प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • nwt प्रस्थान १:१-४०:३८
  • प्रस्थान

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • प्रस्थान
  • पवित्र बाइबल नयाँ संसार अनुवाद
पवित्र बाइबल नयाँ संसार अनुवाद
प्रस्थान

प्रस्थान

१ इस्राएल अर्थात्‌ याकुब मिश्र* जाँदा तिनका छोराहरू पनि आ-आफ्नो परिवार लिएर तिनीसितै गए। याकुबका छोराहरूको नाम यी नै हुन्‌:+ २ रुबेन, सिमियोन, लेवि र यहुदा;+ ३ इस्साकार, जबुलुन र बिन्यामिन; ४ दान र नप्तालि; गाद र असेर।+ ५ याकुबका सन्तान जम्मा ७० जना थिए। युसुफ भने पहिल्यै मिश्रमा थिए।+ ६ पछि युसुफको मृत्यु भयो+ र तिनका दाजुभाइ अनि त्यस पुस्ताका सबै जना मरे। ७ इस्राएलीहरूबाट पछि धेरै सन्तान जन्मिए र तिनीहरूको वृद्धि हुँदै गयो। यसरी तिनीहरूको शाखासन्तान बढ्‌दै गयो। यसले गर्दा तिनीहरू ज्यादै शक्‍तिशाली भए; सारा देश नै तिनीहरूले भरियो।+

८ समय बित्दै जाँदा मिश्रमा एक जना नयाँ राजाले शासन गर्न थाले, जसलाई युसुफको विषयमा केही पनि थाह थिएन। ९ तिनले आफ्नो प्रजालाई यसो भने: “हेर, इस्राएलीहरू हामीभन्दा धेरै र शक्‍तिशाली भएका छन्‌!+ १० त्यसैले अब त हामीले केही गर्नै पर्छ। नत्र तिनीहरू बढ्‌दै जानेछन्‌ अनि लडाइँ भयो भने हाम्रा शत्रुहरूसँग मिलेर हामीसित लड्‌नेछन्‌ र मिश्र छोडेर भाग्नेछन्‌।”

११ यसकारण इस्राएलीहरूलाई जबरजस्ती काममा जोताउन उनीहरूले नाइकेहरू नियुक्‍त गरे।+ अनि ती नाइकेहरूले इस्राएलीहरूलाई फारोको* अन्‍न र सरसामान जम्मा गर्न गोदामहरू भएका सहरहरू बनाउन लगाए। ती सहरहरूको नाम पिथोम र रामसेस थियो।+ १२ तर उनीहरूले इस्राएलीहरूलाई जति-जति दमन गरे, उति-उति तिनीहरूको सङ्‌ख्या बढ्‌न थाल्यो र तिनीहरू टाढा-टाढासम्म फिँजिँदै गए। अनि उनीहरू इस्राएलीहरूको डरले थरथर भए।+ १३ त्यसैले मिश्रीहरूले इस्राएलीहरूसित कठोर व्यवहार गरे र तिनीहरूलाई काममा दलाउनसम्म दलाए।+ १४ इँटा र इँटाको लागि चाहिने माटोको मसला बनाउन अनि खेतमा गरिने सबै किसिमका काम गर्न लगाएर उनीहरूले इस्राएलीहरूको जीवनै खल्लो बनाइदिए। हो, गाह्रो-गाह्रो काम गर्न लगाएर मिश्रीहरूले इस्राएलीहरूसित कठोर व्यवहार गरे।+

१५ मिश्रका राजाले सिफ्राह र पुआ नाम गरेका हिब्रू सुँडेनीहरूलाई बोलाए १६ र यसो भने: “तिमीहरूले हिब्रू स्त्रीहरूलाई बच्चा जन्माउन मदत गर्दा+ छोरा जन्मेमा त्यस बालकलाई मारिदिनू तर छोरी जन्मेमा चाहिँ नमार्नू।” १७ तर ती सुँडेनीहरू साँचो परमेश्‍वरको डर राख्थे। त्यसैले तिनीहरूले मिश्रका राजाको आज्ञा मानेनन्‌। तिनीहरूले छोराहरू जन्मिँदा पनि मारेनन्‌।+ १८ पछि मिश्रका राजाले ती सुँडेनीहरूलाई बोलाएर भने: “तिमीहरूले छोराहरूलाई किन मारेनौ?” १९ सुँडेनीहरूले फारोलाई भने: “हिब्रू स्त्रीहरू मिश्री स्त्रीहरूजस्ता छैनन्‌। तिनीहरू बलिया र हट्टाकट्टा छन्‌। तिनीहरूले हामी पुग्नुभन्दा पहिल्यै बच्चा जन्माइसकेका हुन्छन्‌।”

२० त्यसैले परमेश्‍वरले ती सुँडेनीहरूलाई आशिष्‌ दिनुभयो; इस्राएलीहरूको सङ्‌ख्या झन्‌झनै बढ्‌दै गयो र तिनीहरू शक्‍तिशाली हुँदै गए। २१ साँचो परमेश्‍वरको डर राखेकोले उहाँको आशिष्‌ पाएर सुँडेनीहरूले पनि सन्तान जन्माए। २२ पछि फारोले आफ्नो प्रजालाई यस्तो आदेश दिए: “हिब्रूहरूबाट जन्मेका छोराजति सबैलाई नाइल नदीमा फालिदिनू तर छोरीहरूलाई भने नमार्नू।”+

२ त्यही समयतिर लेविको कुलको एक जना पुरुषले लेविको कुलकै एउटी स्त्रीसित विवाह गरे।+ २ अनि ती स्त्री गर्भवती भइन्‌ र एउटा छोरा जन्माइन्‌। त्यो छोरा असाध्यै सुन्दर भएकोले तिनले उसलाई तीन महिनासम्म लुकाइराखिन्‌।+ ३ तर बालकलाई लुकाइराख्न गाह्रो भएपछि+ तिनले मालिङ्‌गोको* टोकरीलाई बिटुमिनले* लिपिन्‌ अनि बालकलाई त्यसमा सुताइन्‌। त्यसपछि नाइल नदीको किनारामा भएका नर्कटहरूको बीचमा त्यो टोकरी छोडिदिइन्‌। ४ ती बालककी दिदीचाहिँ+ आफ्नो भाइलाई के होला भनेर हेर्न टाढै उभिरहिन्‌।

५ फारोकी छोरी नाइल नदीमा नुहाउन जाँदा उनका सुसारेहरू नदीको छेउछेउमा हिँडिरहेका थिए। फारोकी छोरीले झाडीहरूको बीचमा एउटा टोकरी देखिन्‌ र तुरुन्तै आफ्नी दासीलाई त्यो लिन पठाइन्‌।+ ६ टोकरी खोलेर हेर्दा त्यसमा बच्चा पो रहेछ! बच्चा रोइरहेको थियो। बच्चालाई देखेर फारोकी छोरीले भनिन्‌: “यो त हिब्रूहरूको छोरा हो।” तैपनि उनलाई साह्रै माया लाग्यो। ७ तब बालककी दिदीले फारोकी छोरीलाई भनिन्‌: “यो सानो बाबुलाई दूध खुवाउन हिब्रू धाईआमा बोलाएर ल्याऊँ?” ८ फारोकी छोरीले भनिन्‌: “हुन्छ, ल्याऊ!” त्यो केटी तुरुन्तै गई र बालककी आमालाई बोलाएर ल्याई।+ ९ फारोकी छोरीले तिनलाई भनिन्‌: “यो बच्चा लिएर जाऊ अनि उसलाई दूध खुवाऊ। म तिमीलाई ज्याला दिनेछु।” त्यसैले ती स्त्रीले त्यो बच्चा लिएर गइन्‌ र उसलाई दूध खुवाउने गरिन्‌। १० बालक हुर्केर ठूलो भएपछि तिनले उसलाई फारोकी छोरीकहाँ लगिन्‌। अनि फारोकी छोरीले उसलाई आफ्नो छोराजस्तै गरी पालिन्‌।+ उनले बच्चाको नाम मोसा* राखिन्‌ र यसो भनिन्‌: “किनभने मैले उसलाई पानीबाट निकालेकी हुँ।”+

११ मोसा वयस्क भएपछि* एकदिन आफ्ना हिब्रू भाइबन्धु भएतिर गए र तिनीहरूले साह्रै दुःख भोगिरहेको देखे।+ एक जना मिश्रीले एक जना हिब्रूलाई कुटिरहेको तिनले आफ्नै आँखाले देखे। १२ तिनले यताउता हेरे अनि वरपर कोही पनि नदेखेपछि त्यस मिश्रीलाई मारेर बालुवामा पुरिदिए।+

१३ अनि भोलिपल्ट बाहिर जाँदा तिनले दुई जना हिब्रू आपसमा झगडा गरिरहेको देखे। त्यसैले गल्ती गर्ने हिब्रूलाई तिनले भने: “तिमी किन आफ्नै मान्छेलाई कुट्‌दै छौ?”+ १४ उसले भन्यो: “तिमी कहिलेदेखि हाम्रो राजा र न्यायकर्ता भयौ? त्यो मिश्रीलाई मारेझैँ कतै तिमी मलाई पनि मार्ने सुरमा त छैनौ?”+ यो सुनेर मोसा डराए अनि मनमनै भने: “ओहो, यो कुरा त सबैलाई थाह भइसकेछ!”

१५ त्यो कुरा फारोको कानमा पनि पुग्यो र उनले मोसालाई मार्न खोजे। तर मोसा भागेर मिद्यानीहरूको देशमा गए।+ त्यहाँ पुगेपछि तिनी एउटा इनारनेर थचक्क बसे। १६ मिद्यान देशका पुजारीका+ सात वटी छोरी थिए। आफ्नो बुबाको बगाललाई पानी खुवाउन तिनीहरूले इनारबाट पानी तानेर डुँड भर्न लागे। १७ तब पहिलेजस्तै गोठालाहरू आए अनि ती केटीहरू र बगाललाई धपाउन थाले। तर मोसा उठे र ती केटीहरूलाई मदत गरे।* त्यसपछि इनारबाट पानी तानेर बगाललाई खुवाए। १८ घर फर्केपछि तिनीहरूका बुबा रुएलले*+ छक्क पर्दै सोधे: “तिमीहरू कसरी आज यति चाँडो फर्क्यौ?” १९ तिनीहरूले जवाफ दिए: “एक जना मिश्रीले+ हामीलाई गोठालोहरूबाट बचाए, यहाँसम्म कि तिनले पानी तानेर हाम्रो पूरै बगाललाई खुवाए।” २० उनले छोरीहरूलाई भने: “खै त, ऊ कहाँ छ? तिमीहरूले उसलाई किन सँगै ल्याएनौ? जाओ, उसलाई बोलाएर ल्याओ अनि सँगै बसेर खाना खाऔँ।” २१ त्यसपछि मोसा ती मानिसकहाँ बस्न राजी भए। उनले आफ्नी छोरी सिप्पोराको विवाह मोसासित गराइदिए।+ २२ पछि सिप्पोराले एउटा छोरो जन्माइन्‌ र मोसाले यसो भने: “म उसको नाम गेर्सोम*+ राख्नेछु किनकि म यस विदेशी भूमिमा प्रवासी भएर बसेको छु।”+

२३ धेरै वर्ष बितेपछि मिश्रका राजाको मृत्यु भयो+ तर इस्राएलीहरू अझै दासत्वबाट मुक्‍त भएका थिएनन्‌। त्यसैले तिनीहरूले सुस्केरा हाल्दै बिन्ती गरिरहे। अनि तिनीहरूको सुस्केरा साँचो परमेश्‍वरकहाँ पुग्यो।+ २४ परमेश्‍वरले तिनीहरूको सुस्केरा सुन्‍नुभयो+ अनि अब्राहाम, इसहाक र याकुबसित गर्नुभएको करार सम्झनुभयो।+ २५ परमेश्‍वरले इस्राएलीहरूमाथि नजर लगाउनुभयो र तिनीहरूको दुःख देख्नुभयो।

३ मोसा आफ्ना ससुरा, मिद्यानीहरूका पुजारी यिथ्रोका भेडाबाख्रा चराउँथे।+ बगाललाई निर्जनभूमिको पश्‍चिमपट्टि चराउँदै जाँदा तिनी साँचो परमेश्‍वरको डाँडा होरेबमा आइपुगे।+ २ अनि झाडीको बीचमा यहोवा परमेश्‍वरको स्वर्गदूत आगोको ज्वालाको रूपमा मोसासामु देखा परे।+ तिनले अझ नियालेर हेर्दा झाडी बलिरहेको देखे तर त्यो डढेको भने थिएन। ३ त्यसैले मोसाले भने: “कस्तो अनौठो! झाडी बलिरहेको छ तर डढेको छैन। के भएको रहेछ, म त्यहीँ गएर हेर्छु।” ४ तिनी झाडीको नजिकै आइरहेको देखेपछि यहोवा परमेश्‍वरले झाडीको बीचबाट तिनलाई “मोसा! ए मोसा!” भनेर बोलाउनुभयो। तिनले जवाफ दिए: “हजुर!” ५ उहाँले भन्‍नुभयो: “त्यहीँ उभिराख, नजिक नआऊ! तिम्रो जुत्ता फुकाल किनभने तिमी जहाँ उभिरहेका छौ, त्यो भूमि पवित्र छ।”

६ उहाँले अझै यसो भन्‍नुभयो: “म तिम्रा पुर्खाहरूका परमेश्‍वर हुँ; अब्राहाम,+ इसहाक+ अनि याकुबका+ परमेश्‍वर।” तब मोसाले आफ्नो अनुहार छोपे किनभने तिनी साँचो परमेश्‍वरलाई हेर्न डराए। ७ त्यसपछि यहोवा परमेश्‍वरले भन्‍नुभयो: “मिश्रमा मेरो प्रजाको दुःख मैले देखेको छु। मिश्रीहरूको थिचोमिचोमा परेका मेरो प्रजाको चीत्कार मैले सुनेको छु। तिनीहरूले भोगिरहेको पीडा मलाई राम्ररी थाह छ।+ ८ म तिनीहरूलाई मिश्रीहरूको हातबाट छुटाएर+ कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी अनि यबुसीहरूको देशमा पुऱ्‍याउन तल ओर्लनेछु।+ त्यो देश राम्रो र ठूलो छ अनि त्यहाँ दूध र मह बग्छ।+ ९ हेर, इस्राएलीहरूको चीत्कार मैले सुनेको छु। मिश्रीहरूले कठोर भएर तिनीहरूमाथि गरेको अत्याचार पनि मैले देखेको छु।+ १० त्यसैले म तिमीलाई फारोकहाँ पठाउनेछु र तिमीले मेरो प्रजा इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याउनेछौ।”+

११ तर मोसाले साँचो परमेश्‍वरलाई भने: “फारोकहाँ गएर इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याउन सक्ने म को हुँ र?” १२ तब उहाँले भन्‍नुभयो: “म तिमीसँग हुनेछु।+ तिमीले इस्राएलीहरूलाई मिश्रबाट छुटाएर ल्याएपछि तिमीहरूले यही डाँडामा मेरो उपासना गर्नेछौ;+ यो मेरो प्रतिज्ञा हो अनि तिमीलाई पठाउने साँचो परमेश्‍वर म नै हुँ भनेर तिमीले थाह पाउनेछौ।”

१३ तब मोसाले साँचो परमेश्‍वरलाई भने: “म इस्राएलीहरूकहाँ गएर यसो भनूँला: ‘मलाई तिमीहरूका पुर्खाहरूका परमेश्‍वरले पठाउनुभएको हो।’ तर तिनीहरूले ‘उहाँको नाम के हो?’+ भनेर सोधे भने मैले तिनीहरूलाई के भन्‍नू?” १४ परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “म जे बन्‍न चाहन्छु, त्यही बन्‍नेछु।”*+ उहाँले अझै यसो भन्‍नुभयो: “तिमीले इस्राएलीहरूलाई यसो भन्‍नू, ‘म जे बन्‍न चाहन्छु, त्यही बन्‍नेछु भन्‍नुहुनेले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो।’”+ १५ त्यसपछि परमेश्‍वरले मोसालाई फेरि यसो भन्‍नुभयो:

“तिमीले इस्राएलीहरूलाई भन्‍नू, ‘तिमीहरूका पुर्खाहरूका परमेश्‍वर यहोवाले मलाई पठाउनुभएको हो; अब्राहाम,+ इसहाक+ अनि याकुबका+ परमेश्‍वरले नै मलाई तिमीहरूकहाँ पठाउनुभएको हो।’ मेरो नाम सधैँका लागि यही रहनेछ+ अनि पुस्तौँपुस्तासम्म म यही नामले चिनिनेछु। १६ अब जाऊ र इस्राएलका नाइकेहरूलाई भेला गर अनि तिनीहरूलाई यसो भन, ‘तिमीहरूका पुर्खाहरू अर्थात्‌ अब्राहाम, इसहाक अनि याकुबका परमेश्‍वर यहोवा मकहाँ देखा पर्नुभयो अनि भन्‍नुभयो: “तिमीहरूले मिश्रमा भोगिरहेको दुःख अनि अत्याचार मैले अवश्‍य देखेको छु।+ १७ त्यसैले म तिमीहरूलाई मिश्रीहरूको हातबाट छुटाएर+ कनानी, हित्ती, एमोरी,+ परिज्जी, हिव्वी अनि यबुसीहरूको+ देशमा पुऱ्‍याउनेछु, जहाँ दूध र मह बग्छ।+ यो मेरो प्रतिज्ञा हो।”’

१८ “तिनीहरूले तिम्रो कुरा अवश्‍य सुन्‍नेछन्‌;+ तिमी र इस्राएलका नाइकेहरू मिश्रका राजाकहाँ जाऊ र यसो भन: ‘हिब्रूहरूका+ परमेश्‍वर यहोवाले हामीसित कुरा गर्नुभएको छ। त्यसैले कृपया हामीलाई तीन दिन यात्रा गरेर यहोवा परमेश्‍वरको निम्ति बलि चढाउन निर्जनभूमिमा जाने अनुमति दिनुहोस्‌।’+ १९ तर मलाई थाह छ, पराक्रमी हातले बाध्य नपारेसम्म मिश्रका राजाले तिमीहरूलाई जान दिनेछैनन्‌।+ २० त्यसैले म आफ्नो हात पसार्नेछु अनि अचम्मलाग्दा कामहरू गरेर मिश्रमाथि प्रहार गर्नेछु। तब मात्र उनले तिमीहरूलाई जान दिनेछन्‌।+ २१ म मिश्रीहरूलाई तिमीहरूमाथि निगाह गर्न लगाउनेछु। अनि त्यहाँबाट तिमीहरू रित्तो हात निस्कनेछैनौ।+ २२ हरेक स्त्रीले आफ्नो छिमेकीसित अनि आफ्नो घरमा बस्ने स्त्रीसित सुनचाँदीका सरसामान र लुगाफाटा मागोस्‌ अनि ती आफ्ना छोराछोरीलाई लगाइदेओस्‌। यसरी तिमीहरूले मिश्रीहरूलाई लुट्‌नेछौ।”+

४ तर मोसाले जवाफ दिए: “तिनीहरूले मेरो कुरा पत्याएनन्‌ र मेरो कुरा सुनेनन्‌ भने के गर्ने?+ किनकि तिनीहरूले भन्‍नेछन्‌, ‘यहोवा परमेश्‍वर तिमीसामु देखा पर्नुभएको हुनै सक्दैन।’” २ त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई सोध्नुभयो: “तिम्रो हातमा के छ?” तिनले जवाफ दिए: “लौरो।” ३ उहाँले भन्‍नुभयो: “त्यसलाई भुईँमा फाल।” तिनले त्यसलाई भुईँमा फालिदिए र त्यो सर्प बन्यो+ अनि मोसा डराएर भागे। ४ त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “तिम्रो हात अघि सारेर त्यसको पुच्छरमा समात।” अनि मोसाले त्यसलाई समाते र त्यो तिनको हातमा पहिलाजस्तै लौरो भयो। ५ अनि परमेश्‍वरले भन्‍नुभयो: “यो देखेपछि तिनीहरूका पुर्खाहरूका परमेश्‍वर अर्थात्‌ अब्राहाम, इसहाक र याकुबका परमेश्‍वर यहोवा+ तिमीसामु देखा पर्नुभएको हो भनेर तिनीहरूले विश्‍वास गर्नेछन्‌।”+

६ यहोवा परमेश्‍वरले फेरि भन्‍नुभयो: “कृपया तिम्रो हात आफ्नो लुगाभित्र हाल।” अनि मोसाले आफ्नो हात लुगाभित्र हाले। हात निकालेर हेर्दा त कुष्ठरोग लागेर हिउँजस्तै सेतो भएको रहेछ!+ ७ अनि उहाँले भन्‍नुभयो: “तिम्रो हात फेरि आफ्नो लुगाभित्र हाल।” त्यसैले तिनले आफ्नो हात लुगाभित्र हाले। लुगाबाट निकालेर हेर्दा त हात पहिलेजस्तै सद्दे भइसकेको रहेछ! ८ उहाँले भन्‍नुभयो: “तिनीहरूले तिम्रो कुरा पत्याएनन्‌ वा पहिलो चमत्कारलाई विश्‍वास गरेनन्‌ भने पनि दोस्रो चमत्कार देखेपछि त पक्कै पत्याउनेछन्‌।+ ९ तर तिनीहरूले यी दुवै चमत्कार देखेर पनि विश्‍वास गरेनन्‌ र तिम्रो कुरा सुन्‍न मानेनन्‌ भने नाइल नदीबाट अलिकति पानी ल्याउनू र त्यसलाई सुक्खा जमिनमा खन्याउनू। तिमीले नाइल नदीबाट ल्याएको पानी सुक्खा जमिनमा रगत बन्‍नेछ।”+

१० त्यसपछि मोसाले यहोवा परमेश्‍वरलाई भने: “माफ गर्नुस्‌ यहोवा, म बोल्न सिपालु छैनँ र मेरो जिब्रो पनि त्यति लाग्दैन। म पहिला पनि बोल्न सिपालु थिइनँ र तपाईँ मसित बोल्नुभएपछि पनि सिपालु भएको छैनँ।”+ ११ यहोवा परमेश्‍वरले तिनलाई भन्‍नुभयो: “मानिसको मुख कसले बनायो? मानिसलाई आँखा कसले दियो? अनि मानिसलाई लाटो, बहिरो वा अन्धो बनाउन सक्ने को छ? त्यसो गर्न सक्ने म यहोवाबाहेक अरू कोही छ र? १२ त्यसैले अब जाऊ, म तिमीलाई बोल्न मदत गर्नेछु अनि तिमीले के भन्‍नुपर्ने हो, सो सिकाउनेछु।”+ १३ तर तिनले भने: “बिन्ती छ यहोवा परमेश्‍वर, यो काम गर्न अरू कसैलाई पठाउनुहोस्‌।” १४ तब यहोवा परमेश्‍वरको क्रोध मोसामाथि दन्क्यो र उहाँले तिनलाई भन्‍नुभयो: “तिम्रो दाइ, लेवी हारुन+ छैनन्‌ र? मलाई थाह छ, उनी राम्ररी बोल्न सक्छन्‌ र तिमीलाई भेट्‌न उनी अहिले यतैतिर आउँदै छन्‌। अनि तिमीलाई भेटेर उनी खुसी हुनेछन्‌।+ १५ त्यसैले हारुनसँग कुरा गर अनि मैले भनेका सबै कुरा उनलाई बताइदेऊ।+ तिमीले बोल्दा म तिमीलाई अनि हारुनलाई पनि सघाउनेछु+ अनि तिमीहरूले के गर्नुपर्छ, त्यो सिकाउनेछु। १६ उनले तिम्रो तर्फबाट मानिसहरूसित कुरा गर्नेछन्‌ र उनी तिम्रो प्रवक्‍ता हुनेछन्‌। तिमी उनको लागि परमेश्‍वरजस्तै हुनेछौ।*+ १७ अनि यो लौरो लिएर जाऊ र यसलाई चलाएर चमत्कारहरू गर।”+

१८ तब मोसा आफ्ना ससुरा यिथ्रोकहाँ गए+ र उनलाई यसो भने: “मिश्रमा भएका मेरा दाजुभाइहरू जीवितै छन्‌ कि छैनन्‌ भनेर म हेर्न चाहन्छु। त्यसैले कृपया मलाई जान दिनुहोस्‌।” यिथ्रोले मोसालाई भने: “हुन्छ, राम्ररी जानुहोस्‌।” १९ मोसा मिद्यानमै छँदा यहोवा परमेश्‍वरले तिनलाई यसो भन्‍नुभयो: “मिश्र फर्केर जाऊ किनकि तिमीलाई मार्न खोज्नेहरू सबै मरिसके।”+

२० त्यसपछि मोसाले आफ्नी पत्नी र छोराहरूलाई गधामा चढाए अनि मिश्रतिर लागे। साँचो परमेश्‍वरले तिनलाई आफूसँगै लैजाऊ भन्‍नुभएको लौरो पनि तिनले लिएर गए। २१ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “मिश्र पुगेपछि फारोसामु ती सबै चमत्कार गर्न नभुल्नू, जसको लागि मैले तिमीलाई शक्‍ति दिएको छु।+ तर म उनको हृदय कठोर हुन दिनेछु+ र उनले मेरा मानिसहरूलाई जान दिनेछैनन्‌।+ २२ तिमीले फारोलाई यसो भन्‍नू, ‘यहोवा भन्‍नुहुन्छ: “इस्राएल मेरो छोरा हो, मेरो पहिलो सन्तान।+ २३ त्यसैले मेरो छोरालाई जान देऊ र उसले मेरो सेवा गर्न सकोस्‌। तर जान दिएनौ भने म तिम्रो पहिलो सन्तानलाई मार्नेछु।”’”+

२४ बास बस्ने ठाउँमा यहोवा परमेश्‍वर*+ तिनीसामु देखा पर्नुभयो र तिनलाई* मार्न खोज्नुभयो।+ २५ सिप्पोराले+ हत्त न पत्त धारिलो ढुङ्‌गा लिइन्‌ र आफ्नो छोराको खतना* गरिदिइन्‌। अनि खलडीलाई* उनको खुट्टामा* राखिदिएर यसो भनिन्‌: “किनकि तपाईँ मेरो निम्ति रगतको दुलहा हुनुहुन्छ।” २६ त्यसैले परमेश्‍वरले तिनलाई जान दिनुभयो। खतना गरेको कारण सिप्पोराले “तपाईँ रगतको दुलहा हुनुहुन्छ” भनेकी थिइन्‌।

२७ अनि यहोवा परमेश्‍वरले हारुनलाई भन्‍नुभयो: “मोसालाई भेट्‌न निर्जनभूमिमा जाऊ।”+ उनी त्यहाँ गए र साँचो परमेश्‍वरको डाँडामा मोसालाई भेटे+ अनि तिनलाई म्वाइँ खाएर अभिवादन गरे।* २८ अनि मोसाले आफूलाई पठाउनुहुने यहोवा परमेश्‍वरले भन्‍नुभएका सबै कुरा+ र उहाँले देखाउनू भन्‍नुभएका सबै चमत्कारबारे+ हारुनलाई सुनाए। २९ त्यसपछि मोसा र हारुनले गएर इस्राएलका सबै नाइकेलाई भेला गरे।+ ३० यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभएका सबै कुरा हारुनले ती मानिसहरूलाई सुनाए अनि तिनीहरूको अगाडि चमत्कारहरू गरेर देखाए।+ ३१ यसपछि ती मानिसहरूले विश्‍वास गरे।+ यहोवा परमेश्‍वरले इस्राएलीहरूतर्फ ध्यान दिनुभएको छ+ र तिनीहरूको दुःख देख्नुभएको छ+ भनी सुनेपछि मानिसहरूले लम्पसार परेर दण्डवत्‌ गरे।

५ त्यसपछि मोसा र हारुन फारोकहाँ गएर यसो भने: “इस्राएलका परमेश्‍वर यहोवा भन्‍नुहुन्छ, ‘मेरो प्रजालाई जान देऊ र तिनीहरूले निर्जनभूमिमा चाड मनाएर मेरो उपासना गरून्‌।’” २ तर फारोले भने: “को हो त्यो यहोवा,+ जसको कुरा मानेर म इस्राएलीहरूलाई जान दिऊँ?+ म यहोवालाई चिन्दै चिन्दिनँ। तिमीहरू जेसुकै भन, म इस्राएलीहरूलाई जान दिन्‍नँ।”+ ३ तर तिनीहरूले भने: “हिब्रूहरूका परमेश्‍वरले हामीसित कुरा गर्नुभएको छ। हाम्रा परमेश्‍वर यहोवाको निम्ति बलि चढाउन हामी तीन दिन यात्रा गरेर निर्जनभूमिमा जान चाहन्छौँ। त्यसैले कृपया हामीलाई जान दिनुहोस्‌+ नत्र उहाँले हामीमाथि महामारी ल्याउनुहुनेछ वा हामीलाई तरबारले मार्नुहुनेछ।” ४ तब मिश्रका राजाले भने: “ए मोसा र हारुन, तिमीहरू यी मानिसहरूको काममा किन बाधा पुऱ्‍याउन खोज्छौ? तिमीहरू आ-आफ्नो काममा लाग!”+ ५ फारोले अझै भने: “हेर, यहाँ कति धेरै मानिस काम गरिरहेका छन्‌! के तिमीहरू यी सबै मानिसले काम छोडेर तिमीहरूको पछिपछि लागेको चाहन्छौ?”

६ त्यही दिन फारोले कामको जिम्मा लिएका ठेकेदारहरू र तिनीहरूले खटाएका नाइकेहरूलाई यस्तो हुकुम गरे: ७ “अबदेखि तिमीहरूले इस्राएलीहरूलाई इँटा बनाउनको लागि पराल नदिनू।+ तिनीहरू आफै गएर पराल बटुलेर ल्याऊन्‌। ८ तर तिनीहरूले पहिला जति वटा इँटा बनाउँथे, त्यति वटा नै बनाउन लगाउनू। त्यो सङ्‌ख्या नघटाउनू किनभने तिनीहरू अल्छी भएका छन्‌। त्यसैले तिनीहरू यसो भन्दै कराइरहेका छन्‌: ‘हामीलाई जान दिनुहोस्‌, हाम्रा परमेश्‍वरको निम्ति हामी बलि चढाउन चाहन्छौँ!’ ९ तिनीहरूलाई काममा अझ दलाउनू; तिनीहरूले एकछिन पनि फुर्सद नपाऊन्‌। तब तिनीहरूले यस्ता झूटा कुराहरूमा ध्यान दिनेछैनन्‌।”

१० त्यसैले ठेकेदारहरू+ र तिनीहरूले खटाएका नाइकेहरू गएर इस्राएलीहरूलाई भने: “फारोको यस्तो हुकुम छ, ‘अबदेखि म तिमीहरूलाई पराल दिन्‍नँ। ११ तिमीहरू आफैले जहाँबाट भए पनि पराल खोजेर ल्याउनू तर तिमीहरूको काम भने अलिकता पनि घटाइनेछैन।’” १२ तब इस्राएलीहरू पराल खोज्न मिश्रभरि छरिए। १३ अनि ठेकेदारहरूले तिनीहरूलाई यसरी दबाब दिइरहे: “पहिला पराल पाउँदा एक दिनमा जति काम सिद्‌ध्याउँथ्यौ, अहिले पनि त्यति नै सिद्‌ध्याउनुपर्छ।” १४ ती ठेकेदारहरूले खटाएका नाइकेहरू, जो इस्राएली थिए तिनीहरूले पनि पिटाइ खाए।+ ठेकेदारहरूले ती नाइकेहरूलाई भने: “तिमीहरूले पहिले जति वटा इँटा बनाउँथ्यौ अहिले खै बनाएको? आज मात्र होइन, हिजो पनि त्यस्तै गऱ्‍यौ।”

१५ त्यसैले इस्राएलीहरूका नाइकेहरू फारोकहाँ गएर यस्तो गुनासो गरे: “आफ्ना दासहरूसित हजुर किन यस्तो कठोर व्यवहार गर्नुहुन्छ? १६ ठेकेदारहरू हामीलाई पराल दिँदैनन्‌ अनि उल्टै यसो भन्छन्‌: ‘इँटा बनाऊ!’ कसुर त हजुरकै मानिसहरूको हो; हामीले विनाकारण पिटाइ खाइरहेका छौँ।” १७ तर फारोले भने: “तिमीहरू अल्छी छौ, अल्छी!+ त्यसैले तिमीहरू ‘हामीलाई जान दिनुहोस्‌, हामी यहोवाको निम्ति बलि चढाउन चाहन्छौँ’ भन्छौ।+ १८ खुरुक्क गएर काम गर! तिमीहरूले पराल पाउँदैनौ तर तोकिएको जति इँटा तिमीहरूले बनाउनै पर्छ।”

१९ “तोकिएको जति इँटा बनाउनै पर्छ, त्यसबाट एउटा पनि घटाउन पाइँदैन” भन्‍ने हुकुम सुनेपछि इस्राएलीहरूका नाइकेहरूलाई ठूलो समस्या पऱ्‍यो। २० फारोसित कुरा गरेर निस्कँदा तिनीहरूले मोसा र हारुनलाई भेटे। मोसा र हारुन तिनीहरूलाई नै पर्खिरहेका थिए। २१ भेट्‌नेबित्तिकै तिनीहरूले भने: “यहोवा परमेश्‍वरले तपाईँहरूलाई दण्ड देऊन्‌ किनभने तपाईँहरूले गर्दा फारो र उनका चाकरहरू हामीलाई देखिसहँदैनन्‌। अनि हामीलाई मार्न तपाईँहरूले तिनीहरूको हातमा तरबार राखिदिनुभयो।”+ २२ तब मोसाले यहोवा परमेश्‍वरलाई पुकारे: “हे यहोवा, तपाईँ आफ्नो प्रजामाथि किन दुःखमाथि दुःख थपिदिनुहुन्छ? तपाईँले मलाई किन यहाँ पठाउनुभयो? २३ तपाईँको नाम लिएर म जुन दिनदेखि फारोकहाँ गएँ,+ त्यही दिनदेखि उनले तपाईँको प्रजालाई झनै सताउन थालेका छन्‌।+ अनि तपाईँले आफ्नो प्रजाको दुःख हटाउनुभएको छैन।”+

६ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “म फारोलाई के गर्छु, अब तिमीले देख्नेछौ।+ इस्राएलीहरूलाई यहाँबाट जान दिन मेरो पराक्रमी हातले फारोलाई बाध्य पार्नेछ। मेरो पराक्रमी हातले गर्दा तिनीहरूलाई यो देशबाट पठाउन उनी बाध्य हुनेछन्‌।”+

२ त्यसपछि परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “म यहोवा हुँ। ३ म अब्राहाम, इसहाक अनि याकुबकहाँ सर्वशक्‍तिमान्‌ परमेश्‍वरको रूपमा देखा परेको थिएँ।+ तर मेरो यहोवा नामले+ भने म तिनीहरूकहाँ प्रकट भइनँ।+ ४ तिनीहरूले प्रवासी भएर जीवन बिताएको कनान देश तिनीहरूलाई नै दिनेछु भनेर पनि मैले करार गरेँ।+ ५ मिश्रीहरूको थिचोमिचोमा परेका इस्राएलीहरूको सुस्केरा मैले सुनेको छु र तिनीहरूसित गरेको करार सम्झेको छु।+

६ “त्यसकारण इस्राएलीहरूलाई भन: ‘म यहोवा हुँ। म तिमीहरूलाई मिश्रीहरूको थिचोमिचोबाट मुक्‍त गर्नेछु र उनीहरूको दासत्वबाट छुटकारा दिनेछु।+ मेरो पराक्रमी हातले तिमीहरूको उद्धार गर्नेछु र मिश्रीहरूलाई कडा दण्ड दिनेछु।+ ७ म तिमीहरूलाई मेरो प्रजाको रूपमा स्विकार्नेछु र म नै तिमीहरूका परमेश्‍वर हुनेछु।+ अनि मिश्रीहरूको थिचोमिचोबाट छुटकारा दिने परमेश्‍वर म यहोवा नै हुँ भनेर तिमीहरूले थाह पाउनेछौ। ८ अब्राहाम, इसहाक अनि याकुबलाई दिन्छु भनेर शपथ खाएको देशमा म तिमीहरूलाई लैजानेछु; त्यो देश तिमीहरूले अधिकार गर्नेछौ।+ म यहोवा हुँ।’”+

९ मोसाले यो सन्देश इस्राएलीहरूलाई सुनाए तर निराश भएकोले र कठोर दासत्वमा परेकोले तिनीहरूले मोसाको कुरा सुन्‍न मानेनन्‌।+

१० अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: ११ “मिश्रका फारोकहाँ जाऊ र इस्राएलीहरूलाई मिश्रबाट जान देऊ भन।” १२ तर मोसाले यहोवा परमेश्‍वरलाई भने: “इस्राएलीहरूले त मेरो कुरा सुनेनन्‌ भने+ फारोले त झन्‌ के सुन्लान्‌ र? किनभने म राम्ररी बोल्न जान्दिनँ।”+ १३ इस्राएलीहरूलाई मिश्रबाट निकालेर ल्याउन मोसा र हारुनले मिश्रका फारोलाई र इस्राएलीहरूलाई भन्‍नुपर्ने कुराहरू यहोवा परमेश्‍वरले तिनीहरूलाई फेरि बताउनुभयो।

१४ इस्राएलीहरूको कुलअनुसारका नाइकेहरू यी हुन्‌: इस्राएलको जेठो छोरा रुबेनका+ छोराहरू हानोक, पल्लु, हेस्रोन र कर्मि।+ रुबेनका परिवार यी नै हुन्‌।

१५ सिमियोनका छोराहरू यी थिए: यमुएल, यामिन, ओहद, याकिन, जोहर र कनानी स्त्रीबाट जन्मेका सावल।+ सिमियोनका परिवार यी नै हुन्‌।

१६ लेविका छोराहरूको नाम+ तिनीहरूको वंशावलीअनुसार यी थिए: गेर्सोन, कोहात र मरारि।+ लेवि १३७ वर्ष बाँचे।

१७ गेर्सोनका छोराहरू तिनीहरूको घरानाअनुसार यी थिए: लिब्नि र सिमि।+

१८ कोहातका छोराहरू यी थिए: अम्राम, इजहार, हेब्रोन र उज्जिएल।+ कोहात १३३ वर्ष बाँचे।

१९ मरारिका छोराहरू यी थिए: महलि र मुसि।

लेविको कुलको परिवार तिनीहरूको वंशावलीअनुसार यी नै थिए।+

२० अम्रामले आफ्नी फुपू योकेबेदसित विवाह गरे।+ योकेबेदले हारुन र मोसालाई जन्माइन्‌।+ अम्राम १३७ वर्ष बाँचे।

२१ इजहारका छोराहरू यी थिए: कोरह,+ नेपेग र जिक्रि।

२२ उज्जिएलका छोराहरू यी थिए: मिसाएल, एलिसापान+ र सिथ्रि।

२३ हारुनले अम्मिनादाबकी छोरी, नहसोनकी बहिनी एलिसेबासित विवाह गरे।+ एलिसेबाले नादाब, अबिहु, एलियाजार र इथामारलाई जन्माइन्‌।+

२४ कोरहका छोराहरू यी थिए: अस्सिर, एल्काना र अबिआसाप।+ कोरहका परिवार यी नै थिए।+

२५ हारुनको छोरा एलियाजारले+ पतिएलकी छोरीसित विवाह गरे। तिनले पिनहासलाई जन्माइन्‌।+

लेविको कुलका नाइकेहरू तिनीहरूको बुबापट्टिको घरानाअनुसार यी नै थिए।+

२६ यी तिनै हारुन र मोसा हुन्‌, जसलाई यहोवा परमेश्‍वरले यसो भन्‍नुभएको थियो: “इस्राएलीहरूलाई समूह-समूह* बनाएर मिश्रबाट निकालेर ल्याऊ।”+ २७ इस्राएलीहरूलाई मिश्रबाट छुटाउन त्यहाँका राजा फारोसँग कुरा गर्ने मोसा र हारुन पनि यिनीहरू नै थिए।+

२८ यहोवा परमेश्‍वरले मिश्रमा मोसासित कुरा गर्नुभएको दिन २९ यहोवाले तिनलाई भन्‍नुभयो: “म यहोवा हुँ। म तिमीलाई जे-जे भन्दै छु, मिश्रका फारोलाई ती सबै भन।” ३० त्यसपछि मोसाले यहोवा परमेश्‍वरलाई भने: “म राम्ररी बोल्न जान्दिनँ, फारोले मेरो कुरा के सुन्लान्‌ र?”+

७ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “हेर, मैले तिमीलाई फारोको अगाडि परमेश्‍वरजस्तै बनाएको छु र तिम्रो आफ्नै दाइ हारुनले भविष्यवक्‍ताको रूपमा तिम्रो तर्फबाट बोल्नेछन्‌।+ २ म तिमीलाई जे-जे आज्ञा गर्छु, ती सबै तिमीले आफ्नो दाइ हारुनलाई बताउनू र तिनले फारोसित कुरा गर्नेछन्‌। तब फारोले इस्राएलीहरूलाई आफ्नो देशबाट जान दिनेछन्‌। ३ तर म फारोको हृदय कठोर हुन दिनेछु+ अनि मिश्रमा झन्‌ धेरै अचम्मलाग्दो चिन्ह र चमत्कार देखाउनेछु।+ ४ तैपनि फारोले तिम्रो कुरा सुन्‍नेछैनन्‌। अनि म मिश्रीहरूविरुद्ध आफ्नो हात उठाउनेछु र तिनीहरूलाई कडा सजाय दिनेछु। मेरो प्रजा इस्राएलीहरू, जो एउटा ठूलो दलजस्तै छन्‌,* तिनीहरूलाई म मिश्रीहरूको हातबाट छुटाउनेछु।+ ५ मिश्रविरुद्ध कदम चालेर इस्राएलीहरूलाई त्यहाँबाट निकालेर ल्याउँदा मिश्रीहरूले म नै यहोवा हुँ भनी थाह पाउनेछन्‌।”+ ६ मोसा र हारुनले यहोवा परमेश्‍वरको आज्ञा पालन गरे; उहाँले जे भन्‍नुभएको थियो, तिनीहरूले त्यही गरे। ७ फारोसित कुरा गर्न जाँदा मोसा ८० वर्षका र हारुन ८३ वर्षका थिए।+

८ अनि यहोवा परमेश्‍वरले मोसा र हारुनलाई भन्‍नुभयो: ९ “फारोले तिमीहरूलाई ‘चमत्कार गरेर देखाओ’ भनेमा तिमीले हारुनलाई यसो भन्‍नू, ‘तपाईँको लौरो फारोको अगाडि फालिदिनुहोस्‌।’ त्यसपछि त्यो ठूलो सर्प बन्‍नेछ।”+ १० त्यसैले मोसा र हारुन फारोकहाँ गए र यहोवा परमेश्‍वरले भन्‍नुभएबमोजिमै गरे। हारुनले फारो र उनका सेवकहरूको अगाडि आफ्नो लौरो फाले र त्यो ठूलो सर्प बन्यो। ११ तब फारोले आफ्ना बुद्धिजीवीहरू र तान्त्रिकहरूलाई बोलाए अनि मिश्रका ती जादुगरहरूले+ पनि त्यस्तै गरे।+ १२ तिनीहरू प्रत्येकले आ-आफ्नो लौरो भुईँमा फाले र ती ठूलठूला सर्प बने तर हारुनको सर्पले* तिनीहरूका सर्पहरूलाई निल्यो। १३ तैपनि यहोवा परमेश्‍वरले भन्‍नुभएझैँ फारोको हृदय अझै कठोर भइरह्‍यो;+ उनले मोसा र हारुनको कुरा सुनेनन्‌।

१४ तब यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “फारोको हृदय कठोर भएको छ।+ उनले मेरा मानिसहरूलाई जान दिएका छैनन्‌। १५ बिहान फारो नाइल नदीमा जाँदा उनलाई भेट्‌न तिमी पहिल्यै नदीको किनारमा पुग्नू अनि सर्प बनेको तिम्रो त्यो लौरो पनि सँगै लैजानू।+ १६ अनि फारोलाई यसो भन्‍नू, ‘हिब्रूहरूका परमेश्‍वर यहोवाले मलाई तपाईँकहाँ पठाउनुभएको हो।+ उहाँ यसो भन्‍नुहुन्छ: “मेरा मानिसहरूलाई जान देऊ र उनीहरूले निर्जनभूमिमा मेरो सेवा गर्न सकून्‌।” तर अहिलेसम्म हजुरले उहाँको कुरा मान्‍नुभएको छैन। १७ त्यसैले यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ: “तिमीले म नै यहोवा हुँ भनेर यसबाट थाह पाउनेछौ:+ नाइल नदीको पानीलाई म लौरोले हिर्काउनेछु र त्यो रगत बन्‍नेछ। १८ अनि त्यहाँका माछाहरू मर्नेछन्‌ र नदी गन्हाउन थाल्नेछ; नाइल नदीको पानी मिश्रीहरूले खानै नसक्ने हुनेछ।”’”

१९ फेरि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “हारुनलाई यसो भन, ‘आफ्नो लौरो लिनुहोस्‌ र मिश्रमा भएका नदीनाला, नहर,* तलाउ+ अनि सबै जलाशयमाथि+ आफ्नो लौरो लिएको हात पसार्नुहोस्‌ र ती सबै रगत हुनेछन्‌।’ मिश्रमा जताततै रगतैरगत हुनेछ, यहाँसम्म कि काठ र ढुङ्‌गाको भाँडामा भएका पानीसमेत रगत हुनेछन्‌।” २० मोसा र हारुनले तुरुन्तै यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिम गरे। फारो र उनका सेवकहरूसामु हारुनले आफ्नो लौरो उठाए र नाइल नदीको पानीलाई हिर्काए अनि नदीको पानी रगत बन्यो।+ २१ त्यहाँका माछाहरू मरे+ र नदी डुङडुङ्‌ती गन्हाउन थाल्यो; मिश्रीहरूले नाइल नदीको पानी खानै सकेनन्‌।+ मिश्रभरि जताततै रगतैरगत भयो।

२२ मिश्रका जादुगरहरूले पनि त्यस्तै गरे।+ त्यसैले यहोवा परमेश्‍वरले भन्‍नुभएझैँ फारोको हृदय कठोर भइरह्‍यो; उनले मोसा र हारुनको कुरा सुनेनन्‌।+ २३ अनि फारो आफ्नो महलमा फर्के; आफूले देखेको कुराले उनलाई कुनै असर गरेन। २४ सारा मिश्रीहरूले पानी पिउन नाइल नदीको वरिपरि खन्‍न थाले किनकि त्यस नदीको पानी पिउनै नमिल्ने भएको थियो। २५ यहोवा परमेश्‍वरले नाइल नदीमाथि प्रहार गर्नुभएपछि सात दिनसम्म त्यसको अवस्था त्यस्तै रहिरह्‍यो।

८ तब यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “फारोकहाँ गएर यसो भन, ‘यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ: “मेरा मानिसहरूलाई जान देऊ र उनीहरूले मेरो सेवा गर्न सकून्‌।+ २ तिमीले उनीहरूलाई अझै पनि जान दिएनौ भने म तिम्रो देशभरि भ्यागुता पठाएर सताउनेछु।+ ३ अनि नाइल नदीभरि भ्यागुतै भ्यागुता हुनेछ र भ्यागुताहरू तिम्रो घरमा, तिम्रो सुत्ने कोठामा, तिम्रो ओछ्यानमा, तिम्रा चाकरहरू र तिम्रा सारा प्रजाको घरमा, तिम्रो चुलोमा र पीठो मुछ्‌ने भाँडोमा आउनेछन्‌।+ ४ ती भ्यागुताहरूले तिमीलाई, तिम्रा प्रजालाई र तिम्रा सारा चाकरहरूलाई सताउनेछन्‌।”’”

५ यसपछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “हारुनलाई यसो भन, ‘तपाईँको लौरोलाई नदीनाला, नाइल नदीका नहर र तलाउहरूतर्फ पसार्नुहोस्‌ अनि पानीबाट भ्यागुता निस्केर पूरै मिश्र भरिऊन्‌।’” ६ तब हारुनले आफ्नो लौरोलाई मिश्रका सबै पानीतर्फ पसारे र पानीबाट निस्केका भ्यागुताले पूरै मिश्र भरियो। ७ अनि जादुगरहरूले पनि त्यस्तै चमत्कार गरे र मिश्रभरि भ्यागुताहरू निकाले।+ ८ तब फारोले मोसा र हारुनलाई बोलाएर भने: “म र मेरो प्रजाबाट भ्यागुता हटाइदिन यहोवालाई बिन्ती गरिदेओ।+ म तिम्रा मानिसहरूलाई यहाँबाट पठाउन तयार छु ताकि तिनीहरूले यहोवाको निम्ति बलि चढाउन सकून्‌।” ९ यो सुनेपछि मोसाले फारोलाई भने: “यी भ्यागुताहरू हजुरको सामनेबाट अनि हजुरका चाकरहरू, हजुरका प्रजा र हजुरका घरहरूबाट हटून्‌ भनेर म परमेश्‍वरलाई कहिले बिन्ती गरूँ, हजुरबाटै हुकुम होस्‌! त्यसपछि भ्यागुताहरू नाइल नदीमा मात्र रहनेछन्‌।” १० अनि फारोले भने: “भोलि।” तब मोसाले भने: “हजुरले हुकुम गर्नुभएबमोजिमै हुनेछ र हाम्रा परमेश्‍वर यहोवाजस्तो अरू कोही छैन भनेर हजुरले थाह पाउनुहुनेछ।+ ११ हजुरको सामनेबाट अनि हजुरका घरहरू, हजुरका चाकरहरू र हजुरका प्रजाबाट भ्यागुताहरू हट्‌नेछन्‌। तिनीहरू नाइल नदीमा मात्र हुनेछन्‌।”+

१२ तब मोसा र हारुन फारोकहाँबाट निस्के र फारोमाथि आएको भ्यागुताको विपत्ति हटाइदिन मोसाले यहोवा परमेश्‍वरलाई बिन्ती गरे।+ १३ यहोवा परमेश्‍वरले मोसाको बिन्ती पूरा गरिदिनुभयो अनि घर, आँगन र खेतमा भ्यागुताहरू भकाभक मर्न थाले। १४ मानिसहरूले ठाउँठाउँमा ती भ्यागुताहरूको थुप्रो लगाए र पूरै देश डुङडुङ्‌ती गन्हाउन थाल्यो। १५ यो विपत्ति हटेको देखेपछि यहोवा परमेश्‍वरले भन्‍नुभएझैँ फारोले आफ्नो हृदय फेरि कठोर बनाए;+ उनले मोसा र हारुनको कुरा सुनेनन्‌।

१६ फेरि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “हारुनलाई भन, ‘तपाईँको लौरो उठाएर जमिनको धुलोमा हिर्काउनुहोस्‌ र त्यो भुसुना बनेर मिश्रभरि फैलियोस्‌।’” १७ मोसा र हारुनले त्यसै गरे। हारुनले आफ्नो लौरो उठाएर जमिनको धुलोमा हिर्काए अनि मानिसहरू र पशुहरूलाई भुसुनाले हैरान पाऱ्‍यो। जमिनको सबै धुलो भुसुना बनेर मिश्रभरि फैलियो।+ १८ जादुगरहरूले पनि जादु गरेर भुसुना ल्याउन खोजे+ तर सकेनन्‌। ती भुसुनाहरूले मानिस र पशुलाई सताउन छोडेनन्‌। १९ त्यसैले जादुगरहरूले फारोलाई भने: “यसमा परमेश्‍वरकै हात* छ!”+ तर यहोवा परमेश्‍वरले भन्‍नुभएझैँ फारोको हृदय अझै पनि कठोर भइरह्‍यो; उनले मोसा र हारुनको कुरा सुनेनन्‌।

२० अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “बिहान सबेरै उठ अनि फारोसामु हाजिर होऊ। हेर, उनी नदीतिर आउनेछन्‌! तिमीले उनलाई यसो भन्‍नू, ‘यहोवा यसो भन्‍नुहुन्छ: “मेरा मानिसहरूलाई जान देऊ र उनीहरूले मेरो सेवा गर्न सकून्‌। २१ तर तिमीले मेरा मानिसहरूलाई जान दिएनौ भने तिमी, तिम्रा चाकर, तिम्रा प्रजा र तिम्रा घरहरूमा हुलका हुल झिँगा* पठाउनेछु; मिश्रीहरूका घर र तिनीहरूको पूरै इलाकासमेत झिँगैझिँगाले भरिनेछ। २२ मेरा प्रजाहरू बसोबास गरिरहेको गोसेनलाई चाहिँ म त्यो दिन सुरक्षित राख्नेछु; त्यहाँ एउटै झिँगा हुनेछैन।+ म यहोवा हुँ र पूरै पृथ्वीमाथि मेरो अधिकार छ भनेर तिमीहरूले यसबाटै थाह पाउनेछौ।+ २३ म मेरा प्रजा र तिम्रा प्रजाबीचको भिन्‍नता देखाउनेछु। भोलि तिमीले यसको प्रमाण देख्नेछौ।”’”

२४ यहोवा परमेश्‍वरले त्यसै गर्नुभयो अनि हुलका हुल झिँगा फारोको घर, उनका चाकरहरूको घर र सारा मिश्रभरि फैलिन थाल्यो।+ झिँगाले गर्दा मिश्रीहरूको बेहाल भयो।+ २५ केही सीप नलागेपछि फारोले मोसा र हारुनलाई बोलाएर भने: “जाओ र मिश्रकै कुनै ठाउँमा गएर तिमीहरूका परमेश्‍वरको निम्ति बलि चढाओ।” २६ तर मोसाले भने: “त्यसो गर्नु ठीक हुँदैन हजुर! किनभने हामीले आफ्ना परमेश्‍वर यहोवालाई चढाएको बलिदेखि मिश्रीहरू घिन मान्छन्‌।+ अनि मिश्रीहरूले घिन मान्‍ने कुरा हामीले तिनीहरूकै अगाडि चढायौँ भने के तिनीहरूले हामीलाई ढुङ्‌गाले नहान्लान्‌ र? २७ हामी तीन दिन हिँडेर निर्जनभूमिमा जानेछौँ र हाम्रा परमेश्‍वर यहोवाले भन्‍नुभएझैँ त्यहीँ उहाँको निम्ति बलि चढाउनेछौँ।”+

२८ तब फारोले भने: “हुन्छ, म तिमीहरूलाई तिमीहरूका परमेश्‍वर यहोवाको निम्ति बलि चढाउन निर्जनभूमिमा जान दिन्छु। तर धेरै टाढाचाहिँ नजाओ। अनि जानुअघि झिँगाहरू हटून्‌ भनेर मेरो लागि परमेश्‍वरलाई बिन्ती चढाइदेओ।”+ २९ अनि मोसाले भने: “अब म यहाँबाट जान्छु र यहोवा परमेश्‍वरलाई बिन्ती चढाउँछु। त्यसपछि हजुर, हजुरका चाकरहरू र हजुरका प्रजाबाट यी झिँगाहरू भोलि नै हट्‌नेछन्‌। तर यहोवा परमेश्‍वरको निम्ति बलि चढाउन जान नदिएर फेरि छलचाहिँ नगर्नुहोला।”+ ३० अनि मोसा फारोकहाँबाट निस्के र यहोवा परमेश्‍वरलाई बिन्ती चढाए।+ ३१ यहोवा परमेश्‍वरले मोसाको बिन्ती सुन्‍नुभयो; उहाँले फारो, उनका चाकरहरू र उनका प्रजाकहाँबाट ती झिँगाहरू हटाइदिनुभयो। त्यहाँ एउटै झिँगा बाँकी रहेन। ३२ तर फारोले आफ्नो हृदय फेरि कठोर बनाए; उनले इस्राएलीहरूलाई जान दिएनन्‌।

९ त्यसैले यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “फारोकहाँ गएर यसो भन, ‘हिब्रूहरूका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ: “मेरा मानिसहरूलाई जान देऊ र उनीहरूले मेरो सेवा गर्न सकून्‌।+ २ तर तिमीले उनीहरूलाई जान नदिई रोकिराख्यौ भने ३ हेर, म यहोवा, तिमीहरूका सबै वस्तुभाउविरुद्ध आफ्नो हात उठाउनेछु!+ तिमीहरूका घोडा, गधा, उँट, भेडाबाख्रा अनि गाईवस्तुलाई भयानक रोग लाग्नेछ।+ ४ अनि म यहोवा इस्राएलीहरूका र मिश्रीहरूका वस्तुभाउसित फरक-फरक व्यवहार गर्नेछु। इस्राएलीहरूको एउटा जनावर पनि मर्नेछैन।”’”+ ५ यहोवा परमेश्‍वरले भन्‍नुभयो: “म यहोवाले भोलि यस देशमा यो विपत्ति ल्याउनेछु।”

६ अनि भोलिपल्टै यहोवा परमेश्‍वरले त्यसै गर्नुभयो। मिश्रीहरूका वस्तुभाउ भकाभक मर्न थाले+ तर इस्राएलीहरूको भने एउटा पनि मरेन। ७ यसबारे फारोले जाँचबुझ गर्न मानिसहरू पठाउँदा इस्राएलीहरूको भने एउटा पनि जनावर मरेको पाइएन! तैपनि फारोको हृदय कठोर भइरह्‍यो; उनले इस्राएलीहरूलाई जान दिएनन्‌।+

८ तब यहोवा परमेश्‍वरले मोसा र हारुनलाई भन्‍नुभयो: “इँटाभट्टामा गएर तिमीहरूले दुवै हातमा मुठीभरि खरानी लिएर आउनू र मोसाले त्यो खरानी फारोकै सामने हावामा उडाइदिनू। ९ अनि त्यो मसिनो धुलो भएर मिश्रभरि फैलिनेछ र त्यसले गर्दा मानिसहरूमा अनि पशुहरूमा पिपैपिपले भरिएका पिलोहरू निस्कनेछन्‌।”

१० त्यसैले तिनीहरू इँटाभट्टाबाट खरानी लिएर फारोसामु हाजिर भए अनि मोसाले त्यो खरानी हावामा छरिदिए। त्यसले गर्दा मानिसहरूमा अनि पशुहरूमा पिपैपिपले भरिएका पिलोहरू निस्के। ११ जादुगरहरूलाई र सबै मिश्रीलाई पिलोले सताएकोले ती जादुगरहरू मोसासामु देखा पर्नै सकेनन्‌।+ १२ तर यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभएझैँ यहोवाले फारोको हृदय कठोर हुन दिनुभयो; उनले मोसा र हारुनको कुरा सुनेनन्‌।+

१३ त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “बिहान सबेरै उठ अनि फारोसामु हाजिर भएर यसो भन, ‘हिब्रूहरूका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ: “मेरा मानिसहरूलाई जान देऊ र उनीहरूले मेरो सेवा गर्न सकून्‌। १४ जान दिएनौ भने तिमी, तिम्रा चाकरहरू र तिम्रा सारा प्रजामाथि म एकपछि अर्को विपत्ति ल्याउनेछु। अनि यस पृथ्वीमा मजस्तो अरू कोही छैन भनेर तिमीले थाह पाउनेछौ।+ १५ मैले चाहेको भए भयानक रोग ल्याएर तिमी र तिम्रा मानिसहरूलाई यस पृथ्वीबाट नामेट पार्न सक्थेँ। १६ तर मेरो शक्‍ति प्रकट होस्‌ र मेरो नाम सारा पृथ्वीमा घोषणा होस्‌ भनेर नै मैले तिमीलाई अहिलेसम्म जीवित राखेको हुँ।+ १७ के तिमी अहङ्‌कारी भएर मेरा मानिसहरूलाई अझै जान दिँदैनौ? १८ हेर, भोलि म यसै समयतिर ठूलठूला असिना बर्साउनेछु। त्यस्तो असिना त मिश्रमा पहिला कहिल्यै परेकै छैन। १९ घरबाहिर भएका तिम्रा वस्तुभाउ, नोकरचाकर अनि सरसामान घरमा ल्याउन तिम्रा मानिसहरूलाई सन्देश पठाउनू। घरबाहिरै परेका सबै मानिस अनि जनावर असिनाले मर्नेछन्‌।”’”

२० फारोका चाकरहरूमध्ये ज-जसले यहोवा परमेश्‍वरको डर माने, तिनीहरूले आ-आफ्ना दास अनि वस्तुभाउलाई तुरुन्तै घरमा ल्याए। २१ तर यहोवा परमेश्‍वरको कुरा नमान्‍नेहरूले आफ्ना दास अनि वस्तुभाउलाई खेतबारीमै छोडे।

२२ तब यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “तिम्रो हात आकाशतिर उठाऊ अनि सारा मिश्रभरि असिना परोस्‌।+ मिश्रमा भएका मानिस, वस्तुभाउ, बालीनाली सबैमाथि असिना बर्सोस्‌।”+ २३ त्यसैले मोसाले आफ्नो लौरो आकाशतिर पसारे। अनि यहोवा परमेश्‍वरले मेघ र असिना पठाउनुभयो अनि पृथ्वीमा आगो बर्स्यो।* यहोवा परमेश्‍वरले मिश्रमा असिना बर्साइरहनुभयो। २४ असिना पऱ्‍यो अनि असिनासँगसँगै बिजुली पनि चम्क्यो। मिश्रमा यसअघि यस्तो असिना कहिल्यै परेको थिएन।+ २५ असिनाले मिश्रमा भएको कुनै कुरालाई छोडेन। मानिस र पशु सबैलाई असिनाले चुट्‌नसम्म चुट्‌यो। सबै वनस्पति अनि रूखहरू असिनाले गर्दा नष्ट भए।+ २६ इस्राएलीहरू बसोबास गरेको गोसेनमा भने एउटा पनि असिना परेन।+

२७ त्यसैले फारोले मोसा र हारुनलाई बोलाउन पठाए र तिनीहरूलाई यसो भने: “मैले पाप गरेँ; म आफ्नो पाप स्विकार्छु। यहोवा न्यायी हुनुहुन्छ; गल्ती म र मेरा मानिसहरूकै रहेछ। २८ यो गर्जन अनि असिना रोकिदिन यहोवालाई बिन्ती गरिदेओ। त्यसपछि म तिमीहरूलाई जान दिनेछु। अब म तिमीहरूलाई एकछिन पनि रोक्दिनँ।” २९ मोसाले फारोलाई भने: “यो सहरबाट निस्कनेबित्तिकै स्वर्गतिर हात फैलाएर म यहोवा परमेश्‍वरलाई बिन्ती गर्नेछु। अनि गर्जन रोकिनेछ र असिना पर्न पनि थामिनेछ। अनि हजुरले सारा पृथ्वी यहोवा परमेश्‍वरकै हो भनेर थाह पाउनुहुनेछ।+ ३० तर मलाई थाह छ, त्यसपछि पनि हजुर र हजुरका चाकरहरूले यहोवा परमेश्‍वरको डर मान्‍नुहुनेछैन।”

३१ असिनाले गर्दा आलस र जौ सखाप भए किनकि जौमा बाला लागिसकेको थियो अनि सनपाटमा कोपिला पलाइसकेको थियो। ३२ तर गहुँ र कठिया गहुँचाहिँ* पछि पाक्ने बाली भएकोले नाश भएनन्‌। ३३ मोसा फारोकहाँबाट निस्केर सहरबाहिर गए र तिनले स्वर्गतिर आफ्नो हात फैलाएर यहोवा परमेश्‍वरलाई बिन्ती गरे। त्यसपछि गर्जन र असिना रोकियो अनि पृथ्वीमा पानी पर्न छोड्‌यो।+ ३४ पानी, असिना अनि गर्जन रोकिएको देखेपछि फारो र उनका चाकरहरूले फेरि पाप गरे; उनीहरूले आफ्नो हृदय कठोर बनाए।+ ३५ यहोवा परमेश्‍वरले भन्‍नुभएझैँ फारोले अझै पनि आफ्नो हृदय कठोर बनाइरहे; उनले इस्राएलीहरूलाई जान दिएनन्‌।+

१० अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “फारोकहाँ जाऊ किनकि मैले उनको र उनका चाकरहरूको हृदय कठोर हुन दिएको छु।+ त्यसैले तिनीहरूलाई अब म यी चमत्कारहरू देखाएर पाठ सिकाउनेछु।+ २ साथै मैले मिश्रीहरूलाई कस्तो सजाय दिएँ र उनीहरूको बीचमा कस्ता-कस्ता चमत्कार गरेँ, त्यसबारे तिमीले आफ्ना छोरा नातिहरूलाई बताउन सक भनेर पनि मैले उनको मन कठोर हुन दिएको छु।+ यसबाट तिमीहरूले म नै यहोवा हुँ भनी पक्कै थाह पाउनेछौ।”

३ तब मोसा र हारुनले फारोकहाँ गएर भने: “हिब्रूहरूका परमेश्‍वर यहोवा यसो भन्‍नुहुन्छ, ‘तिमी कहिलेसम्म मेरो आज्ञा मान्‍न इन्कार गर्छौ?+ मेरा मानिसहरूलाई जान देऊ र उनीहरूले मेरो सेवा गर्न सकून्‌। ४ मेरा मानिसहरूलाई जान दिएनौ भने भोलि म तिम्रो देशमा मिश्रीहरू बस्ने इलाकाभरि सलह* पठाउनेछु। ५ तिनीहरूले पूरै जमिन ढाक्नेछन्‌, खाली ठाउँ कतै देखिनेछैन। असिनाबाट जे-जति बचेको थियो, त्योसमेत तिनीहरूले खानेछन्‌। तिनीहरूले रूखको एउटै पात बाँकी राख्नेछैनन्‌।+ ६ ती सलहहरू तिम्रो, तिम्रा सबै चाकरको र मिश्रीहरू सबैको घरभरि हुनेछन्‌। तिम्रा पुर्खाहरूले पहिला कहिल्यै नदेखेको सलहको बथान तिमीले देख्नेछौ।’”+ तब मोसा फारोकहाँबाट निस्किहाले।

७ त्यसपछि चाकरहरूले फारोलाई भने: “यस मानिसले हामीलाई कहिलेसम्म हैरान पार्ने?* तिनीहरूलाई आफ्नो परमेश्‍वर यहोवाको सेवा गर्न जान दिनुहोस्‌। मिश्र तहसनहस भइसक्यो भनेर के हजुरले अझै बुझ्नुभएको छैन?” ८ मोसा र हारुनलाई फारोकहाँ फेरि हाजिर गराइयो। फारोले तिनीहरूलाई भने: “जाओ र तिमीहरूका परमेश्‍वर यहोवाको सेवा गर। तर जानेचाहिँ को-को?” ९ तब मोसाले भने: “हामी आफ्ना केटाकेटी, बूढाबूढी, छोराछोरी, भेडाबाख्रा र गाईवस्तु सबै लिएर जानेछौँ+ किनकि हामीले यहोवा परमेश्‍वरको निम्ति चाड मनाउनुपर्छ।”+ १० फारोले तिनीहरूलाई भने: “मैले कसैगरि तिमीहरूलाई जान दिएँ भने यहोवा साँच्चै तिमीहरूको साथमा हुनुहुँदो रहेछ भनेर मैले आफ्नो हार स्विकारेको ठहर्नेछ!+ तिमीहरू पक्कै केही दुष्ट चाल चल्दै छौ। ११ अहँ, म तिमीहरू सबैलाई त जान दिन्‍नँ। तिमीहरू यहोवाको उपासना गर्न चाहन्छौ होइन? त्यसोभए तिमीहरूबीच भएका पुरुषहरू मात्र जाओ र उहाँको उपासना गर।” त्यसपछि फारोका चाकरहरूले मोसा र हारुनलाई त्यहाँबाट खेदे।

१२ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “तिम्रो हात पसार र मिश्रभरि सलह आएर सबै वनस्पति खाऊन्‌; तिनीहरूले असिनाबाट बचेको एउटै कुरा बाँकी नराखून्‌।” १३ मोसाले आफ्नो लौरो मिश्रमाथि पसारे अनि यहोवा परमेश्‍वरले दिनभरि र रातभरि पूर्वीय बतास चलाउनुभयो। बिहान भएपछि पूर्वीय बतासले सलहहरू ल्यायो। १४ मिश्रभरि नै सलहहरू आए र तिनीहरूले पूरै देश ढपक्कै ढाके।+ जताततै हुलका हुल सलह थिए;+ यसअघि कहिल्यै यत्ति धेरै सलह आएका थिएनन्‌ न त पछि नै आउने थिए। १५ तिनीहरूले पूरै जमिन ढपक्कै ढाकेकोले जमिनै कालो देखियो। असिनाबाट बचेका सबै वनस्पति र रूखका फल सलहहरूले खाइदिए। मिश्रका रूख तथा वनस्पतिमा एउटै हरियो पात बाँकी रहेन।

१६ त्यसैले फारोले तुरुन्तै मोसा र हारुनलाई बोलाएर भने: “मैले तिमीहरूका परमेश्‍वर यहोवा र तिमीहरूविरुद्ध पाप गरेँ। १७ बिन्ती छ, यो एक पटक मलाई माफ गरिदेओ अनि ममाथि आइपरेको यो विपत्ति हटाइदिन तिमीहरूका परमेश्‍वर यहोवालाई बिन्ती गरिदेओ।” १८ त्यसैले तिनी* फारोकहाँबाट निस्केर गए र यहोवा परमेश्‍वरलाई बिन्ती चढाए।+ १९ अनि यहोवा परमेश्‍वरले बतास अर्कै दिशातिर फर्काइदिनुभयो र पश्‍चिमबाट ठूलो बतास चल्यो। पश्‍चिमी बतासले सलहहरूलाई हुर्ऱ्याएर लाल समुद्रमा फालिदियो। त्यसपछि मिश्रभरि एउटै सलह बाँकी रहेन। २० तर यहोवा परमेश्‍वरले भन्‍नुभएझैँ फारोको हृदय अझै पनि कठोर भइरह्‍यो;+ उनले इस्राएलीहरूलाई जान दिएनन्‌।

२१ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “आफ्नो हात आकाशतिर पसार र मिश्रभरि निस्पट्ट अँध्यारो होस्‌।” २२ मोसाले तुरुन्तै आफ्नो हात आकाशतिर पसारे र मिश्रभरि तीन दिनसम्म निस्पट्ट अँध्यारो भयो।+ २३ तिनीहरूले एकअर्कालाई देख्न सकेनन्‌ र तीन दिनसम्म कतै जान सकेनन्‌ तर इस्राएलीहरू बसेको ठाउँ भने उज्यालै थियो।+ २४ त्यसपछि फारोले मोसालाई बोलाएर भने: “जाओ, यहोवाको उपासना गर।+ तिमीहरूका छोराछोरीलाई पनि सँगै लैजाओ। तिमीहरूका भेडाबाख्रा र गाईवस्तुलाई चाहिँ यहीँ छोड।” २५ तर मोसाले भने: “होइन, हाम्रा परमेश्‍वर यहोवाको लागि बलि र अग्निभेटी* चढाउन हाम्रा जनावरहरू पनि सँगै लैजान दिनुहोस्‌।+ २६ हामी आफ्ना वस्तुभाउ एउटै छोड्‌नेछैनौँ, सबै लैजान्छौँ किनकि हामीलाई कुनै-कुनै वस्तुभाउ यहोवा परमेश्‍वरको निम्ति बलि चढाउन चाहिन्छ। अनि यहोवा परमेश्‍वरको उपासना गर्दा कुन जनावर चढाउनुपर्छ, त्यहाँ पुगेपछि मात्र हामीलाई थाह हुन्छ।” २७ यहोवा परमेश्‍वरले फारोको हृदय कठोर हुन दिनुभयो; उनले इस्राएलीहरूलाई जान दिएनन्‌।+ २८ फारोले मोसालाई भने: “यहाँबाट गइहाल! अबदेखि मेरो अगाडि कहिल्यै देखा नपर्नू। फेरि आयौ भने त्यही दिन तिमी मर्नेछौ।” २९ मोसाले जवाफ दिए: “हजुरको जो आज्ञा! म अब हजुरकहाँ कहिल्यै देखा पर्दिनँ।”

११ यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “म फारो र मिश्रमाथि अब अर्को एउटा विपत्ति ल्याउनेछु। त्यसपछि उनले तिमीहरूलाई यहाँबाट पठाउनेछन्‌;+ तिमीहरूलाई एकछिन पनि राख्नेछैनन्‌, पठाइहाल्नेछन्‌।+ २ तिमीले सबै इस्राएली पुरुष र स्त्रीलाई आ-आफ्ना मिश्री छिमेकीहरूसित सुन र चाँदीका सरसामान माग्न लगाऊ।”+ ३ अनि यहोवा परमेश्‍वरले मिश्रीहरूलाई आफ्ना मानिसहरूमाथि निगाह गर्न लगाउनुभयो। साथै मिश्रमा फारोका चाकरहरू र मानिसहरूले मोसाको निकै सम्मान गर्न थाले।

४ मोसाले फारोलाई भने: “यहोवा परमेश्‍वर यसो भन्‍नुहुन्छ, ‘म मध्यराततिर मिश्रमा पस्नेछु+ ५ अनि मिश्रभरि सबैको पहिलो सन्तान मर्नेछन्‌+—राजसिंहासनमा बस्ने फारोको पहिलो सन्तानदेखि लिएर जाँतो पिँध्ने कमारीको पहिलो सन्तानसमेत अनि वस्तुभाउको समेत पहिलो सन्तान मर्नेछन्‌।+ ६ मिश्रभरि ठूलो रुवाबासी हुनेछ, जुन पहिला कहिल्यै भएको थिएन न त पछि फेरि हुनेछ।+ ७ तर इस्राएलीहरू र तिनीहरूका वस्तुभाउलाई देखेर एउटा कुकुरले समेत भुक्नेछैन। यहोवाले मिश्रीहरूसित र इस्राएलीहरूसित फरक-फरक व्यवहार गर्न सक्नुहुन्छ भनेर यसैबाट तिमीले थाह पाउनेछौ।’+ ८ परमेश्‍वरले यो विपत्ति ल्याएपछि हजुरका सबै चाकर मकहाँ आउनेछन्‌ र मलाई दण्डवत्‌ गर्दै यसो भन्‍नेछन्‌, ‘तपाईँ र तपाईँको पछि लाग्ने सबै मानिस यहाँबाट गइहाल्नुहोस्‌।’+ त्यसपछि म जानेछु।” अनि रिसले चूर हुँदै मोसा फारोकहाँबाट निस्के।

९ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “फारोले तिम्रो कुरा सुन्‍नेछैनन्‌+ किनभने मिश्रमा मैले अझ धेरै चमत्कार देखाउन बाँकी नै छ।”+ १० मोसा र हारुनले यी सबै चमत्कार फारोकै सामने गरे+ तर यहोवा परमेश्‍वरले फारोको हृदय कठोर हुन दिनुभयो। त्यसैले उनले इस्राएलीहरूलाई मिश्रबाट जान दिएनन्‌।+

१२ मिश्रमा यहोवा परमेश्‍वरले मोसा र हारुनलाई यसो भन्‍नुभयो: २ “यो महिना तिमीहरूका लागि पहिलो महिना हुनेछ; अबदेखि तिमीहरूले यस महिनालाई वर्षको पहिलो महिना मान्‍नू।+ ३ तिमीहरूले इस्राएलीहरूको सारा समुदायलाई यसो भन्‍नू, ‘यस महिनाको दसौँ दिन तिमीहरूले आ-आफ्नो परिवारको लागि एउटा-एउटा भेडा ल्याउनू।+ यसरी प्रत्येक परिवारले एउटा भेडा ल्याउनू। ४ तर तिमीहरूको परिवार सानो छ र सिङ्‌गै भेडा खान सक्दैनौ भने तिमीहरू जति जना छौ, त्यसैअनुसार हिसाब गरेर आफ्नो घरनजिकैको छिमेकीसित मिलेर खानू। प्रत्येकले त्यो भेडाको कति मासु खान सक्छ, त्यसैअनुसार तिमीहरूले हिसाब गर्नू। ५ तिमीहरूले कुनै खोट नभएको एक वर्षको पाठो ल्याउनू;+ त्यो पाठो कि भेडाको कि त बाख्राको होस्‌। ६ तिमीहरूले यस महिनाको १४ औँ दिनसम्म त्यसलाई स्याहार्नू+ अनि इस्राएलीहरूको प्रत्येक परिवारले त्यस पाठोलाई त्यही दिनको साँझतिर* मार्नू।+ ७ अनि जुन-जुन घरमा पाठो खाइन्छ, त्यस घरको ढोकाको दुवैपट्टिका खामा र माथिल्लो भागमा त्यसको रगत छर्कनू।+

८ “‘तिमीहरूले त्यही रात त्यसको मासु आगोमा पोल्नू अनि खमिर* नहालेको रोटी+ र तीते सागसित+ खानू।+ ९ त्यसको मासु काँचै नखानू। पानीमा उसिनेर पनि नखानू। बरु टाउको, खुट्टा र भित्री भागहरूसमेत पोलेर खानू। १० तिमीहरूले त्यसको कुनै पनि भाग बिहानसम्म रहन नदिनू। बिहानसम्म केही उब्रियो भने त्यसलाई जलाइदिनू।+ ११ पटुका बाँधेर, जुत्ता लगाएर अनि लौरो हातमै लिएर तिमीहरूले छिटो-छिटो त्यो मासु खानू। यसरी तिमीहरूले यहोवाको निम्ति निस्तार चाड* मनाउनू। १२ त्यही रात म मिश्र भएर जानेछु अनि त्यहाँका सबै पहिलो सन्तानलाई मार्नेछु। मानिस अथवा पशु कसैको पहिलो सन्तान म बाँकी राख्नेछैनँ;+ मिश्रका सबै देवतालाई म दण्ड दिनेछु।+ म यहोवा हुँ। १३ चौकोसमा छर्केको रगत तिमीहरू बसेको घरको निम्ति चिन्ह हुनेछ। त्यो रगत देखेपछि म तिमीहरूको घरलाई नाघेर* जानेछु। यसरी मैले मिश्रमाथि विपत्ति ल्याउँदा तिमीहरूलाई चाहिँ केही हुनेछैन; तिमीहरू नाश हुनेछैनौ।+

१४ “‘तिमीहरूले यो दिन सधैँ सम्झिरहनू। यहोवाले दिनुभएको छुटकारालाई नबिर्सन तिमीहरूले पुस्तौँपुस्तासम्म यो दिनलाई चाडको रूपमा मनाउनू। तिमीहरूले यो आज्ञा सधैँभरि मान्‍नू। १५ सात दिनसम्म तिमीहरूले खमिर नहालेको रोटी खानू।+ पहिलो दिनमै तिमीहरूले आ-आफ्नो घरबाट खमिरा पीठो* हटाउनू। जसले यी सात दिनभित्र खमिर हालेको खानेकुरा खान्छ, उसलाई इस्राएलीहरूको समुदायबाट हटाइनेछ।* १६ पहिलो दिन तिमीहरूले पवित्र सभा राख्नू र सातौँ दिन पनि त्यसै गर्नू। यी दुवै दिनमा तिमीहरूले कुनै काम नगर्नू।+ तर तिमीहरू प्रत्येकले आफूलाई चाहिनेजति खाना तयार पार्न भने सक्छौ।

१७ “‘तिमीहरूले अखमिरा रोटीको चाड* मनाउने गर्नू।+ किनभने यसै दिन म तिमीहरूको दललाई* मिश्रबाट निकालेर लैजानेछु। तिमीहरूले पुस्तौँपुस्तासम्म यही दिन यो चाड मनाउनू। १८ पहिलो महिनाको १४ औँ दिनको साँझदेखि २१ औँ दिनको साँझसम्म तिमीहरूले खमिर नहालेको रोटी खानू।+ १९ सात दिनसम्म तिमीहरूको घरमा खमिरा पीठो नभेटियोस्‌। कसैले खमिर हालेको खानेकुरा खाएमा स्वदेशी होस्‌ या विदेशी,+ उसलाई इस्राएलीहरूको समुदायबाट हटाउनू।*+ २० तिमीहरूले खमिर हालेको केही पनि नखानू। तिमीहरूले आफ्नो घरमा खमिर नहालेको रोटी खानू।’”

२१ मोसाले इस्राएलका नाइकेहरूलाई तुरुन्तै बोलाएर+ यसो भने: “गएर आ-आफ्नो परिवारको निम्ति एउटा जनावर* छान र निस्तार चाडको बलिको रूपमा त्यसलाई मार। २२ अनि तिमीहरूले एक मुठा हिसप* लिनू र त्यसलाई भाँडामा भएको रगतमा चोपेर ढोकाको चौकोसको दुवैपट्टिका खामा र माथिल्लो खामामा छर्कनू अनि बिहान नभएसम्म कोही पनि घरबाट बाहिर ननिस्कनू। २३ यहोवा परमेश्‍वर मिश्रीहरूलाई प्रहार गर्न आउनुहुँदा उहाँले तिमीहरूको ढोकाको चौकोसको दुवैपट्टिका खामा र माथिल्लो खामामा रगत देख्नुहुनेछ र तिमीहरूको घरलाई नाघेर जानुहुनेछ। यसरी तिमीहरूको घरमा भएका कोही पनि यस विपत्तिमा परेर मर्नेछैनन्‌।+

२४ “तिमी र तिम्रा छोराहरूले यो आज्ञा सधैँ मान्‍नू।+ २५ यहोवा परमेश्‍वरले तिमीहरूलाई दिन्छु भनी प्रतिज्ञा गरेको देशमा पुगेपछि पनि यो चाड मनाउन नछोड्‌नू।+ २६ जब तिम्रा छोराहरूले ‘यो चाड किन मनाउनुपर्छ?’ भनी सोध्छन्‌,+ २७ तब तिमीहरूले यसो भन्‍नू, ‘मिश्रीहरूमाथि विपत्ति ल्याउनुहुँदा यहोवा परमेश्‍वरले हाम्रो घरलाई नाघेर जानुभयो। त्यो विपत्तिमा परेर हाम्रो घरका कसैले पनि ज्यान गुमाउनुपरेन। त्यसैले यहोवाको निम्ति निस्तार चाडको बलि चढाएर हामी यो चाड मनाउँछौँ।’”

तब मानिसहरूले शिर झुकाएर दण्डवत्‌ गरे। २८ अनि इस्राएलीहरू गए र यहोवा परमेश्‍वरले मोसा र हारुनलाई जे भन्‍नुभएको थियो, त्यही गरे।+ हो, तिनीहरूले त्यसै गरे।

२९ त्यसपछि यहोवा परमेश्‍वरले मध्यरातमा मिश्रभरि सबैका पहिलो सन्तानलाई मार्नुभयो+—राजसिंहासनमा बस्ने फारोको पहिलो सन्तानदेखि लिएर झ्यालखानामा थुनिएको कैदीको पहिलो सन्तानसमेत; उहाँले गाईवस्तुको पहिलो सन्तानलाई पनि बाँकी राख्नुभएन।+ ३० फारो, उनका चाकरहरू अनि सबै मिश्री राती नै उठे। मिश्रभरि ठूलो रुवाबासी भयो किनभने हरेक घरमा कोही न कोही मरेकै थिए।+ ३१ फारोले राती नै मोसा र हारुनलाई बोलाएर+ भने: “तिमीहरू यहाँबाट गइहाल! अरू इस्राएलीहरूलाई पनि सँगै लिएर जाओ; तिमीहरूले भनेझैँ यहोवाको उपासना गर्न जाओ!+ ३२ तिमीहरूले भनेझैँ आफ्नो भेडाबाख्रा अनि गाईवस्तु पनि सँगै लैजाओ।+ तर तिमीहरूका परमेश्‍वरसित मेरो लागि आशिष्‌ मागिदेओ।”

३३ मिश्रीहरूले इस्राएलीहरूलाई पठाउन हतार गरे+ र यसो भने: “तिमीहरू गएनौ भने त हामी पनि मर्नेछौँ!”+ ३४ त्यसैले इस्राएलीहरूले खमिर नहालेको पीठोको डल्ला पीठो मुछ्‌ने भाँडोमा हाले र कपडामा पोको पारेर काँधमा बोके। ३५ अनि इस्राएलीहरूले मोसाले भनेअनुसारै गरे; तिनीहरूले मिश्रीहरूसित सुन र चाँदीका सरसामान अनि लुगाफाटा मागे।+ ३६ यहोवा परमेश्‍वरले मिश्रीहरूलाई आफ्ना मानिसहरूमाथि निगाह गर्न लगाउनुभयो। तिनीहरूले मागेका सबै कुरा मिश्रीहरूले दिए। यसरी इस्राएलीहरूले मिश्रीहरूलाई लुटे।+

३७ त्यसपछि इस्राएलीहरू रामसेसबाट+ निस्केर सुक्कोथतिर+ लागे। यसरी पैदलै जानेहरूमा ६ लाख पुरुष थिए। यसबाहेक बालबच्चा पनि तिनीहरूसँगै गए।+ ३८ तिनीहरूसँगै विदेशीहरूको ठूलो दल*+ पनि गए। इस्राएलीहरूले भेडाबाख्रा अनि गाईवस्तुको बथान पनि आफूसँगै लगे। ३९ तिनीहरूले मिश्रबाट ल्याएको पीठोको डल्लाबाट अखमिरा* रोटीहरू बनाए। तिनीहरूलाई मिश्रबाट अचानक धपाइएकोले त्यो पीठो खमिरा हुन पाएको थिएन। हतार-हतार मिश्रबाट निस्कनुपरेकोले तिनीहरूले खानेकुराको राम्रो बन्दोबस्त गर्न सकेका थिएनन्‌।+

४० इस्राएलीहरू मिश्रमा बसेको+ ४३० वर्ष भएको थियो।+ ४१ अनि ४३० वर्ष पूरा भएकै दिन यहोवा परमेश्‍वरका मानिसहरूको दल* मिश्रबाट निस्केका थिए। ४२ यहोवा परमेश्‍वरले मिश्रबाट दिनुभएको छुटकाराको सम्झनामा तिनीहरूले त्यो रात चाड मनाउने थिए। यहोवा परमेश्‍वरले दिनुभएको छुटकारा सम्झन इस्राएलीहरूले पुस्तौँपुस्तासम्म त्यही रात त्यो चाड मनाउनुपर्थ्यो।+

४३ यहोवा परमेश्‍वरले मोसा र हारुनलाई भन्‍नुभयो, “निस्तार चाड मनाउँदा यी आज्ञाहरू पालन गर्नू: कुनै विदेशीले निस्तार चाडको भोजन नखाओस्‌।+ ४४ तर कसैले पैसा तिरेर दास किनेको छ भने पहिला त्यस दासको खतना* गरियोस्‌।+ त्यसपछि मात्र उसले निस्तार चाडको भोजन खाओस्‌। ४५ कुनै प्रवासी र ज्यालादारी कामदारले निस्तार चाडको भोजन नखाऊन्‌। ४६ तिमीहरूले मारेको पाठो एउटै घरमा खानू। त्यसको मासु घरबाहिर नलैजानू र त्यसको एउटै हड्डी नभाँच्नू।+ ४७ सबै इस्राएलीले यो चाड मनाउनू। ४८ यदि कुनै विदेशी तिमीहरूसित बस्छ र यहोवाको निम्ति निस्तार चाड मनाउन चाहन्छ भने उसको घरका सबै पुरुषले खतना गरून्‌। त्यसपछि उसलाई इस्राएलमै जन्मेको व्यक्‍तिसरह ठानिनेछ र उसले पनि यो चाड मनाउन पाउनेछ। तर खतना नगरेको कसैले पनि निस्तार चाडको भोजन नखाओस्‌।+ ४९ स्वदेशी र तिमीहरूसँगै बस्ने विदेशी दुवैलाई एउटै नियम लागू हुनेछ।”+

५० यहोवा परमेश्‍वरले मोसा र हारुनलाई जे-जे भन्‍नुभएको थियो, सबै इस्राएलीले त्यही-त्यही गरे। हो, तिनीहरूले त्यसै गरे। ५१ त्यही दिन यहोवा परमेश्‍वरले इस्राएलीहरूको ठूलो दललाई* मिश्रबाट निकालेर लैजानुभएको थियो।

१३ यहोवा परमेश्‍वरले मोसालाई यसो पनि भन्‍नुभयो: २ “इस्राएलीहरूका हरेक पहिलो सन्तान मेरो निम्ति छुट्ट्याऊ।* मानिस होस्‌ वा जनावर, तिनीहरूको पहिलो सन्तान मेरै हुन्‌।”+

३ अनि मोसाले मानिसहरूलाई भने: “आजको दिन सधैँ सम्झिराख किनभने तिमीहरूको दासत्वको घर—मिश्रबाट आजकै दिन यहोवा परमेश्‍वरले तिमीहरूलाई आफ्नो पराक्रमी हातले छुटाएर ल्याउनुभयो।+ तिमीहरूले खमिर* हालेको कुनै कुरा नखाओ। ४ अबिब* महिनाको यो दिन तिमीहरू यहाँबाट जाँदै छौ।+ ५ यहोवा परमेश्‍वरले तिमीहरूका पुर्खालाई कनानी, हित्ती, एमोरी, हिव्वी अनि यबुसीहरूको देशमा+ अर्थात्‌ दूध र मह बग्ने देशमा+ लैजान्छु भनेर प्रतिज्ञा गर्नुभएको थियो।+ त्यहाँ पुगेपछि तिमीहरूले हरेक वर्ष यही महिनामा यो चाड मनाउनू: ६ सात दिनसम्म तिमीहरूले खमिर नहालेको रोटी खानू+ अनि सातौँ दिनमा चाहिँ यहोवा परमेश्‍वरको निम्ति चाड मनाउनू। ७ सात दिनसम्म तिमीहरूले खमिर नहालेको रोटी खानू।+ ती सात दिनको दौडान तिमीहरूमाझ खमिर हालिएको कुनै पनि खानेकुरा नभेटियोस्‌।+ तिमीहरूको पूरै इलाकामा खमिरा पीठो* नभेटियोस्‌। ८ अनि त्यो दिन तिमीहरूले आफ्ना छोराहरूलाई भन्‍नू, ‘यहोवा परमेश्‍वरले हामीलाई मिश्रबाट छुटाउन जे गर्नुभयो, त्यसलाई सम्झन हामी यो चाड मनाउँछौँ।’+ ९ यस चाडले तिमीहरूलाई यहोवा परमेश्‍वरको पराक्रमी हातले मिश्रबाट छुटाएको दिनको सम्झना गराउनेछ। त्यसैले यो तिमीहरूको हातमा एउटा चिन्ह र निधारमा पट्टीसरह हुनेछ।+ अनि तिमीहरूले यहोवा परमेश्‍वरको आज्ञाबारे अरूलाई बताउन सक्नेछौ। १० तिमीहरूले हरेक वर्ष यही महिना यो चाड मनाउनू।+

११ “यहोवा परमेश्‍वरले तिमीहरूलाई दिन्छु भनी तिमीहरू र तिमीहरूका पुर्खासित प्रतिज्ञा गर्नुभएको कनानीहरूको देशमा जब तिमीहरूलाई पुऱ्‍याउनुहुन्छ,+ १२ तब तिमीहरूले आफ्नो र जनावरहरूको पहिलो सन्तानचाहिँ यहोवा परमेश्‍वरलाई अर्पण गर्नू। किनकि तिमीहरूको र जनावरहरूको पहिलो सन्तान यहोवा परमेश्‍वरकै हुन्‌।+ १३ पहिले जन्मेको गधालाई छुटाउन त्यसको सट्टा एउटा भेडा चढाउनू। तर त्यस गधालाई छुटाएनौ भने त्यसको घाँटी छिनालेर मार्नू। अनि हरेक पहिलो सन्तानलाई मोल तिरेर छुटाउनू।+

१४ “तिमीहरूका छोराहरूले ‘किन यस्तो गर्नुभएको?’ भनी सोधेमा यसो भन्‍नू, ‘किनभने यहोवा परमेश्‍वरले हामीलाई दासत्वको घर—मिश्रबाट आजकै दिन आफ्नो पराक्रमी हातले छुटाएर ल्याउनुभयो।+ १५ फारोले कठोर भएर हामीलाई मिश्रबाट जान नदिँदा+ यहोवा परमेश्‍वरले त्यहाँका मानिसहरूको र जनावरहरूको पहिलो सन्तानजति सबैलाई मार्नुभयो।+ त्यसैले हामी वस्तुभाउको पहिलो सन्तान यहोवा परमेश्‍वरको लागि बलि चढाउँछौँ र मानिसहरूको पहिलो सन्तानलाई चाहिँ मोल तिरेर छुटाउँछौँ।’ १६ यहोवा परमेश्‍वरले हामीलाई आफ्नो पराक्रमी हातले मिश्रबाट छुटाएर ल्याउनुभएकोले यो चाड तिमीहरूको हातमा एउटा चिन्ह र निधारमा पट्टीसरह हुनेछ।”+

१७ फारोले मानिसहरूलाई जान दिएपछि परमेश्‍वरले तिनीहरूलाई पलिस्तियालीहरूको देश भएर जाने बाटो छोटो भए तापनि त्यस बाटोबाट लैजानुभएन। किनकि परमेश्‍वरले भन्‍नुभयो: “लडाइँ गर्नुपऱ्‍यो भने यी मानिसहरूले आफ्नो मन फेर्लान्‌ र मिश्रतिरै फर्कलान्‌।” १८ त्यसैले परमेश्‍वरले तिनीहरूलाई लाल समुद्रनजिकैको निर्जनभूमि हुँदै लैजानुभयो।+ इस्राएलीहरू मिश्रबाट निस्कँदा सैन्य दलजस्तो गरी व्यवस्थित तरिकामा निस्के। १९ मोसाले युसुफका हड्डी पनि आफूसितै लगे किनकि युसुफले इस्राएलका सन्तानलाई शपथ खान लगाउँदै यसो भनेका थिए: “परमेश्‍वरले पक्कै तिमीहरूको पुकारा सुन्‍नुहुनेछ। तिमीहरू यहाँबाट जाँदा मेरा हड्डी पनि सँगै लैजानू।”+ २० सुक्कोथ छाडेपछि तिनीहरू निर्जनभूमिको छेउमा पर्ने एथाम पुगे र त्यहाँ पाल टाँगेर बसे।

२१ तिनीहरूलाई डोऱ्‍याउन यहोवा परमेश्‍वर अघिअघि जानुहुन्थ्यो; दिउँसो बादलको खामो भएर+ अनि राती आगोको खामो भएर उहाँले तिनीहरूलाई बाटो देखाउनुहुन्थ्यो। यसरी तिनीहरू दिउँसो मात्र नभई राती पनि यात्रा गर्न सक्थे।+ २२ इस्राएलीहरूको माझबाट दिनमा बादलको खामो र रातमा आगोको खामो कहिल्यै हटेन।+

१४ यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: २ “इस्राएलीहरूलाई फर्केर मिग्दोल र समुद्रको बीचमा पर्ने पिहाहिरोथ जाओ भन। त्यहाँ पुगेपछि तिनीहरूले समुद्रनजिक बाआल-जेफोनअगाडि पाल टाँगून्‌।+ ३ तब फारोले इस्राएलीहरूबारे यसो भन्‍नेछन्‌: ‘तिनीहरू यताउता भौँतारिरहेका छन्‌; तिनीहरू निर्जनभूमिमै फसेछन्‌।’ ४ म फारोको हृदय कठोर हुन दिनेछु+ र उनी इस्राएलीहरूलाई भेट्टाउन पछिपछि आउनेछन्‌; त्यसपछि म फारो र उनका सम्पूर्ण फौजलाई परास्त गरेर आफ्नो नाम उच्च पार्नेछु।+ अनि सारा मिश्रीले म यहोवा हुँ भनेर थाह पाउनेछन्‌।”+ इस्राएलीहरूले आफूलाई जसो भनिएको थियो, त्यसै गरे।

५ पछि मिश्रका राजाले इस्राएलीहरू भागिसकेको खबर पाए। यो सुन्‍नेबित्तिकै फारो र उनका चाकरहरूको मन बदलियो+ र उनीहरूले भने: “हामीले इस्राएलीहरूलाई जान नदिएर यहीँ हाम्रो दास बनाइराख्नुपर्थ्यो। हामीले कस्तो मूर्ख काम गऱ्‍यौँ!” ६ त्यसैले फारोले आफ्ना रथहरू तयार पार्न लगाए र आफ्ना फौजलाई सँगै लिएर गए।+ ७ उनले ६०० वटा विशेष किसिमको रथका साथै मिश्रमा भएका अरू सबै रथ लगे। प्रत्येक रथमा योद्धाहरू चढेका थिए। ८ यहोवा परमेश्‍वरले मिश्रका फारोको हृदय कठोर हुन दिनुभयो र उनी ढुक्क भएर हिँडिरहेका इस्राएलीहरूलाई लखेट्‌न निस्के।+ ९ फारोको पूरै फौज, उनका रथहरू र घोडचढीहरू इस्राएलीहरूलाई भेट्टाउन तेज गतिमा अघि बढे।+ त्यसबेला इस्राएलीहरू समुद्रनजिकै पिहाहिरोथमा बाआल-जेफोनअगाडि पाल टाँगेर बसिरहेका थिए।

१० इस्राएलीहरूले फारो र उनको फौज आफूहरू पाल टाँगेर बसेको ठाउँनजिकै आइपुगेको देखे। यो देखेर तिनीहरू असाध्यै डराए अनि यहोवा परमेश्‍वरलाई गुहार्न थाले।+ ११ तिनीहरूले मोसालाई भने: “तपाईँले हामीलाई मिश्रबाट निकालेर यस निर्जनभूमिमा किन ल्याउनुभयो? के मिश्रमा चिहानहरू थिएनन्‌ र?+ हामीलाई मार्न किन यहाँ ल्याउनुभयो? १२ ‘हामी यहीँ बसेर मिश्रीहरूको सेवा गर्छौँ’ भनेर हामीले मिश्रमा छँदै भनेका थिएनौँ र? यहाँ निर्जनभूमिमा मर्नुभन्दा त मिश्रीहरूको चाकरी गर्नु नै बेस थियो।”+ १३ तब मोसाले मानिसहरूलाई भने: “नडराओ!+ साहसी होओ अनि आज यहोवाले कसरी तिमीहरूको उद्धार गर्नुहुन्छ, हेर!+ किनभने तिमीहरूले आज देखिरहेका यी मिश्रीहरूलाई फेरि कहिल्यै देख्नेछैनौ।+ १४ यहोवा परमेश्‍वर स्वयम्‌ तिमीहरूका लागि लड्‌नुहुनेछ।+ त्यसैले तिमीहरू शान्त भएर बस।”

१५ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “तिमी किन मलाई पुकार्छौ? इस्राएलीहरूलाई यहाँबाट अघि बढ्‌न लगाऊ। १६ तिमीले चाहिँ समुद्रमाथि आफ्नो लौरो पसारेर पानीलाई दुई भाग पार। अनि इस्राएलीहरू समुद्रको बीचमा सुक्खा जमिनमा हिँडून्‌। १७ मैले मिश्रीहरूको हृदय कठोर हुन दिएको छु र उनीहरूले तिमीहरूलाई लखेट्‌न छोड्‌नेछैनन्‌ अनि फारो, उनका रथ, उनका घोडचढीलगायत सबै सेनालाई परास्त गरेर म आफ्नो नाम उच्च पार्नेछु।+ १८ जब म फारो, उनका रथ र उनका घोडचढीलाई परास्त गरेर आफूलाई उच्च पार्छु, तब मिश्रीहरूले म यहोवा हुँ भनेर अवश्‍य थाह पाउनेछन्‌।”+

१९ तब इस्राएलीहरूको अघिअघि गइरहेका साँचो परमेश्‍वरको स्वर्गदूत+ तिनीहरूको पछिल्तिर गए। अनि तिनीहरूको अघिअघि गइरहेको बादलको खामो पनि तिनीहरूको पछिल्तिर गयो।+ २० त्यो खामो मिश्री र इस्राएलीहरूको बीचमा अडियो।+ त्यस खामोले एकापट्टि अँध्यारो अनि अर्कोपट्टि चाहिँ रातभरि उज्यालो पारिरह्‍यो।+ त्यसैले मिश्रीहरू पूरै रात इस्राएलीहरूको नजिक जान सकेनन्‌।

२१ तब मोसाले आफ्नो हात समुद्रमाथि पसारे+ अनि यहोवा परमेश्‍वरले रातभरि जोडसँग पूर्वीय बतास चलाउनुभयो र पानी बिस्तारै दुई भागमा छुट्टिन थाल्यो।+ त्यसपछि बीचमा सुक्खा जमिन देखा पऱ्‍यो।+ २२ त्यसैले इस्राएलीहरू समुद्रबीचको सुक्खा जमिनमा हिँड्‌न थाले।+ तिनीहरूको दायाँबायाँ दुवैतिर पानीको विशाल पर्खाल थियो।+ २३ मिश्रीहरूले तिनीहरूलाई फेरि लखेट्‌न थाले। फारोका घोडा, रथ अनि घोडचढीहरू तिनीहरूलाई लखेट्‌दै समुद्रको बीचसम्मै पुगे।+ २४ बिहान उज्यालो हुनुअघि* यहोवा परमेश्‍वरले आगो र बादलको खामोबाट मिश्रीहरूको फौजलाई हेर्नुभयो+ अनि उनीहरूमाझ गोलमाल मच्चाइदिनुभयो। २५ उहाँले मिश्रीहरूको रथको पाङ्‌ग्रा फुस्काइदिनुभयो र उनीहरूले रथ गुडाउन सकेनन्‌। उनीहरूले यसो भन्‍न थाले: “भागौँ! हामी यी इस्राएलीहरूको नजिक नजाऔँ किनभने यहोवा तिनीहरूको साथमा हुनुहुन्छ र हामीसित लडिरहनुभएको छ।”+

२६ तब यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “समुद्रमाथि आफ्नो हात पसार अनि समुद्रको पानीले मिश्रीहरू, उनीहरूका रथहरू र घोडचढीहरूलाई डुबाओस्‌।” २७ त्यसपछि मोसाले तुरुन्तै आफ्नो हात समुद्रमाथि पसारे अनि बिहान नहुँदै समुद्रको पानी फेरि पहिलाको जस्तै एकै ठाउँमा जम्मा हुन थाल्यो। यो देखेर मिश्रीहरू भाग्न खोजे तर यहोवा परमेश्‍वरले उनीहरूलाई समुद्रको बीचमा फालिदिनुभयो।+ २८ इस्राएलीहरूको पछिपछि गएका रथहरू, घोडचढीहरू र फारोका सबै फौज उर्लेर आएको पानीमा डुबे।+ उनीहरूमध्ये एक जना पनि उम्कन पाएनन्‌।+

२९ तर इस्राएलीहरू समुद्रको बीचको सुक्खा जमिन हुँदै हिँडेका थिए+ अनि तिनीहरूको दायाँबायाँ दुवैतिर पानीको विशाल पर्खाल थियो।+ ३० यसरी यहोवा परमेश्‍वरले त्यो दिन इस्राएलीहरूलाई मिश्रीहरूको हातबाट बचाउनुभयो;+ मिश्रीहरूको लास समुद्री किनारमा छरपस्ट भएको इस्राएलीहरूले देखे। ३१ यहोवा परमेश्‍वरले आफ्नो महान्‌ शक्‍ति चलाएर मिश्रीहरूलाई कसरी नाश गर्नुभयो, त्यो कुरा इस्राएलीहरूले छर्लङ्‌गै देखे। त्यसैले तिनीहरूले यहोवा परमेश्‍वरको डर मान्‍न थाले अनि यहोवा परमेश्‍वर र उहाँको सेवक मोसालाई भरोसा गर्न थाले।+

१५ तब मोसा र इस्राएलीहरूले यस्तो गीत गाउँदै यहोवा परमेश्‍वरको प्रशंसा गरे:+

“म यहोवाको गुणगान गाउँछु, उहाँले शानदार जित हासिल गर्नुभएको छ।+

घोडा र त्यसमा सवार हुनेलाई उहाँले समुद्रमा हुर्ऱ्याउनुभएको छ।+

 २ याह* मेरो बल, मेरो शक्‍ति हुनुहुन्छ; उहाँ नै मेरो उद्धारक हुनुहुन्छ।+

उहाँ मेरो परमेश्‍वर हुनुहुन्छ, म उहाँको प्रशंसा गर्छु;+ उहाँ मेरो पुर्खाका परमेश्‍वर हुनुहुन्छ,+ म उहाँको जयजयकार गाउँछु।+

 ३ यहोवा वीर योद्धा हुनुहुन्छ।+ यहोवा हो उहाँको नाम।+

 ४ उहाँले फारोका रथहरू अनि उनको फौजलाई समुद्रमा फाल्नुभएको छ,+

उनका नामी योद्धाहरूलाई उहाँले लाल समुद्रमा डुबाउनुभएको छ।+

 ५ उर्लँदो छालले उनीहरूलाई छोप्यो; ढुङ्‌गा डुबेजस्तै उनीहरू समुद्रको गहिराइमा डुबे।+

 ६ हे यहोवा, तपाईँको दाहिने बाहुली कत्ति शक्‍तिशाली;+

हे यहोवा, तपाईँको दाहिने बाहुलीले शत्रुहरूलाई सखाप पार्छ।

 ७ तपाईँ महान्‌ हुनुहुन्छ, आफूविरुद्ध खडा हुनेहरूलाई परास्त गर्नुहुन्छ;+

तपाईँको रिसको आगोमा उनीहरू परालझैँ स्वाहा हुन्छन्‌।

 ८ तपाईँको नाकको सासले गर्दा पानी एक ठाउँमा थुप्रियो;

ती पर्खालहरूझैँ खडा भए;

उर्लेर आएको पानी समुद्रको बीचमै जम्यो।

 ९ शत्रुले फुर्ती गऱ्‍यो: ‘म लखेट्‌नेछु र भेट्टाउनेछु!

म धीत नमरेसम्म लुटका माल बाँड्‌नेछु!

म आफ्नो तरबार थुत्नेछु र तिनीहरूलाई सर्वनाश गर्नेछु!’+

१० तर तपाईँले सास फुक्नुभयो र समुद्रले उनीहरूलाई निल्यो;+

विशाल समुद्रमा उनीहरू गह्रौँ धातुजस्तै डुबे।

११ हे यहोवा, तपाईँजस्तो ईश्‍वर अरू को छ र?+

तपाईँजस्तो महापवित्र अरू को छ र?+

तपाईँजस्तो भययोग्य र प्रशंसायोग्य अरू कोही छैन; तपाईँ अचम्मका कामहरू गर्नुहुन्छ।+

१२ तपाईँले आफ्नो दाहिने बाहुली पसार्नुभयो र पृथ्वीले उनीहरूलाई निल्यो।+

१३ आफ्नो अटल प्रेमले* गर्दा तपाईँले आफूले उद्धार गरेका मानिसहरूलाई डोऱ्‍याउनुभयो;+

आफ्नो शक्‍ति चलाएर तपाईँले तिनीहरूलाई पवित्र ठाउँसम्म डोऱ्‍याउनुहुनेछ।

१४ मानिसहरूले सुन्‍नेछन्‌+ र तिनीहरू काँप्नेछन्‌;

पलिस्तियाका बासिन्दाहरू आकुलव्याकुल हुनेछन्‌।

१५ एदोमका नाइकेहरू* डरले थुरथुर हुनेछन्‌;

मोआबका शक्‍तिशाली शासकहरू अत्तालिनेछन्‌;+

कनानका सबै बासिन्दा हताश हुनेछन्‌।+

१६ उनीहरूलाई डर र त्रासले छोप्नेछ।+

तपाईँको बाहुबलले गर्दा उनीहरू तबसम्म ढुङ्‌गाजस्तै अचल हुनेछन्‌,

जबसम्म हे यहोवा, तपाईँका मानिसहरू उनीहरूको इलाकाबाट निस्कँदैनन्‌,

तपाईँले उद्धार गर्नुभएका मानिसहरू+ उनीहरूको इलाकाबाट उम्कँदैनन्‌।+

१७ तपाईँले आफ्ना जनहरूलाई ल्याउनुहुनेछ र तपाईँको निजी सम्पत्ति आफ्नो डाँडामा रोप्नुहुनेछ,+

हे यहोवा, त्यही ठाउँ जसलाई तपाईँले आफ्नो वासस्थान बनाउनुभएको छ;

हे यहोवा, त्यही पवित्र स्थान* जुन तपाईँले आफ्ना हातले खडा गर्नुभएको छ।

१८ यहोवाले सदासर्वदा राजाको रूपमा शासन गर्नुहुनेछ।+

१९ फारोका घोडा, रथ अनि घोडचढीहरूले पानीमा पाइला टेक्दा+

यहोवाले समुद्रको पानी फर्काउनुभयो र उनीहरू सबै डुबे।+

तर इस्राएलीहरू भने समुद्रको बीचको सुक्खा जमिनबाट हिँडे।”+

२० हारुनकी दिदी, भविष्यवक्‍ता मरियमले खैँजडी लिइन्‌ अनि अरू सबै स्त्री पनि खैँजडी बजाउँदै र नाच्दै मरियमको पछिपछि लागे। २१ ती पुरुषहरूले गाएको सुनेर मरियमले प्रतिउत्तरमा यसरी गाउन थालिन्‌:

“यहोवाको स्तुतिगान गाऔँ किनभने उहाँ विजयी हुनुभएको छ।+

घोडा र त्यसमा सवार हुनेलाई उहाँले समुद्रमा हुर्ऱ्याउनुभएको छ।”+

२२ मोसाले इस्राएलीहरूलाई लाल समुद्रबाट डोऱ्‍याएर सुरको निर्जनभूमितिर लगे। निर्जनभूमिमा तीन दिनसम्म यात्रा गर्दा पनि तिनीहरूले पानी भेट्टाएनन्‌। २३ तिनीहरू मारामा* पुगे।+ तर त्यहाँको पानी तीतो भएकोले तिनीहरूले पिउन सकेनन्‌। त्यसैले मोसाले त्यस ठाउँको नाम मारा राखे। २४ मानिसहरू मोसासित यसरी गनगन गर्न थाले:+ “अब हामीले के पिउने?” २५ त्यसपछि मोसाले यहोवा परमेश्‍वरलाई पुकारे।+ अनि उहाँले तिनलाई एउटा बोट देखाउनुभयो। तिनले त्यसलाई पानीमा फाले र पानी मीठो भयो।

यहोवा परमेश्‍वरले तिनीहरूलाई एउटा आज्ञा दिनुभयो र एउटा नियम तयार पारेर त्यहीँ तिनीहरूको परीक्षा लिनुभयो।+ २६ उहाँले भन्‍नुभयो: “यदि तिमीहरूले यहोवा परमेश्‍वरको कुरा ध्यान दिएर सुन्यौ, उहाँको नजरमा जे ठीक छ, त्यही गऱ्‍यौ, उहाँका आज्ञा पालन गऱ्‍यौ र उहाँले दिनुभएका नियमहरू मान्यौ भने+ मिश्रीहरूमाथि मैले ल्याएको कुनै पनि महामारी म तिमीहरूमाथि ल्याउनेछैनँ।+ म यहोवा तिमीहरूलाई निको पार्नेछु।”+

२७ त्यसपछि तिनीहरू एलिम आइपुगे। त्यहाँ पानीका १२ वटा मूल र खजुरका ७० वटा बोट थिए। तिनीहरूले त्यहीँ पानी भएको ठाउँमा पाल टाँगे।

१६ अनि इस्राएलीहरूको सारा समुदाय एलिमबाट हिँड्‌यो। मिश्रबाट निस्केको दोस्रो महिनाको १५ औँ दिनमा तिनीहरू एलिम र सिनैको बीचमा पर्ने सिन निर्जनभूमिमा आइपुगे।+

२ त्यहाँ इस्राएलीहरूको सारा समुदायले मोसा र हारुनसित गनगन गर्न थाल्यो।+ ३ इस्राएलीहरूले मोसा र हारुनसित यसरी गनगन गरिरहे: “मिश्रमा छँदा हामीले मासु र अरू खानेकुरा अघाउन्जेल खान पाइरहेका थियौँ। तपाईँहरूले हामी सबैलाई यस निर्जनभूमिमा ल्याएर भोकभोकै मार्न लाग्नुभयो।+ बरु यहोवा परमेश्‍वरले हामीलाई मिश्रमै नाश गर्नुभएको भए हुन्थ्यो।”+

४ तब यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “हेर, म तिमीहरूका निम्ति स्वर्गबाट खानेकुरा बर्साउनेछु।+ हरेक इस्राएलीले बाहिर गएर आफूलाई दिनभरिको लागि जति खानेकुरा चाहिन्छ, त्यति मात्र बटुलून्‌।+ तिनीहरूले मैले भनेजस्तै गर्छन्‌ कि गर्दैनन्‌, म हेर्छु।+ ५ छैटौँ दिनमा+ भने तिनीहरूले अरू दिनभन्दा दोबर बटुलून्‌ र त्यसैअनुसार भोजन तयार पारून्‌।”+

६ त्यसैले मोसा र हारुनले सबै इस्राएलीलाई यसो भने: “मिश्रबाट तिमीहरूलाई छुटाउनुहुने यहोवा परमेश्‍वर नै हुनुहुन्छ भनेर साँझपख तिमीहरूले अवश्‍य थाह पाउनेछौ।+ ७ अनि बिहान तिमीहरूले यहोवा परमेश्‍वरको अचम्मको काम देख्नेछौ किनभने तिमीहरूको गनगन उहाँले सुन्‍नुभएको छ। हामी को हौँ र! तिमीहरू किन हामीसित गनगन गर्छौ? तिमीहरूले त वास्तवमा यहोवा परमेश्‍वरसित गनगन गरिरहेका छौ।” ८ मोसाले अझै भने: “यहोवा परमेश्‍वरले तिमीहरूलाई साँझको लागि टन्‍न मासु र बिहानको लागि प्रशस्त मात्रामा अरू खानेकुरा दिनुहुँदा तिमीहरूले यहोवा परमेश्‍वरसित गरेको गनगन उहाँले सुन्‍नुभयो भनेर थाह पाउनेछौ। हामी को हौँ र! तिमीहरूले यस्तो गनगन गरेर वास्तवमा हाम्रो होइन तर यहोवा परमेश्‍वरको विरोध गरेका हौ।”+

९ तब मोसाले हारुनलाई भने: “इस्राएलीहरूको सारा समुदायलाई भन्‍नुहोस्‌, ‘यहोवा परमेश्‍वरसामु भेला होओ किनकि उहाँले तिमीहरूको गनगन सुन्‍नुभएको छ।’”+ १० हारुनले इस्राएलीहरूको सारा समुदायलाई मोसाले भनेको कुरा सुनाउनेबित्तिकै तिनीहरूले फर्केर निर्जनभूमितिर हेरे। अनि हेर, बादलमा यहोवा परमेश्‍वरको महिमा देखा पऱ्‍यो!+

११ यहोवा परमेश्‍वरले मोसालाई अझै यसो भन्‍नुभयो: १२ “मैले इस्राएलीहरूको गनगन सुनेको छु।+ तिनीहरूलाई भन, ‘तिमीहरूले साँझ* मासु र बिहानचाहिँ अघाउन्जेल अरू खानेकुरा खानेछौ।+ तब तिमीहरूले म नै तिमीहरूका परमेश्‍वर यहोवा हुँ भनेर थाह पाउनेछौ।’”+

१३ त्यो साँझ बट्टाई चराहरू आएर पूरै छाउनी ढाके+ अनि बिहान भने छाउनीको चारैतिर शीत पऱ्‍यो। १४ शीत सुकेपछि चिनीजस्तै मसिनो सेतो दाना निर्जनभूमिभरि देखियो।+ १५ यो देखेपछि इस्राएलीहरूले एकअर्कालाई यसो भन्‍न थाले: “यो के हो?” किनभने तिनीहरूलाई त्यो के हो भनेर थाह थिएन। तब मोसाले भने: “यो यहोवा परमेश्‍वरले तिमीहरूलाई दिनुभएको खानेकुरा हो।+ १६ यहोवा परमेश्‍वरले यस्तो आज्ञा दिनुभएको छ: ‘हरेकले जति खान सक्छ, त्यति मात्र बटुल्नू। तिमीहरूले आफ्नो पालमा जति जना छन्‌, त्यसको सङ्‌ख्या हिसाब गरेर प्रत्येकको लागि एक ओमेर*+ बटुल्नू।’” १७ मोसाले भनेझैँ इस्राएलीहरूले गरे; आवश्‍यकताअनुसार कसैले धेरै बटुले, कसैले थोरै। १८ त्यसपछि तिनीहरूले आफूले बटुलेको खानेकुरा ओमेरले नापे। ज-जसले धेरै बटुलेका थिए, तिनीहरूलाई चाहिनेभन्दा बढी भएन अनि ज-जसले थोरै बटुलेका थिए, तिनीहरूलाई कम पनि भएन।+ हरेकले आफूले जति खान सक्छ, त्यति मात्र बटुलेका थिए।

१९ अनि मोसाले तिनीहरूलाई भने: “कसैले पनि आफूले बटुलेको खानेकुरा भोलिपल्ट बिहानसम्म बाँकी नराख्नू।”+ २० तर तिनीहरूले मोसाको कुरा टेरेनन्‌। तिनीहरूमध्ये कसै-कसैले बिहानसम्म खानेकुरा बाँकी राख्दा त्यसमा स्याउँस्याउँती किरा पऱ्‍यो र गन्हाउन थाल्यो। यो देखेर मोसा तिनीहरूसित रिसाए। २१ हरेक बिहान इस्राएलीहरूले आफूले खान सक्नेजति मात्र बटुल्थे। चर्को घाम लाग्न थालेपछि जमिनमा भएको त्यो खानेकुरा बिलाउँथ्यो।

२२ छैटौँ दिन तिनीहरूले अरू दिनभन्दा दोबर+ अर्थात्‌ एक जनाको लागि दुई ओमेर बटुले। त्यसैले इस्राएलीहरूका कुलनायकहरू मोसालाई त्यो कुरा बताउन आए। २३ तब मोसाले तिनीहरूलाई भने: “यहोवा परमेश्‍वरले नै यसो गर भन्‍नुभएको हो। भोलिको दिन यहोवा परमेश्‍वरको लागि छुट्ट्याइएको पवित्र विश्रामदिन* हुनेछ। भोलि तिमीहरूले कुनै काम गर्नेछैनौ।+ त्यसैले जे-जति पकाउन चाहन्छौ, आजै पकाऊ अनि जे-जति उमाल्न चाहन्छौ, आजै उमाल।+ उब्रेको जतिचाहिँ भोलि बिहानसम्म राख।” २४ मोसाले आज्ञा गरेझैँ तिनीहरूले त्यो खानेकुरा भोलिपल्ट बिहानसम्म राखे। तर त्यो गन्हाएन र त्यसमा किरा पनि परेन। २५ तब मोसाले भने: “त्यो खानेकुरा आज खाओ किनभने आजको दिन यहोवा परमेश्‍वरको लागि छुट्ट्याइएको विश्रामदिन हो। अनि आज तिमीहरूले जमिनमा केही खानेकुरा पाउनेछैनौ। २६ तिमीहरूले छ दिनसम्म खानेकुरा बटुल्नू तर सातौँ दिन अर्थात्‌ विश्रामदिनमा+ तिमीहरूले केही पाउनेछैनौ।” २७ सातौँ दिनमा पनि कोही-कोही खानेकुरा बटुल्न बाहिर निस्के तर तिनीहरूले केही पाएनन्‌।

२८ त्यसैले यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “तिमीहरू कतिन्जेल मेरो कुरा सुन्दैनौ? तिमीहरू कहिलेसम्म मेरो नियम पालन गर्न इन्कार गर्छौ?+ २९ विश्रामदिन मनाउने आज्ञा यहोवा परमेश्‍वरले नै दिनुभएको हो भनेर नबिर्स।+ त्यसैले त उहाँले छैटौँ दिनमा तिमीहरूलाई दुई दिनको लागि पुग्ने खानेकुरा दिनुहुन्छ। सातौँ दिनमा सबै जना आ-आफ्नै इलाकामा बस्नू, कोही पनि बाहिर नजानू।” ३० त्यसैले मानिसहरूले सातौँ दिनमा विश्रामदिन मनाए।+

३१ इस्राएलीहरूले त्यस खानेकुराको नाम “मन्‍न”* राखे। त्यो धनियाँको दानाजस्तै सेतोसेतो देखिन्थ्यो। अनि त्यसको स्वादचाहिँ मह मिसाएर बनाइएको रोटीको जस्तो थियो।+ ३२ मोसाले भने: “यहोवा परमेश्‍वरले यस्तो आज्ञा दिनुभएको छ, ‘मिश्रबाट ल्याउँदा निर्जनभूमिमा मैले तिमीहरूलाई कस्तो खानेकुरा खुवाएको थिएँ भनेर पछि आउने पुस्ताहरूलाई देखाउन तिमीहरूले एक ओमेर मन्‍न छुट्ट्याएर राख्नू।’”+ ३३ यसकारण मोसाले हारुनलाई भने: “एउटा भाँडो लिएर त्यसमा एक ओमेर मन्‍न भर्नुहोस्‌ र त्यसलाई यहोवा परमेश्‍वरसामु राख्नुहोस्‌ ताकि त्यो पुस्तौँपुस्तासम्म रहोस्‌।”+ ३४ यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिमै हारुनले त्यो मन्‍न एउटा भाँडोमा हाले अनि त्यो सुरक्षित होस्‌ भनेर सन्दुकअगाडि* राखे।+ ३५ मानिसहरू बसोबास गरेको ठाउँमा नपुगेसम्म+ इस्राएलीहरूले ४० वर्षसम्म मन्‍न खाए।+ कनान देशको सिमानामा नपुगेसम्म तिनीहरूले मन्‍न खाए।+ ३६ एपाको* दस भागको एक भागलाई एक ओमेर भनिन्छ।

१७ इस्राएलीहरूको सारा समुदाय यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएझैँ+ सिन निर्जनभूमिबाट निस्केर+ एक ठाउँबाट अर्को ठाउँ हुँदै रेफिदिम पुगे र तिनीहरूले त्यहाँ पाल टाँगे।+ तर त्यहाँ पिउनको लागि पानी थिएन।

२ त्यसैले मानिसहरू मोसासित यसो भन्दै झगडा गर्न थाले:+ “हामीलाई पानी दिनुहोस्‌।” तर मोसाले तिनीहरूलाई भने: “तिमीहरू किन मसित झगडा गर्छौ? तिमीहरू किन बारम्बार यहोवा परमेश्‍वरको परीक्षा गर्छौ?”+ ३ इस्राएलीहरू असाध्यै तिर्खाएका थिए। त्यसैले तिनीहरूले मोसासित यसरी गनगन गरिरहे:+ “यहाँ आएर हामी, हाम्रा छोराछोरी र हाम्रा गाईवस्तु पानी नपाएर तिर्खाले मर्नु नै थियो भने तपाईँले किन हामीलाई मिश्रबाट निकालेर ल्याउनुभयो?” ४ तब मोसाले यहोवा परमेश्‍वरलाई यसो भन्दै पुकारे: “यी मानिसहरूलाई म के गरूँ? तुरुन्तै केही नगर्ने हो भने यिनीहरूले मलाई ढुङ्‌गाले हान्‍नेछन्‌।”

५ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “इस्राएलीहरूको समुदायबाट केही नाइकेलाई लिएर तिमी अघिअघि जाऊ। अनि तिमीले जुन लौरोले नाइल नदीलाई हिर्काएका थियौ, त्यो लौरो पनि सँगै लैजाऊ।+ ६ हेर! म होरेबमा भएको चट्टानको छेवैमा तिम्रो सामु उभिरहेको हुनेछु। तिमीले त्यो चट्टानलाई हिर्काउनू अनि त्यसबाट पानीको मूल फुट्‌नेछ। अनि इस्राएलीहरूले त्यो पानी पिउनेछन्‌।”+ मोसाले इस्राएलका नाइकेहरूसामु त्यसै गरे। ७ मोसाले त्यस ठाउँको नाम मास्साह*+ र मरिबा*+ राखे किनभने इस्राएलीहरूले मोसासित झगडा गरेका थिए र यसो भन्दै यहोवा परमेश्‍वरको परीक्षा गरेका थिए:+ “के यहोवा परमेश्‍वर साँच्चै हामीसित हुनुहुन्छ?”

८ इस्राएलीहरू रेफिदिममा+ भएको बेला अमालेकीहरूले+ तिनीहरूलाई आक्रमण गरे। ९ अनि मोसाले यहोसुलाई भने:+ “केही मानिसहरू छान र अमालेकीहरूसित लड्‌न जाऊ। मचाहिँ साँचो परमेश्‍वरले मलाई आफूसँगै लैजाऊ भन्‍नुभएको लौरो लिएर भोलि पहाडको टाकुरामा उभिनेछु।” १० तब यहोसुले मोसाले भनेझैँ गरे;+ तिनले अमालेकीहरूसित लडाइँ गरे। मोसा, हारुन र हुरचाहिँ+ पहाडको टाकुरामा गएर उभिए।

११ मोसाले दुवै हात उठाइराख्दा इस्राएलीहरू विजयी हुन्थे तर तिनले हात झार्नेबित्तिकै अमालेकीहरू विजयी हुन्थे। १२ मोसाका हातहरू फतक्क गलेपछि हारुन र हुरले एउटा ढुङ्‌गा ल्याइदिए। अनि मोसा त्यसमा बसे। त्यसपछि तिनीहरूमध्ये एक जनाले मोसाको दायाँ हात र अर्कोले बायाँ हात उचालिराखे। यसरी घाम नअस्ताएसम्म मोसाले आफ्ना दुवै हात उठाइराख्न सके। १३ यसप्रकार यहोसुले अमालेकीहरू र उनीहरूका मानिसहरूलाई तरबारले मारे।+

१४ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “म यस धर्तीबाट अमालेकीहरूको नामोनिसान मेटाउनेछु। यो कुरा कहिल्यै नबिर्सन त्यसलाई पुस्तकमा लेखिराख अनि यहोसुलाई पनि सुनाइदेऊ।”+ १५ तब मोसाले एउटा वेदी बनाए र यसो भन्दै त्यसको नाम यहोवा-निस्सी* राखे: १६ “अमालेकीहरूले याहको+ सिंहासनविरुद्ध हात उठाएकोले उनीहरूले पुस्तौँपुस्तासम्म यहोवा परमेश्‍वरसित लड्‌नुपर्नेछ।”+

१८ मोसाका ससुरा यिथ्रो मिद्यानका पुजारी थिए।+ तिनले मोसा र इस्राएलीहरूको निम्ति यहोवा परमेश्‍वरले के-के गर्नुभयो अनि उहाँले तिनीहरूलाई मिश्रबाट कसरी ल्याउनुभयो भनेर सुने।+ २ मोसाले आफ्नी पत्नी सिप्पोरालाई माइत पठाएकोले यिथ्रोले आफ्नी छोरीलाई आफूसँगै राखेका थिए। ३ मोसाले दुई जना छोरालाई पनि सिप्पोरासँगै पठाएका थिए।+ तिनले जेठोको नाम गेर्सोम* राखेका थिए+ किनभने तिनले यसो भनेका थिए, “म यस विदेशी भूमिमा प्रवासी भएर बसेको छु।” ४ अनि तिनले कान्छोको नाम एलिएजर* राखेका थिए किनभने तिनले यसो भनेका थिए, “मेरा पुर्खाका परमेश्‍वर मेरा मदतगार हुनुहुन्छ। उहाँले मलाई फारोको तरबारबाट बचाउनुभयो।”+

५ यिथ्रो मोसालाई भेट्‌न निर्जनभूमि गए। तिनले सिप्पोरा र उनका छोराहरूलाई पनि आफूसँगै लगे। त्यतिबेला मोसा साँचो परमेश्‍वरको डाँडामा पाल टाँगेर बसेका थिए।+ ६ यिथ्रोले तिनीकहाँ यस्तो खबर पठाए: “म तपाईँको ससुरा यिथ्रो,+ मेरी छोरी र दुई नाति लिएर तपाईँकहाँ आउँदै छु।” ७ यो खबर पाउनेबित्तिकै मोसा आफ्नो ससुरालाई भेट्‌न गए। तिनले यिथ्रोलाई ढोगे र म्वाइँ खाए।* तिनीहरूले भलाकुसारी गरे। त्यसपछि सबै जना पालभित्र पसे।

८ यहोवा परमेश्‍वरले इस्राएलीहरूलाई बचाउन फारो र मिश्रीहरूलाई के-के गर्नुभयो,+ यात्राको दौडान तिनीहरूले के-कस्ता दुःख भोग्नुपऱ्‍यो+ र यहोवा परमेश्‍वरले कसरी तिनीहरूलाई छुटकारा दिनुभयो, ती सबै मोसाले आफ्नो ससुरालाई बेलीबिस्तार लगाए। ९ इस्राएलीहरूलाई मिश्रीहरूको हातबाट छुटाउन यहोवा परमेश्‍वरले गर्नुभएका असल कामहरूबारे सुनेपछि यिथ्रो असाध्यै खुसी भए। १० त्यसपछि यिथ्रोले यसो भने: “यहोवा परमेश्‍वरको जय होस्‌, जसले तपाईँलाई मिश्र र फारोबाट बचाउनुभयो अनि इस्राएलीहरूलाई मिश्रीहरूको हातबाट मुक्‍त गर्नुभयो। ११ अब मैले बुझेँ, यहोवा परमेश्‍वर अरू सबै देवीदेवताभन्दा महान्‌ हुनुहुन्छ+ किनभने आफ्ना जनहरूमाथि घोर अत्याचार गर्नेहरूलाई उहाँले बाँकी राख्नुभएन।” १२ त्यसपछि मोसाको ससुरा यिथ्रोले परमेश्‍वरको निम्ति अग्निभेटी र पशुबलि ल्याए। अनि हारुन र इस्राएलका सबै नाइके मोसाका ससुरा यिथ्रोकहाँ गए र साँचो परमेश्‍वरसामु भोजन गरे।

१३ सदाझैँ भोलिपल्ट मोसा मानिसहरूको निसाफ गर्न बसे। बिहानदेखि बेलुकीसम्म मोसाकहाँ मानिसहरू आइरहे। १४ मोसाले मानिसहरूको निम्ति गरिरहेको सबै काम देखेपछि तिनका ससुरा यिथ्रोले भने: “तपाईँ एक्लैले किन यो सब गर्दै हुनुहुन्छ? बिहानदेखि बेलुकीसम्म मानिसहरू आएको आएकै छन्‌।” १५ मोसाले आफ्ना ससुरालाई भने: “मानिसहरू परमेश्‍वरको डोऱ्‍याइ खोज्न मकहाँ आउँछन्‌। १६ साथै कुनै मुद्दामामिला सुल्झाउनुपऱ्‍यो भने पनि तिनीहरू मकहाँ आउँछन्‌ र मैले तिनीहरूको निसाफ गरिदिनुपर्छ। अनि म तिनीहरूलाई साँचो परमेश्‍वरको फैसला र उहाँका नियमहरू बताउँछु।”+

१७ मोसाका ससुराले तिनलाई भने: “तपाईँको यो तरिका ठीक भएन। १८ यसो गर्नुभयो भने त तपाईँ पक्कै थाक्नुहुनेछ। तपाईँ मात्र होइन, यी मानिसहरू पनि थाक्नेछन्‌। किनकि यो तपाईँ एक्लैले बोक्न सक्ने बोझ होइन। १९ अब मेरो कुरा सुन्‍नुहोस्‌! म तपाईँलाई एउटा सल्लाह दिन्छु र यो कुरामा परमेश्‍वरले पनि तपाईँलाई साथ दिनुहुनेछ।+ तपाईँ अहिलेजस्तै मानिसहरूको प्रतिनिधि भएर साँचो परमेश्‍वरसामु जानुहोस्‌+ र तिनीहरूका समस्या उहाँकहाँ लैजानुहोस्‌।+ २० तिनीहरूलाई अहिलेजस्तै सबै नीतिनियम बताउनुहोस्‌+ अनि तिनीहरू कुन बाटोमा हिँड्‌नुपर्ने हो अनि तिनीहरूले के-के गर्नुपर्ने हो, त्यो पनि सिकाउनुहोस्‌। २१ साथै इस्राएलीहरूमाझबाट परमेश्‍वरको डर राख्ने, भरोसायोग्य र बेइमानी गरेर केही पाउन लोभ नगर्ने+ योग्य पुरुषहरू छान्‍नुहोस्‌।+ तपाईँले तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचास अनि दस-दस जनाको समूहमाथि नाइके नियुक्‍त गर्नुहोस्‌।+ २२ त्यसपछि तिनीहरूले नै हरेक पटक मानिसहरूको मुद्दामामिला सुल्झाऊन्‌। ससाना मामिला तिनीहरू आफैले सुल्झाऊन्‌ तर गम्भीर मामिलाहरू भने तपाईँकहाँ ल्याऊन्‌।+ यसरी तिनीहरूसित काम बाँडेर आफ्नो बोझ हल्का बनाउनुहोस्‌।+ २३ यदि तपाईँले यसो गर्नुभयो र परमेश्‍वर पनि यही चाहनुहुन्छ भने तपाईँलाई आफ्नो भार उठाउन सजिलो हुनेछ र निसाफ पाउन आएकाहरू पनि खुसी हुँदै फर्कनेछन्‌।”

२४ मोसाले तुरुन्तै आफ्नो ससुराको सल्लाह स्विकारे; ससुराले भनेको सबै कुरा तिनले माने। २५ मोसाले इस्राएलीहरूमाझबाट योग्य पुरुषहरू छाने अनि तिनीहरूलाई हजार-हजार, सय-सय, पचास-पचास अनि दस-दस जनाको समूहमाथि नाइके नियुक्‍त गरे। २६ तिनीहरूले नै मानिसहरूको मामिला सुल्झाउँथे। ससाना मामिला तिनीहरू आफैले सुल्झाउँथे तर गम्भीर मामिलाहरू भने मोसाकहाँ लैजान्थे।+ २७ त्यसपछि मोसाले आफ्नो ससुरालाई बिदाबारी गरे+ र यिथ्रो आफ्नो देश फर्के।

१९ मिश्रबाट निस्केको तीन महिनापछि इस्राएलीहरू सिनै निर्जनभूमिमा आइपुगे। २ तिनीहरू त्यही दिन रेफिदिमबाट हिँडेका थिए+ अनि सिनै निर्जनभूमिमा आइपुगेका थिए। त्यहाँ आइपुगेपछि तिनीहरू डाँडाअगाडि पाल टाँगेर बसे।+

३ अनि मोसा साँचो परमेश्‍वरलाई भेट्‌न डाँडामा उक्ले। यहोवा परमेश्‍वरले त्यहाँबाट तिनलाई यसो भन्‍नुभयो:+ “तिमीले याकुबको घराना र इस्राएलीहरूलाई यसो भन, ४ ‘मैले मिश्रीहरूलाई के गरेँ+ अनि चीलले आफ्नो बचेरालाई पखेटामा बोकेझैँ मैले तिमीहरूलाई कसरी बोकेर ल्याएँ, त्यो तिमीहरूले देखेका छौ।+ ५ यदि तिमीहरूले मैले भनेको सबै कुरा मान्यौ र मेरो करारअनुसार चल्यौ भने सबै जातिमध्ये तिमीहरू मेरो विशेष सम्पत्ति* हुनेछौ+ किनकि सारा पृथ्वी मेरै हो।+ ६ तिमीहरू मेरो लागि पुजारीहरूको राज्य र पवित्र जाति हुनेछौ।’+ तिमीले इस्राएलीहरूलाई भन्‍नुपर्ने कुरा यी नै हुन्‌।”

७ अनि मोसा ओर्ले र इस्राएलका नाइकेहरूलाई भेला गरेर यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएका सबै कुरा तिनीहरूलाई सुनाए।+ ८ त्यसपछि सबैले एकै स्वरमा यसो भने: “यहोवा परमेश्‍वरले भन्‍नुभएका सबै कुरा मान्‍न हामी तयार छौँ।”+ इस्राएलीहरूको यो जवाफ सुनाउन मोसा तुरुन्तै यहोवा परमेश्‍वरसामु गए। ९ अनि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “हेर! मैले तिमीसित कुरा गर्दा मानिसहरूले सुनून्‌ र तिनीहरूले तिमीलाई पनि सधैँ भरोसा गरून्‌ भनेर म बाक्लो बादलमा तिमीकहाँ आउनेछु।” त्यसपछि मोसाले इस्राएलीहरूले भनेका कुरा यहोवा परमेश्‍वरलाई सुनाए।

१० त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “इस्राएलीहरूकहाँ जाऊ अनि तिनीहरूलाई आज र भोलि नुहाएर आफूलाई चोखो पार्न अनि आफ्नो लुगा पनि धुन लगाऊ। ११ अनि तेस्रो दिनको लागि तिनीहरूले आफूलाई तयार पारून्‌ किनकि त्यो दिन यहोवा परमेश्‍वर सबै मानिसको अगाडि सिनै डाँडामा आउनुहुनेछ। १२ मानिसहरू डाँडाको कतिसम्म नजिक आउन सक्छन्‌, तिमीले सीमा तोक्नू र तिनीहरूलाई यसो भन्‍नू, ‘तिमीहरू यो डाँडा नचढ्‌नू र यसको फेदमा समेत पाइला नटेक्नू। यस डाँडामा जसले पाइला टेक्छ, ऊ पक्कै मारिनेछ। १३ उसलाई कसैले नछुनू। बरु उसलाई छेडेर* वा ढुङ्‌गाले हानेर मार्नू। मानिस होस्‌ वा पशु, त्यसलाई जिउँदो नछोड्‌नू।’+ तर सिङ* फुकेको आवाज सुनेपछि भने+ तिनीहरू डाँडाको नजिक आउन सक्छन्‌।”

१४ त्यसपछि मोसा डाँडाबाट ओर्ले अनि मानिसहरूलाई नुहाएर चोखो हुन र आ-आफ्नो लुगा धुन लगाए।+ १५ तिनले मानिसहरूलाई भने: “तेस्रो दिनको लागि तयार हुनू। कुनै स्त्रीसित यौनसम्बन्ध नराख्नू।”

१६ तेस्रो दिन बिहान मेघ गर्ज्यो, बिजुली चम्क्यो र डाँडामा कालो बादल मडारिन थाल्यो।+ अनि सिङ फुकेको ठूलो आवाज पनि सुनियो। यो देखेर छाउनीमा भएका सबै मानिस डरले थरथर काम्न थाले।+ १७ इस्राएलीहरूलाई साँचो परमेश्‍वरसित भेट गराउन मोसाले तिनीहरूलाई छाउनीबाहिर ल्याए अनि तिनीहरू डाँडाको फेदमा उभिए। १८ यहोवा परमेश्‍वर आगोमा ओर्लेर आउनुभएकोले सिनै डाँडालाई धुवाँले डम्म ढाक्यो+ र त्यहाँ इँटाभट्टाबाट जस्तै धुवाँको मुस्लो निस्किरहेको थियो। अनि पूरै डाँडा बेसरी हल्लिरहेको थियो।+ १९ सिङ फुकेको आवाज झन्‌झन्‌ चर्को हुँदै गएपछि मोसा बोल्न थाले र साँचो परमेश्‍वरले तिनलाई जवाफ दिनुभयो।

२० यसरी यहोवा परमेश्‍वर सिनै डाँडाको टाकुरामा ओर्लनुभयो। त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई टाकुरामा बोलाउनुभयो र मोसा त्यहाँ गए।+ २१ तब यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “तल जाऊ अनि मानिसहरूलाई जबरजस्ती माथि उक्लेर म यहोवालाई हेर्न नखोज्नू भनी होसियार गराऊ नत्र धेरै जना मर्नेछन्‌। २२ अनि यहोवा परमेश्‍वरसामु आइरहने पुजारीहरूले पनि आफूलाई चोखो पारून्‌ नत्र यहोवा परमेश्‍वरले तिनीहरूलाई दण्ड दिनुहुनेछ।”+ २३ त्यसपछि मोसाले यहोवा परमेश्‍वरलाई भने: “मानिसहरू सिनै डाँडा उक्लन सक्दैनन्‌ किनकि तपाईँले हामीलाई पहिल्यै यस्तो चेतावनी दिइसक्नुभएको थियो, ‘मानिसहरू डाँडाको कतिसम्म नजिक आउन सक्छन्‌, सीमा तोक्नू र यसलाई पवित्र पार्नू।’”+ २४ यहोवा परमेश्‍वरले तिनलाई भन्‍नुभयो: “तल गएर हारुनलाई पनि माथि लिएर आऊ। तर पुजारीहरू र मानिसहरूचाहिँ म यहोवाकहाँ जबरजस्ती आउन नखोजून्‌ नत्र त म तिनीहरूलाई दण्ड दिनेछु।”+ २५ त्यसैले तल ओर्लेर मोसाले मानिसहरूलाई यो कुरा बताइदिए।

२० त्यसपछि परमेश्‍वरले इस्राएलीहरूलाई यी कुराहरू भन्‍नुभयो:+

२ “तिमीहरूलाई दासत्वको घर—मिश्रबाट छुटाएर ल्याउने म यहोवा तिमीहरूका परमेश्‍वर हुँ।+ ३ तिमीहरूले मबाहेक अरू कुनै देवीदेवतालाई नमान्‍नू।+

४ “तिमीहरूले आफ्नो लागि कुनै मूर्ति नबनाउनू; माथि आकाशमा, तल पृथ्वीमा अथवा पानीमुनि भएको कुनै पनि कुराको प्रतिमा नबनाउनू।+ ५ तिमीहरूले तिनीहरूलाई नढोग्नू वा अरूको लहलहैमा लागेर तिनीहरूलाई नपुज्नू+ किनकि म यहोवा तिमीहरूका परमेश्‍वर मबाहेक अरू कसैको भक्‍ति गरिएको सहँदिनँ।+ जसले मलाई घृणा गर्छ, त्यसले गरेको गल्तीको सजाय म त्यसका छोराहरू, नातिहरू र पनातिहरूलाई समेत दिनेछु। ६ तर मलाई प्रेम गर्ने र मेरो आज्ञा पालन गर्नेहरूलाई म तिनीहरूको हजारौँ पुस्तासम्म अटल प्रेम देखाउनेछु।+

७ “तिमीहरूले यहोवा आफ्ना परमेश्‍वरको नाम व्यर्थमा नलिनू+ किनकि उहाँको नाम व्यर्थमा लिनेलाई यहोवा परमेश्‍वरले सजाय नदिई छोड्‌नुहुन्‍न।+

८ “विश्रामदिन* मनाउन नबिर्सनू र त्यसलाई पवित्र मान्‍नू।+ ९ तिमीहरूले छ दिनसम्म मेहनत गरेर आफ्नो सबै काम सिद्‌ध्याउनू।+ १० तर सातौँ दिन भने यहोवा परमेश्‍वरको लागि अलग्गै छुट्ट्याइएको विश्रामदिन हो। त्यो दिन तिमीहरूले, तिमीहरूका छोरा वा छोरीले, तिमीहरूका दास वा दासीले, तिमीहरूका घरपालुवा जनावरले वा तिमीहरूको बस्तीमा बस्ने कोही पनि विदेशीले कुनै काम नगर्नू।+ ११ किनकि यहोवा परमेश्‍वरले छ दिनमा आकाश, पृथ्वी, समुद्र र त्यसमा भएका सबै थोक बनाउनुभयो अनि सातौँ दिनदेखि विश्राम गर्न थाल्नुभयो।+ त्यसैले यहोवा परमेश्‍वरले विश्रामदिनलाई आशिष्‌ दिनुभयो र त्यसलाई पवित्र ठहराउनुभयो।

१२ “तिमीहरूले आफ्नो बुबा र आमाको आदर गर्नू;+ यसो गऱ्‍यौ भने यहोवा परमेश्‍वरले तिमीहरूलाई दिनुहुने भूमिमा तिमीहरू दीर्घायु हुनेछौ।+

१३ “तिमीहरूले हत्या नगर्नू।+

१४ “तिमीहरूले व्यभिचार* नगर्नू।+

१५ “तिमीहरूले चोरी नगर्नू।+

१६ “तिमीहरूले आफ्नो छिमेकीको विरुद्धमा झूटो साक्षी नदिनू।+

१७ “तिमीहरूले आफ्नो छिमेकीको घरको लोभ नगर्नू। छिमेकीकी पत्नी,+ तिनको दास वा दासी, तिनको गोरु, गधा वा तिनको कुनै पनि कुराको लोभ नगर्नू।”+

१८ त्यतिबेला इस्राएलीहरूले मेघ गर्जेको, बिजुली चम्केको, सिङ फुकेको र डाँडाबाट धुवाँको मुस्लो निस्केको देखिरहेका थिए। तिनीहरू डरले थरथर कामे र टाढै उभिरहे।+ १९ तिनीहरूले मोसालाई भने: “हामीसित तपाईँ नै बोल्नुहोस्‌ र हामी तपाईँको कुरा सुन्‍नेछौँ। परमेश्‍वर आफैचाहिँ हामीसित नबोलून्‌ भनेर बिन्ती गरिदिनुहोस्‌ नत्र हामी मर्नेछौँ।”+ २० अनि मोसाले मानिसहरूलाई भने: “नडराओ! तिमीहरूले सधैँभरि परमेश्‍वरको डर मान र पाप नगर भनेर+ उहाँ तिमीहरूलाई जाँच्न आउनुभएको हो।”+ २१ त्यसैले इस्राएलीहरू टाढै उभिरहे तर मोसा भने साँचो परमेश्‍वर उपस्थित हुनुभएको बाक्लो बादलको नजिकै गए।+

२२ तब यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “तिमीले इस्राएलीहरूलाई यसो भन, ‘मैले तिमीहरूसित स्वर्गबाट बोलेको प्रमाण तिमीहरू आफैले देख्यौ।+ २३ तिमीहरूले सुन वा चाँदीको मूर्ति नबनाउनू; मबाहेक अरू कसैको उपासना नगर्नू।+ २४ तिमीहरूले मेरो लागि माटोको वेदी बनाउनू र आफ्नो भेडाबाख्रा र गाईवस्तुबाट अग्निभेटी र मेलबलि* चढाउनू। मेरो नामको सम्झना गर्न म जुन-जुन ठाउँ रोज्छु,+ त्यहाँ-त्यहाँ म आउनेछु र तिमीहरूलाई आशिष्‌ दिनेछु। २५ यदि तिमीहरूले मेरो निम्ति ढुङ्‌गाको वेदी बनायौ भने कुँदेको ढुङ्‌गा प्रयोग नगर्नू+ किनकि ढुङ्‌गा कुँद्‌न औजार प्रयोग गऱ्‍यौ भने वेदी अपवित्र हुनेछ। २६ मेरो वेदीमा उक्लन खुड्‌किलाहरू नबनाउनू नत्र तिमीहरूको लाज* देखिनेछ।’

२१ “तिमीले इस्राएलीहरूलाई मेरा यी फैसलाहरू सुनाउनू:+

२ “तिमीहरूले हिब्रू दास किन्यौ भने+ उसले छ वर्षसम्म सेवा गरोस्‌। तर सातौँ वर्षमा कुनै दाम नलिई उसलाई स्वतन्त्र छोडिदिनू।+ ३ यदि ऊ एक्लै आएको थियो भने एक्लै जाओस्‌। तर ऊसँग उसकी पत्नी पनि सँगै छ भने उसले आफ्नी पत्नीलाई आफूसितै लैजाओस्‌। ४ यदि मालिकले उसलाई पत्नी ल्याइदिएको हो र उसकी पत्नीले छोराछोरी जन्माइ भने त्यो पत्नी र छोराछोरी मालिककै हुनेछन्‌। तर त्यो दास भने स्वतन्त्र भएर एक्लै जाओस्‌।+ ५ तर त्यस दासले ‘म मेरो मालिक, मेरी पत्नी अनि छोराछोरीलाई माया गर्छु; त्यसैले म स्वतन्त्र हुन चाहन्‍नँ’ भन्छ भने+ ६ उसको मालिकले उसलाई साँचो परमेश्‍वरसामु ल्याओस्‌ अनि ढोका वा ढोकाको चौकोसमा ल्याएर सियोले* उसको कान छेडोस्‌। त्यसपछि ऊ जिन्दगीभर त्यस मालिकको दास हुनेछ।

७ “कुनै मानिसले आफ्नी छोरीलाई दासीको रूपमा बेचेमा त्यो दासी पुरुष दासजस्तै स्वतन्त्र भएर जान पाउनेछैन। ८ मालिकले उसलाई मन पराएन र उसलाई उपपत्नी बनाउन चाहेन भने त्यस मालिकले उसलाई अरूको हातमा बेच्न सक्छ तर विदेशीको हातमा भने बेच्न पाउँदैन किनकि आफ्नी उपपत्नी नबनाएर मालिकले त्यस दासीलाई धोका दियो। ९ मालिकले त्यस दासीलाई आफ्नो छोरासित विवाह गरिदिएमा उसलाई छोरीले पाउने हक दिनुपर्छ। १० तर उसले* अर्की पत्नी ल्याएमा जेठी पत्नीलाई भोजन, लुगाफाटा र पत्नीलाई दिनुपर्ने हक*+ दिन नछोडोस्‌। ११ उसले जेठी पत्नीलाई यी तीन वटा कुरा नदिएमा कुनै मोल नतिरी त्यो स्त्री स्वतन्त्र हुन सक्छे।

१२ “कसैले कुनै मानिसलाई हिर्कायो र ऊ मऱ्‍यो भने त्यसलाई पनि मार्नै पर्छ।+ १३ उसले त्यस मानिसलाई जानाजानी मारेको होइन तर साँचो परमेश्‍वरले नै त्यस्तो हुन दिनुभएको हो भने ऊ भागेर जानको लागि म एउटा ठाउँ तोकिदिनेछु।+ १४ तर कुनै मानिस आफ्नो छिमेकीसित रिसले चूर भयो र छल गरेर उसलाई माऱ्‍यो भने+ त्यसले मेरो वेदीमा शरण लिए पनि त्यसलाई मार्नै पर्छ।+ १५ जसले आफ्नो बुबा वा आमालाई हिर्काउँछ, उसलाई मार्नै पर्छ।+

१६ “यदि कसैले कुनै मानिसलाई अपहरण गरेर+ बेच्यो अथवा त्यो मानिस अपहरणकारीसँगै फेला पऱ्‍यो भने+ त्यस अपहरणकारीलाई मार्नै पर्छ।+

१७ “जसले आफ्नो बुबा वा आमालाई सराप्छ, उसलाई मार्नै पर्छ।+

१८ “झगडा गर्दा एउटाले अर्कोलाई ढुङ्‌गाले वा मुक्काले* हिर्कायो र ऊ मर्न त मरेन तर ओछ्यान पऱ्‍यो १९ अनि ऊ फेरि उठेर लौरोको सहायताले बाहिर यताउता हिँडडुल गर्न सक्ने भयो भने उसलाई हिर्काउने मानिस सजायबाट मुक्‍त हुनेछ। तर ऊ थला परेर पूरा निको नहोउन्जेल काममा नगएर उसले जति नोक्सानी बेहोर्नुपऱ्‍यो, त्यसको क्षतिपूर्ति भने हिर्काउने मानिसले तिरोस्‌।

२० “कसैले आफ्नो दास वा दासीलाई लट्ठीले हिर्कायो र ऊ त्यसको हातबाट मऱ्‍यो भने हिर्काउनेले सजाय पाउनै पर्छ।+ २१ तर ऊ एकदुई दिन बाँच्यो भने हिर्काउनेले सजाय नपाओस्‌ किनभने उसले त्यस दास वा दासीलाई दाम तिरेर किनेको हो।

२२ “मानिसहरू आपसमा झगडा गर्दा गर्भवती स्त्रीलाई चोट लाग्यो र उसले महिना नपुगी बच्चा जन्माई+ तर आमा र बच्चाको ज्यान गएन* भने पनि चोट पुऱ्‍याउने मानिसले त्यस स्त्रीको पतिले मागेअनुसार क्षतिपूर्ति तिरोस्‌; त्यो क्षतिपूर्ति न्यायकर्ताहरूले तोकेअनुसारको होस्‌।+ २३ तर आमा र बच्चामध्ये कसैको ज्यान गयो भने ज्यानको साटो ज्यान,+ २४ त्यसैगरि आँखाको साटो आँखा, दाँतको साटो दाँत, हातको साटो हात, खुट्टाको साटो खुट्टा,+ २५ डामको साटो डाम, चोटको साटो चोट अनि कुटाइको साटो कुटाइ होस्‌।

२६ “कुनै मानिसले आफ्नो दास वा दासीको आँखामा हिर्काएर उसको आँखा फुटाइदियो भने त्यो आँखाको क्षतिपूर्तिस्वरूप उसलाई स्वतन्त्र भएर जान देओस्‌।+ २७ त्यसले आफ्नो दास वा दासीको दाँत झारिदियो भने त्यो दाँतको क्षतिपूर्तिस्वरूप उसलाई स्वतन्त्र भएर जान देओस्‌।

२८ “गोरुले कुनै पुरुष वा स्त्रीलाई हानेर माऱ्‍यो भने त्यस गोरुलाई ढुङ्‌गाले हानेर मार्नू+ र त्यसको मासु नखानू; गोरुको मालिकलाई भने सजाय नदिइयोस्‌। २९ तर गोरुको पहिल्यैदेखि हान्‍ने बानी थियो र मालिकलाई खबर गरेको भए तापनि उसले आफ्नो गोरुलाई बाँधेर राखेन र त्यसले कुनै पुरुष वा स्त्रीलाई हानेर माऱ्‍यो भने गोरुलाई ढुङ्‌गाले हानेर मार्नू र त्यसको मालिकलाई पनि मार्नू। ३० तर गोरुको मालिकबाट फिरौती* मागिएको हो भने उसको ज्यानको फिरौतीस्वरूप जति रकम मागिएको हो, तिनले तिर्नुपर्छ। ३१ गोरुले सानो केटा वा सानी केटीलाई हानेर माऱ्‍यो भने पनि गोरुको मालिकलाई यही नियम लागू हुन्छ। ३२ यदि त्यस गोरुले कसैको दास वा दासीलाई हानेर माऱ्‍यो भने गोरुको मालिकले त्यस दासको मालिकलाई ३० शेकेल* तिरोस्‌ र त्यस गोरुलाई चाहिँ ढुङ्‌गाले हानेर मारियोस्‌।

३३ “कसैले खाल्टो खनेर खुल्लै छोड्‌यो अथवा त्यसलाई छोपेन अनि त्यसमा गोरु वा गधा खस्यो भने ३४ त्यो खाल्टो जसको हो, उसले क्षतिपूर्ति तिरोस्‌।+ उसले गोरु वा गधाको मालिकलाई पैसा तिरोस्‌। त्यसपछि त्यो मरेको जनावर उसको हुनेछ। ३५ यदि कसैको गोरुले अर्काको गोरुलाई हानेर माऱ्‍यो भने तिनीहरूले जिउँदो गोरु बेचून्‌ र पैसा बराबर बाँडून्‌; त्यो मरेको गोरुचाहिँ दुई जनाले बराबर भाग लगाऊन्‌। ३६ तर गोरुको हान्‍ने बानी छ भनेर थाह हुँदाहुँदै पनि मालिकले त्यसलाई बाँधेर राखेन र त्यसले अर्को गोरुलाई हानेर माऱ्‍यो भने त्यस मालिकले गोरुको साटो गोरु देओस्‌। तर त्यो मरेको गोरु भने उसको हुनेछ।

२२ “कुनै मानिसले गोरु वा भेडा चोरेर त्यसलाई माऱ्‍यो वा बेच्यो भने त्यसको क्षतिपूर्तिस्वरूप उसले एउटा गोरुको सट्टा पाँच वटा गोरु र एउटा भेडाको सट्टा चार वटा भेडा देओस्‌।+

२ (“कुनै चोर+ घर फोरिरहेको अवस्थामा फेला पऱ्‍यो र त्यसलाई हिर्काउँदा त्यो मऱ्‍यो भने हिर्काउने व्यक्‍तिलाई रगतको दोष लाग्नेछैन। ३ तर यस्तो घटना घाम झुल्केपछि भएको हो भने हिर्काउने व्यक्‍तिलाई रगतको दोष लाग्नेछ।)

“चोरले क्षतिपूर्ति तिर्नै पर्छ। उसले क्षतिपूर्ति तिर्न सकेन भने चोरेको कुराको बदलामा उसले आफूलाई दासको रूपमा बेचोस्‌। ४ चोरेको जनावर ऊसँग जिउँदै भेटिएमा चाहे त्यो गोरु, गधा वा भेडा नै किन नहोस्‌, उसले त्यसको दोबर क्षतिपूर्ति तिर्नुपर्छ।

५ “कसैले आफ्नो पशुलाई खेत वा अङ्‌गुर बगानमा चराउँदा त्यसलाई अर्काको खेतमा गएर चर्न दियो भने उसले आफ्नो खेत वा अङ्‌गुर बगानको सबैभन्दा असल उब्जनी क्षतिपूर्तिस्वरूप देओस्‌।

६ “कसैले आगो बाल्दा त्यो आगो छेउछाउको झाडीसम्म फैलियो र त्यसले अन्‍नको बिटा, खेतको अन्‍न वा पूरै खेत सखाप पाऱ्‍यो भने जसले आगो बालेको हो, उसैले त्यसको क्षतिपूर्ति तिरोस्‌।

७ “कुनै मानिसले आफ्नो छिमेकीलाई पैसा अथवा सरसामान राख्न दियो तर उसको घरबाट ती कुराहरू चोरी भयो र त्यो चोर पक्राउ पऱ्‍यो भने त्यस चोरले दोबर क्षतिपूर्ति तिरोस्‌।+ ८ चोर पक्राउ परेन भने त्यो छिमेकीले नै त्यो सरसामान लिन खोजेको हो कि होइन भनेर पक्का गर्न उसलाई साँचो परमेश्‍वरसामु ल्याइयोस्‌।+ ९ चोरिएको जुनसुकै चिज, चाहे त्यो गोरु, गधा, भेडा, लुगा वा जेसुकै होस्‌, दुवै पक्षले ‘यो मेरो हो!’ भनी दाबी गरेमा दुवैले आफ्नो मामिला साँचो परमेश्‍वरसामु ल्याऊन्‌।+ परमेश्‍वरले जसलाई दोषी ठहराउनुहुन्छ, उसले अर्को पक्षलाई दोबर क्षतिपूर्ति तिरोस्‌।+

१० “कुनै मानिसले आफ्नो छिमेकीलाई गधा, गोरु, भेडा वा अरू कुनै पाल्तु पशु राख्न दियो तर कसैले नदेखेको बेला त्यो पशु मऱ्‍यो, अङ्‌गभङ्‌ग भयो वा कसैले लिएर गयो भने ११ त्यो पशु राखिदिने व्यक्‍तिले छिमेकीको पशु आफूले लिएको होइन वा त्यसलाई आफूले केही गरेको छैन भनेर यहोवा परमेश्‍वरसामु कसम खाओस्‌ अनि पशुको मालिकले त्यो कुरा स्वीकार गरोस्‌। छिमेकीको पशु राखिदिने व्यक्‍तिले त्यसको क्षतिपूर्ति तिर्नुपर्दैन।+ १२ तर उसको लापर्बाहीले गर्दा त्यो पशु चोरिएको हो भने उसले पशुको मालिकलाई क्षतिपूर्ति तिरोस्‌। १३ यदि जङ्‌गली जनावरले त्यस पशुलाई मारेको हो भने उसले प्रमाणको रूपमा त्यसको सिनु ल्याओस्‌। जङ्‌गली जनावरले मारेको पशुको क्षतिपूर्ति उसले तिर्नुपर्दैन।

१४ “कुनै मानिसले आफ्नो छिमेकीको पशु पैँचो लियो तर त्यसको मालिक नभएको बेला त्यो अङ्‌गभङ्‌ग भयो वा मऱ्‍यो भने पैँचो लिने व्यक्‍तिले त्यसको क्षतिपूर्ति तिरोस्‌। १५ तर पशु अङ्‌गभङ्‌ग हुँदा वा त्यो मर्दा त्यसको मालिक पनि सँगै थियो भने पैँचो लिनेले क्षतिपूर्ति तिर्नुपर्दैन। यदि त्यो पशु पैसा तिरेर भाडामा ल्याइएको हो भने त्यो पैसा नै त्यसको क्षतिपूर्ति होस्‌।

१६ “कुनै पुरुषले मगनी नभएकी कन्यालाई फकायो र ऊसित सुत्यो भने उसले दाम तिरेर उसलाई आफ्नी पत्नी बनाओस्‌।+ १७ दुलहीको बुबाले आफ्नी छोरी दिन पटक्कै मानेन भने पनि त्यस मानिसले दाम तिर्नुपर्छ।

१८ “तिमीहरूले तन्त्रमन्त्र गर्ने स्त्रीलाई जीवित नराख।+

१९ “जसले पशुसित सम्भोग गर्छ, त्यो मारिनै पर्छ।+

२० “जसले यहोवा परमेश्‍वरबाहेक अरू देवीदेवतालाई बलि चढाउँछ, ऊ मारियोस्‌।+

२१ “तिमीहरूले विदेशीलाई दुर्व्यवहार वा थिचोमिचो नगर+ किनकि मिश्रमा तिमीहरू पनि विदेशी नै थियौ।+

२२ “तिमीहरूले विधवा वा अनाथलाई* नसताओ।+ २३ तिमीहरूले उसलाई सतायौ र उसले मलाई पुकाऱ्‍यो भने म उसको पुकारा अवश्‍य सुन्‍नेछु+ २४ अनि मेरो क्रोध दन्कनेछ र म तिमीहरूलाई तरबारले मार्नेछु। तिमीहरूका पत्नी विधवा हुनेछन्‌ र तिमीहरूका छोराछोरी अनाथ हुनेछन्‌।

२५ “तिमीहरूले मेरा गरिब* जनहरूलाई ऋण दियौ भने ऊसित साहुले जस्तो व्यवहार नगर। ऊसित कुनै हालतमा ब्याज नलेओ।+

२६ “तिमीहरूले आफ्नो छिमेकीलाई ऋण दिँदा उसको ओढ्‌ने बन्धकी लियौ भने+ घाम डुब्नुअघि नै फर्काइदेओ। २७ किनकि आफ्नो जीउ ढाक्न ऊसित त्यो ओढ्‌नेबाहेक अरू केही छैन; त्यो पनि भएन भने ऊ कसरी सुत्ला?+ म दयालु* छु, त्यसैले उसको पुकारा पक्कै सुन्‍नेछु।+

२८ “तिमीहरूले परमेश्‍वरलाई+ वा तिमीहरूको कुलनायकलाई* नसराप।*+

२९ “तिमीहरूको खेतबारीमा प्रशस्त उब्जनी भयो अनि तिमीहरूको कोलमा अङ्‌गुरको रस र तेलको छेलोखेलो भयो भने त्यसको केही भाग मलाई चढाउन आनाकानी नगर।+ तिमीहरूको पहिलो सन्तान मलाई अर्पण गर।+ ३० तिमीहरूले पहिले जन्मेको बाछो र पाठोलाई चाहिँ यसो गर:+ सात दिनसम्म त्यसलाई आफ्नो माउसितै राख अनि आठौँ दिनमा मलाई अर्पण गर।+

३१ “तिमीहरू मेरो निम्ति पवित्र मानिसहरू हौ भनेर कहिल्यै नबिर्सनू।+ त्यसैले जङ्‌गली जनावरले लुछेर मारेको पशुको मासु नखाओ।+ त्यो कुकुरहरूको निम्ति फ्याँकिदेओ।

२३ “तिमीहरूले झूटो हल्ला नफैलाउनू।+ अरूको बदनाम गर्न झूटो साक्षी दिएर दुष्टलाई साथ नदिनू।+ २ मानिसहरूको लहलहैमा लागेर खराब काम नगर्नू। मुद्दामामिलामा बहुमतको पक्ष लिएर साँचोलाई झूटो अनि झूटोलाई साँचो नभन्‍नू। ३ कुनै गरिबको मुद्दाको फैसला गर्दा तिमीले पक्षपात नगर्नू।+

४ “तिमीहरूका शत्रुको गोरु वा गधा बरालिएको देख्यौ भने त्यसलाई उसको मालिककहाँ पुऱ्‍याइदिनू।+ ५ तिमीहरूलाई घृणा गर्ने मानिसको गधालाई भारीले थिचेको देख्यौ भने त्यसलाई बेवास्ता नगर्नू; उसलाई आफ्नो गधा उठाउन मदत गर्नू।+

६ “मुद्दामामिला छिनोफानो गर्दा नियम बङ्‌ग्याएर गरिबलाई अन्याय नगर्नू।+

७ “अरूलाई झूटो आरोप लगाउने काममा नमुछिनू अनि निर्दोष र धर्मी व्यक्‍तिलाई नमार्नू किनभने म दोषीलाई निर्दोष ठहराउँदिनँ।+

८ “घुस नलिनू किनभने घुसले इमानदार मानिसलाई समेत अन्धो बनाउँछ र धर्मी व्यक्‍तिलाई छली कुरा गर्न लगाउँछ।+

९ “विदेशीमाथि अत्याचार नगर्नू। विदेशीको जीवन कस्तो हुन्छ, तिमीहरू राम्ररी बुझ्न सक्छौ किनभने तिमीहरू पनि मिश्रमा विदेशी थियौ।+

१० “छ वर्षसम्म तिमीहरूले आफ्नो जमिनमा बिउ छर्नू र त्यसको उब्जनी बटुल्नू।+ ११ तर सातौँ वर्षमा चाहिँ आफ्नो खेत नजोत्नू र त्यसलाई बाँझै छोड्‌नू। तिमीहरूमाझ भएका गरिबहरूले तिमीहरूको खेतमा जे उब्जन्छ, ती खाऊन्‌ र त्यसपछि जे-जति बाँकी रहन्छ, त्योचाहिँ जङ्‌गली जनावरले खाऊन्‌। अङ्‌गुर बगान र जैतुन बगानलाई पनि त्यसै गर्नू।

१२ “छ दिनसम्म तिमीहरूले काम गर्नू तर सातौँ दिनमा चाहिँ विश्राम लिनू। यसो गर्दा तिमीहरूको गोरु अनि गधाले विश्राम पाउनेछन्‌। साथै तिमीहरूको घरमा काम गर्ने दासहरू र विदेशीहरूले पनि आराम गर्न पाउनेछन्‌।+

१३ “मैले भनेका सबै कुरा तिमीहरूले होसियार भई पालन गर्नू।+ तिमीहरूले अरू देवतालाई नपुकार्नू; तिमीहरूको मुखबाट तिनीहरूको नामसमेत ननिस्कोस्‌।+

१४ “तिमीहरूले वर्षमा तीन पल्ट मेरो निम्ति चाड मनाउनू।+ १५ तिमीहरूले अखमिरा रोटीको चाड* मनाउनू।+ मैले आज्ञा गरेझैँ तिमीहरूले सात दिनसम्म खमिर* नहालेको रोटी खानू।+ अबिब* महिनाको तोकिएको समयमा तिमीहरूले त्यो खानू किनभने त्यही महिना तिमीहरू मिश्रबाट निस्केर आएका थियौ। मकहाँ कोही पनि खाली हात नआओस्‌।+ १६ साथै तिमीहरूले आफ्नो परिश्रमको फल अर्थात्‌ आफ्नो उब्जनीको पहिलो फल चढाएर कटनीको चाड* मनाउनू+ अनि वर्षको अन्तमा आफ्नो परिश्रमको फल बटुल्दा बाली भित्र्याउने चाड* मनाउनू।+ १७ यसरी वर्षको तीन पल्ट सबै पुरुष साँचो परमेश्‍वर यहोवासामु हाजिर हुनू।+

१८ “मलाई चढाउने पशुबलिको रगतसँग खमिर हालेको कुनै पनि चिज नचढाउनू। अनि मेरो चाड मनाउनको लागि चढाएको बोसोलाई भोलिपल्ट बिहानसम्म रहन नदिनू।

१९ “तिमीहरूले आफ्नो पहिलो उब्जनीको सर्वोत्तम भाग यहोवा तिमीहरूका परमेश्‍वरको भवनमा लगेर चढाउनू।+

“तिमीहरूले बाख्राको पाठोको मासु त्यसको माउको दूधमा नउमाल्नू।+

२० “हेर, बाटोमा तिमीहरूको रक्षा गर्न र मैले तयार पारेको ठाउँसम्म पुऱ्‍याउन+ म तिमीहरूको अघिअघि एउटा स्वर्गदूत पठाउँदै छु।+ २१ तिमीहरूले उसको कुरा ध्यान दिएर सुन र उसले भनेको मान। ऊ मेरो नाममा आएको मेरो प्रतिनिधि हो। त्यसैले उसको विरोध नगर नत्र उसले तिमीहरूको अपराध क्षमा गर्नेछैन।+ २२ तर उसको कुरा ध्यान दिएर सुन्यौ र मैले भनेको सबै कुरा मान्यौ भने म तिमीहरूका शत्रुहरूलाई मेरो पनि शत्रु ठान्‍नेछु र तिमीहरूको विरोध गर्नेहरूलाई म पनि विरोध गर्नेछु। २३ मेरो स्वर्गदूत तिमीहरूको अघिअघि जानेछ र तिमीहरूलाई एमोरी, हित्ती, परिज्जी, कनानी, हिव्वी र यबुसीहरूकहाँ पुऱ्‍याउनेछ र म तिनीहरूको नामोनिसान मेटाइदिनेछु।+ २४ तिनीहरूका देवीदेवतालाई नढोग्नू वा अरूको लहलहैमा लागेर त्यसलाई नपुज्नू; तिनीहरूको रीतिथिति नमान्‍नू।+ बरु तिनीहरूको मूर्तिहरू नाश गर्नू र तिनीहरूका पवित्र थामहरू* भत्काइदिनू।+ २५ तिमीहरूले यहोवा तिमीहरूका परमेश्‍वरको उपासना गर्नू+ अनि उहाँले तिमीहरूलाई प्रशस्त भोजन र पानी दिनुहुनेछ।+ म तिमीहरूको बीचबाट रोगबिमार हटाउनेछु।+ २६ तिमीहरूको देशमा कुनै स्त्रीको गर्भ तुहिनेछैन वा कोही पनि बाँझी हुनेछैनन्‌।+ म तिमीहरूको आयु लामो बनाइदिनेछु।

२७ “तिमीहरू त्यहाँ पुग्नुअघि नै मानिसहरूको मनमा म मेरो डर हालिदिनेछु।+ तिमीहरू जहाँ-जहाँ जान्छौ, त्यहाँ-त्यहाँ म खैलाबैला मच्चाइदिनेछु। म तिमीहरूका शत्रुहरूलाई पराजित गर्नेछु र तिनीहरू भाग्नेछन्‌।+ २८ तिमीहरू पुग्नुअघि नै मानिसहरू हतोत्साहित हुनेछन्‌;*+ हिव्वी, कनानी र हित्तीहरू भाग्नेछन्‌।+ २९ म तिनीहरूलाई एक वर्षमै धपाउनेछैनँ नत्र त त्यो ठाउँ सुनसान हुनेछ र जङ्‌गली जनावरको बिगबिगी भएर तिमीहरूलाई खतरा हुनेछ।+ ३० तिमीहरूको सङ्‌ख्या बढ्‌दै गएर तिमीहरूले पूरै ठाउँ कब्जा नगरुन्जेल म अलिअलि गरेर तिमीहरूका शत्रुहरूलाई धपाउनेछु।+

३१ “म तिमीहरूको सिमाना लाल समुद्रदेखि पलिस्तियालीहरूको समुद्रसम्म र निर्जनभूमिदेखि युफ्रेटिस नदीसम्म तोकिदिनेछु;+ त्यहाँका बासिन्दाहरूलाई म तिमीहरूको हातमा सुम्पिदिनेछु र तिमीहरूले तिनीहरूलाई धपाउनेछौ।+ ३२ तिनीहरू र तिनीहरूका देवीदेवतासित करार नगर्नू।+ ३३ तिनीहरूलाई तिमीहरूको इलाकामा बसोबास गर्न नदिनू नत्र त तिनीहरूले तिमीहरूलाई मविरुद्ध पाप गर्न लगाउनेछन्‌। तिनीहरूका देवीदेवतालाई पुज्यौ भने त्यो तिमीहरूको निम्ति पक्कै पासो हुनेछ।”+

२४ त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “तिमी र हारुन, नादाब र अबिहु+ अनि इस्राएलका ७० जना नाइके डाँडामा उक्लेर मकहाँ आऊ र टाढैबाट मलाई दण्डवत्‌ गर। २ तिमी मात्र म यहोवा परमेश्‍वरको नजिक आऊ तर अरूचाहिँ नआऊन्‌। बाँकी इस्राएली पनि तिमीसित डाँडामा उक्लेर नआऊन्‌।”+

३ त्यसपछि मोसाले इस्राएलीहरूकहाँ गएर यहोवा परमेश्‍वरले भन्‍नुभएका सबै कुरा र उहाँका सबै नियम सुनाए+ अनि तिनीहरू सबैले एकै स्वरमा यसो भने: “यहोवा परमेश्‍वरले भन्‍नुभएका सबै कुरा मान्‍न हामी तयार छौँ।”+ ४ तब मोसाले यहोवा परमेश्‍वरले भन्‍नुभएका सबै कुरा लेखे।+ त्यसपछि तिनी बिहान सबेरै उठे र तिनले डाँडाको फेदमा एउटा वेदी बनाए। साथै तिनले इस्राएलका १२ कुलका लागि ढुङ्‌गाका १२ वटा खामो ठड्‌याए। ५ त्यसपछि तिनले केही इस्राएली युवक छाने अनि तिनीहरूले यहोवा परमेश्‍वरको निम्ति अग्निभेटी चढाए र मेलबलिको रूपमा बहरहरू चढाए।+ ६ अनि मोसाले बलि चढाइएको जनावरको आधा रगत कचौराहरूमा हाले र आधा रगतचाहिँ वेदीमा छर्के। ७ त्यसपछि तिनले करारको पुस्तक* लिए र मानिसहरूसामु ठूलो स्वरले पढेर सुनाए।+ यो सुनेर तिनीहरूले यसो भने: “यहोवा परमेश्‍वरले भन्‍नुभएका सबै कुरा मान्‍न हामी तयार छौँ र हामी आज्ञाकारी हुनेछौँ।”+ ८ अनि मोसाले रगत लिएर मानिसहरूमाथि छर्के+ र यसो भने, “तिमीहरूले भर्खरै सुनेको कुराअनुसार यहोवा परमेश्‍वरले तिमीहरूसित गर्नुभएको करारलाई यो रगतले पक्का गर्छ।”+

९ मोसा र हारुन, नादाब र अबिहु अनि इस्राएलका ७० जना नाइके डाँडामा उक्ले। १० त्यहाँ तिनीहरूले इस्राएलका परमेश्‍वरलाई देखे।+ उहाँको पाउमुनि नीलम ढुङ्‌गा बिछ्याइएको पेटीजस्तै केही थियो र त्यो सफा आकाशजस्तै देखिन्थ्यो।+ ११ उहाँले इस्राएलका ती गण्यमान्य पुरुषहरूलाई कुनै हानि गर्नुभएन।+ अनि तिनीहरूले साँचो परमेश्‍वरको दर्शन* देखे र खानपिन गरे।

१२ तब यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “डाँडामा उक्लेर मकहाँ आऊ र यहीँ बस। म तिमीलाई इस्राएलीहरूले पालन गर्नुपर्ने नियम र आज्ञाहरू ढुङ्‌गाका पाटीमा लेखेर दिनेछु।”+ १३ अनि मोसा र तिनका सेवक यहोसु त्यहाँबाट हिँडे;+ मोसाचाहिँ साँचो परमेश्‍वरको डाँडासम्मै गए।+ १४ माथि उक्लनुअघि तिनले इस्राएलका नाइकेहरूलाई यसो भनेका थिए: “हामी नफर्केसम्म यहीँ पर्खिरहनुहोस्‌।+ हारुन र हुर तपाईँहरूसितै हुनुहुन्छ।+ कसैको कुनै मामिला सुल्झाउनुपरेमा उहाँहरूकहाँ जानुहोस्‌।”+ १५ त्यसपछि मोसा बादलले ढाकेको डाँडामा उक्ले।+

१६ यहोवा परमेश्‍वरको महिमा+ सिनै डाँडामा रहिरह्‍यो+ अनि छ दिनसम्म डाँडालाई बादलले ढाक्यो। सातौँ दिनमा बादलको बीचबाट परमेश्‍वरले मोसालाई बोलाउनुभयो। १७ तलबाट हेरिरहेका इस्राएलीहरूले डाँडाको टाकुरामा यहोवा परमेश्‍वरको महिमा दनदनी बलिरहेको आगोजस्तै देखे। १८ अनि मोसा बादलभित्र छिरेर डाँडामा उक्ले।+ तिनी ४० दिन र ४० रात त्यही डाँडामा बसे।+

२५ त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: २ “इस्राएलीहरूलाई मेरो निम्ति अनुदान छुट्ट्याएर राख भन्‍नू; ज-जसले खुसीसाथ दिने इच्छा गर्छन्‌, तिनीहरू सबैको अनुदान ग्रहण गर्नू।+ ३ तिनीहरूबाट यी अनुदानहरू स्विकार्नू: सुन,+ चाँदी,+ तामा,+ ४ निलो धागो, बैजनी ऊन, सिन्दूरे रङ्‌गको धागो, उच्च कोटीको मलमल,* बाख्राको भुत्ला, ५ रातो रङ्‌गले रङ्‌गाएको भेडाको छाला, सिलको* छाला, बबुल काठ,+ ६ दियोको निम्ति तेल,+ अभिषेक गर्ने तेल तयार पार्न+ र सुगन्धित धूप बनाउन+ चाहिने बाल्सम* ७ अनि एपोद*+ र छातीपातामा*+ जड्‌नको निम्ति ओनिक्स* र अन्य रत्नहरू। ८ तिनीहरूले मेरो निम्ति पवित्र स्थान* बनाऊन्‌ र म तिनीहरूमाझ बास गर्नेछु।+ ९ वासस्थान* र त्यहाँका सबै सरसामान मैले दिन लागेको नमुनाअनुसार* दुरुस्त बनाउनू।+

१० “तिनीहरूले बबुल काठको एउटा सन्दुक* बनाऊन्‌। त्यो सन्दुकको लम्बाइ साढे दुई हात,* चौडाइ साढे एक हात र उचाइ साढे एक हात होस्‌।+ ११ त्यसलाई भित्र र बाहिर दुवैतिर निखुर सुनले मोहोर्नू।+ त्यसको चारैतिर सुनको बिट* बनाउनू।+ १२ अनि सुनको चार वटा मुन्द्रा बनाएर सन्दुकको चार वटा खुट्टाको माथिपट्टि पर्नेगरि जोड्‌नू। दुई वटा मुन्द्रा एकापट्टि र दुई वटा मुन्द्रा अर्कोपट्टि होस्‌। १३ अनि बबुल काठका डन्डीहरू बनाउनू र त्यसलाई सुनले मोहोर्नू।+ १४ सन्दुक बोक्नको लागि ती डन्डीहरू सन्दुकको दुवैपट्टि भएका मुन्द्राहरूमा छिराउनू। १५ ती डन्डीहरू सन्दुकको मुन्द्रामै रहून्‌; त्यसलाई त्यहाँबाट ननिकाल्नू।+ १६ मैले दिने साक्षीपाटी* त्यस सन्दुकभित्र राख्नू।+

१७ “तिमीले सन्दुकको लागि निखुर सुनको ढकनी बनाउनू; त्यसको लम्बाइ साढे दुई हात र चौडाइ साढे एक हात होस्‌।+ १८ त्यसपछि सुनलाई घनले पिटेर ढकनीको दुई छेउमा दुई वटा करूब* बनाउनू।+ १९ ढकनीको एउटा छेउमा एउटा करूब र अर्को छेउमा अर्को करूब होस्‌। २० ती करूबहरू एकअर्काको आमनेसामने होऊन्‌ र ती दुवैले ढकनीलाई छाया पार्नेगरि आफ्ना दुवै पखेटा मास्तिर फैलाएका होऊन्‌।+ अनि तिनीहरू ढकनीतिर झुकेका होऊन्‌। २१ त्यस ढकनीले+ सन्दुकलाई छोप्नू र मैले दिने साक्षीपाटी सन्दुकभित्र राख्नू। २२ म सन्दुकको ढकनीमाथि तिमीकहाँ देखा पर्नेछु र त्यहाँबाट तिमीसित बोल्नेछु।+ साक्षीपाटी राखिएको त्यस सन्दुकमाथि* भएका दुई वटा करूबको बीचबाट म तिमीसित कुरा गर्नेछु र तिमीले इस्राएलीहरूलाई जे-जे आज्ञा सुनाउनुपर्ने हो, त्यो म तिमीलाई बताउनेछु।

२३ “तिमीले बबुल काठको एउटा टेबुल+ पनि बनाउनू; त्यसको लम्बाइ दुई हात, चौडाइ एक हात र उचाइ साढे एक हात होस्‌।+ २४ त्यसलाई निखुर सुनले मोहोर्नू र चारैतिर सुनको बिट बनाउनू। २५ त्यस बिटको मुनि चार अङ्‌गुल* मोटाइ भएको घेरा बनाउनू र त्यस घेराको तलपट्टि पनि सुनको बिट बनाउनू। २६ तिमीले सुनको चार वटा मुन्द्रा पनि बनाउनू र त्यसलाई टेबुलको ती चार कुनामा राख्नू, जहाँ टेबुलका खुट्टाहरू जोडिएका हुन्छन्‌। २७ ती मुन्द्राहरू टेबुलको घेरामुन्तिर जडान गर्नू। टेबुल बोक्न प्रयोग गरिने डन्डीहरूलाई ती मुन्द्राहरूभित्र छिराएर अड्‌याउनू। २८ डन्डीहरू बबुल काठको बनाउनू र त्यसलाई सुनले मोहोर्नू अनि ती डन्डीहरूको सहायताले टेबुल बोक्नू।

२९ “तिमीले त्यसका थाल र कचौराका साथै मद्यभेटी* चढाउन सुराही र प्याला पनि बनाउनू। यी सबै भाँडाकुँडा निखुर सुनको होस्‌।+ ३० टेबुलमा भेटीको रोटी* पनि राख्नू र त्यो मेरो सामुबाट कहिल्यै नहटोस्‌।+

३१ “तिमीले निखुर सुनको एउटा पानस+ बनाउनू। सुनको एउटै लाप्सोलाई घनले पिटेर पाउदान, डन्डा, हाँगा, पत्रदल,* कोपिला र फूल बनाउनू।+ ३२ पानसको डन्डाबाट छ वटा हाँगा निस्केका होऊन्‌, दायाँतिर तीन वटा र बायाँतिर तीन वटा। ३३ एक जोडी हाँगाको एकातिर तीन वटा र अर्कोतिर तीन वटा पत्रदल होऊन्‌। ती पत्रदलहरू कागजी बदामको फूलको पत्रदलजस्तै होऊन्‌। ती पत्रदलहरूपछि क्रमैसँग कोपिला र फूल होऊन्‌। त्यसैगरि अर्को दुई जोडी हाँगामा पनि एकातिर तीन वटा र अर्कोतिर तीन वटा पत्रदल होऊन्‌। ती पत्रदलहरू कागजी बदामको फूलको पत्रदलजस्तै होऊन्‌। पत्रदलहरूपछि क्रमैसँग कोपिला र फूल होऊन्‌। पानसको डन्डाबाट निस्केका छ वटै हाँगा यस्तै होऊन्‌। ३४ पानसको डन्डामा कागजी बदामको फूलको पत्रदलजस्तै चार वटा पत्रदल होऊन्‌। पत्रदलहरूपछि क्रमैसँग कोपिला र फूल होऊन्‌। ३५ पानसको डन्डाबाट पहिलो जोडी हाँगा निस्केको ठाउँमुनि एउटा कोपिला, दोस्रो जोडी हाँगा निस्केको ठाउँमुनि एउटा कोपिला र तेस्रो जोडी हाँगा निस्केको ठाउँमुनि एउटा कोपिला होऊन्‌। डन्डाबाट निस्केका तीनै जोडी हाँगामुनि यस्तै होऊन्‌। ३६ कोपिला, हाँगा र पूरै पानस निखुर सुनको एउटै लाप्सोलाई घनले पिटेर बनाउनू।+ ३७ त्यसपछि सात वटा दियो बनाउनू। दियो बाल्दा पानसको अघिल्तिर उज्यालो होस्‌।+ ३८ पानसको लागि निखुर सुनको चिम्टा र सलेदोदानी* पनि बनाउनू।+ ३९ पानस र अरू सबै सरसामान एक टालेन्ट* निखुर सुनबाट बनाउनू। ४० हेर, मैले तिमीलाई डाँडामा देखाएको नमुनाअनुसारै तिमीले यी सबै दुरुस्त बनाउनू।+

२६ “तिमीले वासस्थानको*+ लागि बाटिएको उच्च कोटीको मलमल,* निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्‌गको धागो प्रयोग गरिएको १० वटा कपडा बनाउनू। ती कपडाहरूमा बुट्टा भरेर करूबहरूको*+ चित्र बनाउनू।+ २ प्रत्येक कपडाको लम्बाइ २८ हात* र चौडाइ ४ हात होस्‌। सबै कपडाको नाप एउटै होस्‌।+ ३ पाँच वटा कपडालाई गाँसेर ठूलो पाल बनाउनू, बाँकी पाँच वटा कपडालाई पनि त्यसैगरि गाँसेर अर्को ठूलो पाल बनाउनू। ४ यी दुई पाललाई गाँस्न एउटा पालको किनारामा निलो धागोको मुन्द्राहरू गाँस्नू अनि त्यसमा जोड्‌ने अर्को पालको छेउमा पनि यसरी नै मुन्द्राहरू गाँस्नू। ५ ती दुवै पालको एउटा किनारामा ५०-५० वटा मुन्द्रा आमनेसामने पर्नेगरि बनाउनू ताकि ती मुन्द्राहरूले दुवै पाललाई जोड्‌न सकून्‌। ६ सुनका ५० वटा खीप बनाउनू र दुवै पालका मुन्द्राहरूलाई खीपले जोड्‌नू। यसरी वासस्थानको लागि दुई वटा लामोलामो पाल गाँसेर एउटा सिङ्‌गो पाल बनाउनू।+

७ “साथै वासस्थानको लागि बाख्राको भुत्लाबाट कपडा बुन्‍नू।+ यसरी जम्मा ११ वटा कपडा बनाउनू।+ ८ प्रत्येक कपडाको लम्बाइ ३० हात र चौडाइ ४ हात होस्‌। ती ११ वटा कपडाको नाप एउटै होस्‌। ९ पाँच वटा कपडा गाँसेर सिङ्‌गो पाल बनाउनू अनि बाँकी छ वटा कपडा गाँसेर अर्को सिङ्‌गो पाल बनाउनू। छ वटा कपडा गाँसेर बनाएको पाललाई चाहिँ वासस्थानको अगिल्तिर झोलिनेगरि बिछ्याउनू। यसरी झोलिएको भागलाई चाहिँ दोबार्नू। १० तिमीले एउटा पालको किनारामा ५० वटा अनि अर्को पालको किनारामा ५० वटा मुन्द्रा बनाउनू ताकि ती मुन्द्राहरूले दुवै पाललाई जोड्‌न सकून्‌। ११ तामाका ५० वटा खीप बनाउनू र मुन्द्रामा खीप अड्‌काएर पालहरूलाई आपसमा गाँस्नू। यसरी यो एउटा सिङ्‌गो पाल बन्‍नेछ। १२ वासस्थानमाथि यो सिङ्‌गो पाल हाल्दा दायाँ, बायाँ र पछिल्तिर जति झोलिन्छ, त्यसलाई चाहिँ नदोबार्नू। वासस्थानमाथि यो पाल राख्दा पछिल्तिर झोलिएको भाग दुई हात हुनुपर्छ। १३ अनि बाख्राको भुत्लाबाट बनेको यो पाल त्यसमुनिको पालभन्दा दायाँ र बायाँ एक-एक हात लामो हुनुपर्छ।

१४ “वासस्थानको लागि अर्को दुई वटा पाल बनाउनू। एउटाचाहिँ भेडाको छालाको बनाउनू र त्यसलाई रातो रङ्‌गले रङ्‌ग्याउनू। अनि त्यसमाथि राख्ने अर्को पालचाहिँ सिलको* छालाको बनाउनू।+

१५ “वासस्थानको लागि बबुल काठका चौकोसहरू+ बनाउनू।+ १६ प्रत्येक चौकोसको उचाइ दस हात र चौडाइ साढे एक हात होस्‌। १७ प्रत्येक चौकोसमा दुई-दुई वटा चूल* बनाउनू। वासस्थानको सबै चौकोस यसरी नै बनाउनू। १८ वासस्थानको दक्षिण मोहडाको लागि २० वटा चौकोस बनाउनू।

१९ “तिमीले २० वटा चौकोसको लागि चाँदीको ४० वटा चूलघर* बनाउनू:+ प्रत्येक चौकोसमुनि भएको दुई वटा चूलको लागि दुई वटा चूलघर। अनि दुई-दुई वटा चूललाई दुई-दुई वटा चूलघरमा छिराएर चौकोस ठड्‌याउनू।+ २० वासस्थानको उत्तर मोहडाको लागि २० वटा चौकोस बनाउनू। २१ ती चौकोसको लागि चाँदीको ४० वटा चूलघर बनाउनू: प्रत्येक चौकोसमुनि भएको दुई वटा चूलको लागि दुई वटा चूलघर। २२ वासस्थानको पछाडिको भाग अर्थात्‌ पश्‍चिम मोहडाको लागि छ वटा चौकोस बनाउनू।+ २३ वासस्थानको पछाडिको दुई वटा कुनाको लागि दुई वटा त्रिकोस बनाउनू। २४ कुनामा राखिने ती त्रिकोसहरूको टुप्पोमा एउटा-एउटा मुन्द्रा होस्‌। दुवै त्रिकोस यसरी नै बनाएर वासस्थानको दुई कुनामा राख्नू। २५ यसरी पश्‍चिम मोहडाको लागि जम्मा आठ वटा चौकोस र चाँदीको १६ वटा चूलघर हुनेछ; हरेक चौकोसमुनि भएको दुई वटा चूलको लागि दुई वटा चूलघर।

२६ “तिमीले बबुल काठका डन्डीहरू बनाउनू, वासस्थानको दक्षिण मोहडाको चौकोसको लागि पाँच वटा,+ २७ उत्तर मोहडाको चौकोसको लागि पाँच वटा र पश्‍चिम मोहडा अर्थात्‌ पछाडिको भागको चौकोसको लागि पाँच वटा। २८ चौकोसहरूको बीचमा भएको मुन्द्रामा छिराउन एक छेउदेखि अर्को छेउसम्म पुग्ने लामो डन्डी बनाउनू।

२९ “चौकोसहरूलाई सुनले मोहोर्नू+ र डन्डीहरू घुसाउनको लागि सुनका मुन्द्राहरू बनाउनू अनि डन्डीहरूलाई सुनले मोहोर्नू। ३० तिमीलाई डाँडामा देखाइएको नमुनाबमोजिम वासस्थान बनाउनू।+

३१ “तिमीले बाटिएको उच्च कोटीको मलमल, निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्‌गको धागो प्रयोग गरिएको पर्दा बनाउनू।+ ती पर्दाहरूमा बुट्टा भरेर करूबहरूको चित्र बनाउनू। ३२ पर्दालाई सुनले मोहोरेको बबुल काठका चार वटा खामामा झुन्ड्‌याउनू। ती खामाहरूमा सुनका अङ्‌कुसेहरू लगाउनू। ती खामाहरूलाई चाँदीका चार वटा चूलघरमा ठड्‌याउनू। ३३ पर्दालाई खीपमा झुन्ड्‌याउनू र साक्षीपाटी* राखिएको सन्दुकलाई* पर्दापछाडि राख्नू।+ त्यस पर्दाले पवित्र कोठा*+ र महापवित्र कोठालाई*+ छुट्ट्याउनेछ। ३४ महापवित्र कोठामा भएको साक्षीपाटी राखिएको सन्दुकमाथि तिमीले ढकनी राख्न नबिर्सनू।

३५ “वासस्थानको बीचको पर्दाअगाडि अर्थात्‌ वासस्थानको उत्तरतिर टेबुल राख्नू। टेबुलको ठ्‌याक्कै अगाडि पर्नेगरि दक्षिणतिर पानस राख्नू।+ ३६ वासस्थानको प्रवेशद्वारको लागि पनि एउटा पर्दा बनाउनू। त्यो पर्दा बाटिएको उच्च कोटीको मलमल, निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्‌गको धागोले बनेको होस्‌।+ ३७ त्यो पर्दा झुन्ड्‌याउन बबुल काठका पाँच वटा खामा बनाउनू र ती खामाहरूलाई सुनले मोहोर्नू। ती खामाहरूमा सुनका अङ्‌कुसेहरू लगाउनू र ती खामाहरूका लागि तामाका पाँच वटा चूलघर बनाउनू।

२७ “तिमीले बबुल काठको वेदी बनाउनू;+ त्यसको लम्बाइ पाँच हात र चौडाइ पाँच हात होस्‌। वेदी चारकुने होस्‌ र त्यसको उचाइ तीन हात* होस्‌।+ २ वेदीको चारै कुनामा चुच्चो उठाएर एउटा-एउटा सिङ बनाउनू।+ वेदीलाई तामाले मोहोर्नू।+ ३ वेदीको खरानी* उठाउन बाल्टिन बनाउनू; साथै साबेल, बाटा, काँटा र कोइला राख्ने भाँडो पनि बनाउनू। यी सबै सरसामान तामाको होस्‌।+ ४ वेदीको लागि तामाको जाली बनाउनू अनि जालीको चारै कुनामा तामाका एक-एक वटा मुन्द्रा लगाउनू। ५ जालीलाई वेदीको चारैपट्टिको बिटमुनि राख्नू; त्यो जाली वेदीको बीचतिर होस्‌। ६ वेदीको लागि बबुल काठका डन्डीहरू बनाउनू र त्यसलाई तामाले मोहोर्नू। ७ वेदीलाई उठाएर लैजाने बेला यी डन्डीहरूलाई वेदीको दुईतिर भएका मुन्द्राहरूमा घुसाउनू।+ ८ तिमीले बनाएको वेदी खोक्रो बाकसजस्तै होस्‌। परमेश्‍वरले तिमीलाई डाँडामा देखाएको नमुनाअनुसारै त्यो बनाउनू।+

९ “तिमीले वासस्थानको* वरिपरि चोक बनाउनू।+ चोकलाई चारैतिर बार्न बाटिएको उच्च कोटीको मलमलको* पाल बनाउनू। दक्षिण मोहडाको पालको लम्बाइ १०० हात होस्‌।+ १० पाल ठड्‌याउन २० वटा खामा र ती खामाहरू घुसाउन तामाका २० वटा चूलघर* बनाउनू। खामाका अङ्‌कुसे र जोडनीहरू* चाँदीको बनाउनू। ११ उत्तर मोहडाको पालको लम्बाइ पनि १०० हात होस्‌। त्यसको लागि २० वटा खामा र तामाका २० वटा चूलघर बनाउनू; खामाका अङ्‌कुसे र जोडनीहरू चाँदीको बनाउनू। १२ चोकको पश्‍चिम मोहडाको लागि ५० हात चौडाइ भएको एउटा पाल बनाउनू; त्यसको लागि १० वटा खामा र १० वटा चूलघर बनाउनू। १३ चोकको पूर्वी मोहडा अर्थात्‌ घाम उदाउने दिशातिरको पालको चौडाइ ५० हात होस्‌। १४ चोकमा छिर्ने प्रवेशद्वारको दायाँतिरको पाल १५ हातको होस्‌; त्यसको लागि तीन वटा खामा र तीन वटा चूलघर बनाउनू।+ १५ प्रवेशद्वारको बायाँतिरको पाल पनि १५ हातको होस्‌; त्यसको लागि तीन वटा खामा र तीन वटा चूलघर बनाउनू।

१६ “चोकमा छिर्ने प्रवेशद्वारको लागि २० हात लामो पर्दा बनाउनू; त्यो बाटिएको उच्च कोटीको मलमल,* निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्‌गको धागोले बुनेको होस्‌।+ त्यसको लागि चार वटा खामा र चार वटा चूलघर बनाउनू।+ १७ चोकको चारैतिरका खामाहरूमा चाँदीका खीप र चाँदीका अङ्‌कुसेहरू लगाउनू तर त्यसका चूलघरहरू भने तामाका होऊन्‌।+ १८ चोकको लम्बाइ १०० हात+ र चौडाइ ५० हात होस्‌ अनि चोकलाई बार्ने पालको उचाइ ५ हात होस्‌; पाल बाटिएको उच्चकोटिको मलमलको होस्‌ र यसका चूलघरहरू तामाका होऊन्‌। १९ वासस्थानमा प्रयोग गरिने भाँडाकुँडा र सरसामानका साथै वासस्थानको पाल अड्‌काउने किलाहरू र चोकका पाल अड्‌काउने किलाहरू सबै तामाका होऊन्‌।+

२० “वासस्थानभित्र उज्यालो पार्न पानसको दियो कहिल्यै निभ्न नदिनू। दियो सधैँ बलिरहोस्‌ भनेर तिमीले इस्राएलीहरूलाई जैतुनको शुद्ध तेल ल्याउने आज्ञा दिनू।+ २१ भेट हुने पालमा* साक्षीपाटी* राखिएको सन्दुकसामु*+ भएको पर्दाबाहिर हारुन र तिनका छोराहरूले ती दियोहरू साँझदेखि बिहानसम्म यहोवा परमेश्‍वरसामु बालिरहने प्रबन्ध मिलाऊन्‌।+ इस्राएलीहरूले यो नियम पुस्तौँपुस्तासम्म पालन गरून्‌।+

२८ “पुजारीको काम गर्नको लागि+ तिमीले इस्राएलीहरूमध्येबाट आफ्नो दाइ हारुन+ अनि तिनका छोराहरू+ नादाब, अबिहु,+ एलियाजार र इथामारलाई+ बोलाउनू। २ तिम्रो दाइ हारुनको वैभव र शोभा बढाउन तिनको निम्ति पवित्र पोसाक बनाउनू।+ ३ त्यो पोसाक निपुण व्यक्‍तिहरूलाई बनाउन लगाउनू, जसलाई मैले बुद्धिले परिपूर्ण पारेको छु।+ हारुन पुजारीको रूपमा मेरो सेवा गर्न नियुक्‍त भएका व्यक्‍ति हुन्‌ भनेर चिनाउने पोसाक तिनीहरूले बनाऊन्‌।

४ “तिनीहरूले बनाउनुपर्ने पोसाक यी नै हुन्‌: छातीपाता,*+ एपोद,*+ बाहुला नभएको अलखा,*+ कोठे बुट्टा भएको लामो लुगा, फेटा+ अनि पटुका।+ तिनीहरूले ती पवित्र पोसाक तिम्रो दाइ हारुन र तिनका छोराहरूको निम्ति बनाऊन्‌ र तिनीहरूले पुजारीको काम गर्दा ती पोसाक लगाऊन्‌। ५ ती पोसाकहरू बनाउन ती निपुण कालिगडहरूले सुन, निलो धागो, बैजनी ऊन, सिन्दूरे रङ्‌गको धागो र उच्च कोटीको मलमल* कपडा प्रयोग गरून्‌।

६ “तिनीहरूले बाटिएको उच्च कोटीको मलमल, सुन, निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्‌गको धागो मिसाएर एपोद बुनून्‌।+ ७ एपोदको काँधका दुवै भागका दुई छेउलाई गाँस्नू। ८ एपोदलाई टम्म कसेर बाँध्न त्यसमा एउटा पेटी गाँस्नू।+ त्यो पेटी पनि बाटिएको उच्च कोटीको मलमल, सुन, निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्‌गको धागो मिसाएर बुनिएको होस्‌।

९ “तिमीले दुई वटा ओनिक्स*+ रत्न ल्याएर त्यसमा इस्राएलका छोराहरूको नाम कुँद्‌नू।+ १० तिनीहरूको उमेरअनुसार तिनीहरूको नाम कुँद्‌नू; एउटा रत्नमा छ जनाको अनि अर्को रत्नमा बाँकी छ जनाको। ११ जसरी कालिगडले छाप कुँद्‌छ, त्यसरी नै उसलाई ती दुवै रत्नमा इस्राएलका छोराहरूको नाम कुँद्‌न लगाउनू।+ अनि पत्थर-घरहरू सुनको बनाएर ती रत्नहरूलाई त्यसमा जडान गर्नू। १२ सुनमा जडिएका यी रत्नहरूलाई एपोदको काँधको भागमा लगाउनू। यी रत्नहरू इस्राएलका छोराहरूको निम्ति सम्झनाको चिन्ह होस्‌;+ हारुन यहोवा परमेश्‍वरसामु जाँदा नाम कुँदिएका यी रत्नहरू तिनको दुवै काँधमा सम्झनास्वरूप रहिरहून्‌। १३ तिमीले सुनका पत्थर-घरहरू १४ र डोरीजस्तै बाटेको निखुर सुनको दुई वटा सिक्री बनाउनू+ अनि सिक्रीलाई पत्थर-घरहरू भएको पातामा गाँस्नू।+

१५ “बुट्टा भर्ने कालिगडलाई न्यायको छातीपाता बनाउन लगाउनू।+ यो पनि एपोदजस्तै सुन, निलो धागो, बैजनी ऊन, सिन्दूरे रङ्‌गको धागो र बाटिएको उच्च कोटीको मलमल प्रयोग गरेर बनाइएको होस्‌।+ १६ यसलाई पट्‌याउँदा वर्गाकार होस्‌। यसको लम्बाइ एक बित्ता* र चौडाइ एक बित्ता होस्‌। १७ तिमीले त्यसमा चार लहर हुनेगरि रत्नहरू जडान गर्नू। पहिलो लहरमा माणिक, पुष्पराज अनि पन्‍ना राख्नू। १८ दोस्रो लहरमा फिरोजा, नीलम अनि यशवमणि राख्नू। १९ तेस्रो लहरमा लेसेम,* अगेट अनि कलेजी स्फटिक राख्नू। २० चौथो लहरमा क्रिसोलाइट, ओनिक्स अनि हरितमणि राख्नू। यी रत्नहरूलाई सुनका पत्थर-घरहरूमा जडान गर्नू। २१ तिमीले यी रत्नहरूमा इस्राएलका १२ वटा कुललाई चिनाउने १२ छोराको नाम कुँद्‌न लगाउनू। प्रत्येक रत्नमा एक-एक जना छोराको नाम छापजस्तै कुँद्‌न लगाउनू।

२२ “छातीपाताको किनारामा घेरा बनाउन डोरीजस्तो बाटेको निखुर सुनको सिक्री बनाउनू।+ २३ छातीपाताको लागि सुनको दुई वटा मुन्द्रा बनाउनू अनि त्यसलाई छातीपाताको माथिल्लो दुई कुनामा लगाउनू। २४ सुनका दुई वटा सिक्रीलाई छातीपाताको छेउमा भएका दुई वटा मुन्द्रामा जोड्‌नू। २५ ती दुवै सिक्रीको अर्को छेउचाहिँ एपोदको दुवै काँधमा भएको पत्थर-घरको अघिल्तिर जोड्‌नू। २६ तिमीले सुनको दुई वटा मुन्द्रा बनाउनू अनि त्यसलाई छातीपाताको तल्लो दुई छेउको भित्रपट्टि अर्थात्‌ एपोदतिर फर्कनेगरि लगाउनू।+ २७ तिमीले सुनको अर्को दुई वटा मुन्द्रा बनाउनू र ती मुन्द्राहरूलाई एपोदको अगाडिपट्टिको भागमा अर्थात्‌ काँधको भागको मुनिपट्टि ती जोडिने ठाउँमा लगाउनू, जुन एपोदको पेटीभन्दा माथिपट्टि पर्छ।+ २८ छातीपाताको मुन्द्रा र एपोदको मुन्द्रालाई निलो डोरीले कस्नू। यसो गर्दा छातीपाता एपोदको पेटीभन्दा तल सर्न पाउँदैन।

२९ “हारुन पवित्र स्थानमा* प्रवेश गर्दा तिनले इस्राएलका छोराहरूको नाम कुँदिएको न्यायको छातीपाता सधैँ लगाऊन्‌ र त्यो छातीपाता यहोवा परमेश्‍वरसामु सधैँको निम्ति सम्झनाको चिन्ह होस्‌। ३० न्यायको छातीपातामा ऊरीम र तुम्मीम*+ पनि राख्नू। यहोवा परमेश्‍वरसामु जाँदा हारुनले यी दुई कुरा लैजान कहिल्यै नबिर्सून्‌। इस्राएलीहरूको न्याय गर्न प्रयोग गरिने यी साधनहरू हारुनले यहोवा परमेश्‍वरसामु जाँदा न्यायको छातीपातामा सधैँ राखून्‌।

३१ “एपोदभित्र लगाउने बाहुला नभएको अलखा निलो धागो मात्र प्रयोग गरेर बनाउनू।+ ३२ अलखामा टाउको छिराउने गला बनाउनू। तानमा बुन्‍ने कालिगडले त्यो गलावरिपरि किनारा बनाओस्‌। गलाको किनारा छालाको कवचको घेराजस्तै बलियोगरि बुन्‍नू ताकि त्यो नफाटोस्‌। ३३ अलखाको फेरमा चाहिँ निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्‌गको धागो प्रयोग गरेर अनार आकारका फुर्काहरू बनाउनू र त्यसको बीच-बीचमा सुनका घण्टीहरू राख्नू। ३४ एउटा सुनको घण्टी र अनार आकारको एउटा फुर्का अनि फेरि त्यस्तै सुनको घण्टी र अनार आकारको फुर्का पालैपालो राखेर अलखाको पूरै फेर भर्नू। ३५ हारुनले पुजारीको काम गर्दा यो अलखा लगाऊन्‌। पवित्र स्थानमा* यहोवा परमेश्‍वरसामु प्रवेश गर्दा र त्यहाँबाट निस्कँदा घण्टीको आवाज सुनियोस्‌ नत्र हारुन मर्नेछन्‌।+

३६ “तिमीले निखुर सुनको एउटा चम्किलो पाता बनाउनू र त्यसमा यी शब्दहरू कुँद्‌नू: ‘यहोवा पवित्र हुनुहुन्छ।’+ ३७ तिमीले त्यसलाई निलो डोरीले फेटामा बाँध्नू;+ त्यो पाता फेटाको अगाडिपट्टि होस्‌। ३८ हारुनले त्यो आफ्नो निधारमा लगाऊन्‌। इस्राएलीहरूले पवित्र भेटीको रूपमा चढाउने थोकहरू परमेश्‍वरको नजरमा पवित्र हुन्छ। त्यसैले कुनै इस्राएलीले पवित्र थोकहरू चढाउँदा त्रुटि भएमा त्यसको दोष हारुनलाई लाग्नेछ।+ मानिसहरूले यहोवा परमेश्‍वरको निगाह पाऊन्‌ भनेर त्यो पाता सधैँ हारुनको निधारमा रहोस्‌।

३९ “तिमीले कोठे बुट्टा भएको मलमलको लामो लुगा बुन्‍नू र पटुका पनि त्यसरी नै बुनेर बनाउनू। अनि उच्च कोटीको मलमलको फेटा पनि बनाउनू।+

४० “हारुनका छोराहरूको वैभव र शोभा बढाउने+ लुगा, पटुका र शिरपोस बनाउनू।+ ४१ तिमीले आफ्नो दाइ हारुन र तिनका छोराहरूलाई यी पोसाक पहिराइदिनू, तिनीहरूलाई अभिषेक गर्नू,+ पुजारी नियुक्‍त गर्नू+ र चोख्याउनू। त्यसपछि तिनीहरूले पुजारीको रूपमा मेरो सेवा गरून्‌। ४२ साथै तिनीहरूको नग्नता ढाक्नको लागि मलमलको छोटो सुरुवाल* बनाउनू।+ त्यो कम्मरदेखि घुँडासम्म पुग्ने होस्‌। ४३ हारुन र तिनका छोराहरू भेट हुने पालमा* आउँदा अथवा तिनीहरूले पवित्र ठाउँको वेदीमा पुजारीको काम गर्दा त्यो सुरुवाल लगाऊन्‌। यसो गर्दा तिनीहरू दोषी हुनेछैनन्‌ र मर्नेछैनन्‌। यो नियम हारुन र तिनका सन्तानले सधैँ पालन गरून्‌।

२९ “हारुन र तिनका छोराहरूले पुजारीको रूपमा मेरो सेवा गर्नुअघि तिनीहरूलाई यसरी चोख्याउनू: एउटा बहर र दुई वटा निष्खोट थुमा ल्याउनू।+ २ साथै अखमिरा* रोटी, तेलमा मुछेर पकाइएको सेल आकारको अखमिरा रोटी र तेल दलेको अखमिरा पापडी ल्याउनू।+ तिमीले यी सबै रोटी गहुँको मसिनो पीठोले बनाउनू। ३ ती रोटीहरू एउटा टोकरीमा राख्नू अनि त्यसलाई बहर र दुई वटा थुमासँगै चढाउनू।+

४ “तिमीले हारुन र तिनका छोराहरूलाई भेट हुने पालको* प्रवेशद्वारमा ल्याउनू+ र नुहाउन लगाउनू।+ ५ अनि पोसाकहरू ल्याउनू+ र हारुनलाई कोठे बुट्टा भएको लामो लुगा, बाहुला नभएको अलखा,* एपोद* र छातीपाता* लगाइदिनू। अनि तिनको कम्मरमा एपोदको पेटी कसिदिनू।+ ६ तिनको शिरमा फेटा लगाइदिनू र त्यसमा समर्पणको पवित्र चिन्ह* बाँधिदिनू।+ ७ अनि अभिषेक गर्ने तेल लिनू+ र तिनको शिरमा खन्याएर तिनलाई अभिषेक गर्नू।+

८ “त्यसपछि तिनका छोराहरूलाई अगाडि ल्याउनू र तिनीहरूलाई पनि कोठे बुट्टा भएको लामो लुगा लगाइदिनू।+ ९ हारुन र तिनका छोराहरूलाई पटुका कसिदिनू अनि शिरपोस लगाइदिनू। अबदेखि सधैँ तिनीहरूले पुजारीको रूपमा मेरो सेवा गर्नेछन्‌, मेरो यो नियम सधैँभरि कायम राख्नू।+ यसरी तिमीले हारुन र तिनका छोराहरूलाई पुजारीको काम गर्न नियुक्‍त गर्नू।+

१० “अब भेट हुने पालको सामने बहर ल्याउनू अनि हारुन र तिनका छोराहरूले त्यस बहरको टाउकोमाथि हात राखून्‌।+ ११ अनि भेट हुने पालको प्रवेशद्वारमा यहोवा परमेश्‍वरसामु बहर काट्‌नू।+ १२ बहरको रगतमा तिम्रो औँला चोपेर वेदीका सिङहरूमा रगत लगाइदिनू+ अनि बाँकी रगतचाहिँ वेदीको फेदमा खन्याइदिनू।+ १३ त्यसपछि आन्द्राभुँडी ढाक्ने बोसो,+ कलेजोमाथि भएको बोसो, दुई वटा मिर्गौला र त्यसमाथि भएको बोसो लिनू र त्यसलाई वेदीमा जलाइदिनू।+ १४ तर बहरको मासु, छाला र गोबरचाहिँ छाउनीबाहिर जलाइदिनू। यो पापभेटी* हो।

१५ “त्यसपछि दुई वटा थुमामध्ये एउटा थुमा लिनू अनि हारुन र तिनका छोराहरूले त्यसको टाउकोमा आफ्नो हात राखून्‌।+ १६ अनि त्यो थुमा काट्‌नू र त्यसको रगत लिएर वेदीको रिङ्‌गै छर्कनू।+ १७ थुमालाई भाग-भाग पार्नू, त्यसको आन्द्रा र खुट्टाहरू पखाल्नू+ अनि ती भागहरू र टाउकोलाई मिलाएर राख्नू। १८ यसरी मिलाएर राखिएको थुमालाई वेदीमा जलाउनू। यो यहोवा परमेश्‍वरलाई मन पर्ने* मीठो बास्ना भएको अग्निभेटी हो।+ यो यहोवा परमेश्‍वरको निम्ति आगोमा जलाइने भेटी हो।

१९ “अर्को थुमा पनि लिनू अनि हारुन र तिनका छोराहरूले त्यस थुमाको टाउकोमाथि आफ्नो हात राखून्‌।+ २० त्यो थुमा काट्‌नू; त्यसको अलिकति रगत लिएर हारुनको दाहिने कानको लोती र तिनका छोराहरूको दाहिने कानको लोतीमा लगाइदिनू। तिनीहरूको दाहिने हातको बुढीऔँला र दाहिने खुट्टाको बुढीऔँलामा पनि रगत लगाइदिनू; त्यसपछि रगत वेदीको रिङ्‌गै छर्कनू। २१ अनि वेदीबाट अलिकति रगत लिनू र अभिषेक गर्ने अलिकति तेल पनि लिएर+ त्यसलाई हारुन र तिनको पोसाकमा अनि तिनका छोराहरू र तिनीहरूको पोसाकमा छर्कनू। यसरी हारुन र तिनको पोसाक अनि तिनका छोराहरू र तिनीहरूको पोसाक पवित्र हुनेछ।+

२२ “त्यसपछि थुमाको बोसो, बोसेपुच्छर,* आन्द्राभुँडी ढाक्ने बोसो, कलेजोमाथि भएको बोसो, दुई वटा मिर्गौला अनि त्यसमाथि भएको बोसो+ र दाहिने खुट्टा लिनू किनकि यो पुजारी नियुक्‍त गर्दा चढाइने थुमा हो।+ २३ यहोवा परमेश्‍वरसामु राखिएका रोटीहरूको टोकरीबाट एउटा गोलो अखमिरा रोटी, तेलमा मुछेको सेल आकारको एउटा अखमिरा रोटी र एउटा अखमिरा पापडी पनि लिनू। २४ तिमीले यी सबै कुरा हारुन र तिनका छोराहरूको हातमा राख्नू र त्यसलाई डोलाउनू।* यसरी यहोवा परमेश्‍वरसामु डोलाउने भेटी* चढाउनू। २५ अनि यी सबै कुरा तिनीहरूका हातबाट लिएर जलिरहेको अग्निभेटीमाथि राखेर जलाइदिनू। यसबाट निस्केको बास्ना यहोवा परमेश्‍वरलाई मन पर्ने मीठो बास्ना हुनेछ। यो यहोवा परमेश्‍वरको निम्ति आगोमा जलाइने भेटी हो।

२६ “त्यसपछि हारुनलाई पुजारीको रूपमा नियुक्‍त गर्दा चढाइएको थुमाको ह्‍याकुला लिनू+ र त्यसलाई यहोवा परमेश्‍वरसामु डोलाउनू। यसरी चढाइएको भेटीचाहिँ तिम्रो भाग हुनेछ। २७ हारुन र तिनका छोराहरूलाई पुजारीको रूपमा नियुक्‍त गर्दा चढाइएको थुमाबाट तिमीले यी भागहरू चोख्याउनू: डोलाउने भेटीको रूपमा चढाइएको ह्‍याकुला र पवित्र भागको रूपमा चढाइएको खुट्टा।+ २८ यी दुवै पवित्र पारिएको भाग भएकोले हारुन र तिनका छोराहरूलाई दिने गर्नू। यो नियम इस्राएलीहरूले सधैँ पालन गरून्‌।+ इस्राएलीहरूले मेलबलि चढाउँदा यी भागहरू हारुन र तिनका छोराहरूलाई दिनु भनेको यहोवा परमेश्‍वरलाई दिनुसरह हो।+

२९ “हारुनको पवित्र पोसाक+ तिनको शेषपछि तिनका छोरा र नातिपनातिलाई दिइयोस्‌;+ पुजारी अभिषेक हुँदा र त्यस ओहदामा नियुक्‍त हुँदा तिनीहरूले ती पोसाक लगाऊन्‌। ३० हारुनको शेषपछि तिनको ठाउँमा पुजारी नियुक्‍त हुने तिनका छोरा जब पवित्र ठाउँमा सेवा गर्न भेट हुने पालमा आउँछन्‌, तब तिनले सात दिनसम्म ती पोसाक लगाऊन्‌।+

३१ “पुजारी नियुक्‍त गर्दा चढाइएको थुमाको मासु लिएर त्यसलाई पवित्र ठाउँमा उसिन्‍नू।+ ३२ अनि हारुन र तिनका छोराहरूले भेट हुने पालको प्रवेशद्वारमा थुमाको मासु र टोकरीमा भएको रोटी खाऊन्‌।+ ३३ तिनीहरूलाई पुजारी नियुक्‍त गर्नुअघि तिनीहरूको पापको प्रायश्‍चितको निम्ति अनि तिनीहरूलाई चोख्याउन जुन-जुन कुरा अर्पण गरिएको थियो, त्यो तिनीहरूले खाऊन्‌। तर तिनीहरूबाहेक अधिकार नभएको कुनै मानिसले* ती नखाओस्‌ किनकि ती पवित्र कुरा हुन्‌।+ ३४ बलि चढाइएको थुमाको मासु र रोटी भोलिपल्ट बिहानसम्म बाँकी रह्‍यो भने आगोमा जलाइदिनू।+ ती कसैले नखाओस्‌ किनकि ती पवित्र कुरा हुन्‌।

३५ “मैले तिमीलाई आज्ञा गरेबमोजिमै हारुन र तिनका छोराहरूलाई पुजारी नियुक्‍त गर्नू। तिनीहरूलाई सात दिन लगाएर पुजारी नियुक्‍त गर्नू।+ ३६ तिमीले हरेक दिन पापको प्रायश्‍चितका लागि बहर काटेर पापभेटी चढाउनू; यसरी प्रायश्‍चितको बलि चढाएर वेदीको पाप हटाउनू र त्यसलाई शुद्ध पार्नू अनि वेदीलाई चोख्याउन अभिषेक गर्नू।+ ३७ तिमीले सात दिनसम्म वेदीको निम्ति प्रायश्‍चितको बलि चढाउनू र त्यसलाई चोख्याउनू; यसरी त्यो वेदी महापवित्र हुनेछ।+ वेदीमा सेवा गर्ने हरेक मानिस पवित्र हुनुपर्छ।

३८ “तिमीले हरेक दिन वेदीमा चढाउनुपर्ने कुराहरू यी हुन्‌: भेडाका एक-एक वर्षका दुई वटा पाठा।+ ३९ एउटा पाठो बिहान चढाउनू र अर्कोचाहिँ साँझ।*+ ४० एपाको* दस भागको एक भाग मसिनो पीठोलाई एक चौथाइ हिन* तेलमा मुछ्‌नू अनि मद्यभेटीको लागि एक चौथाइ हिन मद्य ल्याउनू। यी कुराहरू पहिलो पाठोसँगै चढाउनू। ४१ दोस्रो पाठोचाहिँ साँझ चढाउनू र बिहानजस्तै अन्‍नभेटी र मद्यभेटी पनि सँगै चढाउनू। यहोवा परमेश्‍वरको निम्ति आगोमा जलाइएको यो भेटीबाट निस्किने बास्ना उहाँलाई मन पर्ने मीठो बास्ना हुनेछ। ४२ तिमीले भेट हुने पालको प्रवेशद्वारमा यो अग्निभेटी यहोवा परमेश्‍वरसामु पुस्तौँपुस्तासम्म निरन्तर चढाउनू; त्यहीँ म तिमीसामु देखा पर्नेछु र तिमीसित कुरा गर्नेछु।+

४३ “म त्यहाँ इस्राएलीहरूसामु देखा पर्नेछु र मेरो वैभवले त्यो ठाउँ पवित्र हुनेछ।+ ४४ भेट हुने पाल र वेदीलाई म चोख्याउनेछु अनि हारुन र तिनका छोराहरूले पुजारीको काम गरून्‌ भनेर तिनीहरूलाई पनि चोख्याउनेछु।+ ४५ म इस्राएलीहरूमाझ बास गर्नेछु र तिनीहरूका परमेश्‍वर हुनेछु।+ ४६ तिनीहरूमाझ बास गर्नको लागि तिनीहरूलाई मिश्रबाट निकालेर ल्याउने म यहोवा नै तिनीहरूका परमेश्‍वर हुँ भनेर तिनीहरूले पक्कै थाह पाउनेछन्‌।+ म यहोवा तिनीहरूका परमेश्‍वर हुँ।

३० “धूप बाल्न तिमीले एउटा वेदी बनाउनू;+ त्यो वेदी बबुल काठको होस्‌।+ २ त्यो चारकुने होस्‌; त्यसको लम्बाइ एक हात,* चौडाइ एक हात अनि उचाइचाहिँ दुई हात होस्‌। वेदीकै भागको रूपमा त्यसका सिङहरू त्यसका चार कुनाबाट उठाइएको होस्‌।+ ३ तिमीले वेदीलाई निखुर सुनले मोहोर्नू: यसको माथिल्लो भाग, चारैतिरको पाटा अनि सिङहरू। वेदीको चारैतिर सुनको बिट* बनाउनू। ४ वेदीको दुवैतिर सुनको दुई-दुई वटा मुन्द्रा बनाउनू। ती मुन्द्राहरू बिटमुनि होऊन्‌ र वेदीलाई बोक्ने डन्डीहरू ती मुन्द्राहरूमा छिराउनू। ५ डन्डीहरू बबुल काठको बनाउनू र त्यसलाई सुनले मोहोर्नू। ६ तिमीले त्यस वेदीलाई साक्षीपाटी* राखिएको सन्दुकनजिकै* भएको पर्दाअगाडि+ अर्थात्‌ सन्दुकको ढकनीको अगाडि राख्नू, जहाँ म तिमीसामु देखा पर्नेछु।+

७ “हारुनले+ हरेक बिहान तेल हालेर पानसका दियोहरू मिलाउँदा+ वेदीमा+ सुगन्धित धूप पनि बालून्‌।+ ८ हारुनले साँझ* दियो बाल्दा फेरि पनि धूप बालून्‌। पुस्तौँपुस्तासम्म यहोवा परमेश्‍वरसामु निरन्तर धूप बलिरहोस्‌। ९ तिमीले त्यस वेदीमा परमेश्‍वरले तोक्नुभएको बाहेक अरू किसिमका धूप नबाल्नू+ अनि त्यहाँ अग्निभेटी, अन्‍नभेटी वा मद्यभेटी पनि नचढाउनू। १० पापभेटीको रूपमा चढाइएको बलिको अलिकति रगत धूप बाल्ने वेदीका सिङहरूमा लगाइदिएर+ हारुनले वर्षको एक पटक वेदीलाई शुद्ध पारून्‌।+ यसरी पुस्तौँपुस्तासम्म वर्षको एक पटक वेदीलाई शुद्ध पार्नू। यो वेदी यहोवा परमेश्‍वरको निम्ति महापवित्र कुरा हो।”

११ त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: १२ “तिमीले इस्राएलीहरूको गणना लिँदा+ हरेकले आफ्नो ज्यानको लागि यहोवा परमेश्‍वरलाई प्रायश्‍चितको मोल तिरोस्‌। यसो गरेमा तिनीहरूमाथि कुनै विपत्ति आइपर्नेछैन। १३ गणना लिँदा दर्ता भएकाहरूले पवित्र ठाउँको शेकेलअनुसार* आधा शेकेल* चढाऊन्‌।+ बीस गेराबराबर* एक शेकेल हुन्छ। यहोवा परमेश्‍वरलाई चढाउनुपर्ने चाहिँ आधा शेकेल हो।+ १४ बीस वर्ष र सोभन्दा माथिका ज-जसको नाम दर्ता भएको छ, तिनीहरू सबैले यहोवा परमेश्‍वरको लागि अनुदान चढाऊन्‌।+ १५ तिनीहरूले आफ्नो प्रायश्‍चितको मोलस्वरूप यहोवा परमेश्‍वरलाई आधा शेकेल मात्र चढाऊन्‌। धनीले धेरै वा गरिबले थोरै नचढाओस्‌। १६ इस्राएलीहरूबाट प्रायश्‍चितको मोलस्वरूप चाँदीको पैसा लिनू र त्यसलाई भेट हुने पालमा* गरिने सेवाको निम्ति चढाउनू। यो पैसा यहोवा परमेश्‍वरसामु सम्झनाको चिन्ह हुनेछ र यसले तिमीहरूको ज्यान बचाउनेछ।”

१७ यहोवा परमेश्‍वरले मोसालाई अझै यसो भन्‍नुभयो: १८ “तामाको ठूलो बाटा बनाउनू। अनि त्यसलाई राख्ने चारखुट्टे टेको पनि बनाउनू।+ त्यसलाई भेट हुने पाल र वेदीको बीचमा राख्नू अनि बाटामा पानी भर्नू।+ १९ हारुन र तिनका छोराहरूले त्यो पानीले आफ्नो हातखुट्टा धोऊन्‌।+ २० भेट हुने पालमा पस्दा अथवा वेदीमा सेवा गर्न र यहोवा परमेश्‍वरलाई अग्निभेटी चढाउन जाँदा तिनीहरूले त्यो पानीले आफ्नो हातखुट्टा धोऊन्‌ नत्र त तिनीहरू मर्नेछन्‌। २१ तिनीहरूले आफ्नो हातखुट्टा धुनै पर्छ नत्र त तिनीहरू मर्नेछन्‌। हारुन र तिनका छोराहरूले पुस्तौँपुस्तासम्म यो नियम पालन गरून्‌।”+

२२ यहोवा परमेश्‍वरले मोसालाई अझै भन्‍नुभयो: २३ “तिमीले अत्यन्तै सुगन्धित यी मसलाहरू ल्याउनू: ५०० शेकेल ढिक्के मर्र,* त्यसको आधा अर्थात्‌ २५० शेकेल दालचिनी, २५० शेकेल बोझो* २४ अनि ५०० शेकेल* क्यासिया।* यी सबै मसला पवित्र ठाउँको शेकेलअनुसार होस्‌।+ साथै एक हिन* जैतुनको तेल पनि ल्याउनू। २५ यी सबै मसला ठीक-ठीक मात्रामा मिसाएर अभिषेक गर्ने पवित्र तेल बनाउनू।+ यो अभिषेक गर्ने पवित्र तेल होस्‌।

२६ “यो तेलले भेट हुने पाल अनि साक्षीपाटी राखिएको सन्दुकलाई अभिषेक गर्नू।+ २७ साथै टेबुल र त्यसमा भएका सबै सरसामान, पानस र त्यसका सरसामान, धूप बाल्ने वेदी, २८ अग्निभेटी चढाउने वेदी र त्यसमा भएका सबै सरसामान, ठूलो बाटा र त्यो राख्ने चारखुट्टे टेकोलाई पनि अभिषेक गर्नू। २९ ती सबैलाई चोख्याउनू; त्यसपछि ती महापवित्र हुनेछन्‌।+ जो पवित्र छ, उसले मात्र यी कुराहरू छोओस्‌।+ ३० हारुन+ र तिनका छोराहरूलाई+ पुजारीको काम गर्न अभिषेक गर्नू र चोख्याउनू।+

३१ “तिमीले इस्राएलीहरूलाई यसो भन, ‘मेरो नजरमा यो अभिषेक गर्ने पवित्र तेल हो। तिमीहरूले यसलाई पुस्तौँपुस्तासम्म पवित्र ठान्‍नू।+ ३२ यो तेल शरीरमा नलगाउनू। यी मसलाहरू मिसाएर अरू प्रयोगको लागि यस्तै किसिमको तेल नबनाउनू। यो पवित्र तेल हो र सधैँ पवित्र रहिरहोस्‌। ३३ यदि कुनै व्यक्‍तिले यस्तै किसिमको तेल बनाउँछ र यस्तो तेल लगाउने अनुमति नपाएको कुनै मानिसलाई* लगाइदिन्छ भने त्यस मानिसलाई इस्राएलीहरूको समुदायबाट हटाइयोस्‌।’”*+

३४ त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “तिमीले यी मसलाहरू बराबर मात्रामा ल्याउनू:+ गुँद, नखी, हिङ अनि शुद्ध सेतो धूप।* ३५ यी सबै मिसाएर धूप तयार पार्नू।+ सबै मसला ठीक-ठीक मात्रामा मिसाउनू अनि त्यसमा नुन पनि हाल्नू।+ यो धूप शुद्ध र पवित्र होस्‌। ३६ यसबाट अलिकति धूप लिनू र त्यसलाई कुटेर मसिनो धुलो पार्नू अनि यो मसिनो धुलोबाट अलिकति लिएर त्यसलाई भेट हुने पालमा भएको साक्षीपाटी राखिएको सन्दुकअगाडि राख्नू, जहाँ म तिमीसामु देखा पर्छु। यो मसिनो धुलोलाई तिमीहरूले महापवित्र ठान्‍नू। ३७ यी मसलाहरू मिसाएर तिमीले आफ्नो निम्ति धूप नबनाउनू।+ यस धूपलाई यहोवा परमेश्‍वरको लागि अलग्गै छुट्ट्याइएको पवित्र कुरा ठान्‍नू। ३८ जसले यसको बास्ना मन पराएर आफ्नो निम्ति यस्तै धूप बनाउँछ, उसलाई इस्राएलीहरूको समुदायबाट हटाइयोस्‌।”*

३१ यहोवा परमेश्‍वरले मोसालाई अझै यसो भन्‍नुभयो: २ “हेर, मैले यहुदाको कुलको हुरको नाति, उरिको छोरा बजलेललाई रोजेको छु।+ ३ म तिनलाई मेरो पवित्र शक्‍तिले भरिपूर्ण पार्नेछु अनि बुद्धि, समझ र सबै किसिमका कालिगडीसम्बन्धी ज्ञान दिनेछु: ४ आकर्षक ढाँचाहरू बनाउने; सुन, चाँदी र तामाको काम गर्ने; ५ बहुमूल्य रत्नहरू काट्‌ने र जड्‌ने+ अनि काठका विभिन्‍न सरसामान बनाउने।+ ६ साथै तिनलाई सघाउन मैले दानको कुलको अहिसामाकको छोरा ओहोलिआबलाई नियुक्‍त गरेको छु।+ अनि सिपालु कालिगडहरूलाई म अझ बुद्धिमान्‌ बनाउनेछु र मैले दिएको आज्ञाबमोजिम तिनीहरूले यी सबै कुरा बनाउनेछन्‌:+ ७ भेट हुने पाल,*+ साक्षीपाटी* राखिएको सन्दुक*+ र त्यसको ढकनी,+ पालका सबै सरसामान, ८ टेबुल+ र त्यसमा भएका सरसामान, निखुर सुनको पानस र त्यसका सबै सरसामान,+ धूप बाल्ने वेदी,+ ९ अग्निभेटी चढाउने वेदी+ र त्यसका सबै सरसामान, ठूलो बाटा र त्यसलाई राख्ने चारखुट्टे टेको,+ १० राम्ररी बुनेको पोसाक, पुजारी हारुनको लागि पवित्र पोसाक, तिनका छोराहरूले पुजारीको काम गर्दा लगाउने पोसाक,+ ११ अभिषेक गर्ने तेल र पवित्र स्थानको* लागि सुगन्धित धूप।+ कालिगडहरूले यी सबै कुरा मैले तिमीलाई दिएको आज्ञाबमोजिमै बनाउनेछन्‌।”

१२ यहोवा परमेश्‍वरले मोसालाई यसो पनि भन्‍नुभयो: १३ “तिमीले इस्राएलीहरूलाई भन्‍नू, ‘तिमीहरूले विश्रामदिन* अवश्‍य मान्‍नू+ किनकि यो पुस्तौँपुस्तासम्म म र तिमीहरूबीच रहिरहने चिन्ह हो र तिमीहरूलाई पवित्र पार्ने म यहोवा नै हुँ भनेर तिमीहरूले यसैबाट थाह पाउनेछौ। १४ विश्रामदिन* मान्‍नू किनकि यो तिमीहरूका लागि पवित्र हो।+ जसले विश्रामदिनसम्बन्धी नियम मान्दैन, ऊ मारियोस्‌। यो दिन कसैले कुनै किसिमको काम गऱ्‍यो भने त्यस मानिसलाई इस्राएलीहरूको समुदायबाट हटाउनै पर्छ।*+ १५ छ दिनसम्म काम गर्नू तर सातौँ दिन भने विश्रामदिन हो, पूरै आराम गर्ने दिन।+ यो दिनलाई यहोवा परमेश्‍वर पवित्र ठान्‍नुहुन्छ। विश्रामदिनमा कसैले काम गरेमा ऊ मारियोस्‌। १६ इस्राएलीहरूले विश्रामदिन मान्‍नै पर्छ; पुस्तौँपुस्तासम्म तिनीहरूले विश्रामदिन मानून्‌। यो सधैँभरि रहने करार हो। १७ म र इस्राएलीहरूबीच यो सधैँको लागि चिन्ह हो+ किनकि यहोवा परमेश्‍वरले छ दिनमा आकाश र पृथ्वी सृष्टि गर्नुभयो तर सातौँ दिनमा उहाँले विश्राम लिनुभयो र आफ्नो कामबाट आनन्द उठाउनुभयो।’”+

१८ सिनै डाँडामा मोसासित कुरा गरिसक्नेबित्तिकै परमेश्‍वरले आफ्नै हातले* लेखेको ढुङ्‌गाका दुई वटा साक्षीपाटी+ मोसालाई दिनुभयो।+

३२ मोसाले डाँडाबाट ओर्लन ढिलो गरेको देखेपछि+ इस्राएलीहरूले हारुनकहाँ भेला भएर यसो भने: “हाम्रो अघिअघि बाटो देखाउने एउटा देवता बनाइदिनुहोस्‌+ किनकि हामीलाई मिश्रबाट डोऱ्‍याएर ल्याउने मोसा कता हराए, हामीलाई थाह छैन।” २ तब हारुनले तिनीहरूलाई यसो भने: “तिमीहरूका पत्नी अनि छोराछोरीले कानमा लगाइराखेका सुनका कुण्डलहरू फुकालेर मकहाँ ल्याओ।”+ ३ अनि सबैले आफ्नो कानमा लगाएका कुण्डल फुकालेर हारुनकहाँ ल्याए। ४ त्यसपछि हारुनले तिनीहरूले ल्याएका सुनका गहनाहरू गाले अनि औजारले खोपेर बाछोको मूर्ति बनाए।+ अनि तिनीहरू यसो भनेर कराउन थाले: “हे इस्राएलीहरू हो, तिमीहरूलाई मिश्रबाट ल्याउने तिमीहरूका देवता यही हो।”+

५ यो देखेपछि हारुनले त्यस मूर्तिको अगाडि एउटा वेदी बनाए र भने: “भोलि यहोवा परमेश्‍वरको निम्ति एउटा चाड मनाइनेछ।” ६ त्यसैले तिनीहरू भोलिपल्ट बिहानै उठेर अग्निभेटी र मेलबलि चढाउन थाले। त्यसपछि तिनीहरू खान र पिउनलाई बसे अनि रमाइलो गर्नलाई उठे।+

७ तब यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “तल जाऊ किनभने तिमीले मिश्रबाट छुटाएर ल्याएका तिम्रा मानिसहरू भ्रष्ट भएका छन्‌।+ ८ मैले देखाएको मार्गबाट तर्कन तिनीहरूलाई एकछिन पनि लागेन।+ तिनीहरूले बाछोको मूर्ति बनाएका छन्‌ अनि त्यसलाई ढोग्दै र त्यसको लागि बलि चढाउँदै यसो भन्दै छन्‌, ‘हे इस्राएलीहरू हो, तिमीहरूलाई मिश्रबाट ल्याउने तिमीहरूका देवता यही हो।’” ९ यहोवा परमेश्‍वरले मोसालाई अझै यसो भन्‍नुभयो: “यी मानिसहरू साँच्चै हठी मानिसहरू हुन्‌।+ १० त्यसैले अब मलाई नरोक। म यिनीहरूलाई मेरो रिसको आगोले भस्म पार्नेछु अनि तिमीबाटै एउटा ठूलो जाति बनाउनेछु।”+

११ तब मोसाले यहोवा परमेश्‍वरलाई यस्तो बिन्ती गरे:+ “हे यहोवा, आफ्नो ठूलो शक्‍ति अनि पराक्रमी हातले मिश्रबाट ल्याएका आफ्ना मानिसहरूसित तपाईँ किन रिसले चूर हुनुहुन्छ?+ १२ मिश्रीहरूलाई यसो भन्‍ने मौका किन दिने: ‘इस्राएलीहरूलाई दुःख दिन पो उहाँले तिनीहरूलाई यहाँबाट निकाल्नुभएको रहेछ! तिनीहरूलाई डाँडामै मार्न अनि पृथ्वीबाट नामेट पार्न उहाँले यसो गर्नुभएको रहेछ!’+ त्यसैले हे परमेश्‍वर, आफ्नो रिस थाम्नुहोस्‌ अनि आफ्नो प्रजामाथि यस्तो विपत्ति ल्याउने आफ्नो निर्णयबारे फेरि विचार गर्नुहोस्‌।* १३ आफ्ना सेवकहरू अब्राहाम, इसहाक र इस्राएललाई सम्झनुहोस्‌, जससित तपाईँले यस्तो शपथ खानुभएको थियो: ‘म तिम्रा सन्तानलाई आकाशका ताराजत्तिकै बढाउनेछु।+ अनि मैले तिनीहरूको निम्ति तयार पारेको यो देश म तिनीहरूलाई दिनेछु र तिनीहरूले त्यहाँ अनन्तसम्म अधिकार गर्नेछन्‌।’”+

१४ मोसाका यी सब कुरा सुनेपछि यहोवा परमेश्‍वरले आफ्नो प्रजामाथि विपत्ति ल्याउने आफ्नो निर्णयबारे फेरि विचार गर्नुभयो।*+

१५ त्यसपछि मोसा ढुङ्‌गाका दुई वटा साक्षीपाटी*+ हातमा लिएर डाँडाबाट ओर्ले।+ ती साक्षीपाटीहरूको अगाडिपछाडि दुवैतिर अक्षरहरू कुँदिएका थिए। १६ ती साक्षीपाटीहरू परमेश्‍वर आफैले बनाउनुभएको थियो। अनि त्यसमा कुँदिएका अक्षरहरू परमेश्‍वर स्वयम्‌ले लेख्नुभएको थियो।+ १७ मानिसहरूको हल्लाखल्ला सुनेपछि यहोसुले मोसालाई भने: “छाउनीमा त लडाइँको आवाज पो सुनिँदै छ।” १८ तर मोसाले भने:

“यो विजयगान होइन,*

हार्नेहरूको बिलौना पनि होइन;

म त अर्कै किसिमको गीत सुन्दै छु।”

१९ छाउनीनजिकै पुगेपछि मोसाले बाछोको मूर्ति+ र त्यसको अगाडि मानिसहरू नाचिरहेको देखे। यो देखेर तिनी रिसले आगो भए र आफ्ना हातमा भएका ढुङ्‌गाका पाटीहरू भुईँमा बजारे अनि डाँडाको फेदमा ती टुक्राटुक्रा भए।+ २० इस्राएलीहरूले बनाएको बाछो तिनले आगोमा हालिदिए अनि त्यसलाई धुलोपिठो पारेर+ पानीमा छरिदिए र इस्राएलीहरूलाई त्यो पानी पिउन लगाए।+ २१ अनि मोसाले हारुनलाई सोधे: “तिनीहरूले तपाईँलाई त्यस्तो के गरे, जसले गर्दा तपाईँले तिनीहरूलाई यस्तो घोर पाप गर्न लगाउनुभयो?” २२ हारुनले भने: “हे प्रभु, मसित नरिसाउनुहोस्‌। यी मानिसहरू खराब काम गर्न कत्ति आतुर छन्‌, तपाईँलाई थाहै छ।+ २३ तिनीहरूले मलाई यसो भने, ‘हाम्रो अघिअघि बाटो देखाउने एउटा देवता बनाइदिनुहोस्‌ किनकि हामीलाई मिश्र देशबाट डोऱ्‍याएर ल्याउने मोसा कता हराए, हामीलाई थाह छैन।’+ २४ अनि मैले तिनीहरूलाई भनेँ, ‘जो-जोसित सुनका गहना छन्‌, ती फुकालेर मकहाँ ल्याओ।’ अनि मैले ती गहना आगोमा फालेँ र यो बाछो निस्क्यो।”

२५ हारुनले मानिसहरूलाई छाडा छोडेकोले तिनीहरूले मनपरी गरिरहेको मोसाले देखे। यसले गर्दा तिनीहरू शत्रुहरूको अगाडि हाँसोको पात्र भइरहेका थिए। २६ त्यसपछि मोसाले छाउनीको प्रवेशद्वारमा उभिएर यसो भने: “यहोवा परमेश्‍वरको पक्षमा को-को छौ? यता मकहाँ आओ!”+ अनि लेविको कुलका सबै जना तिनी उभिएको ठाउँमा गए। २७ त्यसपछि मोसाले तिनीहरूलाई भने: “इस्राएलका परमेश्‍वर यहोवाले यसो भन्‍नुभएको छ, ‘तिमीहरू सबैले आ-आफ्नो तरबार भिर अनि छाउनीको चारैतिर गएर हरेक ढोकाभित्र छिर अनि आफ्नो दाजुभाइ, छिमेकी, मिल्ने साथी कसैलाई बाँकी नराख।’”+ २८ लेवीहरूले मोसाले भनेअनुसारै गरे। त्यो दिन ३ हजारजति पुरुष मारिए। २९ अनि मोसाले तिनीहरूलाई भने: “आजदेखि तिमीहरूले आफूलाई यहोवा परमेश्‍वरको निम्ति अलग पार किनभने तिमीहरू आफ्नै छोरा अनि दाजुभाइलाई नाश गर्न समेत पछि हटेनौ।+ आज तिमीहरूले जे गऱ्‍यौ, त्यसको लागि उहाँले तिमीहरूलाई आशिष्‌ दिनुहुनेछ।”+

३० भोलिपल्टै मोसाले मानिसहरूलाई यसो भने: “तिमीहरूले घोर पाप गऱ्‍यौ। तिमीहरूको पाप क्षमा हुन सक्छ कि भनेर बुझ्न अब म यहोवा परमेश्‍वरकहाँ बिन्ती चढाउन जाँदै छु।”+ ३१ अनि यहोवा परमेश्‍वरकहाँ गएर मोसाले यसो भने: “यी मानिसहरूले घोर पाप गरे! तिनीहरूले आफ्नो निम्ति सुनको देवता बनाएर त्यसको पूजा गरे!+ ३२ यदि तपाईँ चाहनुहुन्छ भने यिनीहरूको पाप क्षमा गरिदिनुहोस्‌;+ होइन भने बिन्ती छ, तपाईँले लेख्नुभएको पुस्तकबाट मेरो नाम मेटाइदिनुहोस्‌।”+ ३३ तर यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “जसले मेरो विरुद्धमा पाप गरेको छ, म उसकै नाम मेरो पुस्तकबाट मेटाउनेछु। ३४ अब यी मानिसहरूलाई मैले भनेको देशमा लिएर जाऊ। हेर, मेरो स्वर्गदूतले तिमीलाई अघिअघि डोऱ्‍याउनेछन्‌!+ जुन दिन म इन्साफ गर्छु, त्यसै दिन म यिनीहरूलाई पापको सजाय दिनेछु।” ३५ तिनीहरूले हारुनलाई बाछोको मूर्ति बनाउन लगाएकोले यहोवा परमेश्‍वरले तिनीहरूमाथि विपत्ति ल्याएर सजाय दिनुभयो।

३३ त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई यसो भन्‍नुभयो: “तिमीले मिश्रबाट छुटाएर ल्याएका मानिसहरूलाई लिएर यहाँबाट जाऊ। तिमीहरू त्यस देशमा जाओ, जुन देश ‘तिमीहरूको सन्तानलाई दिनेछु’ भनेर मैले अब्राहाम, इसहाक र याकुबसित शपथ खाएको थिएँ।+ २ म तिमीहरूको अघिअघि स्वर्गदूत पठाउनेछु+ र कनानी, एमोरी, हित्ती, परिज्जी, हिव्वी र यबुसीहरूलाई त्यहाँबाट धपाउनेछु।+ ३ तिमीहरू दूध र मह बग्ने देशमा जाओ।+ तर म तिमीहरूसित जान्‍नँ किनकि तिमीहरू हठी मानिसहरू हौ।+ तिमीहरूसँगै गएँ भने त म तिमीहरूलाई बाटैमा नाश गरूँला।”+

४ यो कठोर वचन सुनेपछि मानिसहरूले बिलौना गर्न थाले। अनि तिनीहरू कसैले पनि आफ्नो गरगहना लगाएनन्‌। ५ यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “इस्राएलीहरूलाई यसो भन, ‘तिमीहरू हठी मानिसहरू हौ।+ मैले चाहेँ भने तिमीहरूलाई एकै पलमा नाश गर्न सक्छु।+ तिमीहरूलाई के गर्नुपर्ने हो, त्यसबारे मैले निर्णय नगरेसम्म तिमीहरू गहना नलगाओ।’” ६ त्यसैले होरेब डाँडादेखि इस्राएलीहरूले गहना लगाएनन्‌।*

७ अनि मोसाले छाउनीभन्दा अलि बाहिर आफ्नो पाल टाँगे। अनि तिनले त्यसलाई भेट हुने पाल* भने। कुनै विषयमा यहोवा परमेश्‍वरको इच्छा के रहेछ भनेर जान्‍न चाहने व्यक्‍ति+ छाउनीबाहिर भएको त्यस पालमा जान्थ्यो। ८ मोसा त्यस पालमा जाँदा सबै मानिस आ-आफ्नो पालको प्रवेशद्वारमा उभिरहन्थे र तिनी पालभित्र नछिरेसम्म तिनलाई हेरिरहन्थे। ९ मोसा पालभित्र छिर्नेबित्तिकै बादलको खामो+ तल आउँथ्यो र परमेश्‍वर मोसासित कुरा गरुन्जेल त्यो खामो पालको प्रवेशद्वारमा रहन्थ्यो।+ १० जब मानिसहरूले त्यस पालको प्रवेशद्वारमा बादलको खामो देख्थे, तब तिनीहरूले आ-आफ्नै पालको प्रवेशद्वारबाट दण्डवत्‌ गर्थे। ११ मानिसहरू आपसमा कुरा गरेझैँ यहोवा परमेश्‍वर मोसासित आमनेसामने कुरा गर्नुहुन्थ्यो।+ परमेश्‍वरसित कुरा गरेर मोसा छाउनीभित्र पस्दा तिनका सेवक+ अर्थात्‌ नुनका छोरा यहोसुचाहिँ+ मोसा नफर्केसम्म भेट हुने पालको प्रवेशद्वारमै उभिरहन्थे।

१२ तब मोसाले यहोवा परमेश्‍वरलाई भने: “तपाईँ मलाई ‘यी मानिसहरू लिएर जाऊ’ त भन्‍नुहुन्छ तर मसित कसलाई पठाउनुहुन्छ, त्यसबारे केही भन्‍नुभएको छैन। अझ तपाईँ यसो पनि भन्‍नुहुन्छ, ‘मैले तिमीलाई रोजेको छु* र तिमीले मेरो निगाह पाएका छौ।’ १३ यदि मैले तपाईँको निगाह पाएको छु भने कृपया मलाई तपाईँको मार्ग देखाउनुहोस्‌+ र मैले तपाईँलाई चिन्‍न सकूँ र तपाईँको निगाह पाइरहन सकूँ। यी मानिसहरू तपाईँको आफ्नै जाति हो भनेर पनि नबिर्सनुहोस्‌।”+ १४ अनि परमेश्‍वरले यसो भन्‍नुभयो: “म आफै तिमीसित जानेछु+ र तिमीलाई आराम दिनेछु।”+ १५ अनि मोसाले उहाँलाई भने: “हुन्छ, तर यदि तपाईँ हामीसित जानुहुन्‍न भने हामीलाई यहीँ रहन दिनुहोस्‌। १६ मैले र तपाईँका यी मानिसहरूले तपाईँको निगाह पाएका छौँ भनेर कसरी थाह पाउने? तपाईँ हाम्रो साथमा हुनुभएकोले नै होइन र?+ नत्र त पृथ्वीका अरू मानिसहरूभन्दा म र तपाईँका यी मानिसहरू कसरी फरक देखिन्छौँ र?”+

१७ यहोवा परमेश्‍वरले मोसालाई यसो भन्‍नुभयो: “ठीक छ, म पनि तिमीले भनेअनुसारै गर्नेछु किनकि तिमीले मेरो निगाह पाएका छौ र मैले तिमीलाई राम्रोसँग चिनेको छु।”* १८ अनि मोसाले भने: “कृपया मलाई तपाईँको गौरव देखाउनुहोस्‌।” १९ तर उहाँले भन्‍नुभयो: “म तिम्रै सामने मेरा सारा वैभव देखाउनेछु अनि तिम्रै सामने यहोवा भन्‍ने मेरो नाम प्रकट गर्नेछु+ अनि जसलाई निगाह देखाउन चाहन्छु, उसलाई निगाह देखाउनेछु र जसलाई कृपा देखाउन चाहन्छु, उसलाई कृपा देखाउनेछु।”+ २० तर उहाँले यसो पनि भन्‍नुभयो: “तिमीले मेरो अनुहार देख्न सक्दैनौ किनकि मेरो अनुहार हेरेर कोही पनि जिउँदो रहन सक्दैन।”

२१ त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “यहाँ मेरो नजिक आऊ र यस चट्टानमाथि खडा होऊ। २२ मेरो महिमाको ज्योति तिमीसामु भएर जाँदा म तिमीलाई यस चट्टानको धाँजोमा राख्नेछु र म नजाउन्जेल तिमीलाई आफ्नो हातले छोपिराख्नेछु। २३ त्यसपछि म आफ्नो हात हटाउनेछु र तिमीले मेरो पिठिउँ देख्नेछौ। तर मेरो अनुहारचाहिँ देख्नेछैनौ।”+

३४ त्यसपछि यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: “पहिलाको जस्तै ढुङ्‌गाका दुई वटा पाटी बनाऊ+ अनि तिमीले फुटाएका+ ती पाटीहरूमा जे-जे लेखिएका थिए, त्यो म फेरि लेखिदिनेछु।+ २ अनि बिहानै तयार भएर सिनै डाँडामा उक्लेर आऊ अनि डाँडाको टाकुरामा मेरो सामने हाजिर होऊ।+ ३ तर तिमीसित अरू कोही पनि नआओस्‌ अनि डाँडामा कतै पनि अरू कोही देखा नपरोस्‌। भेडाबाख्रा वा गाईवस्तुसमेत त्यस डाँडाको अगाडि नचरून्‌।”+

४ तब मोसाले यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएझैँ पहिलाको जस्तै ढुङ्‌गाका दुई वटा पाटी बनाए अनि बिहान सबेरै उठेर सिनै डाँडा उक्ले; तिनले ती दुई वटा पाटी पनि सँगै लगे। ५ अनि यहोवा परमेश्‍वर बादलमा ओर्लेर मोसाकहाँ देखा पर्नुभयो+ र आफ्नो नाम यहोवाबारे घोषणा गर्नुभयो।+ ६ यहोवा परमेश्‍वर मोसासामु यसो भन्दै प्रकट हुनुभयो: “यहोवा, हो म यहोवा कृपालु+ र दयालु+ छु, म हतपती रिसाउँदिनँ+ अनि म अटल प्रेम+ र सत्यले*+ भरिपूर्ण छु। ७ मेरो अटल प्रेम हजारौँ-हजार पुस्तासम्म रहिरहन्छ।+ म मानिसहरूको गल्ती, अपराध र पाप क्षमा गर्छु+ तर दोषीलाई सजाय नदिई कुनै हालतमा छोड्‌दिनँ।+ बुबाले गरेको गल्तीको सजाय तिनका छोराहरू, नातिहरू र पनातिहरूलाई समेत दिन्छु।”+

८ तब मोसाले हत्त न पत्त घुँडा टेकेर परमेश्‍वरलाई ढोगे। ९ अनि तिनले भने: “हे यहोवा, हामी हठी मानिसहरू हौँ+ तैपनि मैले तपाईँको निगाह पाएको छु भने हे यहोवा, कृपया हामीसितै आउनुहोस्‌।+ हाम्रा गल्ती अनि हाम्रा पाप क्षमा गर्नुहोस्‌+ अनि हामीलाई तपाईँको आफ्नै सम्पत्तिको रूपमा ग्रहण गर्नुहोस्‌।” १० यो सुनेपछि उहाँले भन्‍नुभयो: “हेर, म तिमीहरूसित एउटा करार गर्दै छु: पृथ्वीमा पहिला कहिल्यै नभएको वा जातिजातिका मानिसहरूले पहिला कहिल्यै नदेखेका अचम्म-अचम्मका काम म तिमीहरूसामु गर्नेछु।+ अनि तिमीहरू जसको माझमा बसिरहेका छौ, तिनीहरूले यहोवाको काम देख्नेछन्‌ किनकि म तिमीहरूको निम्ति आश्‍चर्यलाग्दो काम गर्दै छु।+

११ “आज म तिमीहरूलाई जुन आज्ञा दिँदै छु, त्यो ध्यान दिएर सुन।+ म तिमीहरूको माझबाट एमोरी, कनानी, हित्ती, परिज्जी, हिव्वी र यबुसीहरूलाई धपाउँदै छु।+ १२ तिमीहरू जुन देशमा जाँदै छौ, त्यहाँका मानिसहरूसित कुनै करार नगर्नू+ नत्र त्यो नै तिमीहरूको लागि पासो बन्ला।+ १३ उनीहरूका वेदीहरू भत्काइदेओ, पवित्र थामहरू* ढालिदेओ र पवित्र खामाहरू* टुक्राटुक्रा पारिदेओ।+ १४ तिमीहरूले अरू कुनै देवीदेवतालाई नढोग्नू+ किनकि यहोवा अरू कसैको भक्‍ति गरिएको नसहने परमेश्‍वर हुनुहुन्छ। हो, उहाँ यस्तो परमेश्‍वर हुनुहुन्छ, जो आफ्नो बाहेक अरू कसैको भक्‍ति गरिएको सहनुहुन्‍न।+ १५ ती देशका मानिसहरूसित कुनै किसिमको करार नगर्नू किनकि उनीहरूले आफ्ना देवीदेवतालाई पुजेर* आफूलाई भ्रष्ट पार्नेछन्‌+ र देवीदेवतालाई बलि चढाएको कुरा तिमीहरूलाई पनि खान लगाउनेछन्‌ र तिमीहरूले ती खानेछौ।+ १६ अनि तिमीहरूले आफ्ना छोराहरूको विवाह उनीहरूका छोरीहरूसित गरिदिनेछौ।+ उनीहरूका छोरीहरूले आफ्ना देवीदेवतालाई पुज्नेछन्‌ र तिमीहरूका छोराहरूलाई पनि ती देवीदेवतालाई पुज्न लगाउनेछन्‌।+

१७ “तिमीहरूले कुनै देवीदेवताको मूर्ति नबनाउनू।+

१८ “तिमीहरूले अखमिरा रोटीको चाड* मनाउनू।+ मैले आज्ञा गरेझैँ तिमीहरूले सात दिनसम्म खमिर* नहालेको रोटी खानू। अबिब* महिनाको तोकिएको समयमा तिमीहरूले त्यो खानू+ किनभने तिमीहरू अबिब महिनामै मिश्रबाट निस्केर आएका थियौ।

१९ “गर्भको पहिलो सन्तान मेरै हो,+ तिम्रा सबै गाईवस्तु र भेडाबाख्राबाट पहिले जन्मेका बाछो वा पाठो मेरै हो।+ २० पहिले जन्मेको गधालाई छुटाउन त्यसको सट्टा एउटा भेडा चढाउनू; तर त्यस गधालाई छुटाएनौ भने त्यसको घाँटी छिनालेर मार्नू। तिमीहरूको हरेक पहिलो सन्तानलाई मोल तिरेर छुटाउनू।+ मकहाँ कोही पनि खाली हात नआओस्‌।

२१ “तिमीहरूले छ दिनसम्म काम गर्नू तर सातौँ दिनमा चाहिँ विश्राम लिनू।+ खनजोत गर्ने र बाली काट्‌ने समयमा समेत तिमीहरूले विश्राम लिनू।

२२ “तिमीहरूले गहुँको पहिलो उब्जनी चढाएर हप्ताहरूको चाड* मनाउनू अनि वर्षको अन्तमा बाली भित्र्याउने चाड* मनाउनू।+

२३ “वर्षको तीन पल्ट सबै पुरुष इस्राएलका साँचो परमेश्‍वर यहोवासामु हाजिर हुनू।+ २४ तिमीहरूको सामनेबाट म जातिजातिका मानिसहरूलाई धपाउनेछु+ र तिमीहरूको देशको सिमाना बढाइदिनेछु। तिमीहरू वर्षको तीन पल्ट यहोवा परमेश्‍वरसामु हाजिर हुन जाँदा कसैले पनि तिमीहरूको जग्गाजमिन हडप्नेछैन।

२५ “मलाई चढाउने पशुबलिको रगतसँग खमिर हालेको कुनै पनि चिज नचढाउनू।+ निस्तार चाडको* बलिलाई भोलिपल्ट बिहानसम्म रहन नदिनू।+

२६ “तिमीहरूले आफ्नो भूमिको पहिलो उब्जनीको सर्वोत्तम भाग यहोवा तिमीहरूका परमेश्‍वरको भवनमा लगेर चढाउनू।+

“तिमीहरूले बाख्राको पाठोको मासु त्यसको माउको दूधमा नउमाल्नू।”+

२७ यहोवा परमेश्‍वरले मोसालाई अझै भन्‍नुभयो: “यी सबै कुरा लेख+ किनकि यी वचनहरूअनुसारै म तिमी र इस्राएलसित करार गर्नेछु।”+ २८ मोसाले ४० दिन र ४० रात सिनै डाँडामा यहोवा परमेश्‍वरसँग बिताए। त्यतिन्जेल तिनले न खानेकुरा खाए न त पानी नै पिए।+ अनि उहाँले ढुङ्‌गाका पाटीहरूमा करारको वचन अर्थात्‌ दस आज्ञा* लेख्नुभयो।+

२९ त्यसपछि मोसा सिनै डाँडाबाट तल ओर्ले अनि तिनले ती दुई वटा साक्षीपाटी पनि हातमा लिएर आए।+ परमेश्‍वरसित कुरा गरेर आएकोले आफ्नो अनुहारबाट उज्यालो आइरहेको छ भनेर मोसालाई थाहै थिएन। ३० हारुन र सबै इस्राएलीले मोसाको अनुहारबाट उज्यालो आइरहेको देखेपछि तिनको नजिक जान डराए।+

३१ तर मोसाले तिनीहरूलाई बोलाए। त्यसैले हारुन र इस्राएलीहरूका सबै कुलनायक नजिक गए अनि मोसाले तिनीहरूसित कुरा गरे। ३२ त्यसपछि अरू सबै इस्राएली पनि मोसाको नजिक गए अनि यहोवा परमेश्‍वरले सिनै डाँडामा जे-जे आज्ञा दिनुभएको थियो, तिनले ती सबै तिनीहरूलाई सुनाए।+ ३३ इस्राएलीहरूसित कुरा गरिसकेपछि मोसाले घुम्टोले अनुहार छोप्थे।+ ३४ तर यहोवा परमेश्‍वरसित कुरा गर्न उहाँसामु जाँदा तिनी घुम्टो हटाएर जान्थे।+ अनि आफूले परमेश्‍वरबाट पाएको सबै आज्ञा बाहिर आएर इस्राएलीहरूलाई सुनाउँथे।+ ३५ त्यतिबेला इस्राएलीहरू मोसाको अनुहारबाट उज्यालो आइरहेको देख्थे। त्यसपछि मोसाले फेरि घुम्टोले अनुहार छोप्थे र परमेश्‍वरसित कुरा गर्न नजाउन्जेल घुम्टो हटाउँदैनथे।+

३५ पछि मोसाले इस्राएलीहरूको सारा समुदायलाई एक ठाउँमा भेला गरेर भने: “यहोवा परमेश्‍वरले यस्तो आज्ञा दिनुभएको छ:+ २ ‘तिमीहरूले छ दिनसम्म काम गर्नू तर सातौँ दिनलाई पवित्र ठान्‍नू किनभने यो यहोवा परमेश्‍वरले तोक्नुभएको विश्रामदिन* हो, पूरै आराम गर्ने दिन।+ यो दिन जसले काम गर्छ, ऊ मारियोस्‌।+ ३ विश्रामदिनमा तिमीहरू कसैले पनि आफ्नो घरमा आगो नबाल्नू।’”

४ मोसाले इस्राएलीहरूको सारा समुदायलाई यसो पनि भने: “यहोवा परमेश्‍वरले यस्तो आज्ञा दिनुभएको छ, ५ ‘तिमीहरूले यहोवा परमेश्‍वरको निम्ति अनुदान ल्याउनू।+ ज-जसले खुसीसाथ यहोवा परमेश्‍वरलाई अनुदान चढाउने इच्छा गर्छ,+ तिनीहरूले यी कुराहरू ल्याऊन्‌: सुन, चाँदी, तामा, ६ निलो धागो, बैजनी ऊन, सिन्दूरे रङ्‌गको धागो, उच्च कोटीको मलमल,* बाख्राको भुत्ला,+ ७ रातो रङ्‌गले रङ्‌गाएको भेडाको छाला, सिलको* छाला, बबुल काठ, ८ दियोको निम्ति तेल, अभिषेक गर्ने तेल तयार पार्न र सुगन्धित धूप बनाउन चाहिने बाल्सम*+ ९ अनि एपोद* र छातीपातामा*+ जड्‌नको निम्ति ओनिक्स* र अन्य रत्नहरू।+

१० “‘तिमीहरूमध्ये जो-जो कालिगडीमा सिपालु छौ,+ तिनीहरू आऊन्‌ र यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएका यी सबै कुरा बनाऊन्‌: ११ वासस्थान* र त्यसमा प्रयोग हुने सबै सरसामान र पालहरू। त्यसको खीप, चौकोस, डन्डी, खामा र त्यसका चूलघर;* १२ सन्दुक,*+ त्यसका डन्डीहरू+ र त्यसको ढकनी+ अनि सन्दुकअगाडिको पर्दा;+ १३ टेबुल,+ त्यसका डन्डीहरू र सबै सरसामान अनि टेबुलमा राखिने भेटीको रोटी;*+ १४ उज्यालोको निम्ति पानस+ र त्यसका सरसामान, दियो अनि दियो बाल्ने तेल;+ १५ धूप बाल्ने वेदी+ र त्यसका डन्डीहरू; अभिषेक गर्ने तेल र सुगन्धित धूप;+ वासस्थानको प्रवेशद्वारको पर्दा; १६ अग्निभेटी चढाउने वेदी+ र तामाको जाली, डन्डी अनि वेदीका सबै सरसामान; ठूलो बाटा र त्यसलाई राख्ने चारखुट्टे टेको;+ १७ चोकको पाल+ अनि त्यसको खामा र चूलघर; चोकको प्रवेशद्वारको पर्दा; १८ वासस्थानको पाल अड्‌काउने किला, चोकको पाल अड्‌काउने किला अनि डोरीहरू;+ १९ पवित्र स्थानमा* सेवा गर्नेहरूको लागि राम्ररी बुनिएका पोसाक,+ पुजारी हारुनको लागि पवित्र पोसाक,+ तिनका छोराहरूले पुजारीको काम गर्दा लगाउने पोसाक।’”

२० त्यसपछि इस्राएलीहरूको सारा समुदाय मोसा भएको ठाउँबाट गए। २१ अनि मनदेखि* दिने इच्छा हुनेजति सबैले+ यहोवा परमेश्‍वरको निम्ति राजीखुसीले अनुदान ल्याए। तिनीहरूले भेट हुने पालको* लागि, त्यहाँ चढाइने सेवाको लागि अनि पवित्र पोसाक बनाउनको लागि आ-आफ्नो अनुदान ल्याए। २२ राजीखुसीले अनुदान चढाउन इच्छुक पुरुष र स्त्रीहरूको ओइरो लागिरह्‍यो। तिनीहरूले पिन,* कुण्डल, औँठी र अरू गरगहनाका साथै सुनका विभिन्‍न सरसामान ल्याए। तिनीहरूले यी सबै सुन यहोवा परमेश्‍वरलाई भेटीको* रूपमा चढाए।+ २३ अनि जो-जोसँग निलो धागो, बैजनी ऊन, सिन्दूरे रङ्‌गको धागो, उच्च कोटीको मलमल, बाख्राको भुत्ला, रातो रङ्‌गले रङ्‌गाएको भेडाको छाला अनि सिलको छाला थियो, तिनीहरूले ती ल्याए। २४ कतिले चाहिँ यहोवा परमेश्‍वरको निम्ति चाँदी र तामा ल्याए। अनि बबुल काठ हुनेहरूले चाहिँ काठ ल्याए।

२५ अनि सबै सिपालु स्त्रीले+ आफ्नै हातले कातेर बनाएका निलो धागो, बैजनी ऊन, सिन्दूरे रङ्‌गको धागो र उच्च कोटीको मलमल ल्याए। २६ अनि राजीखुसीले परमेश्‍वरलाई अनुदान दिन चाहने अरू सिपालु स्त्रीहरूले चाहिँ बाख्राको भुत्ला काते।

२७ त्यसैगरि कुलनायकहरूले चाहिँ एपोद र छातीपातामा जड्‌नको लागि ओनिक्स र अन्य रत्नहरू ल्याए।+ २८ तिनीहरूले बाल्सम ल्याउनुका साथै दियो बाल्न, अभिषेक गर्ने तेल+ तयार पार्न अनि सुगन्धित धूप बनाउन चाहिने तेल पनि ल्याए।+ २९ यहोवा परमेश्‍वरले मोसामार्फत आज्ञा गर्नुभएका सबै कुरा बनाउन चाहिने सरसामान जुटाउन जो-जो पुरुष अनि स्त्री भेटी चढाउन इच्छुक थिए, तिनीहरूले केही न केही ल्याए; इस्राएलीहरूले यहोवा परमेश्‍वरलाई स्वैच्छिकभेटी चढाए।+

३० त्यसपछि मोसाले इस्राएलीहरूलाई यसो भने: “हेर, यहोवा परमेश्‍वरले यहुदाको कुलको हुरको नाति, उरिको छोरा बजलेललाई रोज्नुभएको छ।+ ३१ परमेश्‍वरले तिनलाई आफ्नो पवित्र शक्‍तिले भरिपूर्ण पार्नुभएको छ अनि बुद्धि, समझ र सबै किसिमका कालिगडीसम्बन्धी ज्ञान दिनुभएको छ। ३२ यसले गर्दा तिनी आकर्षक ढाँचाहरू बनाउन; सुन, चाँदी र तामाको काम गर्न; ३३ बहुमूल्य रत्नहरू काट्‌न र जड्‌न अनि काठका विभिन्‍न कलात्मक सरसामान बनाउन सिपालु भएका छन्‌। ३४ परमेश्‍वरले बजलेललाई र दानको कुलको अहिसामाकको छोरा ओहोलिआबलाई+ अरूलाई सिकाउन पनि सिपालु बनाउनुभएको छ। ३५ उहाँले तिनीहरूलाई सबै किसिमका कालिगडीसम्बन्धी काम गर्नुका साथै बुट्टा भर्न अनि उच्च कोटीको मलमल, निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्‌गको धागो प्रयोग गरेर बुन्‍न अनि तानमा काम गर्न दक्ष बनाउनुभएको छ।+ यी मानिसहरूले सबै किसिमको काम गर्नेछन्‌ अनि हरेक किसिमको ढाँचा बनाउनेछन्‌।

३६ “बजलेलसँगै ओहोलिआबले र यहोवा परमेश्‍वरले बुद्धि र समझ दिनुभएका अन्य सिपालु पुरुषहरूले यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिम पवित्र सेवाको सम्पूर्ण काम पूरा गरून्‌।”+

२ तब मोसाले बजलेल र ओहोलिआबलाई अनि यहोवा परमेश्‍वरले बुद्धि दिनुभएका सबै सिपालु पुरुष+ अर्थात्‌ राजीखुसीले काम गर्न चाहनेजति सबैलाई बोलाए।+ ३ तिनीहरू मोसाकहाँ गए र मोसाले तिनीहरूलाई पवित्र सेवाको लागि इस्राएलीहरूले ल्याएका अनुदानहरू दिए।+ तर मानिसहरूले हरेक बिहान मोसाकहाँ स्वैच्छिकभेटी ल्याउन छोडेनन्‌।

४ त्यसैले पवित्र काम गरिरहेका सबै सिपालु कामदार एकपछि अर्को गर्दै मोसाकहाँ आउन थाले ५ र तिनीहरूले मोसालाई भने: “यहोवा परमेश्‍वरले अह्राउनुभएको कामको लागि मानिसहरूले चाहिएको भन्दा धेरै भेटी ल्याउँदै छन्‌।” ६ त्यसैले मोसाले छाउनीभरि यस्तो घोषणा गर्न लगाए: “दाजुभाइ तथा दिदीबहिनी हो, पवित्र ठाउँको लागि अब अरू अनुदान नल्याउनुहोस्‌।” यसपछि मानिसहरूले भेटी ल्याउन छोडे। ७ निर्माणकार्य पूरा गर्न तिनीहरूसित चाहिनेभन्दा धेरै सरसामान भयो।

८ अनि सबै सिपालु कामदारले+ वासस्थानको*+ लागि बाटिएको उच्च कोटीको मलमल,* निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्‌गको धागो प्रयोग गरिएको १० वटा कपडा बनाए। अनि तिनले* ती कपडाहरूमा बुट्टा भरेर करूबहरूको* चित्र बनाए।+ ९ प्रत्येक कपडाको लम्बाइ २८ हात* र चौडाइ ४ हात थियो। सबै कपडाको नाप एउटै थियो। १० तिनले पाँच वटा कपडालाई गाँसेर ठूलो पाल बनाए अनि बाँकी पाँच वटा कपडालाई पनि त्यसैगरि गाँसेर अर्को ठूलो पाल बनाए। ११ त्यसपछि तिनले यी दुई पाललाई गाँस्न एउटा पालको किनारामा निलो धागोले मुन्द्राहरू बनाए अनि यसमा जोड्‌ने अर्को पालको छेउमा पनि यसरी नै मुन्द्राहरू बनाए। १२ ती मुन्द्राहरूले दुवै पाललाई जोड्‌न सक्नेगरि तिनले ती दुवै पालको एउटा किनारामा ५०-५० वटा मुन्द्रा आमनेसामने पर्नेगरि बनाए। १३ त्यसपछि तिनले सुनका ५० वटा खीप बनाए र दुवै पालका मुन्द्राहरूलाई खीपले जोडे। यसरी तिनले वासस्थानको लागि दुई वटा लामोलामो पाल गाँसेर एउटा सिङ्‌गो पाल बनाए।

१४ त्यसपछि तिनले वासस्थानको लागि बाख्राको भुत्लाबाट कपडा बुने। यसरी तिनले जम्मा ११ वटा कपडा बनाए।+ १५ प्रत्येक कपडाको लम्बाइ ३० हात र चौडाइ ४ हात थियो। ती ११ वटा कपडाको नाप एउटै थियो। १६ अनि तिनले पाँच वटा कपडा गाँसेर सिङ्‌गो पाल बनाए अनि बाँकी छ वटा कपडा गाँसेर अर्को सिङ्‌गो पाल बनाए। १७ त्यसपछि तिनले एउटा पालको किनारामा ५० वटा अनि अर्को पालको किनारामा ५० वटा मुन्द्रा बनाए ताकि ती मुन्द्राहरूले दुवै पाललाई जोड्‌न सकून्‌। १८ त्यसपछि तिनले ती दुवै पालका मुन्द्राहरूलाई जोडेर एउटा सिङ्‌गो पाल बनाउन तामाका ५० वटा खीप बनाए।

१९ तिनले वासस्थानको लागि अर्को दुई वटा पाल बनाए। एउटाचाहिँ भेडाको छालाको बनाए र त्यसलाई रातो रङ्‌गले रङ्‌ग्याए। अनि त्यसमाथि राख्न अर्को पालचाहिँ सिलको* छालाको बनाए।+

२० तिनले वासस्थानको लागि बबुल काठका+ चौकोसहरू बनाए।+ २१ प्रत्येक चौकोसको उचाइ दस हात र चौडाइ साढे एक हात थियो। २२ प्रत्येक चौकोसमा दुई-दुई वटा चूल* थियो। तिनले वासस्थानको सबै चौकोस यसरी नै बनाए। २३ तिनले वासस्थानको दक्षिण मोहडाको लागि २० वटा चौकोस बनाए। २४ अनि तिनले २० वटा चौकोसको लागि चाँदीको ४० वटा चूलघर* बनाए: प्रत्येक चौकोसमुनि भएको दुई वटा चूलको लागि दुई वटा चूलघर। अनि दुई-दुई वटा चूललाई दुई-दुई वटा चूलघरमा छिराएर चौकोस ठड्‌याए।+ २५ वासस्थानको उत्तर मोहडाको लागि तिनले २० वटा चौकोस बनाए। २६ अनि ती चौकोसहरूका लागि चाँदीको ४० वटा चूलघर बनाए; यसरी प्रत्येक चौकोसमुनि भएको दुई वटा चूलको लागि दुई वटा चूलघर भयो।

२७ वासस्थानको पछाडिको भाग अर्थात्‌ पश्‍चिम मोहडाको लागि तिनले छ वटा चौकोस बनाए।+ २८ वासस्थानको पछाडिको दुई वटा कुनाको लागि तिनले दुई वटा त्रिकोस बनाए। २९ कुनामा राखिने यी त्रिकोसहरूको टुप्पोमा एउटा-एउटा मुन्द्रा थियो; तिनले दुवै त्रिकोस यसरी नै बनाएर वासस्थानको दुई कुनामा राखे। ३० यसरी तिनले पश्‍चिम मोहडाको लागि जम्मा आठ वटा चौकोस र चाँदीको १६ वटा चूलघर बनाए; हरेक चौकोसमुनि भएको दुई वटा चूलको लागि दुई वटा चूलघर।

३१ अनि तिनले बबुल काठका डन्डीहरू बनाए, वासस्थानको दक्षिण मोहडाको चौकोसको लागि पाँच वटा,+ ३२ उत्तर मोहडाको चौकोसको लागि पाँच वटा र पश्‍चिम मोहडा अर्थात्‌ पछाडिको भागको चौकोसको लागि पाँच वटा। ३३ तिनले चौकोसहरूको बीचमा भएको मुन्द्रामा छिराउन एक छेउदेखि अर्को छेउसम्म पुग्ने लामो डन्डी बनाए। ३४ तिनले चौकोसहरूलाई सुनले मोहोरे र डन्डीहरू घुसाउनको लागि सुनका मुन्द्राहरू बनाए। अनि तिनले डन्डीहरूलाई सुनले मोहोरे।+

३५ अनि तिनले वासस्थानको बीचमा राख्न बाटिएको उच्च कोटीको मलमल, निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्‌गको धागो प्रयोग गरेर पर्दा बनाए।+ तिनले ती पर्दाहरूमा बुट्टा भरेर करूबहरूको+ चित्र बनाए।+ ३६ अनि तिनले यी पर्दाहरूका लागि बबुल काठका चार वटा खामा बनाए र त्यसलाई सुनले मोहोरे। साथै सुनका अङ्‌कुसेहरू र चाँदीका चार वटा चूलघर पनि बनाए। ३७ तिनले वासस्थानको प्रवेशद्वारको लागि अर्को एउटा पर्दा बनाए। तिनले त्यो पर्दा बाटिएको उच्च कोटीको मलमल, निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्‌गको धागो प्रयोग गरेर बनाए।+ ३८ साथै पाँच वटा खामा र त्यसका अङ्‌कुसेहरू पनि बनाए। तिनले खामाको माथिल्लो भाग र त्यसका जोडनीहरूलाई* सुनले मोहोरे तर खामाका पाँच वटा चूलघर भने तामाका बनाए।

३७ त्यसपछि बजलेलले+ बबुल काठको एउटा सन्दुक* बनाए।+ त्यो सन्दुकको लम्बाइ साढे दुई हात,* चौडाइ साढे एक हात र उचाइ साढे एक हात थियो।+ २ तिनले त्यसलाई भित्र र बाहिर दुवैतिर निखुर सुनले मोहोरे र त्यसको चारैतिर सुनको बिट* बनाए।+ ३ त्यसपछि तिनले सुनको चार वटा मुन्द्रा बनाएर सन्दुकको चार वटा खुट्टाको माथिपट्टि पर्नेगरि जोडे। दुई वटा मुन्द्रा एकापट्टि र दुई वटा मुन्द्रा अर्कोपट्टि थियो। ४ त्यसपछि तिनले बबुल काठको डन्डीहरू बनाए र त्यसलाई सुनले मोहोरे।+ ५ अनि सन्दुक बोक्नको लागि ती डन्डीहरू सन्दुकको दुवैपट्टि भएका मुन्द्राहरूमा छिराए।+

६ तिनले सन्दुकको लागि निखुर सुनको ढकनी बनाए;+ त्यसको लम्बाइ साढे दुई हात र चौडाइ साढे एक हात थियो।+ ७ त्यसपछि तिनले सुनलाई घनले पिटेर ढकनीको दुई छेउमा दुई वटा करूब*+ बनाए।+ ८ ढकनीको एउटा छेउमा एउटा करूब र अर्को छेउमा अर्को करूब थियो। तिनले ढकनीको दुवै छेउमा करूबहरू बनाए। ९ ढकनीलाई छाया पार्नेगरि ती करूबहरूले आफ्ना दुवै पखेटा मास्तिर फैलाएका थिए;+ तिनीहरू एकअर्काको आमनेसामने थिए; तिनीहरू ढकनीतिर झुकेका थिए।+

१० अनि तिनले बबुल काठको एउटा टेबुल पनि बनाए;+ त्यसको लम्बाइ दुई हात, चौडाइ एक हात र उचाइ साढे एक हात थियो।+ ११ तिनले त्यसलाई निखुर सुनले मोहोरे र त्यसको चारैतिर सुनको बिट बनाए। १२ तिनले त्यस बिटको मुनि चार अङ्‌गुल* मोटाइ भएको घेरा बनाए र त्यस घेराको तलपट्टि पनि सुनको बिट बनाए। १३ साथै तिनले सुनको चार वटा मुन्द्रा पनि बनाएर त्यसलाई टेबुलको चारै कुनामा प्रत्येक खुट्टामा राखे। १४ टेबुल बोक्न प्रयोग गरिने डन्डीहरू छिराउन सकियोस्‌ भनेर तिनले ती मुन्द्राहरू टेबुलको घेरामुन्तिर जडान गरे। १५ त्यसपछि तिनले टेबुल बोक्न बबुल काठका डन्डीहरू बनाए र त्यसलाई सुनले मोहोरे। १६ अनि तिनले टेबुलमा राख्न थाल र कचौराका साथै मद्यभेटी चढाउने सुराही र प्याला पनि बनाए। यी सबै भाँडाकुँडा निखुर सुनको थियो।+

१७ त्यसपछि तिनले निखुर सुनको एउटा पानस बनाए।+ तिनले सुनको एउटै लाप्सोलाई घनले पिटेर पाउदान, डन्डा, हाँगा, पत्रदल,* कोपिला र फूल बनाए।+ १८ पानसको डन्डाबाट छ वटा हाँगा निस्केका थिए, दायाँतिर तीन वटा र बायाँतिर तीन वटा। १९ एक जोडी हाँगाको एकातिर तीन वटा र अर्कोतिर तीन वटा पत्रदल थियो। ती पत्रदलहरू कागजी बदामको फूलको पत्रदलजस्तै थिए। ती पत्रदलहरूपछि क्रमैसँग कोपिला र फूल थिए। त्यसैगरि अर्को दुई जोडी हाँगामा पनि एकातिर तीन वटा र अर्कोतिर तीन वटा पत्रदल थिए। ती पत्रदलहरू कागजी बदामको फूलको पत्रदलजस्तै थिए। पत्रदलहरूपछि क्रमैसँग कोपिला र फूल थिए। पानसको डन्डाबाट निस्केका छ वटै हाँगा यस्तै थिए। २० पानसको डन्डामा कागजी बदामको फूलको पत्रदलजस्तै चार वटा पत्रदल थिए। पत्रदलहरूपछि क्रमैसँग कोपिला र फूल थिए। २१ पानसको डन्डाबाट पहिलो जोडी हाँगा निस्केको ठाउँमुनि एउटा कोपिला, दोस्रो जोडी हाँगा निस्केको ठाउँमुनि एउटा कोपिला र तेस्रो जोडी हाँगा निस्केको ठाउँमुनि एउटा कोपिला थिए। डन्डाबाट निस्केका तीनै जोडी हाँगामुनि यस्तै थिए। २२ कोपिला, हाँगा र पूरै पानस निखुर सुनको एउटै लाप्सोलाई घनले पिटेर बनाइएको थियो। २३ त्यसपछि तिनले निखुर सुनको सात वटा दियो,+ चिम्टा र सलेदोदानी* पनि बनाए। २४ तिनले पानस र अरू सबै सरसामान एक टालेन्ट* निखुर सुनबाट बनाए।

२५ अनि तिनले धूप बाल्न एउटा वेदी बनाए;+ त्यो वेदी बबुल काठको थियो। त्यो चारकुने थियो; त्यसको लम्बाइ एक हात, चौडाइ एक हात अनि उचाइचाहिँ दुई हात थियो। वेदीकै भागको रूपमा त्यसका सिङहरू त्यसका चार कुनाबाट उठाइएका थिए।+ २६ तिनले पूरै वेदीलाई अर्थात्‌ यसको माथिल्लो भाग, चारैतिरको पाटा अनि सिङहरूलाई निखुर सुनले मोहोरे। तिनले वेदीको चारैतिर सुनको बिट* पनि बनाए। २७ तिनले वेदीको दुवैतिर सुनको दुई-दुई वटा मुन्द्रा बनाए। वेदीलाई बोक्ने डन्डीहरू छिराउन तिनले ती मुन्द्राहरू वेदीको बिटमुनि राखे। २८ त्यसपछि तिनले बबुल काठका डन्डीहरू बनाए र त्यसलाई सुनले मोहोरे। २९ तिनले मसलाहरू ठीक-ठीक मात्रामा मिसाएर अभिषेक गर्ने पवित्र तेल+ अनि शुद्ध र सुगन्धित धूप पनि बनाए।+

३८ बजलेलले अग्निभेटी चढाउन बबुल काठको एउटा वेदी बनाए। त्यसको लम्बाइ पाँच हात* र चौडाइ पाँच हात थियो। वेदी चारकुने थियो र त्यसको उचाइ तीन हात थियो।+ २ तिनले त्यसको चारै कुनामा चुच्चो उठाएर एउटा-एउटा सिङ बनाए अनि वेदीलाई तामाले मोहोरे।+ ३ त्यसपछि तिनले वेदीका सबै सरसामान बनाए—बाल्टिन, साबेल, बाटा, काँटा र कोइला राख्ने भाँडो। तिनले यी सबै सरसामान तामाको बनाए। ४ तिनले वेदीको लागि तामाको जाली पनि बनाए। तिनले जालीलाई चारैपट्टिको बिटमुनि वेदीको बीचतिर राखे। ५ तिनले डन्डीहरू घुसाउन तामाको जालीको चारै कुनामा चार वटा मुन्द्रा राखे। ६ त्यसपछि तिनले वेदीको लागि बबुल काठका डन्डीहरू बनाए र त्यसलाई तामाले मोहोरे। ७ तिनले वेदीलाई बोक्न यी डन्डीहरूलाई वेदीको दुईतिर भएका मुन्द्राहरूमा घुसाए। तिनले त्यो वेदी खोक्रो बाकसजस्तो बनाए।

८ तिनले तामाको ठूलो बाटा बनाए+ अनि त्यसलाई राख्न चारखुट्टे टेको पनि तामाकै बनाए। तिनले यी सरसामान ऐनाहरूलाई* गालेर बनाए। ती ऐनाहरू भेट हुने पालको* प्रवेशद्वारमा सेवा गर्न खटाइएका स्त्रीहरूका थिए।

९ त्यसपछि तिनले वासस्थानको* वरिपरि चोक बनाए।+ तिनले चोकलाई चारैतिर बार्न बाटिएको उच्च कोटीको मलमलको* पाल बनाए। दक्षिण मोहडाको पालको लम्बाइ १०० हात थियो।+ १० तिनले पाल ठड्‌याउन २० वटा खामा र ती खामाहरू घुसाउन २० वटा तामाका चूलघर* बनाए। तिनले खामाका अङ्‌कुसे र जोडनीहरू* चाँदीका बनाए। ११ उत्तर मोहडाको पालको लम्बाइ पनि १०० हात थियो। त्यसको लागि तिनले तामाका २० वटा खामा र २० वटा चूलघर बनाए; खामाका अङ्‌कुसे र जोडनीहरू चाँदीको बनाए। १२ चोकको पश्‍चिम मोहडाको लागि तिनले ५० हात चौडाइ भएको एउटा पाल बनाए; त्यसको लागि १० वटा खामा र १० वटा चूलघर बनाए; खामाका अङ्‌कुसे र जोडनीहरू चाँदीको बनाए। १३ चोकको पूर्वी मोहडा अर्थात्‌ घाम उदाउने दिशातिरको पालको चौडाइ ५० हात थियो। १४ चोकमा छिर्ने प्रवेशद्वारको दायाँतिरको पाल १५ हातको थियो; त्यसको लागि तिनले तीन वटा खामा र तीन वटा चूलघर बनाए। १५ अनि प्रवेशद्वारको बायाँतिरको पाल पनि १५ हातको थियो; त्यसको लागि तिनले तीन वटा खामा र तीन वटा चूलघर बनाए। १६ चोकलाई चारैतिर बार्ने पालहरू बाटिएको उच्च कोटीको मलमलका थिए। १७ खामाका चूलघरहरू तामाका, अङ्‌कुसे र जोडनीहरू चाँदीका र खामाको माथिल्लो भाग चाँदीले मोहोरिएका थिए। चोकको चारैतिरका खामाका खीपहरू चाँदीका थिए।+

१८ चोकमा छिर्ने प्रवेशद्वारको पर्दा बाटिएको उच्च कोटीको मलमल,* निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्‌गको धागोले बुनिएको थियो। त्यसको लम्बाइ २० हात थियो र उचाइचाहिँ चोकलाई बार्ने पालहरूको जस्तै ५ हात थियो।+ १९ त्यसका चार वटा खामा र चार वटा चूलघर तामाका थिए। त्यसका खीपहरू र जोडनीहरू चाँदीका थिए अनि खामाको माथिल्लो भाग चाँदीले मोहोरिएको थियो। २० वासस्थानको पाल अड्‌काउने किला र चोकको चारैतिरका किलाहरू तामाका थिए।+

२१ मोसाले वासस्थान अर्थात्‌ साक्षीपाटी* राखिएको वासस्थान+ बनाउन प्रयोग भएका सबै सरसामानको हिसाबकिताब राख्ने आज्ञा दिए। पुजारी हारुनको छोरा इथामारको+ निर्देशनबमोजिम लेवीहरूले यो काम गरे।+ २२ यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिम यहुदाको कुलको हुरको नाति, उरिको छोरा बजलेलले+ सबै काम गरे। २३ बजलेललाई दानको कुलको अहिसामाकको छोरो ओहोलिआबले+ सघाए। तिनी कालिगडीसम्बन्धी काम गर्न, बुट्टा भर्न अनि उच्च कोटीको मलमल, निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्‌गको धागो प्रयोग गरेर बुन्‍न सिपालु थिए।

२४ इस्राएलीहरूले डोलाउने भेटीस्वरूप चढाएका सबै सुन प्रयोग गरेर पवित्र ठाउँको सबै सरसामान बनाइयो।+ त्यसको लागि पवित्र ठाउँको शेकेलअनुसार* जम्मा २९ टालेन्ट,* ७३० शेकेल* सुन लाग्यो। २५ अनि गणना लिँदा दर्ता भएका मानिसहरूले ल्याएको चाँदी पवित्र ठाउँको शेकेलअनुसार १०० टालेन्ट, १,७७५ शेकेल थियो। २६ बीस वर्ष र सोभन्दा माथिका जो-जो दर्ता भएका छन्‌, तिनीहरू प्रत्येकले पवित्र ठाउँको शेकेलअनुसार आधा शेकेल चाँदी ल्याए।+ यसरी दर्ता भएका मानिसहरूको सङ्‌ख्या ६ लाख ३ हजार ५ सय ५० थियो।+

२७ पवित्र ठाउँ र पर्दा झुन्ड्‌याउने खामोको चूलघर बनाउन जम्मा १०० टालेन्ट चाँदी प्रयोग गरियो; एउटा चूलघर बनाउन एक टालेन्टको हिसाबले १०० वटा चूलघर बनाउन १०० टालेन्ट चाँदी लाग्यो।+ २८ तिनले १,७७५ शेकेल चाँदीबाट खामाहरूका लागि अङ्‌कुसेहरू बनाए अनि खामाको माथिल्लो भागलाई मोहोरे र खामालाई जोड्‌न जोडनीहरू बनाए।

२९ इस्राएलीहरूले भेटी* चढाएको तामा ७० टालेन्ट, २,४०० शेकेल थियो। ३० यसबाट तिनले भेट हुने पालको प्रवेशद्वारको चूलघर, तामाको वेदी र त्यसको जाली अनि वेदीका सम्पूर्ण सरसामान बनाए। ३१ यही तामाबाट तिनले चोकको चारैतिरका चूलघर, चोकको प्रवेशद्वारको चूलघर अनि वासस्थानको पाल अड्‌काउने किला र चोकका पाल अड्‌काउने किलाहरू+ पनि बनाए।

३९ तिनीहरूले पवित्र ठाउँमा सेवा गर्नेहरूका लागि निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्‌गको धागो प्रयोग गरेर+ राम्रा-राम्रा पोसाकहरू बुने। यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिम तिनीहरूले हारुनको निम्ति पवित्र पोसाक बनाए।+

२ तिनले* बाटिएको उच्च कोटीको मलमल,* सुन, निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्‌गको धागो प्रयोग गरेर एपोद* बनाए।+ ३ तिनीहरूले सुनलाई घनले पिटेर पातलो पाता बनाए। त्यसपछि तिनले त्यसलाई काटेर मसिनो तार बनाए अनि निलो धागो, बैजनी ऊन, सिन्दूरे रङ्‌गको धागो र उच्च कोटीको मलमलसँगै मिलाएर एपोदमा बुट्टा भरे। ४ तिनीहरूले एपोदको काँधका दुवै भागका दुई छेउ गाँसे। ५ एपोदलाई टम्म कसेर बाँध्न तिनीहरूले त्यसमा एउटा पेटी गाँसे।+ यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिम तिनीहरूले त्यो पेटी पनि बाटिएको उच्च कोटीको मलमल, सुन, निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्‌गको धागो मिसाएर बुने।

६ अनि तिनीहरूले ओनिक्स* रत्नहरू ल्याए र जसरी छाप कुँदिन्छ, त्यसैगरि ती रत्नहरूमा इस्राएलका छोराहरूको नाम कुँदे अनि त्यसलाई सुनका पत्थर-घरहरूमा जडान गरे।+ ७ तिनले ती बहुमूल्य रत्नहरू यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिम इस्राएलका छोराहरूको निम्ति सम्झनाको चिन्ह होस्‌ भनेर एपोदको काँधको भागमा लगाए।+ ८ तिनले बुट्टा भर्ने कालिगडलाई छातीपाता बनाउन लगाए।+ यो पनि एपोदजस्तै सुन, निलो धागो, बैजनी ऊन, सिन्दूरे रङ्‌गको धागो र बाटिएको उच्च कोटीको मलमल प्रयोग गरेर बनाइएको थियो।+ ९ यसलाई पट्‌याउँदा वर्गाकार हुन्थ्यो अनि यसको लम्बाइ एक बित्ता* र चौडाइ एक बित्ता हुन्थ्यो। १० तिनीहरूले त्यसमा चार लहर हुनेगरि रत्नहरू जडान गरे। पहिलो लहरमा माणिक, पुष्पराज अनि पन्‍ना राखे। ११ दोस्रो लहरमा फिरोजा, नीलम अनि यशवमणि राखे। १२ तेस्रो लहरमा लेसेम,* अगेट अनि कलेजी स्फटिक राखे। १३ चौथो लहरमा क्रिसोलाइट, ओनिक्स अनि हरितमणि राखे। तिनीहरूले यी रत्नहरूलाई सुनका पत्थर-घरहरूमा जडान गरे। १४ यी रत्नहरूमा इस्राएलका १२ वटा कुललाई चिनाउने १२ छोराको नाम कुँदिएको थियो। प्रत्येक रत्नमा एक-एक जना छोराको नाम छापजस्तै कुँदिएको थियो।

१५ त्यसपछि तिनीहरूले छातीपाताको किनारामा घेरा बनाउन डोरीजस्तो बाटेको निखुर सुनको सिक्री बनाए।+ १६ अनि तिनीहरूले छातीपाताको लागि सुनको दुई वटा मुन्द्रा बनाए। अनि त्यसलाई छातीपाताको माथिल्लो दुई कुनामा लगाए। १७ त्यसपछि तिनीहरूले सुनका दुई वटा सिक्रीलाई छातीपाताको छेउमा भएका दुई वटा मुन्द्रामा जडान गरे। १८ अनि तिनीहरूले ती दुवै सिक्रीको अर्को छेउचाहिँ एपोदको दुवै काँधमा भएको पत्थर-घरको अघिल्तिर जोडे। १९ त्यसपछि तिनीहरूले सुनको दुई वटा मुन्द्रा बनाए अनि त्यसलाई छातीपाताको तल्लो दुई छेउको भित्रपट्टि अर्थात्‌ एपोदतिर फर्कनेगरि लगाए।+ २० तिनीहरूले सुनको अर्को दुई वटा मुन्द्रा बनाए र ती मुन्द्राहरूलाई एपोदको अगाडिपट्टिको भागमा अर्थात्‌ काँधको भागको मुनिपट्टि ती जोडिने ठाउँमा लगाए, जुन एपोदको पेटीभन्दा माथिपट्टि पर्थ्यो। २१ छातीपाता एपोदको पेटीभन्दा तल सर्न नपाओस्‌ भनेर तिनीहरूले छातीपाताको मुन्द्रा र एपोदको मुन्द्रालाई निलो डोरीले कसे। तिनीहरूले यी सबै कुरा यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिम गरे।

२२ अनि तिनले तान बुन्‍ने कालिगडलाई निलो धागो मात्र प्रयोग गरेर एपोदभित्र लगाउने बाहुला नभएको अलखा* बुन्‍न लगाए।+ २३ अलखामा टाउको छिराउने गला थियो। त्यो गला नफाटोस्‌ भनेर त्यसको वरिपरिको किनारा छालाको कवचको घेराजस्तै बलियोगरि बुनिएको थियो। २४ अनि तिनीहरूले अलखाको फेरमा निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्‌गको धागो बाटेर अनार आकारका फुर्काहरू बनाए। २५ तिनीहरूले निखुर सुनका घण्टीहरू बनाए र अलखाको फेरमा फुर्काहरूको बीच-बीचमा सुनका घण्टीहरू राखे। २६ तिनीहरूले एउटा सुनको घण्टी र अनार आकारको एउटा फुर्का अनि फेरि त्यस्तै सुनको घण्टी र अनार आकारको फुर्का पालैपालो राखेर अलखाको पूरै फेर भरे। वासस्थानमा सेवा चढाउन जाँदा लगाउनुपर्ने यो अलखा तिनीहरूले यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिम बनाए।

२७ तिनीहरूले तानमा बुनेर हारुन र तिनका छोराहरूको लागि उच्च कोटीको मलमलको कोठे बुट्टा भएको लामो लुगा बनाए।+ २८ तिनीहरूले उच्च कोटीको मलमलको फेटा+ र शिरपोस+ अनि बाटिएको उच्च कोटीको छोटो सुरुवाल*+ बनाए। २९ अनि तिनीहरूले बाटिएको उच्च कोटीको मलमल, निलो धागो, बैजनी ऊन र सिन्दूरे रङ्‌गको धागो बुनेर पटुका बनाए। तिनीहरूले यी सबै थोक यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिम बनाए।

३० अन्तमा तिनीहरूले समर्पणको पवित्र चिन्ह बनाउन* निखुर सुनको एउटा चम्किलो पाता लिए र त्यसमा यी शब्दहरू कुँदे: “यहोवा पवित्र हुनुहुन्छ।”+ ३१ अनि यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिम तिनीहरूले फेटामा बाँध्न त्यस पातामा निलो डोरी राखे।

३२ तिनीहरूले वासस्थान* अर्थात्‌ भेट हुने पालको* सम्पूर्ण काम पूरा गरे; यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिम इस्राएलीहरूले सबै काम गरे।+ तिनीहरूलाई जसो भनिएको थियो, त्यसै गरे।

३३ अनि तिनीहरूले वासस्थान र यी सबै सरसामान मोसाकहाँ ल्याए:+ खीप,+ चौकोस,+ डन्डी,+ खामा र त्यसको चूलघर;*+ ३४ रातो रङ्‌गले रङ्‌गाएको भेडाको छालाको पाल,+ सिलको* छालाको पाल, सन्दुकअगाडिको* पर्दा;+ ३५ साक्षीपाटी* राखिएको सन्दुक र त्यसका डन्डीहरू+ अनि त्यसको ढकनी;+ ३६ टेबुल, त्यसका सबै सरसामान+ अनि भेटीको रोटी;* ३७ निखुर सुनको पानस, त्यसका दियोहरू+ र पानसका अरू सबै सरसामान+ अनि दियो बाल्ने तेल;+ ३८ सुनको वेदी,+ अभिषेक गर्ने तेल,+ सुगन्धित धूप,+ वासस्थानको प्रवेशद्वारको पर्दा;+ ३९ तामाको वेदी+ र तामाको जाली, डन्डी,+ वेदीका सबै सरसामान,+ ठूलो बाटा र त्यसको चारखुट्टे टेको;+ ४० चोकको पाल, त्यसको खामा र चूलघर,*+ चोकमा छिर्ने प्रवेशद्वारको पर्दा,+ चोकको पाल अड्‌काउने डोरी र किला+ अनि वासस्थान अर्थात्‌ भेट हुने पालका सबै सरसामान; ४१ पवित्र स्थानमा* सेवा गर्नेहरूका लागि राम्ररी बुनिएका पोसाक, पुजारी हारुनको लागि पवित्र पोसाक+ अनि तिनका छोराहरूले पुजारीको काम गर्दा लगाउने पोसाक।

४२ यहोवा परमेश्‍वरले मोसालाई आज्ञा गर्नुभएबमोजिम इस्राएलीहरूले सबै काम पूरा गरे।+ ४३ मोसाले तिनीहरूको सबै काम निरीक्षण गर्दा यहोवा परमेश्‍वरले आज्ञा गरेबमोजिमै गरेको देखे अनि मोसाले तिनीहरूलाई आशिष्‌ दिए।

४० यहोवा परमेश्‍वरले मोसालाई भन्‍नुभयो: २ “पहिलो महिनाको पहिलो दिन तिमीले वासस्थान* अर्थात्‌ भेट हुने पाल* स्थापना गर्नू।+ ३ त्यहाँ साक्षीपाटी* राखिएको सन्दुक* राख्नू+ र त्यसलाई पर्दाले छेक्नू।+ ४ टेबुललाई भित्र ल्याउनू+ र त्यसमा सबै सरसामान मिलाएर राख्नू; पानस पनि भित्र ल्याउनू+ र त्यसका दियोहरू बाल्नू।+ ५ अनि धूप बाल्ने सुनको वेदीलाई+ साक्षीपाटी राखिएको सन्दुकअगाडि राख्नू; वासस्थानभित्र पस्ने प्रवेशद्वारमा पर्दा हाल्नू।+

६ “वासस्थान अर्थात्‌ भेट हुने पालको प्रवेशद्वारअगाडि अग्निभेटी चढाउने वेदी राख्नू।+ ७ अनि भेट हुने पाल र वेदीको बीचमा ठूलो बाटा राख्नू र त्यसमा पानी भर्नू।+ ८ भेट हुने पालको चारैतिर पाल टाँगेर चोक बनाउनू+ अनि चोकमा छिर्ने प्रवेशद्वारमा पर्दा हाल्नू।+ ९ त्यसपछि अभिषेक गर्ने तेल लिएर+ वासस्थान र त्यहाँ भएका सबै थोक अभिषेक गर्नू+ र चोख्याउनू। यसरी वासस्थान र त्यसमा भएका सबै थोक पवित्र हुनेछन्‌। १० त्यसैगरि अग्निभेटी चढाउने वेदी र त्यसका सबै सरसामान पनि अभिषेक गर्नू र चोख्याउनू। यसरी यो वेदी महापवित्र हुनेछ।+ ११ अनि ठूलो बाटा र त्यसलाई राख्ने चारखुट्टे टेको अभिषेक गर्नू र चोख्याउनू।

१२ “त्यसपछि हारुन र तिनका छोराहरूलाई भेट हुने पालको प्रवेशद्वारनजिकै ल्याउनू र तिनीहरूलाई त्यहाँ नुहाउन लगाउनू।+ १३ अनि तिमीले हारुनलाई पवित्र पोसाक पहिराइदिनू,+ तिनलाई अभिषेक गर्नू+ र चोख्याउनू अनि तिनले पुजारीको रूपमा मेरो सेवा गर्नेछन्‌। १४ त्यसपछि तिनका छोराहरूलाई नजिकै ल्याउनू र कोठे बुट्टा भएको लामो लुगा लगाइदिनू।+ १५ पुजारीको काम गर्न तिनीहरूलाई पनि तिनीहरूको बुबालाई जस्तै अभिषेक गर्नू;+ तिनीहरूलाई अभिषेक गरेपछि तिनीहरूका पुस्तौँपुस्ताले पनि पुजारीको रूपमा मेरो सेवा गर्नेछन्‌।”+

१६ यहोवा परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिम मोसाले सबै गरे।+ तिनलाई जसो भनिएको थियो, तिनले त्यसै गरे।

१७ परमेश्‍वरले आज्ञा गर्नुभएबमोजिमै दोस्रो वर्षको पहिलो महिनाको पहिलो दिन वासस्थान स्थापना गरियो।+ १८ वासस्थान स्थापना गर्न मोसाले चौकोसका चूलघरहरू* राखे,+ त्यसमाथि चौकोस ठड्‌याए,+ डन्डीहरू घुसाए+ र खामाहरू ठड्‌याए। १९ तिनले वासस्थानलाई पालले ढाके+ र त्यसमाथि अर्को पाल राखे।+ यहोवा परमेश्‍वरले तिनलाई जस्तो आज्ञा दिनुभएको थियो, तिनले त्यसै गरे।

२० त्यसपछि तिनले साक्षीपाटीलाई+ सन्दुकभित्र राखे।+ अनि सन्दुकमा डन्डीहरू घुसाए+ र ढकनी+ लगाए।+ २१ तिनले साक्षीपाटी राखिएको सन्दुकलाई वासस्थानभित्र ल्याए र बाहिरबाट सन्दुक नदेखियोस्‌ भनेर+ त्यसको अगाडि पर्दा हाले।+ यहोवा परमेश्‍वरले तिनलाई जस्तो आज्ञा दिनुभएको थियो, तिनले त्यसै गरे।

२२ त्यसपछि तिनले भेट हुने पाल अर्थात्‌ वासस्थानमा पर्दाको बाहिरपट्टि उत्तरतिर टेबुल राखे।+ २३ अनि तिनले यहोवा परमेश्‍वरसामु टेबुलमा रोटीहरू चाङ लगाएर राखे।+ यहोवा परमेश्‍वरले तिनलाई जस्तो आज्ञा दिनुभएको थियो, तिनले त्यसै गरे।

२४ त्यसपछि तिनले वासस्थानमा टेबुलको अगाडिपट्टि दक्षिणतिर पानस राखे।+ २५ अनि यहोवा परमेश्‍वरसामु दियो बाले।+ यहोवा परमेश्‍वरले तिनलाई जस्तो आज्ञा दिनुभएको थियो, तिनले त्यसै गरे।

२६ त्यसपछि तिनले भेट हुने पालको बीचको पर्दाअगाडि सुनको वेदी राखे।+ २७ सुगन्धित धूप+ बाल्नको लागि त्यो वेदी त्यहाँ राखिएको थियो।+ यहोवा परमेश्‍वरले तिनलाई जस्तो आज्ञा दिनुभएको थियो, तिनले त्यसै गरे।

२८ त्यसपछि तिनले वासस्थानको प्रवेशद्वारमा पर्दा हाले।+

२९ अग्निभेटी र अन्‍नभेटी चढाउन तिनले वासस्थान अर्थात्‌ भेट हुने पालको प्रवेशद्वारनजिकै अग्निभेटी+ चढाउने वेदी राखे।+ यहोवा परमेश्‍वरले तिनलाई जस्तो आज्ञा दिनुभएको थियो, तिनले त्यसै गरे।

३० त्यसपछि तिनले भेट हुने पाल र वेदीको बीचमा ठूलो बाटा राखे र हातखुट्टा धुन त्यसमा पानी भरे।+ ३१ मोसा, हारुन र तिनका छोराहरूले त्यो पानीले हातखुट्टा धोए। ३२ भेट हुने पालमा पस्दा वा वेदीमा जाँदा तिनीहरू हातखुट्टा धुन्थे।+ यहोवा परमेश्‍वरले मोसालाई जस्तो आज्ञा दिनुभएको थियो, तिनीहरूले त्यसै गरे।

३३ अन्तमा तिनले वासस्थान र वेदीको चारैतिर पाल टाँगेर चोक बनाए+ अनि चोकमा छिर्ने प्रवेशद्वारमा पर्दा राखे।+

यसरी मोसाले सबै काम सिद्‌ध्याए। ३४ त्यसपछि भेट हुने पाललाई बादलले छोप्न थाल्यो र वासस्थान यहोवा परमेश्‍वरको महिमाले भरियो।+ ३५ भेट हुने पालबाट बादल नहटेकोले मोसा भित्र पस्न सकेनन्‌ अनि वासस्थान यहोवा परमेश्‍वरको महिमाले भरियो।+

३६ जब-जब त्यो बादल वासस्थानबाट माथि उठ्‌थ्यो, तब-तब इस्राएलीहरू आफ्नो यात्रा अघि बढाउँथे।+ ३७ तर त्यो बादल माथि उठेन भने तिनीहरू यात्रा थाल्दैनथे।+ ३८ सबै इस्राएलीले वासस्थानमाथि दिउँसो यहोवा परमेश्‍वरको बादल अनि रातीचाहिँ आगोको खामो देख्थे। तिनीहरूको यात्रा पूरा नहोउन्जेल यस्तै भइरह्‍यो।+

वा “इजिप्ट।”

मिश्रका राजाहरूको एउटा उपाधि।

शब्दावली हेर्नुहोस्‌।

कालो रङको बाक्लो कच्चा पेट्रोलियम पदार्थ।

यसको अर्थ हो, “निकालिएको।” अर्थात्‌, पानीबाट बचाइएको।

वा “मोसा हुर्केर झन्‌झनै बलियो हुँदै गएपछि।”

वा “सुरक्षा दिए।”

अर्थात्‌, यिथ्रोले।

यसको अर्थ हो, “त्यहाँ बस्ने प्रवासी।”

अतिरिक्‍त लेख क४ हेर्नुहोस्‌।

वा “तिमी उनको लागि परमेश्‍वरको प्रतिनिधि हुनेछौ।”

कुनै-कुनै पाण्डुलिपिमा ‘यहोवाको दूत’ भनिएको छ।

यसले मोसाको छोरालाई जनाएको हुन सक्छ।

शब्दावली हेर्नुहोस्‌।

लिङ्‌गको अघिल्लो भाग छोप्ने छाला।

यसले स्वर्गदूतको खुट्टालाई जनाएको हुन सक्छ।

त्यतिबेला अभिवादन गर्दा म्वाइँ खाने (जस्तै: गालामा) चलन थियो।

शा., “सेनाको जस्तै डफ्फा-डफ्फा।”

शा., “जो मेरो सेना हुन्‌।”

शा., “लौरोले।”

अर्थात्‌, नाइल नदीबाट ल्याइएका नहरहरू।

शा., “औँला।”

वा “रगत चुस्ने झिँगा।”

यसले डरलाग्दो किसिमले बिजुली चम्केको कुरालाई जनाएको हुन सक्छ।

एक किसिमको कमसल गहुँ।

एक किसिमको फट्‌याङ्‌ग्रा।

शा., “पासोमा पार्ने।”

यसले मोसालाई सङ्‌केत गरेको हुन सक्छ।

शब्दावली हेर्नुहोस्‌।

शा., “दुई साँझको बीचमा।” यसले घाम अस्ताएपछि र अँध्यारो हुनुअघिको समयलाई जनाएको हुनुपर्छ।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शा., “निस्तार गरेर।”

पहिल्यै मुछेर राखिएको पीठोको बाँकी रहेको डल्लो, जुन खमिरा हुन्थ्यो। नयाँ पीठो मुछ्‌दा त्यसलाई खमिरा बनाउन त्यस्तो डल्लो मिसाउने गरिन्थ्यो।

वा “मारिनेछ।”

शब्दावली हेर्नुहोस्‌।

शा., “सेनालाई।”

वा “मार्नू।”

अर्थात्‌, भेडा वा बाख्राको पाठो।

शब्दावली हेर्नुहोस्‌।

अर्थात्‌, गैर-इस्राएलीहरूको एउटा दल, जुन दलमा मिश्रीहरू पनि थिए।

शब्दावलीमा “खमिर” हेर्नुहोस्‌।

शा., “सेना।”

शब्दावली हेर्नुहोस्‌।

शा., “सेनालाई।”

वा “पवित्र पार।”

शब्दावली हेर्नुहोस्‌।

अतिरिक्‍त लेख ख१५ हेर्नुहोस्‌।

पहिल्यै मुछेर राखिएको पीठोको बाँकी रहेको डल्लो, जुन खमिरा हुन्थ्यो। नयाँ पीठो मुछ्‌दा त्यसलाई खमिरा बनाउन त्यस्तो डल्लो मिसाउने गरिन्थ्यो।

बिहान २ बजेतिरदेखि बिहान ६ बजेसम्म।

“याह,” यहोवा नामको छोटो रूप हो।

शब्दावली हेर्नुहोस्‌।

शा., “शेखहरू।” यसले कुलको नाइकेलाई जनाउँछ।

शब्दावली हेर्नुहोस्‌।

यसको अर्थ हो, “तीतो।”

शा., “दुई साँझको बीचमा।” यसले घाम अस्ताएपछि र अँध्यारो हुनुअघिको समयलाई जनाएको हुनुपर्छ।

लगभग २.२ लिटरको भाँडोमा अटाउने जतिको परिमाण। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

यो नाम “यो के हो?” भन्‍ने हिब्रू अभिव्यक्‍तिबाट आएको हुन सक्छ। शब्दावलीमा “मन्‍न” हेर्नुहोस्‌।

शा., “साक्षीअगाडि।” यो बहुमूल्य कागजपत्र राख्ने बाकस हुन सक्छ।

एक एपा भनेको २२ लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

यसको अर्थ हो, “जाँच; परीक्षा।”

यसको अर्थ हो, “झगडा।”

यसको अर्थ हो, “यहोवा मेरो झन्डा हुनुहुन्छ।”

यसको अर्थ हो, “त्यहाँ बस्ने प्रवासी।”

यसको अर्थ हो, “मेरा परमेश्‍वर मेरो मदतगार हुनुहुन्छ।”

त्यतिबेला अभिवादन गर्दा म्वाइँ खाने (जस्तै: गालामा) चलन थियो।

वा “अनमोल धन।”

यसले काँडले छेड्‌ने कुरालाई जनाएको हुन सक्छ।

शा., “थुमाको सिङ।”

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शा., “गुप्ताङ्‌ग।”

वा “सुतारोले।”

यसले मालिक वा मालिकको छोरालाई जनाएको हुन सक्छ।

यसले यौनसम्बन्धलाई जनाउँछ।

वा सम्भवतः “कुनै औजारले।”

वा “गम्भीर चोट लाग्यो।”

वा “क्षतिपूर्ति।”

एक शेकेल भनेको ११.४ ग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

वा “बुबा गुमाएको बच्चालाई।”

वा “पीडित।”

वा “करुणामय।”

वा “शासकलाई।”

वा “घृणा नगर।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

अतिरिक्‍त लेख ख१५ हेर्नुहोस्‌।

यसलाई हप्ताहरूको चाड अर्थात्‌ पेन्तिकोसको चाड पनि भनिन्छ।

यसलाई झुप्रोबासको चाड पनि भनिन्छ।

शब्दावली हेर्नुहोस्‌।

वा सम्भवतः “त्रसित हुनेछन्‌; आतङ्‌कित हुनेछन्‌।”

त्यस पुस्तकमा २०:२२–२३:३३ मा उल्लिखित नियमहरू थिए।

शब्दावली हेर्नुहोस्‌।

यसले आलसको डाँठबाट बनेको कपडालाई जनाउँछ।

समुद्रमा पाइने स्तनपायी जीव।

कुनै खास बोट वा रूखबाट निकालिएको बास्नादार तेल।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “डिजाइनअनुसार।”

वा “बाकस।”

एक हात भनेको ४४.५ सेन्टिमिटर (१७.५ इन्च) हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

वा “बुट्टेदार बिट।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “करारको सन्दुकमाथि।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।

लगभग ७.४ सेन्टिमिटर। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

फूलको मुन्तिर हुने कचौराजस्तो भाग।

बलिसकेको सलेदो राख्ने भाँडो।

एक टालेन्ट भनेको ३४.२ किलोग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

यसले आलसको डाँठबाट बनेको कपडालाई जनाउँछ।

शब्दावली हेर्नुहोस्‌।

एक हात भनेको ४४.५ सेन्टिमिटर (१७.५ इन्च) हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

समुद्रमा पाइने स्तनपायी जीव।

अर्थात्‌, अर्को कुनै वस्तुसित जोड्‌न काठको छेउमा बनाइएको चोसो।

अर्थात, चूल अड्‌काउने प्वाल भएको वस्तु।

शब्दावली हेर्नुहोस्‌।

वा “करारको सन्दुकलाई।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

एक हात भनेको ४४.५ सेन्टिमिटर (१७.५ इन्च) हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

वा “बोसो मिसिएको खरानी।” यसले बलि चढाइएका जनावरहरूको बोसो मिसिएको खरानीलाई जनाउँछ।

शब्दावली हेर्नुहोस्‌।

यसले आलसको डाँठबाट बनेको कपडालाई जनाउँछ।

अर्थात्‌, चूल अड्‌काउने प्वाल भएको वस्तु।

वा “रिङ; खीप; पट्टी,” जुन गाँस्नको लागि प्रयोग गरिन्छ।

यसले आलसको डाँठबाट बनेको कपडालाई जनाउँछ।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “करारको सन्दुकसामु।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

गलादेखि गोडासम्म पुग्ने लामो पोसाक।

यसले आलसको डाँठबाट बनेको कपडालाई जनाउँछ।

शब्दावली हेर्नुहोस्‌।

लगभग २२.२ सेन्टिमिटर (८.७५ इन्च)। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

एउटा अज्ञात रत्न, जसले तृणमणि, निलो गोमेद, ओपल वा टर्मलिनलाई जनाएको हुन सक्छ।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “भित्री वस्त्र।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावलीमा “खमिर” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

गलादेखि गोडासम्म पुग्ने लामो पोसाक।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “पवित्र मुकुट।”

शब्दावली हेर्नुहोस्‌।

शा., “शान्त पार्ने।”

बाइबलमा उल्लिखित ठाउँका भेडाहरूको पुच्छर कम्तीमा पाँच किलो हुने भएकोले मोटो हुन्छ।

वा “घुमाउनू।”

शब्दावली हेर्नुहोस्‌।

शा., “कुनै पराईले।” अर्थात्‌, जो हारुनको परिवारको सदस्य होइन।

शा., “दुई साँझको बीचमा।” यसले घाम अस्ताएपछि र अँध्यारो हुनुअघिको समयलाई जनाएको हुनुपर्छ।

एक एपा भनेको २२ लिटरको भाँडोमा अटाउने जतिको परिमाण हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

एक हिन भनेको ३.६७ लिटर हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

लगभग ४४.५ सेन्टिमिटर (१७.५ इन्च)। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

वा “बुट्टेदार बिट।”

शब्दावली हेर्नुहोस्‌।

वा “करारको सन्दुकनजिकै।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।

शा., “दुई साँझको बीचमा।” यसले घाम अस्ताएपछि र अँध्यारो हुनुअघिको समयलाई जनाएको हुनुपर्छ।

वा “पवित्र शेकेलअनुसार।”

एक शेकेल भनेको ११.४ ग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

एक गेरा भनेको ०.५७ ग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

एक किसिमको बास्नादार नर्कट।

एक शेकेल भनेको ११.४ ग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

दालचिनीजस्तै एक प्रकारको रूख वा त्यसको उत्पादन।

एक हिन भनेको ३.६७ लिटर हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

शा., “कुनै पराईलाई।” अर्थात्‌, जो हारुनको परिवारको सदस्य होइन।

वा “मारियोस्‌।”

शब्दावली हेर्नुहोस्‌।

वा “मारियोस्‌।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “करारको सन्दुक।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

वा “मार्नै पर्छ।”

शा., “परमेश्‍वरको औँलाले।”

वा “निर्णय गरेकोमा पछुतो मान्‍नुहोस्‌।”

वा “निर्णय गरेकोमा पछुतो मान्‍नुभयो।”

शब्दावली हेर्नुहोस्‌।

वा “पराक्रमी कार्य गरेको खुसीयालीमा गाइने गीत होइन।”

शा., “फुकाले।”

शब्दावली हेर्नुहोस्‌।

शा., “मैले तिमीलाई नामैले चिनेको छु।”

शा., “नामैले चिनेको छु।”

वा “वफादारीले।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शा., “आफ्ना देवीदेवतासित अवैध यौनसम्बन्ध राखेर।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

अतिरिक्‍त लेख ख१५ हेर्नुहोस्‌।

शब्दावलीमा “कटनीको चाड; हप्ताहरूको चाड” हेर्नुहोस्‌।

यसलाई झुप्रोबासको चाड पनि भनिन्छ।

शब्दावली हेर्नुहोस्‌।

शा., “दस शब्द।” यसलाई डेकालोग पनि भनिन्छ।

हिब्रू भाषामा सबाथ। शब्दावलीमा “विश्रामदिन” हेर्नुहोस्‌।

यसले आलसको डाँठबाट बनेको कपडालाई जनाउँछ।

समुद्रमा पाइने स्तनपायी जीव।

कुनै खास बोट वा रूखबाट निकालिएको बास्नादार तेल।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

अर्थात्‌, चूल अड्‌काउने प्वाल भएको वस्तु।

वा “करारको सन्दुक।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावलीमा “रुवाक; न्युमा” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

यसले शृङ्‌गार सामग्रीको रूपमा प्रयोग गरिने पिनलाई जनाएको हुनुपर्छ।

वा “डोलाउने भेटीको।”

शब्दावली हेर्नुहोस्‌।

यसले आलसको डाँठबाट बनेको कपडालाई जनाउँछ।

यसले बजलेललाई जनाएको हुनुपर्छ।

शब्दावली हेर्नुहोस्‌।

एक हात भनेको ४४.५ सेन्टिमिटर (१७.५ इन्च) हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

समुद्रमा पाइने स्तनपायी जीव।

अर्थात्‌, अर्को कुनै वस्तुसित जोड्‌न काठको छेउमा बनाइएको चोसो।

अर्थात, चूल अड्‌काउने प्वाल भएको वस्तु।

वा “रिङ; खीप; पट्टी,” जुन गाँस्नको लागि प्रयोग गरिन्छ।

वा “करारको सन्दुक।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।

एक हात भनेको ४४.५ सेन्टिमिटर (१७.५ इन्च) हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

वा “बुट्टेदार बिट।”

शब्दावली हेर्नुहोस्‌।

चार अङ्‌गुल भनेको लगभग ७.४ सेन्टिमिटर (२.९ इन्च) हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

फूलको मुन्तिर हुने कचौराजस्तो भाग।

बलिसकेको सलेदो राख्ने भाँडो।

एक टालेन्ट भनेको ३४.२ किलोग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

वा “बुट्टेदार बिट।”

एक हात भनेको ४४.५ सेन्टिमिटर (१७.५ इन्च) हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

अर्थात्‌, पालिस गरेर टिलिक्क टल्काइएका धातुका ऐनाहरू।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

यसले आलसको डाँठबाट बनेको कपडालाई जनाउँछ।

अर्थात्‌, चूल अड्‌काउने प्वाल भएको वस्तु।

वा “रिङ; खीप; पट्टी,” जुन गाँस्नको लागि प्रयोग गरिन्छ।

यसले आलसको डाँठबाट बनेको कपडालाई जनाउँछ।

शब्दावली हेर्नुहोस्‌।

वा “पवित्र शेकेलअनुसार।”

एक टालेन्ट भनेको ३४.२ किलोग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

एक शेकेल भनेको ११.४ ग्राम हो। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

वा “डोलाउने भेटी।”

यो पद र पद ७, ८ र २२ मा प्रयोग गरिएको “तिनले” भन्‍ने शब्दले बजलेललाई जनाएको हुन सक्छ।

यसले आलसको डाँठबाट बनेको कपडालाई जनाउँछ।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

लगभग २२.२ सेन्टिमिटर (८.७५ इन्च)। अतिरिक्‍त लेख ख१४ हेर्नुहोस्‌।

एउटा अज्ञात रत्न, जसले तृणमणि, निलो गोमेद, ओपल वा टर्मलिनलाई जनाएको हुन सक्छ।

गलादेखि गोडासम्म पुग्ने लामो पोसाक।

वा “भित्री वस्त्र।”

वा “तिनीहरूले पवित्र मुकुट बनाउन।”

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

अर्थात, चूल अड्‌काउने प्वाल भएको वस्तु।

समुद्रमा पाइने स्तनपायी जीव।

वा “करारको सन्दुकअगाडिको।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

अर्थात्‌, चूल अड्‌काउने प्वाल भएको वस्तु।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

शब्दावली हेर्नुहोस्‌।

वा “करारको सन्दुक।” शब्दावलीमा “करारको सन्दुक” हेर्नुहोस्‌।

अर्थात, चूल अड्‌काउने प्वाल भएको वस्तु।

    नेपाली प्रकाशनहरू (१९८०-२०२५)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • Privacy Settings
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने