान्छेको निद्रा भङ्‌ग हुन्छ र छोरीहरूको गीत मधुरो हुँदै जान्छ;+ ५ जब मानिसलाई अग्ला-अग्ला ठाउँमा जाँदा कहाली लाग्छ र ऊ सडकमा खुलेआम हिँड्‌न डराउँछ; जब कागजी बदामको रूखमा फूल फुल्छ,+ फट्‌याङ्‌ग्रा घस्रेर हिँड्‌न थाल्छ, कबरा* पाकेर फुट्‌छ अनि मानिस आफ्नो स्थायी निवासतर्फ लाग्छ+ र बाटोमा शोक गर्नेहरूको ताँती लाग्छ;+ ६ जब चाँदीको धागो चुँडिन्छ, सुनको कचौरा चर्किन्छ, पानीको मुहानमा भएको गाग्रो फुट्‌छ र कुवाबाट पानी उघाउने घिर्नी टुक्राटुक्रा हुन्छ; ७ तब माटोबाट आएको मानिस माटोमै फर्कन्छ+ र जीवनशक्‍तिचाहिँ* जीवन दिने साँचो परमेश्‍वरकहाँ फर्कन्छ।+

८ उपदेशक*+ भन्छन्‌, “व्यर्थ! व्यर्थ! सबै कुरा व्यर्थ छ!”+

९ उपदेशक बुद्धिमान्‌ मात्र थिएनन्‌, तिनले मानिसहरूलाई आफूले जाने-बुझेको कुरा पनि सिकाइरहे।+ साथै उपदेशहरूको सङ्‌ग्रह तयार पार्न* तिनले निकै सोचविचार गरे र विभिन्‍न कुराको खोज-अनुसन्धान पनि गरे।+ १० उपदेशकले मीठामीठा शब्दहरू छाने+ र सत्य कुराहरू लेख्न ठीकठीक शब्द चलाए।

११ बुद्धिमान्‌ मानिसका कुराहरू सुइरोजस्तै* हुन्छन्‌;+ तिनले सङ्‌कलन गरेका भनाइहरू दह्रोसित ठोकिएका किलाहरूजस्तै हुन्छन्‌। किनकि ती सब एकै जना गोठालोबाट आएका हुन्‌। १२ तर हे मेरो छोरो, यीबाहेक अरू कुरामा ध्यान नदेऊ किनकि पुस्तकहरू लेख्ने कामको अन्त कहिल्यै हुँदैन र तिनको धेरै अध्ययन गर्नेले आफैलाई थकाउँछ।+

१३ त्यसैले जेजति सुनियो, ती सबैको निष्कर्ष यही हो: साँचो परमेश्‍वरको भय मान+ र उहाँको आज्ञा पालन गर।+ यो नै मानिसले पूरा गर्नुपर्ने कर्तव्य हो।+ १४ किनकि साँचो परमेश्‍वरले मानिसका सबै कामलाई, हो, गुप्तमा गरेको कामलाई समेत नियाल्नुहुन्छ र ती सही हुन्‌ कि गलत भनेर छुट्ट्याउनुहुन्छ।+

हिब्रू भाषामा कोहेलेथ। यसको अर्थ हो, “सभा बोलाउने, मानिसहरूलाई भेला पार्ने व्यक्‍ति।”

शा., “सूर्यमुनि।” यो शब्द उपदेशकको किताबमा २९ पटक प्रयोग गरिएको छ।

शा., “सूर्यमुनि।”

शा., “सूर्यमुनि।”

वा “बुद्धि भने गुमाइनँ।”

वा “भाग।”

शा., “सूर्यमुनि।”

शा., “बुद्धिमान्‌ मानिसको आँखा उसको शिरमा हुन्छ।”

शा., “सूर्यमुनि।”

शा., “सूर्यमुनि।”

शा., “सूर्यमुनि।”

शा., “सूर्यमुनि।”

शा., “सूर्यमुनि।”

शा., “निको पार्ने।”

शा., “उफ्रने।”

वा “व्यवस्थित; सही; उचित।”

शा., “साँचो परमेश्‍वरको सुरुदेखि अन्तसम्मको काम।”

वा सम्भवतः “तर जे कुरा बितिसकेका छन्‌।”

शा., “सूर्यमुनि।”

वा “धार्मिकतालाई।” शब्दावलीमा “धार्मिकता” हेर्नुहोस्‌।

वा “भाग।”

शा., “सूर्यमुनि।”

शा., “सूर्यमुनि।”

शा., “दुई मुठी।”

शा., “एक मुठी।”

शा., “सूर्यमुनि।”

शा., “सूर्यमुनि।”

वा “सन्देशवाहकसामु।”

शा., “सूर्यमुनि।”

शा., “सूर्यमुनि।”

वा “भाग।”

वा “भाग।”

वा “आफ्नो आयु।”

शा., “सूर्यमुनि।”

वा “व्यर्थ।”

शा., “सूर्यमुनि।”

शा., “गीत।”

वा सम्भवतः “त्यो मूर्ख मानिसको चिनारी हो।”

अर्थात्‌, जीवितहरूले।

वा “विपद्‌को।”

वा “व्यर्थ।”

वा “तिम्रो कुरा काटेको।”

वा “सभा बोलाउने, मानिसहरूलाई भेला पार्ने व्यक्‍ति।”

वा “कुराको अर्थ खोल्न सक्ने।”

हिब्रू भाषामा रुवाक। शब्दावलीमा “रुवाक; न्युमा” हेर्नुहोस्‌।

वा सम्भवतः “दुष्टहरूको युक्‍तिले तिनीहरूलाई बचाउन सक्दैन।”

शा., “सूर्यमुनि।”

वा “दिक्कलाग्दो।”

शा., “सूर्यमुनि।”

शा., “सूर्यमुनि।”

वा सम्भवतः “अनि यो देखेँ कि मानिस न दिनमा सुत्छ न रातमा सुत्छ।”

शा., “सूर्यमुनि।”

शा., “सूर्यमुनि।”

इस्राएलीहरू कुकुरलाई अशुद्ध जनावर ठान्थे।

शा., “सूर्यमुनि।”

अङ्‌गुरबाट बनेको रक्सी।

यसले शोक गर्दा लगाउने लुगालाई नभई मनको प्रसन्‍नता झल्काउने पहिरनलाई जनाउँछ।

शा., “सूर्यमुनि।”

वा “व्यर्थ।”

वा “व्यर्थ।”

शा., “सूर्यमुनि।”

हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

शा., “सूर्यमुनि।”

शा., “सूर्यमुनि।”

शा., “बुद्धिमान्‌ मानिसको हृदय उसको दाहिने हातमा हुन्छ।”

शा., “मूर्खको हृदय उसको देब्रे हातमा हुन्छ।”

शा., “सूर्यमुनि।”

शा., “धनी।”

वा सम्भवतः “दाउरा चिर्ने होसियार हुनुपर्छ।”

वा सम्भवतः “आफ्नो ओछ्यानमा।”

यसले परमेश्‍वरको शक्‍तिलाई पनि जनाउन सक्छ।

वा “विपद्‌का।”

भोक जगाउने एक प्रकारको फल।

हिब्रू भाषामा रुवाक। शब्दावलीमा “रुवाक; न्युमा” हेर्नुहोस्‌।

वा “सभा बोलाउने, मानिसहरूलाई भेला पार्ने व्यक्‍ति।”

वा “उपदेशहरूलाई क्रमअनुसार मिलाएर राख्न।”

शब्दावली हेर्नुहोस्‌।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने