प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt अय्युब १:१-४२:१७
  • अय्युब

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • अय्युब
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
पवित्र बाइबल नयाँ संसार अनुवाद
अय्युब

अय्युब

१ उज भन्‍ने देशमा अय्युब*+ नाम गरेका मानिस बस्थे। तिनी निर्दोष र सत्यनिष्ठ थिए।*+ तिनी परमेश्‍वरको डर मान्थे र खराब कुराहरूबाट टाढै बस्थे।+ २ तिनका सात छोरा र तीन छोरी थिए। ३ तिनका ७ हजार भेडा, ३ हजार उँट, १ हजार गाईवस्तु* र ५०० गधैनी थिए। अनि धेरै नोकरचाकर पनि थिए। त्यसैले तिनी पूर्वतिरका* मानिसहरूमध्ये सबैभन्दा धनी थिए।

४ तिनका छोराहरूले पालैपालो* आफ्नो घरमा भोज दिने गर्थे। उनीहरू आफ्ना तीन जना दिदीबहिनीलाई पनि सँगै खानपिन गर्न बोलाउँथे। ५ आफ्ना सबै छोराको भोज दिने पालो सिद्धिएपछि अय्युब आफ्ना छोराछोरीलाई बोलाउँथे र उनीहरूलाई चोख्याउँथे। तिनी बिहान सबेरै उठ्‌थे र प्रत्येक छोराछोरीको लागि अग्निभेटी* चढाउँथे।+ किनभने अय्युब यस्तो सोच्ने गर्थे: “कतै मेरा छोराछोरीले पाप गरे कि वा मनमनै परमेश्‍वरको अपमान पो गरे कि?” तिनी सधैँ यसै गर्थे।+

६ एकदिन साँचो परमेश्‍वरका छोराहरू*+ उहाँसामु भेला भए।+ सैतान+ पनि तिनीहरूसँगै यहोवासामु उपस्थित भयो।+

७ यहोवाले सैतानलाई सोध्नुभयो: “तँ कहाँ पुगेर आइस्‌?” सैतानले यहोवालाई जवाफ दियो: “पृथ्वीको चारैतिर घुमफिर गरेर आएँ।”+ ८ अनि यहोवाले सैतानलाई भन्‍नुभयो: “तैँले मेरो दास अय्युबलाई याद गरिस्‌? पृथ्वीमा ऊजस्तो अरू कोही छैन। ऊ निर्दोष र सत्यनिष्ठ छ;+ मेरो डर मान्छ र खराब कुराहरूबाट टाढै बस्छ।” ९ तब सैतानले यहोवालाई जवाफ दियो: “अय्युबले विनास्वार्थ तपाईँको डर मानेको हो र?+ १० तपाईँले उसलाई, उसको घरपरिवारलाई र ऊसँग भएका सबै कुरालाई चारैतिरबाट रक्षा गर्नुभएको छैन र?+ तपाईँले उसको फलिफाप गराउनुभएको छ+ र उसको वस्तुभाउ बढेर अनगिन्ती भएका छन्‌। ११ तर एक चोटि आफ्नो हात पसारेर ऊसँग भएको सबै कुरा खोसेर त हेर्नुहोस्‌। उसले तपाईँकै मुखको सामुन्‍ने तपाईँलाई सराप्नेछ।” १२ अनि यहोवाले सैतानलाई भन्‍नुभयो: “हुन्छ, त्यसोभए अय्युबसँग भएको सबै कुरा तेरै हातमा दिन्छु। केवल उसको शरीरलाई चाहिँ केही हानि नगर्‌।” तब सैतान यहोवाको सामनेबाट गयो।+

१३ एकदिन अय्युबका छोराछोरी आफ्नो जेठो दाइको घरमा भेला भएका थिए। तिनीहरू खाँदै र रक्सी पिउँदै थिए।+ १४ त्यसै दिन एक जना मानिस यस्तो सन्देश लिएर अय्युबकहाँ आयो: “गोरुहरू जोतिरहेका थिए र नजिकै गधाहरू पनि चरिरहेका थिए। १५ अचानक सबाका मानिसहरूले आक्रमण गरे र ती सबै लिएर गए। तिनीहरूले तपाईँका नोकरचाकरलाई तरबारले मारे। म मात्र उम्केँ र तपाईँलाई यो सन्देश दिन आएँ।”

१६ ऊ बोल्दाबोल्दै अर्को एक जना अय्युबकहाँ आयो र यसो भन्यो: “आकाशबाट परमेश्‍वरको आगो बर्सियो* अनि त्यसले भेडाको बथान र गोठालाहरूलाई भस्म पाऱ्‍यो। म मात्र उम्केँ र तपाईँलाई यो सन्देश दिन आएँ।”

१७ ऊ बोल्दाबोल्दै अर्को एक जना पनि अय्युबकहाँ आयो र यसो भन्यो: “कल्दियालीहरू+ तीन दल बनाएर आक्रमण गर्न आए। तिनीहरूले उँटहरू लगे र तपाईँका नोकरचाकरलाई तरबारले मारे। म मात्र उम्केँ र तपाईँलाई यो सन्देश दिन आएँ।”

१८ ऊ बोल्दाबोल्दै फेरि अर्को एक जना अय्युबकहाँ आयो र यसो भन्यो: “तपाईँका छोराछोरी आफ्नो जेठो दाइको घरमा खाँदै र पिउँदै थिए। १९ एक्कासि मरुभूमिबाट ठूलो हुरी आयो र त्यसले घरलाई गर्ल्यामगुर्लुम ढाल्यो अनि तपाईँका सबै छोराछोरी मारिए। म मात्र उम्केँ र तपाईँलाई यो सन्देश दिन आएँ।”

२० यो सुनेर अय्युब उठे। तिनले आफ्नो लुगा च्याते र कपाल खौरे। त्यसपछि भुईँमा घोप्टो परेर २१ यसो भने:

“आमाको गर्भबाट म नाङ्‌गै आएँ

र नाङ्‌गै फर्केर जानेछु।+

यहोवाले दिनुभयो+ र यहोवाले नै लानुभयो।

यहोवाको नामको सधैँ प्रशंसा होस्‌।”

२२ यी सबै भोगेर पनि अय्युबले परमेश्‍वरविरुद्ध पाप गरेनन्‌ वा आफूले भोगेको अन्यायको दोष परमेश्‍वरलाई लगाएनन्‌।

२ फेरि एकदिन साँचो परमेश्‍वर यहोवाका छोराहरू*+ उहाँसामु भेला भए।+ सैतान पनि तिनीहरूसँगै यहोवासामु उपस्थित भयो।+

२ त्यसपछि यहोवाले सैतानलाई सोध्नुभयो: “तँ कहाँ पुगेर आइस्‌?” सैतानले यहोवालाई जवाफ दियो: “पृथ्वीको चारैतिर घुमफिर गरेर आएँ।”+ ३ अनि यहोवाले सैतानलाई भन्‍नुभयो: “तैँले मेरो दास अय्युबलाई याद गरिस्‌? पृथ्वीमा ऊजस्तो अरू कोही छैन। ऊ निर्दोष र सत्यनिष्ठ छ;+ मेरो डर मान्छ र खराब कुराहरूबाट टाढै बस्छ। तर तैँले विनाकारण मलाई सुऱ्‍याउने कोसिस गरिस्‌ र उसलाई नाश गर्न खोजिस्‌।+ तर हेर्‌, ऊ आफ्नो निष्ठामा ढलपल भएको छैन।”+ ४ तर सैतानले यहोवालाई जवाफ दियो: “छालाको सट्टा छाला। आफ्नो ज्यान जोगाउन मानिस जे गर्न पनि तयार हुन्छ। ५ त्यसैले एक चोटि आफ्नो हात पसारेर उसको शरीरमा प्रहार गरेर त हेर्नुहोस्‌, उसले तपाईँकै मुखको सामुन्‍ने तपाईँलाई सराप्नेछ।”+

६ यहोवाले सैतानलाई भन्‍नुभयो: “हुन्छ, त्यसोभए अय्युब तेरै हातमा भयो। केवल उसको ज्यानचाहिँ नली!” ७ तब सैतान यहोवाको सामनेबाट गयो। अनि त्यसले अय्युबलाई प्रहार गऱ्‍यो र अय्युबको शिरदेखि पैतालासम्म पीडादायी पिलोहरू निस्कियो।+ ८ त्यसपछि अय्युब खरानीको थुप्रोमा बसे+ र खपटा लिएर आफ्नो जीउ कन्याउन थाले।

९ अय्युबको यस्तो हालत देखेर तिनकी पत्नीले यसो भनिन्‌: “के तपाईँ अझै आफ्नो निष्ठामा अडिग हुनुहुन्छ? यस्तो दुःख भोग्नुभन्दा त परमेश्‍वरलाई सरापेर मर्नु नै बेस!” १० तर अय्युबले यसो भने: “तिमी कस्तो मूर्ख आइमाईजस्तै कुरा गर्छ्यौ। साँचो परमेश्‍वरले दिनुभएको सुख भोगेर दुःखचाहिँ नभोग्नु र?”+ यी सबै कष्ट भोगेर पनि अय्युबले परमेश्‍वरविरुद्ध एउटै अपशब्द बोलेनन्‌।+

११ अय्युबमाथि आइपरेको विपत्तिबारे सुनेपछि तिनका तीन जना साथी:* एलिपज+ तेमानी, बिल्दद+ सुही+ र जोपर+ नामाती आ-आफ्नो ठाउँबाट हिँडे। तिनीहरूले सँगै भेटेर अय्युबकहाँ जाने अनि तिनलाई सहानुभूति र सान्त्वना दिने योजना मिलाए। १२ तिनीहरूले अय्युबलाई टाढैबाट देखे तर चिन्‍नै सकेनन्‌। तिनलाई देख्नेबित्तिकै तिनीहरू डाँको छोडेर रुन थाले र तिनीहरूले आफ्नो लुगा च्याते अनि हावामा धुलो हुर्ऱ्याए र आफ्नो टाउकोमा धुलो हाले।+ १३ तिनीहरू सात दिन र सात रातसम्म अय्युबसँगै भुईँमा बसे। तिनीहरूमध्ये कसैले एक शब्द पनि बोलेन किनभने अय्युबलाई साह्रै पीडा भइरहेको तिनीहरूले देखे।+

३ त्यसपछि अय्युबले मुख खोले र आफू जन्मेको दिनलाई धिक्कार्न थाले।+ २ तिनले भने:

 ३ “धिक्कार! म जन्मेको त्यस दिनलाई।+

‘छोरो जन्मियो’ भनिएको त्यस रातलाई।

 ४ त्यो दिन अन्धकारले भरियोस्‌।

परमेश्‍वरले त्यस दिनको वास्तै नगरून्‌।

त्यसले ज्योति देख्नै नपाओस्‌।

 ५ त्यस दिनलाई निस्पट्ट अन्धकारले निलोस्‌,

कालो बादलले छोपोस्‌।

घोर अन्धकारले त्यसलाई भयभीत पारोस्‌।

 ६ त्योजस्तो अन्धकार अरू कुनै रात नहोस्‌।+

वर्षमा त्यसको गन्ती नै नहोस्‌।

महिनाहरूमा त्यसको हिसाबै नरहोस्‌।

 ७ त्यो रात कोही नजन्मेको भए हुन्थ्यो।

खुसीको स्वर त्यसले सुन्‍न नपाएको भए हुन्थ्यो।

 ८ ए लेवियातानलाई*+ जगाउन सक्नेहरू हो!

दिनलाई सराप्नेहरू हो!

त्यस दिनलाई सराप।

 ९ त्यसले ताराहरूको चमक देख्न नपाओस्‌।

ज्योति देख्ने त्यसको पर्खाइ व्यर्थ होस्‌।

त्यसले बिहानीको उषा देख्न नपाओस्‌।

१० किन त्यसले मेरी आमाको कोख थुनेन?+

किन त्यसले मलाई संसारको दुःख देखायो?

११ म किन जन्मँदै मरिनँ?

आमाको कोखबाट निस्कँदै किन नाश भइनँ?+

१२ किन मैले आमाको न्यानो काख पाएँ?

किन मलाई मेरी आमाको दूध चुसाइयो?

१३ नत्र त म अहिले चैनसित बसिरहेको हुन्थेँ,+

गहिरो निद्रामा मस्त निदाइरहेको हुन्थेँ।+

१४ पृथ्वीका शासक र तिनका सल्लाहकारहरूसँगै,

जसले बनाएका भवनहरू अहिले भत्किसकेका छन्‌।*

१५ ती भारदारहरूसँगै, जससित प्रशस्त सुन थियो,

जसका घरहरू चाँदीले भरिभराउ थिए।

१६ म किन गर्भमै खेर गइनँ?

ज्योति देख्न नपाउँदै बितेका शिशुहरूझैँ म किन मरिनँ?

१७ त्यहाँ* दुष्टहरू पनि छटपटाउन छोड्‌छन्‌।

थकितहरूले विश्राम पाउँछन्‌।+

१८ कैदीहरू पनि मुक्‍त हुन्छन्‌।

तिनीहरूले काममा जोताउनेहरूको स्वर सुन्दैनन्‌।

१९ त्यहाँ साना र ठूला बराबर हुन्छन्‌।+

त्यहाँ दास आफ्नो मालिकबाट स्वतन्त्र हुन्छ।

२० दुःख भोगिरहेकाहरूलाई परमेश्‍वर किन ज्योति* दिनुहुन्छ?

जीवनदेखि विरक्‍त भएकाहरूलाई उहाँ किन जीवित राख्नुहुन्छ?+

२१ तिनीहरू मृत्युको तिर्सना गर्छन्‌ तर मृत्यु आउँदैन।+

गाडेको धन खोजेभन्दा पनि बेसी तिनीहरू त्यसको खोजी गर्छन्‌।

२२ मृत्युले निल्ने भयो भनेर थाह पाउँदा तिनीहरू खुसीले उफ्रन्छन्‌।

मृत्युले निल्दा तिनीहरू गद्‌गद हुन्छन्‌।

२३ जसले बाटो बिराएको छ र जसलाई परमेश्‍वर आफैले छेक्नुभएको छ,+

त्यसलाई उहाँ किन ज्योति दिनुहुन्छ?

२४ मेरो सुस्केरा नै मेरो भोजन भएको छ।+

मेरो रोदन+ पानीको भेलजस्तै छ।

२५ जुन कुराको मलाई डर थियो,

जुन कुराले मेरो आङ जिरिङ्‌ग पार्थ्यो,

त्यही नै ममाथि आइपरेको छ।

२६ सुख, चैन, शान्ति के हो; मैले भुलिसकेँ।

विपत्तिले मलाई छोड्‌दै छोड्‌दैन।”

४ तब एलिपज+ तेमानीले अय्युबलाई यसरी जवाफ दिए:

 २ “कसैले बोल्न खोज्दा तपाईँ किन झर्को मान्‍नुहुन्छ?

तर अब म नबोली बस्न सक्दिनँ।

 ३ म मान्छु, तपाईँले धेरैलाई सरसल्लाह दिनुभएको छ,

असहायलाई मदत गर्नुभएको छ।

 ४ ठेस खाएकाहरू तपाईँको वचन सुनेर उठ्‌ने गर्थे,

कमजोर घुँडा भएकाहरूलाई तपाईँले बलियो बनाउनुहुन्थ्यो।

 ५ अब आफैमाथि दुःख आइपर्दा चाहिँ किन व्याकुल हुनुहुन्छ?

विपत्तिले सताउँदा किन हरेस खानुहुन्छ?

 ६ ईश्‍वरभक्‍त मानिसको शिर ठाडो हुनुपर्ने होइन र?

सत्यनिष्ठ मानिस+ त परमेश्‍वरमै भर पर्नुपर्ने होइन र?

 ७ सोच्नुहोस्‌ त, निर्दोष मानिसको कहिल्यै पतन भएको छ र?

असल मानिस कहिल्यै नाश भएको छ र?

 ८ अधर्म जोत्नेहरूले* र विपत्ति छर्नेहरूले

त्यसैको कटनी गरेको मैले देखेको छु।

 ९ परमेश्‍वरको सासले तिनीहरू नाश हुन्छन्‌,

उहाँको रिसको आगोले तिनीहरू भस्म हुन्छन्‌।

१० सिंह चाहे जति नै गर्जोस्‌,

जवान सिंहले जति नै ङ्‌वार्र-ङुर्र गरोस्‌,

बलिया सिंहका समेत दाँत भाँचिन्छन्‌।

११ सिकार नपाएर सिंहहरू भोकभोकै मर्छन्‌,

तिनका डमरुहरू तितरबितर हुन्छन्‌।

१२ मैले एउटा गोप्य कुरा सुनेँ।

कसैले मलाई खुसुक्क एउटा कुरा बतायो।

१३ मानिसहरू गहिरो निद्रामा परेको बेला,

दर्शनमा* देखेको कुराले म व्याकुल भएँ।

१४ मलाई डर र त्रासले छोप्यो।

म डरले थरथर काँपेँ।

१५ एउटा छाया* मेरो छेउबाट गयो।

तब मेरो जीउभरि काँडा उम्रियो।

१६ अनि त्यो छाया टक्क अडियो।

मैले त्यसलाई ठम्याउनै सकिनँ

तर मैले त्यसको आकृति देखेँ।

एकछिन चकमन्‍न भयो,

त्यसपछि मैले यस्तो आवाज सुनेँ:

१७ ‘मरणशील मानिस परमेश्‍वरभन्दा असल हुन सक्छ र?

मानिस आफ्नै सृष्टिकर्ताभन्दा पनि चोखो हुन सक्छ र?’

१८ उहाँ आफ्ना सेवकहरूलाई भरोसै गर्नुहुन्‍न;

स्वर्गदूतहरूमा* समेत उहाँ खोट देख्नुहुन्छ।

१९ झन्‌ माटोको घरमा बस्नेहरू,

जो माटैबाट+ आएका हुन्‌,

जसलाई किरालाई* जस्तै किचीमिची पार्न सकिन्छ,

तिनीहरूमा त झन्‌ कत्ति खोट देख्नुहोला!

२० दिन नढल्दै तिनीहरू नष्ट भएर जान्छन्‌।

तिनीहरू सधैँका लागि बिलाएर जान्छन्‌, कसैले वास्ता गर्दैन।

२१ तिनीहरू डोरी फुस्किँदा लडिहाल्ने पालझैँ छन्‌,

ज्ञानको कमीले गर्दा तिनीहरू नाश भएर जान्छन्‌।

५ “एक चोटि पुकारी हेर्नुहोस्‌, तपाईँलाई कसले जवाफ दिन्छ?

तपाईँको पुकारा सुन्‍ने पवित्र जन* को छ?

 २ मूर्ख मानिस आफ्नै रिसले नाश हुन्छ।

डाहले निर्बुद्धि मानिसको पतन हुन्छ।

 ३ मूर्खको फलिफाप भए पनि

अचानक त्यसको उठीबास लागेको मैले देखेको छु।

 ४ त्यसका बालबच्चालाई विपत्तिले ढुकिबस्छ।

सहरको मूलढोकामा तिनीहरूमाथि अन्याय हुन्छ।+

तिनीहरूलाई बचाउने कोही हुँदैन।

 ५ त्यसको उब्जनी भोकाहरूले लुट्‌छन्‌।

काँडाहरूबीच बाँकी भएका पनि लैजान्छन्‌।

त्यसको सबथोक खोसिन्छ।

 ६ विपत्ति माटोबाट आफै पलाउँछ र?

सङ्‌कट जमिनमा फल्छ र?

 ७ आगो बल्दा झिल्का निस्किएझैँ

मानिसले जन्मिएपछि दुःख त पाउँछ नै।

 ८ म तपाईँको ठाउँमा भएको भए

परमेश्‍वरलाई अवश्‍य बिन्ती गर्ने थिएँ।

मेरो मामिला उहाँसामु पेस गर्ने थिएँ,

 ९ जसले अचम्म-अचम्मका कामहरू गर्नुभएको छ,

जसले बनाएका कुराहरू आश्‍चर्यजनक र अनगिन्ती छन्‌।

१० उहाँले नै पृथ्वीमा पानी बर्साउनुहुन्छ

र जमिनलाई भिजाउनुहुन्छ।

११ उहाँ असहायलाई मदत गर्नुहुन्छ,

पिछडिएकाहरूको उद्धार गर्नुहुन्छ।

१२ उहाँले धूर्तहरूको षड्‌यन्त्र विफल पार्नुहुन्छ

र तिनीहरूको योजना अधुरै रहन्छ।

१३ उहाँले बुद्धिमान्‌हरूलाई तिनीहरूकै चालमा फसाउनुहुन्छ+

र बठ्‌याइँ गर्नेहरू असफल हुन्छन्‌।

१४ दिउँसै तिनीहरूलाई अन्धकारले छोप्छ,

तिनीहरू रातमा जस्तै छामछाम छुमछुम गर्दै हिँड्‌छन्‌।

१५ उहाँले सोझालाई तिनीहरूको तरबारजस्तो बोलीबाट

र दरिद्रलाई बलियाहरूको पन्जाबाट जोगाउनुहुन्छ।

१६ त्यसैले असहायहरूको निम्ति आशा छ

तर दुष्टको मुखमा भने बुजो लाग्छ।

१७ परमेश्‍वरबाट हप्की पाउने मानिस त धन्यको हुन्छ।

त्यसैले सर्वशक्‍तिमान्‌ परमेश्‍वरको अनुशासनलाई इन्कार नगर्नुहोस्‌।

१८ उहाँ चोट दिनुहुन्छ तर मलहमपट्टि पनि गर्नुहुन्छ।

घायल पार्नुहुन्छ तर फेरि आफ्नै हातले निको पार्नुहुन्छ।

१९ उहाँले तपाईँलाई छ वटा विपत्तिबाट जोगाउनुहुनेछ;

सातौँले समेत तपाईँलाई हानि गर्नेछैन।

२० अनिकालमा भोकभोकै मर्न दिनुहुनेछैन।

युद्धमा तरबारले काटिन दिनुहुनेछैन।

२१ निन्दा गर्ने बोली तपाईँले सुन्‍नुपर्नेछैन।+

विपत्ति आउँदा तपाईँ डराउनुपर्नेछैन।

२२ विनाश र भोकमरीले तपाईँलाई छुनेछैन।

जङ्‌गली जनावरदेखि तपाईँ डराउनुपर्नेछैन।

२३ खेतको ढुङ्‌गा तपाईँको लागि बाधा बन्‍नेछैन।*

जङ्‌गली जनावरले तपाईँलाई आक्रमण गर्नेछैन।

२४ तपाईँको पाल सुरक्षित रहनेछ।

तपाईँको बगालबाट एउटै जनावर हराउनेछैन।

२५ तपाईँका छोराछोरी थुप्रै हुनेछन्‌

अनि तपाईँका सन्तान लहलहाउँदा घाँसजस्तै प्रशस्त हुनेछन्‌।

२६ बेला पुगेपछि भित्र्याइने बालीजस्तै

चिहानमा जाने दिनसम्म पनि तपाईँ हट्टाकट्टा नै रहनुहुनेछ।

२७ हामीले यो कुरा जाँचेर पक्का गरेका छौँ;

त्यसैले हाम्रो कुरा सुन्‍नुहोस्‌।”

६ त्यसपछि अय्युबले यस्तो जवाफ दिए:

 २ “हाय! मेरो मनको पीडा+ जोख्न पाए,

तीसँगै मेरो विपत्तिलाई तराजुमा राख्न पाए,

 ३ ती समुद्रका बालुवाभन्दा पनि गह्रौँ हुने थिए।

त्यसैले मैले आफ्नो बोलीलाई सम्हाल्नै सकिरहेको छैनँ।+

 ४ किनकि सर्वशक्‍तिमान्‌ परमेश्‍वरका काँडहरूले मलाई छेडेका छन्‌।

त्यसको विष मेरो शरीरभरि फैलिएको छ।+

परमेश्‍वरले मलाई आक्रमण गर्दै हुनुहुन्छ र म भयभीत भएको छु।

 ५ घाँस खान पाएको जङ्‌गली गधा+ कराउँछ र?

अथवा कुँडो पाएको गोरु डुक्रन्छ* र?

 ६ खल्लो खानेकुरा नुन नहाली खान सकिन्छ र?

अथवा अण्डाको सेतो भागमा कुनै स्वाद हुन्छ र?

 ७ यस्ता कुराहरू त मलाई छुन पनि घिन लाग्छ।

ती सडेका खानेकुराबराबर छन्‌।

 ८ हाय! परमेश्‍वरले मेरो बिन्ती सुनिदिनुभए हुन्थ्यो,

मेरो इच्छा पूरा गरिदिनुभए हुन्थ्यो।

 ९ उहाँले मलाई नाश गरिदिनुभए हुन्थ्यो,

आफ्नै हातले मलाई खतम पारिदिनुभए हुन्थ्यो।+

१० बरु त्यसले मलाई चैन दिने थियो,

जति नै पीडा भए पनि म खुसीले उफ्रने थिएँ।

किनकि मैले पवित्र परमेश्‍वरको+ वचनलाई इन्कार गरेको छैनँ।

११ अब ममा सहने शक्‍ति छैन।+

म किन बाँच्नु? अब बाँच्नुको के नै अर्थ छ र?

१२ के म चट्टानजस्तै बलियो छु र?

अथवा मेरो शरीर तामाले बनेको छ र?

१३ हाय! म आफैलाई कसरी सम्हालूँ?

मेरो सबै सहारा खोसिएको छ।

१४ आफ्नो साथीलाई दया* नदेखाउनेले+

परमेश्‍वरको के डर मान्ला र?+

१५ मेरा आफ्नै दाजुभाइले हिउँदे खोलाले जस्तै मसित छल गरेका छन्‌।+

सुकिजाने हिउँदका खोलाले जस्तै धोका दिएका छन्‌।

१६ बरफ र हिउँ पग्लँदा

ती उर्लेर आउँछन्‌।

१७ तर गर्मी याममा बिलाउँछन्‌,

घामको रापले सुक्छन्‌।

१८ जब आफ्नो बाटो बिराएर मरुभूमिमा पुग्छन्‌,

तब ती हराउँछन्‌।

१९ तेमाबाट आउने यात्रीहरू+ ती खोलाहरूको बाटो हेर्छन्‌,

सबाबाट आउने यात्रीहरू+ त्यसलाई ढुकेर बस्छन्‌।

२० तर त्यसमाथि भरोसा गरेकोले उनीहरू लज्जित हुन्छन्‌,

उनीहरूले निराशाबाहेक अरू केही पाउँदैनन्‌।

२१ तपाईँहरूले पनि ती खोलाहरूले जस्तै मलाई धोका दिनुभएको छ।+

मेरा विपत्तिहरू देखेर तपाईँहरू तर्सिनुभएको छ।+

२२ मैले तपाईँहरूसित केही मागेको छु र?

अथवा ‘तपाईँहरूको सम्पत्तिबाट मलाई केही दिनुहोस्‌’ भनेको छु र?

२३ ‘मलाई शत्रुहरूको हातबाट छुटाउनुहोस्‌,

अत्याचारीहरूबाट मलाई बचाउनुहोस्‌’ भनेको छु र?

२४ मैले के गरेँ, मलाई बताउनुहोस्‌;

मेरो गल्ती देखाइदिनुहोस्‌, तब म चुपचाप बसुँला।+

२५ इमानदार मानिसको बोलीले चोट निको पार्छ+

तर तपाईँहरूको सल्लाहबाट मलाई केही फाइदा भएको छैन।+

२६ म त एक दुःखी मानिस हुँ,+

जसको बोली भुईँमा खस्न नपाउँदै बतासले उडाइलान्छ।

तैपनि तपाईँहरू मेरो बोलीमा खोट निकाल्न खोज्नुहुन्छ?

२७ तपाईँहरू त अनाथलाई समेत गोला हाल्न बेर लगाउनुहुन्‍न+

अनि आफ्नै साथीलाई बेच्न पनि पछि हट्‌नुहुन्‍न।+

२८ बिन्ती! एक चोटि मलाई हेर्नुहोस्‌।

के म तपाईँहरूसित झूट बोल्छु होला र?

२९ बिन्ती! फेरि एक चोटि विचार गर्नुहोस्‌,

मलाई व्यर्थैमा दोष नलगाउनुहोस्‌।

किनभने मैले अहिलेसम्म परमेश्‍वरलाई त्यागेको छैनँ।

३० के मैले केही गलत कुरा भनेँ?

के म विनाकारण बरबराउँदै छु?

७ “मानिसको जीवन दुःख गरेरै बित्छ,

उसका दिनहरू मजदुरको जस्तै हुन्छन्‌।+

 २ एउटा दासझैँ ऊ शीतल छहारी खोजिरहन्छ,

ज्यालादारी नोकरझैँ आफ्नो ज्याला कुरिरहन्छ।+

 ३ मेरो जीवन पनि महिनौँदेखि व्यर्थ भएको छ,

कैयौँ रात मैले रोएर बिताएको छु।+

 ४ जब म ढल्कन्छु, तब आफैलाई सोध्छु,

‘अब कहिले ब्युँझने होला?’+

तर उज्यालो नहोउन्जेल म कोल्टे फेर्दै छटपटाइरहन्छु।

 ५ मेरो शरीर किरैकिरा* र माटैमाटोले भरिएको छ,+

मेरो जीउमा पाप्रा नभएको र पीप ननिस्केको ठाउँ नै छैन।+

 ६ मेरा दिनहरू तानको थुरी* चलेभन्दा छिटो बितिरहेका छन्‌,+

कुनै आशाविना ती दिनहरू बितिरहेका छन्‌।+

 ७ हे परमेश्‍वर! हेर्नुहोस्‌, मेरो जीवन त हावाको झोक्काजस्तै छ;+

मेरो आँखाले कहिल्यै सुदिन हेर्न पाउनेछैन।

 ८ मलाई देख्ने आँखाले फेरि कहिल्यै मलाई देख्नेछैन;

तपाईँको आँखाले मलाई धुइँधुइँती खोज्नेछ तर भेट्टाउनेछैन।+

 ९ जसरी बादल फाट्‌छ र हराउँछ,

त्यसरी नै चिहानमा* जाने मानिस कहिल्यै फर्केर आउँदैन।+

१० ऊ कहिल्यै आफ्नो घरमा फर्कनेछैन

अनि उसकै ठाउँका मानिसहरूले समेत उसलाई बिर्सनेछन्‌।+

११ त्यसैले म अब चुप लागेर बस्दिनँ।

म आफ्नो मनको सबै पीर-बेथा पोख्नेछु।

आफ्नो मनको तीतोपन व्यक्‍त गर्नेछु।+

१२ तपाईँ किन मलाई रुङ्‌नुहुन्छ?

म समुद्र वा समुद्रको विशाल जलजन्तु हुँ र?

१३ ‘म ओछ्यानमा आराम गर्छु,

पलङमा आफ्नो कष्ट बिसाउँछु’ भनेर सोच्दा

१४ तपाईँ सपनामा मलाई तर्साउनुहुन्छ,

डरलाग्दो दर्शन* देखाएर भयभीत पार्नुहुन्छ।

१५ त्यसैले बरु मेरो सास रोकियोस्‌।

यस्तो शरीर लिएर बाँच्नुभन्दा त मर्नु नै जाती।+

१६ म आफ्नो जीवनदेखि वाक्क भइसकेँ,+ अब म बाँच्न चाहन्‍नँ।

मलाई एक्लै छोडिदिनुहोस्‌ किनकि मेरा दिनहरू क्षणभरका छन्‌।+

१७ मानिस के हो र?

तपाईँ किन त्यसमा यत्ति धेरै चासो लिनुहुन्छ?

किन त्यसलाई यत्ति धेरै ध्यान दिनुहुन्छ?+

१८ किन बिहानैपिच्छे त्यसलाई जाँच्नुहुन्छ?

अनि हरपल त्यसको परीक्षा गर्नुहुन्छ?+

१९ तपाईँ कहिलेसम्म ममाथि नजर राख्नुहुन्छ?

के तपाईँ मलाई थुक निल्ने समय पनि दिनुहुन्‍न?+

२० मानिसको एक-एक चाल जाँच्नुहुने परमेश्‍वर,

मैले पापै गरेको भए तापनि कसरी तपाईँको नोक्सानी भयो र?+

तपाईँ किन मलाई आफ्नो तारो बनाउनुहुन्छ?

के म तपाईँको निम्ति बोझ बनेँ?

२१ तपाईँ किन मेरो अपराध क्षमा गर्नुहुन्‍न?

अनि मेरो गल्ती माफ गर्नुहुन्‍न?

अब त म माटोमा मिल्नै लागिसकेँ।+

तपाईँले मलाई यताउता खोजे पनि भेट्टाउनुहुनेछैन।”

८ तब बिल्दद+ सुहीले+ यस्तो जवाफ दिए:

 २ “कहिलेसम्म तपाईँ यस्तो फोस्रो कुरा गरेर बस्नुहुन्छ?+

तपाईँ ठूलठूला कुरा मात्र गर्नुहुन्छ।*

 ३ परमेश्‍वरले अन्याय गर्नुहुन्छ र?

अथवा सही कुरालाई बङ्‌ग्याउनुहुन्छ र?

 ४ तपाईँका छोराछोरीले पाप गरे होलान्‌।

त्यसैले परमेश्‍वरले तिनीहरूलाई सजाय दिनुभयो।

 ५ अब परमेश्‍वरलाई खोज्नुहोस्‌+

अनि सर्वशक्‍तिमान्‌सित दयाको भीख माग्नुहोस्‌।

 ६ तपाईँ साँच्चै निर्दोष हुनुहुन्छ भने+

उहाँले तपाईँको बिन्ती सुन्‍नुहुनेछ

अनि तपाईँलाई पहिलेकै अवस्थामा पुऱ्‍याउनुहुनेछ।

 ७ अहिले तपाईँको बेहाल भए तापनि

भविष्य राम्रो हुनेछ।+

 ८ अघिअघिका पुस्तालाई सोध्नुहोस्‌;

तिनीहरूका पुर्खाले जे सिके, त्यसमा ध्यान दिनुहोस्‌।+

 ९ किनकि हामी त हिजो मात्र जन्मेका हौँ,

हामीलाई केही थाह छैन।

पृथ्वीमा हाम्रो जीवन निकै छोटो छ।*

१० तिनीहरूले तपाईँलाई सिकाउनेछन्‌

अनि आफूलाई थाह भएको कुरा बताउनेछन्‌।

११ पानी नजमेको ठाउँमा मालिङ्‌गो* लहलहाउँछ र?

सुक्खा ठाउँमा नर्कट अग्ला-अग्ला हुन्छन्‌ र?

१२ कलिलो छँदा नै त्यो ओइलाउनेछ,

अरू बिरुवाभन्दा पहिल्यै सुक्नेछ।

१३ परमेश्‍वरलाई बिर्सनेहरूको हालत पनि यस्तै हुन्छ।

उहाँको डर नमान्‍नेहरूको* आशा भताभुङ्‌ग हुन्छ।

१४ उसको भरोसा खोक्रो हुन्छ

अनि उसको आशाचाहिँ माकुराको जालोजस्तै* कमजोर।

१५ उसले आफ्नो घरमा आड लिन खोज्नेछ तर त्यो ढल्नेछ।

त्यसलाई बलियो गरी समात्नेछ तर त्यो टिक्नेछैन।

१६ ऊ घाम पाएको भरिलो बिरुवाजस्तै हुन्छ,

जसको हाँगाबिँगा झाँगिएको हुन्छ।+

१७ त्यसले ढुङ्‌गाको थुप्रोमा जरा फैलाउँछ

अनि त्यही ढुङ्‌गाहरूमा बास खोज्छ।

१८ तर जब त्यो जरैसमेत उखेलिन्छ,

तब त्यो उम्रेको जमिनले समेत त्यसलाई चिन्‍न इन्कार गर्नेछ

अनि यसो भन्‍नेछ, ‘मैले तिमीलाई देखेकै छैनँ।’+

१९ यसरी नै त्यो नाश हुनेछ+

अनि त्यसको ठाउँमा अरू बिरुवा उम्रनेछन्‌।

२० सत्यनिष्ठ मानिसलाई परमेश्‍वरले कहिल्यै त्याग्नुहुन्‍न

अनि दुष्ट मानिसलाई कहिल्यै साथ दिनुहुन्‍न।

२१ उहाँले तपाईँको ओठमा फेरि मुस्कान छर्नुहुनेछ

अनि तपाईँ खुसीले कराउनुहुनेछ।

२२ तपाईँलाई घृणा गर्नेहरू लज्जित हुनेछन्‌

अनि दुष्टहरूको पाल सधैँभरिको लागि नाश हुनेछ।”

९ अय्युबले यस्तो जवाफ दिए:

 २ “मलाई थाह छ, यो कुरा सत्य हो।

तर परमेश्‍वरसित बहस गरेर मरणशील मानिसले कसरी आफूलाई सही ठहराउन सक्छ र?+

 ३ कसैले उहाँसित विवाद गर्ने* आँट गऱ्‍यो भने+

उहाँका हजार प्रश्‍नमा एउटाको समेत जवाफ दिन सक्दैन।

 ४ उहाँ बुद्धिमान्‌ र शक्‍तिशाली हुनुहुन्छ।+

उहाँलाई टक्कर दिएर को पो सकुशल रहन सक्छ र?+

 ५ उहाँ पहाडलाई सार्नुहुन्छ

तर कसैले चाल पाउँदैन।

उहाँ रिसले त्यसलाई पल्टाउनुहुन्छ।

 ६ उहाँ पृथ्वीलाई जोडले हल्लाउनुहुन्छ

र त्यसको जग थरथराउँछ।+

 ७ उहाँ सूर्यलाई नउदाउनू भनेर आदेश दिनुहुन्छ

र ताराको चमकलाई छोप्नुहुन्छ।+

 ८ उहाँ आफ्नै हातले आकाशलाई फिँजाउनुहुन्छ,+

उहाँ समुद्रका अग्ला-अग्ला छालहरूलाई कुल्चनुहुन्छ।+

 ९ उहाँले नै आस,* केसिल* र किमाह* तारामण्डलहरू+

अनि दक्षिणी आकाशका तारामण्डलहरू बनाउनुभयो।

१० उहाँका कामहरू अचम्मका अनि बुझ्नै नसकिने खालका छन्‌,+

उहाँका आश्‍चर्यजनक कामहरू गन्‍नै नसकिने छन्‌।+

११ उहाँ मेरै सामुन्‍नेबाट जानुहुन्छ तर म उहाँलाई देख्न सक्दिनँ।

उहाँ मेरो छेवैबाट जानुहुन्छ तर म थाह पाउँदिनँ।

१२ उहाँले कसैबाट केही खोस्नुहुँदा कसले उहाँलाई रोक्न सक्छ?

‘तपाईँले यो के गर्नुभएको’ भनेर कसले उहाँलाई सोध्न सक्छ?+

१३ परमेश्‍वरले आफ्नो रिस थामेर राख्नुहुन्‍न।+

राहाबका*+ सहयोगीहरूसमेत उहाँको पाउ पर्छन्‌।

१४ त्यसो हो भने त मैले उहाँसित विवाद गर्न

मुख खोल्नुअघि १० पटक सोच्नुपर्छ।

१५ म सही नै छु भने पनि उहाँलाई जवाफ फर्काउनेछैनँ।+

मेरा न्यायाधीशसित* दयाको भीख माग्नुबाहेक मसित अरू कुनै उपाय छैन।

१६ तर मैले पुकारे पनि के उहाँले जवाफ दिनुहोला र?

उहाँले मेरो आवाज सुन्‍नुहोला जस्तो मलाई लाग्दैन।

१७ उहाँ विपत्तिहरूको आँधी ल्याएर मलाई नाश गर्नुहुन्छ,

विनाकारण मेरो चोटमाथि चोट थप्नुहुन्छ।+

१८ उहाँ मलाई सास फेर्न समेत दिनुहुन्‍न,

मेरो दुःखमाथि दुःख थप्नुहुन्छ।

१९ शक्‍तिको कुरा गरूँ भने उहाँजति शक्‍तिशाली कोही छैन।+

न्यायको कुरा गरूँ भने उहाँ भन्‍नुहुन्छ:

‘मलाई दोषी ठहराउने* कसको आँट?’

२० म निर्दोष नै छु भने पनि मेरै मुखले मलाई दोषी ठहराउँछ।

मैले आफ्नो निष्ठा छोडिनँ भने पनि उहाँले मलाई अपराधी ठहराउनुहुन्छ।

२१ मैले आफ्नो निष्ठा छोडिनँ भने पनि मेरो जीवनको भर छैन।

त्यसैले मलाई बाँच्ने रहर पुगिसक्यो।

२२ दुष्ट र सज्जन दुवैको नतिजा एउटै हुने रहेछ।

त्यसैले म भन्छु, ‘उहाँ दुष्ट र सज्जन दुवैलाई नाश गर्नुहुन्छ।’

२३ अचानक बाढी आएर मानिसहरू मरे भने पनि

निर्दोष मानिसको बिजोग देखेर उहाँ हाँस्नुहुन्छ।

२४ पृथ्वी दुष्टको हातमा दिइएको छ।+

उहाँले पृथ्वीका न्यायाधीशहरूको आँखा* छोपिदिनुभएको छ।

उहाँले होइन भने कसले त?

२५ मेरा दिनहरू धावक कुदेभन्दा छिटो बितिरहेका छन्‌।+

सुख के हो, मैले चाख्नै पाएको छैनँ।

२६ नर्कटको डुङ्‌गा पानीमा सलल बगेझैँ,

सिकार टिप्न चील भुईँतिर हुँइकिएझैँ,

मेरा दिनहरू बितिरहेका छन्‌।

२७ मैले ‘म आफ्नो दुःख भुलिदिन्छु,

आफ्नो उदासीपन हटाएर मुस्कुराउँछु’ भने पनि

२८ आफूले भोगेको पीडाले गर्दा म डराउँछु+

अनि मलाई थाह छ, तपाईँले मलाई निर्दोष ठहराउनुहुनेछैन।

२९ म दोषी नै ठहरिने हो भने

किन बेकारमा आफूलाई निर्दोष साबित गर्ने कोसिस गरूँ?+

३० हिउँ पग्लेर आएको पानीले नुहाए तापनि,

मैले आफ्नो हात खरानीले* धोएँ भने पनि,+

३१ तपाईँले मलाई हिलैहिलो भएको खाडलमा फालिदिनुहुनेछ

अनि मेरै लुगाले समेत मसँग घिन मान्‍नेछ।

३२ परमेश्‍वर मजस्तो मानिस हुनुहुन्‍न,

म कसरी उहाँसित बहस गर्न सक्छु र?

कसरी उहाँलाई कठघरामा उभ्याउन सक्छु र?+

३३ हाम्रो न्यायाधीश भएर

हाम्रो मामिला सुल्झाइदिन सक्ने* कोही छैन।

३४ परमेश्‍वरले मलाई लौरोले हिर्काउन बन्द गर्नुभयो

र मलाई डर देखाउन छोड्‌नुभयो भने+

३५ म नडराईकन उहाँसित कुरा गर्नेछु

किनभने म डराई-डराई बोल्ने मान्छे होइनँ।

१० “म यो जीवनदेखि वाक्क भइसकेँ।+

म धीत नमरुन्जेल गुनासो गर्नेछु।

म आफ्नो मनको तीतोपन व्यक्‍त गर्नेछु।

 २ म परमेश्‍वरलाई भन्‍नेछु: ‘मलाई दोषी नठहराउनुहोस्‌।

तपाईँ किन मलाई देखी सहनुहुन्‍न?

 ३ मलाई दुःख दिएर, आफ्नै हातको कामलाई घृणा गरेर

तपाईँलाई के फाइदा हुन्छ?+

दुष्टको कुरा सुनेर तपाईँलाई के लाभ हुन्छ?

 ४ के तपाईँका आँखा मानिसका जस्ता छन्‌?

के तपाईँको हेराइ मानिसको जस्तै छ?

 ५ के तपाईँको आयु मानिसको जस्तै छोटो छ?

के तपाईँ पनि मानिसजस्तै बितेर जानुहुन्छ?+

 ६ त्यसोभए तपाईँ किन मेरो गल्ती खोज्नुहुन्छ

र ममा खोट निकाल्न चाहनुहुन्छ?+

 ७ म निर्दोष छु भनेर तपाईँलाई थाह छ।+

तर तपाईँको हातबाट मलाई कसैले बचाउन सक्दैन।+

 ८ तपाईँ आफैले मलाई रच्नुभयो र आकार दिनुभयो।+

तर अब तपाईँ आफै मलाई नाश गर्दै हुनुहुन्छ।

 ९ तपाईँले नै मलाई माटोबाट बनाउनुभएको होइन र?+

तर अब तपाईँ आफै मलाई माटोमा फिर्ता पठाउँदै हुनुहुन्छ।+

१० मलाई दूधजस्तै खन्याउने

र दहीजस्तै* जमाउने तपाईँ नै होइन र?

११ तपाईँले मलाई मासु र छाला पहिराइदिनुभयो

अनि हड्डी र मांसपेशीले गाँस्नुभयो।+

१२ तपाईँले मलाई जीवन दिनुभयो

र मलाई अटल प्रेम देखाउनुभयो।

तपाईँ आफैले मेरो हेरचाह गर्नुभयो।+

१३ तर मनमनै तपाईँले मेरो हानि गर्ने विचार गर्नुभएको रहेछ।

तपाईँकै कारण म यी सब भोग्दै छु भनेर मलाई थाह छ।

१४ मैले पाप गर्दा तपाईँ हेरिरहनुहुन्छ+

अनि मेरो गल्तीको क्षमा दिनुहुन्‍न।

१५ दोष मेरै हो भने मलाई धिक्कार छ!

तर म निर्दोष छु भने पनि शिर ठाडो गर्न सक्दिनँ+

किनकि मैले चोटैचोट र बदनामी सहनुपरेको छ।+

१६ मैले शिर उठाउने कोसिस गरेँ भने पनि

तपाईँ मलाई सिंहले झैँ खेद्‌नुहुन्छ+

र मलाई आफ्नो शक्‍ति देखाउनुहुन्छ।

१७ तपाईँ मविरुद्ध नयाँ-नयाँ साक्षीहरू भेला गर्नुहुन्छ

र आफ्नो रिसको आगो दन्काउनुहुन्छ।

त्यसैले ममाथि एकपछि अर्को कष्ट आइपरेको छ।

१८ मलाई त्यसै गर्ने तपाईँको मनसाय थियो भने

किन मलाई मेरी आमाको गर्भबाट निस्कन दिनुभयो?+

कसैले मलाई देख्नुअघि नै म मरेको भए बेस हुने थियो।

१९ त्यसो भएको भए म अस्तित्वमै हुने थिइनँ।

म आमाको गर्भबाट सीधै चिहानमा जाने थिएँ।’

२० मेरो दिन अब कति नै बाँकी छ र?+ परमेश्‍वरले मलाई एक्लै छोडिदेऊन्‌।

उहाँले आफ्नो अनुहार मदेखि अन्तै फर्काऊन्‌ र मैले केही बेर चैनको सास फेर्न सकूँ।*+

२१ किनकि घोर अन्धकारले+ छोपेको त्यो देशमा

कहिल्यै नफर्किनेगरि म जाँदै छु,+

२२ जहाँ निस्पट्ट अन्धकारबाहेक अरू केही छैन,

जहाँ कुनै कुरा व्यवस्थित छैन

अनि जहाँ उज्यालोले समेत अन्धकारलाई चिर्न सकेको छैन।”

११ जोपर+ नामातीले यस्तो जवाफ दिए:

 २ “तपाईँलाई के लाग्छ, तपाईँलाई कसैले जवाफ फर्काउन सक्दैन?

धेरै फलाक्दैमा* कोही सही ठहरिन्छ र?

 ३ तपाईँका फोस्रा कुराले कतिलाई चुप लगाउन सक्छ?

तपाईँले खिसी गरिरहँदा बाँकी सबैले चाहिँ सुनेर बस्ने?+

 ४ तपाईँ ‘मेरा कुरा* सही छन्‌,+

म परमेश्‍वरको नजरमा शुद्ध छु’ भनिटोपल्नुहुन्छ।+

 ५ तर परमेश्‍वरले आफ्नो मुख खोलेर

तपाईँसित कुरा गर्नुभएको भए+

 ६ उहाँले तपाईँलाई बुद्धिमान्‌ तुल्याउने रहस्यका कुराहरू बताउनुहुने थियो।

किनकि बुद्धिमान्‌ मानिसले थुप्रै कुरा बुझ्न सक्छ।

त्यसपछि बल्ल तपाईँले यो कुरा बुझ्नुहुने थियो:

परमेश्‍वरले तपाईँका कतिपय गल्तीको सजाय त दिनुभएकै छैन।

 ७ के तपाईँ परमेश्‍वरको बुद्धिको गहिराइ नाप्न सक्छु भन्ठान्‍नुहुन्छ?

उहाँबारे सबै कुरा जान्‍न सक्छु जस्तो तपाईँलाई लाग्छ?

 ८ उहाँको बुद्धि आकाशभन्दा अग्लो छ, त्यसलाई भेट्टाउन सक्नुहुन्छ?

उहाँको बुद्धि चिहानभन्दा* गहिरो छ, त्यहाँ पुग्न सक्नुहुन्छ?

 ९ त्यो त पृथ्वीभन्दा ठूलो

अनि समुद्रभन्दा फराकिलो छ।

१० उहाँले कसैलाई पक्रेर अदालतमा हाजिर गराउनुभयो भने

कसले उहाँलाई रोक्न सक्छ?

११ मानिसको छल उहाँबाट लुक्न सक्दैन।

उहाँ दुष्टको काम देखेर पनि नदेखेझैँ कहिल्यै गर्नुहुन्‍न।

१२ तर दिमाग नहुने मानिसले यो कुरा बुझ्नु

र जङ्‌गली गधाले मान्छे जन्माउनु* एउटै कुरा हो।

१३ आफ्नो हृदय शुद्ध* पार्नुहोस्‌

र हात फैलाएर उहाँलाई पुकार्नुहोस्‌।

१४ खराब काम गर्न छोड्‌नुहोस्‌

र परमेश्‍वरलाई मन नपर्ने कुनै पनि काम तपाईँको पालभित्र नहोस्‌।

१५ अनि तपाईँले शिर ठाडो पार्न सक्नुहुनेछ

र निडर भएर उभिन सक्नुहुनेछ।

१६ तब तपाईँले आफ्नो सबै पीर-बेथा बिर्सनुहुनेछ।

ती तपाईँको लागि बगेर गएको खोलासरि हुनेछन्‌।

१७ तपाईँको जीवन मध्यदिनभन्दा पनि उज्यालो हुनेछ

र अन्धकारसमेत बिहानीको उषाझैँ हुनेछ।

१८ आशा पाएकोले तपाईँ निर्धक्क हुनुहुनेछ।

आफ्नो सबै थोक ठीकठाक देखेर तपाईँ ढुक्कले निदाउनुहुनेछ।

१९ डरधम्की देखाउने कोही नभएकोले तपाईँ चैनसित पल्टनुहुनेछ।

तपाईँको निगाह पाउन चाहनेहरूको ताँती लाग्नेछ।

२० तर दुष्टका आँखा भने धमिला हुनेछन्‌।

तिनीहरूले उम्कने बाटो पटक्कै पाउनेछैनन्‌।

मृत्युलाई अङ्‌गाल्नुसिवाय तिनीहरूसित अरू कुनै उपाय हुनेछैन।”+

१२ त्यसपछि अय्युबले जवाफ दिए:

 २ “हो, हो! तपाईँहरूलाई मात्रै सबै कुरा थाह छ

अनि तपाईँहरूको मृत्यु हुँदा संसारबाट बुद्धि नै हराउनेछ।

 ३ तर के मचाहिँ अबुझ मानिस हुँ र?

म कुनै कुरामा तपाईँहरूभन्दा कम छैनँ।

तपाईँहरूले भनेका कुराहरू थाहै नहुने मान्छे को छ र?

 ४ म परमेश्‍वरलाई पुकार्छु र उहाँले जवाफ दिनुहोला भन्‍ने आस गर्छु

तर म आफ्नै साथीभाइको निम्ति हाँसोको पात्र भएको छु।+

धर्मी र निर्दोष मानिस त हाँसोको पात्र पो हुँदो रहेछ!+

 ५ बेफिक्री रहनेहरू आफूमाथि विपत्ति आउला भनेर सोच्दा पनि सोच्दैनन्‌;

तिनीहरूको विचारमा ज-जसका खुट्टा धरमराउँछन्‌, उनीहरूमाथि मात्रै विपत्ति आइपर्छ।

 ६ लुटेराहरू आफ्नो पालमा शान्तिसित बस्छन्‌।+

अनि जो-जो परमेश्‍वरलाई रिस उठाउँछन्‌

र आफूले पुज्ने मूर्तिहरू आफ्नो हातमा बोकेर हिँड्‌छन्‌,

तिनीहरूचाहिँ सुरक्षित रहन्छन्‌।+

 ७ तर बिन्ती! एक चोटि जनावरहरूलाई सोधिहेर्नुहोस्‌,

तिनीहरूले तपाईँलाई सिकाउनेछन्‌।

अनि आकाशका चराचुरुङ्‌गीलाई पनि सोध्नुहोस्‌,

तिनीहरूले तपाईँलाई बताउनेछन्‌।

 ८ अथवा पृथ्वीलाई विचार गर्नुहोस्‌*

र त्यसले तपाईँलाई सिकाउनेछ।

अनि समुद्रका माछाहरूले तपाईँलाई बताउनेछन्‌।

 ९ यहोवाले आफ्नै हातले यी सब बनाउनुभएको हो भनेर

यीमध्ये कसलाई चाहिँ थाह छैन र?

१० सबै जीवजीवात र सबै मानिसको जीवन*

उहाँकै हातमा छ।+

११ जसरी जिब्रोले खानेकुरा चाख्छ,+

त्यसैगरि कानले पनि सुनेको कुरा जाँच्दैन र?

१२ के उमेर ढल्किसकेका मानिससित बुद्धि हुँदैन र?+

अनि बूढापाका समझदार हुँदैनन्‌ र?

१३ परमेश्‍वर बुद्धिमान्‌ र पराक्रमी हुनुहुन्छ।+

उहाँ समझदार र आफ्नो उद्देश्‍य पूरा गर्ने परमेश्‍वर हुनुहुन्छ।+

१४ उहाँ जे भत्काउनुहुन्छ, त्यसलाई फेरि बनाउन सकिँदैन।+

उहाँ जे बन्द गर्नुहुन्छ, त्यसलाई कुनै मानिसले खोल्न सक्दैन।

१५ जब उहाँ पानी पार्नुहुन्‍न, तब सबै कुरा सुक्छन्‌।+

तर जब उहाँ पानी पार्नुहुन्छ, तब पूरै पृथ्वी डुब्छ।+

१६ उहाँ शक्‍तिशाली र बुद्धिमान्‌ हुनुहुन्छ।+

गलत बाटोमा लैजाने र जाने दुवै उहाँकै मुठीमा छन्‌।

१७ उहाँ सल्लाहकारहरूलाई खाली खुट्टा हिँडाउनुहुन्छ*

अनि न्यायाधीशहरूलाई मूर्ख तुल्याउनुहुन्छ।+

१८ राजाहरूले जबरजस्ती बाँधेका बन्धन उहाँ फुकाउनुहुन्छ+

र तिनीहरूको कम्मरमा पेटी कसिदिनुहुन्छ।

१९ उहाँ पुजारीहरूलाई खाली खुट्टा हिँडाउनुहुन्छ+

अनि शक्‍तिशाली शासकहरूलाई पदच्युत गरिदिनुहुन्छ।+

२० उहाँ भरपर्दा सल्लाहकारहरूको मुख बन्द गरिदिनुहुन्छ

अनि बूढापाकाहरूको* समझलाई बेकामको तुल्याइदिनुहुन्छ।

२१ उहाँले ठूलाबडाहरूको अपमान गर्नुहुन्छ+

अनि बलियाहरूलाई निर्बल बनाइदिनुहुन्छ।

२२ उहाँ अन्धकारमा लुकेका गहिरा-गहिरा रहस्य खोल्नुहुन्छ+

र घोर अँध्यारोमा उज्यालो छर्नुहुन्छ।

२३ उहाँ जातिजातिका मानिसहरूलाई उचाल्नुहुन्छ अनि फेरि पछार्नुहुन्छ।

तिनीहरूलाई कैदी बनाएर लैजानकै लागि तिनीहरूको गन्ती बढाउनुहुन्छ।

२४ उहाँ अगुवाहरूको समझलाई बोधो बनाउनुहुन्छ

अनि तिनीहरूलाई बिराना ठाउँहरूमा बिचल्ली पारेर छोड्‌नुहुन्छ।+

२५ तिनीहरू निस्पट्ट अन्धकारमा छामछाम छुमछुम गर्दै हिँड्‌छन्‌।+

जँड्‌याहा मानिसझैँ तिनीहरू धरमराउँछन्‌।+

१३ “मैले आफ्नै आँखाले यी सब देखेको छु,

आफ्नै कानले यी सबै सुनेको छु र यी कुराहरू बुझेको छु।

 २ तपाईँहरूलाई जे थाह छ, त्यो मलाई पनि थाह छ।

म कुनै कुरामा तपाईँहरूभन्दा कम छैनँ।

 ३ तर म त सर्वशक्‍तिमान्‌ परमेश्‍वरसितै कुरा गर्नेछु।

म उहाँसित बहस गर्नेछु।+

 ४ तर तपाईँहरू झूट बोलेर मेरो बदनाम गर्नुहुन्छ,

तपाईँहरू कामै नलाग्ने वैद्य हुनुहुन्छ।+

 ५ बरु केही नबोली चुपचाप बसेको भए

तपाईँहरू बुद्धिमान्‌ ठहरिनुहुने थियो।+

 ६ अब बिन्ती! मेरो कुरा सुन्‍नुहोस्‌।

म आफ्नो तर्क पेस गर्छु, ध्यान दिएर सुन्‍नुहोस्‌।

 ७ के तपाईँहरू परमेश्‍वरको पक्ष लिएर झूट बोल्नुहुन्छ?

उहाँको नाममा कपटी कुरा गर्नुहुन्छ?

 ८ के तपाईँहरू उहाँको पक्ष लिनुहुन्छ?

अनि साँचो परमेश्‍वरको तर्फबाट मसित मुद्दा लड्‌नुहुन्छ?

 ९ उहाँले जाँच्नुभयो भने के तपाईँहरूचाहिँ सत्य ठहरिनुहोला र?+

के मानिसलाई जस्तै उहाँलाई पनि छक्याउन सक्नुहुन्छ र?

१० तपाईँहरू परमेश्‍वरको पक्ष लिएको स्वाङ पार्दै हुनुहुन्छ भने+

उहाँले उल्टै तपाईँहरूलाई हप्काउनुहुनेछ।

११ परमेश्‍वरको महानता देखेर के तपाईँहरू डराउनुहुनेछैन?

अनि के उहाँसित तपाईँहरू डरले थरथर काँप्नुहुनेछैन?

१२ तपाईँहरूका ठूलठूला कुराहरू फोस्रा उपदेश* हुन्‌।

तपाईँहरूका तर्कहरू माटोले बनेका ढालहरूजस्तै कमजोर छन्‌।

१३ तपाईँहरू चुप लाग्नुहोस्‌ र मलाई बोल्न दिनुहोस्‌।

त्यसपछि जे आइपरे पनि म भोग्न तयार छु।

१४ म किन आफैलाई खतरामा पारूँ?

अनि आफ्नो ज्यान हत्केलामा राखेर हिँडूँ?

१५ उहाँले मेरो ज्यानै लिन खोजे तापनि म उहाँकै बाटो हेरेर बस्नेछु।+

म आफ्नो मामिला उहाँसामु पेस गर्नेछु।

१६ त्यसपछि उहाँले मेरो उद्धार गर्नुहुनेछ।+

किनकि कुनै पनि भक्‍तिहीन* मानिस उहाँसामु खडा हुन सक्दैन।+

१७ मेरो कुरा कान थापेर सुन्‍नुहोस्‌।

म जे भन्छु, त्यसमा ध्यान दिनुहोस्‌।

१८ हेर्नुहोस्‌, अब म परमेश्‍वरसित मुद्दा लड्‌न तयार छु

अनि म निर्दोष छु भनेर मलाई थाह छ।

१९ मसँग बहस गर्न को तयार छ?

म चुपचाप बस्नुपऱ्‍यो भने त मर्छु होला!*

२० हे परमेश्‍वर, केवल यी दुई कुरा पन्छाइदिनुहोस्‌

र म तपाईँबाट लुक्नेछैनँ:

२१ तपाईँको गह्रौँ हात मबाट टाढा लैजानुहोस्‌

र मलाई तर्साउन बन्द गर्नुहोस्‌।+

२२ या त मसित कुरा गर्नुहोस्‌ र म तपाईँलाई जवाफ दिनेछु;

नभए मलाई बोल्न दिनुहोस्‌ र तपाईँ मलाई जवाफ दिनुहोस्‌।

२३ मैले के गल्ती गरेँ? के पाप गरेँ?

मलाई मेरो दोष देखाइदिनुहोस्‌।

२४ तपाईँ किन आफ्नो अनुहार अन्तै फर्काउनुहुन्छ+

र मलाई आफ्नो शत्रु ठान्‍नुहुन्छ?+

२५ के तपाईँ हावामा उडेको पातलाई तर्साउन खोज्नुहुन्छ?

अथवा जाबो भुसलाई पनि लखेट्‌नुहुन्छ?

२६ तपाईँ मेरो एक-एक गल्तीको हिसाब राख्नुहुन्छ

र मैले युवावस्थामा गरेका गल्तीको सजाय मलाई दिनुहुन्छ।

२७ तपाईँले मेरो खुट्टा ठिँगुरोमा हालिदिनुभएको छ।

तपाईँ मेरो हर कदम नियाल्नुहुन्छ

र मेरो हरेक पाइला पछ्याउँदै मेरो पछिपछि आउनुहुन्छ।

२८ त्यसैले मानिस* सडेगलेको कुराजस्तै नष्ट भएर जान्छ,

किराले* खाएको कपडाझैँ विनाश हुन्छ।

१४ “स्त्रीको कोखबाट जन्मेको मानिसको जीवन

छोटो+ र दुःखैदुःखले भरिएको हुन्छ।+

 २ ऊ फूलजस्तै फक्रन्छ तर पछि ओइलाइहाल्छ,*+

ऊ छायाजस्तै तुरुन्तै बिलाइहाल्छ।+

 ३ तपाईँ सधैँ ऊमाथि नजर राख्नुहुन्छ

अनि उसको न्याय गर्न* उसलाई अदालत लग्नुहुन्छ।+

 ४ के पापी मानिसले पापरहित मानिस जन्माउन सक्छ?+

कदापि सक्दैन!

 ५ तपाईँले उसको दिन तोक्नुभएको छ भने

उसको जीवन तपाईँकै हातमा छ।

ऊ त्यो सीमा नाघेर जान सक्दैन।+

 ६ मजदुरले जस्तै दिनभरिको काम सिद्‌ध्याएर आराम नगरेसम्म

उसको एक-एक कदम नजाँच्नुहोस्‌।+

 ७ किनकि एउटा रूखको समेत आशा हुन्छ।

त्यसलाई काटेर ढाले पनि त्यो फेरि पलाउँछ

अनि त्यसमा पालुवा लाग्छ।

 ८ त्यसको जरा छिप्पिए पनि

र त्यसको ठुटो माटोमै सुके पनि

 ९ पानीको गन्ध पाउनेबित्तिकै त्यो फेरि पलाउन थाल्छ

र नयाँ बोटमा जस्तै हाँगाबिँगा लाग्छ।

१० तर मानिस मरेपछि उसमा केही शक्‍ति रहँदैन।

सास निस्केपछि उसको कुनै अस्तित्व रहँदैन।+

११ जसरी समुद्रको पानी बिलाउँछ

अनि नदीको पानी घट्‌दै जान्छ र सुक्छ,

१२ त्यसरी नै मानिस पनि मर्छ र उठ्‌न सक्दैन।+

जबसम्म आकाश रहन्छ, तबसम्म ऊ ब्युँझन सक्दैन।

ऊ आफ्नो निद्राबाट उठ्‌न सक्दैन।+

१३ हे परमेश्‍वर, मलाई चिहानमा* लुकाउनुहोस्‌।+

तपाईँको रिस नमरेसम्म मलाई लुकाएर राख्नुहोस्‌।

तपाईँले तोक्नुभएको समय सिद्धिएपछि मलाई फेरि सम्झनुहोस्‌।+

१४ मानिस मरेपछि ऊ फेरि जिउँदो हुन सक्छ र?+

मेरो उद्धार नहोउन्जेल,

मेरो दासत्वका* दिनहरू नसिद्धिउन्जेल म पर्खेर बस्नेछु।+

१५ तपाईँले मलाई बोलाउनुहुनेछ र म जवाफ दिनेछु।+

आफ्नो हातको सृजना हेर्न तपाईँले तीव्र इच्छा गर्नुहुनेछ।

१६ तर अहिले त तपाईँ मेरो एक-एक कदममा नजर राख्नुहुन्छ,

तपाईँ मेरा पापहरू मात्र खोज्नुहुन्छ।

१७ तपाईँले मेरा अपराधहरू झोलामा साँचेर राख्नुभएको छ

अनि मेरा गल्तीहरूलाई त्यसभित्र राखेर लाहाछाप लगाइदिनुभएको छ।

१८ जसरी पहाड गर्ल्यामगुर्लुम खस्छ

अनि चट्टान त्यसको ठाउँबाट उप्किन्छ,

१९ जसरी पानीको धारले गर्दा ढुङ्‌गाहरू खिइन्छ

र भेलले माटो बगाएर लग्छ,

त्यसरी नै तपाईँले मानिसको आशालाई चकनाचुर पारिदिनुभएको छ।

२० उसको सास नगएसम्म तपाईँ उसलाई आफ्नो वशमा राख्नुहुन्छ।+

तपाईँ उसलाई कुरूप बनाउनुहुन्छ, उसलाई जीवितहरूको देशबाट हटाइदिनुहुन्छ;

२१ त्यसपछि त उसका छोराहरूले सम्मान पाए पनि उसलाई थाह हुँदैन।

अथवा कसैले तिनीहरूको वास्ता नगरे पनि उसले अत्तोपत्तो पाउँदैन।+

२२ जीवित छउन्जेल मात्र उसले पीडा महसुस गर्छ।

बाँचुन्जेल मात्र उसले विलाप गर्छ।”

१५ एलिपज+ तेमानीले यस्तो जवाफ दिए:

 २ “के बुद्धिमान्‌ मानिसले फोस्रा तर्कहरू गर्छ र?

अथवा आफ्नो मन कुइच्छाले* भर्छ र?

 ३ अर्थहीन शब्दहरू बोलेर कसैलाई सच्याउन खोज्नु बेकार छ

अनि ठूलठूला कुरा गर्नुमा कुनै फाइदा छैन।

 ४ किनकि तपाईँले गर्दा मानिसहरूले परमेश्‍वरको डर मान्‍न

र उहाँको वास्ता गर्न छोडिदिएका छन्‌।

 ५ तपाईँको पापले तपाईँलाई यस्ता कुराहरू बोल्न सिकाउँछ,

अनि तपाईँ छली कुरा गर्न रुचाउनुहुन्छ।

 ६ मैले होइन, तपाईँकै मुखले तपाईँलाई दोषी ठहराउँछ,

तपाईँकै ओठले तपाईँविरुद्ध साक्षी दिन्छ।+

 ७ के तपाईँ सबैभन्दा पहिला जन्मेको मानिस हो?

अथवा तपाईँको जन्म पहाडहरूभन्दा पहिले भएको थियो?

 ८ के तपाईँ परमेश्‍वरको गोप्य कुरा सुन्‍न सक्नुहुन्छ?

अथवा के तपाईँ आफू मात्रै बुद्धिमान्‌ छु भन्ठान्‍नुहुन्छ?

 ९ हामीलाई थाह नभएको कुनचाहिँ कुरा तपाईँलाई थाह छ?+

हामीले नबुझेको कुनचाहिँ कुरा तपाईँले बुझ्नुभएको छ?

१० कपाल फुलेका र पाको उमेरका व्यक्‍तिहरू हामीमाझ छन्‌।+

तपाईँको बुबाभन्दा वृद्ध मानिसहरू हामीसित छन्‌।

११ के परमेश्‍वरले दिनुभएको सान्त्वना तपाईँलाई पुगेन?

अथवा उहाँको कोमल बोलीले तपाईँको चित्त बुझेन?

१२ तपाईँ किन भावनामा बहनुहुन्छ?

अनि तपाईँ किन रिसले आफ्नो आँखा रातो पार्नुहुन्छ?

१३ तपाईँ परमेश्‍वरसित रिसाउनुहुन्छ

र आफ्नो मुखबाट तीता शब्दहरू निकाल्नुहुन्छ।

१४ मानिस के हो र? ऊ कसरी शुद्ध रहन सक्छ?

अथवा स्त्रीबाट जन्मेको मानिस के हो र? ऊ कसरी धर्मी ठहरिन सक्छ?+

१५ हेर्नुहोस्‌! परमेश्‍वर त पवित्र जनहरूलाई समेत भरोसा गर्नुहुन्‍न,

स्वर्ग पनि उहाँको नजरमा शुद्ध छैन।+

१६ झन्‌ खराबीलाई पानीझैँ पिउने दुष्ट र भ्रष्ट मानिसलाई

के उहाँले पवित्र ठान्‍नुहोला र?+

१७ मेरो कुरा सुन्‍नुहोस्‌! म तपाईँलाई बताउँछु,

आफूले देखेको कुरा म तपाईँलाई सुनाउँछु,

१८ जुन कुरा बुद्धिमान्‌ मानिसहरूले आफ्ना बाबुबाजेबाट सिके,+

जुन तिनीहरूले लुकाएर राखेनन्‌।

१९ तिनीहरूका बाबुबाजेलाई यो देश दिइएको थियो,

कोही विदेशी त्यहाँबाट भएर गएन।

२० दुष्ट मानिसले जीवनभर दुःख पाउँछ,

निष्ठुर मानिसले जीवनमा कुनै पनि दिन सुख पाउँदैन।

२१ उसको कानमा डरलाग्दो आवाज गुञ्जिरहन्छ,+

शान्ति छाएको बेलामा पनि ऊमाथि डाँकाहरू आइलाग्छन्‌।

२२ आफू अन्धकारबाट उम्कन्छु जस्तो उसलाई लाग्दैन।+

ऊ तरबारले काटिने कुरा निश्‍चित छ।

२३ ऊ खानेकुराको खोजीमा भौँतारिन्छ र यसो भन्छ: ‘खै, खानेकुरा कहाँ छ?’

अन्धकारको दिन नजिकै छ भनेर उसलाई राम्ररी थाह हुन्छ।

२४ दुःख र चिन्ताले उसलाई घरीघरी तर्साउँछ

र युद्ध गर्न तम्तयार राजाले झैँ उसलाई आक्रमण गर्छ।

२५ किनकि ऊ परमेश्‍वरलाई हाँक दिन्छ

र सर्वशक्‍तिमान्‌सित जोरी खोज्छ।*

२६ ऊ हठी हुँदै आफ्नो मोटो र बलियो ढाल लिएर

परमेश्‍वरविरुद्ध जाइलाग्छ।

२७ उसको गाला बोसोले भरिएको छ

र उसको भुँडी लागेको छ।*

२८ जुन सहरहरूमा ऊ बसेको छ, ती विनाश हुनेछन्‌।

उसका घरहरू उजाड हुनेछन्‌

र ती भत्केर ढुङ्‌गाको थुप्रो हुनेछन्‌।

२९ ऊ कहिल्यै धनी हुनेछैन र उसले कहिल्यै सम्पत्ति जोड्‌न पाउनेछैन।

उसले देशमा आफ्नो धनसम्पत्ति बढाउन पाउनेछैन।

३० ऊ अन्धकारबाट उम्कन सक्नेछैन।

ऊ त्यो रूखजस्तै हुनेछ, जसको डाँठ आगोको रापले सुकेर जान्छ।*

अनि परमेश्‍वरको सासले उसलाई नाश गर्नेछ।+

३१ व्यर्थका कुराहरूमा भर परेर उसले आफैलाई धोका नदेओस्‌

किनकि त्यसको सट्टामा उसले केही पाउनेछैन।

३२ उसको दिन सिद्धिनुअघि नै यी सब हुनेछन्‌।

अनि ऊ त्यो रूखजस्तै हुनेछ, जसको हाँगाबिँगा कहिल्यै सप्रँदैन।+

३३ ऊ त्यो अङ्‌गुरको बोटजस्तै हुनेछ, जसको फल पाक्न नपाउँदै झर्छ।

ऊ त्यो जैतुनको रूखजस्तै हुनेछ, जसको फूल फक्रन नपाउँदै खस्छ।

३४ किनकि परमेश्‍वरको डर नमान्‍नेहरूको* फलिफाप हुँदैन+

र घुस लिनेहरूको पाल आगोले स्वाहा पार्छ।

३५ तिनीहरू गर्भमा अरूको हानि गर्ने विचार पाल्छन्‌ अनि खराब कुरालाई जन्माउँछन्‌।

तिनीहरूको कोखबाट कपटबाहेक केही जन्मँदैन।”

१६ तब अय्युबले यस्तो जवाफ दिए:

 २ “यस्ता कुराहरू मैले निकै सुनेको छु।

मलाई सान्त्वना दिनु त कहाँ हो कहाँ,

तपाईँहरू उल्टै मेरो पीडा बढाउनुहुन्छ!+

 ३ तपाईँहरूको वाहियात कुराको के कुनै अन्त छैन?

तपाईँहरू किन मसँग यसरी कुरा गर्नुहुन्छ?

 ४ म पनि तपाईँहरूले जस्तै नानाभाँती कुरा गर्न सक्थेँ।

तपाईँहरूको ठाउँमा भएको भए,

म तपाईँहरूको आलोचना गर्न सक्थेँ

र आफ्नो मुन्टो हल्लाएर तपाईँहरूको खिसी गर्न सक्थेँ।+

 ५ तर म त्यसो गर्ने थिइनँ। बरु तपाईँहरूलाई आफ्नो बोलीले हौसला दिने थिएँ।+

तपाईँहरूलाई सान्त्वना दिने कुरा गर्ने थिएँ।

 ६ म बोले पनि मेरो पीडा कम हुँदैन।+

चुप लागे पनि कष्टले पिरोल्न छोड्‌दैन।

 ७ परमेश्‍वरले मलाई हैरान पार्नुभएको छ।+

उहाँले मेरो पूरै घरपरिवारलाई* नामेट पारिदिनुभएको छ।

 ८ तपाईँले मलाई पक्रनुभएको छ र अरूले यो देखेका छन्‌।

म हाडछाला मात्र भएको छु र मेरो यस्तो हालतले मविरुद्ध गवाही दिइरहेको छ।

 ९ उहाँ रिसमा मलाई छिन्‍नभिन्‍न पार्नुहुन्छ र मसित दुस्मनी राख्नुहुन्छ।+

उहाँ मलाई हेरेर दाह्रा किट्‌नुहुन्छ;

मेरो शत्रु मलाई आँखा तरेर हेर्छ।+

१० मानिसहरू मलाई सिङ्‌गै निल्न मुख बाएर बसेका छन्‌।+

मेरो खिसी गर्दै मेरा दुवै गालामा तिनीहरूले थप्पड हानेका छन्‌।

तिनीहरू हुल बाँधेर ममाथि आइलाग्छन्‌।+

११ परमेश्‍वर मलाई केटाहरूको जिम्मा लगाउनुहुन्छ

र मलाई घोक्राएर दुष्टहरूको हातमा सुम्पनुहुन्छ।+

१२ म त चिन्तामुक्‍त थिएँ तर उहाँले मेरो जीवन उथलपुथल पारिदिनुभयो।+

उहाँले मलाई घोक्रेठ्‌याक लगाउनुभयो र मलाई कुल्चीमिल्ची गर्नुभयो।

त्यसपछि उहाँले मलाई आफ्नो तारो बनाउनुभयो।

१३ उहाँका धनुर्धारीहरूले मलाई चारैतिरबाट घेरे;+

मप्रति रतीभर दया नदेखाई उहाँले मेरो मिर्गौला छेड्‌नुभयो;+

उहाँले मेरो पित्त भुईँमा पोखाइदिनुभयो।

१४ उहाँ ममाथि बारम्बार खनिनुभयो;

योद्धाजस्तै ममाथि आइलाग्नुभयो।

१५ मैले भाङ्‌ग्रा ओढेँ;+

मैले आफ्नो मानसम्मान सबै धुलोमा मिलाएँ।+

१६ रुँदा-रुँदा मेरो अनुहार रातो भइसक्यो+

र मेरो आँखाको डिल कालो भइसक्यो।

१७ मैले कसैको केही बिगार गरेको छैनँ;

मेरा प्रार्थनाहरू निष्कपट छन्‌ तैपनि उहाँले मलाई यस्तो हालतमा पुऱ्‍याउनुभयो।

१८ हे पृथ्वी! मेरो रगतलाई नछोप!+

मेरो रोदनले विश्राम नपाओस्‌।

१९ अहिले पनि मेरा साक्षी स्वर्गमै हुनुहुन्छ;

मेरो पक्षमा गवाही दिन सक्ने माथि हुनुहुन्छ।

२० मैले परमेश्‍वरसामु धरधरी आँसु झार्दा*+

मेरा साथीहरू मेरो खिसी गर्छन्‌।+

२१ मानिसहरूबीचको मुद्दा छिनफान गरिदिएझैँ

कसैले परमेश्‍वर र मबीचको मुद्दा छिनफान गरिदेओस्‌।+

२२ किनकि अब मसित धेरै दिन छैन।

म फेरि कहिल्यै नफर्किनेगरि जाँदै छु।+

१७ “मेरो मन छियाछिया भएको छ, मेरा दिनहरू सकिएका छन्‌।

चिहान मलाई पर्खेर बसिरहेको छ।+

 २ खिसी गर्ने मानिसहरूले मलाई चारैतिरबाट घेरेका छन्‌+

अनि उनीहरूले मेरो विद्रोह गर्दा मैले टुलुटुलु हेरेर बस्नुपरेको छ।

 ३ मेरो धरौटी स्विकार्नुहोस्‌ र तपाईँसितै राख्नुहोस्‌।

मसित हात मिलाएर मेरो तर्फबाट बिन्ती गरिदिने अरू को छ र?+

 ४ किनकि तपाईँले उनीहरूको हृदयलाई समझहीन तुल्याउनुभएको छ।+

त्यसैले तपाईँ उनीहरूलाई उचाल्नुहुन्‍न।

 ५ त्यस्तो मान्छे आफ्ना साथीभाइसित बाँडचुँड गर्दै हिँड्‌छ

तर उसकै छोराछोरीका आँखा भने भोकले गलेका छन्‌।

 ६ परमेश्‍वरले मलाई मानिसहरूमाझ गिल्लाको पात्र* बनाउनुभएको छ।+

त्यसैले मानिसहरू मेरो अनुहारमा थुक्छन्‌।+

 ७ पीरैपीरले मेरा आँखा धमिला भएका छन्‌।+

म हाड र छाला मात्र भएको छु।

 ८ मेरो यस्तो हालत देखेर सोझाहरू तीनछक पर्छन्‌।

अनि भक्‍तिहीन* मानिसहरू देखेर निर्दोष मानिसहरू स्तब्ध हुन्छन्‌।

 ९ धर्मी मानिस आफ्नो बाटोबाट कहिल्यै तर्कँदैन।+

अनि जसका हात चोखा छन्‌, तिनीहरू झन्‌झन्‌ बलिया हुँदै जान्छन्‌।+

१० तर अब तपाईँहरू सबै आउनुहोस्‌ र मसित फेरि बहस गर्नुहोस्‌।

किनकि मैले तपाईँहरूमध्ये कसैलाई बुद्धिमान्‌ पाइनँ।+

११ मेरा दिनहरू सकिए,+

मेरा योजनाहरू भताभुङ्‌ग भए,

मेरा मनका इच्छाहरू चकनाचुर भए।+

१२ मेरा यी साथीहरू रातलाई दिन भन्छन्‌।

तिनीहरू यसो भन्छन्‌: ‘उज्यालो हुनै लाग्यो।’

तर म आफूवरपर अँध्यारोबाहेक अरू केही देख्दिनँ।

१३ मैले अझै पर्खेँ भने चिहान* नै मेरो घर हुनेछ।+

मैले अन्धकारमै ओछ्यान लगाउनुपर्नेछ।+

१४ म खाडललाई* ‘मेरो बुबा’ भन्‍नेछु+

अनि स्याउँस्याउँती पर्ने किरालाई चाहिँ ‘मेरी आमा र मेरा दिदीबहिनी’ भन्‍नेछु।

१५ त्यसोभए मेरो आशा खै त?+

मेरो निम्ति अझै पनि आशा छ भनेर कसले भन्‍न सक्छ?

१६ मेरो आशा चिहानको* ढोकाभित्र बन्द हुनेछ।

अनि मसँगसँगै मेरो आशा पनि माटोमा मिल्नेछ।”+

१८ बिल्दद+ सुहीले जवाफमा यसो भने:

 २ “तपाईँ कहिलेसम्म यसरी व्यर्थै बरबराइरहनुहुन्छ?

बुज्झकी भएर एकछिन चुप लाग्नुहोस्‌

अनि हामी पनि केही बोल्न पाऔँ।

 ३ तपाईँ किन हामीलाई पशुबराबर ठान्‍नुहुन्छ?+

किन हामीलाई मूर्ख* ठान्‍नुहुन्छ?

 ४ तपाईँले रिसको झोँकमा आफैलाई टुक्राटुक्रा पारे पनि,

पृथ्वी तपाईँविना सुनसान हुन्छ र?

अथवा चट्टान आफ्नो ठाउँबाट उप्केर अन्तै जान्छ र?

 ५ दुष्टको ज्योति अन्धकारमा बदलिन्छ,

त्यसको आगो निभ्छ।+

 ६ त्यसको पालको उज्यालो अँध्यारोमा बदलिन्छ।

अनि त्यसको दियो पनि बल्न छोड्‌छ।

 ७ लम्किरहेका त्यसका पाइला धरमराउन थाल्छन्‌

र आफैले दिएको सल्लाहले त्यसको पतन हुन्छ।+

 ८ त्यसका पाइला जाल थापेको ठाउँतिर लम्कन्छन्‌

र त्यो त्यसमा जाकिन्छ।

 ९ त्यसको खुट्टा फन्दामा पर्छ

र त्यो पासोमा जाकिन्छ।+

१० त्यो हिँड्‌ने बाटोमा पासो थापिएको

र जमिनमा डोरी बिछ्याइएको त्यसलाई पत्तै हुँदैन।

११ त्रासले त्यसलाई चारैतिरबाट घेर्छ+

र त्यसको पाइला पछ्याउँछ।

१२ दुष्ट मानिस शिथिल हुँदै जान्छ

र विपत्ति+ देखेर त्यसका हातगोडा काँप्छन्‌।

१३ त्यसको शरीर कुहिन्छ।

घातक रोगले त्यसका हातगोडा कुहिएर झर्छन्‌।

१४ पालमा ढुक्कले बसिरहेको बेला

त्यसलाई घिस्याई-घिस्याई लगेर त्रासका राजाकहाँ* सुम्पिइन्छ।+

१५ त्यसको पालमा विदेशीले अड्डा जमाउँछ,

त्यसको घरमा गन्धक बर्सिन्छ।+

१६ रूख सुकेझैँ त्यसका जराहरू सुक्छन्‌।

र त्यसका हाँगाबिँगा ओइलाउँछन्‌।

१७ त्यसको सम्झना मेटिएर जान्छ,

कसैले पनि त्यसको नाम सम्झनेछैन।

१८ त्यो उज्यालोबाट अन्धकारमा धकेलिन्छ

र त्यसलाई धर्तीबाट खेदेर धपाइन्छ।

१९ त्यसको कुल थाम्ने कोही हुनेछैन।

त्यसको घरमा त्यसको एउटै सन्तान बाँकी रहनेछैन।

२० त्यसको विनाश हुँदा पश्‍चिमका मानिसहरू स्तब्ध हुन्छन्‌

र पूर्वका मानिसहरूलाई त्रासले छोप्छ।

२१ दुष्ट मानिसको पालको गति यस्तै हुन्छ।

परमेश्‍वरलाई नचिन्‍ने मानिसको घरको हालत यस्तै हुन्छ।”

१९ अय्युबले जवाफमा यसो भने:

 २ “तपाईँहरू कहिलेसम्म मलाई सताइरहनुहुन्छ?+

कहिलेसम्म घोचपेच गरिरहनुहुन्छ?+

 ३ तपाईँहरू बारम्बार* मेरो अपमान गर्नुहुन्छ।

मसित यस्तो क्रूर व्यवहार गर्न तपाईँहरूलाई लाज लागेन?+

 ४ मैले गल्ती गरेकै भए पनि

त्यसको सजाय भोग्न म तयार छु।

 ५ तर मलाई खसालेर तपाईँहरू आफैलाई उचाल्नुहुन्छ

र ममाथि आइपरेको विपत्ति जायजै हो भनेर दाबी गर्नुहुन्छ भने

 ६ यो कुरा याद राख्नुहोस्‌, मलाई यो अवस्थामा पुऱ्‍याउने

र आफ्नो जालमा फसाउने व्यक्‍ति परमेश्‍वर नै हुनुहुन्छ।

 ७ ‘ममाथि अन्याय भयो’ भन्दै जति नै कराए पनि म न्याय पाउँदिनँ।+

मैले जति गुहारे पनि कसैले मेरो वास्ता गर्दैन।+

 ८ म हिँड्‌न नसकूँ भनेर परमेश्‍वरले ढुङ्‌गाको पर्खाल लगाएर मेरो बाटो थुनिदिनुभएको छ।

उहाँले मेरो बाटो अँध्यारो तुल्याइदिनुभएको छ।+

 ९ उहाँले मेरो मानसम्मान माटोमा मिलाइदिनुभएको छ।

मेरो शिरको मुकुट भुईँमा खसालिदिनुभएको छ।

१० म नाश नहोउन्जेल उहाँ मलाई चारैतिरबाट आक्रमण गर्नुहुन्छ।

रूखलाई उखेलेझैँ उहाँ मेरो आशालाई उखेलेर मिल्काइदिनुहुन्छ।

११ आगोभन्दा चर्को रिस उहाँ ममाथि पोखाउनुहुन्छ

र मलाई आफ्नो शत्रु ठान्‍नुहुन्छ।+

१२ उहाँको सेनाले एकजुट भएर मलाई घेर्छ

र मेरो पालको वरिपरि छाउनी हाल्छ।

१३ मेरा आफ्नै दाजुभाइलाई उहाँले मदेखि टाढा पठाइदिनुभएको छ।

अनि मलाई चिन्‍नेहरूजति सबैले मलाई छोडेर गएका छन्‌।+

१४ मेरा आफन्तहरू सबैले मलाई एक्लै पारे।

मसितै उठबस गर्नेहरूले समेत मलाई बिर्सिए।+

१५ मेरो घरमा आएका पाहुनाहरू+ र मेरा दासीहरू मलाई नचिनेझैँ गर्छन्‌।

तिनीहरूको लागि त म अनजान मानिसजस्तै भएको छु।

१६ म मेरो नोकरलाई बोलाउँछु तर त्यसले नसुनेझैँ गर्छ।

‘मलाई दया गर’ भनेर मैले त्यसलाई बिन्ती गर्नुपरेको छ।

१७ मेरी पत्नीलाई समेत मेरो सास गन्हाउँछ।+

मेरा आफ्नै दाजुभाइहरूलाई म डुङडुङती गन्हाउने भएको छु।

१८ केटाकेटीहरू मलाई देखी सहँदैनन्‌।

तिनीहरू जहिले पनि* मलाई जिस्क्याउँछन्‌।

१९ मेरा घनिष्ठ मित्रहरू मदेखि घिनाउँछन्‌।+

ज-जसलाई म माया गर्थेँ, तिनीहरू सबै ममाथि खनिएका छन्‌।+

२० म हड्डी र छाला मात्र भएको छु।+

म जसोतसो बाँचिरहेको छु।*

२१ ए मेरा मित्रहरू हो! दया गर्नुहोस्‌, मलाई दया गर्नुहोस्‌।

किनकि परमेश्‍वर स्वयम्‌ले मलाई हिर्काउनुभएको छ।+

२२ तपाईँहरू पनि किन मलाई परमेश्‍वरले जस्तै दुःख दिनुहुन्छ?+

किन मलाई निरन्तर सताउनुहुन्छ?+

२३ मेरा यी शब्दहरू लेखेर राखिएको भए हुन्थ्यो।

एउटा पुस्तकमा साँचेर राखिएको भए हुन्थ्यो।

२४ ती शब्दहरू फलामको कलम* र सिसाले

कहिल्यै नमेटिनेगरि ढुङ्‌गामा कुँदिएको भए हुन्थ्यो।

२५ किनकि मेरा उद्धारक+ जीवितै हुनुहुन्छ भनेर मलाई थाह छ।

उहाँ आउनुहुनेछ र पृथ्वीमा खडा हुनुहुनेछ।

२६ मेरो शरीर कुहिएको भए पनि

मर्नुअघि नै म परमेश्‍वरलाई देख्नेछु।

२७ म आफैले उहाँलाई देख्नेछु;

अरूको होइन, आफ्नै आँखाले उहाँलाई देख्नेछु।+

तर अहिले मलाई भित्रभित्रै छटपटी भइरहेको छ।

२८ किनकि तपाईँहरूको नजरमा त दोषी म नै हुँ।

त्यसैले तपाईँहरू भन्‍नुहुन्छ, ‘हामीले तपाईँलाई कहाँ दुःख दियौँ र?’+

२९ तर होसियार! तपाईँहरूमाथि तरबार आइनलागोस्‌।+

किनकि अपराधीलाई दण्ड दिन तरबार चलाइन्छ।

सबैको न्याय गर्ने एक न्यायाधीश हुनुहुन्छ भनेर जानिराख्नुहोस्‌।”+

२० जोपर+ नामातीले यस्तो जवाफ दिए:

 २ “मेरो मन भरङ्‌ग भएकोले म नबोली बस्न सक्दिनँ।

मलाई भित्रभित्रै औडाहा भइरहेको छ।

 ३ तपाईँले नचाहिँदो तर्क गरेर मेरो बेइज्जत गर्नुभएको छ;

त्यसैले आफ्नो समझ चलाएर जवाफ दिन मलाई करै लागेको छ।

 ४ यो कुरा त तपाईँलाई पक्कै थाह होला

किनभने पृथ्वीमा मानिसको सृष्टि भएदेखि नै यस्तो हुँदै आएको छ:+

 ५ दुष्टको हाँसो क्षणभरको हुन्छ

र भक्‍तिहीन* मानिसहरूको खुसीयाली पलभरको हुन्छ।+

 ६ त्यसको घमन्ड आकाशसम्मै पुगे पनि

र त्यसको शिरले बादललाई छोए पनि

 ७ त्यो त्यसकै मलजस्तै सधैँका लागि हराएर जानेछ।

त्यसलाई देख्नेहरूले यसो भन्‍नेछन्‌, ‘खै, त्यो कहाँ गयो?’

 ८ त्यो सपनाझैँ उडेर जानेछ, तिनीहरूले त्यसलाई भेट्टाउनेछैनन्‌।

त्यो रातको सपनाझैँ * बिलाएर जानेछ।

 ९ त्यसलाई देख्ने आँखाहरूले फेरि कहिल्यै त्यसलाई देख्न पाउनेछैनन्‌;

त्यसकै ठाउँले पनि फेरि कहिल्यै त्यसलाई देख्नेछैन।+

१० त्यसका बालबच्चाले गरिबहरूसँग भीख माग्नेछन्‌;

त्यसले अरूबाट असुलेको सम्पत्ति आफ्नै हातले फिर्ता गर्नुपर्नेछ।+

११ त्यसका हड्डीहरूमा जवानीको जोस हुने गर्थ्यो

तर त्यसको बल त्यससँगसँगै धुलोमा मिल्नेछ।

१२ जे कुरा गलत छ, त्यो त्यसलाई गुलियो लाग्छ

र जिब्रोमुनि लुकाएर राख्छ भने

१३ अनि स्वाद लिई-लिई त्यसलाई मुखमा खेलाउँछ

र त्यसलाई आफ्नो मुखमा राखिरहन्छ भने

१४ त्यसको पेटमा पुगेपछि त्यो अमिलो हुनेछ,

गोमन सर्पको विषजस्तै हुनेछ।

१५ त्यसले मानिसहरूको सम्पत्ति निलेको छ

तर त्यसले त्यो सबै ओकल्नेछ।

परमेश्‍वरले त्यसको पेटबाट ती सबै निकालिदिनुहुनेछ।

१६ त्यसले गोमनको विष चुस्नेछ।

विषालु सर्पले* डसेर त्यसको मृत्यु हुनेछ।

१७ त्यसले कहिल्यै खोलानाला देख्न पाउनेछैन;

मह र नौनी बगेको त्यसले कहिल्यै देख्नेछैन।

१८ आफ्नो सम्पत्ति उपभोग गर्न नपाउँदै त्यसले ती फिर्ता गर्नुपर्नेछ।

आफूले कमाएको सरसम्पत्तिबाट त्यसले सुखभोग गर्न पाउनेछैन।+

१९ किनकि त्यसले गरिबहरूको शोषण गरेको छ

र उनीहरूलाई अलपत्र पारेको छ।

आफूले नबनाएको घर त्यसले हडपेको छ।

२० तर त्यसको मनमा पटक्कै शान्ति हुनेछैन।

त्यसको सम्पत्तिले त्यसलाई बचाउन सक्नेछैन।

२१ खोस्नलाई केही बाँकी नभएकोले त्यसको हात खाली हुनेछ;

त्यसले धेरै दिन सुखचैन देख्न पाउनेछैन।

२२ त्यसको धनसम्पत्ति निकै बढेपछि चिन्तै-चिन्ताले त्यसलाई घेर्नेछ

र भएभरको कष्ट त्यसमाथि आइपर्नेछ।

२३ त्यसले आफ्नो पेट भर्दै गर्दा

परमेश्‍वरले त्यसमाथि बल्दो रिस खन्याउनुहुनेछ

र आफ्नो रिस त्यसको आन्द्रासम्मै पुग्नेगरि पोखाउनुहुनेछ।

२४ त्यो फलामका हतियारहरूबाट उम्के पनि

तामाको धनुबाट निस्केका बाणहरूले त्यसलाई छेड्‌नेछन्‌।

२५ त्यसले आफ्नो पिठिउँमा छेडिएको बाण निकाल्नेछ;

पित्तसम्म घोच्नेगरि रोपिएको चम्किलो हतियार तान्‍नेछ।

अनि त्रासले त्यसलाई छोप्नेछ।+

२६ घोर अन्धकारले त्यसको धनसम्पत्तिलाई निल्नेछ।

कसैले नफुकेको आगोले त्यसलाई भस्म पार्नेछ।

त्यसको पालमा जो-जो बाँकी रहन्छन्‌, तिनीहरू सबै विपत्तिको सिकार हुनेछन्‌।

२७ आकाशले त्यसको गल्ती उदाङ्‌ग पारिदिनेछ,

पृथ्वी त्यसको विरुद्धमा खडा हुनेछ।

२८ परमेश्‍वरको रिसको दिनमा भेल उर्लेर आउनेछ

र बाढीले त्यसको घरलाई बगाएर लग्नेछ।

२९ दुष्ट मानिसले परमेश्‍वरबाट पाउने फल यही हो,

उहाँले त्यसलाई यस्तै इनाम दिने निश्‍चय गर्नुभएको छ।”

२१ अय्युबले यस्तो जवाफ दिए:

 २ “मेरो कुरा ध्यान दिएर सुन्‍नुहोस्‌;

त्यो नै मेरो लागि सान्त्वना हुनेछ।

 ३ म बोलुन्जेल धैर्य गर्नुहोस्‌।

त्यसपछि मलाई जति गिज्याए पनि हुन्छ।+

 ४ म मानिससित गुनासो गर्दै छु र?

मेरो गुनासो मानिससित भएको भए

मैले उहिल्यै धैर्य गुमाइसक्ने थिएँ।

 ५ छक्क परेर मलाई क्वारक्वार्ती हेर्नुहोस्‌।

अचम्म मान्दै आफ्नो मुख छोप्नुहोस्‌।

 ६ ममाथि जे आइपऱ्‍यो, त्यसबारे सोच्दा मात्रै पनि मलाई छटपटी हुन्छ

र मेरो पूरै शरीर थरथर काँप्छ।

 ७ दुष्टहरू किन बुढेसकालसम्मै बाँचिरहन्छन्‌?+

किन तिनीहरूको फलिफाप हुन्छ?*+

 ८ तिनीहरूका छोराछोरी सधैँ तिनीहरूकै आँखाअगाडि हुन्छन्‌।

तिनीहरूले आफ्ना छोरानाति खेलाउन पाउँछन्‌।

 ९ तिनीहरूको घर सुरक्षित रहन्छ र तिनीहरू ढुक्कले बस्छन्‌।+

परमेश्‍वर तिनीहरूलाई छडी लाउनुहुन्‍न।

१० तिनीहरूका बहरहरू बाली लाग्छन्‌* र त्यो खेर जाँदैन।

तिनीहरूका गाईका गर्भ कहिल्यै तुहिँदैनन्‌।

११ तिनीहरूका छोराहरू भेडाबाख्राको बथानजस्तै कुद्‌छन्‌

र तिनीहरूका छोराछोरी बुर्लुक-बुर्लुक उफ्रन्छन्‌।

१२ तिनीहरू खैँजडी र वीणा बजाउँदै गीत गाउँछन्‌

अनि बाँसुरीको धुनमा रमाउँछन्‌।+

१३ तिनीहरूको पूरै जीवन आरामसित बित्छ।

मर्ने बेला* पनि तिनीहरूलाई कुनै सास्ती हुँदैन।

१४ तिनीहरू साँचो परमेश्‍वरलाई यसो भन्छन्‌, ‘हाम्रो पछि नलाग्नुहोस्‌!

हामीलाई तपाईँको मार्ग सिक्नु छैन।+

१५ सर्वशक्‍तिमान्‌ परमेश्‍वर को हो र, जसको हामीले सेवा गर्नुपऱ्‍यो?+

उहाँलाई चिनेर हामीलाई के फाइदा?’+

१६ तर म जान्दछु, तिनीहरू आफैले गर्दा तिनीहरूको फलिफाप भएको होइन।+

मेरो सोचाइ* दुष्टको जस्तो छँदै छैन।+

१७ तर दुष्टको दियो कहिले पो निभेको छ र?+

तिनीहरूमाथि कति पटक पो विपत्ति आइपरेको छ र?

परमेश्‍वरले कति पटक पो रिसाएर तिनीहरूलाई प्रहार गर्नुभएको छ र?

१८ तिनीहरू हावाले उडाउने पराल

र बतासले उडाउने भुसजस्तै कहिले पो भएका छन्‌ र?

१९ परमेश्‍वरले दुष्टलाई दिने सजाय त्यसका छोराछोरीको लागि साँचेर राख्नुहुन्छ।

तर उहाँले त्यसैलाई सजाय भोग्न दिनुभए हुन्थ्यो

र परमेश्‍वरले दण्ड दिँदै हुनुहुन्छ भनेर त्यसले थाह पाउने थियो।+

२० त्यसले आफ्नै आँखाले आफ्नो विनाश देख्नुपरोस्‌

र सर्वशक्‍तिमान्‌को रिसको कचौराबाट पिउनुपरोस्‌।+

२१ त्यसको आयु घटाइयो भने

त्यसले आफ्नो शेषपछि छोराछोरीलाई के होला भनेर चिन्ता गर्छ र?+

२२ परमेश्‍वर ठूलाबडाहरूको समेत इन्साफ गर्नुहुन्छ भने+

उहाँलाई अर्तीबुद्धि दिने कसको आँट?+

२३ कोही मानिस मर्ने बेलासम्म पनि हट्टाकट्टा हुन्छ+

किनकि ऊ तनावमुक्‍त भएर चैनसित बस्छ;+

२४ उसका तिघ्राहरू बोसोले डम्म परेका हुन्छन्‌

र हड्डीहरू पनि बलिया हुन्छन्‌।

२५ तर कोही भने सुख देख्नै नपाई

अत्यन्तै व्याकुल भएर मर्छ।

२६ तैपनि अन्तमा तिनीहरू दुवै माटैमा मिल्छन्‌+

र तिनीहरू दुवैको लासमा स्याउँस्याउँती किरा पर्छ।+

२७ तपाईँहरूको एक-एक कुविचार मलाई थाह छ।

मलाई हानि पुऱ्‍याउन तपाईँहरूले रचेको षड्‌यन्त्र मलाई थाह छ।+

२८ तपाईँहरू भन्‍नुहुन्छ, ‘त्यसोभए दुष्ट मानिसको पाल खोइ त?

ठूलाबडा भनाउँदाहरूको घर कहाँ गयो?’+

२९ के तपाईँहरूले बटुवाहरूलाई कहिल्यै सोध्नुभएको छैन?

तिनीहरूको कुरा ध्यान दिएर सुन्‍नुभएको छैन?

३० विपत्तिको बेला दुष्टहरूलाई जोगाइन्छ।

विनाशको दिनमा तिनीहरूको उद्धार हुन्छ।

३१ दुष्टको चाल देखेर त्यसलाई कसले चेतावनी दिन्छ र?

त्यसको कुकर्मको सजाय त्यसलाई कसले दिन्छ र?

३२ त्यसलाई चिहानमा पुऱ्‍याउँदा

त्यसको लासलाई पहरा दिनेहरू हुन्छन्‌।

३३ बेँसीको* माटोको ढिस्को त्यसको लागि मीठो हुन्छ।+

त्यसको अघिल्लो पुस्ताका अनगिन्ती मानिसहरूजस्तै

त्यसपछिका सबै मानिस पनि त्यसैको पछिपछि चिहानमा जानेछन्‌।+

३४ त्यसैले तपाईँहरूको फोस्रो सान्त्वना मलाई चाहिँदैन।+

तपाईँहरूको कुरामा कपटबाहेक केही छैन।”

२२ एलिपज+ तेमानीले जवाफमा यसो भने:

 २ “के मानिस परमेश्‍वरको लागि कुनै कामको हुन्छ र?

कुनै मानिस जति नै समझदार भए पनि उहाँलाई के फाइदा?+

 ३ तपाईँ धर्मी व्यक्‍ति भए पनि परमेश्‍वरले त्यसको वास्ता गर्नुहुन्छ र?*

अथवा तपाईँ सत्यनिष्ठ भए पनि उहाँलाई केही फाइदा हुन्छ र?+

 ४ तपाईँले परमेश्‍वरको डर मानेको भए

उहाँले तपाईँलाई सजाय दिनुहुन्थ्यो होला र?

अनि तपाईँलाई कठघरामा उभ्याउनुहुन्थ्यो होला र?

 ५ तपाईँको दुष्टता चुलिएकोले र तपाईँले खराब काम गर्न नछोडेकोले नै

तपाईँको हालत यस्तो भएको होइन र?+

 ६ किनकि तपाईँ आफ्ना दाजुभाइले बन्धकीमा राखेको कुरा विनाकारण खोस्नुहुन्छ

अनि मानिसहरूको लुगा खोसेर तिनीहरूलाई नाङ्‌गै छोडिदिनुहुन्छ।+

 ७ तपाईँ थाकेकाहरूलाई पानी दिनुहुन्‍न

र भोकाएकाहरूलाई खानेकुरा दिनुहुन्‍न।+

 ८ तपाईँजस्ता ठूलाबडाले अरूको जग्गाजमिनमा कब्जा जमाएका छन्‌+

र त्यहाँ बसेका छन्‌।

 ९ तर तपाईँ विधवाहरूलाई भने रित्तो हात फर्काउनुहुन्छ

र अनाथहरूको* हात निमोठ्‌नुहुन्छ।

१० त्यसैले तपाईँको चारैतिर पासो थापिएको छ+

र त्रासले तपाईँलाई अचानक छोप्छ।

११ त्यसैले तपाईँको वरिपरि निस्पट्ट अन्धकार छाएको छ

र तपाईँ केही देख्न सक्नुहुन्‍न।

उर्लेर आएको भेलले तपाईँलाई डुबाएको छ।

१२ के परमेश्‍वर स्वर्गको सबैभन्दा उच्च ठाउँमा हुनुहुन्‍न र?

ताराहरूसमेत कत्ति माथि छन्‌, हेर्नुहोस्‌।

१३ तर तपाईँ भन्‍नुहुन्छ: ‘परमेश्‍वरलाई मानिसहरूबारे के नै थाह छ र?

बाक्लो बादललाई छिचोलेर उहाँले कसरी पो न्याय गर्न सक्नुहुन्छ र?

१४ उहाँ आकाशमा* हिँड्‌दै गर्दा बादलले उहाँलाई छेकिदिन्छ

ताकि उहाँले हामीलाई नदेखून्‌।’

१५ जुन बाटोमा दुष्ट मानिसहरू धेरै अघिदेखि हिँड्‌दै आएका छन्‌,

के तपाईँ पनि त्यही बाटोमा हिँड्‌नुहुन्छ?

१६ ती दुष्टहरू, जसको अकालमै मृत्यु भएको थियो

र जसको जग बाढीले* बगाएर लगेको थियो,

के तपाईँ तिनीहरूलाई पछ्याउनुहुन्छ?+

१७ तिनीहरू साँचो परमेश्‍वरलाई यसो भन्‍ने गर्थे: ‘हाम्रो पछि नलाग्नुहोस्‌!

सर्वशक्‍तिमान्‌ले हामीलाई के नै गर्न सक्नुहुन्छ र?’

१८ तर तिनीहरूको घरलाई असल-असल थोकले भरिदिने उहाँ नै हुनुहुन्छ।

(मेरो मनमा कहिल्यै तिनीहरूको जस्तो कुविचार आएन।)

१९ दुष्टहरूको विनाश देखेर धर्मी मानिसहरू रमाउनेछन्‌।

अनि निर्दोषहरूले तिनीहरूको खिसी गर्दै यसो भन्‍नेछन्‌:

२० ‘हाम्रा शत्रुहरू नाश भएका छन्‌।

अनि तिनीहरूका जे-जति बाँकी छन्‌, ती सबै खरानी हुनेछन्‌।’

२१ परमेश्‍वरलाई चिन्‍नुहोस्‌ र तपाईँ ढुक्क भएर बाँच्न सक्नुहुनेछ।

अनि तपाईँको भलो हुनेछ।

२२ उहाँको नियम पालन गर्नुहोस्‌

र उहाँका वचनहरू आफ्नो हृदयमा राख्नुहोस्‌।+

२३ तपाईँ सर्वशक्‍तिमान्‌को पाउ पर्नुभयो भने तपाईँको सुदिन फर्कनेछ।+

यदि तपाईँले आफ्नो पालबाट दुष्टतालाई परै राख्नुभयो

२४ अनि आफ्नो सुन धुलोमा मिल्काइदिनुभयो

र ओपिरको+ सुन खोँचका चट्टानहरूमा हुर्ऱ्याइदिनुभयो भने

२५ सर्वशक्‍तिमान्‌ स्वयम्‌ नै तपाईँको लागि सुनबराबर हुनुहुनेछ

र उहाँ तपाईँको लागि सबैभन्दा असल चाँदीसरह हुनुहुनेछ।

२६ अनि सर्वशक्‍तिमान्‌ नै तपाईँको हर्षको स्रोत हुनुहुनेछ

र उहाँसामु तपाईँको शिर ठाडो हुनेछ।

२७ तपाईँले उहाँलाई पुकार्दा उहाँले सुन्‍नुहुनेछ।

तपाईँले आफ्ना भाकलहरू पूरा गर्न सक्नुहुनेछ।

२८ तपाईँका सबै योजना सफल हुनेछन्‌

र तपाईँको बाटो उज्यालो हुनेछ।

२९ किनकि अहङ्‌कार गरेर बोल्नुभयो भने तपाईँलाई होच्याइनेछ।

तर नम्रहरूलाई भने उहाँले जोगाउनुहुनेछ।

३० उहाँ निर्दोषहरूको उद्धार गर्नुहुन्छ।

त्यसैले यदि तपाईँका हातहरू निर्दोष छन्‌ भने तपाईँले पक्कै छुटकारा पाउनुहुनेछ।”

२३ अय्युबले यस्तो जवाफ दिए:

 २ “म गुनासो गर्न छोड्‌दै छोड्‌दिनँ।+

किनकि सुस्केरा हाल्दा-हाल्दा म शिथिल भइसकेँ।

 ३ परमेश्‍वर कहाँ हुनुहुन्छ भनेर थाह भएको भए+

म सरासर उहाँको निवासमा जाने थिएँ।+

 ४ म आफ्नो मामिला उहाँसामु पेस गर्ने थिएँ

र तर्क गर्दै आफ्नो सफाइ दिने थिएँ।

 ५ अनि उहाँले कस्तो जवाफ दिनुहुँदो रहेछ, हेर्ने थिएँ

र के भन्‍नुहुँदो रहेछ, सुन्‍ने थिएँ।

 ६ के उहाँले आफ्नो सारा शक्‍ति लगाएर मसित प्रतिवाद गर्नुहुनेछ?

अहँ, बरु उहाँले पक्कै मेरो सफाइ सुन्‍नुहुनेछ।+

 ७ उहाँसामु निर्दोष मानिसको मुद्दाको छिनोफानो हुने थियो

र मेरा न्यायाधीशले मलाई पूरै दोषमुक्‍त गरिदिनुहुने थियो।

 ८ तर म पूर्वतिर लागे पनि उहाँलाई भेट्टाउन सक्दिनँ

र पश्‍चिमतिर गए पनि उहाँलाई फेला पार्न सक्दिनँ।

 ९ उहाँले उत्तरतिर काम गरिरहँदा पनि म उहाँलाई देख्न सक्दिनँ

अनि उहाँ दक्षिणतिर फर्कँदा पनि म उहाँलाई भेट्‌दिनँ।

१० तैपनि मैले रोजेको मार्ग उहाँलाई थाह छ।+

उहाँले मेरो जाँच गरिसकेपछि म खारिएको सुनजस्तै हुनेछु।+

११ मैले उहाँको पाइला-पाइला पछ्याएको छु।

दायाँबायाँ कतै नलागी उहाँको मार्गमा हिँडेको छु।+

१२ उहाँका आज्ञाहरूलाई मैले हल्कासित लिएको छैनँ।

उहाँले मबाट मागेभन्दा पनि धेरै मैले उहाँको वचनको मोल गरेको छु।+

१३ उहाँले केही गर्ने अठोट गर्नुभयो भने कसले उहाँलाई रोक्न सक्छ?+

जब उहाँ केही गर्न चाहनुहुन्छ, त्यो गरेरै छोड्‌नुहुन्छ।+

१४ मेरो विषयमा उहाँले जे-जे गर्ने निधो गर्नुभएको छ, ती सब पूरा गरेरै छोड्‌नुहुन्छ।

अनि उहाँले गर्न बाँकी रहेका कुरा अझ धेरै छन्‌।

१५ उहाँको कारण म बेचैन भएको छु।

उहाँबारे सोच्दा उहाँप्रतिको मेरो श्रद्धा बढ्‌छ।

१६ परमेश्‍वरले मेरो हृदयलाई कमजोर तुल्याइदिनुभएको छ,

सर्वशक्‍तिमान्‌ले मलाई त्रसित पार्नुभएको छ।

१७ तर मेरो वरिपरि अन्धकार छाए पनि

र मेरो अनुहार अँध्यारो भए पनि म अहिलेसम्म चुप लागेर बसेको छैनँ।

२४ “सर्वशक्‍तिमान्‌ले किन समय तोक्नुहुन्‍न?+

उहाँलाई चिन्‍नेहरूले किन उहाँको दिन* देख्न पाउँदैनन्‌?

 २ मानिसहरू अरूको सिमाना मिच्छन्‌।+

अर्काको बगाल चोरेर आफ्नो चरनमा ल्याउँछन्‌।

 ३ तिनीहरू अनाथहरूको* गधा खोस्छन्‌

र विधवाको गोरुलाई जबरजस्ती बन्धकीको रूपमा लिन्छन्‌।+

 ४ गरिबलाई तिनीहरू बाटोबाट लखेट्‌छन्‌।

असहायहरू तिनीहरूदेखि लुकी-लुकी हिँड्‌न बाध्य छन्‌।+

 ५ जङ्‌गली गधा निर्जनभूमिमा खानेकुरा खोज्न भौँतारिएझैँ +

छोराछोरीको लागि खानेकुरा खोज्न गरिबहरू मरुभूमिमा भौँतारिन्छन्‌।

 ६ उनीहरू अरूको खेतमा कटनी गर्न* जानुपर्ने हुन्छ।

उनीहरू दुष्टको अङ्‌गुर बगानमा बाँकी रहेका अङ्‌गुर बटुल्न जान्छन्‌।

 ७ लुगाफाटा नभएकोले उनीहरू नाङ्‌गै रात काट्‌न बाध्य हुन्छन्‌;+

चिसोबाट जोगिन उनीहरूसित ओढ्‌ने नै हुँदैन।

 ८ पहाडी भेगमा हुने वर्षाले उनीहरू निथ्रुक्क भिज्छन्‌;

ओत लाग्ने ठाउँ नभएकोले उनीहरू चट्टानमा आड लिन्छन्‌।

 ९ दुष्टहरू अनाथलाई* आमाको काखबाट खोसेर लैजान्छन्‌;+

गरिबको लुगाफाटा बन्धकीको रूपमा लिन्छन्‌+

१० र उनीहरूलाई नाङ्‌गै हिँड्‌न बाध्य पार्छन्‌;

अन्‍नको बिटा बोकाएर पनि उनीहरूलाई भोकभोकै राख्छन्‌।

११ टन्टलापुर घाममा उनीहरू खेतको कान्लामा खट्‌छन्‌;*

उनीहरू कोलमा अङ्‌गुर पेल्छन्‌ तैपनि तिर्खाले छटपटिन्छन्‌।+

१२ मर्न लागेकाहरूको रोदन सहरभरि गुञ्जन्छ।

सख्त घाइते भएकाहरू गुहार माग्छन्‌।+

तर परमेश्‍वर भने तमासा हेरेर बस्नुहुन्छ।*

१३ उज्यालोलाई घृणा गर्नेहरूले

उज्यालो बाटो चिन्दैनन्‌+

र तिनीहरू ज्योतिको मार्गमा हिँड्‌दैनन्‌।

१४ हत्यारा झिसमिसेमै उठ्‌छ

अनि गरिब र असहायको ज्यान लिन्छ।+

रातीचाहिँ त्यो चोरी गर्न जान्छ।

१५ व्यभिचार* गर्ने मानिस कहिले साँझ पर्ला भनेर कुरिरहन्छ।+

त्यसले ‘मलाई कसैले देख्दैन’ भनेर सोच्छ+

र आफ्नो अनुहार छोप्छ।

१६ अन्धकार छाएपछि तिनीहरू घर फोर्छन्‌।

दिनमा चाहिँ तिनीहरू लुकेर बस्छन्‌।

तिनीहरू उज्यालोलाई मनै पराउँदैनन्‌।+

१७ किनकि बिहानीको उज्यालो तिनीहरूको लागि अन्धकारबराबर छ।

घोर अन्धकारको त्रासदेखि तिनीहरू डराउँदैनन्‌।

१८ तर तिनीहरूलाई पानीले स्वात्तै बगाइहाल्छ।

तिनीहरूको भागमा परेको जमिनलाई सराप लाग्नेछ।+

तिनीहरू आफ्नो अङ्‌गुर बगानमा फर्केर जान पाउनेछैनन्‌।

१९ जसरी खडेरी र चर्को घामले पानीलाई* सुकाउँछ,

त्यसैगरि चिहानले* पनि दुष्टहरूलाई कप्लक्कै निल्छ।+

२० त्यसकी आमाले पनि त्यसलाई बिर्सनेछिन्‌।

त्यसको शरीरमा स्याउँस्याउँती किरा पर्नेछ।

त्यसलाई सबैले बिर्सनेछन्‌।+

दुष्ट मानिस रूख भाँचिएझैँ भाँचिनेछ।

२१ त्यसले बाँझी स्त्रीलाई आफ्नो सिकार बनाउँछ

र विधवालाई दुर्व्यवहार गर्छ।

२२ ठूलाबडालाई परमेश्‍वरले आफ्नो शक्‍तिले नाश गर्नुहुनेछ।

तिनीहरूको फलिफाप भए पनि तिनीहरूको जीवनको कुनै ठेगान हुँदैन।

२३ तिनीहरूलाई ढुक्क र सुरक्षित रहन दिनुभए तापनि+

परमेश्‍वरले तिनीहरूको एक-एक काम याद गर्नुहुन्छ।+

२४ तिनीहरूले केही बेर मानसम्मान पाउँछन्‌ तर अन्तमा बिलाएर जान्छन्‌।+

तिनीहरू सबैको नजरमा गिर्छन्‌+ र आम मानिसझैँ जम्मा गरिन्छन्‌।

अन्‍नको बाला काटिएझैँ तिनीहरू काटिन्छन्‌।

२५ मेरो कुरा झूटो हो भनेर कसले भन्‍न सक्छ?

मलाई कसले गलत साबित गर्न सक्छ?”

२५ बिल्दद+ सुहीले यस्तो जवाफ दिए:

 २ “उहाँसित शासन गर्ने अधिकार र अथाह शक्‍ति छ।

उहाँले स्वर्गमा शान्ति कायम गर्नुहुन्छ।

 ३ कसले पो उहाँको फौज गन्‍न सक्छ र?

कोमाथि पो उहाँको ज्योति चम्कँदैन र?

 ४ त्यसोभए मरणशील मानिस कसरी परमेश्‍वरको नजरमा धर्मी ठहरिन सक्छ?+

अथवा स्त्रीबाट जन्मेको मानिस कसरी निर्दोष ठहरिन सक्छ?+

 ५ उहाँको नजरमा जूनसमेत चहकिलो छैन

र ताराहरू पनि बेदाग छैनन्‌।

 ६ झन्‌ मानिसको त के कुरा?

मानिस त केवल एउटा औँसाबराबर अनि मानिसको छोरा किराबराबर छ।”

२६ त्यसपछि अय्युबले यस्तो जवाफ दिए:

 २ “कमजोरहरूलाई तपाईँले खुब मदत गर्नुभयो!

निर्बल हातहरूलाई तपाईँले खुब सहायता गर्नुभयो!+

 ३ बुद्धि नभएकाहरूलाई तपाईँले खुब सल्लाह दिनुभयो!+

तपाईँले खुलेआम आफ्नो बुद्धि प्रकट गर्नुभयो, मानेँ तपाईँलाई!

 ४ तपाईँ कसलाई आफ्नो कुरा सुनाउन खोज्दै हुनुहुन्छ?

यस्ता कुराहरू बोल्न तपाईँलाई कसले प्रेरणा दियो?

 ५ मृत्युलाई हराउन नसक्नेहरू समुद्र र समुद्रका जीवहरूभन्दा पनि गहिराइमा छन्‌।

त्यहाँ पनि तिनीहरू थरथर काँप्छन्‌।

 ६ परमेश्‍वरको नजरबाट चिहानसमेत* लुकेको छैन।+

विनाशको ठाउँ* उहाँसामु उदाङ्‌ग छ।

 ७ उहाँको सामर्थ्यले गर्दा उत्तरको आकाश अन्तरिक्षमा फैलिएको छ+

र पृथ्वी कुनै आडविना झुन्डिरहेको छ।

 ८ पानीको भारले बादल नफाटोस्‌+ भनेर

उहाँले पानीलाई बादलमा बेरेर राख्नुभएको छ।

 ९ आफ्नो सिंहासन कसैले देख्न नसकोस्‌ भनेर

उहाँले बादलले आफ्नो सिंहासन ढाक्नुभएको छ।+

१० उहाँले पानीको सतहमा सीमारेखा* कोर्नुभएको छ+

र उज्यालो अनि अँध्यारोबीच सीमा तोक्नुभएको छ।

११ उहाँले हप्काउनुहुँदा स्वर्गका खम्बाहरूसमेत हल्लिन्छन्‌

र डरले चित खान्छन्‌।

१२ उहाँ आफ्नो शक्‍तिले समुद्रलाई हल्लाउनुहुन्छ+

र आफ्नो समझले विशाल जलजन्तुलाई* टुक्राटुक्रा पार्नुहुन्छ।+

१३ उहाँ आफ्नो सासले आकाशलाई सफा पार्नुहुन्छ

र वेगसित भागिरहेको सर्पलाई आफ्नो हातले छेँड्‌नुहुन्छ।

१४ हेर्नुहोस्‌! यी सब त उहाँका कामहरूको एक छेउ मात्र हो।+

हामीले त उहाँको मधुरो स्वर मात्र सुन्‍न पाएका छौँ।

त्यसोभए उहाँको भयानक गर्जन झन्‌ कस्तो होला?”+

२७ अय्युबले यसो भन्दै आफ्नो कुरा अघि बढाए:

 २ “मेरो इन्साफ नगर्नुहुने परमेश्‍वरको नाममा म कसम खाएर भन्छु,+

मेरो जीवन तीतो बनाइदिनुहुने सर्वशक्‍तिमान्‌को नाममा म कसम खाएर भन्छु,+

 ३ जबसम्म ममा सास बाँकी रहन्छ

र परमेश्‍वरले दिनुभएको सास मेरो नाकमा रहिरहन्छ,+

 ४ तबसम्म मेरो ओठले गलत कुरा बोल्नेछैन

र मेरो जिब्रोले कपटी कुरा गर्नेछैन।

 ५ म तपाईँहरूलाई कुनै पनि हालतमा धर्मी ठहराउन सक्दिनँ।

म नमरुन्जेल आफ्नो सत्यनिष्ठा छोड्‌नेछैनँ।+

 ६ म सही बाटोमा चल्नेछु र यसबाट कहिल्यै तर्कनेछैनँ।+

बाँचुन्जेल मेरो हृदयले मलाई दोषी ठहराउनेछैन।

 ७ मेरो शत्रुको हालत दुष्टहरूको जस्तो होस्‌।

मलाई दुर्व्यवहार गर्नेले भ्रष्टहरूले पाउने सजाय पाओस्‌।

 ८ किनकि भक्‍तिहीन* मानिसको विनाश हुँदा+ र परमेश्‍वरले त्यसको जीवन खोसेर लैजानुहुँदा

त्यसको निम्ति के नै आशा हुन्छ र?

 ९ त्यसमाथि दुःखकष्ट आइपर्दा+

के परमेश्‍वरले त्यसको पुकारा सुन्‍नुहुन्छ?

१० अथवा सर्वशक्‍तिमान्‌लाई सम्झेर त्यो खुसी हुन्छ र?

त्यसले हर समय परमेश्‍वरलाई पुकार्छ र?

११ म तपाईँहरूलाई परमेश्‍वरको शक्‍तिबारे बताउँछु।*

सर्वशक्‍तिमान्‌को विषयमा म तपाईँहरूसित कुनै कुरा लुकाउनेछैनँ।

१२ तपाईँहरूले साँच्चै दर्शन* देख्नुभएको हो भने

तपाईँहरूको कुरा किन यत्तिबिघ्न खोक्रो छ?

१३ दुष्टले परमेश्‍वरबाट पाउने इनाम

र अत्याचारीहरूले सर्वशक्‍तिमान्‌बाट पाउने अंश यही हो:+

१४ त्यसका धेरै छोरा भए पनि तिनीहरू तरबारले काटिनेछन्‌+

र त्यसका सन्तान भोकभोकै हुनेछन्‌।

१५ बचेकाहरूचाहिँ महामारीको सिकार हुनेछन्‌

र तिनीहरूका विधवाहरूले तिनीहरूको निम्ति आँसु बगाउनेछैनन्‌।

१६ चाहे त्यसले जम्मा गरेको चाँदी धुलोको कणजति नै होस्‌

र त्यसले थाक लगाएका राम्रा-राम्रा लुगा माटोको थुप्रोजत्तिकै होस्‌,

१७ चाहे ती सबै त्यसले आफ्नै हातले बटुलेको होस्‌,

ती सबै धर्मी मानिसले लगाउनेछ।+

अनि निर्दोषहरूले त्यसको चाँदी आपसमा भागबन्डा गर्नेछन्‌।

१८ त्यसले बनाएको घर पुतलीको कोयोजस्तै कमजोर हुनेछ,

पहरेदारले बनाएको टहरोजस्तै+ कमजोर।

१९ ओछ्यानमा जाउन्जेल त्यो धनी हुन्छ

तर बिहान आँखा खोल्दा त्यो कङ्‌गाल भइसकेको हुनेछ।

२० त्रासले त्यसलाई अचानक उर्लेको भेलले झैँ छोप्नेछ।

अनि रातमा भयानक आँधीले त्यसलाई उडाएर अन्तै पुऱ्‍याउनेछ।+

२१ पूर्वीय बतासले त्यसलाई उडाएर लग्नेछ,

त्यसलाई त्यसको ठाउँबाट हुर्ऱ्याएर लैजानेछ

र त्यसको नामोनिसान रहनेछैन।+

२२ त्यसले आफूलाई बचाउन लाख कोसिस गरे पनि+

पूर्वीय बतासले रतीभर दया नदेखाई त्यसलाई लछारपछार गर्नेछ।+

२३ त्यसको हालत देखेर बतासले थपडी मार्नेछ

र सिटी बजाउँदै+ त्यसको खिसी गर्नेछ।*

२८ “चाँदीका खानीहरू हुन्छन्‌

र सुन खार्ने ठाउँहरू हुन्छन्‌।+

 २ जमिनमुनिबाट फलाम* निकालिन्छ

र ढुङ्‌गाबाट तामा पगालिन्छ।+

 ३ खनिज पदार्थको खोजीमा

मानिस खानीको पीँधसम्मै पुग्छ

र अन्धकारलाई छिचोल्दै धुम्म परेका ठाउँहरूमा समेत जान्छ।

 ४ अनकन्टार ठाउँमा गएर मानिसहरू सुरुङ खन्छन्‌।

कोही पनि नजाने ठाउँमा तिनीहरू ओर्लन्छन्‌

र डोरीमा झुन्डिएर काम गर्छन्‌।

 ५ जमिनमाथि अन्‍न फलिरहेको हुन्छ

तर जमिनमुनि भने आगलागी भएको बेलामा झैँ

हलचल मच्चिरहेको हुन्छ।*

 ६ त्यहाँ चट्टानहरूमा नीलम पाइन्छ

र धुलोमा सुनका कणहरू हुन्छन्‌।

 ७ सिकारी चरालाई त्यहाँ जाने बाटो थाह छैन,

कालो चीलले त्यो ठाउँ कहिल्यै देखेको छैन।

 ८ कुनै पनि हिंस्रक जन्तु त्यहाँ पुगेको छैन,

जवान सिंहले त्यहाँ सिकार गरेको छैन।

 ९ मानिसले आफ्नो हातले चट्टान फुटाउँछ

र पहाडलाई फेदैबाट पल्टाइदिन्छ।

१० मानिसले चट्टानलाई चिरेर+ नहर बनाउँछ।

त्यसले हरेक बहुमूल्य कुरा देख्छ।

११ त्यसले पानीको मूललाई थुन्छ

र जमिनमा लुकेको कुरालाई बाहिर निकाल्छ।

१२ तर मानिसले बुद्धि कहाँ फेला पार्न सक्छ?+

अनि समझको खानी कहाँ छ?+

१३ कसैलाई पनि त्यसको मोल थाह छैन।+

जीवितहरूको देशमा त्यो फेला पार्न सकिँदैन।

१४ गहिरो समुद्रले भन्छ, ‘त्यो मसित छैन।’

अनि सागरले भन्छ, ‘त्यो मसँग छैन।’+

१५ निखुर सुनले त्यो किन्‍न सकिँदैन।

त्यसको सट्टा चाँदी जोखेर दिन सकिँदैन।+

१६ ओपिरको सुन दिए पनि त्यो पाइँदैन।+

ओनिक्स* र नीलमजस्ता दुर्लभ रत्नले समेत त्यो किन्‍न सकिँदैन।

१७ सुन र काँच त्यसको बराबरीमा आउन सक्दैन।

निखुर सुनले बनेको भाँडो नै दिए पनि त्यो प्राप्त गर्न सकिँदैन।+

१८ मुगा र मणिभ त्यसको अघि राख्न समेत सुहाउँदैन+

किनकि मोतीले भरिएको थैलीभन्दा बुद्धि धेरै बहुमूल्य हुन्छ।

१९ कुसको* पुष्पराज+ त्यसको दाँजोमा आउन सक्दैन।

शुद्ध सुनले पनि त्यो किन्‍न सकिँदैन।

२० त्यसोभए बुद्धि कहाँबाट आउँछ?

अनि समझको खानी कहाँ छ?+

२१ मानिस र जीवजन्तुको नजरबाट त्यो लुकेको छ+

आकाशका चराचुरुङ्‌गीबाट पनि त्यो छिपेको छ।

२२ विनाश र मृत्यु यसो भन्छन्‌:

‘हामीले त त्यसबारे सुनेका मात्र छौँ।’

२३ तर बुद्धि कहाँ पाइन्छ, परमेश्‍वरलाई थाह छ।

त्यो कहाँ छ, उहाँ मात्रै जान्‍नुहुन्छ।+

२४ किनकि उहाँ पृथ्वीको वल्लो छेउदेखि पल्लो छेउसम्म देख्न सक्नुहुन्छ

र स्वर्गमुनि भएका सबै कुरामा नजर राख्नुहुन्छ।+

२५ उहाँले बतासलाई शक्‍ति दिनुहुँदा+

र समुद्रको सिमाना तोक्नुहुँदा;+

२६ वर्षाको नियम बनाउनुहुँदा+

अनि मेघ गर्जने बाटो तयार पार्नुहुँदा+

२७ बुद्धि प्रकट गर्नुभयो र त्यसबारे बताउनुभयो।

उहाँले त्यो तयार पार्नुभयो र त्यसलाई जाँच्नुभयो।

२८ अनि उहाँले मानिसलाई यसो भन्‍नुभयो:

‘हेर, यहोवाको भय मान्‍नु नै बुद्धि हो+

र खराब कामबाट अलग रहनु नै समझ हो।’”+

२९ अय्युबले यसो भन्दै आफ्नो कुरा अघि बढाए:

 २ “परमेश्‍वरले मलाई रक्षा गर्नुभएका ती दिनहरूमा

फर्केर जान पाए हुन्थ्यो!

 ३ त्यसबेला उहाँको ज्योति मेरो शिरमाथि थियो।

उहाँको ज्योतिले गर्दा म अँध्यारोमा पनि हिँड्‌न सक्थेँ।+

 ४ जवानीको जोसले म भरिपूर्ण थिएँ।

परमेश्‍वर मेरो घनिष्ठ मित्र हुनुहुन्थ्यो र उहाँ मेरो पालमा रहनुहुन्थ्यो।+

 ५ सर्वशक्‍तिमान्‌ परमेश्‍वर मसित हुनुहुन्थ्यो

र मेरा छोराछोरी* मेरो वरिपरि हुन्थे।

 ६ म आफ्नो पैताला नौनीमा डुबाउँथेँ

र चट्टानबाट मेरो निम्ति तेलको खोलो बग्थ्यो।+

 ७ जब म सहरको मूलढोकामा जान्थेँ +

र चोकमा आफ्नो आसन ग्रहण गर्थेँ,+

 ८ तब युवकहरू मलाई देखेर बाटो छोड्‌थे

अनि बुढापाकासमेत उठ्‌थे र खडै रहन्थे।+

 ९ राजकुमारहरू मेरो अगाडि चुप लाग्थे।

तिनीहरू हातले आफ्नो मुख छोप्थे।

१० ठूलाबडाको बोली नै बन्द हुन्थ्यो।

तिनीहरूको जिब्रो तालुमा टाँसिन्थ्यो।

११ मेरो कुरा सुन्‍नेजति सबैले मेरो तारिफ गर्थे

र मलाई देख्नेजति सबैले मेरै पक्ष लिएर कुरा गर्थे।

१२ किनकि गरिबले मदत माग्दा म उसको हात थाम्थेँ।+

अनाथ* अनि असहायहरूलाई म सहायता दिन्थेँ।+

१३ ज-जसलाई मैले विनाशको मुखमा पर्नदेखि जोगाएँ,

तिनीहरू मलाई आशिष्‌ दिन्थे।+

विधवाहरूको मनको बोझ म हलुको पारिदिन्थेँ।+

१४ सुकर्मलाई* मैले वस्त्रझैँ पहिरेँ।

अनि न्यायलाई मैले अलखाझैँ* बेरेँ र फेटाझैँ बाँधेँ।

१५ अन्धाहरूको लागि म आँखा भएँ

अनि लङ्‌गडाहरूको लागि खुट्टा।

१६ गरिबगुरुवा मलाई आफ्नो बुबा मान्थे।+

मैले चिन्दै नचिनेकाहरूको मुद्दा म छिनोफानो गरिदिन्थेँ।+

१७ म गलत काम गर्नेको बङ्‌गारा भाँचिदिन्थेँ +

अनि त्यसको सिकार त्यसको मुखबाट खोस्थेँ।

१८ म यस्तो सोच्थेँ: ‘म आफ्नै घरमा आरामले मर्नेछु।+

मेरा दिनहरू बालुवाका कणजत्तिकै अनगिन्ती हुनेछन्‌।

१९ प्रशस्त पानी भएको ठाउँमा मेरा जराहरू फैलिनेछन्‌।

अनि रातभरि मेरा हाँगाहरूलाई शीतले भिजाउनेछ।

२० मानिसहरूले सधैँ मेरो आदर गर्नेछन्‌।

जति काँड हाने पनि मेरा पाखुरा थाक्नेछैनन्‌।’

२१ मानिसहरू मेरो कुरा सुन्‍न कान ठाडो पार्थे

र मैले दिने सल्लाह सुन्‍न चुपचाप पर्खिरहन्थे।+

२२ मैले आफ्नो कुरा राखिसकेपछि तिनीहरूसित भन्‍नलाई केही रहँदैनथ्यो।

मेरो कुरा सुन्‍न पाउँदा तिनीहरू रमाउँथे।

२३ किसानले वर्षालाई कुरेझैँ तिनीहरू मलाई कुर्थे।

जमिनले वर्षाको पानी पिउन आतुरी गरेझैँ तिनीहरू मेरो कुरा सुन्‍न आतुर हुन्थे।+

२४ तिनीहरूतिर हेरेर म मुस्कुराउँदा तिनीहरूलाई पत्याउनै गाह्रो लाग्थ्यो।

मेरो उज्यालो अनुहार देखेर तिनीहरूले हौसला पाउँथे।*

२५ तिनीहरूको नाइके भएकोले म तिनीहरूलाई सही बाटो देखाउँथेँ।

आफ्ना सिपाहीहरूबीच बस्ने राजाजस्तै म थिएँ।+

शोक गर्नेहरूलाई सान्त्वना दिने मानिसजस्तै थिएँ।+

३० “तर अब त उमेरमा मभन्दा निकै कान्छाहरूले समेत मेरो खिल्ली उडाउँछन्‌।+

तिनीहरूका बुबालाई त म आफ्नो बगाल रुँग्ने कुकुरहरूसित समेत राख्न अयोग्य ठान्थेँ।

 २ तिनीहरूका पाखुराको तागत मेरो लागि के कामको भयो र?

तिनीहरूको बल सिद्धिसकेको छ।

 ३ भोक र अभावले तिनीहरू शिथिल भइसके।

तहसनहस पारिएका र चिरा परेका उजाड ठाउँहरूको जमिनलाई

तिनीहरू दाँतले खोस्रन्छन्‌।

 ४ आफ्नो पेट भर्न तिनीहरू नुनिलो झारपात

र बुट्‌यानका जरा बटुल्दै हिँड्‌छन्‌।

 ५ तिनीहरू समाजबाट निकालिएका छन्‌।+

मानिसहरू होहल्ला गर्दै तिनीहरूलाई चोरलाई झैँ लखेट्‌छन्‌।

 ६ तिनीहरू खोँचमा बस्छन्‌।

जमिनका प्वालहरू र चट्टानका चिराहरूमा तिनीहरूको बास हुन्छ।

 ७ झाडीमा तिनीहरू ठूलठूलो स्वरले कराउँछन्‌

र सिस्नुको झ्याङमुनि गुजमुज्ज परेर बस्छन्‌।

 ८ मूर्ख र नीच घरानाका यी मानिसहरू

देशबाट लखेटिन्छन्‌।*

 ९ तर अहिले तिनीहरू आफ्नो गीतमा समेत मेरो खिसी गर्छन्‌।+

म तिनीहरूको लागि गिल्लाको पात्र* भएको छु।+

१० तिनीहरू मसित घिन मान्छन्‌ र मबाट टाढै रहन्छन्‌।+

मेरो अनुहारमा थुक्न तिनीहरू पटक्कै अप्ठेरो मान्दैनन्‌।+

११ किनकि परमेश्‍वरले मेरो हतियार खोस्नुभएको छ* र मलाई कमजोर तुल्याउनुभएको छ।

त्यसैले तिनीहरू आफ्नो सीमा नाघेर मसित मनपरी व्यवहार गर्छन्‌।

१२ मेरो दाहिनेतिरबाट तिनीहरू हुल बाँधेर आउँछन्‌।

तिनीहरू मलाई खेद्‌छन्‌

र मेरो विनाश होस्‌ भनेर मेरो बाटोमा अवरोध खडा गर्छन्‌।

१३ तिनीहरू म उम्कने सबै बाटो भत्काइदिन्छन्‌

र मेरो समस्यामाथि समस्या थपिदिन्छन्‌।+

तिनीहरूलाई रोक्ने कोही छैन।*

१४ पर्खाल भत्केर ठूलो चिरा परेको ठाउँबाट छिरेका मानिसहरूझैँ

तिनीहरू मलाई नाश गर्न ममाथि खनिन्छन्‌।

१५ त्रासले मलाई चारैतिरबाट छोप्छ।

मेरो मानसम्मान सबै हावाझैँ उडेर जान्छ।

अनि मेरो बच्ने आशा बादलझैँ बिलाएर जान्छ।

१६ मेरो जीवन छोटिँदै गइरहेको छ।+

कष्टका दिनहरूले+ मलाई छोड्‌दैनन्‌।

१७ रातमा पीडाले मेरो हड्डीभित्रसम्म दुख्छ।+

मेरो हड्डी कटकटी दुख्न कहिल्यै बन्द हुँदैन।+

१८ मेरो लुगा* जोडले तानिएको छ।*

सास फेर्नै गाह्रो हुनेगरि त्यसले मेरो घाँटी अँठ्‌याएको छ।

१९ परमेश्‍वरले मलाई हिलोमा पछारिदिनुभएको छ।

म धुलो र खरानीसरह भएको छु।

२० हे परमेश्‍वर, म तपाईँलाई पुकार्छु तर तपाईँ मलाई मदत गर्नुहुन्‍न।+

म खडा हुन्छु तर तपाईँ मलाई हेरेर मात्र बस्नुहुन्छ।

२१ तपाईँ निष्ठुर हुँदै ममाथि आइलाग्नुहुन्छ+

र भएभरको बल लगाएर मलाई हिर्काउनुहुन्छ।

२२ तपाईँ मलाई हावाले उडाएर लैजानुहुन्छ

अनि आँधीले मलाई यताउता हुर्ऱ्याउनुहुन्छ।*

२३ किनकि मलाई थाह छ, तपाईँले मलाई मृत्युमा पुऱ्‍याएरै छोड्‌नुहुन्छ;

त्यस घरमा, जहाँ सबै जना एक दिन जानै पर्छ।

२४ तर पीडाले छियाछिया भएको मानिसले

विपद्‌मा परेर हारगुहार गर्दा कसले ऊमाथि हात उठाउँछ र?+

२५ के म दुःखमा परेकाहरूको निम्ति रोएको छैनँ र?

के मैले गरिबहरूको निम्ति आँसु बगाएको छैनँ र?+

२६ मैले त सबै राम्रै होला भन्ठानेको थिएँ तर ममाथि विपत्ति आइपऱ्‍यो।

मैले उज्यालोको आशा गरेको थिएँ तर अन्धकार पो छायो।

२७ मेरो पेट बटारिन छोडेन।

दुःखका दिनहरूले मलाई घेरेका छन्‌।

२८ म निन्याउरो मुख लगाएर हिँडिरहेको छु,+ घामको किरण कतै देख्दिनँ।

समुदायमा म खडा हुन्छु र सहायताको लागि रोइकराइ गर्छु।

२९ म स्यालहरूको लागि दाजुभाइसरह भएको छु,

सुतुरमुर्गहरूको* लागि साथी।+

३० मेरो छाला डढेको छ र पत्रपत्र भएर झरिरहेको छ।+

गर्मीले* मेरो हड्डी भतभती पोलिरहेको छ।

३१ मेरो वीणाबाट शोकको धुन मात्र निस्कन्छ

र मेरो बाँसुरीबाट रोएको आवाज मात्र निस्कन्छ।

३१ “कुनै कन्ये केटीलाई म कसरी अनुचित नजरले हेर्न सक्छु र?+

किनकि मैले आफ्नो आँखासित वाचा बाँधेको छु।+

 २ मैले त्यसो गरेँ भने परमेश्‍वरले मसित कस्तो व्यवहार गर्नुहोला?

स्वर्गमा बस्नुहुने सर्वशक्‍तिमान्‌ले मलाई के हिस्सा दिनुहोला?

 ३ के गल्ती गर्नेहरूलाई विनाशले

र खराब काम गर्नेहरूलाई विपत्तिले ढुकिरहेको हुँदैन र?+

 ४ के परमेश्‍वरले मेरा सबै चाल देख्नुहुन्‍न?+

अनि मेरो एक-एक पाइला गन्‍नुहुन्‍न?

 ५ के म कहिल्यै झूटको मार्गमा* हिँडेको छु?

के मेरा पाइलाहरूले कहिल्यै छल गर्न आतुरी गरेका छन्‌?+

 ६ परमेश्‍वरले मलाई ठीक-ठीक नाप दिने तराजुमा तौलून्‌।+

अनि उहाँले म सत्यनिष्ठ रहेछु भनेर थाह पाउनुहुनेछ।+

 ७ यदि मेरा पाइलाहरू सही मार्गबाट तर्केको भए,+

मेरो हृदय आँखाले देखेका कुराहरूको पछि लागेको भए+

वा गलत काम गरेर मैले आफ्नो हातलाई अशुद्ध पारेको भए

 ८ मैले रोपेको अन्‍न अरू कसैले खाइदेओस्‌+

र मैले रोपेको बिउलाई जरैसमेत उखेलिदेओस्‌।*

 ९ यदि कुनै परस्त्रीलाई देखेर मेरो हृदय लोभिएको भए+

र म आफ्नो छिमेकीको ढोकामा ढुकिबसेको भए+

१० मेरी पत्नीले परपुरुषको लागि जाँतो पिँध्नुपरोस्‌

र परपुरुषहरू ऊसित सुतून्‌।+

११ किनकि मैले त्यस्तो कुकर्म गरेको भए त्यो साह्रै लाजमर्दो कुरा हुने थियो।

अनि म न्यायाधीशहरूबाट दण्ड पाउन योग्य हुने थिएँ।+

१२ त्यो त सबै कुरा विनाश गर्ने आगोजस्तै हुने थियो+

र त्यसले मसँग भएको सबथोक भस्म पारिदिने थियो।

१३ मेरो दास वा दासीले मेरो गुनासो गर्दा*

मैले उनीहरूको पक्षमा न्याय गरिदिन इन्कार गरेको भए

१४ म कसरी परमेश्‍वरसामु आफ्नो मुख देखाउन सक्छु र?

उहाँले मेरो लेखा लिनुहुँदा मैले के जवाफ दिने?+

१५ मलाई आमाको गर्भमा रच्नुहुनेले नै तिनीहरूलाई पनि रच्नुभएको होइन र?+

आमाको गर्भमा हामीलाई बनाउने उहाँ नै हुनुहुन्छ, होइन र?+

१६ यदि मैले गरिबहरूको खाँचो नटारिदिएको भए+

वा मैले गर्दा विधवाहरू उदास हुनुपरेको भए,+

१७ मैले आफूसित भएको खानेकुरा

अनाथहरूसित नबाँडी एक्लै खाएको भए,+

१८ (किनकि मैले कलिलै उमेरदेखि अनाथहरूलाई आफूसँगै हुर्काएँ। तिनीहरू मलाई आफ्नो बुबा मान्थे;

सानैदेखि म विधवाहरूको लागि पनि सहारा भएको छु।)

१९ यदि मैले कसैलाई आङ ढाक्ने लुगा नपाएर जाडोले मर्नै लागेको देख्दा

अथवा गरिबसित ओढ्‌ने नै नभएको देख्दा पनि+

२० उसलाई न्यानो ऊनी लुगा नदिएको भए

र उसले मलाई त्यसको साटो आशिष्‌ नदिएको भए,+

२१ यदि सहरको मूलढोकामा कुनै अनाथलाई मेरो मदत चाहिएको बेला*+

मैले उल्टै मुक्का ताक्दै उसलाई धम्काएको भए,+

२२ मेरो पाखुरा मेरो काँधबाट फुस्कोस्‌

र मेरो कुहिनो ठनक्कै भाँचियोस्‌।

२३ किनकि म परमेश्‍वरले ल्याउनुहुने विपत्तिदेखि डराउँछु।

म उहाँको गौरवसामु टिक्न सक्दिनँ।

२४ यदि मैले सुनमाथि भरोसा गरेको भए

अथवा निखुर सुनलाई ‘तिमी नै मेरो सहारा हौ’ भनेको भए,+

२५ आफूले प्रशस्तै धनसम्पत्ति जोड्‌न सकेकोमा+

मैले घमन्ड गरेको भए,+

२६ यदि चम्किरहेको सूर्य देखेर

अथवा चन्द्रमाको सौन्दर्य देखेर+

२७ म मनमनै तीप्रति मोहित भएको भए

र मैले आफ्नो हात चुमेर तिनको पूजा गरेको भए+

२८ मैले माथि स्वर्गमा बस्नुहुने साँचो परमेश्‍वरलाई इन्कार गरिरहेको हुने थिएँ

र म न्यायाधीशहरूबाट दण्ड पाउन लायक हुने थिएँ।

२९ के म कहिल्यै आफ्नो शत्रुको विनाश हुँदा रमाएको छु?+

अथवा त्यसमाथि कष्ट आइपर्दा खुसी भएको छु?

३० मैले ‘त्यो मरिजाओस्‌’ भनी कहिल्यै सरापेको छैनँ।+

मेरो मुखले कहिल्यै यस्तो पाप गरेको छैन।

३१ के मेरो पालमा बस्नेहरूले यसो भनेका छैनन्‌,

‘अय्युबको पालमा पेटभरि खान नपाउने को छ?’+

३२ कुनै परदेशीले बाहिर रात काट्‌नुपरेको छैन।+

यात्रीहरूको निम्ति मैले सधैँ आफ्नो ढोका खुला राखेको छु।

३३ के मैले कहिल्यै आफ्नो अपराध ढाकछोप गर्न खोजेको छु र?+

अरूले जस्तो आफ्नो पापलाई खल्तीमा लुकाएको छु र?

३४ मेरो गल्तीबारे मानिसहरूले थाह पाए भने के भन्लान्‌

अथवा समाजले गिल्ला पो गर्ला कि भनी डराउँदै

म चुपचाप घरमै लुकेर बसेको छु र?

३५ हाय! मेरो कुरा कसैले सुनिदिए हुन्थ्यो।+

तब मेरो कुरा सत्य छ भनेर म लेखेरै दिने थिएँ।*

सर्वशक्‍तिमान्‌ परमेश्‍वरले मलाई जवाफ देऊन्‌!+

मलाई दोष लगाउनेले मेरा आरोपहरू दोषपत्रमा लेखिदिए हुन्थ्यो।

३६ म त्यो आफ्नो काँधमा बोकेर हिँड्‌ने थिएँ

र त्यसलाई मुकुटझैँ पहिरिने थिएँ।

३७ म परमेश्‍वरलाई आफूले चालेको हरेक कदमको लेखा दिने थिएँ।

म उहाँसामु एक राजकुमारजस्तै शिर ठाडो पारेर जाने थिएँ।

३८ यदि मेरो आफ्नै खेत मविरुद्ध ठूलो स्वरले करायो भने

र यसका सीताले* एकसाथ आँसु बगाए भने

३९ मैले खेतालाहरूलाई ज्याला नदिई त्यसको फसल खाएको छु भने+

वा त्यो खेत जसको थियो, उसले मेरो कारणले सुस्केरा हाल्नुपरेको छ भने+

४० जमिनले मेरो लागि गहुँको सट्टा काँडैकाँडा

र जौको सट्टा गन्हाउने झारहरू उमारोस्‌।”

यति भनेपछि अय्युब चुप लागे।

३२ आफू धर्मी छु भन्‍ने कुरामा अय्युब विश्‍वस्त भएकोले*+ तिनका तीन जना साथीले तिनीसित विवाद गरिरहन चाहेनन्‌। २ तर एलिहु भने रिसले चूर भए। उनी रामको वंशका बुजको+ सन्तान बाराकेलका छोरा थिए। अय्युबले परमेश्‍वरको सट्टा आफैलाई सही साबित गर्न खोजेकोले एलिहु तिनीसित खुब रिसाए।+ ३ साथै अय्युबका तीन जना साथीसित पनि उनलाई साह्रै रिस उठ्‌यो किनकि तिनीहरूले अय्युबलाई कुनै जवाफ दिन सकेनन्‌ र यसरी तिनीहरूले पनि परमेश्‍वरलाई नै दोषी ठहराए।+ ४ अय्युबका तीन जना साथी एलिहुभन्दा जेठा थिए।+ त्यसैले अय्युबलाई जवाफ दिन उनी आफ्नो पालो कुरेर बसिरहेका थिए। ५ अय्युबको कुराले तिनका साथीहरूको मुखमा बुजो लागेको देखेर एलिहुको पारो तात्यो। ६ त्यसैले बुजको सन्तान बाराकेलका छोरा एलिहुले यसरी आफ्नो कुरा सुरु गरे:

“म त कलिलै छु

तर तपाईँहरू पाको उमेरको हुनुहुन्छ।+

त्यसैले तपाईँहरूको अनादर नहोस्‌ भनेर म चुपचाप बसेँ+

र आफ्नो कुरा तपाईँहरूलाई बताउने आँट गरिनँ।

 ७ मलाई लाग्यो, ‘बुज्रुगहरूले बोल्नु

र उमेर खाएकाहरूले बुद्धि प्रकट गर्नु नै उचित हुन्छ।’

 ८ तर वास्तवमा परमेश्‍वरको शक्‍तिले,

उहाँको सासले मानिसलाई समझदार बनाउँदो रहेछ।+

 ९ उमेर खाँदैमा मानिस बुद्धिमान्‌ हुँदैन रहेछ

अनि बूढो हुँदैमा सही कुरा थाह हुन्छ भन्‍ने छैन रहेछ।+

१० त्यसैले मेरो कुरा सुन्‍नुहोस्‌;

आफूले जानेको कुरा म पनि बताउन चाहन्छु।

११ तपाईँहरूले केही बोल्नुहोला कि भनेर मैले पर्खेँ।

तपाईँहरूको तर्क मैले कान थापेर सुनिरहेँ।+

‘अब के बोलौँ’ भनेर तपाईँहरूले सोचिरहेको बेलामा समेत मैले आफ्नो मुख खोलिनँ।+

१२ मैले तपाईँहरूको कुरा ध्यान दिएर सुनेँ

तर तपाईँहरूले न अय्युबलाई गलत साबित गर्न* सक्नुभयो

न त उहाँका प्रश्‍नहरूको जवाफ दिन सक्नुभयो।

१३ त्यसैले यसो नभन्‍नुहोस्‌, ‘हामीलाई बुद्धिका कुरा थाह छ;

अय्युबलाई सच्याउने हामी होइनौँ, परमेश्‍वर नै हुनुहुन्छ।’

१४ अय्युबले मविरुद्ध केही पनि बोल्नुभएको छैन।

त्यसैले म उहाँसित तपाईँहरूले जस्तो तर्क गर्नेछैनँ।

१५ तपाईँहरू त अक्क न बक्क पर्नुभएको छ, नाजवाफ हुनुभएको छ।

बोल्नलाई तपाईँहरूसित कुनै शब्द छैन।

१६ मैले पर्खेर हेरेँ तर तपाईँहरू बोल्नुभएन।

तपाईँहरू केही नबोली ठिङ्‌ग उभिरहनुभयो।

१७ त्यसैले अब म बोल्छु,

म पनि आफूले जानेको कुरा बताउँछु।

१८ भन्‍नुपर्ने धेरै कुरा मसित छन्‌।

परमेश्‍वरको शक्‍तिले मलाई बोल्न बाध्य पारेको छ।

१९ अब त मलाई उकुसमुकुस हुन थालिसक्यो।

मेरो मन रक्सी हालेर फुट्‌नै लागेको नयाँ मशकझैँ* भएको छ।+

२० अब मलाई बोल्न दिनुहोस्‌ र मैले चैनको सास फेर्न पाऊँ।

म आफ्नो मुख खोलेर जवाफ दिनेछु।

२१ म कसैको पक्ष नलिईकन बोल्नेछु।+

म कसैलाई फुर्काउनेछैनँ।*

२२ किनकि म कसैलाई फुर्काउन जान्दिनँ।

मैले त्यसो गरेँ भने त मेरो सृष्टिकर्ताले तुरुन्तै मलाई नाश गर्नुहुनेछ।

३३ “त्यसैले बिन्ती छ अय्युब, मेरो कुरा सुन्‍नुहोस्‌।

मेरो एक-एक कुरा ध्यान दिएर सुन्‍नुहोस्‌।

 २ अब म नबोली बस्न सक्दिनँ।

मैले आफ्नो मुख खोल्नै पर्छ।

 ३ मेरो बोलीले म निष्कपट छु भनेर देखाउँछ।+

म आफूलाई थाह भएको कुरा इमानदार भएर बताउनेछु।

 ४ परमेश्‍वरले आफ्नो पवित्र शक्‍तिद्वारा मलाई रच्नुभयो।+

सर्वशक्‍तिमान्‌को सासले म जीवित भएँ।+

 ५ सक्नुहुन्छ भने मलाई जवाफ दिनुहोस्‌।

आफ्नो पक्षमा बोल्न तयार हुनुहोस्‌ र आफ्ना तर्कहरू पेस गर्नुहोस्‌।

 ६ हेर्नुहोस्‌, परमेश्‍वरको नजरमा म पनि तपाईँजस्तै छु।

म पनि माटोबाटै बनाइएको हुँ।+

 ७ त्यसैले तपाईँ मसित रतीभर डराउनुपर्दैन।

मेरो कुराले तपाईँलाई आच्छु-आच्छु नपारोस्‌।

 ८ तर तपाईँले घरीघरी यसो भन्‍नुभएको मैले सुनेँ,

 ९ ‘म निर्दोष छु, मैले गल्ती गरेको छैनँ।+

म चोखो छु, मबाट भूल भएको छैन।+

१० तर परमेश्‍वर विभिन्‍न बहाना खोजेर मेरो विरोध गर्नुहुन्छ।

उहाँ मलाई आफ्नो शत्रु ठान्‍नुहुन्छ।+

११ उहाँ मेरो खुट्टा ठिँगुरोमा हालिदिनुहुन्छ

र मेरो हर कदम नियाल्नुहुन्छ।’+

१२ तर तपाईँको यो कुरा सरासर गलत हो। त्यसैले मेरो कुरा सुन्‍नुहोस्‌:

मरिजाने मानिसभन्दा परमेश्‍वर कता हो कता महान्‌ हुनुहुन्छ।+

१३ तपाईँ किन उहाँको गुनासो गर्नुहुन्छ?+

उहाँले तपाईँका प्रश्‍नहरूको जवाफ दिनुभएन भनेर हो?+

१४ वास्तवमा परमेश्‍वर बारम्बार बोल्नुहुन्छ

तर कसैले वास्ता गर्दैन।

१५ जब रातमा मानिसहरू आफ्नो ओछ्यानमा ढल्किरहेका हुन्छन्‌

र गहिरो निद्रामा मस्त हुन्छन्‌,

तब उहाँ सपना र दर्शनद्वारा* बोल्नुहुन्छ।+

१६ उहाँ तिनीहरूको कान खोलिदिनुहुन्छ+

र आफ्नो निर्देशन तिनीहरूको मनमा ठप्प राखिदिनुहुन्छ।*

१७ मानिसले गलत काम गर्न छोडोस्‌+

र आफ्नो घमन्ड त्यागोस्‌ भनेर उहाँ त्यसो गर्नुहुन्छ।+

१८ परमेश्‍वर त्यसलाई चिहानमा* जानदेखि जोगाउनुहुन्छ,+

त्यसलाई तरबारले काटिनदेखि बचाउनुहुन्छ।

१९ जब मानिस पीडाले छटपटाउँदै आफ्नो ओछ्यानमा पल्टन्छ

र पीडाले उसका हड्डीहरू कटकटी खान्छ, तब उसले पाठ सिक्छ।

२० उसलाई खानेकुरादेखि घिन लाग्न थाल्छ

र मीठो परिकारसमेत उसले खान मन गर्दैन।+

२१ उसको शरीर सुक्दै जान्छ।

अनि उसका हड्डीहरूसमेत देखिन थाल्छन्‌।

२२ ऊ बिस्तारै चिहानको नजिक-नजिक पुग्छ

र उसको ज्यान लिन खोज्नेहरूको नजिक पुग्छ।

२३ तर यदि उसलाई सही बाटो देखाउन

हजारमा एक दूत* उसको पक्षमा खडा भयो

र उसको तर्फबाट बोलिदिन राजी भयो भने

२४ परमेश्‍वरले त्यस मानिसलाई दया देखाउनुहुनेछ र यसो भन्‍नुहुनेछ,

‘उसलाई चिहानमा पुग्न नदेऊ!+

मैले उसको निम्ति फिरौती पाएको छु!+

२५ उसको शरीर युवावस्थाको बेलाभन्दा हृष्टपुष्ट होस्‌+

र युवावस्थाको बल उसमा फर्केर आओस्‌।’+

२६ उसले परमेश्‍वरलाई बिन्ती गर्नेछ+ र उहाँले उसलाई स्विकार्नुहुनेछ।

परमेश्‍वरको अनुहार हेर्न पाउँदा ऊ खुसीले कराउनेछ

र ऊ पहिलेझैँ धर्मी ठहरिनेछ।

२७ उसले मानिसहरूको अगाडि यसो भन्‍नेछ,

‘मैले पाप गरेँ + र सही बाटोलाई लत्याएँ।

तर मैले आफ्नो गल्तीको सजाय भोग्नुपरेन।*

२८ परमेश्‍वरले फिरौती तिरेर मलाई चिहानमा जानदेखि जोगाउनुभएको छ।+

अब मैले ज्योति देख्न पाउनेछु।’

२९ हो, परमेश्‍वर यी सब गर्नुहुन्छ।

मानिसको लागि उहाँ बारम्बार यसो गर्नुहुन्छ।

३० मानिसलाई चिहानको मुखबाट फिर्ता ल्याउन

र उसले फेरि जीवनको ज्योति पाओस्‌ भनेर उहाँ त्यसो गर्नुहुन्छ।+

३१ त्यसैले अय्युब, मेरो कुरा ध्यानसित सुन्‍नुहोस्‌।

मैले बोल्दै गर्दा पहिला चुपचाप मेरो कुरा सुन्‍नुहोस्‌।

३२ त्यसपछि तपाईँलाई केही भन्‍न मन लागेको छ भने भन्‍नुहोस्‌।

किनकि म तपाईँलाई सही साबित गर्न चाहन्छु।

३३ तर तपाईँसँग भन्‍नलाई केही छैन भने मेरो कुरा सुन्‍नुहोस्‌।

चुपचाप बस्नुहोस्‌ र म तपाईँलाई बुद्धिका कुरा सिकाउनेछु।”

३४ अनि एलिहुले यसो भनेर आफ्नो कुरा अघि बढाए:

 २ “ए बुद्धिमान्‌ मानिस हो, मेरो कुरा सुन्‍नुहोस्‌।

ए बुज्झकी मानिस हो, मेरो कुरामा कान थाप्नुहोस्‌।

 ३ जसरी जिब्रोले खानेकुरा चाख्छ,

त्यसैगरि कानले पनि सुनेको कुरा जाँच्छ।

 ४ त्यसैले आउनुहोस्‌, के सही छ, फैसला गरौँ।

अनि के उचित छ, सँगै बसेर निर्णय गरौँ।

 ५ किनकि अय्युबले यसो भन्‍नुभयो, ‘म निर्दोष छु+

तैपनि परमेश्‍वरले मेरो पक्षमा न्याय गर्नुभएन।+

 ६ ममाथि अन्याय भयो भनेर के मैले झूट बोलेको हुँ र?

मैले कुनै गल्ती गरेको छैनँ तैपनि म असह्‍य पीडा भोग्दै छु।’+

 ७ घोर अपमान हुँदा समेत चुपचाप बस्ने*

अय्युबजस्तो त को होला र?

 ८ उहाँ त गलत काम गर्नेहरूसित उठबस गर्नुहुन्छ।+

उहाँ दुष्टहरूसित लाग्नुभएको छ।

 ९ उहाँले यसो भन्‍नुभयो, ‘परमेश्‍वरलाई खुसी पारेर

मानिसले के पाउँछ र?’+

१० त्यसैले हे समझदार मानिसहरू हो, यो कुरा याद राख्नुहोस्‌:

साँचो परमेश्‍वरले कहिल्यै कसैलाई दुःख दिनुहुन्‍न,+

सर्वशक्‍तिमान्‌ परमेश्‍वरले कसैको हानि गर्नुहोला भनेर सोच्न समेत सकिँदैन।+

११ उहाँ मानिसलाई त्यसको कामअनुसार इनाम दिनुहुन्छ+

र त्यसले गरेको गलत निर्णयको नतिजा भोग्नदेखि रोक्नुहुन्‍न।

१२ परमेश्‍वरले कहिल्यै कसैलाई दुःख दिनुहुन्‍न;+

सर्वशक्‍तिमान्‌ परमेश्‍वरले कहिल्यै कसैमाथि अन्याय गर्नुहुन्‍न।+

१३ कसले उहाँलाई पृथ्वीको रेखदेख गर्न खटायो?

सारा संसारमाथि शासन गर्न कसले उहाँलाई नियुक्‍त गऱ्‍यो?

१४ उहाँले मानिसहरूमाथि आफ्नो नजर लगाएर

तिनीहरूको जीवन र सास खोस्नुभयो भने+

१५ सबै मानिस सखाप हुनेछन्‌

र सारा मानिसजाति माटोमा मिल्नेछ।+

१६ त्यसैले तपाईँ समझदार हुनुहुन्छ भने

मेरो कुरा ध्यान दिएर सुन्‍नुहोस्‌।

१७ के न्याय मन नपराउने व्यक्‍ति न्यायासनमा बस्नु ठीक हो?

वा उच्च ओहदामा बस्ने धर्मी व्यक्‍तिको विरोध गर्नु तपाईँलाई ठीक लाग्छ?

१८ के तपाईँ राजालाई ‘ए नालायक’ भन्‍नुहुन्छ?

वा सबैको सम्मान पाएको मानिसलाई ‘ए दुष्ट’ भन्‍नुहुन्छ?+

१९ ठूलाबडाहरूको पक्ष नलिने

बरु धनी-गरिब दुवैलाई समान व्यवहार गर्ने एक जना हुनुहुन्छ।+

तिनीहरू सबै उहाँकै हातका कामहरू हुन्‌।+

२० तिनीहरू त मध्यरातमा अचानक मर्छन्‌।+

तिनीहरू थरथर काँप्छन्‌ र मर्छन्‌।

उच्च ओहदामा भएकाहरूसमेत ओहदाबाट हटाइन्छन्‌ र यसमा मानिसको कुनै हात हुँदैन।+

२१ किनकि परमेश्‍वरको नजर मानिसमाथि रहन्छ।+

त्यसका सबै चाल उहाँ देख्नुहुन्छ।

२२ दुष्ट काम गर्नेहरू घोर अन्धकार वा गहिरो खाडलमा समेत

उहाँको नजरबाट लुक्न सक्दैनन्‌।+

२३ किनकि कुनै पनि मानिसको न्याय गर्न

परमेश्‍वरले पहिल्यै तारिख दिइरहनुपर्दैन।

२४ अधिकार पाएको व्यक्‍तिलाई ओहदाबाट हटाएर अर्कोलाई नियुक्‍त गर्न

परमेश्‍वरले छानबिन गरिरहनुपर्दैन।+

२५ किनकि तिनीहरूको सबै काम उहाँलाई थाह छ।+

रातमा उहाँ तिनीहरूलाई ओहदाबाट हटाउनुहुन्छ र तिनीहरूको पतन हुन्छ।+

२६ तिनीहरूले गरेको दुष्ट कामको दण्ड

उहाँ सबैले देख्नेगरि दिनुहुन्छ।+

२७ किनकि तिनीहरू उहाँको मार्गबाट तर्केका छन्‌+

र उहाँका आज्ञाहरूलाई हल्कासित लिन्छन्‌।+

२८ तिनीहरूले गर्दा गरिबहरू उहाँलाई पुकार्न बाध्य हुन्छन्‌

र असहायको रोदन उहाँको कानमा पर्छ।+

२९ परमेश्‍वरले जवाफ नदिँदा कसले उहाँलाई औँला ठड्‌याउन सक्छ र?

उहाँले आफ्नो अनुहार लुकाउनुहुँदा कसले उहाँलाई देख्न सक्छ र?

चाहे त्यो मानिस होस्‌ वा सिङ्‌गो जाति, उहाँ त्यसै गर्नुहुन्छ

३० ताकि भक्‍तिहीन* मानिसले शासन गर्न नपाओस्‌+

र मानिसहरूलाई पासोमा नपारोस्‌।

३१ कसैले पनि परमेश्‍वरलाई यसो भन्‍न सक्दैन:

‘मैले गल्ती नै नगरे पनि तपाईँले मलाई सजाय दिनुभयो।+

३२ मैले के बिराएँ, मलाई देखाइदिनुहोस्‌

र म त्यो दोहोऱ्‍याउनेछैनँ।’

३३ उहाँको निसाफ तपाईँलाई चित्त बुझेन भन्दैमा तपाईँको मागअनुसारै उहाँले न्याय गर्नुपर्छ र?

यसबारे तपाईँ आफैले निर्णय गर्नुपर्छ, मैले होइन।

तपाईँलाई सबथोक थाह छ भने लौ मलाई पनि बताउनुहोस्‌।

३४ मेरो कुरा सुन्‍ने बुद्धिमान्‌ जोसुकैले

अनि समझदार जोसुकैले मलाई यसो भन्‍नेछ:

३५ ‘अय्युब हावामा बोल्नुहुन्छ,+

उहाँको बोलीमा बुद्धिको कमी देखिन्छ।’

३६ अय्युबको पूरा जाँच होस्‌।*

किनकि उहाँ दुष्ट मानिसले जस्तो जवाफ दिनुहुन्छ।

३७ पाप गरिसकेर उहाँ अझै परमेश्‍वरको विद्रोह पनि गर्दै हुनुहुन्छ।+

उहाँ खिल्ली उडाउँदै ताली पिट्‌नुहुन्छ

र साँचो परमेश्‍वरलाई दोष लगाउन छोड्‌नुहुन्‍न।”+

३५ एलिहुले अझै यसो भने:

 २ “तपाईँ भन्‍नुहुन्छ, ‘म परमेश्‍वरभन्दा धर्मी छु!’

आफू सही छु भन्‍ने कुरामा के तपाईँ त्यति धेरै विश्‍वस्त हुनुहुन्छ?+

 ३ किनकि तपाईँ भन्‍नुहुन्छ, ‘मैले असल काम गरे पनि तपाईँलाई* के फरक पर्छ र?

आखिर पाप नगर्दा पनि मलाई के फाइदा भएको छ र?’+

 ४ म तपाईँलाई

र तपाईँका साथीहरूलाई+ जवाफ दिनेछु।

 ५ आफ्नो शिर उठाएर आकाशतिर हेर्नुहोस्‌।

माथि आकाशमा बादललाई हेर्नुहोस्‌।+

 ६ तपाईँले पाप गरे तापनि उहाँको के नै बिग्रन्छ र?+

तपाईँले घरीघरी अपराध गरे तापनि उहाँलाई के फरक पर्छ र?+

 ७ अथवा तपाईँ धर्मी नै भए पनि उहाँलाई के फाइदा हुन्छ र?

तपाईँबाट उहाँले के नै पाउनुहुन्छ र?+

 ८ तपाईँको दुष्टताले र तपाईँको धार्मिकताले

तपाईँजस्तो मानिसलाई मात्रै फरक पार्छ।

 ९ थिचोमिचोमा पर्दा मानिसहरू जोडले कराउँछन्‌।

ठूलाबडाले अत्याचार गर्दा तिनीहरू मदतको लागि रोइकराइ गर्छन्‌।+

१० तर कसैले पनि यसो भन्दैन, ‘मेरा परमेश्‍वर, मेरा महान्‌ रचनाकार कहाँ हुनुहुन्छ?+

जसको लागि मानिसहरू राती गीत गाउँछन्‌, उहाँ कहाँ हुनुहुन्छ?’+

११ उहाँ पृथ्वीका जनावरहरूलाई भन्दा+ हामीलाई धेरै सिकाउनुहुन्छ+

र आकाशका चराचुरुङ्‌गीलाई भन्दा हामीलाई बुद्धिमान्‌ बनाउनुहुन्छ।

१२ मानिसहरू ठूलठूलो स्वरमा पुकार्छन्‌ तर उहाँ जवाफ दिनुहुन्‍न।+

दुष्टहरू घमन्डी भएकोले उहाँ तिनीहरूको बिन्ती सुन्‍नुहुन्‍न।+

१३ हो, परमेश्‍वर मानिसहरूको खोक्रो बिन्ती सुन्‍नुहुन्‍न।+

सर्वशक्‍तिमान्‌ परमेश्‍वर त्यस्ता कुराहरूमा ध्यान दिनुहुन्‍न।

१४ त्यसोभए झन्‌ उहाँले तपाईँको पुकारा सुन्‍नुहोला र? किनकि उहाँलाई तपाईँको वास्तै छैन भनेर तपाईँ गुनासो गर्नुहुन्छ।+

तपाईँको मुद्दा उहाँसामु पेस भइसकेको छ; त्यसैले उहाँको बाटो हेरेर बस्नुहोस्‌।+

१५ किनकि उहाँले तपाईँसँग रिसाउँदै लेखा लिनुभएको छैन।

उहाँले तपाईँको बेलगाम बोलीलाई वास्ता गर्नुभएको छैन।+

१६ अय्युब व्यर्थैमा आफ्नो मुख खोल्नुहुन्छ।

उहाँ आफूलाई थाह नभएका कुराहरूसमेत बोलेको बोल्यै गर्नुहुन्छ।”+

३६ एलिहुले अझै यसो भने:

 २ “परमेश्‍वरको पक्षमा मलाई अझै केही बोल्नु छ।

त्यसैले मैले बोलुन्जेल धैर्य गरेर सुनिदिनुहोस्‌।

 ३ आफूले जानेको कुरा म राम्ररी बताउनेछु

र मलाई बनाउनुहुने परमेश्‍वरलाई म सही ठहराउनेछु।+

 ४ म कुनै पनि हालतमा झूटो बोल्नेछैनँ।

सर्वज्ञानी परमेश्‍वरबाटै+ मैले यी कुराहरू थाह पाएको हुँ।

 ५ हुन पनि परमेश्‍वर साँच्चै महान्‌ हुनुहुन्छ+ र उहाँ कसैलाई बेवास्ता गर्नुहुन्‍न;

उहाँजस्तो समझदार अरू को छ?

 ६ उहाँ दुष्टहरूलाई जोगाउनुहुन्‍न+

बरु थिचोमिचोमा परेकाहरूको पक्षमा न्याय गर्नुहुन्छ।+

 ७ उहाँको नजर धर्मी मानिसहरूमाथि सधैँ रहिरहन्छ।+

उहाँ तिनीहरूलाई राजाहरूसितै सिंहासनमा बसाल्नुहुन्छ*+ र सधैँलाई उच्च पार्नुहुन्छ।

 ८ तर तिनीहरूलाई साङ्‌लाले बाँधियो

वा डोरीले कसेर दुःख दिइयो भने

 ९ तिनीहरूले के भूल गरे र आफ्नो अहङ्‌कारमा के अपराध गरे,

त्यो उहाँले तिनीहरूलाई बताइदिनुहुन्छ।

१० तिनीहरूलाई सुधार्न उहाँ सल्लाह दिनुहुन्छ

र गलत कामदेखि अलग रहन हुकुम गर्नुहुन्छ।+

११ तिनीहरूले उहाँको आज्ञा माने र उहाँको सेवा गरे भने

सुखैसुखमा तिनीहरूको दिन बित्नेछ

र बाँचुन्जेल तिनीहरूको फलिफाप हुनेछ।+

१२ तर तिनीहरूले आज्ञा मानेनन्‌ भने तरबारले नाश हुनेछन्‌+

र मर्ने बेलासम्म पनि तिनीहरू अबुझै रहनेछन्‌।

१३ भक्‍तिहीन* मानिसहरू मनमा रिस पालेर राख्छन्‌।

परमेश्‍वरले तिनीहरूलाई डोरीले कस्नुहुँदा पनि तिनीहरू उहाँलाई पुकारेर मदत माग्दैनन्‌।

१४ तिनीहरू कलिलै उमेरमा मर्छन्‌।+

मन्दिरमा पुरुषहरूसित सम्बन्ध राख्ने पुरुषहरूसित तिनीहरूको जीवन बित्छ।+

१५ तर असहायहरू थिचोमिचोमा पर्दा परमेश्‍वरले तिनीहरूको उद्धार गर्नुहुन्छ

र तिनीहरूले उहाँको कुरा सुन्‍न सकून्‌ भनेर तिनीहरूको कान खोलिदिनुहुन्छ।

१६ उहाँले तपाईँलाई दुःखकष्टदेखि बचाएर+

कुनै बन्धन नभएको खुला ठाउँमा ल्याउनुहुन्छ।+

तपाईँलाई सान्त्वना दिन उहाँले तपाईँको टेबुलमा भोज लगाउनुहुन्छ।+

१७ तब दुष्टले आफ्नो कामको फल भोग्नेछ र न्याय कायम हुनेछ।

अनि त्यो देखेर तपाईँलाई ठूलो चैन मिल्नेछ।+

१८ तर होस गर्नुहोस्‌! तपाईँको मन क्रोध अनि द्वेषले नभरियोस्‌;+

टन्‍नै घुस पाउने लोभमा परेर नबरालियोस्‌।

१९ नत्र त मदतको लागि तपाईँले जति नै गुहारे पनि

वा दुःखबाट मुक्‍त हुन जति नै बल गरे पनि केही फाइदा हुनेछैन।+

२० कहिले रात पर्ला

र मानिसहरू बिलाउलान्‌ भनी पर्खेर नबस्नुहोस्‌।

२१ दुःख भोग्नु त बेकार छ भन्‍ने सोचेर

गलत कामतिर लाग्नदेखि होसियार हुनुहोस्‌।+

२२ परमेश्‍वर सर्वशक्‍तिमान्‌ हुनुहुन्छ।

उहाँले जस्तै सिकाउन सक्ने अरू को छ?

२३ उहाँलाई कसले सिकाएको छ?*+

वा कसले उहाँलाई यसो भनेको छ, ‘तपाईँको यो काम ठीक छैन’?+

२४ उहाँका कामहरूको प्रशंसा गर्नुहोस्‌;+

मानिसहरूले ती कामहरूबारे गीत गाएका छन्‌।+

२५ उहाँका कामहरू नदेख्ने मानिस कोही छैन।

मानिस ती कुराहरू टुलुटुलु हेरेर बस्छ।

२६ परमेश्‍वर मानिसले सोचेभन्दा कता हो कता महान्‌ हुनुहुन्छ।+

मानिसले उहाँको उमेर गन्ती गर्न सक्दैन।*+

२७ उहाँले समुद्रबाट पानीको बाफ उठाउनुहुन्छ+

र त्यसलाई बादल बनाएर लैजानुहुन्छ।

२८ अनि बादलले त्यो पानी बर्साउँछ+

र त्यो सबै मानिसमाथि बर्सिन्छ।

२९ आकाशमा बादल कसरी फैलिन्छ

र उहाँको पालबाट मेघ कसरी गर्जन्छ, कसले बताउन सक्छ?+

३० हेर्नुहोस्‌ त, उहाँले बादलमा कसरी बिजुली चम्काउनुहुन्छ+

र समुद्रलाई कसरी पानीले भर्नुहुन्छ!

३१ यी नै कुराले उहाँ मानिसहरूको जीवन धान्‍नुहुन्छ*

र तिनीहरूलाई प्रशस्त खानेकुरा दिनुहुन्छ।+

३२ उहाँले बिजुलीलाई आफ्नो हातमा अँठ्‌याउनुहुन्छ

र जता चाहनुहुन्छ, त्यतै प्रहार गर्नुहुन्छ।+

३३ मेघको गर्जनले उहाँको बखान गर्छ।

वस्तुभाउले समेत को आउँदै हुनुहुन्छ* भनेर बताउँछ।

३७ “तब मेरो ढुकढुकी बढ्‌छ,

मेरो मुटु जोडले धड्‌कन्छ।

 २ उहाँको आवाजको गडगडाहट

र उहाँको मुखबाट आउने गर्जनलाई ध्यान दिएर सुन्‍नुहोस्‌।

 ३ उहाँ त्यसलाई आकाशमुनि सबै ठाउँमा गुञ्जाउनुहुन्छ

र पृथ्वीको एक छेउदेखि अर्को छेउसम्म बिजुली चम्काउनुहुन्छ।+

 ४ अनि एउटा ठूलो गर्जन सुनिन्छ।

उहाँ दमदार आवाजमा गर्जनुहुन्छ।+

अनि उहाँको स्वर गुञ्जँदा बिजुली चम्किरहन्छ।

 ५ परमेश्‍वर अद्‌भुत तरिकामा गर्जनुहुन्छ।+

उहाँका महान्‌ कामहरू हाम्रो समझबाहिर छन्‌।+

 ६ किनकि उहाँ हिउँलाई यसो भन्‍नुहुन्छ: ‘जमिनमा झर्‌!’+

अनि मुसलधारे पानीलाई भन्‍नुहुन्छ: ‘पृथ्वीमा बर्सी!’+

 ७ हरेक मानिसले उहाँका कामहरूबारे थाह पाओस्‌ भनेर

उहाँ मानिसहरूका सबै गतिविधि रोक्नुहुन्छ।

 ८ जङ्‌गली जनावरहरू आ-आफ्नो ओडारमा जान्छन्‌

र आफ्नो गुफामा लुकेर बस्छन्‌।

 ९ आँधीबेहरी आफ्नो ठाउँबाट निस्कन्छ+

र चिसो हावा उत्तरतिरबाट बहन्छ।+

१० परमेश्‍वरको सासले पानी बरफ बन्छ+

र ठूलठूला खोलानालासमेत जम्छन्‌।+

११ उहाँ बादललाई पानीको कणले गह्रौँ बनाउनुहुन्छ

र बादलमा जताततै बिजुली चम्काउनुहुन्छ।+

१२ उहाँ जता भन्‍नुहुन्छ, ती बादल त्यतै मडारिन्छन्‌।

उहाँले तिनीहरूलाई पृथ्वीमा जे गर्नू भनेर अह्राउनुहुन्छ, तिनीहरू त्यही गर्छन्‌।+

१३ चाहे कसैलाई दण्ड दिन होस्‌+ वा जमिनलाई भिजाउन होस्‌

अथवा मानिसहरूलाई दया* देखाउन होस्‌, परमेश्‍वर जे भन्‍नुहुन्छ, तिनीहरू त्यसै गर्छन्‌।+

१४ अय्युब, मेरो कुरा सुन्‍नुहोस्‌।

परमेश्‍वरका महान्‌ कामहरू एकछिन घोरिएर विचार गर्नुहोस्‌।+

१५ परमेश्‍वर बादललाई कसरी आफ्नो वशमा राख्नुहुन्छ

र बादलमा कसरी बिजुली चम्काउनुहुन्छ, के तपाईँलाई थाह छ?

१६ बादलहरू आकाशमा कसरी तैरिन्छन्‌, के तपाईँ जान्‍नुहुन्छ?+

यी सब त सर्वज्ञानी परमेश्‍वरका आश्‍चर्यजनक कामहरू हुन्‌।+

१७ दक्षिणतिरबाट हावा चल्दा पृथ्वी शान्त रहे पनि+

तपाईँको लुगाले चाहिँ किन पोल्छ भनेर के तपाईँलाई थाह छ?

१८ के तपाईँ परमेश्‍वरले जस्तै आकाशलाई फिँजाउन+

र त्यसलाई धातुको ऐनाजस्तै कडा बनाउन सक्नुहुन्छ?

१९ परमेश्‍वरलाई हामी के भनौँ, लौ तपाईँ नै सिकाउनुहोस्‌।

हामी आफै त उहाँलाई जवाफ दिन सक्दैनौँ किनभने हामी अन्धकारमा छौँ।

२० ‘म केही भन्‍न चाहन्छु’ भनेर मैले उहाँलाई बताइराख्नुपर्छ र?

अथवा उहाँलाई नभनी नहुने कुरा कसैले बोलेको छ र?+

२१ आकाश उज्यालो भए तापनि

हावाले बादललाई उडाएर नलगेसम्म

मानिसहरूले ज्योतिसमेत* देख्न सक्दैनन्‌।

२२ उत्तरबाट सुनौलो किरण आउँछ

र परमेश्‍वरको महिमा देखेर+ मानिसहरूमा भय छाउँछ।

२३ हामी सर्वशक्‍तिमान्‌ परमेश्‍वरबारे सबै कुरा बुझ्न सक्दैनौँ।+

उहाँको शक्‍ति अथाह छ।+

उहाँ आफ्नो न्याय र धार्मिकताको स्तरलाई कहिल्यै उल्लङ्‌घन गर्नुहुन्‍न+ बरु सधैँ सही काम गर्नुहुन्छ।+

२४ त्यसैले मानिसहरूले उहाँको डर मान्‍नुपर्छ।+

किनकि आफैलाई बुद्धिमान्‌ सम्झनेहरूलाई उहाँ मन पराउनुहुन्‍न।”+

३८ त्यसपछि यहोवाले आँधीबेहरीको बीचबाट अय्युबलाई जवाफ दिनुभयो:+

 २ “मेरो सल्लाहलाई हलुका बनाउन खोज्ने

र केही नजानी बोल्ने त्यो को हो?+

 ३ हे मानिस, मर्दझैँ खडा होऊ!

अनि मेरो प्रश्‍नको जवाफ देऊ।

 ४ मैले पृथ्वीको जग बसाल्दा तिमी कहाँ थियौ?+

तिमीलाई थाह छ भने मलाई जवाफ देऊ।

 ५ अब भन, कसले पृथ्वीको सीमा तोक्यो?

अथवा कसले नाप्ने डोरी लिएर पृथ्वीलाई नाप्यो?

 ६ पृथ्वीका खम्बाहरू केमा अडिएका छन्‌?

अथवा पृथ्वीको कुनाको ढुङ्‌गो कसले बसाल्यो?+

 ७ त्यतिखेर बिहानका ताराहरूले+ रमाउँदै एकसाथ गाएका थिए

र परमेश्‍वरका छोराहरूले*+ खुसीले जयजयकार गरेका थिए।

 ८ कसले समुद्रको ढोका थुनिदियो?+

जब समुद्र गर्भबाट उर्लेर निस्कियो,

 ९ जब मैले त्यसलाई बादल पहिराइदिएँ

र त्यसलाई कालो बादलले बेरिदिएँ,

१० जब मैले त्यसको सीमा तोकिदिएँ

अनि त्यसको ढोका थुनेर त्यसमा आग्लो लगाइदिएँ+

११ र त्यसलाई यसो भनेँ: ‘बस्‌, तँ यहीँसम्म मात्र आउन सक्छस्‌;

तेरा ठूलठूला छालहरू यहाँभन्दा बाहिर उर्लन पाउनेछैनन्‌,’ तब तिमी कहाँ थियौ?+

१२ के तिमीले कहिल्यै बिहानीको उषालाई आदेश दिएका छौ?

अथवा प्रभातलाई त्यसको ठाउँ देखाइदिएका छौ?+

१३ अथवा पृथ्वीको किनारा समातेर

दुष्टलाई झट्‌कारेर फ्याँक्ने हुकुम गरेका छौ?+

१४ आलो माटोमा छाप हान्दा त्यसको आकृति प्रस्ट देखिएझैँ

बिहानीको किरणसँगै पृथ्वीको आकार स्पष्ट हुन्छ

र पृथ्वीमा भएका सबै कुरा लुगाको बुट्टाझैँ स्पष्ट देखा पर्छन्‌।

१५ तर दुष्टको उज्यालो भने खोसिन्छ

र तिनीहरूले खराबी गर्न उठाएका पाखुरा ठनक्कै भाँचिन्छन्‌।

१६ के तिमी कहिल्यै समुद्रको पिँधमा त्यसको मूलसम्म पुगेका छौ?

वा सागरको गहिराइसम्म पुग्न सकेका छौ?+

१७ के तिमीलाई मृत्युका ढोकाहरू+ कहाँ छन्‌ भनेर थाह छ?

अथवा तिमीले कहिल्यै घोर अन्धकारका ढोकाहरू* देखेका छौ?+

१८ के तिमीलाई पृथ्वी कत्तिको विशाल छ भनेर थाह छ?+

थाह छ भने मलाई भन।

१९ उज्यालो कहाँ बस्छ?+

अनि अन्धकार कहाँ अड्डा जमाएर बसेको छ?

२० के तिमीलाई त्यसको घर जाने बाटो थाह छ?

के तिमी त्यसको घरसम्म त्यसलाई पुऱ्‍याउन सक्छौ?

२१ यी कुराहरू जान्‍नलाई के तिमी यीभन्दा अघि नै जन्मिसकेका थियौ?

अथवा तिम्रो उमेर यिनीहरूको भन्दा धेरै छ?

२२ के तिमी हिउँको भण्डारमा पसेका छौ?+

अथवा के तिमीले असिनाको भण्डार देखेका छौ?+

२३ ती असिना र हिउँ, जसलाई मैले विपत्तिको समय

र युद्धको दिनको निम्ति साँचेर राखेको छु।+

२४ पृथ्वीमा उज्यालो* कहाँबाट छरिन्छ

र पूर्वीय बतास कहाँबाट चल्छ, के तिमीलाई थाह छ?+

२५ मुसलधारे वर्षाको निम्ति आकाशमा नहर खनेर

अनि मेघ गर्जने बाटो तयार पारेर+

२६ कोही नबस्ने निर्जनभूमिमा

कसले झरी बर्साएको छ?+

२७ अनि कसले उजाड पारिएका ठाउँहरूको तिर्खा मेटेर

ती ठाउँहरूमा घाँसपात उमारेको छ?+

२८ के बर्सातको बुबा छ?+

अथवा शीतको बुबा को हो?+

२९ बरफले कसको कोखबाट जन्म लियो?

अनि आकाशबाट झर्ने तुसारोलाई कसले जन्मायो?+

३० कसले पानीलाई ढुङ्‌गाझैँ कडा बनायो?

अनि गहिरो सागरलाई बरफझैँ जमायो?+

३१ के तिमी किमाह तारामण्डललाई* डोरीले बाँध्न सक्छौ?

अथवा केसिल तारामण्डलको* बन्धन फुकाउन सक्छौ?+

३२ के तिमी कुनै तारामण्डललाई* त्यसको ऋतुअनुसार डोऱ्‍याउन सक्छौ?

अथवा आस तारामण्डललाई* त्यसका छोराहरूसँगै डोऱ्‍याउन सक्छौ?

३३ के तिमीलाई आकाश कुन नियमअनुसार चल्छ, थाह छ?+

अथवा के तिमी ती नियमहरू* पृथ्वीमा लागू गर्न सक्छौ?

३४ के तिमी बादललाई चिच्याएर

‘मुसलधारे पानी बर्साएर मलाई ढाक्‌’ भनी आदेश दिन सक्छौ?+

३५ के तिमी बिजुलीलाई ‘गएर चम्की’ भनी हुकुम दिन सक्छौ?

अनि के त्यसले ‘हस्‌ हजुर’ भन्दै तिम्रो कुरा खुरुखुरु मान्छ?

३६ कसले बादललाई* बुद्धि दियो?+

अथवा कसले आकाशका आश्‍चर्यजनक कुराहरूलाई* समझ दियो?+

३७ बादल गन्‍न सक्ने बुद्धिमान्‌ मानिस कोही छ?

अथवा कसले आकाशका गाग्राहरूलाई घोप्ट्‌याउन सक्छ?+

३८ त्यसले गर्दा धुलो हिलोको ढिको बन्छ

र माटोका ढिस्काहरू आपसमा टाँसिन्छन्‌।

३९ के तिमी सिंहको लागि सिकार खोज्न

वा जवान सिंहको भोक मेटाउन सक्छौ?+

४० जो आफ्नो ओडारमा लुकेर बसेका

वा गुफामा सिकार ढुकेर बसेका हुन्छन्‌।

४१ जब कागका बचेराहरू परमेश्‍वरलाई बिन्ती गरिरहेका हुन्छन्‌+

र चारो नपाएर रन्थनिरहेका हुन्छन्‌,

तब कसले कागलाई चारो जुटाइदिन्छ?

३९ “जङ्‌गली बाख्री कहिले ब्याउँछ, के तिमीलाई थाह छ?+

के तिमीले हरिणी ब्याएको देखेका छौ?+

 २ तिनीहरूको महिना कहिले पुग्छ, के तिमीले गन्ती गरेका छौ?

तिनीहरू कतिखेर ब्याउँछन्‌, के तिमीलाई थाह हुन्छ?

 ३ ब्याउने बेला तिनीहरू निहुरिन्छन्‌

र ब्याएपछि तिनीहरूलाई तुरुन्तै बेथाले छोड्‌छ।

 ४ तिनीहरूका पाठाहरू खुला ठाउँमा हुर्किन्छन्‌ र बलिया हुन्छन्‌।

तिनीहरू आफ्नो बाटो लाग्छन्‌ अनि माउकहाँ फेरि कहिल्यै फर्किँदैनन्‌।

 ५ जङ्‌गली गधालाई कसले खुला छोडिदियो?+

कसले त्यसको डोरी फुकाइदियो?

 ६ मैले मरुभूमिलाई त्यसको घर

अनि नुनिलो जमिनलाई त्यसको वासस्थान बनाएँ।

 ७ सहरको कोलाहल त्यसलाई मन पर्दैन;

जोताहाको हाँक त्यसले सुन्दैन।

 ८ हरिया घाँसपात कहाँ पाइएला भनेर

त्यो चरनको खोजीमा डाँडाहरू हुँदो डुल्छ।

 ९ के जङ्‌गली साँढेले तिम्रो सेवा गर्छ?+

अथवा तिम्रो गोठमा आएर त्यसले रात काट्‌छ?

१० के तिमी त्यसलाई डोरीले बाँधेर आफ्नो खेतमा ल्याउन सक्छौ?

के त्यो तिम्रो पछिपछि लागेर बेँसीमा खेत जोत्न आउँछ?

११ त्यो असाध्यै शक्‍तिशाली छ।

तर के तिमी त्यसमा भरोसा गर्न सक्छौ?

अनि के त्यसलाई आफ्नो गाह्रो काम सुम्पन सक्छौ?

१२ त्यसले तिम्रो बाली भित्र्याइदेला भनेर के तिमी ढुक्क हुन सक्छौ?

के त्यसले अन्‍न बटुलेर तिम्रो खलामा ल्याइदिन्छ?

१३ सुतुरमुर्गले* खुब रमाउँदै आफ्नो पखेटा फटफटाउँछ।

तर के त्यसका पखेटा र प्वाँख गरुडको जस्तो हुन्छ?+

१४ त्यसले त आफ्ना अण्डाहरू बालुवाले न्यानो पारिदेओस्‌ भनेर

जमिनमा त्यसै छोड्‌छ।

१५ कसैले ती अण्डाहरूलाई कुल्चेला

वा जङ्‌गली जनावरले कुल्चीमिल्ची पार्ला भनेर पनि त्यसले चिन्ता गर्दैन।

१६ त्यसले आफ्ना चल्लाहरूको वास्तै गर्दैन, मानौँ ती चल्लाहरू त्यसका हुँदै होइनन्‌।+

तिनीहरूलाई हुर्काउन गरेको मेहनत खेर जाला भनेर त्यसलाई डर लाग्दैन।

१७ किनकि परमेश्‍वरले त्यसलाई बुद्धि दिनुभएको छैन

न त समझ नै दिनुभएको छ।

१८ तैपनि जब सुतुरमुर्ग उठ्‌छ र पखेटा फटफटाउँदै कुद्‌छ,

तब घोडा र घोडसवारलाई देखेर त्यो हाँस्छ।

१९ घोडालाई बल दिने के तिमी हौ?+

त्यसको गलामा फरफराउने जगर* तिमीले लगाइदिएका हौ?

२० के त्यसलाई सलहजस्तै उफ्रन लगाउने तिमी हौ?

त्यसले फूँ-फूँ गरेको आवाज कत्ति डरलाग्दो सुनिन्छ!+

२१ आफ्नो टापले जमिनलाई हिर्काउँदै त्यो बेँसीमा सानसित हिँड्‌छ।+

त्यो युद्ध गर्न शत्रु भएतिर जाइलाग्छ।+

२२ त्यसले डरलाई खिसी गर्छ र त्यो केहीदेखि डराउँदैन।+

तरबार देखेर पनि त्यो पीठ फर्काएर भाग्दैन।

२३ त्यसको आङमा बाणको ठोक्रो ठोकिँदा

अनि तरबार र भाला टलटल टल्किँदा

२४ त्यो झनै जोसिएर अगाडि बढ्‌छ।

सिङ फुकेको आवाज सुनेपछि त्यो चुपचाप बस्नै सक्दैन।*

२५ सिङ फुकेको आवाज सुन्‍नेबित्तिकै त्यो हिनहिनाउँछ।

युद्धको गन्ध त्यसले टाढैबाट चाल पाउँछ

र सेनापतिहरूको आदेश अनि रणभूमिमा सिपाहीहरूको चर्को आवाज त्यसले सुन्छ।+

२६ बाजलाई आफ्नो पखेटा फैलाएर दक्षिणतिर उड्‌न

तिमीले सिकाएका हौ?

२७ अथवा चीललाई माथि-माथि उड्‌न+ र अग्ला-अग्ला ठाउँहरूमा गुँड बनाउन

तिमीले आदेश दिएका हौ?+

२८ त्यसलाई चट्टानमा बास बस्न

र पहराहरूमा शरण लिन तिमीले अह्राएका हौ?

२९ त्यहीँबाट त्यसले आफ्नो आहारा खोज्छ।+

त्यसले टाढा-टाढासम्म पनि देख्छ।

३० त्यसका बचेराहरूले सिकारको रगत पिउँछन्‌

र जहाँ लास हुन्छ, त्यहाँ त्यो पुग्छ।”+

४० यहोवाले अय्युबलाई फेरि यसो भन्‍नुभयो:

 २ “के मानिसले सर्वशक्‍तिमान्‌ परमेश्‍वरलाई दोष लगाएर उहाँसित बहस गर्न सक्छ?+

परमेश्‍वरलाई सुधार्न खोज्नेले जवाफ देओस्‌।”+

 ३ तब अय्युबले यहोवालाई यसो भने:

 ४ “हेर्नुहोस्‌, म त एक तुच्छ मानिस हुँ।+

म तपाईँलाई के जवाफ दिऊँ?

म आफ्नो हातले आफ्नो मुख छोप्छु।+

 ५ मैले एक पटक बोलेँ, दोस्रो पटक पनि बोलेँ

तर अब भने चुप लागेर बस्छु।”

६ त्यसपछि यहोवाले आँधीबेहरीको बीचबाट अय्युबलाई यसो भन्‍नुभयो:+

 ७ “हे मानिस, मर्दझैँ खडा होऊ!

अनि मेरो प्रश्‍नको जवाफ देऊ।+

 ८ म जुन तरिकाले इन्साफ गर्छु, के तिमी त्यसमा शङ्‌का गर्छौ?

आफू सही देखिन के तिमी मलाई आरोप लगाउँछौ?+

 ९ के तिम्रो पाखुरा साँचो परमेश्‍वरको जत्तिकै बलियो छ?+

वा के तिम्रो आवाज उहाँको जत्तिकै दमदार छ?+

१० छ भने तिम्रो शक्‍ति र तिम्रो महिमा देखाऊ।

तिम्रो गौरव र तिम्रो महानता प्रकट गर।

११ तिम्रो रिस आगोझैँ दन्काऊ।

अहङ्‌कारीहरूलाई नियाल र तिनीहरू सबैलाई निहुरिन लगाऊ।

१२ अहङ्‌कारीहरूलाई खोज र तिनीहरूलाई नम्र तुल्याऊ।

दुष्टहरूजति सबैलाई ठाउँको ठाउँ कुल्चीमिल्ची पार।

१३ तिनीहरू सबैलाई माटोमुनि पुरिदेऊ।

तिनीहरूलाई बाँधेर घोर अन्धकारमा फालिदेऊ।

१४ तब तिम्रो दाहिने हातले तिमीलाई बचाउन सक्दो रहेछ

भनेर म पनि मानिलिनेछु।*

१५ जलगैँडालाई* हेर। तिमीलाई जस्तै त्यसलाई बनाउने पनि मै हुँ।

त्यसले गोरुले झैँ घाँस खान्छ।

१६ त्यसका फिला कत्ति बलिया हुन्छन्‌!

त्यसको पेटको मांसपेशीमा कत्ति शक्‍ति हुन्छ!

१७ त्यसले आफ्नो पुच्छर देवदारको रूखझैँ कडा बनाउँछ।

त्यसको तिघ्राको मांसपेशी बलियोगरि गाँसिएका हुन्छन्‌।

१८ त्यसका हड्डीहरू तामाका ढुङ्‌ग्राजस्ता

र त्यसका खुट्टाहरू फलामका छडजस्ता हुन्छन्‌।

१९ परमेश्‍वरले बनाउनुभएका ठूलठूला पशुमध्ये यो पहिलो हो।

त्यसलाई बनाउनुहुनेले मात्रै त्यसलाई तरबारले आक्रमण गर्न सक्नुहुन्छ।

२० पहाडहरूले त्यसको लागि आहारा तयार पार्छन्‌,

जहाँ अरू वनपशु चर्छन्‌।

२१ त्यो काँडेझारमुनि ढल्कन्छ

र नर्कटहरूबीच आहालमा बस्छ।

२२ काँडेझारले त्यसलाई छहारी दिन्छ

र त्यसलाई बेँसीका* चिनारका* रूखले घेर्छ।

२३ खोलामा भेल आउँदा त्यो आत्तिँदैन।

यर्दन+ नदी त्यसमाथि उर्लेर आयो भने पनि त्यो पटक्कै डराउँदैन।

२४ त्यसले देख्नेगरि कसले त्यसलाई पक्रन

वा त्यसको नाकमा अङ्‌कुसे लगाउन सक्छ?

४१ “के तिमी लेवियातानलाई*+ बल्छीले समात्न सक्छौ?

अथवा त्यसको मुखलाई डोरीले बाँध्न सक्छौ?

 २ के तिमी त्यसको नाकमा डोरी छिराउन सक्छौ?

अथवा त्यसको बङ्‌गारामा अङ्‌कुसे लगाउन सक्छौ?

 ३ के त्यसले तिमीसँग दयाको भीख माग्छ?

अथवा तिमीसित मधुरो आवाजमा कुरा गर्छ?

 ४ ‘बरु म जिन्दगीभर तपाईँको दास बन्छु’ भनेर

के त्यसले तिमीसित वाचा गर्छ?

 ५ के तिमी त्यसलाई चराचुरुङ्‌गीलाई जस्तै खेलाउन सक्छौ?

अथवा तिम्रा छोरीहरू त्यससित खेलून्‌ भनेर त्यसलाई सिक्रीले बाँधेर राख्न सक्छौ?

 ६ के व्यापारीहरू त्यसलाई किनबेच गर्छन्‌?

के तिनीहरू त्यसलाई आपसमा भाग लगाउँछन्‌?

 ७ के तिमी भालै-भालाले हिर्काएर त्यसको छाला

अथवा त्यसको टाउको छेड्‌न सक्छौ?+

 ८ त्यसलाई एक चोटि छोएर त हेर,

त्यससितको लडाइँ तिमीले जिन्दगीभर भुल्नेछैनौ र फेरि कहिल्यै त्यससित जोरी खोज्नेछैनौ।

 ९ त्यसलाई आफ्नो वशमा राख्न खोज्नु बेकार छ।

त्यसलाई देख्दा मात्रै पनि तिम्रो आङ सिरिङ्‌ङ हुन्छ।

१० त्यसलाई जिस्क्याउने आँट कसैले गर्दैन भने

मविरुद्ध खडा हुने आँट कसले गर्छ?+

११ के कसैले मलाई केही दिएको छ? के म कसैलाई केही दिन बाध्य छु?+

आकाशमुनि भएका सबै कुरा मेरै हुन्‌।+

१२ त्यसको शरीर यत्ति अचम्मले बनिएको छ,

म त्यसका खुट्टाहरू र त्यसको शक्‍तिबारे अझै बोल्नेछु।

१३ कसले त्यसको कवच हटाउन सक्छ?

त्यसले मुख बाउँदा को त्यसको नजिक जान सक्छ?

१४ त्यसको मुख खोल्ने साहस कसले गर्न सक्छ?

त्यसका दाह्रा देख्ने सबैको सातो जान्छ!

१५ त्यसको ढाडमा कत्लै-कत्ला छन्‌।*

ती सब लहर-लहरमा टम्म परेर बसेका छन्‌।

१६ ती आपसमा यसरी टाँसिएका छन्‌,

हावासमेत त्यहाँबाट वारपार हुँदैन।

१७ ती एकअर्कासित चिपिक्कै टाँसिएका छन्‌।

तिनलाई कसैले छुट्ट्याउन सक्दैन।

१८ त्यसले छिउँ गर्दा बत्ती झलमल्ल बलेझैँ देखिन्छ।

त्यसका आँखाहरू बिहानीको किरणझैँ देखिन्छन्‌।

१९ त्यसको मुखबाट बिजुली चम्कन्छ,

आगोको झिल्का निस्कन्छ।

२० भट्टीको आगोमा घाँस पर्दा धुवाँ निस्केझैँ

त्यसको नाकबाट धुवाँको मुस्लो निस्कन्छ।

२१ त्यसको मुखबाट ज्वाला निस्कन्छ

र त्यसको सासले कोइला बल्छ।

२२ त्यसको गर्दनमा निकै बल हुन्छ

र त्यसको अघिल्तिर पर्नेजति सबै बुर्कुसी मारेर भाग्छन्‌।

२३ तह-तह परेर कसिएको त्यसको मासु धातुझैँ कडा हुन्छ

र कसैले त्यसलाई हल्लाउन सक्दैन।

२४ त्यसको मुटु ढुङ्‌गाजस्तै कडा हुन्छ,

जाँतोको तल्लो पाटाजस्तै।

२५ त्यो खडा हुँदा कस्ता-कस्ताहरू समेत डरले थर्कमान हुन्छन्‌।

त्यसले पुच्छर हल्लाएर पानीलाई हिर्काउँदा तिनीहरूको होसहवास उड्‌छ।

२६ तरबार, भाला र काँडले समेत

त्यसलाई छुन सक्दैन।+

२७ त्यसले फलामलाई परालसरह ठान्छ

र तामालाई सडेको काठसरह।

२८ काँड हान्दा त्यो डराएर भाग्दैन।

घुयेँत्रोले हिर्काएको ढुङ्‌गा त्यसलाई झुसजस्तो लाग्छ।

२९ त्यसले लाठीलाई परालको ठुटोझैँ ठान्छ।

अनि भाला देखाएर तर्साउँदा त्यो हाँस्छ।

३० त्यसको पेटमा माटोको भाँडोको टुक्राझैँ तीखा-तीखा कत्ला हुन्छन्‌।

दाँदे लाउँदा खेत कोतरिएझैँ त्यसले हिलोमा आफ्नो छाप छोड्‌छ।+

३१ त्यसले गहिरो समुद्रलाई* खड्‌कुँलोमा उम्लेको पानीझैँ तुल्याउँछ

र भाँडोमा सुगन्धित तेल घोलेझैँ समुद्रको पानीमा भुमरी ल्याउँछ।

३२ टलक्क टल्किने धार छोड्‌दै त्यो हिँड्‌छ;

झट्ट हेर्दा समुद्रको कपाल फूलेझैँ देखिन्छ।

३३ कसैको डर नमान्‍ने त्योजस्तो जीव

पृथ्वीमा अरू कुनै छैन।

३४ ताइँफाइँ गर्ने जुनसुकै जनावरलाई त्यसले घुरेर हेर्छ।

त्यो सबै भयानक जङ्‌गली जनावरहरूको राजा हो।”

४२ त्यसपछि अय्युबले यहोवालाई यस्तो जवाफ दिए:

 २ “अब मैले थाह पाएँ, तपाईँ सबै कुरा गर्न सक्नुहुन्छ।

आफूले ठानेको कुनै पनि कुरा पूरा गर्नु तपाईँको लागि असम्भव छैन।+

 ३ ‘मेरो सल्लाहलाई हलुका बनाउन खोज्ने त्यो अबुझ को हो’ भनेर तपाईँले सोध्नुभयो।+

त्यतिखेर सोचविचार नगरी बोल्ने मै हुँ।

आफूले नबुझेका अचम्मका कुराहरूबारे मैले मुख खोलेँ।+

 ४ तपाईँले यस्तो आग्रह गर्नुभयो, ‘मैले बोल्दा ध्यान दिएर सुन।

अनि मेरो प्रश्‍नको जवाफ देऊ।’+

 ५ मैले त तपाईँबारे सुनेको मात्र थिएँ

तर अब भने आफ्नै आँखाले तपाईँलाई देखेँ।

 ६ त्यसैले म आफूले बोलेको कुरा फिर्ता लिन्छु+

अनि धुलो र खरानीमा बसेर पश्‍चात्ताप गर्छु।”+

७ यहोवाले अय्युबलाई यी कुराहरू भन्‍नुभएपछि एलिपज तेमानीलाई यहोवाले यसो भन्‍नुभयो:

“मलाई तिमी र तिम्रा दुई जना साथीसित असाध्यै रिस उठेको छ।+ किनकि तिमीहरूले मेरो सेवक अय्युबले जस्तो मेरो विषयमा सत्य कुरा बोलेनौ।+ ८ अब सात वटा बहर र सात वटा थुमा लिएर मेरो सेवक अय्युबकहाँ जाऊ र आ-आफ्नो पापको प्रायश्‍चित गर्न अग्निभेटी चढाऊ। मेरो सेवक अय्युबले तिमीहरूको निम्ति प्रार्थना गरिदिनेछन्‌।+ तिमीहरूले मेरो सेवक अय्युबले जस्तो मेरो विषयमा सत्य कुरा नबोलेकोले तिमीहरू दण्ड पाउन योग्य छौ। तर म अय्युबको बिन्ती सुन्‍नेछु र तिमीहरूलाई तिमीहरूको मूर्खताको सजाय दिनेछैनँ।”

९ त्यसैले एलिपज तेमानी, बिल्दद सुही र जोपर नामाती गए र यहोवाले भन्‍नुभएअनुसारै गरे। अनि यहोवा परमेश्‍वरले अय्युबको प्रार्थना सुन्‍नुभयो।

१० अय्युबले आफ्ना साथीहरूको निम्ति प्रार्थना गरेपछि+ यहोवाले अय्युबको दुःखकष्ट हटाइदिनुभयो+ र पहिलेजस्तै तिनको फलिफाप गराइदिनुभयो। यहोवाले तिनका सबै सम्पत्ति पहिलेको भन्दा दोबर बढाइदिनुभयो।+ ११ तिनका सबै दाजुभाइ, दिदीबहिनी र पुराना साथीहरू तिनीकहाँ आए+ र तिनीसँगै तिनको घरमा भोज गरे। यहोवाले अय्युबमाथि जे-जत्ति विपत्ति आइपर्ने अनुमति दिनुभएको थियो, त्यसको निम्ति तिनीहरूले सहानुभूति व्यक्‍त गरे र तिनलाई सान्त्वना दिए। तिनीहरू हरेकले अय्युबलाई एक टुक्रा चाँदी र सुनको कुण्डल दिए।

१२ यहोवाले अय्युबलाई पहिलेभन्दा धेरै आशिष्‌ दिनुभयो।+ अय्युबका १४ हजार भेडा, ६ हजार उँट, २ हजार गाईवस्तु* र १ हजार गधैनी भए।+ १३ साथै तिनका अरू सात छोरा र तीन छोरी पनि भए।+ १४ तिनले जेठी छोरीको नाम यमिमाह, माइलीको नाम केजियाह र कान्छीको नाम केरेन-हप्पुक राखे। १५ सारा देशमा अय्युबका छोरीहरूजति राम्री अरू कोही थिएनन्‌। अय्युबले आफ्ना छोरीहरूलाई पनि तिनीहरूका दाजुभाइलाई जस्तै अंश दिए।

१६ त्यसपछि अय्युब अरू १४० वर्ष बाँचे र तिनले आफ्ना छोरानाति गरी चौथो पुस्तासम्म देखे। १७ यसरी लामो र सुखी जीवन बिताएर अय्युब मरे।

यसको अर्थ “घृणाको पात्र” हुन सक्छ।

वा “तिनी निर्दोष र सोझो जीवन बिताउँथे।”

शा., “५०० जोडी गाईवस्तु।”

अर्थात्‌, कनानको उत्तर-पूर्वतिरका।

वा “तोकिएको दिनमा।”

शब्दावली हेर्नुहोस्‌।

वा “स्वर्गदूतहरू।”

वा सम्भवतः “बिजुली चम्कियो।”

वा “स्वर्गदूतहरू।”

वा “चिनजानका मान्छेहरू।”

यसले गोही वा अरू कुनै विशाल जलजन्तुलाई जनाएको हुन सक्छ। शब्दावलीमा “लेवियातान” हेर्नुहोस्‌।

वा सम्भवतः “जसले आफ्नो निम्ति उजाड ठाउँहरू बनाए।”

अर्थात्‌, मृत्युमा।

अर्थात्‌, जीवनको ज्योति।

वा “षड्‌यन्त्र रच्नेहरूले।”

शब्दावली हेर्नुहोस्‌।

वा “अदृश्‍य शक्‍ति।” शब्दावलीमा “रुवाक; न्युमा” हेर्नुहोस्‌।

वा “सन्देशवाहकहरूमा।”

कपडा खाने एक किसिमको पुतली।

यसले स्वर्गदूतलाई जनाएको हुन सक्छ।

वा “तपाईँसित करार गर्नेछ (सम्झौता गर्नेछ)।”

ठूलो स्वरले कराउनु।

वा “अटल प्रेम।” शब्दावलीमा “अटल प्रेम” हेर्नुहोस्‌।

वा “औँसै-औँसा।”

कपडा बुन्‍ने तानमा धागाको बीचबीचमा छिराई धागोलाई एकातिरबाट अर्कोतिर लग्ने एक साधन।

हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “तपाईँका कुराहरू हुरीबतासजस्तै छन्‌।”

शा., “छायाजस्तै छ।”

शब्दावली हेर्नुहोस्‌।

वा “धर्मत्यागीहरूको।” शब्दावलीमा “धर्मत्याग” हेर्नुहोस्‌।

शा., “घरजस्तै।”

वा “उहाँलाई कठघरामा उभ्याउने।”

यसले सप्तर्षि तारामण्डललाई (उर्षा मेजर) जनाएको हुन सक्छ।

यसले सिकारी अर्थात्‌ मृगशिरा तारामण्डललाई जनाएको हुन सक्छ।

यसले वृष तारामण्डलको प्लिएड्‌स ताराहरूलाई जनाएको हुन सक्छ।

यसले एउटा विशाल जलजन्तुलाई जनाएको हुन सक्छ। शब्दावलीमा “लेवियातान” हेर्नुहोस्‌।

वा सम्भवतः “प्रतिवादीसित।”

शा., “कठघरामा उभ्याउने।”

शा., “अनुहार।”

वा “पोटासले।”

वा “मध्यस्थकर्ता।”

शा., “चिज।”

वा “केही बेर खुसी हुन सकूँ।”

वा “धाक लगाउँदैमा।”

वा “मैले सिकाउने कुरा।”

हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

वा “जङ्‌गली गधा मान्छे भएर जन्मनु।”

वा “तयार।”

वा सम्भवतः “पृथ्वीसित बोल्नुहोस्‌।”

वा “सास।”

वा “सल्लाहकारहरूका सबै कुरा खोस्नुहुन्छ।”

वा “नाइकेहरूको।”

शा., “खरानीको उपदेश।”

वा “धर्मत्यागी।” शब्दावलीमा “धर्मत्याग” हेर्नुहोस्‌।

वा सम्भवतः “कोही तयार छ भने म चुपचाप बस्नेछु र मर्नेछु।”

यसले अय्युबलाई जनाएको हुन सक्छ।

कपडा खाने एक किसिमको पुतली।

वा सम्भवतः “तर पछि काटेर ढालिन्छ।”

वा “उसित मुद्दा लड्‌न।”

हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

यसले मृत्युको दासत्वलाई सङ्‌केत गर्छ।

वा “पूर्वीय बतासले।” यसले मरुभूमिबाट बहने तातो हावालाई जनाउँछ।

वा “सर्वशक्‍तिमान्‌लाई जित्न खोज्छ।”

यहाँ मोटोपनले वा बोसोले सम्पन्‍नता, विलासी जीवन र अहङ्‌कारलाई जनाउँछ।

अर्थात्‌, उसको निम्ति बाँच्ने आशा हुँदैन।

वा “धर्मत्यागीहरूको।” शब्दावलीमा “धर्मत्याग” हेर्नुहोस्‌।

वा “मसित भेला हुनेहरू सबैलाई।”

वा सम्भवतः “मैले अनिदो रहेर परमेश्‍वरको बाटो हेर्दा।”

शा., “उखानको पात्र।”

वा “धर्मत्यागी।” शब्दावलीमा “धर्मत्याग” हेर्नुहोस्‌।

हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

वा “चिहानलाई।”

हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

वा सम्भवतः “अशुद्ध।”

वा “मृत्युको मुखमा।”

शा., “१०-१० पटक।”

शा., “म उठ्‌नेबित्तिकै।”

शा., “मेरो दाँतको छालाले मात्र बाँचिरहेको छु।”

वा “छिनु।”

वा “धर्मत्यागी।” शब्दावलीमा “धर्मत्याग” हेर्नुहोस्‌।

वा “दर्शनझैँ।” शब्दावलीमा “दर्शन” हेर्नुहोस्‌।

अर्थात्‌, भाइपरले।

वा “किन तिनीहरू शक्‍तिशाली हुन्छन्‌?”

अर्थात्‌, गाईसित मिसिन्छन्‌।

वा “चिहानमा जाने बेला।” हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

वा “सल्लाह, षड्‌यन्त्र।”

वा “वादीको।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

वा “त्यसले परमेश्‍वरलाई खुसी पार्छ र?”

वा “बुबा गुमाएका बच्चाहरूको।”

शा., “आकाशको परिधिमा।”

शा., “नदीले।”

अर्थात्‌, परमेश्‍वरले न्याय गर्नुहुने दिन।

वा “बुबा गुमाएका बच्चाहरूको।”

वा सम्भवतः “वस्तुभाउको लागि घाँसपात जम्मा गर्न।”

वा “बुबा गुमाएको बच्चालाई।”

वा सम्भवतः “उनीहरू खेतको कान्लामा तेल पेल्छन्‌।”

वा सम्भवतः “परमेश्‍वर कसैलाई दोषी ठहराउनुहुन्‍न।”

शब्दावली हेर्नुहोस्‌।

वा “पग्लेको हिउँलाई।”

हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

हिब्रू भाषामा शिओल। शब्दावली हेर्नुहोस्‌।

हिब्रू भाषामा एबाड्डोन। शब्दावलीमा “एबाड्डोन” हेर्नुहोस्‌।

वा “क्षितिज।”

शा., “राहाबलाई।”

वा “धर्मत्यागी।” शब्दावलीमा “धर्मत्याग” हेर्नुहोस्‌।

वा सम्भवतः “परमेश्‍वरको हातको मदतले सिकाउँछु।”

शब्दावली हेर्नुहोस्‌।

वा सम्भवतः “त्यसको हालत देखेर तिनीहरूले थपडी मार्नेछन्‌ र सिटी बजाउँदै त्यसको खिसी गर्नेछन्‌।”

वा “धाउ।”

यसले खानीमा हुने सम्पूर्ण कामलाई जनाएको हुन सक्छ।

शब्दावली हेर्नुहोस्‌।

वा “इथियोपियाको।”

वा “नोकरचाकर।”

वा “बुबा गुमाएको बच्चा।”

वा “धार्मिकतालाई।” शब्दावलीमा “धार्मिकता” हेर्नुहोस्‌।

गलादेखि गोडासम्म पुग्ने लामो पोसाक।

वा सम्भवतः “तिनीहरू मेरो अनुहारको उज्यालो खोस्दैन थिए।”

शा., “कुटपिट गरेर लखेटिन्छन्‌।”

शा., “उखानको पात्र।”

शा., “मेरो धनुको ताँदो खुकुलो पारिदिनुभएको छ।”

वा सम्भवतः “तिनीहरू कसैको मदतविना त्यसो गर्छन्‌।”

यहाँ लुगाले अय्युबको छालालाई जनाएको हुन सक्छ।

वा सम्भवतः “असह्‍य पीडाले मलाई कुरूप बनाइदिएको छ।”

वा सम्भवतः “मलाई माथिबाट जोडले खसाल्नुहुन्छ।”

वा “अस्ट्रिजहरूको।”

वा सम्भवतः “ज्वरोले।”

वा सम्भवतः “झूट बोल्ने मानिसहरूसित।”

वा “मेरा सन्तानलाई जरैसमेत उखेलिदेओस्‌।”

वा “मविरुद्ध मुद्दा हाल्दा।”

वा सम्भवतः “सहरको मूलढोकामा मेरो पक्षमा थुप्रै मानिस हुँदा।”

वा “म हस्ताक्षर गरिदिने थिएँ।”

अर्थात्‌, खेत जोत्दा जमिनमा परेको हलोको डोब।

वा “अय्युब आफ्नै नजरमा धर्मी भएकोले।”

वा “सच्याउन।”

जनावरको छालाबाट बनेको थैलो।

वा “कुनै पदवीले सम्बोधन गर्नेछैनँ।”

शब्दावली हेर्नुहोस्‌।

शा., “छाप लगाएर राखिदिनुहुन्छ।”

शब्दावली हेर्नुहोस्‌।

वा “स्वर्गदूत।”

वा सम्भवतः “तर त्यसबाट मलाई केही फाइदा भएन।”

शा., “अपमानलाई पानीझैँ पिउने।”

वा “धर्मत्यागी।” शब्दावलीमा “धर्मत्याग” हेर्नुहोस्‌।

वा सम्भवतः “हे बुबा, अय्युबको जाँच होस्‌।”

यसले परमेश्‍वरलाई जनाएको हुन सक्छ।

वा सम्भवतः “राजाहरूलाई सिंहासनमा बसाल्नुहुन्छ।”

वा “धर्मत्यागी।” शब्दावलीमा “धर्मत्याग” हेर्नुहोस्‌।

वा सम्भवतः “कसले उहाँको आलोचना गरेको छ?; कसले उहाँको लेखा लिएको छ?”

वा “उहाँका वर्षहरू पत्ता लगाउन सक्दैन।”

वा सम्भवतः “मानिसहरूको पक्षमा इन्साफ गर्नुहुन्छ।”

वा सम्भवतः “के आउँदै छ।”

वा “अटल प्रेम।”

यसले घामको ज्योतिलाई जनाउँछ।

वा “स्वर्गदूतहरू।”

वा “मृत्युको छाया।”

वा सम्भवतः “बिजुली।”

यसले वृष तारामण्डलको प्लिएड्‌स ताराहरूलाई जनाएको हुन सक्छ।

यसले सिकारी अर्थात्‌ मृगशिरा तारामण्डललाई जनाएको हुन सक्छ।

हिब्रू भाषामा मज्जारोथ। दोस्रो राजा २३:५ मा यससित मिल्दोजुल्दो शब्दको बहुवचन रूप प्रयोग गरिएको छ र त्यसले राशिफलका तारामण्डलहरूलाई जनाउँछ।

यसले सप्तर्षि तारामण्डललाई (उर्षा मेजर) जनाएको हुन सक्छ।

वा सम्भवतः “परमेश्‍वरका नियमहरू।”

वा सम्भवतः “मान्छेलाई।”

वा सम्भवतः “मानिसको दिमागलाई।”

वा “अस्ट्रिजले।”

घोडा, सिंह आदिका घिच्रामा हुने लामा खस्रा भुत्ला।

वा सम्भवतः “सिङ फुकेको आवाज सुने पनि त्यसले पत्याउनै सक्दैन।”

वा “तिमीलाई स्याबासी दिनेछु।”

हिब्रू भाषामा बेहेमोथ।

वा “वादीका।” शब्दावलीमा “वादी” हेर्नुहोस्‌।

लहरे पिपलजस्तै एक प्रकारको रूख।

यसले गोहीलाई जनाएको हुन सक्छ। शब्दावलीमा “लेवियातान” हेर्नुहोस्‌।

वा सम्भवतः “आफ्नो ढाडमा भएका कत्लाहरूमा त्यसले गर्व गर्छ।”

यहाँ “समुद्र” भनेर अनुवाद गरिएको हिब्रू शब्दले ठूलो नदीलाई पनि जनाउन सक्छ।

शा., “१ हजार जोडी गाईवस्तु।”

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने